Category: विश्व

  • कब्जा कायम राख्ने इजरायलको घोषणा

    कब्जा कायम राख्ने इजरायलको घोषणा

    तेल अभिभ (इजरायल), २ असार (रासस–एपी) । इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीचको अन्तरिम शान्ति सम्झौता अघि बढिरहेको सन्दर्भमै आएको यो अभिव्यक्तिले क्षेत्रीय तनाव अझै कायम रहेको सङ्केत दिएको छ ।

    अमेरिका–इरान सम्झौताको औपचारिक हस्ताक्षरका लागि शुक्रबार जेनेभामा वार्ता हुने तयारी भइरहेका बेला इजरायलको यो पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको हो । पाकिस्तानले मध्यस्थकर्ताका रूपमा उक्त भेटवार्ताको जानकारी दिएको छ ।

    रक्षामन्त्री काट्जका अनुसार इजरायलले लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेका क्षेत्रहरू ‘अनिश्चितकालसम्म’ आफ्नो नियन्त्रणमा राख्ने योजना बनाएको छ । उनले लेबनानमा हिजबुल्लाहविरुद्ध जारी सैन्य कारबाही रोक्न इरानसँग भएको अन्तरिम समझदारीलाई पनि शङ्कास्पद रूपमा व्याख्या गरे ।


    उनले इरानले इजरायलमाथि कुनै पनि आक्रमणको प्रयास गरेमा इजरायलले कडा प्रतिकार गर्ने चेतावनी दिँदै ‘ठूलो बल प्रयोग’ गर्ने सङ्केत गरे । पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा इजरायलले गाजा, लेबनान र सिरियाका विभिन्न क्षेत्रहरूमा करिब एक वर्गकिलोमिटर भूभाग नियन्त्रणमा लिएको छ । यो आकार न्युयोर्क सहरभन्दा केही सानो रहेको बताइएको छ ।

  • युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

    युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

    ब्रसेल्स, २ असार (रासस–एएफपी) । लामो समयको अवरोधपछि युरोपेली सङ्घ (इयु) ले युक्रेनको सदस्यता प्रक्रियालाई अगाडि बढाउने महत्त्वपूर्ण निर्णय गरेको छ । यद्यपि, यसले युक्रेन छिट्टै इयुको पूर्ण सदस्य बन्ने सङ्केत भने गर्दैन । इयुका २७ सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार युक्रेन तथा छिमेकी मोल्डोभासँग इयुको कानून तथा मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता सुरु गर्ने निर्णय गरेका छन् । हङ्गेरीका राष्ट्रवादी नेता भिक्टर ओर्बानले युक्रेनको सदस्यता प्रक्रियामा लामो समयदेखि अवरोध सिर्जना गर्नुभएको थियो । तर अप्रिलमा प्रतिद्वन्द्वी पिटर मग्यारसँग चुनावी पराजय भोगेपछि युक्रेनको सदस्यता प्रक्रियाले पुनः गति लिन थालेको हो ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले संयुक्त विज्ञप्ति जारी गर्दै युक्रेन र मोल्डोभाले कठिन परिस्थितिका बाबजुद सुधारका कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रशंसा गरेका छन् । उनीहरुले बढ्दो विश्वव्यापी अनिश्चितताको अवस्थामा अझ बलियो र विस्तारित युरोपेली सङ्घ सबै सदस्य राष्ट्रहरूको साझा हितमा रहेको बताए ।


    रुसको आक्रमणपछि सदस्यताका लागि आवेदन दिएको चार वर्षपछि युक्रेनले इयुको सदस्यता प्रक्रियामा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि पूर्ण सदस्यता प्राप्त गर्न अझै धेरै चुनौतीहरू बाँकी छन् । युक्रेनले आफ्नो कानूनी संरचना, प्रशासनिक संस्था तथा विभिन्न मापदण्डहरूलाई इयुका नियमअनुसार रूपान्तरण गर्नुपर्नेछ । त्यसैले वर्तमान निर्णयलाई सदस्यता प्रक्रियाको महत्त्वपूर्ण उपलब्धि मानिए पनि पूर्ण सदस्यताको यात्रा अझै लामो रहने विश्लेषण गरिएको छ ।

    युक्रेनको इयु सदस्यता प्रक्रियामा वातावरण, कृषि, न्याय, सुरक्षा लगायतका क्षेत्र समेटिएका ३५ वटा अध्यायमा आधारित वार्ताहरू समावेश छन्, जसलाई छ वटा समूहमा विभाजन गरिएको छ । यद्यपि, इयुको निर्णय प्रक्रिया राजनीतिक रूपमा संवेदनशील भएकाले कुनै पनि सदस्य राष्ट्रले विभिन्न चरणमा युक्रेनको प्रगतिलाई रोक्न सक्ने अवस्था रहन्छ ।

    एक युरोपेली कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै युक्रेनको सदस्यता प्रक्रिया लामो र चुनौतीपूर्ण रहेको बताए । उनका अनुसार युक्रेन युद्धको अवस्थामा छ र सङ्गठित अपराध नियन्त्रणलगायतका विषयमा अझै महत्त्वपूर्ण सुधार आवश्यक छ । साथै, सदस्य बनेमा युक्रेन इयुको तेस्रो ठूलो राष्ट्र हुनेछ ।

    उनले युक्रेनको इयु प्रवेश छिट्टै हुने अपेक्षा यथार्थपरक नभएको पनि बताए । हङ्गेरीका नेता पिटर मग्यारले युक्रेनले आगामी १० देखि १५ वर्षभित्र सदस्यता सम्बन्धी सबै वार्ता पूरा गरेमा त्यसको इयु प्रवेशबारे जनमत सङ्ग्रह गराउने वाचा गरे । युक्रेनको सदस्यता प्रक्रियाबारे इयुभित्र विभिन्न वैकल्पिक मोडेलबारे पनि छलफल बढ्दै गएको छ ।

    जर्मन चान्सलर फ्रेडरिक मेर्जले अप्रिलमा युक्रेनलाई तत्काल पूर्ण सदस्य बनाउने सम्भावना नरहेको बताएका िथए । उनले मतदान अधिकारबिनाको ‘सहयोगी सदस्य’ को अवधारणा अघि सारेका छन् । जसअन्तर्गत युक्रेनले पूर्ण सदस्यताको प्रक्रिया पूरा नहुँदासम्म सीमित सहभागिता पाउन सक्छ । तर युक्रेनले यस्तो प्रस्तावप्रति शङ्का व्यक्त गरेको छ । किएभले अन्तरिम व्यवस्थाले आफूलाई स्थायी रूपमा पूर्ण सदस्यताभन्दा बाहिर राख्न सक्ने चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनको इयु प्रवेश पूर्ण अधिकारसहितको सदस्यताका रूपमा हुनुपर्नेमा जोड दिए ।
    – इयु सुधारको आवश्यकता –

    युक्रेन, मोल्डोभा तथा अन्य उम्मेदवार राष्ट्रहरूको सङ्ख्या बढ्दै जाँदा इयुभित्र पनि संस्थागत सुधारको आवश्यकता महसुस गरिएको छ । जर्मनी र फ्रान्ससहित छ सदस्य राष्ट्रले नयाँ सदस्यहरूको आगमनलाई ध्यानमा राख्दै मतदान प्रणालीमा सुधार, केही क्षेत्रमा भिटो अधिकार सीमित गर्ने तथा कानूनी शासनसम्बन्धी मापदण्ड कडा बनाउने विषयमा छलफल गर्न आग्रह गरेका छन् । हाल पश्चिमी बाल्कनका मोन्टेनेग्रो र अल्बानिया सदस्यताको सबैभन्दा नजिक रहेका उम्मेदवार मानिन्छन् । विश्लेषकहरूका अनुसार एकैपटक धेरै नयाँ सदस्य थपिँदा इयुको निर्णय प्रक्रिया जटिल बन्न सक्ने जोखिम छ ।

    – २०३० सम्मको लक्ष्य –

    युक्रेन र उसका समर्थकहरूका लागि इयु सदस्यता केवल राजनीतिक परियोजना नभई रणनीतिक र सुरक्षा सम्बन्धी मुद्दा पनि बनेको छ । जेलेन्स्कीले वार्ता प्रारम्भ हुनु युक्रेनका लागि ‘महत्त्वपूर्ण राजनीतिक र नैतिक समर्थन’ भएको बताए । उनले युक्रेनले आवश्यक सुधारहरू गरिरहेको उल्लेख गर्दै इयुले पनि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताए ।

    लिथुआनियाका विदेशमन्त्री केस्टुटिस बुड्रिसले इयु सन् २०३० सम्म युक्रेनलाई सदस्यता दिन तयार हुनुपर्ने धारणा व्यक्त गरे । तर उनले अन्तिम निर्णय युक्रेनले आवश्यक सुधार पूरा गर्न सकेको अवस्था र वार्ताको प्रगतिमा निर्भर रहने स्पष्ट पारे । “यसको अर्थ सन् २०३० मै युक्रेन सदस्य बन्छ भन्ने ग्यारेन्टी होइन । तर त्यसबेलासम्म इयु युक्रेनलाई स्वीकार गर्न तयार हुनुपर्छ”, उनले भने ।

  • अमेरिका–इरान शान्ति सम्झौतापछि विश्वको प्रतिक्रिया के छ ?

    अमेरिका–इरान शान्ति सम्झौतापछि विश्वको प्रतिक्रिया के छ ?

    पेरिस, २ असार (रासस–एएफपी) । अमेरिका र इरानबीच शान्ति सम्झौता तथा सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि विश्व समुदायले त्यसलाई मध्यपूर्वमा स्थायित्व ल्याउने सम्भावित अवसरका रूपमा लिएको छ । संयुक्त राष्ट्रसङ्घदेखि युरोप, खाडी क्षेत्र र एसिया–प्रशान्तका मुलुकहरूले सम्झौताको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सम्झौतालाई द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फको महत्त्वपूर्ण कदमको संज्ञा दिएका छन् । उनले संवाद र कूटनीतिक प्रयासलाई दीर्घकालीन शान्तिको आधार मान्दै सबै पक्षलाई सहमतिको पूर्ण कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गरे ।


    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले हर्मुज जलघाँटी तत्काल र बिना शर्त पुनः खोलिनुपर्ने बताए । उनले फ्रान्स र बेलायत सम्झौताको कार्यान्वयनमा सहयोग गर्न तयार रहेको जनाउँदै लेबनानमा राज्यको सार्वभौमिकता पुनःस्थापित गर्ने प्रयासलाई पनि समर्थन गर्ने स्पष्ट पारे । इरानको आणविक र ब्यालिस्टिक कार्यक्रमसँग सम्बन्धित चिन्ताहरूको समाधान पनि आवश्यक रहेको उनको भनाइ छ ।

