Category: विश्व

  • आङ सान सू ची नेपाल आउने

    आङ सान सू ची नेपाल आउने

    काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सू ची नेपाल भ्रमणमा आउने भएकी छिन् । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उक्त जानकारी गराएका हुन् ।

    उनका अनुसार सरकारले सू चीको नेपाल भ्रमणको तयारी समेत थालिसकेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार भ्रमणका दौरान सू चीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धनका सिलसिलामा नेपाल आउन चाहेको बताएकी थिइन् ।

    लगत्तै सरकारले भ्रमणको तयारी थालेको उनले जानकारी दिए । राष्ट्रपतिसँगै गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार स्वदेश फर्किएका छन् ।

    उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालको पर्यटन प्रवद्र्धनकै लागि सू ची नेपाल आउने बताए । राष्ट्रपति भने म्यानमारबाटै जापान भ्रमणमा व्यस्त छिन् ।

  • अमेरिकाको जर्जियामा ट्रेनिङ गर्दागर्दै ३ अमेरिकी सेनाको मृत्‍यु

    अमेरिकाको जर्जियामा ट्रेनिङ गर्दागर्दै ३ अमेरिकी सेनाको मृत्‍यु

    तालिम गर्दागर्दै दुर्घटना भएर आईतबार बिहानै अमेरिकाको जर्जिया राज्यस्थित एक तालिम केन्द्रमा ३ जना अमेरिकी सेनाको मृत्‍यु भएको छ । यसै क्रममा अन्य तीन जना सैनिकहरु घाईते भएर अस्पताल भर्ना गरिएका छन् । दुर्घटना जर्जियास्थित फोर्ट स्टिवार्ट – हन्टर आर्मी एयर फिल्डमा भएको हो ।

    अमेरिकी सेनाले जारी गरेको बिज्ञप्तीका अनुसार पहिलो आर्मड ब्रिगेड कमब्याट टिमका सेनाहरु “ब्राड्ली फाईटिङ भेकल” चढिरहेको समय दुर्घटनामा परेको बताईएको छ । बिज्ञप्तीमा दुर्घटना बारे पूर्ण जानकारी उपलब्ध गराईएको छैन ।

    दुर्घटनापछि ३ जना सेनालाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो भने अन्य तीन सेनालाई उपचारको लागि “विन आर्मी कम्युनिटी हस्पिटल” लगिएको थियो ।  दुर्घटनामा परेका सेनाहरुको नाम हालसम्म सार्बजनिक गरिएको छैन । सो सम्वन्धि बृस्तित जानकारी २४ घण्टा भित्र सार्बनजिक गरिने बताईएको छ ।  

    एजेन्सी

  • अफगानिस्तानमा बम विस्फोट, ६२ को मृत्यु

    अफगानिस्तानमा बम विस्फोट, ६२ को मृत्यु

    अफगानिस्तान । अफगानिस्तानमा बम विस्फोटमा परी ६२ जनाको मृत्यु भएको छ । अन्तरराष्ट्रिय संचारमाध्यमहरुका अनुसार अफगानिस्तानको पूर्वी नानगरहरस्थित एक मस्जिदमा शक्तिशाली बम विस्फोट भएको हो ।

    शुक्रबार भएको विस्फोटमा ६२ को निधन भएको र थुप्रै घाइते भएको नानगरहरका प्रवक्ता अट्टाउल्लाह खोग्यानीलाई उदृत गर्दै संचारमाध्यमले उल्लेख गरेका छन् ।

    आक्रमणको जिम्मा भने कुनै पनि समूहले लिइसकेको छैन । मस्जिदमा ३५० भन्दा बढी मानिस प्रार्थना गरिरहेका थिए । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

    संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार यस वर्ष जुलाई र सेप्टेम्बरको बीचमा एक हजार एक सय ७४ जनाले अफगानिस्तानमा ज्यान गुमाइसकेका छन्।

  • राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड

    राष्ट्रपति म्यानमार जाँदा नेपाल एयरलाइन्सको जहाज चार्टर्ड

    काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवि भण्डारीको म्यानमार सवारीका लागि नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको छ ।

    काठमाडौंबाट थाइल्याण्ड हुँदै म्यानमारसम्म निगमको एयरबस ३२० जहाज उडेको थियो ।

    थाइल्याण्डसम्म नियमित उडानका यात्रु समेत लगेर गएको निगमको उक्त जहाजले राष्ट्रपतिसहित उनको भ्रमण दलका दुई दर्जन सदस्यलाई भने म्यानमारमा छाडेर पुनः थाइल्याण्ड हुँदै काठमाडौं फर्किएको हो ।

    एक साता लामो राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति भण्डारी म्यानमारमा छिन् । उनको भ्रमणका दौरान बिहीबार नेपाल र म्यानमारबीच पर्यटन प्रवद्र्धन सम्बन्धी एक सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

    राष्ट्रपति आगामी बुधबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उक्त समयमा पनि निगमको जहाज म्यानमार पुग्नेछ ।

  • कतारमा बीना स्वीकृति राजनीतिक गतिविधि नगर्न नेपालीलाई सूचित

    कतारमा बीना स्वीकृति राजनीतिक गतिविधि नगर्न नेपालीलाई सूचित

    कतार । कतारमा नेपालीले कानून विपरित राजनीतिक गतिविधि गरेको तथा चन्दा संकलन गरेको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।

    कतारस्थित नेपाली दूतावासमा पत्र पठाउँदै कतार सरकारका विभिन्न निकायले यस्तो सूचित गराएका हुन् ।

    कतारमा रहेका केही समुदायले सम्बन्धित निकायबाट पूर्व स्वीकृत नलिई भेला–बैठकको आयोजना गर्ने, चन्दा–रकम संकलन गर्ने जस्ता कार्यहरु गरेको भन्दै कतार सरकारले नेपाली राजदुतावासलाई पत्र पठाएको हो ।

    वैदेशिक रोजगारीको लागि कतार गएका कामदारहरुले पूर्व स्वीकृत नलिई स्थानीय कानुन र प्रचलन प्रतिकुल हुनेगरी यस्ता कार्य गरेको कतार सरकारको भनाई छ ।

    दूतावासले बुधबार एक सूचना सार्वजनिक गर्दै कतार सरकारको उक्त चासोबारे सार्वजनिक गरेको हो ।

    दूतावासले कतारी कानून अनुसार गैरकानूनी ठहरिने कुनै पनि गतिविधि नगर्न नेपाली समूदायसँग आग्रह गरेको छ । विभिन्न कार्यक्रम तथा गतिविधिका लागि भन्दै चन्दा संकलन गर्ने काम विदेशमा व्यापक हुने गरेको छ ।

  • राष्ट्रपति आज म्यानमार भ्रमणमा निस्कदै

    राष्ट्रपति आज म्यानमार भ्रमणमा निस्कदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि म्यान्मारको राजकीय भ्रमण शुरु गर्दैछिन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति बुधबार म्यानमार जाने कार्यक्रम तय भएको छ ।

    म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा ३ कात्तिकसम्म उनले म्यानमारको राजकीय भ्रमण गर्न लागेकी हुन् ।

    बुधबार थाइल्याण्डको बैंकक हुँदै म्यान्मारको राजधानी नेपित जाने कार्यक्रम तय भएको छ । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारी र समकक्षी मिन्तबीच द्धिपक्षीय हितका विषयमा वार्ता हुने बताइएको छ ।

    सोही अवसरमा म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीबीच समेत भेटवार्ता तय भएको छ । राष्ट्रपति भण्डारीको स्वागतमा समकक्षी मिन्तले राजकीय भोज आयोजना गरेका छन् ।

    उक्त मुलुकमा नेपाली मुलकका नागरिक समेत प्रशस्त बस्छन् । उनीहरुसँग समेत भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ ।

    राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी सहभागी हुँदैछन् ।

  • पत्रकारिता पेशा कुन देशमा असुरक्षित ?

