Category: विश्व

  • भारतीय विदेशसचिव उच्चस्तरीय भेटवार्तामा व्यस्त

    भारतीय विदेशसचिव उच्चस्तरीय भेटवार्तामा व्यस्त

    काठमाडौं । भारतीय विदेश सचिव हर्षबर्धन शृंगला दुई दिने भ्रमणका सिलसिलामा आज नेपाल आइपुगेका छन् । काठमाडौं आएसँगै उनी द्धिपक्षीय भेटघाटमा व्यस्त रहे । बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा उनले नेपाली भाषामा आफ्नो प्रतिक्रिया दिएका थिए । त्यसक्रममा उनले नेपालमा आउँदा आफु खुसीको भएको बताएका थिए ।

    विदेश सचिवका रुपमा पहिलो भ्रमणका लागि नेपाल आएपछि आफु यसअघि काठमाडौं आइसकेको जानकारी गराए । उनले बिहीबार दिउँसो समकक्षी परराष्ट्र सचिव डा. भरतराज पौड्यालसँग औपचारिक भेटवार्ता गरे । उनीहरुबीच सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।

    परराष्ट्र सचिवस्तरीय बैठक द्धिपक्षीय सम्बन्ध सुधारमा उपलब्धी मुलक भएको भारतीय दूतावासले उल्लेख गरेको छ । उनले बिहीबार नै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटेका छन् । यस भेटमा कोरोना भाइरसको खोपको ठूलो प्रयोगकर्ता भारतले खोप बजारमा आउनासाथ नेपाललाई समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

    उनले आज नै राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत द्धिपक्षीय सम्बन्धका विषयमा भेटवार्ता गरेका छन् । विदेश सचिव शुक्रबार गोरखा पुगेर विद्यालय भवनको उद्घाटन गर्नेछन् । त्यसपछि उनी शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

  • भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित

    भारतको तमिलनाडुमा छिर्यो निवार तुफान, हजारौं मानिस प्रभावित

    तमिलनाडु । दक्षिण भारतमा शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीका विभिन्न स्थानमा भारी वर्षा र तीव्र गतिको हावासहित ‘निवार तुफान’ आएको छ ।

    समुन्द्री तटका १ हजार घरपरिवारबाट हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको र जलसेनाका ४० भन्दा बढी उद्धार समुह तयारी अवस्थामा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । तुफानका कारण सडक अवरुद्ध भएके छ ।

    हवाई यातायात ठप्प छ । रुख ढल्दा भौतिक संरचनाहरुमा क्षति पुगेको छ । पछिल्लो केही घण्टायता भने तुफानको प्रभाव क्रमशः कमजोर बन्दै गएको बताइएको छ ।

    तुफानको प्रभाव चेन्नई र महाबलीपुरमसम्म देखिएको छ । तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले अघि बढिरहेको भारतीय संचारमाध्यमले लेखेका छन् ।

  • व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

    व्यस्त कार्यकालिकासहित भारतीय विदेश सचिव आज काठमाडौं आउँदै

    काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनेछन् ।

    नेपाल र भारतबीचको सम्बन्धमा उचारचढाव आइरहेको समयमा भारतबाट लगातार उच्चस्तरीय भ्रमण भइरहेका छन् । यसअघि गुप्तचर विभागका प्रमुख र सेनाप्रमुखबाट नेपालको भ्रमण भइसकेको छ । त्यसो त राजनीतिक स्तरबाट भन्दा बढी कर्मचारीस्तरबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो ।

    विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । उनको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्रको भनाई छ । दुई दिन नेपालमा रहँदा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई आज भेट्ने कार्यक्रम तय भएको छ । परराष्ट्र सचिवसँग दुईपक्षीय विषयहरुमा वार्ता गर्ने कार्यक्रम समेत रहेको छ । उनी गोरखासमेत जाने कार्यक्रम रहेको छ ।

  • युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका

    युवालाई कतार पठाउने नाममा गैरकानूनी अन्तर्वार्ता, दूतावासकै संलग्नताको आंशका

    काठमाडौं । मंगलबार विहान वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको छ । विभागको पूर्व श्रमस्वीकृति नलिई युवालाई कतार पठाउने भन्दै नेपाली युवासँग अन्तर्वार्ता लिएको सूचना विभागमा पुगेपछि टोली त्यहा पुगेको थियो ।

    विभागको टोली र प्रहरीमाथि म्यानपावरका व्यक्तिले हातपातको प्रयास समेत गरेका छन् । कम्पाउण्डमा अन्तर्वार्ता भएको भए पनि विभागको टोली पुगेपछि म्यानपावर सञ्चालक, कर्मचारीसहित त्यहाँ रहेकाविदेशी नागरिक भवननभित्र छिरेका थिए ।

    उक्त म्यानपावरमा नेपालका लागि कतारी दूतावासको गाडी समेत भेटिएका कारण दूतावासकै संलग्नतामा गैरकानूनी धन्दा भइरहेको आशंका गरिएको छ । भूतपूर्व तथा बहालावाला प्रहरी तथा सैनिकलाई कतारी पुलिसमा जागिर लगाइदिने भन्दै अन्तर्वार्ता लिइरहेको खुलेको छ ।

    म्यानपावर परिसरमा ४५ सीडी००९ नम्बरको विदेशी नियोगको गाडी रोकिएको थिया । यो कतारी दूतावासको गाडी हो । म्यानपावर संचालकले विभागको टोलीसमक्ष ढोका नखोलेपछि प्रहरी बोलाएर बलपूर्व ढोक खोल्न लगाइएको थियो । विभागले त्यसपछि सोधपुछ छालेको थियो ।

