Category: विश्व

  • भारतमा कोरोनाको विष्फोटक रुप, एकैदिन साढे १ लाख मानिसमा पुष्टी

    भारतमा कोरोनाको विष्फोटक रुप, एकैदिन साढे १ लाख मानिसमा पुष्टी

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसले विष्फोटक रुप लिएको छ । जहाँ एकै दिन १ लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ । यसले नेपालमा अझ बढी जोखिम बढाएको छ । किनकी नेपाल र भारतमा खुला सीमानाका कारण मानिसहरुको निर्वाध आवागमन रहेको छ । भारतमा पछिल्लो २४ घन्टामा १ लाख ४१ हजार ९ सय ८६ नयाँ संक्रमित फेला परेका छन्।

    यो अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो। यो संख्या पछिल्लो ६ महिनायता कै धेरै हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ७२ हजार १ सय ६९ पुगेको छ। पछिल्लो २४ घन्टामा ४० हजार ८ सय ९५ जना संक्रमणमुक्त भएका छन्। यस अवधिमा २८५ जनाको मृत्यु भएको छ।

    मन्त्रालयका अनुसार भारतको महाराष्ट्र, पश्चिम बंगाल र दिल्लीमा सर्वाधिक संक्रमित फेला परेका छन्। महाराष्ट्रमा मात्र पछिल्लो २४ घन्टामा ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। राजधानी नयाँ दिल्लीमा शनिबार २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

  • पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु

    पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु

    इस्लामावाद । पाकिस्तानमा हिमपातमा परी ठूलो मानवीय क्षति भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार देशको उत्तरी भेगमा हिमपातमा परि कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी समेत छन् । अर्को एकै परिवारका पाँच सदस्यको समेत ज्यान गएको छ ।

    बीबीसीका अनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा हिमपातमा मानिसहरुले ज्यान गुमाएका हुन् । खबर अनुसार हिल स्टेशनमा हिउँमा खेल्न गएको समयमा उनीहरुको ज्यान गएको हो । शनिबार चार फिटसम्म हिउँ जमेपछि सडक बन्द भएको थियो । पर्यटक बीचबाटोमै अलपत्र परेका थिए ।

    कतिपय सवारी साधन हिउँमै पुरिएको समेत खबर छ । धेरैको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको हो । हिमपातपछि भएको यो घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ । सेनाको टोली बाटो खुलाउने र हिउँमा फसेकाहरुको उद्धार गर्ने कार्यमा जुटेको छ ।

  • नाइजेरियामा लुटेरा समुहले गरे दुई सय जनाको हत्या

    नाइजेरियामा लुटेरा समुहले गरे दुई सय जनाको हत्या

    जाम्फारा । नाइजेरियामा लुटेर समूहले एक साताको अवधिमा २ सय जनाको हत्या गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । बन्दुकधारीहरूले नाइजेरियामा स्थानीयको हत्या गरेको परिवारले जानकारी गराएका हुन् । लुटेरा समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा यस्तो आतंक फैलाएको रोयटर्सले लेखेको छ ।

    आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्ससँग भने अनुसार बन्दुकधारीहरुले १५४ जनाको शव गाडेका छन् । केही शव संकलन गरी सेनाले सामूहिक अन्त्येष्टि गरेको खबर छ । मोटरसाइकल चढेर आएका करीब ३ सय जना आक्रमणकारीले १० वटा गाउँमा आक्रमण गरेका थिए ।

    आक्रमणकारीहरूले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको पाइएको छ । नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरूसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ । सरकारले उनीहरूलाई आतङ्कवादी समूहको रुपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ ।

  • फिफा अवार्ड : अन्तिम तीन जनामा मेसी, लेवान्डोस्की र सलाह

    फिफा अवार्ड : अन्तिम तीन जनामा मेसी, लेवान्डोस्की र सलाह

    काठमाडौं । फिफाले द बेस्ट फिफा पुरूष वर्ष खेलाडी अवार्डका लागि मनोनित अन्तिम तीन जनाको नाम सार्वजनिक गरेको छ । पुरूषतर्फको फिफा वर्ष खेलाडीको मनोनयनमा अर्जेन्टिना तथा पीएसजीका फरवार्ड लियोनेल मेसी, पोल्याण्ड तथा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की र इजिप्ट तथा लिभरपुलका मोहम्मद सलाह परेका छन् । अन्तिम तीनमा क्रिस्टियानो रोनाल्डो, केलियन एम्बाप्पेजस्ता स्टार भने अटाएनन् ।

    मेसी २०२१ को बालोन डे’ओरको उपाधि विजेता समेत हुन् । लेवान्डोस्की दोस्रो र सलाह सातौं स्थानमा थिए। फिफाको महिलातर्फको उत्कृष्ट खेलाडीमा स्पेन तथा बार्सिलोनाका जेनिभर हर्मोसो र एलेक्सिया पुटेलास र अष्ट्रेलिया तथा चेल्सीकी साम केर मनोनयनमा परेका छन्। फिफासँग आबद्ध विश्वका प्रत्येक राष्ट्रिय टोलीको कप्तान र प्रशिक्षकले वर्षको उत्कृष्ट खेलाडीको लागि अंक दिन पाउँछन्। जनवरी १७ मा फिफा वर्ष खेलाडीको घोषणा हुनेछ।

  • रुसी सेना कजाकिस्तान छिर्यो, भिडन्तको सम्भावना कति ?

    रुसी सेना कजाकिस्तान छिर्यो, भिडन्तको सम्भावना कति ?

