Category: विश्व

  • आइएसका नेता कुरिशीले आफैलाई बमले उडाएको खुलासा

    आइएसका नेता कुरिशीले आफैलाई बमले उडाएको खुलासा

    काठमाडौं । इस्लामिक स्टेट (आइएस)का नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशीले आफुले आफैलाई बमले उडाएको पाइएको छ । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले पुष्टी गरेका छन् । बीबीसीका अनुसार अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएका थिए । उनले आफू र आफ्नो परिवारका सदस्यको ज्यान लिएका हुन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन्। गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए। त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको अमेरिकाको दावि छ । अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार मध्यरातको उक्त छापामार शैलीको कारबाहीबारे जानकारी गराएका छन् ।

    इब्राहिमको अन्त्यले विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको बाइडनको भनाई छ । अमेरिकी अधिकारीहरूले मारिएका आईएस नेताको नाम उल्लेख नगरी महिनौँको योजनामा भएको उक्त कारबाहीको नाटकीय विवरण दिएका छन्। आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन। टर्कीसँग सीमा जोडिएको इड्लिब प्रान्तको अत्मा सहरको बाहिरी इलाकास्थित एउटा तीन तले घरलाई लक्षित गरेर अमेरिकाले उक्त कारबाही गरेको हो ।

  • अमेरिकाले भन्यो : आइएसका नेता कुरेशी मारिए

    अमेरिकाले भन्यो : आइएसका नेता कुरेशी मारिए

    वासिङ्टन डिसि | अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल-हाशिमी अल कुरेशी मारिएको दाबी गरेको छ । यो खबरलाइ अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको पुष्टि गरेका हुन् ।  सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको छ ।

    ‘हाम्रा ती सिपालु र वीर सैनिकहरुलाई धन्यवाद छ, हामीले अबु इब्राहिम अल हसिमी अल कुरेसीको युद्ध क्षेत्र कब्जा गरेका छौं’ बाइडेनले सार्वजनिक गरेको  विज्ञप्तिमा भनिएको छ । सैन्य कारबाहीमा सहभागी अमेरिकीहरु सकुशल रहेको समेत रास्ट्रपतिले जानकारी गराएका छन् ।

    कारबाहीको वाइडेनले आफ्ना उपराष्ट्रपति र राष्ट्रपतिका सुरक्षा सल्लाहकार टिमका सदस्यहरुसँगै बसेर अनुगमन गरेका थिए । सैन्य कारबाहीमा ६ बालबालिका र चार महिलासहित थप १३ जनाको मृत्यु भएको समेत खबर छ ।

  • अमेरिकाले रुसलाई युद्धमा धकेलिरहेको छ : पुटिन

    अमेरिकाले रुसलाई युद्धमा धकेलिरहेको छ : पुटिन

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा धकेलिरहेको बताएका छन् । बीबीसीका अनुसार युक्रेन सङ्कट बढिरहेका बेला कैयौँ साताहरूपछि सार्वजनिक रूपमा धारणा राख्दै पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त टकराबलाई प्रयोग गर्नु भएको बताए। यद्यपि उनले वार्ताको सम्भावनालाई नकारेका छैनन्। पुटिनले अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई बेवास्ता गरिरहेको बताएका छन्।

    रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ। रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको पश्चिमी आरोपलाई अस्वीकार गरिरहेको छ।

    मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ। त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गर्छन्।

    मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि बोल्दै पुटिनले भने, ‘मलाई लाग्छ संयुक्त राज्य अमेरिका युक्रेनको सुरक्षाबारे धेरै चिन्तित छैन। तर यसको मुख्य काम रुसको विकासलाई रोक्नु हो। युक्रेन त्यो अमेरिकी लक्ष्यमा पुग्नको लागि एउटा मोहोरा मात्र हो भन्ने देखिन्छ।’ विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको प्रतिद्वन्द्व शीतयुद्ध काल देखिको हो।

  • बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?

    बेलायती प्रदानमन्त्री जोन्सनले जनतासँग किन मागे माफी ?

    लण्डन । प्रधानमन्त्री बोरिस जोन्सनले जनतासँग माफी मागेका छन् । बेलायती संचारमाध्यमहरुका अनुसार कोरोना महामारीका बेला मुलुकमा प्रोटोकल लागु थियो । त्यही अवस्थामा भोजमा सहभागी भएका उनको आलोचना भएको थियो । त्यसपछि उनले जनतासँग माफि मागेका छन् । सरकारी आवास १० डाउनिङ स्ट्रिटमा आयोजित एक भोजमा सहभागी भएपछि उनको आलोचना भएको हो । आलोचनापछि उनले संसदमा माफी मागेका छन् ।

    विपक्षी लेबर पार्टीले उनको राजिनामा मागेको छ । उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानविन रिपोर्टलाई स्वीकार गर्ने बताए । गल्तीबाट पाठ सिक्नु पर्ने उनको भनाई छ । बेलायतमा विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोन्सनको राजिनामा यस अगाडी नै माग्दै आएको हो । प्रधानमन्त्री र यस कार्यक्रमसँग सम्बन्धित सबैले आफ्नो कद आफैं घटाएको विपक्षी दलको भनाई छ । उनीहरुले सरकार र जनताको विश्वास तोडेको आरोप समेत लगाएइका छन् ।

  • सुरक्षा परिषदमा रुस र अमेरिकाबीच चर्काचर्की

    सुरक्षा परिषदमा रुस र अमेरिकाबीच चर्काचर्की

    काठमाडौं । युक्रेनसँगको विवादलाई लिएर संयुक्त राष्ट्र सघं सुरक्षा परिषद्मा रुस र अमेरिकाबीच चर्काचर्की भएको छ । बीबीसीका अनुसार आफ्नो सिमानामा मस्कोले सेना परिचालन गरेपछि त्यसबारे छलफल गर्न अमेरिकाले बैठक बोलाएपछि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा रुसी र अमेरिकी राजदूतबीच आक्रोशपूर्ण आरोपप्रत्यारोप भएको हो ।

    राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसले गरेको सैन्य परिचालनलाई दशकौँमा युरोपले देखेको सबैभन्दा ठूलो सैन्य परिचालन भएको बताइन्। उनका रुसी समकक्षीले अमेरिकाले उन्माद फैलाएको र रुसी मामिलामा अस्वीकार्य हस्तक्षेप गरेको आरोप लगाए। रुसले युक्रेनमा आक्रमण गरे अमेरिका र ब्रिटेनले थप प्रतिबन्ध लगाउने वाचा गरेका छन्। ब्रिटिश विदेशमन्त्री लिज ट्रसले क्रेमलिन नजिकका व्यक्ति र व्यवसायको अहिलेको भन्दा व्यापक दायरालाई समेट्ने गरी कानुन तयार भइसकेको बताइसकेकी छन्।

    एकजना अमेरिकी अधिकारीका भनाइमा वाशिङ्टनले क्रेमलिन नजिकका व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्ने खाले प्रतिबन्ध लगाउन सक्नेछ। रुसले युक्रेनी सीमा नजिकै करिब एक लाख सेना, ट्याङ्क र क्षेप्यास्त्रहरू राखेको छ। सोमवारको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा राष्ट्रसङ्घका लागि रुसी राजदूत भासिली नेबेन्ज्याले रुसले युक्रेनविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाइरहेको छ भन्ने कुनै प्रमाण नभएको बताए।

    उनले त्यसका लागि सेना खटाइएको भन्ने कुराको संयुक्त राष्ट्रसङ्घद्वारा पुष्टि पनि नगरिएकोमा जोड दिए। रुसले आफ्नै क्षेत्रमा सेनाको तैनाथी गर्ने गरेको भन्दै त्यो वाशिङ्टनको सरोकारको विषय नै नभएको उनको भनाइ छ। रुसले उक्त संयुक्त राष्ट्रसङ्घीय निकायको खुला बैठक सत्रलाई अवरुद्ध गर्ने प्रयास गरेको थियो। तर उसको प्रयास असफल भयो। नेबेन्ज्याले बाइडेन प्रशासनले तनाव र बयानबाजी गर्दै उक्साएको बताए।

  • खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

    खोप कार्ड गरिवार्य गरेको विरोधमा क्यानडामा प्रदर्शन, राजधानी ठप्प

    काठमाडौं । सरकारले अमेरिका–क्यानडा सीमा पार गर्ने ट्रक चालकका लागि कोभिडविरुद्ध खोप अनिवार्य गरेसँगै भएको विरोध प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प भएको छ। बीबीसीका अनुसार राजधानी ओटावामा फ्रिडम कन्भोई भनिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी छन्। उक्त प्रदर्शनसँग सम्बन्धित ठानिएका स्वस्तिक चिह्न अङ्कित झण्डा देखाइएको र एकजना अज्ञात सैनिकको चिहानमा महिला नाच्दै गरेको लगायतका भिडिओ फुटेजबारे प्रहरीले अनुसन्धान थालेको छ।

    रक्षामन्त्री अनिता आनन्दले ती घटनाहरू निन्दनीयभन्दा पनि माथि भएको बताएकी छिन् । ओटावा प्रहरीले ट्वीट गर्दै राजधानी सहरका स्मारकहरूलाई अपवित्र पारेको बिषयमा अनुसन्धान थालिएको जनाएको छ। उसले प्रहरी, नगर कर्मचारी र अन्य व्यक्तिहरूमाथि दिइएको धम्कीू र गरिएको धम्कीपूर्ण व्यवहारूको पनि अनुसन्धान गरिरहेको बताएको छ ।

    ट्रक चालकले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर अवरुद्ध पारेका छन्। ओटावाका मेयर जिम वाट्सनका अनुसार केही प्रदर्शनकारीहरूले एउटा रेस्टुरेन्टका कर्मचारीहरूलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेका छन्। उक्त रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए। सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले र परिवारका साथ शनिवार ओटावास्थित आफ्नो घर छाडेका छन्।

    क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्। सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको भए पनि प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन्। कतिपय प्रदर्शनकारीहरूले उक्त निर्णय हटाइए पनि देशव्यापी रूपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग राखिरहेका छन्।

    प्रधानमन्त्री ट्रुडोले यसै साताको सुरुमा एउटा पत्रकार सम्मेलनमा प्रदर्शनकारीहरूलाई सानो सङ्ख्याका अल्पसङ्ख्यक भनेका थिए। कन्जरभेटिभ नेता एरिन ओटूलले केही प्रदर्शनकारीहरूलाई भेटेका छन् र शान्तिपूर्ण प्रदर्शनको अधिकारको पक्षमा बोलेका छन्। तर उनले ओटावामा रहेका स्मारकहरूको अपमान गर्ने व्यक्तिको आलोचना गरेका थिए ।

    टूडोको लिबरल सरकारले जनवरी १५ मा खोपसम्बन्धी एउटा आदेश जारी गरेको थियो। त्यसमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ। अमेरिकाले पनि हालै विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ।

  • बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै

    बेलायतले कोभिड विरुद्धका कडा प्रावधान हटायो, जनजीवन सहज बन्दै

    लन्डन । बेलायतले कोभिड विरुद्ध यस अघि घोषणा गरेका धेरै जसो प्रोटोकल खुकुलो पारेसङ्गै जनजीवन सहज बन्न थालेको छ । बेलायतमा बिहीवारबाट लागू हुने गरि धेरै जसो प्रतिवन्ध फुकुवा भएका छन् । सक्रिय सङ्क्रमित भने ५ दिन आइसोलेसनमा रहनु पर्छ । बिहीबारदेखि अनिवार्य मास्क लगाउनु पर्ने शर्त हटेको छ । तर, मानिसले आफ्नो सुरक्षाका लागि स्वच्छिक रुपमा लगाउन सक्नेछन् ।