    म्यानपावर सञ्चालकले अन्तरवार्ता नलिइएको र पूर्वछनोटका लागि कतारी प्रहरी र गुप्तचर अधिकारी नेपाल आएको बताएका छन् । विभागका अनुसार अवैध रुपमा अन्तर्वार्ता लिएको सम्बन्धमा अनुसन्धान थालिएको छ ।

    यसअघि विभागले सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा छापा मारी कागजपत्र जफत गरेको थियो । त्यहाँ ४ सयभन्दा बढी युवाबाट अवैध अन्तर्वार्ता लिएको खुलेको छ ।

    कानून अनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिएपछि तय भएको अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।

  • पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

    पाकिस्तानले फेरी बन्द गर्यो शैक्षिक संस्था, कोरोनाको दोस्रो लहर शुरु

    इस्लामावाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रमै सबैभन्दा प्रभावकारी रुपमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गरी शैक्षिक संस्था खोलेको थियो । तर, भाइरसको दोस्रो लहरको चपेटामा आएसँगै उसले पुनः विद्यालय बन्दको घोषणा गरेको छ । साथै पाकिस्तानले सबै प्रकारका परीक्षा समेत स्थगित गरिदिएको छ । अब पाकिस्तानमा डेढ महिना लामो प्रतिवन्ध लागेको छ ।

    पाकिस्तानी संचारमाध्यमहरुका अनुसार सोमबार यस्तो घोषणा भएको हो । आगामी बिहीबारबाट बन्द हुने शैक्षिक संस्था आगामी जनवरी १० सम्म बन्द नै रहनेछन् । शैक्षिक संस्थामा लागेको प्रतिवन्धसँगै परीक्षा समेत स्थगित भएका छन् ।

    यसअघि कोरोना भाइरसलाई कुनै न कुनै रुपमा नियन्त्रणमा ल्याएका मध्यपूर्वी एसियाली र दक्षिण एसियाली मुलुकमा पुनः संक्रमणले गति लिन थालेको छ । इन्डोनेसियामा २४ घण्टामा ४ हजार ४४२ जना सङ्क्रमित थपिएका छन् । मलेसियामा एक हजार ८८४ जना नयाँ सङ्क्रमित थपिएको तथ्यांक आएको छ ।

  • अफगानिस्तानमा २३ राउण्ड रकेट आक्रमण, ८ को मृत्यु

    अफगानिस्तानमा २३ राउण्ड रकेट आक्रमण, ८ को मृत्यु

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा घातक रकेट आक्रमण भएको छ । करीव २३ राउण्ड रकेट प्रहार भएको र यो घटनामा कम्तिमा आठ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेको सरकारी अधिकारीले पुष्टी गरेका हुन् । यस घटनामा करीव ३१ जना घाइते छन् । अफगानी गृह प्रशासनका अनुसार आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाइएको छ ।

    अमेरिकाले अफगानिस्तानबाट थप सैनिक फिर्ता लैजाने तयारी गरिरहेको छ । अर्कोतर्फ सरकार र विद्रोही समुहबीच शान्ति वार्ता समेत चलिरहेको समयमा भएको यो घटनाले अवस्था गम्भीर हुन सक्ने देखिएको बताइएको छ ।

  • चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने

    चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने

    काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फङ्गह नेपाल भ्रमणमा आउने भएका छन् । निकट भविश्यमा उनको नेपाल भ्रमणको तयारी भएपनि मिति भने सार्वजनिक गरिएको छैन । केही दिन अगाडी प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भेटका दौरान रक्षामन्त्रीको भ्रमणबारे छलफल भएको बताइएको छ ।

    अहिले नेपालमा रक्षामन्त्रीको जिम्मेवारी स्वयमः प्रधानमन्त्रीसँग रहेको छ । भ्रमण आगामी नोभेम्बर २९–३० मा हुन सक्ने बताइएको छ ।

    चीनबाट नेपाल आएपछि उनी यतैबाट अन्य दक्षिण एसियाली मुलुकको भ्रमणमा निस्कने गरी तयारी गरिएको नेपाली संचारमाध्यमले शुक्रबार लेखेका छन् । यसअघि सन् २०१९ अक्टोबरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनको औपचारिक भ्रमण गरेका थिए ।

  • भारतको उत्तर प्रदेशमा जन्ती बोकेको जीप दुर्घटनामा १४ जनाको मृत्यु

    भारतको उत्तर प्रदेशमा जन्ती बोकेको जीप दुर्घटनामा १४ जनाको मृत्यु

    प्रतापगढ । भारतकोे उत्तर प्रदेशस्थित प्रतापगढ जिल्लामा भयानक सडक दुर्घटना भएको छ । जन्ती बोकेको जीप दुर्घटनामा परी कम्तिमा १४ जनाको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् । त्यसमध्ये ६ जना भने ७ देखि १५ वर्षसम्मका बालबालिका छन् ।

    तिब्र गतिमा रहेको जीप रोकिराखेको ट्रकमा ठक्कर खाएको थियो । जीप कच्याककुचुक भएको र शवहरु ढोका काटेर निकाल्नु परेको बताइएको छ ।

    कुन्डा कोतवाली भन्ने स्थानको चौंसा जिरगापुर गाउँका उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त हिँडेको बताइएको छ । दुर्घटनाप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले पिडित परिवारलाई उचित सहयोग दिइने बताएका छन् ।

