Category: विश्व

  • १०० युरोमा पिकासो जित्ने अवसर

    १०० युरोमा पिकासो जित्ने अवसर

    पेरिस, २ वैशाख (रासस–एपी) । अल्जाइमर अनुसन्धानका लागि कोष जुटाउने उद्देश्यले फ्रान्समा आयोजना गरिएको एक विशेष राफलमार्फत केवल १०० युरोमा करोडौँ मूल्यको पाब्लो पिकासोको चित्रकला जित्ने अवसर प्रदान गरिएको छ । यसले कला र परोपकारलाई अनौठो ढङ्गले जोडेको छ । मङ्गलबार पेरिसस्थित क्रिस्टीको लिलामी घरमा हुने ड्रबाट एक भाग्यशाली व्यक्तिले करिब १० लाख डलर मूल्यको पिकासोको चित्रकला आफ्नो बनाउन सक्नेछन् । आयोजकहरूले ‘१०० युरोमा एक पिकासो’ नाम दिइएको यो अभियानको तेस्रो संस्करण सञ्चालन गरेका हुन् ।

    यसपटक राफलमा राखिएको चित्र ‘हेड अफ अ वुमन’ शीर्षकको हो, जसलाई पिकासोले सन् १९४१ मा कागजमा गौचे माध्यम प्रयोग गरी सिर्जना गरेका थिए । यस अभियानबाट उठ्ने रकम पूर्ण रूपमा अल्जाइमरसम्बन्धी अनुसन्धानमा खर्च गरिनेछ । यसअघि सन् २०१३ मा आयोजित पहिलो राफलमा अमेरिकाको पेन्सिलभेनियाका एक व्यक्तिले ‘म्यान इन द ओपेरा ह्याट’ शीर्षकको चित्र जितेका थिए । उक्त चित्र पिकासोको क्युबिस्ट कालखण्ड (सन् १९१४) को प्रतिनिधि कृति हो । त्यसैगरी, सन् २०२० मा आयोजित दोस्रो राफलमा ‘स्टिल लाइफ’ नामक चित्र इटालीकी एक लेखापालकी आमाले जितेकी थिइन्, जुन उनका छोराले क्रिसमस उपहारस्वरूप टिकट किनिदिएका थिए ।

    सन् १९२१ मा बनाइएको उक्त ‘स्टिल लाइफ’ चित्र अर्बपति कला सङ्कलक डेभिड नहमादबाट खरिद गरिएको थियो । नहमादले पिकासो जीवित भएको भए यस्ता परोपकारी प्रयोजनका लागि आफ्नो कृति प्रयोग गर्न सहमति जनाउने विश्वास व्यक्त गरेका थिए । पिकासोको सन् १९७३ मा निधन भएको थियो ।

    यो राफल अल्जाइमर रिसर्च फाउन्डेसनद्वारा आयोजना गरिएको हो, जुन पेरिसका प्रमुख सार्वजनिक अस्पतालमध्ये एकसँग आबद्ध संस्था हो । सन् २००४ मा स्थापना भएको यो संस्था हाल फ्रान्समा अल्जाइमरसम्बन्धी अनुसन्धानका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ ।

    आयोजकहरूले अनलाइन प्लेटफर्ममार्फत टिकट सङ्ख्या एक लाख २० हजारमा सीमित गरेका छन् । सबै टिकट बिक्री भएमा कुल एक करोड २० लाख युरो (करिब एक करोड ४० लाख डलर) सङ्कलन हुने अनुमान गरिएको छ । यसमध्ये १० लाख युरो चित्रको स्वामित्व राख्ने अन्तर्राष्ट्रिय आर्ट डिलरसिप ओपेरा ग्यालरीलाई प्रदान गरिनेछ ।

    यसअघि सम्पन्न दुई संस्करणबाट सङ्कलित रकम लेबनानमा सांस्कृतिक कार्यक्रम र अफ्रिकामा पानी तथा सरसफाइ परियोजनामा खर्च गरिएको थियो, जसबाट एक करोड युरोभन्दा बढी रकम उठाइएको आयोजकहरूले जनाएका छन् । कला, भाग्य र सामाजिक उत्तरदायित्वलाई जोड्ने यस अभियानले विश्वभरका सहभागीलाई आकर्षित गरिरहेको छ र सानो लगानीमा ठूलो कृति जित्ने सम्भावनासँगै मानवीय सेवामा योगदान गर्ने अवसर पनि दिएको छ ।

  • सुडानमा जनवरी देखि भएका ड्रोन आक्रमणमा सात सय जनाको मृत्यु : राष्ट्रसङ्घ

    सुडानमा जनवरी देखि भएका ड्रोन आक्रमणमा सात सय जनाको मृत्यु : राष्ट्रसङ्घ

    जेनेभा, २ वैशाख (रासस–एएफपी) । यस वर्षको जनवरी देखि हाल सम्म सुडानमा भएका ड्रोन आक्रमणमा करिब ७०० जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख टम फ्लेचरले बताएका छन् । उनले तीन वर्ष लामो गृहयुद्धले सुडानमा विश्वको सबै भन्दा ठूलो मानवीय सङ्कट सिर्जना गरेको बताए ।
    लामो समय चलेको सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको युद्धले दशौं हजार मानिसहरूको ज्यान लिएको छ भने एक करोड १० लाख भन्दा बढी विस्थापित भएको जनाइएको छ ।

    सुडानमा पछिल्लो समयमा, दैनिक जसो हुँदै आएका ड्रोन आक्रमणले सुडानको डार्फुरसहित विभिन्न क्षेत्रमा, जन–जीवन अस्तव्यस्त पारेको जनाइएको छ । युद्धले लाखौँ सुडानीहरुलाई आफ्नो घर छोड्न बाध्य पार्नुका साथै क्षेत्रीय अस्थिरताको जोखिम उच्च भएको फ्लेचरले बताए ।


    उहाँले तीन वर्षको युद्धले लगभग तीन करोड ४० लाख मानिसलाई मानवीय सहयोगको आवश्यकता रहेको बताए । उनले परिस्थिती असहज हुँदै जाँदा भोकमरी बढ्दै गएको उल्लेख गर्दैै लाखौँ बालबालिका कुपोषित हुनुका साथै शिक्षाबाट वञ्चित रहेको बताए । यसै बीच महिला तथा बालिकाहरूले क्रूर यौनजन्य हिंसाको सामना गरिरहेको बताउदै उनले मानवतावादीहरू यस वर्ष दुई करोडलाई सहयोग गर्ने प्रयास गरेको बताए ।


    सुडानमा संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजक डेनिस ब्राउनले यस वर्ष सुडानका लागि सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घले गरेको अपिल सदस्य राष्ट्रहरूबाट अन्तर्राष्ट्रिय सहायता योगदानमा कमी आएको कारण असहज भएको बताए । सङ्कटग्रस्त शान्ति वार्तालाई पुन: र्जवित गरी मानवीय सहायता परिचालन गर्ने उद्देश्यले बुधबार बर्लिनमा आयोजित सम्मेलनमा सहभागी हुन दाताहरू भेला हुने जनाइएको छ ।

  • भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

    भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

    काबुल, २ वैशाख (रासस–सिन्ह्वा) । अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र २५३ जना घाइते भएको अफगानिस्तानका सञ्चर माध्यामहरुले प्रवक्ता हम्मादलाई उद्धृत गर्दै जनाएका छन् ।

    अधिकारीका अनुसार आँधीबेहरी र बाढीका कारण कुल अफगानीस्तानमा एक हजार ३०३ घरहरू पूर्ण क्षतिग्रस्त भएका छन् भने पाँच हजार ८०० भन्दा बढी घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । अफगानिस्तानका विभिन्न भागहरूमा मार्च–२५ देखि भारी वर्षा, शक्तिशाली हावा र आकस्मिक बाढी आएको छ भने मौसम विभागले देशको १४ प्रान्तमा मङ्गलबार थप वर्षाको पूर्वानुमान गरेको छ ।

  • पाकिस्तानमा पोलियो अभियानमा खटियका प्रहरीमाथि आक्रमण, एक जनाको मृत्यु, पाँच घाइते

    पाकिस्तानमा पोलियो अभियानमा खटियका प्रहरीमाथि आक्रमण, एक जनाको मृत्यु, पाँच घाइते

    इस्लामावाद, २ वैशाख (रासस–सिन्ह्वा) । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समुहले पोलियो अभियानमा खटियका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभान गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।

    आक्रमणकारीहरूले प्रहरीलाई आक्रमण गरी अन्धा–धुन्ध गोली हान्दा छ जना कर्मचारीहरू घाइते भएको पुष्टि गर्दै प्रहरीले उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जनाएको छ । सुरक्षा बलहरू घटनास्थलमा पुगेर घटनास्थलाई घेराबन्दी गरी आक्रमणकारीहरूलाई पत्ता लगाउन खोजी अभियान सुरु गरेको बताइएको छ भने अहिले सम्म कुनै समूहले आक्रमणको दाबी गरेको छैन ।

  • अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह

    अमेरिकी सैनिकलाई कारबाहि गर्न राष्ट्रसङ्घलाई इरानको आग्रह

    तेहरान (इरान), २ वैशाख (रासस–एएनआई) । संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको उल्लङ्घन गरेको विषयको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घलाई अमेरिकी सैनिकलाई कारबाही गर्न आग्रह गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरवानीले अमेरिकाको कदमलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्ने आक्रमक कार्य भन्दै निन्दा गरेका छन् । सैनिक नाकाबंदी लागू गर्नु इस्लामिक गणतन्त्र इरानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको घोर उल्लङ्घन भएको उनले बताए । गत अप्रिल –१२ मा युएस सेन्ट्रल कमान्ड (सेन्टकम) द्वारा सार्वजनिक रूपमा सैनिक आतंकवादको घोषणा गरिएको थियो ।

    उनले अमेरिकाले संयुक्त राष्ट्रको बडापत्रको धारा– २, अनुच्छेद ४ को उल्लङ्घन गर्दै आतंकवाद घोषणा गरेको बताए । उनले अवैध नाकाबंदीले समुद्र सम्बन्धि अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको बताए । इरानी बन्दरगाहहरूमा आउने र जाने समुद्री यातायात रोक्ने प्रयास गरेर, अमेरिकाले इरानको सार्वभौम अधिकारको प्रयोगमा हस्तक्षेप गरिरहेको र अन्तर्राष्ट्रिय कानून अनुसार तेस्रो राज्यहरूको अधिकार र वैध समुद्री व्यापारको उल्लङ्घन गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।