    बेलायतमा कोभिड खोपको बुस्टर डोजका कारण गम्भीर संक्रमण र अस्पताल भर्ना हुनेको संख्या कम भएको भन्दै प्रतिवन्ध हटाइएको हो । अब नाइट क्लब र ठूला कार्यक्रममा कोभिड पास लिएर मात्रै प्रवेश गर्न पाइने नियम समेत हटेको छ । घरबाटै काम गर्ने र कक्षाकोठामा मास्क लगाउनुपर्ने नियम गत साता नै हटेको थियो ।

    व्यवसायी र सार्वजनिक यातायात सञ्चालकले मानिसहरूलाई मास्क लगाउन अनुरोध गरिरहने बताएका छन् । लण्डनका मेयर सदिक खानले समेत राजधानीका बस एवं भूमिगत रेलमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियम कायम रहेपनि यो स्वयं व्यक्तिको विवेकमा छाडिएको छ ।

    बेलायतमा १२ वर्षमाथिका ८४ प्रतिशतले कोभिड खोपको दोस्रो डोज र दोस्रो डोज लगाइसकेका व्यक्तिमध्ये ८१ प्रतिशतले बुस्टर डोज लगाइसकेका छन् ।

  • युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी

    युक्रेनमा रुसले आक्रमण गरे रुसको ग्यास पाइपलाइन अवरुद्ध गराइदिने अमेरिकाको चेतावनी

    काठमाडौं । अमेरिकाले रुसले युक्रेनमा आक्रमण गरे उसको पश्चिम युरोप जोड्ने प्रमुख ग्यास पाइपलाइन अवरुद्ध बनाइदिने चेतावनी दिएको छ । नोर्ड स्ट्रिम टु रुसबाट जर्मनीसम्म निर्माण गर्ने प्रतिबद्धता जनाइएको पाइपलाइन हो।

    बिहीबार बर्लिनस्थित अधिकारीहरूले रुसले हमला गरे उक्त परियोजनामा प्रतिबन्ध लाग्न सक्ने धारणा राखेका थिए।बिबिसिका अनुसार पश्चिमा साझेदारहरूले आक्रमण भएको खण्डमा रुसको अर्थतन्त्रलाई आफूहरूले निशाना बनाउने बताएका छन् र पछिल्ला प्रतिक्रियाले आकर्षक पाइपलाइन परियोजनामा उनीहरूको अडान चर्को भइरहेको सङ्केत गरेको समेत समाचारमा उल्लेख छ ।
    रुसले आफूले हमला गर्ने योजना बनाएको अस्वीकार गर्दै आएको छ। यद्यपि उसले युक्रेनको सीमामा दशौँ हजार रुसी फौज हालैका हप्तामा खटाएको छ ।

    अमेरिकी प्रसारक एनपीआरसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नोर्ड प्राइसले भने, “म एकदमै प्रस्ट भन्न चाहन्छु; यदि एउटा वा अर्को तरिकाले रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने, नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन।” तर त्यसलाई कसरी रोकिने छ भनेर विस्तृतमा आफू नजाने उनले उल्लेख गरे।

    विदेशमन्त्रालयका प्रवक्ताले परियोजना अघि बढ्नबाट रोक्ने सुनिश्चित गर्न अमेरिकाले जर्मनीसँग मिलेर काम गर्ने पनि बताए। अमेरिकाले उक्त पाइपलाइनलाई सञ्चालन हुनै नदिने बताए पनि जर्मनीले उक्त परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने अवस्थालाई नकारेको छैन।

    संसद्‌मा बोल्दै जर्मन विदेशमन्त्री एनालेना बेअरबोकलेले नोर्ड स्ट्रिम टु सहित समेटिएका कडा प्रतिबन्धहरूका बारेमा पश्चिमा देशहरूले काम गरिरहेको बताइन्। अमेरिकाका लागि जर्मनीकी राजदूत एमिली हेबरले रुसले युक्रेनको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे नर्ड स्ट्रम टु सहित कुनै पनि विषयमा वार्ता नहुने यसअघि ट्विटरबाट बताएकी थिइन्

  • एसियाली महादेशबाट इरान विश्वकपमा छनोट

    एसियाली महादेशबाट इरान विश्वकपमा छनोट

    तेहरान । आगामी नोभेम्बरमा  कतारले आयोजना गर्ने फिफा विश्वकप-२०२२ मा इरानले आफ्नो स्थान पक्का गरेको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकविरुद्धको खेलमा १-० को जित निकाल्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली मुलुक बनेको छ ।

    तेहरानस्थित आजादी स्टेडियममा भएको खेलमा इरानका मेहदी तारेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको हो । यस उपलक्ष्यमा इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई दिएका छन् ।

    तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ । हाल शीर्ष स्थानमा रहेको इरान शीर्ष दुईमा रहने पक्का छ । एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।

    यसै समूहको अर्को खेलमा लेवनानलाई १-० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ । सिरियालाई २-० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ ।

    छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४-० र जापानले चीनलाई २-० ले हरायो । जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ । यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन् ।

  • अमेरिका र रुसको चेपुवामा युक्रेन

    अमेरिका र रुसको चेपुवामा युक्रेन

    काठमाडौं । दुई शक्तिशाली राष्ट्र बीचको तानातानीमा एक निरिह मुलुक चेपुवामा परेको छ । रुसले युक्रेनलाई नेटो सदस्य बन्नबाट रोक्न चाहन्छ । यदी बनेमा उसमाथि सैन्य कारवाहीको तयारी गरिरहेको अमेरिकाले आरोप लगाउँदै आएको छ । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गर्दै आएको छ ।

