Category: विश्व

  • भारतीय केन्द्रिय मन्त्री पासवानको मृत्यु

    भारतीय केन्द्रिय मन्त्री पासवानको मृत्यु

    नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । ७४ वर्षिय उनको मुटुको अपरेशन भएको थियो । केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका उनको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए ।

    उनी ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय थिए । भारतमा दलित आन्दोलनका प्रखर नेता उनी ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य ुमेत थिए । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत बुबाको निधन भएको पुष्टी गरेका हुन् ।

  • फिनल्यान्डमा १ दिनका लागि १६ वर्षीय किशोरीलाई किन बनाइयो प्रधानमन्त्री ?

    फिनल्यान्डमा १ दिनका लागि १६ वर्षीय किशोरीलाई किन बनाइयो प्रधानमन्त्री ?

    काठमाडौं । लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड प्रायः माथि पर्छ। तर प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया किशोरीलाई आफ्नो कुर्सी बुधवार एक दिनको निम्ति हस्तान्तरण गरिन्।

    कुनै नयाँ कानून नबनाए पनि एभा मुर्तोले दिनभरि राजनीतिकर्मीहरूसँग बैठकको कार्यतालिका थियो। जसको उद्देश्य हो प्रविधिमा महिला अधिकारको विषयमा जोड दिनु।

    संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय युवती दिवसभन्दा अघि किशोरीलाई उक्त जिम्मेवारी दिइएको हो जुन विश्वव्यापी एउटा अभियानको भाग थियो।

    फिनल्यान्डले प्लान इन्टर्न्याश्नलको ‘गर्ल्स टेकओभर’ अर्थात् युवतीको सत्तारोहणमा सहभागी भएको यो चौथो वर्ष हो।

    यस अभियानमा संसारभरिका देशहरूका किशोरीहरूलाई एक दिनको निम्ति राजनीति र अन्य क्षेत्रका नेताहरूको जिम्मेवारी सम्हाल्ने अवसर दिइन्छ।यो वर्ष युवतीहरूको निम्ति प्रविधिमा अवसर र डिजिटल क्षमता बढाउने कुरालाई प्राथमिकता दिइएको छ।

    बुधवार गरेको सम्बोधनमा सुश्री मुर्तोले भनिन्, ‘तपाईँहरूको अगाडि आज बोल्ने अवसर पाउनु मेरो निम्ति खुसीको कुरा हो, तर म यहाँ उभिनु नपरेको भए हुन्थ्यो भन्ने मेरो चाहना छ। गर्ल्स टेकओभर जस्ता अभियानहरूको खाँचो पर्नु हुँदैन ।’

    तर यो पृथ्वीको कुनै भागमा पनि लैङ्गिक समानता अहिलेसम्म प्राप्त नभएको कुरा यथार्थ भएको उनको ठम्याइ छ। उनले भनिन्, ‘तर हामीले यस क्षेत्रमा धेरै राम्रो काम गरेका छौँ र अझै पनि धेरै पूरा गर्नुपर्ने काम बाँकी छन्।’

    मानवअधिकार र जलवायुसम्बन्धी अभियानमा सक्रिय किशोरीले यस्तो अभियानमा भाग लिन आवदेन दिएका थिए। दिनभरि बैठकमा व्यस्त भएपछि ती प्रधानमन्त्रीले साँझ प्रविधिमा लैङ्गिक समानताबारे छलफल गर्दैछिन्।

    कार्यक्रमभन्दा अघि बोल्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनले प्रविधि सबैको पहुँचको निम्ति बनाइएको कुरा सुनिश्चित गरिनुपर्ने महत्त्वमाथि जोड दिइन्।उनले भनिन्, ‘त्यसले समाजभित्र र देशहरूबीच डिजिटल विभेद गहिरो बनाउनु हुँदैन।’

    गत वर्ष विश्व आर्थिक मञ्चको विश्वव्यापी लैङ्गिक असमानतासम्बन्धी प्रतिवेदनमा फिनल्यान्ड तेस्रो भएको थियो। तथापि प्रविधिको क्षेत्रमा प्रतिनिधित्वको हिसाबले महिला अझै तल छन्।

    गत वर्ष ३४ वर्षको उमेरमा शपथ ग्रहण गरेकी मरिया विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन्। उनी फिनल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री हुन्।

    उनले नेतृत्व गरेको मध्य–वामपन्थी गठबन्धनमा चारवटा दल छन्। ती सबै दलको नेतृत्व महिलाले गरेका छन् र तीमध्ये तीन जना ३५ वर्षभन्दा कम उमेरका छन्। बीबीसी

  • स्पेनले आप्रवासी माथि कडाई गर्ने; कोरोना जोखिमका बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जाँदै

    स्पेनले आप्रवासी माथि कडाई गर्ने; कोरोना जोखिमका बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जाँदै

    कृष्ण खनाल ‘मदन’ / बार्सिलोना

    कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वार्तामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्रवासीलाई देश निकाला गर्ने र आर्राइगो सोसियललाई खारेज गर्ने भएको छ । 

    उनले भने आर्राइगो सोसियल अन्तर्गत अध्यागमन अर्टिकल १२४.२ लाई खारेज गरिने छ । ३ वर्ष गैरकानूनी रुपमा लुकेर बसेकाले १ वर्षको कामको कन्ट्राक्टका आधारमा आर्राइगो सोसियलको लागि निवेदन दिने सकिने नियम थियो । 

    गठबन्धन सरकारका उपप्रधानमन्त्री इग्लेसियसका अनुसार आउने वर्षदेखि आप्रवासी सम्बन्धि नयाँ परिवर्तन गरिने छ । यो सँगै आप्रवासीका कारण स्प्यानिस जनताको बेरोजगार भए भन्ने समस्या अन्त्य हुने उनले बताए । साथै उनका अनुसार पासपोर्टबाट इम्पाद्रोनामिएन्तो गरेका सबै आप्रवासीको विवरण खारेज गरिने छ ।  यसअघि निशुल्क स्वास्थ्य सुविधा लिन पासपोर्टबाट हेल्थ कार्ड (तारखेता सानीतारिआ) बनाउन बन्देज जस्तै इम्पाद्रोनामिएन्तो गर्न दिने व्यवस्था हटाइने छ ।           

