Category: विश्व

  • म्यानमारमा प्रदर्शनकारीविरुद्ध बल प्रयोग गर्ने सेनाको संकेत, संयमता अपनाउन आह्वान

    म्यानमारमा प्रदर्शनकारीविरुद्ध बल प्रयोग गर्ने सेनाको संकेत, संयमता अपनाउन आह्वान

    काठमाडौं । म्यानमारमा सेनाले सत्ता हत्याएपछि अहिले आन्दोलन शुरु भएको छ । प्रजातन्त्रका पक्षमा हरेक दिनजसो विशाल र्यालीहरु निस्कन थालेका छन् । यसको अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुन थालेपछि त्यहाँको सेनाले संयमता अपनाउन आह्वान गरेको छ ।

    देशको स्थिरताका लागि प्रदर्शन र विरोध बाधक हुने भन्दै सेनाले बल प्रयोगको संकेत समेत गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै सेनाले प्रदर्शन र विरोधका कार्यक्रमपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न आग्रह गरेको छ । प्रदर्शनकारीले भने स्टेट काउन्सीलर आङ साङ सुकीसहितका प्रजातन्त्र समर्थक नेताहरुलाई रिहाईको माग गरेका छन् । सेनाले देशमा संकटकाल समेत घोषणा गरी सत्ता आफ्नो कब्जामा लिएको हो ।

  • बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?

    बाइडेन र मोदीबीच टेलिफोन वार्ता, कुन एजेण्डामा कुरा भयो ?

    नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार वार्ता म्यानमारमा उत्पन्न परिस्थितिमा मुख्य केन्द्रित थियो । तर, प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई राष्टपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।

    बाइडेनले २० जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् । बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच पहिलो पटक औपचारिक वार्ता भएको हो । वार्तामा क्षेत्रीय भू राजनीति, समसामयिक विश्व परिवेश, जलवायु परिवर्तन र आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।


    भारतीय प्रधानमन्त्री मोदीले बाइडेनलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिए । उनले आफु भारत अमेरिका रणनीतिक सहकार्यमा आतुर रहेको आश्वासन समेत दिए । मोदीले मोदीले पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि जोडिने विषय स्वागतयोग्य रहेको बताएका थिए ।

    बाइडेनले आगामी अप्रिलमा जलवायु सम्मेलनको समेत आयोजना गर्दैछन् । दुई नेताबीच कोरोना विरुद्ध सहकार्य गर्ने र विश्व आतंकवादका विरूद्ध एक ठाउँमा उभिने सम्बन्धमा समेत कुराकानी भएको छ ।

  • उत्तराखण्ड हिमनदी : अझै भेटिएनन् हराइरहेका डेढ सय मानिस

    उत्तराखण्ड हिमनदी : अझै भेटिएनन् हराइरहेका डेढ सय मानिस

    उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित एक बाँध भत्किँदा आएको बाढीले बगाएका डेढ सय मानिस अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि सयौं सैनिक परिचालन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । यस घटनामा ९ जनाको शव फेला परेको छ । १६ जनाको भने जिवितै उद्धार भएको छ ।

    उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको थियो । यो घटना आइतबारको हो । कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ ।

    हराइरहेकामध्ये अधिकांश स्थानीय जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुर हुन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताएका छन्। भारत सरकारले मृतकका परिवारलाई जनही दुई लाख र प्रदेश सरकारले जनही ४ लाख क्षतिपर्ति दिने घोषणा गरेका छन् ।

  • बार्सिलोनाको पुनरागमन जित

    बार्सिलोनाको पुनरागमन जित

    काठमाडौं । स्पानिस लालिगामा बार्सिलोनाले रियल बेटिसलाई ३- २ गोलले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । गतराति सम्पन्न खेलमा बार्सिलोना पछाडी रहेको अवस्था उल्टाएर जित निकालेको हो । जितमा दोस्रो हाफमा मैदान छिरेका कप्तान लियोनल मेसीले प्रेरणादायी खेल देखाए ।

    पहिलो हाफमा बार्सिलोना एक गोलले पछि रहेको थियो । दोसो हाफमा मेसी र ट्रिनकाओले एक एक गोल गरे । एक गोल उपहार पायो । घरेलु मैदानमा बोर्या इगलेसिसले गोल गर्दै ३८औं मिनेटमा बेटिसलाई अग्रता दिलाएका थिए ।

    दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले ५९औं मिनेटमा बार्सिलोनालाई खेलमा फर्काए । ६८औं मिनेटमा भिक्टोर रुइजले आत्मघाती गोल गरी बार्सिलोना २, १ को अग्रतामा आयो ।

