Category: विश्व

  • अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो, विमानस्थल खाली गरियो

    अस्ट्रेलियाको क्यानबेरा विमानस्थलमा गोली चल्यो, विमानस्थल खाली गरियो

    अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोली चलेकोछ । गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ । प्रत्यक्षदर्शीहरूले तीनवटा गोलीको आवाज सुनेको बताए। प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।

    हालसम्म कुनै पनि चोटपटकको रिपोर्ट आएको छैन। केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । यस सम्बन्धमा विस्तृत जानकारी आइ सकेको छैन। विमानस्थलको टर्मिनलको चेक इन गर्ने ठाउँमा गोली चलेको हो। बीबीसी

  • कोरोनाका कारण मानवीय क्षति बढ्दै, साउनमा मात्र ३२ जनाको मृत्यु

    कोरोनाका कारण मानवीय क्षति बढ्दै, साउनमा मात्र ३२ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीबाट पुनः ठूलो मानवीय क्षति हुन थालेको छ । कोरोनाबाट साउनमा मात्र ३२ जनाको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । शुक्रबार ४ हजार ७१२ कुल परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको ज्यान गएको छ । पछिल्लो पटक वैशाख २१ गते कोरोना संक्रमणबाट बिरामीको ज्यान गएको थियो । त्यसको ७३ दिनपछि साउन १ मा कोरोना संक्रमणबाट १ जना संक्रमितको मृत्यु भएको थियो। साउन २६ मा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु भएका व्यक्तिहरु र्दीर्घरोगी, ज्येष्ठ नागरिक र खोप नलगाएका व्यक्ति रहेको जनाएको छ । मृत्यु हुने ६ जनाले मात्र खोप लगाएको पाइएको छ । हाल कोभिड संक्रमितको अस्पताल भर्ना, स्वास्थ्य जटिलता र मृत्युको तथ्यांक हेर्दा खोप नलगाएको पाइएको छ। खोप लगाएको व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोभिडको संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणा बढी रहने मन्त्रालयको भनाई छ ।

    अहिले कुल जनसंख्याको २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये ७५.१ प्रतिशतले एक मात्रा र ७०.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । लक्षित जनसंख्या १२ वर्ष माथिका २ करोड ३३ लाख २७ हजार ६१९ मध्ये ९३.९ प्रतिशतले एक मात्रा र ८८.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । बुस्टर मात्राको खोप भने ७४ लाख ११ हजार ८८९ जनाले लगाएका छन् । नेपालले हालसम्म कुल ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप भित्रिएको छ । खोप अभियान सुरु भएदेखि ४ करोड ९९ लाख ७५ हजार ९२९ खोप मात्रा प्रयोग भएको छ ।

  • मोन्टेनेग्रोमा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

    मोन्टेनेग्रोमा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

    काठमाडौं । मोन्टेनेग्रोको सेन्टिज सहरमा पारिवारिक विवादका कारण भएको आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको छ । त्यहाँका अधिकारीहरूका अनुसार विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको हो भने केही घाइते भएका छन् । बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे ।

    त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका छन् । हतियारसहित आक्रमणमा उत्रिएका ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । त्यसपछि मात्रै आक्रमणको सिलसिला रोकिएको थियो । ती व्यक्तिले घटना गराउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

  • सभामुख र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

    सभामुख र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको भन्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैं चनाखो र सचेत रहेको बताए ।

    राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गरिन् । नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताइन् । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।

  • युक्रेनको परमाणु केन्द्रमा बमबारी, राष्ट्रसंघको चेतावनी

    युक्रेनको परमाणु केन्द्रमा बमबारी, राष्ट्रसंघको चेतावनी

    काठमाडौं । युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी भएको छ । परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन्। युरोपकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्रको कार्यालय र अग्नि केन्द्रमा १० वटा प्रहार भएको युद्धरत दुवै पक्षले बनाए। यस विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि छलफल भइरहेको छ। राष्ट्रसङ्घको परमाणु निगरानी निकाय प्रमुख रफाएल ग्रोसीले आक्रमणलाई गम्भीर समय भएको बताएका छन्।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले घटनाले विपत्ति निम्त्याउन सक्ने बताएको बीबीसीले लेखेको छ । रुसले विश्वकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको आरोप युक्रेनले लगाएको छ। यो परमाणु ऊर्जा केन्द्र गत मार्चयता रुसको कब्जामा छ। बुधवार औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका विदेश मन्त्रीहरूको बैठकले उक्त ऊर्जा केन्द्रको नियन्त्रण रुसले तत्काल युक्रेनलाई फिर्ता गर्नुपर्ने बताएको थियो।

    अमेरिकाले पनि यो ऊर्जा केन्द्रलाई गैरसैनिक इलाका घोषणा गरिनुपर्ने माग गरेको छ। मध्यपूर्वी युक्रेनमा रहेको यो केन्द्रमा गत साता पनि आक्रमण भएको थियो र आक्रमणमा दुवै देशले एक अर्कालाई आरोपित गरेका थिए। युक्रेनले उक्त केन्द्रमा रुसले सैन्य अखडा बनाएको र प्रतिकार गर्न नमिल्ने भएकाले त्यहाँबाट आक्रमण गरिरहेको आरोप लगाएको छ। तर मस्कोले यसको खण्डन गरेको छ।

    बिहीवार एक वक्तव्य जारी गर्दै युक्रेनको आणविक ऊर्जा निकायले रुसी आक्रमणकारीले पुनः जापोरीजा केन्द्रमा आक्रमण गरेर आतङ्क सिर्जना गरेकोू दाबी गर्‍यो। युक्रेनले प्रशासनिक कार्यालयनजिकै भएको आक्रमणबाट धेरै रेडिएसन सेन्सरहरूमा क्षति पुगे पनि मानिसहरू घाइते नभएको जनाएको छ। त्यहाँको अवस्था अहिले नियन्त्रणमै रहेको दाबी गरिएको छ। उक्त क्षेत्रमा रुसले नियुक्त गरेका अधिकारीहरूले पनि युक्रेनले जस्तै वक्तव्य निकालेका छन् तर उनीहरूले बमबारी युक्रेनले गरेको आरोप लगाएका छन्।

    उनीहरूले युक्रेनी फौजले एकसाथ धेरै रकेट प्रहार गर्न मिल्ने प्रणाली र ठूला तोपहरूको प्रयोग गरेको बताएका छन्। दुवै पक्षको दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। बिहीवार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा बोल्दै ग्रोसीले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएलाई उक्त परमाणु ऊर्जा केन्द्रको अवलोकन गर्न दिइनुपर्ने माग गरे। ‘यो गम्भीर समय हो। चिन्ताजनक समय हो। आईएईएलाई यथाशक्य छिटो जापोरीजामा जान अनुमति दिइनुपर्छ,’ उनले भने।

  • चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका

    चीनले पुनः बन्द गर्यो नेपालसँगका नाका

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः एकतर्फी रुपमा नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको बताइएको छ । नाका बन्द भएपछि तीन दिन अघिदेखि सो नाकाबाट चिनियाँ सामान आयात हुन नपाएको भन्सार कार्यालयले जनाएको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार बुधबारदेखि चीनबाट सामान आयात रोकिएको छ ।

    तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको कार्यालयले जनाएको छ । सो नाकाबाट दैनिक ४ देखि ८ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुदैंआएको थियो । स्याउ, मेशिनरी उपकरण, रोल कपडा आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, कोरोना महामारीलगायतका बिपद्का कारण सो नाका बन्द हुने र खुल्ने हुँदैंआएको छ ।

  • ताइवान आसपास चीनको सैन्य अभ्यास पूरा

    ताइवान आसपास चीनको सैन्य अभ्यास पूरा

    काठमाडौं\बीबीसी । अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको करिब एक साता लामो सैन्य अभ्यास पूरा भएको चीनले जनाएको छ। चीनको सेनाले स्वशासित ताइवान वरपरको क्षेत्रमा गस्ती जारी रहने जनाउँदै यसअघिको हवाई र सामुद्रिक कारबाही सफल भएको बताएको छ। ताइवानलाई आफ्नो छुट्टिएको प्रान्त रहेको र कुनै समय बल प्रयोग गरेर मूल भूमिमै समायोजित गर्न सकिने ठान्दै आएको चीन उक्त टापुमा भएको पलोसीको छोटो भ्रमणले आक्रोशित भएको थियो।

    ताइवानले आक्रमणको पूर्वतयारी स्वरूप सैन्य अभ्यास गरेको आरोप चीनमाथि लगाएको छ। ताइवान सरकारले चिनियाँ सार्वभौमसत्ताको दाबीलाई अस्वीकार गर्दै आएको छ र यो क्षेत्र चिनियाँ मूल भूमिभन्दा फरक रहेको ठान्दै आएको छ। बेइजिङ भने यो टापुलाई अन्तर्राष्ट्रिय स्तरमा एक्लाउन चाहन्छ। अमेरिकी सभामुख पलोसी सन् १९९० को दशक यता ताइवान भ्रमण गर्ने सबैभन्दा उच्च अमेरिकी अधिकारी हुन्। चीनको चेतावनी बेवास्ता गर्दै उनी गत साता ताइवान भ्रमणमा निस्किएपछि दुई देशबीच तनाव बढेको थियो।

    उग्र प्रतिक्रिया जनाएको चीनले चार दिनसम्म गोलाबारीको अभ्यास, पनडुब्बी प्रतिरोधी आक्रमण गर्नुका साथै समुद्री आक्रमणको अभ्यास गरेको थियो। चीनको पिपल्स लिबरेशन आर्मीले एक वक्तव्य जारी गर्दै चीन र ताइवानबीचको समुद्री क्षेत्रमा नियमित युद्ध तयारी गस्तीहरू गरिने जनाएको छ। ताइवानको रक्षा मन्त्रालयले ३६ वटा चिनियाँ सैन्य विमान र १० वटा पानीजहाज चीन र ताइवानबीच रहेको साँघुरो सामुद्रिक मार्गमा अझै पनि परिचालित रहेको बुधवार जनाएको छ। बुधवार चीनको ताइवान मामिला कार्यालयले उक्त टापु चीनमा गाभ्न बल प्रयोग हुनसक्ने कुरा अस्वीकार गरेको थिएन।

    ‘हामी पृथकतावादी तत्त्वहरूलाई उक्साउने वा बाहिरी शक्तिहरूले हाम्रो रातो सीमा पार गर्ने कामको प्रतिक्रियामा कठोर कदम चाल्न बाध्य हुनेछौँ,’ ताइवानबारे २० वर्षयता पहिलो पटक सार्वजनिक गरिएको चिनियाँ श्वेतपत्रमा भनिएको छ। चिनियाँ नीतिबारेको यो कागजातले ताइवान फिर्ता लिइएको अवस्थामा त्यहाँ सेना र प्रशासन नपठाउने विगतको प्रतिज्ञा उल्टाएको छ।

    बेइजिङले यो टापुलाई यसअघि वाचा गरिएजस्तो स्वायत्तता नदिने नियत राखेको यसले सङ्केत गरेको छ। हालै गरिएका सर्वेक्षणहरूमा बहुमत जनताले ताइवानमा प्रजातन्त्र, स्वतन्त्र सञ्चारमाध्यम चाहेको र कम्युनिस्ट शासन रहेको चीनसँगको कुनै पनि प्रकारको एकीकरण नचाहेको बताएका थिए।

  • ताइवान मुद्दामा नेपालको सन्देश, एक चीन नीतिमा कट्टिवद्ध

    ताइवान मुद्दामा नेपालको सन्देश, एक चीन नीतिमा कट्टिवद्ध

    काठमाडौं । अहिले ताइवान र चीनबीच तनावपूर्ण स्थिति सिर्जना भएको छ । यसमा अमेरिका समेत जोडिएको छ । यस मुद्दामा नेपाल चीनको पक्षमा रहेको सन्देश चिनियाँ सरकारलाई दिएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना समकक्षीलाई भेटेर एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको बताए । परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच छिङ्दावमा भएको भेटवार्तामा नेपालले यस्तो प्रतिवद्धता जनाएको हो ।

    भेटमा मन्त्री खड्कालले एक चीन नीतिमा नेपाल प्रतिवद्ध रहेको बताए । साथै उनले नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिने बताएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङले पनि नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् । साथै नेपाल सरकारको प्राथमिकताअनुसार नेपालको विकासमा सहयोग जारी राख्ने बताएका छन् ।

    दुई देशका बिदेशमन्त्रीबीच नेपाल चीन सीमा निरीक्षण समितिको काम अघि बढाउन द्विपक्षीय प्राविधिक समिति बनाउने तथा दुई देशबाट भएका उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिहरु समयमै कार्यान्वयन गर्ने सहमति भएको छ । चिनियाँ टोलीले काठमाडौं चक्रपथ विस्तार परियोजना (कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड) को निर्माण तत्काल थाल्ने बताएको छ । केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहायता दिने दोहोर्‍याएको छ ।

    नेपाल चीन क्रस बोर्डर ट्रान्समिसन लाइनको पूर्व सम्भाव्यता अध्ययनमा पनि सहयोग गर्ने बताएको छ । चिनियाँ विदेशमन्त्री वाङले नेपालका लागि ८०० मिलियन आरएमबी दिने घोषणा गरेका छन् । नेपालको आग्रहअनुसार रासायनिक मल दिन सकारात्मक रहेको चीनले नेपालमा उद्योग खोल्न पनि सघाउने बताएको छ ।

    केरुङ र तातोपानी नाका दुईतर्फी र हिल्सा(पुलाङ नाका एकतर्फी रुपमा खुला गर्न पनि दुई देशका परराष्ट्रमन्त्री सहमत भएका छन् । यसरी नाका खोल्दा सीमामा महामारी रोकथामको संयन्त्र स्थापना गर्ने सहमति छ । चीनले प्राकृतिक विपत्तिमा परेका नेपालीहरुका लागि ३ मिलियन आरएमबी बराबरको राहत सामाग्री तथा २ मिलियन आरएमबी बराबर मेडिकल सामाग्री दिने भएको छ । विदेशमन्त्री वाङले नेपालको आग्रह गरे कोरोनाविरुद्धको खोप र स्वास्थ्य सहयोग दिन तयार रहेको बताए ।

