Category: विश्व

  • ह्यारी र मेघनको शाही उपाधी खारेज

    ह्यारी र मेघनको शाही उपाधी खारेज

    लण्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनको शाही उपाधी खारेज भएको छ ।

    अब उनीहरुले हिज–हर रोयल हाइनेस उपाधि प्रयोग गर्न पाउने छैनन् । यसका साथै पब्लिक फन्डका रुपमा प्राप्त हुने रकमको भोगाचलन समेत रोकिएको छ ।

    बेलायती राजदरबारले शनिबार यस्तो घोषणा गरेको हो। राजकुमार दम्पतीले राजखानदानबाट अगल बस्ने निर्णय गर्दै त्यसको जानकारी महारानीलाई गराएका थिए ।

    अब यो दम्पतीले बेलायतकी महारानीलाई औपचारिक रुपमा प्रतिनिधित्व गर्न सक्ने छैनन् ।

    ड्युक एण्ड डचेस अफ ससेक्स (ह्यारी दम्पती)को लागि करदाताबाट प्राप्त भएको २ दशमलब ४ मिलियन पाउण्ड रकममा अब यो दम्पनीको हक नरहने दरवारले उल्लेख गरेको छ ।

    सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरुबीच बैठक बसेको थियो । बैठकका निर्णय शनिबार मात्र सार्वजनिक गरिएको हो ।

    बेलायती महारानी एलिजावेथका उनीहरु नाती पुस्ता हुन् । महारानीले परिवारको बारेमा रचनात्मक र सहयोगी बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेकी छिन् ।

  • एमसीसीबारे अमेरिकाले दियो १० बुँदै स्पष्टिकरण

    एमसीसीबारे अमेरिकाले दियो १० बुँदै स्पष्टिकरण

    काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे उठेका विभिन्न प्रश्नबारे प्रष्ट पारेको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले यस परियोजनामा सैन्य संलग्नता अमेरिकी कानूनद्धारा नै निषेध भएको जनाएको छ ।

    नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न खेमामा एमसीसी परियोजना इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै व्यापक विरोध भइरहेको छ ।

    यही सन्दर्भमा अमेरिकाले स्पष्टिकरण दिएको हो । दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदाबारे स्पष्टिकरण दिएको छ ।

    यस्तो छ अमेरिकाको तर्क

    १. नेपालको नेतृत्वको आग्रहमा अमेरिकी सरकारले सन् २०१२ मा नेवालसँग सहकार्य गर्दैैै एमसीसी कम्प्याक्टको योजना विकास गर्ने कार्यको थालनी गरेको हो ।

    २. प्रत्येक सरकार र प्रत्येक नेपाली राजनीतिक दलले सत्तामा छँदा आर्थिक विकासका लागि नेपालमा एमसीसी कम्प्याक्ट सम्पन्न गर्ने इच्छा व्यक्त गरेका थिए ।

    ३. एमसीसी परियोजना विशुद्ध रुपमा आर्थिक विकासमा केन्द्रित छ । विद्युतको लाइन निर्माण र सडकको स्तरोन्नततीमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य छ ।

    ४. एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तवमा अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ ।

    ५. एमसीसीमा सहभागी हुनका लागि नेपालले कतै पनि सम्मिलित हुनु पर्दैन व हस्ताक्षर हुनु पर्दैन ।

    ६. यो ५० करोड डलर एक अनुदान हो, जसमा कुनै पनि स्वार्थ छैन, व्याजदार छैन वा कुनै लुकेको प्रावधान छैन । नेपालले गर्नुपर्ने भनेको सहमति भइसकेको परियोजनाहरुमा उक्त रकम पारदर्शी रुपमा खर्च गर्न प्रतिवद्ध हुनु मात्र हो ।

    ७. एमसीसीले नेपालमा कुनै परियोजनाहरुमा खर्च गर्ने भन्ने विषय नेपालको आफ्नै प्राथमिकताहरुका आधारमा नेपालीहरु नै प्रस्ताव र निर्क्यौल गरेका हुन् ।

    ८. एमसीसीको प्रावधानअनुसार यी परियोजनाहरुको कार्यान्वयनको नेतृत्व गर्न नेपालले नेपालीलाई नै काममा लगाउनु आवश्यक छ ।

    ९. एमसीसी परियोजनाहरु टेन्डरहरु खुला, पारखर्शी र सबैका लागि उपलब्ध छन् ।

    १०. एमसीसीले काम गर्ने प्रत्येक मुलुकमाझै‌ं नेपालमा पनि संसदीय अनुमोदन जरुरी छ । यसबाट पारदर्शिता स्थापित हुन्छ र नेपालीहरुलाई परियोजनाबारे बुझ्ने अवसर प्राप्त हुन्छ ।

  • बेल्जियमकी राजकुमारी नेपाल आउँदै, एक साता बस्ने

    बेल्जियमकी राजकुमारी नेपाल आउँदै, एक साता बस्ने

    काठमाडौं । बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउँदैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार एस्ट्रिड आगामी आइतबार (५ माघ)मा नेपाल आउनेछिन । उनी नेपालमा एक साता बस्ने छिन् ।

    नेपाल बसाईका अवसरमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली र स्वास्थ तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेट्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

    राजकुमारी एस्ट्रिड कैलाली, नवलपरासी र चितवनको भ्रमणमा समेत निस्कने भएकी छिन् ।

    कैलाली भ्रमणका सिलसिलामा उनले क्षयरोग सेन्टरको उद्घाटन गर्नेछिन् । त्यहाँ रहेका बिरामीसँग समेत उनले भलाकुसारी गर्ने भएकी छिन् ।

    उनी नवलपरासीस्थित मिडपोइन्ट अस्पतालमा क्षयरोग र कुष्ठरोगका बिरामीसँग भेट्ने कार्यक्रम राखिएको छ । उ

    नी अध्यक्ष रहेको बेल्जियमको गैरसरकारी संस्था डमियन फाउन्डेसनले यस अस्पतालमा सहयोग गरिरहेको छ । ‌

    यस भ्रमणले नेपाल र बेल्जियमबीच दुईपक्षीय सम्बन्ध अझ प्रगाढ हुने परराष्ट्र मन्त्रालयको भनाई रहेको छ ।

    नेपाल भमण वर्ष चलिरहँदा बेल्जियमबाट भएको यस उच्चस्तरीय भ्रमणले यूरोपका पर्यटक आगमनमा समेत सकारात्मक भूमिका खेल्नेछ ।

  • रुसमा राजनीतिक परिवर्तन, मन्त्रीमण्डलले दियो राजिनामा

    रुसमा राजनीतिक परिवर्तन, मन्त्रीमण्डलले दियो राजिनामा

    काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि रुसको मन्त्रीमण्डलका सबै सदस्यले राजिनामा गरेका छन् ।

    रुसका प्रधामन्त्री दिमित्री मेदभेदेभ सहित उनको मन्त्रिपरिषदका मन्त्रीले राजीनामा गरेका हुन् ।

    प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको उल्लेख गरेका छन् । पुटिनले समेत प्रधानमन्त्री पदबाट राजिनामा दिएका दिमित्रिसहित सबै सदस्यलाई धन्यबाद ज्ञापन गरेका छन् ।

    राष्ट्रपतिको रुपमा पुटिनले सन २०२४ सम्म शासन गर्दैछन् । उनले स्टेट काउन्सिलको शक्ति बढाउने प्रस्ताव पनि पेश गरेका हुन ।

    यसको अध्यक्षता पुटिन आफैले गर्छन् । प्रधानमन्त्रीबाट राजीनामा दिए लगत्तै दिमित्रीलाई पुटिनले राष्ट्रिय सुरक्षा परिषद्को उपप्रमुखमा नियुक्त गरेका छन्।

    एजेन्सी

  • के रंगभेदी ‘पपुलिष्ट’ राजनीतिकै शिकार भएका हुन् त राजकुमार ह्यारी दम्पत्ती? किन बसाउँदैछन् क्यानडामा नयाँ घर ?

    के रंगभेदी ‘पपुलिष्ट’ राजनीतिकै शिकार भएका हुन् त राजकुमार ह्यारी दम्पत्ती? किन बसाउँदैछन् क्यानडामा नयाँ घर ?

