Category: विश्व

  • अफगान फिर्ता शरणार्थीलाई ३५ हजारभन्दा बढी आवासीय जग्गा वितरण

    अफगान फिर्ता शरणार्थीलाई ३५ हजारभन्दा बढी आवासीय जग्गा वितरण

    काबुल, २० जेठ (रासस–सिन्ह्वा) । अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीहरूको आवास समस्या समाधान गर्न देशभर ३५ हजारभन्दा बढी जग्गा वितरण गरेको जनाएको छ । पछिल्लो समय छिमेकी देशहरूबाट ठूलो संख्यामा अफगान नागरिकहरू स्वदेश फर्किन थालेपछि सरकारले उनीहरूका लागि बसोबासको व्यवस्था गर्न यो कार्यक्रम सञ्चालन गरेको हो ।

    अफगानिस्तानको शहरी विकास तथा आवास मन्त्रालयका प्रवक्ताका अनुसार हालसम्म ३५ हजार ७१९ वटा आवासीय जग्गा फिर्ता भएका शरणार्थीहरूलाई हस्तान्तरण गरिएको छ । सरकारका अनुसार जग्गा वितरणको प्रक्रिया अझै जारी रहेको छ र आगामी दिनमा थप परिवारहरूलाई पनि समेटिनेछ ।

    हालसम्म देशका ३४ प्रान्तमध्ये १८ प्रान्तमा जग्गा वितरण कार्यक्रम लागू भइसकेको छ । सरकारले क्रमशः बाँकी प्रान्तहरूमा पनि यो योजना विस्तार गर्ने तयारी गरेको जनाएको छ । सम्बन्धित अधिकारीहरूका अनुसार अन्ततः स्वदेश फर्किएका सबै पात्र शरणार्थी परिवारलाई आवासका लागि जग्गा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

    पछिल्ला महिनाहरूमा अफगानिस्तानमा शरणार्थीहरूको फिर्ती उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी पाकिस्तान र इरानमा बसोबास गरिरहेका लाखौं अफगान नागरिकहरू विभिन्न कारणले स्वदेश फर्किरहेका छन् । कानुनी कागजात नभएका विदेशी नागरिकहरूलाई आफ्नो देश छोड्न आग्रह गरिएपछि फिर्ता हुनेहरूको संख्या अझ तीव्र बनेको बताइएको छ ।

    उपलब्ध तथ्यांकअनुसार सन् २०२५ को सुरुदेखि हालसम्म २५ लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तान र इरानबाट अफगानिस्तान फर्किसकेका छन् । यसरी ठूलो संख्यामा मानिसहरू एकैपटक फर्किंदा आवास, रोजगारी, स्वास्थ्य सेवा, शिक्षा तथा आधारभूत पूर्वाधारमा थप दबाब परेको छ ।

    सरकारले बढ्दो आवास आवश्यकतालाई ध्यानमा राख्दै केही प्रान्तहरूमा नयाँ आवासीय बस्ती निर्माण कार्य पनि सुरु गरेको जनाएको छ । यी बस्तीहरूमा घर निर्माणका लागि आवश्यक जग्गा, सडक, खानेपानी तथा अन्य आधारभूत सुविधा उपलब्ध गराउने योजना रहेको बताइएको छ ।

    विश्लेषकहरूका अनुसार लाखौं नागरिकको पुनर्स्थापना अफगानिस्तानका लागि ठूलो चुनौती हो । देश आर्थिक कठिनाइ, बेरोजगारी तथा सीमित स्रोतसाधनसँग जुधिरहेको अवस्थामा फिर्ता भएका नागरिकहरूको व्यवस्थापन गर्न सरकार र अन्तर्राष्ट्रिय सहयोग निकायहरूको समन्वय आवश्यक पर्ने देखिन्छ ।

    यद्यपि सरकारले जग्गा वितरण तथा नयाँ बस्ती निर्माण कार्यक्रममार्फत शरणार्थीहरूलाई स्थायी बसोबासतर्फ उन्मुख गराउने प्रयास गरिरहेको जनाएको छ । अधिकारीहरूले यो कार्यक्रमले फिर्ता भएका परिवारहरूको जीवन पुनःस्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

  • सुडानमा अन्तरसमुदायिक हिंसा बढ्दा मानवीय सहायता प्रभावित

    सुडानमा अन्तरसमुदायिक हिंसा बढ्दा मानवीय सहायता प्रभावित

    संयुक्त राष्ट्रसंघ, २० जेठ (रासस–सिन्ह्वा) । पश्चिमी सुडानका डार्फुर र कोर्डोफान क्षेत्रहरूमा जारी युद्धका बीच अन्तरसमुदायिक हिंसा बढ्दै गएको तथा हैजाको सम्भावित प्रकोपले मानवीय सङ्कट थप जटिल बनाएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयका अनुसार, मध्य डार्फुर र दक्षिण डार्फुर प्रदेशहरूमा प्रतिद्वन्द्वी समुदायबीच भएको झडपमा मानवीय क्षति भएको छ भने हजारौं मानिस विस्थापित भएका छन् । केही परिवारहरू छिमेकी देश चाडतर्फ पलायन गर्न बाध्य भएका छन् ।


    जारी विज्ञप्तिमा भनिएको छ, “बढ्दो असुरक्षाले मानवीय सहायता सञ्चालनमा समेत अवरोध पु¥याइरहेको छ । मध्य डार्फुरमा करिब २१ हजार मानिसलाई लक्षित मानवीय गतिविधि झडपका कारण स्थगित गरिएको छ ।” यसैबीच, पश्चिम कोर्डोफानमा हैजाको आशंकित प्रकोप फैलिइरहेको छ। आइतबारसम्म ३०० भन्दा बढी आशंकित संक्रमित र ७७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

    स्वास्थ्य साझेदार संस्थाहरूले प्रतिक्रिया जनाइरहेका भए पनि अत्यावश्यक सामग्री तथा स्रोतसाधनको अभावले उनीहरूको काम प्रभावित भएको बताइएको छ। मार्च महिनामा देशव्यापी हैजा प्रकोप अन्त्य भएको घोषणा गरिए पनि त्यस क्रममा १ लाख २४ हजारभन्दा बढी संक्रमित र तीन हजार ५०० भन्दा बढी मृत्यु भएका थिए ।


    वर्षायाम सुरु भएसँगै हैजा तथा पानीजन्य अन्य रोगहरूको जोखिम अझ बढ्ने चेतावनी दिइएको छ। खानेपानी तथा अन्य आधारभूत पूर्वाधारमाथि भइरहेका आक्रमणका कारण स्वच्छ पानीको पहुँच थप कठिन बनेको बताइएको छ । गत हप्ता मनाइएको ईद अल–अधा पर्वको अवधिमा पनि डार्फुर र कोर्डोफानका विभिन्न क्षेत्रमा युद्ध चर्किँदा दर्जनौं सर्वसाधारणको ज्यान गएको जनाइएको छ ।


    उत्तर कोर्डोफानको बारा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा एक दर्जन सर्वसाधारण मारिएका, धेरै परिवार विस्थापित भएका तथा मानवीय आवश्यकताहरू बढेको बताइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार पछिल्ला केही दिनमा मात्रै दुई हजार २०० भन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

    पश्चिम कोर्डोफानको कादाम क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ८ सर्वसाधारणको मृत्यु भएको तथा धेरै घाइते भएका स्थानीय स्रोतहरूले बताएका छन् । त्यस्तै, मध्य डार्फुरको उम दुखुन सहरमा शनिबार भएको अर्को ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको जनाइएको छ ।
    संयुक्त राष्ट्रसंघले सबै पक्षलाई सर्वसाधारण तथा नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न र मानवीय सहायता पहुँच सहज बनाउन पुनः आग्रह गरेको छ ।
    साथै, सुडानका लागि आवश्यक २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता अपिल वर्षको मध्यसम्म आइपुग्दा केवल २२ प्रतिशत मात्र वित्तीय सहयोग प्राप्त भएकाले थप अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको जनाइएको छ ।

  • अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिकोको जोड

    अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिकोको जोड

    मेक्सिको सिटी, २० जेठ (रासस–सिन्ह्वा) । मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ । मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोमबार यसबारे जानकारी दिँदै पुनरावलोकनसम्बन्धी औपचारिक वार्ताको पहिलो चरणपछि अमेरिकी पक्षले विभिन्न प्रस्तावहरू अघि सारेको बताए । उनका अनुसार प्रस्तावहरूमा वस्तुको उत्पत्ति सम्बन्धी नियम, उत्पादन सामग्रीको अंश, तेस्रो मुलुकसँग सम्बन्धित व्यवस्था, इस्पात, एल्युमिनियम, सवारीसाधन उद्योग तथा आर्थिक सुरक्षाजस्ता विषय समावेश छन् ।

    एब्रार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व व्यापार प्रणालीमा व्यापक परिवर्तन गरिरहेको टिप्पणी गरे । उनका अनुसार अमेरिकाले हाल वस्तु उत्पादन भएको स्थानका आधारमा फरक–फरक भन्सार शुल्क लागू गरिरहेको छ, जुन विगतका दशकहरूदेखि प्रचलित अन्तर्राष्ट्रिय व्यापार प्रणालीभन्दा फरक नीति हो । मेक्सिकोको मुख्य उद्देश्य सकेसम्म न्यून भन्सार शुल्क सुनिश्चित गर्नु रहेको र आदर्श अवस्था भनेको पूर्ण स्वतन्त्र व्यापार प्रणालीमा फर्किनु रहेको उनले बताए ।


    अर्थ मन्त्रालयले आगामी चरणको वार्तामा औद्योगिक क्षेत्रका हित समेटिएका थप प्रस्तावहरू प्रस्तुत गर्ने तयारी गरेको छ । मेक्सिको र अमेरिकाबीच दोस्रो चरणको वार्ता जुन १६ र १७ मा वासिङ्टनमा हुने तय भएको छ । उक्त वार्तामा कृषि, निष्पक्ष प्रतिस्पर्धा तथा वस्तुको उत्पत्ति सम्बन्धी नियमहरूमा थप छलफल गरिनेछ । तेस्रो चरणको वार्ता जुलाई २० देखि मेक्सिको सिटीमा आयोजना हुनेछ । त्यस क्रममा बाँकी विषयहरू टुंग्याएर वर्षको अन्त्यतिर हुने त्रिपक्षीय संयुक्त समीक्षाको तयारी गरिनेछ ।

  • विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक

    विश्व बजारमा तेल महँगियो, शेयर बजार भने सकारात्मक

    न्युयोर्क, २० जेठ (रासस–एपी) । मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य सोमबार बढे पनि अमेरिकी शेयर बजारले भने नयाँ रेकर्ड बनाउँदै अघि बढेको छ । तेलको मूल्य बढेपछि बजारमा प्रारम्भिक दबाब देखिए पनि अन्त्यमा लगानीकर्ताको आत्मविश्वास बलियो रहँदा प्रमुख सूचकाङ्कहरू उकालो लागेका हुन् । एस एन्ड पी ५०० सूचकाङ्क ०।३ प्रतिशतले बढ्दै अघिल्लो दिनको कीर्तिमान तोड्न सफल भयो । त्यस्तै डाउ जोन्स औद्योगिक औसत ४६ अंक (०.१ प्रतिशत) ले बढ्यो भने न्यास्ड्याक कम्पोजिट पनि ०.४ प्रतिशतले उकालो लागेर नयाँ रेकर्ड कायम गर्‍यो ।

