Category: विश्व

  • धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे

    धमाधम युक्रेन छाड्दै नेपाली, २२५ जना छिमेकी मुलुकमा पुगे

    काठमाडौं । रुसले आक्रमण गरेपछि युद्धग्रस्त बनेको युक्रेनबाट नेपालीहरु धमाधम छिमेकी मुलुक जान थालेका छन् । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म २२५ जना नेपाली सम्पर्कमा आइसकेका छन् । उनीहरु सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । कही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा समेत गएको दूतावासले उल्लेख गरेको छ ।

    दूतावासका अनुसार १५ जना नेपाली पोल्याण्डमा, ३ जना स्लोभाकियामा, २ जना हंगेरीमा र १ जना रोमानियामा प्रवेश गरेका छन् । २३ जना स्लोभाकिया जानका लागि र २ जना रोमानिया जानका लागि बाटोमा छन् । एक सय जनाभन्दा बढी पोल्याण्ड जानका लागि प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ ।

    रुसले आक्रमण थालेपछि युक्रेनमा फसेका विदेशी नागरिकहरुका लागि मानवीय सहायताको आधारमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाले आ-आफ्ना देशका सिमाना खुल्ला गरिदिएका छन् । नेपालीहरुलाई पनि आवश्यक कागजपत्र बोकेरै तिनै देशतर्फ जान वर्लिनस्थित दूतावासले आग्रह गरेको थियो । पासपोर्ट, नगद, कोरोनाविरुद्धको खोप लगाएको भए सो खोपकार्डसमेत आफूसँग राखिराख्न दूतावासले भनेको छ ।

  • युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव

    युक्रेनका राष्ट्रपतिले देश छाड्न मानेनन्, अमेरिकाले गरेको थियो प्रस्ताव

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राति आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको सार्वजनिक गरेका छन् । भिडिओ सन्देशमा उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह समेत गरेका छन्। बीबीसीका अनुसार युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको छ ।

    आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको राष्ट्रपतिले बताए । अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपेली समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

    ‘लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,” अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ। द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ। रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

  • युक्रेनको राजधानी मै पुग्यो रुसी सेना

    युक्रेनको राजधानी मै पुग्यो रुसी सेना

    काठमाडौं । रुसी सैनिकहरू युक्रेनको राजधानी किएभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ । भिडिओमा रुसी सैन्य वाहनहरू देखिएको बिबिसीले लेखेको छ । सरकारले नागरिकहरूलाई ‘मोलोटोभ ककटेल’ बनाएर सहरको रक्षा गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार देशभरि भएका हवाई आक्रमणहरूमा परेर कम्तीमा २५ गैरसैनिक नागरिकको मृत्यु भएको र १०२ जना घाइते भएका छन् । यूकेका रक्षामन्त्रीका अनुसार रुसका ४५० सैनिकको मृत्यु भएको दावी छ । युक्रेनका राष्ट्रपतिले यूके तथा अन्य मित्रराष्ट्रलाई रुसी आक्रमण रोक्न सहयोग गर्न आग्रह गरेका छन् । युक्रेनका राष्ट्रपतिले रुसले आफूलाई सिद्ध्याएर युक्रेनलाई राजनीतिक रूपमा रुसले ध्वस्त पार्न चाहेको बताएका छन्

    अघि बढिरहेका रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किएभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। किएभका नगरप्रमुखले यसअघि नै सहर रक्षात्मक चरणमा प्रवेश गरिसकेको बताएका थिए।

    सरकारले रुसी फौजसँग प्रतिवादका लागि हतियार बोक्न तथा आफ्नो तर्फबाट सक्दो योगदान गर्न नागरिकहरूलाई आग्रह गरेको छ।

    यसैबीच आन्तरिक मामिला मन्त्रालयले राजधानी सहरको रक्षाका लागि स्वयंसेवकहरूलाई १८,००० थान मशीनगन प्रदान गरिएको जनाएको छ।

  • रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी

    रुस-युक्रेन युद्ध : एक दिनमै १३७ युक्रेनी मारिएको पुष्टी

    काठमाडौं । रुसले युक्रेनमाथि बिहीबार गरेको आक्रमणयता एक दिनमै १३७ जना मारिएको पुष्टी भएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस्तो पुष्टी गरेका हुन् । यो संख्या अझै बढ्न सक्ने बताइएको छ । रुसतर्फको क्षति सार्वजनिक गरिएको छैन । तर, दर्जनौं सैनिक मारिएको हुन सक्ने खबर छ । रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।

    राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौँ मुख्य शहरमा भएका प्रदर्शनहरूका क्रममा अहिलेसम्म १,७०० जनालाई पक्राउ गरिएको छ। रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो। बीबीसीका अनुसार विपक्षीहरूका प्रदर्शनका क्रममा हुने गिरफ्तारीबारे सूचना राख्ने समूह ओभीडी इन्फोका अनुसार मस्कोमा ९०० जना र सेन्ट पिटर्सबर्गमा ४०० जना पक्राउ परेका छन्।