  • युगान्डामा राष्ट्रपतिका उमेदवार पक्राउ, हिंसात्मक घटनामा १६ जनाको मृत्यु

    युगान्डामा राष्ट्रपतिका उमेदवार पक्राउ, हिंसात्मक घटनामा १६ जनाको मृत्यु

    काठमाडौं । युगाण्डामा राजनीतिक द्धन्द्ध उत्कर्षमा पुगेको छ । प्रहरीले राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेसँगै सडकमा हिंसात्मक झडप भएको छ । यस घटनामा कम्तिमा १६ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना युगान्डाको राजधानी कम्पालामा भएको हो ।


    बिहीबार प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा झडप भएको र कम्तिमा १६ जनाको मृत्युको पुष्टी भएको छ । अन्य कैयौं मानिस घाइते भएका छन् ।

    कोरोना भाइरसको महामारीका बीचमा भएको प्रदर्शनपछि प्रहरीले दर्जनौं मानिसलाई महामारी विरुद्धको अभियोगमा पक्राउ समेत गरेको छ ।

    युगान्डामा राष्ट्रपति निर्वाचन नजिकिएको छ । वाइन एक उमेदवार हुन् । उनी विपक्षी राजनीतिक दलबाट प्रतिनिधित्व गर्छन् । उनी युगान्डाका वर्तमान राष्ट्रपति युओरी मुसेभेनीसँग भिड्दैछन् । एजेन्सी

  • नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना

    नयाँ दिल्लीमा मास्क नलगाई सार्वजनिक स्थलमा निस्किए २ हजार जरिवाना

    नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा सरकारले कोरोना विरुद्ध स्वास्थ्य सतकर्ता नअपनाउनेविरुद्ध कडा कानून ल्याएको छ । दिल्ली सरकारले बिहीबार सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना घोषणा गरेको हो ।

    दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालका अनुसार मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन यस्तो व्यवस्था गरिएको बताएका छन् ।

    सार्वजनिक स्थलमा मास्क लगाउँदा मात्र समेत संक्रमणबाट बच्न सकिने भन्दै उनले कोरोना नसरोस भनी यस्तो नियम ल्याइएको बताए । उनका अनुसार अहिले पनि दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेड उपलब्ध छन् ।

    पछिल्लो समय भारतमा संक्रमण दरमा उल्लेख्य कमी आएको छ । केजरीवालले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययन गर्न सर्वपक्षीय बैठक बोलाएका थिए ।

    केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार रहेको उल्लेख गरे । दिल्लीले सार्वजनिक स्थलमा आउँदै गरेको छठ पर्व मनाउन समेत रोक लगाएको छ । केजरीवालले सबैलाई आफ्नै घरमा छठ मनाउन आग्रह गरेका छन् ।

  • अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार माथि

    अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार माथि

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संसारमा सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्युको संख्याले नयाँ रेकर्ड पार गरेको छ । यहाँ बुधबार साँझसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघेको छ । रोयटर्सका अनुसार अमेरिकामा अहिले संक्रमणको तेश्रो चरण सुरू भएको छ ।

    जसले संक्रमित संख्या पुनः तिब्र दरमा बढिरहेको छ । कोरोनाले अमेरिकी स्वास्थ्य स्वास्थ्य सेवा प्रणालीमा नै चाप पुर्याएको बताइएको छ । अहिले अस्पतालहरुमा संक्रमितको संख्या बढेको छ । बुधबार एकै दिन ७८ हजार ६ सय ३० जना संक्रमित फेला परेको आंकडा छ ।

    यो अमेरिकामा भेटिएको सबैभन्दा ठूलो संख्या छ । रोयटर्सले जनाएअनुसार अमरिकामा पछिल्ला सात दिनमा प्रतिदिन १ हजार १ सय ७६ मानिसले कोरोनाबाट औसतः ज्यान गुमाइरहेका छन् ।

  • ‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’

    ‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’

    काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पको ढिपीका कारण अमेरिकामा कोरोना भाइरसबाट अझै बढी मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ट्रम्पले सत्ता हस्तान्तरण गर्न मानिरहेका छैनन् । उनी चुनावी परिणामलाई स्वीकार्ने पक्षमा देखिएका छैनन् ।

    तर, उनले सत्ता हस्तान्तरणमा गर्ने ढिलाईले कोरोना संक्रमणविरुद्धको लडाई भने प्रभावित हुने बाइडेनको भनाई छ । डेलावेयरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै बाइडेनले कोरोनाभाइरस विरुद्धको लडाई जित्न समन्वयको खाँचो औल्याए । कोरोनाविरुद्धको योजना बनाउनै २० जनवरीसम्म कुर्नुपरे त्यस अवधिसम्म धेरै मानिसले ज्यान गुमाउन सक्ने चेतावनी उनले दिएका हुन् ।

    राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडेन र उपराष्ट्रपतमा निर्वाचित कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन्। जसले गर्दा उनीहरुले आफ्नो कार्यकालको योजना बनाउन पाएका छैनन् ।

    उनीहरुलाई आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङको पहुँच समेत प्राप्त भइसकेको छैन । बाइडेनले राष्ट्रपति ट्रम्पलाई हार स्वीकार्न आग्रह समेत गरेका छन् ।

