Category: विश्व

  • श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित’

    श्रम सन्धिमा हडतालको अधिकार सुरक्षित’

    द हेग, ८ जेठ (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घको उच्च अदालत (आइसिजे) ले बिहीबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक प्रमुख सन्धिमा हडतालको अधिकारलाई सुरक्षित गरेको फैसला सुनाएको छ । यो निर्णयले विश्वव्यापी श्रम सम्बन्धमा गहिरो प्रभाव पार्न सक्छ । ‘महासन्धि (कन्भेन्सन) ८७’ भनेर चिनिने सन् १९४८ को आइएलओ सन्धिले श्रमिकहरूको हडताल गर्ने अधिकारलाई अन्तर्निहित रूपमा स्थापित गरेको छ कि छैन भन्ने बारेमा अन्तर्राष्ट्रिय अदालतसँग राय माग गरिएको थियो ।

    आईसीजेका अध्यक्ष युजी इवासावाले भने, “अदालतले त्यो महासन्धि अन्तर्गत कामदार र उनीहरूको सङ्गठनहरूको हडतालको अधिकार सुरक्षित गरेको छ।” यद्यपि, न्यायाधीश इवासावाले भन्नुभएको छ, “अदालतको राय बाध्यकारी छैन अर्थात् हडतालका लागि कुनै अन्य आधारभूत नियमहरू राख्नु भनेर बुझ्नु हुँदैन।” “निष्कर्षले त्यो अधिकारको प्रयोगको लागि सटीक सामग्री, दायरा वा सर्तहरूमा कुनै आधार निर्धारण गर्दैन,” उनले भने । आईएलओ महासन्धि ८७ युनियन र रोजगारदाताहरूबीचको एक सम्झौता हो जसमा ‘पूर्ण स्वतन्त्रतामा, उनीहरूको प्रशासन र गतिविधिहरू व्यवस्थित गर्न’ अधिकारको समावेश गरिएको छ।

  • मध्यपूर्व सङ्कट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : बाघाई

    मध्यपूर्व सङ्कट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : बाघाई

    तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ । “अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,” विदेशमन्त्रालयका प्रवक्ता बाघाईले भने। “तेहरानका मुख्य मागहरूमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोधहरू हटाउने र इरानी जहाजहरूलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्,” उनले थपे । उनले भने, “तेहरानले सबै गम्भीरता र राम्रो विश्वासका साथ वार्ता गरिरहेको छ। तर अमेरिका पनि इमानदार हुनुपर्छ।”

    उनले विगत डेढ वर्षमा वाशिङ्गटनको इरानलाई हेर्ने नीति निकै अविवेकी छ, त्यसैले त्यहाँ गहिरो अविश्वास र वार्ताको वातावरण छ। उनले भने, “हाम्रो आँखा खुला छ र हाम्रो सेना पूर्ण रूपमा सतर्क छ ।” उनले इरानले सचेतताका साथ वार्ता जारी राख्ने पनि बताए । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गरेका छन् ।

    नाक्वी यसै साता दोस्रो पटक तेहरान पुगेका हुन् । उनले इरानका राष्ट्रपति, आन्तरिक मामिलामन्त्रीसँग पनि वार्ता गरेका छन् । आइएसएनएको रिपोर्ट अनुसार राष्ट्रपति मसुद पेजेस्कियनले बैठकमा नक्वीसँग क्षेत्रीय अवस्था, अप्रत्यक्ष इरान–अमेरिका वार्ता र युद्ध अन्त्यका लागि भएको कूटनीतिक प्रयास बारेमा छलफल गरेका थिए ।

  • इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने : सर्वोच्च नेता खामेनी

    इरानी युरेनियमको भण्डार विदेशमा स्थानान्तरण गर्न नसकिने : सर्वोच्च नेता खामेनी

    तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन् । नाम नबताउने सर्तमा एक स्रोतले भन्यो, “सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो।” स्रोतका अनुसार संवर्धित सामग्री विदेशमा पठाउँदा देश अमेरिका र इजरायलको भविष्यमा आक्रमणको लागि थप जोखिममा जाने सर्वोच्च नेता लगायतका उच्च अधिकारीहरूको राय रहेको छ।

    उनीहरूले भनेका छन्, “इरानमा संयुक्त राज्य अमेरिकाले आक्रमण गर्नुअघि शत्रुतामा विराम आउनुमा ‘गम्भीर शङ्का’ गर्ने ठाउ मिलेको छ । यो इरानको ‘सुरक्षाको भावना सिर्जना गर्न’ को लागि भएको ‘रणनीतिक छलकपट’ थियो। एक स्रोतले भन्यो, “इरानको संवर्धित युरेनियमको स्थानान्तरणको विकल्पमा यसलाई समाधान गर्न अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को सुपरिवेक्षणमा भण्डार घटाउनेजस्ता ‘सम्भाव्य सूत्रहरू’ लागु गर्न सकिन्छ।”

    आइएइएको अनुमानअनुसार इरानसँग ६० प्रतिशत शुद्धता भएको ४४० किलोभन्दा बढी युरेनियम छ । यो सन् २०२५ मा १२ दिने युद्धको क्रममा अमेरिका र इजरायलले बमबारी गरेको इरानको आणविक केन्द्रको भग्नावशेषमुनि भण्डार रहेको बताइएको छ। यसैबीच, इरानी स्ट्ुडेन्ट्स न्यूज एजेन्सी (आइएसएनए) ले बिहीबार दिएको जानकारीमा भनिएको छ, “इरानले संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्न पठाएको पछिल्लो मस्यौदा प्रस्तावमा आफ्नो प्रतिक्रियाको तयारी गरिरहेको छ।”

    आइएसएनएका अनुसार, अमेरिकी मस्यौदाले विद्यमान खाडललाई केही हदसम्म कम गरेको तर यसको थप कटौती गर्दै अमेरिकाको ‘युद्धको प्रलोभन’ को अन्त्य गर्न आवश्यक छ। इरानले हाल तेहरानमा व्यापक संरचना, केही विवरण र विश्वास–निर्माण उपायहरूको ग्यारेन्टीको रूपमा वार्ता गरिरहेको छ।

    पाकिस्तानका सेना प्रमुख असिम मुनीरको बिहीबार हुने तेहरान भ्रमणको उद्देश्य यी खाडललाई कम गर्नु र समझदारी पत्रको स्वीकृतिको आधिकारिक घोषणाको तयारी गर्नु रहेको आईएसएनएले जनाएको छ। इरान, अमेरिका र इजरायलले फेब्रुअरी २८ मा तेहरान र अन्य इरानी शहरहरूमा आक्रमण गरेपछि सुरु भएको ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम गरेका थिए।

    युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधिमण्डलहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका थिए, तर त्यसमा कुनै सम्झौता हुन सकेको थिएन। विगतमा, दुई पक्षहरूले पाकिस्तानमार्फत् द्वन्द्व समाप्त गर्नका लागि सर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका छन्।

  • इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

    इरानमा युद्धका लागि ’बलिदान’ गर्न तयार जोडीका लागि सामूहिक विवाह

    तेहरान, ८ जेठ (रासस–एएफपी) । इरानका अधिकारीहरूले अमेरिका र इजरायलविरुद्धको युद्धमा आफ्नो जीवन बलिदान दिन तयार रहेको घोषणा गर्दै राज्य–प्रायोजित योजनामा हस्ताक्षर गरेका जोडीहरूका लागि तेहरानमा सामूहिक सार्वजनिक विवाह आयोजना गरेका छन् । सोमबार राति आयोजित समारोहमा राजधानीका धेरै प्रमुख चोकहरूमा सयौँ जोडीहरू सहभागी भएका थिएभने मध्य तेहरानको इमाम हुसेन स्क्वायरमा १०० भन्दा बढी जोडी सहभागी एक विशाल समारोह आयोजना गरिएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २८ देखि सुरु भएको युद्धविरामको बीचमा इरानविरुद्ध नयाँ सैन्य कारबाहीको धम्की दिँदै युद्धकालीन मनोबल बढाउने प्रयासमा सरकारी टेलिभिजनमा ती समारोहलाई प्रसारण गरिएको थियो । इरानी मिडियाका अनुसार यसमा संलग्न व्यक्तिहरूले तथाकथित ‘स्वेच्छिक–बलिदान (जनफादा)’ योजनाको लागि हस्ताक्षर गरेका थिए र उनीहरूले पावर स्टेशनहरू बाहिर मानव साङ्लो बनाएर युद्धमा देशका लागि आफ्नो जीवन समर्पण गर्ने वाचा गरेका थिए ।

    इरानी अधिकारीहरूका अनुसार संसद्का सभामुख मोहम्मद बाघर गालिबाफ र राष्ट्रपति मसुद पेजेस्कियनजस्ता शीर्ष व्यक्तित्वहरू सहित लाखौं मानिसहरूले युद्धका लागि आफ्नो नाम अघि सारिसकेका छन्। इमाम हुसेन स्क्वायरमा सैनिक जीपमा मेसिन गन बोकेर आएका जोडीहरू एक धर्मगुरुको सभापतित्वमा आयोजित समारोहमा मञ्चमा विवाह गरेका थिए ।

    मञ्च बेलुन र युद्धको पहिलो दिन आफ्ना पिता र पूर्ववर्ती अली खामेनीको हत्यापछि पदोन्नति भएयता सार्वजनिक रूपमा देखा नपरेका सर्वोच्च नेता अयातोल्लाह मोजतबा खामेनीको विशाल तस्वीरले भरिएको थियो । “निश्चित रूपमा, देश युद्धमा छ, तर युवाहरूलाई पनि विवाह गर्ने अधिकार छ,” नाम नबताउने सेतो इस्लामिक बेहुलीको पोशाकमा रहेकी एक युवतीको भनाइलाई मेहर न्यूज एजेन्सीले प्रकाशित गरेको फुटेजमा देखाइएको छ।

    आफ्नी दुलहीको छेउमा गाढा सुट लगाएका एक व्यक्तिले ‘उनीहरू शिया मुस्लिमहरूले सम्मान गर्ने इमाम अलीको विवाहको वार्षिकोत्सवको अवसरमा खुशी रहेको’ बताए । “हामीले उहाँहरुको आशीर्वाद पायौँ । यसबाहेक, हामी सडकमा मानिसहरूलाई शुभकामना दिन आएका छौँ,” उनले भने।

    मेहरका अनुसार इमाम हुसेन स्क्वायर समारोहमा मात्र ११० जोडीले भाग लिएका थिए। एएफपीका तस्बिरमा शुभचिन्तकहरूको भीड गुलाबको फूल बोकेर हेरिरहेको देखिन्छ। युद्ध सुरु भएदेखि नै इरानी अधिकारीहरूले द्वन्द्वको बीचमा लोकप्रिय परिचालनलाई उजागर गर्न दैनिक रूपमा प्रमुख सरकार समर्थक भेलाहरू आयोजना गर्दै आएका छन्।

  • उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

    उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

    नयाँदिल्ली, ७ जेठ (रासस–एपी) । उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । दिनको समयमा सडक र बजारहरू प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्मले असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै राततर्फ सार्न बाध्य भएका छन् । तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठूलो परिवर्तन देखिएको छ ।

    भारतको मौसम विभागले राजधानी नयाँदिल्लीमा बिहीबार अधिकतम तापक्रम करिब ४५ डिग्री सेल्सियस (११३ फरेनहाइट) पुग्ने पूर्वानुमान गरेको छ । अत्यधिक गर्मीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले नागरिकलाई राहत दिन विभिन्न स्थानमा अस्थायी ‘कुलिङ जोन’ स्थापना गरेका छन् । त्यस्ता ठाउँमा मानिसहरूले केही समय शीतल वातावरणमा बिताउन सक्ने व्यवस्था गरिएको छ ।