    प्रभात भट्टराई/अमेरिका
    राजकुमार ह्यारी एक विन्दास व्यक्ति थिए । हँसिलो स्वभावका उनी धेरैका लागि रोल मोडल नै बने । दरबारी रवाफ भन्दा आम जीवनमा रमाउँथे । कहिले बन्दुक बोकेर आफ्ना सैनिकहरुको हौसला बढाउन अफगानिस्थानको युद्ध मैदानमा पुग्थे त कहिले भूकम्पले क्षतविक्षत नेपालका विकट गाउँमा गएर श्रमदान गर्थे । दुई बर्ष अघि अमेरिकी अभिनेतृ मेघन मर्केलसँग विवाह बन्धनमा बाँधिएसँगै ह्यारीको विन्दास जीवनले व्यवहारिकताको मोड लियो ।

    हुनत मे १९ सन् २०१८ बेलायतमा उमंगको दिन थियो । सन् १९९७ मा आमा डायनाको मृत्यु हुँदा अवोध टुहुरा राजकुमारहरु विलियम र ह्यारीलाई देखेर भक्कानिएका बेलायती मनहरुले ह्यारीको विवाहका दिन दिल खोलेर खुसी मनाएका थिए । दाजु विलियम यस अघिनै जोडि बाँधेर पिता समेत भइ सकेको हुँदा बेलायतीहरु ब्यग्रताका साथ ह्यारीलाई बेहुलाको रुपमा हेर्न पर्खि रहेका थिए । जब त्यो क्षण आयो उनीहरुले सठकमै ओर्लिएर स्वागत गरे ।

    आम बेलायतीका लागि त्यो एक उत्साहका दिन थियो भने स्वयं राजकुमार ह्यारी विन्दास जीवनबाट जिम्मेवारीमा बाँधिदै थिए । उनको पारिवारिक दायित्वको गाँठो दिन प्रतिदिन कसिलो हुन थाल्यो । गत मे मा ह्यारी र मेघन बाबु आमा बने । बाहिरबाट हेर्दा सबै ठिकठाकै थियो । तर, गत साता ह्यारी र मेघनका नाममा अचानक एउटा विज्ञप्ती आयो । जसमा लेखिएको थियो– ह्यारी दम्पती अब आर्थिक रुपमा स्वतन्त्र बन्ने र दरवारी जीवनशैली त्यागेर आम दैनिकीमा फर्किने ।

    यो विज्ञप्तिले विश्वभर एक तरंगको अवस्था ल्यायो । किनभने बेलायती राजपरिवार विश्वभरका परिवारका लागि एक ‘आइडल’ नै हो । जहाँ रानी एलिजावेथको छत्रछाँयामा सबै खुसी छन् । आपसमा प्रेम छ । तर, ह्यारी र मेघनका लागि किन त्यो छहारी अपुग भयो ? विश्वभरबाट यो प्रश्न ओइरियो । सबैले आ–आफ्नै शैलीमा विश्लेषण समेत गर्न भ्याए । अन्ततः अनन्त प्रश्नको बर्षा भएपछि रानी आफैँले सोमबार एक विज्ञप्ती जारी गरेकी छिन् ।

    जसमा उनले आफ्ना नाती र नातीनी बुहारीको स्वतन्त्र जीवन बिताउने निर्णयको कदर गर्दै उनीहरुलाई शुभकामना दिएकी छिन् । ‘हामी अवश्य चाहन्थ्यौँ की उनीहरु दरवारकै अंग रहिरहुन्, रानीले विज्ञप्तीमा भनेकी छिन्– तर हामी उनीहरुको निर्णयलाई कदर गर्न चाहन्छौँ र अब उनीहरु स्वतन्त्रता पूर्वक आफ्नो जीवन निर्वाह गर्दै मेरो परिवारको अभिन्न अंगको रुपमा रहनेछन् ।’ ह्यारी र मेघनले नयाँ घर बसाउने शिलशिलामा दरबारको तर्फबाट पूर्ण सहयोग हुने र उनीहरु अन्तरिम कालमा आफुसँगै रहने समेत उनले प्रष्ट पारेकी छिन् ।

    ह्यारी र मेघनले विज्ञप्ति मार्फत आफुहरुले बेलायत र उत्तर अमेरिकामा आधा आधा समय विताउन चाहेको बताएका थिए । त्यो सुन्ने वित्तिकै धेरैले मेघनको माइती न्यूयोर्कमा शाही दम्पतीले घर बसाउने खोजेको अड्कल काटेका थिए । तर, पछि उनीहरु अमेरिका नभइ क्यानडामा ‘सेटल’ हुन खोजेको प्रष्ट भएको छ ।

    केही समय देखि ह्यारी र उनका दाजु विलियमको खटपट भएको समाचार पनि मिडियाहरुमा आएका थिए । तर, उनले दरबार छोड्नुका पछाडिको कारणनै त्यही हो भन्ने निक्र्यौल चाहिँ निस्किन सकेको छैन । बेलायती ट्याबलोइट मिडियाको रंगभेदी समाचारले ह्यारी दम्पतीलाई आजित बनाएको र अहिले बोरिस जोनसनको सरकारले रंगभेदलाई थप मलजल गरेका कारण उनीहरुले यो निर्णय लिएको एक खाले विश्लेषण भइ रहेको छ । यो विश्लेषण तुलनात्मक रुपमा सत्यको नजिक जस्तो पनि लाग्छ । किनभने उनीहरुले बेलायत छोडेर क्यानडामा घर बसाउने निर्णय गरेका छन् । अहिले पश्चिमा विश्वमा क्यानडा मात्र यस्तो देश रहेको छ जहाँ ‘लिबरल डेमोक्रेटिक’ सरकार छ ।

    अमेरिकाको ट्रम्प सत्ता र बेलायतको जोन्सन सरकार दुबै दक्षिणपन्थी मार्गदर्शनमा चलेका छन्, जसको राजनीतिक गुह्यमा रंगभेदनै लुकेको हुन्छ । ह्यारी जन्मेको बेलायत र मेगन जन्मेको अमेरिका दुबैतिर नभइ बसोबासका लागि क्यानडा रोज्नुले उनीहरुले समाजको समन्यायीक सोचमाथि पनि बिचार पुर्याएको विश्लेषण गरिएको छ ।

    ह्यारीले एक दुई पटक मुखै फोरेर बेलायतको ट्याबलोइट पत्रिकाले आफ्नी श्रीमतीप्रति गरेको खेदोले आफुहरुलाई हैरान बनाएको बताएका थिए । मेघन अश्लेत मूलकी हुन् । बिबिसीकै एक प्रस्तोताले ह्यारी र मेघनको सन्तानलाई चिम्पान्जीसँग तुलना गरेकी थिइन् । ब्रिटिस मिडिया मेघनप्रति यति पुर्वाग्रही थियो कि उनले जे गरे पनि खेदो मात्र खन्थ्यो । उनी ‘ब्रिटिस भोग’ नामक पत्रिकाको अतिथी सम्पादक बनिन् । बाँकी सारा उनको विरुद्ध खनिए । जबकी मेघनकी जेठानी केट मिडल्टनले हफिङ्टन पोष्टको त्यही जिम्मेवारी स्वीकार्दा सबैतिरबाट वाही वाही पाएकी थिइन् । साेमबार मात्र बजफिड मिडियाले ब्रिटिस मिडियाले मिडल्टन र मेघन माथि ब्रिटिस मिडियाको भेदभावपुर्ण रिपाेर्टिङका २० उदाहरण प्रकाशित गरेको थियो ।

    यी सबै हर्कतबाट ह्यारी दम्पती प्रष्ट भइ सकेका थिए की समस्या मेघनको काम गराईमा होइन उनको जन्ममा छ कि उनी स्वेत रगतको हिस्सा भइनन् । कम्तिमा छिटो भन्दा छिटो ब्रेक्जिट फत्ते गरेर बाँकी अश्वेतहरुलाई थप निशाना पार्ने मिसनमा हिँडेको बोरिस जोन्सन सत्ताको बेलायतमा उनीहरुले कामना गरेको समता हासिल हुन सक्दैन, जहाँ व्यक्तिको रंग होइन विवेक हेरेर व्यवहार होस् । उनीहरुले दरबार छोड्न जारी गरेको विज्ञप्तिमा प्रष्ट संकेत पनि गरेका छन् – ‘छोरालाई अध्यात्म केन्द्रित वातावरणमा हुर्काउने चाहना अनुरुप’ भनेर । यो वाक्यले उनीहरुको औडाहा प्रष्ट पारेको छ । यो बुझ्न कठिन छैन की अध्यात्मलाई उनीहरुले समता र मानवताको रुपमा संकेत गरेका हुन् । उनीहरुले आफ्ना छोरालाई जन्मिने वित्तिकै शाही पदवी लिन समेत अश्विकार गरेर एक न एक दिन फरक संसारमा जाने लक्षण देखाइ सकेका थिए ।
    (एजेन्सीहरुको सहयोगमा, तश्वीर एजेन्सी)