    गत महिना गठबन्धन सरकारका प्रधानमन्त्री पेद्रो सान्चेसले संसदमा आर्राइगो सोसियल खारेज लगायत  कानुनी रुपमा आप्रवासी नियममा सुधार गर्ने बताएका थिए । कोरोना संक्रमण नियन्त्रणसँगै सरकारले आप्रवासी माथि कडाई गरिने उनले उल्लेख गरेका थिए ।      

    स्पेनमा कामको समस्या त्यो माथि कागज बन्ने, नबन्ने कुनै ग्यारेन्टी छैन्, लाखौं लाख स्पेनिशहरु नै वेरोजगार छन्, कार्ड बनाउन बन्द गर्ने हल्ला भएर लिस्बनमा चिनेजानेकोमा आएकी हुँ । यहाँ प्रक्रिया शुरु भएको छ । पहिले नै आउन पर्ने थियो, दुई वर्ष समय खेर गयो । यहाँ आउँदा लागेको ऋण छ, मेरो पुर्व श्रीमानलाई नै १२ लाख बुझाएर भिसा लगाइएकी थिए ।

    पुनम लामा

    उता आप्रवासी माथि कडाई गर्ने तयारी गरेसँगै स्पेनमा तीन वर्षमा कार्ड बनाउन गैरकानूनी रुपमा बसेका नेपालीहरु समस्यामा परेका छन् । कोरोना संक्रमण बढेको बेलामा पनि सयौ नेपालीहरु धमाधम पोर्चुगल जान शुरु गरेका छन् । कागजात बनाउन सजिलो मुलुकमध्ये पोर्चुगल एक हो । यहाँ प्रकृया पुगेको एक वर्षमा अस्थायी रेसीडेन्सी कार्ड बनाउन सकिन्छ । 

    जर्मनीको भिसा लगाई दुई वर्ष अगाडि स्पेनको बार्सिलोनामा आएर बसेकी पुनम लामा पोर्तुगलको राजधानी लिस्बनमा पुगेकी छिन्। उनले भनिन्; स्पेनमा कामको समस्या त्यो माथि कागज बन्ने, नबन्ने कुनै ग्यारेन्टी छैन्, लाखौं लाख स्पेनिशहरु नै वेरोजगार छन्, कार्ड बनाउन बन्द गर्ने हल्ला भएर लिस्बनमा चिनेजानेकोमा आएकी हुँ । यहाँ प्रक्रिया शुरु भएको छ । पहिले नै आउन पर्ने थियो, दुई वर्ष समय खेर गयो । यहाँ आउँदा लागेको ऋण छ, मेरो पुर्व श्रीमानलाई नै १२ लाख बुझाएर भिसा लगाइएकी थिए । भिसा लिन धेरै दु:ख पाए, भिसा लगाउन सजिलो छैन् त्यो माथि यहाँ कार्ड बनाउन समस्या छ ।  

    यस्तै सात वर्षदेखि बार्सिलोनामा परिवार सहित बस्दै आएका विनोद गिरी भन्छन्; पछील्लो समय स्पेनमा धेरै नेपाली आएका छन् । कामको समस्या छ । सरकारले ३ वर्षे आर्राइगो कार्ड दिने सिस्टम पहिले नै हटाउने भनेको थियो, अब त झन यस्तो अवस्था छ बन्द गराउने नयाँ कुरो भएन् । हाम्रो नेपालमा वेरोजगार, आर्थिक समस्याका कारण विभिन्न माध्यमबाट युरोपमा आउने शत प्रतिशत नेपालीहरुले १४, १५ लाखसम्म खर्च गरेर आएका छन् । ठुलो रकम खर्च गरेर आउन्छन्, यहाँ कार्ड बनाउन समस्या छ त्यो माथि भने जस्तो काम पाईदैन । अब २,४ वर्ष निकै गार्हो छ युरोपमा कामको, गिरीले बताए । 

    कोरोना भाइरसको महामारी कारण स्पेनमा आर्थिक मन्दी र बेरोजगारी दर बढेको छ । हाल स्पेनमा बेरोजगारी दर ३३ लाख ६८ हजार अर्थात १५,३३ प्रतिशत रहेको छ । 

    स्पेनको तेस्रो ठुलो आप्रवासी र इस्लाम विरोधी दक्षिणपन्थी वोक्स पार्टीले अवैध आप्रवासी देश निकाला गर्ने, आर्राइगो बन्द गराउने,  कट्टरपन्थी मस्जिदहरू बन्द गराउने लगायतका कडा मुद्दाहरु संसदमा उठाउदै आएको छ । साथै वोक्स पार्टीले कानुनी रुपमा बसेका आप्रवासीले कुनै अपराध गरेको छ भने पनि देश निकाला गर्नुपर्ने लगायतका कयौं आप्रवासी विरोधि मुद्दा सारेको छ ।

    विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बढ्दो संक्रमणले स्पेनमा पनि भयावह अवस्था सिर्जना गरेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या अहिलेसम्म ८ लाख ५२ हजार बढी पुगेको छ । भने कोरोनाका कारण मृत्‍यु हुनेको संख्या ३२ हजार २ सय बढी रहेको छ ।

    युरोपमा सबैभन्दा ठूलो अर्थतन्त्र भएका पाँच देशहरु फ्रान्स, जर्मनी, इटाली, स्पेन र बेलायत हुन् । कोरोना भाइरसका कारण स्पेन आर्थिक मन्दीको चपेटामा परेको छ । स्पेनको अर्थव्यवस्थामा अन्य देशको तुलनामा निकै गिरावट आएको छ। स्पेनमा निर्यात, लगानि र उपभोक्ताको खर्चमा तिव्र गिरावट आएको छ। तथ्यांक अनुसार पछिल्लो महिना स्पेनको अर्थव्यवस्थाका लागि सबैभन्दा खराब समय रहेको देखिन्छ । स्पेनको जीडीपीमा पनि निरन्तर गिरावट देखिएको छ।

  • हेपाटाइटिस भाइरस पत्ता लगाउने ३ वैज्ञानिकहरूलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

    हेपाटाइटिस भाइरस पत्ता लगाउने ३ वैज्ञानिकहरूलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