    पत्रकारिता पेशा कुन देशमा असुरक्षित ?

    पत्रकारिता पेशा आफैमा एक चूनौतिपूर्ण काम हो । जहाँ एक पक्षले जहिले पनि पत्रकारलाई दुष्मनका रुपमा हेर्छ ।

    यस्तो अवस्थामा विश्वभर पत्रकारलाई धम्क्याउने, अपहरण गर्ने र मार्ने सम्मका काम हुन्छन् । यस्ता गतिविधिका कारण सबैभन्दा असुरक्षित मुलुक नाइजेरिया देखिएको छ ।

    एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नाइजेरियालाई पत्रकारका लागि खतरापूर्ण राष्ट्रको सूचीमा राखिएको छ ।

    प्रतिवेदन अनुसार एक वर्षको अवधिमा यहाँ १९ जना पत्रकार मारिएका छन् ।

    यो विश्वका अन्य मुलुकको तुलनामा निकै धेरै हो । मारिनेमध्ये सबैभन्दा धेरै सुरक्षाकर्मीको संलग्नता देखिनुबाट पनि यो मुलुक पत्रकारका लागि अत्यन्तै असुरक्षित पाइएको हो ।

    सत्तापक्षबाट पत्रकारको हत्या हुनु चिन्ताको विषय भएको एम्नेस्टीको भनाई छ ।

    नाइजेरियामा प्रेस स्वतन्त्रताको अवस्था नाजुक रहेको भन्दै यसले दविएका आवाज बाहिर ल्याउने अभियान नै प्रभावित भइरहेको उल्लेख गरेको छ ।

    नाइजेरियामा बोको हराम नामक आतंकवादी समूह सक्रिय भई सशस्त्र द्धन्द्ध गरिरहेको छ ।

    एजेन्सी

  • जापानमा विनासकारी आँधि, ठूलो मानवीय क्षति, नेपाली सुरक्षित

    जापानमा विनासकारी आँधि, ठूलो मानवीय क्षति, नेपाली सुरक्षित

    टोकियो । जापानमा आएको शक्तिशाली विनासकारी आँधिका कारण सोमबारसम्म दुई दर्जन मानिसको ज्यान गएको पुष्टी भएको छ ।

    यद्दपी यो आंकडा निकै माथि पुग्न सक्ने अनुमान संचारमाध्यमले गरेका छन् । राजधानी टोकियोसहित जापानका धेरै स्थान प्रभावित हुने गरी हागिबिस नामक आँधी आएको थियो ।

    जापानी संचारमाध्यम एनएचकेका अनुसार २५ जनाको निधनको पुष्टी भइसकेको छ । हजरौं सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।

    अझै दुई दर्जन मानिस हराइरहेका छन् । शनिबार आएको आँधिले राजधानी टोकियोमा सबैभन्द बढी क्षति पुर्‍याएको छ ।

    अहिले आँधि शान्त भइसकेको छ, तर, त्यसले पुर्याएको असर भने निकै भयाभह रहेको बताइएको छ । आँधिका कारण जापानमा ठूलो वर्षा भएको छ ।

    यसले नदीहरुमा जलप्रवाह ह्वात्तै बढाइदिएको छ । सोहीकारण वस्तीमा नदी पस्दा ठूलो मानवीय क्षति हुन पुगेको हो । आँधिले गर्दा ३ लाख ७६ हजार घरको विद्युत आपूर्ति बन्द भएको छ ।

    १४ हजार घरको खानेपानी आपूर्तिसमेत प्रभावित भएको संचारमाध्यमले उल्लेख गरेका छन् । सरकारले आँधीपछि २७ हजार सेना तथा स्वयंसेवक बललाई उद्धार र राहतमा खटाएको छ।

    जापानका १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको छ । २१ नदीको बाँध फुटेको छ । यो आँधीलाई पछिल्लो ५० वर्षयताकै शक्तिशाली मानिएको छ ।

    जापानमा आएको आँधिबाट नेपालीहरु भने सुरक्षित रहेको बताइएको छ । अहिलेसम्म कुनै पनि नेपालीबारे दुखद खबर आएको छैन ।

  • चिनियाँ राष्ट्रपतिलाई नेपालमा भब्य आतिथ्य, २० बुँदे सहमति \ सम्झौता

    चिनियाँ राष्ट्रपतिलाई नेपालमा भब्य आतिथ्य, २० बुँदे सहमति \ सम्झौता

    काठमाडौं । करीव साढे दुई दशकपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालले भब्य आतिथ्यता प्रदान गरेको छ ।

    राष्ट्रपतिलाई लिन विमानस्थलमै पुगेकी राष्ट्रपति विद्यादेवि भण्डारी उनको बिदाईमा समेत विमानस्थलसम्मै पुगेकी थिइन् ।

    यसबाहेक सबै सम्माननीय पदधारी व्यक्तित्व विमानस्थलसम्मै पुगेर चिनियाँ राष्ट्रपतिको स्वागत तथा बिदाईमा खटिए ।

    यस दौरान राष्ट्रपतिलाई सर्वसाधारण, कर्मचारीले समेत सडकमा उत्रिएर भब्य स्वागत गरेका थिए । उनको स्वागतमा सरकारले काठमाडौंलाई सफा र चिरिच्याट्ट पारेको थियो ।

    बेहुलीझै सिँगारिएको काठमाडौंलाई आम सर्वसाधारणले पनि बिना कुनै विरोध सरकारको साथ दिँदै भ्रमण सफल बनाउन सहयोग गरेका छन् ।

    दुई दिने नेपाल भ्रमणमा शनिबार आएका राष्ट्रपति आइतबार स्वदेश फर्किएका हुन् ।

    त्यसअघि राट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच २० वटा सहमति तथा सम्झौतामा हस्ताक्षर भएको छ ।

    दुई मुलुकबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ । सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र जन गणतन्त्र चीनका सरकारहरुबीच समेत सम्झौता भएको छ ।

    शासन क्षमता अभिवृद्धिमा समन्वय तथा आदानप्रदान सम्बन्धी नेपाल र जनगणतन्त्र चीनका सरकारहरु बीच एमओयू भएको छ ।

    आपराधिक विषयहरुमा पारस्परिक कानूनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीच सन्धि गर्ने सहमति भएको छ ।

    नेपाल र चीनबीच सगरमाथा संरक्षणमा समन्वय गर्ने सम्बन्धमा समेत सहमति भएको छ ।

    नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास आयोगबीच लगानी एवं उत्पादनशील क्षमताका प्रमुख आयोजनाहरु प्रबर्द्धन गर्ने सम्बन्धीमा समेत एमओयू भएको छ ।