    बेलायती प्रधानमन्त्री किर स्टार्मरले हर्मुज जलघाँटीमा सुरक्षित र स्वतन्त्र जलयातायात पुनःस्थापित हुनुपर्नेमा जोड दिए । उनले बेलायत समुद्री खानी हटाउने कार्यमा सहयोग गर्न तयार रहेको बताउँदै इरानले कहिल्यै आणविक हतियार विकास गर्नु नहुने बेलायतको पुरानो अडान पुनः दोहोर्‍याए । कतारको विदेश मन्त्रालयले क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्ने उद्देश्यले गरिएका सबै कूटनीतिक प्रयासप्रति पूर्ण समर्थन व्यक्त गरेको छ । कतारले वार्ता र मध्यस्थताको माध्यमबाट स्थायी समाधान खोज्ने प्रयासलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेको छ ।

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले सम्झौतामा औपचारिक हस्ताक्षर नहुँदासम्म सबै पक्षलाई संयम अपनाउन आग्रह गरे । उनले तनाव बढाउने अभिव्यक्ति, उक्साहटपूर्ण गतिविधि तथा सम्भावित तोडफोडका प्रयासप्रति सतर्क रहनुपर्ने आवश्यकता औँल्याए । जापानकी प्रधानमन्त्री साने ताकाइचीले हर्मुज जलघाँटी हुँदै सुरक्षित र स्वतन्त्र जलयातायात सुनिश्चित हुने अपेक्षा व्यक्त गरिन् । इरानको आणविक कार्यक्रमलगायत बाँकी विवादित विषयमा पनि चाँडै अन्तिम सहमति हुनुपर्ने उनको धारणा छ ।

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र विदेशमन्त्री पेनी वोङले अमेरिका र इरान दुवैलाई निरन्तर संयम र रचनात्मक संवाद कायम राख्न आग्रह गरे । संयुक्त विज्ञप्तिमार्फत उहाँहरूले इरानको आणविक कार्यक्रमसँग जोडिएका अन्तर्राष्ट्रिय सुरक्षा चिन्ताहरूको समाधान अपरिहार्य रहेको बताए । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले हर्मुज जलघाँटी पुनः सञ्चालनमा आउनुले विश्व व्यापार मार्गलाई स्थिर बनाउने, इन्धन आपूर्ति सहज पार्ने तथा विश्व अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरे । विश्व नेताहरूका प्रतिक्रियाले मध्यपूर्वमा युद्धको अन्त्य मात्र नभई ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र क्षेत्रीय स्थायित्वप्रतिको साझा चासोलाई पनि स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

  • जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    अर्लिन्टन (संयुक्त राज्य अमेरिका), २ असार (रासस–एएफपी) । विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । टेक्सासमा नेदरल्यान्ड्ससँग २–२ को बराबरीपछि जापानका प्रशंसकहरूले स्टेडियमलाई आफैँ सफा गर्दै बेदाग अवस्थामा छोडेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो ।

    खेलपछि दर्शकहरू केही समय स्टेडियममै बसेर आफ्ना सिट वरिपरि फोहोर सावधानीपूर्वक सङ्कलन गर्दै नीलो प्लास्टिक झोलामा राख्दै सफा गरेका थिए । उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन् । जापानी प्रशंसक इटा तनाकाले आफूहरूलाई विद्यालयदेखि नै प्रयोग गरिएको स्थान सफा राख्न सिकाइने बताउँदै ‘हामीले सबैको बारेमा सोच्नुपर्छ’ भन्ने धारणा आत्मसात गरिएको उल्लेख गरे ।


    उनका अनुसार जापानी समाजमा कुनै स्थान प्रयोग गरेपछि त्यसलाई आफूले पाएको भन्दा अझ सफा बनाएर छोड्ने अभ्यास सामान्य मानिन्छ । विद्यालयमा शिक्षकको निर्देशनबिना नै कक्षाकोठा सफा गर्ने परम्परा पनि त्यही संस्कारको हिस्सा भएको उनको भनाइ छ । जापान आफ्नो लगातार आठौँ विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ । खेलपछि एनएफएल क्वार्टरब्याक जेमिस विन्स्टनलाई पनि सफाइ अभियानमा सहभागी भएको देखिएपछि जापानी समर्थकहरूको अभ्यास झन् चर्चित बनेको छ ।

    जापानी समर्थक फुटो हागिवाराले आफ्ना देशवासीहरूको व्यवहारले अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा पहिचान पाएकोमा गर्व व्यक्त गरे । उनका अनुसार यो केवल व्यवहार मात्र नभई सांस्कृतिक र मानसिक अनुशासनको प्रतिबिम्ब हो, जसले जहाँ गए पनि आफ्नो वरिपरि सफा राख्ने जिम्मेवारी सम्झाउँछ ।

    समाजशास्त्री तथा दार्शनिक मसाची ओसावाका अनुसार यस्तो व्यवहार सामाजिक जिम्मेवारी र समूहभित्रको दबाबको संयोजनबाट उत्पन्न हुन्छ । उनले जापानी समाजमा व्यक्तिगतभन्दा सामूहिक अनुशासनलाई बढी महत्त्व दिइने बताउँदै सानो स्तरका नैतिक व्यवहारप्रति अत्यन्त संवेदनशीलता देखिने उल्लेख गरे ।
    जापानमा बाल्यकालदेखि नै सरसफाइ शिक्षामा जोड दिइन्छ ।

    विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षाकोठा र विद्यालय परिसर आफैँ सफा गर्ने अभ्यास गर्छन् । सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफैँ घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि त्यहाँ स्थापित छ ।

    ओसाका विश्वविद्यालयका समाजशास्त्रका एमेरिटस प्राध्यापक स्कट नर्थका अनुसार जापानी समुदायहरूमा समूहगत कार्यशैली बलियो हुन्छ, जसको प्रभाव खेलमैदानमा देखिने समर्थकहरूको व्यवहारसँग मिल्दोजुल्दो छ । उनका अनुसार त्यहाँ नेतृत्व र अनुयायीबीचको समन्वय उच्च स्तरमा रहन्छ र समूह निर्णयलाई सबैले स्वीकार गर्ने संस्कार विकसित भएको छ ।

    समाजशास्त्री ओसावाले यसलाई ‘अरूको व्यवहार बुझेर परिस्थितिअनुसार चल्ने’ संस्कारसँग जोड्दै कुनै एक व्यक्तिले फोहोर उठाउन थालेपछि अरूले पनि सहजै सहभागिता जनाउने सामाजिक मनोवृत्ति रहेको बताए । उनका अनुसार यस्तो व्यवहारमा मुख्य प्रेरणा व्यक्तिगत देखावटी नभई समूहभित्र नकारात्मक छाप नपरोस् भन्ने सामाजिक दबाब हुन्छ ।

    जापानी समर्थकहरूका अनुसार यस्तो व्यवहार उनीहरूको दैनिकी संस्कारकै विस्तार हो । उनीहरू आगामी खेलहरूमा पनि यही अभ्यास कायम राख्ने बताउँछन् । जापानले शनिबार मेक्सिकोमा ट्युनिसियासँग खेल्ने तयारी गरिरहेको छ र समर्थकहरूले आफूहरू उदाहरणीय व्यवहारमार्फत विश्वलाई सन्देश दिने लक्ष्य राखेको बताएका छन् । “हामीले अरूलाई भन्नु भन्दा आफ्नै व्यवहार देखाउँछौँ र अरूले त्यसलाई पछ्याउँछन्”, समर्थक हागिवाराले भने ।

  • इथियोपियामा भीषण बस दुर्घटना, कम्तिमा २८ को मृत्यु

    इथियोपियामा भीषण बस दुर्घटना, कम्तिमा २८ को मृत्यु

    आदिस अबाबा, २ असार (रासस–एएफपी) । उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । बस सडकबाट चिप्लिएर गहिरो खोलामा खस्दा ठूलो मानवीय क्षति भएको हो । अम्हारा क्षेत्रको डेसी सहरबाट राजधानी आदिस अबाबातर्फ जाँदै गरेको बस करिब १०० मिटर ९३३० फिट० गहिरो खोलामा खसेको बताइएको छ । स्थानीय अधिकारीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे जानकारी दिँदै दुर्घटनापछि उद्धार तथा अनुसन्धान कार्य जारी रहेको बताएका छन् ।

    अधिकारीहरूका अनुसार २८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अन्य यात्रुहरू गम्भीर र सामान्य रूपमा घाइते भएका छन् । घाइतेहरूलाई नजिकका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ । बसमा सवार यात्रुहरूको यकिन सङ्ख्या भने सार्वजनिक गरिएको छैन । दुर्घटनापछि सार्वजनिक गरिएका तस्बिरहरूमा पहाडी खोलामा पल्टिएको बस लगभग पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा देखिएको छ, जसले दुर्घटनाको भयावहता झल्काएको छ ।

    इथियोपियामा सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् । यसको प्रमुख कारणमध्ये कमजोर सडक पूर्वाधार र सवारी सुरक्षाको अभावलाई लिइन्छ । अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देश इथियोपियामा यस्ता घटनाहरू सामान्यजस्तै बनेका छन् । यसअघि पनि पछिल्ला वर्षहरूमा यस्ता ठूला दुर्घटनाहरू भएका छन् । सन् २०२४ डिसेम्बरमा दक्षिणी क्षेत्रमा विवाह समारोहमा सहभागी गाडी नदीमा खस्दा ७० भन्दा बढीको मृत्यु भएको थियो । यसलाई पछिल्लो एक चौथाइ शताब्दीकै सबैभन्दा घातक दुर्घटनामध्ये एक मानिएको छ ।

    त्यसैगरी, सोही वर्ष सेप्टेम्बरमा दक्षिणी वोलाइटा क्षेत्रमा अर्को बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको थियो भने १९ जना गम्भीर घाइते भएका थिए ।यस पछिल्लो घटनाले इथियोपियामा सडक सुरक्षासम्बन्धी चुनौतीहरू फेरि एकपटक गम्भीर रूपमा उजागर गरेको छ।

  • न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो

    न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो

    काठमाडौँ, २ असारः फिफा विश्वकप–२०२६ अन्तर्गत आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा आज भएको खेलमा न्यूजिल्यान्ड र इरानबीचको खेल २–२ गोलको बराबरीमा समाप्त भएको हो । न्युजिल्यान्डका इलाइजा जस्टले खेलको सातौँ मिनेटमै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।

    त्यसपछि इरानले खेलको ३२औँ मिनेटमा रेजाइयानको उत्कृष्ट गोलमार्फत खेल बराबरीमा ल्याए । खेलको दोस्रो हाफको ५४औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल न्युजिल्यान्डलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४औँ मिनेटमा इरानका मोहम्मद मोहब्बीले हेडमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

  • हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास

    हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास

    इस्लामावाद, २ असार (रासस–एपी) । संयुक्त राज्य अमेरिका र इरानबीच हर्मुज जलघाँटी पुनः खोल्ने तथा इरान युद्धमा लागू रहेको अस्थिर युद्धविरामलाई थप विस्तार गर्ने उद्देश्यसहित प्रारम्भिक अन्तरिम सम्झौता भएको घोषणा गरिएको छ । यदि यो सम्झौता कार्यान्वयनमा आयो भने विश्व बजारमा तेल र प्राकृतिक ग्यासको आपूर्ति पुनः सहज भई ऊर्जा सङ्कटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ ।

