Category: विश्व

  • भारतीय सेना प्रमुख आज नेपाल आउँदै

    भारतीय सेना प्रमुख आज नेपाल आउँदै

    काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउने भएका छन् । उनलाई नेपाली सेनाले मानार्थ महारथीको दर्ज्यानी प्रदान गर्नेछ । भारतीय सेनाको विशेष विमानमार्फत् उनी बुधबार अपरान्ह काठमाडौं अवतरण गर्नेछन् ।

    नेपाल भारत पछिल्लो सीमा विवाद पछि पहिलो पटक उच्चस्तरीय भ्रमण हुन लागेको छ । सोहीकारण यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नेछिन् ।

    उनले सोही दिन प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गर्नेछन् । शुक्रबार स्वदेश फर्कनु अगाडी उनले प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    नेपाल–भारत सीमा विवाद उत्कर्षमा रहेका बेला विवादास्तपद अभिव्यक्ति दिएका उनको भ्रमणबारे सामाजिक संजालमा भने चर्को विरोध सुनिएको छ ।

    यद्दपी यो भ्रमणले विवाद कम गर्न भूमिका खेल्ने अपेक्षा भने गरिएको छ । भारतीय सेनाध्यक्ष नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

  • राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता

    राष्ट्रपति निर्वाचन : इलेक्टोरल कलेजमा वाइडनको अग्रता

    वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचन औपचारिक रुपमा सम्पन्न भएको छ । अब यहाँ नतिजा आउन समेत थालेको छ । बुधबार बिहानसम्म कूल ५० मध्ये ९ राज्यको मतगणना सकिएको छ । जसमा डेमोक्रेट उम्मेदवार वाइडनले राष्ट्रपति ट्रम्पविरुद्ध शुरुवाती अग्रता लिएका छन् । वाइडनका पक्षका इलेक्टोरल कलेजका प्रतिनिधिको संख्या धेरै देखिएको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित बन्न भने न्यूनतम २७० इलेक्टोरल कलेजका प्रतिनिधि चाहिन्छ ।

  • अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?

    अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?

    वासिंटन । अमेरिकामा आगामी चार वर्षे कार्यकालको छिनोफानो हुने गरी आज राती राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति तथा डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच प्रतिस्पर्धा भइरहेको छ । अमेरिकामा मुलुक बाहिर रहेका नागरिकले समेत मतदानमा भाग लिन सक्ने प्रावधान छ ।

    सोही अनुसार करोडौं मानिसले मतदान गरिसकेका छन् । यद्दपी अमेरिका भित्र हुने निर्णायक मतदानले राष्ट्रपतिका उमेदवारको भविश्य निर्धारण गर्नेछ ।

    कोरोना महामारीबाट संसारमा सबैभन्दा बढी प्रभावित अमेरिकाको बढ्दो स्वास्थ्य संकट, आर्थिक संकट र जातिय, वर्गिय तथा सामाजिक समस्या सम्बोधनमा जनतालाई आश्वस्त पार्न सक्ने उमेदवारले नै यो पटक निर्वाचन जित्ने छन् ।

    कोरोना महामारीबाट संसारमा सबैभन्दा बढी प्रभावित अमेरिकाको बढ्दो स्वास्थ्य संकट, आर्थिक संकट र जातिय, वर्गिय तथा सामाजिक समस्या सम्बोधनमा जनतालाई आश्वस्त पार्न सक्ने उमेदवारले नै यो पटक निर्वाचन जित्ने छन् ।

    अमेरिकी राष्ट्रपति पद संसारकै शक्तिशाली पद भएका कारण यो पदका लागि ठूलो प्रतिस्पर्धा हुने गर्छ । संसारभर चासोका साथ अमेरिकी राष्ट्रपतिको निर्वाचनलाई लिने गरिन्छ । यो पटक मत सर्वेक्षणमा वाइडन केही अगाडी देखिएका छन् ।

    यद्दपी सर्वेक्षणको विश्वसनीयतामा भने सन् २०१६ कै निर्वाचनमा प्रश्न उठिसकेको छ । यो वर्ष ट्रम्प सर्वोक्षणमा निकै पछाडी थिए । तर, उनले निर्वाचन जितेका थिए । ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड छ । अमेरिकामा १८ वर्ष पूरा भएको नागरिकले मतदान गर्न पाउँछ ।

    अमेरिकी राष्ट्रपतीय निर्वाचनमा जनताको प्रत्यक्ष मतसँगै इलोक्ट्रोल कलेजको मत समेत निर्णायक हुन्छ । कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उमेदवार राष्ट्रपतिमा निर्वाचित हन्छ ।

    सोही व्यवस्था अनुसार जनमत अधिक ल्याए पनि उमेदवार राष्ट्रपति बन्नबाट रोकिन सक्छन् । इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसंख्या, सिनेटरको संख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ ।

