Category: विश्व

  • नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

    नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

    जाम्फारा\नाइजेरिया । नाइजेरियामा अपहरणमा परेका सयौं विद्यार्थी किशोरी रिहा भएका छन् । उनीहरुलाई गत शुक्रबार एक हतियारधारी समुहले विद्यालयबाटै अपहरण गरेको थियो । यसअघि प्रहरीले ३ सय १७ जना किशोरी अपहरणमा परेको बताएको थियो । बीबीसीका अनुसार त्यसमध्ये केही किशोरी भाग्न सफल भएका थिए ।

    सोहीकारण कुल अपहरणमा परेका २७९ जना छात्रा रिहा भएका हुन् । त्यहाँको प्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गर्दै नजिकको जङ्गलमा लगेको थियो । उनीहरु र सरकारी अधिकारीबीच वार्ताका माध्यमबाट शान्तीपूर्ण रुपमा छात्रालाई छाड्ने वातावरण बनेको हो ।

    जाम्फारा राज्यका गभर्नर बेले मटावाले ट्वीट गर्दै अपहरणमा परेका छात्राहरूलाई रिहा गरिएको घोषणा गर्न पाउँदा आmुलाई निकै खुसी लागेको उल्लेख गरेका छन् । नाइजेरियामा हतियारधारी समूहले फिरौती माग्न बालबालिका र किशोर किशोरीको अपहरण गर्ने गर्छन् । गत डिसेम्बरमा नाइजेरियाको कत्सिना राज्यमा समेत हतियारधारी समुहले तीन सयभन्दा बढी किशोरहरुको अपहरण गरेका थिए । उनीहरुलाई पनि छाडिएको थियो ।

  • कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

    कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

    लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाका ९९ बर्षीय श्रीमान् फिलिप बिरामी परेका छन् । बेलायती राजसंस्थाका ज्यूदो इतिहास मानिने राजदम्पत्ति वृद्ध अवस्थामा पनि बिरामी परेको खबर खासै सार्वजनिक भएको थिएन । तर, राजकुमार फिलिपको स्वास्थ्य अवस्थाबारे भने दरवारले नियमित जानकारी सार्वजनिक गरिरहेको छ । बेलायती संचारमाध्यमहरुक अनुसार उनको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार जारी छ ।

    उनमा मुटुसम्वन्धी समस्या देखिएको छ । मुटुको परीक्षण भइसकेको छ । यद्दपी स्वास्थ्य अवस्थामा सुधार आएको छैन । हालै उनलाई शुरुमा भर्ना गरेको अस्पतालबाट स्थानान्तरण समेत गरिएको छ । लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई सरकारी अस्पताल सेन्ट बर्थोलोमेज अस्पतालमा सारिएको हो ।

    मुटुको अवस्थाका बारेमा निगरानी गर्दै चिकित्सकले थप उपचार अगाडि बढाएको दरवारले जनाएको छ । राजकुमार फिलिप आगामी जुन १० एक सय वर्षमा पाइला टेक्दैछन् । महारानी एलिजावेथ द्वितीया ९४ वर्षकी भइन् ।

  • म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु

    म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु

    काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा ठूल्ठूला प्रदर्शन जारी छन् । पछिल्लो समय प्रदर्शन उग्र बनेको छ । त्यस क्रममा दमन गर्न प्रहरीले गोली चलाएको छ । अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयका अनुसार सबैभन्दा ठूलो हताहती शनिबारयता भएका प्रदर्शनमा भएको छ ।

    कार्यालयका अनुसार सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन बनेको छ । आइतबार म्यानमारका यंगुन, दवेई र मन्डाले शहरमा प्रदर्शन भएको थियो ।

    बीबीसीका अनुसार ती शहरमा प्रदर्शनकारी धेरै मारिएका छन् । फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएको थियो । त्यसपछि प्रदर्शन शुरु भएको हो । सरकारले प्रदर्शन रोक्न भनेको छ । तर, प्रदर्शनकारी उग्र बनेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ।

  • भारतमा आजबाट दोस्रो चरणको खोप अभियान, प्रधानमन्त्री मोदीले लगाए खोप

    भारतमा आजबाट दोस्रो चरणको खोप अभियान, प्रधानमन्त्री मोदीले लगाए खोप

    नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरसको खोप अभियानको दोस्रो चरण प्रारम्भ हुँदैछ । पहिलो चरणमा प्राथमिकतामा रहेकाहरुलाई खोप लगाएर भ्याएको भारतले दोस्रो चरणमा ६० वर्ष भन्दा माथिका नागरिकलाई खोप लगाउँदैछ । यो उमेर समुहमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत पर्छन् । उनले सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएका छन् ।

    मोदी स्वयमःले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो जानकारी गराएका हुन् । आफूले खोप लगाएपछि मोदी खोप लगाउन मिल्ने सबैलाई खोप लगाउन आह्वान समेत गरेका छन् । भारतमा अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन भएको छ ।