    मौसम विभागले आगामी दिनहरूमा उत्तरी क्षेत्रका धेरै स्थानमा तापक्रम मौसमी औसतभन्दा अझै माथि रहने चेतावनी दिएको छ । अधिकारीहरूले विशेषगरी दिउँसोको अत्यधिक गर्मीमा घरभित्रै बस्न, अनावश्यक बाहिर ननिस्कन र गर्मीजन्य स्वास्थ्य समस्या रोक्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । भारतमा मैदानी क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ फरेनहाइट) र पहाडी क्षेत्रमा ३० डिग्री सेल्सियस (८६ फरेनहाइट) वा सोभन्दा बढी पुगेको अवस्थालाई गर्मीको लहर (हीटवेभ) घोषणा गरिन्छ ।

    भीषण गर्मीले विशेषगरी उत्तर प्रदेशसहित उत्तर भारतका धेरै राज्यहरूमा जनजीवन ठप्प जस्तै बनाएको छ । दिउँसोको समयमा सडक र बजारहरू बन्दजस्तै भएका छन् भने मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् । दिउँसोको तापक्रम असहनीय बनेसँगै केही व्यापारीहरूले कामको समय बिहानतर्फ सार्न थालेका छन् भने किसानहरूले पनि खेतमा काम गर्ने समय राति सार्न थालेका छन् ।

    शिक्षा क्षेत्रमा पनि गर्मीको असर गहिरो देखिएको छ । विभिन्न स्थानका अधिकारीहरूले विद्यालयहरूमा गर्मी बिदा घोषणा गरेका छन् र कक्षाहरू स्थगित गरिएको छ । यसैबीच, मङ्गलबार बान्दा सहरमा अधिकतम तापक्रम ४८.२ डिग्री सेल्सियस (११८.८ फरेनहाइट) पुगेको थियो । यो यस वर्षको अत्यधिक उच्च रेकर्डमध्ये एक हो ।

    स्वास्थ्य अधिकारीहरूले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनीहरूले दिउँसोको अत्यधिक घाममा बाहिर ननिस्कन, पर्याप्त मात्रामा पानी पिउन र चक्कर लाग्ने, अत्यधिक थकान वा उच्च ज्वरो जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सा सहायता लिन सुझाव दिएका छन् । राजधानी नयाँदिल्लीमा समेत राहतका उपायस्वरूप विभिन्न स्थानमा शीतलन आश्रय (कुलिङ शेल्टर) स्थापना गरिएको छ । यी स्थानहरूमा एयर कुलर, पङ्खा, पिउने पानी र मौखिक पुनर्जलीकरण झोल (ओआरएस) उपलब्ध गराइएको छ, जसले नागरिक र पर्यटकलाई केही राहत दिएको छ । बुधबार एउटा शीतलन टेन्टभित्र मानिसहरू एयर कुलरको छेउमा बस्दै गर्मीबाट राहत लिइरहेका देखिएका थिए । त्यहाँ अधिकारीहरूले नुन मिसाइएको पानी वितरण गरिरहेका थिए ।

    त्यहाँ आएका २५ वर्षीय पर्यटक बशारत अहमद मल्लाले आफ्नो अनुभव सुनाउँदै अत्यधिक गर्मीका कारण बाहिर घुम्न गाह्रो भएको बताए । उनका अनुसार शीतलन केन्द्रले केही समयका लागि भए पनि सहजता प्रदान गरेको छ । जलवायु विज्ञहरूका अनुसार भारतमा देखिएको यो बढ्दो तापक्रम केवल मौसमी अवस्था मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । पछिल्ला वर्षहरूमा भारतले बारम्बार अत्यधिक गर्मीका लहरहरूको सामना गर्दै आएको छ र पछिल्लो दशक देशकै सबैभन्दा तातो दशकमध्ये एक रहेको तथ्याङ्कले देखाएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रतिवेदनसँग सम्बन्धित तथा पुणेस्थित फ्लेम विश्वविद्यालयका सार्वजनिक नीति प्राध्यापक अञ्जल प्रकाशका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण भारतको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको छ । उनका अनुसार उत्तरपश्चिम भारत अन्य क्षेत्रको तुलनामा अझ तीव्र रूपमा तातिरहेको छ ।

    उनले भारत गर्मीको मौसमसँग केही हदसम्म अभ्यस्त भए पनि जलवायु परिवर्तनले चरम र व्यापक स्तरका गर्मीका घटनाहरूलाई अझ तीव्र बनाइरहेको बताए । जनस्वास्थ्य क्षेत्रका अध्ययनहरूले सन् २००८ देखि २०१९ सम्म प्रत्येक वर्ष औसत एक हजार ११६ जनाको मृत्यु गर्मीका कारण भएको देखाएको छ । तर विज्ञहरूका अनुसार वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान छ । धेरै अवस्थामा मृत्यु प्रमाणपत्रमा गर्मीलाई प्रत्यक्ष कारणका रूपमा उल्लेख नगरेका कारण वास्तविक तथ्याङ्क आधिकारिक रूपमा कम देखिने गरेको छ ।

  • मध्यपूर्व तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने : संयुक्त राष्ट्रसंघ

    मध्यपूर्व तनावका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने : संयुक्त राष्ट्रसंघ

    संयुक्त राष्ट्रसंघ, ७ जेठ (रासस–सिन्ह्वा) । मध्यपूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबाबमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना २०२६ मध्य–वर्षीय अद्यावधिकु प्रतिवेदनअनुसार सन् २०२६ मा विश्व कुल गार्हस्थ उत्पादन वृद्धि दर २.५ प्रतिशत रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले कम हो। सन् २०२७ मा भने २.८ प्रतिशतको सामान्य सुधार हुने अपेक्षा गरिएको छ।

    प्रतिवेदनमा उल्लेख भएअनुसार मध्यपूर्व संकटको मुख्य असर ऊर्जा क्षेत्रमा परेको छ। आपूर्ति अवरोध, तेल तथा ग्यासको मूल्यवृद्धि, ढुवानी र बीमा खर्च बढ्दा विश्वव्यापी उत्पादन लागत बढेको छ। ऊर्जा कम्पनीहरूले भने यसबाट ठूलो लाभ उठाएका छन्, तर घरपरिवार र व्यवसायहरूमा लागतको चाप बढेको छ। खाद्य मूल्यवृद्धि पनि गम्भीर चिन्ताको विषय बनेको छ। मलको आपूर्तिमा अवरोध आउँदा कृषि उत्पादन घट्न सक्ने र त्यसले खाद्यान्न मूल्य अझ बढाउने चेतावनी प्रतिवेदनले दिएको छ।

    सन् २०२३ देखि घट्दो क्रममा रहेको विश्व मुद्रास्फीति अहिले पुनः बढ्ने संकेत देखिएको छ। विकसित देशहरूमा मुद्रास्फीति २०२५ को २.६ प्रतिशतबाट २०२६ मा २.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने विकासशील देशहरूमा यो ४.२ प्रतिशतबाट ५.२ प्रतिशत पुग्न सक्ने उल्लेख छ। मजबुत श्रम बजार, उपभोक्ता माग तथा कृत्रिम बौद्धिकताबाट प्रेरित व्यापार र लगानीले केही राहत दिए पनि विश्व अर्थतन्त्रमा देखिएका चुनौती पूर्ण रूपमा समाधान गर्न पर्याप्त नहुने प्रतिवेदनले जनाएको छ। विशेषगरी इन्धन र खाद्यान्न आयातमा निर्भर विकासशील देशहरू बढी प्रभावित हुनेछन्।

    पश्चिम एशियामा सबैभन्दा गम्भीर असर देखिएको छ। त्यहाँको आर्थिक वृद्धि २०२५ को ३.६ प्रतिशतबाट घटेर २०२६ मा १.४ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। यसको कारण ऊर्जा आपूर्ति संकट मात्र नभई पूर्वाधार क्षति, तेल उत्पादनमा अवरोध, व्यापार र पर्यटनमा आएको गिरावट पनि हुन्। संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिला विभागका प्रमुख तथा उपमहासचिव ली जुनह्वाले भने, “मध्यपूर्व संकटले विकासशील देशहरूमा थप आर्थिक दबाब सिर्जना गरेको छ। बढ्दो ऋण लागत र पूँजी बाहिरिने जोखिमले दिगो विकासका लागि आवश्यक स्रोत सीमित बनाउन सक्छ।”

  • द्वन्द्वको असर गाजाको स्वास्थ्य सेवामा, ७६ प्रतिशत उपकरण निष्क्रिय

    द्वन्द्वको असर गाजाको स्वास्थ्य सेवामा, ७६ प्रतिशत उपकरण निष्क्रिय

    गाजा, ७ जेठ (रासस–सिन्ह्वा) । गाजा क्षेत्रमा जारी द्वन्द्वका कारण अस्पतालहरूमा प्रयोग हुने करिब ७६ प्रतिशत चिकित्सकीय स्क्यान उपकरण हाल सञ्चालनबाहिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले अत्यन्त सम्मानपूर्वक जानकारी गराएका छन्, जसले बिरामी तथा घाइतेहरूको उपचार सेवामा गम्भीर चुनौती उत्पन्न गरेको छ। गाजास्थित स्वास्थ्य निकायअन्तर्गत चिकित्सकीय स्क्यान विभागका निर्देशक इब्राहिम अब्बासका अनुसार, हाल सञ्चालनमा रहेका अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूले अत्यन्त कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच सेवा निरन्तरता दिने प्रयास गरिरहेका छन्।

    उनले अधिकांश उपकरण पुराना तथा जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै आवश्यक जगेडा पुर्जाको अभाव तथा मर्मतसम्भारमा आएको अवरोधका कारण नियमित सेवा प्रवाहमा थप कठिनाइ भइरहेको बताएका छन् । उनका अनुसार जारी द्वन्द्वका क्रममा गाजामा रहेका सबै चुम्बकीय अनुनाद स्क्यान उपकरण नष्ट भएपछि उक्त सेवा पूर्ण रूपमा बन्द भएको छ।

    साथै, गणनात्मक स्क्यान, विकिरण स्क्यान तथा जटिल शल्यक्रियामा प्रयोग हुने अन्य महत्वपूर्ण उपकरणहरूको ठूलो हिस्सा पनि सञ्चालनबाहिर रहेको जनाइएको छ। उपलब्ध विवरणअनुसार द्वन्द्वअघि रहेका उपकरणमध्ये ठूलो भाग क्षतिग्रस्त वा निष्क्रिय अवस्थामा पुगेको छ, जसका कारण आपत्कालीन अवस्था, गम्भीर घाइते तथा जटिल रोगका बिरामीहरूको समयमै परीक्षण तथा उपचारमा उल्लेखनीय कठिनाइ भएको छ।

    यस अवस्थाले अस्पतालहरूको दैनिक कार्यप्रणाली, विशेषगरी आकस्मिक उपचार र शल्यक्रियाका निर्णय प्रक्रियामा प्रत्यक्ष असर पारेको उनले उल्लेख गरेका छन् । साथै, स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न आवश्यक मानवीय सहायता, प्राविधिक सहयोग तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग विनम्रतापूर्वक आग्रह गरिएको छ।

  • कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर

    कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर

    टोकियो,७ जेठ (रासस–एएफपी) । जापानको आधिकारिक तथ्याङ्कअनुसार, मार्चमा रेकर्ड स्तरमा पुगेपछि अप्रिल महिनामा विदेशी पर्यटकहरूको संख्या घटेको छ। जापान नेशनल टुरिज्म अर्गनाइजेसनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, अप्रिलमा जापान आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले घटेर ३६ लाख ९० हजारमा झरेको छ। यस गिरावटको मुख्य कारणमध्ये चिनियाँ पर्यटकहरूको ठूलो कमी हो। चीनबाट आउने पर्यटकहरूको संख्या ५६.८ प्रतिशतले घटेर ३ लाख ३० हजार ७ सयमा सीमित भएको छ। अधिकारीहरूका अनुसार, यस गिरावटको कारण चीन सरकारको यात्रा सम्बन्धी चेतावनी पनि हो।


    मध्यपूर्वबाट आउने पर्यटकहरूको संख्या पनि २१.४ प्रतिशतले घटेको बताइएको छ। केही क्षेत्रहरूमा जारी तनाव र युद्धका कारण यात्रा रद्द हुने घटनाहरू बढेको जनाइएको छ। जापान र चीनबीचको सम्बन्ध पछिल्ला समयमा थप तनावपूर्ण बनेको बताइन्छ। नोभेम्बरमा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवान सम्बन्धी सम्भावित सैन्य संलग्नताको संकेत गरेपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर पनि नियन्त्रणमा लिन सकिने धारणा राख्दै आएको छ।

  • हर्मुज जलसन्धिमा जहाज आवागमन तीव्र रूपमा वृद्धि : प्रतिवेदन

    हर्मुज जलसन्धिमा जहाज आवागमन तीव्र रूपमा वृद्धि : प्रतिवेदन

    लन्डन, ७ जेठ (रासस–सिन्ह्वा) । ब्रिटेनस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन लयड्स लिस्ट का अनुसार हर्मुज जलसन्धिबाट जहाजहरूको आवत–जावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै यो वृद्धि देखिएको हो, यद्यपि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धहरू अझै कायम छन् । प्रतिवेदनका अनुसार मे ११ देखि मे १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा जहाजहरूले हर्मुज जलसन्धि पार गरेका छन् । यो संख्या अघिल्लो हप्ताको २५ जहाजको तुलनामा झन्डै दोब्बरभन्दा बढी हो, जसले समुद्री व्यापारमा तीव्र गतिशीलता देखाएको छ ।

    यो वृद्धि मुख्यतः इरानसँग जोडिएका व्यापारिक गतिविधिहरूमा आएको उछालका कारण भएको बताइएको छ। विशेषगरी तेल, ग्यास तथा अन्य मालसामान ढुवानीसँग सम्बन्धित गतिविधिहरू बढेको उल्लेख छ । प्रतिवेदनमा थप उल्लेख गरिएअनुसार अबु धाबी नेसनल आयल कम्पनीको स्वामित्वमा रहेको तरल प्राकृतिक ग्यास बोक्ने एउटा ठूलो जहाजले आफ्नो स्वचालित पहिचान प्रणाली बन्द गरेर खाडी क्षेत्रभित्र प्रवेश गरेको पाइएको छ । यस्तो प्रणाली सामान्यतः जहाजको स्थान र गतिविधि ट्र्याक गर्न प्रयोग गरिन्छ, र यसलाई बन्द गर्नु सुरक्षा तथा निगरानीका दृष्टिले संवेदनशील मानिन्छ ।

    लन्डनमा आधारित समुद्री विश्लेषण कम्पनी विन्डवार्ड का तथ्यांक अनुसार सोमबार मात्र १९ वटा जहाजहरूले उक्त जलसन्धि पार गरेका थिए । तीमध्ये ९ वटा जहाज भित्रिँदै गरेका र १० वटा बाहिरिँदै गरेका थिए । भित्रिने जहाजहरू मुख्यतः भारत र श्रीलङ्कालगायत देशका झण्डा बोकेका कार्गो जहाजहरू थिए । बाहिरिने जहाजहरूमा एक तेल ट्यांकर र नौ वटा कार्गो जहाजहरू समावेश थिए, जसमा पाँच वटा जहाज इरानको झण्डा बोकेका थिए । विश्लेषकहरूका अनुसार हर्मुज जलसन्धिमा हुने यस्तो उतारचढावले मध्यपूर्वको ऊर्जा व्यापार, विशेषगरी तेल तथा ग्यास आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्न सक्छ, किनकि विश्वको ठूलो हिस्सा यही समुद्री मार्ग हुँदै ओसारपसार हुन्छ ।

  • अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

    अमेरिका–इरान तनाव चर्किँदै, तेहरानमा शक्ति प्रदर्शन

    दुबई, ६ जेठ (रासस–एपी) । इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा हतियार प्रदर्शन बढाइएको छ । इरानी क्रान्तिकारी गार्डका सदस्यहरूले सर्वसाधारणलाई ‘आक्रमणकारी’ राइफल चलाउने तालिम दिन थालेका छन् भने राजधानीका सडकमा सैन्य सवारीसाधनसहित मेसिनगन प्रदर्शन गरिँदै आएको छ ।


    एक सामूहिक विवाह समारोहमा इजरायलमाथि क्लस्टर बम प्रहार गर्न प्रयोग गरिएको जस्तै ब्यालिस्टिक क्षेप्यास्त्रसमेत मञ्चमा सजाइएको देखिएको थियो ।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता असफल भएमा इरानविरुद्ध पुनः युद्ध सुरु हुन सक्ने चेतावनी दिएपछि इरानले शक्ति प्रदर्शनलाई अझ तीव्र बनाएको विश्लेषण गरिएको छ । विशेषगरी हर्मुज जलडमरूमध्यमा इरानको नियन्त्रण कायम रहे तनाव बढ्न सक्ने संकेत देखिएको छ ।

    रिपोर्टअनुसार अमेरिकाले इरानको उच्चस्तरीय संवर्धित युरेनियम भण्डार बल प्रयोग गरेर नियन्त्रणमा लिन सक्ने संकेत दिएपछि इरानले जनस्तरमा पनि तयारी बढाएको हो । यसअघि ट्रम्पले कुर्द लडाकुमार्फत सरकारविरोधी प्रदर्शनकारीलाई हतियार पठाएको दाबीसमेत गर्नुभएको थियो ।


    यसबीच इरानमा बढ्दो महँगी, व्यापार बन्द, रोजगारी गुम्ने अवस्था तथा खाद्यान्न र औषधिको मूल्यवृद्धिका कारण सर्वसाधारणमा चिन्ता बढिरहेको छ। यस्ता कठिन परिस्थितिमा सरकार समर्थक कठोर समूहलाई उत्साहित गर्न तथा सम्भावित विरोध प्रदर्शन नियन्त्रणमा राख्न पनि हतियार प्रदर्शन उपयोग गरिएको विश्लेषण गरिएको छ ।


    तेहरानका ४७ वर्षीय अली मोफिदीले हतियार तालिम कार्यक्रममा सहभागी हुँदै “अहिलेको अवस्था युद्धजस्तै भएकाले सबै नागरिकले बन्दुक चलाउन जान्नु आवश्यक छ” भन्नुभएको एपीले उल्लेख गरेको छ ।

    पछिल्ला महिनाहरूमा सरकारी सञ्चारमाध्यम तथा सन्देशमार्फत नागरिकलाई “ज्यान अर्पण गर्न तयार हुने” अभियानमा सहभागी हुन आह्वान गरिएको छ। केही कट्टरपन्थी समूहहरूले १२ वर्षसम्मका बालबालिकालाई समेत सुरक्षा जाँच चौकीमा खटिन प्रोत्साहित गरेको आरोप लागेको छ, जसलाई मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले युद्ध अपराधको संज्ञा दिएको छ ।


    इरानी अधिकारीहरूले करिब ९ करोड जनसंख्या रहेको देशमा ३ करोडभन्दा बढी नागरिकले अनलाइन वा सार्वजनिक कार्यक्रममार्फत सरकारका लागि ज्यान दिन तयार रहेको दाबी गरेका छन् । यद्यपि उक्त तथ्य स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

  • चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

    चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

    कुरु, फ्रेन्च गिआना, ६ जेठ (रासस–सिन्ह्वा) । चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) बीचको संयुक्त अन्तरिक्ष मिसनअन्तर्गत ‘सोलर विन्ड म्याग्नेटोस्फियर आयनोस्फियर लिङ्क एक्सप्लोरर (स्माइल)’ उपग्रह मङ्गलबार सफलतापूर्वक प्रक्षेपण गरिएको छ । यो उपग्रह युरोपको अन्तरिक्ष केन्द्रबाट भेगा–सी रकेटमार्फत प्रक्षेपण गरिएको हो।

    प्रक्षेपणपछि उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा पुगेको पुष्टि गरिएको छ । साथै, यसको सोलार प्यानलहरू पनि सफलतापूर्वक खुलिसकेका छन् र सम्पूर्ण प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको बताइएको छ । यो सफलतासँगै चीन र युरोपबीचको अन्तरिक्ष विज्ञान सहकार्यमा एक महत्वपूर्ण उपलब्धि हासिल भएको मानिएको छ ।

    ‘स्माइल’ चीन र ईएसए बीचको पहिलो मिशन–स्तरीय संयुक्त परियोजना हो, जसले पृथ्वीको चुम्बकीय क्षेत्र (म्याग्नेटोस्फियर)को ठूलो संरचनालाई पहिलो पटक समग्र रूपमा अवलोकन गर्ने लक्ष्य राखेको छ । उपग्रहले सॉफ्ट एक्स–रे इमेजिङ प्रविधिको प्रयोग गर्दै पृथ्वीको चुम्बकीय क्षेत्रको विस्तृत अध्ययन गर्नेछ । यस मिसनबाट अन्तरिक्ष मौसम पूर्वानुमान र चुम्बकीय क्षेत्रसम्बन्धी आधारभूत भौतिक विज्ञानमा महत्वपूर्ण वैज्ञानिक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।

  • क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

    क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित

    सिमी भ्याली (क्यालिफोर्निया), ६ जेठ (रासस–एपी) । दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो । सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो ।

    भेन्टुरा काउन्टी अग्नि विभागका अनुसार मङ्गलबार बिहानसम्म आगलागीले दुई वर्गमाइल (करिब पाँच वर्गकिलोमिटर) भन्दा बढी क्षेत्रफल जलेको छ भने कम्तीमा एउटा घर पूर्ण रूपमा नष्ट भएको छ । प्रारम्भिक चरणमा आगलागी ३० माइल प्रतिघण्टा (४८ किलोमिटर प्रतिघण्टा) को गतिमा फैलिएको थियो ।तर रातभर हावाको गति केही कम भएपछि नियन्त्रण प्रयासमा राहत मिलेको अग्नि विभागका प्रवक्ता एन्ड्र्यु डाउडले जानकारी दिए । उनका अनुसार अनुकूल मौसमका कारण अग्नि नियन्त्रक टोलीले केही प्रगति गरे पनि हावा फेरि तीव्र हुन सक्ने जोखिम कायमै छ ।

    हालसम्म आगलागी करिब पाँच प्रतिशत मात्र नियन्त्रणमा आएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् । सिमी भ्याली क्षेत्रमा एक लाख २५ हजारभन्दा बढी जनसङ्ख्या रहेको बस्ती वरिपरि अझै पनि निकासी आदेश र चेतावनीहरू कायम छन् । बाक्लो धुवाँका कारण क्षेत्र धुम्मिएको छ भने अग्नि नियन्त्रकहरूले हवाईमार्फत पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् ।