    सयौँ प्रदर्शनकारीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि रुसी नियोगको कार्यालयअगाडि विरोध जनाएका छन्। युद्ध चर्किदै गएसँगै युक्रेनमा रात्रिकालीन कर्फ्यु लागु गरिएको छ। युक्रेनका विभिन्न भागमा रुसी सेना तीव्र गतिमा अघि बढिरहेका विवरण प्राप्त भएका छन्। त्यहाँ गोलाबारी, विस्फोट अनि हवाई हमला भएको छ। एउटा हवाई अखडामा रुस र युक्रेनी सेनाबीच भिडन्त भएको बताइएको छ।

    रुसी सेनाले नियन्त्रणमा लिएको भनिएको उक्त हवाई अखडा पुनः आफ्नो नियन्त्रणमा लिएको युक्रेनले दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरूले लड्न जारी राख्ने बताएका छन्। पश्चिमा राष्ट्रहरूले रुसमाथि थप आर्थिक प्रतिबन्धहरूको घोषणा गरेका छन्। रुसका ब्याङ्क अनि उच्च अधिकारीहरूमाथि प्रतिबन्ध लगाइने उनीहरूले बताएका छन्।

    तर उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले युक्रेनमा सेना भने नपठाउने बताएका छन्। अर्को प्रसङ्मा अमेरिकाले युरोपमा सात हजार थप सेना पठाउने भएको छ। जर्मनीमा पठाउन लागिएको अमेरिकी सैन्य बलले युरोपस्थित नेटोका सदस्य राष्ट्रहरूलाई प्रत्याभूति दिलाउने अमेरिकी भनाइ छ।

  • युक्रेन पनि होमियो युद्धमा, १८ देखि ६० वर्षसम्मका पुरुषलाई देश छाड्न रोक

    युक्रेन पनि होमियो युद्धमा, १८ देखि ६० वर्षसम्मका पुरुषलाई देश छाड्न रोक

    काठमाडौं । रुससँगको युद्धमा युक्रेन समेत अब होमिएको छ । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। बीबीसीका अनुसार युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ। जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ।
    एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको बताएका छन्। युक्रेनको सेनाका अनुसार रुसले राजधानी किएभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ। युक्रेनको सेनाले रुसी हमलाको जवाफमा आक्रमण गरिरहेको बताएको छ। रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थानमा पुगेका छन्।

    रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किएभमा कैयौँ सर्वसाधारणहरू मेट्रो स्टेसनमा पुगेका छन् जसलाई बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि खुला राखिएको छ। यकिन सङ्ख्या स्पष्ट भई नसकेको भए पनि अमेरिकाका लागि युक्रेनका राजदूतले कैयौँ सर्वसाधारण मारिएको बताएका छन्।


    पूर्वी युक्रेनस्थित हार्कीभ सहरको स्थानीय प्रशासनले २६ जना सर्वसाधारण घाइते भएको बताएका छन्। आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो सङ्ख्यामा आफ्नो देशमा शरणार्थीहरूलाई स्थान उपलब्ध गराउने तयारी थालेका छन्।

  • रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध, रूसी आक्रमण ४० जना नागरिकको मृत्यु

    रुससँग युक्रेनले तोड्यो कूटनीतिक सम्बन्ध, रूसी आक्रमण ४० जना नागरिकको मृत्यु

    काठमाडौं । युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले गरेका छन् ।

    बिहीवार बिहान रुसले युक्रेनका विभिन्न भागमा आक्रमण गरेपछि जेलेन्स्कीले यस्तो घोषणा गरेका हुन् ।

    एएफपीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको जनाएको छ ।

    त्यस्तै रूसी आक्रमणमा परी ४० जना युक्रेनियन नागरिकको मृत्यु भएको छ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले अहिलेसम्म ४० जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ।

    राष्ट्रपतिका ती सल्लाहकारले मारिनेहरू सैनिक मात्र हुन् कि सर्वसाधारण पनि हुन् भन्ने खुलाएका छैनन्। रूसी आक्रमणबाट दर्जनौं मानिसहरू घाइते भएको उनले बताएका छन्।

  • रुसी राष्ट्रपतिको आदेशसँगै युक्रेनमा युद्ध चर्कियो,५० रुसी सैनिक मारिए, ६ विमान ध्वस्त

    रुसी राष्ट्रपतिको आदेशसँगै युक्रेनमा युद्ध चर्कियो,५० रुसी सैनिक मारिए, ६ विमान ध्वस्त