    सोही खोप वितरण भएको हो । यहाँ सेरम इन्स्टिच्युट अफ इन्डियाले खोप उत्पादन गरिरहेको छ । भारतमा लगाइरहेको खोप नेपालमा समेत लगाइएको छ । भारतले आज शुरु भएको खोप अभियानलाई इतिहासकै सबैभन्दा ठूलो खोप अभियान भनेको छ ।

  • एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

    एक दशकमा कतारमा मात्र १६४१ नेपालीको मृत्यु

    काठमाडौं । वैदेशिक रोजगारीका लागि पुगेका श्रमिकमध्ये नेपालमा औसतः दैनिक दुई जनाको शव आउने गरेको छ । यसमा पनि खाडी मुलुकको तथ्यांक डरलाग्दो छ । त्यसो त खाडी मुलुकमै नेपालीको संख्या पनि अधिक छ । बेलायती पत्रिका द गार्जियनले एक रिर्पोटमा आधारित हुँदै भनेको छ, पछिल्लो एक दशकमा कतारमा मात्र १ हजार ६ सय ४१ जना नेपाली नागरिकको ज्यान गएको छ ।

    कतारको निर्माण क्षेत्रमा बढी जसो नेपाली श्रमिक खटिएका छन् । नेपालजस्तो शितल ठाउँबाट कतार पुगेका नेपालीले कतारको चर्को गर्मीमा काम गर्दा ज्यान गुमाउने गरेका छन् । कतारले २०२२ मा आयोजना गर्न लागेको विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माण धमाधम गरिएको छ ।

    खासगरी रंगशाला निर्माणकै दौरान बढी आप्रवासी श्रमिकको ज्यान गएको गार्जियनको दावि छ । कतारमा सन् २०११ देखि २०२० को बीचमा ६ हजार ५ सय भन्दा बढी आप्रवासी श्रमिकले ज्यान गुमाएको गार्जियनको दावि छ । यहाँ प्रत्येक साता १२ आप्रवासी श्रमिकले ज्यान गुमाएको देखिएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी भारतीय छन् ।

    १० वर्षमा २ हजार ७११ भारतीय, १ हजार १८ जना बंगलादेशी, ८२४ जना पाकिस्तानी र ५५७ जना श्रीलङ्कन नागरिक छन् । गार्जियनका अनुसार नेपालीमध्ये ४८ प्रतिशतको प्राकृतिक मृत्यु भएको छ । १६ प्रतिशत नेपालीको सडकमा दुर्घटना, १० प्रतिशतको काम गर्ने ठाउँमा दुर्घटनामा र ९ प्रतिशतको रोग, रक्तस्राव, मृगौला फेलका कारण ज्यान गुमाउने बाध्य छन् । १० प्रतिशतले आत्महत्या गरेका छन् । एक प्रतिशतको हत्या भएको छ भने ७ प्रतिशतको मृत्युको कारण खुलेको छैन ।

  • हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु

    हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु

    पोर्ट ओ प्रिन्स। हाइटीमा कैदीले गरेको जेल ब्रेक र झडपमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । २ सय भन्दा बढी कैदी भोगेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना शुक्रबार भएको हो । झडपका क्रममा जेलका निर्देशक समेतको ज्यान गएको बताइएको छ । जेलमा झण्डै ४०० कैदी रहेका थिए। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको ज्यान गएको बताइएको छ । मृत्यु हुनेमा ६ जना कैदी र अन्य सर्वसाधारण रहेका छन् ।

    दुई सय जना कैदी भने अझै पनि जेलमै रहेको अधिकारीहरुले जनाएका छन् । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उनको भनाई छ। मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ छन् । भाग्नेहरुलाई प्रहरीले गोली हानी मारेको अधिकारीको भनाई छ ।

  • साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका

    साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका

    न्यूयोर्क । अमेरिकाले साउदी अरवका पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदकै आदेशमा भएको निष्कर्ष निकालेको छ । अमेरिकी गुप्तचर विभागले खशोग्जीको हत्याबारे रिपोर्ट सार्वजनिक गर्दै यस्तो दावि गरेको हो ।

    राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्याको आदेश दिएको खुलेको बताएको छ । उता, साउदीका युवराज मोहम्मदले भने यो आरोपको अस्विकार गर्दै आएका छन् ।

    खशोग्जीको हत्या हुनासाथ युवराजमाथि औला ठडिएको थियो । पत्रकार खशोग्जी सन् १०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र छिरेको केही समयमै उनको हत्या भएको थियो । दूतावास भित्रै उनको शव गायव समेत गराइएको छ ।

    खशोग्जी व्यक्तिगत कागजात लिने सिलसिलामा दूतावास छिरेका थिए । पत्रकार खशोग्जी साउदी सरकार र युवराज मोहम्मदका गतिविधिको कडा आलोचक थिए । खशोग्जी हत्या प्रकरणमा साउदीको एक अदालतले पाँच जनालाई फाँसीको सजाय सुनाएको छ ।