    इरानले अमेरिकाको अवैध कार्यलाई अस्वीकार र निन्दा गर्दै आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितहरूको रक्षा गर्न आवश्यक उपायहरू गर्ने आफ्नो “अन्तर्निहित अधिकार“ राख्ने बताएको छ । उनले अमेरिकाले अन्तर्राष्ट्रिय रुपमा गैर जिम्मेवारपुर्ण कार्य र क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गलत प्रभावहरू लगायत यसका सबै परिणामहरूको लागि पूर्ण जिम्मेवारी वहन गर्नु पर्ने बताए । तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गर्दै, इरानी दूतले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई नाकाबंदीको निन्दा गर्न र तनाव रोक्न कदम चाल्न आग्रह गर्नु भएको छ ।

    इरवानीले संयुक्त राष्ट्र सङ्घलाई सम्वोधन गर्दै लेखेको पत्रमा इरान विरुद्ध अमेरिकाको निरन्तर अन्तर्राष्ट्रिय कानूनको उलङ्घन गरेको विषय उजागर गर्नु भएको छ । उता, अमेरिकी सेनाले हाल मध्य पूर्वमा कम्तिमा १५ वठा लडाँकु जहाजहरूको उपस्थिति कायम राखेको छ, राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश पछि सेनाले इरानको बन्दरगाहहरूको समुद्री नाकाबंदीमा भाग लिन सक्ने अमेरिकी अधिकारीलाई उदृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ । यस अघि पाकिस्तानमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि अमेरिकी राष्ट्रपतिले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबंदी लगाएको जनाइएको छ ।

  • मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

    मध्यपूर्व युद्धबारे छलफल गर्न रूसी विदेशमन्त्री चीनमा

    बेइजिङ, २ वैशाख (रासस–एएफपी) । रूसका विदेशमन्त्री सर्गेइ लाभरोभले मध्य–पूर्व युद्धको विषयमा सहयोग गर्ने उदेश्यले चिनियाँ राजधानी पुगेको रूसी विदेश मन्त्रालयले जनाएको छ । चीनले मङ्गलबार भियतनामको टो लाम र अबु धाबीका राजकुमार मोहम्मद बिन जायद अल नाह्यानसहित युद्धको कारण प्रभावित भएका देशका नेताहरूलाई छलफलका लागि आमन्त्रण गरेको जनाएको छ । लाभ्रोभले चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ्ग यीसँग वार्ता गर्ने जनाइएको छ जसमा द्विपक्षीय सम्बन्धको विकास, विभिन्न क्षेत्रमा सहयोग, र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरुमा छलफल र स्थिति समन्वय गर्ने चिनियाँ विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    रूसी विदेश मन्त्रालयले युक्रेनको युद्ध र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने पनि बताएको छ । बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन्, भने सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरे पछि सम्बन्ध अझ मझभुत भएको जनाइएको छ । मध्यपूर्वमा तनाव कम गर्न बेइजिङ र मस्कोले मिलेर काम गर्ने विषयमा सहमति भएपछि वाङले गत अप्रिल – ५ मा लाभ्रोभसँग फोन वार्ता समेत गरेका जनाइएको छ । यसैबीच चिनियाँ प्रधानमन्त्री ली किआङले संयुक्त अरब इमिरेट्सका नेतालाई बेइजिङ “थप रचनात्मक भूमिका खेल्न र खाडी क्षेत्रमा शान्ति पुनः स्नाथापमा योगदान गर्न तयार रहेका बताएका छन् ।

  • ऊर्जा सङ्कट सामनाका लागि विद्युतीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गरिने इयु प्रमुखको भनाइ

    ऊर्जा सङ्कट सामनाका लागि विद्युतीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गरिने इयु प्रमुखको भनाइ

    ब्रसेल्स, १ वैशाख, (रासस–एएफपी) । ब्रसेल्सले इरान युद्धको कारण उच्च ऊर्जा लागतको सामना गर्ने योजना अर्को हप्ता प्रस्तुत गर्ने भएको छ। यसका लागि गर्मी मौसम अघि नै युरोपको विद्युतीकरणलाई बढावा दिन एक व्यापक प्याकेज अनावरण गर्ने इयु प्रमुख उर्सुला भोन डेर लेयनले सोमबार बताए । ऊर्जा सङ्कटले २७ राष्ट्रहरूको समूहलाई उच्च जीवाश्म इन्धनको को लागि २२ अर्ब युरो (२६ अर्ब डलर) भन्दा बढी खर्चको सामना गर्नुपरेको भोन डेर लेयनले यस मुद्दामा केन्द्रित इयुको शीर्ष कार्यकारी निकायको बैठकपछि भने ।


    “यो खर्चले स्पष्ट पार्छ कि हामीले जीवाश्म इन्धनमा हाम्रो अधिक निर्भरताको लागि धेरै उच्च मूल्य चुकाइरहेका छौँ,“ युरोपेली आयोग प्रमुखले नवीकरणीय र आणविक ऊर्जामा छिटो प्रवेश गर्नुपर्नेमा जोड दिँदै ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भने । “हामीले स्वदेशीय, सस्तो, भरपर्दो ऊर्जालाई मापन गर्न आवश्यक छ,“ उनले भने । आयोगले समूहका सदस्य राष्ट्रहरूमा विद्युतीय ग्रिड जडानलाई गति दिने उद्देश्यका साथ नयाँ नियमहरू ल्याउने र गर्मी अघि ‘विद्युतीकरण रणनीति’ प्रस्तुत गर्ने आशा गरिरहेको छ।

    फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमण सुरु भएदेखि तेल र ग्यासको मूल्य बढेको छ, तेहरानले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’लाई प्रभावकारी रूपमा अवरुद्ध गरेको छ भने खाडी ऊर्जा पूर्वाधारमा आक्रमण गरेर प्रतिकार गरेको छ। “लागतको अभावलाई सम्बोधन गर्न आयोगले सदस्य राष्ट्रहरूलाई ‘सबैभन्दा बढी प्रभावित क्षेत्रहरू’ लाई सहयोग गर्न थप ठाउँ दिन इयुले सहायता नियमहरू खुकुलो पार्ने विचार गरिरहेको छ,” भोन डेर लेयनले भने ।


    साइप्रसमा युरोपेली सङ्घका नेताहरूको अनौपचारिक बैठकअघि अर्को हप्ता प्रस्तुत गरिने प्याकेजको एक भागको रूपमा विवरणहरू सार्वजनिक गरिने उनले बताए । आयोगले सदस्य राष्ट्रहरूले बजारमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा नगर्न सकून भनी तेल भण्डारलाई बजारमा ल्याउन र समूहमा ग्यास भण्डारण भर्ने समन्वय गर्न खोजिरहेको छ । सदस्य राष्ट्रहरूबिच नै बजारमा एक अर्काको बिरूद्ध प्रतिस्पर्धा हुँदा यस्तो प्रतिस्पर्धाले मूल्य वृद्धिलाई बढाएको छ ।

    “भवन निर्माण र औद्योगिक सञ्चालनका लागि उपकरणहरूको थप विस्तार नगरी ऊर्जा दक्षतालाई समर्थन गर्ने कदमहरू पनि विचार भइरहेको छ”, आयोगका अध्यक्षले थपे । “सबैभन्दा कम खर्चिलो ऊर्जा भनेको प्रयोग नगरिएको विद्युतीय ऊर्जाको प्रयोग हो,” उनले भने । भोन डेर लेयनले बिजुली कर र ग्रिड शुल्कमा सुधार गर्ने प्रस्ताव मेमा आउने बताए ।

  • इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    वासिङ्टन, १ वैशाख, रासस\एएफपी
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक नाकाबन्दी’ लगाइएको घोषणा गर्दै बन्दरगाह नजिक पुग्ने कुनै पनि इरानी युद्धक जहाजलाई अमेरिकी सेनाले नष्ट गर्ने बताएका छन् । “सावधान, यदि यी (इरानी) जहाजहरू हाम्रो नाकाबन्दी घोषित क्षेत्रको नजिक पुगे भने तुरून्तै आक्रमण हुनेछ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोशल नेटवर्क’मा लेखेका छन् ।

    भेनेजुयलाको समुद्री तटमा कथित लागुऔषध डुङ्गामा भएको हवाई आक्रमणलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले भने, “अमेरिकी सेनाले समुद्रमा आउने इरानी युद्धक जहाजलाई ‘लागुऔषध व्यापारी’विरुद्ध क्यारेवियाली सागरमा तैनाथ उनीहरूका ‘युद्धक जहाज’ लाई ध्वस्त पार्न हामीले प्रयोग गरेको समान र प्रणाली प्रयोग गर्नेछ।”

    इरानले यसअघि नै शत्रुको जहाजको आवागमनका लागि हर्मुज जलमार्ग बन्द गरिसकेको छ र केवल चीनजस्ता मित्रवत देशहरूको सेवा गर्ने जहाजहरूलाई मात्र पार गर्न अनुमति दिइरहेको छ। नयाँ गतिरोधले थप ट्याङ्करहरूको आवागमन रोकिने डरका बीच सोमबार कच्चा तेलको मूल्य लगभग थप आठ प्रतिशतले बढेको छ। अमेरिकी नाकावन्दीको चेतावनीलाई स्पेनले ‘वेकारको लफडा’ को संज्ञा दिएको छ । त्यसैगरी, चीनले पनि नाकावन्दीको चेतावनीको विरोध गरेको छ ।

    चीनले आफ्नो इन्धन आपूर्तिको ठूलो हिस्सा इरानबाट ल्याउने गर्छ । त्यसैगरी, बेलायत र फ्रान्सले अमेरिकी नाकावन्दीमा आफ्नो कुनै संलग्नता नरहने तर यसको विकल्पमा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले स्ट्रेट सुरक्षित गर्न ‘शान्तिपूर्ण बहुराष्ट्रिय अभियान’मा सामेल हुन तयार भएका देशहरूसँग फ्रान्स र बेलायतले एक सम्मेलन आयोजना गर्ने बता्रएका छन् ।

  • हर्मुज मार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन : आइएमओ प्रमुख

    हर्मुज मार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई छैन : आइएमओ प्रमुख

    लण्डन, १ वैशाख, (रासस–एएफपी) । अमेरिका–इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई नभएको संयुक्त राष्ट्रसङ्घको सामुद्रिक निकायका प्रमुखले बताएका छन् । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिन्गुएजले एक पत्रकारमा भने, “इरान विरुद्ध अमेरिका र इजरायलले आक्रमण गरेपछि युद्ध सुरु भएको छ हप्तापछि हर्मुजमा पहुँच अवरुद्ध गरिनु गलत हुनेछ।” संयुक्त राज्य अमेरिकाले सोमबारदेखि हर्मुज र वरपरका इरानी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने चेतावनी दिएको थियो, यद्यपि, फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि यो क्षेत्रमा तेहरानको सेनाले नियन्त्रण जारी राखेको छ ।