    ७५औं मनटमा रुइजले नै बेटिसका लागि बराबरी गोल गरे । ८७औं मिनेटमा ट्रिनकाओले बार्सिलोनाका लागि निर्णायक गोल गरे । जितपछि बार्सिलोनाले २१ खेलबाट रियल मड्रिडसँग समान ४३ अंक जोडेको छ । गोल अन्तरमा बार्सिलोना अघि रहेको छ ।

  • भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० जना भन्दा बढी बेपत्ता

    भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० जना भन्दा बढी बेपत्ता

    काठमाडौं । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा हिमनदी फुटेको छ । बाँध भत्किएपछि ऋषिगंगा परियोजनालाई क्षति अनुमान गरिएको छ ।

    उक्त घटनामा १५० जना भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बेपत्ता हुनेहरु सबै ऋषिगंगा परियोजनामा काम गर्ने मजदुर रहेको बताइएको छ ।

    उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ प्रस्थान गरेका छन् । उनले अफवाहलाई ध्यान नदिन र पुरानो भिडियो सार्वजनिक गरेर मानिसमा भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् ।

    उनले नदी फुटेका कारण अलाकानन्दको तल्लो इलाकामा बाढी आउने सम्भावना रहेको जानकारी दिए । बाढीलाई ध्यानमा राख्दै पौरी, टिहरी, रुद्रप्रयाग, हरिद्वार र देहरादुनलगायत धेरै जिल्लामा सतर्कता अपनाइएको छ ।

    समुद्री तटमा मानिसहरू सतर्क भएर बसेका छन् । नदीको किनारमा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानतर्फ लगिँदैछ ।

  • चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने घोषणा

    चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप दिने घोषणा

    काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान प्रदान गर्ने भएको छ । शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन संवाद भएको छ । संवादका क्रममा यीले यस्तो घोषणा गरेका हुन् । यसअघि चीनले नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने बताएको थियो ।

    यो ५ लाख सोही ३ लाखमा थपिने हो वा थप ५ लाख हो भन्ने चाँही खुलेको छैन । परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन पनि दिएका छन् । त्यसो त अहिलेसम्म कुनै पनि चिनियाँ खोप आपतकालीन प्रयोगका लागि नेपालमा दर्ता भइसकेका छैनन् ।

    चीनले भने आफ्ना नागरिकलाई खोप लगाइरहेको छ । नेपालमा भारतीय खोप अभियान जारी रहेको छ । भारतले १० लाख डोज खोप दिएको हो । पहिलो चरणमा ५ लाख मानिसले यो खोप पाउने छन् ।

  • यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता

    यमनमा हुथी विद्रोहीविरुद्ध सेनालाई दिएको साथ अमेरिकाद्धारा फिर्ता

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा सेनालाई दिएको समर्थन फिर्ता गर्ने घोषणा गरेका छन् । यमनले हुथी विद्रोहीविरुद्ध आक्रामक कारबाही गर्दा त्यसमा अमेरिकी सेनाले समेत साथ दिने गरेको थियो । छ वर्षभन्दा लामो समयदेखि यहाँ युद्ध जारी छ ।

    बीबीसीका अनुसार युद्धकै कारण यमनमा १ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यमनमा युद्ध अन्त्य हुनुपर्ने भन्दै राष्ट्रपति बाइडेनले विदेश नीतिबारे पहिलोपटक वक्त्व्य जारी गरेका छन् । हुथी विद्रोहीविरुद्ध यमनमा साउदी अरेबियाको नेतृत्वको गठबन्धनले युद्धमा भाग लिइरहेको छ ।

    यसमा अमेरिकाको समर्थन रहेको छ । सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेका हुन् । त्यसपछि नरसंहार शुरु भएको हो ।

    यो समर्थन फिर्ताले अलकायदाविरुद्धको कारबाहीलाई भने यसले नगर्ने बीबीसीले लेखेको छ । बाइडेनको घोषणासागै अब अमेरिकाले आक्रामक कारबाही रोक्ने भएको छ । अमेरिकाले साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियार समेत बिक्रि गर्ने छैन ।

  • १८ वर्षिय किशोरी ग्रेटाबाट किन भड्कियो भारत ?

    १८ वर्षिय किशोरी ग्रेटाबाट किन भड्कियो भारत ?