    यसैबीच, दक्षिणी क्यालिफोर्नियाको तटीय क्षेत्रमा रहेको सान्ता रोजा टापुमा पनि अर्को ठूलो डढेलो फैलिएको छ । करिब २३ वर्गमाइल (५९ वर्गकिलोमिटर) क्षेत्रफलमा फैलिएको उक्त आगलागीले एउटा क्याबिन र एउटा उपकरण भण्डारण भवन ध्वस्त पारेको छ । आगलागीका कारण राष्ट्रिय निकुञ्ज सेवाका ११ जना कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । मङ्गलबार बिहानसम्म त्यहाँ आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । क्याम्पिङ र पदयात्राका लागि लोकप्रिय सान्ता रोजा टापु वन्यजन्तुहरूको महत्वपूर्ण वासस्थान पनि हो, जहाँ ब्वाँसो, धब्बेदार स्कङ्क र हात्ती सिल जस्ता प्रजातिहरू पाइन्छन् ।

  • अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

    अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

    काठमाडौँ, ६ जेठः आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

    अमेरिकाका लागि ओपनर स्मित पटेल र शाहन जाहाँगिरले समान ३७\३७ रन बनाए । कप्तान साइतेजा मुक्कामल्लाले ३५ रन बनाए । मिलिन्द कुमार २४ रनमा अविजित रहँदा शुभम रन्जानेले ११ रन जोडे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनको योगफल बनाएको थियो ।

    स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ८५ बलमा चार चौका र तीन छक्काको मद्दतमा ६६ रन बनाएका हुन् । त्यस्तै स्कटल्यान्डका अर्का खेलाडी ब्रान्डन म्याकमुलनले ३२ रन जोड्दा म्याथ्यु क्रसले २० रन बनाए । त्यस्तै जर्ज मुन्सेले १९ रन बनाए ।

    बलिङतर्फ अमेरिकाका रुशिल उगारकर एक्लैले चार विकेट लिए भने सौरभ नेत्रावलकरले तीन विकेट झारे । त्यस्तै शुभम रञ्जनेले दुई विकेट लिँदा हरमित सिहले एक विकेट लिए । जितसँगै अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ । समान ३८ नै अङ्क रहेको स्कटल्याण्ड रन रेटका आधारमा दोस्रो स्थानमा छ । यस त्रिकोणात्मक शृङ्खलामा अब नेपालले शुक्रबार अमेरिकासँग खेल्नेछ ।

  • ट्रम्पपछि बेइजिङमा पुटिन

    ट्रम्पपछि बेइजिङमा पुटिन

    बेइजिङ, ६ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेपछि विश्व राजनीति फेरि चीन–रुस धुरीतर्फ केन्द्रित भएको छ । युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका–चीन सम्बन्ध र मध्यपूर्वको तनावबीच भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।

    राष्ट्रपति पुटिन मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ आइपुगेका छन् । क्रेमलिनका अनुसार दुवै नेताले रुस–चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिँदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ ।

    यो भ्रमण विशेष अर्थमा महत्त्वपूर्ण मानिएको छ, किनभने ट्रम्पले झन्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा गत साता बेइजिङ पुगेर अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गरो थिए । तर उक्त भ्रमणबाट ठोस उपलब्धि ननिस्किएको विश्लेषण भइरहेका बेला पुटिनको बेइजिङ आगमनले मस्को–बेइजिङ सम्बन्ध अझ मजबुत रहेको सन्देश दिएको मानिएको छ ।

    सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले मस्कोलाई कूटनीतिक र आर्थिक रूपमा अलग्याउने प्रयास गरेका थिए । त्यसयता रुस चीनमा अझ निर्भर बन्दै गएको छ । विशेषगरी चिनियाँ बजार अहिले रुसी तेलको प्रमुख गन्तव्य बनेको छ भने पश्चिमी प्रतिबन्धका कारण मस्कोले आर्थिक सहाराका लागि बेइजिङमाथि निर्भरता बढाएको छ ।

    भ्रमणअघि नै दुवै नेताले आफ्नो रणनीतिक साझेदारीको ३० वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश आदानप्रदान गरेर सम्बन्धको घनिष्ठता प्रदर्शन गरेका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले रुस–चीन सहकार्य निरन्तर गहिरिँदै गएको उल्लेख गरेका थिए । त्यसैगरी पुटिनले मङ्गलबार चिनियाँ जनताका नाममा जारी भिडियो सन्देशमा रुस–चीन सम्बन्ध ‘अभूतपूर्व उचाइमा’ पुगेको बताए । उनले दुई देशबीचको व्यापार तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै दुवै राष्ट्रले कसैको विरुद्धमा गठबन्धन नगरी विश्व शान्ति र साझा समृद्धिको पक्षमा काम गरिरहेको दाबी गरे ।


    पुटिनले आफ्नो सम्बोधनमा कुनै तेस्रो देशको नाम नलिए पनि उनको अभिव्यक्तिलाई अमेरिका लक्षित सन्देशका रूपमा हेरिएको छ । वार्तापछि दुवै नेताले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । गत सेप्टेम्बरमा बेइजिङ भ्रमणका क्रममा राष्ट्रपति सीले पुटिनलाई ‘पुरानो मित्र’ भन्दै विशेष स्वागत गर्नुभएको थियो । विश्लेषकहरूका अनुसार ट्रम्पको भ्रमणको तुलनामा पुटिनको भ्रमणमा कम सार्वजनिक तामझाम देखिए पनि चीन–रुस सम्बन्धलाई त्यस किसिमको प्रदर्शन आवश्यक नपर्ने अवस्था बनेको छ ।

    वासिङ्टनस्थित ब्रुकिङ्स इन्स्टिच्युुसनकी प्याट्रिसिया किमका अनुसार बेइजिङ र मस्कोले आफ्नो सम्बन्धलाई अमेरिका–चीन सम्बन्धभन्दा धेरै स्थिर र संरचनात्मक रूपमा बलियो मानेका छन् । उनका अनुसार दुवै देश अहिले साझा रणनीतिक हितका आधारमा नजिकिएका छन् । चीनले युक्रेन युद्ध सुरु भएयता निरन्तर वार्तामार्फत समाधानको पक्षमा आवाज उठाउँदै आएको छ । तर बेइजिङले रुसको सैन्य आक्रमणको खुला आलोचना भने गरेको छैन । चीनले आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्दै आएको छ ।

    गत साता ट्रम्प र सीबीच भएको वार्तामा युक्रेन युद्धको विषय पनि उठाइएको थियो । तर अमेरिकी राष्ट्रपति ठोस सहमति वा उपलब्धिविना नै चीनबाट फर्किनुभएको विश्लेषण गरिएको छ । प्याट्रिसिया किमका अनुसार राष्ट्रपति सीले ट्रम्पसँग भएको वार्ताबारे पुटिनलाई विस्तृत जानकारी दिने सम्भावना अत्यधिक छ । उनले ट्रम्प–सी भेटबाट स्पष्ट परिणाम ननिस्कनुले मस्कोलाई चीनले आफ्नो हितविरुद्ध कुनै समझदारी नगरेको आश्वासन मिलेको टिप्पणी गरे ।


    ऊर्जा सहकार्य पनि यसपटकको भेटवार्ताको केन्द्रमा रहने अनुमान गरिएको छ । ट्रम्पले हालै चीनले अमेरिकी तेल खरिद गर्न सहमति जनाएको दाबी गर्नुभएको थियो । त्यसपछि मस्कोले बेइजिङसँग ऊर्जा सम्बन्ध अझ बलियो बनाउन चाहेको विश्लेषण गरिएको छ । एसिया सोसाइटीका लाइल मोरिसका अनुसार रुस आफ्नो युद्ध प्रयासलाई निरन्तरता दिन चिनियाँ बजारमा निर्भर रहेकाले पुटिन चीनको समर्थन गुमाउन चाहन्नन् । उनका अनुसार पुटिन मध्यपूर्वको अवस्थाबारे चीनको आगामी रणनीति बुझ्न पनि इच्छुक हुनेछन् ।


    विशेषगरी अमेरिका–इजरायल र इरानबीचको तनावका विषयमा चीन र रुसको दृष्टिकोण केही फरक हुन सक्ने आकलन गरिएको छ । सिङ्गापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका जेम्स चारका अनुसार चीन विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि प्रमुख समुद्री मार्ग खुला रहोस् भन्ने चाहन्छ र हर्मुज जलघाँटीको तनाव चाँडै अन्त्य होस् भन्ने पक्षमा छ ।

    तर मस्कोले भने इरानमाथिको द्वन्द्वका कारण विश्व बजारमा ऊर्जा मूल्य बढ्दा त्यसबाट आर्थिक लाभ लिइरहेको विश्लेषण गरिएको छ । पश्चिमी प्रतिबन्धका बाबजुद रुसी ऊर्जा निर्यातको माग बढेकाले रुस फरक रणनीतिक हिसाबमा रहेको बताइएको छ । गत अप्रिलमा राष्ट्रपति सीसँगको भेटपछि रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले विश्व आपूर्ति अस्थिर बनेको अवस्थामा रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्न सक्ने बताएका थिए ।


    एटलान्टिक काउन्सिलका जोसेफ वेबस्टरका अनुसार यसपटकको बैठकमा ऊर्जा सहकार्य प्रमुख एजेन्डाका रूपमा अघि आउने सम्भावना छ । उनले चीनले थप रुसी ऊर्जा खोजिरहेको र युक्रेनले रुसी ऊर्जा पूर्वाधारमाथि निरन्तर आक्रमण गरिरहेकाले मस्को पनि पूर्वतर्फ तेल निर्यात विस्तार गर्न इच्छुक रहेको बताए ।

  • विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    किन्शासा, ५ जेठ (रासस–एएफपी) । कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ । हालसम्म ८० भन्दा बढीको ज्यान लिइसकेको यो प्रकोप सीमापार फैलिन सक्ने जोखिम बढ्दै जाँदा विश्व स्वास्थ्य क्षेत्र पुनः उच्च सतर्कतामा पुगेको हो ।

    अझ चिन्ताजनक पक्ष, फैलिएको ‘बुन्डिबुग्यो’ प्रकारको इबोलाविरुद्ध अहिलेसम्म कुनै प्रभावकारी खोप उपलब्ध छैन । रुवान्डा समर्थित एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको पूर्वी कङ्गोको प्रमुख सहर गोमामा सङ्क्रमण पुष्टि भएपछि अवस्था थप संवेदनशील बनेको छ । अत्यधिक जनघनत्व भएको गोमामा सङ्क्रमण देखिएसँगै यो प्रकोप कङ्गोभित्र सीमित नरही क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सङ्कटमा रूपान्तरण हुन सक्ने चेतावनी स्वास्थ्य निकायहरूले दिएका छन् ।

    अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ वटा शङ्कास्पद सङ्क्रमणका घटना दर्ता भएका छन् । सङ्क्रमणको वास्तविक दायरा अझै स्पष्ट नभएको भन्दै अधिकारीहरूले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान गरेका छन् । कङ्गोको राष्ट्रिय जैविक अनुसन्धान संस्थानका निर्देशक प्राध्यापक जीन–ज्याक मुयेम्बेले एएफपीसँग कुरा गर्दै गोमामा एउटा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सङ्क्रमित महिला बुनियामा इबोलाबाट मृत्यु भएका पुरुषकी पत्नी हुन् । पतिमा सङ्क्रमण पुष्टि भएपछि उनी गोमा पुगेकी थिइन्, जहाँ परीक्षणपछि उनमा पनि सङ्क्रमण पुष्टि भएको हो ।

    विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यो अवस्थालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरिएको बताए । यद्यपि उनले हालको अवस्थाले अझै पूर्ण ‘महामारी’ को स्तर भने नपुगेको स्पष्ट पारे । जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनले अहिले आफ्नो दोस्रो उच्च सतर्कता लागू गरेको छ । सङ्गठनका अनुसार सङ्क्रमित व्यक्तिको वास्तविक सङ्ख्या र सङ्क्रमण फैलिएको भौगोलिक क्षेत्रबारे अझै ठूलो अनिश्चितता कायम छ ।

    चिकित्सा सहायता संस्था ‘डाक्टर्स विदआउट बोर्डर्स’ अर्थात् एमएसएफले सङ्क्रमणको फैलावटलाई ‘अत्यन्त चिन्ताजनक’ भन्दै ठूलो स्तरको स्वास्थ्य प्रतिकार योजना अघि बढाइरहेको जनाएको छ । कङ्गोका स्वास्थ्यमन्त्री सामुएल–रोजर कम्बाका अनुसार यो प्रकोप निम्त्याउने बुन्डिबुग्यो प्रकारको इबोलामा मृत्युदर अत्यन्त उच्च छ, जुन ५० प्रतिशतसम्म पुग्न सक्छ । यो प्रकार पहिलो पटक सन् २००७ मा पहिचान गरिएको थियो ।

    अधिकारीहरूका अनुसार यही सङ्क्रमणले छिमेकी युगान्डामा पनि एक कङ्गोली नागरिकको ज्यान लिइसकेको छ । सङ्क्रमण फैलिन सक्ने जोखिम बढेपछि युगान्डाले आइतबार वार्षिक शहीद दिवस तीर्थयात्रा स्थगित गर्ने घोषणा गरेको छ । उक्त धार्मिक कार्यक्रममा सामान्यतया पूर्वी कङ्गोबाट हजारौँ श्रद्धालु सहभागी हुने गर्दछन् । हाल उपलब्ध इबोला खोपहरू भने केवल ‘जाइर’ प्रकारको भाइरसविरुद्ध मात्र प्रभावकारी मानिन्छन् । सन् १९७६ मा पहिचान गरिएको उक्त प्रकारको इबोलामा मृत्युदर ६० देखि ९० प्रतिशतसम्म पुग्ने गरेको छ ।

    अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पछिल्लो सङ्क्रमण पहिलो पटक उत्तरपूर्वी कङ्गोको इटुरी प्रान्तमा पुष्टि भएको थियो । युगान्डा र दक्षिण सुडानको सीमासँग जोडिएको यो क्षेत्र अहिले सङ्क्रमणको मुख्य केन्द्र बनेको छ । स्वास्थ्यमन्त्री कम्बाका अनुसार पहिलो सङ्क्रमित एक नर्स थिइन्, जसले अप्रिल २४ मा इटुरी प्रान्तको राजधानी बुनियास्थित स्वास्थ्य केन्द्रमा ज्वरो, रक्तस्राव र बान्ताजस्ता लक्षणसहित उपचारका लागि सम्पर्क गरेकी थिइन् । पछि परीक्षण गर्दा उनमा इबोला सङ्क्रमण पुष्टि भएको थियो ।

    इबोलाका मुख्य लक्षणमा उच्च ज्वरो, शरीरभित्र तथा बाहिरी रक्तस्राव, कमजोरी, वान्ता र अङ्ग विफलता समावेश छन् । सङ्क्रमित व्यक्ति लक्षण देखिएपछि मात्र अरूमा सङ्क्रमण फैलाउन सक्षम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । भाइरस सङ्क्रमित व्यक्तिको रगत वा शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ । यसको इन्क्युबेसन अवधि २१ दिनसम्म हुन सक्छ ।

    फ्रान्सभन्दा चार गुणा ठूलो भूभागमा फैलिएको कङ्गोमा कमजोर यातायात र सञ्चार पूर्वाधारका कारण स्वास्थ्य सामग्री तथा चिकित्सक परिचालन ठूलो चुनौती बनेको छ । दुर्गम क्षेत्रमा सङ्क्रमण केन्द्रित भएकाले धेरै नमूनाको परीक्षणसमेत हुन सकेको छैन । तर विश्व स्वास्थ्य सङ्गठनले प्रारम्भिक परीक्षणमा उच्च दरमा सङ्क्रमण पुष्टि भइरहेको, दुई देशमा सङ्क्रमण फैलिसकेको तथा शङ्कास्पद घटनाहरू निरन्तर बढिरहेकाले अहिले देखिएकोभन्दा धेरै ठूलो प्रकोप हुन सक्ने चेतावनी दिएको छ । सङ्गठनले यसबाट स्थानीय मात्र नभई, क्षेत्रीय र विश्वव्यापी जोखिम उत्पन्न हुन सक्ने जनाएको छ ।

    कङ्गोमा यसअघि पनि इबोलाका धेरै प्रकोप देखिएका छन् । यो देशमा पुष्टि भएको यो १७औँ इबोला प्रकोप हो । गत वर्ष अगस्टमा देखिएको अर्को प्रकोप डिसेम्बरमा नियन्त्रणमा आएको घोषणा गरिए पनि त्यस क्रममा कम्तीमा ३४ जनाको मृत्यु भएको थियो । पछिल्ला ५० वर्षमा इबोलाले अफ्रिकामा करिब १५ हजार मानिसको ज्यान लिइसकेको छ । सन् २०१८ देखि २०२० सम्म कङ्गोमा फैलिएको सबैभन्दा घातक प्रकोपमा मात्रै झण्डै दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।

    चमेरोबाट उत्पत्ति भएको विश्वास गरिने इबोलाले शरीरमा गम्भीर रक्तस्राव, अङ्ग विफलता तथा तीव्र शारीरिक क्षति पुर्‍याउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विभिन्न प्रकोपमा यसको मृत्युदर २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म पुगेको देखिएको छ ।

  • स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

    स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

    जेनेभा, ५ जेठ (रासस–एएफपी) । घातक हान्ता भाइरस र इबोला सङ्क्रमणको नयाँ चुनौतीसँग जुधिरहेको विश्व स्वास्थ्य क्षेत्र अहिले अर्को जटिल मोडमा पुगेको छ । अमेरिका र अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० बाट बाहिरिने घोषणा गरेपछि उत्पन्न अनिश्चितताका बीच सदस्य राष्ट्रहरू सोमबार जेनेभामा वार्षिक विश्व स्वास्थ्य सभाका लागि भेला भएका छन् । विश्वव्यापी स्वास्थ्य संयन्त्रको भविष्य, महामारी तयारी र सङ्गठनको वित्तीय स्थायित्व यसपटकको बैठकका प्रमुख चिन्ताका विषय बनेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठनको निर्णय गर्ने सर्वोच्च निकायका रूपमा रहेको यो वार्षिक सभा शनिबारसम्म सञ्चालन हुनेछ । तर यस वर्षको बैठक नियमित स्वास्थ्य एजेन्डाभन्दा धेरै फरक र संवेदनशील विषयहरूले प्रभावित बनेको छ । विश्वव्यापी ध्यान तानेको क्रुज जहाजमा फैलिएको दुर्लभ हान्ता भाइरसको सङ्क्रमण औपचारिक एजेन्डामा नरहे पनि बैठकका अधिकांश छलफलमा यसको प्रभाव देखिने अपेक्षा गरिएको छ । त्यस्तै, कङ्गो लोकतान्त्रिक गणतन्त्रमा पुनः देखिएको इबोला सङ्क्रमणले पनि सदस्य राष्ट्रहरूको चिन्ता बढाएको छ ।

    कूटनीतिक स्रोतहरूका अनुसार डब्लुएचओले यस्ता महामारी र स्वास्थ्य सङ्कटलाई विश्वव्यापी सहकार्य तथा संस्थागत समर्थनको आवश्यकता देखाउने अवसरका रूपमा प्रयोग गर्ने सम्भावना छ । एक कूटनीतिक स्रोतले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै अमेरिका र अर्जेन्टिनालाई सङ्गठन नछाड्न दबाब सिर्जना गर्न यस्ता सङ्कटले भूमिका खेल्न सक्ने सङ्केत गर्‍यो ।

    विश्व स्वास्थ्य सङ्गठनका लागि पछिल्लो वर्ष अत्यन्त चुनौतीपूर्ण रह्यो । अमेरिकी फिर्ती घोषणासँगै वित्तीय सहयोग कटौती भएपछि संस्थाले बजेट घटाउनुका साथै कर्मचारी सङ्ख्या पनि कम गर्नुपरेको थियो । त्यसले विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमा प्रत्यक्ष असर पारेको थियो । यद्यपि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अप्रिल अन्त्यमा संस्थाले अहिले स्थायित्वतर्फ फर्कँदै अगाडि बढिरहेको दाबी गरे । उनका अनुसार सङ्गठनले कठिन अवस्थाबीच पनि आवश्यक कार्यलाई निरन्तरता दिन सक्ने अवस्था बनाएको छ ।

    कूटनीतिज्ञ र स्वास्थ्य क्षेत्रका पर्यवेक्षकहरूले पनि अहिलेको अवस्था अझै संवेदनशील भए पनि डब्लुएचओले आगामी दुई वर्षका लागि आवश्यक अधिकांश स्रोत जुटाउन सफल भएको बताएका छन् । जेनेभास्थित ग्राजुएट इन्स्टिच्युटको विश्व स्वास्थ्य केन्द्रकी सह–निर्देशक सुरी मुनले हान्ता भाइरस सङ्कटले प्रभावकारी, निष्पक्ष र पर्याप्त वित्तीय स्रोत भएको विश्व स्वास्थ्य सङ्गठन किन आवश्यक छ भन्ने कुरा फेरि स्पष्ट पारेको बताए ।


    तर संस्थाभित्रका विभाजनहरू भने अझै कायम छन् । विशेषगरी धनी र विकासशील राष्ट्रबीचको मतभेदले सन् २०२५ मा पारित ऐतिहासिक महामारी सन्धिको महत्त्वपूर्ण अधुरो पक्षमा सहमति जुट्न सकेको छैन । त्यससम्बन्धी वार्ता अब अर्को वर्षसम्म लम्बिने अपेक्षा गरिएको छ । अमेरिका र अर्जेन्टिनाको फिर्ती घोषणाले पनि बैठकमा विशेष चासो पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२५ मा कार्यकाल सुरु गरेको पहिलो दिन नै अमेरिकालाई डब्लुएचओबाट बाहिर निकाल्ने सूचना दिनुभएको थियो । त्यसको केही समयपछि अर्जेन्टिनाले पनि त्यही बाटो अपनाएको थियो ।


    यद्यपि डब्लुएचओको संविधानमा सदस्य राष्ट्र बाहिरिने स्पष्ट व्यवस्था नरहेकाले संस्थाले अहिलेसम्म ती फिर्तीलाई औपचारिक रूपमा स्वीकार गरेको छैन । अमेरिका सन् १९४८ मा डब्लुएचओमा आबद्ध हुँदा एक वर्षअघि सूचना दिएर र बाँकी वित्तीय दायित्व पूरा गरेर बाहिरिन सक्ने अधिकार सुरक्षित राखिएको थियो । तर सूचना अवधिको समय सकिँदासमेत वासिङ्टनले २०२४ र २०२५ का लागि तिर्न बाँकी करिब २६ करोड अमेरिकी डलर बुझाएको छैन । यसले अमेरिकाको कानूनी स्थिति अझ अन्योलपूर्ण बनाएको छ ।