    “अन्तर्राष्ट्रिय कानूनले कुनै पनि देशलाई अन्तर्राष्ट्रिय पारबहनका लागि प्रयोग हुने अन्तर्राष्ट्रिय जलमार्गको प्रयोगको स्वतन्त्रतालाई निषेध वा अवरूद्ध गर्ने अधिकार छैन,“ डोमिन्गुएजले भने । इरानी अधिकारीहरूले परीक्षण गरी आफ्ना सहयोगी मुलुक सम्वद्ध जहाजहरूलाई उनीहरूको तटको नजिकको मार्गबाट जलमार्ग पार गर्न अनुमति दिइरहेका छन् र केही मुलुक सम्बद्ध जहाजहरूलाई प्रवेश गर्न पैसा तिर्नुपर्ने बताएका छन्।

    “अन्तर्राष्ट्रिय जलमार्गका लागि अन्तर्राष्ट्रिय जलसन्धिमा निषेध गर्ने यो सिद्धान्त समुद्रको अन्तर्राष्ट्रिय परम्परागत कानूनको विरुद्ध छ,” उनले भने, “यसले धेरै खतरनाक उदाहरण सिर्जना गर्नेछ।” अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, तर यो काम सहज नभएको उनले बताए ।
    “मध्यपूर्व र विशेष गरी हमुर्ज क्षेत्रमा देखिएको संकटलाई सम्बोधन गर्न र जहाजलाई सञ्चालन गर्न मद्दत गर्न हामीले सुरु गरिरहेका छौँ ।

    अमेरिकी नाकाबन्दीको अतिरिक्त प्रभाव जहाजमा नगण्य हुने उनले बताए । उनले थपे, “केही (निकै कम) मात्र जहाजहरू आवागमन गर्न सफल भएका छन्, एक अतिरिक्त नाकाबन्दीले स्थितिलाई त्यस स्तरमा बिगार्ने छैन भन्ने बुझ्न सकिन्छ।”

  • अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

    अमेरिका–इरानबीच युद्धविरामको प्रक्रिया जारी रहेको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ

    इस्लामावाद, १ वैशाख, (रासस–एएफपी) । अमेरिका र इरानबीच गत सप्ताहन्तमा भएको शान्तिवार्तामा तत्काल उद्देश्य प्राप्त गर्न नसकिएको भएपनि युद्धविराम जारी रहेको र सहमतिमा पुग्ने प्रयास अझै भइरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बताएका छन् । “युद्धविराम अझै जारी छ र विवाद समाधान हुन बाँकी रहेका मुद्दाहरू समाधान गर्न पूर्ण प्रयास भइरहेको छ,” शरीफले टेलिभिजनमार्फत संक्षिप्त टिप्पणी गर्दै भने ।

    –समयसीमा सकिएको अमेरिकी भनाइ–

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमा नौसैनिक नाकाबन्दीका लागि तोकेको सोमबारको समयसीमा सकिएको छ । तेहरानसँग सप्ताहन्तमा भएको शान्ति वार्ता बिना कुनै सहमति सकिएपछि ट्रम्पले इन्धन ढुवानीका लागि रणनीतिक महत्वको ‘स्ट्रेट अफ हर्मुज’ नाकाबन्दीको घोषणा गरेका थिए । अमेरिकी सेनाले सोमबार ग्रीनविच समयअनुसार सबै खाडी बन्दरगाहहरूमा नाकाबन्दी सुरु गर्ने बताएको छ । इरानबाट नआएका र इरानतर्फ नजाने जहाजहरूलाई स्ट्रेट हुँदै आवतजावत गर्न अनुमति दिइने सेनाले बताएको छ ।

    –वार्ताका लागि खुला रहन इरानसँग कतारको आग्रह–

    कतारका प्रधानमन्त्रीद्वारा सोमबार इरानी विदेशमन्त्रीलाई इरान र संयुक्त राज्य अमेरिकाले मध्यस्थताको प्रयासमा सकारात्मक रूपमा संलग्न हुन आग्रह गर्दै समुद्री मार्गहरूलाई ‘मोलमोलाइ गर्ने औजार’ को रूपमा प्रयोग गर्न नहुने चेतावनी दिएका छन् । कतारको विदेश मन्त्रीको समेत जिम्मेवारी हेर्दै आउनुभएका शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अब्बास अरागचीसँगको फोनमा जारी मध्यस्थताको प्रयासमा सबै पक्षले सकारात्मक प्रतिक्रिया दिनुपर्नेमा जोड दिए ।


    विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उनले समुद्री मार्गहरू खोल्नुपर्ने, नौवहनको स्वतन्त्रताको सुनिश्चितता गरिनुपर्ने र तिनीहरूलाई दबाब वा सौदाबाजीको उपकरणको रूपमा प्रयोग गर्न नहुने कुरामा जोड दिए ।

  • इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

    इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

    बेइजिङ, १ वैशाख, (रासस–एएफपी) । इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई ‘आधारहीन र दुर्भावनापूर्ण’ भनेको छ । अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय मिडियामा आएका रिपोर्टबीच बेइजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्‍याएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता उपलब्ध गराएमा ५० प्रतिशतसम्मको नयाँ कर लगाउने चेतावनी दिएका थिए । उनको यो अभिव्यक्ति अमेरिकी सञ्चारमाध्यमहरूले चीनले निकट भविष्यमा इरानलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरेको दाबी गरेका बेला आएको हो ।

    सिएनएनले अमेरिकी गुप्तचर स्रोतहरू उद्धृत गर्दै चीनले आगामी केही साताभित्र इरानतर्फ उन्नत रक्षा प्रणाली पठाउन सक्ने सङ्केत गरेको जनाएको थियो । यसैबीच, द न्युयोर्क टाइम्सले पनि बेइजिङले काँधमा बोकेर प्रहार गर्न सकिने मिसाइलहरू पठाइसकेको हुन सक्ने आशङ्का सार्वजनिक गरेको थियो ।


    यी सबै आरोपहरूको जवाफ दिँदै चीनले सोमबार आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा चीनले सैन्य सामग्रीको निर्यातमा सधैँ कडा नियन्त्रण र जिम्मेवारीपूर्ण नीति अपनाउने बताए । “हामी आधारहीन धब्बा र दुर्भावनापूर्ण आरोपहरूको कडा विरोध गर्छौं”, उनले भने ।


    चीनले आफ्नो निर्यात नियन्त्रण कानून र अन्तर्राष्ट्रिय दायित्वअनुसार हतियार आपूर्तिमा कडाइ गर्ने नीति कायम रहेको स्पष्ट पारेको छ । यसले आफू कुनै पनि प्रकारको गैरजिम्मेवार सैन्य हस्तक्षेपमा संलग्न नभएको सङ्केत दिन खोजेको देखिन्छ । यद्यपि चीन र इरानबीच घनिष्ठ आर्थिक सम्बन्ध रहेको छ । चीन इरानको प्रमुख तेल खरिदकर्ता हो, जसले तेहरानको ऊर्जा निर्यातमा महत्त्वपूर्ण भूमिका खेलेको छ । तर विश्लेषकहरूका अनुसार यी दुई देशबीच औपचारिक सैन्य गठबन्धन भने छैन, र उनीहरूको सम्बन्ध मुख्यतः आर्थिक तथा रणनीतिक स्वार्थमा आधारित रहेको मानिन्छ ।

    साथै, चीनले खाडी क्षेत्रका अन्य देशहरूसँग पनि सुदृढ आर्थिक सम्बन्ध कायम राख्दै आएको छ । इरानले युद्धका क्रममा ती देशहरूमाथि गरेको आक्रमणप्रति चीनले आलोचना समेत गर्दै आएको छ, जसले बेइजिङ सन्तुलित कूटनीति अपनाउन खोजिरहेको सङ्केत गर्छ ।

  • इरानमा १६०० बढी मृत्युदण्ड

    इरानमा १६०० बढी मृत्युदण्ड

    पेरिस, ३० चैत (रासस–एएफपी) । इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार उक्त वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ । यो सन् १९८९ पछिकै उच्च सङ्ख्या हो र यसले राज्यद्वारा दमनको औजारका रूपमा मृत्युदण्ड प्रयोग भइरहेको सङ्केत गरेको छ ।

    नर्वेमा आधारित इरान मानव अधिकार ९आइएचआर० र पेरिसस्थित टुगेदर एगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम) ले सार्वजनिक गरेको संयुक्त प्रतिवेदनअनुसार यो सङ्ख्या अघिल्लो वर्ष २०२४ को तुलनामा ६८ प्रतिशतले बढी हो । सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिइएकामध्ये ४८ जना महिला पनि रहेका छन् । यो पछिल्लो दुई दशकयताकै उच्च सङ्ख्या हो ।

    प्रतिवेदनले उल्लेख गरेअनुसार दैनिक औसत चारभन्दा बढी व्यक्तिलाई फाँसी दिइएको देखिन्छ, र यो तथ्याङ्क ‘न्यूनतम अनुमान’ मात्र भएको जनाइएको छ, किनभने धेरै घटनाहरू आधिकारिक रूपमा सार्वजनिक हुँदैनन् । आइएचआरले मृत्युदण्ड पुष्टि गर्न दुई स्वतन्त्र स्रोत आवश्यक पर्ने नीति अपनाउँदै आएको छ । विश्लेषकहरूका अनुसार सन् २०२५ को यो वृद्धि केवल आपराधिक कारबाही मात्र नभई राजनीतिक सन्देश पनि हो । आइएचआरका निर्देशक महमुद अमीरी–मोघद्दमले भने, “दैनिक चारदेखि पाँच मृत्युदण्डमार्फत डरको वातावरण सिर्जना गरेर सरकारले सम्भावित विरोधलाई दबाउने प्रयास गरेको देखिन्छ ।”

    प्रतिवेदनले जनवरी २०२६ मा भएको विरोध प्रदर्शनपछि अवस्था झनै गम्भीर बन्न सक्ने चेतावनी दिएको छ । अधिकारकर्मीहरूका अनुसार सयौँ प्रदर्शनकारीहरू हिरासतमा छन् र उनीहरूलाई गम्भीर आरोप लगाएर मृत्युदण्डसम्मको जोखिममा राखिएको छ । यसअघि पनि त्यस्ता प्रदर्शनहरू कडा दमनका साथ नियन्त्रण गरिएको र हजारौँ मानिस मारिएको तथा दशौँ हजार पक्राउ परेका दाबी गरिएको छ ।

    फेब्रुअरी २८ देखि सुरु भएको इजरायल र अमेरिकाविरुद्धको युद्धकै क्रममा पनि इरानले मृत्युदण्डको प्रक्रिया रोकेको छैन । प्रतिवेदनअनुसार जनवरीको विरोधसँग सम्बन्धित सात जनालाई फाँसी दिइएको थियो, जसमा प्रतिबन्धित विपक्षी समूह ‘पिपुल्स मुजाहिदीन अफ इरान’ का सदस्यहरू र एक दोहोरो इरानी–स्विडिस नागरिकसमेत परेका छन् ।