    यद्यपि सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । इरानले भने औपचारिक हस्ताक्षर नभएसम्म कुनै पनि प्रावधान कार्यान्वयनमा नल्याइने स्पष्ट पारेको छ । प्रमुख मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानका अनुसार सम्झौतामा हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुन सक्नेछ । यो सहमतिले मध्यपूर्वमा हजारौँको ज्यान लिएको युद्ध अन्त्य गर्ने सम्भावित मार्ग खोल्न सक्ने विश्लेषण गरिएको छ ।

    तर प्रारम्भिक सहमतिले सुरुदेखि नै अनेक चुनौतीको सामना गरिरहेको छ । विशेषगरी लेबनानमा इरान समर्थित हिजबुल्लाह र इजरायलबीच जारी तनावले वार्तालाई प्रभावित गर्ने जोखिम देखिएको छ । आइतबार इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि क्षेत्रीय तनाव पुनः बढेको थियो ।

    सम्झौताअन्तर्गत सबैभन्दा जटिल विषय इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार र आणविक कार्यक्रमको भविष्य हो । यी विषयमा समाधान खोज्न पक्षहरूलाई ६० दिनको समय दिइएको छ । सन् २०१५ मा भएको आणविक सम्झौतामा यस्ता विषय टुङ्ग्याउन वर्षौं लागेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको निर्णय गरेपछि तनाव क्रमशः बढ्दै युद्धको अवस्थामा पुगेको थियो ।

    ह्वाइट हाउसमा आफ्नो ८०औँ जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम प्रयासलाई स्वागत गर्दै हर्मुज जलघाँटी खुलाउन तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने आदेश दिएको घोषणा गरेका थिए । तर उनले शुक्रबार औपचारिक हस्ताक्षर नभएसम्म जलघाँटी पूर्ण रूपमा सञ्चालनमा नआउने पनि स्पष्ट पारे ।


    इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले सरकारी टेलिभिजनमार्फत सम्झौताको पुष्टि गर्दै हस्ताक्षरपछि मात्रै कार्यान्वयन सुरु हुने बताए । उनका अनुसार कतारको मध्यस्थतामा भएको वार्तापछि यो समझदारी सम्भव भएको हो । इजरायलले भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायलले दक्षिणी लेबनानमा आफ्ना सैन्य कारबाही जारी राख्ने विषयमा विशेष जोड दिँदै आएको छ । फेब्रुअरी २८ मा अमेरिका इजरायलसँग मिलेर युद्धमा संलग्न भएको थियो ।

    सम्झौताप्रतिको आशावादले अन्तर्राष्ट्रिय बजारमा तत्काल प्रभाव देखिएको छ । बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल चार डलरभन्दा बढीले घटेको छ भने एसियाली शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सबै पक्षले लेबनानसहितका सबै मोर्चामा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको जानकारी दिए । तर इजरायलले यस विषयमा औपचारिक सहमति जनाएको छ वा छैन भन्ने अझै स्पष्ट छैन ।

    पाकिस्तानी अधिकारीहरूका अनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रमलगायत बाँकी विवादित विषयमा व्यापक वार्ता हुनेछ । आवश्यक परे समयसीमा थप लम्ब्याउन सकिने पनि जनाइएको छ । इरानी सरकारी सञ्चारमाध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई उद्धृत गर्दै युद्ध तत्काल अन्त्य हुने र अमेरिकी नाकाबन्दी पूर्ण रूपमा हटाइने जनाएको छ ।

    वार्ताको संवेदनशीलताका कारण नाम नखुलाउने सर्तमा बोल्ने अधिकारीहरूका अनुसार १७ घण्टा लामो छलफलपछि कतारी मध्यस्थकर्ताहरू तेहरानबाट फर्किएका थिए । यस साताभित्र दोहामा पक्षहरूसँग छुट्टाछुट्टै प्राविधिक बैठक हुने तयारी छ । शुक्रबार हुने हस्ताक्षर समारोहमा इरानको प्रतिनिधित्व कसले गर्ने भन्ने अझै तय भएको छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसले सहभागीहरूको सूची अन्तिम रूप दिइरहेको बताएका छन् ।

    उनी स्वयं उपस्थित हुने सम्भावना रहेको र राष्ट्रपति ट्रम्प पनि सहभागी हुन सक्ने सङ्केत दिएका छन् । यसैबीच अमेरिकाभित्रै सम्झौताप्रति शङ्का व्यक्त हुन थालेको छ । रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले इरान र अमेरिकी वार्ता टोलीको व्याख्या फरक देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । न्युयोर्कका सांसद ग्रेगरी मीक्सले पनि इरानसँग हुने कुनै पनि सम्झौताको अमेरिकी कंग्रेसले निगरानी गर्ने बताए ।

    युद्धले इरानभित्र राजनीतिक परिवर्तन पनि ल्याएको छ । प्रारम्भिक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा आयातोल्लाह मोजताबा खामेनी नयाँ सर्वोच्च नेता बनेका छन् । उनी सार्वजनिक रूपमा नदेखिए पनि सम्झौताका लागि उनको स्वीकृति अनिवार्य मानिएको छ ।

    विश्लेषकहरूका अनुसार सम्झौता सफल भए पनि विश्व ऊर्जा आपूर्ति पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन समय लाग्न सक्छ । ढुवानी र बीमा कम्पनीहरूले दीर्घकालीन स्थायित्वको सुनिश्चितता खोजिरहेका छन् । उता इरानसँग अझै पनि ठूलो मात्रामा ब्यालेस्टिक क्षेप्यास्त्र र उच्च समृद्ध युरेनियम रहेको बताइन्छ, जसले भविष्यमा फेरि तनाव बढ्न सक्ने चिन्ता कायम राखेको छ ।

    अमेरिकाले सम्झौताअन्तर्गत इरानबाट समृद्ध युरेनियम हटाउन माग गरेको छ । रुसले उक्त सामग्री आफ्नो नियन्त्रणमा लिन प्रस्ताव गरेको भए पनि इरानले आफ्नो युरेनियम भण्डार कायम राख्ने अडान सार्वजनिक रूपमा दोहो¥याउँदै आएको छ । यही विषय आगामी वार्ताको सबैभन्दा कठिन मुद्दा बन्ने अनुमान गरिएको छ ।

  • फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

    फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

    काठमाडौँ, २ असारः फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् । त्यस्तै साउदीको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

    खेलको ८० आँै मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत: खेल १–१ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलीले पहिलो खेलपछि समान एक एक अङ्क जोडेका छन् । गए राति भएको समूह ‘एच’ कै अर्को खेलमा स्पेन र केपभर्डेले पनि १–१ को बराबरी खेलेका थिए ।

  • विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

    विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

    काठमाडौँ, २ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ । अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

    सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक\एक अङ्क जोडेका छन् ।

  • अमेरिका र इरानबीचको सम्झौताबारे पूर्वराष्ट्रपति ओबामा के भन्छन् ?

    अमेरिका र इरानबीचको सम्झौताबारे पूर्वराष्ट्रपति ओबामा के भन्छन् ?

    १ असार, वासिङ्टन (रासस–एएफपी)
    अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानबीच भएको कुनै पनि सम्झौताले ११ वर्षअघिको बृहत् आणविक सम्झौताभन्दा ‘उल्लेखनीय सुधार’ हुने अपेक्षा गर्नु अव्यावहारिक भएको बताएका छन् । एबीसी न्यूजको टक शो ‘दिस विक’ मा आइतबार जारी गरिएको अन्तर्वातार्को अंशमा, पूर्व राष्ट्रपतिले पूर्ण युद्धबाट बच्नको लागि वाशिङ्गटनको चाहनाभन्दा कम हुने सम्झौताको लागि भएपनि वार्ता गर्नु राम्रो हुने सुझाव उनको थियो ।

    सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतालाई उद्धृत गर्दै पूर्व राष्ट्रपति ओबामाले भने, “हामीलाई यो आशङ्का छ कि कुनै पनि सम्झौता हामीबीच भएको सम्झौताभन्दा धेरै फरक हुनेछैन वा उल्लेखनीय सुधार हुनेछैन ।” उनले भने, “आफ्नो राष्ट्रपति कालमा भएको सम्झौताले पहिले पनि लामो समयसम्म काम गरेको थियो । संयुक्त राज्य अमेरिका यसबाट बाहिर निस्क्यो ।”

    स्मरण रहोस्, अमेरिकाको नेतृत्वमा विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौता अमेरिकी हितमा नरहेको भन्दै राष्ट्रपति ट्रम्पले उनको पहिलो कार्यकालमा अमेरिका यसबाट पछि हटेको घोषणा गरेका थिए । त्यसपछि इरानले पनि सम्झौताको एउटा पक्ष यसबाट फिर्ता भएको भन्दै यसलाई मानिराख्न आफूहरू बाध्य नहुने दावी गर्दै क्रमशः यसबाट फिर्ता भएको थियो । सम्झौताले इरानले युरेनियम संवर्धन नगर्ने सर्तमा उसमाथि लगाइएका अमेरिकी आर्थिक नाकाबन्धीलाई केही खुकुलो पार्ने सहमति भएको थियो ।

    फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायली सेनाले इरानविरुद्ध आक्रमण गरेपछि मध्यपूर्व युद्ध सुरु भएको र महिनौँदेखि राष्ट्रपति ट्रम्पले इरानमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।


    ट्रम्पले यो सम्झौताले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमतालाई सदाका लागि रोक्ने र नाकाबन्दी गरिएको स्ट्रेट अफ हर्मुजलाई तुरुन्त खोल्ने कुरामा जोड दिएका छन् । तेहरानले अहिलेसम्म सम्झौतामा हस्ताक्षर गर्ने पुष्टि गरेको छैन र आइतबार इजरायलले लेबनानमा गरेको आक्रमणपछि इरानले अहिलेका लागि अमेरिकासँग शान्ति वार्ताको कुनै अर्थ नभएको बताएको छ ।

    ओबामाले भने, “अमेरिका–इरान नयाँ सम्झौताको सुस्त प्रगतिले व्यापक कूटनीतिमा संलग्न हुनुको साटो वासिङ्टनले ‘हाम्रो बाटोलाई धम्क्याउन वा समाधानको लागि हाम्रो मार्गमा बमबारी’ गर्न सक्दैन भन्ने कुराको दृष्टान्त दिलाउँछ ।”

  • विश्वकपः जर्मनी सानदार विजयी

    विश्वकपः जर्मनी सानदार विजयी

    काठमाडौँ, १ असार : फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको खेलमा चार पटकको विश्वकप विजेता जर्मनीले कुरासाओलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा आज बिहान सम्पन्न समूह इ को खेलमा जर्मनीले क्यारेबियन राष्ट्र कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

    जर्मनीले पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा चार गोल थप्यो । जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन र डेनिज उन्डाभले समान एक–एक गोल गरे ।

    एनमेचाले खेलको छैटौँ मिनेटमै गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि जर्मनीका निको स्लोटरबेकले खेलको ३८औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अग्रता बनाए ।