  • फिलिपिन्समा यो वर्षकै शक्तिशाली आँधी, कम्तिमा १० को मृत्यु

    फिलिपिन्समा यो वर्षकै शक्तिशाली आँधी, कम्तिमा १० को मृत्यु

    मनिला । फिलिपिन्समा सन् २०२० को सबैभन्दा शक्तिशाली समुद्री आँधी आएको छ । यसले कम्तिमा १० जनाको ज्यान गएको र थुपै्र मानिस प्रभावित भएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । आँधीका कारण तीन लाख ४७ हजारभन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । यहाँ घर र भवन भत्किएका छन् ।

    फिलिपिन्समा प्रतिघण्टा २ सय २५ किलोमिटरको गतिमा हावा र ठूलो वर्षा भएको थियो । बीबीसीका अनुसार आँधी मथ्थर भएको छ ।

    तर, यो दोहोरिन सक्ने चेतावनी मौसमविद्ले दिएका छन् ठूलो संख्यामा मानिसको उद्धार गर्नुपर्ने देखिएपनि कोरोना भाइरसको सङक्रमणको समेत जोखिम रहेका कारण उद्धारमा समस्या आएको बताइएको छ । यो मुलुक आँधीबाट प्रभावित हुने मुलुकमध्ये एक हो ।

  • कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु

    कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु

    वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ ।

    विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो ।

    आइतवार अपराह्नसम्मको विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १२ लाख नाघेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार अझै पनि करिब ८५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । तीन करोड ३५ लाख संक्रमणमुक्त भइसकेको जनाउँदै संगठनले एक करोड १६ लाख व्यक्तिमा सामान्य किसिमको संक्रमण देखिएको छ ।

  • बेलायतमा चार साताका लागि लकडाउन घोषणा

    बेलायतमा चार साताका लागि लकडाउन घोषणा

    लण्डन । बेलायतमा कोरोना भाइरसको महामारीले पुनः जनजिवन प्रभावित बनाउन शुरु गरेको छ । भाइरसको दोस्रो लहर शुरु भएपछि यहाँ चार साता लामो देशव्यापी लकडाउन घोषणा भएको छ । लकडाउन आगामी विहीबारबाट लागु हुने भएको हो । बेलायतमा गत मार्च २३ मा पहिलो पटक लकडाउन घोषणा भएको हो । यो लकडाउन जुलाईमा खोलिएको थियो ।


    प्रधानमन्त्री बोरिस जोन्सनका अनुसार अहिले स्कुल, कलेज तथा विश्वविद्यालय भने खुलै हुने छन् । अत्यावश्यक वस्तुका पसल समेत खुल्ने छन् । त्यसबाहेक अन्य पसल भने खोल्न पाइने छैन । रेस्टुरेन्ट र पब बन्द हुनेछन् । तर, टेक–वे पसल भने संचालन गर्न सकिने छ । लकडाउन घोषणा गर्नुअघि बेलायती मन्त्रिमण्डलमा लामो छलफल भएको बीबीसीले जनाएको छ ।

  • रोनाल्डोले जिते कोरोना

    रोनाल्डोले जिते कोरोना

    काठमाडौं । पोर्चुगिष्ट स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमण जितेका छन् । युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने उनी शुक्रबार कोरोना संक्रमण मुक्त भएको क्लवले उल्लेख गरेको छ । यसबीचमा उनले च्याम्पियन्स लीगअन्तर्गत बार्सिलोनसँगको खेल गुमाएका छन् । उक्त खेलमा युभेन्ट्स पराजित भएको थियो ।

    रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले उल्लेख गरेको छ । उनी कोरोना पुष्टी भएको १९ औं दिनमा मुक्त हुन सफल भएका हुन् । नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोमा २४ अक्टोबरमा कोरोना संक्रमण पुष्टी भएको हो ।

  • टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते

    टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते

    इस्तानबुल । टर्की र ग्रिसमा गएको शक्तिशाली भूकम्पबाट कम्तिमा २२ जनाको मृत्यु भएको छ । सयौं मानिस घाइते भएका कारण मृतक संख्या बढ्न सक्ने आंशका गरिएको छ । भूकम्पले घरहरु भत्कदा मानवीय क्षति भएको हो ।

    टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले उल्लेख गरेको छ । उता, टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको उल्लेख गरेको छ ।

    भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा २० जनाको ज्यान गएको । यहाँ ७ सय ८६ जना घाइते भएको तथ्यांक आएको छ । सामोसमा दुई जनाको ज्यान गएको छ। भूकम्पपछि सुनामी उठेको र यसले इज्मिर र सामोसमा बाढी पसेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