  • परवेज मुसर्रफमाथि मृत्युदण्डको फैसला रद्द

    परवेज मुसर्रफमाथि मृत्युदण्डको फैसला रद्द

    काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला रद्द गरिएको छ ।

    पाकिस्तानको लाहोर हाइकोर्टले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

    उक्त फैसला गैरकानुनी भएको भन्दै अदालतले उक्त आदेश रद्द गरेको छ । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै पुरनरावेदन दिएका थिए ।

    उक्त निवेदनमाथि अदालतको पूर्ण इजलासले बहस गरेको थियो । बहसपछिको फैसलामा यस्तो निर्णय आएको हो ।

    अदालतको फैसलाप्रति पाकिस्तानको सेनाले समेत आपत्ति जनाएको छ । फैसलामा विशेष अदालतका सबै फैसला रद्द गरिएको संचारमाध्यमले उल्लेख गरेका छन् ।

    एडिसनल अटर्न जनरल इस्तियाक ए. खानका अनुसार यो फैसलापछि मुसर्रफलाई सुनाइएका सजाय निस्प्रभावि हुने भएका छन् ।

    १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।

    एजेन्सी

  • नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने

    नेपालले चीनका सात बन्दरगाह प्रयोग गर्न पाउने

    काठमाडौं । नेपालले अब चीनका सात वटा बन्दरगाह प्रयोग गरी मालसामान ढुवानी गर्न सक्ने भएको छ । त्यसमध्ये चारवटा समुन्द्री र दुई वटा सुख्खा बन्दरगाह रहेका छन् ।

    नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा ल्याइएपछि यस्तो बाटो खुलेको हो ।

    उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालका अनुसार चीनको तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह अब नेपालले पनि प्रयोग गर्न सक्ने भएको छ ।

    लन्झाउ, ल्हासा र सिगात्सेस्थित सुख्खा बन्दरगाहसमेत नेपालका लागि खुला भएको हो । यता, उत्तरी नाकामध्ये ६ वटा नाका प्रयोग गर्ने गरी दुबै देशबीच सहमति भएको छ।

    अब नेपाल र चीनबीच रसुवा, तातोपानी (कोदारी), हुम्लाको यारी संखवासभाको किमाथाङ्का, मुस्ताङको नेचुङ (कोरला) र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका प्रयोगमा ल्याउन सक्ने गरी सहमति भएको छ ।

    नेपालमा दर्ता भएका सवारी साधन सिगात्सेसम्म जान सक्ने गरी समेत नेपाल र चीनबीच पारवहन सन्धी भएको थियो । यी प्रावधान कार्यान्वयनमा आएका उनले जानकारी दिए ।

    भारतसँग अधिक निकट रहेको नेपालको वैदेशिक व्यापार चीनतर्फ बिस्तार गर्ने भनिएपनि भारतसँग सहज वातावरण चीनसँग छैन ।

    यता, भारतसँग भएको पारबाहन सम्बन्धि सन्धि पनि समेत नवीकरणको तयारी गरिएको उनले जानकारी दिए । नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर नेपालमा आयात निर्यात गर्ने बाटो खुल्नेछ ।

  • ताइवानमा चीन विरोधी नेतृ राष्ट्रपतिमा निर्वाचित

    ताइवानमा चीन विरोधी नेतृ राष्ट्रपतिमा निर्वाचित

    काठमाडौं । हङकङमा भएको सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेकी नेतृ साइ इङ्ग विन ताइवानको राष्ट्रपति पदमा निर्वाचित भएकी छन् ।

    यसले चीनलाई धक्का लागेको विश्लेषण अन्तर्राष्ट्रिय राजनीतिज्ञहरुले गरेका छन् । संचारमाध्यमहरुका अनुसार शनिबार सम्पन्न निर्वाचनमा उनले ५७ प्रतिशत भोट प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी छिन् ।

    राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साइ इङ्ग विन र कुमिन्तांग पार्टीका नेता खान ग्वो यी प्रतिस्पर्धा गरेका थिए ।

    राष्ट्रपति विनले चीन र ताइवानको सम्बन्धमा चीनको अधिक निकटता मन नपराउने नेतृका रुपमा चिनिन्छिन । उनका प्रतिस्पर्धी खान ग्वो यीले चीनसँग सम्बन्ध सुधारको नारा अगाडी सारेका थिए । तर, जनताले त्यसमा समर्थन दिएनन् ।

    यी दुबै देशले आफ्नो भूभाग चीन भएको दावि गर्दै एक अर्काको सम्प्रभुता स्वीकार गर्दैनन् ।

    सोहीकारण लामो समयदेखि यहाँ विवाद भइरहेको छ । ताइवान १९५० देखि नै स्वतन्त्र राज्यका रुपमा रहँदै आएको छ ।

    तर, चीनले भने यसलाई आफ्नो विद्रोही राज्य मानेको छ ।

    एजेन्सी

  • युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो

    युक्रेनी जहाज आफैले झारेको इरानले स्वीकार गर्यो

    तेहरान । युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज भुलवस दूर्घटनामा परेको इरानले स्वीकार गरेको छ । १७६ यात्रुको ज्यान जाने गरि भएको जहाज इरानकै कारण झरेका स्वयमः इरानी अधिकारीहरुले जनाएका छन् ।

    इरानको सेनाले क्षेप्यास्त्र प्रहार गरी जहाज खसालेको पुष्टी भएको हो ।

    राष्ट्रपति हसन रुहानीले ट्विट गर्दै सेनाको आन्तरिक छानबिनबाट मानवीय त्रुटीका कारण विमानमा मिसाइल प्रहार भएको देखिएको र भयावह दुर्घटना भएको स्वीकार गरेका छन् ।

    इरान सरकारले समेत यसप्रति माफी मागेको छ । राष्ट्रपतिले दूर्घटना माफीयोग्य नभएको भन्दै उनले यसलाई ठूलो वियोगको संज्ञा दिएका छन् ।

    इरानले अमेरिकी सेनाको जहाज भन्ने ठानेर उक्त जहाजमा मिसाइल हानेको पुष्टी भएको हो । तीन दिन अघि इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा क्षेप्यास्त्र हानेको थियो ।

    सोही दिन जहाज समेत दूर्घटनामा परेको थियो । युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको यो विमान उडान भर्नासाथ बुधबार बिहान इरानको राजधानी तेहरानमा झरेको थियो ।

    दूर्घटनापछि युरोप र अमेरिकाले जहाज दूर्घटनामा इरानकै हात रहेको बताएका थिए । तर, इरानले भने स्वीकार गरेको थिएन् ।

    अहिले भने इरान आफैले यसको पुष्टी गरेको छ । इरानबाट युक्रेनको राजधानी किभतर्फ उडान भर्दै गरेको यो जहाजमा उडान दलका नौ सदस्य र १६७ यात्री सवार रहेका थिए।

    दूर्घटनामा इरानका ८२, क्यानडाका १२ र युक्रेनका ११ नागरिकको ज्यान गएको हो ।

    आकाशमा उडिरहेको विमानले संवेदनशील सैन्य क्षेत्रतर्फ अप्रत्याशित रुपमा उडान मोडेपछि अमेरिकी सैन्य विमान ठानेर आक्रमण गरेको इरानले जनाएको छ ।

    विमान रिभोल्युस्नरी गार्डको सैन्य क्षेत्रको निकै नजिक आएको र मानवीय भूलका कारण विमानमाथि मिसाइल आक्रमण भएको इरानको भनाई छ ।

  • पाकिस्तानमा आईएसद्वारा बम विस्फोट, १५ मारिए

    पाकिस्तानमा आईएसद्वारा बम विस्फोट, १५ मारिए

    कराँची । पाकिस्तानमा बम विस्फोटमा गरी कम्तिमा १५ जना मारिएका छन् । शुक्रबार राती भएको विस्फोटको जिम्मा आइएसले लिएको छ ।

    पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मस्जिदमा विष्फोट भएको हो ।

    दुई दर्जनभन्दा बढी मानिस घाइते भएको बताइएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर भएका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    घटनामा क्वेटाका प्रहरी अधिकृत अमानुल्लाहको समेत मृत्यु भएको समाचार माध्यमहरुले लेखेका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

  • भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो

    भारतमा बस र ट्रक ठोक्किदा लागेको आगोले २० को ज्यान गयो

    कन्नौज । भारतको उत्तरप्रदेशस्थित कन्नौजमा एक निजी बस र ट्रक ठोक्किदा बसमा भयंकर आगो लागेको छ । आगोमा जलेर कम्तिमा २० जनाको मृत्यु भइसकेको प्रहरीले पुष्टी गरेको छ ।

    करीव ४१ जना सवार भएको अनुमान गरिएपनि यकिन यात्रु संख्या पत्ता नलागेको बताइएको छ । यो स्लिपिंग बस थियो ।

    आगलागीका कारण कैयौं मानिस घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    २१ जनालाई उद्धारपछि अस्पताल लगिएको छ । कतिपयले बसबाट हामफालेर ज्यान जोगाएका छन् ।

    एसी जडान भएको बस र ट्रक एकआपसमा ठोक्किएपछि आगो लागेको बताइएको छ ।

    घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले मृतक र घाइतेहरुका लागि आर्थिक सहायताको घोषणा गरेका छन् उनले घटनाको अनुसन्धानका लागि समेत निर्देशन दिएका छन् ।

    उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई दुई दुई लाख र घाइतेहरुलाई जनही ५० हजार भारु राहत दिने घोषणा गरेको छ ।

    प्रदेश प्रहरी प्रमुख ओपी सिंहका अनुसार नजिकै रहेको डिजल ट्रक विस्फोट भएको र त्यसले बसमा समेत आगो पुर्याउँदा आगलागी भएको आंशका गरिएको बताएका छन् ।

  • अष्ट्रेलियामा आगलागीबाट २७ को मृत्यु

    अष्ट्रेलियामा आगलागीबाट २७ को मृत्यु

    सिड्नी । अष्ट्रेलियामा आगलागीका कारण २७ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले देशका विभिन्न स्थानमा भएको आगलागीमा परी २७ जनाको ज्यान गएको जानकारी दिएका हुन् ।

    उनले संसदमा बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त आंकडा सार्वजनिक गरेका हुन् । उनका अनुसार आगलागीले २१ सय ३१ घरमा क्षति पुगेको छ ।

    मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने संकेत समेत उनले गरेका छन् । अष्ट्रेलियामा दक्षिणपूर्वी भेगको जंगलमा ठूलो आगलागी भएको छ ।

    जसका कारण समग्र अष्ट्रेलियामा तापक्रम बढेको छ । जसले गर्दा जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

    अहिले भइसकेको भन्दा बढी क्षति हुन नदिन प्रयास जारी राखेको उनले बताएका छन् ।

    खासगरी कुनै पनि व्यक्तिले थप ज्यान गुमाउनु नपरोस भन्नेमा गम्भी रहेको उनले बताए ।

    आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सवैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

  • मिसाइल लागेर झरेको हो इरानमा जहाज ?

    मिसाइल लागेर झरेको हो इरानमा जहाज ?

    काठमाडौं । बुधबार इरानमा दूर्घटनाग्रस्त भएको युक्रेन एयरलाइन्सको जहाज इरानले प्रहार गरेको मिसाइलका कारण भएको सम्बन्धमा वहस शुरु भएको छ ।

    दूर्घटनामा आफ्नो मुलुकका ६३ जना नागरिक परेपछि क्यानडाका प्राधानमन्त्री जस्टिन टुडोले यस दूर्घटनाको स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।

    संचारमाध्यमहरुका अनुसार अमेरिकी अधिकारीहरुसमेत जहाज दूर्घटनामा बाह्य कारण मूख्य दोषि रहेको पाइएको छ ।

    त्यसकारण इरानले इराकस्थित सैन्य वेशमा प्रहार गरेको मिसाइलकै कारण जहाज दूर्घटना भएकोमा अधिकारीहरुले आंशका व्यक्त गरेका छन् ।

    दूर्घटनापछि इरानले ब्ल्याक बक्ससमेत जहाज निर्माता कम्पनीलाई नदिने बताएसँगै यो दूर्घटना शंकाको घेरामा आएको हो ।

    दूर्घटनामा १ सय ८० जनाको ज्यान गएको हो । क्यानेडीयन प्रधानमन्त्री जस्टिनले घटनाको प्रारम्भिक प्रमाणका आधारमा उक्त संकेत गरेको जनाएका छन् ।

    दूर्घटनामा ६३ क्यानेडियाका नागरिकसहित ८२ इरानी, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको ज्यान गएको हो ।

    इरान र अमेरिकाबीचको तनाव चलिरहेका बेला भयानक जहाज दूर्घटना भएको हो ।

    संचारमाध्यमले प्रत्यक्षदर्शीलाई उदृत गर्दै लेखे अनुसार जहाज उडिरहेको समयमा जमिनमा ठूलो विस्फोट भएको थियो । लगत्तै जहाज दूर्घटनामा परेको थियो ।

    एजेन्सी

  • मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज

    मध्यपूर्व तनावबारे नेपालले भन्यो : शान्तीपूर्ण माध्यमबाट समाधान खोज

    काठमाडौं । मध्यपूर्व तनावले प्रभावित हुने मुलुकमध्ये एक नेपालले समस्या समाधानमा शान्तीपूर्ण बाटो अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

    खासगरी ठूलो संख्यामा नेपाली कामदार रहेको र नेपाली सेना समेत तैनाथी रहेको स्थानमा उत्पन्न परिस्थितिका सम्बन्धमा नेपालले बिहीबार औपचारिक धारणा सार्वजनिक गरेको हो ।

    परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै अमेरिका र इरानबीच उत्पन्न तनाव चिन्तापूर्ण रहेको बताएको हो ।

    मन्त्रालयले त्यस क्षेत्रमा ठूलो संख्यामा कार्यरत नेपाली आप्रवासीको सुरक्षा मुलुकको प्राथमिकतामा रहेको बताएको छ ।

    ‘हामी सबै पक्षहरुलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम–कारबाही नगर्न आह्वान गर्छौ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    नेपाल सरकारले सबै प्रकारका विवाद र मतभेदलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने नेपालको अडान रहेको उल्लेख गरेको छ ।

    इरानी सैन्य कमाण्डर कसिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी मारिदिएपछि इरानले बदला लिने बताएको छ ।

    यही क्रममा इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण समेत गरेको छ । यसरी दुई देशबीचको तनावका बीच नेपालले समेत चासो राखेको हो ।

  • आक्रमणपछि इरान झन तल पर्यो : ट्रम्प

    आक्रमणपछि इरान झन तल पर्यो : ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सैन्य वेशमा गरेको आक्रमणबाट सोही देश तल परेको प्रतिक्रिया दिएका छन् ।

    इराकस्थित अमेरिकी सैन्य वेशमा आक्रमण गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतिले आक्रामणबाट अमेरिकी सेनामा कुनै पनि भौतिक क्षति नभएको दाबी गरेका छन् ।

    उता, इरानले भने बुधबारको आक्रमणमा ८० जना अमेरिकी सैनिक मारेको दावि गरेको थियो ।

    राष्ट्रपति ट्रम्पले अमेरिकी सेनामाथिको आक्रमणलाई निच व्यवहारको संज्ञा दिएका छन् ।

    अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि इरानले त्यसको बदलामा अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको थियो ।

    इरानले इराकस्थित इरबिल र अल–अस बेसक्याम्पमा एक दर्जन भन्दाबढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो ।

    ट्रम्पले अमेरिकी सेना संसारकै उत्कृट सेना भएको भन्दै यस आक्रमणले इरान आफै तल परेको उल्लेख गरे ।

  • १ सय २२ चिनियाँलाई नेपालले पठायो फिर्ता

    १ सय २२ चिनियाँलाई नेपालले पठायो फिर्ता

    काठमाडौं । नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई नेपालले फिर्ता गरेको छ ।

    अब उनीहरु ४ वर्षसम्म नेपाल छिर्न पाउने छैनन् । अध्यागमनसम्बन्धी कानून उल्लंघन गरेका उनीहरुलाई चीन सरकारकै सहयोगमा पक्राउ गरिएको हो ।