    इसिपिएमका कार्यकारी निर्देशक राफेल चेनुइल–हाजानले मृत्युदण्डलाई ‘राजनीतिक नियन्त्रणको औजार’ का रूपमा प्रयोग गरिएको आरोप लगाए । उनका अनुसार विशेषगरी कुर्द र बलुचजस्ता जातीय तथा धार्मिक अल्पसङ्ख्यकहरू यसबाट असमान रूपमा प्रभावित भएका छन् । मृत्युदण्ड दिइएकामध्ये करिब आधा व्यक्तिहरू लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहरिएका थिए । महिला मृत्युदण्डको सन्दर्भमा ४८ मध्ये २१ जना आफ्ना पति वा मङ्गेतरको हत्या अभियोगमा दोषी ठहरिएका थिए । अधिकार समूहहरूले तीमध्ये धेरै महिला हिंसात्मक वा दुव्र्यवहारपूर्ण सम्बन्धमा रहेको दाबी गरेका छन् ।

    प्रतिवेदनले सन् २०२५ मा सार्वजनिक फाँसीको सङ्ख्या पनि बढेको उल्लेख गरेको छ । अधिकांश मृत्युदण्ड जेलभित्रै कार्यान्वयन गरिए पनि सार्वजनिक रूपमा दिइने फाँसी तीन गुणा बढेर ११ पुगेको छ । इरानको कानूनले मृत्युदण्डका विभिन्न तरिका अनुमति दिए पनि पछिल्ला वर्षहरूमा सबैजसो सजाय फाँसीमार्फत कार्यान्वयन हुँदै आएको छ । मानवअधिकार सङ्गठनहरूका अनुसार इरान विश्वमै प्रतिव्यक्ति आधारमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुकमध्ये एक हो । दोस्रो स्थानमा चीन पर्ने दाबी गरिएको छ, यद्यपि चीनका तथ्याङ्कहरू सार्वजनिक रूपमा उपलब्ध छैनन् ।

  • साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

    साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

    दुबई, ३० चैत (रासस–एएफपी) । साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई मृत्युदण्ड दिएका छन्। पाँच साउदी र जोर्डनका दुई नागरिकलाई प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको अभियोगमा दोषी ठहर गरेको साउदी प्रेस एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी जनाएको छ । “अपराधीहरूलाई विवेकपूर्ण सजायको रूपमा म आइतवार रियादमा मृत्युदण्ड दिइएको थियो,” साउदी प्रेस एजेन्सीले लेखेको छ।

    साउदी अरबको सरकारी तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार सन् २०२६ को सुरुदेखि रियादले मृत्युदण्ड दिएका ६१ जनामध्ये लागुऔषधसँग सम्बन्धित मुद्दामा ३८ जनालाई मृत्युदण्ड दिएको छ । यस वर्ष मृत्युदण्ड दिइनेमध्ये ३३ जना अर्थात् अधिकांश विदेशी नागरिकहरू छन् । सन् २०२५ मा साउदी अरबमा मृत्युदण्डका घटनाले लगातार दोस्रो वर्ष उच्च रेकर्ड कायम गरेको थियो । सन् २०२५ मा अधिकारीहरूले ३५६ जनालाई मृत्युदण्ड दिएका थिए भने त्यसमध्ये लागूपदार्थसँग सम्बन्धित मामिलामा २४३ जना रहेका थिए।

    सन् १९९० मा एम्नेस्टी इन्टरनेशनलले खाडी अधिराज्यमा मृत्युदण्डका मुद्दाहरूको दस्तावेजीकरण गर्न थालेयता सन् २०२५ मा एकै वर्षमा दिइएका मृत्युदण्डको सङ्ख्या सबैभन्दा बढी हो। यस पहिले सन् २०२४ मा ३३८ जनालाई मृत्युदण्ड दिइएको उच्च रेकर्ड रहेको थियो । साउदी अरबले लागूऔषध मामिलामा मृत्युदण्डको प्रयोगलाई करिब तीन वर्षसम्म निलम्बन गरेपछि सन् २०२२ को अन्त्यदेखि लागुऔषध अपराधका लागि मृत्युदण्डको सजाय पुनः सुरु गरेको थियो ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार अरब विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र लागुऔषध ओसारपसारका लागि सबैभन्दा ठूलोमध्येको बजार पनि हो । अपदस्थ सिरियाली नेता बशर अल–असदको नेतृत्वमा रहेको सिरियाबाट उहाँ सबैभन्दा ठूलो निर्यात हुने गरेको बताउने गरिएको छ। खाडी राज्यले मृत्युदण्डको प्रयोगलाई लिएर निरन्तर आलोचनाको सामना गर्नु परेको छ, जसलाई अधिकारवादी समूहहरूले अत्यधिक भन्दै निन्दा गरेका छन् र यो विश्वसामु आधुनिक छवि प्रस्तुत गर्ने साउदी अरबको प्रयासको विपरीत छ।

    अधिकारकर्मीहरू भन्छन्, “रियादले मृत्युदण्डलाई निरन्तर अँगालेको छ जसले अधिक खुला, सहिष्णु समाजको छविलाई कमजोर पार्छ । राजकुमार मोहम्मद बिन सलमानको सामाजिक र आर्थिक सुधारको एजेन्डाको केन्द्रबिन्दु लागुऔषध कारोबार नियन्त्रण हो।

  • इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

    वासिङ्टन, ३० चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई सैन्य सहयोग गरे अमेरिका भित्रिने चिनियाँ सामानमा नयाँ ९थप० कर लगाउने चेतावनी आइतबार दिएका छन् । फक्स न्यूजको कार्यक्रम ‘सन्डे मर्निङ फ्युचर्स विथ मारिया बार्टिरोमो’ मा ट्रम्पले भने, “यदि हामीले उनीहरूलाई त्यसो गरेको देख्यौँ वा पायौँ भने उनीहरूले ५० प्रतिशत थप भन्सार महसुलको सामना गर्नुपर्नेछ।”

    इरानविरुद्धको युद्धका कारण आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तामा ढिलाइ भएको तर आफू अर्को महिना बेइजिङ जाने अमेरिकी राष्ट्रपति ट्रम्पले बताए । चीनले इरानलाई हतियार पठाउन लागेको भनेर अमेरिकी खुफिया संस्थाको हवाला दिंदै केही सञ्चारमाध्यमले समाचार लेखेका छन्। चीनले केही विमान खसाल्न मिल्ने रकेटसहित ‘एयर डिफेन्स’मा प्रयोग हुने हतियार केही हप्तामै इरान पुग्ने गरी पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। यसबारे अमेरिकी समाचार संस्था सिएनएनले ट्रम्पलाई सोधेको थियो। राष्ट्रपति ट्रम्पले भने, “चीनले त्यसो गर्न लागेको हो भने चीनका लागि त्यो ठूलो समस्या हुनेछ ।” अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए ।

    केही दिन अघि अमेरिका र इरानबीच दुई हप्ते युद्धविराम भएको थियो। युद्धको स्थायी अन्त्य गर्न अमेरिका र इरानबीच पाकिस्तानमा शनिबार भएको वार्ता निष्कर्षविहीन भएको छ। शनिबार दिउँसोदेखि आइतबार बिहान ५ बजेसम्म चलेको वार्ता निष्कर्षविहीन भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताए ।

  • हर्मुज घाँटीमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

    हर्मुज घाँटीमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन

    वासिङ्टन, ३० चैत (रासस–एएफपी) । इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षा त्याग्न अस्वीकार गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वार्ता विना निश्कर्ष टुङ्गिएपछि पहिलो प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भने, “स्ट्रेट अफ हर्मुज’मा अमेरिकी नौसेनाको नाकाबन्दी जारी गर्न आइतबार आदेश दिइएको छ ।’


    पाकिस्तानमा भएको वार्ता ‘राम्रा’े भएको र अधिकांश बुँदामा सहमति भएको स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले तेहरानले आफ्नो पारमाणविक कार्यक्रमका विषय त्याग्न अस्वीकार गरेको बताए । राष्ट्रपति ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ मा प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कन खोज्ने कुनै पनि पानीजहाजमाथि नाकाबन्दी लगाउने प्रक्रिया तत्कालदेखि लागू हुने गरी काम गर्न अमेरिकी नौसेनालाई निर्देशन जारी गरे ।
    यसैबिच, सन् १९७९ को इस्लामिक क्रान्तिपछि दुई पक्षबीचको उच्चस्तरीय बैठकपछि शान्ति वार्ताको लागि पाकिस्तान पुगेको अमेरिकी प्रतिनिधिमण्डल फिर्ता भएको छ । वार्तामा वासिङ्टनले सम्झौताका लागि तेहरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ।” “हामी यहाँ एक धेरै साधारण प्रस्तावसहित सहभागी भएका थियौँ । हामी हेर्नेछौं कि इरानीहरूले यसलाई स्वीकार गर्छन् कि गर्दैनन्।”

    जर्मनीको रामस्टिन एयर बेसमा एयर फोर्स २ मा इन्धन भर्ने क्रममा एक अमेरिकी अधिकारीले पत्रकारहरूसँग भने, “अमेरिकी वार्ता टोलीका कुनै पनि सदस्य इस्लामाबादमा छैनन् ।” प्रमुख अमेरिकी वार्ताकारहरू स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरसहितको प्रतिनिधिमण्डल वार्तामा सहभागी भएको थियो ।

  • भारतीय गायिका आशा भोसलेको निधन, भारतीय संगितलाई विराट क्षति

    भारतीय गायिका आशा भोसलेको निधन, भारतीय संगितलाई विराट क्षति

    मुम्बई, २९ चैत (रासस–एएनआई) । भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गर्नुभएकी प्रख्यात गायिका आशा भोसलेको आइतबार निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी उनको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उनको उमेर ९२ वर्ष थियो । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत रहँदा उनको निधन भएको चिकित्सक डा. प्रतीत समदानीले पुष्टि गरे । चिकित्सकका अनुसार बहु–अङ्ग विफलताका कारण उनले अन्तिम सास लिइन् ।


    अस्पताल स्रोतअनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका थिए । यसअघि उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत परिवारका लागि गोपनीयताको अनुरोध गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइन् । उनले अस्पताल भर्ना गरिएको पुष्टि गर्दै उपचार भइरहेको र सुधारको आशा गरिएको उल्लेख गरेकी थिइन् ।