  • टर्की र ग्रीसमा शक्तिशाली भुकम्प

    टर्की र ग्रीसमा शक्तिशाली भुकम्प

    काठमाडौं । टर्की र ग्रीसमा शक्तिशाली भुकम्प गएको छ । ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीको इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी भूगर्भ निकायका अनुसार यहाँ नेपाली समय अनुसार शुक्रबार साँझ ७.० म्याग्निट्युडको भूकम्पको धक्का महसुश गरिएको हो ।

    यसको धक्का एथेन्स र इस्तानबुलसम्म भएको बीबीसीले लेखेको छ । अहिलेसम्म मानिसहरु मरेको खबर आएको छैन । तर, भवनहरु भत्किएको भिडियो र तस्वीर भने सामाजिक संजालमा आइरहेका छन् । टर्की भूकम्पबाट बढी प्रभावित मुलुकमध्ये एक हो ।

  • अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक

    अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक

    बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

    सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    राष्ट्रपति सी जिनपिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि विक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरु विक्री गर्न रोकिराखेको छ ।

    चिनियाँ कम्पनीहरुले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरुको बुझाई छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा ‘विज्ञान र प्रविधि राष्ट्रिय विकासको लागि रणनीतिक महत्वका भाएकाले यो क्षेत्र आत्मनिर्भर हुनु पर्दछ’ भनिएको छ । विज्ञान र प्रविधिमाथिको सामथ्र्य निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ तर यसबारे विस्तृत विवरण दिइएको छैन ।

    चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका प्रमुख रुपमा रहने गरेको छ ।

    योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ । नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ ।

    बिहीबार सार्वजनिक वक्तव्यमा ‘हरित र कम कार्बनयुक्त विकास’लाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी “राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न” सक्षम तुल्याइने उल्लेख छ ।

    चीनले हाल एक ‘जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गरिरहेको छ,’ वक्तव्यमा भनिएको छ, तर कोरोनाभाइरस महामारी वा अमेरिकासँगको कर युद्धका बारेमा कुनै उल्लेख गरिएको छैन ।

    चीनका कारखानाहरूले विश्वको अधिकांश स्मार्टफोन, पर्सनल कम्प्युटर र दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन गर्दछन्, तर त्यसका लागि अमेरिकी, युरोपियन र जापानी सामान जरुरी हुन्छ । चिनियाँ कम्युनिष्ट नेताहरूले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरतालाई रणनीतिक कमजोरीको रूपमा हेर्छन् ।

    बिहीबारको वक्तव्यमा कुनै खास प्रविधिका बारेमा उल्लेख छैन, तर नेताहरूले विशेष गरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रसेसर चिप्सहरुका लागि अमेरिकासँग निर्भर रहनु परेकामा चिन्ता व्यक्त गरेका छन् ।चीनले मूल्यका आधारमा हाल कच्चा तेलको भन्दा बढी मूल्यको सेमीकन्डक्टर आयात गर्दछ ।

    टेलिकम उपकरण निर्माता हुवावे टेक्नोलोजिजले अहिले चिप्स र अन्य उपकरण निर्माण गर्न थालिसकेको छ । तर, यसले आफ्ना सबै आवश्यकता पूर्ति गर्न सक्दैन ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा चिनियाँ कम्पनीमाथि दबाब बढाएसँगै चिनियाँहरुले प्रसेसर चिप्स र प्रविधि विकासतर्फ ध्यान दिन थालेका हुन् ।गत वर्ष, ह्वाइट हाउसले चिनियाँ चिप्स र अन्य सामानको आयातमा समेत कडा नियन्त्रण घोषणा गरेको थियो । एपी

  • पेरिस छाड्ने मानिसका कारण ७ सय किलोमिटरसम्म ट्राफिक जाम

    पेरिस छाड्ने मानिसका कारण ७ सय किलोमिटरसम्म ट्राफिक जाम

    पेरिस । फ्रान्स सरकारले आजबाट लागु हुने गरी १ महिले लामो लकडाउन घोषणा गरेको छ । त्यसको पूर्वसन्ध्यामा फ्रान्सको राजधानी पेरिस छाड्ने मानिसको अत्यधिक संख्या सडकमा निस्किएपछि ७ सय किलोमिटर भन्दा बढी लामो ट्राफिक जाम भएको छ । बीबीसीका अनुसार ग्रामिण भेगबाट राजधानी शहर पेरिसमा आएर बसेका धेरै मानिस गाउँ फmर्कन गाडी लिएर सडकमा आएका थिए ।

    फलस्वरुप सडकमा डरलाग्दो ट्राफिक जाम भएको हो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ । यसले पेरिसमा सम्भावित संकट देखेर धेरै मानिस गाउँ फर्कन चाहेका छन् । फ्रान्समा पछिल्लो केही दिनयता कोरोना सङ्क्रमित र त्यसबाट ज्यान गुमाउनेको संख्यामा गुणात्मक वृद्धि भएको छ ।