    त्यसपछि खेलको पहिलो हाफको अत्तिरित्त समयमा हाभाट्र्जले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अग्रता दिलाए । त्यसैगरी मुसिएलाले खेलको ४७औँ मिनेटमा गोल गर्दा ब्राउनले खेलको ६८औँ मिनेटमा अर्को गोल थपे । त्यस्तै खेलको ७८ औँ मिनेटमा उन्डाभले गोल गरे भने काई हाभाट्र्जले खेलको ८८ औँ मिनेटमा अर्को गोल थपे । यस जितसँगै जर्मनीले शीर्ष तीन अङ्क जोडेको छ ।

  • हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक

    हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक

    तेहरान, ३१ जेठ (रासस–एएफपी) । मध्यपूर्वको तनाव कम गर्ने सम्भावित अमेरिका–इरान सम्झौता आइतबार हस्ताक्षर हुन सक्ने सङ्केत देखिएपछि कूटनीतिक गतिविधि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता सम्पन्न भएलगत्तै रणनीतिक महत्त्वको हर्मुज जलघाँटी ‘सबैका लागि खुला’ हुने दाबी गर्नुभएको छ ।

    यद्यपि इरानले हस्ताक्षरको समयसीमाबारे अझै सावधानीपूर्ण धारणा व्यक्त गरेको छ। हप्तौँदेखि जारी युद्ध र अवरुद्ध वार्तापछि दुवै पक्ष तथा मध्यस्थकर्ताहरूले समाधानको सम्भावना बढेको सङ्केत दिएका छन् । प्रमुख मध्यस्थकर्तामध्ये एक पाकिस्तानले सम्झौता पहिलेभन्दा धेरै नजिक पुगेको जनाएको छ ।

    पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शनिबार सामाजिक सञ्जाल एक्समार्फत आगामी २४ घण्टाभित्र सम्झौताले अन्तिम रूप लिन सक्ने बताए । उनका अनुसार सम्झौतामा विद्युतीय हस्ताक्षर गरिनेछ भने अर्को साता प्राविधिक तहको वार्ता पनि जारी रहने अपेक्षा गरिएको छ । पाकिस्तानी विदेश मन्त्रालयले समेत आइतबार हस्ताक्षरको योजना रहेको पुष्टि गरेको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भनेका छने, “यो सम्झौता भोलि हस्ताक्षर हुने तय भएको छ र हस्ताक्षर भएसँगै हर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ ।” यद्यपि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले हस्ताक्षरको मिति अझै अन्तिम नभएको स्पष्ट पार्दै ‘यो भोलिपल्ट नहुन सक्छ, तर आगामी दिनमा सम्भावनालाई अस्वीकार गर्न सकिँदैन’ भनेका छन् ।


    अप्रिल ८ मा भएको युद्धविरामले भीषण लडाइँ रोक्न मद्दत गरे पनि त्यसयता स्थायी राजनीतिक समाधानको प्रयास जारी छ । राष्ट्रपति ट्रम्पले पटकपटक सम्झौता नजिक पुगेको दाबी गर्दै आएका छन् । तर वार्ता विभिन्न चरणमा अवरुद्ध पनि हुँदै आएको छ । सम्झौताको सम्भावनाबीच हर्मुज जलघाँटीको विषय अझै विवादको केन्द्रमा छ ।

    विश्वको महत्त्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग मानिने यस जलमार्गमाथि इरानले युद्ध सुरु भएदेखि नियन्त्रण कडा बनाएको छ । तेहरानले जहाजहरूलाई आफ्ना सुरक्षाकर्मीबाट अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ भने निरीक्षण र शुल्क व्यवस्थापनका लागि नयाँ निकाय पनि स्थापना गरेको छ ।

    यसको प्रत्युत्तरमा अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी लागू गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबार इरानले व्यावसायिक जहाजहरूलाई लक्षित गरी एकतर्फी ड्रोन आक्रमणको प्रयास गरेको आरोप लगाउँदै ती सबै ड्रोन खसालिएको जनाएको छ ।

    इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार राज्य टेलिभिजनसँगको अन्तर्वार्तामा प्रस्तावित सम्झौतामा अमेरिकी नाकाबन्दी हटाउने विषय समावेश रहेको बताएका थिए । उनले हर्मुज जलमार्गलाई इरानको ‘प्रतिरोधको प्रमुख साधन’ मध्ये एक भएको उल्लेख गर्दै यसको व्यवस्थापन पहिले जस्तो नहुने सङ्केत दिएका थिए ।

    तर अमेरिकाले इरानलाई जलघाँटीमाथि पूर्ण नियन्त्रण दिन नसकिने स्पष्ट गर्दै आएको छ । ट्रम्पको पछिल्लो अभिव्यक्तिमा पनि शुल्क वा नयाँ प्रशासनिक व्यवस्थाबारे कुनै उल्लेख गरिएको छैन । सम्झौताको अर्को संवेदनशील विषय इरानको आणविक कार्यक्रम हो ।

    विशेषगरी इरानसँग रहेको उच्च संवर्धित युरेनियम भण्डारको भविष्यबारे अझै मतभेद कायम छ । इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ, तर अमेरिका, इजरायल तथा पश्चिमी राष्ट्रहरूले इरानले आणविक हतियार विकास गर्न खोजेको आशङ्का व्यक्त गर्दै आएका छन् ।

    विदेशमन्त्री अराघचीले इरानको समृद्ध युरेनियमको व्यवस्थापन गर्ने सबैभन्दा उपयुक्त उपाय देशभित्रै त्यसलाई कम घनत्वमा रूपान्तरण गर्नु रहेको बताउनुभएको छ । अर्कोतर्फ राष्ट्रपति ट्रम्पले यसअघि युरेनियम हटाएर नष्ट गरिने बताइसकेका छन् । शनिबारको आफ्नो सन्देशमा ट्रम्पले ‘सबै शान्त भएपछि हामी आणविक धुलो सङ्कलन गरेर त्यसलाई नष्ट गर्नेछौँ, चाहे त्यो इरानमा होस् वा संयुक्त राज्य अमेरिकामा’ भनेका छन् । उनले प्रक्रिया छिटो र सहज रूपमा सम्पन्न हुने आशा व्यक्त गर्दै आवश्यक परे ‘अन्तिम विकल्प’ प्रयोग गर्न सकिने चेतावनीसमेत दिए ।


    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पले कुनै पनि सम्झौतामा संवर्धित आणविक सामग्री हटाउने प्रतिबद्धता जनाएको दाबी गरेका छन् । यद्यपि तेहरानका सर्वसाधारणमा भने सम्झौताप्रति अझै शङ्का कायम देखिएको छ । ४९ वर्षीय सईद सादेगीले आफूले छिट्टै कुनै सम्झौता हुने विश्वास नगरेको बताउँदै नेताहरूका आश्वासनप्रति अविश्वास व्यक्त गरे ।


    इरानी समाचार संस्था फार्सले सार्वजनिक गरेको भिडियोमा तेहरानस्थित विदेश मन्त्रालय बाहिर दर्जनौँ प्रदर्शनकारीले सम्भावित सम्झौताको विरोध गरेको देखिएको छ । प्रदर्शनमा सहभागीहरूले झण्डा बोकेर सरकारको वार्ता नीतिविरुद्ध नाराबाजी गरेका थिए । यसरी युद्धविरामपछि मध्यपूर्वमा स्थायी शान्तिको आशा पलाए पनि हर्मुजको नियन्त्रण र इरानको आणविक कार्यक्रमजस्ता जटिल मुद्दाले अन्तिम सम्झौताको मार्ग अझै पूर्ण रूपमा सहज बनाएको छैन ।

  • स्कटल्याण्डले हाइटीलाई १–० गोल अन्तरमा हरायो

    स्कटल्याण्डले हाइटीलाई १–० गोल अन्तरमा हरायो

    ३१ जेठ, काठमाडौं । २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा जित निकालेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो । स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डका लागि विजयी गोल बन्यो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले गोल भने गर्न सकेन ।

    जितसँगै स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ । स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन नसकेको स्कटल्यान्ड २८ वर्षपछि छनोट भएको थियो ।

    यस्तै स्कटल्यान्डको विश्वकपमा ३६ वर्षपछि पहिलो जित पनि हो । पछिल्लोपटक सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २–१ ले हराएको थियो । अब आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की खेल्नेछन् । उक्त खेल क्यानडाको भ्यानकुभर स्टेडियममा बिहान पौने १० बजेबाट सुरु हुनेछ । आजको पाँचौं खेल जर्मनी र कुराकाओबीच राति पौने ११ बजेबाट सुरु हुनेछ । यसअघि आजै भएको खेलमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।

  • मोरक्कोले शक्तिशाली ब्राजिललाई बराबरीमा रोक्यो

    मोरक्कोले शक्तिशाली ब्राजिललाई बराबरीमा रोक्यो

    ३१ जेठ, काठमाडौं । पाँच पटकको विश्वविजेता ब्राजिलले पिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको समूह सी को आफ्नो पहिलो खेलमा मोरक्कोसँग बराबरीमा रोकिएको हो । छैटौं उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले मोरक्को विरुद्ध एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । फिफा विश्वकपमा ८ वर्षपछि ब्राजिलले पहिलो खेलमा जित निकाल्न सकेन । यसअघि सन् २०१८ मा पनि ब्राजिल पहिलो खेलमा स्विटजरल्यान्डसँग १–१ को बराबरी खेलेको थियो ।

    यद्यपी ब्राजिलले विश्वकपको पहिलो खेलमा अपराजित यात्रालाई भने २१ खेलसम्म लम्ब्याएको छ । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेलेको पहिलो खेलमा १७ खेल जितेको भने ४ खेल बराबरीमा सकिएको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा दुवै टिमले पहिलो हाफमै गोल गरेका थिए ।

    इस्माइल साइबारीले २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्राजिलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो । भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसबाट प्राप्त पासमा मोरक्कोका डिफेण्डरहरुलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।

  • विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    काठमाडौँ, ३१ जेठः आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ । डब्लुएचओले सङ्कलन गरेको १३२ देशको तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत सङ्कलन करिब १९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा प्राप्त अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वेच्छिक तथा निःशुल्क रक्तदाताबाट आएको छ ।

    सुरक्षित रगत तथा रगतजन्य पदार्थमा पहुँच विश्वका सबै क्षेत्रमा समान छैन । विशेषगरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएका महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा ‘थालासेमिया, हेमोफिलिया,’ रोग प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।

    डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयससले सुरक्षित रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपर्ने बताएका छन् । विश्व रक्तदाता दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले स्वेच्छिक तथा निःशुल्क रक्तदाताको बढ्दो सहभागिताले उत्साहजनक प्रगति देखाएको भए पनि व्यक्तिले बसोबास गर्ने स्थानले अझै आवश्यक रक्तसञ्चार सेवा प्राप्त हुने वा नहुने अवस्था निर्धारण गरिरहेको उल्लेख गरेका छन् । उनले सरकारहरूलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण तथा स्वेच्छिक रक्तदातालाई प्रोत्साहन गर्न लगानी बढाउन आग्रह गरेका छन् ।
    डब्ल्युएचओका अनुसार विश्वको कुल जनसङ्ख्याको केवल १५ प्रतिशत हिस्सा ओगटेका उच्च आय भएका देशहरूले विश्वभर सङ्लित कुल रक्तदानको ३६ प्रतिशत सङ्कलन गर्छन् । यसको विपरीत, सीमित वित्तीय स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनसम्बन्धी चुनौती र पर्याप्त रक्तदाता अभावका कारण धेरै कम आय भएका देशहरूमा रगतको आपूर्ति अपुग हुने समस्या कायम छ ।