    सन् १९३३ मा जन्मनुभएकी आशा भोसलेले अत्यन्तै सानो उमेरमै आफ्नो सङ्गीत यात्रा सुरु गरेकी थिइन् । सन् १९५० को दशकदेखि उनको स्वर भारतीय चलचित्र सङ्गीतमा अत्यन्त लोकप्रिय बन्दै गएको थियो र क्रमशः उनी विश्वकै सबैभन्दा चर्चित पार्श्व गायिकामध्ये एकका रूपमा स्थापित भइन् । उनको स्वरको विशेषता भावनात्मक गहिराइ, अनुकूलनीयता र बहुमुखी प्रतिभा मानिन्छ । शास्त्रीय सङ्गीतदेखि गजल, क्याब्रे, पप र लोकगीतसम्म उहाँले विभिन्न विधामा आफ्नो स्वरको प्रभाव छोडेकी छिन् । भारतका विभिन्न भाषामा हजारौँ गीत रेकर्ड गरेर उनले भारतीय सङ्गीतलाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेकी छिन् ।


    प्रमुख सङ्गीतकार तथा चलचित्र निर्मातासँगको सहकार्यले हिन्दी चलचित्र सङ्गीतलाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ । उनका गीतहरू आज पनि कालजयी मानिन्छन् र नयाँ पुस्तामाझ उत्तिकै लोकप्रिय छन् । उनलाई भारतीय सरकारले प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार तथा पद्मविभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको थियो । सन् २०११ मा गिनिज वर्ल्ड रेकर्डले उनलाई सङ्गीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएको कलाकारका रूपमा मान्यता दिएको थियो ।

    जीवनको उत्तरार्धसम्म पनि आशा भोसले सङ्गीतसँग निरन्तर जोडिइन् । कहिलेकाहीँ सार्वजनिक प्रस्तुति दिँदै उनले युवा कलाकारहरूलाई प्रेरणा दिइरहिन् । भारतीय सङ्गीतमा महिला स्वरको पहिचान विस्तार गर्न र पार्श्व गायनलाई नयाँ परिभाषा दिन उनको योगदान अतुलनीय मानिन्छ ।

    उनका लोकप्रिय गीतहरूमा ‘दिल चीज क्या है’, ‘पिया तु अब तो आजा’, ‘मेरा कुछ सामान’ र ‘चुरा लिया है तुमने’ जस्ता कालजयी रचना समावेश छन्, जसले उनको बहुआयामिक प्रतिभालाई उजागर गर्छ । उनको निधनको खबर फैलिँदा भारतभर तथा अन्तर्राष्ट्रिय स्तरमा पनि शोक व्यक्त गरिएको छ । प्रशंसक, कलाकार र विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनको योगदानलाई स्मरण गर्दै भारतीय सङ्गीतमा उहाँको स्थान अपूरणीय रहेको बताएका छन् ।

  • कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

    कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

    टोकियो, २९ चैत (रासस–एएनआई) । अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी दूतावासले सैन्य आक्रमणबाट हासिल गर्न नसकिएका उद्देश्यहरू कूटनीतिका माध्यमबाट थोपर्न नसकिने स्पष्ट पारेको छ । इस्लामाबादमा भएको हालैको वार्तापछि सार्वजनिक धारणा तीव्र भइरहेका बेला इरानले आफ्नो अडान पुनः दोहोर्‍याएको हो ।

    दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अघि सारेको ‘अन्तिम र उत्कृष्ट प्रस्ताव’ लाई एकपक्षीय रूपमा प्रस्तुत गरिएको भन्दै अस्वीकार्य ठहर गरेको छ । उक्त प्रस्ताव स्वभावतः पारस्परिक हुनुपर्ने भन्दै इरानले यसलाई कुनै एक पक्षले दबाब सिर्जना गर्ने औजारका रूपमा प्रयोग गर्न नसकिने जनाएको छ ।

    वक्तव्यमा इरानले भान्सको ‘इरानले हाम्रो सर्त स्वीकार नगर्ने छनोट गरेको छ’ भन्ने अभिव्यक्तिलाई पनि जबरजस्ती तर्कको संज्ञा दिएको छ । दूतावासका अनुसार यस्तो धारणा अर्को पक्षलाई युद्धमैदानमा असफल भएका मागहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास हो, जुन कूटनीतिक सिद्धान्तविपरीत छ । साथै, पछिल्लो द्वन्द्वको सुरुआत इरानबाट नभई अन्य पक्षबाट भएको दाबीसमेत गरिएको छ ।

    इरानले भान्सका अभिव्यक्तिहरूले अन्तर्राष्ट्रिय समुदायमा थप गम्भीर र आलोचनात्मक बहस आवश्यक बनाएको उल्लेख गरेको छ । ‘इरानका लागि नराम्रो खबर’ भन्ने टिप्पणीलाई लक्षित गर्दै दूतावासले त्यसको यथार्थ मूल्याङ्कन हुनुपर्ने बताएको छ । साथै, वार्ता आयोजना र सहजीकरणमा भूमिका खेलेको पाकिस्तानप्रति इरानले कृतज्ञता व्यक्त गरेको छ ।

    यसैबीच, क्षेत्रीय तनाव अझ चर्काउने सङ्केत देखिएका छन् । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले आफ्ना दुई युद्धपोत युएसएस फ्रान्क ई. पिटरसन (डिडिजी १२१) र युएसएस माइकल मर्फी (डिडिजी ११२) ले होर्मुज जलडमरूमध्य पार गर्दै खानी सफा गर्ने तयारी थालेको जनाएको छ । उक्त कदमलाई उसले जलमार्ग सुरक्षित बनाउने व्यापक अभियानको हिस्सा बताएको छ ।

    तर इरानले अमेरिकी दाबीलाई तत्काल अस्वीकार गरेको छ । इरानी सेनाको खताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले कुनै पनि अमेरिकी जहाज उक्त क्षेत्रमा प्रवेश गरेको दाबी असत्य रहेको बताएका छन् । उनका अनुसार होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन पूर्ण रूपमा इरानका सशस्त्र बलको नियन्त्रणमा रहेको छ । दुवै पक्षबीच बढ्दो आरोप–प्रत्यारोपले कूटनीतिक समाधानको सम्भावनालाई थप जटिल बनाइरहेको विश्लेषण गरिएको छ, जहाँ वार्ताभन्दा बढी शक्ति प्रदर्शनले प्राथमिकता पाएको सङ्केत देखिन्छ ।

  • इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    इस्लामावाद, २९ चैत (रासस–एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको छ । २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिए ।

    वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ खोजेको भए पनि त्यसतर्फ स्पष्ट सङ्केत नदेखिएको बताए । सन् १९७९ को इस्लामिक क्रान्तिपछि उच्चस्तरीय रूपमा भएको यस्तो संवादलाई महत्त्वपूर्ण मानिए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन । उनका अनुसार अमेरिकाले इरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ र त्यसबारे निर्णय लिन केही समय प्रदान गरिएको छ ।

    यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले मङ्गलबारदेखि दुई साताका लागि वार्ता स्थगित गर्ने सङ्केत दिएका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउनुका साथै विश्व अर्थतन्त्रमा समेत असर पारेको छ । आक्रमणपछि इरानले प्रतिशोधात्मक कदम चालेपछि तनाव झनै चुलिएको हो ।

    वार्ताका क्रममा दुवै पक्ष आ–आफ्ना कडा अडानसहित प्रस्तुत भएका थिए । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा माइन हटाउन युद्धपोत पठाएको दाबी गर्दै दबाब सिर्जना गरिरहेको आरोप इरानी पक्षले लगाएको छ । उक्त जलडमरूमध्य विश्वको करिब पाँचौँ भाग तेल आपूर्तिको प्रमुख मार्ग मानिन्छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामप्रति आफूलाई खास चासो नभएको प्रतिक्रिया दिएका छन् । उनले युद्धमैदानमा अमेरिका पहिले नै विजयी भइसकेको दाबी गर्दै इरानी नेतृत्वलाई कमजोर पारिएको र सैन्य संरचनामा क्षति पुर्‍याइएको उल्लेख गरे । “सम्झौता भए पनि नभए पनि फरक पर्दैन, हामीले जितिसकेका छौँ”, उनले भने ।


    उता, इरानले भने कुनै पनि सम्भावित सम्झौतामा आफ्ना जफत गरिएका सम्पत्ति फुकुवा हुनुपर्ने र लेबनानमा हिजबुल्लाहविरुद्धको इजरायली आक्रमण रोकिनुपर्ने माग राखेको छ । तर भान्सले ती विषयहरू इस्लामावाद वार्ताको दायराभन्दा बाहिर रहेको स्पष्ट पारे । वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले गरेका थिए ।

    विदेशमन्त्री अब्बास अराघची पनि सहभागी थिए । अमेरिकी टोलीमा ट्रम्पका निकट सहयोगी स्टिभ विटकफ र जारेड कुशनरसमेत सहभागी थिए । इरानले विशेषतः भान्सको उपस्थिति र विगतमा युद्धविरोधी धारणा राखेकाले वार्ताप्रति केही अपेक्षा गरेको थियो ।

    युद्ध सुरु भएसँगै इरानले होर्मुज जलडमरूमध्यमाथि नियन्त्रण कायम गर्दै विश्व तेल बजारमा प्रभाव पारेको छ । तेलको मूल्य वृद्धिले अमेरिकामा समेत राजनीतिक दबाब सिर्जना गरेको छ । अमेरिकी सेनाले जलडमरूमध्य सुरक्षित बनाउने प्रयास गरिरहेको दाबी गरे पनि इरानले त्यस्तो कुनै गतिविधि स्वीकार गरेको छैन र हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ ।

    यता लेबनानमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व पनि जारी छ । इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघिसकेको लेबनानी अधिकारीहरूले जनाएका छन् । आगामी साता इजरायल र लेबनानबीच वासिङ्टनमा छुट्टै वार्ता हुने तयारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दीर्घकालीन शान्ति सम्झौताको चाहना व्यक्त गरेको भए पनि हिजबुल्लाहसँग तत्काल युद्धविराममा सहमति जनाएका छैनन् ।

    यसैबीच, इरानभित्रै पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै देखिएको छ। “अमेरिकासँगको वार्ताको अनुभव सधैँ असफलता र भङ्ग गरिएका प्रतिबद्धतासँग जोडिएको छ”, गालिबफले भने। यद्यपि दुवै पक्षले कूटनीतिक ढोका पूर्ण रूपमा बन्द नगरेको सङ्केत दिएका छन् । विशेषज्ञहरूका अनुसार ठूलो र उच्चस्तरीय इरानी टोलीको सहभागिताले उनीहरू सम्झौताको सम्भावनाप्रति गम्भीर रहेको देखाए पनि आपसी अविश्वास र क्षेत्रीय जटिलताले सहमति टाढा धकेलेको छ ।

  • युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा

    युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा

    ब्रसेल्स (बेल्जियम), २९ चैत (रासस–एएनआई) । इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्क क्षेत्रमा ३० भन्दा बढी नयाँ बस्तीहरू स्थापना गर्ने पछिल्लो इजरायली निर्णयको युरोपियन युनियनले कडा निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै इयुले इजरायलको विस्तारले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन र दुई–राज्य बीचको लामो समयदेखिको सौभार्दपूर्ण सम्बन्धमा खतरा उत्पन्न भएको बताएको छ ।

