Category: विश्व

  • रुसका भित्री इलाकामा क्षति गर्दै युक्रेनी ड्रोन

    रुसका भित्री इलाकामा क्षति गर्दै युक्रेनी ड्रोन

    २० वैशाख, काठमाडौं । युक्रेनी ड्रोनहरूले रुसका भित्री इलाकासम्म पुगेर तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गरिरहेका छन् । आक्रमणबाट उडेको बाक्लो धूवाँ अन्तरिक्षबाटै देखिएको थियो । यसले ब्ल्याक सी किनारका पर्यटकीय क्षेत्रहरूमा विषाक्त वर्षा गराइरहेको छ । यी आक्रमणहरूको उद्देश्य मस्कोको तेल निर्यात घटाउनु हो । किनकि, तेल बिक्रीबाट प्राप्त रकमलाई रुसले युक्रेनविरुद्धको युद्धमा लगाइरहेको छ ।

    आर्थिक क्षतिको विवरण स्पष्ट नभए पनि आक्रमणको वातावरणीय प्रभावको असर युद्धमोर्चाभन्दा निकै टाढाका भूभागमा बस्ने रुसीहरूले महसुस गरेका छन् । युक्रेनी ड्रोनहरूले अप्रिलमा ब्ल्याक सीस्थित तुआप्से क्षेत्रका तेल प्रशोधन गृह र निर्यात टर्मिनलहरूमा दुई सातामा चार पटक आक्रमण गरेका छन् । आक्रमणपछि आगलागी हुँदा स्थानीय नागरिकलाई उद्धार गर्नुपरेको थियो ।

    त्यस्तै, आकाशमा धूवाँको मुस्लो उडेको देखिन्थ्यो । तुआप्से क्षेत्र युद्धमोर्चाबाट कम्तीमा ४५० किलोमिटर टाढा छ । १८ अप्रिलमा तेस्रो आक्रमणपछि तुआप्सेका गभर्नर भेनियामिन कोन्ड्राटयेभले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन् । उक्त भिडियोमा आपत्कालीन सेवामा खटिएका एक कर्मचारीले उम्लिरहेको तेलजन्य पदार्थ सडकमा पोखिएर कारहरूमा क्षति पुगेको बताएका छन् ।


    रुसको पर्म क्षेत्रमा रहेको एक तेल पम्पिङ स्टेसनमा लगातार दुई दिन आक्रमण गरिएको दाबी युक्रेनले गत बिहीबार गरेको थियो । यो स्थान युक्रेनबाट १,५०० किलोमिटर टाढा पर्छ । पर्मका गभर्नर दिमिर्त्री माक्होनिनमार्फत रुसी मिडियाहरूले पनि आक्रमणको पुष्टि गरेका छन् । तर औद्योगिक पूर्वाधारमा मात्रै ड्रोन आक्रमण भएको माक्होनिनको दाबी छ ।

    बाल्टिक समुद्र किनारको उस्त लुगो क्षेत्रमा मार्चको अन्त्यमा एक साताको अन्तरमा तीन पटक आक्रमण भयो । यो क्षेत्र रुसका ठूला तेल तथा ग्यास निर्यात टर्मिनलमध्ये एक हो । युक्रेनबाट यो क्षेत्र कम्तीमा ८ सय किलोमिटर टाढा छ । आक्रमणको धेरै सातापछि क्षेत्रीय गभर्नर अलेक्ज्यान्द्रर द्रोज्डेन्कोले सेन्ट पिटर्सवर्गसँग जोडिएको उस्त लुगो क्षेत्र हवाई खतराले युद्धमोर्चामा परिणत भएको घोषणा गरे ।

    युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले ती आक्रमणहरूलाई रुसमाथि लगाइएको अन्तर्राष्ट्रिप प्रतिबन्धसँग तुलना गरेका छन् । इरानले हर्मुजको जलघाँटी बन्द गर्दा उत्पन्न वैश्विक ऊर्जा संकटपछि रुसले तेल बिक्री लगातार बढाइरहेका बेला यो आक्रमणलाई अझै महत्त्वपूर्ण रूपमा हेरिएको छ । गत शुक्रबार जेलेन्स्कीले युक्रेनको आक्रमण निकै प्रभावकारी रहेको बताए । तेल निर्यात टर्मिनलहरूमा क्षति पुग्दा रुसले अहिलेसम्म झन्डै ७ अर्ब अमेरिकी डलर बराबरको घाटा व्यहोरिसकेको उनको दाबी थियो । उस्त लुगो र प्रिमोर्स्कजस्ता प्रमुख तेल बन्दरगाहमा तेल चुहिएको जानकारी युक्रेनी गुप्तचर निकायलाई प्राप्त भएको दाबी उनले एक साताअघि गरेका थिए ।

    ड्रोन आक्रमणले रुसको तेल प्रशोधन क्षमतामा समेत बाधा पुगिरहेको विज्ञहरूले बताएका छन् । विज्ञहरूका अनुसार पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धका कारण रुसलाई तत्कालै मर्मतका लागि आवश्यक पार्टपुर्जा ल्याउन पनि कठिन छ । यी सबैका बाबजुद रुसले पश्चिम एसिया संकटको फाइदा उठाइरहेको हुनाले आर्थिक असरको तस्बिर अस्पष्ट छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार गत मार्चमा रुसले औसत दैनिक ७१ लाख ब्यारेल तेल बेच्यो । निर्यात परिमाण र मूल्य दुवै बढ्दा रुस ठूलो फाइदामा छ ।

    रुसले मार्चमा १९ अर्ब अमेरिकी डलरको तेल कारोबार गर्‍यो । जबकि, फेब्रुअरीमा ९ अर्ब ७० करोड डलरमात्रै आम्दानी भएको थियो । ‘फेब्रुअरीताका संकटग्रस्त अवस्थामा पुगेको रुसको तेल क्षेत्र र अर्थतन्त्र दुवैलाई इरानमाथिको अमेरिकी आक्रमणले जोगाइदिएको छ,’ परामर्श कम्पनी म्याक्रो एडभाइजरी लिमिटेडका सीईओ क्रिस वेफरले भने ।

    उनले रुसमा ठूलो विस्फोट भइरहेको देखिए पनि त्यहाँका तेल पूर्वाधारमा भने थोरै क्षति नपुगेको बताए । ‘तेलको ट्यांकरलाई आक्रमण गर्दा आगलागी हुन्छ र धूवाँको मुस्लो उड्छ । झट्ट हेर्दा ठूलै आक्रमण भएजस्तो देखिन्छ । तर, देखिए जति क्षति भएको हुँदैन । तर, त्यस्तो क्षतिले आपूर्तिलाई केही दिनमात्रै ढिला गर्छ,’ उनले भने, ‘पम्प स्टेसन, कम्प्रेसर वा तेल लोड गर्ने पूर्वाधारमा गरिने आक्रमणभन्दा यसले गर्ने हानि कम हुन्छ । रुसमा ट्यांकको दाँजोमा ती पूर्वाधारहरूको सुरक्षा राम्रोसँग गरिएको देखिन्छ । एपी

  • इजरायली आक्रमणमा लेबनानमा हरेक दिन मानवीय क्षति

    इजरायली आक्रमणमा लेबनानमा हरेक दिन मानवीय क्षति

    २० वैशाख, बेरुत । दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसैगरी जररियामा भएको अर्को आक्रमणमा दुई जना महिलासहित चार जनाको मृत्यु भएको र थप चार जना घाइते भएको बताइएको छ ।

    मन्त्रालयले तटीय सहर टायरनजिकै भएको आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य सात जना घाइते भएकोसमेत जनाएको छ । युद्धविरामका बाबजुद इजरायलले यी सबै क्षेत्रमा स्थानीयलाई बाहिर निस्कन चेतावनी दिएको थियो । स्थानीयलाई सहरबाट कम्तीमा एक किलोमिटर टाढा खुला क्षेत्रमा भाग्न आग्रह गरिएको थियो ।

    लेबनानी राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले इजरायली लडाकु विमानहरूले चेतावनी दिएको एक घण्टाभन्दा पनि कम समयमा आक्रमण सुरु गरेको जनाएको छ । एनएनएले टायरसहित दक्षिण लेबनानका विभिन्न स्थानहरूमा इजरायली आक्रमण भएको जनाएको छ । इजरायल र हिजबुल्लाहबीच १७ अप्रिलमा युद्धविराम भएको थियो । तर, इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । इजरायली सेनाले दक्षिणी यारुन सहरका धार्मिक आस्थाका केन्द्र र विद्यालय ध्वस्त पारेको एनएनएले जनाएको छ ।
    रासस-एएफपी

  • मध्यपूर्वका अमेरिकी सैनिक अखडामा इरानी आक्रमणबाट व्यापक क्षति

    मध्यपूर्वका अमेरिकी सैनिक अखडामा इरानी आक्रमणबाट व्यापक क्षति

    वासिङ्टन, वैशाख २० । अमेरिका र इरानबिच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबिचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलमा आक्रमण गरी क्षति पुर्याएका छन् ।

    समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो सैन्य स्थल गम्भीररूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधार लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । एक संसदीय सहयोगीका अनुसार, प्रभावित संरचना मध्यपूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य संरचनाको हिस्सा हुन् । क्षतिको स्तर फरक–फरक रहेको बताइएको छ ।

    केही स्थल पूर्णरूपमा ध्वस्त भई बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् भने केहीलाई रणनीतिक महत्वका कारण मर्मत गरेर पुनः प्रयोग गर्न सकिने आकलन गरिएको छ । उपग्रह तस्बिरका आधारमा इरानले विशेषरूपमा अमेरिकी उन्नत रडार प्रणाली, सञ्चार प्रणाली र हवाई साधनलाई निशाना बनाएको देखिएको छ । यी उपकरण महँगा मात्र नभई सजिलै प्रतिस्थापन गर्न नसकिने भएकाले अमेरिकी सैन्य क्षमतामा यसको प्रत्यक्ष प्रभाव पर्ने बताइएको छ ।