    अमेरिका–इरानबीचको संघर्ष र युद्धविरामसम्बन्धी अनिश्चितताले ऊर्जा बजारमा असर पारेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४.२ प्रतिशतले बढेर प्रति ब्यारेल ९४.९८ डलर पुगेको छ । यो मूल्य अघिल्लो हप्ताको गिरावटको केही हिस्सा पुनः फिर्ता भएको हो । विश्लेषकहरूका अनुसार युद्ध सुरु हुनुअघि कच्चा तेलको मूल्य करिब ७० डलरको आसपास थियो, तर पछिल्लो तनावपछि मूल्य उच्च स्तरमै रहन थालेको छ । यसले विश्वव्यापी महँगी (मुद्रास्फीति) बढाउने दबाब सिर्जना गरेको छ, जसले ऋणको ब्याजदर र वित्तीय बजारमा पनि असर पारिरहेको छ । तेलको मूल्य बढ्दा उड्डयन क्षेत्रका कम्पनीहरू भने दबाबमा परेका छन् । इन्धन खर्च बढ्ने चिन्ताले केही एयरलाइन्स कम्पनीहरूको सेयर मूल्य घटेको छ ।

    यद्यपि दिनको अन्त्यतिर तेलको मूल्य केही स्थिर भएपछि बजारमा दबाब कम भयो र साना कम्पनीहरूको सूचकाङ्क समेत स्थिरतर्फ फर्कियो । विश्लेषकहरूले लगानीकर्ताहरू अझै पनि अमेरिका र इरानबीच सम्भावित सहमतिबाट होर्मुज जलडमरूमध्यमार्फत तेल आपूर्ति सहज हुने आशामा रहेको बताएका छन् । आपूर्ति सहज भएमा ऊर्जा मूल्य घट्ने र मुद्रास्फीति दबाब कम हुने अपेक्षा गरिएको छ ।

  • चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२-बीको सफल प्रक्षेपण

    चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२-बीको सफल प्रक्षेपण

    जिउछ्वान, २० जेठ (रासस–सिन्ह्वा) । चीनले आफ्नो अन्तरिक्ष कार्यक्रमअन्तर्गत विकसित ‘लङ मार्च–१२बी वाई–१’ वाहक रकेटको पहिलो उडान सफलतापूर्वक सम्पन्न गरेको छ । यो प्रक्षेपण चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट सोमबार अपराह्न ४ः४० बजे गरिएको थियो । प्रक्षेपणपछि रकेटले छ्यानफान उपग्रह समूहका लागि तयार गरिएका नेटवर्किङ उपग्रहहरूलाई सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षामा पु¥याएको चिनियाँ पक्षले जनाएको छ । सबै उपग्रहहरू योजना अनुसार आफ्नो कक्षामा स्थापित भएपछि अभियानलाई पूर्ण रूपमा सफल घोषित गरिएको थियो ।

    लङ मार्च–१२बी रकेटको यो पहिलो उडान भएकाले यसलाई चीनको अन्तरिक्ष प्रविधिको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । नयाँ रकेटको सफल परीक्षणले भविष्यमा थप व्यावसायिक तथा वैज्ञानिक अन्तरिक्ष अभियान सञ्चालन गर्ने चीनको क्षमतालाई बलियो बनाउने अपेक्षा गरिएको छ ।


    छ्यानफान उपग्रह समूह चीनले निर्माण गरिरहेको विशाल सञ्चार तथा इन्टरनेट सेवा सञ्जालको हिस्सा हो। यी उपग्रहहरूको प्रयोग उच्च गतिको सञ्चार सेवा विस्तार, डिजिटल पूर्वाधार सुदृढीकरण तथा दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच पु¥याउन गरिने जनाइएको छ ।

    लङ मार्च चीनको सबैभन्दा प्रमुख वाहक रकेट शृङ्खला हो, जसले दशकौँदेखि विभिन्न प्रकारका उपग्रह, अन्तरिक्ष यान तथा अनुसन्धान सामग्री अन्तरिक्षमा पठाउँदै आएको छ । लङ मार्च–१२बीको सफल प्रक्षेपणसँगै यस शृङ्खलाको कुल उडान संख्या ६४७ पुगेको छ । पछिल्ला वर्षहरूमा चीनले अन्तरिक्ष क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको छ । उसले आफ्नै अन्तरिक्ष स्टेशन सञ्चालन गरिरहेको छ भने चन्द्रमा तथा मङ्गल ग्रहसम्बन्धी अनुसन्धान अभियानहरू पनि अघि बढाइरहेको छ ।

    साथै, व्यावसायिक अन्तरिक्ष उद्योगलाई विस्तार गर्दै उपग्रह प्रक्षेपण तथा अन्तरिक्ष सेवामा विश्वव्यापी प्रतिस्पर्धा बढाउने रणनीति अवलम्बन गरेको छ। विशेषज्ञहरूका अनुसार लङ मार्च–१२बीको सफल पहिलो उडानले चीनको बढ्दो अन्तरिक्ष महत्वाकांक्षालाई थप मजबुत बनाएको छ र आगामी दिनमा अझ जटिल तथा महत्वाकांक्षी अन्तरिक्ष अभियानका लागि मार्ग प्रशस्त गरेको छ ।

  • मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

    मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

    क्वालालम्पुर, १९ जेठ (रासस–एपी) । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागू गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् । नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ । साथै, १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ ।

    यो नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ । नियमको पालना नगर्ने कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ । मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाब तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ । सरकारका अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ्दै गएकाले कडा नियमन आवश्यक भएको हो ।

    यद्यपि, बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकलाई कुनै कानुनी कारबाही गरिने छैन । सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताइएको छ । मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको स्पष्ट पारेको छ ।

    मलेसिया यस्तो कदम चाल्ने विश्वका केही देशहरूमध्ये एक बनेको छ । यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायत देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढाइरहेका छन् ।

  • आइबिस पुनः आकाशमा

    आइबिस पुनः आकाशमा

    टोकियो, १९ जेठ (रासस–एपी) । दशकौँअघि जापानबाट लोप भइसकेका क्रेस्टेड आइबिस (टोकी) पुनः जङ्गलमा फर्किएका छन् । उत्तर–मध्य जापानको नोटो क्षेत्रमा आइतबार आयोजित विशेष समारोहमा आठवटा प्रजननमार्फत हुर्काइएका आइबिसहरू औपचारिक रूपमा स्वतन्त्र रूपमा उड्नका लागि आकाशमा छोडिएका छन् । यसलाई संरक्षण अभियानको ऐतिहासिक सफलता मानिएको छ ।

    नोटो क्षेत्रको हकुई सहरमा भएको उक्त समारोहमा लोपोन्मुख चराहरूलाई तिनीहरूकै काठका पिँजडाबाट बाहिर निकालेर जङ्गलमा प्रवेश गराइएको थियो । सोही स्थानमा अन्तिम पटक जङ्गली अवस्थामा देखिएका यी चराहरूको पुनःस्थापनालाई स्थानीय समुदायले भावनात्मक क्षणका रूपमा स्वागत गरेको थियो । समारोहमा जापानका क्राउन प्रिन्स अकिशिनो, उहाँकी श्रीमती किको तथा अन्य सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो । पिँजडा वरिपरि रिबन काट्ने औपचारिकता सम्पन्न हुनासाथ चराहरू आकाशतर्फ उडेपछि उपस्थित बासिन्दाहरूले उत्साहका साथ स्वागत गरेका थिए ।

    साडो टापुस्थित संरक्षण केन्द्रमा सफल बन्दी प्रजनन कार्यक्रममार्फत हुर्काइएका यी आठ आइबिसहरूलाई अहिले जङ्गलमा पुनःस्थापित गरिएको हो । अधिकारीहरूका अनुसार थप १० वटा आइबिस पनि निकट भविष्यमा स्वतन्त्र रूपमा छोडिने तयारीमा छन् । जापानमा ‘टोकी’ भनेर चिनिने क्रेस्टेड आइबिस पूर्वी एसियाको मूल प्रजाति हो । यसको सेतो शरीर, खुट्टामा देखिने सुन्तला–गुलाबी रङ र आँखाको वरिपरि रहेको चम्किलो रातो चिह्नका कारण यो चरा विशेष आकर्षणको रूपमा चिनिन्छ ।

    इतिहासअनुसार सन् १९७० को दशकसम्म आइपुग्दा अत्यधिक सिकार र वातावरणीय क्षतिका कारण जापानको मुख्य टापु होन्सुबाट यो प्रजाति पूर्ण रूपमा विलुप्त भएको थियो । अन्तिम स्थानीय क्रेस्टेड आइबिस सन् २००३ मा साडो टापुमा मरेपछि जापानी मूल सङ्ख्या समाप्त भएको घोषणा गरिएको थियो । तर चीनको सहयोगमा सुरु गरिएको संरक्षण प्रयासपछि यस प्रजातिको पुनर्जीवन सम्भव भएको हो । सन् १९९९ मा चीनबाट प्राप्त एक जोडी आइबिसको सफल कृत्रिम प्रजननबाट जापानमा पहिलो पटक संरक्षण केन्द्रमै बच्चा जन्मिएको थियो, जसले संरक्षण अभियानलाई नयाँ गति दिएको वातावरण मन्त्रालयले जनाएको छ ।

    त्यसयता निरन्तर प्रजनन र संरक्षण प्रयासमार्फत आइबिसको सङ्ख्या क्रमशः वृद्धि हुँदै आएको छ । सन् २००८ मा साडो संरक्षण केन्द्रबाट १० वटा आइबिसलाई जङ्गलमा छोडिएको थियो । त्यसपछि उनीहरूको सङ्ख्या बढेर करिब ५०० पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । हाल नोटो क्षेत्रमा गरिएको यो पुनःस्थापनालाई केवल जैविक विविधता संरक्षणको उपलब्धि मात्र नभई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रका लागि आशाको प्रतीकका रूपमा पनि हेरिएको छ । सन् २०२४ को विनाशकारी भूकम्पबाट प्रभावित नोटो क्षेत्र अझै पुनर्निर्माणको चरणमा रहेकाले आइतबारको यो क्षणलाई स्थानीयहरूले सकारात्मक सङ्केतका रूपमा लिएका छन् ।

  • केन्यामा इबोला केन्द्रविरुद्ध प्रदर्शन

    केन्यामा इबोला केन्द्रविरुद्ध प्रदर्शन

    नैरोबी, १९ जेठ (रासस–एपी) । अमेरिकी नागरिकहरूका लागि केन्यामा इबोला सङ्क्रमितहरूलाई अलग्गै राखेर उपचार तथा निगरानी गर्ने केन्द्र स्थापना गर्ने योजनाविरुद्ध विरोध चर्किएको छ । केन्याको मध्य क्षेत्रीय सहर नान्युकीमा सयौँ युवाहरूले सोमबार सडकमा उत्रिएर प्रस्तावित केन्द्रको विरोध गरेका छन् भने अदालतले यसअघि नै सुविधा स्थापना र विदेशी बिरामीहरूको आगमन अस्थायी रूपमा रोक्न आदेश दिएको थियो ।

    प्रदर्शनकारीहरूले इबोलाविरुद्ध नाराबाजी गर्दै लाइकीपिया एयर बेसको मुख्य प्रवेशद्वारसम्म पदयात्रा गरेका थिए । यही सैन्य आधार क्षेत्रमा अमेरिकी नागरिकसहित विदेशी इबोला सङ्क्रमितहरूलाई अलग्गै राखेर उपचार र निगरानी गर्न मिल्ने नयाँ केन्द्र स्थापना गर्ने योजना सार्वजनिक भएपछि स्थानीय असन्तोष बढेको हो ।

    यो विरोध प्रदर्शन केन्याको उच्च अदालतले सुविधा सञ्चालन र विदेशी बिरामी ल्याउने प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको दुई दिनपछि भएको हो । अदालतमा केन्याको ल सोसाइटी र एक संवैधानिक निगरानी संस्थाले दायर गरेको मुद्दामाथि सुनुवाइ भइरहेका बेला यो आदेश आएको थियो ।