    राष्ट्रपतीय चुनावमा बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज भोट प्राप्त गरि विजयी भएपनि ट्रम्पको चुनावी अभियानले धाँधली भएको आरोप लगाएको छ । यसअघि ट्रम्पले सोमबार मात्र टुइटमार्फत चुनाव आफुले जितेको दावि गरेका छन् । एजेन्सी

  • हङ्कङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

    हङ्कङमा नेपालीले चलाएको रेष्टुरेन्टमा आगलागी, ७ जनाको मृत्यु

    जोर्डन । हङ्कङमा नेपालीले चलाएको एक रेष्टरेन्टमा आगलागी भएको छ । हङ्कङको जोर्डनमा भएको यस घटनामा ७ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार यो रेष्टरेन्ट दर्ता बीना नै संचालनमा थियो । घटनामा १३ जना घाइते भएका छन् ।

    घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा चार पुरुष र तीन महिलाको ज्यान गएको छ ।

  • भारतमा वायु प्रदुषण रोक्न रेड लाइट बल्दा गाडी बन्द गर्नुपर्ने

    भारतमा वायु प्रदुषण रोक्न रेड लाइट बल्दा गाडी बन्द गर्नुपर्ने

    नयाँ दिल्ली । भारतमा वायुप्रदुषण ह्वात्तै बढेको छ । धान भित्राएपछि पराललाई खेतमा छाडी कृषकले आगो लगाउने गर्छन् । सोहीकारण राजधानी दिल्ली लगायत यस आसपासका क्षेत्रमा हरेक वर्ष वायु प्रदुषण उच्च स्तरमा पुग्ने गर्छ ।

    वायु प्रदुषण रोक्न सरकारले गाडीबाट हुने प्रदुषण नियन्त्रण गर्ने योजना ल्याएको छ । जसअनुसार अब रेडलाइट बलेर गाडी रोकिने अवस्था आएमा अब बन्द गर्नुपर्ने भएको छ ।

    यो अभियानलाई सरकारले ‘रेड लाईट अन, गाडी अफ नाम दिएको छ । अर्कोतर्फ दिवालीका अवसरमा पटका पड्काउँदा पनि भारतमा प्रदुषण उच्च विन्दुमा पुग्छ । त्यसो त यो वर्ष पटकामा समेत नियन्त्रण गरिएको छ ।


    दिल्ली वरपर हरियाणा र पंजाबमा पराल जलाउने काम बढी हुने गर्छ । दिल्ली सरकारले ट्राफिक सिग्नलमा रातो बत्ती भएका बेला गाडी बन्द गराउनका लागि नगर प्रहरी खटाएको जानकारी दिएको छ ।

    दिल्लीमा प्रदुषणका कारण पुरै दिन तुवालो लागेकाले घाम लाग्न छाडेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार ४ नोभेम्बरदेखि ९ नोभेम्बरसम्म दिल्लीमा निरन्तर ६ दिनसम्म प्रदूषण स्तर ’गंभीर’ श्रेणीमा छ ।

    राजधानी दिल्लीसहित एनसीआर फरीदाबाद, नोएडा, ग्रेटरनोएडा र गुडगाँवमा पनि वायु गुणस्तर अति खराब श्रेणीमा पुगेको छ ।


    केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिबार वायु गुणस्तर सूचकांक ४५१ एक्यूआई रहेको थियो। एक्यूआई शून्यदेखि ५० सम्मलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मलाई सन्तोषजनक , १०१ देखि २०० सम्मलाई मध्यम, २०१ देखि ३०० खराब र ३०१ देखि माथिको एक्यूआइलाई अति खराब मानिन्छ।

  • विश्‍वकै प्रभुत्वशाली देश जापान, शक्तिशाली देश अमेरिका उत्कृष्ट १० मा पनि परेन

    विश्‍वकै प्रभुत्वशाली देश जापान, शक्तिशाली देश अमेरिका उत्कृष्ट १० मा पनि परेन

    काठमाडौं । जापान विश्वकै प्रभूत्वशाली देश बनेको छ । फ्युचर ब्रान्डले कोरोना भाइरस महामारीका दौरान ६ महिनासम्म गरिएको अध्ययनले प्रमुख कार्यकारी, कर्मचारी र अन्य माथिल्लो तहका विश्वभरका २५ सयभन्दा धेरै मानिसहरुको रायलाई समेटेर यो रिपोर्ट सार्वजनिक गरेको हो ।

    प्रकाशित अध्ययन अनुसार शक्तिशाली देश अमेरिका, चीन, बेलायत र रुस शीर्ष १० भित्रमा पनि परेका छैनन् ।

    सूचीअनुसार जापान पहिलो, स्विचरल्यान्ड दोस्रो, नर्वे तेस्रो, जर्मनी चौथो, क्यानेडा पाँचौ, डेनमार्क छैटौं, फिनल्यान्ड सातौं, स्विडेन आठौं, युुएई नवौं र न्युजिल्यान्ड दशौं स्थानमा रहेका छन् ।

    प्रभूत्वशाली शहरमा अमेरिकाको न्युर्योक पहिलो स्थानमा छ । त्यस्तै चीनको बेइजिङ दोस्रो, अमेरिकाकै वासिङटन तेस्रो, बेलायतको लण्डन चौथो, जापानको टोकियो पाँचौ, फ्रान्सको पेरिस छैटौं, रुसको मस्को सातौ, चीनको साङ्घाई आठौं, युुएईको दुुबई नवौ र जर्मनीको बर्लिन दशौं स्थानमा छन् ।

  • रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

    रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

    मस्को । रूसले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको सार्वजनिक गरेको छ । अमेरिकी र जर्मन कम्पनीले आफ्नो उत्पादन ९० प्रतिशत प्रभावकारी भएको दावि सार्वजनिक गरेसँगै रुसले आफ्नो उत्पादनबारे पछिल्लो अपडेट सार्वजनिक गरेको हो ।

    रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको सार्वजनिक गरेको छ । सोमबार अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको थियो ।

    रूसले गत अगस्ट मै स्पुतनिक फाइभ भ्याक्सिनलाई स्वीकृति दिएको हो । रूसले तेस्रो चरणको परीक्षण नसकिँदै खोपलाई स्वीकृति दिएको थियो । बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित रहेको बताइएको छ ।

    रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका अनुसार भ्याक्सिनका दुई डोज लगाएका मानिसलाई कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशत कम हुने नतिजा आएको छ ।

  • बिहारमा चल्यो मोदी लहर, नितिश कुमारले फेरी सरकार बनाउने

    बिहारमा चल्यो मोदी लहर, नितिश कुमारले फेरी सरकार बनाउने

    पटना । नेपालसँग सीमाना जोडिएको बिहारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जादु चलेको छ । सन् २०१५ मा ५३ सीटमा खुम्चिएको भारतीय जनता पार्टीलाई उनले यस पटक ७० सीटमा विजयी बनाउन सफल भएका छन् ।

    बिहार विधानसभा निर्वाचनमा नितिशकुमार र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले १ सय २५ सिट जित्दै पूर्ण बहुमत समेत प्राप्त गरेको छ। यससँगै अब एनडीएले नितिश कुमारको नेतृत्वमा पुनः एक पटक सरकार बनाउने बाटो खुलेको छ ।

    यो गठबन्धनलाई लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले कडा टक्कर भने दियो । तेजस्वी नेतृत्वको गठबन्धन १ सय १० सिटमा विजयी भयो । उनलाई कांग्रेसले साथ दिएको थियो । जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अबको दशक बिहारको आत्मविश्वासको दशक हुने बताएका छन् । उनले बिहारका जनतालाई धन्यवाद समेत दिएका छन् ।

    बिहार विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले ७०, राष्ट्रिय जनता दलले ७५ सीटमा जित निकाल्न सफल भए । जेदयूले ४३ सिट जितेको छ । कांग्रेसले १९, लोक जनशक्ती पार्टीले १ तथा हिन्दूस्तान अवाम मोर्चाले ४ सिटमा जित हासिल गरेका छन् ।

  • न्यूजिल्याण्डकी प्रधानमन्त्रीको देशबासीलाई उपहार, साना व्यवसायीले राहत पाउने

    न्यूजिल्याण्डकी प्रधानमन्त्रीको देशबासीलाई उपहार, साना व्यवसायीले राहत पाउने

    काठमाडौं । न्यूजिल्याण्डमा नवगठित सरकारले आफ्ना मतदाता तथा नागरिकका लागि आकर्षक सहुलियत प्याकेज ल्याएको छ । खासगरी साना व्यवसायीलाई बचाई राख्न विषेश राहत कार्यक्रम ल्याइएको हो ।

    लेबर पार्टीबाट नवगठिन सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण साना तथा मझौला उद्योगमा ठूलो प्रभाव परेको छ ।

    प्रधानमन्त्री जसिन्दा अर्डेर्नले साना व्यवसायी अर्थतन्त्रको महत्वपूर्ण अंश भएको बताउँदै अर्थतन्त्र बचाउन प्याकेज ल्याइएको बताएकी छिन् । उनका अनुसार यस अगाडी नै ल्याएका सहुलियत प्याकेजको अवधि समेत थप भएको छ ।

    मन्त्रिपरिषद् बैठकपछि उनले देशबासीका नाममा सम्बोधन गरेकी थिइन । यसवर्ष म्याद सकिन लागेका राहत तथा सहुलियत कार्यक्रम सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने उनको भनाई छ ।

    सरकारको घोषणा अनुसार अब साना व्यवसायीले एक बर्षदेखि दुई बर्षसम्म व्याज मिनाहा सहुलियत पाउने छन् । न्यूजिल्याण्डमा नवगठिन सरकारका मन्त्रीले शुक्रवार सपथग्रहण गरेका थिए ।

    सोमवार पहिलो बैठक बसेको छ । अर्डेर्नले लगातार दोस्रो कार्यकाल सम्हालेकी हुन् । कोरोना भाइरसको महामारी व्यवस्थापन प्राप्त सफलताका लागि उनी दोस्रो पटक समेत लोकप्रिय मतसहित विजयी भएकी छिन् । एजेन्सी

  • अजरबैजानको दावी : विवादित शुशी शहर कब्जा गर्यौं

    अजरबैजानको दावी : विवादित शुशी शहर कब्जा गर्यौं

    काठमाडौं । अजरबैजानले विवादित नागोर्नो काराबाखको एक सहर कब्जा गरेको घोषणा गरेको छ । उसको यो दावीलाई अर्मेनियाले भने अस्विकार गरिदिएको छ । बीबीसीका अनुसार अजरबैजानका राष्ट्रपति इलहाम अलीयेवले नागोर्नो काराबाखको शुशी सहर आफ्नो कब्जामा लिएको घोषणा गरेका छन् ।