    उनीहरुलाई लिन चीनबाट दुई वटा जहाज काठमाडौंका आएका थिए । कुन्मिङबाट चाइना इस्टर्न र ग्वान्झाओबाट चाइना साउदर्नको जहाजले चीनका नागरिकलाई नेपालबाट लगेका हुन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौंबाट हत्कडी लगाएरै प्रहरीको गाडीमा उनीहरुलाई विमानस्थल पुर्याइएको थियो । नेपालले उनीहरुलाई देश निकाला गरेको छ ।

    उनीहरुलाई ९ वटा घरमा छापा मारेर पक्राउ गरिएको हो ।

    उनीहरुको साथबाट ७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान फेला परेको थियो। उनीहरुलाई अब चीनमै थप अनुसन्धान हुनेछ ।

  • इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने

    इरान जहाज दूर्घटना शंकाको घेरामा, ब्ल्याक बक्स बोइङलाई नदिने

    काठमाडौं । इरानको तेहरानमा बुधबार बिहान भएको जहाज दुर्घटना शंकाको घेरामा परेको छ ।

    यो जहाजको दूर्घटना प्राविधिक कारणले भएको हो या मिसाइल प्रहारबाट भन्ने विषयले अहिले विश्वभर चर्चा शुरु भएको छ ।

    बुधबार बिहान युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दूर्घटनामा परी १ सय ८० जनाको निधन भएको छ ।

    यस दूर्घटना पछि जहाजको ब्ल्याक बक्स जहाज निर्माता कम्पनी बोइङलाई नदिने इरानले घोषणा गरेको छ ।

    यो जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङले बनाएको हो ।

    ७३७-८०० मोडलको जहाज बुधबार बिहान तेहरानको इमाम खामेनी विमानस्थलबाट टेकअफ भएको केही समयमै दुर्घटनामा परेको थियो।

    जहाजमा आगो लाग्दा कुनै पनि व्यक्ति जिवित रहन सकेनन् । इरानका नागरिक उड्ययन प्राधिकरण प्रमुख अली अवेजादेहले जहाजको ब्ल्याक बक्स बोइङलाई नदिइने बताएका हुन्।

    यही ब्ल्याक बक्सका कारण दूर्घटनाको ठोस कारण पत्ता लाग्ने गर्छ । किनकी यसमा पाइलट र एटीसीबीचको कुराकानी रेकर्ड भएको हुन्छ ।

    पाइलटले के कारणले जहाज दूर्घटना परेको हो, त्यसको जनाउ दिने गर्छन् ।

    अघिल्लो शुक्रबार अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीलाई मारिदिएपछि इरान र अमेरिकाबीच तनाव शुरु भएको छ ।

    बुधबार एकाबिहानै इरानले इराकस्थित सैन्य क्याम्पमा मिसाइल हानेको थियो । त्यही क्रममा निसाना जहाज बनेको हो की भन्ने आंशकामा समेत वहस शुरु भएको हो ।

    जहाज दुर्घटनामा ८२ इरानी नागरिककै ज्यान गएको छ ।

    ६३ क्यानेडियन, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको युक्रेनका परराष्ट्रमन्त्री भ्यादाइम प्रिस्टाइकोले पुष्टी गरेका छन् ।

    यो जहाज तेहरानबाट युक्रेनको राजधानी केइभ जान लागेको थियो । यो सन् २०१६ मा बनेको ब्राण्ड न्यू जहाज थियो ।

    एजेन्सी

  • अमेरिकी सैन्य अड्डामा आक्रमण गर्दै सुलेमानीको अन्तेष्टी

    अमेरिकी सैन्य अड्डामा आक्रमण गर्दै सुलेमानीको अन्तेष्टी

    काठमाडौं । इरानले आफ्ना सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अन्त्येष्टिका दौरान इराकस्थित सैन्य हवाई अखडामा आक्रामण गरेको खुलेको छ ।

    सुलेमानीलाई अन्तिम संस्कार गरिरहँदा इरानी सेनाले अमेकिरी सैन्य क्याम्पमा सिमाइल प्रहार गरेको हो ।

    त्यसपछि उनको अन्तिम संस्कार गरिएको इरानी टेलिभिजजले उल्लेख गरेको छ । सुलेमानीको अमेरिकी ड्रोन आक्रमणबाट इराकको राजधानी बगदादमा ज्यान गएको थियो ।

    त्यसको बदला लिने चेतावनी दिएको इरानले अन्तष्ेटीकै समयमा अमेरिकी हवाई अड्डामा आक्रमण गरेको हो ।

    अघिल्लो शुक्रबार सुलेमानीलाई अमेरिकले मारेको थियो । उनको गृहनगरमा बुधबार बिहान अन्तेष्टी गरिएको छ ।

    शवयात्रामा लाखौं मानिस भेला भएका थिए । मंगलबार शवयात्राका दौरान भागडौड मच्चिदा ४० भन्दा बढीले ज्यान गुमाएका थिए ।

    त्यसपछि मंगलबार उनको अन्तेष्टीको कार्यक्रम रोकिएको थियो । सुलेमानी इरानका अहिलेका सबैभन्दा लोकप्रिय सैन्य कमाण्डर थिए ।

    इरानले अमेरिकाबाट थप हमला भए अमेरिका भित्रै आक्रमणको चेतावनी समेत दिएको छ । पछिल्लो हमलाबारे ह्वाइटहाउसको भने प्रतिक्रिया सार्वजनिक भएको छैन ।

    एजेन्सी

  • इरानले अमेरिकी सैन्य अखडामा आक्रमण थाल्यो

    इरानले अमेरिकी सैन्य अखडामा आक्रमण थाल्यो

    काठमाडौं । इरानले इराकमा रहेका अमेरिकी सैन्य अखडामा आक्रमण थालेको छ । आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीलाई अमेरिकाले इराकमै मारेको थियो ।

    त्यसको कडा बदला लिने चेतावनी दिएको अमेरिकाले इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा ब्यालेस्टिक मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले पुष्टीसहित उल्लेख गरेका छन् ।

    इरानले करीव १ दर्जन यस्तो मिसाइल अमेरिकी हवाई अड्डामा प्रहार गरेको छ । दुई वटा हवाई अड्डालाई इरानले लक्षित गरेको छ ।

    अमेरिकी रक्षा विभागले समेत इरबिल र अल असदका अलग अलग सैन्य अखडामा इरानबाट मिसाइल आक्रमण भएको जनाएको छ ।

    यद्दपी मावनीय हताहतीको पुष्टि भएको छैन । इरानको सरकारी टेलिभिजनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको उल्लेख गरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सैन्य कमान्डरको ज्यान गएको भन्दै त्यसको बदलामा आक्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाई उदृत गर्दै इरानी टेलिभिजनले जनाएको छ ।

    इरानले अमेरिकामा आक्रमण गरे त्यसको बदलामा इलाका ५८ वटा शहरमा आक्रमणको चेतावनी अमेरिकाले समेत दिएका कारण अब मध्यपूर्व झन अशान्त बन्ने संकेत देखिएको छ ।