    मुद्दा दायर गर्ने संस्थाहरूले केन्याको स्वास्थ्य प्रणाली अझै पर्याप्त रूपमा सक्षम नरहेको तर्क गरेका छन् । उनीहरूको भनाइमा देशको सीमित स्वास्थ्य पूर्वाधारलाई ध्यानमा राख्दा विदेशी इबोला बिरामीहरूलाई केन्यामा ल्याएर अलग्गै निगरानी र उपचारमा राख्नु जोखिमपूर्ण हुन सक्छ ।

    अमेरिकी अधिकारीहरूले गत बिहीबार संयुक्त राज्य अमेरिकाले विदेशमा रहँदा इबोलाबाट सङ्क्रमित भएका आफ्ना नागरिकहरूलाई तत्काल अमेरिका फिर्ता पठाउनुको सट्टा केन्यास्थित नयाँ केन्द्रमा राख्ने योजना बनाइरहेको बताएका थिए । प्रशासनिक योजनाबारे जानकारी दिन नाम सार्वजनिक नगर्ने सर्तमा बोल्दै उनीहरूले यो सुविधा लाइकीपिया एयर बेसमा सञ्चालन हुने र शुक्रबारसम्म ५० वटा अलग्गै उपचार र निगरानीका शय्यासहित तयार हुने बताएका थिए ।

    यद्यपि केन्या सरकारले यो केन्द्र केवल अमेरिकी नागरिकका लागि बनाइएको भन्ने धारणा अस्वीकार गरेको छ । केन्याका स्वास्थ्य मन्त्री एडेन डुअलेले आइतबार उक्त सुविधा ‘सबैका लागि’ बनाइने र यसलाई केवल अमेरिकी नागरिकहरूसँग जोडेर हेर्न नहुने स्पष्ट पारेका छन् । यसैबीच अमेरिकी सरकारले केन्याको इबोला प्रतिकार तथा तयारी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने प्रस्ताव पनि अघि सारेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिअनुसार वासिङ्टनले केन्याको इबोला तयारी प्रयासका लागि ३५ लाख अमेरिकी डलर सहयोग प्रतिबद्ध गर्न चाहेको छ ।

    केन्यामा प्रस्तावित इबोला केन्द्रलाई लिएर अहिले सार्वजनिक स्वास्थ्य, राष्ट्रिय सुरक्षा, विदेशी सहयोग र स्वास्थ्य प्रणालीको क्षमता सम्बन्धी बहस तीव्र बनेको छ । स्थानीय स्तरमा विरोध जारी रहेकाले आगामी दिनमा अदालतको निर्णय र सरकारी कदममाथि विशेष चासो केन्द्रित भएको छ ।

  • फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा

    फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा

    फ्रान्सले कृत्तिम बौद्धिकता र डाटा सेन्टरलगायतका योजनाका लागि ९३ अर्ब युरो (१०८ अर्ब डलर) बराबरको विदेशी लगानी गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार एक अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त योजनाको घोषणा गरेका हुन् । उनले भने, “‘फ्रान्सलाई छान्नुहोस (चुज फ्रान्स)’ को वार्षिक बैठकको एक भागको रूपमा पहिले नै प्रतिबद्धता व्यक्त गरिएको र विगत आठ वर्षमा जम्मा भएको कूल ८७ अर्ब युरो नाघेको छ। यो देशमा प्रविधिको क्षेत्रलाई विकास गर्न प्रयोग गरिनेछ ।”

    म्याक्रोँले भने, “‘चुज फ्रान्स’ को यो संस्करणले फ्रान्सलाई मात्र १५ हजार भन्दा बढी रोजगारीका लागि ९३ अर्ब युरोको उच्च रकम सुनिश्चित गर्न सम्भव बनाउनेछ। यो स्पष्ट रूपमा अहिलेसम्मकै ठूलो कार्यक्रम हो र यो ऐतिहासिक छ।” म्याक्रोँले भने, “यस वर्षको प्रतिबद्धतामा जापानी प्रविधि लगानीकर्ता सफ्टबैङ्कका मासायोसी सनबाट ४५ अर्ब युरो लगानी गर्ने प्रतिवद्धता आएको छ । यसका संस्थापक मासायोशी सोनले उक्त रकम सन् २०३१ सम्ममा उत्तरी फ्रान्सका तथ्याङ्क केन्द्रहरुमा खर्च गरिने बर्ताएका छन् ।”

    “ती कृत्रिम बौद्धिकता, तथ्याङ्क केन्द्र साथै सेमीकन्डक्टरसहित महत्वपूर्ण खनिज, ट्याक्टर, ट्रक, स्टिल र स्वास्थ्य सेवामा पनि खर्च गरिनेछ,” राष्ट्रपतिले भने ।
    राष्ट्रपति म्याक्रोँले भने, “यी परियोजनाहरूले फ्रान्सलाई डाटा केन्द्रहरू उपलब्ध गराउने अग्रणी देश’ र युरोपमा ‘कम्प्युटिङ’ क्षमता बनाउन सम्भव बनाउनेछ, साथै एआईको माध्यमबाट औद्योगिकीकरणको लागि एआई रोबोटको उत्पादनको लागि अग्रगामी आधार निर्माण गर्नेछ ।

    “हामी अमेरिका र चीनलेजस्तै युरोपमा कम्प्युटिङ क्षमतामा रहेको खाडललाई पूर्ण गर्न खोजिरहेका छौँ,” उनले भने । सफ्ट बैङ्कका संस्थापक सोनले फ्रान्सलाई छनौट गर्नुको मुख्य कारण फ्रान्सको आणविक ऊर्जा भएको बताएका छन् । अब हामी ‘बिजुलीलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्दै अधिक उच्च–मूल्य भएको कृत्तिम बौद्धिकतामा रूपान्तरण र निर्माणपछि निर्यात गर्न सक्छौँ,” उनले भने । “हामीसँग फ्रान्सलाई युरोपको केन्द्र बनाउन सक्ने क्षमता छ,” सोनले भने ।

  • पहिलो त्रैमासको गिरावटपछि बैङ्क अफ फ्रान्सले आर्थिक वृद्धिको पूर्वानुमान घटाउँदै

    पहिलो त्रैमासको गिरावटपछि बैङ्क अफ फ्रान्सले आर्थिक वृद्धिको पूर्वानुमान घटाउँदै

    पेरिस, १९ जेठ (रासस–एएफपी) । मध्यपूर्व युद्धका कारण सन् २०२६ को पहिलो तीन महिनामा कुल गार्हस्थ्य उत्पादन सङ्कुचित भएपछि फ्रान्सको केन्द्रीय बैङ्कले आगामी हप्ताहरूमा आफ्नो आर्थिक वृद्धिको पूर्वानुमानलाई कटौती गर्न लागिएको निवर्तमान गभर्नरले सोमबार बताएका छन् । “त्यहाँ धेरै परिदृश्यहरू छन् र पहिलो त्रैमासिकमा अप्रिय आश्चर्यलाई ध्यानमा राख्दै सन् २०२६ को वृद्धि पूर्वानुमान हामीले मार्चमा दिएको तथ्याङ्कबाट संशोधन गरिनेछ,” फ्राँस्वाँ भिलेरोय डे गाल्हाउले रेडियो क्लासिकसँग भने ।


    दोस्रो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन फेरि घट्यो भने देशमा यी अधिकांश परिदृश्यहरूमा पूर्वानुमान सकारात्मक रहनेछ। यद्यपि, उनले देशको सम्भावित मन्दीको बारेमा अहिले नै केही नबोल्ने बताए । उनले तेलको मूल्यमा के हुने हो भनेर मध्यपूर्व द्वन्द्वको अवधिबारे धेरै अनिश्चितताहरू रहेको चेतावनी दिए । “जब तपाईं विवरणहरू हेर्नुहुन्छ, त्यहाँ केवल निर्यातको लागि मात्र होइन, घरेलु उपभोग, घरेलु लगानी र कर्पोरेट लगानीजस्ता घरेलु मागको लागि पनि मन्दी छ,” भिलेरोय डे गाल्हाउले भने ।


    पहिलो त्रैमासिकमा फ्रान्सको कूल ग्रार्हस्थ उत्पादन ०.१ प्रतिशतले खुम्चिएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । यो एक आश्चर्यजनक गिरावटले सरकारको पूर्ण वर्षको ०.९ प्रतिशतको वृद्धिको आधिकारिक पूर्वानुमानमा शङ्का उत्पन्न गरेको छ। गत मे महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषले पहिलेको अनुमानलाई संशोधन गर्दै फ्रान्सको आर्थिक वृद्धिदर ०.७ प्रतिशत रहने पूर्वानुमान गरेको थियो ।

    युरोपेली केन्द्रीय बैङ्कको दर–निर्धारण गभर्निङ काउन्सिलका सदस्य भिलेरोय डे गाल्हाउले फेब्रुअरीमा जूनको अन्त्यसम्म आफ्नो पद छोड्ने घोषणा गरेका थिए । उनको यो निर्णय कार्यकाल समाप्त हुनुभन्दा १८ महिना अघि आएको हो । उनको स्थानमा राष्ट्रपति इमानुएल माक्रोँका पूर्व ‘चिफ अफ स्टाफ’ इम्यानुएल मौलिनलाई नियुक्त गरिएको छ, यो कदम आलोचकहरूले आगामी मे महिनामा म्याक्रोँको कार्यकाल समाप्त हुनुअघि सहयोगीहरूलाई शीर्ष पदमा स्थापित गर्ने कदमको एक हिस्सा भएको बताएका छन्।

  • नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

    नाइजेरियामा अपहरणको घटनाप्रति विरोध जनाउँदै शिक्षक हड्तालमा

    लागोस, १९ जेठ (रासस–एएफपी) । मे २०२६ मध्यमा दर्जनौँ बालबालिका र उनीहरूका शिक्षकहरूको अपहरणको विरोधमा नाइजेरिया युनियन अफ टिचर्स (एनयुटी) ले ओयो राज्यमा सोमबारदेखि शैक्षिक हडतालको आह्वान गरेको छ । नाइजेरियाको सेनाले बोको हराम भनिने जिहादी समूह दोषी भएको आरोप लगाएका बन्दुकधारीहरूको समूहले दक्षिणपश्चिमी राज्य ओयोका तीन विद्यालयका विद्यार्थी र कर्मचारीहरूलाई अपहरण गरेका थिए।

    नाइजेरियामा कोको हराम र अन्य केही अतिवादी मुस्लीम समूहहरूले सरकारलाई आफूविरूद्धको कारबाहीलाई कम गर्न दवाव दिन लामो समयदेखि विद्यालयहरूमा आक्रमण गर्ने र विद्यार्थीसहित शिक्षक तथा कर्मचारीलाई अपहरण गर्ने गरेको पाइन्छ । फिरौतीका लागि अपहरण उत्तरी नाइजेरियाका लागि निरन्तरको प्रमुख समस्या हो तर नाइजेरियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्यमध्ये एक ओयोका लागि सामूहिक अपहरण असामान्य घटना हो ।

    अधिकारीहरूका अनुसार यहाँ हालै सात जना शिक्षकहरू र दुई देखि १६ वर्षका २५ देखि ३९ जना बालबालिकाहरू अपहरण भएका छन्। उनीहरुको खोजी कार्य जारी छ । एनयुटीले ओयो राज्यका प्राथमिक र माध्यमिक विद्यालयका शिक्षकहरूलाई सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि विद्यालयमा काम बहिस्कार (हडताल) गर्न आग्रह गरेको छ । युनियनले भनेको छ, “अपहरणकर्ताहरूले हाम्रा सहकर्मी र शिक्षार्थीहरूलाई उनीहरूको समयानुकूल उद्धार र सुरक्षित रिहाइको कुनै स्पष्ट सङ्केत बिना निरन्तर हिरासतमा राखेको’ विरोधमा हडताल गरिएको हो ।”