    छेङ्दुमा नेपालको महावाणिज्य दूतावास स्थापना गर्नका लागि एक्सचेन्ज अफ नोट भएको छ ।

    चीन नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू भएको छ ।

    काठमाडौं महानगरपालिका र चीनको नान्जिङ शहरबीच भगीनी-शहरको सम्वन्ध स्थापना गर्ने सम्वन्धी समझदारी भएको छ ।

    नेपालको बुटबल उपमाहनगरपालिका शहर र चीनको सियन शहरबीच भगीनी(शहरको सम्वन्ध स्थापना गर्ने सम्बन्धी समझदारी समेत भएको छ ।

    नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चीनको परम्प्रागत चिनीया ओखतिको राष्ट्रिय प्रशासनबीच परम्परागत औषधिको समन्वय सम्वन्धी एमओयू समेत दुई मुलुकबीच भएको छ ।

    नेपालको गृह मन्त्रालय र चीनको आपतकालीन व्यवस्था मन्त्रालयबीच विपद् जोखिम न्यूनीकरण तथा आपतकालिन प्रतिक्रिया सम्वन्धमा एमओयू भएको छ ।

    नेपालको महान्यायधिवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्यूरेटरबीच साझेदारीका विषयमा एमओयू भएको छ ।

    नेपालको त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्यूसियस इन्स्टिच्यूटबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्यूसियस इन्स्टिच्युट स्थापना गर्ने सम्वन्धमा सम्झौता भएको छ ।

    नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच नेपालबाट चीनमा अमिला फलको निर्यातका लागि वनश्पती स्वास्थ्यका मापदण्डहरुको प्रोटोकल कायम गर्ने सम्बन्धमा सहमति भएको छ ।

    व्यापारमा संयुक्त कार्य समुहको स्थापनाका विषयमा नेपालको उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय तथा चीनको वाणिज्य मन्त्रालयबीच एमओयू भएको छ ।

    नेपालमा चीनको सहयोगमा निर्मित भूकम्प मापन संयन्त्रसम्वन्धी परियोजनाको हस्तान्तरण प्रमाणपत्र आदान प्रदान भएको छ ।

    नेपालको अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी समन्वय कार्य समुहको स्थापना सम्वन्धी एमओयू दुई मुलुकबीच भएको छ ।

    नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास समन्वय एजेन्सीबीच सुरुङ निर्माणमा सहकार्य सम्वन्धमा एमओयू भएको छ ।

    सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरणका लागि एक्सचेन्ज अफ लेटर भएको छ भने नेपालको काठमाडौं उपत्यकामा चिनीया सहयोगमा महानगर खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनका लागि माइन्यूट अफ मिटिङमा समझदारी भएको छ ।

    नेपाल भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किनासाथ दुई मुलुकबीच संयुक्त वक्तव्य समेत जारी भएको थियो ।

  • राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट  पिसाब समेत फ्याकियो

    राष्ट्रपति ट्रम्पको चुनावी सभामा भिडबाट पिसाब समेत फ्याकियो

    आजभोली अमेरिकाको राजनीति स्पष्ट रुपमा  ध्रुविकरण हुँदै गएको छ । यतिबेला राष्ट्रपति ट्रम्प पक्षधर र ट्रम्प बिरोधी दुई  धारमा देश कै राजनीति ध्रुविकृत हुँदै गएको अभाष हुन्छ । पछिल्ला समय राजनीतिक अतिबादी राजनीतिको प्रभाब कै कारण बिभिन्न प्रकारका हिंसात्मक घटना समेत बृद्धि हुन थालेका छन् । गत बिहिवार डेमोक्र्याटिक पार्टीको स्पष्ट समर्थन रहेको मिनेसोटा राज्यको मिनियापोलिस शहरमा राष्ट्रपति ट्रम्पले आयोजना गरेको एक चुनाबी सभामा हिँसात्मक घटना घटेको छ । बिहिवार मिनियापोलिसस्थित राष्ट्रपति ट्रम्पको प्रचारसभा राखिएको टार्गेट सेन्टर बाहिर दिउँसोदेखि नै बिभिन्न आप्रबासी महिला र युद्ध बिरोधी समुहहरु हस्तलिखित प्ले कार्ड बोकेर ट्रम्प बिरोधि नारा लगाउँदै बिरोधमा बसी रहेका थिए ।

    ट्रम्प पक्षधरहरु सभा क्षेत्रमा प्रबेश गर्दै गर्दा शुरु भएको बिरोध रात पर्दै जाँदा बढ्दै गएको थियो । राष्ट्रपति ट्रम्पले चुनाब प्रचारमा प्रयोग गर्दै आएको “मेक अमेरिका ग्रेट एगेन” लेखिएको रातो क्याप सडकमा थुप्रो बनाएर भिडले आगो लगाएको  थियो । ठुलो संख्यामा रहेको ट्रम्प बिरोधिहरुको भिडमा उत्तेजना बढदै जाँदा प्रहरीलाई “पिग ( सुङुर )” भन्दै पिसाब समेत फ्याकिएको थियो । भिड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यासको समेत प्रयोग गरेको थियो । प्रहरीले सम्भाबित भिडन्तलाई मध्य नजर गर्दै सडकमा प्रहरीको लाईन बनाएर पक्ष र बिपक्ष बिच भिडन्त हुन नदिएको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।

    राष्ट्रपति ट्रम्पको निसानामा पर्दै आएकी मिनियासोटाकी प्रतिनिधि ईलान अोमार कै गृह राज्यमा  उनी प्रति नै गालीको बर्षा गर्दै सोमिली जनताको ठुलो हिस्सा भएको राज्यमा सोमालियाबाट आएर शरणार्थीको रुपमा बसोबास गर्दै आएका सोमालीहरु राष्ट्रपति ट्रम्पको निसानामा परेका थिए । ट्रम्पले गत बिहिवार उनको सभामा घटेको हिँसात्मक घटनाको समाचार आफ्नो फेसबुक र ट्विटर पेजमा शेयर समेत गरेका छन् ।                                               

    बिपक्षी दल डेमोक्र्याटिकको बाहुल्यता रहेको तल्लो सदन (हाऊस अफ रिप्रिजेन्टेटिभ) ले युक्रेनका राष्ट्रपतिसँगको टेलिफोन बार्ताको बिषयलाई लिएर महाअभियोग लगाउने प्रकृया चलाए पछि राष्ट्रपति ट्रम्प हरेक बक्तब्य र सामाजिक संजालमा थप आक्रमक देखिन थालेका छन् । 

    श्रोत : युएसए टुडे न्युज

  • संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?

    संसारकै धनी शहर बन्यो न्यूयोर्क; कुन कुन सहर कति नम्बरमा ?