    देशअनुसार रक्तदान दरमा पनि ठूलो भिन्नता देखिएको छ । केही देशमा प्रति एक हजार जनसङ्ख्यामा शून्य दशमलब चार पटक मात्र रक्तदान हुने गरेको छ भने केही देशमा यो दर ५३ सम्म पुगेको छ । चौबिस देशले प्रति एक हजार जनसङ्ख्यामा पाँचभन्दा कम रक्तदान सङ्कलन गरेको डब्ल्युएचओले जनाएको छ ।

    रक्त प्रणालीको सुशासन, नियमन र वित्तीय व्यवस्थापनमा समेत कमजोरी देखिएको, विश्वका करिब एकतिहाइ देशमा रगत तथा रगतजन्य पदार्थको सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने स्पष्ट कानुनी व्यवस्था नभएको तथा केवल ६४ प्रतिशत देशमा रक्त सेवाको नियमित अनुगमन प्रणाली रहेको, ६२ प्रतिशतमा अनुमतिपत्र प्रणाली लागू भएको र ४० प्रतिशत देशमा मात्र केही रक्तसञ्चार सेवालाई मान्यता दिइएको छ ।

    डब्ल्युएचओका अनुसार सातमध्ये एकभन्दा बढी देशमा रक्त सेवाका लागि छुट्टै सरकारी बजेट वा लागत व्यवस्थापनको प्रणाली नरहेको पाइएको छ, जसले दीर्घकालीन रक्त आपूर्तिको स्थायित्वप्रति चिन्ता बढाएको छ । प्रत्येक रक्तदानले बिरामीको जीवन बचाउनुका साथै समुदायलाई सुदृढ बनाउने र स्वास्थ्य प्रणालीलाई थप सबल बनाउन योगदान पु¥याउने छ ।

    डब्ल्युएचओले सबै देशलाई रक्त सेवाको सुशासन र नियमन सुदृढ गर्न, दिगो वित्तीय स्रोत सुनिश्चित गर्न, गुणस्तर प्रत्याभूति कार्यक्रम विस्तार गर्न, सुरक्षित रक्तसञ्चार अभ्यास प्रवद्र्धन गर्न तथा तथ्यमा आधारित निर्णयका लागि निगरानी र सूचना प्रणाली सुदृढ बनाउन आह्वान पनि गरेको छ ।

  • अमेरिका–इरान सम्झौता निकै नजिक : ट्रम्प

    अमेरिका–इरान सम्झौता निकै नजिक : ट्रम्प

    तेहरान, ३१ जेठ (रासस–एएफपी) । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताएका छन् । यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोष्ट गरेर सम्झौताको सम्भावनालाई थप बढावा दिएका छन् । पोष्टमा राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको बताए ।


    प्रस्तावित सम्झौतालाई उद्धृत गर्दै अराघचीले एक्समा लेखेका छन्, “इस्लामाबादको पहलमा भएको यो सम्झौता प्रस्ताव अहिलेसम्मकै सबैभन्दा धेरै बिषयमा सहमति नजिक पुगेकोे सहमति हो ।” अराघचीको पोष्टको केही मिनेटपछि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा उक्त पोस्ट पुनः पोस्ट गरेका थिए । यसले प्रस्तावित सम्झौताका सर्तहरूमा मतभेदका बाबजुद वार्ता सही दिशामा अघि बढिरहेको बुझ्न सकिन्छ ।

    राष्ट्रपति ट्रम्पले सम्झौता पूरा हुने विश्वास व्यक्त गरेको भोलिपल्ट अराघचीको यो टिप्पणी आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले भर्खरै इरानसँग युद्धका विषयमा ठूलो सम्झौता गरेको भन्दै सम्झौतामा हस्ताक्षर हुन केही काम मात्र बाँकी रहेको सङ्केत गरेका थिए । ट्रम्पले पत्रकारहरुसँग भने, “अब केवल कागजातलाई अन्तिम रूप दिन मात्र बाँकी छ । अबको केही दिनमा यो काम सम्पन्न गरिसक्नुपर्छ ।”

    शुक्रबार इरानी विदेशमन्त्री अराघचीले मिडिया संगठनहरू र विश्लेषकहरूलाई वार्ता पूरा नभएसम्म सम्झौताको सामग्रीको बारेमा अनुमान नगर्न आग्रह गरेका थिए । उनले भने, “जबसम्म यसको अन्तिम निर्णय हुँदैन, तबसम्म मिडियाले यसको सामग्रीको बारेमा अड्कलबाजी गर्नबाट टाढा रहनु पर्छ।”उनले प्रक्रिया पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । हाम्रो जिम्मेवार र पारदर्शी दृष्टिकोण अनुरूप सबै विवरणहरू सही समयमा जनतासँग साझा गरिनेछ ।

    –पाकिस्तानद्वारा पुष्टि–

    पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यका साथ भएको सम्झौताका शर्तमा सहमति भएको र मध्यस्थकर्ताले दुवै पक्षसँग सम्झौता गर्न काम गरिरहेको पुष्टि गरे । प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सहमतिको सन्देश टुङ्गिएको बताए । मध्यस्थताको प्रयासमा पहल गरेको पाकिस्तानले यी युद्धरत देशहरूसँग अर्को चरणमा काम गरिरहेको उनले बताए ।


    “शान्ति अहिले जस्तो नजिक कहिल्यै थिएन”, शरिफले एक्समा गरेको पोस्टमा भनेका छन्, “इरानले यसै साता अमेरिका र इजरायलसँग तीन दिने गतिरोध जारी राख्दै मध्यपूर्वमा ठूलो मात्रामा युद्ध सुरु गर्ने चेतावनी दिएपछि वार्तामा उल्लेखनीय प्रगति भएको हो ।”

    –इरानी मिडियाद्वारा १४ बुँदे समझदारी पत्र प्रकाशित–

    मेहर समाचार एजेन्सीका अनुसार प्रस्तावित ढाँचाले विशेष गरी स्ट्रेट अफ होर्मुज वरपरको तनावको कारण विश्व व्यापार र ऊर्जा बजारलाई धक्का दिएको तीन महिनाको द्वन्द्व अन्त्य गर्न उपायहरू प्रस्तुत गरेको छ । उक्त योजनामा प्रतिबन्धहरू खुकुलो पार्ने, इरानको रोक्का गरिएको सम्पत्तिमा पहुँच र क्षेत्रीय तनाव कम गर्ने उपायहरू समावेश छन् । इरानी मिडियाले प्रस्तावित १४ बुँदे समझदारी पत्रको विवरण भन्दै शुक्रबार समाचार प्रकाशित गरेपछि इरानी विदेशमन्त्रीले भनेका थिए, “एक्समा एक पोस्ट गर्दै खुलासा गरिएको जानकारी र लिखित रूपमा सहमति भएका सर्तहरूबीच कुनै सम्बन्ध छैन।”

  • सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

    सन् २०२२ देखि अहिलेसम्म युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलर भन्दा बढीले वृद्धि

    मस्को, ३० जेठ (रासस–एएनआई) । युक्रेनको सार्वजनिक ऋण सन् २०२२ देखि ११० अर्ब डलरभन्दा बढीले वृद्धि भएको रुसी समाचार निकाय (तास) ले शनिबार सार्वजनिक एक समाचारमा जनाएको छ । यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश भएको समाचारमा उल्लेख गरिएको छ । सन् २०२२ को सुरुदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको छ । देशको अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित तासको रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण ९७.९६ अर्ब अमेरिकी डलरबाट २०८.९७ अर्ब डलर पुगेको वा १११.०१ अर्ब डलर बढेको छ ।

    युक्रेनको बाह्य ऋणमा वृद्धि सन् २०२२ को ५७.२ अर्ब डलरबाट १६२.७३ अर्ब डलर पुगेको छ । यो लगभग तीन गुणा वृद्धि हो । यस रकममध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग १० अर्ब डलर तिर्नु पर्छ, बाँकी विभिन्न सहयोगी देशहरूलाई तिर्नुपर्छ । किएभको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिमा सहयोग प्राप्त गरे पछि आएको हो । जनसाङ्ख्यिकी र सामाजिक अध्ययन संस्थानलाई उद्धृत गर्दै तासले लेखेको छ, “अनुमानित कूल दुई करोड ८० लाख जनसङ्ख्या रहेको युक्रेनमा जनसङ्ख्याको आधारमा प्रत्येक नागरिकले अब सार्वजनिक ऋणमा लगभग सात हजार ५०० डलर ऋणभार रहनेछ ।

    किएभको बढ्दो आर्थिक जोखिमको बीचमा, भेरखोव्ना राडाका सांसदहरूले देशको विद्यमान ऋण तिर्न मात्र करिब ३५ वर्ष लाग्ने अनुमान गरेका छन् । युक्रेनले आफ्ना पश्चिमी सहयोगीहरूबाट वित्तीय सहयोग खोजिरहेको छ । युरोपेली सङ्घले हालै युक्रेनको लागि ९० अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ जुन निकासा हुर्ने तयारीमा छ र यो ड्रोनको लागि छुट्याइएको पहिलो किस्ता हो ।

    फ्रान्सको इिभियनमा हुने जी–७ शिखर सम्मेलनमा युक्रेनको द्वन्द्व पनि छलफलको एक प्रमुख हिस्सा हुने अपेक्षा गरिएको छ ।

    शिखर सम्मेलन भूराजनीतिक सङ्कट, आर्थिक सहयोग, कृत्रिम बौद्धिकता र विकास साझेदारीमा केन्द्रित हुने अपेक्षा गरिएको छ । स्रोतका अनुसार मङ्गलबार शिखर सम्मेलनको पहिलो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा युक्रेनसम्बन्धी सत्र हुनेछ, त्यसपछि इजिप्ट, कतार, संयुक्त अरब इमिरेट्स र साउदीसहित मध्य पूर्वी देशहरू सम्मिलित छलफल हुनेछ ।

    स्रोतका अनुसार शिखर सम्मेलनको प्राथमिकताहरू मध्ये एक समकालीन सङ्कट अर्थात् युक्रेनको द्वन्द्व र इरान, इजरायल, गाजा, लेबनान र स्ट्रेट अफ हर्मुजको पश्चिम एशियामा बढ्दो तनावबारे अन्तर्राष्ट्रिय बहस हुनेछ ।

  • अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

    अमेरिका–इरान वार्ता अन्तिम चरणमा, पाकिस्तान र साउदी अरबद्वारा स्वागत

    इस्लामावाद, ३० जेठ (रासस–सिन्ह्वा) । अमेरिका–इरान वार्ताको अन्तिम चरणमा पुगेको समाचारसँगै पाकिस्तान र साउदी अरबले प्रस्तावित बुँदाहरूमा सम्झौताको सहमति भएकोमा स्वागत गरेका छन् । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार र साउदी विदेशमन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदले अमेरिका–इरान वार्ताको अन्तिम चरण पुगेकोमा स्वागत गरेका हुन् ।

    टेलिफोन कुराकानीका क्रममा दुई मन्त्रीबीच अमेरिका र इरानबीच जारी वार्ताका बारेमा छलफल भएको र यस प्रक्रियाले यस क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “साउदीको विदेश मन्त्रीले वार्ता प्रक्रियाको क्रममा मध्यस्थता र संवादको समर्थनमा पाकिस्तानले गरेको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।”

    दुवै पक्षले यसै महिनाको अन्त्यमा इजिप्टमा हुने चार देशका विदेश मन्त्रीहरूको बैठकको तयारीबारे पनि छलफल गरेका पनि विज्ञप्तिमा जनाइएको छ ।
    पाकिस्तानले यस क्षेत्रमा वार्ता प्रवद्र्धन गर्ने र तनाव कम गर्ने कूटनीतिक प्रयासलाई सक्रिय रूपमा समर्थन गर्दै आएको छ ।

  • फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

    फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

    काठमाडौँ, ३० जेठः फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ ।
    क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक–एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एकरएक अङ्क बाडेका छन् ।

    खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । बोस्निया एन्ड हर्जगोभिनाले खेलको पहिलो हाफमा लिएको एक शून्य गोलको अग्रता दोस्रो हाफमा पुगेपछि जोगाउन सकेन । खेलको ७८ औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो ।

    क्यानडाका काइल लारिनले एक गोल गर्दै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्तत खेल एकरएक गोलको बराबरीमा टुङ्गियो । आजै विश्वकपको चौथो तथा समूह डी को पहिलो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा भइरहेको छ । सो खेलमा अमेरिकाले अग्रता लिएको छ ।

  • युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

    युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी

    नयाँदिल्ली, २९ जेठ (रासस–एपी) । भारतमा सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी (सिजेपी)ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका मुद्दालाई केन्द्रमा राख्दै राष्ट्रव्यापी युवा विरोध अभियान सुरु गरेको छ । अभियानको सुरुआतस्वरूप बिहीबार पश्चिमी भारतीय सहर पुणेमा सयौँ विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए र यस कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको छ ।

    गत साता नयाँदिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरेको सिजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्‍याली आयोजना गरेको हो । प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् ।

    राजनीतिक सञ्चार रणनीतिकार तथा बोस्टन विश्वविद्यालयका विद्यार्थी अभिजीत डिप्केले र्‍यालीलाई सम्बोधन गर्दै पुणेको कार्यक्रम केवल सुरुआत मात्र भएको बताए । उनले बिहीबारदेखि देशव्यापी अभियान औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै आगामी दिनमा भारतका अन्य सहरहरूमा पनि विरोध कार्यक्रम विस्तार गरिने जानकारी दिए । उनले शिक्षामन्त्रीले राजीनामा नदिए समर्थकहरू यही महिनाको अन्त्यतिर पुनः नयाँदिल्लीमा ठूलो प्रदर्शनका लागि जुट्ने चेतावनीसमेत दिए ।


    “सरकारले युवाहरूलाई बेवास्ता गर्न सक्दैन”, अमेरिकाबाट हालै भारत फर्किएर आन्दोलनको नेतृत्व गरिरहनुभएका डिप्केले पत्रकारहरूसँग भने । यो आन्दोलनको सुरुआत गत मे महिनामा सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्तले केही बेरोजगार युवालाई ‘कक्रोच’ सँग तुलना गरेको टिप्पणीपछि भएको थियो । उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया निम्त्याएको थियो ।

    तर आन्दोलनका समर्थकहरूले त्यस शब्दलाई अपमानको रूपमा नभई, कठिन परिस्थितिमा पनि बाँच्न सक्ने क्षमता र लचकताको प्रतीकका रूपमा ग्रहण गरे । त्यसपछि ‘कक्रोच’ आन्दोलनको पहिचान बनेको छ र समूहले इन्स्टाग्राममा मात्र दुई करोड २० लाखभन्दा बढी अनुयायी आकर्षित गर्न सफल भएको छ ।

    सुरुमा एउटा टिप्पणीविरुद्धको प्रतिवादका रूपमा देखिएको आन्दोलन अहिले बेरोजगारी, बढ्दो जीवनयापन खर्च, शिक्षा प्रणालीका समस्या, भ्रष्टाचार तथा सरकारी जवाफदेहितासम्बन्धी व्यापक असन्तुष्टिको आवाजका रूपमा विकसित भएको छ । सिजेपीले व्यङ्ग्य, आत्म–आलोचनात्मक हास्य र राजनीतिक टिप्पणीलाई संयोजन गरेर युवामाझ आफ्नो प्रभाव विस्तार गरिरहेको छ ।

    समर्थकहरू मजाककै शैलीमा आफूलाई बेरोजगार, लामो समय अनलाइन बस्ने र अवसरको खोजीमा रहेका युवा भनेर चिनाउँछन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भिडियो, मीम र व्यङ्ग्यात्मक सामग्रीहरूले बेरोजगारी, भ्रष्टाचार तथा राजनीतिक निष्क्रियताको आलोचना गर्दै लाखौँ दर्शकको ध्यान तानेका छन् । यस्तै, सिजेपीसँग सम्बन्धित वा त्यसबाट प्रेरित धेरै प्यारोडी खाताहरूले पनि कक्रोचलाई व्यङ्ग्यात्मक राजनीतिक प्रतीकका रूपमा प्रयोग गरिरहेका छन् ।

    पुणेबाट सुरु भएको पछिल्लो अभियानले भारतका युवाहरूबीच बढ्दो असन्तुष्टिलाई सङ्गठित राजनीतिक अभिव्यक्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको विश्लेषण गरिएको छ । आन्दोलनले आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ ।

  • फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत

    फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत

    ग्वाडलाजारा (मेक्सिको), २९ जेठ (रासस–एएफपी) । विश्वकपमा दक्षिण कोरियाले आफ्नो अभियानको शानदार सुरुआत गर्दै चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको छ । अन्तिम १० मिनेटमा निर्णायक गोल गर्दै कोरियाले कठिन प्रतिस्पर्धामा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । खेलको अधिकांश समय चेक गणतन्त्र दबाबमा रहेको देखिए पनि अन्तिम क्षणसम्म खेल अनिश्चित बनेको थियो । ८० औँ मिनेटसम्म चेकले खेल आफ्नो पक्षमा मोड्ने सङ्केत दिएको थियो, तर प्रतिस्थापन खेलाडी ओह ह्योन–ग्यूले निर्णायक गोल गर्दै कोरियालाई जित दिलाए ।


    दक्षिण कोरियाले खेलको सुरुआतदेखि नै प्रभुत्व जमाएको थियो । स्टार खेलाडी सोन ह्युङ–मिनको नेतृत्वमा कोरियाली टोलीले पहिलो हाफमा लगातार आक्रमण गरे पनि गोल गर्न सकेको थिएन । उनले गरेको एक शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो भने अर्को प्रयास थोरै फरक दिशामा गएको थियो । दोस्रो हाफमा चेक गणतन्त्रले अग्रता लिएको थियो । लाडिस्लाव क्रेज्चीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । जसपछि खेलमा तनाव थपिएको थियो ।

    तर कोरियाले दबाब बढाउँदै पुनरागमन गर्‍यो । ह्वाङ इन–बिओमले ६७ औँ मिनेटमा सुन्दर प्रहार गर्दै बराबरी गोल गरे । जसले कोरियाली समर्थकमा उत्साह भरेको थियो । त्यसपछि चेक रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै ह्वाङले नै निर्णायक पास उपलब्ध गराए । जसलाई ओह ह्योन–ग्यूले दायाँतर्फबाट आएको बललाई सहजै गोलमा परिणत गरे ।


    खेलको अन्त्यतिर तनावपूर्ण अवस्था सिर्जना भए पनि दक्षिण कोरियाले अग्रता जोगाउँदै जित सुनिश्चित गर्‍यो । अन्तिम सिटी बज्नेबित्तिकै कप्तान सोन ह्युङ–मिनले मैदानमै खुसी व्यक्त गरे । यस जितसँगै दक्षिण कोरियाले आफ्नो अर्को खेल सह–आयोजक मेक्सिकोसँग खेल्नेछ । मेक्सिकोले यसअघि दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो । चेक गणतन्त्रले भने आफ्नो अर्को खेलमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

  • विश्वकप फुटबलको उद्घाटन खेलमै तीन खेलाडीले पाए रातो कार्ड

    विश्वकप फुटबलको उद्घाटन खेलमै तीन खेलाडीले पाए रातो कार्ड

    काठमाडौँ, २९ जेठ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

    मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो ।

    त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए ।

    विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भइरहेको छ ।

  • इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

    इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

    बगदाद (इराक), २९ जेठ (रासस–सिन्ह्वा) । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकानिल अवस्थामा सतर्क रहन सुझाव दिएको छ । विज्ञप्ति जारी गर्दै दूतावासले वर्तमान क्षेत्रीय अवस्थाका कारण यात्रा अवरोध र हवाई क्षेत्र बन्द हुन सक्ने चेतावनी दिएको छ ।

    दुतावासले अमेरिकी नागरिकहरूलाई वर्तमान अवस्थामा यात्रा नगर्न चेतावनी जारी गर्दै अमेरिकी विदेश विभागले जारी गरेको विभिन्न स्तरको यात्रा चेतावनीको पालना गर्न सल्लाह दिएको छ । कुनै पनि कारणले इराकको यात्रा नगर्न सुझाव दिदै दुतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई छिटै बाहिरिन आग्रह गरेको छ । इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले बिहीबार इरानमा ताजा अमेरिकी आक्रमणको प्रतिक्रियामा महत्वपूर्ण लक्ष्यहरूमा प्रहार गरी नष्ट गरेको बताएको छ ।

  • विश्वकप फुटबल सुरु, मेक्सिकोको विजयी सुरुवात

    विश्वकप फुटबल सुरु, मेक्सिकोको विजयी सुरुवात

    काठमाडौँ, २९ जेठ । फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ आजदेखि मेक्सिकोमा सुरु भएको छ । मेक्सिको सिटी स्टेडियममा भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका हरायो । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो । तीन फरक विश्वकप आयोजना गर्ने पहिलो स्टेडियम बनेको अज्टेका स्टेडियममा क्यापासिटी क्राउडअघि मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । दुई गोल भएको खेलमा ब्राजिलियन रेफ्रीले तीन रातो कार्ड देखाएका थिए ।

    खेलको नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै सुरुवाति अग्रता लिएका थिए । दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बललाई डिफेन्डरले नियन्त्रण गुमाउँदा मेक्सिकोले त्यसको फाइदा उठाउँदै गोल गर्न सफल भयो । इरिक लिराले दिएको पासलाई जुलियनले गोलमा परिणत गरे । उनैले ४२ मिनेटमा गरेको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।