    काठमाडौं । चिकित्साशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीनजना वैज्ञानिकहरूलाई दिने घोषणा सोमवार गरिएको छ ।

    हार्भे जे अल्टर, माइकल हफ्टन र चार्ल्स एम राइसलाई पुरस्कार दिने घोषणा नोबेल पुरस्कार समितिले गरेको हो ।

    यी वैज्ञानिकहरूको आविष्कारका कारण हेपाटाइटिस सी भाइरसको उपचार सम्भव भएको छ । उनीहरूले हेपाटाइटिस दीर्घरोगका केसहरूको कारण पत्ता लगाएका थिए । त्यसलगत्तै रगतको परीक्षण तथा नयाँ औषधिहरू सम्भव बने र लाखौं जीवन जोगिए ।

    रगतमा हुने हेपाटाइटिस संसारकै प्रमुख स्वास्थ्य समस्या हो जसले गर्दा सिरोसिस अर्थात् आन्तरिक रक्तस्राव र कलेजोको क्यान्सर हुन्छ ।

  • कोरोना परीक्षणमा भारतको पनि फड्को, अब एक घण्टामै पिसिआर नतिजा

    कोरोना परीक्षणमा भारतको पनि फड्को, अब एक घण्टामै पिसिआर नतिजा

    नयाँ दिल्ली । संसारभर कोरोना भाइरसका सन्दर्भमा विभिन्न अध्ययन अनुसन्धान जारी छ । यस दौडमा भारतले परीक्षणमा छिटो हुने गरी प्रविधि विकास गरेको छ । भारतीय वैज्ञानिकहरुका अनुसार भारतमा अब परीक्षणको नतिजा एक घण्टा भित्रै प्राप्त हुनेछ ।

    यसको मूल्य समेत सस्तो हुने बताइएको सस्तो र छिटो परीणाम आउने कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो प्रविधि गर्भ रहे नरहेको परीक्षण गर्ने प्रेग्नेन्सी टेस्ट किटसँग मिल्दोजुल्दो छ ।

    जसले परिणाम समेत तीव्र गतिमा दिनेछ । प्रविधिको विकास अनुवांशिक सम्पादन प्रविधि सम्बन्धी वैज्ञानिकहरुको संस्था किस्परले यसको आविश्कार गरेको हो । यस प्रविधिलाई फिलुदा नाम दिइएको छ ।

    एक घन्टाभित्र नतिजा आउने र शुल्क पनि मात्र ५ सय पर्र्ने हुँदा कोरोनाको फैलावट रोक्न सहयोग पुग्ने वैज्ञानिकहरुको दावि छ । हालसम्म ६६ लाखभन्दा बढी मानिसमा कोरोना पुष्टी भइसकेको छ । १ लाख २ हजार मानिसको ज्यान गएको छ ।

  • समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट

    समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट

    वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड१९ को उपचार गराइरहेका छन् । उनको स्वास्थ्य अवस्थाबारे संसारभरबाट तीव्र चासो व्यक्त भइरहेको छ । यकातर्फ शक्तिशाली मुलुकका राष्ट्रपति, अर्कोतर्फ कोरोनालाई हल्का भाइरसको संज्ञा दिने व्यक्ति र आगामी राष्ट्रपति चुनावका एक प्रतिस्पर्धाी भएका कारण पनि ट्रम्पको चासो हुनु स्वाभाविक थियो ।

    यसै सन्दर्भमा ट्रम्पले आफ्ना समर्थकलाई सरप्राइज भेट दिएका छन् । उनी अस्पताल बाहिर उपस्थित समर्थकबीच मोटरमा घुम्दै गरेको अवस्थामा भेटिए । त्यसअघि उनले आफूले आश्चर्यजनक भ्रमण गर्ने भन्दै ट्वीट गरेका थिए । त्यसको केही बेरमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै निस्किएको बीबीसीले उल्लेख गरेको छ ।


    यसअघि डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको र सम्भवतः सोमवार अस्पतालबाट डिस्चार्ज हुन सक्ने संकेत गरेका छन् । राष्ट्रपतिले अचानक समर्थकलाई दर्शन दिनुबाट आफु स्वस्थ रहेको सन्देश प्रवाह गर्नु पनि रहेको बताइएको छ । किनकी उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी गरिँदै आएको थियो ।

  • सुडानमा शान्ती सम्झौता, युद्ध अन्त्य गर्ने सहमति

    सुडानमा शान्ती सम्झौता, युद्ध अन्त्य गर्ने सहमति

    जुबा\सुडान । सुडानमा शान्ती सम्झौता भएको छ । वर्षौ लामो युद्ध अन्त्य गर्दै शान्ती स्थापना गर्ने सहमतिमा सरकार तथा विद्रोही समूहबीच शनिबार हस्ताक्षर भएको हो । सुडानमा लामो समयदेखिको युद्धले लाखौं निर्दोष मानिसको ज्यान गएको छ ।

    तर, शनिबारको ऐतिहासिक शान्ती सम्झौताले अफ्रिकी मुलुक सुडानमा शान्ती स्थापना हुने अनुमान गरिएको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि विभिन्न चरणमा वार्ता भएका थिए ।

    यो बीचमा हिंसा केही मत्थर भएपनि रोकिएको भने थिएन । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भई सम्झौतामा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।


    सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार चलिरहेको छ । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु थियो ।

    जसमा सरकार सफल भएको छ । सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ) का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् । चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौताको साक्षी बनाइएको छ ।

  • पपुवा न्यूगिनीमा ठूलो भूकम्पको धक्का

    पपुवा न्यूगिनीमा ठूलो भूकम्पको धक्का

    पपुवा न्यूगिनी । भूकम्पबाट धेरै पिडित हुने मुलुकमध्ये एक पपुवा न्यूगिनीमा आज बिहान ठूलो भूकम्पको धक्का महसुश गरिएको छ । यहाँ ६.१ म्याग्नीच्युडको भूकम्प मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।

    स्थानीय समयअनुसार बिहीबार बेलुका ४ बजेर ४६ मिनेटमा ठूलो भूकम्पको धक्का महसुस गरिएको थियो । पपुवा न्यूगिनीको राष्ट्रिय भूकम्प केन्द्रका अनुसार ९० किलोमिटर गहिराइबाट भूकम्प आएको छ । भूकम्पका कारण मानवीय तथा भौतिक क्षतिको विवरण अझै आइसकेको छैन ।