    बिहीबार मात्र यहाँ साढे ४७ हजार मानिसमा सङ्क्रमण पुष्टि भएको छ । २ सय ५० जनाको ज्यान गएको छ । फ्रान्समा अति आवश्यक काम नपरी अब मानिस घर बाहिर जान पाउने छैनन् । फ्रान्समा अधिकांश अस्पतालका बेड भरिभराउ भइसकेको र आइसीयु बेडको समेत अभाव शुरु भएको बताइएको छ ।

  • कश्मिरमा विजेपीका तीन कार्यकर्ताको गोली हानेर हत्या

    कश्मिरमा विजेपीका तीन कार्यकर्ताको गोली हानेर हत्या

    जम्मु-कश्मिर । भारतको कश्मिरमा सत्तारुढ भारतीय जनता पार्टीका तीन जना कार्यकर्ताको गोली हानेर हत्या भएको छ । यो प्रधानमन्त्री नरेन्द्र मोदीको दल हो । भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दलका कार्यकर्ताको हत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेको बताइएको छ । विजेपी जम्मु कश्मिरका प्रवक्ता अल्ताफ ठाकुरले घटनाको निन्दा गर्दै यो काम बर्बर भएको उल्लेख गरेका छन् ।

    ठाकुरले ईद (एमीलाद) नबीको पावन अवसरमा निहत्ता नागरिक मारिएको समेत बताएका छन् । पार्टीले घटनामा संलग्नलाई कडा कारवाहीको माग समेत गरेको छ । कश्मिरमा सत्तारुढ दलका कार्यकर्ता असुरक्षित बन्दै गएका छन् । कश्मिरलाई केन्द्र सरकारले आफ्नो नियन्त्रणमा लिएपछि अहिले यहाँ चरमपन्थी आन्दोलनसमेत चर्कदै गएको छ ।

  • दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय

    काठमाडौं । दक्षिण कोरियाली सर्वोच्च अदालतले भष्ट्राचार गरेको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई १७ वर्ष जेल सजाय सुनाएको छ । उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका थिए । यसअघि उनी धरौटीमा रिहा भएका थिए । अदालतले मुद्दाको फैसला नभएसम्मका लागि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    ली माथि आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको छ । पछिल्लो फैसला अनुसार पूर्व राष्ट्रपति लीले पुनरावेदनको सुविधा समेत पाउने छैनन् । वर्तमान राष्ट्रपतिबाट सजाय माफ गर्न सक्ने प्रावधान छ । त्यो अस्वीकृत भएमा भने उनी तोकिएको अवधिभर जेलमा बस्नु पर्ने छ ।

    लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले उनीमाथि १७ वर्षको सजाय तोकेको थियो ।

    अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुुस स्वीकार गरेको ठहर गरेको छ । उनीमाथि अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि संलग्न रहेको आरोप छ । एजेन्सी

  • फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने

    फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने

    पेरिस । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच फ्रान्सले देशव्यापी लकडाउन शुरु गरेको छ । फ्रान्समा दोस्रो पटक लकडाउन घोषणा गरिएको हो । राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । लकडाउन शुक्रबारबाट शुरु भएको हो । लकडाउन नोभेम्बर महिना भर लागु हुने भएको छ ।

    अहिले यूरोपमा कोरोना भाइरसको संक्रमणले फैलावट लिएको छ । राष्ट्रपति इम्यानुयल म्याक्रोका अनुसार लकडाउन घोषणा गरेको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन । स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग खुला राखिएको छ ।

    रेष्टुरेन्ट्स, बारसहित मानिसको भिडभाड हुने व्यवसाय बन्द गरिएको छ । अन्तरर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार फ्रान्समा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने मानिसको संख्या अप्रिल महिनापछि अहिले सबैभन्दा माथि पुगेको छ ।

    यस मुलुकमा पछिल्लो २४ घण्टामा ३३ हजार नयाँ संक्रमित पुष्टी भएको छ । राष्ट्रपति म्याक्रोले कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगेको उल्लेख गरेका छन् । फ्रान्समा अस्पतालका आइसीयू बेडसमेत भरिएको उनले जानकारी गराएका छन् ।

  • भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक

    भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक

    काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक भएको छ । नेपाली सेनाले भ्रमण तालीका सार्वजनिक गरेको हो । उनी कात्तिक १९ काठमाडौं आउने छन् । २१ कात्तिकमा भारत फिर्ता हुनेछन् । नेपाली सेनाका अनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

    तीन दिन नेपाल भ्रमणमा रहँदा सेनाध्यक्ष नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग वार्ता गर्नेछन् ।

    उनले अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम समेत रहेको सेनाले जनाएको छ । उनले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने छन् । भेट कात्तिक २१ का दिन तय भएको छ ।

  • सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

    सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

    काठमाडौं । सिरियामा रुसले गरेको हवाई हमलामा टर्की समर्थित लडाकुतर्फ ठूलो हताहती भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले लेखेअनुसार उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले हवाई हमला गरेको छ । यस घटनामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको ज्यान गएको हो । थुप्रै मानिस घाइते भएका छन् ।

    इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम नामक स्थानमा हवाई हमला भएको हो । अहिले यो क्षेत्र अशान्त बनेको छ । रुसले फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण गरेको जनाएको बीबीसीले लेखेको छ ।

    सिरियामा अहिले गृहयुद्ध चलिरहेको छ । यस गृहयुद्धलाई रुस र टर्कीले एक अर्का पक्षलाई समर्थन गरेका छन् । सिरियामा गत मार्चमा युद्धविराम घोषणा भएको थियो । यो आक्रमण त्यसयताकै ठूलो भएको बीबीसीको भनाई छ । सिरियामा नौ वर्षदेखि गृहयुद्ध जारी छ ।

    एजेन्सी

  • रअका प्रमुखसँगको प्रधानमन्त्रीको भेटबारे पार्टीलाई थाहा थिएन : श्रेष्ठ

    रअका प्रमुखसँगको प्रधानमन्त्रीको भेटबारे पार्टीलाई थाहा थिएन : श्रेष्ठ

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त कुमार गोयलबीचको भेटबारे पार्टीमा कुनै जानकारी नभएको जानकारी दिएका छन् ।

    भेटबारे सामाजिक संजालबाट आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री र रअका प्रमुखबीच गत बुधबार साँझ भेटवार्ता भएको थियो । भेटले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्ने आशंका श्रेष्ठले गरेका छन् ।

    श्रेष्ठ भन्छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्छ ।’

    प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेटेको बारे नेकपा पार्टीमा समेत जानकारी नभएको प्रवक्ताले उल्लेख गरेका छन् ।


    ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो भन्दै उनले विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्ने उल्लेख गरेका छन् ।

  • रुसी खोपको परीक्षण भारतमा समेत हुने

    रुसी खोपको परीक्षण भारतमा समेत हुने

    नयाँ दिल्ली । रुसमा निर्माण भइरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा समेत हुने भएको छ । भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसन्स्ले यसका लागि अनुमति दिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भारतमा एक सय जना स्वयंसेवकमा खोप परीक्षण गरिने भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

    खोप भारतमा परीक्षणका लागि अनुरोध भएको र अनुमति पनि दिइएको उनीहरुको भनाई छ । यो परीक्षण दोस्रो चरणको हो । स्पुतनिक भी नामको खोपको परीक्षणका लागि भारतले अनुमति दिएको र तेस्रो चरणको परीक्षण समेत भारतमा हुने अधिकारीहरुको भनाई छ ।

    भारतमा डा रेड्डीज ल्याबरेटोरिजले खोपको परीक्षण गर्न पाउने गरी अनुमति पाएको छ । यो भारतको ठूलो औषधी उत्पादक कम्पनी हो । भारतमा यहाँका एक सय जना स्वयंसेवीमा यो खोपको परीक्षण गरेपछि यसको तेस्रो क्लिनिकल ट्रायल अर्थात् तेस्रो पटकको परीक्षण हुने छ । तेस्रो चरणको परीक्षण चाँही एक हजार ४ सय जनामा गरिने भएको छ ।

  • कोरोना भाइरसको खोप लगाएका व्यक्तिको मृत्यु

    कोरोना भाइरसको खोप लगाएका व्यक्तिको मृत्यु

    काठमाडौं । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ।

    ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ।

    तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको छ। एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेको जनाएको छ। तर एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराउन अस्वीकार गरेको छ।

    अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिस बमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ। विश्वविद्यालयले क्लिनिकल परीक्षणका बारेमा सुरक्षात्मक कुनै समस्या नरहेको पनि बताएको छ।

    खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अस्ट्राजेनिकाले खोप अभियान रोक्ने वा स्थगित गर्ने बारेमा पनि केही बताएको छैन।

    जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरण अनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र १ लाख ५४ हजार ८३७ जनाको मृत्यु भइसकेको छ।

  • एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु

    एक वर्ष पुरानो नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु

    काठमाडौं । चीनमा फुड पोइजनिंगका कारण ९ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार फ्रिजमा राखिराखेको करिब १ वर्ष पुरानो नुडल्स खाँदा ९ जनाको ज्यान गएको हो ।

    स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् ।

    उनीहरुले नुडल्स ५ अक्टोबरमा खाएका थिए । त्यसपछि १० अक्टोबरसम्म ७ जनालाई मृत घोषित गरिसकिएको थियो । आठौं व्यक्तिको मृत्यु २ दिनपछि १२ अक्टोबरमा भएको थियो ।