    न्यूयोर्क   

    विश्वका धेरै देशहरुमा सुन्दर र बिशाल सहरहरु छन । कतिपय शहरहरुमा त संसारका थुप्रै मानिसहरुको पुग्ने धोको नै हुन्छ । विश्वका चर्चित सहरहरुको चर्चा गर्दा गत बिहीवार “न्यू वर्ल्ड वेल्थ” ले संसारका धनी सहरहरुको सुची सार्वजनिक गर्दै अमेरिकाको न्युयोर्क शहरलाई संसारकै सबैभन्दा धनी सहरको रुपमा सुचीकृत गरेको छ । साउथ अफ्रिकाको जोहान्सवर्गमा रहेर ग्लोबल मार्केट रिसर्च ग्रुपको रुपमा काम गर्दै आएको न्यु वर्ल्ड वेल्थले गत बिहीवार सार्वजनिक गरेको सर्वाधिक सम्पन्न सहरको सुचीको पहिलो नम्बरमा परेको न्युयोर्क सहरको खुद सम्पत्ती ३ खर्ब अमेरिकी डलर रहेको छ ।

     “बिग एप्पल” को नामले चिनिने गगनचुम्बी स्काईस्क्रेपरको सहर न्युयोर्कमा यो संसारका ६५ जना खर्बपति बसोबास गर्दछन् भने ३ लाख ८० हजार भन्दा धेरै जना करोडपतीहरुको बसोबास पनि यसै सहरमा छ । विश्व कै सबैभन्दा ठुला न्यूयोर्क स्टक एक्स्चेन्ज र नाजदाक दुई वटा स्टक एक्सचेन्ज न्यूयोर्कमा नै छन् । रिपोर्टका अनुसार जापानको टोकियोले खुद सम्पत्ती २ खर्ब ५० अर्ब सहित संसारकै दोश्रो धनी सहर बन्ने सौभाग्य प्राप्त गरेको छ ।

    टोकियोलाई पछ्याउँदै अर्का दुई चर्चित सहरहरु बेलायतको लन्डन र अमेरिका कै सानफ्रेन्सिस्को तेश्रो धनी शहर दरिएका छन् । तेश्रो स्थानमा सुचीकृत यी दुई शहरको खुद सम्पत्ति २ खर्ब ४० अर्ब रहेको छ ।  चाईनाको राजाधानी बेईजिङ् २ खर्ब १० अर्ब सम्पत्ति सहित पाँचौ नम्बरमा परेको छ भने अर्को आर्थिक केन्द्र सांघाई १ खर्ब ९० अर्ब सम्पत्ति सहित छैठौं भएको छ ।  १ खर्ब २० अर्ब सम्पत्ति सहित हङ्कङ आठौं धनी सहर भएको छ । भारतको मुम्बई शहर ९ सय ६० अरब सम्पत्ति सहित १२ औं स्थानमा परेको छ  । त्यस्तै भारत कै अर्को सहर दिल्ली २२ औं स्थानमा परेको छ ।  

    अमेरिका कै अन्य सहरहरु लसएन्जलस, शिकागो, ह्युस्टन २० धनी शहर भित्र परेका छन् । सन् २०१९ को लागि धनी सहरहरुको सुचीकृत गर्दा सम्बन्धित सहरमा बसोबास गर्नेहरुको ब्यक्तिगत नगद सम्पत्ति इक्युटी र सम्पूर्ण दायित्व घटाईएको ब्यापारबाट प्राप्त ब्याजलाई आधार मानिएको जनाईएको छ ।  

    एजेन्सी

  • टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी

    टोकियोमा टाईफुन ‘हागिबिस’ आउने चेतावनी

    न्यूयोर्क, 

    शुक्रबार, ११ अक्टोबर, १९

    जापानको राजधानी टोकियो र आसपासको क्षेत्रमा आज शुक्रबार शक्तिशाली आँधी “टाईफुन हागिबिस” आउने चेतावनी जापानी मौसम बिभागले गरेको छ । 

    अनुमानित आँधी यो सिजनमा आएको १९औं आँधी हो । यो टाईफुन शक्तिशाली हुने र बिध्वंस मच्चाउने चेतावनी दिएकोले सर्वसाधारनमा छाएको छ । प्रतिघण्टा २०० किमी प्रतिघण्टाको गतिमा जापानको मुख्य भुभाग तर्फ अघि बढिरहेको टाईफुन हागिबिसले बुधबार साँझ ओगासावारा द्वीपमा असर पारेको थियो । 

    यतिबेला टोकियोमा तिब्र गतिमा हावाहुरी र मुसलधारे वर्षा भईरहेको छ । समुन्द्र आसपासका क्षेत्रमा बढी असर हुने भएको र ठुला पानीको छालको खतरा बढेकोले सम्भावित क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा राखिएको छ । 

    जापानको मध्य भागमा समेत शनिबार बिहानबाट सोमबार साँझसम्म असर पार्ने जनाईएको छ । 

  • फ्रान्समा चार प्रहरीको चक्कु प्रहार गरी हत्या

    फ्रान्समा चार प्रहरीको चक्कु प्रहार गरी हत्या

    पेरिस । फ्रान्समा प्रहरी मूख्यालय भित्रै चार प्रहरीको हत्या भएको छ । फ्रान्सको राजधानी पेरिसस्थित मुख्यालयमा एक व्यक्तिले ती प्रहरीको हत्या गरेको संचारमाध्यमले उल्लेख गरेका छन् ।

    प्रहरीको प्रत्याक्रमणमा ति आक्रमणकारीसमेत मारिएका छन् । यद्दपी उनको नाम अझै बाहिर ल्याइएको छैन । उनी मूख्यालयको प्रशासनिक विभागमा काम गर्ने कर्मचारी रहेको बताइएको छ ।

    हत्याको कारणबारे अनुसन्धान भइरहेको छ । करीव ४५ वर्ष उमेरका उनी मूख्यालयमा करीव २० वर्ष सेवा गरिसकेका कर्मचारी रहेको बताइएको छ ।

    घटनालगत्तै राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायत उच्च पदस्थ अधिकारी मूख्यालय पुगेका थिए ।

    उनको आक्रमणमा तीन पुरुष र एक महिला प्रहरी कर्मचारीको निधन भएको छ । फ्रान्समा मास सुटिंग र यस्ता आपराधिक गतिविधि अत्यधिक मात्रामा हुने गरेको छ ।
    एजेन्सी

  • चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाली राष्ट्रपति विमानस्थल जाने

    चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाली राष्ट्रपति विमानस्थल जाने

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपालमा राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गर्ने भएकी छिन् ।

    दशैं लगत्तै नेपाल आउन लागेका चिनियाँ राष्ट्रपतिको स्वागतमा अहिले देश तदारुकताका साथ खटिएको छ ।

    दक्षिण भारतको तमिलनाडु राज्यस्थित ममल्लिपुरममा आयोजित एक कार्यक्रममा सहभागि भई चिनियाँ राष्ट्रपति नेपाल आउने भएका छन् ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी २५ असोजमा नेपाल आउने कार्यक्रम बनिरहेको छ ।

    २४ असोजमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा उनको स्वागत गर्दैछन् । चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा नेपालकी राष्ट्रपतिसहित प्रधानमन्त्रीले समेत स्वागत गर्नेछन् ।

    यसबाट पनि यस भ्रमणलाई नेपालले दिएको महत्वका रुपमा चित्रण गर्न सकिन्छ । नेपालमा दुई दशकपछि औपचारिक रुपमा चिनियाँ राष्ट्रपतिका भ्रमण हुँदैछ ।

    भ्रमणका बेला रणनीतिक समझदारी र सम्झौता हुने तयारी रहेको छ । राष्ट्रपति सी पहिलो पटक नेपाल आउन लागेका हुन् ।