    अर्मेनियाले भने यस भेगमा भिडन्त जारी रहेको र अजरबैजानको दावि झुट भएको बताएको छ । दुई मुलुकबीच सीमानामा विवादित अवस्थाको नागोर्नो काराबाख क्षेत्र ४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो पहाडी क्षेत्र हो ।

    यो सोभियत सङ्घ विघटन हुनुभन्दा पहिला स्वायत्त क्षेत्र बनेको थियो । प्रारम्भमा यसलाई अजरबैजानकै हिस्सा मानिएको थियो । पछि अर्मेनियाले समेत यो क्षेत्रमा आफ्नो दावि बढाएपछि यहाँ सशस्त्र द्धन्द्ध भइरहेको छ । यहाँ इसाई अर्मेनीयाली र तुर्क मुसलमानको बाहुल्य छ ।

  • अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन

    अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन

    काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेनले अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सम्बोधन मार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई अमेरिकाको इतिहासमै सबैभन्दा बढी मत दिएर जिताएको उल्लेख गरे । उनले भने, यो जित तपाईंहरूको हो। मैले ७.४ करोड भोट प्राप्त गरेको छु। यति भोट अहिलेसम्म कसैले (अमेरिकाको इतिहासमा) पाएका थिएनन्।’

    उनले मतदाताले आफुप्रति गरेको विश्वासलाई विनम्रतापूर्वक स्वीकार गर्ने भन्दै सबैलाई साथमा लिएर अघि बढ्ने समेत बताएका छन् । आफु अमेरिकाको राष्ट्रपति भएको भन्दै अब कुनै पार्टीको नभई सबैसँग मिलेर काम गर्ने उनको प्रतिवद्धता रहेको छ । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गरेका हुन् । उता, भारतीय मूलकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी बनेका हुन् ।

  • निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई

    निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्। ट्वीटरमार्फत ओलीले उनीहरुको जितलाई प्रभावकारी र ऐतिहासिक समेत भनेका छन् ।

    उनले अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले आगामी चार वर्ष अमेरिकाको नेतृत्व गर्नेछन् ।

  • जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित

    जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित

    न्यूयोर्क

    डेमोक्रेटिक प्रत्याशी जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । सिएनन, एनबिसी, फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत सबै प्रमुख मिडियाले शनिबार विहान बाइडेन निर्वाचित भएको घोषणा गरेका हुन् ।

    यसअघि नै २५३ इलेक्टोरल मत पाइ सकेका बाइडेनले पेन्सिलभेनियाको २० इलेक्टोरल मत पाउँदै निर्वाचित भएका हुन् । बाइडेन एरिजोना, जर्जिया र नेभाडाको मत गणनामा पनि अघि छन् । यी तीन राज्य पनि जितेमा उनले ३०६ इलेक्टोरल मत पुर्याउनेछन् । सन् २०१६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यति न इलेक्टोरल मत पाएका थिए ।

    बाइडेन विजयसँगै ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित नहुने सिमित राष्ट्रपतिको सूचीमा सामेल भएका छन् । दोस्रो विश्व युद्ध पछि जेरार्ल्ड फोर्ड, जिम्मी कार्टर र जर्ज एचडब्लु बुसले दोस्रो कार्यकाल पाएका थिएनन् ।

    ७८ बर्षिय बाइडेनले सबैभन्दा बृद्ध निर्वाचित राष्ट्रपतिको रेकर्ड समेत बनाएका छन् । सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको उप राष्ट्रपति रहेका उनी त्यस अघि तीन दशक बढि डेलावयरबाट सिनेटर थिए । बाइडेनको विजयसँगै कमला ह्यारिस पहिलो महिला  उपराष्ट्रपति बन्ने भएकी छिन् । उनी भारतीय आमा एवं जमैकन पिताकी छोरी हुन् ।

    ट्रम्पले चार बर्षसम्म कोरेको विभाजको रेखा आफुले मेट्ने बाइडेनको दावी छ । आफुलाई भोट हाल्ने र नहाल्ने सबै नागरिकलाई समान आँखाले हेर्दै अन्तर्राष्ट्रिय जगतमा अमेरिकाको गुमेको छवी फिर्ता ल्याउने उनले बताउँदै आएका छन् ।

    बाइडेनल निर्वाचित भइ सकेपनि ट्रम्पले पराजय स्वीकार्न मानेका छैनन् । निर्वाचनमा धाँदली भएको र अदालत गएर आफुले चुनावी नतिजा उल्टाउने उनको दावी छ । तर, कहाँ कस्तो धाँदली भयो भन्ने प्रमाण उनी र उनको क्याम्पेनले सार्वजनिक गर्न सकेको छैन ।

    बाइडेनले चार बर्ष अघि ट्रम्प अप्रत्याशीत खोसेका मध्य पश्चिम क्षेत्रका तीन राज्य पेन्सिलभेनिया, मिसिगन र विसकनसन डेमोक्रेटिक खातामा फिर्ता ल्याउन सफल भएका छन् । डेमोक्र्याटहरुको बलियो बर्चश्व रहेका यी राज्यबाट ४६ इलेक्टोरल मत पाउँदै सन् २०१६ मा ट्रम्प विजयी भएका थिए । त्यसबाहेक बाइडेनले अग्रता लिएका जर्जिया र एरिजोनामा विजय हासिल गरे दशकौँ पछि ती राज्य जित्ने उनी पहिलो डेमोक्रेटिक उम्मेद्वार हुनेछन् ।

