Category: विश्व

  • माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

    माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

    २८ चैत, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गरे ।

    प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तरराष्ट्रिय विभाग, स्कुल विभाग, मजदूर तथा बुद्धिजीवी सङ्गठन, अखिल (क्रान्तिकारी)लगायत विभागका सदस्य सहभागी छन् ।
    चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार सहरमध्ये एक हो ।

  • डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १०० माथि

    डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १०० माथि

    काठमाडौं । डोमेनिकन रिपब्लिकनमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किँदा करिब एक सय जनाको मृत्यु भएको तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा मृत्यु हुनेमा उहाँका प्रबन्धकसमेत रहेको जनाइएको छ । मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ ।

    उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए । स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए । पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताइन् । राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनलका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज पनि थिए ।

  • दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

    दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

    काठमाडौं । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो । पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरेका थिए । तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ ।

    गत हप्ता अदालतले उनको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उनलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो । सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताए । यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उनले बताए ।

    फलस्वरूप ‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ भन्दै उनले मतदानलाई सहज बनाउन त्यस दिनलाई अस्थायी सार्वजनिक बिदाका रूपमा तोकिने जानकारी दिए । प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान गरे । नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।

    अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहेका छन् । संवैधानिक अदालतले उहाँको आफ्नै महाभियोगलाई खारेज गरेपछि उनले भर्खरै पुनः काम सुरु गरेका छन् । राष्ट्रपति निर्वाचन सामान्यतया बुधबारहरूमा गरिन्छ तर रिक्त पदपूर्तिका लागि आयोजित आकस्मिक मतदानका लागि कुनै विशेष दिन तोकिएको छैन । आधिकारिक चुनावी अभियान मे १२ देखि जुन २ सम्म चल्नेछ । विपक्षी नेता ली जे–म्युङ अहिलेसम्मको जनमत सर्वेक्षणमा अग्रस्थानमा रहेका थिए । पछिल्लो ग्यालप सर्वेक्षण अनुसार उनको समर्थन दर ३४ प्रतिशत रहेको छ ।

  • इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

    इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा

    काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको घोषणा गरेका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गरेका हुन् । सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी दिए ।

    तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ता थिए । इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनेछन् । “यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो”, अराघचीले एक्समा लेखेका छन्, बल अमेरिकाको कोर्टमा छ ।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अघिल्लो सम्झौताबाट हात झिकेका थिए । कुनै नयाँ सम्झौता हुन नसकेमा सम्भवतः अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधाहरूमा आक्रमण गर्न सक्ने व्यापक अनुमान छ । यसैबीच अधिकारीहरूले रुस, चीन र इरान मङ्गलबार मस्कोमा इरानी आणविक मुद्दामा परामर्श गर्न तयार रहेको बताएका छन् । नेतन्याहु व्यक्तिगत रूपमा विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि अनुरोध गर्ने पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो ।

  • गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

    गाजामा शान्ति सम्झौता भङ्ग भएपछि झन्डै चार लाख प्यालेस्टिनी विस्थापित

    काठमाडौं । इजरायलले हालैको शान्ति सम्झौता तोडेपछि गाजा पट्टीमा करिब चार लाख प्यालेस्टिनी विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । अनादोलु समाचार एजेन्सीका अनुसार राष्ट्रसङ्घीय प्रवक्ता स्टेफान दुजारिकले गाजामा इजरायली आक्रमण निरन्तर जारी रहँदा व्यापक नागरिक हताहती गराइरहेको बताए । “गाजामा धेरै बालबालिकासहित मानिसहरू मारिइरहेका छन्, घाइते भइरहेका छन् र जीवनभरका लागि अपाङ्ग बनाइँदैछन्”, उनले भने, “गाजाभरका बाँचेकाहरू पटक–पटक विस्थापित भइरहेका छन् र झन्झन् सानो हुँदै गएको स्थानमा धकेलिएका छन् जहाँ उनीहरूको आधारभूत आवश्यकताहरू पूरा हुन सक्दैन ।”

    शान्ति सम्झौता भङ्ग भएपछि करिब चार लाख मानिस अर्थात गाजाको जनसङ्ख्याको १८ प्रतिशत विस्थापित भएका छन् भन्दै दुजारिकले कब्जा गर्ने शक्तिका रूपमा इजरायलले विस्थापित जनसङ्ख्याको सुरक्षा र जीवित रहनका लागि कुनै व्यवस्था नगरेको बताए । मानवीय प्रयासहरू टुट्ने विन्दुको नजिक पुगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले आवश्यक वस्तु र आपूर्तिको वितरणका लागि क्रसिङ तुरुन्त फेरि खोल्न आग्रह गरे ।

    साथै मानवीय सामग्री भित्र्याउने प्रयास अवरुद्ध भएको र सहयोग आवागमन समन्वय गर्ने अधिकांश प्रयास रोकिएको उनले बताए । इजरायली सेनाले आकस्मिक चिकित्सकहरूको हत्या विषयलाई सम्बोधन गर्दै दुजारिकले राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटेरेस विचलित गर्ने भिडियो फुटेजका बारेमा जानकार रहेको र घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धानका लागि आह्वान गरिरहेको समेत पुष्टी गरे ।

    जारी मानवीय सङ्कटका सम्बन्धमा उहाँले एक महिनाभन्दा बढी समयदेखि कुनै पनि खोप, खाद्यान्न, इन्धन वा अन्य आपूर्तिहरू गाजामा प्रवेश नगरेको र पोलियो खोपका लागि पनि कुनै अपवाद नबनाइएको बताए । विशेष गरी गाजाबाट प्यालेस्टिनीहरूलाई विस्थापित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना कार्यान्वयन गर्ने प्रयासहरू जारी रहेको बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैन्य अभियानलाई तीव्र पार्ने प्रतिज्ञा गरेका हुन् ।

  • डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

    डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

    काठमाडौं । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको बिहान छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका छन् । घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ । चार सय भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सहरू घाइतेहरूको उद्धारमा संलग्न छन् । प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक अँध्यारो भयो र त्यहि समयमा क्लबको छत ढल्न थाल्यो । दुर्घटना हुँदा क्लबमा ५०० देखि एक हजार जनासम्म मानिस थिए ।

    राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरे । आपतकालीन अपरेसन केन्द्र (सीओई) का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरे । उनले उद्धारकर्ताहरू उद्धारका लागि प्रयास जारी राखेको बताए । एम्बुलेन्सले १५० भन्दा बढी घाइतेहरूलाई अस्पताल पुर्याइएको उनले बताए ।

    स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मीहरूले मलबा हटाएर जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन् । राष्ट्रपति अबिनाडेरले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीहरूले घाइतेहरूको मद्दतमा जुटेको बताए