    बेइजिङस्थित नेपाली दूताबासका अनुसार विदेशमन्त्री वाङले ब्लड क्यान्सरको विरामीको उपचारका लागि ‘सीएआर टी सेल’ उत्पादन ल्याब्रेटोरी सिभिल अस्पतालमा स्थापना गर्न सहयता प्रदान गर्ने घोषणा समेत गरे । आफ्नो अध्ययन पुरा गर्न चीन फर्किन चाहेका नेपाली विद्यार्थीहरुले स्वास्थ्य मापदण्ड पुरा गरेर भिसा प्रक्रिया अघि बढाउनसक्ने समेत उनले बताए ।

  • परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेट

    परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेट

    काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको छ । चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको उनीहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले लेखेका छन् । छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ ।

    भेटमा काठमाडौं चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङ मार्ग र काठमाडौं–केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको बताइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै मंगलबार राती चीनको साङदोङ प्रान्तको छङ्दाओ सहर पुगेका हुन् ।

  • इरानमा चक्कु प्रहारबाट कम्तिमा १० जना मारिए

    इरानमा चक्कु प्रहारबाट कम्तिमा १० जना मारिए

    तेहरान (सिन्ह्वा) । दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत यो समाचारको पुष्टी गरेको छ । उक्त घटनाका सबै पीडितहरू पुरुषहरू छन् । ती मध्ये छ अफगानी र चार इरानी नागरिकहरू छन् । रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो । उसले आफैलाई प्रहार गरी चोट लगाएको पाइएको छ । हत्यारामा लागुपदार्थको लत पनि पुष्टि भएको छ । यस बारे थप अनुसन्धान जारी छ ।

  • चीनले ताइवान वरपर थप सैन्य अभ्यास गर्ने

    चीनले ताइवान वरपर थप सैन्य अभ्यास गर्ने

    काठमाडौं । चिनियाँ सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने भएको छ । यसअघि आइतवार चीनले वास्तविक गोलीगठ्ठाहरू प्रयोग भएका पाँच अभ्यास अन्त्य भएको जनाएको थियो। चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्नेछन्। यसअघि चार दिने अभ्यास अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइपेई भ्रमणलाई लिएर बेइजिङको असन्तुष्टिका रूपमा हेरिएका थिए। ताइवानले ती अभ्यास चीनले आफ्नो टापुमा अतिक्रमण गर्ने तयारीका रूपमा गरेको आरोप लगाएको छ।

    बीबीसीका अनुसार यी अभ्यासमा हालसम्म चिनियाँ विमान र पानीजहाजहरू ताइवानी जलक्षेत्रमा प्रवेश गरेका छैनन्। अमेरिकासहित अस्ट्रेलिया र जापानले सैन्य अभ्यासको निन्दा गर्दै त्यसको उद्देश्य ताइवान स्ट्रेटमा यथास्थिति परिवर्तन गर्नु रहेको बताएका छन्। ताइवान स्ट्रेट ताइवान टापु र मुख्यभूमि चीनबीचको १८० किलोमिटरमा फैलिएको जलक्षेत्र हो। यस अभ्यासका क्रममा चिनियाँ विमान र पानीजहाजहरूले बारम्बार स्ट्रेटको विद्यमान मध्यवर्ती रेखा पार गरेका थिए।

    तर ताइवानको रक्षा मन्त्रालयले सोमवार विद्यमान मध्यवर्ती रेखा सन् १९५० को दशकयता व्यवहारिक रूपमा अस्तित्वमा रहेको र त्यो तथ्य भएको जनाएको छ। वासिङ्टनले बेइजिङको निन्दा गर्दै पलोसीको भ्रमणलाई लिएर चीनले जलवायु परिवर्तन सहितका कैयौँ विषयमा सहकार्य तोडेको आरोप लगाएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको एउटा प्रान्त ठान्दै त्यो अन्ततः बेइजिङको नियन्त्रणमा आउने बताउने गरेको छ। यद्यपि ताइवानलाई मान्यता दिने खालका कुनै पनि सङ्केतले चीनलाई क्रुद्ध पार्ने गर्छ।

    चिनियाँ जल अधिकारीहरूले अन्य क्षेत्रमा समेत सैन्य अभ्यास हुने बताएसँगै ताइवान वरपरका नयाँ गतिविधिबारे विवरण आएको हो। चीन र कोरियाली प्रायद्वीप बीचमा पर्ने यल्लो सीमा नयाँ सैन्य अभ्यास दैनिक रूपमा अगस्टको मध्यसम्म हुनेछ। पाँच त्यस्ता अभ्यासमा वास्तविक गोलीगठ्ठाहरू प्रयोग हुनेछन्। त्यसबाहेक चीनको पूर्वी तटतर्फको बोहाई सागरमा आइतवारबाट एक महिना लामो कारबाही सुरु भएको छ। यल्लो सीको उत्तरी भागमा एक महिना लामो अर्को सैन्य अभ्यास शनिवार सुरु भएको छ।

  • नयाँ सिजनअघि बार्सिलोनाको उत्कृष्ट प्रदर्शन, जित्यो जोन गाम्पर उपाधी

    नयाँ सिजनअघि बार्सिलोनाको उत्कृष्ट प्रदर्शन, जित्यो जोन गाम्पर उपाधी

    काठमाडौं । नयाँ सिजन शुरु हुनु अगाडी बार्सिलोना उत्कृष्ट लयमा देखिएको छ । आइतबार राती क्लवले मेक्सिकन क्लब पुमास यूएनएएमलाई आधा दर्जन गोल अन्तरले हराउँदै जोन गाम्परको उपाधि जितेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ६–० को जित निकालेको हो। बार्सिलोनाका लागि पेड्रीले दुई गोल गरे। रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे। बार्सिलोनाले पहिलो २० मिनेटमै चार गोल गरेको थियो।


    खेलको तेस्रो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरूआती अग्रता लिएको थियो। त्यसको दुई मिनेट पछि पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। १०औं मिनेटमा डेम्वेलेले गोल गरेपछि बार्सिलोना खेलमा पहिलो १० मिनेट भित्रै ३–० ले अघि बढ्यो । १९ औं मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४–० अग्रता लियो।

    ४९औं मिनेटमा औवामियाङले गोल गर्दै अग्रता अझै फराकिलो पारे। ८४ औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई ६–० को सानदार जित दिलाए। बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ। हालसम्म ५७ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले सर्वाधिक ४५ पटक यो उपाधि जितेको छ। गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो।