  • ग्वाटेमालामा भिषण पहिरो, कम्तिमा ५० जनाको मृत्यु

    ग्वाटेमालामा भिषण पहिरो, कम्तिमा ५० जनाको मृत्यु

    भेरापाज । ग्वाटेमालामा अविरल परेको वर्षाका कारण आएको भिषण पहिरोमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार राष्ट्रपति एलेजान्डे गिएमाट्टीले थप १ सय जनाभन्दा धेरै पुरिएको र मानवीय क्षति अझै बढी हुन सक्ने जानकारी गराएका छन् ।

    आँधीको कारण परेको ठूलो वर्षाका कारण अल्टा भेरापाज क्षेत्रको क्वीजा गाउँका घरहरु पुरिएका छन् । अहिले सेनाले प्रभावित क्षेत्रमा उद्धार र राहतको काम थालेको बताइएको छ ।

  • विदेशी पर्यटक र विद्यार्थी कहिलेबाट छिर्न पाउँछन् अष्ट्रेलिया ?

    विदेशी पर्यटक र विद्यार्थी कहिलेबाट छिर्न पाउँछन् अष्ट्रेलिया ?

    सिड्नी । अस्ट्रेलियाले विदेशी पर्यटक र विद्यार्थीका लागि आफ्नो मुलुक खुला गर्ने तयारी गरेको छ । अष्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले अब सुरक्षित तरिका अपनाएर विदेशीलाई अस्ट्रेलिया प्रवेश अनुमति दिने तयारी भइरहेको बताएका छन् ।

    कोभिड १९ को प्रभावका कारण आठ महिनादेखि अष्ट्रेलियाले विदेशीको अनुमति रोकेको छ । अब भने प्राथमिकता हेरेर खुला गरिने उनले जानकारी दिए उनका अनुसार सबैभन्दा पहिला भिषा लागेर बसेका अन्तराष्ट्रिय विद्यार्थीलाई सुरक्षित रुपमा बिस्तारै अस्ट्रेलिया आगमन अनुमति दिइने भएको छ । पर्यटक र सर्वसाधारणलाई भने कोरोनाबाट सुरक्षित राष्ट्रहरूको प्राथमिकता हरेर खोलिने भएको छ ।

  • भीआइपी भेटसँगै भम्रणमा समेत रमाएर फर्किए भारतीय सेनाध्यक्ष

    भीआइपी भेटसँगै भम्रणमा समेत रमाएर फर्किए भारतीय सेनाध्यक्ष

    काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किए । उनी शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको विशेष विमान चढेर दिल्ली फर्किएका हुन् । उनी बुधबार काठमाडौं आएका थिए ।

    बुधबार काठमाडौं ओर्लिएर होटेलमा पुगेपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका थिए । बिहीबार भने उनी सैन्य गतिविधि मै व्यस्त रहे । उक्त दिन उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिएका थिए ।

    भ्रमणको अन्तिम दिन समेत उनले भ्रमणलाई रोमाञ्चक बनाउन कुनै कसुर बाँकि राखेनन् । किनकी शुक्रबार उनी सगरमाथा क्षेत्रमा माउण्टेन फ्लाइटमा पुगे । सोलखुम्बु मै खाना खाए ।

    त्यसपछि काठमाडौं फर्किएका उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरे । भेटमा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरे ।

  • विहारका मुख्यमन्त्रीको घोषणा : यो चुनाव मेरो अन्तिम हो

    विहारका मुख्यमन्त्रीको घोषणा : यो चुनाव मेरो अन्तिम हो

    विहार । नेपालसँग जोडिएको भारतको रणनीतिक राज्य विहारमा अहिले आम निर्वाचन जारी छ । दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । अब तेस्रो तथा अन्तिम चरणका निर्वाचनपछि विहानमा आगामी ५ वर्षका लागि बन्ने सरकारको टुंगो लाग्ने छ ।

    यसै राज्यका वर्तमान मुख्यमन्त्री नितिश कुमारले यो आफ्नो अन्तिम चुनाव भएको भन्दै अर्को पटकबाट आफु विधान सभामा उम्मेदबार नबन्ने घोषणा गरेका छन्।


    बिहीबार चुनाव अभियानको समेत अन्तिम दिन हो । यस दिन आयोजित र्यालीलाई सम्बोधन गर्दै यो चुनाव अन्तिम रहेको भन्दै भोट मागेका हुन् ।

    उनले भने, ‘आज निर्वाचन प्रचारप्रसारको अन्तिम दिन हो, एक दिनपछि मतदान हुँदैछ, मलाई तपाईहरूले विधान सभाका लागि मतदान गर्ने यो अन्तिम पटक हो, अन्तिमको मौका राम्रो भयो भने सधैँ राम्रो हुन्छ।’

  • भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान

    भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधी प्रदान

    काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शितल निवासमा आयोजित एक विशेष समारोहणमा भारतीय सेनाध्यक्षलाई उक्त उपाधी प्रदान गरेकी हुन् ।

    नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन लामो समयदेखि रहीआएको छ । भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणका सिलसिलामा बुधबार काठमाडौं अवतरण गरेका थिए । उनी बुधबार व्यक्तिगत भ्रमणमा व्यस्त रहे ।

    आज दोस्रो दिन भने उनी व्यस्त रहे । आज उनले प्रधानसेनापतीसँग द्धिपक्षीय सैन्य सम्बन्धका विषयमा छलफल गरेका छन् । आजै नेपाल र भारतीय सेनाबीच सहयोग आदान प्रदान समेत भएको छ । उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