  • म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या ३,३५४

    म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या ३,३५४

    काठमाडौं । म्यानमारमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ५४ जना पुगेको छ । गत मार्च २८ मा गएको भूकम्पमा सो संख्यामा मानिसहरुको ज्यान गएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । देशभरका भवन र पूर्वाधारसमेत ध्वस्त पारेको उक्त भूकम्पमा परी ४ हजार ५ सय ८ जना घाइते तथा २ सय २० जना बेपत्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न आह्वान गरेका छन् ।

    विपद् भएको एक साताभन्दा बढी समयपछि पनि देशका धेरै जना अझै आश्रयविहीन बनेका छन्, भने घरहरू क्षतिग्रस्त भएका कारण वा थप भत्किने डरले अझै बाहिरै सुत्न बाध्य छन् । यस भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ । चार वर्षदेखि गृहयुद्धको चपेटामा परिरहेको म्यानमारलाई भूकम्पले थप संकटमा पारेको छ ।

  • मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु

    मनास्लु क्षेत्रको भ्रमणमा पुगेका बेलायती पर्यटकको मृत्यु

    काठमाडौं । लार्के पास पार गर्न मनास्लु क्षेत्र पुगेका एक बेलायती पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका नागरिक ६१ वर्षीय थोम्सन आयन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

    डीएसपी सुवेदीका अनुसार लार्के पास गर्ने क्रममा आइतबार बिहान करिब १० बजे चुमनुव्री गाउँपालिका–१ लार्केमा उनी एक्कासी ढलेको र सोही स्थानमा उनको मृत्यु भएको हो । घटना भएको स्थान पुग्न धर्मशाला (लार्के पासको रुटको अन्तिम बस्ती)बाट ३ घन्टाभन्दा बढी लाग्छ । पदयात्रा सिजनको समय सुरु भएको छ । अहिले लाखौं पर्यटक नेपाल आउने गर्छन् ।

  • इजरायली सेनाले गाजामा १५ स्वास्थ्थकर्मीको हत्या गरेको चिहानमा रहेको मोवाइलबाट पुष्टी

    इजरायली सेनाले गाजामा १५ स्वास्थ्थकर्मीको हत्या गरेको चिहानमा रहेको मोवाइलबाट पुष्टी

    इजरायली सेनाले २३ मार्चमा दक्षिणी गाजामा १५ जना आपत्कालीन सेवाका स्वास्थ्यकर्मीहरूको हत्या गरेको खुलेको छ । सेनाले सो बारे आफ्ना सैनिकले गल्ती गरेको स्वीकार गरेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी रेड क्रेस्सेन्ट सोसाइटी पीआरसीएसका एम्बुलेन्सका लस्करहरू, संयुक्त राष्ट्रसङ्घको कार र गाजाको सिभिल डिफेन्सको दमकल रफाहा नजिकै गोलाबारीमा परेका थिए। इजरायलले सुरुमा गाडीका लस्करहरू हेडलाइट वा कुनै बत्ती नबाली शङ्कास्पद रूपमा देखापरेका कारण सेनिकहरूले गोली चलाएका दाबी गरेको थियो। गाडीहरूको आवागमनबारे सेनासँग पहिला समन्वय वा सहमति नगरिएको उसले बताएको थियो।

    ज्यान गुमाएका एक प्यारामेडिकले मोबाइलमा खिँचेको भिडिओ सामग्रीमा घाइतेहरूलाई मद्दत गर्न गरिएको फोनको जवाफ दिँदा सवारी साधनहरूमा बत्ती बालिएको देखिएको थियो। इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले कम्तीमा ६ जना स्वास्थ्यकर्मीहरू हमाससँग सम्बन्धित रहेको दाबी गरेको छ तर उसले कुनै प्रमाण भने उपलब्ध गराएको छैन। सैनिकहरूले गोली चलाउँदा उनीहरू हतियारविहीन रहेको उसले स्वीकार गरेको छ।

    सुरुमा न्यू योर्क टाइम्सले शेअर गरेको मोबाइल भिडिओमा बिहान हुनुभन्दा ठिक अगाडि गोलाबारी सुरु हुँदा गाडीहरू सडकमा रोकिएको देखिन्छ। भिडिओ सामग्री पाँच मिनेटभन्दा बढी समयसम्म जारी रहन्छ र त्यसमा रेफत रडवान नाम गरेका प्यारामेडिकले इजरेली सैनिकहरूको आवाज सवारी साधनहरू नजिक आउनुअघि आफ्नो अन्तिम प्रार्थना गरिरहेको सुनिन्छ। आइडीएफका एक अधिकारीले शनिवार साँझ पत्रकारहरूलाई जानकारी दिँदै आफ्ना सैनिकहरूले पहिले हमासका तीन सदस्यहरू रहेको कारमा गोली चलाएको बताए।

    एम्बुलेन्सहरू उक्त क्षेत्र नजिक पुग्दा हवाई निगरानी अनुगमनकर्ताहरूले गाडीका लस्करहरू जमिनमा शङ्कास्पद रूपमा अगाडि बढिरहेको जानकारी सैनिकहरूलाई दिएका थिए। जब एम्बुलेन्सहरू हमासको कार छेउमा रोकिए, सैनिकहरूले आफू खतरामा परेको ठाने र आपत्कालीन टोलीका कुनै पनि सदस्य हतियारधारी नभएको कुनै प्रमाण नहुँदा गोली चलाउन थाले। इजरायलले बत्ती बिना गाडीहरू नजिकिएका थिए भनेर सुरुमा गरेको दाबी गलत भएको स्वीकार गरेको छ र त्यहाँ संलग्न फौजबाट आएको प्रतिवेदनलाई आधार मानेको छ।

    भिडिओ सामग्रीमा गाडीहरू स्पष्ट रूपमा चिनिने र प्यारामेडिकहरूले प्रतिबिम्बित हुने पोसाक लगाएको देखिन्छ। सैनिकहरूले १५ जना मृतकहरूको शवलाई जङ्गली जनावरहरूबाट जोगाउन बालुवामा गाडेको अधिकारीले बताए। सडक खाली गर्न सवारी साधनहरू सारेर भोलिपल्ट गाडिएको उनले दाबी गरे। संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय निकायहरूले त्यस क्षेत्रमा सुरक्षित मार्गको व्यवस्था गर्न वा घटनास्थल पत्ता लगाउन नसकेका कारण घटना भएको एक सातासम्म त्यसबारे थाहा पाउन सकेनन्।