  • इजरायल–प्यालेस्टाइनबीच युद्ध चर्कियो, मृत्यु हुने २४ पुगे

    इजरायल–प्यालेस्टाइनबीच युद्ध चर्कियो, मृत्यु हुने २४ पुगे

    काठमाडौं\एजेन्सी । इजरायल र यालेस्टाइनबीच पुनः युद्ध चर्किएको छ । इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका लडाकुको अखडामा आक्रमण गरेको बताएको छ । तर, मारिनेमा ६ जना बालबालिका समेत छन् । यी दुई मुलुकबीच एक वर्षपछि पुनः हिंशा भड्किएको हो । सन् २०२१ को मे महिनामा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएपछि युद्धविराम सम्झौता गरेर युद्ध रोकिएको थियो। तर त्यसको एक वर्ष पछि पुनः हिंसा सुरू भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

    पछिल्लो समय गाजामा चर्किएको हिंसामा मृत्यु हुनेको संख्या २४ पुगेको छ। गाजा स्ट्रिपमा भएको इजरायली आक्रमणमा उनीहरु मारिएका हुन्। इजरायलले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ। शुक्रबारदेखि इजरायलमा करिब ३०० प्यालेस्टिनी रकेट र मोर्टारहरू प्रहार गरिएको इजरायली अधिकारीले बताएका छन् ।

    शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका १९ जना सदस्यलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई वेस्ट ब्यांकमा छापा मारेर पक्राउ गरिएको बीबीसीले जनाएको छ। इजरायलले गाजाबाट रातभरि इजरेलतर्फ दर्जनौं क्षेप्यास्त्रहरू प्रहार गरिएको र तीमध्ये अधिकांशलाई रोकिएको इजरायली सेनाले बताएको छ। यो कारवाही एक सातासम्म जारी राख्ने इजरायलले जनाएको छ ।

  • इजरायलले गर्यो प्यालेस्टिनी लडाकूको अखडामा हमला, कम्तिमा १० जना मारिए

    इजरायलले गर्यो प्यालेस्टिनी लडाकूको अखडामा हमला, कम्तिमा १० जना मारिए

    काठमाडौं\एजेन्सी । इजरायलले गाजा स्ट्रीपमा एक प्यालेस्टिनी लडाकू समूहको अखडामाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमलामा शीर्ष कमान्डरसहित कम्तीमा १० जना मारिएका छन्। बीबीसीका अनुसार मृत्यु हुनेमध्ये एकजना बालिकासमेत छन् र अन्य दर्जनौँ घाइते भएका छन्। इजरायलका प्रधानमन्त्रीले त्यस्तो कारबाही प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बाट एउटा तत्कालको जोखिम देखिएपछि उक्त कारबाही गरिएको बताएका छन्।

    यस साताको सुरुमा पीआईजेका एकजना सदस्य पक्राउ परेका थिए। सुरुवाती जबाफका रूपमा पीआईजेले इजरायलतर्फ १०० भन्दा धेरै रकेटहरू प्रहार गरेको छ। ती धेरैलाई इजरेलको आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले पहिचान गर्दै निष्क्रिय पारेको छ। कैयौँ इजरायली सहरहरूमा त्यसको जनाउ दिनेगरी साइरनहरू बजेका थिए।

    इजरायली डिफेन्स फोर्स आईडीएफले त्यसपछि आफूले लडाकुहरूका स्थान पहिचान गर्दै हमलाहरू सुरु गरेको जनाएको छ। प्रधानमन्त्री याइर लापिडले एक टेलिभिजन सम्बोधनमा आफ्नो देशले तत्काल हुनसक्ने जोखिमविरुद्ध एउटा सटिक ढङ्गको प्रतिआतङ्कवाद कारबाही गरेको बताएका छन्।


    पीआईजे गाजाको एक प्रमुख लडाकू समूह हो । आईडीएफले आफूले प्रहार गरेका ठाउँहरू पीआईजेसँग सम्बन्धित रहेको जनाएको छ। जसमा गाजा शहरको एउटा अग्लो भवन प्यालेस्टाइन टावर समेत परेको छ। त्यहाँ भएको ठूलो विस्फोटनले भवनबाट धूवाँको विशाल मुस्लो निस्किएको थियो।

    तैसिर जबारीसहित चारजना पीआईजे लडाकुहरू र एकजना पाँच वर्षिय बालिका हमलामा परेर ज्यान गुमाउनेमध्ये रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उनीहरूले अन्य ५५ जना मानिसहरू घाइते भएको जनाएका छन्। इजरायली सेनाका एकजना प्रवक्ताले आईडीएफले झण्डै १५ जना लडाकुहरू मारिएको अनुमान गरेको जनाएका छन्।

  • थाइल्याण्डमा नाइट क्लवमा आगलागी, कम्तिमा १४ जना मारिए

    थाइल्याण्डमा नाइट क्लवमा आगलागी, कम्तिमा १४ जना मारिए

    बैंकक । थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु भएका छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ। स्थानीय समय अनुसार शुक्रबार १२स्४५ बजे बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो। प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा धुवाँ र आगो देखेको र त्यसपछि विस्फोटहरू भएको बताएका छन्।

    आगो निभाउन अग्नि नियन्त्रकहरूलाई दुई घण्टा लागेको थियो। १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने शरीरको ९० प्रतिशतभन्दा बढी जलेको अर्का एक व्यक्तिको पछि मृत्यु भएको प्रहरीले जनाएको छ। अस्पतालका अनुसार १५ जना बिरामी गम्भीर छन्। उनीहरूको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको छ। दुई जना गम्भीर बिरामीलाई थप उपचारका लागि बैंककको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

  • चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा

    चीनद्धारा अमेरिकासँगका महत्वपूर्ण सहकार्य स्थगित भएको घोषणा

    बेइजिङ । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको छ। बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसी र उनको परिवारविरुद्ध पनि प्रतिबन्धहरू लगाउने भएको छ। तर, कस्ता प्रतिबन्धहरू लगाइएका हुन् स्पष्ट पारिएको छैन। बीबीसीका अनुसार व्यक्तिगत प्रतिबन्ध पलोसीलाई मात्रै नभई उनको परिवारमाथि पनि लगाइएको छ।

    यद्यपि थप कदमहरू धेरै बृहत् छन्। दुई देशबीच उच्च स्तरीय सैन्य वार्तासहित अन्तर सीमा अपराधजस्ता विषयका सहकार्य पनि चीनले स्थगित गर्न लागेको छ। यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले ताइवान वरपरको क्षेत्रमा सैन्य गतिविधि बढाउन पलोसीको शान्तिपूर्ण भ्रमणलाई चीनले बहाना बनाएको बताएका थिए।


    उता, चीनले ताइवान वरपर थालेको सैन्य अभ्यास दोस्रो दिन पनि जारी राखेको छ। ताइवानको रक्षा मन्त्रालयले मुख्यभूमि चीनले ताइवान छुटिने क्षेत्र वरपर ६८ वटा विमान र १३ वटा पानीजहाज सक्रिय बनाएको जनाएको हो। त्यसको प्रतिक्रियामा ताइवानले हवाई र समुद्री गस्ती गरिरहेको र क्षेप्यास्त्र प्रणालीलाई सक्रिय पारिएको जनाएको छ।

    अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले वासिङ्टनले सङ्कट नचाहेको तर ताइवानलाई समर्थन गर्ने र वेस्टर्न प्यासिफिकमा आफ्नो कारबाहीबाट विचलित नहुने जनाएका छन्। ताइवानका विदेशमन्त्रीले पनि पलोसीको संक्षिप्त तर विवादास्पद भ्रमणको बचाउ गरेका छन्। उनले पलोसीको भ्रमण अत्यन्तै महत्त्वपूर्ण रहेको र चीनको प्रतिक्रियाले ताइपेईमा आमन्त्रित हुन प्रजातान्त्रिक नेताहरूलाई नरोक्ने बताएको बीबीसीले लेखेको छ ।

  • चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?

    चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?

    काठमाडौं । चीनले ताइवानलाई करीव चारैतर्फबाट घेरेको छ साथै उसले बिहीबारबाट सैन्य अभ्यास पनि थालेको छ । सोही क्रममा दर्जनौं क्षेप्यास्त्र हानिएको सञ्चारमाध्यमले लेखेका छन् । यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले जनाएको छ । त्यहाँका मानिस शान्त तर चिन्तित अवस्थामा रहेको बताइएको छ । ताइवानको मुख्यभूमि मामिलासम्बन्धी निकायले चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको बताएको छ। चीनमाथि क्षेत्रीय शान्ति बिथोलेको र नाकाबन्दी लगाएको ताइवानको आरोप छ। उसले चीनको सैन्य अभ्यासविरुद्ध तयारी गरिरहेको छ।

    चीनले ताइवानको आकाशमा विमानहरू उडाउने निर्णय गरेको खण्डमा ताइवानले उनीहरूलाई रोक्ने प्रयास गर्ने सम्भावना छ। यसले दुई देशबीच हवाई टक्कर बढ्ने देखिएको छ । चीनको चेतावनीविरुद्ध अमेरिकी सभामुख पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन्। ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ। सोही भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो।

    यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ। यी दुई देशबीचको तनावका कारण व्यापारिक जहाजहरू मार्ग परिवर्तन गर्न बाध्य भएपछि विश्वव्यापी ढुवानीमा ढिलाइ र आपूर्ति प्रणालीहरू अवरुद्ध हुने ठानिएको छ। अमेरिकाको जलसेनाले ताइवानतर्फ विमान पठाएको छ जसलाई उसले फिलिपिन सीमा सामान्य र तय गरे अनुरूपको कारबाहीको सङ्ज्ञा दिएको छ।

  • चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट

    चीनले प्रहार गरेका क्षेप्यास्त्र जापानको क्षेत्रमा अवतरण, जापान रुष्ट

    टोकियो । सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार
    उता, ताइवानले आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ। चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

    रोएटर्सका अनुसार ताइवानका रक्षा मन्त्रीले पनि प्रक्षेपणको प्रतिक्रिया स्वरूप आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय बनाएको बताएका छन्। स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ। हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन्।

  • चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?

    चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?

    काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण पुरा गरेर फर्किएलगत्तै चीनले ताइवानको नजिकको समुद्री क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ। स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ। ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ। पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन्। ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ।

    बीबीसीका अनुसार भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो। यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ। अभ्यासहरू व्यस्त जलमार्गहरूमा हुने भएकाले यसमा लामो दूरीका प्रत्यक्ष गोलाबारी समावेश हुने बेइजिङले बताएको छ। संयुक्त राज्य अमेरिकाले यो सैन्य अभ्यास गैरजिम्मेवार कदम भएको र नियन्त्रण बाहिर जान सक्ने बताएको छ। ताइवानले भने यसलाई समुद्री तथा हवाई नाकाबन्दीको रूपमा व्याख्या गरेको छ।

    ताइवानले बुधवार चिनियाँ लडाकु विमानहरूलाई चेतावनी दिनका लागि विमानहरूको आकस्मिक अवतरण गराएको र त्यहाँको सेनाले मुख्य भूमि नजिकै अवस्थित किनमेन टापुमा रहेका अज्ञात विमानहरू धपाएको बताएको छ। ताइवान सरकारका अनुसार पछिल्ला दिनहरूमा त्यहाँका थुप्रै मन्त्रालयहरूले साइबर हमलाको सामना गरेका छन्।

    ताइवानका अधिकारीहरूले विमानहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ तथा छिमेकी राष्ट्रहरू जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको बताइएको छ। जापानले सैन्य अभ्यास भइरहेका क्षेत्रहरूमा आफ्नो विशेष आर्थिक क्षेत्र (ईईजेड) समावेश हुनेबारे चीन समक्ष चिन्ता व्यक्त गरेको छ। बुधवार चीनले तटीय झेजियाङ प्रान्तमा एक सन्दिग्ध ताइवानी पृथकतावादीलाई राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आशङ्कामा हिरासतमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

  • अमेरिकी सभामुख फिर्ता भएसँगै चीनद्धारा ताइवानको सीमानामा सैन्य अभ्यासको घोषणा

    अमेरिकी सभामुख फिर्ता भएसँगै चीनद्धारा ताइवानको सीमानामा सैन्य अभ्यासको घोषणा

    काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानबाट फर्किएसँगै चीनले प्रतिक्रिया देखाउन थालेको छ । बीबीसीका अनुसार उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ। बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारीू समेत हुनेछ। २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।

    बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पलोसीले बेवास्ता गरिन्। ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ। बुधवार जारी विज्ञप्तिमा चीनका विदेशमन्त्री वाङ यीले भनेका छन्, ‘आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन्।’

    ‘संयुक्त राज्य अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको छ,’ थप भनिएको छ। अमेरिकी संसद्को सभामुख रहेकी पलोसी अमेरिकी राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिसपछि तेस्रो बरीयताकी व्यक्ति हुन्।

  • अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रिया के ?

    अमेरिकी सभामुखको ताइवान भ्रमणप्रति चीनको प्रतिक्रिया के ?

    काठमाडौं । चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति आधिकारिक रूपमा विरोध व्यक्त गरेको छ। चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिएका छन्। उनले चीन मौन नबस्ने बताए। ताइवान भ्रमणमा रहेकी पलोसीले बुधवार त्यहाँकी राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता गरेकी छन्।

    भेटपछि उनले ताइवानसँग यसअघि जनाएको प्रतिबद्धताबाट अमेरिका पछि हट्न नहुने बताइन्। त्यसपछिको संयुक्त पत्रकार सम्मेलनमा उनले यसअघि पुरुष सांसदहरू आउँदा चीनले केही नबोलेको तर आफू आउँदा ठूलो विवाद गरेको गुनासो गरिन्। मङ्गलवार अबेर ताइवान पुगेकी पलोसी त्यहाँको संसद्‌मा पनि पुगेकी थिइन्। अमेरिकी संसद्कको तल्लो सदनकी सभामुख पलोसी मङ्गलवार ताइवान पुगेपछि चीनले ताइवानमाथि सम्भावित बल प्रयोग गर्न सक्ने भन्दै ताइवानले त्यसको तयारी गरिरहेको छ।