    विशेषज्ञका अनुसार, इरानले लागतको हिसाबले प्रभावकारी लक्ष्य चयन गरेको देखिन्छ, जसले कम स्रोत प्रयोग गरेर अमेरिकालाई ठूलो रणनीतिक क्षति पु्र्याउन मद्दत गरेको छ । यसबिच, अमेरिकी रक्षा निकायका एक उच्च अधिकारीका अनुसार इरानसँगको यो द्वन्द्वले अहिलेसम्म अमेरिकी करदातालाई करिब २५ अर्ब डलर खर्च गराइसकेको छ ।

    यस घटनाक्रमले मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति र रणनीतिमा गम्भीर प्रश्न उठाएको छ । साथै, यसले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनाउने र आगामी दिनमा द्वन्द्व अझ चर्किन सक्ने संकेतसमेत दिएको छ । रासस-सिन्ह्वा

  • अमेरिकाले क्यूवामाथि लगायो आर्थिक नाकावन्दी

    अमेरिकाले क्यूवामाथि लगायो आर्थिक नाकावन्दी

    २० वैशाख, न्युयोर्क — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा सरकारमाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउने उद्देश्यसहित नयाँ कार्यकारी आदेश जारी गरेका छन् । पहिलेदेखि लागू रहेका प्रतिबन्धहरूलाई अझ विस्तार र कडाइका साथ लागू गर्नेगरी उनले नयाँ आदेश जारी गरेका हुन् ।

    यस आदेशअनुसार अमेरिकाभित्र रहेका अमेरिकी नागरिक, संस्था वा व्यक्तिको नियन्त्रणमा रहेका क्युबासँग सम्बन्धित व्यक्तिहरूका सबै प्रकारका सम्पत्ति र आर्थिक कारोबार रोक्का गरिनेछन् । यस्तो सम्पत्ति अब स्थानान्तरण गर्न, बिक्री गर्न, भुक्तानी गर्न वा अन्य कुनै आर्थिक कारोबारमा प्रयोग गर्न पाइने छैन । यसले क्युबासँग जोडिएका व्यक्तिहरूको आर्थिक गतिविधिलाई प्रत्यक्ष रूपमा सीमित गर्नेछ ।

    यो प्रतिबन्ध विशेष रूपमा क्युबाको अर्थतन्त्रका प्रमुख क्षेत्रहरूलाई लक्षित गरिएको छ । ऊर्जा, रक्षा तथा सैन्य सामग्री, धातु तथा खानी, वित्तीय सेवा र सुरक्षा क्षेत्रसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरू यस आदेशको दायरामा पर्नेछन् । साथै, भविष्यमा आवश्यक ठानिएमा अन्य क्षेत्रहरू पनि समावेश गर्न सकिने अधिकार सम्बन्धित निकायलाई दिइएको छ ।

    यस आदेशको अर्को महत्वपूर्ण पक्ष भनेको ‘दोस्रो स्तरको प्रतिबन्ध’ हो । यसको अर्थ, क्युबा सरकार वा प्रतिबन्धित व्यक्ति तथा संस्थासँग आर्थिक कारोबार गर्ने विदेशी व्यक्ति, बैंक वा वित्तीय संस्थाहरू पनि कारबाहीको दायरामा पर्नेछन् । यसले क्युबालाई अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा पहुँच गर्न अझ कठिन बनाउनेछ, किनकि अन्य देशका बैंकहरू पनि अमेरिकी कारबाहीको डरले क्युबासँग कारोबार गर्न हिच्किचाउन सक्छन् ।


    त्यसैगरी, अमेरिकी सरकारले कुनै पनि विदेशी वित्तीय संस्थाले क्युबा सरकारसँग सम्बन्धित व्यक्तिका लागि महत्वपूर्ण कारोबार गरेको पाइएमा त्यसमाथि प्रतिबन्ध, जरिवाना वा अन्य कारबाही गर्न सक्नेछ । यसले क्युबाको अन्तर्राष्ट्रिय व्यापार र लगानीमा थप अवरोध सिर्जना गर्न सक्छ । यो आदेश कार्यान्वयन गर्न अमेरिकी विदेश सचिव र कोष सचिवलाई आवश्यक सबै कदम चाल्ने अधिकार प्रदान गरिएको छ । यसले अमेरिकी प्रशासन क्युबामाथि आर्थिक दबाब बढाएर आफ्नो नीतिगत लक्ष्य हासिल गर्न चाहने देखाउँछ ।

    अमेरिकाले क्युबामाथि करिब ६० वर्षभन्दा बढी समयदेखि विभिन्न प्रकारका प्रतिबन्ध लगाउँदै आएको छ । सन् १९६२ मा औपचारिक रूपमा व्यापक व्यापार नाकाबन्दी लागू गरिएको थियो, जसले दुई देशबीचको आर्थिक सम्बन्धलाई लगभग पूर्ण रूपमा रोकिदिएको थियो। त्यसयता केही समय प्रतिबन्धहरू खुकुलो पारिए पनि धेरैजसो अवस्थामा ती कडा नै रहँदै आएका छन् । यस नयाँ कदमले क्युबाको अर्थतन्त्रमा थप दबाब पर्ने जोखिम छ ।

    रासस–सिन्ह्वा

  • इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

    इरानबाट तेल किन्ने कम्पनीहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने

    २० वैशाख, काठमाडौं । इरानबाट तेल किन्ने पाँच कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनले नमान्ने घोषणा गरेको छ । चीनको वाणिज्य मन्त्रालयले वक्तव्य जारी गर्दै अमेरिकाले लगाएको प्रतिबन्ध नमान्ने घोषणा गरेको हो । वक्तव्यमा भनिएको छ, ‘यी प्रतिबन्धहरूले अन्य देशहरूसँग सामान्य आर्थिक तथा व्यापारिक गतिविधि सञ्चालन गर्न चिनियाँ कम्पनीहरूलाई रोक लगाउँछन् । यसले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन गर्दछ ।’

    मन्त्रालयले अमेरिकाको प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट पार्दै चिनियाँ कम्पनी तथा संस्थाहरूलाई ती प्रतिबन्ध लागू नगर्न निर्देशन दिएको छ । वक्तव्यमा थप भनिएको छ, ‘चिनियाँ सरकारले सधैं संयुक्त राष्ट्रसंघको स्वीकृतिविना र अन्तर्राष्ट्रिय कानुनमा आधारित नभएका एकतर्फी प्रतिबन्धहरूको विरोध गर्दै आएको छ ।’

    अमेरिकाले एक दिनअघि मात्र अर्को एक चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो । अमेरिकाका अनुसार उक्त कम्पनीले ‘लाखौं ब्यारेल’ इरानी कच्चा तेल आयात गरेको र इरानलाई अर्बौं डलर आम्दानी जुटाउन सहयोग गरेको छ । तर चीनको वाणिज्य मन्त्रालयले आफ्नो वक्तव्यमा उक्त कम्पनीको नाम खुलाएको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिनामा चीन भ्रमणमा जाने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बेला अमेरिकाले यी प्रतिबन्धहरू घोषणा गरेको हो ।

  • इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

    इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

    तेहरान, वैशाख २० । इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ । यद्दपी उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।

    सन् २०२५ जुनमा इजरायलसँगको इरानको युद्धलाई उल्लेख गर्दै, “सुरक्षा र सैन्य स्थानको फोटो खिचि मोसाद अधिकारी कहाँ पठाएको अपराधमा करिम्पोरलाई दोषी ठहर गरिएको जनाइएको छ । गत फेब्रुअरी(२८ मा, इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि सुरु भएको युद्धलाई अन्त्य गर्नका लागि अप्रिल(८ देखि युद्धविराम लागु भएको छ ।

    पछिल्लो समयमा इरानले जनवरीमा सामूहिक विरोध प्रदर्शनसँग सम्बन्धित व्यक्तिलाई मृत्युदण्ड दिएको जनाइएको छ जसलाई इजरायल, अमेरिका र प्रतिबन्धित पिपुल्स मुजाहिदीन सङ्गठनसहितका विपक्षी समूहले उक्साएको बताएको छ । यस अघि इरानले युद्ध पूर्वको विरोध प्रदर्शनको क्रममा मध्य प्रान्त इस्फहानमा प्रहरी अधिकारीलाई आक्रमण गरेको आरोपमा ससान आजादवर भनेर चिनिएका व्यक्तिलाई फाँसी दिएको बताएको छ । राससरएएफपी

  • अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा

    अमेरिकाले जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने घोषणा

    वासिङ्टन, वैशाख १९ गते । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएका छन् । मध्यपूर्व युद्धका कारण ट्रान्सएटलान्टिक सम्बन्धमा दरार बढ्दै जाँदा नेटोले शनिबार जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने वाशिङ्टनको निर्णयलाई बुझ्नका लागि अमेरिकासँग समन्वय गरिरहेको बताएको छ ।

    “यो निर्णय युरोपमा अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको सुरक्षा बलको स्थितिको पूर्ण समीक्षापछि आवश्यकता र सर्तहरूको मान्यतामा भएको हो,” पार्नेलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । सन् २०२५ डिसेम्बर ३१ सम्म नेटोको सहयोगी जर्मनीमा ३६ हजार ४३६ सक्रिय–सेवामा अमेरिकी सैनिकहरू रहेका थिए भने इटालीमा १२ हजार ६६२ र स्पेनमा तीन हजार ८१४ अमेरिकी सैनिक थिए।

    जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भनेका छन्, “युरोप र जर्मनीबाट पनि अमेरिकी सेना फिर्तीको अपेक्षा गर्न सकिन्छ।” युरोपेली सङ्घले गत बर्ष हस्ताक्षर गरेको व्यापार सम्झौताको पालना नगरेको आरोपमा अर्को हप्तादेखि लागु हुनेगरी युरोपेली सङ्घबाट अमेरिका आपूर्ति हुने कार र ट्रकहरूमा लगाइदै आएको करको दर बढाएर २५ प्रतिशत पुर्याउने राष्ट्रपति ट्रम्पले बताएका छन् । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले शनिबार भने, “अमेरिकाले युरोप र जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।”

    नेटोका प्रवक्ता एलिसन हार्टले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यो समायोजनले युरोपले प्रतिरक्षामा थप लगानी गर्न र हाम्रो साझा सुरक्षाका लागि ठूलो हिस्सा लिनुपर्ने आवश्यकतालाई जोड दिन्छ ।” रासस, एएफपी

  • नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

    नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

    न्यूयोर्क ।

    रास्वपा समर्थकहरूको विश्व संजाल प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाले झण्डै दुईतिहाईको आफ्नै दल रास्वपाको बालेन सरकारले छलफलको लागि भन्दै जारी गरेको विवादास्पद ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले समस्त प्रवासी नेपालीहरूको सपना, आकांक्षा र योजनामा कुठाराघात गरेको भन्दै सो विधेयकमा समावेश विवादास्पद प्रावधानहरू तत्काल फिर्ता लिन आग्रह गरेको छ। साथै, सरोकारवालाहरूलाई संलग्न गराई प्राप्त हुने सुझावहरूलाई समावेश गरी प्रवासी नेपालीको आकाँक्षा अनुरूप बंशजको नागरिकताको निरन्तरता मैत्री विधेयक जारी गरी कार्यान्वयनमा ल्याउन समेत विभागले जोडदार माग गरेको छ। यसैबिच, अप्रिल ३० तारिख न्यू योर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलाई विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेटेर ज्ञापनपत्र बुझाएको छ।

    सो ज्ञापनपत्रमा प्रवास विभागका केन्द्रिय र राज्य समितिका गरी ३२ जनाले हस्ताक्षर गरेकाछन्। प्रवासमा रहेका नेपालीहरूको हकअधिकारको सुनिश्चितताको निम्ति रास्वापाको नागरिक करार र सरकारको राष्ट्रिय प्रतिवद्धतामा उल्लेख बंशजको नागरिकताको निरन्तरता कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाईएको हो।

    सो ज्ञापनपत्र प्रधानमन्त्री बालेन्द्र शाहका अलावा सभामुख डिपि अर्याल, रास्वपा सभापति रवि लामिछाने, परराष्ट्र मन्त्री शिशिर खनाल, कानून मन्त्री सोविता गौतम, कानून, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सांसदहरू, संविधान संशोधन बहस पत्र तयारी समितिका संयोजक असीम शाह, राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालय सदस्यहरू र रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, नेपालका प्रमुख दीपक बोहरालाई समेत विभिन्न माध्यमबाट बुझाईएको छ।

    प्रवास विभाग अमेरिकाले नेपाली महावाणिज्यदूत न्यूयोर्कको साथै नेपाली राजदूतावास वासिंगटन डिसि, महावाणिज्यदूत डालस, टेक्सास र महावाणिज्यदूत, सान फ्रान्सिस्को, क्यालिफोर्नियामार्फत पनि ज्ञापनपत्र बुझाएर थप दबाब सृजना गर्ने कुरा विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीले जानकारी गराए।

    ज्ञापनपत्रमा उल्लेख गरिएको माग प्रकाशित पत्रमार्फत पूर्ण पाठ पढ्नुहोस्

  • दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षामा

    दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षामा

    न्युयोर्क, वैशाख १७ । दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म ७८ लाख मानिसलाई चरम खाद्य असुरक्षाको अवस्थामा धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाले दिएका छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आइपिसी) रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । रिपोर्टमा उल्लेखित तथ्याङ्कले दक्षिणी सुडानको कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिस हाल तीव्र खाद्य असुरक्षाको सामना गर्न बाध्य भएको जनाएको छ ।

    प्रतिवेदन अनुसार ७३ हजार ३०० मानिसले दुःखद एंव “विनाशकारी” भोकमरी सङ्कटकोे सामना गरिरहेका छन् । यस अघि २५ लाख मानिस भोकमरीको आपतकालीन चरणको सामना गर्दै बाँचिरहेको बताइएको थियो भने ५३ लाख मानिसहरू सङ्कटको चरणमा बाँचिरहेका छन् । संयुक्त राष्ट्र सङ्घका एजेन्सीले बढ्दो द्वन्द्व, सामूहिक विस्थापन, आर्थिक गिरावट, जलवायु परिवर्तन कृषि उत्पादनमा कमीको कारण यो सङ्कट बढेको बताएका छन् । आइपिसी रिपोर्ट संयुक्त राष्ट्रका एजेन्सी, क्षेत्रीय साझेदार र सहायता संस्थाको समन्वयमा गरिने विश्वव्यापी पहल हो यसले खाद्य असुरक्षालाई विभिन्न पाँच चरणमा वर्गीकृत गरी अध्यन अनुसन्धान गर्दछ । रासस-क्युएनए

  • भारतले खर्बौ लगानीको योजना बनाएको निकोबार परियोजनामा किन भइरहेको छ विवाद ?

    भारतले खर्बौ लगानीको योजना बनाएको निकोबार परियोजनामा किन भइरहेको छ विवाद ?

    नयाँदिल्ली, वैशाख १७ । भारतको रणनीतिक रूपमा महत्त्वपूर्ण ग्रेट निकोबार टापुमा प्रस्तावित बहु–अर्ब डलरको मेगापोर्ट तथा सहर विकास योजनाले राजनीतिक, वातावरणीय र मानवअधिकार सम्बन्धी गम्भीर बहस चर्काएको छ । विपक्षी नेता राहुल गान्धीले यस परियोजनालाई ‘विकासको नाममा विनाश’ भन्दै कडा आलोचना गरेका छन् र यसविरुद्ध अभियान चलाउने सङ्केत दिएका छन् ।


    नयाँदिल्लीबाट करिब तीन हजार किलोमिटर टाढा अवस्थित ग्रेट निकोबार टापु विश्वकै व्यस्त जलमार्ग स्ट्रेट अफ मलक्काको प्रवेशद्वार नजिक पर्छ । यहाँबाट करिब ३० प्रतिशत विश्व समुद्री व्यापार आवतजावत हुने गर्छ । यही भूराजनीतिक महत्त्वलाई ध्यानमा राख्दै भारत सरकारले करिब नौ अर्ब डलर लागतमा कन्टेनर बन्दरगाह, अन्तर्राष्ट्रिय विमानस्थल र नयाँ सहर निर्माणसहितको व्यापक विकास योजना अघि बढाएको हो ।

    तर यो योजनाले ९१० वर्गकिलोमिटर क्षेत्रफलको टापुमा फैलिएको प्राचीन वर्षावन तथा त्यहाँ सदियौँदेखि बसोवास गर्दै आएका आदिवासी समुदायको अस्तित्वमाथि नै प्रश्न उठाएको भन्दै विरोध बढेको छ । राहुल गान्धीले टापुको भ्रमणका क्रममा सार्वजनिक भिडियो सन्देशमार्फत आफूले देखेको अवस्थालाई ‘देशको प्राकृतिक र आदिवासी सम्पदामाथिको गम्भीर आक्रमण’ को संज्ञा दिए ।


    उनका अनुसार यो कुनै साधारण विकास परियोजना नभई लाखौँ रुख काटिने, करिब १६० वर्गकिलोमिटर वर्षावन नष्ट गरिने र स्थानीय समुदाय विस्थापित हुने प्रक्रिया हो । उनले आदिवासीको भूमि र जीवनशैलीलाई बेवास्ता गरिएको आरोप लगाउँदै यस्तो योजनालाई रोक्न पहल गर्ने स्पष्ट पारे । यता प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस परियोजनालाई राष्ट्रिय हितसँग जोड्दै रणनीतिक, रक्षा र आर्थिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण ठहर गरेका छन् ।


    भारतको वातावरणीय अदालतले पनि गत फेब्रुअरीमा यस योजनालाई स्वीकृति दिएको छ, जसले सरकारलाई परियोजना अघि बढाउन कानुनी आधार दिएको छ । सरकारका तर्फबाट वातावरणमन्त्री भूपेन्द्र यादवले परियोजनाले स्थानीय आदिवासी समुदायलाई कुनै खतरा नपार्ने र पर्यावरणीय सन्तुलनलाई असर नगर्ने दाबी गर्नुभएको छ । तर अधिकारकर्मी र अन्तर्राष्ट्रिय संस्थाले यस दाबीमाथि प्रश्न उठाउँदै आएका छन् ।

    सर्वाइवल इन्टरनेसनलका अनुसार ग्रेट निकोबार टापुमा करिब नौ हजार मानिस बसोवास गर्छन् । तीमध्ये करिब एक हजार २०० जना निकोबारी र सोम्पेन जस्ता आदिवासी समूहका छन् । विशेष गरी सोम्पेन समुदाय अझै बाह्य सम्पर्कबाट टाढा रहँदै आएको सिकारी जीवनशैलीमा निर्भर समूह हो । संस्थाकी प्रतिनिधि सोफी ग्रिगले यस परियोजनाले स्थानीय वातावरण मात्र नभई, सम्पर्कविहीन आदिवासी समुदायको अस्तित्वमै गम्भीर सङ्कट ल्याउने चेतावनी दिए ।

    उनले मेगापोर्ट योजनालाई ‘गलत अवधारणामा आधारित’ भन्दै यसले सम्पूर्ण समुदाय नै लोप हुने खतरा निम्त्याउन सक्ने उल्लेख गरे । एकातिर रणनीतिक र आर्थिक विकासको तर्क प्रस्तुत भइरहेको र अर्कोतिर वातावरण संरक्षण र आदिवासी अधिकारको प्रश्न बलियो रूपमा उठिरहेको यी परस्पर विरोधी दृष्टिकोणबिच ग्रेट निकोबार परियोजना अब केवल पूर्वाधार विकासको मुद्दा नभई दीर्घकालीन प्रभाव र नैतिक उत्तरदायित्वको बहसमा परिणत भएको छ । रासस-एएफपी

  • दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको सजाय बढाइयो

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको सजाय बढाइयो

    सियोल, वैशाख १७ । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानुनी कारबाही थप कठोर बन्दै गएको छ । न्याय प्रक्रियामा अवरोध पुर्‍याएको अभियोगमा पहिले दिइएको पाँच वर्षको जेल सजायलाई उच्च अदालतले बढाएर सात वर्ष पुर्‍याएको छ । यसले उहाँमाथिको कानुनी सङ्कट अझ गहिरिएको सङ्केत दिएको छ ।