    यो अवस्थाले शिक्षकहरूमा डर र निराशा सिर्जना गरेको छ, अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई विद्यालय पठाउन निरुत्साहित गरेको छ र राज्यका सबै समुदायहरूमा त्रास र तनाव निम्त्याएको छ। शिक्षक युनियनले सरकारलाई ‘अपहरणकारीहरूलाई सुरक्षित रूपमा र कुनै ढिलाइ नगरी फिर्ता ल्याउने रणनीतिहरू तीव्र पार्न’ आग्रह गरेको छ र शिक्षकहरूलाई घरमै बस्न र ‘निर्देशन पालना गर्न’ सल्लाह दिएको छ।

    बन्दुकधारीहरूले यावोता समुदायमा रहेको ‘ब्याप्टिस्ट’ नर्सरी र प्राइमरी र नजिकैको एसिलेका दुई अन्य विद्यालयहरूमा एकैसाथ छापा मारी विद्यार्थी, शिषक तथा कर्मचारीहरूलाई अपहरण गरेको थियो । नाइजेरियाको प्रहरीले उक्त घटनाहरूलाई ‘समन्वित आक्रमण’ भनेको छ। ‘क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया’ले ३९ जना बालबालिका र सात शिक्षकलाई विद्यालयबाट अपहरण गरिएको जनाएको छ भने राज्यका गभर्नरले २५ जना विद्यार्थी र सात शिक्षकलाई पक्राउ गरिएको बताएका छन् ।

    नाइजेरियाली सेनाले अमेरिकी सेनासँग मिलेर देशको उत्तरी क्षेत्रमा जिहादीविरुद्ध अभियान बढाएपछि यसले केही समूहलाई दक्षिणतर्फ भाग्न बाध्य पारेको छ। आइतवार राष्ट्रपति बोला तिनुबुले ओयो राज्यमा विद्रोहीलाई लक्षित गरी एक हजार वनपाले भर्ती गरिरहेको र उनीहरूले त्यहाँ सरकारका मन्त्री र राष्ट्रिय प्रहरी महानिरीक्षक सम्मिलित ‘उच्च–स्तरीय’ प्रतिनिधिमण्डल पठाउन लागेको बताएका छन् ।

  • अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

    अमेरिकासँगको सन्देश आदानप्रदानलाई रोकिएको इरानको भनाइ, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने निर्णय

    तेहरान, १९ जेठ (रासस–एएफपी) । इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ । “गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,” इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व सर्तमध्ये एक हो, तर अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको छ।

    इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने र बदलामा बाब अल–मन्डेब घाँटीसहित अन्य विकल्पहरूलाई सक्रिय पार्ने एजेन्डामा रहेको बताएको छ। इरानका विदेशमन्त्री सइद अब्बास अराघचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिकाबीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर भएको बताएका छन् । इरानी संसद्का सभामुख मोहम्मद बाघर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्धविरामको पालना नगरेको स्पष्ट प्रमाण भएको बताए ।

    यसैबीच, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाको ‘नयाँ र विरोधाभासी’ मागका कारण युद्ध अन्त्यका लागि भएको वार्ता प्रक्रिया रोकिएको बताए । इरान र अमेरिकाबीच ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि उनीहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका भएपनि सहमति हुन सकेको थिएन ।

    बितेका हप्ताहरूमा, दुई पक्षले पाकिस्तानको मध्यस्थतामार्फत शान्तिका सर्तहरू उल्लेख गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका थिए र युद्ध अन्त्य गर्ने उद्देश्यका साथ एक समझदारी पत्रलाई अन्तिम रूप दिने काम गरिरहेका थिए । इजरायल र लेबनानले अप्रिलको मध्यमा युद्धविराम गरेका थिए तर युद्धविरामका बाबजुद इजरायलले लेबनानमा दैनिक आक्रमण जारी राखेको छ । हेजबुल्लाहले पनि उसको क्षमता अनुसार इजरायली सैन्य चौकीमा आक्रमण सुरु गरेको छ ।

    आइतवार इजरायलले दक्षिणी लेबनानको ब्यूफोर्ट रिज कब्जा गरेको दाबी गरेको छ जसमा मध्ययुगीन ब्यूफोर्ट महल इजरायलको नियन्त्रणमा गएको छ । यो इजरायलले लेबनानसँग युद्धविराम पछि कायम गरेको ‘सुरक्षा घेरा’ भन्दा बाहिरको क्षेत्र हो । दुई दशकभन्दा बढी समयपछि लेबनानमा इजरायलको यो सबैभन्दा भित्री भागमा भएको आक्रमण हो । यस कदमलाई अरब जगतका साथै फ्रान्स, जर्मनी र बेलायतले निन्दा गरेका छन् ।

    यसअघि सोमबार इजरायली प्रधानमन्त्री नेतन्याहु र रक्षामन्त्री इजरायली काट्जले एक संयुक्त वक्तव्यमा बेरुतको दक्षिणी उपनगरमा आक्रमण गर्न सेनालाई आदेश दिएको बताएका थिए । काट्जले पछि दक्षिणी लेबनानको लितानी नदीको क्षेत्रलाई सैन्य नियन्त्रित क्षेत्रमा परिणत गर्ने र हेजबुल्लाहले आक्रमण नरोकेसम्म बेरुतमा आक्रमण जारी राख्ने वाचा गरेका थिए ।

  • आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

    आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

    कोलम्बो,१८ जेठ (रासस–एएफपी) । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ प्रतिशतसम्म बढाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आर्थिक सुधार योजनाअनुसार इन्धनको लागत अनुसार मूल्य समायोजन गर्ने र सरकारी अनुदान क्रमशः हटाउने उद्देश्यले यो निर्णय गरिएको हो।
    राज्य सञ्चालित इन्धन कम्पनीका अनुसार पेट्रोलको मूल्य ४१० रुपैयाँबाट बढेर ४३४ रुपैयाँ प्रति लिटर पुगेको छ। त्यस्तै डिजेलको मूल्य ३९२ रुपैयाँबाट बढेर ४०७ रुपैयाँ प्रति लिटर कायम गरिएको छ।

    यो मूल्य वृद्धि आईएमएफले श्रीलंकालाई दिइएको २।९ अर्ब डलरको राहत प्याकेजअन्तर्गत ६९५ लाख डलरको अर्को किस्ता जारी गरेको केही दिनपछि आएको हो। सन् २०२३ को सुरुमा सुरु भएको यो कार्यक्रमले आर्थिक संकटमा परेको देशलाई स्थिर बनाउने लक्ष्य राखेको छ। आईएमएफले श्रीलंकालाई इन्धन र विद्युत् दुवै क्षेत्रमा लागत अनुसार मूल्य समायोजन गर्न दबाब दिँदै आएको छ। सरकारले ऊर्जा क्षेत्रमा दिइँदै आएको अनुदान हटाउने प्रक्रिया अघि बढाउने बताएको छ।


    राष्ट्रपति अनुरा कुमार दिसानायकेले आईएमएफलाई पठाएको पत्रमा सेप्टेम्बर महिनासम्म इन्धन अनुदान पूर्ण रूपमा हटाइने उल्लेख गर्नुभएको छ।
    विश्लेषकहरूका अनुसार फेब्रुअरी २८ पछि मध्यपूर्वमा देखिएको तनावका कारण ऊर्जा आपूर्तिमा असर परेको छ, जसले श्रीलंकाको आयातमा निर्भर अर्थतन्त्रलाई थप दबाबमा पारेको छ। श्रीलंकाले आफ्नो सम्पूर्ण इन्धन आयात गर्छ र विद्युत् उत्पादनका लागि कोइलामा पनि निर्भर छ। सन् २०२२ मा देशले ४६ अर्ब डलर विदेशी ऋण तिर्न नसकेर आर्थिक डिफल्ट गरेको थियो। त्यसयता आईएमएफको सहयोगमा अर्थतन्त्र स्थिर बनाउने प्रयास जारी छ।

  • अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

    अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

    तेहरान, १८ जेठ (रासस–एएफपी) । अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन् । प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ । न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्, “ट्रम्पले ‘कडा’ सर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनुभएको छ । यद्यपि विस्तृत विवरण खुलाइएको छैन ।

    सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बाघर गालिबाफले भनेका छन्, “इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौँ ।” ट्रम्पले आफ्ना प्राथमिकताहरूमा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताएका छन् । उनले भने, “मलाई इरानले एउटा सुनिश्चितता यो गरेको छ कि उनीहरूसँग यस्ता आणविक हतियार हुनेछैनन् । उनीहरू यसमा सहमत भएका छन्, र यो धेरै अनौठो कुरा भएको छ,” उनले शनिबार राति फक्स न्यूजको कार्यक्रममा प्रसारित एक अन्तर्वार्तामा भने ।

    तेहरानले यसअघि ट्रम्पको भनाइमा शङ्का व्यक्त गर्दै आएको छ र दुई पक्षहरू मुख्य विवादका मुद्दाहरूबाट टाढा छन्। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनुअघि रोक्का गरिएको १२ अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ । तेहरानले पनि जारी लडाइँको बाबजुद लेबनानलाई कुनै पनि सम्झौतामा समावेश गर्ने कुरालाई जोड दिएको छ । इजरायलले इरान समर्थित हेजबुल्लाहबिरूद्ध अभियान विस्तार गरेपछि बेरुतले उसलाई ‘विनासको नीति’ अबलम्बन गरेको आरोप लगाएको छ ।

    यसअघि सम्झौता नजिकिँदै आएको सङ्केत दिएपछि ट्रम्पले फक्ससँगको अन्तर्वार्तामा नयाँ सैन्य कारबाही हसनसक्ने तर हतार नगरिने सङ्केत गरेका थिए ।
    “मलाई कुनै हतार छैन,” ट्रम्पले भने, “यदि हामीले चाहेको कुरा पाएनौँ भने, हामी फरक तरिकाले अन्त्य गर्नेछौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पिट हेगसेथले शनिबार एसियामा भएको रक्षा सम्मेलनमा वासिङ्टन आवश्यक परेको खण्डमा युद्ध पुनः सुरु गर्न ‘आवश्यकताभन्दा बढी सक्षम’ रहेको बताएका थिए ।


    गत अप्रिलमा तेहरान र वासिङ्टनले अस्थायी युद्धविराम गरेपछि र पाकिस्तानको मध्यस्थतामा वार्ता भएपछि इरान र खाडीमा दैनिक आक्रमणहरू रोकिए पनि छिटपुट लडाइँ जारी छ। यसैबीच, इरानको रिभोलुसनरी गार्डले आइतबार इरानको जलक्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ । यसै हप्ताको सुरुवातमा इरानको बन्दर अब्बासस्थित बन्दरगाहमा अमेरिकी सेनाले आक्रमण गरेपछि युद्धविरामपछिको सबैभन्दा खराब द्वन्द्व सुरु भएको थियो ।

    जे होस्, कूटनीतिक नीतिले ट्रम्पलाई एक सम्झौता सुरक्षित गर्न दबाबमा राखेको छ जसले स्ट्रेट अफ हर्मुज वरपरको प्रतिस्पर्धात्मक अमेरिका र इरानको नाकाबन्दी हटाउनेछ, जसले विश्वव्यापी तेल आपूर्तिको लागि महत्त्वपूर्ण मार्गको आवागमन रोकेको छ। ट्रम्पले कुनै पनि सम्झौताअन्तर्गत उक्त जलसन्धि भएर जान सक्ने पानीजहाजमा इरानले कुनै शुल्क नलिने बताएपछि इरानी समाचार एजेन्सी फार्सले स्रोतलाई उद्धृत गर्दै भनेको छ, “त्यस्तो कुनै प्रावधान सम्भावना छैन।” इरानको समाचार संस्था (आइएसएनए) ले सांसद अलिरेजा सलिमीलाई उद्धृत गर्दै नियन्त्रित जलक्षेत्रमा इरानको व्यवस्थापन र सार्वभौमिकता कार्यान्वयन गर्ने योजना छिट्टै संसदमा पेश गरिने बताएको छ ।

  • चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ

    चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ

    वासिङ्टन, १८ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिकित्सकले उनको स्वास्थ्य राम्रो भएको तर उनले तौल घटाउनु उचित हुने सुझाब उनको ८० औँ जन्मदिनको केही हप्ताअघि गरिएको वार्षिक स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसले शुक्रबार जानकारी दिएको छ। रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनको तुलनामा आफ्नो मानसिक र शारीरिक शक्तिको बारेमा बारम्बार गौरब गर्ने गरेका छन् ।


    उनको निद्रा र हातमा चोटको बारेमा पत्रकारद्वारा सोधिएका प्रश्नहरूको जवाफपछि मङ्गलबार वासिङ्टन नजिकैको वाल्टर रीड सैन्य अस्पतालमा ट्रम्पको मेडिकल र दन्त परीक्षणपछि यो रिपोर्ट सार्वजनिक गरिएको हो । ह्वाइट हाउसमा प्रकाशित एक जानकारीमा राष्ट्रपति ट्रम्पका निजी चिकित्सक सिन बार्बाबेलाले भनेका छन्, “राष्ट्रपति ट्रम्पको स्वास्थ्य राम्रो छ, उनको हृदय, फोक्सो, न्यूरोलोजिकल र समग्र शारीरिक कार्य तगडा देखिएको छ ।”

    तीन पृष्ठको स्वास्थ्य जानकारीमा ट्रम्पको शारीरिक परीक्षण र निचोड रहेको छ, “पत्रमा बार्बाबेलाले राष्ट्रपति ट्रम्प ‘कमान्डर–इन–चीफ’ र राष्ट्र प्रमुखको सबै कर्तव्यहरू पूरा गर्न पूर्ण रूपमा स्वस्थ छन् । परीक्षणपछि चिकित्सकको परामर्शमा राष्ट्रपति ट्रम्पलाई ‘आहारको बारेमा मार्गदर्शन, कम खुराक लिन, शारीरिक गतिविधिमा वृद्धि र निरन्तर वजन घटाउने सहित रोकथामका लागि’ सुझाब दिइएको थियो । पत्रमा भनिएको छ, “छ फिट तीन इन्च (१९१ सेन्टिमिटर) उचाइ भएका ट्रम्पको तौल २३८ किलोग्राम (१०८ किलोग्राम) छ, जुन गत वर्षको अप्रिलमा उनको अन्तिम पूर्ण वार्षिक मेडिकल परीक्षणका समयभन्दा १४ पाउन्ड (करिब ६.४ किलोग्राम) बढी हो।

    ट्रम्पको मुटुको उमेरको अवस्था उनको मुटुको वास्तविक उमेरभन्दा १४ वर्ष कम उमेरका मानिसको जस्तो स्वस्थ रहेको अनुमान गरिएको छ । ट्रम्पले संज्ञानात्मक मूल्याङ्कनमा ‘३० पूर्णाङ्कमा ३० नै’ अङ्क दिइएको छ। राष्ट्रपति ट्रम्पले दर्जनौँ पटक संज्ञानात्मक परीक्षणको बारेमा बोलेका छन् । जसबारे उनका पूर्ववर्तीहरूले यो नलिएका उनले दाबी गरेका छन् । जुन १४ मा ८० वर्ष पुगेका ट्रम्पले तीनवटा औषधि सेवन गरिरहेका छन् । जसमध्ये दुई कोलेस्ट्रोल नियन्त्रणका लागि र तेस्रो एस्पिरिन मुटु रोकथामका लागि तोकिएको छ ।

    कार्यालयमा फर्किएपछि रिपब्लिकन नेताको प्रायः दाहिने हातमा चोटपटक लागेका जस्तो देखिन्छ, जुन सामान्यतया ‘मेकअप’ले ढाकिएको हुन्छ । हातहरूको पछाडिको परीक्षणमा एउटा घाउ (एक्काइमोसिस) पत्ता लागेको र यो हृदय रोग रोकथामको लागि एस्पिरिनको प्रयोगको कारण भएको हुनसक्ने र यो उहाँले बारम्बार हात मिलाउँदा भएको हुनसक्ने र उक्त घाउ सानो जलनसँग मिल्दोजुल्दो भएको पाइएको छ,” रिपोर्टबारे सार्वजनिक जानकारीमा ट्रम्पको चोटग्रस्त हातको बारेमा भनिएको छ।

    ह्वाइट हाउसका धेरै कार्यक्रमहरूमा राष्ट्रपतिले केही सेकेन्डका लागि आँखा बन्द गरेको पनि देखिएको छ, यद्यपि उहाँले बारम्बार निदाउने गरेको कुरा अस्वीकार गरेका छन् । सन् २०२४ मा पेन्सिल्भेनियाको बटलरमा भएको र्यालीको क्रममा ट्रम्प हत्याको प्रयासको निशाना बनेका राष्ट्रपति ट्रम्पको कानमा हल्का चोट देखिएको छ।

  • फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ

    फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ

    पेरिस, १८ जेठ (रासस–एएफपी) । पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगमा आर्सनलमाथि जित हासिल गरेको अवसरमा भएको खेलमा हिंसात्मक झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि फ्रान्सका अधिकारीहरूले हिंसा नियन्त्रणका लागि देशभरि ७८० जनालाई पक्राउ गरिएको घोषणा गरेका छन्। पिएसजीको जितमा रमाउने र खेलका लागि हजारौँ मानिस पेरिसको सडकमा उत्रिएका थिए । बिजयोत्सवका लागि सडकमा भेला भएका शुभेच्छुकका केही समूह र प्रहरीबीच भीड नियन्त्रणका क्रममा झडप भएको थियो ।

    प्रशासनले गत वर्षको बिजयोत्सबपछिको अशान्तिलाई मध्यनजर गर्दै करिब २२ हजार सुरक्षाकर्मीलाई सडकमा उतारेको थियो । कानून प्रवर्तनलाई लक्षित आतिशबाजीको बढ्दो प्रयोग र झडपलाई प्रकाश पार्दै गृहमन्त्री लरेन्ट नुनेजले एक संक्षिप्त पत्रकार सम्मेलनमा भने, “फ्रान्समा ५७ सुरक्षाकर्मी र २१९ जना बिजयोत्सवमा सहभागी व्यक्ति घाइते भएका छन्भने उनीहरूमध्ये आठ गम्भीर रूपमा घाइते भएका छन् ।”

    पेरिसको सरकारी अभियोजनकर्ताको कार्यालयले पेरिसको रिङरोडमा ‘मोटोक्रस बाइक’ दुर्घटनामा एक युवकको मृत्यु भएको घोषणा गरेको छ र राजधानीमा एक व्यक्ति धारिलो हतियारको आक्रमणबाट घाइते भएको र उनको अवस्था गम्भीर रहेको बताएको छ । नुनेजले गत वर्ष पिएसजीको च्याम्पियन्स लिग जितको खुसियालीको तुलनामा यो सङ्ख्या ३२ प्रतिशतले बढी भएको बताए ।

  • म्यान्मामा गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

    म्यान्मामा गोदाममा विस्फोट हुँदा दर्जनौँ व्यक्तिको मृत्यु, करिब ७४ जना घाइते

    याङ्गुन, १८ जेठ (रासस–एएफपी) । उत्तरपूर्वी म्यान्माको एक भवनमा भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा दर्जनौँ घाइते भएका छन् । भवनमा खानीका लागि प्रयोग हुने विस्फोटक पदार्थ राखिएको र दुर्घटनाबाट नजिकैका दर्जनौँ घरमा पनि क्षति पुगेको बताइएको छ ।

    नाम्खाम शहरको काउङटुप गाउँमा दिउँसो भएको विस्फोटमा अन्य ७० जनाभन्दा बढी घाइते भएका छन् । यो क्षेत्र चीनको सीमाबाट करिब तीन किलोमिटर दक्षिणमा अवस्थित छ । यो म्यान्मा सरकारविरुद्ध लड्दै आएको सशस्त्र जातीय समूह ताङ नेशनल लिबरेसन आर्मीको नियन्त्रणमा रहेको क्षेत्र हो ।

    एक उद्धारकर्ताले सुरक्षा संवेदनशिलता देखाउँदै नाम नबताउने सर्तमा भने, “आइतबार साँझसम्म छ जना बालबालिकासहित ४६ जनाको शव फेला परेको छ । ७४ जना घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उद्धार कार्य जारी रहेको छ।” अर्का एक उद्धारकर्ताले विस्फोट भएको स्थानमा करिब ५९ जनाको मृत्यु भएको र १०० भन्दा बढी घरहरूमा क्षति पुगेको बताएका छन् । भग्नावशेषमा मानिसहरू फसिरहेकाले उद्धार कार्य अझै जारी रहेको छ ।

  • जापानको औद्योगिक उत्पादन अप्रिलमा ०.८ प्रतिशतले वृद्धि

    जापानको औद्योगिक उत्पादन अप्रिलमा ०.८ प्रतिशतले वृद्धि

    टोकियो, १७ जेठ (रासस–सिन्ह्वा) । जापानको औद्योगिक उत्पादन अप्रिल महिनामा अघिल्लो महिनाको तुलनामा ०.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यससँगै लगातार दुई महिनादेखिको गिरावट अन्त्य भएको छ । जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार कारखाना र खानीहरूको मौसमी समायोजित उत्पादन सूचकाङ्क २०२० लाई आधार वर्ष मान्दा १०२.८ पुगेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

    सामान्य प्रयोजन तथा व्यवसायमुखी मेसिनरी, विद्युतीय मेसिनरी र सूचना तथा सञ्चार इलेक्ट्रोनिक्स उपकरण क्षेत्रको उत्पादन वृद्धि प्रमुख कारण बनेको छ । कुल सात क्षेत्रमा उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यद्यपि मोटर वाहन, अकार्बनिक तथा कार्बनिक रसायन, साथै पेट्रोलियम तथा कोइला उत्पादन लगायत आठ क्षेत्रमा उत्पादन घटेको छ । निर्माताहरूको सर्वेक्षणका आधारमा मन्त्रालयले मे महिनामा उत्पादन ५.१ प्रतिशतले बढ्ने तथा जुन महिनामा ०.४ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

  • अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

    अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु

    वासिङ्टन, १७ जेठ (रासस–एएफपी) । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा एउटा डुङ्गामा शुक्रबार आक्रमण गर्दा तीन जना लागु औषध तस्करकोे ज्यान लिएको अधिकारीहरूले बताएका छन् । गएको हप्तामा भएको यो तेस्रो घातक आक्रमण हो भने ट्रम्प प्रशासनले सेप्टेम्बरमा आक्रमण सुरु गरे देखि मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा १९८ पुगेको एएफपिले जनाएको छ । सामाजिक सञ्जाल एक्सको पोस्टमा, युएस साउदर्न कमान्डले उक्त जहाज पूर्वी प्रशान्तमा नार्को–तस्करी अपरेसनमा संलग्न रहेको जनाएको छ ।

    सामाजिक सञ्जालमा पोष्ट गरिएको आक्रमणको भिडियो फुटेजमा खुला समुद्रमा बसिरहेको जहाज ठुलो विस्फोटले डुबाएको देखाइएको छ । अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा अपरेसन “साउदर्न स्पियर“ सुरु गरेको हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागु औषध तस्करहरूसँग अमेरिका कडा युद्धमा रहेको बताएका छन् । कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले स्पष्ट रूपमा अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित अमेरिकी आक्रमणहरु गैरन्यायिक हत्याको कारण हुने बताएका छन् ।

  • नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने : प्रशिक्षक

    नेइमार विश्वकपसम्म पिँडुलाको समस्याबाट मुक्त हुने : प्रशिक्षक

    टेरेसोपोलिस, ब्राजिल, १६ जेठ । रासस–एएफपी) । ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस जुनियर्स (नेयमार) पिँडुलाको समस्याबाट विश्वकपको पहिलो खेलका लागि पनि तयार हुन सक्ने ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले शनिबार बताएका छन् ।