    पलोसीको भ्रमणलाई ह्वाइट हाउसले समर्थन गरेको छैन। तर उनको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो। पलोसी अमेरिकी सरकारको तेस्रो वरीयताकी वरिष्ठतम अधिकारी हुन् र उनी बेइजिङको लामो समयदेखि आलोचक रहँदै आएकी छन्। चीनले उक्त भ्रमणविरुद्ध बारम्बार चेतावनी दिँदै आएको छ। उसले मङ्गलवार उक्त भ्रमणका लागि अमेरिकाले मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएको थियो।

    ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्ने गर्छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले उक्त भ्रमणको संवेदनशीलताबारे चीन अमेरिकासँग संवादमा रहेको बताएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

  • अमेरिकी ड्रोन हमलाबाट अलकायदाका प्रमुख मारिए

    अमेरिकी ड्रोन हमलाबाट अलकायदाका प्रमुख मारिए

    काबुल (बीबीसी) । अल कायदाका नेता अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेका छन्। अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतवार अफगान राजधानी काबुलमा उनी मारिएका हुन्। बाइडनले जवाहिरीले ‘अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको बताए। ‘अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता जीवित छैनन्’ उनले भने।

    अधिकारीहरूका अनुसार सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। उनको परिवारका अन्य सदस्यहरू सँगै भए पनि उनीहरूलाई कुनै क्षति नपुगेको र जवाहिरीमात्रै मारिएको उनीहरूले बताएका छन्। बाइडनले आफूले ७१ वर्षीय अल-कायदा नेता विरुद्ध लक्षित हमलाका लागि अन्तिम स्वीकृति दिएको बताएका छन्। सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि जवाहिरीले अल(कायदाको नेतृत्व लिएका थिए।


    सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना बिन-लादेन र उनले संयुक्त रूपमा बनाएका थिए। उनी अमेरिकाको मस्ट वण्टेड आतङ्कवादी खोजी सूचीमा थिए। अल-कायदा नेता मारिँदा सन् २००१ को आक्रमणबाट पीडितका परिवारहरूलाई न्याय मिलेको महसुस हुने बाइडनले बताए। जवाहिरी सन् २००० मा १७ अमेरिकी सैनिक मारिने गरी भएको विस्फोट लगायत अन्य हिंसात्मक घटनाका पनि योजनाकार रहेको बाइडनले बताए।

    ‘जतिसुकै समय लागोस्, जहाँसुकै तिमी लुकेर बस यदि तिमी हाम्रा जनताका लागि खतरा छौ भने संयुक्त राज्य अमेरिकाले तिमीलाई बाहिर ल्याएरै छोड्छ,’ उनले भने। तालिबानका प्रवक्ताले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय मान्यताको स्पष्ट उल्लङ्घन भनेका छन्। ‘यस्ता कदम विगत २० वर्षका असफल अनुभवको पुनरावृत्ति हुन् र यी अमेरिका, अफगानिस्तान र यो क्षेत्रकै हितको विरुद्धमा छन्,’ तालिबान प्रवक्ताले भने।

  • रुसको आक्रमणमा युक्रेनका धनी व्यापारी मारिए

    रुसको आक्रमणमा युक्रेनका धनी व्यापारी मारिए

    काठमाडौं । युक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारी, रुसको आक्रमणमा मारिएका छन् । दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उनकी श्रीमती राइसा मारिएको अधिकारीहरूले बताएका छन्। बीबीसीका अनुसार अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भाडातुर्सकीले हिरो अफ युक्रेन उपाधि समेत पाएका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भाडातुर्सकीको निधनबाट ठूलो क्षति भएको बताएका छन्।

    मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताएका छन्। बमबारीका कारण होटेल, खेलकुद भवन, दुईवटा विद्यालय र सेवा केन्द्रसहित घरहरूमा क्षति पुगेको छ। मिकोलाइभ ओडेसाको मुख्य बाटोमा अवस्थित छ। ब्ल्याक सीमा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह रहेको ओडेसामा गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता बारम्बार बमबारी भएको छ। उक्त क्षेत्रका नेताले भाडातुर्सकीको व्यापार र कृषिमा ठूलो योगदान रहेको बताएका छन्।

    राष्ट्रपति जेलेन्सकीको कार्यालयका एक जना सल्लाहकारले उनलाई नियोजित रूपमा लक्षित गरिएको आफूलाई लागेको बताएका छन्। मिखाइलो पोडोलियाकले एउटा क्षेप्यास्त्रले मारिएका व्यापारीको शयन कक्षमा प्रहार भएको र यसले उनीमाथिको आक्रमण नियोजित भएकोमा कुनै शङ्का बाँकी नरहेको बताएका छन्। निबुलोनले भण्डारणका सुविधाहरू निर्माण गर्नुका साथै अन्न निर्यातका लागि आवश्यक अन्य पूर्वाधार बनाएको छ।

    युक्रेन र रुस गहुँ बालीको मुख्य निर्यातकर्ता हुन् र युद्धका कारण यी देशबाट निर्यात अवरुद्ध हुँदा विश्वभरी खाद्यान्नको मूल्यवृद्धि भएको छ। संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा दुई देशले गत साता अन्न निर्यात गर्ने सम्झौता गरेको एक दिनपछि एक मुख्य युक्रेनी बन्दरगाह सहरमा ओडेसामा रुसी आक्रमण भएको थियो।

  • चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खस्यो

    चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खस्यो

    एजेन्सी । चीनले प्रक्षेपण गरेको रकेटको अवशेष पुनः पृथ्वीमा खसेको छ । चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार लङ मार्च फाइभको अवशेष पुनः पृथ्वीमा खसेको हो ।

    रकेटको अधिकांश हिस्सा वायुमण्डलमा नै जलेको र बाँकी भाग प्यासिफिक क्षेत्रको सुलु सागरमा खसेको एजेन्सीले जानकारी दिएको हो ।

    यसअघि नै अन्तरिक्ष जानकारहरुले यो रकेट मानव बस्तीमा खस्ने सम्भावना निकै कम रहेको बताएका थिए ।

    अनियन्त्रित भएर रकेट खसेको विषयले अन्तरिक्ष फोहोरबारे पनि प्रश्न उठाएको छ ।

    चीनले आफ्नो अन्तरिक्ष स्टेसन टियाङगोङको काम पूरा गर्न उक्त रकेट पठाएको थियो ।

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भने चिनियाँ अन्तरिक्ष एजेन्सीले आफ्नो अन्तरिक्ष मिशनबारे विवरण सार्वजनिक नगरेको जनाएको छ ।

    पुनः पृथ्वीमै फर्किँदा मानव बस्तीमा खस्न सक्ने सम्भावना भएकाले विवरण सार्वजनिक गर्नुपर्ने नासाको भनाइ छ ।