    यसैबीच जनवरीमा बसेको डब्लुएचओ कार्यकारी बोर्ड बैठकमा इजरायलले अर्जेन्टिनाको फिर्तीलाई अनुमोदन गर्ने प्रस्ताव पेश गरेको थियो । त्यस विषयमा अहिलेको सभामा छलफल हुन सक्ने अनुमान गरिएको छ । तर अमेरिकाको बहिर्गमनबारे भने औपचारिक रूपमा कुनै प्रस्ताव अघि सारिएको छैन । कूटनीतिज्ञहरूका अनुसार धेरै देश अहिले अमेरिकाको स्थिति अस्पष्ट नै रहन दिन इच्छुक देखिएका छन् । एक युरोपेली कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा अमेरिका चुपचाप संस्थाबाट अलग हुने अवस्था बनोस् भन्ने अपेक्षा रहेको बताए ।


    यसपटकको सभा अर्को महत्त्वपूर्ण कारणले पनि चासोको केन्द्रमा छ । आगामी वर्ष डब्लुएचओको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदैछ । अहिलेसम्म कसैले उम्मेदवारी घोषणा नगरे पनि सेप्टेम्बर २४ को मनोनयन समयसीमाअघि यसै साताभित्र केही नाम सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । बैठकमा युक्रेन, प्यालेस्टिनी भूभाग र इरानसँग सम्बन्धित संवेदनशील प्रस्तावहरू पनि प्रस्तुत हुने भएका छन् ।

    ती विषयमा सदस्य राष्ट्रबीच चर्को बहस हुन सक्ने अनुमान गरिएको छ । यस वर्षको सभाको मुख्य केन्द्र भने विश्व स्वास्थ्य संरचनाको पुनर्गठन बन्ने देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य निकायबीचको समन्वय अभाव, कार्य दोहोरिने प्रवृत्ति र जिम्मेवारीको अस्पष्टतालाई सुधार गर्ने औपचारिक प्रक्रिया सुरु गर्ने कि नगर्ने भन्ने विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।

    महामारी तयारी तथा प्रतिकारसम्बन्धी स्वतन्त्र प्यानलकी सह–अध्यक्ष तथा न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले विश्वव्यापी र क्षेत्रीय तहमा कुन काम कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्नेबारे स्पष्ट जिम्मेवारी निर्धारण आवश्यक रहेको बताए । क्यानाडाकी स्वास्थ्यमन्त्री मार्जोरी मिचेलले पनि प्रमुख सदस्य राष्ट्रहरूको बहिर्गमनले डब्लुएचओलाई आफ्ना सदस्य राष्ट्रसँग रणनीति पुनरावलोकन गर्ने अवसर प्रदान गरेको बताइन् । अन्तर्राष्ट्रिय सहायता कोष घट्दै गएको अवस्थामा जलवायु परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य अधिकारजस्ता विवादास्पद मानिएका विषयहरू उपेक्षामा नपरोस् भन्ने विषयमा पनि सदस्य राष्ट्रहरू सचेत देखिएका छन् ।

    एक कूटनीतिक स्रोतका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न निकायबीच राम्रो समन्वय सुनिश्चित गर्दै कुनै समुदाय वा स्वास्थ्य कार्यक्रम पछाडि नछुटोस् भन्ने उद्देश्यसहित सुधार प्रक्रिया अघि बढाउन खोजिएको हो । तर ‘नलेज इकोलोजी इन्टरनेसनल’ नामक गैरसरकारी संस्थाका थिरु बालासुब्रमण्यमले डब्लुएचओले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी केही गतिविधि पहिले नै सीमित बनाउन थालेको आरोप लगाए । उनका अनुसार वित्तीय सङ्कट गहिरिँदै जाँदा कतिपय संवेदनशील स्वास्थ्य कार्यक्रमहरू प्रभावित हुन थालेका छन् ।

  • क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

    क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

    ओटावा, ४ जेठ (रासस–सिन्ह्वा) । क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश कोलम्बियामा आइसोलेसनमा रहेका एक क्रुज यात्रु हुन् । पीएचएसीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ब्रिटिश कोलम्बियाबाट संकलन गरिएका नमूनाहरू पुष्टि परीक्षणका लागि विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा पठाइएको थियो ।

    प्रयोगशाला परीक्षणपछि एक व्यक्तिमा शनिबार हान्ताभाइरस संक्रमण पुष्टि भएको एजेन्सीले जनाएको छ । सङ्क्रमित व्यक्तिसँगै यात्रा गरेका अर्का व्यक्तिको परीक्षण भने नेगेटिभ आएको छ । हालसम्म थप सङ्क्रमित फेला नपरेको जनाइएको छ । पीएचएसीका अनुसार, उच्च जोखिममा रहेका सम्पर्कहरू आइसोलेसनमा छन् र स्थानीय स्वास्थ्य अधिकारीहरूले उनीहरूको निरन्तर निगरानी गरिरहेका छन् । साथै, क्यानडाको सर्वसाधारण जनतामा हालका लागि संक्रमणको जोखिम कम रहेको एजेन्सीले स्पष्ट पारेको छ ।

    यो सङ्क्रमण ध्रुवीय क्षेत्रमा भ्रमण गर्ने ‘एमभी होन्डियस’ नामक अभियानात्मक क्रुज जहाजमा देखिएको हो । यस प्रकोपका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार, हान्ताभाइरसको इन्क्युबेशन अवधि सामान्यतया एकदेखि आठ सातासम्म हुन सक्छ ।

    यो भाइरस प्रायः संक्रमित मुसा वा अन्य कृन्तक जनावरको पिसाब, दिसा वा र्‍यालसँग सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ । हान्ताभाइरस संक्रमणले ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका गम्भीर लक्षण निम्त्याउन सक्छ । गम्भीर अवस्थामा यसले फोक्सो र मुटुमा असर पुर्‍याएर ज्यानसमेत लिन सक्छ ।

  • विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

    विश्वकपअघि इरानी टोली टर्की प्रस्थान

    तेहरान, ५ जेठ (रासस–एएफपी) । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिताअघि अन्तिम तयारीलाई तीव्र बनाउँदै इरानको राष्ट्रिय फुटबल टोली सोमबार टर्की प्रस्थान गरेको छ । संयुक्त राज्य अमेरिका जानुअघि मैत्रीपूर्ण खेल खेल्नुका साथै अमेरिकी भिसा प्रक्रियासमेत पूरा गर्ने उद्देश्यले टोली अन्टालिया पुगेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    इरानी समाचार संस्था तस्निमका अनुसार राष्ट्रिय टोली सोमबार बिहान टर्कीको अन्टालियातर्फ प्रस्थान गरेको हो । टोलीमा प्रशिक्षक समूहसहित घरेलु लिगमा खेलिरहेका २२ खेलाडी समावेश छन् । विश्वकपअघि अन्तिम तयारीलाई व्यवस्थित बनाउने योजनाअनुसार टोलीले टर्कीमा प्रशिक्षण र मैत्रीपूर्ण खेल दुवै कार्यक्रम सञ्चालन गर्नेछ । मुख्य प्रशिक्षक अमिर घालेनोईले शनिबार टोली टर्कीमा रहँदा अमेरिकी भिसाका लागि आवश्यक प्रक्रिया पनि पूरा गरिने जानकारी दिनुभएको थियो । इरान र अमेरिकाबीचको जटिल राजनीतिक सम्बन्धका कारण भिसा प्रक्रिया टोलीका लागि विशेष चासोको विषय बनेको छ ।

    संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ विश्वकपमा इरानको सहभागिता दुई देशबीचको संवेदनशील राजनीतिक परिस्थितिका बीच हुँदैछ । फेब्रुअरी २८ बाट सुरु भएको ४० दिन लामो युद्धपछि इरान र अमेरिकाबीच हाल नाजुक युद्धविराम कायम छ । इस्लामिक क्रान्तिपछि अमेरिकी दूतावासमा भएको बन्धक सङ्कटका कारण अमेरिकाले सन् १९८० मा इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ, जसको प्रभाव खेलकुद गतिविधिमा समेत देखिने गरेको छ ।

    इरानले टर्कीको अन्टालियामा कम्तीमा दुई मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ । टोलीका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल व्यवस्थापन गर्ने कम्पनीका प्रमुख इरानी–क्यानेडियन साम मेहदिजादेहका अनुसार इरानले मे २९ मा गाम्बियाविरुद्ध खेल्ने खेल निश्चित भइसकेको छ । अर्को मैत्रीपूर्ण खेलबारे भने छलफल जारी रहेको बताइएको छ ।

    इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले बिहीबारसम्म खेलाडीहरूको अमेरिकी भिसा जारी नभएको जानकारी दिएका थिए । उनका अनुसार भिसा प्रक्रियाअन्तर्गत खेलाडीहरूले टर्कीमा औँठाछाप दिनुपर्ने व्यवस्था गरिएको छ । तर टोलीले अन्टालियाबाट अङ्कारासम्म करिब ३८० किलोमिटरभन्दा बढी यात्रा गर्न नपरोस् भन्ने चाहना राखिएको ताजले उल्लेख गरे । त्यसैले प्रक्रिया सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको उनले बताए ।

    यसैबीच अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका महासचिव म्याटियास ग्राफस्ट्रोमले शनिबार टर्कीमा इरानी फुटबल महासङ्घका पदाधिकारीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई उनले ‘उत्कृष्ट र रचनात्मक’ भएको प्रतिक्रिया दिए । इरानी फुटबल महासङ्घका अध्यक्ष ताजले पनि बैठक सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएको बताउनुभयो । यद्यपि छलफलका विस्तृत विषय सार्वजनिक गरिएको छैन ।

    विश्वकपका लागि अमेरिका पुगेपछि इरानी टोलीले एरिजोनाको टक्सनमा आफ्नो आधार शिविर स्थापना गर्नेछ । समूह ‘जी’ मा रहेको इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध आफ्नो विश्वकप यात्रा सुरु गर्ने तालिका छ । त्यसपछि इरानले सोही सहरमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम समूह चरणको खेल सिएटलमा इजिप्टविरुद्ध खेल्नेछ । विश्वकपअघि भइरहेको टर्की भ्रमणलाई इरानी टोलीले खेल तयारी मात्र नभई, राजनीतिक तथा प्रशासनिक चुनौती व्यवस्थापनसँग पनि जोडेर हेरिएको छ ।

  • कङ्गो र युगान्डामा इबोला फैलिँदै, ८८ जनाको मृत्यु

    कङ्गो र युगान्डामा इबोला फैलिँदै, ८८ जनाको मृत्यु

    अबुजा, ५ जेठ (रासस–एपी) । विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, यो प्रकोप हालको अवस्थामा कोरोना महामारीजस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको छ । सङ्गठनले देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ ।

    सङ्गठनले कङ्गोको राजधानी किन्शासामा समेत प्रयोगशालाबाट पुष्टि भएको इबोला सङ्क्रमण भेटिएको जनाएको छ । किन्शासा, प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट करिब एक हजार किलोमिटर टाढा पर्छ । सङ्क्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको बताइएको छ । उत्तरी किभु प्रान्तमा पनि शङ्कास्पद बिरामीहरू फेला परेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । उक्त क्षेत्र कङ्गोको अत्यधिक जनसङ्ख्या भएको क्षेत्रमध्ये एक हो र इतुरीसँग सीमा जोडिएको छ ।