    जब सहायता टोलीले शवहरू फेला पारे उनीहरूले घटनाको सामग्री भएको रेफत रडवानको मोबाइल फोन पनि फेला पारे। इजरेली सैन्य अधिकारीले कुनै पनि चिकित्सकको ज्यान जानुअघि हतकडी लगाइएको भन्ने कुरा अस्वीकार गरेका छन्। तर केही रिपोर्टहरूले जनाएअनुसार उनीहरूलाई नजिकबाट मृत्युदण्ड पनि नदिइएको उनले बताए।

    एक जीवित प्यारामेडिकले यो साताको सुरुमा बीबीसीलाई एम्बुलेन्सहरूको बत्ती बालिएको र उनका सहकर्मीहरू कुनै पनि लडाकु समूहसँग सम्बन्धित नभएको बताए। आइडीएफले घटनाको पूर्ण जाँच गर्ने बाचा गर्दै यसबाट घटनाक्रम र परिस्थितिको व्यवस्थापन बुझिने जनाएको छ। रेड क्रेस्सेन्ट र अन्य थुप्रै अन्तर्राष्ट्रिय सङ्गठनहरूले स्वतन्त्र छानबिनका लागि आह्वान गरिरहेका छन्। इजरेलले मार्च १८ तारिखमा गाजामा आफ्नो हवाई बमबारी र स्थल आक्रमणलाई पुनः थालेको थियो।

    उसले पहिलो चरणको युद्धविराम सम्झौता सकिएपछि र दोस्रो चरणको वार्ता रोकिएपछि पुनः युद्ध थालेको हो। हमास सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता मात्रै गाजामा १२०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ। सन् २०२३ को अक्टोबर ७ तारिखमा विगतमा कहिल्यै नभएको सीमापार आक्रमणको प्रतिक्रियामा इजरेली सेनाले हमासलाई नष्ट गर्न अभियान सुरु गर्‍यो। उक्त सीमापार आक्रमणमा करिब १,२०० जना मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता गाजामा ५०,६०० भन्दा बढी मानिसहरू मारिएका छन्।
    बीबीसीबाट

  • बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब

    बीबीसीको खुलासा : अफगानिस्तानबाट ५ लाख हतियार गायब

    काठमाडौं । अफगानिस्तानबाट पाँच लाख थान अमेरिकी हतियार गायब भएको बीबीसीले एक विशेष खुलासा गरेको छ । सूत्रलाई उद्धृत गर्दै बीबीसीले भनेको छ– ती हतियार बिक्री वा तस्करी भएको छ । संयुक्त राष्ट्रसंघका केही अधिकारीका अनुसार गायब भएकामध्ये केही हतियार अलकायदासँग सम्बन्धित चरमपन्थी संगठनसम्म पुगेको आशंका छ ।

    तालिबानले सन् २०२१ मा अफगानिस्तानलाई फेरि नियन्त्रणमा लिँदा करिब १० लाख थान सैन्य हतियार र सामग्रीहरुको भण्डार थियो । त्यसमा धेरैजसो अमेरिकाको वित्तीय सहायतामा खरिद गरिएको थियो । त्यसमा अमेरिकामा निर्मित एम फोर र एम सिक्सटिन राइफलसहित अफगानिस्तानका पुराना हतियारहरु पनि सामेल थिए ।

    तालिबानले सन् २०२१ मा अफगानिस्तान कब्जा गर्दा अफगान सैनिकहरुले आफ्ना हतियार र बाहनहरु सहित आत्मसमर्पण गरेका थिए । अमेरिकी सैनिकहरुले पनि आफ्ना केही हतियार र सैन्य उपकरणहरु छाडेर फर्किएका थिए । बीबीसीका अनुसार दोहामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रतिबन्ध समितिको बैठकमा तालिबान नेताले आधा हतियार र सैन्य उपकरण गायब भएको स्वीकार गरेका छन् । जुन करिब पाँच लाख हाराहारी हो ।

  • सगरमाथा संवादमा मोदी नआउने निश्चित

    सगरमाथा संवादमा मोदी नआउने निश्चित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने स्वयमःले जानकारी गराएका छन् । शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् । ओलीले हिजो (शुक्रबार) मात्रै मोदीसँग बैंककमा भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन मोदीलाई निम्तो दिएका थिए ।

    उक्त भेटमा आफू सगरमाथा संवादमा आउन नसक्ने जानकारी मोदीले गराएको उनले बताए । ‘यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । उहाँको पहिला नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘उक्त कार्यक्रम सेट भइसकेकाले उहाँ यहाँ आउन सक्नुहुन्न । तर, भारतको राम्रैस्तरको उपस्थिति हुन्छ ।’ उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताएका छन् ।

  • बिमस्टेक शिखर सम्मेलन आज

    बिमस्टेक शिखर सम्मेलन आज

    काठमाडौं । आज (शुक्रबार) बाट बैंककमा बिमस्टेक शिखर सम्मेलन हुँदैछ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) बंगालको खाडी क्षेत्रसँग जोडिएका सात राष्ट्रहरूको क्षेत्रीय संगठन हो। सन् १९९७ मा स्थापना भएको यस समूहमा बंगलादेश, नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार र भुटान सदस्य छन्।

    यसले सदस्य राष्ट्रहरूबीच बहुपक्षीय प्राविधिक र आर्थिक सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यसपटक बिमस्टेक सम्मेलनमा शीर्ष नेताहरूले सम्बोधन गरेसँगै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सबै सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी भएका छन् ।

  • ओली र मोदीबीच आज थाइल्याण्डमा भेटवार्ता, डिनर मिटिङमा सँगै देखिए

    ओली र मोदीबीच आज थाइल्याण्डमा भेटवार्ता, डिनर मिटिङमा सँगै देखिए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । यसअघि बिहीबार साँझ बिमस्टेक सम्मेलनअगाडि बैंककमा आयोजना गरिएको डिनरमा उनीहर सँगै देखिएका छन् । मोदीको अर्को छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस बसेका थिए । मोदीसँग ओली र युनुसको पछिल्लोपटक सत्तासिन भएपछिको भेटको सन्दर्भ उत्तिकै दुर्लभ देखिएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएको वेला गत ७ असोजमा न्युयोर्कमा ओली र मोदीबीच भेट भएको थियो ।

    त्यस्तै, बंगलादेशमा गत वर्ष अगस्टमा भएको सत्तापलटपछि मोदी र युनुसबीचको यो पहिलो प्रत्यक्ष भेट हो । त्यतिबेला प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि भारतमा शरण लिएकी थिइन्, जसले दुई देशबीचको सम्बन्धमा चिसोपन ल्याएको थियो। ओली र मोदीबीच आज अपराह्न ४ बजेदेखि ४ः२० सम्म भेटवार्ता तय भएको छ । आजको भेटसँगै ओली र मोदीबीच तेस्रो देशमा दोस्रो भेटवार्ता हुनेछ । पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने ओलीको प्रयास अहिलेसम्म सफल भएको छैन । वर्तमान सरकार बनेको अहिले नौ महिना बितिसकेको छ ।

  • प्रधानमन्त्री ओली साइडलाइन वार्तामा व्यस्त, को को सँग भयो भेट ?