    युरोपेली युनियनले पूर्वी जेरुसेलमसहित वेस्ट ब्याङ्कमा आफ्नो कब्जा विस्तार गर्ने इजरायली कदमको निन्दा गरेको छ भने अन्तर्राष्ट्रिय अदालतको गैरकानूनी घोषणा गरेको छ । इयुले इजरायललाई यी निर्णयहरू उल्टाइ अन्तर्राष्ट्रिय कानून अनुसार आफ्नो दायित्वहरूको पालना गर्न र कब्जा गरिएका क्षेत्रहरूका प्यालेस्टिनीहरुको रक्षा गर्न आग्रह गरेका छन् ।


    यसै बीच युरोपियन युनियनले प्यालेस्टिनी नागरिकहरू विरुद्धको गरिएको हिंसाको निन्दा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्ताव अनुसार दुई–राज्य इजरायल र प्यालेस्टाइन, न्यायपूर्ण र स्थायी शान्ति हित आफ्नो सीमाभित्र शान्तिको साथ बस्न् पाउनु पर्ने बताएको छ । इस्लामिक सहयोग सङ्गठन (ओआईसी) ले पनि शुक्रबार इजरायली कब्जामा रहेको वेस्ट ब्याङ्कमा ३४ वटा नयाँ बस्तीहरूको स्वीकृतिको निन्दा गर्दै यो निर्णयले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताएको छ ।

    इजरायली सरकारले अप्रिलको सुरुमा “गोप्य रूपमा“ गरेको यो निर्णयले अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको प्यालेस्टिन सरकारले जनाएको छ ।
    अल जजिराका अनुसार इजरायली सरकारबाट हाल सम्म यस विषयमा कुनै टिप्पणी आएको छैन । गत बिहीबार स्वीकृत भएका बस्तीहरू सहित सन् २०२२ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार सत्तामा आएपछि स्वीकृत भएका ६८ वटा भन्दा माथि भएको अल जजिराले जनाएको छ ।

  • संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    संयुक्त राष्ट्रसङ्घद्वारा जवाफदेहिताका लागि माग

    जेनेभा, २९ चैत (रासस–एएफपी) । संयुक्त राष्ट्र सङ्घका प्रमुखहरूले शनिबार मध्यपूर्वमा व्यापक अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको लागि दण्डहीनताको अन्त्य गर्न माग गरेका छन् । इरानमा अमेरिका–इजरायल आक्रमणले सुरु गरेको युद्धमा हताहतीको सङ्ख्या बढ्दै गएको छ । संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रमा ‘युद्धका नियम र अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घनबाट आत्तिएको’ बताएका हुन् । संयुक्त राष्ट्रसंघको अन्तर–निकाय स्थायी समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धका पनि नियम हुन्छन् र यी नियमको सम्मान गर्नुपर्छ ।”

    संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचर र संयुक्त राष्ट्रसंघीय मानवअधिकार, स्वास्थ्य, खाद्य, शरणार्थी र बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकायका प्रमुखहरूले लेखेको संयुक्त वक्तव्यमा फेब्रुअरी २८ मा मध्यपूर्व युद्ध सुरु भएयता बढ्दो हताहती सङ्ख्याको निन्दा गरिएको छ । “मध्य पूर्वमा गत महिना मात्र हजारौं नागरिक मारिएका छन् र घाइते भएका छन्। लाखौँ धेरै पटक विस्थापित भएका छन्”, वक्तव्यमा भनिएको छ,
    “संख्या बढ्दै गएको छ र आवश्यक सेवाहरूमा पहुँचका लागि झन् गाह्रो भइरहेको छ।”

    वक्तव्यमा भनिएको छ, “युद्धका क्रममा स्वास्थ्यकर्मी, अस्पताल र एम्बुलेन्सलाई निशाना बनाइएको छ । विद्यालयहरू प्रभावित भएका छन्। पुल, आवासीय भवन, घर, खानेपानी सुविधा र पावर प्लान्टलगायत नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन् ।” उनीहरूले खाद्यान्न र इन्धनको मूल्य बढेसँगै महिला र बालबालिका तथा अन्य विशिष्ट आवश्यकता भएका व्यक्तिहरूका साथै विश्वव्यापी आपूर्ति शृङ्खलामा पर्ने प्रभावबारे विशेष चिन्ता व्यक्त गरेका छन् ।

    यसैबिच, उनीहरूले आफ्ना मानवीय सहकर्मीहरू युद्धमा फसेका बताएका छन् । क्तव्यमा भनिएको छ, “यस वर्षको सुरुदेखि नै प्यालेस्टाइन क्षेत्रमा १४, इरानमा आठ र लेबनानमा पाँच सहायताकर्मीहरू मारिएका छन् वा घाइते भएका छन्। यो सहायताकर्मीको हताहतीको एक खतरनाक सङ्ख्या हो।” एजेन्सीका प्रमुखहरूले भनेका छन्, “हामी मानवीय र स्वास्थ्यकर्मीहरू र नागरिक वस्तुहरू सहित नागरिकहरूमाथि हुने सबै आक्रमणको कडा निन्दा गर्दछौँ।”

    “संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू हुन् वा सशस्त्र समूहहरू सबै पक्षले मानवीय कर्मचारीहरू र नागरिक पूर्वाधारहरू सहित नागरिकहरूको सुरक्षा गर्ने उनीहरूको कानुनी दायित्वको सम्मान गर्नुपर्छ,“ उनीहरूले भने, “सबै उल्लङ्घनहरू जवाफदेहीताका साथ पूरा गरिनु पर्छ।”

  • कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

    कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

    बोगोटा, २९ चैत (रासस–एएफपी) । दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी व्यापार तनाव थप चर्किएको छ । इक्वेडरले कोलम्बियाली सामानमा कर बढाएको भोलिपल्ट नै कोलम्बियाले पनि प्रतिउत्तरस्वरूप इक्वेडरबाट आयात हुने वस्तुमा १०० प्रतिशतसम्मको भन्सार शुल्क लगाउने निर्णय गरेको जनाएको छ । कोलम्बियाको वाणिज्य मन्त्रालयका अनुसार यो कदम प्रत्यक्ष रूपमा इक्वेडरको निर्णयको प्रतिक्रिया हो । बिहीबार इक्वेडरले कोलम्बियाली वस्तुमा लगाइँदै आएको ५० प्रतिशत करलाई बढाएर १०० प्रतिशत पुर्‍याएको थियो । त्यसको जवाफमा कोलम्बियाले पनि समान स्तरको शुल्क लागू गरेको हो ।

    दुवै देशबीच केही महिनादेखि व्यापारिक विवाद चल्दै आएको छ । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले साझा सीमामा लागुऔषध तस्करी र अवैध खनन नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै आउनुभएको छ । यही विषयले दुई देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ ।

    कर वृद्धि मात्र नभई कूटनीतिक सम्बन्धमा पनि असर परेको छ । इक्वेडरको निर्णयपछि कोलम्बियाले आफ्नो राजदूतलाई बोगोटा फिर्ता बोलाएको छ । वर्षको सुरुदेखि नै इक्वेडरले चरणबद्ध रूपमा भन्सार शुल्क बढाउँदै आएको र त्यसको जवाफमा कोलम्बियाले पनि पारस्परिक भन्सार शुल्क लागू गर्दै आएको देखिन्छ । यो सुरुमा ३० प्रतिशतबाट बढ्दै १०० प्रतिशतसम्म पुगेको छ ।

    यद्यपि, कोलम्बियाले केही क्षेत्रलाई भने आंशिक रूपमा सहज बनाउने सङ्केत दिएको छ । राष्ट्रपति पेट्रोले औद्योगिक उत्पादनका लागि आवश्यक केही कच्चा पदार्थमा ‘शून्य प्रतिशत कर’ लागू गरिने उल्लेख गरेका छन् । जसले घरेलु उद्योगलाई राहत दिन सक्छ । कोलम्बियाकी वाणिज्यमन्त्री डायना मोरालेसले दुवै देशबीच कूटनीतिक प्रयासहरू लगभग समाप्त भइसकेको बताउँदै स्थिति गम्भीर बन्दै गएको सङ्केत गरिन् । यसै साता पेट्रोले इक्वेडरका पूर्वउपराष्ट्रपति जोर्ज ग्लासलाई ‘राजनीतिक बन्दी’ भनेपछि विवाद झन् बढेको हो ।

    ग्लासले २०१३ देखि २०१८ सम्म विभिन्न सरकारहरूमा सेवा गरेका थिए । गत वर्ष भ्रष्टाचारको आरोपमा १३ वर्षको जेल सजाय पा्रएका थिए । उनले जेलमा अमानवीय व्यवहार भोग्नुपरेको दाबी गर्दै आएका छन्् । तनाव यति बढेको छ कि कोलम्बियाले पेरु, बोलिभिया र इक्वेडर सम्मिलित क्षेत्रीय सङ्गठन एन्डियन कम्युनिटी अफ नेसन्स (क्यान) बाट बाहिरिने सम्भावना पनि उठाएको छ । यद्यपि, क्यानले शुक्रबार दुवै देशबीच संवाद गराउने प्रयासस्वरूप कूटनीतिक बैठक आयोजना गरेको जनाएको छ ।

    आर्थिक दृष्टिले दुवै देश एकअर्कामा निर्भर छन् । कोलम्बियाले इक्वेडरमा मुख्य रूपमा बिजुली, औषधि, सवारी साधन, सौन्दर्य सामग्री र प्लास्टिकजन्य वस्तु निर्यात गर्छ भने इक्वेडरबाट तरकारीजन्य तेल, डिब्बाबन्द टुना, खनिज तथा धातु आयात गर्छ । यस क्षेत्रको अर्को जटिल पक्ष लागुऔषध तस्करी पनि हो । कोलम्बिया र पेरुमा उत्पादित करिब ७० प्रतिशत कोकेन इक्वेडर हुँदै प्रशान्त महासागरका बन्दरगाहबाट बाहिरिने गरेको छ । यसले इक्वेडरलाई आपराधिक गतिविधिको केन्द्र बनाएको छ ।

    एक समय शान्त मानिएको इक्वेडर अहिले आपराधिक समूहहरूबीचको सङ्घर्षले प्रभावित भएको छ, जसका कारण हिंसा र हत्याका घटनामा उल्लेखनीय वृद्धि भएको छ । यस्तो अवस्थामा व्यापार युद्धसँगै सुरक्षाको चुनौतीले पनि क्षेत्रीय स्थायित्वमा थप दबाब सिर्जना गरेको छ ।

  • अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    काठमाडौँ,२९ चैतः मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुआतको स्मरण गर्दै आज अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०११ अप्रिल ७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले यससम्बन्धी प्रस्ताव पारित गरेर प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवसका रूपमा मनाउने निर्णय भएको हो ।


    यो दिवसले अन्तरिक्ष विज्ञान तथा प्रविधिको योगदानलाई स्मरण गर्दै दिगो प्रविधिका माध्यमबाट विकास लक्ष्य हासिल गर्न तथा जनताको जीवनस्तर उकास्न जोड दिएको छ । सन् १९६१ अप्रिल १२ मा सोभियत नागरिक युरी गागरिनले पहिलो पटक अन्तरिक्ष उडान सम्पन्न गरेका थिए । उनी पृथ्वीको परिक्रमा गर्ने पहिलो मानव बन्दा अन्तरिक्ष अन्वेषणको नयाँ युगको सुरुआत भएको मानिन्छ ।

    त्यसअघि सन् १९५७ अक्टोबर ४ मा पहिलो मानव निर्मित पृथ्वी उपग्रह ‘स्पुतनिक–१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । यसबाट अन्तरिक्ष अन्वेषणको मार्ग प्रशस्त भएको थियो । त्यसपछिका दशकहरूमा मानव अन्तरिक्ष यात्रामा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । सन् १९६३ जुन १६ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला बन्नुभयो भने सन् १९६९ जुलाई २० मा नील आर्मस्ट्रङले चन्द्रमाको सतहमा पाइला टेक्ने पहिलो मानवको इतिहास रचे ।

    सन् १९७५ जुलाई १७ मा अपोलो र सोयुज अन्तरिक्ष यान जोडेर पहिलो पटक योजनाबद्ध अन्तरराष्ट्रिय मानव अन्तरिक्ष अभियान सफल भएको थियो । संयुक्त राष्ट्रसङ्घले अन्तरिक्ष अन्वेषण र यसको उपयोग मानवजातिको साझा सम्पत्ति भएको उल्लेख गर्दै त्यसको लाभ सबै राष्ट्रसम्म पु¥याउनुपर्नेमा जोड दिएको छ ।
    तस्बिर : संयुक्त राष्ट्रसङ्घ

  • शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार

    शनिबार पहिलो दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार

    वासिङ्टन, २९ चैत (रासस–एएफपी) । अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक हर्मुज घाँटी हुँदै दुई अमेरिकी युद्धपोतहरू पार भएका उनले बताए । अमेरिकी नौसेनाले ‘गाइडेड मिसाइल डिस्ट्रोयर’ मा कुनै समस्या नभोगीकन उक्त जलडमरूमार्गबाट पार गरेको ‘द वाल स्ट्रिट जर्नल’ले तीन अमेरिकी अधिकारीलाई उद्धृत गर्दै लेखेको छ। ढुवानीका क्रममा तेहरानका अधिकारीसँग समन्वय नगरिएको उक्त अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।

    “हामी अब ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध हटाउने प्रक्रिया सुरु गर्दैछौँ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भने, “यो चीन, जापान र फ्रान्स जस्ता देशहरूका लागि ‘उपकार’ हो । उनीहरूसँग यो काम आफैं गर्ने साहस वा इच्छाशक्ति छैन।” उनले द्वन्द्वमा इरानले ‘ठूलो घाटा व्यहोरेको’ बताए । राष्ट्रपति ट्रम्पले रणनीतिक जलडमरु भनिने हमुज घाँटीमा इरानी विस्फोटक पदार्थहरू बिच्छ्याइएका कारण विश्वको कच्चा तेलको करिब २० प्रतिशत ढुवानी हुने यस मार्गमा अझै पनि खतरा रहेको स्वीकार गरे ।


    ट्रम्पले लेखेका छन्, “अझै पनि साँघुरो समुद्री मार्गमा जहाजहरूमाथि आक्रमण हुन सक्ने खतरा छ।” एएफपीले उक्त रिपोर्टबारे प्रतिक्रियाका लागि गरेको अनुरोधमा अन्य अमेरिकी अधिकारीहरूले तत्काल प्रतिक्रिया दिएका छैनन्। संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि बमबारी गर्न थालेपछि तेहरानले इरानको तटमा उसका शत्रुहका लागि मुख्य मार्ग लगभग अवरुद्ध गरेको छ, यद्यपि स्ट्रेट पुनः खोल्नु शनिबारदेखि सुरु भएको युद्धविराम वार्तामा राखिएको प्रमुख सर्त रहेको छ।

    इरानी सञ्चारमाध्यमका अनुसार मध्यपूर्वलाई हिंसामा परिणत गरेको र विश्व अर्थतन्त्रलाई स्तब्ध पारेको द्वन्द्व अन्त्य गर्ने प्रयासमा इरानी र अमेरिकी अधिकारीहरूले शनिबार पाकिस्तानमा वार्ता सुरु गरेका छन्। यसअघिको एक पोस्टमा राष्ट्रपति ट्रम्पले विश्वभरबाट ‘खाली ट्याङ्करहरू तेल किन्नका लागि’ अमेरिका गइरहेको बताएका थिए ।

  • युद्धविरामअघि ओडिसामा घातक हमला

    युद्धविरामअघि ओडिसामा घातक हमला

    किएभ, २९ चैत (रासस–एपी) । अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन केही घण्टाअघि नै युक्रेनको ओडिसा सहरमा भएको रुसी ड्रोन आक्रमणले शान्तिको प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ । शनिबार राति भएको उक्त हमलामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । कृष्ण सागर किनारमा अवस्थित रणनीतिक बन्दरगाह सहर ओडिसामा ड्रोन प्रहार हुँदा आवासीय क्षेत्र नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूका अनुसार आक्रमणले अपार्टमेन्ट भवन, निजी घरहरू र एक किन्डरगार्टेनमा क्षति पुर्‍याएको छ, जसले सर्वसाधारणको सुरक्षाप्रति चिन्ता बढाएको छ ।

    युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर देशभर १६० वटा ड्रोन प्रक्षेपण गरेको थियो । तीमध्ये १३३ वटा खसालिएका वा निष्क्रिय पारिएका थिए । यो आक्रमण प्रस्तावित ३२ घण्टे इस्टर युद्धविराम लागू हुनुअघि भएको हो । उता, रुसको रक्षा मन्त्रालयले पनि आफ्ना क्षेत्रमा युक्रेनी आक्रमण भएको दाबी गर्दै रातभर ९९ वटा ड्रोन खसालेको जनाएको छ । यसले दुवै पक्षबीचको तनाव अझै उच्च स्तरमै रहेको सङ्केत गरेको छ ।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार इस्टर सप्ताहन्तका लागि ३२ घण्टे युद्धविराम घोषणा गर्दै शनिबार साँझ ४ बजेदेखि सबै सैन्य गतिविधि रोक्न निर्देशन दिएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यस कदमलाई प्रतिबिम्बित गर्न आफ्नो देश तयार रहेको बताए । तर विगतका अनुभवले यस्तो युद्धविराम प्रभावकारी हुनेमा शङ्का उत्पन्न भएको छ । अघिल्ला प्रयासहरूमा दुवै पक्षले एकअर्कामाथि उल्लङ्घनको आरोप लगाउँदै आएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनको घोषणालाई ‘मानवीय पहल’ भन्दै प्रस्तुत गरेका छन् । तर दीर्घकालीन समाधानका लागि रुसका प्रमुख मागहरू अझै कायम रहेको स्पष्ट पारेका छन् ।


    यसबीच, इस्टरको अवसर पारेर कैदी आदानप्रदानको सम्भावनाबारे पनि छलफल भइरहेको छ । रुसकी मानवअधिकार लोकपाल तात्याना मोस्काल्कोभाले दुवै पक्ष यस विषयमा काम गरिरहेको बताए । नियमित कैदी आदानप्रदानलाई मस्को र किएभबीचको लामो समयदेखिको तनावपूर्ण सम्बन्धमा दुर्लभ सकारात्मक पक्षका रूपमा हेरिएको छ । अमेरिकी मध्यस्थतामा भएका वार्ताहरूले अहिलेसम्म ठोस प्रगति गर्न सकेका छैनन् । युद्ध पाँचौँ वर्षमा प्रवेश गरिसकेको अवस्थामा मूल विवादका मुद्दाहरू अझै समाधान नहुँदा स्थायी शान्तिको सम्भावना अनिश्चित देखिएको छ ।

  • गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु

    गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु

    गाजा , प्यालेस्टिनी क्षेत्रहरू, २९ चैत (रासस–एएफपी) । गाजाको नागरिक रक्षा तथा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा परी सात जनाको मृत्यु भएको बताएको छ । अल–बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ । मध्य गाजाको अल–अक्सा अस्पतालमा छ जनाको शव आएको र सात जना घाइतेहरु उपचारको लागि आएको उल्लेख गरिएको छ भने घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको बताएको छ ।

    नजिकैको अल–अवदा अस्पतालमा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको बताइएको छ । सन् २०२३ देखि सुरु भएको सीमापार आक्रमणको दुई वर्ष पछि अक्टोबर– १० देखि लागु भएको युद्धविराम उल्लङ्घन गरेको आरोप इजरायल र हमासले एक–अर्कालाई लगाउदै आएका छन् । युद्धविराम सुरु भए देखि कम्तिमा ७३८ प्यालेस्टिनीहरू मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच इजरायली सेनाले युद्धविराम सुरु भए देखि पाँच जना सैनिक मारिएको जनाएको छ । गाजामा मिडिया प्रतिबन्ध कारण अन्तर्राष्ट्रिय प्रेसलाई अझै पनि इजरायली अधिकारीहरूले प्रवेश गर्न प्रतिबन्ध लगाएको एएफपीले जनाइएको छ ।

  • इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

    इरानी प्रतिनिधिमण्डल र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता

    इस्लामावाद, २९ चैत (रासस–एएफपी) । इरान सरकारको एक प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी पक्षसँग मध्यपूर्व युद्ध अन्त्य गर्न योजनाबद्ध वार्ताका सर्तहरूमा छलफल गरेको छ । इस्लामावादको सेरेना होटलमा पहिलो वार्ता चलिरहँदा इरानी सञ्चारमाध्यमले प्रधानमन्त्री शहबाज सरीफसँगको बैठकको अन्त्यमा इरानी पक्षले अमेरिकीहरूसँग प्रत्यक्ष वार्ता अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने बताएका छन् ।