  • भारत र पाकिस्तानी सैनिक बीच कश्मीरमा झडप, तीन भारतीय सैनिक मारिए

    भारत र पाकिस्तानी सैनिक बीच कश्मीरमा झडप, तीन भारतीय सैनिक मारिए

    कश्मीर । भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी र भारतीय सैनिकबीच भुडभेड भएको छ । घटनामा पाकिस्तानी सैनिकको गोली लागेर तीन जना भारतीय सैनिक मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिक मारिएको पुष्टी गरेका छन् । घटनामा थप ४ सैनिक घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ ।

    भारतीय सेनाका तर्फबाट पनि कडा प्रतिकार भएको बताए पनि पाकिस्तानतर्फको क्षति भने यकिन भएको छैन । पाकिस्तानका तर्फबाट जारी बयानमा भने भारतीय सैनिकले युद्धविराम उल्लंघन गरेका कारण घटना घटेको बताएको छ । यो क्षेत्रमा भारत र पाकिस्तानबीच निरन्तर तनाव उत्पन्न भइरहेको छ ।

  • भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

    भारतले खोल्ने भयो सिनेमा हल र शिक्षण संस्था

    नयाँ दिल्ली । भारतले अक्टोवर १५ बाट सिनेमा हल, मनोरन्जन स्थल र शिक्षण संस्था खुला गर्ने भएको छ । यससँगै भारतमा जारी लकडाउन समेत समाप्त हुनेछ । किनकी अहिले पनि भारतमा सार्वजनिक यातायात र व्यापार व्यवसाय खुला भइसकेको छ । १५ तारिखदेखि स्कूल र कलेज समेत खुल्ने घोषणा केन्द्र सरकारले गरेको हो ।

    यद्दपी आफ्नो राज्यमा बन्द गर्ने की खुला भन्ने निर्णय गर्ने अधिकार भने राज्य सरकारसँगै रहनेछ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भारतमा पनि लकडाउन छ । सोहीकारण बढी भिडभाड हुने क्षेत्रहरु अहिले पनि बन्द छन् ।

    १० वर्षमुनिका बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेकाले विद्यालय खोल्ने निर्णय विद्यालयलाई दिइएको छ । विद्यालयले समेत जोखिम देखेमा बन्द गर्न सक्नेछन् ।

    केन्द्रले अनलाइन कक्षा र दूरी सिकाइ (डिस्ट्यान्स लर्निङ) लाई प्राथमिकता दिन आग्रह गरेको छ । सिनेमा, थिएटर र मल्टीप्लेक्समा ५० प्रतिशतभन्दा धेरै सीटमा मानिस राख्न नपाइने गरी खोल्न लागिएको छ ।

  • पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था

    पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था

    इस्लामावाद । कोरोना भाइरसको नियन्त्रणमा दक्षिण एसियामै सफल मुलुक पाकिस्तानले अन्ततः सबै प्रकारका शिक्षण संस्था खुला गरेको छ । महामारी नियन्त्रणका लागि बन्द गरिएका पाकिस्तानका सबै शैक्षिक संस्था बुधबारबाट सूचारु गरिएको हो ।

    सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन भएको जानकारी गराएका छन् । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भए पनि नियन्त्रणमा सरकार सफल भएको छ ।

    बुधबारबाट सरकारी र निजी दुवै प्रकारका विद्यालय खुला भएका छन् । सञ्चालनमा आएका विद्यालयमा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पालनाका नियम भने अत्यन्तै कडा बनाइएको छ । मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र परिचालन भएको बताइएको छ ।

    पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २६३ जना कोरोना भाइरसबाट संक्रमित छन् । पछिल्लो २४ घण्टामा भने मात्र ७४७ जना थपिएका छन् । यहाँ ६ हजार ४७९ जनाको मृत्यु भएको छ ।

  • भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

    भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

    नयाँदिल्ली । भारतमा उपराष्ट्रपति वैंकैया नायडूमा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । बहालवाला अधिकारीमध्ये भारतमा कोरोना पुष्टी हुने उनी सबैभन्दा उच्च तहका नेता हुन् । यसअघि भारतका पूर्वराष्ट्रपति प्रवण मुखर्जीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ ।

    उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गदै उनका कोरोना पोजेटिभ देखिएको पुष्टी गरेको हो । चिकित्सकले उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिएका छन् । उनकी श्रीमतीमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको ट्वीटमा उल्लेख छ ।

    भारतमा अहिले कोरोनाको फैलावट उच्च छ । २४ घण्टामा भारतमा साढे ८० हजारमा कोरोना पुष्टि भएको छ । यहाँ कुल सङ्क्रमितको संख्या ६२ लाख पुगेका छ । ५१ लाख ८४ हजार निको भएका छन् । साढे ९७ हजारको भने कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

  • भारतस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टीको कार्यालय बन्द

    भारतस्थित अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टीको कार्यालय बन्द


    काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भारत सरकारले प्रतिशोधस्वरूप आफूमाथि शृंखलाबद्ध आक्रमण गरेको भन्दै भारतमा रहेको आफ्नो कार्यालय र सबै कार्य बन्द गर्ने घोषणा गरेको छ।

    मंगलबार एम्नेष्टी इन्टरनेशनल इन्डियाले एक विज्ञप्ति जारी गर्दै भारत सरकारले आफ्नो बैंक खाता पूर्ण रूपमा बन्द गरिदिएको १० सेप्टेम्बरमा आफूले थाहा पाएको जनाउँदै त्यसले आफ्ना काम बन्द गर्नुपर्ने अवस्थामा पुगेको उल्लेख गरेको छ।

    भारत सरकारले भने एम्नेष्टी इन्टरनेशनल इन्डियाको दावीमा कुनै प्रतिक्रिया दिइसकेको छैन। एम्नेष्टीले आफ्ना सबै कर्मचारीलाई बिदा गर्नुपरेको तथा अहिले चलिरहेका काम र शोध कार्य रोक्न बाध्य पारिएको उल्लेख गरेको छ।