    विश्वकप नजिकिँदै गर्दा ३४ वर्षीय ब्राजिलियाली प्रसिद्ध खेलाडी तीन हप्ताका लागि बाहिरिन सक्ने रिपोर्टपछि एन्सेलोट्टीले यसको सट्टा नेइमारले जुन १३ मा मोरक्कोविरुद्ध न्यु जर्सीमा हुने खेलका लागि निको हुने गरी उपचार भइरहेको बताएका हुन् ।


    “हामीलाई विश्वास छ कि उनी चाँडै मैदानमा फर्कनेछन्, यदि उनी पहिलो खेल खेल्न सकेनन् भनेपनि दोस्रो खेलका लागि तयार हुनेछन्,” इटालियन एन्सेलोट्टीले भने ।
    बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व स्टार नेइमारले विश्वकपअघि पानामा र इजिप्टविरुद्धको मैत्रीपूर्ण खेल भने खेल्ने छैनन् । ब्राजिलले पानामासँग आइतबार माराकाना रङ्गशालामा खेल्नेछ भने जुन ६ मा क्लिभल्याण्डमा इजिप्टसँग अन्तिम अभ्यास खेल खेल्नेछ ।

    विश्वकपका लागि एन्सेलोट्टीको २६ सदस्यीय टोलीमा नेयमारलाई समावेश गर्नु आश्चर्यको कुरा थियो किनभने उनी चोटपटक पछिल्लो समय खेलमा कमजोर प्रदर्शन कारण लगभग तीन वर्षदेखि राष्ट्रिय टोलीमा छनोट हुन सकेका थिएनन् । यद्यपि, नेयमार सेलेकाओका लागि १२८ खेलमा ७९ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । यो उनको विश्वकप खेलमा चौथो प्रवेश हो ।

  • कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु

    कोलम्वियामा छापामार समूहबीच झडप, ४८ जनाको मृत्यु

    बोगोटा, १५ जेठ (रासस–एएफपी) । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटहरूबीचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् । क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेजले एएफपीसँगको कुराकानीमा भने, “विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा ४८ जनाको मृत्यु भएको छ।”

    “शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ,“ उनले भने । सरकारसँग आधा शताब्दीको युद्धपछि सन् २०१६ मा फार्कले हतियार बिसाएपछि भएको कोलम्बिया दशकको सबैभन्दा खराब हिंसाको कारण स्तब्ध भएको छ। कुनै समय विद्रोही सेनाको नियन्त्रणमा रहेको जङ्गल क्षेत्र नियन्त्रणका साथै लागूऔषध ओसारपसार र अवैध उत्खननबाट प्राप्त हुने आम्दानीका लागि विभिन्न साना छापामार समूहहरू अझैपनि प्रतिस्पर्धा गरिरहेका छन्।

    उद्धार टोलीहरू शवहरू निकाल्न घटनास्थलमा यात्रा गर्न गुभियारमा उपस्थित सशस्त्र समूहहरूको अनुमतिको पर्खाइमा छन्। नगर प्रमुखले भने, “लडाई भेरेडा पिरिपालको बस्तीमा भएको थियो र स्थानीयले नै मृतकको सङ्ख्या प्रदान गरेका हुन् ।” यो रक्तपातले निवर्तमान वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको असफल ‘पूर्ण शान्ति’ रणनीतिमा नयाँ झट्का सिर्जना गरेको छ । पेट्रोको उत्तराधिकारीको दौडमा अग्रसर वामपन्थी सिनेटर इभान सेपेडाले सशस्त्र समूहहरूसँग वार्ता जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक कट्टर वकिल अबेलार्डो डे ला एस्प्रिलाको नेतृत्वमा उहाँका दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूले विद्रोहीहरूलाई सैन्य रूपमा दबाउन आवश्यक रहेको तर्क गर्दै आएका छन् । पेट्रोको सरकारले हालैका महिनाहरूमा छापामारविरुद्ध आक्रमण बढाएको छ। रक्षामन्त्री पेड्रो सान्चेजले बिहीबार ब्लू रेडियोलाई भने, “क्रान्तिकारी बयानबाजीको समर्थन गरे पनि, फार्क असन्तुष्टहरूको ‘आपराधिक अर्थव्यवस्था अर्थात् लागूऔषध तस्करीबाट बाँच्ने एक मात्र उद्देश्य रहेको देखिन्छ।”

    उनले भने, “मौसमको अवस्थाले यस क्षेत्रमा हवाई मार्गबाट सेना तैनाथ गर्न असम्भव बनाएको छ तर उनीहरू स्थलमार्गबाट अघि बढिरहेका छन्।” गुभियार छापामार समूहहरूको ऐतिहासिक गढहरू मध्ये एक हो। सैन्य स्रोतले एएफपीलाई बताएअनुसार भिडन्त सोमबारदेखि सुरु भएको थियो तर यो अहिले चलिरहेको छ कि छैन भन्ने बारेमा पुष्टि हुन सकेको छैन ।

  • फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी

    फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी

    तेहरान, १५ जेठ (रासस–एएफपी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकपअघि इरानको राष्ट्रिय टोली (फिफा) का लागि बहुप्रवेशी भिसाको व्यवस्था गर्ने अपेक्षा इरानको फुटबल महासङ्घले गरेको छ । फिफाका अध्यक्ष मेहदी ताजले भने, “फिफाले ‘मल्टिपल इन्ट्री (बहुप्रवेशी)’ भिसा दिने अपेक्षा गरिएको छ ताकि खेलाडीहरू अमेरिका प्रवेश गर्न र मेक्सिको फर्कन सकून्।”

    ‘टिम मेली’ को रूपमा चिनिने इरानी टोलीले सुरुमा प्रतियोगिताको क्रममा एरिजोनाको टक्सनमा रहने योजना बनाएको थियो तर पछि यसको प्रशिक्षण शिविर मेक्सिकोको तिजुआनामा सारिएको छ । यसले अमेरिका र क्यानडासँगै विश्वकपको सह–आयोजना गर्नेछ। अमेरिकी भिसासँग सम्बन्धित जटिलताहरूबाट बच्न र इरान एयरको उडानमा सिधै मेक्सिको यात्रा गर्न अनुमति दिनका लागि यो कदम चालिएको ताजले यसअघि बताएका थिए ।


    इरानले समूह ‘जी’ का सबै तीन खेल अमेरिकामा खेल्नेछ । उनले भने, “अब मेक्सिको जाने निश्चित भएको छ । टोली तयारी गरिरहेको छ।” फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका–इजरायलले गरेको बमबारी अभियानपछि सुरु भएको मध्यपूर्व युद्धको पृष्ठभूमिमा विश्वकपमा इरानको सहभागिता महिनौँदेखि अनिश्चित थियो।

    टोलीले विश्वकपको आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग खेल्नेछ भने समूह चरणमा बेल्जियमसँग सोही शहरमा र इजिप्टसँग सियाटलमा खेल्नेछ। बिहीबार ताजले इरानका प्रसिद्ध स्ट्राइकरलाई सङ्केत गर्दै ‘सरदार अजमुनको अवस्थाबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
    टोलीका व्यवस्थापकले तयार पारेको प्रारम्भिक टोलीको सूचीबाट उनलाई हटाइएको बताएका िथए । बायर लेभरकुसेन र एएस रोमाबाट खेलिसकेका अज्मौनले यसअघि पनि सरकार विरोधी प्रदर्शनको समर्थन गरेका थिए ।


    उनले इरानी मिडियाबाट पनि आलोचनाको सामना गर्नुपरेको थियो । मार्चमा प्रकाशित एक फोटोले उहाँलाई दुबईका शासकसँग देखाइएको थियो, जहाँ उनी हाल खेल्छन् र बस्छन् । सोमबार इरानका एक उपराष्ट्रपतिले अज्मौनलाई राष्ट्रिय टोलीमा पुनस्र्थापित गर्न आह्वान गरेका थिए । हालैको इन्स्टाग्राम पोस्टमा अजमौनले भनेका छन्, “उनले एक पटक ‘अर्को देशको धेरै ठूलो वित्तीय प्रस्ताव’ अस्वीकार गरेका थिए र आफूलाई ‘इरानको सन्तान’ भनेका छन् ।

  • बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

    बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

    काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढ्दै गएको बताएको छ । विगत ७८ वर्षदेखि यो विश्व संस्थाले द्वन्द्वप्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।

    महासचिव एन्टोनियो गुटेरेसले पनि वर्तमान समयमा शान्ति स्थापना स्थायित्व, सुरक्षा र आशा पुनःस्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताएका छन् । राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा आज एक सन्देश दिँदै उनले शान्ति ‘मिसन’लाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य भएको बताए ।


    राष्ट्रसङ्घका अनुसार ‘शान्तिमा लगानी गरौँ’नाराका साथ यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । हाल विश्वका ११ वटा शान्ति मिसनमा ५१ हजारभन्दा बढी सैनिक, प्रहरी तथा नागरिक कर्मचारी कार्यरत छन् । बदलिँदो भू–राजनीतिक परिस्थितिबीच उत्पन्न जटिल चुनौती सामना गर्दै उनीहरूले द्वन्द्वग्रस्त समुदायमा शान्ति, सुरक्षा र आशाको सन्देश प्रवाह गरिरहेका छन् ।

    सन् १९४८ यता शान्ति स्थापनाका क्रममा हिंसा, दुर्घटना तथा रोगका कारण चार हजार पाँच सयभन्दा बढी शान्ति सैनिक, प्रहरी तथा नागरिक कर्मचारीले ज्यान गुमाइसकेका छन् । सन् २०२५ मा मात्रै ५९ जना शान्ति सैनिकले ज्यान गुमाएका थिए । राष्ट्रसङ्घले लाइबेरिया, नामिबिया, कम्बोडिया, सियरा लियोन र टिमोर–लेस्टेलगायत द्वन्द्वप्रभावित मुलुकमा शान्ति सैनिकको उपस्थितिले दीर्घकालीन शान्ति स्थापना तथा सामाजिक पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुगेको जनाएको छ ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

    संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना दिवस मनाइँदै

    काठमाडौँ, १५ जेठः संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तरराष्ट्रिय दिवस मनाइँदैछ । यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन ५ मा दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ । कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाउनुभएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ‘ड्याग ह्यामार्शोल्ड पदक’ प्रदान गर्नेछन् । सम्मानित हुनेमध्ये गत वर्ष निधन भएका ५९ जना शान्ति सेना पनि रहेको नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले जनाएको छ ।

    ‘ड्याग ह्यामार्शोल्ड पदक’बाट मरणोपरान्त सम्मानित हुनुहुने शान्ति सेनामध्ये नेपालका दुई जना पनि छन् । सन् २०२५ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा कार्यरत रहँदा निधन भएका कर्पोरल सुरज लामिछाने तथा सन् २००० मा पूर्वी टिमोरमा सेवाका क्रममा निधन भएका सिपाही देवीराम जैसीलाई उक्त पदक प्रदान गरिनेछ ।

    हाल विश्वका सबैभन्दा जटिल परिस्थितिमध्ये केही क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको झन्डामुनि ५० हजारभन्दा बढी नागरिक, सैनिक तथा प्रहरी शान्ति सेना कार्यरत छन् । द्वन्द्वहरू झन् विभाजित, दीर्घकालीन तथा डिजिटल उपकरणको दुरुपयोग र हानिकारक सूचनाको फैलावटजस्ता नयाँ चुनौतीबाट प्रभावित बन्दै गइरहेका सन्दर्भमा शान्ति सेनाहरूले सेवा प्रदान गरिरहेका छन् । हाल ११ वटा शान्ति स्थापना मिसनमा ११८ देशबाट सुरक्षाकर्मी खटिएका छन् ।

    शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक नेपाल

    नेपाल संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा सुरक्षाकर्मी योगदान गर्ने सबैभन्दा ठूलो मुलुक हो । हाल नेपालले ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी अबेई, मध्य अफ्रिकी गणतन्त्र, साइप्रस, कङ्गो लोकतान्त्रिक गणतन्त्र, कोसोभो, लेबनान, लिबिया, मध्यपूर्व, सोमालिया, दक्षिण सुडान तथा पश्चिमी सहारास्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानहरूमा परिचालन गरेको छ ।

    शान्ति स्थापनाले राजनीतिक समाधानलाई सहयोग गर्ने, द्वन्द्व चर्किन नदिने, सर्वसाधारणको सुरक्षा गर्ने, युद्धविरामको अनुगमन गर्ने, मानवीय सहायता पुर्याउन सहयोग गर्ने, बारुदी सुरुङ हटाउनेलगायतका महत्त्वपूर्ण कार्य गर्दै आएको संयुक्त राष्ट्रसङ्घको भनाइ छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००२ मा यस दिवसको स्थापना गरेको थियो । सन् १९४८ मा सुरक्षा परिषद्ले मध्यपूर्वमा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान ‘संयुक्त राष्ट्रसङ्घ ट्रुस सुपरभिजन अर्गनाइजेसन’ स्थापना गरेको दिनको स्मरणमा मे २९ लाई यस दिवसका रूपमा चयन गरिएको हो ।

    यस वर्षको दिवसको मुख्य नारा ‘शान्तिमा लगानी’ रहेको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले घट्दो स्रोतसाधनको सामना गरिरहेका बेला यो नाराले द्वन्द्व समाधानका लागि शान्ति स्थापना अझै पनि अन्तरराष्ट्रिय समुदायसँग भएको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक रहेको सन्देश दिन्छ ।

    शान्ति सेनामाथिका आक्रमण मानवीय कानुनको उल्लङ्घनः महासचिव गुटेरेस

    महासचिव गुटेरेसले दिवसका अवसरमा सन्देश जारी गर्दै शान्ति सेनामाथिका आक्रमण अन्तरराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भएको र संयुक्त राष्ट्रसङ्घीय कर्मचारीको सुरक्षा सुनिश्चित गर्न सदस्य राष्ट्रहरूले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, “यस अन्तरराष्ट्रिय दिवसमा हामी विगत र वर्तमानका सम्पूर्ण शान्ति सेनालाई सम्मान गर्दछौँ र उहाँहरूको कार्यप्रति सम्मान तथा सुदृढ समर्थन गर्ने साझा जिम्मेवारी पुनः दोहोर्याउँछौँ । सन् १९४८ यता शान्तिको सेवामा ज्यान गुमाएका झन्डै चार हजार ५०० शान्ति सेनाप्रति हामी श्रद्धाञ्जली अर्पण गर्दछौँ, जसमा गत वर्ष निधन भएका ५९ जना पनि समावेश हुनुहुन्छ । शान्तिको सेवामा कसैले पनि ज्यान गुमाउन नपरोस् ।”

    उनले थप भनेका छन्, “तनाव बढिरहेको यस समयमा शान्ति स्थापना स्थायित्व र आशा पुनःस्थापित गर्ने प्रमाणित तथा लागत–प्रभावकारी उपाय हो । तर यसका लागि निरन्तर राजनीतिक समर्थन र भरपर्दो वित्तीय सहयोग आवश्यक हुन्छ ।”

    विशेष समारोहका क्रममा महासचिव गुटेरेसले ‘असाधारण साहसका लागि क्याप्टेन म्बाये डियाग्ने पदक’ उरुग्वेका कर्पोरल माटियास रेयेसलाई प्रदान गर्नेछन् । उनले सन् २०२५ को प्रारम्भमा कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्र गोमामा सङ्कट उत्कर्षमा पुगेका बेला साहसिक भूमिका निर्वाह गरेका थिए । त्यस्तै, दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा निजी ठेकेदारका रूपमा कार्यरत रहँदा गत वर्ष मार्चमा घेराबन्दीमा परेका सैनिकहरूको उद्धार अभियानका क्रममा मारिएका युक्रेनका स्वर्गीय सर्गी प्राइकोडकोलाई पनि उक्त पदक प्रदान गरिनेछ ।

    महासचिव गुटेरेसले सन् २०२५ का लागि ‘वर्षकै उत्कृष्ट सैन्य लैङ्गिक पक्षधर’ पुरस्कार लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बलमा कार्यरत भारतकी मेजर अभिलाषा बराकलाई तथा ‘वर्षकै उत्कृष्ट महिला प्रहरी अधिकारी’ पुरस्कार दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनमा कार्यरत जर्मनीकी स्टेफानी कोनिग्सलाई प्रदान गर्नेछन् ।


    संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानसम्बन्धी उपमहासचिव जाँ–पियरे लाक्र्वाले पनि दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गरी शान्ति स्थापनामा लगानी गर्नु भनेको स्थायित्व, रोकथाम र शान्तिको सम्भावनामै लगानी गर्नु हो भनी उल्लेख गरेका छन् । उनले भनेका छन्, “द्वन्द्व बढिरहेको र स्रोतसाधन खुम्चिँदै गएको समयमा पनि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाले सर्वसाधारणको सुरक्षा गरिरहेका छन्, हिंसा फैलिनबाट रोकिरहेका छन् र विश्वका सबैभन्दा कठिन परिस्थितिहरूमा आशालाई जीवित राखिरहेका छन् ।”

  • नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    केप क्यानभेरल (फ्लोरिडा), १४ जेठ (रासस–एपी) । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्वजनिक गर्दै चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलरका ठेक्का प्रदान गरेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको योजनाअनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा चन्द्र सतहमा ल्यान्डर, रोभर र ड्रोन जस्ता उपकरणहरू पठाइनेछ, जसले भविष्यको मानव बसोबास र अनुसन्धानका लागि आधार तयार गर्नेछ ।

    जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले चन्द्रमाको दक्षिणी ध्रुव नजिक ल्यान्डर उपलब्ध गराउनेछ, जसले चन्द्र सतहमा रोभरहरू पुर्‍याउने काम गर्नेछ । ती चन्द्र भू–सवारी साधनहरू एस्ट्रोल्याब र लुनार आउटपोस्ट कम्पनीहरूले निर्माण गर्नेछन् । यस्तै, गत वर्ष सफल अवतरण गरिसकेको फायरफ्लाई एरोस्पेसले चन्द्रमामा पहिलो ड्रोन पठाउने जिम्मेवारी पाएको छ ।


    नासाका अनुसार यी सबै उपकरणहरू सन् २०२८ को सुरुआतमा प्रस्तावित पहिलो मानव अवतरणअघि नै चन्द्रमामा पुगिसक्नुपर्नेछ, जसले आर्टेमिस कार्यक्रमको मानव मिशनलाई आधार प्रदान गर्नेछ । यसै क्रममा गत अप्रिलमा सम्पन्न आर्टेमिस–२ मिसनमा चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको परिक्रमा गर्दै ऐतिहासिक यात्रा गरेका थिए । यसलाई अपोलो युगपछिको सबैभन्दा गहिरो अन्तरिक्ष यात्रा मानिएको छ । आगामी आर्टेमिस–३ मिसनमा अन्तरिक्ष यात्रीहरूले चन्द्र कक्षामा अभ्यास गर्ने योजना रहेको छ, जहाँ ब्लू ओरिजिन र एलन मस्कको स्पेसएक्सले विकास गरिरहेका ल्यान्डरहरूसँग डकिङ अभ्यास गरिनेछ ।

    नासाले सन् २०२७ को मध्यतिर आर्टेमिस–३ मिसन सञ्चालन गर्ने लक्ष्य राखेको छ भने सन् २०२८ सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना अघि बढाएको छ । त्यसपछि सन् २०२९ देखि सन् २०३० को बीचमा चन्द्र आधारको दोस्रो चरण सुरु हुनेछ, जसमा पावर ग्रिडसहित प्रारम्भिक स्थायी पूर्वाधार निर्माण गरिनेछ । सन् २०३० को दशकमा तेस्रो चरणमा पुगेर दीर्घकालीन बसोबासका लागि आवास संरचना तयार गर्ने लक्ष्य राखिएको छ ।

    नासाको चन्द्र आधार कार्यक्रमका कार्यकारी कार्लोस गार्सिया–गालानले भविष्यको संरचना सयौँ वर्गमाइल क्षेत्रमा फैलिने र ड्रोनहरूद्वारा यसको सीमाना चिह्न लगाइने बताउनुभयो । ती ड्रोनहरूलाई ‘मुनफल’ नाम दिइनेछ, जसले चन्द्र आधारको परिधि निर्धारण गर्नेछ । नासाका प्रशासक जारेड आइज्याकम्यानले यस प्रणालीलाई अन्य अन्तरिक्ष मिशनहरूसँग समन्वयमा राखिने र अन्तर्राष्ट्रिय अन्तरिक्ष यान तथा उपकरणहरूको सम्मान गर्दै सञ्चालन गरिने बताए । उनले यस विषयमा पारस्परिक सहकार्य अपेक्षित रहेको पनि उल्लेख गरे ।


    उनका अनुसार चन्द्र आधार केवल अनुसन्धानका लागि मात्र नभई भविष्यको मङ्गल अभियानको आधार निर्माण, वैज्ञानिक अनुसन्धान विस्तार र चन्द्र अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण हुनेछ । “धैर्यपूर्वक प्रतीक्षा गरिरहेकाहरूका लागि यो भव्य पुनरागमन हो र हामी सुस्त हुने छैनौँ”, नासाका प्रशासक आइज्याकम्यानले भने, “हामी त अहिले मात्र सुरु गर्दैछौँ ।”

  • नवीकरणीय ऊर्जा क्षेत्रमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ सफलता

    नवीकरणीय ऊर्जा क्षेत्रमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ सफलता

    बेइजिङ, १४ जेठ (रासस–सिन्ह्वा) । चिनियाँ अनुसन्धानकर्ताहरूको एक टोलीले सौर्य सेलको कार्यक्षमता र सञ्चालन स्थायित्व दुवै उल्लेखनीय रूपमा सुधार गर्ने नयाँ संरक्षण रणनीति विकास गरेको छ । यो सम्बन्धी अनुसन्धान हालै एक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । यस प्रकारको सौर्य सेलमा माथिल्लो भागमा विशेष प्रकाश रूपान्तरण तह र तल्लो भागमा सिलिकन आधारित तह प्रयोग गरिन्छ । यस्तो संरचनाले सूर्यको प्रकाशलाई उच्च दक्षताका साथ विद्युत्मा रूपान्तरण गर्न मद्दत गर्छ, जसले हल्का तथा उच्च–क्षमतायुक्त सौर्य प्रविधिको सम्भावना बढाएको छ ।
    तर औद्योगिक सिलिकन सतहको पिरामिड–जस्तो बनावटका कारण माथिल्लो तह समान रूपमा राख्न कठिन हुने समस्या थियो । यसले स्थानीय विद्युतीय चुहावट निम्त्याएर व्यावसायिक प्रयोगमा चुनौती सिर्जना गर्दै आएको थियो । चिनियाँ अनुसन्धानकर्ताहरूले पूर्वी चीनका दुई विश्वविद्यालयसँगको सहकार्यमा ‘चुचुरो–केन्द्रित संरक्षण’ नामक नयाँ रणनीति विकास गरेका हुन् ।