    काठमाडौं । बिहीबार बिहानै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा आक्रमणको आदेश दिएसँगै युक्रेनसँग युद्ध चर्किएको छ ।

    रुसले युक्रेन स्थित सैन्य पूर्वाधारहरू लक्षित गर्दै विभिन्न सहरमा हवाइ आक्रमण सुरु गरेको बताइएको छ ।

    समाचार एजेन्सी एएफपीका अनुसार रुसी भुसेना युक्रेनमा पसिसकेका छन् भने, युक्रेनको दक्षिणी तटमा समेत रुसी सेना अवतरण भएको छ ।

    युक्रेनी सेनाले ५० रुसी सेना मारिएको जनाएको छ । साथै पाँच रुसी लडाकु विमान र एक एक हेलिकप्टर ध्वस्त गरेको बताएको छ ।

  • युक्रेनमा संकटकाल घोषणा

    युक्रेनमा संकटकाल घोषणा

    काठमाडौं । रुसी सेनाले हमलाको निर्देशन प्राप्त गरेसँगै युक्रेनमा संकटकाल घोषणा गरिएको छ । संयुक्त राष्ट्रसंघले यहाँ रुसी आक्रमण भएमा कम्तिमा ५० हजार मानिस मारिने चेतावनी यसअघि नै दिइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही”को घोषणा गरेसँगै यहाँ संकटकाल घोषणा गरिएको हो ।

    पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणले युरोपेली महाद्वीपमा “ठूलो युद्धको सुरुवात हुनसक्ने” चेतावनी दिएका छन् । उनले राती ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे “हामी आफ्नो रक्षा आफैँ गर्छौँ” भन्ने वाचा समेत गरेका छन् ।

    उनका अनुसार युक्रेनको स्थानीय समय अनुसार बिहीवार राती १० बजेदेखि एक महिना लामो संकटकालीन अवस्थामा प्रवेश गर्दैछ। पश्चिमा मुलुकहरुको आंशकालाई सहि सावित गर्दै रुसले युक्रेनमाथि सैन्य हमला गर्न लागेको हो ।

  • रुसले आफ्नो सीमा क्षेत्रका युक्रेनी विमानस्थल बन्द गरायो

    रुसले आफ्नो सीमा क्षेत्रका युक्रेनी विमानस्थल बन्द गरायो

    काठमाडौं । रूस–यूक्रेन तनावका बीच रूसले एक सिभिल एभिएशन नोटिस जारी गरेको छ । जसमा रुसले आफ्नो सीमा क्षेत्र नजिकै रहेका युक्रेनी विमानस्थल बन्द गर्न भनिएको छ । युद्धग्रस्त क्षेत्रबाट जहाज उडेमा त्यसलाई रुसी सेनाले खसाल्ने चेतावनी समेत दिइएको छ । यसले सीमा क्षेत्रमा रहेका पूर्वी यूक्रेनका सबै विमानस्थल बन्द गराउनु पर्ने भएको छ ।

    रूसले एक सिभिल एभिएशन नोटिस जारी गरि यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । द ओपन सोर्स इन्टेलिजेन्स मनिटरले रूसका तर्फबाट यस्तो सूचना जारी गरेको छ । यस्तो बन्द कहिलेसम्म भनेर मिति समेत तोकिएको छैन ।

  • रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

    रुसी राष्ट्रपतिले दिए युक्रेनमा सैन्य आक्रमणको निर्देशन

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाहीको घोषणा गरेका छन्। बीबीसीले ब्रेकिङ समाचार भर्खरै प्रकाशित गरेको छ । जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपतकालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्।

    यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए। राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको बताएका छन्।

  • रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

    रुससँग लड्न अमेरिकाबाट थप हतियार आउने युक्रेनको आशा

    काठमाडौं । युक्रेनले रुससँगको मुकाविलाका लागि अमेरिकाबाट थप हातहतियार आपने अपेक्षा गरेको छ । बीबीसीका अनुसार त्यहाँका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै यस्तो भनेका हुन् । मङ्गलवार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा गरेको फक्स न्यूजसँग बताएका छन् ।

    रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ। रुसले क्राइमिया गाभ्दा अमेरिकाले लगाएको प्रतिबन्धभन्दा यो निकै धेरै रहेको अमेरिकी राष्ट्रपतिले बताएका छन्। अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी ब्याङ्कको व्यापारमा रोक लगाउने घोषणा गरेको छ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक आफूले रद्द गरेको बताएका छन्। तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना नै युक्रेनमा परिचालित हुन् भन्ने नचाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाको भनाई छ । आफूहरूले युक्रेनलाई रक्षासम्बन्धी सहयोग दिन जारी राख्ने बाइडनले प्रतिबद्धता जनाएका छन्।

    युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन्। तर जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए। रुस र युक्रेनबीच वार्ताको संयोजन गर्ने टर्कीको प्रस्तावलाई राष्ट्रपति जेलेन्स्कीले स्वागत गरेका छन्। उनले जर्मनी र टर्की सहित राष्ट्रसङ्घीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरूको सहभागिता रहने शिखर सम्मेलनको आह्वान गरेका छन्।

  • युक्रेनका दुई क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

    युक्रेनका दुई क्षेत्रलाई रुसले दियो स्वतन्त्र राज्यको मान्यता

    मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका छन् ।
    स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुहान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। बीबीसीका अनुसार रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ। उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्।

    घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमाु शान्ति स्थापनाका लागि भूमिका निर्वाहु गर्ने उल्लेख गरिएको छ। एक सम्बोधनका क्रममा पुटिनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन भनेका छन्।

    सम्बोधनका क्रममा उनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन्। रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट छुट्टिन चाहेका क्षेत्रका मानिस लक्षित प्रतिबन्ध लगाउने आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ।

  • २ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने

    २ वर्षपछि विदेशीका लागि अस्ट्रेलिया खुला, एकैदिन ५० बढी विमान अवतरण हुने

    काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपश्चात् अस्ट्रेलियाले प्रवेश दिने भएको छ। एउटा सरकारी विज्ञप्तिमा भनिएको छः परिवर्तनहरूले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ।

    सोमबार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ।पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ।

    कोरोना भाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागू गरेको थियो।खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन। तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ।

    मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ।अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन्।

    सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए । परिवार सदस्यलाई छुट्ट्याएको र व्यवसायमा प्रभाव पारेका कारण अस्ट्रेलियामा लागू गरिएको कडा नियमको आलोचना भएको थियो।

    तर उक्त नियमले खोप उपलब्ध हुनुअघि कैयौँ मानिसको ज्यान जानबाट जोगाएको जस पनि दिइएको छ। अस्ट्रेलियामा कोभिडका कारण हालसम्म झन्डै ४,९०० जनाको मृत्यु भएको छ।

  • खोपको मात्रा पुरा गरेका यात्रुलाई अस्ट्रेलिया खुला

    खोपको मात्रा पुरा गरेका यात्रुलाई अस्ट्रेलिया खुला

    मेलवर्न । कोरोनाभाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई दुई वर्षपछि अस्ट्रेलियाले प्रवेश अनुमति खुला गरेको छ । बीबीसीका अनुसार सोमवार अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अपेक्षा गरिएको छ। पूर्ण रूपमा खोप प्राप्त नगरेका प्रवेशाज्ञा प्राप्त यात्रुहरूका लागि भने अझै यात्रासम्बन्धी वैध छुटको आवश्यकता पर्नेछ।

    कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनायता अस्ट्रेलियाले निकै कडा यात्रा प्रतिबन्ध लागु गरेको थियो। खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारन्टीनमा बस्नुपर्ने छैन। तर खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ। मार्च ३ तारिखसम्म बन्द रहेको र खोपको बुस्टर मात्रा लगाएको हुनुपर्ने नियम लागु गरेको वेस्टर्न अस्ट्रेलियाबाहेक यात्रुहरू सबै राज्यमा जान पाउने बताइएको छ।

    अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन्। सन् २०१९ मा अस्ट्रेलियामा झन्डै ९५ लाख विदेशी पर्यटक पुगेका थिए। परिवार सदस्यलाई छुट्ट्याएको र व्यवसायमा प्रभाव पारेका कारण अस्ट्रेलियामा लागु गरिएको कडा नियमको आलोचना भएको थियो। तर उक्त नियमले खोप उपलब्ध हुनुअघि कैयौँ मानिसको ज्यान जानबाट जोगाएको जस पनि दिइएको छ। अस्ट्रेलियामा कोभिडका कारण हालसम्म झन्डै ४,९०० जनाको मृत्यु भएको छ।

  • ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी

    ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी

    लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियालाई कोभिड सङ्क्रमण पुष्टी भएको छ । बकिङघम राजदरवारले यस्तो जानकारी गराएको छ । दरवारले महारानीलाई ूसामान्य चिसो लागेजस्तो लक्षण देखिएको जनाएको छ। तर उनले धेरै परिश्रम नपर्ने जिम्मेवारीहरू पालना गर्न आगामी साता पनि जारी राख्ने जनाइएको छ।

    बीबीसीका अनुसार उनी निरन्तर स्वास्थ्य निगरानीमा रहनेछिन् र आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्नेछिन् । गत साता सङ्क्रमण पुष्टि भएका उनका जेठा छोरा प्रिन्स अफ वेल्ससँग उनको भेट भएको थियो। महारानीको निवास रहेको विन्डसर क्यासलमा धेरै जनालाई कोभिड सङ्क्रमण भएको बुझिएको छ।