    सियोल उच्च अदालतले बुधबार गरेको फैसलामा युनको कार्यलाई ‘अत्यधिक निन्दनीय’ ठहर गर्दै सजाय बढाएको हो । अदालतका न्यायाधीशका अनुसार युनले पक्राउ वारेन्ट कार्यान्वयनमा अवरोध पुर्‍याउने प्रयास मात्र नगरेर राज्यका सुरक्षाकर्मीलाई निजी प्रयोजनका लागि प्रयोग गर्न खोज्नुभएको थियो ।

    यसअघि जनवरीमा तल्लो अदालतले राष्ट्रपति सुरक्षा एजेन्सीका सदस्यलाई प्रयोग गरेर आफ्नै गिरफ्तारी रोक्न खोजेको प्रमाणित भएपछि पाँच वर्षको सजाय सुनाएको थियो । त्यस निर्णयविरुद्ध युन र अभियोजन पक्ष दुवैले अपिल गरेका थिए । युनले आफ्नो गिरफ्तारी वारेन्ट नै ‘गैरकानुनी अनुसन्धान’ मा आधारित रहेको दाबी गर्नुभएको थियो भने विशेष अभियोजकले उहाँको अपराधको गम्भीरता हेर्दा कम्तीमा १० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए ।

    उच्च अदालतले भने दुवै पक्षका तर्क सुनेपछि सजाय बढाएर सात वर्ष कायम गरेको हो । फैसलामा अदालतले सार्वजनिक पदको दुरुपयोग गर्दै राज्य संयन्त्रलाई व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्न खोज्नु कानुनी शासनविरुद्धको गम्भीर कार्य भएको उल्लेख गरेको छ । फैसला सुनुवाइका क्रममा कालो सूट र सेतो सर्टमा अदालतमा उपस्थित युनले कुनै विशेष प्रतिक्रिया नदेखाएको जनाइएको छ ।

    युन सुक योलले पहिले नै अर्को गम्भीर मुद्दामा सजाय भोगिरहनुभएको छ । सन् २०२४ को अन्त्यतिर मार्सल ल लागु गर्ने असफल प्रयाससँग जोडिएको विद्रोहको नेतृत्व गरेको अभियोगमा उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको छ । यस नयाँ फैसलाले उहाँमाथिको राजनीतिक र कानुनी भविष्य थप जटिल बनेको देखिएको छ । रासस-एएफपी

  • मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

    मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

    लन्डन, वैशाख १७ । युरोपेली सङ्घ (इयू)ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिकरूपमा दबाब बढाएको छ । नियामकले फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा कम उमेरका प्रयोगकर्तालाई रोक्न असफल भएको निष्कर्ष सार्वजनिक गर्दै कडा कारबाहीको चेतावनी दिएका छन् ।

    इयुको कार्यकारी निकाय युरोपेली आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनमा मेटाले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्लेटफर्ममा साइन अप गर्नबाट रोक्न प्रभावकारी प्रणाली विकास गर्न नसकेको जनाएको छ । आयोगका अनुसार खाता खोलिसकेपछि पनि यस्ता प्रयोगकर्तालाई पहिचान गरी हटाउने काम पर्याप्तरूपमा भइरहेको छैन ।

    मेटाले आफ्नै नियम अनुसार फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न न्यूनतम उमेर १३ वर्ष तोकेको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर देखिएको आयोगको ठहर छ । यसले बालबालिकालाई प्लेटफर्ममा प्रवेश मात्र होइन, उनीहरूलाई उमेर अनुसार अनुपयुक्त सामग्री र अनुभवको जोखिममा पनि राखिरहेको उल्लेख गरिएको छ ।

    यो मुद्दा केवल पहुँचमा सीमित नभएको आयोगले जनाएको छ । १३ वर्षमुनिका बालबालिकाले प्लेटफर्म प्रयोग गर्दा उनीहरू कस्तो सामग्रीसँग सम्पर्कमा आउँछन् भन्ने जोखिमको मूल्याङ्कनसमेत मेटाले पर्याप्तरूपमा नगरेको निष्कर्ष निकालिएको छ । युरोपेली आयोगले यो कारबाही डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत अघि बढाएको हो । उक्त ऐनले २७ सदस्य राष्ट्रमा सञ्चालन गर्ने ठुला प्रविधि कम्पनीलाई प्रयोगकर्ताको सुरक्षा, विशेष गरी नाबालिगको सुरक्षामा थप जिम्मेवार बनाउने व्यवस्था गरेको छ ।

    आयोगका कार्यकारी उपाध्यक्ष हेना विर्ककुनेनले सन् २०२४ देखि सुरु गरिएको अनुसन्धानले मेटाका प्लेटफर्मले आफ्नै नियम र सर्तमा १३ वर्षमुनिका प्रयोगकर्तालाई लक्षित नगर्ने उल्लेख गरे पनि व्यवहारमा त्यसलाई लागु गर्न ‘अत्यन्त सीमित प्रयास’ मात्र गरिएको देखाएको बताउनुभयो । उहाँका अनुसार नियम केवल कागजमा सीमित नहुने, प्रयोगकर्ताको सुरक्षाका लागि ठोस कार्यमा रूपान्तरण हुनुपर्ने स्पष्ट सन्देश दिनुपर्ने समय आएको छ ।

    अब मेटालाई आयोगको प्रारम्भिक निष्कर्षमा आफ्नो प्रतिक्रिया दिने अवसर दिइने छ । अन्तिम निर्णयपछि यदि उल्लङ्घन प्रमाणित भएमा कम्पनीलाई विश्वव्यापी वार्षिक आम्दानीको छ प्रतिशतसम्म जरिवाना लगाइने सम्भावना रहेको छ । यस विषयमा मेटाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । इयूको यो कदमले विश्वभर सामाजिक सञ्जाल कम्पनीमाथि बालसुरक्षा सम्बन्धी जिम्मेवारी कडा पार्ने सङ्केतका रूपमा हेरिएको छ । रासस-एपी

  • मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड, चार हजार पक्राउ

    मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड, चार हजार पक्राउ

    जेनेभा, वैशाख १७ । इरानले मध्यपूर्व युद्ध सुरु भएदेखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजार भन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । गत फेब्रुअरीको अन्त्यमा भएको आक्रमणको कारण युद्ध सुरु भएदेखि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनको क्रममा कम्तिमा नौ जनालाई मृत्युदण्ड दिइएको जनाइएको छ ।

    यसै गरी थप १० जनालाई विपक्षी समूहको सदस्यता लिएको आरोपमा र दुई जनालाई जासुसीको आरोपमा मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयले जनाएको छ । यसैबिच चार हजार भन्दा बढी मानिसलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयका आधारमा पक्राउ गरिएको अनुमान गरिएको छ ।

    द्वन्द्वको क्रममा धेरै कैदी जबरजस्ती बेपत्ता, यातना वा क्रूर, अमानवीय र अपमानजनक व्यवहारको सिकार भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले आरोपको जबरजस्ती स्वीकारोक्ति लगायतका गम्भीर आरोपले इरानी जनताको अधिकार सिमित गरेको उल्लेख गर्दै विज्ञप्ति जारी गर्नु भएको छ ।

    उहाँले अधिकारीहरूलाई थप मृत्युदण्डमा रोक लगाउन, उचित प्रक्रियाबाट निष्पक्ष परीक्षणको पूर्ण ग्यारेन्टी सुनिश्चित गर्न र मनमानी ढङ्गले हिरासतमा राखिएका व्यक्तिलाई तुरुन्तै रिहा गर्न आह्वान गर्नु भएको छ । एम्नेस्टी इन्टरनेसनल लगायतका अधिकार समूहले इरानले प्रत्येक वर्ष विभिन्न आरोपमा मानिसलाई मृत्युदण्ड दिँदै आएको छ । रासस-एएफपी

  • सन् २०३० सम्म २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउँदै अफगानिस्तान

    सन् २०३० सम्म २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउँदै अफगानिस्तान

    काबुल, वैशाख १६ गते । पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ । बालिका तथा केटीको शिक्षा र महिलाको रोजगारीमा प्रतिबन्धका कारण सन् २०३० सम्ममा २५ हजार भन्दा बढी महिला शिक्षक र स्वास्थ्य कार्यकर्ता गुमाउने संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युनिसेफले चेतावनी दिएको छ ।

    युनिसेफले अफगानीस्तानको पछिल्लो परिस्थितिलाई दोहोरो सङ्कटको रूपमा वर्णन गर्दै महिलालाई उच्च शिक्षामा बहिष्कारको विरुद्धमा कार्य गर्दै उनीहरूलाई शैक्षिक पहुँच विहिन हुनुबाट रोकेको जनाएको छ । प्रतिवेदनका अनुसार चालु दशकको अन्त्य सम्ममा देशले २० हजार महिला शिक्षक र पाँच हजार चार सय स्वास्थ्यकर्मी गुमाउन सक्ने अनुमान गरिएको छ ।

    सन् २०२१ सेप्टेम्बरबाट अफगान सरकारले बालिकालाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएपछि, १० लाख भन्दा बढी बालिका आफ्नो सिकाइ अधिकारबाट बञ्चित भएको युनिसेफले जनाएको छ । यदि यो प्रतिबन्ध सन् २०३० सम्म कायम रह्यो भने २० लाख भन्दा बढी बालिका प्राथमिक तहकै विद्यालय पहुँचभन्दा बाहिर रहने चेतावनी युनिसेफले जनाएको छ ।

    अफगानिस्तानमा केटीलाई हाल कक्षा–छ भन्दा माथिको शिक्षाका लागि प्रतिबन्ध लगाइएको भने महिलालाई अर्को सूचना नआएसम्म विश्वविद्यालयमा उपस्थित हुन निषेध गरिएको छ । प्रतिवेदनले अफगान सरकारलाई केटीको माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्ध तुरुन्तै हटाउन आग्रह गरेको छ , भने अन्तर्राष्ट्रिय समुदायलाई अफगान बालिकाको शिक्षाको मौलिक अधिकारको संरक्षणमा सहयोग गर्न आह्वान गरेको छ । रासस-सिन्ह्वा

  • ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

    ट्रम्प भन्छन् : इरान ध्वस्त हुने अवस्था नजिक छ

    १६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ध्वस्त हुने अवस्थाको नजिक पुगेको र सकेसम्म छिटो स्ट्रेट अफ होर्मुज खुलाउन चाहिरहेको दाबी गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै इरानले अमेरिकालाई आफू ‘ध्वस्त हुने अवस्था’ (स्टेट अफ कोल्याप्स) मा पुगेको जानकारी दिएको बताएका हुन् । उनले भनेका छन्– समुद्री आवागमन सामान्य बनाउन इरान छिट्टै स्ट्रेट अफ होर्मुज खुलाउन चाहन्छ । अहिले इरान आफ्नो नेतृत्व अवस्था सम्हाल्ने प्रयासमा रहेको र हालको अवस्थाबाट बाहिरिन चाहेको ट्रम्पको भनाइ छ ।

    यता इरानले भने ट्रम्पको दबाब नस्वीकार्ने स्पष्ट पारेको छ । रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाएई–निकले अमेरिका अब अरू देशलाई के गर्नुपर्छ भनेर निर्देशन दिने अवस्थामा नरहेको बताए । साथै, अमेरिकाले आफ्ना गलत मागहरू त्याग्नुपर्ने पनि उनले बताएका छन् । अमेरिका, इरान र इजरायलबीच हाल युद्धविराम लागू भए पनि द्वन्द्व अन्त्यका लागि भइरहेको वार्ताले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

    स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट इन्धन ढुवानी अझै पनि सहज हुन सकेको छैन । स्ट्रेट अफ होर्मुज विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो । यहाँबाट ठूलो मात्रामा तेल र ग्यास आपूर्ति हुने भएकाले यस क्षेत्रमा तनाव बढ्दा विश्व बजारमा असर पर्छ ।

    इरानले अमेरिकासँग राख्यो तीन सर्त, ट्रम्पले गरे अस्वीकार

    इरानले अमेरिकासँग वार्ताका लागि तीन सर्त अघि सार्दै स्ट्रेट अफ होर्मुजमा अमेरिकाले गरेको नाकाबन्दी हटाउन आग्रह गरेको छ । द न्यूयोर्क टाइम्स का अनुसार तीन इरानी अधिकारीहरूको भनाइ उद्धृत गर्दै यो जानकारी दिइएको हो । रिपोर्टअनुसार, इरानले आइतबार अमेरिकालाई वार्ताका लागि नयाँ प्रस्ताव दिएको थियो ।

    यस प्रस्तावमा मुख्य रूपमा तीन सर्तहरू समावेश थिए

    १. अमेरिका–इजरायलसँग चलिरहेको युद्ध अन्त्य होस् र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी दिइयोस्

    २. त्यसपछि अमेरिकाले समुद्री नाकाबन्दी हटाओस्, होर्मुज खुलोस् र जहाजहरूको आवागमन पुनस् सुरु होस्

    ३. अन्त्यमा मात्र परमाणु कार्यक्रम र युरेनियम समृद्धीकरणजस्ता विवादित विषयमा वार्ता होस् ।

    तर ट्रम्प यो प्रस्ताव स्वीकार गर्न तयार छैनन् । सीएनएनका अनुसार परमाणु कार्यक्रमको मुद्दा समाधान नगरी होर्मुज खोल्दा वार्तामा अमेरिकी पक्ष कमजोर हुन सक्ने ट्रम्प प्रशासनको धारणा छ । त्यसैले यी दुवै विषयको समाधान एकैपटक हुनुपर्ने उनीहरूको अडान छ ।

    इरानको परमाणु कार्यक्रममा अड्किएको वार्ता

    ट्रम्पले दुई दिनमै दोस्रोपटक इरानको प्रस्ताव अस्वीकार गरेका छन् । पछिल्ला केही हप्तादेखि इरान र अमेरिकाबीच पाकिस्तानमार्फत प्रस्ताव आदान–प्रदान भइरहेको भए पनि परमाणु कार्यक्रमसँग सम्बन्धित महत्वपूर्ण विषयमा सहमति बन्न सकेको छैन ।

    इरानले २० वर्षसम्म आफ्नो परमाणु कार्यक्रम स्थगित गरोस् र आफूसँग रहेको ४४० किलो समृद्ध युरेनियम हस्तान्तरण गरोस् भन्ने अमेरिकाको माग छ । इरानले यी मागहरू अत्यधिक र अनुचित भन्दै अस्वीकार गरिसकेको छ ।

  • इन्डोनेसियामा रेल दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु

    इन्डोनेसियामा रेल दुर्घटना, कम्तिमा १४ जनाको मृत्यु

    जकार्ता, वैशाख १६ । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटनापछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गरे । रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गरे ।

    उनका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ भने ८४ जना घाइतेहरूले विभिन्न स्वास्थ्य सुविधाहरूमा उपचारका लागि लगिएको छ । स्थानीय समय अनुसार वेलुका करिब ८ः५० मा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरु एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ । रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् । रासससिन्ह्वा

  • बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

    बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

    ओडिशा, वैशाख १६ । भारतको ओडिशा राज्यस्थित केन्दुझार जिल्लामा मानवीय संवेदनालाई नै स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भएको छ । स्थानीय एक ग्रामीण बैँकले आफ्नी मृत बहिनीको खातामा रहेको रकम भुक्तानी दिन अस्वीकार गरेपछि एक व्यक्तिले चिहान खनेर बहिनीको अस्थिपञ्जर नै बैँक पुर्‍याएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार, केन्दुझार जिल्लाको डियानाली गाउँका ५० वर्षीय जितु मुण्डाले आफ्नी बहिनी कालरा मुण्डाको खातामा रहेको १९ हजार ३०० भारु निकाल्न पटक–पटक बैँक धाए । तर, बैँकका कर्मचारीले खातावालालाई नै उपस्थित गराउनुपर्ने अडान राख्दै उनलाई रित्तो हात फर्काउने गरेका थिए ।

    जितुले आफ्नी बहिनीको मृत्यु भइसकेको जानकारी दिँदा समेत बैँक प्रशासनले पत्याउनुको साटो उल्टै प्रमाणका रूपमा खातावालालाई नै उपस्थित गराउन दबाब दिएपछि पीडित मुण्डाले यो कदम चालेका हुन् । करिब दुई महिनाअघि मृत्यु भई गाडिएकी बहिनीको कङ्काल चिहानबाट निकालेर उहाँले बैँकको गेटमा पुगेपछि स्थानीय प्रशासन र प्रहरीमा खैलाबैला मच्चिएको थियो ।

    अशिक्षित र विपन्न वर्गका मुण्डाले मृत्युदर्ता र कानुनी हकवालाको प्रक्रियाका बारेमा अनभिज्ञ रहेका कारण कर्मचारीको व्यवहारबाट आजित भएर कङ्काल नै प्रमाणका रूपमा पेस गर्नुपरेको बताए । घटनाको जानकारी पाउनासाथ पटना प्रहरी चौकीका अधिकारी घटनास्थल पुगेर जितुलाई सम्झाइबुझाई गरेका थिए ।
    प्रहरीको हस्तक्षेपपछि बैँक प्रशासनले प्रक्रिया सहज बनाउने आश्वासन दिएको छ । उक्त कङ्काललाई पुनः धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ । यो घटनाले आधुनिक बैङ्किङ प्रणाली र कर्मचारीतन्त्रमा संवेदनाको खडेरी परेको भन्दै आलोचना भइरहेको छ ।

  • मालीका रक्षामन्त्री आत्मघाती विष्फोटमा गरी मारिए

    मालीका रक्षामन्त्री आत्मघाती विष्फोटमा गरी मारिए

    १४ वैशाख, काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते भएका रक्षामन्त्रीको मृत्यु भएको समाचार प्रसारण गरेको छ ।

    मालीका राष्ट्रपति असीमी गोइताको निवासलाई पनि लक्षित गरेर आक्रमण भएको बताइएको छ । उनलाई सुरक्षित स्थानमा लगिएको छ । माली यतिबेला हिंसा र अस्थिरताबाट गुज्रिरहेको छ । राजधानी बमाको र अन्य कयौं सहरहरूमा चरमपन्थी समूहहरुले शनिबार बिहानैदेखि आक्रमण गर्दै आएका छन् । सैन्य शासन रहेको मालीमा सैनिक ब्यारेक, रक्षामन्त्रीको घर र अन्य क्षेत्रमा आक्रमण भएको भएको थियो ।

    चरमपन्थी संगठन आजावाद लिबरेसन फ्रन्ट (एफ.एल.ए.ले रूसी भाडाका सिपाही पछि हटेपछि सहर अब आफ्नो कब्जामा रहेको दाबी गरेको छ ।
    पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय एउटा प्रमुख विद्रोही तथा चरमपन्थी समूह ‘जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जे.एन.आई.एम.)ले एक विज्ञप्ति जारी गर्दै यस आक्रमणमा आफ्नो संलग्नता रहेको जनाएको थियो । उसले मालीको उत्तरी क्षेत्रमा सक्रिय अर्को विद्रोही समूह एफ.एल.ए.सँग समन्वय गरेर आक्रमण गरेको पुष्टि गरेको थियो ।

    उनीहरूले देशका नेता जनरल गोइटा र रक्षामन्त्री कमाराको घर लगायतका सैन्य अखडाहरूलाई निशाना बनाएको बताएका थिए । अलजजिराले यस स्तरको समन्वयात्मक आक्रमणलाई ‘अभूतपूर्व’ भन्दै सैन्य पङ्क्तिमा ‘त्रासको वातावरण’ सिर्जना भएको बताएको छ । युरोपेली काउन्सिल अन फरेन रिलेसन्सका अफ्रिका निर्देशक एलेक्स वाइन्सका अनुसार मालीका अधिकारीहरू यस प्रकारको आक्रमणबाट आश्चर्यचकित भएको बताएका छन् । उनले भनेका छन्, ‘यसले देखाउँछ कि विद्रोही समूहहरू घातक छन् र उनीहरू मालीका अधिकारीहरूलाई कमजोर बनाउन र विभाजित गर्न चाहन्छन् ।’