    अन्तिम बिरामीको मृत्यु यही सोमबार भयो । पीडित परिवार उत्तर पूर्वी चीनको हेलोंगजिआन प्रान्तमा बस्थे । घटनापछि चीनको स्वास्थ्य आयोगले राष्ट्रिय चेतावनी जारी गर्दै नागरिकहरुलाई फर्मेन्टेड पिठोबाट बनेको खाना नखान सल्लाह दिएको छ ।

  • विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो

    विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो

    काठमाडौं । सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूची सार्वजनिक भएको छ ।

    आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ ।

    सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार शक्तिशाली देशको सुचीमा दोस्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा महाशक्तीको दर्जा दिइएको छ । तेस्रो स्थानमा रहेको जापानलाई प्रमुख शक्तिको दर्जामा राखिएको छ ।

    प्रमुख शक्तिराष्ट्रको दर्जा हासिल गर्न आवश्यक ४० अंक पाउन यो पटक भारत चुकेको छ । यो बर्ष करिब २ अंकको कमीले गर्दा भारत शक्ति राष्ट्रको दर्जा हासिल गर्न बन्चित भएको हो ।

    गतबर्ष अर्थात सन् २०१९ को सुचीमा भारत पनि विश्वको प्रमुख शक्ति राष्ट्रको दर्जामा थियो । यो बर्ष कोरोना भाइरस प्रकोपका कारण भारत यो सुचिबाट बाहिरिएको छ ।

    सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार सन् २०१९ मा भारतको पावर स्कोर ४१ थियो जुन यो बर्ष घटेर ३९ दशमलव ७ मा झरेको छ ।

    यो सुचीमा जुन देशको स्कोर ४० वा त्योभन्दा बढी हुन्छ त्यसलाई प्रमुख शक्ति मानिन्छ । अघिल्लो वर्ष शक्तिशाली बनेको छिमेकी यस पटक घटुवामा परेको हो।

    रिपोर्टमा इन्डो९प्यासिफिकका सबै देशमध्ये भारत कोरोना महामारीका कारण विकास क्षमता गुमाएको देश भनिएको छ। भारत एसियाको दोस्रो ठूलो जनसंख्या भएको देश हो।

    भारत र अर्को हाम्रो छिमेकी चीनमा पनि जनसंख्या विशाल छ। यी दुई देशको आवादी लगभग बराबर छ। अनुमान के गरिँदै छ भने, केही वर्षमा भारतले जनसंख्यामा चीनलाई उछिन्ने छ।

    केही बर्षपछि सम्भवत भारत जनसंख्याको मामिलामा चीनलाई पछाडी पार्नेछ । तर भारतिय समाजमा कोरोना भाइरसको मारले दुई देश बीच शक्तीको असमानता बढाएको छ ।

    हालको रुझान अनुसार यो दशकको अन्तसम्ममा भारत र चीनको कुल आर्थिक उत्पादन ४० प्रतिशत मात्र रहने पनि प्रतिवेदनले जनाएको छ । सन् २०१९ मा यो पुर्वानुमान ५० प्रतिशत हुने आशा गरिएको थियो ।

    सन् २०३० सम्म भारतिय अर्थब्यवस्था मुल रुपमा महामारी पुर्वको पुर्वानुमानको तुलनामा १३ प्रतिशत कम रहनेछ । यसले भारतियहरुको खरिद गर्ने क्षमतामा पनि नकारात्मक असर पर्नेछ । यसले भविष्यको संसाधानको मापनमा भारतको स्कोर करिब पाँच अंकले गिरावत आएको लबी इन्स्टिच्युटले उल्लेख गरेको छ ।

    अष्ट्रेलियाको लवी इन्स्टिच्युट हरेक बर्ष विश्वका प्रमुख देशको आर्थिक क्षमता, सैन्य क्षमता, आन्तरिक स्थिति, भविष्यको योजना, दोस्रो देशसँगको आर्थिक सम्बन्ध, डिफेन्स नेटवर्क, राजनितिक तथा कुटनिटिक प्रभाव र सांस्कृतिक प्रभावको अध्ययन गरि यो सुची जारी गर्छ ।

    यो बर्षको सुचीमा सबैभन्दा तिब्र रुपमा अगाडी बढ्ने देशमा भियतनाम पहिलो स्थानमा पर्छ । दोस्रो स्थानमा अष्ट्रेलिया र तेस्रो स्थानमा ताइवान रहेको छ । एजेन्सी

  • एकैदिन २ लाख २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ करोड नाघ्यो

    एकैदिन २ लाख २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ करोड नाघ्यो

    काठमाडौं । विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका छन् ।

    वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय संक्रमित छन् ।

    जसमध्ये एक प्रतिशत अर्थात् ७२ हजारको अवस्था जटिल छ भने बाँकी ९० लाखको अवस्था सामान्य छ । ११ लाख २२ हजारको भने कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