    यसअघि सी नेपालमा ८ घण्टा मात्र बस्ने बताइएको थियो । तर, पछिल्लो समय भने उनी दुई दिन नेपालमा बिताउने गरी आउने पक्का भएको हो ।

    भारत र चीनको बीचमा अवस्थित नेपाल यी दुबै मुलुकको उच्च प्राथमिकतामा पर्न थालेको आभास पनि यस भ्रमणले दिने छ ।

    यता, नेपाल सरकारले संघीय सरकारका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी तथा अन्य निकायको दशैं बिदा कटौती गरिदिएको छ । राष्ट्रपतिको भ्रमणको तयारीका लागि भन्दै बिदा कटौती भएको हो ।

  • नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, अष्ट्रेलियाका सबै शहरमा नेपाली जहाज जान सक्ने

    नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौता, अष्ट्रेलियाका सबै शहरमा नेपाली जहाज जान सक्ने

    काठमाडौं । अब अष्ट्रेलियाका सबै शहरमा नेपालबाट उडान हुने बाटो खुला भएको छ ।

    नेपाल र अष्ट्रेलियाबीच मंगलबार सम्पन्न द्धिपक्षीय प्रारम्भिक हवाई सेवा सम्झौताले दुबै मुलुकका वायुसेवा कम्पनीले एक अर्का देशका विमानस्थलमा उडान गर्न सक्ने बाटो खुलेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार अब नेपाली वायुसेवा कम्पनीले पर्थ, मेलवर्न, सिड्नी र ब्रिसवेन गरी ४ विमानस्थलमा साताको ७ उडान गर्न सक्ने भएका छन् ।

    सम्झौताले नेपाल एयरलाइन्सलाई निकै सहज भएको छ । अब उसले अष्ट्रेलिया उडानको यारी गर्न सक्ने गरी सहजिकरण भएको छ ।

    क्यानडामा दुबै मुलुकका सरकारी प्रतिनिधिबीच मंगलबार हस्ताक्षर भएको हो । अष्ट्रेलिया नेपालसँग हवाई सेवा सम्झौता गर्ने ४० औं मुलुकसमेत बनेको छ ।

    पढाई र कामका सिलसिलामा अहिले अष्ट्रेलियामा लाखौं नेपाली बसोबास गर्छन् ।

    नेपाल र अष्ट्रेलिया बीच सिधा उडान हुन सके त्यसले वायुसेवा कम्पनी र नेपाली यात्रु, दुबैलाई फाइदा पुग्ने थियो ।

    माथिका ४ विमानस्थलमा साताको ७ बाहेक अन्य शहरमा भने नेपाली जहाजले असिमित उडान गर्न सक्ने अधिकारी अष्ट्रेलियाले नेपाललाई दिएको छ ।

    नेपालले भने अष्ट्रेलियाका जहाजलाई काठमाडौंमा ७ वटा र भैरहवा तथा पोखरा विमानस्थलमा २८ वटा उडान प्रतिसाता उपलब्ध गराउने सहमति गरेको छ ।

  • दशैंपछि दुई मुलुकको भ्रमणमा निस्कदै राष्ट्रपति भण्डारी

    दशैंपछि दुई मुलुकको भ्रमणमा निस्कदै राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि वैदेशिक भ्रमणमा निस्कने भएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको म्यानमार र जापानको भ्रमणको तयारी भइरहेको छ ।

    शुरुमा म्यानमार जाने राष्ट्रपति लगत्तै जापान जाने गरी तयारी भइरहेको मन्त्रालय स्रोतको भनाई छ । त्यसो त अक्टोवर मै चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदैछन् ।

    उनी नेपाल आइसकेपछि मात्र राष्ट्रपति भण्डारी विदेश जाने गरी कार्यतालिका सार्वजनिक हुने बताइएको छ । सोहीकारण राष्ट्रपति भण्डारीको भ्रमणको मिति तय भइनसकेको हो ।

    चिनियाँ राष्ट्रपतिको मिति तय हुनासाथ त्यसपछि बाहिर जाने गरी नेपाली राष्ट्रपतिको वैदेशिक भ्रमण निश्चित गरिने भएको छ ।

    म्यानमार हुँदै जापान जाने कार्यक्रम तय भएपनि मिति अझै तोकिएको छैन । जापान रहँदा राष्ट्रपति भण्डारी राजा नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।

    यस समारोहमा विश्वभरबाट नेताहरुलाई निम्ता दिइएको छ । म्यानमारमा भने द्धिपक्षीय सम्बन्ध बिस्तारका लागि राष्ट्रपतिको भ्रमण हुन लागेको बताइएको छ ।

  • राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

    राष्ट्रसंघ महासभामा नेपालको सम्बोधन, ‘गरिब मुलुकमाथि जलवायु परिवर्तनको अन्यायपूर्ण असर’

    न्यूयोर्क । संयुक्त राष्ट्रसंघको महासभालाई नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सम्बोधन गरेका छन् । उनले खासगरी जलवायु परिवर्तनका मुद्दालाई जोडदार रुपमा विश्वसामू राखेका छन् ।

    गरिब देशले जलवायु परिवर्तनका अन्यायपूर्ण र औचित्यहिन असर भोग्नु परिरहेको भन्दै उनले नगण्य उत्सर्जनले पनि नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असर भोग्नु परेको उल्लेख गरे ।

    हिमनदीहरु पग्लिएर भइरहेको क्षयीकरणलाई नेपालल यस महासभामा उठाएको छ ।

    जलवायु परिवर्तनका असर न्यूनिकरणमा तत्काल आवश्यक कदम चाल्नु पर्ने भन्दै उनले गल्ती नगर्दा नगर्दै पनि जलवायु परिवर्तनका कारण आउने प्राकृतिक विपत्तिका कारण बर्सेनि थुप्रै नेपाली नागरिकले ज्यान गुमाउनु परेको उनले उल्लेख गरे ।

    उनले यसै वर्ष आएको आँधि र बाढी पहिराको सन्दर्भ समेत उठान गरेका छन । सगरमाथाको देश नेपाल जलवायु परिवर्तनको केन्द्रमा रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले जलवायु परिवर्तनको असरसँग जुध्न संयुक्त राष्ट्र संघले प्रयास गर्नुपर्ने उनको माग छ ।

    नेपालले इजरायल र प्यालेस्टाइनबीचको समस्या समाधानमा जोड दिएको छ । अमेरिका र उत्तर कोरियाबीचको संवादको स्वागत गर्दै नेपालले कोरियाली प्रायद्वीपमा स्थायी शान्तिको समेत कामना गरेको छ ।

    नेपालले आप्रवासी कामदारका हक अधिकार र सुरक्षाको प्रत्याभूति नेपालको प्राथमिकता भएको उल्लेख गरे ।

    महासभालाई भारतीय र पाकिस्तानी प्रधानमन्त्रीले पनि सम्बोधन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई गौतमबुद्ध दिएको भन्दै युद्ध नचाहेको उल्लेख गरे ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले युद्ध चाहे आफ्नो देश पनि पछि नपर्ने सन्देश दिए । आणविक शक्ति सम्पन्न मुलुक युद्धमा होमिनुको मतलव त्यसको असर सीमाना भन्दा धेरै परसम्म पुग्ने चेतावनी पाकिस्तानी प्रधानमन्त्रीले दिएका छन् ।