    इरानले अमेरिका र उसका सहयोगीलाई समेत आक्रमण गर्ने चेतावनी दिएको छ ।

    एजेन्सी

  • अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति

    अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति

    सुपेन्द्र बस्नेत / बोष्टन

    सृष्टिकाे भरपुर  ब्याख्या गर्ने सबैभन्दा पुरानाे दस्तावेज हाे – धर्मशास्त्र । अनि मानव सभ्यता बिकासकाे जग , मेरुदण्ड र ऐतिहासिक धराेहर पनि मानिन्छ, धर्मशास्रलाई । चाहे त्याे जुनसुकै धर्म किन नहाेस् । जसले मानवलाई  प्राणी जगतमा सर्वाेकृष्ट, चेतनशील, बुद्धिमानी, पराेपकारी प्राणी र प्राणी जीवन चक्रकाे सबैभन्दा उत्तम चाेला हाे भनेर ब्याख्या गर्दछ । यसलाई केही हदसम्म बिज्ञानले पनि स्विकार गरेकाे छ ।त्यसैले भनिन्छ कि मनुष्य चाेला पाउनुमा गर्व गर्नु पर्दछ। समाज र धर्मशास्त्रले  घाेटी घाेटी अजम्मरी बुटी भए झैं यस्तै शिक्षा दिलाएर धेरथाेर दिक्षीत पारेकाे पात्रहरु मध्यकै एक पात्र हुँ म पनि । तर समाजमा घटेका केही घटनाहरुले कहिले काही प्राप्त दिक्षाप्रति नै संका उब्जाउदछ र बर्गेल्ती प्रश्नहरु जन्माउदछ । अनि भगवानप्रतिकाे आस्था, विस्वास र आड भराेसा डगमगाउन पुग्दछ । जाे यतिखेर मैले अनुभूति गरिरहेकाे छु । यधपी यही र उस्तै परिवेसमा रहेर भगवानप्रतिकाे आस्था,विश्वास र आडभराेसामा तत्काल पारपाचुके गरेकाे फैसला गरेर पुर्णबिराम लगाई हाल्ने आँट भने अझै जुटिसकेकाे छैन । अस्ट्रेलियाकाे जंगलमा  त्यही सर्वाेकृष्ट मानिएकाे मानिसकै कारण लागेकाे डडेलाेले लाखाैं निरथत्था प्राणीकाे ज्यान गएकाे छ र ज्यान जाने क्रम अझै जारी नै छ । आखिर हामीले सुनेकाे र बुझेकाे झै सबै तजबिजीकाे हकदार भगवान हाे भने कसैकाे पनि भलाे नहुने यस्ताे अप्रीय घटना किन घटाइयाे वा घटी सकेपछि पनि  किन राेकिएन ?  प्राकृतिक नियम अनुसार नै बाँची रहेका जीवजन्तुहरुकाे अकालमा किन ज्यान लिइयाे ? मानवले मानवता किन गुमाउदै छ ? खाेई त भगवान ? यी र यस्ता प्रश्नहरुबाट म अनुत्तरित छु । कतैबाट टालटुले जवाफ पाइए पनि धार्मिक शास्त्रकै परिधि भित्र रहेर यथाेचित चित्तबुझ्दाे जवाफ दिन धुरन्धर धार्मिक  ब्याख्याकारहरुलाई पनि निकै ठुलाे संकट परेकाे छ। 

    मानिस स्वभावैले र सामाजिक परिवेशले हरपल सुख प्राप्तिका लागि भाैंतारी रहन्छ । तर ऊ मानसिक भन्दा पनि भाैतिक सुखमा केन्द्रित रहन्छ । भाैतिक सुख प्राप्त भए पछि मात्र मानसिक सुख प्राप्ति हुन्छ र यही सुखकाे उत्कर्षमा आनन्दानुभूति प्राप्त गर्न सकिन्छ भन्नेमा आम मानिस विश्वास गर्दछन् । जाे आनन्दमय जीवनयापन गर्ने भ्रमित मार्ग हाे भन्ने मलाई लाग्दैछ। त्यही जिन्दगीकाे अन्तिम लक्ष्य ‘आनन्दमय जीवन’का खातिर एक पछि अर्काे गरी उब्जिएका सुखकाे मृगतृष्णा मेटाउने लालसामा मानिस जानी नजानी बिनासकारी कदम चाल्न पुग्दछ। जसले गर्दा ढिलाे चाँडाे ऊ पनि समाप्त हुन्छ र अरुलाई पनि समाप्त पार्दछ । यी र यस्ता निन्दनीय कार्यहरुका कारण मानव चाेलाप्रति ढुक्क भएर गर्व गर्ने आँट आउदैन । 

    त्यसकाे ज्वलन्त उदाहरण बनेकाे छ यतिबेला अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाे । सन् २०२० काे प्रारम्भसंगै बिश्वकै लागि अत्यन्तै दुःखदायी घटनाका रुपमा चित्रण भैरहेकाे याे अकल्पनीय घटनाले अष्ट्रेलियाले त महासंकट ब्यहाेर्नु परिरहेकाे छ नै । यसकाे अलावा यसले बिश्व पर्यावरणमा पनि ठुलाे प्रभाव पार्ने निश्चत् नै छ । जाे सम्पूर्ण सृष्टिका लागि घातक शिद्ध हुने नै छ । अर्काे तिर एक नेपाली भएकाे  हैसियतले देशकाे हितार्थ साेच्नु पर्दा  देशले ठुलाे संख्यामा विदेशीहरुलाई नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्य लिएकाे ”नेपाल भ्रमण बर्ष २०२०” पनि प्रभावित हुनेमा कुनै संका छैन । जाे सफल पार्नमा अष्ट्रेलियाकाे भूमिका महत्वपूर्ण रहन्छ भन्नेमा दुई मत छैन । अष्ट्रेलियासंगकाे  सुमधुर दाैत्यसम्बन्ध, त्यहाँ रहेका नेपालीहरुकाे संख्या, भ्रमण बर्ष प्रभावकारी बनाउन हुदै गरेका गतिविधिहरु लगायतले पनि यसलाई पुष्टी गर्दछ । 

    सञ्चार माध्यमहरुले जनाए अनुसार गत सेप्टेम्बर ,२०१९ मा जंगल फडानी गरेर खेतीयाेग्य जमीन बिस्तार गर्ने क्रममा असावधानीपूर्ण तरिकाले लगाइएकाे आगाे समयमै नियन्त्रण गर्न नसक्दा ५९ लाख हेक्टर जमीनलाई प्रभावित पारेकाे डडेलाेले हालसम्म २३ जनाकाे मृत्यु, झण्डै ५० कराेड बन्यजन्तुकाे बिनास, दुई हजार ६ सय बढी घर र कयाै प्रजाति बनस्पति नष्ट भै सकेका छन्। जाे क्रम अझै जारी नै छ ।याे बिश्कै लागि अत्यन्तै दु:खदायी र अपूर्णीय क्षति हाे ।सार्वजनिक भएका याे घटनासंग सम्बन्धित तस्विरहरु अत्यन्तै हृदयविदारक र करुणादायी रहेका छन् । मानवताकाे नाताले जाे काेहीलाई यस्ता तस्विरहरुले पिडाबाेध गराउनु स्वभाविक नै हाे । जसबाट म पनि अछुताे रहन सकिन । यसबाट बिश्वले पाठ सिक्नु जरुरी छ । 

    यति मात्र हैन एउटा नेपालीकाे नाताले ”जुन देशमा लाखाै नेपालीहरु सुन्दर र उज्वल भविश्यकाे खाेजिमा भाैतारी रहेका छन् ,जहाँ जान नेपालीहरु प्राथमिकताका साथ लालाहीत भै रहेका छन् र जसकाे भूमिका नेपाल र नेपालीकाे उज्वल भविश्यका लागि महत्वपूर्ण छ” त्यही ठाँऊमा घटेकाे अप्रिय घटना भएका कारण पनि तुलनात्मक रुपमा आत्मीयपनले बढी चासाे र चिन्ता लागेर दुःखी र पिडाबाेध गराएकाे छ । जाे स्वभाविक पनि हाे ।याे अकल्पनीय दुःखद घडिमा पिडादायी घटनाप्रति गहिराे दु:खानुभूति प्रकट गर्दै असामयिक दिवङ्गत मानव तथा बन्यजन्तुकाे आत्माकाे चीर शान्तिकाे कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु ! साथै याे विपतमा जुट्ने सबैलाई हृदयदेखि नै छड्के सलाम गर्दै घाइतेहरु (मानव तथा बन्यजन्तु )  काे सिघ्र स्वास्थ्यलाभकाे कामना सहित यथासिघ्र संकट  माेचनका लागि भगवानसंग प्रार्थना गर्दछु !