    नयाँ दिल्ली । बिहिबार भारतको राजधानी दिल्लीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता १८ वर्षीया ग्रेटा थनबर्गको पुत्ला जलाइयो । एक किशोरीको एउटा ट्वीटका कारण भारत भड्किएको छ । कारण हो, उनले भारतमा लामो समयदेखि जारी किसान आन्दोलनमा ग्रेटाको समर्थन ।

    बिहीबार भारतका सबैजसो मिडिया ग्रेटाको विरोधमा लागे । किनकी भारतमा मिडियालाई सरकारले आफ्नो पक्षमा राखेको छ । उनीहरु पनि किसानको मुद्दामा अनुदान बन्दै सरकारको समर्थन गरिरहेका छन् । ग्रेटाले ‘हामी आन्दोलनरत भारतका किसानसँगै छौं ‘भनी गरेको ट्वीटकै कारण भारत भड्किएको हो ।

    भारतको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै बिहीबार थनबर्गको पुत्ला जलाइयो । बिहीबार नै दिल्ली प्रहरीले थनबर्गविरूद्ध साइबार मुद्दा समेत दर्ता गरेको छ । यद्दपी भारतको यो कदमले उनलाई कुनै असर भने पर्ने छैन ।

    File Photo

    किनकी भारतको किसान आन्दोलनलाई अहिले विश्वभरका सेलब्रेटीले समर्थन गरेका छन् । ग्रेटाको ट्वीट अगाडी पप गायिका रिहानाले भारतमा जारी किसान आन्दोलनसम्बन्धी समाचार ट्वीट गर्दै यसबारे बहस हुनुपर्ने बताएकी थिइन् ।

    सो ट्वीटपछि भने विश्वभरबाट सेलिब्रेटीले भारतमा जारी किसान आन्दोलनको पक्षमा आवाज बुलन्द गरेका हुन । यसबाट भारत सरकार भने भड्किएको छ । भारत सरकारले भने यसलाई देश विरोधी प्रोपागान्डाको संज्ञा दिएको छ ।

    विदेशमन्त्री एस जयशंकरले भारतलाई निशाना बनाउने अभियान सफल नहुने समेत उल्लेख गरेका छन् । भारतमा नोभेम्बरदेखि विभिन्न राज्यमा किसान कृषि सम्बन्धी नयाँ कानुनको विरोधमा नयाँदिल्लीमा जम्मा भाई आन्दोलनमा छन् । यो आन्दोलन अब अन्तर्राष्ट्रियकरण भएको छ ।

  • अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित

    अमेरिकाको न्यूर्योकसहित पूर्वी भेगमा हिमपात, जनजीवन प्रभावित

    न्यूर्योक । अमेरिकाको पूर्वी भेगमा आएको हिमआँधिले जनजीवन प्रभावित बनाएको छ । बीबीसीका अनुसार न्यूर्योक, न्यूजर्सीसहित पूर्वी भेगका अमेरिकी सहर भारी हिमपातबाट प्रभावित बनेका छन् । यी दुई शहरले आपतकाल घोषणा गरेका छन् ।

    अमेरिकी राष्ट्रिय मौसम सेवा विभागका अनुसार हिउँ आँधी न्यू इङ्ग्ल्यान्डतर्फ मोडिने क्रममा रहेको छ । हिमपातले न्यूजर्सीमा बस तथा रेल सेवा बन्द हुन पुगेको छ । न्यूयोर्कको हवाइ सेवा अवरुद्ध भएको छ । यस भेगमा कोरोना भाइरसको खोप वितरण अभियान समेत हिमपातका कारण प्रभावित भएको बताइएको छ ।

  • सुकीलाई तत्काल रिहा गर : परराष्ट्र मन्त्रालय

    सुकीलाई तत्काल रिहा गर : परराष्ट्र मन्त्रालय

    काठमाडौं । म्यानमारमा सेनाको कुविरुद्ध नेपाल सरकारले समेत प्रतिक्रिया दिएको छ । सरकारले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने विश्वास व्यक्त गर्दै प्रजातन्त्रवादी नेताहरुलाई तत्काल रिहाईको समेत माग गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार साँझ प्रेस विज्ञप्ति निकाल्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।

    म्यानमारी सेनाको नियन्त्रणमा रहेका राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ सुकीको सुरक्षाबारे चासो राख्दै सरकारले उनीहरुलाई रिहा गर्न भनेको छ । नेपाली कांगे्रसका सभापति शेर बहादुर देउवाले समेत म्यानमार घटना निन्दनिय भएको भन्दै प्रजातन्त्र पुनर्बहालीमा जोड दिएका छन् । म्यानमारमा सेनाले सत्ता हत्याएको विरुद्धमा सोमबार माइतिघरमा नागरिक समाजले विरोध प्रदर्शन समेत गरेको छ ।

  • म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत

    म्यानमारमा सैन्य कु बारे अमेरिकी राष्ट्रपति बाइडेनको चेतावनी, हस्तक्षेप हुन सक्ने संकेत