    यो सजायमा समेत गत वर्ष परिवर्तन भई २० वर्ष कैदमा झारिएको छ । यो घटनामा साउदी सरकारको योजनावद्ध षडयन्त्र रहेको आरोप लागेको छ ।

  • नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

    नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

    जम्फारा\नाइजेरिया । एक साता अगाडी दर्जनौं विद्यार्थी अपहरणमा परी अवस्था अज्ञात रहेको नाइजिरियामा पुनः सयौं छात्रालाई हतियारधारीले अपहरण गरेका छन् । बीबीसीका अनुसार नाइजेरियाको उत्तर पश्चिमी जम्फारा राज्यबाट सयौँ स्कुले बालिका अपहरणमा परेको आशंका छ । रातको एक बजेको समयमा हतियारधारीले ति छात्रालाई अपहरण गरेको एकजना शिक्षकले पुष्टी गरेका छन् । यो घटना शुक्रबार बिहानको हो ।

    उक्त राज्यका गभर्नरका प्रवक्ताले समेत हमलाको पुष्टि गरेको बीबीसीले लेखेको छ । यद्दपी अवस्था भने अज्ञात छ । यो हालकै हप्ताहरूमा भएको सामूहिक अपहरणको सबैभन्दा ठूलो घटना मानिएको छ । यहाँ सशस्त्र समूहहरूले बालबच्चा अपरहण गरी तिनका अभिभावकबाट फिरौती माग्ने गरिन्छ । नाइजेरिया विश्वकै एक असुरक्षित मुलुक हो ।

    गत हप्ता छिमेकको नाइजर राज्यस्थित कगारा भन्ने स्थानबाट २७ जना विद्यार्थी सहित अपहरणमा परेका ४२ जना अझै हराइरहेको बताइएको छ । गत डिसेम्बरमा ३ सय भन्दा छात्रलाई काट्सिना राज्यको कन्काराबाट बन्दूकधारीले अपहरण गरेका थिए । उनीहरुलाई भने छाडिएको थियो ।

  • संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

    संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचनको मिति तोक्दा धेरैले यसमा भारतले साथ दिएको आशंका गरेका थिए । सोहीकारण प्रधानमन्त्री अतिआत्मविश्वासका साथ प्रस्तुत भएको र यसमा अदालतले समेत प्रधानमन्त्रीकै साथ दिने अनुमान धेरैको थियो । त्यसविपरित सर्वोच्च अदालतले नेपालको संविधानको स्पष्ट व्याख्यासहित प्रधानमन्त्रीको कदमको विपरित फैसला सुनायो ।

    यो प्रकरणबारे भारतले पनि मुख खोलेको छ । भारतले यसलाई नेपालको आन्तरिक मामला भएको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनका दौरान यस्तो प्रतिक्रिया दिएका हुन् । अदालतको फैसलाबारे उनलाई पत्रकारले सोधेका थिए । उनले २३ फेब्रुअरीमा आएको सर्वोच्च अदालतको फैसला बारे भारत जानकार रहेको भन्दै नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिए ।

    यद्दपी यो नेपालको आन्तरिक मामला भएको समेत उनको भनाई थियो । नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्धारा टुंगो लगाउने विषय भएको उनले उल्लेख छ । सर्वोच्च अदालतको फैसला आउनु अगाडी नेकपा अध्यक्ष प्रचण्डले नेपालमा प्रजातन्त्रको रक्षार्थ भारतको समेत समर्थन हुनुपर्ने प्रतिक्रिया दिएका थिए ।

  • जर्मनीमा कोरोनाको तेस्रो लहर शुरु, लकडाउन लम्बियो

    जर्मनीमा कोरोनाको तेस्रो लहर शुरु, लकडाउन लम्बियो

    जर्मनी । यूरोपेली मुलुक जर्मनीमा कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । तेस्रो लहरका रुपमा आएको भाइरसको संक्रमणले जोखिम बढाएको जर्मन चान्सलर एन्गेला मर्केलले बताएकी छिन् । उनले कन्जरभेटिभ पार्टीका सांसदलाई यसबारे ब्रिफ्रिंग गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    उनका अनुसार जर्मनीमा कोरोनाको तेस्रो लहर प्रारम्भ भएको छ । रोयटर्सका अनुसार जर्मनीले लकडाउन केही खुकुलो पारिएको छ, तर मार्च ७ सम्म लम्बिएको छ । जर्मनीमा अत्यावश्यक बाहेकका व्यवसाय बन्द छन् । चेक गणतन्त्र र अष्ट्रियासँगको सिमानामा कडाई गरिएको छ ।

  • नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन

    नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन

    काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपति वाइडनले यस्तो बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावासले यस्तो जानकारी गराएको छ ।

    ओहोदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएका हुुन् । ओहदाको प्रमाणपत्रका साथ खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको शुभकामना सन्देश समेत राष्ट्रपतिलाई सुनाएका छन् ।