    विपक्षी खेलाडीलाई लडाएपछि ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित रह्यो । ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति रह्यो ।

    दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले रातो कार्ड खाँदै मैदान छाडे । उद्घाटन खेलमा ३ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यसै खेलमा मेक्सिकोको युवा स्टार गिल्बर्टो मोराले पनि विश्वकपमा डेब्यु गर्ने मेक्सिको र उत्तर अमेरिकाके कान्छो खेलाडीको कीर्तिमान बनाए । उनी फिफा विश्वकप २०२६ को सबैभन्दा कान्छो खेलाडी हुन् भने समग्रमा विश्वकप खेल्ने छैटौं कान्छा खेलाडी हुन् ।

    जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । यो जितले मेक्सिकोलाई नकआउट चरणमा पुग्न बाटो केही सहज बन्दा दक्षिण अप्रिकाबा६ट पनि सुरुमै दबाब परेको छ । सोही समूहको दोस्रो खेल बिहान पौने ८ बजेबाट चेक रिपब्लिक र दक्षिण कोरियाबिच हुनेछ । विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपमा यी दुई टोली समूह ‘ए’ मा रहेका छन् । समूह ‘ए’मा मेक्सिको, दक्षिण अफ्रिकासँगै चेक गणतन्त्र र दक्षिण कोरिया रहेका छन् । यसअघि सन् २०२२ मा कतारमा आयोजना भएको विश्वकपमा भने मेक्सिको समूह चरणबाट नै बाहिरिएको थियो । त्यसअघि सन् १९९४ देखि २०१८ सम्म लगातार सातपटक मेक्सिकोको यात्रा अन्तिम १६ मा समाप्त भएको थियो ।

    सन् १९७० र १९८६ मा भएको विश्वकपमा भने मेक्सिको अन्तिम आठमा पुगेको थियो । यसपटक भने मेक्सिको ती सबै नतिजालाई बिर्सँदै नयाँ इतिहास बनाउने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । सन् २०१० पछि दक्षिण अफ्रिका विश्वकपमा पहिलोपटक खेल्दैछ । त्यतिबेलाको विश्वकप दक्षिण अफ्रिका आफैँले आयोजना गरेको थियो । त्यतिबेला दक्षिण अफ्रिका समूह चरणको खेलबाटै बाहिरिएको थियो । दक्षिण अफ्रिका करिब १६ वर्षपछि विश्वकपमा फर्किएको हो ।

    विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकप तीन देशका १६ सहरमा प्रतिस्पर्धा हँुदैछ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका तीन तथा क्यानडाका दुई सहरमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक ४८ राष्ट्र सहभागी भएका छन् । यसअघि ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए ।

    आजदेखि सुरु भएर जुलाई १९ तारिखमा न्युयोर्कमा यो प्रतियोगिता समापन हुनेछ । विश्वकपको सुरुआत तीनवटै आयोजक राष्ट्रमा उद्घाटन समारोह हुनेछ । विश्वकपको उद्घाटन मेक्सिको सिटी, क्यानडाको टोरन्टो र लस एन्जलसमा छुट्टाछुट्टै समारोहमा हुनेछ । तीनवटै आयोजक राष्ट्रले आ–आफ्नो देशको संस्कृति, इतिहास र पहिचानलाई प्रस्तुत गर्नेछन् ।

    मेक्सिको सिटीमा आज हुने मुख्य उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तरराष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए । अमेरिकामा भने यही जुन १२ तारिखदेखि खेल सञ्चालन हुनेछ । अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा अमेरिकाको सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर प्रस्तुति दिइनेछ । उद्घाटनसत्रपछि आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै विश्वकपको उद्घाट गर्नेछ । उक्त खेल नेपाली समयअनुसार भोली बिहान ६ः४५ बजे हुनेछ ।

    त्यस्तै क्यानडाको टोरन्टोमा पनि जुन १२ तारिखमै विश्वकपको उद्घाटन हुनेछ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको क्यानडाले आफ्नो देशको पहिचानलाई प्रस्तुत गर्नेछ । मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसकेको अनुभव छ ।

  • काठमाडौँमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

    काठमाडौँमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

    काठमाडौँ, २८ जेठः फिफा विश्वकप फुटबल–२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारीले शान्तिसुरक्षा खलल हुनसक्ने भएकाले अनुमति नलिइ खेल प्रदर्शनी गर्न रोक लगाइएको जानकारी दिए ।

    उनले पूर्वस्वीकृति नलिइ रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्तिसुरक्षा खलबल्याउने गतिविधि नगर्न÷नगराउन सबैलाई अनुरोध गरेका छन् । खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिका लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने भएकाले उक्त निवेदनमा उल्लेखित शर्तहरुको अधिनमा रही सङ्घसंस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइने जनाइएको छ ।

    काठमाडौँ प्रशासनले आजै एक सूचना जारी गरी सूचनाको अवज्ञा गरी कोहीकसैले यस कार्यालयको स्वीकृति बेगर आज रातिदेखि हुने फिफा विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणका नाममा भीडभाड गर्ने तथा अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेको सूचना प्राप्त भए कानुनबमोजिम कारबाही हुने जानकारी दिएको छ ।

  • विश्वकपअघि भिसा विवाद

    विश्वकपअघि भिसा विवाद

    वासिङ्टन, २८ जेठ (रासस-एएफपी)

    आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त राज्य अमेरिकाले केही विदेशी अधिकारीलाई भिसा नदिएको विषय विवादको केन्द्रमा पुगेको छ । ह्वाइट हाउसको विश्वकप टास्क फोर्सले भने सुरक्षा कारण देखाउँदै सोमाली रेफ्री र इरानी टोलीका केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति नदिने निर्णय उचित भएको स्पष्ट पारेको छ ।

    विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु गियुलियानीले मङ्गलबार वासिङ्टनमा आयोजित एटलान्टिक काउन्सिलको कार्यक्रममा अहिलेसम्म ३५ वटा राष्ट्रिय टोली सफलतापूर्वक अमेरिका प्रवेश गरिसकेको जानकारी दिए । उन्ल्े कुनै पनि खेलाडी वा प्रशिक्षकलाई प्रवेशबाट रोकिएको नभएको उल्लेख गर्दै केही अधिकारीलाई मात्र विशेष सुरक्षा कारणका आधारमा भिसा अस्वीकार गरिएको बताए ।


    गियुलियानीका अनुसार विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरलाई दुरुपयोग गरेर अमेरिका प्रवेश गर्ने सम्भावित जोखिम रोक्न प्रशासनले कडा सतर्कता अपनाएको छ । उनले सुरक्षा र खेलकुदबीच आवश्यक सन्तुलन कायम गरिएको बताए । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले एएफपीसँगको कुराकानीमा सोमाली रेफ्री ओमार आर्टानलाई भिसा नदिइएको पुष्टि गर्दै उनीमाथि आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको आशङ्का रहेको दाबी गरे । यही कारणले उनी अमेरिकी अध्यागमन नियमअनुसार प्रवेशका लागि अयोग्य ठहरिएको अधिकारीको भनाइ थियो ।

    सन् २०२५ मा अफ्रिकी फुटबल महासङ्घले वर्षको उत्कृष्ट पुरुष रेफ्री घोषणा गरेका आर्टान विश्वकपमा रेफ्री गर्ने पहिलो सोमाली बन्ने अपेक्षा गरिएको थियो । तर उनलाई अमेरिका पुगेपछि मियामी विमानस्थलबाटै फर्काइएको थियो । सोमालिया हाल राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध सूचीमा समावेश देशमध्ये एक हो । ट्रम्प प्रशासनले यो नीतिलाई व्यापक आप्रवासन नियन्त्रण अभियानको हिस्सा बताउँदै आएको छ ।

    यसैबीच, संयुक्त राज्य अमेरिकासँग जारी तनाव र सैन्य द्वन्द्वका कारण इरानले आफ्नो विश्वकप तयारीको आधार शिविर अमेरिका नभई मेक्सिकोमा सार्नुपरेको छ । इरानी फुटबल महासङ्घले समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा रद्द गरिएको तथा टोलीका केही सहयोगी कर्मचारीले भिसा नपाएको जनाएको छ ।

    गियुलियानीले भने सबै इरानी प्रशिक्षक र कोचिङ स्टाफलाई प्रवेश अनुमति दिइएको बताए । यद्यपि केही इरानी अधिकारीलाई सुरक्षा मूल्याङ्कनका आधारमा अनुमति नदिइएको उनले बताए । उनले ती व्यक्तिबारे विस्तृत जानकारी दिन अस्वीकार गर्दै आफूलाई प्रशिक्षक बताउने केही व्यक्तिको वास्तविक भूमिका फरक हुन सक्ने आशङ्का रहेको सङ्केत गरे ।


    उनका अनुसार राष्ट्रपति ट्रम्पले प्रतियोगितामा सहभागी सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न चाहन्छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) सँग प्रत्यक्ष सम्बन्ध रहेका व्यक्तिले विश्वकपको अवसर प्रयोग गरेर अमेरिका प्रवेश गर्न नसकून् भन्ने विषयमा पनि प्रशासन सचेत रहेको उनको भनाइ थियो ।

    विश्वकप सुरक्षाबारे बोल्दै गियुलियानीले हालसम्म प्रतियोगितालाई लक्षित कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको बताए । तथापि अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको सक्रियता उल्लेखनीय रूपमा बढाइएको र प्रतियोगिताको अन्तिम खेल जुलाई १९ सम्म सुरक्षा अवस्थामाथि निरन्तर निगरानी जारी रहने उनले जानकारी दिए ।

  • कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    बुनिया (कङ्गो), २७ जेठ (रासस–एपी) । पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १०० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो तथ्याङ्कले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको सङ्केत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशङ्का गरिएको छ । स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जना सङ्क्रमित पुष्टि भएका छन् । तीमध्ये १०१ जनाको मृत्यु भइसकेको र १९ जना निको भएका छन् । यो विवरण सोमबार सार्वजनिक पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो ।

    यसअघि प्रकोप घोषणा भएको केही हप्तामै सङ्क्रमण फैलिन थाले पनि औपचारिक पुष्टि ढिलो भएको अधिकारीहरूको भनाइ छ । त्यही कारण रोग नियन्त्रण र रोकथामका प्रयासहरू थप जटिल बनेका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाबाट आक्रोशित प्रतिक्रिया, स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना तथा सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई गम्भीर चुनौती दिएको छ । धेरै क्षेत्रमा विश्वासको कमीका कारण परीक्षण, उपचार र सम्पर्क ट्रेसिङ कार्य प्रभावित भएको छ ।

    विशेषज्ञहरूले सङ्क्रमणको वास्तविक सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी हुन सक्ने चेतावनी दिएका छन् । प्रभावित क्षेत्रमा समयमै पहिचान नहुनु र सुरक्षा अवस्थाका कारण स्वास्थ्य सेवा पहुँच सीमित भएकाले अवस्था नियन्त्रणबाहिर जान सक्ने जोखिम बढेको बताइएको छ । यो पछिल्लो प्रकोप दुर्लभ बुन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो । यो प्रकारको भाइरस कङ्गोमा पहिले देखिने जाइर प्रकारभन्दा फरक हो । जाइर प्रकारका लागि खोप र उपचार उपलब्ध रहेको छ ।