  • च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित, युनाइटेड र पीएसजी पराजित

    च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित, युनाइटेड र पीएसजी पराजित

    काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलहरुमा ठूला क्लवले अत्यासित हार बेहोरेका छन् । म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेइन (पीएसजी) पराजित भए । यी दुबै क्लव एउटै समुहमा छन् ।

    तर, तुलनात्मक रुपमा कमजोर टीमबाट ठूला क्लव हारेका हुन । यता, बार्सिलोनाले भने लगातार तेस्रो जित निकालेको छ । म्यान्चेस्टर टर्कीको इस्तानबुल बेसाकसेहिरसँग २–१ ले पराजित भयो । डेम्बा बाले खेलको १२ औं मिनेटमा गरेको गोलबाट अग्रता बनाएको इस्तानबुलका लागि इडिन भिस्काले ४० औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

    युनाइटेडका लागि ४३ औं मिनेटमा एन्थोनी मार्सलले गोल गरे । त्यसपछि भने कुनै गोल हुन सकेन । अर्को खेलमा पीएसजी आरबी लेइपजिगसँग २–१ ले नै पराजित भयो ।

    एन्जेल डी मारियाले खेलेको छैटौं मिनेटमै गोल गरी पीएसजीलाई अग्रता दिलाएका थिए । पिइसजीले १५ औं मिनेटमा पेनाल्टी पाएको थियो । त्यसलाई डीमारियाले गोलमा परिणत गर्न भने सकेनन् ।
    क्रिष्टोफर एनकुन्कुले खेलको ४१ औं मिनेटमा लेइपजिगका लागि बराबरी गोल गरे। दोस्रो हाफको ५७ औं मिनेटमा पेनाल्टीबाट लेइपजिगका इडिन फर्सवर्गले गोल गरे ।

    यता, बार्सिलोनाले भने डाइनामो किभलाई २–१ ले पराजित गरेको छ। बार्सिलोनाका लागि कप्तान मेस्सीले खेलको पाँचौं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । दोस्रो गोल ६५ औं मिनेटमा जेरार्डले गरेका थिए। किभका लागि ७५ औं मिनेटमा टीसिग्यानकोभले गोल गरे ।

    प्रतियोगितामा आज नै सम्पन्न अन्य खेलमा चेल्सीले स्टेड रेनेसलाई ३–०, बोरुसिया डर्टमन्डले क्वब व्रगलाई ३–०, युभेन्टस्ले फेरेनभारोसलाई ४–१, सेभिल्लाले क्रास्नोडारलाई ३–२ ले पराजित गरेका छन् । जेनिट सेन्ट पिटर्सवर्ग र लाजियोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?

    राष्ट्रपति निर्वाचन : बाइडन जीत नजिक, ट्रम्पको एक्सन के होला ?

    वासिंटन । अमेरिकी राष्ट्रपति पदको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । डेमोक्रेटिक उम्मेदवार जो बाइडन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धाका बीच बिहीबार बिहानसम्म बाइडन बलियो देखिएका छन् । कुल २ सय ७० इलेक्टोरल मत ल्याउने उमेदवार विजयी हुन्छन् ।

    एशोसिएशन प्रेसले गरेको अपडेट अनुसार अहिलेसम्म बाइडनले २६४ मत प्राप्त गरिसकेका छन् । अब उनी जितबाट मात्र ६ मत कम छन् । उता, ट्रम्प भने अहिले निकै तल छन् । उनको मात्र २१४ मत रहेको छ ।

    अधिकांश राज्यको नजिता सार्वजनिक भइसकेको छ । अब ४ वटा राज्यको मात्र मत आउन बाँकि रहेको छ । उता, दुबै उमेदवारले आफ्नो जित भएको दावि गरिरहँदा महत्वपूर्ण राज्यहरुमा ट्रम्पलाई झट्का लाग्ने देखिएको छ ।

    ट्रम्पले भने केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने चेतावनी समेत दिइसकेका छन् । ट्रम्पले पेन्सल्भेनियामा धाँधलीको आरोप लगाएका छन् । यद्दपी यहाँ उनकै सामान्य अग्रता रहेको छ ।

  • भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

    भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

    काठमाडौं । तीन दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन काठमाडौंका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमणमा रमाए । भारतीय वायु सेनाको जहाज चढेर काठमाडौं आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल पुगेका थिए ।

    त्यसपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किए । सर्वप्रथम उनी पत्नी विनासँगै वसन्तपुर पुगेर कुमारीको दर्शन गरेका थिए । त्यहाँ उनलाई नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले कडा सुरक्षा व्यवस्था मिलाएका थिए । उनले बसन्तपुर क्षेत्रको चाखपूर्वक भ्रमण गरे । त्यसपछि भने उनी पशुपतिनाथ मन्दिर दर्शनमा पुगेका छन् ।

    उनलाई सैनिक प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ । नरवणेको नेपाल भ्रमणको मुख्य कार्यक्रम भने बिहीबार आयोजना हुँदैछ । उनलाई राष्ट्रपति भवन शितलनिवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिने छ । सोही दिन उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन् ।

    शुक्रबार बिहान उनी आर्मी स्टाफ कलेज शिवपुरी पुगेर त्यहाँ तालीम लिइरहेका सैनिकसँग अन्तरक्रियाको कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको कार्यक्रम समेत सोही दिन राखिएको छ । उनी शुक्रबार नै स्वदेश फर्कने छन् ।