    प्रधानमन्त्री ओली साइडलाइन वार्तामा व्यस्त, को को सँग भयो भेट ?

    काठमाडौं । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर साइडलाइन वार्तामा व्यस्त भए । उनी थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका हुन् ।

    उनले बिहीबार साँझ ५ः३० देखि ६ः२० सम्म म्यानमारका राज्य प्रशासन परिषद्का अध्यक्ष (प्रधानमन्त्री) मिन आङ ह्लाइङसँग भेट गरे । त्यसअघि आजै साँझ ५ः१० मा ओलीले भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षमा छलफल भएको छ ।

    त्यसअघि ओली र संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएनस्क्याप)का कार्यकारी सचिव अमिदा सलैहबीच भेट भएको थियो । सो अवसरमा नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतीका सहयोगका विषयमा कुरानकारी भएको सिलवालले जानकारी दिएका छन् ।

    बिहीबार दिउँसो प्रधानमन्त्री ओली र श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच भेट भएको थियो । यी सबै साइडलाइन भेटवार्तामा भेटमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।
    बिहान भने प्रधानमन्त्री ओलीले थाइल्यान्डको प्रतिष्ठित विश्वविद्यालय एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी)ं सम्बोधन गरेका थिए ।

  • इजरायलले पुनः बढायो गाजा क्षेत्रमा आक्रमण

    इजरायलले पुनः बढायो गाजा क्षेत्रमा आक्रमण

    काठमाडौं । इजरायलले गाजा क्षेत्रमा पुनः आक्रमण तीव्र पारेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले गाजा क्षेत्रमा गरेका आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा ५७ जना मारिएका छन् । ५५ जना घाइते भएका अल जजिराले जनाएको छ । उत्तरी सहर जबालियास्थित इन्डोनेसियाली अस्पतालका अनुसार विस्थापित परिवारले आश्रय लिइरहेको संयुक्त राष्ट्रसंघीय क्लिनिकमा भएको आक्रमणमा ९ बालबालिकासहित कम्तीमा १९ प्यालेस्टिनी मारिएका छन् । तर स्थानीय अस्पतालहरूले रातभर भएका आक्रमणमा मारिनेको संख्या कम्तीमा २० रहेको जनाएका छन् ।


    नागरिक रक्षा विभागले बुधबार जबालियामा भएको आक्रमणमा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी (उनर्वा) ले आश्रयका रूपमा प्रयोग गर्दै आएको क्लिनिकका दुई कोठामा क्षति पुर्‍याएको बताएको छ । ती आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको हो । बीबीसीले प्रमाणित गरेका ती घटनाका भिडियोमा दर्जनौं मानिस तथा एम्बुलेन्स भवनतिर दौडिरहेका देख्न सकिन्छ । दुई तला भत्केको देखिने भवनबाट धूवाँ निस्किरहेको भिडियोमा देख्न सकिन्छ । उनर्वाकी प्रवक्ताले एसोसिएटेड प्रेससँग एजेन्सीको एउटा भवनमा आक्रमण भएको जनाएकी छन् । तर आक्रमण किन भएको वा त्यसमा भएको हताहतीबारे उनले केही उल्लेख गरिनन् ।

    बीबीसीका अनुसार नागरिक रक्षा विभागले दक्षिणी खान युनिस क्षेत्रको एक घरबाट बालबालिका र महिलासहित १२ जनाको शव निकालेको बताएको छ । एक स्थानीय रिदा अल–जब्बौरले मृतकमध्ये एक छिमेकी र उनको तीन महिनाको बच्चा रहेको बताएकी छन् । ‘हडताल भएको क्षणदेखि हामी बस्न वा सुत्न वा केही गर्न सकेका छैनौं,’ उनले समाचार संस्था रोयटर्ससँग भनेकी छन् ।


    आईडीएफले भने त्यहाँ लुकेका ‘हमास आतंककारी’ लाई लक्षित गरिएको दाबी गरेको छ । आईडीएफले एक विज्ञप्तिमा ‘आतंकवादी गतिविधि समन्वय गर्न प्रयोग गरिने र केन्द्रीय बैठकको केन्द्रका रूपमा काम गर्ने कमान्ड–एन्ड–कन्ट्रोल सेन्टर’ मा आक्रमण गरिएको दाबी गरेको छ । ‘आक्रमणअघि हवाई निगरानी र थप गुप्तचर सहयोगसहित नागरिकलाई हानि पुर्‍याउने जोखिम कम गर्ने उपायहरू चालिएको थियो,’ आईडीएफले भनेको छ ।

    त्यस्तै, आईडीएफले इजिप्टको सीमा क्षेत्रमा पनि व्यापक आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । योसँगै इजरायलले गाजामा ठूलो स्थलगत आक्रमण गर्ने तयारी गरिरहेको देखिएको छ । आईडीएफको रेडियोले बुधबार ट्यांकसहितका इजरायली स्थल सेना दक्षिणी सहर रफाहको मध्य र पूर्वी भागमा अघि बढिरहेको जनाएको छ ।

    इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजामा घातक इजरायली हवाई आक्रमणहरू गरिएको पुष्टि गरेका छन् । काट्जले विस्तारित कारबाहीको उद्देश्य ‘आतंककारी र आतंकवादी पूर्वाधारको क्षेत्र नष्ट र खाली गर्नु’ भएको बताएका छन् । उक्त कारबाहीका लागि प्यालेस्टिनीहरूको ठूलो संख्या स्थानान्तरण गर्न आवश्यक हुने उनको भनाइ छ ।

    आईडीएफले सुरक्षा क्षेत्र कायम गर्नका लागि आफ्नो आक्रमण अझै विस्तार गर्ने र प्यालेस्टिनी क्षेत्रको ठूलो क्षेत्र कब्जा गर्ने उनले चेतावनी दिएका छन् । आईडीएफले गत साता नै रफाहका अनुमानित १ लाख ४० हजार स्थानीयलाई आफ्नो घर छाड्न आदेश दिएको थियो । त्यस्तै, उत्तरी गाजाका केही स्थान पनि खाली गर्न चेतावनी दिएको थियो । युद्धका क्रममा इजरायलले गाजाको किनारा वरिपरिको क्षेत्रमा पनि नियन्त्रण कायम गरिसकेको छ ।