    पन्चानब्बे वर्षीय महारानीले यसै महिना आफ्नो शासनको ७० वर्ष पूरा गरेकी हुन्। बेलायतमा सबैभन्दा लामो शासन गरेकी महारानीको गत फेब्रुअरी ६ मा शासनको ७० वर्षे उत्सव मनाइएको थियो। त्यसको पूर्व सन्ध्यामा उनी तीन महिनापछि सार्वजनिक भेटघाटमा सामेल भएकी थिइन्।

    महारानीले गत वर्षको जनवरीमा उनले कोभिड विरुद्धको पहिलो खोप लगाएकी थिइन् । त्यसपछिका मात्रा पनि लगाइको विश्वास गरिएको छ। बीबीसीका राजपरिवार मामिला सम्वाददाताका अनुसार गत अक्टोबरमा स्वास्थ्य परीक्षण पछि उनले जीवनलाई सहजै लिएकी छिन्। राजदरबारमा यसअघि प्रिन्स चार्ल्स र त्यसपछि उनकी श्रीमतीलाई कोभिड सङ्क्रमण भएको थियो।

  • नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो

    नेपालमा ६० प्रतिशत जनसंख्यालाई पूर्ण खोप पुग्यो

    काठमाडौं । नेपालमा कुल जनसंख्याको ६० प्रतिशत भन्दा धेरैले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १ करोड ७६ लाख चार हजार पाँच सय २९ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसंख्याको ६० प्रतिशत भन्दा माथि हो । कुल जनसंख्याको ७३ दशमलव एक प्रतिशतले कम्तीमा पहिलो मात्रा खोप लगाएको मन्त्रालयको आंकडा छ ।

    पछिल्लो २४ घण्टामा खोप लगाएका र यस अघिको विवरण प्राप्त भएको समेत गरी थप सात लाख ६९ हजार पाँच सय ७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ९६ जनाको नमूना परीक्षण गर्दा तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस अवधिमा एक हजार दुई सय ७२ जना कोरोना संक्रमित निको भएका छन् । थप चार जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा १३ हजार तीन सय ५७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

  • ब्राजिलमा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३० पुग्यो

    ब्राजिलमा पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १३० पुग्यो

    काठमाडौं । ब्राजिलको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर भएर दुई सयभन्दा बढी पुगेको बताएको छ । मंगलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका थिए । शुक्रबार दिउँसो प्रकोप क्षेत्रमा उडेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले यो घटनाको दृष्य ‘युद्ध दृश्य’ जस्तो देखिन्छ भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिए ।

    अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन् यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ ।

    ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतका लागि करिब ५० करोड रियास (लगभग ९५ मिलियन अमेरिकी डलर) घोषणा गर्ने अपेक्षा गरिएको छ । (रासस)

  • भारतको कुशीनगरमा कुवामा झरे  महिला र बच्चा, कम्तिमा १३ को मृत्यु

    भारतको कुशीनगरमा कुवामा झरे महिला र बच्चा, कम्तिमा १३ को मृत्यु

    उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको कुशीनगरमा कुवामा झरेर महिला तथा बालबालिकाको दर्दनाक निधन भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार कुशीनगरको नौरगिया गाउँमा एक पुरानो कुवाको माथि बसेका महिला तथा बालबालिका कुवामा झरेका हुन् । गाउँमा एक पूजा कार्यक्रमको आयोजना भएको थियो । कुवालाई ढकनीले ढाढिएको थियो ।

    यस क्रममा ढकनीसँगै उनीसमेत कुवामा गिर्दा दर्दनाक घटना भएको हो । घटनामा दुई जना गम्भीर घाइते छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गर्दै प्रत्येक परिवारलाई ४÷४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत घटनाप्रति दुख व्यक्त गरेका छन् ।

  • ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु

    ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु

    रियो दि जिनेरो । ब्राजिलमा अचानक आएको भिषण वर्षा र बाढीका कारण करीव १ सय मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार ब्राजिलको पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । रियो दि जिनेरोबाट उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछि मुसलधारे वर्षा भएको थियो।


    सडकमा पानीको भेल पस्दा कार यत्रतत्र भएका थिए । पहाडी खोँचमा रहेका घर पहिरोले बगाउँदा सो संख्यामा मानवीय क्षति भएको हो । हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवार घरबार विहीन बनेको समेत खबर छ । अधिकारीहरूले विपद्लाई व्याख्या गर्ने क्रममा झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताएका छन्। रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताएका छन्। पेत्रोपुलिस सहरका मेअरले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

    खोजी तथा उद्धारकर्ताहरूले माटोमा पुरिएका मानिसहरू खोजिरहेका छन्। एकजना स्थानीयवासीले आफूले पुरिएकी एक बालिकाको जिउँदै उद्धार गरेको समाचार संस्था एएफपीलाई बताएका छन् । रुस भ्रमणमा रहेका राष्ट्रपति जाइर बोल्सोनारूले त्यहाँ तत्कालै सहायता पठाइने बताएका छन्। पेत्रोपुलिस एउटा पर्यटकीय गन्तव्य हो ।