    भारत सरकारले गरिरहेको मानवअधिकार उल्लंघनका घटना मानवअधिकारवादी संघसंस्थाले उजागर गरिरहेको प्रतिशोध स्वरूप सरकारले बैंक खाता बन्द गरिदिएको एम्नेष्टीले आरोप लगाएको छ।

    एम्नेष्टीले गत दुई वर्षमा आफूहरूमाथि सरकारी निकायहरूले गरिरहेका प्रहारहरूको सन्दर्भमा अहिले बैंक खाता बन्द गरिदिने कार्य कुनै दुर्घटनास्वरूप नभएको बताएको छ।

    आफूहरूले निरन्तर रूपमा मानवअधिकारको पक्षमा आवाज उठाउँदै आएको र हालै दिल्ली र जम्मु कश्मिरमा भएका मानवअधिकारका गम्भीर उल्लंघनका घटनामा आवाज उठाएकोमा भारत सरकारले प्रतिशोध साँधेको एम्नेष्टी इन्टरनेशनल इन्डियाका कार्यकारी निर्देशक अभिनाशा कुमारले विज्ञप्तिमा भनेका छन्।

    एम्नेष्टी इन्टरनेशनल भारतमा ८ वर्षदेखि कार्यरत थियो। त्यहाँ १५० जना कर्मचारी कार्यरत थिए। पछिल्लो समय भारतमा मानवअधिकारको गम्भीर उल्लंघनका ठूला घटनाविरुद्ध एम्नेष्टीले स्पष्ट र कडा आवाज उठाउँदै आएको थियो। भारतका हिन्दूत्ववादी संघ-संगठनले एम्नेष्टीको विरोध गर्दै आएका थिए।

    संसारको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकमा मानवअधिकारवादी संस्थालाई बन्द हुने अवस्थामा पुर्‍याइएको भन्दै भारत सरकारको विरोध भइरहेको छ।

  • सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए

    सीमा विवादलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध, २३ जना मारिए

    काठमाडौं । सीमानामा रहेको विवादका क्रममा अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध भएको छ । विवादित क्षेत्रलाई लिएर अर्मेनिया र अजरबैजानबीच सैन्य युद्ध हुँदा कम्तिमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थल र हवाई दुबै माध्यमबाट झडप भएको थियो । घटनामा केही घाइते रहेको बताइएको छ ।

    नागोरना काराबख क्षेत्रलाई लिएर विवाद बढ्दै गएको समयमा दुवै देशले एकअर्काको क्षेत्रमा हवाई आक्रमण गरेका थिए । अजरबैजानले पहिला विवादित क्षेत्रमा रहेको बस्तीमा हवाई आक्रमण गरेको आरोप अर्मेनियाको छ । प्रतिरक्षा कार्यमा अर्मेनियाले पनि अजरबैजानको हेलिकप्टर र सैन्य ट्याङ्क ध्वस्त बनाएको दावि गरेको छ ।

    विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमिका रुपमा परिचित छ । यहाँ आदिवासी अर्मेनियनहरु बस्छन् । यस क्षेत्रमा झण्डै तीन दशकदेखि दुवै देशबीच विवाद जारी रहेको छ । आक्रमणपछि अर्मेनिया सरकारले सैन्य कानुन लागू गर्दै सैनिक परिचालन गर्ने निर्णय समेत गरिसकेको छ । अजरबैजानले अर्मेनियाको आक्रमणबाट आफ्ना सर्वसाधारण मारिएको दावि गरेको छ । एजेन्सी

  • कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे

    कोरोनाबाट संसारभर ज्यान गुमाउने १० लाख नाघे

    काठमाडौं । कोरोना भाइरसबाट भएको मानवीय क्षतिको आंकडा १० लाख नाघेको छ । संसारभर सोमबार बिहानसम्म १० लाख ३ सय ५० जनाको ज्यान गइसकेको तथ्यांक छ । अमेरिकामा मात्र कोरोनाबाट ज्यान गुमाउने मानिस २ लाख पुगेका छन् । पछिल्लो २४ घण्टामा २ हजारभन्दा बढी मानिसले ज्यान गुमाएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेहरुको संख्या १० लाख पुगेको छ ।

    विश्वमा दोस्रो धेरै संक्रमण भारतमा देखिएको छ । यहाँ मानवीय क्षति भने ९४ हजार रहेको छ । भारतमा ६ लाख मानिसमा संक्रमण देखिएको छ । अमेरिकामा भने कुल संक्रमित ७ लाख भन्दा माथि छन् ।

    तथ्यांक अनुसार विश्वभर ३ करोड ३१ लाख मानिसमा कोरोना पुष्टी भइसकेको छ । २४ घण्टा भित्र अमेरिकामा ८ हजार मानिसमा संक्रमण देखियो । ब्राजिलमा बढी मानिसको ज्यान जाने सूचिको दोस्रो र बढी संक्रमित हुनेको तेस्रो स्थानमा छ ।

    यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार नाघेको छ। रुसमा १ लाख ५१ हजार संक्रमित छन् । यहाँ २० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । नेपालमा अहिलेसम्म ४ सय ७७ जनाको मृत्यु भएको छ ।

  • युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु

    युक्रेनमा सैन्य जहाज दुर्घटना, २२ जनाको मृत्यु

    युक्रेन । यूक्रेनमा एक सैन्य जहाज दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार एन्टोनिभ २६ नामक उक्त विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

    विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी चढेका थिए । विमानमा २७ जना रहेको बताइएको छ । दुई जना गम्भीर घाइते भएका छन । बाँकी तीन जना भने वेपत्ता छन् । दुर्घटनापछि जहाजा आगो लागेको थियो ।

  • फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला

    फ्रान्सेली पत्रिका चार्ली हेब्डोमा पुनः आंतकवादी हमला

    पेरिस । विश्वचर्चित फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डो पटक पटक आंतकवादीहरुको निशानामा पर्दै आएको छ । यहाँ निरन्तर हमला हुने गरेको छ । यसैक्रममा पुनः पत्रिकोका मुख्यालयमा आक्रमण भएको छ । हमलामा दुईजना गम्भीर घाइते भएका छन् ।