    इजरायलले आक्रमण तीव्र पारेसँगै जर्मनीले गाजाबाट १९ जना नागरिकको उद्धार गरेको छ । जर्मन विदेश मन्त्रालयले १९ जना जर्मन नागरिक र उनीहरूका १४ जना आफन्तलाई गाजाबाट बाहिर निकालिएको जनाएको हो । जर्मन र इजरायली अधिकारीबीचको समन्वय र सहयोगमा उनीहरूको उद्धार गर्न सम्भव भएको मन्त्रालयकी प्रवक्ता क्याथ्रिन डेस्चाउरले बताइन् ।

  • नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन समझदारी

    नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन समझदारी

    काठमाडौं । नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका समकक्षी पेतोङत्रान सिनावात्राको उपस्थितिमा बुधबार बैंककमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र थाई महासंघ अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरे ।

    लगानी तथा व्यापार प्रवर्द्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययनरअनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदान–प्रदान लगायतमा सहकार्य गर्ने दुई संस्थाबीच समझदारी भएको हो । विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्यान्डको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघ अध्यक्ष अग्रवालले गरे । लगानी प्रवद्र्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरूमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उनले बताए ।

    परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठूला देशबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ । दुई संस्थाबीच भएको समझदारीपत्र हस्ताक्षर समारोहमा थाइल्यान्ड भ्रमणमा रहनुभएका नेपाली प्रतिनिधि सहभागी थिए ।

  • थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    थाइल्याण्डका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणले नेपाल र थाइल्यान्डबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबाट दुई मुलुकबीच संस्कृति, पर्यटन, शिक्षा, ऊर्जालगायत क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले नेपाल र थाइल्यान्डबीच ६५ वर्षदेखि रहेको कूटनीतिक सम्बन्ध र जनता–जनताबीचको सम्बन्धलाई अझ विस्तार गर्ने विषयमा आफूहरूबीच छलफल भएको बताए ।

    प्रधानमन्त्री ओलीले नेपालमा होटल व्यवसाय तथा हवाई सेवाजस्ता पर्यटन क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापारका विषयले आगामी दिनमा प्राथमिकता पाउने विश्वास व्यक्त गरे । ‘नेपाल र थाइल्यान्डबीच कृषि, व्यापार, पर्यटन, संस्कृतिको गहिरो सम्बन्ध कायम रहेको छ । थाइल्यान्डका लगानीकर्तालाई नेपालमा लगानीका लागि म आह्वान गर्दछु,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र थाइल्यान्ड बीचमा व्यापार र पर्यटनको सम्बन्ध राम्रो रहेको छ । अब हामी अन्तर्राष्ट्रिय मुद्दाका साथै जलवायु परिवर्तनका बारेमा हातेमालो गरेर काम गर्नेछौं ।’

  • प्रधानमन्त्री ओली र थाईल्याण्डका समकक्षीबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र थाईल्याण्डका समकक्षीबीच भेटवार्ता

    काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए । त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावात्राले स्वागत गरेका थिए । उनलाई गार्ड अफ अनर दिइएको थियो ।

    परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान समेत भएको छ । नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्याण्ड भ्रमण हो ।

  • थाइल्याण्डकी समकक्षीसँग भेट्दै प्रधानमन्त्री ओली

    थाइल्याण्डकी समकक्षीसँग भेट्दै प्रधानमन्त्री ओली

    काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइ समकक्षी पेतोङत्रान सिनावात्राबीच आज भेटवार्ता हुँदैछ ।
    थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावात्राले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावात्राले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न थाइल्याण्ड पुगेका हुन् । रासस

  • गुजरातमा पटाका गोदाममा विष्फोट, कम्तिमा १७ जनाको मृत्यु

    गुजरातमा पटाका गोदाममा विष्फोट, कम्तिमा १७ जनाको मृत्यु

    काठमाडौं । भारतको गुजरात राज्यमा मङ्गलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्। बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिस फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए।

    प्रहरीका अनुसार, सुरुमा छजनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो। घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन। हाल उद्दार कार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी खटिएका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ। भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन्। एजेन्सी

  • म्यानमार भूकम्पमा अहिलेसम्म १६४४ जनाको मृत्यु

    म्यानमार भूकम्पमा अहिलेसम्म १६४४ जनाको मृत्यु

    बैंकक । म्यानमार भूकम्पमा परी अहिलेसम्म १६ सय ४४ जनाको ज्यान गएको छ । घाइतेका संख्या ३४ सय ८ पुगेको सैनिक अधिकारीहरुले बताएका छन् । भूकम्पको केन्द्रविन्दु शहर मांडलेमा मात्र ६९४ जनाको शव भेटिएको छ । राजधानी शहरमा भने ९४ जनाको ज्यान गएको छ । म्यानमारमा ७.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

    यसको झट्का थाइल्याण्डसम्म भएको थियो । थाइल्याण्डमा ६ जनाको ज्यान गएको पाइएको छ । १ सय जना वेपत्ता छन् । थाइल्याण्डमा ३० तले निर्माणाधिन भवन भत्किएको थियो । अहिले म्यानमारमा विश्वभरबाट सहयोग पु¥याउने क्रम जारी छ ।

  • म्यानमार भूकम्पमा ज्यान गुमाउने संख्या १ हजार माथि, नेपाली भाषी कति ?

    म्यानमार भूकम्पमा ज्यान गुमाउने संख्या १ हजार माथि, नेपाली भाषी कति ?

    काठमाडौं । म्यान्मारमा शुक्रवार शक्तिशाली भूकम्प जाँदा मृत्यु हुने मानिसको सङ्ख्या एक हजार नाघेको सरकारी अधिकारीहरूले बताएका छन्। सैनिक सरकारका अनुसार भूकम्पमा परी २,३०० जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा १७ जना नेपालीभाषी पनि रहेको त्यहाँस्थित एकजना नेपालीभाषी साहित्यकारले बीबीसीलाई बताएका छन् । ‘म्यान्डलेमा एक दाहाल परिवारका सातजनाको दुःखद मृत्यु भएको हामीले खबर पाएका छौँ, बीबीसी न्यूज नेपालीसँग याङ्गुनबाट लक्ष्मण न्यौपानेले भनेका छन् । त्यसबाहेक अरू १० जनाको भूकम्पमा परी ज्यान गएको उनले बताए।

    भूकम्पको केन्द्रबिन्दुदेखि नजिकै पर्ने म्यान्डलेमा विध्वंसको भयावह दृश्य देखिएको आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले उल्लेख गरेका छन्। त्यस क्षेत्रमा मात्रै सात सय जनाको हाराहारीमा मृत्यु भएको बताइएको छ। हताहत हुनेहरूले अस्पतालहरू खचाखच भरिएका छन्। सैनिक सरकार प्रमुखले अन्तर्राष्ट्रिय सहायताका लागि अपील गरेका छन्। तर जारी गृहयुद्धका कारण राहत कार्य प्रभावित हुने ठानिएको छ।