  • घानासँग नेपालले जोड्यो कूटनीतिक सम्बन्ध

    घानासँग नेपालले जोड्यो कूटनीतिक सम्बन्ध

    न्यूयोर्क । नेपाल र घानाबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको छ ।

    संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन अमेरिकामा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र घानाका समकक्षी शिर्ले बोत्चोयेबीच कूटनीतिक सम्बन्ध कायम गर्ने सम्बन्धी संयुक्त समझदारीमा हस्ताक्षर भएको हो ।

    अफ्रिकी मुलुक घाना अब नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएको १६८ औं मुलुक बनेको छ ।

    कूटनीतिक सम्बन्ध स्थापनासँगै द्धिपक्षीय सहकार्यमा जोड दिने सम्बन्धमा सहमति भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

    परराष्ट्र मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ महासभामा भाग लिइरहेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको स्थानमा उनले नेपाली टोलीको नेतृत्व गरेका हुन् ।

    मन्त्री ज्ञवालीले न्यूयोर्कमा बहराइन, नर्वे, साउदी अरेबिया र भेनेजुयलाका विदेशमन्त्रीसँग पनि द्धिपक्षीय सम्बन्धका विषयमा छलफल गरेका छन । मन्त्री ज्ञवालीले बुधबार मात्र अमेरिकी राष्ट्रपतिसँग भेटेका थिए ।

  • चीनले बनायो संसारकै विशाल विमानस्थल, बुधबारबाटै संचालनमा

    चीनले बनायो संसारकै विशाल विमानस्थल, बुधबारबाटै संचालनमा

    बेइजिङ । चीनले चमत्कारिक विकासलाई निरन्तरता दिएको छ । यसै सिलसिलामा बुधबारदेखि संसारकै ठूलो डासिङ विमानस्थल सञ्चालनमा ल्याएको छ ।
    करीब साढे १३ खर्ब नेपाली रुपैयाँ (१२ अर्ब अमेरिकी डलर) लागतमा निर्माण भएको यो विमानस्थल चमत्कारिक विकासको एक रुप हो ।

    किनकी यो करीव ९८ वटा फूटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विमानस्थल खुला भएको घोषणा गरेका छन् ।

    सन् २०१६ बाट निर्माण थालिएको यो अत्यन्तै महत्वाकांक्षी आयोजनालाई चीनले ४ वर्ष भित्रै पुरा गरेर अर्को चमत्कार गरेको हो ।

    चिनियाँ अर्थतन्त्रलाई माथि उकास्न यो परियोजना निकै सहयोगी सावित हुने अपेक्षा चिनियाँ अधिकारीहरुले गरेका छन ।

    यो विमानस्थलले वार्षिक १० करोड यात्रुलाई सेवा दिन सक्ने भएको छ । विमानस्थलदेखि विभिन्न राज्यसम्म दू्त गतिको रेल समेत सँगै बनाएको छ ।

    जसले गर्दा यो विमानस्थलले सजिलै विजेनश पाउने छ । अहिले संसारभरका जहाज चीनमा उडान गर्न चाहन्छन् ।

    तर, स्लट अभावले चीनले उडान अनुमति दिन सकिरहेको छैन ।

    फिनिक्स चरा आकारको विमानस्थल अहिले सञ्चालनमा रहेको बेइजिङको क्यापिटल इण्टरनेशनल एयरपोर्टको चाप कम गर्न सहयोगी हुने अपेक्षा चिनियाँ अधिकारीको रहेको छ ।

    अन्तरराष्ट्रिय वायुसेवा कम्पनी ब्रिटिश एयरवेज, क्याथे प्यासिफकलगायत कम्पनीले प्रारम्भमै नयाँ विमानस्थलबाट उडन थाल्दैछन् ।

    चीनले यस विमानस्थलको पावर सप्लाईका लागि सोलार सिस्टम जडान गरेको छ ।

    नेपालबाट निकट भविश्यमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले यस विमानस्थलमा उडान अनुमति पाउने आशा गरेका छन् ।

    एजेन्सी

  • पाकिस्तानमा भूकम्प, धनजनको ठूलो क्षति

    पाकिस्तानमा भूकम्प, धनजनको ठूलो क्षति

    इस्लामावाद । पाकिस्तानमा मंगलबार साँझ शक्तिशाली भूकम्पमा परी ४ जनाको मृत्य भएको छ ।

    पाकिस्तानले शासन गरेको कश्मीर क्षेत्रमा भूकम्प गएको र अहिलेसम्म ४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    घाइतको संख्या ठूलो संख्यामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने आंशका गरिएको छ ।

    भूकम्पको धक्का पाकिस्तान प्रशासित कश्मीरसहित राजधानी इस्लामावाद, लाहौर, पेशावरसम्म गरिएको बताइएको छ ।

    भूकम्पबाट एक बालिकासहित ४ जनाको ज्यान गुमाइसकेको बीबीसीले उल्लेख गरेको छ ।

    पाकिस्तानी सेनाका प्रवक्ता मेजर नजरल आसिफ गफूरले ट्वीट गर्दै सेनाको मेडिकल टीम घट्नामा खटिएको उल्लेख गरेका छन् ।

    बीबीसीका अनुसार धक्का भारतको राजधानी नयाँ दिल्ली सम्म गरिएको छ । पाकिस्तानको पंजाबस्थित झेलम शहरदेखि करिब ५ किलोमिटर दुरीमा अवस्थित जाटलानमा भूकम्पको केन्द्रविन्दु थियो ।

    भूकम्प ५ दशमलब ८ रेक्टर स्केलको रहेको अमेरिकी भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

    पाकिस्तानी संचारमाध्यमले भूकम्पका कारण सडकमा ठूल्ठूला चिरा परेको दृष्य प्रसारण गरेका छन् ।

    एजेन्सी

  • बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

    बेलायती प्रधानमन्त्री विरुद्ध अदालतको फैसला, संसद निलम्बन अवैधानिक

    लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको संसद निलम्बन गर्ने निर्णयलाई बेलायती सर्वोच्च अदालतले अवैधानिक घोषित गरेको छ ।

    प्रधानमन्त्री जोनसनले पाँच साताका लागि संसद निलम्बन गरेका थिए । उनको निर्णय बेलायती महारानीबाट पनि अनुमोदन भएको थियो ।

    प्रधानमन्त्री बोरिसले ९ सेप्टेम्बरदेखि बेलायतको तल्लो सदन हाउस अफ कमन्स पाँच साताका लागि निलम्बन गरेका थिए।

    बेलायतलाई यूरोपेली यूनियनबाट हटाउने प्रक्रिया अनुसार उनले संसद निलम्बन गरेका हुन् ।

    संसदबाट अवरोध हुने निष्कर्ष निकाल्दै उनले संसद निलम्बन गरेका थिए । जोनसन युरोपियन युनियनबाट बेलायतलाई ३१ अक्टोबर सम्म बाहिर निकाल्ने योजनामा छन् ।

    बेलायती संसदमा धेरै सांसद यस निर्णयको विपक्षमा रहेपछि उनले संसद नै विघटन गर्ने निर्णय लिएका हुन् ।