    राजदूत खतिवडाले अमेरिकाबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरेको दूतावासले जनाएको छ । नेपालका पूर्वअर्थमन्त्री डा. खतिवडा कार्यभार सम्हाल्न अमेरिका पुगिसकेका छन् ।

  • कंगोमा इटलीका राजदूतसहित तीनको हत्या

    कंगोमा इटलीका राजदूतसहित तीनको हत्या

    रोम । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओसहित तीन जनाको कङ्गोमा हत्या भएको छ। इटलीयन संचारमाध्यमहरुका अनुसार कंगोको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएको थियो । सोही समयमा राजदूतमाथि समेत आक्रमण भयो ।

    आक्रमण राजदूत, उनका अङ्ग रक्षक र चालक मारिएको पुष्टी भएको छ । अन्य केही मानिसको समेत मृत्यु भए पनि पुष्टी हुन बाँकि रहेको छ । घटनामा कैयौं मानिस घाइते रहेको बताइएको छ । कंगोमा आफ्ना कुटनीतिज्ञ मारिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको इटलीयन अधिकारीहरुले जनाएका छन् ।

  • विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन

    विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन

    वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट सोमबारसम्म ५ लाख मानिसको ज्यान गएको पुष्टी भएको छ । संसारमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ५ लाख ७१ जनाको ज्यान गइसकेको पुष्टी भएको छ ।

    यो आंकडालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दुखद पक्ष भएको बताएका छन् । उनका अनुसार पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा मृत्यु भएका सबै अमेरिकीभन्दा कोरोनाले बढी मानिसको ज्यान गएको छ । यो हृदयविदारक भएको उनको भनाई छ ।

    सोमबार ह्वाइटहाउसमा संचारमाध्यमसामु उपस्थित राष्ट्रपतिले एउटा राष्ट्रको रूपमा कठोर अवस्था स्वीकार गर्नुको विकल्प समेत नभएको बताए । उनले लामो समयदेखिको लडाईले अब अमेरिकालाई अझ बलियो बनाउनु पर्ने भन्दै विक्षिप्त हुने समय नभएको समेत बताए ।

    परिवार, समुदाय र देशलाई विभाजित गर्ने गलत सूचनाको राजनीति रोक्नुपर्ने भन्दै उनले सबै अमेरिकी एक भएमात्र लडाई जितिने उल्लेख गरे । बाइडेनले कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा पाँच दिन राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

    संघीय सरकारमातहतका सबै कार्यालय र सैनिक बेसमा अमेरिकी झन्डा झुकाइने भएको छ । कोरोनाबाट संसारभर २४ लाख ८४ हजार मानिसको मृत्यु भइसकेको छ । यसमध्ये १९ प्रतिशत मानिस अमेरिकाका ज्यान गुमाउने छन् ।

  • साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने

    साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने

    काठमाडौं । साउदी अरबले सेनामा महिलालाई समेत समावेश गर्ने भएको छ । यो निर्णयलाई महत्वपूर्ण निर्णयका रुपमा समेत लिइएको छ । साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने योजना सार्वजनिक गरेको हो । साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने भएका छन् ।

    साउदी महिलालाई सिपाहीदेखि सर्जेन्टसम्मको पदमा भर्ती दिलाउने तयारी भएको हो । साउदी युवराज मोहम्मद बिन सलमानले भिजन २०३० इनिसियटिभ ल्याएका छन् । जहाँ महिलालाई अझ बढी उदार बनाउने योजना छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सेनामा भर्ती हुन महिला २१ देखि ४० वर्षका हुनु पर्छ। १५५ सेन्टिमिटर उचाइ भएका र कुनै सरकारी जागिर नखाएका महिलालाई भर्ती लिइने छ । हाइस्कुल उत्तीर्ण गरेका र विदेशीसँग विवाह नगरेका युवतिले सेनामा प्रवेश पाउने छन् । एजेन्सी

  • भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम

    भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम

    महाराष्ट्र । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलन थालेको छ । यसले नेपालमा समेत जोखिम बढाएको छ । कोरोना संक्रमणको लहरलाई रोक्न भारतको महाराष्ट्र सरकारले सोमबारबाट लागु हुने गरी सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ ।

    यता नेपाल र भारतबीच अब निर्वाध आवतजावतको ढोका करीव खुलिसकेको अवस्थामा नेपालमा समेत जोखिम बढेको हो । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधनमार्mत यस्तो निर्देश जारी गरेका हुन् । उनका अनुसार महाराष्ट्रका सबै राज्यमा मानिस भेला हुन रोक लगाइएको छ ।

    महामारीले राज्यमा फेरि टाउको उठाउँदै गरेको भन्दै उनले लकडाउनबाट मात्र कोभिड १९ समाधान भने नहुने समेत बताए । तर, मानिसहरुको भेला हुने कामले भने फैलावटमा सहयोग पुगेको उनको भनाई छ ।