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरेको बीबीसीले लेखेको छ । उनले वाशिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने बताएका छन् । एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने प्रस्ताव राखेका छन् र रुसले त्यसैलाई रोज्नुपर्नेमा उनको जोड छ ।

    एकजना रुसी मन्त्रीले चाहिँ नेटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने बताएका छन्। यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको बिस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो। त्यसमध्ये युक्रेन र अरूलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न नेटोसँग माग गरिएको थियो।

    युक्रेनलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए सम्बन्ध टुट्न सक्ने चेतावनी समेत अमेरिकालाई रुसले दिइसकेको छ । रुसले युक्रेनको सीमा क्षेत्रमा हातहतियारसहित ठूलो सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ। अमेरिकाले पनि साढे ८ हजार सैनिक तयारी हालतमा रहेको बताएको छ ।

  • भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश

    भारतको गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले पठाए शुभकामना सन्देश

    काठमाडौं । भारतको ७३ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन्। भारतको स्वतन्त्रताको ७५औं वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन्। सन्देशमा प्रधानमन्त्री देउवाले सामाजिक, आर्थिक विकासमा भारतले हासिल गरेको उल्लेखनीय उपलब्धि तथा प्रविधि र नवप्रवर्तनमा गरेको प्रभावकारी प्रगतिको प्रशंसा गरेका छन्। प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन्।

    परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना भारतीय समकक्षी एस जयशंकरलाई पठाएको सन्देशमा उनका साथै भारतका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मन्त्री खड्काले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि सन्देशमा व्यक्त गरेका छन्।

  • अत्यधिक हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते

    अत्यधिक हिमपातका कारण अफगानिस्तानमा ४२ जनाको मृत्यु, ७६ घाइते

    काबुल । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अरु ७६ जना घाइते समेत भएको स्थानीय सञ्चार माध्यमहरुले सोमबार समाचार सम्प्रेषण गरेका छन् ।

    तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीहरुले हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको पनि जनाएका छन् ।

    पछिल्लो २० दिनमा यति ठूलो क्षति भएको अधिकारीहरुको भनाई छ । उनीहरुले हिमपातबाट प्रभावितहरुलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरु उपलब्ध गराइएको पनि उल्लेख गरेका छन् ।

    प्रतिकुल मौसमका कारणले हिमपातबाट प्रभावित भएकाहरुलाई खोजी, उद्धार तथा राहतका लागि गाह्रो भइरहेको घटनास्थलमा खटिएका अधिकारीहरुले बताएका छन् । प्रभावितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविर बनाएर राखिएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।-एएनआई

  • युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो

    युक्रेनमा बढ्यो युद्धको खतरा, अमेरिकाले दुतावासका कर्मचारीलाई देश छाड्न भन्यो

    वासिंटन डिसी । अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई सो देश छाड्न आदेश दिएको छ। यसले सो मुलुकमा युद्धको खतरा बढेको संकेत गरेको छ । बीबीसीका अनुसार रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढेको हो । अमेरिकी विदेश मन्त्रालयको एक आदेशमा यस्तो भनेको छ । अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ।

    उसले अमेरिकी नागरिकहरूलाई युक्रेनबाट बाहिरिन आह्वान समेत गरेको छ। एउटा वक्तव्यमा उसले युक्रेनमाथि रुसले हमला गर्ने विवरणहरू आएको उल्लेख गरेको छ । रुसले आफूले युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ। अमेरिकी विदेश मन्त्रालयले युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको हो ।

    युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन्। शनिवार अमेरिकाले उपलब्ध गराएको झन्डै ९० टन बराबर ुुहातहतियार सहायता युक्रेन पुगेको छ। यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेनप्रति रुसको शत्रुतापूर्ण व्यवहारका कारण अमेरिकाली उक्त देशमाथि चाँडै नै विभिन्न खाले प्रतिबन्धहरू लगाउने बताएका थिए। उनले यदि यस्ता उपायहरू समयमै सुरु गरिए रुसको प्रतिरक्षा क्षमता कमजोर बन्ने दाबी गरेका थिए।

  • युक्रेन विवादमा बोलेका जर्मन नौसेना प्रमुखले गरे राजिनामा

    युक्रेन विवादमा बोलेका जर्मन नौसेना प्रमुखले गरे राजिनामा

    काठमाडौं । युक्रेनको विवादबारे टिप्पणी गरेका जर्मनीका नौसेना प्रमुखले राजीनामा गरेका छन्। के-खिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको भन्ने कुरा बकवास रहेको बताएका थिए। उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले मात्र सम्मान खोजेको समेत बताएका थिए । बीबीसीका अनुसार युक्रेनलाई अमेरिका र यूके सहितका अन्य केही राष्ट्रहरूले हातहतियार उपलब्ध गराएका छन्।

    तर जर्मनीले भने हतियार उपलब्ध गराउन युक्रेनले गरेकोआग्रह अस्वीकार गरेको छ। पुटिनले पश्चिमा राष्ट्रहरूसमक्ष केही मागहरू अघि सारेका र यसमा रुसी सुरक्षा चासो समेटिएको उनले बताएका थिए । युक्रेनलाई सैन्य गठबन्धन उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोको सदस्य बन्नबाट रोकिनुपर्ने रुसले माग गरेको छ। रुसमाथि प्रत्यक्ष सुरक्षा खतरा हुने भन्दै नेटोले पूर्वी युरोपमा सैन्य अभ्यास गर्न अनि हतियार पठाउन बन्द गर्नुपर्ने पुटिन चाहन्छन्।

    शुक्रवार भारतमा एउटा थिङ्क ट्याङ्कले आयोजना गरेको छलफलमा आफ्नो विचार राख्ने क्रममा जर्मन नौसेना प्रमुखले त्यस्तो टिप्पणी गरेका थिए। भिडियोमा उनले पश्चिमा राष्ट्रहरूले पुटिनलाई समान रूपमा व्यवहार गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। युक्रेनको विदेश मन्त्रालयले श्योनबाखको टिप्पणीलाई अस्वीकार्य भनेको थियो । शनिवार श्योनबाखले थप क्षति हुन नदिन आफ्नो पदबाट राजीनामा गरेको बताए ।