    काठमाडौं\एजेन्सी । सरकार विरोधी प्रदर्शन जारी रहेका बेला कजाकस्तानका राष्ट्रपति कासीम जोमाट टोकाएभको आग्रहमा रुसले नेतृत्व गरेको सैन्य बल कजाकस्तान छिरेको छ । इन्धनको मूल्यवृद्धिलाई लिएर केही दिनदेखि सुरु भएको अस्थिरताबीच प्रमुख सहरमध्ये एक एल्माटीमा मसिन गन प्रहारको आवाज सुनिएको बीबीसीले लेखेको छ । अधिकारीहरूले त्यहाँ प्रहरी र प्रदर्शनकारीहरूको मृत्यु भएको जनाएका छन्। राष्ट्रपतिले विना कुनै प्रमाण विदेशमा प्रशिक्षण लिएका आतङ्कवादीहरुले पछिल्ला घटना घटाएको समेत बताउने गरेका छन् ।

    बुधवार एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति टोकाएभले रुसले नेतृत्व गरेको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन सीएसटीओ लाई प्रदर्शन मत्थर पार्न सहयोग गर्न अपिल गरेका थिए। उक्त सङ्गठनमा रुस, कजाकस्तान, बेलारुस, ताजिकिस्तान अनि आर्मिनिया सदस्य छन्। हाल कजाकस्तानमा पठाइउन लागिएको कुल सैन्य सङ्ख्या २,५०० रहने बताइएको छ। सीएसटीओले ती सुरक्षा अधिकारीहरू शान्ति सेना रहेको र उनीहरूले राज्य तथा सेनाका सम्पत्तिको रक्षा गर्ने जनाएको छ। उनीहरू कजाकस्तानमा केही दिन वा केही हप्ता बस्न सक्ने एक रुसी समाचार संस्थाले जनाएको छ।

    अमेरिकाको विदेश मन्त्रालयले आफूहरूले रुसी नेतृत्वको फौज परिचालनलाई नजिकबाट नियालिरहेको जनाएको छ। प्रदर्शन चर्किएसँगै कजाकस्तानमा सङ्कटकाल घोषणा गरिएको छ। सरकारी निकायहरूले गाडीमा प्रयोग गरिने इन्धनको मूल्य बढाएसँगै देशका विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको हो।

  • टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?

    टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलियाले किन प्रवेशमा रोक्यो ?

    मेलवर्न । टेनिसका विश्व चर्चित खेलाडी स्टार खेलाडी नोभाक जोकोभिचलाई अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएको विषयले सर्विया र अष्ट्रेलियामा बहस सिर्जना गरेको छ । अष्ट्रेलिया प्रवेश गर्न चाहिने आवश्यक मापदण्ड नपुगेको भन्दै अष्ट्रेलियाको अध्यागमनले उनको भिसा रद्द गरिदिएको खबर छ । उनी नौ पटकका अस्ट्रेलियन ओपन विजेता हुन् ।

    जोकोभिच बुधबार राति मेलबर्न पुगेका थिए। मेलर्वन विमानस्थलमा उनलाई रोकियो । त्यहाँ उनलाई सुरक्षाकर्मीले भिसा रद्दको जानकारी गराए । अष्ट्रेलियन बोर्डर फोर्स एबिएफका अनुसार जोकोभिचले प्रवेश मापदण्ड पूरा गरेको प्रमाण पुगेन । उनले कोरोनाको खोप लगाएको प्रमाण समेत साथमा बोकेका थिएनन् । जसको वैद्य भिसा नभएको वा भिसा रद्द भएको अवस्थामा उनीहरूलाई हिरासतमा लिइने र फिर्ता पठाउने नियम रहेको एबिएफले उल्लेख गरेको छ ।

    उता, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सर्बियाली खेलाडीले सङ्घीय सरकारलाई भिसाका मामलामा सन्तुष्ट पार्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनले नियम भन्दा माथि कोही नरहेको भन्दै यसको पालना गर्न भनेका छन् । जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार मेलवर्न विमानस्थल पुगेका थिए। सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियासमक्ष टेनिस च्याम्पियनलाई सहयोगको प्रस्ताव गरेको समेत खबर छ ।

  • नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

    नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले छेकेपछि…

    पञ्जाव । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीलाई प्रदर्शनकारीले विफल पारेको घटनाले यतिबेला भारतमा ठूलो वहस सिर्जना गरेको छ । बुधबार एक कार्यक्रममा जाने बाटो नपाएपछि उनी बीच बाटो बाटै फर्कनु परेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा यसरी फसेका हुन् । यहाँ निर्वाचनको प्रचार प्रसार शुरु भएको छ । सोही सिलसिलामा उनी त्यहाँ पुगेका थिए । मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए।

    त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो। मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन। मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरेका थिए । मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टा सडक मार्गबाट जाने निर्णय लिएका थिए । गन्तब्यमा पुग्न झन्डै ३० किलोमिटर बाँकी रहँदा भने मोदीको सवारी रोकियो ।

    मोदी भ्रमणको विरोध गरिरहेका किसानले आन्दोलन गरेर सडक बन्द गराएका थिए । मोदीको सवारी १५\२० मिनेट त्यहाँ रोकिएको थियो । विशाल प्रदर्शनका कारण बाटो खुल्ने अवस्था नभएपछि उनी कार्यक्रम रद्द गरेर फर्किएको समाचारमा उल्लेख छ । भातको केन्द्रीय सरकारले भने मोदीको सुरक्षामा पन्जाब प्रदेश सरकारले हेलचक्र्याइँ गरेको आरोप लगाएको छ ।

  • भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी

    भारतमा ओमिक्रानका कारण एक जनाको मृत्यु भएको पुष्टी

    नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र बनेको छ । यसैबीच, भारतमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित एक जनाको मृत्यु भएको पुष्टी भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो । मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो ।

    मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो । भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो । त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको थियो । हाल ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या तीव्ररुपमा वृद्धि भएपछि विभिन्न देशहरुले चिन्ता व्यक्त गरेका छन् ।

  • अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

    अमेरिकामा एकै दिन १० लाख माथि कोरोना पुष्टि

    वासिङ्टन डिसि । अमेरिकामा एकै दिन १० लाखभन्दा बढीमा मानिसमा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक आएको छ ।
    जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको यो आङ्कडा अनुसार सोमबार अमेरिकामा १० लाख ८० हजार २११ नयाँ संक्रमित फेला परेका हुन् । यो कुनै पनि मुलुकमा देखिएको हालसम्म कै सबैभन्दा ठूलो सङ्ख्यामा सङ्क्रमण हो । 
    संक्रमण बढ्दो क्रममा रहे पनि राष्ट्रपति जो बाइडनले स्कुलहरु खुला राख्न निर्देशन दिएका छन् । जुन निर्णयको यहाँ आलोचना भएको छ ।