    मुख्यमन्त्री ठाकरेका अनुसार कोरोना संक्रमणबाट जोगिने नियमहरुको पालना नगर्नेहरुलाई सजायँ दिइने छ । भारतमा कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने राज्यमध्ये महाराष्ट्र एक हो ।

  • म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली, दुई जनाको मृत्यु

    म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली, दुई जनाको मृत्यु

    म्यानमार । म्यानमारको सैन्य सरकारविरुद्धको आन्दोलन हिंसात्मक बनेको छ । शनिबार देशको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएका छन् । यस घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीका अनुसार सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

    आक्रोशित प्रदर्शनकारीको भीड नियन्त्रण गर्न गोली चलाएको सरकारको दावि छ । घटनामा करिब ३० जना घाइते छन् । घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीको दावि छ । मृतकमध्ये एक जना किशोर हुन् । उनको टाउकोमा गोली लागेको छ । म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक शासकले ‘कू’ गरी हटाएका थिए । त्यसको विरोधमा प्रजातन्त्र समर्थकले आन्दोलन चर्काएका छन् ।

  • माउण्ट केटुमा तीन आरोहीको मृत्यु

    माउण्ट केटुमा तीन आरोहीको मृत्यु

    इस्लामावाद । संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटू आरोहणमा गएका तीन आरोहीको ज्यान गएको छ । यसको पुष्टी पाकिस्तान सरकारले गरेको छ । फेब्रुअरी महिनाको प्रारम्भ मै आरोहणमा गएका तीन जना वेपत्ता छन् । उनीहरु भेटिने सम्भावना नरहेको भन्दै सरकारले मृत घोषणा गरेको हो ।

    पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर बेपत्ता छन् । पाकिस्तानी मौसम विभागका अधिकारीका अनुसार खराब मौसम र लगातार हिमपात भइरहेका कारण सम्पर्कविहीन भएकाहरूको खोजीमा समेत समस्या आएको छ । ती आरोही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका हुन् ।

    केटू संसारकै खतरनाक हिमाल हो । यहाँ प्रत्येक चार आरोहीमध्ये एक जनाको मृत्यु हुने गरेको इतिहास छ । हराएका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अनुमान छ । यसअघि सन् २००८ मा पनि केटु हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीको मृत्यु भएको थियो ।

  • राजकुमार ह्यारी बने मानपदवी मुक्त

    राजकुमार ह्यारी बने मानपदवी मुक्त

    लण्डन । बेलायती राजकुमार ह्यारी अब मान पदविमुक्त भएका छन् । यसअघि उनी स्वयमले मानपदवी त्याग गरेको घोषणा गरेका थिए । यद्दपी राजदरवारले यसको औपचारिक निर्णय गरेको थिएन । बेलायती संचारमाध्यमहरुका अनुसार अब महारानीबाट यस बारे निर्णय आएको छ । ह्यारी र मेघन मर्केल अहिले दोस्रो सन्तानलाई जन्मदिने तयारी छन् । उनीहरुले राजदरबार फर्कन अस्विकार गरेका छन् । उनीहरु अमेरिकामा रहने छन् ।

    सोहीकारण दरवारले समेत औपचारिक रुपमा मानपदवी फिर्ता लिएको हो । शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेको बताइएको छ । बेलायती राजसंस्थाको इतिहासमा यस्तो घटना पहिलो पटक भएको हो ।

    राजकुमार ह्यारीले आफु सर्वसाधारण जस्तै जिन्दगी बिताउने भन्दै दरवार छाड्ने निष्कर्षमा पुगेका हुन् । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेकी छिन् । राजपरिवारको सदस्यका रूपमा उनीहरूसँग अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका नरहने दरबारको स्पष्टोक्ति छ ।

  • पश्चिम बंगालका श्रममन्त्री माथि पेट्रोल बम प्रहार, गम्भीर घाइते

    पश्चिम बंगालका श्रममन्त्री माथि पेट्रोल बम प्रहार, गम्भीर घाइते

    पश्चिम बंगाल । भारतको पश्चिम बंगालका श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार हुँदा गम्भीर घाइते भएका छन् । मन्त्री हुसेनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । मुर्सिदावाद जिल्लाको निमटिटा स्टेशनबाट कोलकाता जान उनी रेल चढ्ने तयारीमा थिए ।

    सोही समयमा अज्ञात व्यक्तिले उनीमाथि बम प्रहार गरेको थियो । बम किन र कुन उद्देश्यले हानियो भन्ने खुलेको छैन । अपराधीको खोजी भइरहेको प्रहरीले बताएको छ । बम प्रहारको भारतभर आलोचना भएको छ ।

  • अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु

    अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु

    टेक्सास । अमेरिको टेक्सास र यस आसपासका क्षेत्रमा हिमआँधीमा परी कम्तिमा २३ जनाको ज्यान गएको छ । अमेरिकाका मध्य तथा दक्षिणी राज्य आँधिबाट प्रभावित बनेका छन् । टेक्सासमा विजुली काटिएको छ । यसले राज्यभर अन्धकार बनाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरण अभियान प्रभावित बनेको छ । आगामी आइतबारसम्म नै आँधिको असर देखिने भएको छ ।


    टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीसहितका राज्य आँधिबाट प्रभावित छन् । घटनामा कम्तिमा २३ जनाको मृत्यु भइसकेको रिर्पोट आएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्य समेत प्रभावित बनेका छन् । बिजुलीको अभावमा चिसो बढेको छ । संचार सम्पर्क समेत विच्छेद भएको छ । केही राज्यले मंगलबार विद्यालय समेत बन्द गराएका छन् ।

    चिसो मौसम र तीव्र हावाका कारण मागअनुसार बिजुली आपूर्ति नभएको सरकारी अधिकारीले जनाएका छन् । टेक्सासको तापक्रम माइनस १८ डिग्रीसम्म झरेको छ । हिमआँधीले मेक्सिकोमा पनि प्रभाव पारेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न प्रशासन तयार रहेको बताउँदै टेक्सासमा आपतकाल घोषणा गरेको संचारमाध्यमले लेखेका छन् ।

  • नेपालबारे भाजपा अध्यक्ष शाहको अभिव्यक्तिको दुबै मुलुकमा आलोचना

    नेपालबारे भाजपा अध्यक्ष शाहको अभिव्यक्तिको दुबै मुलुकमा आलोचना

    काठमाडौं । भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले नेपालमा समेत भारतीय जनता पार्टीको सरकार बन्ने अभिव्यक्ति दिएको भाजपाकै एक नेताले सार्वजनिक गरेका छन् । त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले केही दिन अगाडी सार्वजनिक कार्यक्रममै यस्तो खुलासा गरेका हुन् । उनले शाहले सन् २०१८ मा यस्तो योजना बताएको उनले सार्वजनिक गरेका थिए ।

    शाहले दिएको भनिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालले भने असन्तुष्टी जनाएको छ । भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले यसबारे भारतीय अधिकारीसँग कुरा राखेको बताइएको छ । शाहले सन् २०१८ मा एक कार्यक्रममा भारतीय जनता पार्टीले नेपाल र श्रीलंकामा आफ्नो सरकार बनाउने योजना रहेको बताएको देवले खुलासा गरेका हुन् ।

    शाह भने यो विषयमा मौन छन् । उता, भाजपा समर्थक संचारमाध्यममा भने नेताहरुले ठट्टाका रुपमा शाहले भनेको विषयलाई देवले यो विषयलाई गम्भीर रुपमा उचालेको आरोप लगाएका छन् । तर, मुख्यमन्त्रीबाटै यो विषय सार्वजनिक भएपछि भने यसले भारत र नेपालमा समेत हंगामा सिर्जना गरेको छ । इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धीले शाहको अभिव्यक्तिले छिमेकीसँगको सम्बन्ध विग्रने अभिव्यक्ति दिएका छन् । उनले यसबारे शाहले नै बोल्नु पर्ने उनको भनाई छ ।

  • अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला

    अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला

    ढाका । बंगलादेशको अदालतले इस्लामिक लडाकु समूहका ५ सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

    अमेरिकी ब्लगर अभिजित रोयको ६ वर्षअघि हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको फैसला गरेको हो । बंगलादेश मूलका अमेरिकी रोय २०१५ मा बंगलादेश फर्किएका बेला उनको हत्या भएको थियो ।

    उक्त घटनाको मुद्दामा एक जनालाई आजीवन कारावास तोकेको छ । अधिकारीहरुका अनुसार ती ६ जना व्यक्तिहरु नै अलकायदा सम्बद्ध घरेलु लडाकु समूह अन्सार उल्लाह बांग्लाका सदस्य हुन्। एक दर्जन ब्लगर र धर्मनिरपेक्षतावादी अभियन्ताहरुको हत्यामा उनीहरु संलग्न रहेको प्रहरीले जनाएको छ ।

    यद्यपि ती ६ अभियुक्तले उच्च अदालतमा निवेदन दिनसक्ने जनाइएको छ । इस्लामिक स्टेट वा अलकायदा सम्बद्ध समूहहरुले बंगलादेशमा २०१३ देखि २०१६ बीचमा धर्मनिरपेक्षतावादी अभियन्ता, ब्लगर, धार्मिक अल्पसंख्यकहरुमाथि लक्षित गर्दै सृंखलावद्ध हमला गरेको विभिन्न रिपोर्टले जनाएका छन् । २०१६ को जुलाइमा ढाकास्थित भएको गम्भीर हमलामा २२ जना मारिएका थिए ।