  • अफगानिस्तानमा यात्रु चढेको बसमा विष्फोट, कम्तिमा सात मारिए

    अफगानिस्तानमा यात्रु चढेको बसमा विष्फोट, कम्तिमा सात मारिए

    काबुल । अफगानिस्तानमा यात्रु चढेको एक मिनिबसमा विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । घटना हेरात प्रान्तमा भएको हो । घटनामा नौ जना घाइते छन् । इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले लिएको छैन । अलजजिराका अनुसार हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो । अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको छ । पछिल्लो समय हिंसात्मक घटनामा समेत वृद्धि भएको छ ।

  • मुम्बईमा २० तले भवनमा लाग्यो आगो, कम्तिमा ७ को मृत्यु

    मुम्बईमा २० तले भवनमा लाग्यो आगो, कम्तिमा ७ को मृत्यु

    मुम्बई । भारतको मुम्बईमा २० तले भवनमा लागेको आगोका परि कम्तिमा ७ जना मारिएका छन् । मुम्बईको तारदेवस्थित भाटिया अस्पतालकाृे नजिकै रहेको यो भवनमा आगोलागेको हो । शनिबार बिहान १८ औं तलाबाट आगो शुरु भएको हो । घटनामा १५ जना घाइते छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । तत्काल पुगेको दमकलले उद्धार गरेका कारण तुलनात्मक रुपमा कम मानिस मरेका हुन् । आगलागीको कारण भने खुलिसकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

  • यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तिमा ७० मारिए

    यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तिमा ७० मारिए

    काठमाडौं । यमनमा साउदी अरवले गरेको आक्रमणमा कम्तिमा ७० जना मारिएका छन् । यमनको डिटेक्सन सेन्टरमा साउदी नेतृत्वको सेनाले हवाई आक्रमण गरेको हो । यस घटनामा कम्तिमा ७० जनाको मृत्युको पुष्टी संयुक्त राष्ट्र संघले गरेको छ । राष्ट्र संघले घटनाको निन्दा समेत गरेको छ । शुक्रबार हमला भएको थियो । यो हुती विद्रोहीको गढ मानिन्छ ।

    मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । राष्ट्र संघका महासचिव एन्टिनो गुटरेजले यस प्रकारका हमला पूर्ण रुपमा रोकिनु पर्ने बताएका छन् । उनले हमलाको जाँच हुने समेत बताएका छन् । साउदी सेनाले हुती विद्रोही विरुद्ध सन् २०१५ यता लडिरहेका छन् । अहिलेसम्म बालबालिकासहित १० हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

  • हिउँले ढाकियो सहारा मरुभूमी

    हिउँले ढाकियो सहारा मरुभूमी

    काठमाडौं । सामान्यतया हिमाली भेगमा हिमपात नौलो विषय होइन । तर, पछिल्ला दिनमा सहारा मरुभूमिमा हरेक वर्ष जसो हिउँ पर्न थालेको छ । यस वर्ष समेत यहाँ हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको छ । बीबीसीका अनुसार यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो । त्यतिबेला आश्चर्यजनक मानिएको थियो । तर त्यसयता सन् २०२१, २०१८ र २०१७ मा पनि यहाँ हिमपात भएको थियो ।

    त्यसैले अहिले सहारा मरुभूमिमा हिमपात हुनु सामान्य जस्तै मान्न थालिएको छ । मरुभूमीको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियस पुगेको छ । यो अधिकतम तापक्रम ५८ देखि ६० डिग्री सेल्सियससम्म पुग्ने भूमि हो । सहारा मरुभूमिमा अहिले हल्का हिमपात हुँदा बुट्टा भरेको जस्तो सुन्दर दृष्य देखिन्छ । त्यो दृष्य अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । बाव मिडियाका फोटोग्राफर करिब बोचेताले कैद गरेका तस्वीरहरु यतिबेला सोसल मिडियामा भाइरल भएका छन् । हिमपातले यस भेगका मानिसहरुलाई समेत राहत दिएको छ ।

  • अष्ट्रिया यूरोपमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बन्यो

    अष्ट्रिया यूरोपमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बन्यो

    भियना । अस्ट्रिया यूरोप महादेशमै खोप कार्ड अनिवार्य गर्ने पहिलो मुलुक बनेको छ । त्यहाँको सरकारले ल्याएको अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेपछि उक्त युरोपेली देश ईयुकै त्यस्तो व्यवस्था गर्ने पहिलो राष्ट्र बनेको हो । बीबीसीका अनुसार यहाँ अहिलेसम्म ७२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । अस्ट्रियामा नयाँ नियम फ्रेबुअरी १ देखि कार्यान्वयनमा आउनेछ। त्यस्तो विधयेक कानुन बन्न माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिबाट अनुमोदन हुनुपर्छ ।

    नयाँ कानुनका अनुसार मध्य मार्चबाट कोभिडविरूद्ध खोप नलगाउनेहरूले ३ हजार ६ सय युरोसम्म जरिबाना तिर्नुपर्ने हुन्छ। खोपसम्बन्धी त्यस्तो आदेश सन् २०२४ को जनवरीसम्म लागु हुनेछ। सरकारले खोप नलगाएका मानिसहरू त्यसका लागि अगाडि आऊन् भनेर प्रोत्साहन गर्नका लागि १.४ अर्ब युरो लगानीको घोषणा समेत गर्दैछ ।

    उक्त प्रस्तावलाई तल्लो सदनमा १३७ जनाले पारित गरेका थिए। विपक्षमा ३३ सांसद छन् । उग्र दक्षिणपन्थी फ्रिडम पार्टी अस्ट्रियामा खोपविरोधी अल्पसङ्ख्यक खेमामा नेतृत्व गरिरहेको छ । अधिकारीहरूले अनिवार्य खोपको उपाय ल्याउने बताएदेखि नै भियनामा त्यसविरूद्ध प्रदर्शन हुन थालेका थिए।

  • युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?