    कोरोनाको लहर बढिरहेको बेला अमेरिकी अधिकारीहरुले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च विन्दुमा पुग्न बाँकी रहेको बताएका छन् । प्रमुख स्वास्थ्य सल्लाहकार एन्थोनी फाउचीले अमेरिकामा कोरोनाको ग्राफ तीव्ररुपमा बढिरहेको र महामारी उच्चविन्दुमा पुग्न अझै बाँकी रहेको बताएका छन् ।

    अहिले कोरोनाविरुद्धको खोप नलगाएकाहरु अस्पतालमा भर्ना हुने र मृत्यु हुने क्रम जारी रहेको भन्दै उनले सबैलाई खोप लगाउन आह्वान गरेका छन् ।

  • ६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास

    ६ महिनाअघि रास्ट्रपतिको हत्या भएको हाइटीमा प्रधानमन्त्रीको हत्या प्रयास

    काठमाडौं/एजेन्सी । हाइटीका प्रधानमन्त्री एरिअल आङ्ग्रीको हत्या प्रयास भएको छ । यो मुलुकमा ६ महिना अगाडि रास्ट्रपतिको हत्या भएको थियो ।

    बिबिसीका अनुसार उत्तरी सहर गोनाएभको एउटा गिर्जाघरमा आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भइरहेका बेला उक्त घटना भएको हो । अनलाइनमा पोस्ट गरिएका भिडिओहरूमा प्रधानमन्त्री र उनको टोली तीव्र गोली प्रहारकाबीच गाडी तर्फ गएको देखिन्छ।

    गत जुलाईमा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्या गरिएपछि यहाको  सुरक्षा अवस्था व्यापक रूपमा बिग्रिएको छ। आङ्ग्रीले अपहरण मामिलाका आरोपितहरू र देशभरिको ग्यास वितरणलाई नियन्त्रणमा लिएका शक्तिशाली गिरोहविरुद्ध कारबाहीको वाचा गरेका छन्।

    प्रधानमन्त्रीको कार्यालयले आक्रमण गर्ने समूह पर्खाल पछाडि लुकेको र गिर्जाघरलाई घेरेर बिशपलाई धम्की दिएको समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ।
    सुरक्षा निकाय र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ।

    पछिल्लो आक्रमण आङ्ग्रीले नेतृत्व गरेको कमजोर प्रशासनका लागि अर्को प्रहार हो। उनी मोइजको हत्या भएको दुई साता पछि देशका कार्यवाहक प्रमुख बनेका थिए।
    त्यहाँ नयाँ राष्ट्रपति चयनका लागि मिति सार्वजनिक गरिएको छैन।

    हत्या गरिएका राष्ट्रपति मोइजलाई पोर्ट-अ-प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेको बताइएको थियो। घटनामा प्रथम महिला पनि घाइते भएकी थिइन् ।

  • सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?

    सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले किन छाडे पद ?

    काठमाडौं ।  सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पद त्यागको घोषणा गरेका छन् । सुडानमा अहिले आन्दोलन चर्किएको छ । जहाँ सेनाले गोलि चलाएको खबर छ । त्यसलगत्तै प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । उनले
    केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका थिए । सोको विरोधमा सुडानमा आन्दोलन चर्किएको हो ।  प्रदर्शनकारीले विवादास्पद सम्झौताको खारेजीको माग गर्दै आएका छन् ।
    बीबीसीका अनुसार सेनाको गोली लागेर दुई जनाको ज्यान गएको पुष्टि भएको छ । गएको अक्टोबरदेखि अहिलेसम्म सेनाको गोली लागेर ५६ जनाको ज्यान गइसकेको छ ।
    प्रधानमन्त्री ह्यामदकले सुडान अहिले कठिन मोडमा आइपुगेकाले शान्तिको मार्गका लागि आफूले राजीनामा दिएको प्रतिक्रिया दिए  । देशमा भइरहेको हिंसा रोक्न आफूले सक्दो प्रयास गरे पनि सफल नभएको बताएका छन् ।
    अक्टोबरमा सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री ह्यामदक केही समय पछि पुनः प्रधानमन्त्री बनेका थिए । सेनाले अपदस्थ गरे पछि ह्यामदकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो । सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरमा विशाल प्रदर्शन भएका थिए ।

  • भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

    भारतमा कोरोनाले विष्फोटक रुप लिँदै, नेपालमा बढ्यो जोखिम

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुपम लिएको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ७७५ जनामा कोरोना पुष्टी भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको आंकडा रहेको छ । भारतमा बढेको संक्रमणले जोखिम भने नेपालमा समेत बढाएको छ । किनकी नेपाल र भारतबीच अहिले निर्वाध आवतजावत भइरहेको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ४०६ जनाको मृत्यु भएको छ । पछिल्लो समय बढेको संक्रमणमा ओमिक्रोनको संक्रमण धेरैमा देखिएको आंकडा छ । यद्दपी मृत्यु हुनेमा यसको असर कति छ भन्ने तथ्यांक आइसकेको छैन । भारतमा अहिले एक्टिभ केश १ लाखको आंकडा भन्दा माथि छ । अहिलेसम्म यहाँ ४ लाख ८१ हजार ५ सय जनाको मृत्यु भइसकेको छ । भारतले १ अर्ब ४५ करोड डोज खोप वितरण गरिसकेको छ ।

  • भारतको जम्मू कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड, कम्तिमा १२ मारिए

    भारतको जम्मू कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड, कम्तिमा १२ मारिए

    जम्मू कश्मीर । भारतको जम्मू(कश्मीरस्थित वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा कम्तिमा १२ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले बताएका छन् । घटनामा २० भन्दा बढी घाइते छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड भएको हो । नयाँ वर्ष २०२२ को पहिलो दिन मन्दिर दर्शनमा पुगेकाहरु यस घटनामा मारिएका छन् ।