  • सुलेमानीको अन्तिम संस्कारका दौरान भागडौड, ४० भन्दा बढीको मृत्यु

    सुलेमानीको अन्तिम संस्कारका दौरान भागडौड, ४० भन्दा बढीको मृत्यु

    तेहरान । अमेरिकाले हवाई आक्रमण गरी मारेको इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्तिम संस्कारका दौरान हिंसात्मक भागदौड मच्चिएको छ ।

    त्यसक्रममा कम्तिमा ४० जनोल ज्यान गुमाएका र सयौं व्यक्ति घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    मंगलबार सुलेमानीको गृहनगर मेरमानमा उनको शव समाधिस्थ गर्न लैजाने क्रममा लाखौं जनता भेला भएका थिए ।

    त्यही क्रममा भागदौड मच्चिएको थियो । घटनापछि सुलेमानीको अन्तिम संस्कार नै स्थगित गरिएको बताइएको छ । मंगलबार त्यसका लागि सम्भव नभएपछि अर्को मिति घोषणा गरिने भएको छ ।

    सुलेमानी इरानका सर्वाधिक लोकप्रिय सैन्य कमान्डर थिए ।

    अघिल्लो शुक्रबार उनको हत्या भएपछि इरान र अमेरिकाबीचको सम्बन्धमा समेत खाडल परेको छ ।

    उनीहरुको द्धन्द्धले विश्व राजनीतिका तरंग समेत फैलिएको छ । उनको इराकको बगदादमा हत्या भएको हो ।

    यस घटनापछि इरानले आक्रामक रवैया अपनाउने संकेत गरिसकेको छ ।

  • १ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने

    १ सय २२ चिनियाँ नागरिकलाई बुधबार फिर्ता पठाइने

    काठमाडौं । नेपालमा गैरकानूनी रुपमा बसिरहेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइदैछ । उनीहरुलाई लिन बुधबार चिनियाँ सुरक्षा अधिकारीहरु नेपाल आउँदैछन् ।

    नेपालमा बसेर चीनविरुद्ध अपराध गरेको अभियोगमा चीन सरकारकै सहयोगमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

    नेपाल प्रहरीको अनुसन्धानले उनीहरुलाई आपराधिक पृष्ठभूमिमा भेटेको थिएन् ।

    तर, अध्यागमन सम्बन्धी कानून भने उनीहरुले उल्लंघन गरेका कारण नेपालले देश निकाला गर्न सक्ने कानूनी प्रावधान भने रहेको थियो ।

    चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही १ हजार धरौटीमा रिहा गर्न आदेश गरेलगत्तै अध्यागमनको जिम्मा लगाइएको थियो ।

    धरौटी रकम भने चिनियाँ दूतावासले तिरिदिएको छ । बुधबार ८८ र ३४ जनाका दुई समूह बनाएर ‘चाइना साउदर्न’ र ‘चाइना वेस्टर्न’का जहाजबाट चिनियाँ नागरिकलाई चीन फर्काउने तयारी छ ।

    कानून अनुसार अब उनीहरु कम्तिमा ४ वर्ष नेपाल आउन पाउने छैनन् ।

  • जवाहरलाल नेहरु विश्वविद्यालयमा अज्ञात समूहको आक्रमण, दर्जनौं घाइते

    जवाहरलाल नेहरु विश्वविद्यालयमा अज्ञात समूहको आक्रमण, दर्जनौं घाइते

    नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा आइतबार एक अज्ञात समुहले आक्रमण गरेको छ ।

    नकाबधारी समूहले विश्वविद्यालयका विद्यार्थीमाथि अन्धाधुन्ध आक्रमण गरेको भारतीय संचारमाध्यमले लेखेका छन् ।

    आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित डेढ दर्जन विद्यार्थी घाइते छन् ।

    ५० भन्दा बढीको संख्यामा आएका नकावधारीले विश्वविद्यालय हाता र छात्रावासमा समेत घुसेर आक्रमण गरेका थिए ।

    उनीहरुले हातमा फलामे डण्डी र लठ्ठी समाएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा रहेको बताएको छ ।

    जेएनयूमा सुरक्षाकर्मी तैनाथ भएका छन् । आक्रमण लगत्तै विद्यार्थीले प्रदर्शन थालेका छन् । जनवरी १ तारिखदेखि विश्वविद्यालयमा शीतकालीन सत्र प्रारम्भ भएको छ ।

    अहिले त्यहा विद्यार्थीहरुको रजिष्ट्रेशनको काम भइरहेको थियो ।

    रजिष्ट्रेशनको समर्थन र विरोध गर्ने विद्यार्थीहरुबीच मतभेद भइरहेको समयमा अज्ञान समूहले आक्रमण गरेको हो ।

    भारतीय गृहमन्त्री अमित शाहले घटनाको छानविन गर्ने आश्वासन दिएका छन् ।

    विद्यार्थीले भने गृहमन्त्रीकै डिजाइनमा आक्रमण भएको आरोप लगाएका छन् । यहाँ पछिल्लो समय विद्यार्थीहरुबीच नै झडपको स्थिति आइरहेको छ ।

  • केन्यामा समेत अमेरिकी सैन्य क्याम्पमा विद्रोहीको आक्रमण

    केन्यामा समेत अमेरिकी सैन्य क्याम्पमा विद्रोहीको आक्रमण

    काठमाडौं । अफ्रिकी मुलुक केन्यामा अमेरिकी सैन्य क्याम्पमा विद्रोहीले हमला गरेका छन् ।

    सेनाले प्रयोग गर्दै आएको सैन्य बेसमा छिमेकी मुलुक सोमालियामा सक्रिय विद्रोहीले आक्रमण गरेको अन्तराष्टिैय संचारमाध्यमले उल्लेख गरेका छन् ।

    सोमलियाको मुस्लिम अतिवादी समूह अल सबाबका लडाकुले आइतबार बिहान केन्या र अमेरिकी सेनाले प्रयोग गर्दै आएको लामु काउन्टीस्थित मान्डा हवाइ बेसमा आक्रमण गरेका छन् ।

    यहाँ अमेरिका, केन्यासहित यहाँ सक्रिय विदेशी मुलुकका सेना शिविर बनाएर बसेका छन् ।

    लामु काउन्टीका आयुक्त इरुन्गु माकारियाले क्याम्पमा आक्रमण भएको पुष्टी गरिसकेका छन् ।

    यद्दपी विद्रोही पछी हटिसकेको उनको भनाई छ । आक्रमणपछि यहाँको आकाशमा धुँवाको मुस्लो समेत देखिएको बताइएको छ ।

    आक्रमणको क्षतिका सम्बन्धमा भने केही बाहिरिएको छैन । तर विद्रोही समूहले भने थुप्रै अमेरिकी र केन्याली सैनिक मारेको दाबी गरेको छ। एजेन्सी

  • इराकमा अमेरिकी दूतावासलाई लक्षित गर्दै रकेट आक्रमण

    इराकमा अमेरिकी दूतावासलाई लक्षित गर्दै रकेट आक्रमण

    बगदाद । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास तथा सेनाको इलाका नजिकै रकेट आक्रमण भएको छ ।

    अमेरिकी अधिकारीहरुले यसको पुष्टी गरेका छन् । अमेरिकी दूतावास नजिकैको ग्रीन जोन, बगदाद नजिकैको जदरिया र अमेरिकी सुरक्षाबल भएका बलाद एयरबेसमा रकेट आक्रमण भएको बताइएको छ ।

    अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई ड्रोन आक्रामण गरी बगदादमा मारेपछि फेरी इराकमा हिंसा भड्किएको हो ।

    इरानले यस आक्रमणको शक्तिशाली बदला लिने चेतावनी दिइसकेको छ । इरान र अमेरिकाबीचका द्धन्द्धले मध्यपूर्वी एसिया फेरी एकपटक त्रसित भएको छ ।

    पछिल्लो हमलाबाट कसैको ज्यान भने नगएको अमेरिकी सेनाले जनाएको छ ।

    इरान समर्थित मिलिशिया लडाकूबाट यस्तो आक्रमण भएको अनुमान अमेरिकाको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रकेट ग्रीन जोन नजिकै जदरिया र अमेरिकी सुरक्षाबल भएको एयरबेसमा खसेको पुटी इराकी प्रहरीले समेत गरेको छ ।

  • अष्ट्रेलियामा डडेलोको कहर

    अष्ट्रेलियामा डडेलोको कहर

    सिड्नी । अष्ट्रेलियामा डडेलेले राष्ट्रिय प्रकोपको रुप लिएको छ । नियन्त्रणबाहिर गइसकेको आगलागी नियन्त्रणमा हजारौं सैनिक परिचालन हुने अष्ट्रेलियाली सरकारले जनाएको छ ।

    प्रधानमन्त्री स्कट मोरिसनले शनिबार यस्तो जानकारी गराएका हुन । उनका अनुसार तीन हजारभन्दा बढी सैनिक आगलागी नियन्त्रणमा परिचालन गर्न लागिएको छ ।

    धेरै सुरक्षाकर्मीलाई घटनास्थलमा परिचालन गर्ने निर्णय शनिबार नै भएको उनले उल्लेख गरेका छन् ।

    धेरै हवाई जहाज र पानी जहाजमा सुरक्षाकर्मी तैनाथ हुनेछन् । अष्ट्रेलियाका विभिन्न भुभागमा एक महिना अगाडीबाटै अगालागी भइरहेको छ ।

    विनासकारी डडेलोले लाखौं जंगली जनावर मरिसकेका छन् । लाखौं मानिसलाई समुन्द्री तटमा बोलाइएको छ ।