    युक्रेनको विषयमा अमेरिका रुससँग किन त्रसित छ ?

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा हस्तक्षेप गर्न चाहेको पुनः दोहोर्याएका छन् । तर, पूर्ण आकारको युद्ध नचाहेको भने पुटिनले गर्न नसक्ने उनको भनाई छ । उनको यो भनाई लगत्तै मस्कोको तर्फबाट एक बयान जारी गरि बाइडनको भनाईको खण्डन गरिएको छ । युक्रेनमा रुसले हस्तक्षेप अथवा हमलाको तयारी गरिराखेको भन्ने अमेरिकी भनाइलाई अस्वीकार गरेको छहो ।

    उसले युक्रेनतर्फको सीमामा १ लाखजति सङ्ख्यामा सेना तैनाथ गरेसँगै अमेरिका भने यतिबेला युक्रेनको विषयलाई लिएर त्रसित बनेको हो । रुसले भने पश्चिमा सरकारहरूसँग प्रस्तुत गरेका कयौँ मागमा युक्रेन कहिल्यै नेटोमा नजोडियोस् र उक्त रक्षा गठबन्धनका सैन्य गतिविधि सदस्य देशभित्रै सीमित रहुन् भन्ने चाहन्छ । उता, रुसी हमलाको चिन्ताबारे एक पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा बाइडनले रुसले आक्रमण भने गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।

    बाइडनले पश्चिमा विश्वको परीक्षा लिन चाहेका रुसी नेताले त्यसको गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी समेत पुनः दिए । ह्वाइटहाउसका तर्फबाट जारी एक विज्ञप्तीमा प्रेस सेक्रेटरी जेन साकीले यदि रुसी सेना युक्रेनभित्र पसेमा त्यो नयाँ हस्तक्षेप मानिेने र अमेरिका तथा उसका साझेदारबाट तत्काल, कडा र एकीकृत जवाफ दिइने उल्लेख छ । बीबीसीका अनुसार बाइडनले युक्रेनमाथि हमला भएमा रुसमाथि अहिलेसम्मै नदेखिएको प्रतिबन्ध लगाइने बताएका छन्।

  • ज्वालामुखीको मुस्लोले पुरिएको टोंगाको अवस्था के छ ?

    ज्वालामुखीको मुस्लोले पुरिएको टोंगाको अवस्था के छ ?

    काठमाडौं । टापु राष्ट्र टोङ्गामा शनिवारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको समाचार आएको छ । बीबीसीका अनुसार प्रशान्त महासागरको उक्त टापु राष्ट्रमा खाद्यान्न र पानी आउने आसमा झन्डै २०० मानिस विमानस्थल सफा गर्न जुटेका छन् । विपद्‌मा अहिलेसम्म चार जनाको मृत्युको पुष्टी भइसकेको छ । जसमा तीनजना त्यहीँका नागरिक र एक ब्रिटिश महिला रहेको खबर छ । टोङ्गा सरकारले ज्वालामुखी विस्फोटनलाई अभूतपूर्व विपद्को संज्ञा दिएको छ ।

    धुँवाधुलोको मुस्लो आकाशमा २० किलोमिटर माथिसम्म पुगेको बताइएको छ । बुधवार बिहानै टोङ्गामा उक्त क्षेत्रका लागि राष्ट्रसङ्घीय प्रतिनिधि जोनाथन भिचले मुख्य द्विप टोङ्गाटपुमा खरानी हटाउने काम सोचिएभन्दा निकै कठिन देखिएको बताए । उनले राम्रो प्रगति भइरहेको भन्दै त्यहाँ छिट्टै उडानहरू सुरु हुनसक्ने जनाएका छन्।

    समुद्रमुनी तार रहेको उक्त टापुसँगको एउटा मात्र सञ्चार सञ्जालमा अवरोध आएपछि बाँकी विश्वसँग त्यस क्षेत्रको अधिकांश सम्पर्क टुटेको हो । न्यूजील्याण्डले खाद्यान्न, पानी र स्वास्थ्य सामाग्रीसाथ पठाएको पानीजहाज त्यहाँ पुग्न तीनदेखि चार दिनसम्म लाग्नसक्ने बताइएको छ। टोङ्गाको जनसङ्ख्या झन्डै एक लाख छ जहाँ १७० वटा टापुहरू सात लाख वर्ग किलोमिटरको क्षेत्रभित्र फैलिएका छन्।

  • अफगानिस्तानमा भुकम्प, कम्तीमा २६ जनाको मृत्यु

    अफगानिस्तानमा भुकम्प, कम्तीमा २६ जनाको मृत्यु

    काबुल । अफगानिस्तानमा भूकम्पमा परि कम्तीमा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।

    बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । घरको छत खसेर च्यापिंदा मानिसहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

    प्रान्तका प्रवक्ता बाज मोहम्मद सरवरीले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, “भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।” मानवीय सङ्कटको सामना गरिरहेको अफगानिस्तानलाई प्राकृतिक प्रकोपले समेत पीडा थपेको छ ।

  • आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु

    आबुधाबी विमानस्थलमा ड्रोन हमला, तीन जनाको मृत्यु

    आवुधावी । संयुक्त अरव इमिरेट्सको आबुधाबीस्थित विमानस्थलमा ड्रोन हमला भएको छ । सो क्रममा सोमबार विमानस्थलमा विष्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । आक्रमण यमनमा ईरानले समर्थन गरिरहेको हूती विद्रोहि समूहले गरेको बताइएको छ । यो समूहले यसअघि साउदीलाई लक्षित गरि आक्रमण गरिरहेको थियो । आज भएको आक्रमणमा तीन जना मारिएका छन् । जसमध्ये दुई जना भारतीय र एक पाकिस्तानी नागरिक छन् । घटनामा छ जना घाइते भएका छन् ।