    हमलामा इस्लामिक आतंकवादीको भूमिका रहेको फ्रान्सका गृहमन्त्री जेराल्ड डोरमानिनले बताएका छन् । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार घटनास्थल नजिकैबाट पाकिस्तानी मूलका एक संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। थप चार जना समेत अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा छन् ।

    पछिल्लो हमलामा घाइते भएका दुवै मानिस एक टेलिभिजन कार्यक्रम उत्पादन कम्पनीका कर्मचारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसअघि सन् २०१५ मा चार्ली हेब्डोको मूख्यालयमा भएको आतंकवादी आक्रमणमा १२ कर्मचारीको ज्यान गएको थियो ।

  • विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

    विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नजिक

    काठमाडौं । संसारभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउने संक्रमितको संख्या १० लाख नजिक पुगेको छ । शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार ९ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ८७२ जनाले ज्यान गुमाएको तथ्यांक छ । यो अवधिमा नेपालमा मात्र १८ जनाको ज्यान गएको छ । जुन सर्वाधिक संख्या हो ।

    २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थप भए । कोरोनालाई जित्नेको संख्या भने विश्वभर २ करोड ३९ लाख १६ हजार ९४० जना रहेको छ । संसारभर अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ७४ लाख ९७ हजार ५६० जनाको अवस्था भने अहिले पनि सामान्य रहेको तथ्यांक छ ।

    उनीहरु होम आइसुलेसन वा अस्पतालमा छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यहाँ २४ घण्टामा ४५ हजार ३२८ जनामा कोरोना देखियो । अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेसकेको छ । यहाँ २४ घण्टामा ९४२ को ज्यान गएको छ । अमेरिकामा मृतक संख्या २ लाख ७ हजार ५३८ पुगेको छ ।

    दोस्रो स्थानमा भारत छ । यहाँ एकैदिन ८५ हजार ९१९ संक्रमित थपिए । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १६ हजार १०३ पुगेको छ । भारतमा ९२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।

  • शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

    शुक्रबार सार्क विदेशमन्त्रीहरुको भर्चुअल बैठक, नेपालले गर्नेछ अध्यक्षता

    काठमाडौं । शुक्रबार सार्क राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठक आयोजना हुने निश्चित भएको छ । भारतीय विदेशीमन्त्री एस जयशंकरले सहभागिता निश्चित गरेसँगै बैठक समेत संचालन हुने भएको हो । बैठकको नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने छन् ।

    भारत र पाकिस्तान विवादका कारण यी दुबै मुलुकका विदेश मन्त्री सहभागी हुने वा नहुने निश्चित थिएन । तर, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सार्कमा विदेशमन्त्रीहरूको भर्चुअल बैठकमा विदेशमन्त्री जयशंकर सहभागी हुने पुष्टि गरेका छन्।

    पछिल्लो समय भारतले सार्कलाई प्राथमिकतामा राख्न लागेको छ । यसअघि भारतको प्राथमिकतामा सार्क थिएन ।

    सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्ने भएका हुन् । बैठकमा सार्कका आठवटै सदस्य राष्ट्रको सहभागी हुने निश्चित भएको हो ।

  • चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण

    चीनले नेपाली भूमि नमिचेको नेपाल सरकारको समेत स्पष्टिकरण

    काठमाडौं । हुम्लामा नेपाली भूमि मिचिएको समाचारको नेपाल सरकार स्वयमले समेत खण्डन गरेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि चिनियाँ दूतावासले समेत यो समाचारको खण्डन गरेको थियो ।

    पछिल्लो समय चीनले नेपाली भूमिमा भवन बनाएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना भएको भएको पत्रकार सम्मेलनका दौरान उनले यस्तो स्पष्टिकरण दिएका हुन् । उनका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो।

    त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको उनले जानकारी दिए । चीनले बनाएका भनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभाग मै रहेको उनले बताए ।

    नेपाल चीनबीच सीमा समस्या नभएको समेत उनको भनाई छ । यो विषयमा मन्त्रालयको आधिकारिक धारणा बीनै मिडिया रिपोर्ट आएको उनले उल्लेख गरे ।

  • यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण

    यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै यो संस्था विश्वमा शान्ती स्थापनार्थ महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले खासगरी कम विकसित मुलुकको हितमा अझ बढी राष्ट्रसंघबाट अपेक्षा रहने उल्लेख गरे ।

    उनले राष्ट्र संघ यतिबेला निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको समेत उल्लेख गरेका छन् । विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत उनको भनाई छ ।

    राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्ध व्यक्त गर्ने अवसर भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । शान्ति–सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसङ्घबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त संस्थाको शान्ति स्थापनाका कार्यमा छ दशकभन्दा बढी समयदेखि नेपालले व्यावसायिक एवं समर्पित सेवा उपलब्ध गराउँदै आएको बताए।

    कमजोर देश र तिनका जनताको रक्षा, सार्वभौम समानता र सबैको मानमर्यादाको प्रवद्र्धन, महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट, आतङ्कवादको अन्त्य, आणविक, रासायनिक, जैविकलगायत आम विनाशका सबै हातहतियारको उन्मूलनमा राष्ट्रसङ्घको विशेष भूमिकाको अपेक्षा विश्वले गरेको प्रधानमन्त्रीको भनाई छ ।

    ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ : बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा आयोजित उक्त बैठकको प्रारम्भमा राष्ट्रसङ्घको ७५औँ वार्षिकोत्सवसम्बन्धी घोषणापत्र अनुमोदन गरिएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जानकारी गराएको छ ।

    वार्षिकोत्सवको उक्त कार्यक्रमलाई ८८ देशका राष्ट्राध्यक्ष र ४४ मुलुकका सरकार प्रमुखसहित १८२ वक्ताले सम्बोधन गर्नेछन् ।

  • संसारभर सवा तीन करोड मानिसमा कोरोना

    संसारभर सवा तीन करोड मानिसमा कोरोना

    काठमाडौं । विश्वभर सवा ३ करोड मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । सोमबार बिहानसम्म ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ । यो दिन थप ३ हजार ८९१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