  • म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४

    म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४

    काठमाडौं । म्यानमारमा महाभूकम्प गएको छ । भूकम्मा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७०० बढी घाइते भएका छन् । स्थिति नाजुक भएपछि ६ राज्यमा आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय मद्दत मागिएको छ । म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । साना–साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन् ।

    भूकम्पले म्यानमारको छिमेकी देश थाइल्यान्डमा पनि क्षति पुगेको छ । एक निर्माणाधीन भवन भत्किंदा ८ जनाको मृत्यु भएको छ । एक सय बढी व्यक्ति फसेका छन् । केहीलाई उद्धार गरिएको छ । भूकम्पका कारण ऐतिहास संरचनामा क्षति पुगेको छ । माण्डले दरबार, पुरानो घण्टाघर र ९० वर्ष पुरानो अवा ब्रिज पनि भत्किएको छ । भूकम्पले अन्य सडक, पुल, घरहरुमा भत्किएका छन् । त्यहाँ मानिसहरुको उद्धार, राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय रेडक्रसले चिन्ता व्यक्त गरेको छ ।

  • दक्षिण कोरियामा आगलागी, कम्तिमा २७ जनाको ज्यान गयो

    दक्षिण कोरियामा आगलागी, कम्तिमा २७ जनाको ज्यान गयो

    काठमाडौं । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोका कारण कम्तीमा ३२ जना घाइते भएका छन्। कोरियाली सञ्चार माध्यमहरूका अनुसार, मार्च २१ मा सान्चेओङ काउन्टीमा शुक्रबार दिउँसो सुरु भएको डढेलोपछि उइसोङ काउन्टीमा फैलिएको हो। तीव्र र सुख्खा हावाका कारण डढेलो आन्डोङ, चेङ्गसोङ, योङयाङ र योङदेओक लगायत छिमेकी काउन्टीतिर फैलिएको विभिन्न समाचार एजेन्सीहरूले जनाएका छन् ।

    दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो मानिएको यो डढेलोले एक हप्ताभित्रै ३६ हजार हेक्टरभन्दा बढी क्षेत्र प्रभावित पारेको छ। यसले सयौँ भवन नष्ट हुनुका साथै झण्डै ३७ हजार मानिसलाई विस्थापित गराएको छ। कोरियाली समाचार संस्था योन्हापका अनुसार, यो डढेलो जलवायु परिवर्तनको ‘कठोर वास्तविकता’लाई उजागर गर्ने घटना बनेको छ।

    ‘हामी अहिले राष्ट्रिय रूपमा गम्भीर परिस्थितिमा छौँ। अहिलेसम्मकै छिटो फैलिएको वन डढेलोका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ,’ कार्यवाहक राष्ट्रपति हान डक–सु ले एक सरकारी बैठकमा भने। उनले वृद्ध नागरिकहरूको मृत्यु चिन्ताजनक रहेको उल्लेख गर्दै विशेष गरी नर्सिङ अस्पतालमा रहेका व्यक्तिहरू बढी प्रभावित भएको बताएका छन्।

    डढेलो निभाउनका लागि सेनाले हवाई इन्धन उपलब्ध गराएको छ, जसले अग्निनियन्त्रक हेलिकप्टरहरूलाई हिमाली क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न मद्दत पुर्‍याइरहेको छ। बिहीबार बिहानसम्म अधिकारीहरूले ९ हजारभन्दा बढी जनशक्ति र करिब १२० हेलिकोप्टर परिचालन गरेको सरकारको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

    कोरियाका विपद् व्यवस्थापन प्रमुखका अनुसार यो डढेलो दक्षिण कोरियाको इतिहासकै ‘सबैभन्दा ठूलो’ हो। यसअघि अप्रिल २०२० मा लागेको ठूलो डढेलोले पूर्वी तटमा २३ हजार ९१३ हेक्टर जंगल जलाएको थियो। अधिकारीहरूले मृत्यु भएका सर्वसाधारणबारे विस्तृत जानकारी नदिए पनि ती मुख्यतः ६० र ७० वर्ष उमेर समूहका रहेको बताएका छन्।

    शुक्रबारदेखि सुरु भएका केही डढेलोहरू मानवीय लापरबाहीका कारण भएको अनुमान गरिएको छ। केही व्यक्तिहरूले पारिवारिक चिहान वरपर झार हटाउन आगो लगाउँदा वा वेल्डिङको काम गर्दा लागेको झिल्कोले डढेलो लागेको हुन सक्ने भनिएको छ।

  • अमेरिका आयात हुने कार र पार्टपूर्जामा ट्रम्पले लगाए २५ प्रतिशत महसुल, ट्रेडवार अझ बढ्ने आशंका

    अमेरिका आयात हुने कार र पार्टपूर्जामा ट्रम्पले लगाए २५ प्रतिशत महसुल, ट्रेडवार अझ बढ्ने आशंका

    १४ चैत, काठमाडौं । अमेरिका आयात हुने कार र पार्टपूर्जामा राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत कर घोषणा गरेका छन् । यसले ट्रेडवार बढ्ने आशंका गरिएको छ । बीबीसीका अनुसार विश्वभरबाट अमेरिका भित्रिने कार र पार्टपूर्जामा सो कर लाग्ने छ । यो २ अप्रिलबाट लागु हुने गरी घोषणा गरिएको छ । यस कदमबाट अमेरिकी कार बजारमा बढोत्तर हुने ट्रम्पको अपेक्षा छ । यसले अमेरिकामा लगानी र रोजगार बढाउने समेत अपेक्षा गरिएको छ ।

    यस कदमबाट कतिपय कार उद्योगमा प्रभाव पर्ने आंकलन गरिएको छ । यसले सहयोगी मुलुकबीच तनाव बढ्न सक्ने आशंका गरिएको छ । अमेरिकाले गत वर्ष मात्र ८० लाख कार आयात गरेको थियो । जुन २४० बिलियन डलर बराबरको व्यापार आयतन हो । अमेरिकामा सबैभन्दा धेरै मेक्सिकोबाट कार आयात हुन्छ । यसबाहेक कोरिया, जापान, क्यानडा, जर्मनीलगायत मुलुकबाट कार आायत हुने गरेको छ ।