    हालसम्म सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८४ लाख ४६ हजारमा कोरोना पुष्टि भएकोमा ५४ लाख ९३ हजार निको भएका छन् ।

    २ लाख २५ हजारको मृत्यु भएको छ । यस्तै ७५ लाख ९४ हजार संक्रमित रहेका भारतमा ६७ लाख ३० हजारले कोरोना जितेका छन् । १ लाख १५ हजारको ज्यान गएको छ ।

    यसैगरी ५२ लाख ५० हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा ४६ लाख ८१ हजार निको भएका छन् । ब्राजिलमा १ लाख ५४ हजारको मृत्यु भएको छ ।

  • विदेशमा कति नेपालीलाई भयो कोरोना संक्रमण, यो साता कति थपिए ?

    विदेशमा कति नेपालीलाई भयो कोरोना संक्रमण, यो साता कति थपिए ?

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले विदेशमा विगत ९ महिनामा १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।

    गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्य ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपाली मध्य ९१ प्रतिशत जति संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

    यस्तै नेपालमा मात्र १ लाख २९ हजार ३ सय ४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ८९ हजार ८ सय ४० जना कोरोना मुक्त भएका छन ।

    यो कुल संक्रमितको ६९ दशमलव ५ प्रतिशत हो । हालसम्म नेपालमा ७ सय २७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

    नेपाल सहित विश्वभर १ हजार १० जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको छ ।

  • भारतमा गाडी विक्री २६ प्रतिशतले बढ्यो,एक महिनामै बिक्यो पौन ३ लाख युनिट कार

    भारतमा गाडी विक्री २६ प्रतिशतले बढ्यो,एक महिनामै बिक्यो पौन ३ लाख युनिट कार

    काठमाडौं । भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले जानकारी गराएको छ ।

    उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले २ लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा २ लाख १५ हजार १२४ थान विक्री भएको थियो ।

    एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।

    यसैबीच भारतमा सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको विक्रीमा अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको र दुई पाङ्ग्रे साधनको विक्री ११.६४ प्रतिशतले बढेको छ ।

    एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९.१७ प्रतिशतले कमी देखिएको छ । एजेन्सी

  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ११ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ?

    कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ११ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ?

    काठमाडौं । २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ ।

    वल्डओ मिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख २ हजार ८ सय ४४ पुगेको हो ।

    पछिल्लो एक हप्तामा मात्रै कोरोनाबाट ३५ हजार ९ सय ९९ जनाको मृत्यु भएको छ भने एक महिनामा १ लाख ५४ हजार २ सय ५४ जनाको मृत्यु भएको छ ।

    जोन हपकिन्स विश्वविद्यालयले भने कोरोनाबाट हालसम्म १० लाख ९७ हजार २ सय २८ जनाको मृत्यु भएको उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनले भने कोरोनाबाट १० लाख ८९ हजार ४७ जनाको मृत्यु भएको जनाएको छ ।

    कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु अमेरिकामा भएको छ । जहाँ हालसम्म २ लाख १७ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट १ लाख ११ हजार २ सय ६६ जनाको ज्यान गएको छ।

    यस्तै जोन हपकिन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्ममा ब्राजिलमा कोरोनाबाट १ लाख ५२ हजार ४ सय ६०, मेक्सिकोमा ८५ हजार २ सय ८५, बेलायतमा ४३ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ ।

    त्यस्तै इटालीमा ३६ हजार ३ सय ७२, स्पेनमा ३३ हजार ५ सय ५३, पेरुमा ३३ हजार ५ सय १२, फ्रान्समा ३३ हजार १ सय ४६, इरानमा २९ हजार ६ सय ५, कोलम्बियामा २८ हजार ४ सय ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    नेपालमा भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ।

  • विवादित भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

    विवादित भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै

    काठमाडौं । दुई मुलुकबीच सीमा विवाद चर्केको समयमा विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी महिना नेपाल भ्रमणमा आउने तय भएको नेपाली सेनाले जनाएको छ । दुई मुलुकबीचको विवाद उत्कर्षमा रहेका बेला हुने लागेको यो उच्च तहको भ्रमण समेत हो ।

    भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिने प्रचलन रहेको छ । सोही सिलसिलामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । सेना प्रमुखको पदभार सम्हालेपछि एक अर्काको मुलुकको भ्रमण गरेर मानार्थ महारथीको उपाधि दिने प्रचलन दुबै मुलुकका सेनाबीच रहेको छ ।

    नोभेम्बर २०१९ मा भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरेर नयाँ नक्सा जारी गरेयता नै दुबै मुलुकबाट उच्च स्तरको भ्रमण हुन पाएको छैन । यसबीचमा दुई प्रधानमन्त्रीले टेलिफोनमा वार्ता भने गरेका छन् ।