    इरानले यसअघि नै लडाईको स्थायी अन्त्यको कुनै पनि सम्झौतामा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनु्पर्ने र लेबनानमा हेजबुल्लाहमाथि इजरायलको युद्धको अन्त्य समावेश हुनुपर्ने बताएको थियो । अमेरिकी उपराष्ट्रपति भान्सले रोक्का इरानी सम्पत्तिको फुकुवा इस्लामाबादमा छलफलको बिषय नहुने बताएका छन् । संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका शक्तिशाली सेना प्रमुख असिम मुनिरले स्वागत गरेपछि दुवै पार्टी वार्ता स्थलमा पुगेका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सुमधुर व्यक्तिगत सम्बन्ध रहेका मुनीरले भान्सलाई पनि स्वागत गरेका थिए । उनलाई नुर खान हवाई अड्डामा विशेष सम्मानसहित स्वागत गरिएको थियो । उक्त अवसरमा अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि आफ्ना उपराष्ट्रपतिको स्वागतका लागि उपस्थित थिए । युद्धरत पक्षहरू अझै पनि प्रतिबन्ध, लेबनानमा युद्धविराम सम्झौताको पालना र रणनीतिक स्ट्रेट अफ हर्मुज खोल्ने जस्ता प्रमुख मुद्दाहरूमा टाढा रहेको देखिन्छ र उनीहरूले आपसी शङ्का लुकाउने कुनै प्रयास गरेनन् ।

  • पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

    पाकिस्तानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपति भान्सबीच भेटवार्ता

    इीलामावाद, २८ चैत (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार इस्लामावादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरेका छन् । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले पूधानमन्त्री सरिफको संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्ससँग आज वार्ता सुरु भएको उल्लेख गर्दै भनेको छ, “पाकिस्तान यस क्षेत्रमा दिगो शान्तिको दिशामा प्रगतिको लागि दुवै पक्षलाई सहयोग गर्न तत्पर छ।” अमेरिकाको तर्फबाट भान्ससँगै शीर्ष अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नर पनि सहभागी हुनुभएको थियो भने पाकिस्तानका तर्फबाट पूधानमन्त्री सरिफसहित विदेशमन्त्री इशाक डार र गृहमन्त्री मोहसिन नकवी पनि सहभागी थिए ।


    पाकिस्तानले सार्वजनिक गरेको फुटेजमा सरिफले भान्सलाई स्वागत गर्नुभएको र दुई देशका शीर्ष नेतृत्व पृष्ठभूमिमा पाकिस्तानी र अमेरिकी झण्डासहितका तस्वीर सार्वजनिक गरिएको छ। यसअघि सरिफले इरानी प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेको तेहरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र इरानी प्रतिनिधिमण्डलहरूबीच वार्ताको ढाँचा स्पष्ट हुन सकेको छैन। विगतमा, तेहरान र वाशिङ्गटनले वार्ताको क्रममा सन्देशहरू आदानप्रदान गर्न मध्यस्थकर्ताहरूको प्रयोग गरेर अप्रत्यक्ष वार्ता विधि अपनाएका थिए ।

  • पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु

    पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु

    तेहरान, २८ चैत (रासस–एएफपी) । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु भएको इरानी सञ्चारमाध्यमले शनिबार बताएका छन् ।
    फार्स र तस्निम समाचार संस्थाले इरानी स्रोतलाई उल्लेख गरी भनेका छन्, “वार्ताको प्रक्रिया र एजेण्डाका लागि गरिएको प्रारम्भिक वार्ताको क्रममा भएको प्रगति र लेबनानको दक्षिणी बेरुतमा यहुदी शासन (इजरायली सेना)को आक्रमणलाई कम गरिएपछि वार्ता सुरु गर्ने निर्णय गरिएको छ ।” पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले शान्ति वार्ता सुरु भएको बताएको छ भने मेहर र इस्नाले पनि वार्ता सुरु भएको पुष्टि गरेका छन् ।

  • इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान

    इजरायलको हितलाई प्राथमिकता दिन नसकिने : इरान

    तेहरान, २८ चैत (रासस–एएफपी) । इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन लागेको वार्तामा इजरायलको हितलाई अमेरिकाले प्राथमिकता दिए कुनै सम्झौता नहुने चेतावनी दिएका छन् । “यदि हामीले ‘इजरायल प्रथम’ को पक्षमा प्रतिनिधिहरूले आवाज उठाएमा इस्लामावादमा कुनै सम्झौता हुनेछैन। हामी अनिवार्य रूपमा हाम्रो प्रतिरक्षालाई पहिलेको भन्दा अझ जोडतोडका साथ जारी राख्नेछौँ र विश्वले ठूलो मूल्य चुकाउनु पर्नेछ,“ उनले भने । उनले थपे, “अमेरिका र इरान दुवै पक्ष र विश्वलाई न्याय र फाइदा हुने सम्झौता सम्भव छ।”

    संसदका सभामुख मोहम्मद बाकर कलिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल र अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल मध्यपूर्वमा जारी शत्रुता अन्त्यका लागि वार्ताका लागि पाकिस्तानको इस्लामाबाद आइपुगेपछि उक्त टिप्पणी आएको हो। फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमण गरे, जसमा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए। इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी चासोलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमणको श्रृङ्खला सुरु गरेको छ र स्ट्रेट अफ हर्मुजमाथि नियन्त्रण बलियो बनाएको छ ।

    इरान र संयुक्तराज्य अमेरिकाबीच दुई साताको युद्धविराम बुधबारदेखि लागू भएको छ । इजरायलले युद्धविरामले लेबनानमा जारी द्वन्द्वलाई नसमेट्ने बताउँदै आएको छ । इजरायलले बुधबार लेबनानमा एकै दिनमा अहिलेसम्म भएको सबैभन्दा ठूलामध्ये एक आक्रमण गरेको छ, जसमा ३०० भन्दा बढीको मृत्यु भएको छ भने एक हजार १०० भन्दा बढी घाइते भएका छन् । शुक्रबार कलिबाफले लेबनानमा युद्धविराम गर्न र अमेरिकासँग वार्ता सुरु हुनुअघि इरानले रोकेको सम्पत्ति मुक्त गर्न माग गरेका थिए ।
    यसअघि शनिबार इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले वासिङ्टन इरानको रोकिएको सम्पत्ति फिर्ता गर्न सहमत भएको र पाकिस्तानमा रहेको इरानी प्रतिनिधिमण्डलले यस विषयमा सुनिश्चित गर्न खोजेको जनाएको थियो । यद्यपि कैयौँ सञ्चारमाध्यमले नाम नखुलाइएका अमेरिकी वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचारको खण्डन गरेका छन् ।

  • इस्टर अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

    इस्टर अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

    किएभ, २८ चैत (रासस–एएफपी) । चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबीच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ । अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासहरू अपेक्षित रूपमा सफल हुन नसकेको सन्दर्भमा यो कदमलाई मानवीय राहतको सानो तर महत्त्वपूर्ण सङ्केतका रूपमा हेरिएको छ । क्रेमलिनले जारी गरेको निर्देशनअनुसार शनिबार साँझ ४ः०० बजेदेखि आइतबार रातिसम्म ३२ घण्टे युद्धविराम लागू हुनेछ । यस अवधिमा सबै मोर्चामा शत्रुतापूर्ण गतिविधि पूर्ण रूपमा रोक्न रक्षामन्त्री आन्द्रेई बेलोसोभ र सेना प्रमुख भ्यालेरी गेरासिमोभलाई आदेश दिइएको जनाइएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि आफ्नो देश इस्टरका अवसरमा युद्धविरामका लागि तयार रहेको कुरा पटक–पटक व्यक्त गर्दै आएको उल्लेख गरेका छन् । उनले रुसको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिन इच्छुक रहेको बताए । यद्यपि, यो अस्थायी युद्धविराम दीर्घकालीन शान्ति प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले यस विषयमा युक्रेन वा संयुक्त राज्य अमेरिकासँग पूर्व छलफल नगरेको स्पष्ट पार्दै यो कदमलाई छुट्टै मानवीय पहलका रूपमा प्रस्तुत गरे ।


    यसबीच, युद्धविराम लागू हुनुअघि पनि हिंसात्मक घटना रोकिएका छैनन् । युक्रेनको पोल्टावा र सुमी क्षेत्रमा शुक्रबार राति भएका छुट्टाछुट्टै आक्रमणमा एक जनाको ज्यान गएको र करिब १५ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनी वायु सेनाका अनुसार रुसले बिहीबार राति मात्रै १२८ वटा ड्रोन प्रहार गरेको थियो ।

    अमेरिकी मध्यस्थतामा भएका शान्ति वार्ताहरूले अहिलेसम्म ठोस उपलब्धि हासिल गर्न सकेका छैनन् । मस्कोले क्षेत्रीय तथा राजनीतिक छुटहरूको माग गरिरहेको छ, जसलाई युक्रेनले आत्मसमर्पणसरह ठानेर अस्वीकार गर्दै आएको छ । त्यसमाथि, अमेरिकाको ध्यान पछिल्लो समय मध्यपूर्वतर्फ केन्द्रित भएकाले पनि वार्ता थप जटिल बनेको छ ।

    युद्धले अहिलेसम्म लाखौँ मानिसको ज्यान लिइसकेको छ भने करोडौँ विस्थापित भएका छन् । दोस्रो विश्वयुद्धपछिको युरोपकै सबैभन्दा घातक द्वन्द्वका रूपमा यसलाई लिइन्छ । मोर्चामा पछिल्ला वर्षहरूमा लडाइँ केही हदसम्म स्थिर भए पनि रुसले सानो–सानो क्षेत्रीय उपलब्धि महँगो मूल्य चुकाएर हासिल गरिरहेको छ । तर, सन् २०२५ को अन्त्यदेखि रुसको प्रगति सुस्त बन्दै गएको विश्लेषणहरू सार्वजनिक भएका छन् । युक्रेनले दक्षिणपूर्वी क्षेत्रमा केही प्रतिआक्रमण गर्दै रुसलाई पछाडि धकेल्न सफल भएको बताइएको छ । साथै, प्रविधि तथा सञ्चारमा देखिएका अवरोधहरू, विशेषगरी स्टारलिङ्क स्याटेलाइट प्रयोगमा लगाइएको प्रतिबन्ध र टेलिग्राम एप नियन्त्रण गर्ने प्रयासले पनि रुसको सैन्य गतिमा असर पारेको विश्लेषकहरूको भनाइ छ ।

    यद्यपि, डोनेट्स्क क्षेत्रका क्रामटोरस्क र स्लोभियान्स्क सहरतर्फको अवस्था भने अझै युक्रेनका लागि चुनौतीपूर्ण रहेको बताइएको छ । हालसम्म रुसले युक्रेनको करिब १९ प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ, जसको अधिकांश भाग द्वन्द्वको सुरुआती चरणमै कब्जा गरिएको थियो । यस्तो अवस्थामा इस्टर युद्धविरामले केही समयका लागि हिंसा रोकिए पनि स्थायी शान्तिको सम्भावना भने अझै अनिश्चित देखिएको छ ।