    त्यसो त बेलायतमा अधिवेशन सुरू हुनुअघि केही समय संसद निलम्बन गर्न सक्ने कानुनी प्रावधान भने रहेको छ ।

    जोनसनले संसद विघटन गरेपछि उच्च अदालतमा मुद्दा परेको थियो ।

    बेलायती सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेइलका अनुसार ११ जना न्यायाधीशले सर्वसम्मत रूपमा उक्त निर्णयलाई खारेज गरिदिएको जानकारी गराएकी छिन् ।
    एजेन्सी

  • मेसी बने फिफा वर्ष खेलाडी

    मेसी बने फिफा वर्ष खेलाडी

    इटाली । बार्सिलोनाका फर्वाड कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडी चुनिएका छन् ।

    सोमबार राती इटालीमा आयोजित विशेष समारोहमा फिफाले उक्त अवार्ड घोषणा गरेको हो । मेसीले क्रिस्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई उछिनेका हुन् ।

    विश्व फुटबल महासंघ (फिफा)ले अघिल्लो सिजनमा गरेको प्रदर्शनका आधारमा उक्त अवार्ड प्रदान गर्छ ।

    मेसीले अघिल्लो सिजनमा ५८ खेलबाट ५४ गोल गरेका थिए । यस वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड मेगान रापिनोईले हात पारिन् ।

    फिफा वर्ष पुरुष प्रशिक्षकमा भने लिभरपुलका जोर्गेन क्लोपको हातमा पुग्यो । महिला प्रशिक्षकको उपाधी जिल एलिसले जितिन् ।

    बालोन डि ओरसँगको साझेदारी तोडिएपछि फिफाले स्वतन्त्र रुपमा अवार्ड दिन थालेको हो । यसरी दिन थालिएको यो चौथो पटक हो ।

    फ्रान्स फुटबल म्यागाजिनले १९५६ देखि वितरण गर्न सुरु गरेको बालोन डि’ओरमा फिफाले २०१० देखि २०१५ सम्म साझेदारी गरेको थियो।

  • क्यारोलिनामा गोली चल्दा दुईको मृत्यु, ८ घाइते

    क्यारोलिनामा गोली चल्दा दुईको मृत्यु, ८ घाइते

    क्यारोलिना । अमेरिकामा शनिबार भएको गोलीबारीमा कम्तिमा दुई जनाको मृत्यु भएको छ भेन ८ जना घाइते छन् ।

    अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार एक रेष्टुराँ नजिकै गोली चलेको हो ।

    स्थानीय समय अनुसार राती पौने ती बजे लानकाष्टरस्थित हाइवे ५२१ सडक नजिकै रहेको वल्ड स्कूल स्पोर्ट्स बार र ग्रिल अन वल्ड चार्लोटीमा गोली चलेको हो ।

    ८ घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    अमेरिकामा गोलिबारीका कारण वर्षेनी ४० हजार भन्दा बढी मानिसले ज्यान गुमाउने गरेको तथ्यांक रहेको छ ।

  • साउदीमा अमेरिकी सैनिक बढाउने ट्रम्पको घोषणा

    साउदीमा अमेरिकी सैनिक बढाउने ट्रम्पको घोषणा

    वासिङ्टन । अमेरिकाले खाडी क्षेत्रमा संन्य क्षमता बढाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उक्त घोषणा गरेका हुन् ।

    साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि अमेरिकाले सैन्य शक्ति बढाउने तयारी गरेको हो । साउदी अरेवियाबाट अमेरिकाले सबैभन्दा धेरै तेल आयात गर्छ ।

    त्यसो त अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि थप प्रतिबन्धको समेत घोषणा गरिसकेका छन् । त्यसको केही समयमै साउदीमा सैन्य शक्ति बढाउने घोषणा बाहिरिएको हो ।

    साउदीका तेल कुवामा इरानले ड्रोन आक्रमण गरेको अमेरिकाको दावि छ । इरानले भने यो दाविको खण्डन गरिरहेको छ ।

    यसअघि राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि प्रतिबन्धको घोषणा गरेका थिए । साउदीको तेल कुवामा आक्रमण भएपछि उत्पादन रोकिएको छ ।

    जसले गर्दा संसारभर तेलको भाउ उच्च दरले बढेको छ ।

    खाडी क्षेत्रमा पठाउन लागिएको सेनाहरु हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने अमेरिकाको भनाई छ । करीव १ हजारको संख्यामा थप सैनिक साउदी पठाउने तयारी रहेको छ ।

    एजेन्सी

  • चिनियाँ राष्ट्रपति दशैं लगत्तै नेपालमा

    चिनियाँ राष्ट्रपति दशैं लगत्तै नेपालमा

    काठमाडौं । काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने निश्चित भएको छ । उनी दशैं पछि नै नेपाल भ्रमणमा आउने भएका हुन् ।

    भारतमा आयोजित एक कार्यक्रममा भाग लिएर चीन फर्कने क्रममा उनी नेपालमा बस्नेछन् । चिनियाँ राष्ट्रपति ११ अक्टोवरदेखि भारत भ्रमणमा निस्कने परराष्ट्र मन्त्रालय स्रोतको भनाई छ ।

    भारतमा एक सम्मेलनका दौरान १४ अक्टोवरसम्म रहने भएका छन् । त्यसपछि उनी नेपाल आएर १५ अक्टोवरमा चीन फर्कने गरी कार्यक्रम तय गरिएको छ ।

    भारतमा चिनियाँ राष्ट्रपतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

    यी तीन मुलुकबीचको सम्बन्धलाई विश्व राजनीतिमा सधै रणनीतिक रुपमा हेर्न गरिन्छ । एसियामा शान्ती कायम गर्न समेत भारत, नेपाल र चीनको भूमिका महत्वपूर्ण हुन्छ ।

    नेपाल यी दुई देशको बीचमा अवस्थित एक टथस्त मुलुक हो । सी भ्रमणको वातावरण बनाउने चिनियाँ कम्युनिस्ट पार्टी, विदेश विभागबाट पनि एक टोली नेपाल आउने पक्का भएको छ ।

    राष्ट्रपति भ्रमणको दौरान नेपाल र चीनबीच केही महत्वपूर्ण आयोजना तथा सम्झौतामा हस्ताक्षरको तयारी भइरहेको छ ।

    यसमा बहुचर्चित काठमाडौं केरुङ रेलमार्ग समेत रहने अनुमान छ । यद्दपी सम्झौताका विषयहरु भने बाहिरिएको छैन ।

  • डुवानमा अमेरिकाको ह्यूस्टन शहर, मोदी भ्रमण प्रभावित हुन सक्ने आंशका

    डुवानमा अमेरिकाको ह्यूस्टन शहर, मोदी भ्रमण प्रभावित हुन सक्ने आंशका

    ह्यूस्टन । अमेरिकाको टेक्सास राज्यस्थित ह्यूस्टन शहर डुबानमा परेको छ । भारी वर्षापछि आएको बाढीले शहर डुबानमा परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    पछिल्लो तीन दिन देखिको अविरल वर्षाले यहाँ ठूलो बाढी आएको हो । शहर जलमग्न भएको छ ।

    यो त्यही शहर हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त रुपमा करीव ५० हजार नागरिक सहभागी एक र्यालीमा सहभागिता जनाउने छन् र सम्बोधन पनि गर्नेछन् ।