    शनिबार बिहान पौने तीन बजेतिर एउटा विवादका कारण एक(अर्कामा धक्कामुक्का भएपछि भागदौड मच्चिएको जम्मू-कश्मीरका डीजीपी दिलबाग सिंहले बताएका छन् । मृत्यु हुनेमा दिल्ली, हरियाणा, पन्जाब र जम्मू(कश्मीरबाट मन्दिर दर्शनमा पुगेका मानिस छन् । जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । उनले छानबिनका लागि समिति गठन गरेका छन् । उनले मृतकका परिवारलाई सहयोगस्वरूप १० लाख प्रदान गर्ने घोषणा समेत गरेका छन् ।

  • कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली

    कोरोनाको डेल्टा र ओमिक्रोनको चेपुवामा विश्व स्वास्थ प्रणाली

    जुरिच । डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको भन्दै  विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।

    युरोप र अमेरिकामा कीर्तिमानी सङ्ख्यामा कोभिडका नयाँ सङ्क्रमितहरू देखा परिरहँदा सङ्गठनका अध्यक्ष डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

    बिबिसीका अनुसार अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको बताएका छन्।

    फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन्।

    डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन्।

    डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने, “थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।”
    रोयटर्सका अनुसार विश्वभरि यतिखेर दैनिक झन्डै नौ लाख सङ्क्रमित थप भइरहेका छन्। अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै सङ्क्रमणले जनवरीको  अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन्।

    कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन्। जसमा यूकेबेलायत  समेत छ । यहाँ १२ वर्ष माथिका ५७ प्रतिशत मानिसले तेस्रो मात्रा खोप लिइसकेका छन्।
    डब्ल्यूएचओ प्रमुखले भने ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले ‘महामारी लम्ब्याउने देखिएको’ बताए ।

  • विश्वभर ओमिक्रोन जोखिम बढेको डब्लुएचओको चेतावनी, स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्ने

    विश्वभर ओमिक्रोन जोखिम बढेको डब्लुएचओको चेतावनी, स्वास्थ्य प्रणालीलाई ओझेलमा पार्न सक्ने

    काठमाडौं । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ ।

    धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ ।गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ । नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड ओमिक्रोन भेरियन्टले तनाव भएको छ । ती देशहरुमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ ।

    ओमिक्रोन चिन्ताको नयाँ संस्करणसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले कोभिड १९ साप्ताहिक महामारी अपडेटमा जानकारी दिएको छ ।डब्ल्यूएचओले बेलायत, दक्षिण अफ्रिका र डेनमार्कको प्रारम्भिक तथ्याङ्कमा प्रति व्यक्ति विश्वको तुलनामा सङ्क्रमणकोे उच्च दर रहेको जनाएको छ । डेल्टाको तुलनामा ओमिक्रोनको लागि अस्पतालमा भर्ना हुने जोखिम कम भएको भएपनि तर ओमिक्रोनको गम्भीरता बुझ्न थप डाटा आवश्यक रहेको जनाइएको छ।

    ती अध्ययनहरूको बावजुद, ओमिक्रोनको द्रुत बृद्धिले अझै पनि ठूलो संख्यामा अस्पताल भर्ना हुने, विशेष गरी खोप नभएका समूहहरूमा, र स्वास्थ्य प्रणालीमा व्यापक अवरोध ल्याउने जनाइएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा उच्च सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन्।

    क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ ।मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन्।

    चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ । अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् ।इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो । त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ। पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलवार १७ हजार १ सय ७२ पुगेको छ।

    ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन् साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एक दिनको सर्वाधिक उच्च सङ्ख्या हो । यसैबीच इङ्ग्ल्यान्डमा कीर्तिमानी १ लाख १७ हजार ०९३ हजार सङ्क्रमणका विवरण स्वास्थ्य अधिकारीहरूले दिएका छन् । क्रिसमसका कारण युकेभरिको तथ्याङ्क भने आएको छैन।

  • यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण

    यूरोपमा अहिलेसम्मकै उच्च संख्यामा देखियो कोरोना संक्रमण

    पेरिस । यूरोपमा अहिलेसम्मकै बढी संख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड(१९ सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । युरोपका सबै देशले ओमिक्रोन भेरिअन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् र इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा कीर्तिमानी सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन्।

    क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ। मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन्।

    चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरिअन्टका कारण निम्तिएको ठानिन्छ। अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरिअन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन्। सोमवार फ्रान्सका स्वास्थ्यमन्त्रीले ज्यानुअरीको सुरुबाट दैनिक अढाई लाख सङ्क्रमण देखिनसक्ने बताए।


    फ्रान्सेली अस्पतालहरूको एउटा सङ्गठनले अझै अप्ठेरा दिनहरू आउन बाँकी नै रहेको जनाएका छन्। इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो। त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ। पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलवार १७ हजार १ सय ७२ पुगेको छ ।

    ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन् । साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एक दिनको सर्वाधिक उच्च सङ्ख्या हो ।

  • ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू

    ओमिक्रोन बढेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालिन कर्फ्यू

    नयाँ दिल्ली । भारतमा बढ्दो कोभिड संक्रमण नियन्त्रणका लागि पुनः कर्फ्यू आदेश जारी भएको छ । राजधानी नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यू शूरु भएको हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमबारबाटै लागू हुने गरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाएको हो । भारतको उत्तर प्रदेश र हरियाणाले समेत शनिबारदेखि नै रात्रीकालिन कर्फ्यू शुरु गरिसकेका छन् । उत्तर प्रदेश र नयाँ दिल्लीमा कोरोना बढ्दा त्यसको असर नेपालमा पनि पर्छ ।


    कर्फ्यू लागेसँगै अत्यावश्यक सेवाहरू प्रभावित नहुने र स्वास्थ्य सुरक्षालाई ध्यान दिइने राज्य सरकारको घोषणा छ । राति ११ बजेपछि बजार, पसल, तथा मानिसको आवतजावतमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । अन्य समयमा मास्क लगाएर हिँड्ने तथा सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाउनु पर्नेछ । दिल्लीमा आइतबार कोरोनाका थप २९० संक्रमित भेटिएका छन्। भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन्। उनीहरुमध्ये ५२९ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ ।

  • ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु

    ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ को मृत्यु

    काठमाडौं । ग्रीसमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा कम्तिमा १६ जनाको मृत्यु भएको अन्र्तारष्ट्रिय संचारमाधयमले जनाएका छन् । सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेको हो । बीबीसीका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु समेत छन् । मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो । टर्कीबाट इटली गइरहेको डुङ्गामा ८० जना चढेका थिए ।

    एसियन सागर मुख्य गरी ग्रीस, अफ्रिका र मध्यपूर्वका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली सङ्घमा जाने मुख्य मार्गमध्येको एक मानिन्छ । गत बिहीवार र बुधवार पनि डुङ्गा डुबेको विवरण आएको छ । सन् २०२१ मा मात्रै ग्रीसले एक हजार ४ सय ५० खोज तथा उद्धार अभियानमार्फत २९ हजार भन्दा बढी मानिसको उद्धार गरेको थियो । पछिल्लो समय यूरोपका विभिन्न मुलुक छिर्न शरणार्थीहरुले ग्रीसको बाटो उपयोग गर्ने गरेका छन् । यस्तो काममा संगठित मानव तस्कर समूहहरु नै सक्रिय हुने गरेका छन् ।

  • बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए

    बंगलादेशमा ५ सय यात्रु चढेको पानीजहाजमा आगलागी, कम्तिमा ३७ जना मारिए

    ढाका । बंगलादेशमा एक यात्रुवाहक पाजीजहाजमा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। कैयौं मानिस घाइते भएका कारण मृतक अझै बढ्न सक्ने अनुमान गरिएको छ । त्यहाँको सुगन्धा नदीमा घटना भएको हो। घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको जानकारी गराएको बीबीसीले लेखेको छ ।

    डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेका थिए । मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका हुन् । डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ।


    एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि हिडेको थियो । शुक्रवार बिहानै डुङ्गामा आगलागी शुरू भएको हो । आगलागीको कारण खुलेको छैन । घाइतेहरूलाई बरिसल सदर अस्पताल र स्थानीय अस्पतालमा लगिएको छ । आगलागीका बेला धेरैजसो मानिस सुतिरहेका थिए। दुर्घटनाको अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ। बर्गुना ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्छ।

  • अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन

    अध्ययनको निष्कर्ष : ओमिक्रोन घातक छैन

    लण्डन । ओमिक्रोन सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको बेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनले देखाएका छन्। बीबीसीका अनुसार प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ओमिक्रोन भेरियन्टले सङ्क्रमण भएका ५० देखि ७० प्रतिशतसम्म कम मानिस अस्पताल भर्ना भएको देखाएको छ।

    तर ओमिक्रोन सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले एकदमै धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्ने क्षमता राख्छ । जसले गर्दा अस्पतालमा भिड हुनसक्ने चिन्ता समेत अध्ययनको छ । बेलायतमा बुधवार सर्वाधिक दैनिक सङ्क्रमण पुष्टि हुँदा एक लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन्।

    ओमिक्रोन भाइरसको खतराबारे यथेष्ट जानकारी उपलब्ध हुँदा देशहरूलाई यसविरुद्ध योजना बनाउन सहज हुन्छ। स्कटल्यान्डमा गरिएको अध्ययनमा कोभिडबाट कति बिरामी भए र उनीहरूमध्ये कति अस्पताल पुगे भन्ने तथ्याङ्क हेरिएको छ। त्यसले ओमिक्रोन पनि डेल्टा भेरिअन्ट जस्तै जोखिमपूर्ण हुने हो भने अस्पतालमा ४७ जना बिरामी भर्ना हुनुपर्ने तर अहिले १५ जना मात्रै बिरामी भर्ना भएको बताएको छ ।

    अध्ययनकर्ताहरूले अस्पताल भर्ना हुने सङ्ख्यामा लगभग दुई तिहाइ कमी देखिएको बताएका छन्। यद्यपि अध्ययनमा निकै कम बिरामी र जोखिममा रहेका जनसङ्ख्याको तथ्याङ्क छ। पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड-१९ निर्देशक डा. जीम म्याकमेनानीनले एउटा राम्रो समाचार भएको बताएका छन्। ओमिक्रोन भेरियन्ट फैलिएको गतिले यो कम खतरा हुँदाको फाइदालाई जितेको उनले बताए।

    दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ओमिक्रोनको लहर कम खतराको भएको देखाएको छ। अध्ययनले अन्य लहर र अन्य भेरिअन्टको सङ्क्रमणको तुलनामा ७० देखि ८० प्रतिशत कम अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने देखाएको छ। तर अध्ययनले अस्पताल पुग्ने बिरामीका लागि यो भेरिअन्ट र अन्य भेरिअन्टको सङ्क्रमणमा खास फरक नदेखिएको बताएको छ।

    लन्डनमा गरिएको एक अध्ययनले ओमिक्रोनलाई उत्परिवर्तनले डेल्टाभन्दा कम घातक बनाएको देखाएको छ। अध्ययनकर्ताहरूले खोप नलगाएको वा पहिले सङ्क्रमण नभएका व्यक्तिमा पनि ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था ११ प्रतिशतले कम हुन्छ। सो अध्ययनले प्रतिरोधी क्षमता विकास गरेका मानिसमा ओमिक्रोन सङ्क्रमण हुँदा अस्पताल जानुपर्ने अवस्था २५ देखि ३० प्रतिशतले कम हुने र एक दिनभन्दा बढी अस्पतालमा बस्नुपर्ने अवस्था ४० प्रतिशतले कम हुने नतिजा निकालेको छ।