  • आर्मेनिया बन्ने भयो इयूको सदस्य, रुससँग टाढिने

    आर्मेनिया बन्ने भयो इयूको सदस्य, रुससँग टाढिने

    काठमाडौं । ऐतिहासिक रूपमा रूस-सहयोगी मुलुकका रूपमा मस्कोको कक्षबाट टाढा हुँदै आर्मेनियाको संसद्ले बुधबार युरोपेली सङ्घ -इयु_ को सदस्यता प्रक्रिया सुरु गर्ने विधेयक पारित गरेको छ । भू-परिवेष्टित सीमावर्ती ककेसस राष्ट्र आर्मेनियाले हालको केही वर्षदेखि पश्चिमी देशहरूसँग निकटता बढाएको छ । मस्कोले आफ्नो कट्टर(शत्रु अजरबैजानबाट बचाउन असफल भएको भन्दै आर्मेनियाले निराशा व्यक्त गरेको छ । सत्तारूढ सिभिल कन्ट्र्याक्ट पार्टीका सांसदहरूबाट सबै ६४ मतका साथ अन्तिम पठनमा पारित र विपक्षी सांसदहरूबाट सात मत विपक्षमा मतदान गरे । विधेयकले आर्मेनियाली सरकारलाई इयुको प्रवेश प्रक्रिया सुरु गर्न आह्वान गर्दछ ।

    “आर्मेनिया गणतन्त्र।।। युरोपेली सङ्घ (इयु) मा आर्मेनियाको प्रवेश प्रक्रिया सुरु गर्ने घोषणा गर्दछ”, पाठमा लेखिएको छ । अजरबैजानको सन् २०२३ को अप्रत्याशित आक्रमणले बाकुको काराबाख क्षेत्रमा आर्मेनियाली समर्थित पृथकतावादीहरूलाई पराजित गरेपछि येरेभान र मस्कोबीचको सम्बन्ध नाटकीय रूपमा घटेको छ ।

    आर्मेनियाले यस क्षेत्रमा लगभग दुई हजार सेना तैनाथ गरेको रुसमाथि लडाइँ र त्यसपछिको एक लाखभन्दा बढी आर्मेनियालीको यस क्षेत्रबाट पलायन रोक्न केही नगरेको आरोप लगाएको छ । आक्रमणको चार दिनपछि आर्मेनियाका प्रधानमन्त्री निकोल पसिन्यानले टेलिभिजन सम्बोधनमा राष्ट्रलाई येरेभानको हालको सुरक्षा गठबन्धन ‘अप्रभावी’ र ‘अपर्याप्त’ भएको बताए । सन् २०२४ फेब्रुअरीमा उहाँले नाटो जस्तै धेरै पूर्व-सोभियत राज्यहरूको रक्षा समूह, रूसी नेतृत्वको सामूहिक सुरक्षा सन्धि सङ्गठनमा आर्मेनियाको सहभागिता स्थगित गरे । येरेभान मस्कोको इच्छाविपरीत अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा प्रवेश गरेको छ । यो कदमले देशलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिन येरेभान आउँदा पक्राउ गर्न बाध्य बनाउँछ ।

    आर्मेनियाले सन् २०२४ सेप्टेम्बरमा इयुसँग भिसा उदारीकरण वार्ता सुरु गर्यो र फ्रान्ससँग आफ्ना रक्षा सम्बन्धहरू गहिरो बनायो । सन् २०२४ जुलाईमा उसले अमेरिकी सैनिकहरूसँग सैन्य अभ्यास गरेको थियो । मस्कोले येरेभानमाथि सम्बन्ध तोड्न खोजेको आरोप लगाउँदै यस कदमप्रति निराश प्रतिक्रिया जनाएको छ । रूसले गत वर्ष काराबाखबाट आफ्ना शान्ति सेना फिर्ता लैजाने र ककेसस राज्यबाट केही सैनिक र सीमा सुरक्षाकर्मी हटाउने घोषणा गरेको थियो । रासस\एएफपी

  • चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध

    चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ । यो कारबाहीले चीन, संयुक्त अरब इमिरेट्स र इरानलगायत देशका ८० संस्थालाई प्रभावित पारेको छ र विभागले उनीहरूको ‘अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति विपरीतका गतिविधिहरू’ भनेको छ । ‘प्रतिबनध सूची’ मा थपिएकाहरूलाई सरकारी अनुमति बिना अमेरिकी वस्तुहरू र प्रविधिहरू प्राप्त गर्न प्रतिबन्ध लगाइएको छ ।

    अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले भन्नुभयो, “हामी विरोधीहरूलाई अमेरिकी प्रविधिको दुरुपयोग गरेर आफ्नो सेनालाई बलियो बनाउन र अमेरिकी जीवनलाई खतरामा पार्न अनुमति दिनेछैनौँ ।” चीनस्थित प्रयोगकर्ताहरूका लागि उन्नत एआई, सुपर कम्प्युटर र उच्च प्रदर्शन एआई चिप्सको विकासमा संलग्न भएको आरोप लगाई चीनमा रहेका ११ र ताइवानमा रहेको एक संस्थालाई लक्षित गरी प्रतिबन्ध लगाइएको हो ।

    यसमा ‘बेइजिङ एकेडेमी अफ आर्टिफिसियल इन्टेलिजेन्स’ र विशाल प्रविधि फर्म ‘इन्सपुर ग्रुप’का सहायक कम्पनीहरू सामेल छन् । अन्यलाई ‘असुरक्षित आणविक गतिविधिहरूमा योगदान’ वा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूको लागि दोषी करार गरिएको छ । उद्योग तथा सुरक्षाका लागि वाणिज्य उपमन्त्री जेफरी केसलरले अमेरिकी प्रविधि र सामानलाई उच्च कार्यसम्पादन कम्प्युटिङ, हाइपरसोनिक क्षेप्यास्त्र र सैन्य विमान प्रशिक्षणजस्ता गतिविधिका लागि दुरुपयोग हुनबाट रोक्नु यसको उद्देश्य रहेको बताए ।

    इरानको रक्षा उद्योग र ड्रोन कार्यक्रमका लागि अमेरिकी सामान खरिद गर्न खोज्ने इरान र चीनका दुई संस्थालाई पनि सूचीमा समावेश गरिएको वाणिज्य विभागले जनाएको छ । बेइजिङले आफ्ना कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णयको निन्दा गर्दै वासिङ्टनले व्यापार र प्रविधिलाई ‘आधिपत्यवादको विशिष्ट कार्य’मा ‘हतियार’ बनाएको आरोप लगाएको छ ।

    “हामी अमेरिकी पक्षलाई राष्ट्रिय सुरक्षाको अवधारणालाई सामान्यीकरण नगर्न आग्रह गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार भेटमा भने, “चिनियाँ उद्यमहरूलाई अनुचित रूपमा दबाउन सबै प्रकारका प्रतिबन्ध सूचीहरूको दुरुपयोग बन्द गर्नुहोस् ।” गुओले चीनले आफ्ना कम्पनीहरूको अधिकार रक्षाका लागि आवश्यक कदम चाल्ने बताए । कालोसूचीमा परेका केही कम्पनीहरुले एएफपीको प्रतिक्रियाको लागि बुधबार गरेको अनुरोधमा तत्काल प्रतिक्रिया जनाउन चाहेनन् । रासस\एएफपी

  • बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या

    बिहारमा रेल्वे स्टेशनमा गोलीबारी, तीन जनाको हत्या

    काठमाडौं । भारतको बिहारमा रेल्वे स्टेशनमा गोली चलेको छ । सो घटनामा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । घटना बिहारको आरा रेल्वे स्टेशनमा भएको हो । मंगलबार भएको यो घटनाको कारण प्रेम प्रसंग रहेको पाइएको प्रहरीले बताएको छ ।

    २४ वर्षको अमन कुमार नामक युवकले गोली चलाएको पाइएको छ । ती व्यक्तिले सुरुमा एक एक युवती र उनका बुबामाथि गोली चलाएका थिए । त्यसपछि उनले आफैमाथि गोली चलाए । घटनाबारे जाँच भइरहेको प्रहरीको दावि छ ।

  • टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?