    पूर्वी कङ्गोको सबैभन्दा ठूलो शहर गोमामा पनि पहिलो इबोला सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ । सङ्क्रमित व्यक्ति इतुरीबाट आएको र हाल आइसोलेसनमा राखिएको बताइएको छ । गोमा शहर सन् २०२५ मा विद्रोही समूहहरूको तीव्र आक्रमणको केन्द्र बनेको थियो । कङ्गो सरकार र रुवाण्डा समर्थित एम–२३ विद्रोही समूहबीचको द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

    इबोला अत्यन्त सङ्क्रामक रोग मानिन्छ । सङ्क्रमित व्यक्तिको रगत, बान्ता, वीर्य तथा अन्य शारीरिक तरल पदार्थमार्फत यो भाइरस सर्ने गर्दछ । यो रोग दुर्लभ भए पनि गम्भीर र प्रायः घातक हुने चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको आपत्काल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

    अफ्रिकास्थित विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयले ३५ जना विशेषज्ञहरूको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको जनाएको छ । टोलीसँग सात टन आपत्कालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ । यसअघि पनि अफ्रिकामा विभिन्न संक्रामक रोग फैलिँदा विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । तर आवश्यक खोप, परीक्षण सामग्री र औषधि प्रभावित देशहरूमा समयमै नपुगेको भन्दै आलोचना हुने गरेको छ ।

  • पाकिस्तानले इरानी प्रतिक्रिया अमेरिकालाई बुझायो, वासिङ्टनको प्रतिक्रिया आउन बाँकी

    पाकिस्तानले इरानी प्रतिक्रिया अमेरिकालाई बुझायो, वासिङ्टनको प्रतिक्रिया आउन बाँकी

    इस्लामावाद, ५ जेठ (रासस–सिन्ह्वा) । अमेरिकी सञ्चारमा इरानले दिएको प्रतिक्रिया आइतबार पाकिस्तानले प्राप्त गरेको र कूटनीतिक माध्यमबाट वासिङ्टनलाई जानकारी गराएको पाकिस्तानी स्रोतले सोमबार जनाएको छ । “संयुक्तराज्य अमेरिकाले इरानको प्रतिक्रियाको समीक्षा गरिरहेको र वासिङ्टनबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ,” नाम उल्लेख नगर्ने शर्तमा स्रोतहरूले सिन्ह्वासँग बताएका छन् ।

    पछिल्लो आदान–प्रदान तेहरान र वाशिङ्गटनबीच शान्तिको पहलका लागि जारी अप्रत्यक्ष सम्पर्कको प्रयास हो । क्षेत्रीय तनाव कम गर्ने र सम्भावित कूटनीतिक प्रगतिको खोजी गर्ने प्रयासहरूको बीचमा पाकिस्तान मार्फत सहजीकरण गरिएको छ। इरानी अधिकारीहरूले बारम्बार संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्ताको सट्टा अप्रत्यक्ष रूपमा मध्यस्थकर्ताहरू मार्फत संवाद भइरहेको बताउँदै आएका छन्।

    फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानले धेरै चरणमा प्रस्तावको आदानप्रदान गरिरहेका छन् । अप्रिल ८ देखि जारी युद्धविरामबीच दुवै पक्षबीच अहिलेसम्म एक चरणको वार्ता भएको छ । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सोमबार एक पत्रकार सम्मेलनमा भने, “हामीले हिजो घोषणा गरेजस्तै हाम्रो चासो अमेरिकी पक्षलाई अवगत गराएका छौँ ।”

    तेहरानले विदेशमा रोकिएको इरानी सम्पत्ति र लामो समयदेखिको प्रतिबन्ध फुकुवा गर्नेलगायतका इरानको मागको विदेशमन्त्री बकाईले बचाउ गर्नुभएको थियो । उनले भने, “उठाइएका बुँदाहरू इरानका मागहरू हुन्, जसलाई इरानको वार्ता टोलीले हरेक चरणको वार्तामा दृढतापूर्वक बचाउ गरेको छ।”


    उनले अमेरिकाले युद्धको क्षतिपूर्ति दिनुपर्ने इरानको शर्तको बचाउ गर्दै द्वन्द्व ‘गैरकानुनी र आधारहीन’ भएको बताए । अर्को सैन्य मुठभेडको सम्भावनाबारे विदेशमन्त्री बकाईले इरान कुनै पनि परिस्थितिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

  • माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत शरिर फेला

    माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत शरिर फेला

    रोम, ५ जेठ (रासस–एएफपी) । माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको दुर्घटनावस डुबेर मृत्यु भएको र मृतकमध्ये इटालीका थप चार नागरिकको मृत शरिर फेला परेको तर अहिलेसम्म सतहमा ल्याउन नसकिएको इटालीको विदेश मन्त्रालय र माल्दिभ्सको सेनाले सोमबार जनाएको छ । पानीमा वेपत्ता भएका मध्ये एक जनालाई मृत अवस्थामा बिहीबार नै पानीबाहिर ल्याइएको थियो । माल्दिभ्सको राष्ट्रिय सुरक्षा बल (एमएनडिएफ) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बेपत्तामध्ये थप चारजना गोताखोरको मृत शरीर ‘वाभु एटोल’ गुफाभित्र फेला परेको छ ।”


    इटालीको विदेश मन्त्रालयले उक्त समाचारको पुष्टि गरेको छ । “मृतकलाई अझै सतहमा ल्याइएको छैन”, एमएनडीएफले भनेको छ, मृतकलाई पानी बाहिर ल्याउने काम छिट्टै गरिनेछ ।” इटालीका एक सरकारी अधिकारीले एएफपीसँग भने, “यो एक कठिन काम हो र शवहरू सतहमा ल्याउन ‘केही समय लाग्न’ सक्छ।” गत बिहीबार इटालीको संलग्न पाँच जनाको एक समूह अनुसन्धानका लागि गहिरो पानीमुनिको गुफामा गएका तर सतहमा फर्कन असफल भएका थिए ।

    एक जनालाई सोही दिन मृत अवस्थामा पानी बाहिर ल्याइएको थियो । उनीहरुको खोजीमा खटिएका एक गोताखोरको उद्धारका लागि खटिएका समय शनिबार मृत्यु भएको थियो । यो दुर्घटना हिन्द महासागरको पर्यटकीय गन्तव्यमा सबैभन्दा घातक ‘डाइभिङ’ दुर्घटना हो।

  • नाइजेरियाको दक्षिणमा अधिकांश बालबालिकासहित ४६ जना अपहरित, क्रिश्चियन समूहमाथि आक्रमण

    नाइजेरियाको दक्षिणमा अधिकांश बालबालिकासहित ४६ जना अपहरित, क्रिश्चियन समूहमाथि आक्रमण

    लागोस, ५ जेठ (रासस–एएफपी) । दक्षिणपश्चिम नाइजेरियाका तीन विद्यालयहरूमा भएको आक्रमणमा कम्तीमा ४६ जनालाई अपहरण गरिएको छ । “अपहरणमा पर्नेमा अधिकांश बालबालिका रहेका छन्,” नाइजेरियाको क्रिश्चियन एसोसिएसनले सोमबार भनेको छ। दक्षिणपश्चिमी राज्यमा भएको आक्रमणमा अपहरणमा परेका दुईदेखि १६ वर्षसम्मका बालबालिकासहित ४६ जना रहेको ओयो राज्यका अध्यक्ष एलिशा ओलुकायोड ओगुन्डियाले शुक्रबार बताए ।


    नाइजेरिया फिरौतीका लागि अपहरण गर्ने र ग्रामीण क्षेत्रलाई निशाना बनाउने डाकु भनिने आपराधिक गिरोहको सङ्कटसँग जुधिरहेको छ। सबैभन्दा बढी द्वन्द्व देखिएका देशको उत्तरी र मध्य भागमा विद्यालयमा आक्रमण र अपहरण हुने गरेको छ। बन्दुकधारीहरूले यावोटाको ब्याप्टिस्ट नर्सरी र प्राइमरी र एसिलका अन्य दुई विद्यालयहरूमा एकैसाथ आक्रमण गरेका थिए ।

    “आक्रमणकारीहरूले विद्यालयका केही शिक्षक, विद्यार्थी र कर्मचारीहरूलाई अपहरण गरी लगेका थिए,” प्रहरीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। आक्रमणले ‘ओयो स्टेट युनिभर्सल बेसिक एजुकेशन बोर्ड’लाई ‘कुनै पनि ठूला घटनाहरू रोक्न र सुरक्षा निकायहरूलाई यस क्षेत्रमा पूर्ण रूपमा स्थिरता ल्याउन सघाउन वरपरका विद्यालयहरू शुक्रबारदेखि अस्थायी रूपमा बन्द गर्न आदेश दिइएको थियो। सोमबारबाट विद्यालयहरू खुलेका छन् ।

  • ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको प्रधानामन्त्री निलसनको दावी

    ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको प्रधानामन्त्री निलसनको दावी

    नुक, ग्रिनल्याण्ड, ५ जेठ (रासस–एएफपी) । ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सोमबार बताएका छन् । निल्सनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँगको भेटवार्ता पछि ग्रिनल्याण्डलाई हेर्ने अमेरिकी दृष्टिकोणमा कुनै परिवर्तन नआएको बताएका हुन् । प्रधानमन्त्री निल्सनले अमेरिकी कुटनीतिज्ञ जेफ ल्यान्ड्रीसँगको भेटलाई ‘रचनात्मक’ बताएपनि अमेरिकी दृष्टिकोणमा परिवर्तन नआएका कारण कुनै ठूलो उपलब्धिको अपेक्षा नगरिएको बताए ।


    प्रधानमन्त्री निल्सनले एक पत्रकार सम्मेलनमा भने, “यो एक रचनात्मक बैठक थियो, जहाँ सकारात्मक भावना र ठूलो सम्मानका साथ संवादमा हामी संलग्न हुन सफल भयौँ ।” उनले अगाडि भने, “हामीले ग्रिनल्याण्डका जनता बिक्रीका लागि होइनन् र ग्रिनल्याण्डवासीलाई आत्मनिर्णयको अधिकार छ भनेर वार्तामा स्पष्ट रूपमा दोहोर्याएका छौँ ।” ल्यान्ड्रीको भ्रमण यस क्षेत्रमा ट्रम्पको बारम्बार दाबीको बारेमा ट्रान्सएटलान्टिक तनाव केही हदसम्म कम भएको तर नहटेको समयमा भएको छ ।

    ग्रिनल्याण्डका विदेशमन्त्री म्युट एगडेले पनि उक्त भूमि अधिग्रहण गर्ने आफ्नो लक्ष्यलाई अमेरिकाले नछोडेको बैठकपछि पत्रकारहरूसँग बताए । उनले भने, “हामीसँग हाम्रो सीमारेखा छ। अमेरिकीहरूको शुरुवात बिन्दु पनि परिवर्तन भएको छैन।” गत जनवरीमा डेनमार्क र नेटोका अन्य सहयोगीहरूले भीषण प्रतिरोध प्रदर्शन गरेपछि ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने धम्कीबाट पछि हटेका थिए ।


    त्यसपछि कोपेनहेगन र नुकका अधिकारीहरूले वाशिङ्गटनमा गरेको पहिलो बैठक गरिएको थियो त्यसपछि अमेरिकी स्थितिबारे छलफल गर्न ग्रिनल्याण्डले एक कार्यदल गठन गरेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार राष्ट्रिय सुरक्षाको चासोका कारण अमेरिकाले ग्रिनल्याण्डलाई नियन्त्रण गर्न आवश्यक रहेको तर्क गर्दै आएका छन् ।