  • यौन दुर्व्यवहारको अभियोगमा ८४ वर्षिय अमेरिकी पादरीमाथि १२ वर्ष जेल सजाय

    यौन दुर्व्यवहारको अभियोगमा ८४ वर्षिय अमेरिकी पादरीमाथि १२ वर्ष जेल सजाय

    काठमाडौं । इस्ट टिमोरमा एक अदालतले अमेरिकी क्रिश्चियन पादरीमाथि १२ वर्षको जेल सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहारको अभियोग लागेको छ । थुप्रै टुहुरा बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेकोमा ८४ वर्षीय रिचर्ड डासबाचलाई मंगलबार अदालतले यस्तो सजाय सुनाएको हो ।


    रिचर्डले १९९० को दशकमा जोखिममा रहेका बालबालिकाका लागि आश्रय दिँदैआएका थिए । त्यस क्रममा उनले १४ वर्षमुनिका बालिकाहरूलाई यौन शोषण गर्नुका साथै तीमध्ये एकलाई बाल पोर्नोग्राफीमा लगाएको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर भएको थियो । राजधानी डिल्लीबाट २०० किमि टाढाको ओकस जिल्लामा उनले यौन दुर्व्यवहार गरेको भन्दै गत फेब्रुअरीमा मुद्दा दायर भएको थियो ।

    उनले सञ्चालन गरेको टोपु होनिस आश्रयस्थलमा बालिकाहरूमाथि शोषण गरेको आरोप लागेको हो । रिचर्डको अपराधको गाम्भिर्यतालाई ध्यानमा राख्दै बढीमा ३० वर्षको जेल सजाय सुनाउनुपर्ने पीडित समूहले जनाएको छ । कट्टर क्याथोलिक राज्यको रुपमा चिनिने इस्ट टिमोर १९९९ मा इन्डोनेसियाबाट अलग भएको देश हो । जहाँ ९८ प्रतिशत क्याथोलिक क्रिश्चियनहरूको बसोबास रहेको बताइन्छ ।

    उक्त राष्ट्र निर्माणको क्रममा चर्चहरूको प्रमुख भूमिका रहेको इतिहास छ । उक्त आश्रयस्थलमा विदेशी दाताहरूको पनि सहयोग रहेको थियो । मुद्दाको प्रक्रियाकै क्रममा पीडितहरूले आफूहरूमाथि धम्की आएको भन्दै गुनासो गरेका छन् ।

  • ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

    ओमिक्रोनबारे दक्षिण अफ्रिकी अनुभव : खोप नलगाउनेलाई बढी जोखिम

    काठमाडौंं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दक्षिण अफ्रीकाबाट पहिलो पटक देखा परेको थियो । यसमा सो मुलुकले धेरै अध्ययन समेत गरेको छ । ओमिक्रोन अहिले तिकै तिव्रताका साथ विश्वभर फैलिरहेको छ । खासगरि यूरोपमा यसले बढी नै प्रभाव पारेको छ । यसैबीच दक्षिण अफ्रीकाका डाक्टर कोएत्जीले खोप नै यस भाइरसको न्यूनिकरणको एक मात्र उपाय रहेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार खोपको पूर्ण मात्रा लगाएकाहरुमा ओमिक्रोनको प्रभाव निकै कम छ । डाक्टर कोएत्जीले ओमिक्रोन देखिए पनि खोप लगाएका मानिसमो त्यसको प्रभाव निकै कम परेको बताएका छन् । जसका कारण मानिस अस्पताल मै पुग्नु पर्ने अवस्था आउँदैन । खासगरि विकसित मुलुकमा खोप उपलब्ध भएर पनि मानिसहरुले लगाएका छैनन् । गरिब मुलुकहरुले खोप नै नपाएको अवस्था छ । यो असमानताका कारण ओमिक्रोनले विश्वभर पुनः नराम्रो प्रभाव पार्ने हो की भन्ने चिन्ता भने अहिले पनि जनाइएको छ ।

  • म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा

    म्यानमारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलासा

    लण्डन । म्यान्मारमा सेनाले ४० निहत्था नागरिकको सामुहिक हत्या गरेको खुलेको छ । गत जुलाई महिनामा गरेका शृङ्खलाबद्ध सामूहिक हत्याका घटनामा कम्तीमा ४० जनाको ज्यान गएको बीबीसीको अनुसन्धानले देखाएको हो । सबै मृतक पुरुष छन् । उनीहरूलाई अलग पारी हत्या गर्नुअघि १७ वर्ष उमेरसहितका सैनिक जवानहरूले गाउँलेलाई घेरा हालेको प्रत्यक्षदर्शी तथा बाँच्न सफल व्यक्तिहरूले बताएको बीबीसीले लेखेको छ ।

    हत्या गरिएकामध्ये अधिकांश व्यक्तिलाई पहिला यातना दिइएको र चिहानमा गाडिएको भिडिओ तथा तस्बिर सार्वजनिक भएको छ । मध्य म्यान्मारमा पर्ने विपक्षीहरूको बलियो पकड भएको सगाइन जिल्लाको कानी नगरमा गत जुलाईमा चारवटा छुट्टाछुट्टै घटना भएका थिए। नेत्री आङ सान सू ची नेतृत्वको जननिर्वाचित सरकारलाई गत फेब्रुअरीमा हटाएर सत्ता हातमा लिएयता म्यान्मारको सेनाले नागरिक स्तरबाट प्रतिरोधको सामना गर्दै आएको छ।

    बीबीसीले ११ जना प्रत्यक्षदर्शीसँग कुरा गरी उनीहरूले भनेका कुरालाई म्यान्मारमा मानव अधिकार उल्लङ्घनबारे अनुसन्धान गर्दै आएको यूकेस्थित एउटा गैरसरकारी संस्थाले सङ्कलन गरेका मोबाइल फोन फुटेज एवं तस्बिरसँग तुलना गरेको छ । यीन नाम गरेको गाउँमा हत्याको ठूलो घटना भएको पत्ता लागेको छ । जहाँ कम्तीमा १४ जनालाई मृत्यु हुनेगरी कुटपिट गरिएको र पछि उनीहरूका शव जङ्गल भएको क्षेत्रमा एउटा खोल्सोमा फालिएको थियो।