    उहाँहरूले सूक्ष्म कणलाई नमूनाको रूपमा प्रयोग गरी पिरामिडको चुचुरो भागमा एल्युमिनियम अक्साइडको अत्यन्त पातलो अवरोधक तह राख्ने विधि अपनाए, जसले विद्युतीय चुहावट रोक्न मद्दत गर्छ । यस प्रविधिबाट तयार गरिएको सौर्य सेलले करिब ३३ प्रतिशत ऊर्जा रूपान्तरण दक्षता हासिल गरेको छ, जुन करिब एक वर्ग सेन्टिमिटर सक्रिय क्षेत्रफल भएको सौर्य सेलमा प्राप्त गरिएको हो ।


    त्यसैगरी, उक्त उपकरणले लगातार एक हजार घण्टा सञ्चालनपछि पनि आफ्नो प्रारम्भिक कार्यक्षमताको करिब ९० प्रतिशत कायम राखेको अनुसन्धानले देखाएको छ, जसले यसको दीर्घकालीन स्थायित्व पनि प्रमाणित गरेको छ । अध्ययनका एक सह–लेखकका अनुसार, “यो रणनीति सरल छ र हालका औद्योगिक उत्पादन प्रणालीसँग सजिलै मिल्न सक्छ । यसले नयाँ प्रकारका सौर्य सेललाई व्यावसायिक प्रयोगतर्फ अझ नजिक पु¥याएको छ ।”

  • एआई प्रभावले चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि

    एआई प्रभावले चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि

    हङकङ, १४ जेठ (रासस–एएफपी) । एशियाली शेयर बजार बुधबार मिश्रित देखिए पनि प्रविधि (टेक) सेयरको तीव्र उछालका कारण केही बजारमा मजबुत वृद्धि देखिएको छ । लगानीकर्ताहरू संयुक्त राज्य अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन् ।
    कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधि कम्पनीहरूको सेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ ।

    दक्षिण कोरियाको बजारमा बुधबार २ प्रतिशतभन्दा बढी वृद्धि भयो, जसमा चिप निर्माता एसके हाइनिक्सको सेयर ११ प्रतिशतले बढेर १ ट्रिलियन अमेरिकी डलर बजार मूल्य पुगेको छ । यससँगै एसके हाइनिक्स एशियाका केवल तीन १ ट्रिलियन डलर कम्पनीमध्ये एक बनेको छ, स्यामसुङ इलेक्ट्रोनिक्स र ताइवानको टीएसएमसीसँगै, जसले एआई प्रणालीका लागि चिप उत्पादन गर्छन् ।

    एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टेफेन इनिसका अनुसार बजारले स्पष्ट रूपमा एउटा सन्देश दिएको छ—एआईको माग अब केवल ठूला भाषा मोडेल चलाउने चिपमा सीमित छैन, बरु ती मोडेललाई ठूलो स्तरमा सञ्चालन गर्न आवश्यक मेमोरी प्रणालीसम्म विस्तार भएको छ । यसैबीच, मध्यपूर्वमा युद्ध रोक्ने उद्देश्यले वासिङ्टन र तेहरानबीच भइरहेको वार्तामा पनि लगानीकर्ताहरूले नजर राखिरहेका छन् । हालै युद्धविरामको रिपोर्ट आए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि तनाव फेरि बढेको छ ।

    तेहरानले अमेरिकाले युद्धविराम तोडेको आरोप लगाउँदै खाडी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कारबाही गर्न सक्ने चेतावनी दिएको छ । अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य मङ्गलबार करिब ४.५ प्रतिशतले बढेर प्रति ब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

  • तापक्रम वृद्धि सङ्गै वन्यजन्तुको मृत्यु जोखिम बढ्दैः अध्ययन

    तापक्रम वृद्धि सङ्गै वन्यजन्तुको मृत्यु जोखिम बढ्दैः अध्ययन

    सिड्नी, १४ जेठ (रासस–सिन्ह्वा) । अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा पनि वन्यजन्तु बिरामी पर्ने, अस्पताल भर्ना हुने तथा मृत्यु हुने जोखिम उल्लेखनीय रूपमा बढ्ने देखाएको छ । अनुसन्धानले जलवायु परिवर्तनका कारण वन्यजन्तुमाथि गम्भीर खतरा बढ्दै गएको चेतावनी दिएको छ । सिड्नी विश्वविद्यालयको नेतृत्वमा गरिएको अध्ययनमा न्यू साउथ वेल्स राज्यका करिब १२ हजार वन्यजन्तुको दुई दशकको स्वास्थ्य अभिलेख विश्लेषण गरिएको थियो । अध्ययनअनुसार औसत तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि बिरामी हुने र मृत्यु दर बढ्न थालेको पाइएको छ ।

    अनुसन्धानले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा अस्पताल भर्ना हुने वा मृत्यु हुने सम्भावना २५ डिग्रीको तुलनामा १.५ देखि ३.५ गुणासम्म बढी हुने देखाएको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनसँगै बढ्दो गर्मीबाट वन्यजन्तुको संरक्षणका लागि तत्काल प्रभावकारी कदम आवश्यक रहेको बताएका छन् । अध्ययनमा सबैभन्दा बढी असर उत्तर–पश्चिमी भित्री क्षेत्रमा देखिएको छ, जहाँ बढ्दो तापक्रम र खडेरीका कारण वन्यजन्तुको संख्या तीव्र रूपमा घटिरहेको छ ।

    अनुसन्धानकर्ताहरूका अनुसार रोग, वन विनाश र चरम गर्मीले वन्यजन्तुको जोखिम अझ बढाएको छ । अनुसन्धानकर्ता भ्यालेन्टिना मेल्लाले छोटो समयसम्म तातो मौसम सहन सकिए पनि दीर्घकालमा यस्तो अवस्था टिकाउ नहुने भने । उनले चेतावनी दिँदै भने, “यदि समयमै संरक्षणका उपाय अपनाइएन भने बढ्दो गर्मीले सङ्कटमा रहेका वन्यजन्तुलाई विलुप्तिको नजिक पु¥याउन सक्छ ।”

  • चीनद्वारा नयाँ सञ्चार परीक्षण उपग्रह सफल प्रक्षेपण

    चीनद्वारा नयाँ सञ्चार परीक्षण उपग्रह सफल प्रक्षेपण

    बेजिङ,१४ जेठ (रासस–सिन्ह्वा) । चीनले नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनको दक्षिणी द्वीपीय प्रान्त हाइनानस्थित अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बुधबार बिहान यो उपग्रह अन्तरिक्षतर्फ पठाइएको हो । चिनियाँ समाचार संस्थाका अनुसार उपग्रहलाई बेइजिङ समयअनुसार राति १२ बजेर १६ मिनेटमा परिमार्जित वाहक रकेटमार्फत प्रक्षेपण गरिएको थियो । प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षामा प्रवेश गरेको पुष्टि गरिएको छ ।

    यो नयाँ परीक्षण उपग्रह मुख्य रूपमा बहुब्यान्ड तथा उच्चगतिको उपग्रह सञ्चार प्रविधिको परीक्षण र प्रमाणीकरणका लागि प्रयोग गरिने बताइएको छ । यसबाट भविष्यमा अझ छिटो, सुरक्षित र स्थिर सञ्चार सेवा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी अन्तरिक्षमार्फत सञ्चार सेवा विस्तार, सूचना आदानप्रदानको गति वृद्धि तथा आधुनिक सञ्चार प्रणालीको क्षमता अभिवृद्धिमा यस अभियान महत्वपूर्ण हुने चीनको विश्वास छ ।

    उक्त अभियानका लागि प्रयोग गरिएको वाहक रकेट चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत विकसित अत्याधुनिक प्रक्षेपण प्रणालीमध्ये एक मानिन्छ । यो प्रक्षेपणसँगै उक्त रकेट शृङ्खलाको ६४५औँ उडान अभियान सफलतापूर्वक सम्पन्न भएको छ, जसलाई चीनको अन्तरिक्ष प्रविधि विकासको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

    हालका वर्षहरूमा चीनले अन्तरिक्ष अनुसन्धान, सञ्चार प्रविधि, चन्द्र अभियान तथा अन्तरिक्ष केन्द्र निर्माणलगायत क्षेत्रमा तीव्र रूपमा प्रगति गरिरहेको छ । नयाँ परीक्षण उपग्रहको सफल प्रक्षेपणले चीनको अन्तरिक्ष तथा सञ्चार प्रविधि क्षमतालाई थप सुदृढ बनाउने विश्लेषण गरिएको छ ।

  • भारतमा चरम गर्मी चेतावनी

    भारतमा चरम गर्मी चेतावनी

    नयाँदिल्ली, १४ जेठ (रासस–एएफपी) । भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गरेका छन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा तापक्रम असामान्य रूपमा बढिरहेका बेला उहाँले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् । यसैबीच, जङ्गलमा लागेको आगो नियन्त्रण गर्न सेनाले लामो समयसम्म सङ्घर्ष गरिरहेको छ भने गर्मीका कारण मृत्युका घटनासमेत रिपोर्ट भएका छन् ।

    अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म एक्युआईका अनुसार बुधबार दिउँसो विश्वका ४५ सबैभन्दा तातो सहरमध्ये अधिकांश भारतमै रहेका थिए, जहाँ तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यस्तो अवस्थाले देशका धेरै भागमा जनजीवन प्रभावित बनेको छ ।

    प्रधानमन्त्री मोदीले आफ्नो कार्यालयमार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गरे । उनले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपिल गरे ।


    उनले अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) ल्याउने, रगत गाढा बनाउने तथा गम्भीर अवस्थामा अङ्ग फेल हुने जोखिम हुने बताए । चेतावनीको सङ्केतलाई बेवास्ता गर्दा अवस्था अझ खतरनाक बन्न सक्ने र ‘हिट स्ट्रोक’ को सम्भावना बढ्ने उनको भनाइ छ । यसैबीच, गत साता मात्रै दक्षिणी राज्य तेलङ्गानामा गर्मीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । गर्मीबाट बालबालिका, वृद्ध तथा बाहिर काम गर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

    भारत मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार उत्तर प्रदेशको बान्दा सहरमा मङ्गलबार ४७.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । यो सामान्यभन्दा ३.८ डिग्री बढी हो । यस महिनाको सुरुमै सोही क्षेत्रमा तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको थियो । राजधानी नयाँदिल्लीमा बुधबार दिउँसो तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । विज्ञहरूका अनुसार गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि उच्च बन्दै गएको छ ।

    यसै सन्दर्भमा भारतीय सेनाले हिमालयन क्षेत्रको पहाडी सहर कसौली नजिक लागेको डढेलो नियन्त्रण गर्न १६ घण्टाभन्दा बढी समयसम्म प्रयास गरेको जनाएको छ । सेनाका अनुसार वायु सेनाका हेलिकप्टरहरूले ठूलो मात्रामा पानी खसालेर आगो नियन्त्रणमा निर्णायक भूमिका खेलेका छन्, यद्यपि आगो निभाउने कार्य अझै जारी छ । मौसम विभागले गर्मी बढेसँगै देशका विभिन्न भागमा पानीको अभाव गहिरिँदै गएको चेतावनीसमेत दिएको छ । ‘नदीहरू सुक्ने, भू–जल स्तर घट्ने, खडेरी र पानी सङ्कट बढ्ने अवस्थाबीच प्रत्येक थोपा महत्त्वपूर्ण हुन्छ’ भन्दै विभागले नागरिकलाई पानी बचत गर्न आग्रह गरेको छ ।

    विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण उष्ण लहरहरू पहिलेभन्दा लामो, बारम्बार र बढी तीव्र हुँदै गएका छन् । दिनको उच्च तापक्रमसँगै राति पनि न्यून तापक्रम नघट्दा मानिसहरूलाई राहत मिल्न कठिन भइरहेको छ । भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । वर्तमान अवस्थाले त्यसतर्फ पुनः उन्मुख हुने सङ्केत देखिन थालेको भन्दै स्वास्थ्य र वातावरणीय जोखिमप्रति थप सतर्कता अपनाउन विशेषज्ञहरूले आग्रह गरेका छन् ।