    टर्कीमा किन भइरहेको छ विशाल प्रदर्शन ?

    काठमाडौं । टर्कीको इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई पक्राउ गरिएपछि प्रदर्शन सुरु भएको छ । सो प्रदर्शन सातौं दिनसम्म पनि जारी छ । राष्ट्रपति रेसेप तैयप इर्दोगानले विपक्षी दलहरूलाई ‘हिंसात्मक आन्दोलन’ भड्काएको आरोप लगाएको सञ्चारमाध्यमले जनाएका छन् । टर्कीको मुख्य विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) ले प्रदर्शन मंगलबार सकिने बताएका थिए । तर पार्टीले आन्दोलनका अन्य कार्यक्रमबारे भने केही उल्लेख नगरेको बीबीसीले लेखेको छ । मेयर इमामोग्लुलाई पक्राउ गरिएपछिका प्रदर्शनका क्रममा करिब १३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    इमामोग्लु टर्कीएका राष्ट्रपति रेसेप तैयप इर्दोगानका प्रमुख प्रतिद्वन्द्वी हुन् । सीएचपीबाट सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि उम्मेदवारी दिने तयारी गरेपछि इमामोग्लुलाई गत बुधबार पक्राउ गरिएको थियो । इमामोग्लुमाथि आपराधिक संगठन स्थापना र व्यवस्थापन गरेको, घुस लिएको, जबरजस्ती रकम असुलेको, टेन्डर प्रक्रियमा धाँधली गरेको लगायतका आरोप लगाइएको छ । टर्कीएको एक अदालतले आइतबार इमामोग्लुलाई पक्राउ गर्न र भ्रष्टाचारको आरोपसम्बन्धि मुद्दाको टुंगो नलागेसम्म जेलमा राख्न आदेश दिइसकेको छ । इमामोग्लुले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।

    इस्तानबुलसँगै अंकारा र इज्मिरमा पनि हजारौंले प्रदर्शन गरेका छन् । टर्किएमा केही वर्षयताकै ठूला प्रदर्शनमा सुरक्षाकर्मीले चरम दमन गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रदर्शनका सहभागीहरूले ‘अधिकार, कानून र न्याय’ को नारा लगाउने गरेका छन् ।

    प्रदर्शनमा सहभागीले आफूहरूले राजनीतिक कारण वा विपक्षीको समर्थक भएकाले नभइ लोकतन्त्रको रक्षाका लागि प्रदर्शनमा सहभागी भएको बताएका बीबीसीले जनाएको छ । धेरैजसोले विश्वास गर्न सकिने भविष्यको लागि लडिरहेको र त्यसका लागि गिरफ्तारी दिन तयार रहेको बताउने गरेका छन् ।

    टर्कीमा इमामोग्लुलाई इर्दोगानको सबैभन्दा शक्तिशाली राजनीतिक प्रतिद्वन्द्वीमध्ये एक मानिन्छ । उनी अनुसन्धानका लागि पक्राउ परेका अन्य राजनीतिज्ञ, पत्रकार र व्यवसायीसहित सय भन्दा बढी व्यक्तिमध्ये एक हुन् । गिरफ्तारी हुनुभन्दा एक दिन अघि इस्तानबुल विश्वविद्यालयले कथित अनियमितताका कारण इमामोग्लुको डिग्री रद्द गर्ने घोषणा गरेको थियो ।

    उक्त कार्य उनलाई राष्ट्रपतिको उम्मेदवार हुन नदिन चालिएको अनुमान गरिएको छ । टर्कीको संविधान अनुसार राष्ट्रपतिहरूले पद धारण गर्न उच्च शिक्षा पूरा गरेको हुनुपर्छ । इर्दोगानले विगत २२ वर्षदेखि टर्कीको प्रधानमन्त्री र राष्ट्रपति दुवैको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । तर कार्यकालको सीमाका कारण संविधान परिवर्तन नगरेसम्म उनी २०२८ मा फेरि उम्मेदवार हुन सक्दैनन् ।

  • अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत

    अमेरिकाको दावि : रुस र युक्रेन युद्धविरामका लागि सहमत

    काठमाडौं । रुस र युक्रेन ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको अमेरिकाले दावि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा यो सम्भव भएको समेत ह्वाइट हाउसको दावि छ । तीन वर्षभन्दा अगाडिदेखि रुस र युक्रेनबीच जारी लडाइँ ३० दिनसम्म रोक्ने सहमति भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुई देशबीच ऊर्जा संरचनामा आक्रमण नगर्ने सहमति जुटेको छ ।

    ट्रम्पले युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरिसकेका छन् । युद्धविरामको कार्यान्वयन र त्यसको निगरानी कसरी गरिन्छ भन्ने अझै स्पष्ट सार्वजनिक भएको छैन् । युद्धविराममा सहमति जुट्नुअघि साउदी अरबमा १२ घण्टासम्म गोप्य वार्ता भएको थियो । त्यसपछि ट्रम्पले रुसी र युक्रेनी राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए ।

    रुसी उपविदेशमन्त्री ग्रिगोरी करासिनले युद्धविराममा सहमति भएको पुष्टि गर्दै भनेका छन्, ‘अमेरिका–रुसबीच कुराकानी कठिन थियो तर रचनात्मक भयो ।’
    युद्धविराम सम्झौतामा पुगेवाफत् रुसले व्यापारिक दृष्टिकोणबाट आफूलाई केही फाइदा हुने सर्तमा अमेरिकालाई सहमत समेत गराएको छ । बीबीसीका अनुसार अमेरिकाले रुसलाई कृषि र मल निर्यातका लागि विश्वबजारमा पुनः पहुँच पुर्‍याउने मद्दत गर्ने छ । साथै समुद्री बीमा लागत घटाउन र वित्तीय लेन–देनमा सुविधा दिने विषयमा पनि सकारात्मक छलफल भएको छ ।