    काठमाडौं । म्यानमारमा आम निर्वाचनबाट हालै निर्वाचित सरकारलाई हत्याएर सेनाले सत्ता आफ्नो हातमा लिएको छ । यस घटनाबारे अमेरिकी राष्ट्रपति जो बाइडनको प्रतिक्रिया सार्वजनिक भएको छ । बाइडेनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने चेतावनी दिएका छन् । उनले म्यानमारमा हस्तक्षेपको संकेत समेत गरेका छन् ।

    अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिई नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टसहितका नेतालाई हिरासतमा राखेको छ । मुलुकमा एक वर्ष संकटकाल घोषणा भएको छ । रातमा मूख्य शहरमा कफ्र्यू घोषणा गरिएको छ ।

    म्यानमारी सेनाको यो कदमको विश्वभरका नेताले आलोचना गरिरहेका बेला बाइडनको कडा आलोचना सार्वजनिक भएको हो । उनले म्यानमारको सत्ता तत्काल फिर्ता गर्न सेनालाई आग्रह गरेका छन् । त्यसो नभए ‘उचित कदम’ चालिने उनको चेतानी छ । म्यानमारमा भएको कुको नेपालबाट पनि विभिन्न दलले चर्को विरोध गरेका छन् ।

  • म्यानमारमा सैन्य कू, प्रजातन्त्रवादी नेतृ सुकी सेनाको हिरासतमा

    म्यानमारमा सैन्य कू, प्रजातन्त्रवादी नेतृ सुकी सेनाको हिरासतमा

    काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी सैन्य हिरासतमा परेकी छिन् । बीबीसीका अनुसार म्यानमारमा सैन्य कु भएको छ । सुकीलाई सेनाले हिरासतमा लिएको हो । सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै यसको पुष्टी गरेका छन् ।

    केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको हो । म्यानमारमा नोभेम्बर महिनामा आम निर्वाचन भएको थियो । जसमा सुकीको पार्टी पार्टी भारी मतसहित अग्रस्थानमा थियो ।

    सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै अमान्य भएको बताएको थियो । सेनाले सोमबार तय भएको संसद बैठक समेत स्थगित गर्न आह्वान गरेको छ । अहिले म्यानमारमा व्यापक सैन्य तैनाथी बढाइएको छ । राजधानीसहितका शहरमा सैनिकको कब्जामा छन् । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द भएको छ ।

  • उत्तर प्रदेशमा बस र ट्रक ठोक्किए, कम्तिमा १० जनाको मृत्यु

    उत्तर प्रदेशमा बस र ट्रक ठोक्किए, कम्तिमा १० जनाको मृत्यु

    मुराबाद । भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

    दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । घाइतेको मुराबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रिफर गरिएको छ ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ राहत दिने र घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।

  • जापानमा हावाहुरी र हिमपात, हवाई सेवा रोकियो

    जापानमा हावाहुरी र हिमपात, हवाई सेवा रोकियो

    टोकियो । जापानमा हावाहुरी र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जापानका विभिन्न क्षेत्रमा तिब्र गतिमा आएको हावाहुरी तथा बाक्लो हिमपातले हवाइ सेवा नै रोकिएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उत्तरी भागमा हावाहुरी र हिमपात चल्दा १ सयवटा भन्दा धेरै उडान उद्द भएका छन् ।

    होक्काइडो र उत्तरी होन्सु प्राकृतिक विपत्तिबाट मारमा परेको छ । मानवीय क्षतिको भने विवरण आइसकेको छैन । पछिल्लो प्राकृतिक अवरोधका कारण मुलुकको सबैभन्दा ठूलो हवाइ सेवा प्रदायक अल निप्पन एअरवेजका ४६ र जापान एअरवेजका ३४ वटा उडान स्थगित भएको बताइएको छ । होक्काइडोमा शुक्रबार रातिदेखि नै ३० मिटर प्रतिसेकेण्ड गतिमा हुरी चलेको छ ।

  • भारतमा इजरायली दूतावास नजिक बम विस्फोट, सुरक्षा व्यवस्था कडा

    भारतमा इजरायली दूतावास नजिक बम विस्फोट, सुरक्षा व्यवस्था कडा

    नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएसँगै प्रहरीले पुरै दिल्ली कब्जा गरेको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठको दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको भारतीय संचारमाध्यमले जनाएका छन् । विष्फोटबाट दूतावासमा कुनै क्षति भने पुगेन ।