    यीन गाउँका प्रत्यक्षदर्शीहरूले पुरुषहरूलाई डोरीले बाँधेर हत्या गर्नुअघि कुटपिट गरिएको बीबीसीलाई बताएका छन्। एक पुरुषले हत्या गरिएकाहरूलाई सैनिकहरूले चरम यातना दिएको बताएको समेत समाचारमा उल्लेख छ । उनीहरूलाई बाँधिएको थियो, ढुङ्गाले र बन्दुकको कुन्दा हानिएको अनि दिनभरि यातना दिइएको थियो ।

  • फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो

    फिलिपिन्स आँधीमा मर्नेको संख्या २०८ पुग्यो

    मनिला । फिलिपिन्समा अघिल्लो साता आएको राई नामक आँधीमा परि ज्यान गुमाउनेको संख्या २०८ पुगेको छ । विनासकारी आँधीमा परि अझै कैयौं मानिस वेपत्ता रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । दक्षिण र मध्य फिलिपिन्सका समुन्द्री टापुलाई आँधीले तहसनहस पारेको छ । यसले आकर्षक पर्यटकयि गन्तब्य समेत प्रभावित बनेको समाचारमा उल्लेख छ ।

    अहिलेसम्म २३९ जना घाइते भएको र अझै ५२ जना हराइरहेको रिर्पोट छ । बिहीबार भएको आँधीका कारण ३० लाख मानिस घर छाडेर भाग्न बाध्य भएका थिए । साथै सरकारी भवन, अस्पताल, विमानस्थल र विद्यालयहरुमा समेत ठूलो क्षति पुगेको छ । मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बचाउ र उद्धारको काम जारी रहेको समेत समाचार छ ।

  • दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

    दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा बने राष्ट्रपति

    काठमाडौं । दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षिय युवा राष्ट्रपति बनेका छन् । उनी इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका हुन् । ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्ने पक्का भएको समाचार एजेन्सीहरुले लेखेका छन् । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका छन् । बीबीसीका अनुसार आइतबार राष्ट्रपतीय चुनावमा सम्पन भएको छ ।

    उनले ५६ प्रतिशत मत ल्याएका छन् । कास्तले ४४ प्रतिशत मत पाएका छन् । बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको समेत उल्लेख गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुन् । उनले सन् २०१९ र २०२० असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन जनाएका थिए ।

  • पाकिस्तानको कराँचीमा विष्फोट, कम्तिमा १० जना मारिए

    पाकिस्तानको कराँचीमा विष्फोट, कम्तिमा १० जना मारिए

    कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार भएको एक विष्फोटमा कम्तिमा १० जना मारिएका छन् । त्यहाँ एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको र १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतलाई उदृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको खबर छ ।

    घटनामा गम्भीर घाइते भएका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले बताएका छन् । एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्यास चुहावटका कारण विष्फोट भएको बताइएको छ। विष्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ।
    उद्दारटोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत छ । कराँची सिन्धको प्रान्तीय राजधानी हो। सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। थप अनुसन्धानका लागि बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

  • फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित

    फिलिपिन्समा विनासकारी आँधी, कम्तिमा १२ को मृत्यु-लाखौं विस्थापित

    मनिला । दक्षिण फिलिपिन्समा आएको विनासकारी आँधीमा परि १२ जनाको मृत्यु भएको छ । शक्तिशाली समुद्री आँधीका कारण मुलुकको लोकप्रिय पर्यटकीय क्षेत्र नै तहसनहस भएको समाचार छ । बीबीसीका अनुसार मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको छ । तीव्र गतिको आँधीले बाटोमा परेका घरहरू ढलाउँदा लाखौँ मानिसहरू विस्थापित भएका छन्।

    संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिसहरू प्रभावित भएका जनाएको छ। शुक्रवारसम्म १२ जनाको मृत्यु पुष्टि भएको छ। सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् भने बिजुलीका तार र खम्बाहरू ढलेका छन्। जताततै बाढी आएपछि हजारौँ मानिसहरू घर छोडेर सुरक्षित स्थलमा आश्रय लिइरहेको बताइएको छ।

    अधिकारीहरूले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानहरूका लागि चालु रहेको बताएका छन्। सन् २०१७ मा त्यहाँ छायाङ्कन भएको एउटा चलचित्रले यहाँको उत्कृष्ट स्थानीय सौन्दर्यलाई प्रदर्शित गरेपछि यो ठाउँ प्रसिद्ध भएको थियो। यो टापुले फिलिपिन्समा कठिन सहरको दिनचर्याबाट टाढा बस्न चाहने युवा र निस्फिक्री घुम्न चाहने यात्रुहरूलाई आकर्षित गर्ने गरेको छ। पश्चिमतर्फ सोझिएको आँधीले नदीका बाँधहरू फुटाउँदा ठूला टापुहरूमा बाढी निम्त्याएको थियो।

    सिरगाओ पश्चिमको सुरिगाओ सहरका मेयरले टाइफुनको प्रभावलाई गम्भीर भनेका छन्। ूयो देशमा वर्षमा औसत २० आँधी आउने गरेका छन्। सन् २०२० को नोभेम्बरमा समुद्री आँधी गोनीले आफ्नो मार्गमा मानवीय क्षति र विनाश निम्त्याएको थियो। सन् २०१३ मा ६,००० मानिसहरूको ज्यान जाने गरी आएको हैयान समुद्री आँधीपछि त्यो सबैभन्दा ठूलो आँधी भएको बताइएको छ।

  • भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या

    भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या

    नयाँ दिल्ली । भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्ने तथ्य खुलासा भएको छ । त्यसो त भारत आत्महत्या बढी हुने मुलुक पनि हो । किनकी यहाँ चरम गरिबी र सामाजिक असमानताका कारण यस्ता घटना बढी हुने गरेका छन् । हालै भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरो एनसीआरबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशभरि २२,३७२ गृहिणीले आत्महत्या गरेका छन् । यो तथ्यांक अनुसार दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्छन् ।