    अहिले पनि करीव २ हजार सैनिक उद्दार र राहतमा खटिएका छन् । आगलानीका कारण अष्ट्रेलियाको तापमानले उच्च रेकर्ड राखिसकेको छ ।

    आगलागीका कारण अहिलेसम्म कम्तीमा १८ जनाको ज्यान गइसकेको छ । २८ जना भन्दा बढी बेपत्ता छन् । भिक्टोरिया राज्य आगलागीबाट बढी प्रभवित छ ।

  • अष्ट्रेलियामा फेरी चम्किए सन्दीप

    अष्ट्रेलियामा फेरी चम्किए सन्दीप

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने विश्वप्रसिद्ध क्रिकेट लीग बीगब्यासमा उत्कृष्ट फर्ममा छन् ।

    अस्ट्रेलियामा जारी बिगब्यास लिगमा उनको टोली मेलबर्न स्टार्सले पाँचौं जित हात पार्ने क्रममा शनिबार पनि सन्दीप चम्किएका छन् ।

    उनको तीन विकेटको मद्दतमा मेलबर्नले रेनेगेड्सलाई सस्तैमा समेट्न सफल भयो । सन्दीपले शनिबार महत्वपूर्ण तीन विकेट लिँदा मात्र २६ रन खर्चिए ।

    उनको टोली मेलबर्न स्टार्स आठ विकेटले विजयी भयो । अघिल्लो खेल भने सन्दीपले चोटका कारण गुमाएका थिए ।

    शनिबार उनले पहिलो ओभरमा बिना कुनै विकेट सात रन दिए। दोस्रो ओभरमा सन्दीपले कुनै विकेट झार्न सकेनन्।

    यस ओभरमा उनको बलबाट १२ रन आयो । तेस्रो ओभरमा भने उनले दुई विकेट झारे । मात्र चार रन दिएर उनले २ विकेट झारेका हुन् ।

    उनले सावन मार्स र डेनियल क्रिष्टिनको विकेट लिएका थिए । आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरलाई पेभिलियन फकाउँदा मात्र तीन रन खर्च गरेका थिए ।

    सन्दीपको टोली मेलबर्न स्टार्सले टस जितेर फिल्डिङ रोजेको थियो । रेनेगेड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४२ रन बनायो ।

    एक सय ४३ रनको विजयी लक्ष्य मेलबर्न स्टार्सले १८ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर भेट्टायो । सन्दीपको टीम लिगको शीर्ष स्थानमा रहेको छ ।

  • बगदादमा फेरी आक्रमण, ६ मारिए

    बगदादमा फेरी आक्रमण, ६ मारिए

    काठमाडौं । इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको भोलीपल्ट इराकको बगदादमा दोस्रो हवाई हमला भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार आक्रमणमा कम्तिमा ६ जना मारिएका छन् ।

    इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै सैन्य क्याम्प ताजी नजिकै आक्रमण भएको बताइएको छ । आक्रमणका कारण ६ वटा शव जलेको अवस्थामा फेला परेको थिए ।

    यस आक्रमणबारे अमेरिकाले भने कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । इरानी उच्च सैन्य अधिकारी मारिएपछि इरानको तर्फबाट हुने प्रत्याक्रमणको विषयलाई लिएर अहिले संसारभर त्रास फैलिएको छ ।

    अमेरिकाले भने विश्व शान्तीकै लागि सुलेमानीलाई मारिएको बताएको छ । उनको इराकमा ड्रोन आक्रमण गरि अमेरिकाले निशाना बनाएको हो ।

    एजेन्सी

  • के युद्धको तयारीमा छन् अमेरिका-इरान ?

    के युद्धको तयारीमा छन् अमेरिका-इरान ?

    काठमाडौं । शुक्रबार बिहान इराकको राजधानी बग्दादमा अमेरिकाले ड्रोन आक्रमणमार्फत इरानका शक्तिशाली व्यक्ति मध्ये एक मेजर जनरल कसिम सुलेमानीलाई मारेको छ ।

    उनी एलिट कर्दस फोर्स प्रमुख हुन् । इरानको रेभुलसनरी गार्डअन्तर्गत रहने यस सैन्य संगठनको बिस्तार र कार्यक्षेत्र नै इरानीको सीमा भन्दा बाहिर रहेको छ ।

    यस फोर्सको प्रमुख भने इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनी हुन् । त्यसकारण अमेरिकाले इरानका दोस्रो शक्तिशाली व्यक्तिलाई मारिदिएको छ ।

    यसले संसारभर पुनः एक पटक झस्का दिएको छ । कतै, अमेरिका र इरान युद्धको तयारीमा त छैनन् । इराकको बग्दाद विमानस्थल बाहिर सुलेमानीसहितको टोलीमाथि ड्रोन आक्रमण भएको थियो ।

    उनको स्कर्टिगलाई लक्षित गरी ड्रोन हानिएको थियो । सुलेमानीको साथमा ६ जना उच्च अधिकारीसमेत थिए । उनी अमेरिकाको टार्गेटमा भने निकै लामो समयदेखि रहेका थिए ।

    इराकका पूर्वशासक सद्दाम हुसेनविरुद्धको कारवाहीमा अमेरिकालाई साथ दिएका सुलेमानीलाई अहिले अमेरिकाले नै मारिदिएको हो ।

    सन् २०१५ मा आणविक सम्झौता भयो । जसमा अमेरिकाले सुलेमानी र उनका सेनामाथि आक्रमण नगर्ने नीति नै लिएको थियो ।

    तर उक्त सम्झौतालाई ट्रम्पले तोडेपछि फेरी उनी र अमेरिकाको सम्बन्ध चिसिएको थियो ।

    अमेरिकाका लागि सुलेमानी र उनको सेना ठूलो खतराको रुपमा रहेको थियो । अन्तरराष्ट्रिय संचारमाध्यमले लेखेअनुसार अमेरिकी सैन्य अधिकारीको दावा जनरल सुलेमानीले इराक युद्धका क्रममा भएको सयौं अमेरिकी सैनिकको मृत्युमा उनको हात थियो ।

    त्यस समयमा सुलेमानीले इराकमा विद्रोहीलाई बम बनाउने अत्याधुनिक उपकरण र तालिम दिएका थिए ।

    ड्रोन आक्रमणपछि अमेरिकी रक्षा मन्त्रालयले सुलेमानी र उनको कद्स फोर्स सयौं अमेरिकी र अन्य सहयोगी देशका सैनिकको मृत्यु र हजारौं घाइतेका लागि जिम्मेवार रहेको उल्लेख गरेको छ ।

    सुलेमानीको मृत्युमा इरानमा तीन दिने राष्ट्रिय शोक घोषणा भएको छ । इरानका सर्वोच्च नेता खमेनीले यसको बदलामा शक्तिशाली कारवाहीको चेतावनी दिएका छन् ।

    आक्रामणको डरले अमेरिकाले इराकबाट आफ्ना सबै नागरिकलाई स्वदेश बोलाएको छ ।

    इजरायलले आफ्ना केही पर्यटकीय क्षेत्र बन्द गरेको । उसले सुरक्षाकर्मीलाई अलर्ट राखेको छ ।

    एजेन्सी

  • सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए

    सुडानमा सैन्य जहाज दूर्घटनामा कम्तिमा १८ मारिए

    काठमाडौं । सुडानमा सेनाको एक जहाज दुर्घटनामा परेको छ । दूर्घटनामा कम्तिमा १८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । पश्चिमी डार्फुर राज्यमा जहाज दुर्घटनामा परेको थियो ।

    चार बालबालिकासहित कम्तिमा १८ जनाको मृत्यु भएको र त्यसमा तीन जना न्यायाधिस समेत रहेका थिए ।

    प्रान्तीय राजधानी एल जेनिनाको एयरपोर्टबाट उडेको पाँच मिनेटमै जहाज दुर्घटना भएको समाचारमा जनाइएको छ ।

    जातीय समूहहरू बीच झडपप्रति संकटमा रहेका क्षेत्रमा राहत सहयोग पुर्‍याउन यो जहाज प्रयोगमा आइरहेको थियो ।

    समाचार अनुसार ज्यान गुमाउनेमा सात चालक दलका सदस्य, तीन न्यायाधीश र आठ सर्वसाधारण नागरिक छन् । त्यसमध्ये चार जना बालबालिका हुन् ।

    एजेन्सी