    मानवीय क्षति समेत नभएको बताइएको छ । कार पार्किङ क्षेत्रमा भएको यो विष्फोटमा कारका सिसा फुटेका छन् । यससँगै दिल्ली प्रहरीले राजधानीमा सरक्षा अलर्ट बढाएको छ । यसअघि भारतको स्वतन्त्रता दिवसका दिन समेत नयाँ दिल्लीमा आक्रमणको चेतावनी दिइएको थियो ।

    बम विष्फोट कसले र किन गरायो भन्ने नखुलेको समेत संचारमाध्यमले जनाएका छन् । दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले चर्चामा आउने उद्देश्यले कसैले बम विष्फोट गराएको हुन सक्ने आशंका गरेका छन् ।

    दिल्ली प्रहरीका कमिश्नर एसएन श्रीवास्तवले यस घटनाको अनुसन्धान विशेष सेलले गरिरहेको जानकारी दिए । दिल्लीमा विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान, मेट्रो र सरकारी कार्यालयसहित बढी भिडभाड हुने क्षेत्रमा सुरक्षाकर्मीहरु नैताथ भएका छन् ।

  • विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

    काठमाडौं । डिसेम्बर २०१९ मा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर १० करोड मानिसमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार बिहानसम्मको आंकडा अनुसार १० करोड नौ लाखभन्दा धेरै मानिसले यो भाइरसको सामना गरेका छन् ।

    यसमध्ये २१ लाख ६९ हजार मानिस भने यो भाइरससँग पराजित भई मृत्युवरण गर्न बाध्य भएका छन् । सात करोड २९ लाखभन्दा धेरै मानिस भने यो लडाईमा सफल बनेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । यहाँ २ करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    कोरोनाका कारण अमेरिकामा मात्र ४ लाख ३५ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट प्रभावित दोस्रो मुलुक भारत हो । यहाँ १ करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    कोरोनाका कारण भारतमा १ लाख ५३ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा मृत्युदर भने कम रह्यो । ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमण भएको छ । यहाँ २ लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

  • क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु

    क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु

    क्यामरुन । क्यामरुनमा एक यात्रुवाहक बसमा भएको आगलागीमा परी कम्तिमा ५३ जनाको ज्यान गएको छ । २९ जना गम्भीर घाइते रहेको र उनीहरुको अवस्था समेत चिन्ताजनक रहेको अधिकारीहरुले जनाएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग बस ठोक्किँदा बसमा आगो लागेको बताइएको छ ।

    दुर्घटनामा परेका सबैको शव जलेको र पहिचानमा समेत कठिनाई आएको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको थिया । यो ७० सीटे बस थियो । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

    अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

    काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकाल शुरु गरेपछि पहिलो पटक पुटीसँग कुराकानी गरेका हुन् । उनी अहिले अघिल्लो प्रशासनले सम्बन्ध बिगारेका मुलुकसँग सम्बन्ध पुनस्र्थापना गर्ने अभियानमा छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यी दुई विश्व नेताबीचमा दुबै मुलुकबाट फरक फरक विषय सार्वजनिक भएको बताएका छन् । खासगरी ह्वाइटहाउसको तर्फबाट वार्तामा पुटीनका आलोचक अलेक्सी नाभाल्नीको गिरफ्तारी, साइबर हमला र अफगानिस्तानमा अमेरिकी सैनिकमाथि हमला गर्न रूसले तालिबानलाई उक्साएको विषय उठाइएको छ ।

    उता, रुसको तर्फबाट भने जारी विवरणमा भने बाइडेनले अमेरिका, रूस हतियार नियन्त्रण सम्झौताको म्याद थप्न प्रस्ताव गरेको सार्वजनिक गरिएको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रूससँग दुई वटा हतियार सम्बन्धी सम्झौता खारेज गरेको थियो ।

    न्यू स्टार्टलाई पनि नवीकरण नगर्ने पक्षमा उक्त प्रशासन थियो । यसै सम्झौतामा केन्द्रित भई दुई नेताबीच कुराकानी भएको बताइएको छ । बाइडेन र पुटिनबीच युक्रेन समस्याबारे समेत कुराकानी भएपनि यसबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।

    एजेन्सी

  • अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

    अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

    वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ।

    त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन्। यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो।

    यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था अमेरिकी वा गैर अमेरिकी सबै नागरिकलाई लागु हुने अधिकारीहरुले जनाएका छन्।

    अमेरिकी केन्द्रीय रोग नियन्त्रण केन्द्रले जनवरी २६ देखि यस्तो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको छ।

    ‘दुई वर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिकी प्रवेश गर्नुअघि कोरोनाभाइरसबाट सङ्क्रमित नभएको वा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ,’ राज्य विभागद्वारा जारी वक्तव्यमा लेखिएको छ।