  • इटालीका प्रधानमन्त्रीलाई ओलीको बधाई

    इटालीका प्रधानमन्त्रीलाई ओलीको बधाई

    काठमाडौं । इटालीका प्रधानमन्त्री मारियो ड्राघीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् । उनी हालै प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार इटालीका समकक्षीलाई शुभकामना सन्देश पठाउँदै इटालीका जनताको शान्ति र समृद्धिको कामना समेत गरेका छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले दुई देश बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप बिस्तार हुने विश्वास समेत व्यक्त गरेका छन्। उनले इटालीका प्रधानमन्त्रीसँग नजिक रहेर आगामी दिनमा उत्पादनमूलक क्षेत्रहरु जस्तै व्यापार र लगानीका क्षेत्रमा काम गर्ने र जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्ने समेत उल्लेख गरेका छन् ।

  • ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल

    ट्रम्पमाथिको महाअभियोग प्रस्ताव सिनेटमा असफल

    वासिंटन डिसी । अमेरिकी निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाइएको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा पुगेर असफल बनेको छ । अमेरिकी संसद भवन (क्यापिटल हिल)मा हिंसा भड्काएको आरोप उनीमाथि छ । सोहीकारण आगामी निर्वाचनमा उनको उमेदवारी रोक्न ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो ।

    सो प्रस्तावमा शनिबार भएको भोटिङबाट उनको महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाई पुगेन । दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पमाथिको प्रस्ताव असफल भएको हो । ५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको विपक्षमा मतदान गरे ।

    दुई तिहाइ पुग्न ६७ मत पक्षमा आउनु पर्ने थियो । यसअघि संसदले जो बाइडनलाई नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने दिन ट्रम्पका समर्थकले संसद भवनभित्र वितण्डा मच्याएका थिए । घटनामा दुई जनाको ज्यान गएको थियो ।

  • चीन र ताजकिस्तानमा भूकम्प, भारतसम्म ठूल्ठूला धक्का

    चीन र ताजकिस्तानमा भूकम्प, भारतसम्म ठूल्ठूला धक्का

    नयाँ दिल्ली । शनिबार चीन र ताजकिस्तानमा छुट्टाछुट्टै भूकम्प गएको छ । १० मिनेटको अन्तरमा दुई ठूला भूकम्प गएको हो । त्यसमध्ये एउटा ताजकिस्तान र अर्को चीनको सिचुवान प्रान्त केन्द्र बनाएर गएको छ ।


    नेश्नल सेन्टर अफ सिस्मोलोजीका अनुसार ताजकिस्तानमा ६.३ म्याग्निच्युटको भूकम्प गएको छ । ताजकिस्तानबाट मानवीय क्षतिको विवरण आइसकेको छैन । यो भूकम्पको धक्का भारतको कश्मीरदेखि दिल्लीसम्म महसुस गरिएको छ ।

    अफगानिस्तान र पाकिस्तानका पेशावर, इस्लामावाद लाहोरमासमेत भूकम्प गएको छ । भूकम्पका कारण भारतको कश्मीरमा भौतिक क्षति भएको बिबिसीले लेखेको छ ।

  • अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु

    अमेरिकाको टेक्सासमा भयानक सडक दुर्घटना, कम्तिमा ६ को मृत्यु

    टेक्सास । अमेरिकाको टेक्सासमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार टेक्सासको अन्तरराज्य सडकमा बिहीबार बिहान करीव एक सय गाडी एक आपसमा ठोक्किएका छन् ।

    घटना बिहानको समयमा भएको हो । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु पुष्टी भइसकेको र कैयौं मानिस घाइते भएको बताइएको छ । न्युयोर्क टाइम्सका अनुसार दर्जनौं मानिस सवारीभित्रै थुनिएको अवस्थामा उद्धार गरिएको हो । खासगरी हिँउ परेर लिप्लो भएको सडकमा गाडीहरु ठोक्किएको बताइएको छ ।

    फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के गाडी कार धेरै छन् । दुर्घटनामा कम्तिमा ३६ जना गम्भीर घाइतेको अस्पताल उपचार जारी छ । ६५ जना भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

  • नाइजेरियामा लुटेराले गरे २३ गाउँलेको हत्या

    नाइजेरियामा लुटेराले गरे २३ गाउँलेको हत्या

    कडुना\नाइजेरिया । अफ्रिकी मुलुक नाइजेरिया संसारको सबैभन्दा असुरक्षित मुलुकमध्ये एक हो । यहाँ आतंकवादी समुह बोको हरामदेखि अनेक समुह सक्रिय रहेका छन् । नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुकधारी लुटेराले २३ जना गाउँलेको हत्या गरेका छन् ।

    स्थानीय संचारमाध्यमका अनुसार गाउँले माथि अन्धाधुन्ध आक्रमण भएको थियो । प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानले यसको पुष्टी गरेका हुन् । नाइजेरियाको सेनाले आक्रमणकारीको खोजी थालेको बताएको छ । प्रान्तका गभर्नर नासिर एल–रुफाईले घटनाको निन्दा गरेका छन् । उनले लुटेरा समूह विरुद्ध सैन्य कारबाही तिब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको समेत संचारमाध्यमले लेखेका छन् ।