  • पीएसजीले रियललाई हरायो, मेसीको पेनाल्टी रोकियो

    पीएसजीले रियललाई हरायो, मेसीको पेनाल्टी रोकियो

    काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले युइएफए च्याम्पियन्स लिग अन्तर्गगत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको छ। केलियन एम्बाप्पेको एक मात्र गोल निर्णायक गोल गरे । पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १–० ले हराउँदै अग्रता लिएको छ । पार्क डेस प्रिन्सेस मैदानमा पाहुना टोलीलाई दबाबमा राखे पनि गोलका लागि अन्तिमसम्म कुर्नु परेको थियो।

    एम्बाप्पेले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरे । एम्बाप्पे, नेइमार र मेसीसहितको पिएसजीले गोल गर्ने केही राम्रा मौका गुमाएको थियो । खेलको ६२ औं मिनेटमा मेसीले पेनाल्टीमा चुकेका थिए । दोस्रो लेग रियलको मैदानमा ९ मार्चको राति हुने कार्यक्रम तय भएको छ ।

  • युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

    युक्रेनले तनावबारे छलफल गर्न रुससँग गर्यो बैठकको प्रस्ताव

    काठमाडौं । युक्रेनले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको छ। युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन्। बीबीसीका अनुसार विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई अर्को कदम बताउँदै त्यसमा रुसी योजनाको पारदर्शिता खोजिएको बताएका हुन् ।

    युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको बताइएको छ। उक्त सम्झौतालाई एउटा युरोपेली अन्तरसरकारी सुरक्षा सङ्गठन ओएससीईले स्वीकारेको छ, जसमा रुस समेत सदस्य रहेको छ । युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले हमलाको योजनालाई अस्वीकार गर्दै आएको छ।

    तर केही पश्चिमा देशले रुसले हमलाको तयारी गरिरहेको आरोप लगाएका छन्। अमेरिकाले मस्कोले जुनकुनै बेला हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ। एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन्।

  • आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

    आज आइपीएल अक्सन, सन्दीप छानिएलान ?

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को अक्सन आज हुँदैछ । विश्वभरबाट चर्चित खेलाडी लिएर संचालन हुने यो प्रतियोगितामा नेपालबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने मात्र प्रतिस्पर्धामा छन् । भारतको बेंगलुरुमा आईपीएलको नयाँ सिजनको लागि हुने मेगा अक्सन हुन लागेको हो । नेपालबाट सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका थिए । अक्सनमा भने सन्दीप मात्र परे । सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका छन् ।

    सन् २०१८ मा पहिलो पटक दिल्लीमा अनुबन्ध हुँदै आईपीएलमा डेब्यु गरेका थिए । उनले कुल तीन सिजन खेल्दा एक सिजन मैदानमा उत्रन पाएनन् । २०२० को सिजन उनी पूरा सिजन बेन्चमा रहेका थिए । गत वर्ष कुनै पनि टीममा नपरेका उनी यो पटक भने छनोट हुने अपेक्षा गरिएको छ । किनकी यस पटक आइपीएलमा दुई नयाँ टीम थपिएका कारण नयाँ खेलाडीलाई मौका रहेको छ । सन्दीपले यसपटक आईपीएल अक्सनमा आफ्नो बेस प्राइज ४० लाख मात्र राखेका छन् ।

  • अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

    अमेरिकाद्धारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न उर्दी

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल उक्त देश छाड्न भनेका छन् । बीबीसीका अनुसार उनले युक्रेनतर्फका सीमामा बढेको रुसी सैन्य उपस्थितिप्रति चिन्ता दर्शाउँदै त्यसो भनिएको उल्लेख गरेका छन् । बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्। उनले अवस्था छिट्टै भयानक हुनसक्ने समेत चेतावनी दिए ।

    अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरूलाई तत्कालै देश छाड्न आग्रह गरेको छ । बाइडनले एनबीसी न्युजसँगको एक अन्तर्वार्तामा त्यसो भनेका हुन् । अन्तरवार्तामा त्यहाँबाट बाहिरिन चाहने अमेरिकीहरूलाई उद्धार गर्न सेना पठाउन सकिने सम्भावनाबारे गरिएको प्रश्नमा बाइडेनले जब अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गर्छन् त्यो विश्वयुद्ध हुने उल्लेख गरेका छन् ।

  • बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

    बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

    काठमाडौं । बेलायतमा कोरोनाबाट बच्न लागु गरिएको आइसोलेसनका नियमहरु हट्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले सङ्क्रमित घरमै एकान्तमा बस्नु पर्ने नियम लगायत महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्ध यसै महिनाको अन्त्यसम्ममा हटाइने बताएका हुन् । बीबीसीका अनुसार इङ्ल्याण्डमा अहिले कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू पाँच दिनसम्म घरमा एकान्तबास, आइसोलेशनमा बस्नुपर्छ ।

    यस्ता प्रतिबन्ध आगामी मार्च २४ सम्म तोकिएको छ । जोन्सनले सङ्क्रमण घट्दै गए छिट्टै आन्तरिक प्रतिबन्ध हटाउने बताएका हुन् । उनले संसद् अधिवेशन स्थगन भएको समयमा कोभिडसँगै बाँच्ने सरकारको रणनीति तयार गर्न आफूले काम गर्ने जानकारी गराए । संसद् अधिवेशनको मध्यावधि स्थगन पछिको पहिलो बैठकमा कोभिडसँगै बाँच्ने रणनीति लिएर आउने उनले बताए ।

    अहिलेजस्तै सङ्क्रमणको तथ्याङ्क उत्साहजनक रूपमा घटेमा सङ्क्रमण पुष्टि भएपछि आफूलाई आइसोलेशनमा राख्नुपर्ने कानुनी बाध्यता सहितका आन्तरिक प्रतिबन्धहरू एक महिना अघि नै हटाउन सकिने उनको भनाई छ । अनवरीको अन्त्यबाट बेलायतमा कोभिड सङ्क्रमण दर ओरालो लागेको छ । यद्दपी दैनिक ५० हजार भन्दा माथि संक्रमण रहेको छ ।

  • क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

    क्यानडामा जारी ट्रक चालकको प्रदर्शन अस्वीकार्य : प्रधानमन्त्री टूडो

    ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन टूडोले देशभरट्रक चालकले गरेको आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् । यो कदम अस्वीकार्य रहेको उनको प्रतिक्रिया छ । बीबीसीका अनुसार त्यहाँको प्रहरीले समेत दुई सातादेखि राजधानी सहर ठप्प पारेका लरी चालकहरूलाई आपराधिक अभियोगमा पक्रन सक्ने चेतावनी दिएको छ। ओटावाका सडक अवरोध पार्नेजस्ता कामलाई आपराधिक कार्य मान्न सकिने भन्दै प्रहरीले त्यस्तो काम बन्द गर्न वा अभियोग सामना गर्न तयार रहन सजग गराएको छ।

    लरी चालकहरूले अनिवार्य रूपमा खोप लगाउनु पर्ने वा परीक्षण गर्नुपर्ने विषयलाई लिएर सुरु भएको प्रदर्शन अहिले निकै व्यापक भएको छ। ओटावास्थित संसद्‍मा बुधवार बोलेका टूडोले कोभिड नियमहरूको बचाउ गरे । अवरोध, गैरकानुनी प्रदर्शनहरू अस्वीकार्य रहेको भन्दै उनले व्यावसाय र उत्पादनमा नकारात्मक असर पारेको समेत बताए ।

    उनले प्रदर्शनकारीहरूले देशको अर्थतन्त्र र प्रजातन्त्रलाई अवरोध पार्ने प्रयास गरेको समेत बताए। कोभिड लागेपछि आइसोलेसनमा बसेका उनी एक सातापछि सोमबारबाट संसद् फर्किएको समेत समाचारमा उल्लेख छ । सोमवारबाट प्रदर्शनकारीहरूले अमेरिकासँग जोडिने एउटा मुख्य पुलमा समेत अवरोध पुर्‍याएका छन्।

  • युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

    युद्धको त्रासका बीच बेलायतले युक्रेनमा पठायो स्पेसल फोर्स

    लण्डन । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने त्रासका बीच बेलायतले आफ्नो विशेष फौजका केही सदस्यलाई युक्रेन पठाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बेलायती विशेष फौजका एक सय भन्दा धेरै सदस्य युक्रेन पुगेका छन् । उनीहरु युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको बेलायती अधिकारीले पुष्टी गरेका छन् । रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक परिचालन गरेपछि त्यहाँ युद्धको आशंका गरिएको छ ।

    युक्रेनका अधिकारीहरुले समेत बेलायतबाट सय जनाभन्दा धेरै सुरक्षाकर्मी पुगेको पुष्टी गरेका हुन् । रुस, युक्रेन र पश्चिमा मुलुकबीचको युद्धको चेतावनीमा यहाँका जनता भने मारमा परेका छन् । युद्ध भएमा ५० हजार सर्वसाधारणले ज्यान गुमाउने अनुमान संयुक्त राष्ट्र संघले गरेको छ ।

  • ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

    ट्रक चालकको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा आपतकाल घोषणा

    ओटावा। क्यानडाको राजधानी सहरमा आपतकाल घोषणा भएको छ । ओटावाका मेयरले कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहेसँगै आपतकाल घोषणा गरेका हुन् । मेयर जीम वाट्सनले सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको बताएको बीबीसीले लेखेको छ । फ्रिडम कन्भोई भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको हो । क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा असंवेदनशील व्यवहार गरेको बताएका छन् ।

    प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई ुपार्टीजस्तो गरेको आरोप लगाएका छन् । एउटा विज्ञप्तिमा उनले ती प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्‍याएको बताएका छन्। ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन्। मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन्।

    तर प्रहरीले उनीहरूले कानुन कार्यान्वयनका उपाय बढाउने क्रममा प्रदर्शनकारीहरूलाई सघाइरहेकालाई गिरफ्तार गर्न सक्ने जनाएको छ। आपत्कालीन अवस्थाले अग्रमोर्चा र आपत्कालीन सेवाका कर्मचारीहरूलाई आवश्यक सामान आपूर्तिका लागि सहरलाई थप शक्तिहरू प्रदान गर्नेछ।

  • ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

    ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष नाघ्यो

    लण्डन । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको शासनकाल ७० वर्ष पुरा भएको छ । यस उपलक्ष्यमा महारानीले केक काटेकी छिन् । आफ्नो जीवनको पहिलो दशक शाही भाग्यको झीनो अपेक्षामा हुर्केकी ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको बाल्यकाल घोडा र कुकुरहरूसँग खेलेर बितेको बीबीसीले लेखेको छ । उनी महारानी भएको आइतवार ७० वर्ष पुरा भएको हो । उनी २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बनेकी थिइन्।

    राजकुमारी रहँदा एलिजाबेथ ब्रिटिश राजपरिवारमा अहिले दोस्रो मर्यादामा रहने ड्यूक अफ योर्क एन्ड्रूकी छोरी बिएट्रेसको जस्तै रोल क्रममा थिइन्। यसको अर्थ उनी महारानी बन्ने सम्भावना धेरै कम थियो। तर सन् १९३६ को डिसेम्बरमा ब्रिटिश राजपरिवारमा एउटा नाटकीय परिवर्तन भयो।

    एलिजाबेथले काका डेभिड बोलाउने राजा एडवार्ड तेस्रोले अमेरिकी महिलासँग विवाहका लागि सिंहासन त्याग गरे। यो निर्णयले १० वर्षकी एलिजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खोलिदिएको थियो । उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिल्यो। उनकी जेठी छोरी एलिजाबेथ उत्तराधिकारीको पहिलो दाबेदार बनिन्।

  • यू-१९ विश्वकपको उपाधी भारतले जित्यो

    यू-१९ विश्वकपको उपाधी भारतले जित्यो

    काठमाडौं । अण्डर-१९ विश्वकपको उपाधी भारतले उचालेको छ । भारतले इङ्गल्याण्डमाथि ४ विकेटको जित निकाल्दै पाँचौ पटक विश्व च्याम्पियन बनेको हो । इंग्ल्याण्डले दिएको १८९ रनको मध्यम योगफल भारतले १४ बल बाँकी हुँदै ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर फेला पार्यो । भारतका लागि शेख रसिद र निशान्त सिन्धुले ५० रनको अर्धशतकीय इनिङ खेले । राज बावाले ३५, हरनुर सिंहले २१ र यश धुलले १७ रन बनाए ।

    इंग्ल्याण्डका लागि जोशु बाइडेन, जेम्स् सेल्स र थोमस स्पिनलले दुई÷दुई विकेट लिए । टस जितेर व्याटिङ गरेको इंग्ल्याण्डले ४४ ओभर ५ बलमा अलआउट हुँदै १८९ रन मात्र बनाउन सक्यो । इंग्ल्याण्डका लागि जेम्स् रेयूले ९५ रनको योगदान गरे । जेम्स् सेल्स्ले ३४, जर्ज थोमस्ले २७ तथा रिहान अहमेद र एलेक्स हर्टनले १०–१० रन बनाए । भारतका लागि राज बावा एक्लैले ५ विकेट लिए ।

  • पेरुमा पर्यटक चढेको जहाज दुर्घटना, ७ जनाको मृत्यु

    काठमाडौं । पेरुमा पर्यटक चढेको जहाज दुर्घटनामा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । परुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पर्यटकहरूलाई नाज्का लाइन देखाउन यो जहाज उडेको थियो । नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जहाजबाट देखाउने गरिन्छ । सोअीकारण पर्यटकहरु यहाँ जाने गर्छन् । दुर्घटनाग्रस्त विमानमा नेदरल्यान्ड र चिलीका नागरिक रहेको समेत खबर छ । दुर्घटनाको कारण खुलेको छैन । त्यहाँको सरकारले छानविन गर्ने बताएको छ ।