    सन् २०२० को तथ्याङ्कअनुसार भारतमा १,५३,०५२ आत्महत्याका घटनामध्ये १४.६ प्रतिशत गृहिणी छन् । यो सङ्ख्या आत्महत्या गर्ने कुल महिलाहरूको ५० प्रतिशतभन्दा धेरै हो। बीबीसीका अनुसार गत वर्ष त्यसअघिका वर्षभन्दा कुनै भिन्न विवरण आएको होइन। सन् १९९७ यता एनसीआरबीले पेसाका आधारमा आत्महत्याका विवरण राख्न थालेको थियो ।

    त्यसयता २०,००० भन्दा धेरैले गृहिणीहरूले बर्सेनि आत्महत्या गरेको तथ्याङ्क छ। सन् २००९ मा त्यो सङ्ख्या बढेर २५,०९२ पुगेको थियो। पत्रपत्रिकामा समाचार आउँदा ती आत्महत्यालाई पारिवारिक समस्या वा विवाहसम्बन्धी विषयुसँग जोड्ने गरिन्छ। एउटा मुख्य कारण उच्च घरेलु हिंसा रहेको मानसिक स्वास्थ्य विज्ञलाई उदृत गर्दै बीबीसीले लेखेको छ । तीस प्रतिशत महिलाहरूले हालैको एक सरकारी सर्वेक्षणमा पतिबाट हिंसा खेपेको बताएका छन् ।

    उनीहरूले दैनिक निरन्तर काम गर्दा वैवाहिक सम्बन्ध शोषणजस्तो हुने र माइतीले पनि त्यसको मार खेप्नुपर्ने बताएका छन् । भारतमा धेरैजसो महिला कानुनले तोकेको उमेर १८ वर्ष पुग्दापुग्दै विवाह गर्छन्। उनीहरू बुहारी र श्रीमती बनेर दिनभरि घरमा बसेर खाना पकाउने, सरसफाइजस्ता घरायसी काम गर्छन्। उनीहरूमाथि अनेकथरी प्रतिबन्ध लगाइन्छ, उनीसँग थोरै स्वतन्त्रता हुन्छ र आफ्नै पैसामा समेत निकै कम पहुँच हुन्छ।

  • बेलायतको सेनाले सिरियामा ड्रोनमाथि गर्यो आक्रमण

    बेलायतको सेनाले सिरियामा ड्रोनमाथि गर्यो आक्रमण

    लण्डन । ४० वर्षअघि फोल्कल्याण्डमा भएको युद्धयता बेलायतले दोस्रो मुलुकमा आक्रमण गरेको थिएन । तर, त्यहाँको रोयल एयर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोन खसालिदिएको बीबीसीले जनाएको छ । यस्तो कारवाही बेलायतले ४० वर्षपछि पहिलो पटक गरेको हो ।

    बेलायती रक्षा मन्त्रालयका अनुसार ३ दिनअघि खसालिएको उक्त ड्रोनले दक्षिणी सिरियामा इस्लामिक स्टेटविरुद्ध लडिरहेका गठबन्धन सैनिकहरूलाई जोखिम उत्पन्न गराएको थियो। उसले कुन विपक्षी समूहले ड्रोन चलाएको थियो भन्ने खुलाएको छैन्। रक्षामन्त्री बेन वालेसले उक्त हमलाले हवाई क्षेत्रमा शत्रुलाई निशाना साँध्न सक्ने आरएएफको सामर्थ्य प्रदर्शित गरेको समेत बताएका छन् ।


    साइप्रसस्थित आफ्नो अखडाबाट नियमित गस्तीमा रहेका दुईवटा एफजीआर फोर जेटलाई मङ्गलवार एउटा सानो ड्रोनमाथि अनुसन्धान गर्न भनिएको थियो।
    पाइलटहरूले त्यसलाई पहिचान गरि आकाशबाट छोटो दुरीमा प्रहार गर्न मिल्ने क्षेप्यास्त्रको प्रयोग गरेको समेत समाचारमा जनाइएको छ ।

    इराक नजिकैको सीमा क्षेत्रमा उक्त घटना भएको थियो। ब्रिटिश हवाई सेनाले प्रयोग गरेको क्षेप्यास्त्रको मूल्य लगभग दुई लाख पाउन्ड पर्छ र त्यो सुपरसोनिक अर्थात् ध्वनिभन्दा तेज गतिमा उड्न सक्छ। आरएएफ टाइफुन मार्फत गरिएको यो पहिलो यस्तो खालको हवाई कारबाही हो।

  • बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

    बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

    लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुप लिएको छ । बुधवार सो मुलुकमा ७८ हजारभन्दा धेरै मानिसमा कोरोना पुष्टी भएको बीबीसीले जनाएको छ । यो रेकर्ड ब्रेक आंकडा हो । किनकी कोरोना महामारी शुरु भएको दुई वर्ष यता यो मुलुकमा यति धेरै संख्यामा यसअघि संक्रमण पुष्टी भएको तथ्यांक छैन । यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो । त्यसबेला बेलायतमा लकडाउन थियो ।

    तर, अहिले भने बेलायत खुला छ । इङ्ल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटिले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा यो रेकर्ड अझै ब्रेक हुने बताउँछन् । उनले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्त्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन सक्नुपर्ने सुझाव दिएका छन् । उनीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताए।

    जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङक्रमितहरू दोबर भइरहेको पाइएको बताए। उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिसतले र लण्डनलमा झण्डै एक तिहाईले बढेको छ । लण्डनमा ओमिक्रोन सबैभन्दा प्रभावी भेरियन्ट बनेको पुष्टी भएको छ ।


    प्राध्यापक विटिले यतिखेर बेलायतले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए। त्यो एउटा निकै छिटो फैलिरहेको ओमिक्रोन र अर्को डेल्टा भेरियन्ट रहेको उनको भनाई छ । अहिले भाइरससँग जोडिएका मृत्युहरू भने ह्वात्तै बढेको तथ्यांक छैन । पछिल्ला २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएकाहरूमध्ये मृत्यु सङ्ख्या १६५ मात्र छ ।