    यस्तो प्रमाण पेश गर्न नसक्नेहरुलाई बोर्डिङ पासको व्यवस्था गर्न सकिने उनीहरुले स्पष्ट पारेका छन्।

    ‘यदि तपाइँले अन्तर्राष्ट्रिय उडानको योजना बनाउनु भएको छ भने तपाइँले बढीमा तीन दिन अगाडिको कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्दछ,’ वक्तव्यमा उल्लेख छ।

    न्यूनीकरण केन्द्रले यही जनवरी १२ मा यो व्यवस्था लागु गर्ने सम्बन्धी निर्णय गरेको थियो।

  • अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

    अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

    टेक्सास । मेक्सिको हुँदै अमेरिका छिर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्तिको शव भेटिएको छ । स्थानीय प्रहरीका अनुसार मेक्सिकोको कार्मागो शहर नजिकै सडकमा दुई वटा गाडीमा मानव अवशेष भेटिएको हो । संचारमाध्यमले जनाए अनुसार शुरुमा मानिसहरुमाथि गोली हानेर त्यसपछि जलाइएको अवस्थामा शव भेटिएका हुन् ।

    घटनास्थलमा गोलीका छर्रा नभेटिएका कारण मानिसहरुलाई अन्यत्रै हत्या गरी सो स्थानमा जलाइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । यो क्षेत्र लागु औषध ओसारपसारमा बढी प्रयोग हुने गरेको छ । गुण्डागर्दीका लागि बदनाम यो क्षेत्रमा हरेक दिन जसो झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले उल्लेख गरेको छ ।

    अभियोजनकर्ताहरूको कार्यालयले शवको परीक्षण गरिरहेको बताएको छ । तर, शव जलिसकेका कारण पहिचानमा समेत समस्या रहेको बताइएको छ । कर्मागोमा करीव १५ हजार व्यक्ति बसोबास गर्छन् । यो शहर अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्छ ।

  • ताइवान छिरे एक दर्जन चिनियाँ लडाकु जहाज

    ताइवान छिरे एक दर्जन चिनियाँ लडाकु जहाज

    काठमाडौं । ताइवानले आफ्नो आकासमा एक दर्जन चिनियाँ लडाकु जहाज छिरेको दावि गरेको छ । ताइवानी रक्षा मन्त्रालयले शनिबार ताइवानको दक्षिण, पश्चिमी आकाशमा ८ वटा बम खसाल्ने जहाज र ४ वटा लडाकु जेट प्रवेश गरेको दावि गरेको छ ।

    ताइवानले चिनियाँ जहाजको निगरानीका लागि मिसाइल तयारी अवस्थामा राखेको समेत उल्लेख गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । चीनबाट एयर स्पेसमा अतिक्रमण भएपछि आफुहरु समेत चनाखो बनेको ताइवानको भनाई छ । त्यसो त ताइवान चीनको स्वशासित क्षेत्र मानिन्छ ।

    त्यसकारण चीनले यहाँ अन्य समयमा समेत लडाकु विमान पठाउने गरेको थियो । तर, एकै पटक दर्जनौं जहाज छिरेपछि भने ताइवान सशंकित बनेको हो । उता, अमेरिकाले समेत एक विज्ञप्ती जारी गर्दै ताइवानमाथि चीनको दबाब रोकिनु पर्ने बताएको छ ।

    अमेरिकी विदेश मन्त्रालयले ताइवानमाथि सैन्य, कूटनीतिक र आर्थिक दबाब दिन रोकेर प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएका प्रतिनिधिहरूसँग अर्थपूर्ण वार्ता गर्न आह्वान गरेको छ ।

    एजेन्सी

  • चिनियाँ जलसेनालाई विदेशी जहाजमा गोली हान्ने अधिकार दिइयो

    चिनियाँ जलसेनालाई विदेशी जहाजमा गोली हान्ने अधिकार दिइयो

    बेइजिंग । चीनले एक विवादास्पद कानून ल्याउदै जलसेनालाई थप अधिकार सम्पन्न बनाएको छ । चिनियाँ संचारमाध्यमका अनुसार अब आफ्ना तटवर्ती सेना (नौसेना) लाई चीनले विदेशी जहाजमा गोली हान्ने अधिकार दिएको छ । प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका नौसेनालाई गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने भएको हो ।

    यसको पुष्टी चीनको न्युज एजेन्सी सिन्ह्वाले गरेको हो । राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र समुद्री अधिकारको रक्षा गर्न ल्याइएको यो कानुन फेब्रुअरी १ बाट लागू हुने भएको छ ।