    अब संसारभर कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या ९ लाख ६४ हजार ७६२ पुगेको तथ्यांकले देखाएको छ । संसारभर एकै दिन २ लाख ३९ हजार ७५२ मानिसले भने कोरोनालाई जितेका छन् । वर्ल्डोमिटर्सका अनुसार अब विश्वभर कोरोनालाई जितेर घर फर्कने मानिस २ करोड २८ लाख १७ हजार ५४० पुगेको छ ।

    कुल संक्रमितको ७१ प्रतिशतले कोरोनालाई जित्न सफल भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १६ हजार १८६ जनाको मृत्यु भएको छ । ४४ लाख ३६ हजार ७०९ जना संक्रमित भएकोमा २३ लाख ८३ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९८ हजार ५३० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८३ लाख ४८ हजार ३०८ पुगेको छ । त्यसमध्ये ५२ लाख ६६० जना संक्रमणमुक्त भइसकेका छन् । एसियाली मुलुकहरूमा १ लाख ७७ हजार १७३ जनाको मृत्यु भएको छ ।

    ९४ लाख ६८ हजार ८१ जना संक्रमित भएकोमा ७७ लाख ६४ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३७ हजार ९६५ जनाको मृत्यु भएको छ । ७५ लाख २५ हजार ८८८ जना संक्रमित भएकोमा ६२ लाख ८३ हजार १३९ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा ३४ हजार ८ जनाको ज्यान गएको छ । १४ लाख १३ हजार ३८२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ५८ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् । अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८८५ जनाको मृत्यु भएको छ । ३० हजार ५५९ जना संक्रमित भएकोमा २७ हजार ९३ जना संक्रमणमुक्त भएको तथ्यांक छ ।

  • डब्लूएफपीले भन्यो : विश्वभर ३०  करोड मानिसमा भोकमरी छ

    डब्लूएफपीले भन्यो : विश्वभर ३० करोड मानिसमा भोकमरी छ

    काठमाडौं । संयुक्त राष्ट्र संघीय खाद्य कार्यक्रम (डब्लुएफपी)ले संसारभर ३० करोड मानिस भोकमरीमा रहेको भन्दै सहयोगको अपिल गरेको छ । कार्यक्रमका प्रमुख प्रमुख डेभिड बेस्लेले संसारभर अर्बपतिसँग यस्तो सहयोगको अपिल गरेका हुन् । उनले अर्बपतिहरुसँग सहयोगको याचना गर्दै भोका व्यक्तिहरुका लागि सहयोग आवश्यक रहेको बताए ।

    संयुक्त राष्ट्र सुरक्षा परिषदमा उनले भोका व्यक्तिलाई समयमै सहयोग गर्न नसके उनीहरुलाई बचाउन समेत मुस्किल पर्ने चेतावनी उनले दिएका छन् । उनका अनुसार कोरोना भाइरसको संक्रमण र यसको विश्वव्यापी महामारीले पुनः संसारभर भोकमरीको समस्या बढेको छ । यसअघि विश्वभर झण्डै २७ करोड मानिस भोकै रहने गरेको तथ्यांक थियो ।

    यसमा महामारीयता १३ दशमलब ८ प्रतिशतको वृद्धि देखिएको उनले उल्लेख गरेका छन् । उनले भोकमरीसँग जुधिरहेका व्यक्तिलाई एक वर्षका लागि खाद्यान्नको व्यवस्था गर्न करीव ५ बिलियन डलर आवश्यक रहने आंकडासमेत प्रस्तुत गरेका छन् ।

  • सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी

    सर्वाधिक कमाई गर्ने खेलाडीको नम्बर वानमा मेसी

    काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बन्न सफल भएका छन् । फोर्ब्सले सन् २०२० को खेलाडीहरुको कमाई सम्बन्धी सूचि सार्वजनिक गरेको छ । शीर्ष १० को सूचिको पहिलो नम्बरमा मेसी रहेका छन् । उनलाई र्पोचुगिष्ट स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पच्छ्याइरहेका छन् । फोर्ब्सले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्ष मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर पुगेको छ ।

    रोनाल्डोको कमाई मेसीको भन्दा ९ मिलियन कम छ । यो वर्ष मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाएका छन् । रोनाल्डोले भने पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियन कमाए । उनको कुल कमाई ११७ मिलयन डलर रहेको छ ।
    सर्वाधिक कमाइ गर्ने शीर्ष १० खेलाडी को को हुन् ?

    लियोनल मेसी : १२६ मिलियन अमेरिकी डलर
    क्रिस्टियानो रोनाल्डो : ११७ मिलियन डलर
    नेमार : ९६ मिलियन डलर
    किलिएन एमबाप्पे : ४२ मिलियन डलर
    मोहम्मद सालाह : ३७ मिलियन अमेरिकी डलर
    पउल पोग्बा : ३४ मिलियन अमेरिकी डलर
    एन्टोनी ग्रीजमन : ३३ मिलियन अमेरिकी डलर
    गारेथ बेल : २९ मिलियन अमेरिकी डलर
    रोवर्ट लेवान्डोस्की : २८ मिलियन अमेरिकी डलर
    डेविड डे हेअ : २७ मिलियन अमेरिकी डलर

  • इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता

    इजरायल र बहराइन सम्बन्ध सुधारमा सहमत, भयो शान्ती सम्झौता

    काठमाडौं । इजरायल र बहराइन बीच शान्ती सम्झौता भएको छ । उनीहरु एकअर्काबीच सम्बन्ध सुधारमा सहमत बनेका छन् । यो सम्झौताका लागि पहल भने अमेरिकाले गरेको हो । यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दिएका छन् ।

    ट्रम्पले ट्वीटमार्फत एक महिनाको अवधिमा इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो मुलुक भएको उल्लेख गरेका छन् । एक महिनाअघि संयुक्त अरव इमिरेट्ससँग शान्ती सम्झौता भएको थियो । यो सम्झौताका लागि समेत अमेरिकाले नै पहल गरेको थियो । सो सम्झौताको औपचारिक हस्ताक्षर कार्यक्रम भने आगामी साता अमेरिकामा आयोजना हुन लागेको छ ।