  • मंकीपक्सबाट अफ्रिका बाहिर पहिलो पटक ब्राजिल र स्पेनमा मानिसको मृत्यु

    मंकीपक्सबाट अफ्रिका बाहिर पहिलो पटक ब्राजिल र स्पेनमा मानिसको मृत्यु

    काठमाडौं । मंकीपक्स संक्रमित भएका बिरामीको पहिलो पटक अफ्रिका बाहिर मृत्यु भएको छ । ब्राजिलमा ४१ वर्षीय पुरुषको मृत्यु नै अफ्रिकाबाहिर मंकीपक्सबाट भएको पहिलो मृत्यु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उता, स्पेनमा पनि पहिलो पटक मंकीपक्सबाट मृत्यु भएको छ । यो युरोपमा मंकीपक्सबाट भएको पहिलो मृत्यु हो । गत हप्ता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित लिम्फोमा र कम प्रतिरोधी क्षमताको समस्याबाट ग्रसित थिए । ब्राजिलमा अहिलेसम्म १ हजार ६६ जनामा स‌ंक्रमण पुष्टि भएको छ । ५१३ जनामा संक्रमणको आशंका गरिएको छ । ब्राजिली स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये ९८ प्रतिशत पुरुषलाई पुरुषसँगको यौनसम्पर्कबाट संक्रमण भएको हो । स्पेनमा अहिलेसम्म ३ हजार ७ सय ५० जनामा संक्रमण भएको छ । त्यसमध्ये ३.२ प्रतिशत अर्थात १२० जना अस्पताल भर्ना भएका छन् ।

    अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अहिलेसम्म विश्वभर २१ हजार १ सय ४८ जनामा म‌ंकीपक्सको संक्रमण पुष्टि भएको छ । यसअघि मध्य र पश्चिम अफ्रिकी मुलुकमा मंकीपक्स संक्रमण देखिने गरेको थियो । तर यसपटक भने विश्वका ७५ भन्दा बढी मुलुकका मंकीपक्स देखिएको छ । छिमेकी मुलुक भारतमा पनि ४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार मंकीपक्स संक्रमणको उच्च जोखिममा समलिंगी तथा बाइसेक्सुअल पुरुष रहेका छन् ।

    मंकीपक्स भाइरस सन् १९५८ मा पहिलोपटक खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा संक्रमण पाइयो ।

    मान्छेमा भने पहिलोपटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसताका यो संक्रमण कंगो र मध्य एवं पश्चिम अफ्रिकालगायतका मुलुकमा देखिइसकेको छ । हालसम्म मंकीपक्सविरुद्ध खोप पत्ता लागेको छैन । तर, मंकीपक्स बिफर परिवारकै एक भाइरस भएकाले बिफरविरुद्धको खोपले केही हदसम्म जोगाउने डब्लूएचओले जनाएको छ ।

  • ताइबानबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा भिडियो वार्ता, दिए एकअर्कालाई चेतावनी

    ताइबानबारे अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा भिडियो वार्ता, दिए एकअर्कालाई चेतावनी

    काठमाडौं\बीबीसी । अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन्। उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन्। बेइजिङले भने राष्ट्रपति सी ले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाएको र आगोसँग खेल्ने मान्छे जल्नेु चेतावनी दिएको जनाएको छ।

    अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको हल्लापछि अमेरिका र चीनबीच तनाव थप बढेको छ। अमेरिकाको परराष्ट्र मन्त्रालयले उनले कुनै त्यस्तो भ्रमण योजना घोषणा नगरेको बताएको छ भने चीनले उनले भ्रमण अघि बढाए ुगम्भीर परिणामु निम्तिन सक्ने चेतावनी दिएको छ। बाइडनले गत साता पत्रकारहरूसँग भ्रमणमा जाने कुरा सेनाले राम्रो नहुने सोचेको बताएका थिए। तर उनको ह्वाइट हाउस प्रशासनले भ्रमणबाट चीनले गरेको चर्चा अनावश्यक र असहयोगी भएको उल्लेख गरेको छ।

    उपराष्ट्रपतिपछिको बरियातामा रहेकी पलोसी ताइवान गएमा उनी सन् १९९७ पछि उक्त क्षेत्र भ्रमण गर्ने अमेरिकाको सबैभन्दा उच्च राजनीतिज्ञ हुनेछिन्। बिहीवारको टेलिफोन संवाद प्रत्यक्ष र इमानदारु भएको प्रतिक्रिया दिँदै बाइडन प्रशासनका एक अधिकारीले उनीहरूबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि छलफल भएको जानकारी दिए। बाइडन अमेरिकाको उपराष्ट्रपति हुँदा उनको निमन्त्रणामा सन् २०१५ मा सी ले अमेरिका भ्रमण गरेका थिए।

    तर बाइडन राष्ट्रपति भएपछि दुई जना नेताको भेट भएको छैन। चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ र यो देशकै एक भूभाग बन्नुपर्ने ठान्दै आएको छ। यसका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई पनि चीनले अस्वीकार गरेको छैन। तर वासिङ्टनले ताइपेईको कूटनीतिलाई एक चीन नीति अन्तर्गत स्वीकार गरेको छैन। अमेरिकाले प्रजातान्त्रिक शासन व्यवस्था रहेको स्वशासित ताइवानको आत्मरक्षाका लागि हतियार विक्री गर्दै आएको छ।

    ह्वाइट हाउसका अनुसार दुई नेताहरूबीच ताइवान बाहेक जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा पनि छलफल भएको थियो। बाइडन प्रशासनले यसअघिका राष्ट्रपति ट्रम्पको कार्यकालमा चिनियाँ सामानको आयातमा लगाइएको कर अन्त्य गर्ने विषयमा छलफल गरिरहेको छ। यस्तो कदमले अमेरिकामा बढ्दो महँगीलाई राहत मिल्ने बाइडन प्रशासनको दाबी छ।

    तर एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार बाइडनले उक्त विषयमा सीसँग छलफल गरेनन्। बाइडन र सी दुवैले खुला द्वन्द्वबाट अलग रहन चाहेको बीबीसीकी अमेरिकी परराष्ट्र मन्त्रालय संवाददाताले उल्लेख गरेकी छिन्। तर दुवैले एक अर्काको प्रतिस्पर्धी ठान्ने कथनबाट अलग गर्न प्रयास गरेका छैनन्। बिहीवारको टेलिफोन संवादले पनि दुई नेताबीचको विरोधाभास देखाएको छ।

    भेटबारे एकदमै छोटो वक्तव्यमा ह्वाइट हाउसले वार्तालाई जिम्मेवार रूपमा मतभिन्नताहरू व्यवस्थापन गर्ने र चासो मिल्ने ठाउँमा सहकार्य गर्ने प्रयासको एक अङ्ग भएको उल्लेख गरेको छ। बेइजिङले जारी गरेको अलि लामो वक्तव्यमा दुई नेताका धेरै चासोहरू मिलेको जनाएको छ। तर उसले सम्बन्ध खराब बनाएको आरोप अमेरिकामाथि लगाइको छ।

  • वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध

    वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता सन्दीप आवद्ध

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा विश्व क्रिकेटका स्टार सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगितामा आवद्ध भएका छन् । ६० बलको प्रतियोगितामा सन्दीप जमैका तल्लावासबाट खेल्नेछन् । प्रतियोगितामा ३० बलको एक इनिङ हुन्छ । विकेट पनि ६ मात्र हुन्छ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा समेत अनुबन्ध गरिसकेको छ ।