    हूती विद्रोहि समूहले आक्रमणको जिम्मेवारी समेत लिएको छ । यूएईका स्थानीय संचारमाध्यमले लेखे अनुसार विमानस्थल भित्र रहेको आबुधाबी नेशनल आयल कम्पनीको तेल बोकेको ट्यांकरमा भएको हो । ट्यांकरमा आगो लाग्नु अगाडी आकासबाट ड्रोन झरेको देखिएको खबर छ । आबुधाबी प्रहरीका अनुसार आगो ड्रोन विष्फोटका कारण भएको हो ।

  • अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच

    अष्ट्रेलियाबाट देश निकालामा परे विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच

    मेलबर्न । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकालामा परेका छन् । सरकारले उनको भिसा रद्द गरेको थियो ।उक्त निर्णयलाई सङ्घीय अदालतले सदर गरेपछि आइतवार उनी मेलबर्नबाट देश निकालामा परेका हुन् । उनी आइतबार नै दुबईको उडानबाट बाहिरिएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कानुनसम्मत भनेको हो ।

    अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्। यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्। अदालतको निर्णयपछि जोकोभिचले आफू निराश भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्। शुक्रवार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्द गरेका थिए। अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका छैनन्।

  • सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ

    सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ

    काठमाडौं ।  नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्र लिपुलेकमा सडक विस्तार गरिरहेको बताउनुभएपछि नेपालमा त्यसको आलोचना भइराखेको छ । यसै सन्दर्भमा शनिबार विज्ञप्ति सार्वजनिक गर्दै भारतीय दूतावासले यो विषयमा नेपाल सरकारलाई जानकारी भएको बताएको हो ।

    विज्ञप्तिमा विवादको विषयमा अन्तर सरकारी संयन्त्रको माध्यमबाट छलफल गर्नु उपयुक्त हुने उल्लेख छ ।

    भारतीय दूतावासले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सीमाबारे भारत सरकारको धारणा स्थिर र प्रष्ट रहेको भन्दै यस्तो बताएको हो । सीमा विवादबारेको भारतीय धारणा नेपाल सरकारलाई जानकारी गराएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यो विषयमा संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्र र च्यानल नै उपयुक्त माध्यम हुन् ।’

    काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ताले सार्वजनिक गर्नुभएको धारणामा विवाद समाधानका लागि निकट तथा मैत्री द्विपक्षीय सम्बन्धका मर्मका आधारमा सम्बोधन गर्न सकिने उल्लेख गरिएको छ ।

  • उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड  डलरको क्रिप्टोकरेन्सी

    उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

    काठमाडौं । उत्तर कोरियाली ह्याकरले ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा भएको छ । गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको बीबीसीले लेखेको छ । ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसुका अनुसार उत्तर कोरियाका साइबर अपराधीका लागि सन् २०२१ एउटा सफल वर्ष प्रमाणित भएको हो ।

    उत्तर कोरियाली ह्याकरहरूले मुख्यतया लगानी गर्ने कम्पनी तथा क्रिप्टोकरेन्सी किनबेच गर्न मध्यस्थता गरिदिने केन्द्रीकृत मञ्चलाई लक्ष्य बनाएका थिए। उत्तर कोरियाले आफू त्यस्ता आक्रमणमा संलग्न भएको भन्ने आरोपको बारम्बार खण्डन गर्ने गरेको छ। २०२० बाट २०२१ मा पुग्दा उत्तर कोरियासँग सम्बन्धित ह्याक आक्रमणको सङ्ख्या चारबाट बढेर सात भयो, अनि ती ह्याकबाट दोहन गरिएको डिजिटल मुद्राकोे मूल्य ४० प्रतिशतले बढ्यो, चेनएनलिसिसले एउटा प्रतिवदेनमा लेखेको छ ।

    चेनएनलिसिसका अनुसार ह्याकरहरूले लक्षित संस्थाका हट वालेटबाट सम्पत्ति चोरेर उत्तर कोरियाको नियन्त्रणमा भएका स्थानमा पठाउन विभिन्न विधि प्रयोग गरेका थिए। त्यस्ता विधिमा फिशिङ, सफ्टवेअरको कमजोरी पत्ता लगाउने विशेष कोड र मालवेअर थिए। क्रिप्टोकरेन्सी हट वालेटहरू इन्टरनेट तथा क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएका हुन्छन्। त्यसैले ती ह्याकिङमा पर्ने जोखिममा हुन्छन्।

    क्रिप्टोकरेन्सी पठाउन र लिन ती वालेटको प्रयोग गरिन्छ। तिनले प्रयोगकर्तालाई आफूसँग कति वटा टोकन छन् भनेर देखाउँछन्। आफूलाई दैनिक आवश्यक नपर्ने हुँदा ठूलो परिमाणको क्रिप्टोकरेन्सी हटूवालेटको सट्टा कोल्ड वालेटमा राख्ने सल्लाह धेरै विज्ञले दिएका छन्। किनभने कोल्ड वालेटहरू बृहत्तर इन्टरनेटसँग जोडिएका हुँदैनन्।

    चेनएनलिसिसका अनुसार गत वर्ष भएका आक्रमणमध्ये धेरैमा तथाकथित ल्याजरस ग्रूप को संलग्नता छ। अमेरिकाले प्रतिबन्ध लगाएको उक्त समूह उत्तर कोरियाको जासुसी संयन्त्रले सञ्चालन गर्ने ठानिएको छ।

  • स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

    स्पेनिस सुपरकपमा बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड फाइनलमा

    काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा अतिरिक्त समयमा निर्णायक गोल गर्दै रियल विजयी भएको हो । साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा भएको पहिलो सेमिफाइनलमा रियलले ३-२ को रोमाञ्चक जित निकाल्यो । रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जिमा र फेडे भाल्भेर्डेले एक\एक गोल गरे ।