    इजरायल खाडी क्षेत्रमा सबैजसो मुलुकबाट वहिष्कारमा पर्दै आएको मुलुक हो । किनकी उनीहरु प्यालेष्टाइनसँगको विवादमा बहराइनको हात मान्छन् । जसलाई अमेरिकाले सहयोग गरिरहेको छ । ट्रम्पले गत जनवरीमा मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका थिए ।

    जसमा इजरायल–प्यालेस्टिनी संघर्ष समाधान गर्ने उद्देश्य राखिएको थियो । त्यसअनुसार नै उनी पछिल्ला शान्तीवार्ता गराउन सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । एजेन्सी

  • जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

    जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

    टोकियो । जापानमा आइतबार आएको शक्तिशाली आँधीले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । संसारमा बढी प्राकृतिक विपत्तिको सामना गर्ने मुलुकमध्ये एक जापानमा पछिल्लो २५ वर्षयता कै शक्तिशाली आँधी आएको हो । यो आँधिलाई ‘हाइसेन’ नाम दिइएको छ ।

    यद्दपी पूर्वतयारी गरिएका कारण अहिलेसम्म मानवीय क्षतिको भने खबर छैन । शक्तिशाली आँधीले ११ लाख मानिस प्रत्यक्ष प्रभावित भएको र उनीहरुको स्थानान्तरणको तयारी थालिएको छ । जापानको दक्षिण पश्चिम क्षेत्रमा आँधीले प्रभाव पारेको छ ।

    १७२ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो । यसले ठूलो वर्षा समेत निम्त्याएको थियो । जापानमा केही दिन अगाडी पनि ‘मेसक’ नामक अर्को शक्तिशाली आँधी आएको थियो । आँधी आएपछि हवाइ उडान, उद्योगधन्दा, विद्यालय बन्द भएका छन्। खानपानी र विद्यूतको आपूर्ति समेत प्रभावित बनेको छ ।

    यो आँधीको असर अहिले उत्तर कोरियामा समेत देखिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

  • लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ

    लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ

    लद्दाख । लद्दाखमा केही महिना अगाडी २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक मुडभेडपछि यो क्षेत्र अशान्त बनेको छ । दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा त्यसयता पटक पटक फायरिङका घटना हुन थालेका छन् ।

    सोमबार राती समेत दुबै मुलुकका सेनाले सीमानामा चेतावनी फायरिङ गरेको चीनको सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले पुष्टी गरेको छ । सोमबार राति भारत चीनबीचको विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेको र चीनले पनि जवाफी फायरिङ गरेको टाइम्सको भनाई छ ।

    सेनालाई उदृत गर्दै उत्त संचारमाध्यमले जनाएअनुसार भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको थियो । त्यसपछि अवस्थालाई शान्त पार्न चिनियाँ सेनाले जवाफी फायरिङ गरेको छ । उता, भारतीय समाचार एजेन्सी एएनआइले समेत पूर्वीलद्दाख सीमामा फायरिङ भएको पुष्टी गरेको छ ।

  • कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो

    कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो

    काठमाडौं । संसारमा सर्वाधिक संख्यामा कोरोना भाइरसको संक्रमण हुने मुलुकमा भारत दोस्रो स्थानमा उक्लिएको छ । यसअघि तेस्रो स्थानमा रहेको भारत सोमबारबाट दोस्रो बनेको हो । सोमबार बिहान भारतले ब्राजिललाई उछिनेको हो । यो सूचिमा सबैभन्दा अगाडी अमेरिका छ ।

    अमेरिका र भारतमा नयाँ संक्रमणको दर समेत उत्तिकै तिब्र गतिमा रहेको छ । वर्ल्डओमिटरले अध्यावधिक गर्ने तथ्यांकअनुसार अमेरिकामा संसारमै सबैभन्दा बढी ६४ लाख ६० हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

    दोस्रो स्थानमा उक्लिएको भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । तेस्रो स्थानमा झरेको ब्राजिलमा ४१ लाख ३७ हजार ६ सय ६ जनामा कोरोना देखिएको तथ्यांक रहेको छ । कोरोना संक्रमित बढेको तुलनामा भारतमा मृत्युदर भने कम छ ।

    वर्ल्डओमिटरका अनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट १ लाख २६ हजार ६ सय ८६ जनाको मृत्यु भइसकेको छ । भारतमा मात्र ७१ हजार ६ सय ८७ ले ज्यान गुमाएका छन् । यो सूचिमा पनि सबैभन्दा माथि अमेरिका छ । यहाँ १ लाख ९३ हजार २ सय ५० जनाको ज्यान गइसकेको छ ।

  • रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति

    रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति

    काठमाडौं । रुसले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको परीक्षणको नतिजा उत्साहजनक आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसले रुसमा कोरोनाविरुद्धको लडाईमा विज्ञान एक कदम अगाडी बढेको वैज्ञानिकहरुको प्रतिक्रिया छ । उता, रुस र इरान खोप उत्पादनमा सहकार्य गर्न समेत सहमत भएका छन् ।

    तेहरानमा कोभिड १९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने विषयमा सहमति जुटेको छ । मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानी संचारमाध्यमले यो विषयको खुलासा गरेका छन् ।

    ‘फार्स न्यूज एजेन्सी’ का अनुसार सो सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भिडियो बैठकबाट यस्तो सहमति जुटेको हो । इरानी राजदूतले ‘कोभिड १९ को खोप उत्पादनमा मिलेको सफलताका लागि रुसलाई बधाई ज्ञापन गरेका थिए ।

    जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रुससँग आग्रह गरिएको समेत जानकारी गराएका छन् । दिमित्रीभले दुई देशबीच कोभिड १९ विरूद्धको खोपको ठूलो मात्र उत्पादन गर्न तयार रहेकोमा रूस उत्साहित रहेको बताएका थिए ।

    रुसका अनुसार छिट्टै यो खोप बजारमा आउने गरी तिब्र गतिमा काम भइरहेको छ । रुस कोरोनाबाट बढी प्रभावित मुलुकमध्ये एक हो ।

  • कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

    कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

    काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। कोरोना पुष्टि भएका ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा निधन भएको हो।

    उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीले पनि मुखर्जीको निधन पुष्टि गरेको छ ।

    मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी ‘डिप कोमा’ मा रहेको अस्पतालले जनाएको थियो।