    तर बुन्डिबुग्यो प्रकारका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध नभएकाले रोकथाम र नियन्त्रण कार्य अझै कठिन बनेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । विश्लेषकहरूका अनुसार लामो समयदेखि सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य पूर्वाधार र जनविश्वासको कमीका कारण कङ्गोमा इबोला नियन्त्रण अभियान पटक–पटक चुनौतीमा पर्ने गरेको छ । यसपटक पनि त्यही अवस्थाले महामारी नियन्त्रण प्रयासलाई गम्भीर रूपमा प्रभावित गरेको देखिएको छ ।

  • अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी

    अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी

    वासिङ्टन, २७ जेठ (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तिनलाई समेटिएको अद्यावधिक सूची सार्वजनिक गरेको छ । यस कदमले हालै सुधारको सङ्केत देखिएको अमेरिका–चीन सम्बन्धमा पुनः तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।

    अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडू, टेनसेन्ट, विद्युतीय सवारी निर्माता बीवाइडी तथा अन्य कम्पनीहरूलाई समावेश गरेको छ । पेन्टागनका अनुसार यी कम्पनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिनियाँ सैन्य क्षमतासँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशङ्का गरिएको छ ।

    यो सूची अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेपछि सार्वजनिक गरिएको हो । उक्त भेटमा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेका थिए । त्यसपछि ट्रम्पले सीलाई आगामी सेप्टेम्बरमा वासिङ्टन भ्रमणको निमन्त्रणा पनि दिएका थिए ।
    यद्यपि पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको छ । रक्षा मन्त्रालयले यसअघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो । सोमबार सार्वजनिक गरिएको नयाँ सूची अधिकांश रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ । तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनीलाई पुनः समावेश गरिएको छ । ती कम्पनीहरू चाङ्सिन मेमोरी टेक्नोलोजी र याङ्जे मेमोरी टेक्नोलोजी हुन् ।

    अमेरिकी संसद्को चीनसम्बन्धी विशेष समितिका रिपब्लिकन अध्यक्ष प्रतिनिधि जोन मुलेनारले यो सूचीलाई अमेरिकी व्यवसाय, सरकारी निकाय र सर्वसाधारणका लागि चेतावनीका रूपमा व्याख्या गरे । उनले अमेरिकी कम्पनीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिम भएका यस्ता संस्थासँगको व्यापारिक सम्बन्ध पुनर्विचार गर्न आग्रह गरे ।


    सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडू र टेनसेन्ट चीनका कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा अग्रणी मानिन्छन् । टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो । यद्यपि यी कम्पनीहरूलाई सूचीमा राखिए पनि तत्काल कडा कानूनी प्रतिबन्ध भने लाग्ने छैन । तर विश्लेषकहरूका अनुसार यस्तो सूचीलाई भविष्यमा थप कडा प्रतिबन्ध, लगानी नियन्त्रण वा अन्य दण्डात्मक उपायहरूको पूर्वसङ्केतका रूपमा हेरिन्छ ।

    नयाँ सूचीमा औषधि अनुसन्धान कम्पनी वुक्सी एपटेक तथा मानव आकारका रोबोट विकास गर्ने स्टार्टअप कम्पनी युनिट्रीलाई पनि समावेश गरिएको छ । अमेरिकाले चीनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिकता र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशङ्का बढ्दै गएको सन्दर्भमा यस्तो कदम चालेको जनाएको छ ।

  • विश्व द्वन्द्व ८० वर्षयताकै उच्च

    विश्व द्वन्द्व ८० वर्षयताकै उच्च

    ओस्लो, २७ जेठ (रासस–एएफपी) । विश्वभर सन् २०२५ मा राज्य–सम्बन्धित सशस्त्र द्वन्द्व ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो सङ्ख्यामा द्वन्द्व र नागरिकमाथि आक्रमण दर्ता भएको हो । यसले विश्वव्यापी सुरक्षा अवस्था अत्यन्त चिन्ताजनक बनेको सङ्केत दिएको छ ।

    नर्वेको ओस्लोस्थित शान्ति अनुसन्धान संस्था द्वारा प्रकाशित वार्षिक ‘द्वन्द्व प्रवृत्ति’ प्रतिवेदनले सन् २०२५ मा कम्तीमा एउटा राज्य संलग्न ६५ वटा सशस्त्र द्वन्द्व विश्वभर दर्ता गरिएको जनाएको छ । यो सङ्ख्या सन् १९४६ यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनमा भारत–पाकिस्तान, अफगानिस्तान–पाकिस्तान, कम्बोडिया–थाइल्यान्डबीचका सीमा तनावसँगै रुसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कारबाहीजस्ता घटनाले विश्वमा राज्य–राज्यबीचका द्वन्द्वलाई ८० वर्षयताकै उच्च विन्दुमा पुर्‍याएको उल्लेख गरिएको छ ।

    अनुसन्धानकर्ता सिरी आस रुस्तादले एएफपीसहितका सञ्चारमाध्यमसँग कुरा गर्दै पछिल्लो वर्षको अवस्था अत्यन्त निराशाजनक रहेको बताए । उनले सामान्यतया केही सकारात्मक प्रवृत्ति देखिने भए पनि यसपटक तथ्याङ्क असामान्य रूपमा उच्च रहेको टिप्पणी गरे । प्रतिवेदनअनुसार शीतयुद्धको अन्त्यपछिको अवधि हेर्दा सन् २०२५ तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ । सो वर्ष करिब दुई लाख ४५ हजार मानिसको मृत्यु प्रत्यक्ष लडाइँ वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान गरिएको छ । तीमध्ये करिब ७६ हजार ५०० घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन् । यो सन् २०२४ को १४ हजार २०० भन्दा धेरै गुणा बढी हो ।

    विशेषगरी सुडानमा सेनाबीचको द्वन्द्वले ठूलो मानवीय सङ्कट निम्त्याएको प्रतिवेदनले औँल्याएको छ । डार्फर क्षेत्रको एल–फासेर सहरमा भएको घेराबन्दी र हिंसात्मक घटनाका कारण मात्र करिब ६० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ । यसलाई पछिल्ला दशकहरूकै सबैभन्दा गम्भीर नागरिक क्षति भएका घटनामध्ये एकका रूपमा लिइएको छ ।

    प्रतिवेदनले शीतयुद्धपछि सन् १९९४ को रुवान्डा नरसंहार र सन् २०२१ को इथियोपियाको टिग्रे युद्धपछि यति ठूलो मात्रामा रक्तपात देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ । विश्लेषकहरूले अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको बताएका छन्, जहाँ राज्य–सम्बन्धित २९ वटा प्रमुख द्वन्द्व दर्ता गरिएको छ । त्यसपछि एसिया, मध्यपूर्व, अमेरिका र युरोप रहेका छन् ।

    सिरी आस रुस्तादले पछिल्ला पाँच–छ वर्षमा एकै समयमा धेरै ठूला द्वन्द्व सक्रिय रहेको र ती एक–अर्कासँग जोडिँदै विश्वव्यापी तनाव झन् गहिरिँदै गएको बताए । उनका अनुसार विश्व अहिले निरन्तर उच्च तीव्रताको द्वन्द्व चक्रमा फसेको छ, जुन पहिलेको अवस्थाभन्दा फरक र झन् जटिल बनेको छ । प्रतिवेदनले उप्पसाला द्वन्द्व तथ्याङ्क कार्यक्रम र उप्पसाला विश्वविद्यालयद्वारा सङ्कलित तथ्याङ्कलाई आधार बनाएको हो । यसले सशस्त्र हिंसालाई तीन श्रेणीमा विभाजन गरेको छ—राज्य संलग्न द्वन्द्व, गैर–राज्य द्वन्द्व र नागरिकमाथि एकतर्फी हिंसा ।

    क्षेत्रीय विश्लेषणअनुसार अफ्रिका सबैभन्दा बढी प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द्व तीव्र बनेका छन् । अमेरिकामा केही क्षेत्रमा हिंसात्मक घटनामा वृद्धि देखिएको छ भने युरोपमा रुस–युक्रेन युद्धका कारण अस्थिरता कायमै रहेको प्रतिवेदनले जनाएको छ । इजरायललाई लिएर गरिएको विश्लेषणमा गाजा, सिरिया, लेबनान, इरान र हुथी विद्रोहीविरुद्धका विभिन्न सैन्य कारबाहीका कारण उक्त देश हाल विश्वका सबैभन्दा आक्रामक सैन्य सक्रियतामा रहेकोमध्ये एक भएको टिप्पणी गरिएको छ ।

    त्यसैगरी संयुक्त राज्य अमेरिकाको सन्दर्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनरागमनपछि हिंसा र सैन्य–आर्थिक दबाब दुवै बढेको टिप्पणी गरिएको छ । रुस्तादका अनुसार बढ्दो व्यापार अवरोध र अन्तर्राष्ट्रिय सहकार्य कमजोर हुँदा विश्व थप ध्रुवीकृत बन्दै गएको छ । उनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् प्रभावहीन बन्दै गएको र अन्तर्राष्ट्रिय सहकार्यमा कमी आउँदा विश्वव्यापी द्वन्द्व नियन्त्रण झन् कठिन हुँदै गएको पनि उल्लेख गरे ।

  • दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि

    दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि

    सियोल, २७ जेठ (रासस–सिन्ह्वा) । दक्षिण कोरियाको समायोजित वास्तविक कुल गार्हस्थ उत्पादन पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा १.८ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्याङ्कले मंगलबार देखाएको छ । यो प्रारम्भिक १.७ प्रतिशत अनुमानभन्दा उच्च हो र सन् २०२० को तेस्रो त्रैमासिकपछि सबैभन्दा तीव्र वृद्धि हो । दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार निर्यातमा आएको मजबुत वृद्धि, विशेषगरी सेमिकन्डक्टरको उच्च मागका कारण आर्थिक वृद्धिलाई प्रमुख रूपमा सहयोग पुगेको हो । यस अवधिमा निर्यात ५.९ प्रतिशतले बढेको छ भने आयात ३.९ प्रतिशतले वृद्धि भएको छ ।

    निजी उपभोग ०.६ प्रतिशतले बढेको छ भने सरकारी खर्च ०.४ प्रतिशतले घटेको देखिएको छ । गानी क्षेत्रतर्फ हेर्दा उपकरण लगानी ६.६ प्रतिशतले र निर्माण लगानी १.४ प्रतिशतले वृद्धि भएको छ । यस्तै नाममात्र कुल राष्ट्रिय आय पहिलो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ११.० प्रतिशतले बढेको छ, जसले देशभित्र र बाहिर कमाइ हुने कुल आयलाई जनाउँछ । मूल्य परिवर्तन मापन गर्ने डिफ्लेटर पनि सोही अवधिमा १२.९ प्रतिशतले बढेको बैंकले जनाएको छ ।