    नेपाल भारत सीमा विवादका बेला सेना प्रमुख नरभानेले लिपुलेकमा विगतमा कुनै समस्या नभएको र यो मुद्दा नेपालले कसैको इसारामा उठाएको बताएको थिए ।

  • नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित

    नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित

    काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा मतदान भएको थियो । यसमा नेपाल विजयी भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य छ ।

    परिषद्मा कुनै एक मुलुक लगातार दुई कार्यकाल सदस्य रहन सक्छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको त्यँहास्थित नेपाली नियोगले जनाएको छ । नेपाल सन् २०२३ सम्म नेपाल परिषद्को सदस्य बनेको हो । एसियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भए ।

  • अजरबैजान र आर्मेनिया युद्धबिराम गर्न सहमत

    अजरबैजान र आर्मेनिया युद्धबिराम गर्न सहमत

    मस्को । युद्धरत अजरबैजान र आर्मेनिया युद्ध रोक्न सहमत भएका छन् । आफ्ना दर्जनौं सैनिक मारिएपछि दुबै मुलुक युद्ध रोक्न सहमत भएका हुन् । यद्दपी उनीहरुलाई रूसले हस्तक्षेप गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसको हस्तक्षेपसँगै युद्धरत आर्मेनिया र अजरबैजान अस्थायी युद्धविरामका लागि तयार भएका हुन् ।

    विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न यतिखेर पूर्व सोभियत संघका दुई देश युद्ध गरिरहेका थिए । रसियाली विदेशमन्त्री सर्गेई लाव्रेभका अनुसार दुबै मुलुक अस्थायी युद्धविरामका लागि तयार छन् । यसमा रूसले मध्यस्थता गरेको हो ।

    मस्कोमा अजरबैजान र आर्मेनियाका अधिकारीहरुबीचको करीव १० घण्टा लामो संवादले युद्धबिरामको बाटो बनेको हो । वार्तामा रूसले दुबै मुलुकलाई युद्ध अन्त्य गर्न हस्तक्षेपकारी भूमिका खेलेको छ ।

    युद्धविरामसँगै दुवै देशले युद्धमा मारिएका आफ्ना सैनिकको शव बुझ्नेछन् र एक अर्कोले युद्धबन्दी बनाएका सैनिकलाई छाड्ने छन् । युद्ध शुरू भएपछि अजरबैजान र आर्मेनियासँग रूसले पहिलोपटक प्रत्यक्ष संवादमा जुटेका हुन् । सेप्टेम्बर २७ देखि शुरू युद्धमा तीन सयभन्दा बढी सैनिक तथा सर्वसाधारण मारिइसकेका छन् । ।

  • राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

    राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

    काठमाडौं । यस वर्षको नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई प्रदान गरिने घोषणा गरिएको छ।

    शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो ।

    भोकमरीविरुद्ध लडाईको प्रयासका लागि विश्व खाद्य कार्यक्रमलाई नोबेल पुरस्कार २०२० बाट पुरस्कृत गर्ने निर्णय भएको नोबेल कमिटीले ट्वीट मार्फत जनाएको छ ।

    ‘डब्लूएफपीले भोकलाई युद्ध र द्दवन्द्वको हतियारको रुपमा प्रयोग गरिने कार्य रोक्नका लागि योगदान पुर्‍याएको छ’, नर्बेजियन नोबेल कमिटीले ट्वीट गरेको छ।

  • लिबियाबाट सात भारतीय नागरिकको अपहरण

    लिबियाबाट सात भारतीय नागरिकको अपहरण

    नयाँ दिल्ली । लिबियाबाट सात जना भारतीय नागरिकको अपहरण भएको छ । लिबियाको तेल प्रशोधन केन्द्रमा काम गरिरहेका भारतीय मजदुर अपहरणमा परेका हुन् । भारतीय नागरिक स्वदेश फर्कने क्रममा थिए ।

    तर, विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट उनीहरुलाई अपहरण गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेको बताइएको छ । अपहरणमा परेकाहरुको स्थिति अझै अज्ञात छ ।

    अपहरण कसले गरेको भन्ने विषयमा समेत खुलेको छैन । अपहरणको जिम्मेवारी कसैले पनि लिएको छैन । भारत सरकारले लिबियाली सरकारलाई उनीहरुलाई अपहरण मुक्त गराउन समेत आग्रह गरेको छ ।

    भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबिया सरकारसँग आग्रह गरेको हो । भारत सरकारले आफना नागरिकहरुलाई लिबियाको भ्रमण नगर्न सन् २०१५ मै अपील जारी गरेको थियो ।

    सन् २०१६ मा भारतीय नागरिकलाई लिबिया जान प्रतिबन्ध लागेको छ । तर, अबैध बाटोबाट भारतीय नागरिक लिलिया जाने गरेका छन् ।