    सन् २०२० र २०२१ को कु (सैन्य विद्रोह)पछि सत्तामा आएका आसिमी गोइटाले सुरक्षा पुनस्स्थापना गर्ने वाचा गरे पनि देश अझै संघर्षरत छ । मालीले हाल फ्रान्ससँगको सम्बन्ध तोडेर रुसी ‘अफ्रिका कर्प्स’ (पूर्व वाग्नर समूह) को सहयोग लिइरहेको छ । यद्यपि, रुस–युक्रेन युद्धका कारण केही रुसी सिपाहीहरू मालीबाट फिर्ता बोलाइएकाले सुरक्षा स्थितिमा असर परेको बताइएको छ ।

  • इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठुलो क्षति

    इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठुलो क्षति

    बग्दाद, वैशाख १३ गते । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा फेब्रुअरी २८ देखि अप्रिल २० सम्म ड्रोन र क्षेप्यास्त्रबाट ८०९ आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ती आक्रमणमा २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् । कुर्दिस्तान क्षेत्रीय सरकारको सञ्चार तथा सूचना विभागले जारी गरेको विज्ञप्ति अनुसार अधिकांश आक्रमण नागरिक क्षेत्रलाई लक्षित गरेर गरिएको थियो, यद्यपि क्षेत्रले जारी क्षेत्रीय द्वन्द्वमा तटस्थता घोषणा गरेको छ ।

    विज्ञप्तिमा नागरिक र निजी क्षेत्रले सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति बेहोरेको उल्लेख गरिएको छ । एरबिल प्रान्तमा सबैभन्दा धेरै ४७७ आक्रमण भएका छन्, जसमा ४१९ ड्रोन आक्रमण र ५८ क्षेप्यास्त्र आक्रमण समावेश छन् । ती आक्रमणमा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।

    कुर्दिस्तान क्षेत्रीय सरकारले विभिन्न ‘आधारहीन बहानामा’ नागरिक क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । यी आक्रमणहरू फेब्रुअरी २८ देखि सुरु भएको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि क्षेत्रीय तनाव बढेका बेला भएका हुन्, जसको प्रतिक्रिया स्वरूप इरान र उसका सहयोगीहरूले मध्यपूर्वभर अमेरिकी र इजरायली स्वार्थलाई लक्षित गर्दै आक्रमण गरेका छन् । रासस-सिन्ह्वा

  • कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

    कोलम्बियामा बम आक्रमण : ७ जनाको मृत्यु, २० भन्दा बढी घाइते

    दबोगोटा, वैशाख १३ गते । कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका छन् । रिपोर्टका अनुसार काली र पोपायान जोड्ने पान(अमेरिकी राजमार्गको एल टुनेल क्षेत्रमा गुडिरहेको बसमा बम प्रहार गरिएको थियो, जसले बसको छाना र झ्यालमा गम्भीर क्षति पुर्याएको छ साथै राजमार्गमा पनि नोक्सानी भएको देखिन्छ ।

    प्रत्यक्षदर्शी चालकका अनुसार हतियारधारी व्यक्तिले एक ट्रक र बस अपहरण गरी सडक अवरुद्ध बनाएका थिए र ती सवारी साधनमा एक विद्रोही समूहसँग सम्बन्धित नारा लेखिएका थिए । काउका विभागका गभर्नर अक्टाभियो गुज्मानले यसलाई नागरिकमाथिको अन्धाधुन्ध आक्रमण भन्दै कडा निन्दा गरेका छन् र सुरक्षा निकाय घटना स्थलमा खटिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा जनताको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका छन् । रासस-सिन्ह्वा

  • इरानले दबाबमा परेर वार्ता गर्ने छैनः इरानी राष्ट्रपति

    इरानले दबाबमा परेर वार्ता गर्ने छैनः इरानी राष्ट्रपति

    तेहरान, वैशाख १३ गते । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन् । उनले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति सङ्केत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोनवार्तामा भने, “दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन ।”

    कुराकानीका क्रममा उनले अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन गरिरहेको र वार्ता र युद्धविरामको क्रममा दबाबको नीति अपनाइरहेको आरोप लगाए । अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन भएको र यस्ता कार्य र धम्कीपूर्ण भनाइले शान्ति प्रक्रियामाथिको विश्वासलाई कमजोर पार्ने इरानका राष्ट्रपति पेजेश्कियानले बताए ।


    पेजेश्कियानले इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण प्रतिबद्ध रहेको र अमेरिका वा इजरायलको कुनै पनि नयाँ टकरावको अवस्थाले क्षेत्रीय र विश्वव्यापी स्थिरतालाई असर गर्ने गम्भीर परिणाम हुन सक्ने बताए । उनले इरानले आफ्ना छिमेकी देशसँग राम्रो सम्बन्ध र आपसी सम्मानका आधारमा सम्बन्ध बलियो बनाउन चाहेको पनि बताए । यी देशले बाह्य हस्तक्षेपबाट टाढा रहेर क्षेत्रीय शान्ति र सुरक्षालाई बलियो बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । रासस–एएफपी

  • मालीको राजधानीमा भीषण आक्रमण, अहिलेसम्म के छ अपडेट ?

    मालीको राजधानीमा भीषण आक्रमण, अहिलेसम्म के छ अपडेट ?

    १३ वैशाख, काठमाडौं । मालीको राजधानी बामाको सहित देशका विभिन्न स्थानमा एकैसाथ आक्रमण भएको छ । सैन्य शासन रहेको मालीमा शनिबार बिहानै ‘आतंकवादी समूहहरू’ले सैनिक ब्यारेक र अन्य क्षेत्रमा आक्रमण गरेको सेनाले जनाएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेभन्दा केही समयअघि मालीको मुख्य सैन्य आधार ‘काटी’ नजिकै दुईवटा ठूला विस्फोट र निरन्तर गोलाबारीको आवाज सुनिएको थियो । यो सैन्य आधार मालीका सैन्य शासक जनरल आसिमी गोइटाको निवास पनि हो । राष्ट्रपति आसिमी गोइटा हाल कहाँ छन् भन्ने स्पष्ट जानकारी आइसकेको छैन ।

    काटीका बासिन्दाहरूका अनुसार रक्षामन्त्री जनरल सादियो कमाराको घरलाई समेत निशाना बनाइएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार कमाराको घरमा क्षति पुगेको छ । एएफपीले भने रक्षामन्त्री त्यस समयमा घरमा नरहेको र सुरक्षित रहेको बताएको छ । बामाको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पनि भारी हतियार र स्वचालित राइफलको आवाज सुनिएको थियो, जुन शहरको केन्द्रबाट करिब १५ किलोमिटर टाढा पर्दछ ।

    देशका अन्य भागमा अशान्ति

    राजधानीमा आक्रमण भएकै समयमा मध्य मालीको सेभारे, उत्तरी शहर किडल र गाओमा पनि यस्तै किसिमको अशान्ति देखिएको अलजजिराले जनाएको छ । पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय एउटा प्रमुख विद्रोही तथा चरमपन्थी समूह ‘जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जे.एन.आई.एम.)ले एक विज्ञप्ति जारी गर्दै यस आक्रमणमा आफ्नो संलग्नता रहेको जनाएको छ । उसले मालीको उत्तरी क्षेत्रमा सक्रिय अर्को विद्रोही समूह एफ.एल.ए.सँग समन्वय गरेर आक्रमण गरेको पुष्टि गरेको छ ।

    उनीहरूले देशका नेता जनरल गोइटा र रक्षामन्त्री कमाराको घर लगायतका सैन्य अखडाहरूलाई निशाना बनाएको बताएका छन् । अलजजिराले यस स्तरको समन्वयात्मक आक्रमणलाई ‘अभूतपूर्व’ भन्दै सैन्य पङ्क्तिमा ‘त्रासको वातावरण’ सिर्जना भएको बताएको छ । युरोपेली काउन्सिल अन फरेन रिलेसन्सका अफ्रिका निर्देशक एलेक्स वाइन्सका अनुसार मालीका अधिकारीहरू यस लहरको आक्रमणबाट आश्चर्यचकित भएका देखिन्छन् । उनले भनेका छन्, ‘यसले देखाउँछ कि विद्रोही समूहहरू घातक छन् र उनीहरू मालीका अधिकारीहरूलाई कमजोर बनाउन र विभाजित गर्न चाहन्छन् ।’

    सन् २०२० र २०२१ को कु (सैन्य विद्रोह)पछि सत्तामा आएका आसिमी गोइटाले सुरक्षा पुनःस्थापना गर्ने वाचा गरे पनि देश अझै सङ्घर्षरत छ । मालीले हाल फ्रान्ससँगको सम्बन्ध तोडेर रुसी ‘अफ्रिका कर्प्स’ (पूर्व वाग्नर समूह) को सहयोग लिइरहेको छ । यद्यपि, रुस–युक्रेन युद्धका कारण केही रुसी सिपाहीहरू मालीबाट फिर्ता बोलाइएकाले सुरक्षा स्थितिमा असर परेको बताइएको छ । मालीको सेनाले बिहान ११ बजेपछि स्थिति नियन्त्रणमा रहेको र विद्रोहीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।

  • अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम

    काठमाडौँ, वैशाख १३ गते । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१६ डिसेम्बर ८ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष अप्रिल २६ लाई यस दिवसका रूपमा मनाउने घोषणा गरेको हो । सन् २०१७ देखि यो दिवस नियमित रूपमा मनाउन थालिएको हो । चेर्नोबिल आणविक दुर्घटना भएको यो ४० औँ वर्ष हो । युक्रेनस्थित चेर्नोबिल आणविक विद्युत् केन्द्रमा भएको विस्फोटपछि रेडियोधर्मी बादल सोभियत सङ्घका विशाल भू–भागमा फैलिएको थियो । ती हाल बेलारुस, युक्रेन र रुसी महासङ्घका क्षेत्रहरूमा पर्दछन् । उक्त दुर्घटनाबाट ती तीन देशका ८४ लाख मानिस विकिरणको प्रभावमा परेका थिए ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार चेर्नोबिल दुर्घटनापछि तीन दशक बितिसक्दा पनि दीर्घकालीन गम्भीर असर रहेको र प्रभावित समुदायले अझै सहयोगको आवश्यकता महसुस गरिरहेको छ । चेर्नोबिल दुर्घटनापछि संयुक्त राष्ट्रसङ्घ, बेलारुस, रुसी महासंघ र युक्रेन सरकारहरूले प्रभावित क्षेत्रको पुनःस्थापना तथा विकासका प्रयासहरू अघि बढाउँदै आएका छन् । प्रारम्भिक मानवीय सहयोगपछि प्रभावित क्षेत्रलाई सुरक्षित बनाउने, विकिरणको जोखिम घटाउने, प्रभावितलाई स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्य असरबारे निरन्तर अध्ययन हुँदै आएका छन् । रासस

  • इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

    इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध

    तेहरान, वैशाख १२ गते । इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेटको अवरोधले ५७ दिन पूरा गरेको छ । यो एक विश्वव्यापी रेकर्ड हो । युद्ध र आन्तरिक सुरक्षाको नाममा लगाइएको यो प्रतिबन्धले देशको अर्थतन्त्र तहसनहस भएको दाबी गरिएको छ । यति मात्र होइन, नागरिकलाई सूचनाको मौलिक हकबाट पनि वञ्चित गरिएको छ । इरान अहिले अकल्पनीय डिजिटल सङ्कटबाट गुज्रिरहेको छ ।

    इन्टरनेट निगरानी संस्था नेटब्लक्सको रिपोर्टका अनुसार इरानमा पछिल्लो ५७ दिनदेखि इन्टरनेट पूर्ण रूपमा बन्द छ । यो कुनै पनि देशमा लगाइएको विश्वको सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट प्रतिवन्ध हो । आठ हप्ताअघि सुरु भएको यो प्रतिबन्धले इरानका नौ करोडभन्दा बढी नागरिकलाई विश्वबाट अलग मात्र गरेको छैन, देशको अर्थव्यवस्थामा पनि ठूलो धक्का लागेको छ ।

    अमेरिका–इजरायल आक्रमणपछि फेब्रुअरी २८ मा अचानक इन्टरनेट सेवा बन्द गरिएको थियो। क्षेत्रीय अस्थिरता र युद्धको खतराको बिचमा, इरानी प्रशासनले सूचनाको प्रवाहलाई पूर्ण रूपमा नियन्त्रण गर्न यसको सहारा लियो। नेटब्लकको तथ्याङ्क अनुसार यो अवरोधले अब एक हजार ३४४ घण्टाको अवधि पार गरेको छ । यसअघि सन् २०२६ जनवरीमा सरकारले विरोध प्रदर्शनको क्रममा आन्तरिक अशान्तिको समाचार बाहिर जानबाट रोक्न यस्तै प्रतिबन्ध लगाएको थियो ।

    इन्टरनेटको यो लामो अवरोधले इरानको सामान्य जनजीवन अस्तव्यस्त पारेको छ। बैंकिङ सेवाहरू, अनलाइन व्यापार र यातायात नेटवर्कहरू पूर्ण रूपमा ठप्प भएका छन्। विज्ञहरुले इन्टरनेट सेवाको सहज पहुँच नहुदा इरानको अर्थतन्त्रलाई अहिलेसम्म कुल २।५ अर्ब डलर नोक्सानी भएको छ । प्रतिवन्धका कारण हरेक दिन करिब तीन लाख ७० करोड इरानी रियलको आम्दानी प्रभावित भइरहेको छ ।

    मानिसहरू आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न असुविधा भइरहेको छ । विदेशी मिडिया र स्वतन्त्र सूचना स्रोतहरूमा पहुँच पूर्ण रूपमा अवरुद्ध छ, जसले देशभित्र डर र अनिश्चितताको वातावरण सिर्जना गरेको छ । इरानी अधिकारीहरूले स्टारलिङ्क जस्ता स्याटेलाइट इन्टरनेटलाई रोक्न सैन्य ‘ग्रेड ज्यामर’हरू प्रयोग गर्न थालेका छन्, साथै सञ्चारको वैकल्पिक मार्गहरू पनि बन्द गरेका छन्।

    एकातिर इरान डिजिटल रूपमा विश्वबाट छुट्टिएको छ, अर्कोतिर अमेरिका र इजरायलसँग उसको कूटनीतिक गतिरोध पनि गहिरिँदै गएको छ । इरानका विदेश मन्त्री अब्बास अराघची हालै पाकिस्तान पुग्नुभएको छ्, जहाँ उहाँ क्षेत्रीय सुरक्षाबारे छलफल गरिरहनुभएको छ । हाल इरानमा इन्टरनेटको पुनस्र्थापनाका लागि कुनै समयसीमा तय गरिएको छैन, जसका कारण यो ‘डिजिटल अन्धकार’ अझ लम्बिने सम्भावना छ । एएफपी, रासस

  • गोली चलेको घटनामा ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक

    गोली चलेको घटनामा ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक

    १३ वैशाख, काठमाडौं । व्हाइट हाउसमा पत्रकारसँगको एक डिनर कार्यक्रमका दौरान भएको घटनामा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आक्रमणकारीलाई गिरफ्तार गरिएको बताएका छन् ।

    ट्रुथ सोशल साइटमा लेख्दै उनले भनेका छन्, सिक्रेट सर्भिस तथा ल इन्फोर्समेन्ट एजेन्सीले सानदार काम गरेका छन्, उनीहरुले तिव्र गति तथा निकै बहादूरीपूर्वक कारवाही गरेका छन ।’ त्यसपछि उनले सुरक्षा एजेन्सीको निर्देशन अनुसार नै आफुले काम गरेको बताएका छन् ।

  • ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चल्यो, राष्ट्रपति सुरक्षित

    ट्रम्प सहभागी डिनर कार्यक्रममा गोली चल्यो, राष्ट्रपति सुरक्षित

    १३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुका लागि आयोजना गरेको एक डिनर कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ । ह्वाइटहाउसमा भएको सो घटनापछि ट्रम्प र प्रथम महिला मेलानियालाई सुरक्षित स्थानमा सारिएको बीबीसीले लेखेको छ ।

    एएफपीका अनुसार एक मन्त्रीले गोली चलेको जानकारी दिएका छन् । तर घाइतेको विवरण आएको छैन । संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । तर उनको पनि परिचय खुलेको छैन । ह्वाइट हाउसले पत्रकारहरूका लागि डिनर कार्यक्रम आयोजना गरेको थियो । ट्रम्प बोलिरहेका मानिसहरुको हलचल सुरु भएपछि उनी बोल्दाबोल्दै रोकिएका थिए । त्यसपछि केही पड्किएको आवाज सुनिएको थियो ।

    लगत्तै सिक्रेट सर्भिसका सदस्यहरूले ‘तल बस्नुहोस्, तल बस्नुहोस्,’ भन्दै राष्ट्रपति ट्रम्पलाई कार्यक्रमस्थलबाट बाहिर लगेका थिए । ट्रम्पका शीर्ष सल्लाहकार स्टिफन मिलरलाई पनि सुरक्षाकर्मीहरुले हतार हतार भीडबाट बाहिर निकालिएको देखिएको थियो । कार्यक्रममा सहभागीहरु भुईंमा निहुरिएर बसेका थिए ।


    बीबीसीका अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएसका अनुसार सिक्रेट सर्भिसले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई मञ्चबाट सुरक्षित स्थानमा लगेपछि काउन्टर असल्ट टिम ९सीएटी०का हतियारधारी सुरक्षाकर्मीहरू मञ्चमा उभिएर कोठाको पछाडितर्फ लामो बन्दुक तेर्स्याएको देखिएको थियो ।

    सीबीएसका अनुसार केही समयपछि सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतार हतार अर्को कोठातिर लगेका थिए । त्यसक्रममा उनीहरू टेबल र ढलेका खाली कुर्सीहरू नाघ्दै अघि बढेका थिए । यस घटनाको केही समयपछि एक वक्ता मञ्चमा आएर डिनर कार्यक्रम पुनः सुरु हुने घोषणा गरेका थिए ।

  • बेलायतमा डिसेम्बर ३१, २००८ पछि जन्मिएकाले जीवनभर चुरोट किन्न नपाउने

    बेलायतमा डिसेम्बर ३१, २००८ पछि जन्मिएकाले जीवनभर चुरोट किन्न नपाउने

    लन्डन, वैशाख ११ गते । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठुलो मोडका रूपमा हेरिएको छ । संसद्‌बाट पारित यस कानुनले अबको पुस्तालाई चुरोटको पहुँचबाट क्रमशः टाढा लैजाने स्पष्ट सङ्केत दिएको छ ।

    धूम्रपान नियन्त्रणका लागि दशकौँदेखि चलिरहेको अभियानपछि यो सफलता हासिल भएको भन्दै धूम्रपानविरुद्ध काम गर्ने संस्था ‘एक्सन अन स्मोकिङ एन्ड हेल्थ’ का प्रमुख कार्यकारी हेजल चिजम्यानले ‘धूम्रपानको अन्त्य अब टाढाको लक्ष्य होइन, अपरिहार्य प्रक्रिया बनिसकेको’ प्रतिक्रिया दिनुभयो । उहाँले यस कदमलाई सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि निर्णायक उपलब्धि ठान्नुभएको छ ।

    सुर्तीजन्य पदार्थ र भेपसम्बन्धी विधेयक अनुसार डिसेम्बर ३१, २००८ पछि जन्मिएका व्यक्तिहरूलाई जीवनभर चुरोट किन्न नपाउने व्यवस्था गरिनेछ । यसले हालको उमेर–आधारित सीमा हटाएर हरेक वर्ष न्युनतम उमेर बढाउँदै लैजाने प्रणाली लागु गर्ने छ, जसका कारण अहिलेका किशोर–किशोरीहरू भविष्यमा पनि चुरोट खरिद गर्नबाट वञ्चित रहने छन् ।

    कानुन प्रभावकारी हुनुअघि बेलायती राजा चार्ल्सतृतीयको औपचारिक स्वीकृति आवश्यक रहने छ, जुन सामान्यतया औपचारिक प्रक्रिया मात्र मानिन्छ । त्यसपछि सरकारले सुर्तीजन्य पदार्थ, भेपिङ उपकरण र निकोटिनजन्य उत्पादनहरूको स्वाद, प्याकेजिङ र वितरणमा कडा नियमन लागु गर्न सक्ने छ ।