    सो प्रतियोगिता अगाडी ६० बलको प्रतियोगिता हुन लागेको हो । जसले गर्दा टीमहरुले आफ्ना खेलाडीलाई अनुवन्ध गरेका हुन् । प्रतियोगितामा पुरूषतर्फ ६ टोलीको सहभागिता रहनेछ। सीपीएल हुनुअघि ‘द सिक्स्टी’ प्रतियोगिता हुनेछ। प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म सञ्चालन हुनेछ । सीपीएल क्रिकेट अगस्ट ३० देखि सुरू हुँदैछ ।

  • इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…

    इराकको संसद भवनमा प्रदर्शनकारी छिरेपछि…

    बगदाद । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवन प्रवेश गरेका छन्। धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। ससद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको बीबीसीले जनाएको छ ।

    प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्। प्रदर्शनकारीहरूको भीड सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रवेश गरेको थियो। यो क्षेत्रमा विभिन्न देशका दूतावासहरू सहित राजधानी स्थित सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन्। सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ।

    इराकका प्रधानमन्त्री मुस्तफा अल(खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्। भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो। त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन। इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो।

    तर आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेन। उनी सहित उनका समर्थकहरूले अहिले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानीको विरोध गरेका हुन्। उनीहरू सुदानीलाई इरानसँग धेरै नजिक रहेको ठान्छन्। कुनै समय तेलको धनी राष्ट्र इरानले सामना गरिरहेका धेरै सङ्कटहरू मध्ये बुधवारको घटना पनि एक हो।


    सन् २०१९ मा पनि इराकमा भ्रष्ट्राचार, बेरोजगारी र सार्वजनिक सेवाको बेतिथिबारे ठूलो प्रदर्शन भएको थियो। ह्युमन राइट्स वाचका अनुसार उक्त प्रदर्शनमा सुरक्षाकर्मीले सयौँको हत्या गरेका थिए। सन् २०१६ मा पनि सदरका समर्थकहरू संसद् भवन प्रवेश गरेका थिए। इराकस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले प्रदर्शन कानुन सम्मत र शान्तिपूर्ण रहेसम्म प्रदर्शनकारीहरूलाई प्रदर्शन गर्न पाउने अधिकार रहने बताएको छ।

  • अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने रुसको निर्णय

    अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने रुसको निर्णय

    एजेन्सी । रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय गरेको छ । मस्कोको अन्तरिक्ष एजेन्सीका नवनियुक्त प्रमुखले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन २०२४ पछि छोड्ने निर्णय गरेको पुटिनलाई जानकारी दिएका थिए ।

    युक्रेनमा मस्कोको सैन्य हस्तक्षेप र रुसविरुद्ध अभूतपूर्व प्रतिबन्धका कारण क्रेमलिन र पश्चिमाहरूबीच तनाव बढेको बेला मस्कोले यस्तो घोषणा गरेको हो ।

    रुस र संयुक्त राज्य अमेरिकाले सन् १९९८ देखि अन्तरिक्षमा रहेको आइएसएसमा सहकार्य गर्दै आएका छन् । ‘निस्सन्देह, हामी हाम्रा साझेदारहरूलाई हाम्रा सबै दायित्वहरू पूरा गर्नेछौं, तर सन् २०२४ पछि यो स्टेसन छोड्ने निर्णय गरिएको छ’, जुलाईको मध्यमा रोसकोसमोस प्रमुख नियुक्त भएका युरी बोरिसोभले पुटिनलाई भने ।

    उनले अगाडि थपे, ‘मलाई लाग्छ कि उक्त समयसम्म हामी रूसी स्टेसन सँगै राख्न सुरु गर्नेछौं’, बोरिसोभले थपे, ‘यसलाई अन्तरिक्ष कार्यक्रमको मुख्य प्राथमिकता भनिन्छ । ’ अन्तरिक्ष स्टेसनबाट पछाडि हट्ने निर्णयलाई पुटिनले ‘राम्रो’ भनेका छन् ।

    बोरिसोभले अन्तरिक्ष उद्योग ‘कठिन परिस्थिति’ मा रहेको बताए । सन् १९६१ मा पहिलो मानिसलाई अन्तरिक्षमा पठाउनु र चार वर्षअघि पहिलो उपग्रह प्रक्षेपण गर्नु सोभियत अन्तरिक्ष कार्यक्रमका प्रमुख उपलब्धिहरू हुन् ।

    अन्तरिक्ष स्टेसन रुसको राष्ट्रिय गौरवको प्रमुख स्रोत हुन् ।

  • तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

    तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

    बर्लिन । तलव बढाउन माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले हडतालको घोषणा गरेपछि लुफ्थान्सा एयरका १ हजार भन्दा बढी उडान रद्द भएका छन् । बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द भएको कम्पनीले जनाएको छ । समाचार संस्था एपीका अनुसार ‘ग्राउन्ड स्टाफ’ले गरेको हडतालका कारण डेढ लाखभन्दा बढी यात्रुको उडान रद्द भएको छ । एयरलाइन्सले फ्रान्कफर्टबाट छ सय ७८ र म्युनिखबाट तीनसय ४५ उडान रद्द गरेको जनाएको छ । मंगलबार समेत फ्रान्कफर्टबाट ३२ र म्युनिखबाट १५ उडान रद्द भएको छ ।

    लुफ्थान्साले फ्रान्कफर्ट उडान रद्द गर्दा ९२ हजार र म्युनिखको अवरोधले उडान नहुँदा ४२ हजार यात्री प्रभावित हुने बताएको छ । एयरलाइन्सले प्रभावितहरूलाई सम्पर्क गर्ने र सम्भव भएसम्म वैकल्पिक उडानको व्यवस्था गर्ने जनाएको छ । यद्यपि उसले वैकल्पिक उडानमा सबैलाई समेट्न सकिने सुनिश्चितता गरेको छैन । उपलब्ध सीटमा यात्रीलाई उनीहरूलाई गन्तव्यसम्म पु¥याउन प्रयास गरिने बताइएको छ । विमान कम्पनीले हडतालका कारण बिहीबार र शुक्रबार उडान रद्द वा ढिलाइ पनि हुनसक्ने जनाएको छ ।

    करिब २० हजार कर्मचारीले तलब वृद्धिको माग गर्दै सोमबार एकदिवसीय हडतालको घोषणा गरेका थिए । युरोपभरका विमास्थलमा कर्मचारी अभाव र यात्रीको चाप बढिरहेका बेला लुफ्तान्साका कर्मचारीको हडतालले जटिलता थपेको छ । यात्रीको बढ्दो चापले गर्दा सुरक्षा जाँचमा अवरोध भएको छ भने यात्रीका लामा लाइनले विमानस्थल साघुँरो भएको छ । मुद्रास्फीति बढ्दै जाँदा फ्रान्स, स्वीडेन, नर्वे र डेनमार्कमा स्क्यान्डिनेभियन एयरलाइन्सका पाइलटले उच्च तलबको माग गर्दै हडताल गर्दा अन्तिम समयमा उडान रद्द गर्नुपरेको छ ।