    चिनियाँ तटरक्षकले आफ्नोबारे निर्णय आफै गर्न सक्नेछन् । यसको मतलव परिआएको खण्डमा माथिको आदेश नकुरी सेनाले गोली चलाउन सक्नेछ । दक्षिण चीन सागरसहित समुन्द्री क्षेत्रमा अमेरिकासहितका मुलुकसँग टकराव परिरहेका समयमा चीनले यस्तो कानून ल्याएको हो ।

  • भारतमा जिलेटिन बोकेको ट्रक विष्फोट, कम्तिमा ८ जनाको मृत्यु

    भारतमा जिलेटिन बोकेको ट्रक विष्फोट, कम्तिमा ८ जनाको मृत्यु

    कर्नाटक । भारतमा जिलेटिन भरिएको एक ट्रक विष्फोट भएको छ । कर्नाटक राज्यमा भएको यस विभत्स घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको पुष्टी भारतीय संचारमाध्यमले गरेका छन् ।

    ट्रकमा मजदुर रहेको र राती १० बजे आसपास भएको घटनामा उनीहरुको ज्यान गएको बताइएको छ । विष्फोटपछि त्यसआसपास गन्ध फैलिएको थियो । रातको समय समेत भएका कारण उद्धारमा कठिनाई भएको बताइएको छ ।

    सो स्थानमा विष्फोटक पदार्थ रहेको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली झिकाइएको थियो । अहिले भने प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको बीबीसीले लेखेको छ ।

    स्थानीयले विष्फोटको समयमा भूकम्प आएजस्तै महसुस गरेको बताएका छन् । आसपासका धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन् । विष्फोटको आवाज आसपासका जिल्लासम्म पुगेको थियो ।

  • भारतमा कोरोना खोप उत्पादन गर्ने कम्पनीको भवनमा आगलागी, ५ जनाको मृत्यु

    भारतमा कोरोना खोप उत्पादन गर्ने कम्पनीको भवनमा आगलागी, ५ जनाको मृत्यु

    पुने । भारतमा कोरोना भाइरस विरुद्धको खोप उत्पादन गर्ने कम्पनीको एक भवनमा आगलागी भएको छ । आगलागीमा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । पुनेस्थित सेरम इन्स्टिच्युटको भवनमा बिहीबार आगलागी भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    यो कम्पनीले कोरोना भाइरस विरुद्ध अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको छ । कम्पनीको निर्माणाधीन भवनमा बिहीबार आगलागी भएको जनाइएको छ । घटनास्थलमा १० ओटा दमकल खटिएको बताइएको छ ।

    रोयटर्सले आगलागीबाट कम्पनीको खोप उत्पादनमा कुनै क्षति नगरेको बताएको छ । आगलागीको कारण इलेक्ट्रिक सट भएको बताइएको छ । किनकी यो भवनमा निर्माणको काम जारी रहेको थियो । पुनेमा सेरम इन्स्टिच्युट एक सय एकड जमिनमा फैलिएको बताइएको छ । सेरम इन्स्टिच्युटबाट अहिलेसम्म पाँच करोड डोज कोरोना खोप उत्पादन भइसकेको छ ।

  • भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

    भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

    काठमाडौं । नेपाललाई भारतले दिएको दश लाख डोज भ्याक्सिन बोकेको एयर इन्डियाको विमान काठमाडौं आइ पुगेको छ ।

    भारतले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप बोकेको विमान बिहिबार बिहान साढे ११ बजे त्रिभुवन विमानस्थलमा आइपुगेको हो। उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन्।

    खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ।

    खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अक्सफोर्ड, एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो ।

    विभागबाट प्रदेशको भण्डारण केन्द्रमा खोप पठाउने गरि तयारी छ । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने भएको छ ।

  • बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई

    बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाई

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीले बाइडेनलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् ।

    नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको सह्राना गर्दै उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल होस भन्ने कामना गरेकी छिन् ।


    उता, प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाउँदै उनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने ओलीले विश्वास व्यक्त गरेका छन् ।

    उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाएका छन् । उनले आफ्नो सन्देशमा नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका समेत छन् ।


    राष्ट्रपति र उपराष्ट्रपतिले नेपाली समय अनुसार गतराती सपथ लिएका छन् । उनीहरुलाई संसारभरबाट बधाई आउने क्रम जारी छ ।

  • बाइडेनले गरे राष्ट्रपतिको सपथ ग्रहण, ट्रम्प अनुपस्थित

    बाइडेनले गरे राष्ट्रपतिको सपथ ग्रहण, ट्रम्प अनुपस्थित

    वासिंटन डिसी । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन् । उनले आज राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराए । उनीसँगै उपराष्ट्रपति कमला ह्यारिसले समेत पदको सपथ ग्रहण गरेकी छिन् ।

    उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन्। यसका साथै उनको नाममा पहिलो एसियाली र मुलको उच्च पदस्थ पदमा पुग्ने कीर्तिमान समेत बनेको छ ।

    कमलालाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराइन् । निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाएनन्।

    उनी आजै ह्वाइटहाउसबाट बिदा भएका छन् । आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति बनेका छन् । उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित भई नयाँ प्रशासनलाई स्वागत गरेका छन् ।

    उनी ट्रम्पको बिदाईमा समेत उपस्थित भएनन् । सपथ ग्रहण समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित भएका छन् ।

  • दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

    दक्षिण कोरियामा कोरोना खोप निःशुल्क, हजारौं नेपाली लाभान्वित

    सोल । दक्षिण कोरियाले सो मुलुक भित्र रहने सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप निशुल्क उपलब्ध गराउने भएको छ । दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले यस्तो घोषणा गरेका हुन् ।

    उनको घोषणासँगै यस मुलुकमा रहेका हजारौं नेपाली नागरिक समेत लाभान्वित हुने भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा करीव ५० हजार नेपाली पुगेका छन् ।


    यसअघि भने कोरियाले स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताएको थियो । तर, नयाँ निर्णय सार्वजनिक गर्दै कोरियाले विदेशीको हकमा समेत यो नियम लागु हुने बताएको छ ।

    कोरियामा आगामी महिनादेखि खोप अभियान शुरु हुँदैछ । खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी हुनेछन् । वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्तिलाई समेत पहिलो प्राथमिकतामा राखिने भएको छ । त्यसपछि भने सबै नागरिकले यो सुविधा लिन पाउने छन् ।

    अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकको हकमा सरकार बोलेको छैन । कोरियामा भिसा अवधि पुरा भएपछि पनि अवैधानिक रुपमा ठूलो संख्यामा विदेशी बसेको अनुमान छ ।

  • बाइडेनको सपथको तयारी पुरा, २५ हजार सुरक्षाकर्मी तैनाथ

    बाइडेनको सपथको तयारी पुरा, २५ हजार सुरक्षाकर्मी तैनाथ

    वासिंटन डिसी । ट्रम्प समर्थकले हिंसात्मक आन्दोलन गर्न सक्ने आशंका सहित अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको सपथ ग्रहण कार्यक्रमका दौरान २५ हजार सुरक्षाकर्मी खटाइएको छ । शपथ ग्रहण कार्यक्रमको तयारीको काम भने पुरा भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

    शपथ कार्यक्रमका दौरान हुन सक्ने सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा सुरक्षा सतर्कता भने बढाइएको बताइएको छ । अमेरिकी संसद् भवन क्यापिटल झकिझकाउ पारिएको छ ।

    यद्दपी यस वरपर, पेनसिल्भानिया एभेन्यु र ह्वाइट हाउस आसपासमा समेत सर्वसाधारणको प्रवेश रोकिएको छ । यहाँ अग्ला बार लगाएर गतिविधि बन्द गरिएको हो । शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउने छ ।

    बाइडनले बाइबल छुँदै सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरबाट शपथ लिनेछिन् ।

    शपथ ग्रहणपछिको सलामीपछि बाइडनले समारोहलाई सम्बोधन गर्ने गरी कार्यक्रम तय भएको छ । शपथ समारोहमा लेडी गागा, जेनिफर लोपेजलगायतले सांगितिक प्रस्तुति समेत दिने भएका छन् ।

  • भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

    भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

    नयाँ दिल्ली । अहिले संसारका विकसित मुलुकहरुले धमाधम कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् । खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको प्रमाणित भएपछि सर्वसाधारणको प्रयोगमा ल्याइएको हो । तर, यसले कतिपय मानिसमा भने असर देखाउन थालेको छ ।

    नर्वेमा २९ जनाको ज्यान गएको खबर गत साता आएको थियो । यता, छिमेकी मुुलुक भारतमा समेत कोरोनाविरुद्धको खोप लगाएका ५८० जना बिरामी परेका छन् । दुई जनाको मृत्यु भइसकेको छ । ७ जना गम्भीर छन् ।

    भारतमा शनिबारबाट खोप अभियान सुरू भएको हो । शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

    भारतमा अहिलेसम्म ३ लाख ८१ हजार जनामा खोप दिइसकिएको छ । नेपालमा समेत भारतबाटै कोरोना खोप ल्याउने तयारी छ । यसैसाता भित्र खोप ल्याउने गरी तयारी गरिएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।