    आगामी २६ सेप्टेम्बरमा उक्त कार्यक्रम आयोजना गरिएको छ । यदि वर्षा निरन्तर जारी रह्यो र शहर डुबान मै रह्यो भने विशिष्ट व्यक्तिको सहभागितामा हुने कार्यक्रम रद्द हुने सम्भावना रहेको समेत बताइएको छ ।

    ह्यूस्टनमा प्रधानमन्त्रीको कार्यक्रम एनआरजी स्टेडियममा हुने तय भएको छ । यो क्षेत्र समेत पानीमा डुबेको छ ।

    स्थानीय सरकारले बाढीबाट बच्न हाइ अलर्ट जारी गरेको छ । विद्यालयहरुमा बिदा दिइएको छ ।

    नागरिकलाई सुरक्षित स्थानमा लैजाने काम पनि जारी रहेको बताइएको छ ।

  • लाइबेरियामा स्कूलमा आगलागी, २७ बालबालिकाको निधन

    लाइबेरियामा स्कूलमा आगलागी, २७ बालबालिकाको निधन

    लाइबेरिया । अफ्रिकी देश लाइबेरियामा आगलागीमा परी २७ बालबालिकाको ज्यान गएको छ । हताहतीको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

    मंगलबार राति बोर्डिङ स्कुलमा आगलागी भएको बीबीसीले लेखेको छ । राजधानी मान्रोभियादेखि पूर्व पर्ने पेनेसभिला शहरस्थित स्कूलको भवनमा आगलागी भएको हो ।

    त्यस समय भवनमा बालबालिकाले कुरान पढिरहेका थिए । आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने आंशका गरिएको छ ।

    स्थानीय प्रहरीले यसबारे थप छानविन गरिरहेको बताएको छ । मृत्यु हुनेहरु २० वर्षभन्दा मुनीका रहेको बताइएको छ । २ जना शिक्षकले समेत ज्यान गुमाउनु परेको छ ।

  • अफगानि राष्ट्रपतिको चुनावी सभामा विस्फोट, २४ को गयो ज्यान

    अफगानि राष्ट्रपतिको चुनावी सभामा विस्फोट, २४ को गयो ज्यान

    अफगानिस्तान । अफगानिस्तानमा भएको एक आत्मघाती आक्रमणमा २४ जनाले ज्यान गुमाएका छन् । ३२ घाइते छन् ।

    अफगानिस्तानको परवान प्रान्तमा भएको आत्मघाती बम हमलामो यो हताहती भएको हो । राष्ट्रपति अशरफ गनीको चुनावी र्यालीमा भएको यो विस्फोटमा राष्ट्रपति भने सुरक्षित रहेका छन् ।

    मोटरसाइकलमा आएका आत्मघातीले आफैले आफैलाई बममा उडाएका थिए ।

    मृत्यु हुनेमा महिला र बालबालिकाको संख्या अधिक रहेको स्थानीय प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।

    यस हमलाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । पछिल्लो समय अफगानिस्तानमा हिंसात्मक घटना बढेका छन् । अ

    गस्ट महिनामा मात्र यस मुलुकमा भएको हिंसात्मक घटनामा करस्व २४ सय मानिसको ज्यान गएको तथ्यांक छ ।

  • अमेरिका-इरान बढ्दो तनाव, कच्चा तेलको मूल्य निरन्तर उकालो

    अमेरिका-इरान बढ्दो तनाव, कच्चा तेलको मूल्य निरन्तर उकालो

    साउदी अरेविया । गत शनिबार साउदी अरेवियाको सबैभन्दा ठूलो कच्चा तेल प्रशोधन केन्द्रमा ड्रोन हमला भयो । हमलाका कारण आगोलागी मात्र भएन, तेलको कुवामै क्षति पुग्यो ।

    त्यसपछि अरामको नामक कम्पनीले उत्पादन नै कटौती गरेको छ । विश्वको ५ प्रतिशत तेल उत्पादन गर्ने कम्पनीले थोरै मात्र उत्पादन घटाउँदा पनि त्यसले अन्तर्राष्ट्रिय बजारमा ठूलो असर गर्छ ।

    साउदी आक्रमणमा अमेरिकाले दोषि इरानलाई लगाएको छ । अन्तरिक्षबाट लिएको तस्वीर अनुसार इरानबाट साउदीमा आक्रमण भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावि गरेका छन् ।

    तर, इरानले भने अमेरिकी दाविको खण्डन गरेको छ । यमनको विद्रोही समूहले तेल कारखानामा आक्रमण गरेको बताइएको छ । साउदी आक्रमण पछि तेलको भाउ बढ्ने क्रम जारी छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सोमबार कच्चा तेलको भाउ ६६.२८ प्रति ब्यारेल पुगेको छ । कम्पनीका अनुसार अझै एक महिनासम्म पूर्ण क्षमतामा तेल उत्पादनको सम्भावना छैन ।

    उता, अमेरिकाले केही समय धान्ने गरी आफूसँग पर्याप्त इन्धन स्टक रहेको बताएपछि भने मूल्य केही थामिएको छ । अमेरिकालगायत विश्वका अतिविकसित मुलुकहरु नै इन्धनका ठूला प्रयोगकर्ता हुन् ।

  • नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध, फिर्ता लैजान अल्टिमेटम

    नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध, फिर्ता लैजान अल्टिमेटम

    काठमाडौं । सरकारले नेपालमा उत्तर कोरियाली लगानी प्रतिवन्ध गरेको छ । नेपालमा उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित व्यवसाय बन्द गर्न दुई महिने अल्टिमेटम दिँदै लगानी प्रतिवन्ध गरेको हो ।

    उद्योग विभागका अनुसार अक्टोबर अन्त्यसम्म सबै उत्तर कोरियाली व्यवसायीले आफ्नो लगानी फिर्ता लगिसक्नु भएको भएको छ ।

    त्यसक्रममा उनीहरुले व्यवसाय बन्द गर्न सक्छन् वा बिक्री गरेर नेपाल छाड्नु पर्ने हुन्छ । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत ति व्यवसायीलाई पत्राचार समेत भइसकेको विभाग स्रोतले जानकारी गराएको छ ।

    विश्वव्यापी प्रतिबन्धका कारण नेपालमा पनि उत्तर कोरियाली लगानी प्रतिवन्ध गर्नु परेको बताइएको छ । नेपालले कोरियाली दूतावासलाई पटकपटक यस सम्बन्धमा आग्रह गरिसकेको छ ।

    पछिल्लो समय सरकारले उत्तर कोरियाली नागरिकको भिसा अवधिमा पनि कडाई गर्दै थपेको छैन ।

    नेपालमा अस्पताल, रेष्टुरेण्ट र सफ्टवेयरको क्षेत्रमा उत्तर कोरियाली नागरिकको लगानी रहेको छ । तर, यसको परिमाण त्यति ठूलो भने छैन ।

    सांकेतिक रुपमा पनि उत्तर कोरियाको लगानीलाई संसारभर प्रतिवन्ध गरिएको छ ।

    शक्तिशाली राष्ट्रहरुले उत्तर कोरियाको निशस्त्रीकरण अभियानका दौरान यो प्रतिवन्ध लगाइरहेका छन् ।