    खेलको पहिलो हाफ १–१ मा सकिएको थियो। दोस्रो हाफको ७२ औं करिम बेन्जेमाले गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाएका थिए। तर, ८३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि थपिएको ३० मिनेटको खेलको आठौं मिनेटमा रियलका फेडेरिको भाल्भेर्डेले गोल गर्दै खेललाई ३–२ मा ल्याएका थिए। खेलमा थप गोल हुन सकेन र रियल विजयी भयो।

  • तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन

    तालिवान शासनमा असुरक्षित बन्दै पत्रकारिता, ८० प्रतिशत पत्रकार पलायन

    काबुल । अफगानिस्तानमा तालिवान शासन शुरु भएपछि पत्रकारिता पेशाा सबैभन्दा असुरक्षित बनेको छ । तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । करिब ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् । जीविकोपार्जनका लागि अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ ।

    ‘लोकतान्त्रिक सरकारको पतनपछि, पूर्वी प्रान्त नान्गाहार, लघमान, नुरिस्तानमा ६ वटा रेडियो स्टेसनहरू बन्द भएका छन् । तीमध्ये ५ वटा आर्थिक समस्याका कारण बन्द भएका हुन् भने अर्को एउटामा कर्मचारी अभाव भएको हो,’ पूर्वी अफगानिस्तानस्थित पत्रकार सुरक्षा समितिका प्रमुख युसुफ जरिफीले भनेका छन् ।

    यद्यपि, ९१ प्रतिशत पत्रकार भने आफ्नो पेसाप्रति सन्तुष्ट रहेका फाउन्डेसनको अध्ययनले देखाएको छ । उक्त अध्ययन ४ सय ६२ पत्रकारले समावेश गरिएको थियो । तीमध्ये ३ सय ९० जना पुरुष र ७२ जना महिला थिए । सर्वेक्षणले अगस्टदेखि अफगानिस्तानमा ४० प्रतिशत मिडिया बन्द भएका जनाइएको छ ।

  • म्यानमारमा नेत्री आङ सान सूचीलाई थप चार वर्षको सजाय सुनाइयो

    म्यानमारमा नेत्री आङ सान सूचीलाई थप चार वर्षको सजाय सुनाइयो

    काठमाडौं । म्यान्मारमा नेत्री आङ सान सूचीलाई थप चार वर्ष जेल सजाय सुनाएको छ। सैन्य सरकारले उनीविरुद्ध चलाएका अनेकौँ मुद्दामध्ये सोमवार एक मुद्दामा यस्तो फैसला सुनाएको हो । अदालतले सूचीले अवैध रूपमा वाकीटकी राखेको र आयात गरेको एवं कोभिड १९ सम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरेको बीबीसीले लेखेको छ । यसअघि सू चीलाई गत डिसेम्बरमा एउटा मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको सजाय सुनाइएको थियो।

    गत फेब्रुअरी महिनामा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि उनलाई हिरासतमा राखिएको छ। उनीविरुद्ध झन्डै एक दर्जन अभियोग लागेको छ । तर सूचीले ती सबैको खण्डन गरेकी छन्। उनीविरुद्ध अन्यायपूर्वक मुद्दा चलाइएको भन्दै निन्दा समेत भइरहेको छ । सैन्य कू भएको दिन सैनिकहरूले उनको घर खानतलासी गर्दा फेला पारेका सञ्चार उपकरणका आधारमा उनलाई यो मुद्दा चलाइएको हो ।

    राजधानीमा गरिएको सुनुवाइमा सञ्चारमाध्यमलाई जान अनुमति दिइएको थिएन। सू चीका वकिलहरूलाई सञ्चारमाध्यम तथा सर्वसाधारणसँग सम्पर्क गर्न दिइएको छैन। अहिलेको निर्णयपछि सू चीले पाउने जेल सजायको कुल अवधि छ वर्ष पुगेको छ।

  • न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी, कम्तिमा १९ जनाको ज्यान गयो

    न्यूयोर्कमा अपार्टमेन्टमा आगलागी, कम्तिमा १९ जनाको ज्यान गयो

    न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्ट भवनमा आगलागी भएको छ । घटनामा ९ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । न्यूयोर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । उनीहरूको अवस्था जटिल छ। मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको बताएका छन् ।

    डेमोक्र्याट सिनेटर चक शुमरले पनि संघीय तहमा जे गर्न आवश्यक छ त्यो गरिने प्रतिबद्धता जनाएका छन्। अहिलेसम्म आगो निभाइसकिएको समेत खबर छ । अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताएका छन्। उनले उक्त आगलागीलाई पहिला कहिल्यै नभएको पनि भनेका छन्। उनले एनबीसी न्यूजसँग बोल्दै मृत्यु हुनेको सङ्ख्या न्यू योर्कमा ३० वर्षयताकै खराब भनेका छन्।

    आयुक्तले आगलागीबारे सूचना पाएको तीन मिनेटमै घटनास्थल पुगेको बताए। फिलडेल्फियास्थित अपार्टमेन्टमा आगलागी भएको केही दिनपछि न्यू योर्कमा यो घटना भएको हो। फिलडेल्फियामा पनि आगलागीमा परि ८ बालबालिकासहित १२ जनाको ज्यान गएको थियो। अधिकारीहरूका अनुसार आइतवार न्यू योर्कको ब्रोङ्कस अपार्टमेन्ट ब्लकमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे दोस्रो र तेस्रो तलामा आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि करिब २०० अग्निनियन्त्रकलाई घटनास्थलमा पठाइएको अधिकारीहरूले बताएका छन्। विद्युतीय हिटरमा खराबी आएपछि आगलागी भएको हुनसक्ने ठानिएको छ।