    हाल बेलायतमा १८ वर्षभन्दा कम उमेरकालाई चुरोट, सुर्तीजन्य वस्तु वा भेप बेच्न प्रतिबन्ध छ । तर नयाँ कानुनले यस व्यवस्थालाई अझ कठोर बनाउँदै दीर्घकालीन रूपमा धूम्रपानको अन्त्यतर्फ उन्मुख गरेको छ । यही कारणले बेलायत अब विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक बनेको छ ।

    यसअघि सन् २०२२ मा न्युजिल्यान्डले पनि यस्तै प्रकृतिको कानुन ल्याएको थियो, तर पछिल्लो सरकारले त्यसलाई खारेज गरेको थियो । बेलायतको कदम भने दीर्घकालीन नीतिगत प्रतिबद्धताको रूपमा प्रस्तुत गरिएको छ ।

    आँकडा अनुसार सन् १९७० को दशकयता बेलायतमा धूम्रपान गर्नेहरूको सङ्ख्या करिब दुई तिहाइले घटिसकेको छ । तर अझै करिब ६४ लाख मानिस, अर्थात् कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशतले धूम्रपान गरिरहेका छन् । सरकारी तथ्याङ्कले हरेक वर्ष करिब ८० हजार जनाको मृत्यु धूम्रपानका कारण हुने देखाएको छ, जसले यसलाई मृत्यु, अशक्तता र खराब स्वास्थ्यको सबैभन्दा ठुलो रोकथाम योग्य कारण बनाएको छ ।

    स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले नयाँ कानुनले बेलायतका बालबालिकालाई ‘पहिलो धूम्रपान–मुक्त पुस्ता’ बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार यसले भाबी पुस्तालाई जीवनभरको लत र त्यसबाट हुने गम्भीर स्वास्थ्य जोखिमबाट जोगाउने छ । रासस-एपी

  • आज बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    आज बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै

    काठमाडौँ, वैशाख ११ गते । बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस सन् २०१९ देखि मनाउन प्रारम्भ भएको हो । बहुपक्षीयता कम्तीमा तीन वा सोभन्दा बढी राष्ट्रबीचको सहकार्यलाई जनाउने भए पनि यसको सार केवल सङख्यात्मक नभई साझा मूल्य, मान्यता र नियममा आधारित सामूहिक राजनीतिक प्रतिबद्धतामा निहित रहेको मानिन्छ ।

    राष्ट्रसङ्घका अनुसा। परामर्श, समावेशिता र ऐक्यबद्धता यसका आधारभूत सिद्धान्त हुन् । यसले समान अधिकार र दायित्वका आधारमा दिगो तथा प्रभावकारी सहकार्य सुनिश्चित गर्छ । बहुपक्षीयता अन्तरराष्ट्रिय प्रणालीको सङ्गठन र सहकार्यको विधि दुवै भएकाले वर्तमान आजको परस्पर निर्भर विश्वमा यसको महत्व अझ बढेको छ ।

    एक सय ९३ राष्ट्र सदस्य तथा एक हजारभन्दा बढी गैरसरकारी संस्था र अन्तरराष्ट्रिय सङ्गठन पर्यवेक्षक रहेको संयुक्त राष्ट्रसङ्घ बहुपक्षीयताको प्रमुख मञ्चका रूपमा परिचित छ । सन् १९४५ मा स्थापना भएको यो विश्व संस्थाको मुख्य उद्देश्य अन्तरराष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु हो । यसको बडापत्रले विवादलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने र भावी पुस्तालाई युद्धको भयबाट जोगाउने प्रतिबद्धता व्यक्त गरेको छ । कूटनीतिक प्रयासमार्फत द्वन्द्व रोकथाम र समाधानमा जोड दिइँदै आएको छ ।

    सन् २०२४ सेप्टेम्बरमा आयोजित ‘समिट अफ द फ्युचर’मा विश्व नेताहरूले ‘प्याक्ट फर द फ्युचर’ पारित गर्दै शान्ति, दिगो विकास र मानवअधिकार संरक्षणप्रति पुनः प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

  • मतदाता सूची विवादबिच पश्चिम बङ्गालमा मतदान सुरु

    मतदाता सूची विवादबिच पश्चिम बङ्गालमा मतदान सुरु

    कोलकाता, वैशाख ११ गते । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबिच भारतको पश्चिम बङ्गालमा बिहीबार मतदान सुरु भएको छ, जसले चुनावी निष्पक्षता र मताधिकारबारे गम्भीर बहसलाई थप तीव्र बनाएको छ । राष्ट्रिय महत्त्व बोकेको यस निर्वाचनले राजनीतिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)ले लामो समयदेखि क्षेत्रीय दलको प्रभाव रहेको यस राज्यमा आफ्नो उपस्थिति विस्तार गर्ने प्रयास गरिरहेको छ । अर्कोतर्फ, मुख्यमन्त्री ममता बनर्जीको पुनः जितले उनको राष्ट्रिय विपक्षी नेतृको छवि अझ बलियो बन्ने आँकलन गरिएको छ ।

    निर्वाचन बहुचरणीय रूपमा भइरहेका छन्, जसअन्तर्गत दोस्रो चरण आगामी हप्तामा तय गरिएको छ । यसै दिन दक्षिणी राज्य तमिलनाडुमा पनि मतदान भइरहेको छ । समग्रमा यी निर्वाचनलाई विपक्षी प्रभाव क्षेत्रमा सत्तारूढ दलको पहुँच परीक्षणका रूपमा हेरिएको छ, जसको अन्तिम नतिजा मे ४ मा आउने अपेक्षा गरिएको छ ।

    यस पटकको मतदान विशेषरूपमा मतदाता सूची संशोधनका कारण विवादित बनेको छ । भारतको निर्वाचन आयोगले मृतक, दोहोरो वा अयोग्य मतदातालाई हटाउने उद्देश्यले व्यापक अद्यावधिक गर्दा करिब ९० लाख नाम हटाइएको जनाएको छ । यसमध्ये ६३ लाखलाई मृत वा अनुपस्थित र २७ लाखलाई ‘सन्दिग्ध’ भन्दै प्रमाणीकरण बाँकी राखिएको छ ।

    तर धेरै मतदाताले आफूसँग वैध कागजात हुँदाहुँदै पनि स्पष्ट कारण बिना नाम हटाइएको गुनासो गरेका छन् । अर्धसैनिक बलमा कार्यरत ५३ वर्षीय शेख नजरुल इस्लामले आफूले सन् २०२१ मा मतदान गरेको र सबै कागजात हुँदाहुँदै पनि यस पटक नाम सूचीमा नभेटिएको बताए । उनले ‘निर्वाचनमा खटाइएको व्यक्तिलाई नै नागरिकका रूपमा मान्यता नदिएको अनुभूति भएको’ प्रतिक्रिया दिए ।


    यस्तै, ६२ वर्षीया निवृत्त विद्यालय प्रशासक ताइबुनेसा बेगमले पासपोर्ट, पेन्सन रेकर्डजस्ता प्रमाण हुँदाहुँदै पनि नाम हटाइएको देख्दा आफू स्तब्ध भएको बताए । उनका अनुसार ‘यो केवल मतदानको विषय नभई आफ्नो अस्तित्वमाथि नै प्रश्न उठाइएको जस्तो’ लागेको छ । विपक्षी दलले भने यस प्रक्रियाले मुस्लिम तथा सीमान्तकृत समुदायलाई असमान रूपमा प्रभावित गरेको आरोप लगाएका छन् ।

    तर निर्वाचन आयोगले आरोप अस्वीकार गर्दै सूची शुद्धीकरण नियमित प्रशासनिक प्रक्रिया भएको दाबी गरेको छ । सत्तारूढ दलले पनि यसलाई आवश्यक सुधार भन्दै समर्थन गरेको छ र कागजातविहीन आप्रवासीहरूको उपस्थिति यसका कारण हुन सक्ने तर्क गरेको छ । यद्यपि आलोचकले यस कदमलाई व्यापक राजनीतिक सन्देशसँग जोड्दै आएका छन् । विशेषगरी छिमेकी बङ्गलादेशबाट अवैध आप्रवासनको विषय उठाउँदै आएका अभिव्यक्तिले अल्पसङ्ख्यक समुदायमा भय बढाएको उनीहरूको भनाइ छ । तृणमूल काङ्ग्रेसका नेता डेरेक ओ’ब्रायन ले यस प्रक्रियालाई ‘अदृश्य धाँधली’ को संज्ञा दिँदै मतदातालाई अधिकारबाट वञ्चित गर्ने प्रयास भएको आरोप लगाए ।


    राजनीतिक विश्लेषक इमान कल्याण लाहिरीका अनुसार मतदाता सूचीबाट नाम हराउनु केवल प्राविधिक त्रुटि नभई नागरिक पहिचान र गरिमासँग जोडिएको गम्भिर विषय हो । उनले यसले दीर्घकालीन रूपमा लोकतान्त्रिक विश्वासमा असर पार्न सक्ने चेतावनी दिए । धेरै प्रभावित नागरिकका लागि भने यो बहसभन्दा पनि व्यक्तिगत पहिचानको प्रश्न बनेको छ । बेगमले भने, “यो राजनीति मात्र होइन, हामी यो देशका नागरिक हौँ कि होइन भन्ने आधारभूत प्रश्न हो ।”रासस-एपी

  • करिब एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फिर्ता

    करिब एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फिर्ता

    काबुल, वैशाख ११ गते। लगभग एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबा सबैभन्दा धेरै ९४३ घर परिवार स्वदेश फर्केका छन् ।

    स्वदेश फर्कने पश्चिमी हेरातप्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहारप्रान्तको तोरखाम र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डकसहितका प्रमुख सीमा नाकापार गरी अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ । हाल अफगानिस्तानले निरन्तर आर्थिक र सामाजिक चुनौतिको सामना गरिरहेको अवस्थामा विभिन्न कठिनाइको बाबजुद, उनीहरूले आफ्नो मातृभूमिमा आफ्नो जीवन पुनर्निर्माण गर्ने आशा बोकेर स्वदेश फर्केको जनाइएको छ । रासस-सिन्हवा