    उनको तर्क रहेको छ, “यदि अमेरिकाले आर्कटिक टापु (ग्रिनल्याण्ड) कब्जा गरेन भने त्यो चीन वा रुसको हातमा पर्न सक्नेछ।” ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूतका रुपमा लुजियानाका गभर्नर ल्यान्ड्री पहिलो पटक आइतबार यहाँ आएका हुन् । उनले मङ्गलबार र बुधबार ग्रिनल्याण्डको राजधानीमा हुने आर्थिक मञ्चमा भाग लिने कार्यक्रम छ ।

  • समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

    समय घर्किँदै गएको ट्रम्पको इरानलाई चेतावनी

    वासिङ्टन, ५ जेठ (रासस–एएफपी) । युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समय घर्किँदै गएको भन्दै इरानलाई चेतावनी दिएका छन् । “उनी (इरानी) हरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन”, उनले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, “कुनै पनि कुराको समय हुन्छ।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग पनि टेलिफोन वार्ता गरेको बताइएको छ । उनीहरूबीच के बिषयमा कुरा भयो भन्ने बिषय समाचार तयार पार्दासम्म सार्वजनिक गरिएको छैन । इरानका सञ्चारमाध्यमले युद्ध अन्त्यका लागि तेहरानले पठाएको पछिल्लो प्रस्तावबारे कुनै मूर्त धारणा दिन अमेरिकाले विफल भएको जनाएका छन्।

    वाशिङ्टनबाट सम्झौतामा लचिलोपना नदेखाइएमा त्यसले ‘वार्तालाई गतिरोध’तर्फ डो¥याउने अर्धसरकारी समाचार एजेन्सी मेहर न्यूज एजेन्सी मेहरले उल्लेख गरेको छ। ट्रम्पको पछिल्लो सन्देशले अप्रिलको सुरुमा युद्ध विराम घोषणा हुनुभन्दा केही समयअघि इरान युद्ध अन्त्यको निम्ति सम्झौता गर्न तयार नभएमा इरानले उसको ‘सम्पूर्ण सभ्यता’ नै गुमाउनुपर्ने भनी दिएको उनको धम्कीलाई प्रतिध्वनित गरेको ठानिएको छ।

    गत हप्ताको सुरुमा तेहरानको माग ‘पूर्ण रूपमा अमान्य’ भन्दै अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले युद्धविराम ‘व्यापक लाइफ सपोर्ट’ मा पुगेको चेतावनी दिएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले आफूहरू ‘जिम्मेवार र उदार’ रहेको बताएका छन् ।

  • कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

    कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

    कङ्गो, ४ जेठ (रासस–एएफपी) । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
    स्वास्थ्य मन्त्रीका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन । यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ ।

    स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन् । यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ । स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरू घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

    इरान र फिफाबीच ‘रचनात्मक’ छलफल

    तेहरान, ४ जेठ (रासस–एएफपी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न इस्तानबुलमा शनिबार भएको बैठकले इरानी टोलीका लागि ‘रचनात्मक’ र ‘राम्रो’ छलफल भएको बताएका छन् । मध्यपूर्वमा युद्ध चलिरहे पनि इरानले समूह चरणका तीनवटै खेल अमेरिकामै खेल्ने तालिका छ ।

    “हामीले इरान एफएसँग रचनात्मक वार्ता गरेका छौँ, वार्ता सफल भएको छ,” ग्राफस्ट्रमले भने । उनले भने, “मलाई लाग्छ हामी उनीहरूलाई विश्वकपमा स्वागत गर्न धेरै उत्सुक छौँ । यसका लागि सँगै मिलेर काम गरिरहेका छौँ।” “हामीले प्रत्येक सदस्य संघसँगजस्तै इरानी टोलीको परिचालनसम्बन्धमा छलफल गर्ने अवसर पाएका छौँ,” उनले अगाडि भने ।


    उनले थपे, “म धेरै खुसी छु, हामी छलफलबाट सकारात्मक कुराहरूको आदानप्रदान गर्न सक्षम भयौँ । इरान एफए र फिफा दुवै बैठकबाट धेरै खुसी छन् र संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोमा इरानी फुटबल टोली (टीम मेली) लाई स्वागत गर्न उत्सुक छन्।” इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले गत बिहीबार इरानको टोलीका लागि भिसा जारी नगरिएको बताएका छन् ।


    उनले शनिबारको बैठकलाई विवरणमा नगई ‘सकारात्मक र रचनात्मक’ पनि भनेका छन् । “हामीले हाम्रो चिन्ताको बारेमा छलफल गर्यौं र टीम मेलीको सहज सहभागिता सुनिश्चित गर्न हाम्रो संयुक्त प्रतिबद्धता व्यक्त गर्यौं,” उनले भने । टर्की फुटबल फेडरेशनको मुख्यालयमा आयोजित यो बैठक सोमबार बिहान टर्कीको प्रशिक्षण शिविरमा जाने तयारी गरिरहेका बेला भएको हो ।

    इरानले अन्टालियामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । उनीहरूले पहिले नै मे २९ मा गाम्बियाबिरूद्ध एक खेलको पुष्टि गरिसकेका छन्, इरानी टीमको लागि मैत्रीपूर्ण खेल सेट गर्ने कम्पनीको नेतृत्व गर्ने एक इरानीमुलका क्यानेडियाली नागरिकसाम मेहदीजादेहले भने ।


    इरान लगातार चौथो पटक फाइनलमा पुगेको छ र टोली अमेरिका पुगेपछि एरिजोनाको टक्सनमा रहनेछ । इरानले समूह–जीमा रहेर जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग विश्वकप अभियान सुरु गर्नेछ, त्यसपछि त्यही शहरमा बेल्जियम र त्यसपछि सिएटलमा इजिप्टको सामना गर्नेछ।

  • रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

    रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

    मस्को, ३ जेठ (रासस–एएफपी) । मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा तीन व्यक्तिको मृत्यु भएको छ । मारिएका तीन व्यक्तिमध्ये एक रूसमा कार्यरत एक भारतीय नागरिक रहेको जानकारी प्राप्त भएको रूसका लागि भारतीय दूतावासले आइतबार जानकारी दिएको छ। मस्को क्षेत्रमा ड्रोन आक्रमणमा परी एक भारतीय कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    दूतावासका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेका छन् र अस्पतालमा घाइते कामदारहरूलाई भेटेका छन्। युक्रेनले शनिबार राति रुसको राजधानी मस्को लगायतका क्षेत्रमा करिब ६०० युक्रेनी ड्रोनद्वारा आक्रमण गरेको थियो । आक्रमणमा मस्को क्षेत्रमा तीन र बेलगोरोड क्षेत्रमा एक व्यक्तिको मृत्यु भएको थियो । युक्रेन युद्धको अवधिमा नै राजधानीमा भएको यो सबैभन्दा ठूलो आक्रमण थियो।

    युक्रेनको राजधानी किएभमा रुसी क्षेप्यास्त्र र ड्रोनले आक्रमण गर्दा कम्तीमा २४ जनाको मृत्यु भएपछि युक्रेनले यसको बदला लिने प्रतिबद्धता जनाएको थियो। सन् २०२२ मा रुसको पूर्ण आक्रमणबाट उत्प्रेरित युक्रेन द्वन्द्वले लाखौँ मानिसको ज्यान लिएको छ र दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्ध भएको छ।

  • रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

    रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक

    मस्को, जेठ ३ (रासस–एएफपी) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीनको दुई दिने भ्रमणको कार्यक्रम मे १९–२० सम्मलाई तथ भएको क्रेमलिनले शनिबार जनाएको छ । भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने क्रेमलिनले विज्ञप्ति मार्फत जनाएको छ ।

    पुटिन र सीले “प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरुमा पनि विचार आदान–प्रदान गर्ने र वार्ता पछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ । भ्रमणको क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पको पहिलो चीन भ्रमण शुक्रबार सम्पन्न भए पछि पुटिनको भ्रमणको घोषणा भएको जनाइएको छ । भ्रमणले युक्रेन–रूस द्वन्द्व लगायत व्यापार र भू–राजनीतिक तनाव कम गर्न भुमिका खेल्ने अपेक्षा गरिएको छ । चीनले युद्व अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ ।

    बेइजिङले मस्कोलाई रक्षा उद्योगका लागि हतियार र सैन्य सामाग्रीहरु प्रदान गरेको कुरा अस्वीकार गर्दै पश्चिमी देशहरूलाई युक्रेनलाई हतियार दिएर द्वन्द्व लामो बनाएको आरोप लगाएको छ । द्वन्द्वको विषयलाई लिएर रूस माथि लगाएको आर्थिक प्रतिबन्धको बीचमा रूसी जीवाश्म इन्धनको विश्वको शीर्ष खरिदकर्ताको रूपमा, चीन मस्कोको प्रमुख आर्थिक साझेदार बनेको जनाइएको छ ।

  • कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

    कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

    किन्शासा (कङ्गो), ३ जेठ (रासस–क्युएनए) । लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरुको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । कङ्गोलका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ । संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तिमा २४६ वटा शंकासस्पद केसहरुमा निगरानी गरिरहेको बताएका छन् ।

    प्रकोपको प्रतिक्रियामा, कङ्गो सरकारले भाइरसको फैलावट रोक्न मद्दत गर्न आफ्नो जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ । यसै गरी विकेन्द्रीकृत निदान परीक्षणको विस्तार, महामारी विज्ञान निगरानीलाई सुदृढ पार्नु, र प्रभावित क्षेत्रहरूमा द्रुत प्रतिक्रिया टोलीहरू तैनाथ गर्ने लगायतका कार्य गरेको जनाएको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसि) ले उत्तरपूर्वी इटुरी प्रान्तमा प्रकोपलाई आधिकारिक रूपमा सक्रिय क्षेत्रीय स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गरेपछि यो कदम चालिएको हो ।

  • भारतको हैदरावादमा ‘धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गरिने’

    भारतको हैदरावादमा ‘धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गरिने’

    हैदरावाद, ३ जेठ (रासस–एएनआई) । चन्द्रबाबु नायडुले दक्षिण भारतका राज्यहरूमा युवाको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दे धेरै सन्तान जन्माउनेलाई प्रोत्साहनवरूप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । श्रीकाकुलम जिल्लामा एक कार्यक्रममा बोल्दै नायडुले भने, “तेस्रो बच्चा जन्मिएपछि अभिभावकलाई ३० हजार र चौथो बच्चा जन्ममा ४० हजार भारतीय रूपैयाँ प्रोत्साहन दिइनेछ।” चन्द्रबाबुले भन्नुभयो, “धेरै मानिसहरुलाई धेरै बच्चा जन्माउनु बोझ हो भन्ने लाग्छ तर यो सत्य होइन ।”

    दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तमिलनाडुले लामो समयदेखि जनसङ्ख्या नियन्त्रण र यसको परिणामबारे कुनै न कुनै रूपमा आवाज उठाउँदै आएका छन्। चन्द्रबाबु नायडु र तमिलनाडुका पूर्व मुख्यमन्त्री एमके स्टालिनले विगत केही वर्षदेखि लगातार यस विषयलाई विशेष चासो दिएर पहल गर्न जोड दिने गरेको पाइन्छ ।

    मुख्यमन्त्री नायडुले विगतमा धेरै पटक ‘दक्षिणी राज्यहरूमा युवाहरूको सङ्ख्या बिस्तारै घटिरहेको छ र वृद्धहरूको सङ्ख्या बढिरहेको’ यसलाई सम्बोधन गर्न पहल थाल्न ढिलो गर्नुनहुने बताउँदै आएका छन् । उनले जापान र चीनजस्ता धेरै देश यो समस्यासँग जुधिरहेको पनि बताए ।