  • म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर

    म्यानमारमाथि अमेरिकाले लगाउने भयो प्रतिवन्ध, कार्यकारी आदेशमा हस्ताक्षर

    वासिंटन डिसी । अमेरिकाले म्यानमारमाथि प्रतिवन्ध लगाउने भएको छ । हालै निर्वाचित सरकारलाई अपदस्त गरी सेनाले सत्ता हत्याएपछि राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । उनले यस्तो निर्णयको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

    राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेका हुन् ।


    राष्ट्रपतिले आदेशमा हस्ताक्षर गरेसँगै अमेरिकाले पहिलो चरणमा एक साताभित्र कसलाई कुन कुन काममा प्रतिबन्ध लगाउने भन्ने निश्चित गरिने भएको छ । म्यानमार सरकारको १ अर्ब अमेरिकी डलर अमेरिकामा छ । यस रकममाथि सेनाका जनरलहरुको पहुँचमा रोक लगाउने समेत तयारी अमेरिकाको रहेको छ ।

    यसबाहेक निर्यातमा कडाई गरिने छ । म्यानमार सरकारलाई फाइदा पुग्ने अमेरिकी सम्पत्ति फ्रिज हुने भएको छ । तर स्वास्थ्य हेरचाह, नागरिक समूह र म्यानमारका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने अन्य क्षेत्रको सहयोग भने जारी नै रहने भएको छ ।

  • दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध

    दुई भारतीयले सगरमाथा चुचुरो नपुगी आरोहण प्रमाणपत्र लिएको खुलासा, ६ वर्षको प्रतिवन्ध

    काठमाडौं । दुई भारतीय नागरिकले सगरमाथाको चुचुरोमा नपुगी आरोहण प्रमाणपत्र लिएको खुलेको छ । उनीहरुले सन् २०१६ को आरोहण सिजनमा सगरमाथा चुचुरो पुगेको दावि गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार सन् २०१६ को वसन्त ऋतुमा भारतीय नागरिक नरेन्द्र सिंह र सीमा रानीले सगरमाथाको सफल आरोहण नै नगरी पर्वतारोहण प्रमाण पत्र लिएको पुष्टि भएको छ ।

    उनीहरुको प्रमाणपत्र रद्द गरिएको मन्त्रालयले जनाइएको छ । मन्त्रालयले गरेको अनुसन्धानबाट उनीहरुले झुठा विवरण दिएर प्रमाणपत्र लिएको पुष्टि भएको प्रवक्ता अधिकारीको भनाई छ । यसरी प्रमाणपत्र लिने दुई भारतीय नागरिकलाई नेपाल सरकारले पर्वतारोहणमा ६ वर्षको प्रतिवन्ध लगाउने निर्णय समेत गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २६ माघको बैठकले सिंह र रानीलाई २० मे २०१६ देखि लागू हुने गरी पर्वतारोहण गर्न नपाउने गरी प्रतिवन्ध लगाउने निर्णय गरेको हो । उनीहरुलाई आरोहणमा लैजाने आरोहण दलका नेता भारतीय नागरिक नवकुमार फुकोनलाई समेत २० मे २०१६ देखि लागु हुने गरी नेपालमा पर्वतारोहणमा रोक लगाइएको छ ।

    भारतीय नागरिकको आरोहणको परिपाटी मिलाएको सेभेन समिट ट्रेक प्रालिलाई समेत ५० हजार नगद जरिवाना गरेको छ । सम्पर्क अधिकृतका रुपमा खटिएका पवन कुमार घिमिरेलाई चेतावनी दिने निर्णय समेत मन्त्रालयले गरेको छ ।

  • मोरक्कोमा बाढी, कम्तिमा २४ को मृत्यु

    मोरक्कोमा बाढी, कम्तिमा २४ को मृत्यु

    काठमाडौं । मोरक्कोमा बाढी र पहिराले ठूलो मानवीय क्षति भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार त्यहाँ कम्तिमा २४ जनाको मृत्यु भएको खबर छ । देशको उत्तरी भेगमा पर्ने तान्गीर भन्ने स्थानमा सोमबार अविरल वर्षापछि बाढी आएको थियो ।

    घटनास्थलबाट उद्धारकर्मीले १० जनाको सकुसल उद्धार गरेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । अहिले त्यहाँ उद्धार र राहतको काम जारी रहेको छ । बाढीमा अझै केही मानिसहरु हराइरहेको बताइएको छ । यद्दपी यसको पुष्टी भने नभएको संचारमाध्यमले जनाएका छन् ।

    बाढी पसेको स्थानमा एक टेक्सटाइल उद्योग रहेको बताइएको छ । त्यो उद्योग समेत गैरकानूनी रुपमा संचालनमा थियो । सोहीकारण उद्योगमा कति कामदार थिए भन्ने खुलेको छैन । एजेन्सी