Category: विश्व

  • अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी ?

    अमेरिकी राष्ट्रपति र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता, के भयो कुराकानी ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्श्कीबीच फोनवार्ता भएको छ । यसअघि ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच समेत फोनवार्ता भएको थियो । ह्वाइट हाउसले यी वार्ताबारे जानकारी गराएको छ । दुई नेताबीचको वार्ता सकारात्मक रहेको समेत ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले बताएकी छिने ।

    उनका अनुसार जेलेन्श्किीसँग ट्रम्पले युद्ध रोक्न र रुस तथा युक्रेनबीच शान्ती सम्झौताका लागि प्रतिवद्ध रहेको बताएका थिए । युक्रेनी राष्ट्रपतिले समेत ट्रम्पसँग विस्तृतमा कुराकानी भएको बताएका छन् । कुराकानीमा शान्ती स्थापनामा बढी जोड दिइएको समेत उनले बताएका छन् । उता ट्रम्प र पुटिनबीच समेत सीघ्र भेटघाटको तयारी भइरहेको बताइएको छ ।

  • अमेरिकासँग व्यापारयुद्ध नगर्ने मुडमा ब्राजिल

    अमेरिकासँग व्यापारयुद्ध नगर्ने मुडमा ब्राजिल

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिलमा २५ प्रतिशत कर लगाए पनि ब्राजिल अमेरिकासँग व्यापार युद्धमा प्रवेश गर्ने कुनै मनसाय नरहेको ब्राजिलका सरकारी अधिकारीले बताएका छन् । सन् २०२४ मा ४० लाख ८० हजार टन स्टिल उपलब्ध गराउने ब्राजिल क्यानडापछि संयुक्त राज्य अमेरिकालाई इस्पातको दोस्रो ठुलो निर्यातक हो ।

    करको सम्भावित प्रतिशोधको बारेमा सोधिएको प्रश्नमा संस्थागत सम्बन्ध मन्त्री अलेक्जेन्ड्रे पाडिल्हाले पत्रकारहरूलाई भने, “सरकारले यस विषयमा कुनै छलफल गरेको छैन, तर व्यावसायिक गतिरोधको विरोध गरेको छ ।” “ब्राजिलले कुनै पनि व्यापार युद्धलाई प्रोत्साहित गर्दैन र प्रवेश गर्दैन,” पाडिल्हाले भने । यद्यपि, यो राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले गत महिना गरेको टिप्पणीको विपरीत छ ।

    उनले यदि ट्रम्पले ब्राजिलमाथि कर वृद्धिको भार थोपरेमा प्रतिकार गर्ने बताएका थिए । “यो एकदम सरल छः यदि उनले ब्राजिलका उत्पादनहरूमा कर लगाउनुभयो भने ब्राजिलले संयुक्त राज्य अमेरिकाबाट निर्यात हुने उत्पादनहरूमा कर लगाउनेछ,” ७९ वर्षीय लुलाले उक्त अवसरमा भनेका थिए । लुलाले अमेरिकासँगको सम्बन्ध सुधारगर्न र चीनपछि ब्राजिलको दोस्रो ठूलो व्यापारिक साझेदारसँग व्यापार सम्बन्ध बढाउन चाहेको बताए ।

    ब्राजिलका अर्थमन्त्री फर्नान्डो हदादले ट्रम्पले लगाएको जस्तो एकतर्फी कर ’विश्व अर्थतन्त्रसुधारका लागि प्रत्युत्पादक’ भएको बताए । उनले भने, “यो नयाँ कर वृद्धिले ब्राजिललाई मात्र एकल असर गर्दैन, बरु सम्पूर्ण विश्वलाई लक्षित गर्दछ र ब्राजिलले ट्रम्पलाई कसरी प्रतिक्रिया दिने निर्णय गर्नु अघि अन्य देशहरूले कस्तो प्रतिक्रिया देखाउँछन् भनी हेरिरहेको छ ।”

    अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नुपर्दा उनीहरूको सुरक्षाको लागि स्टीलमा यस्तै कर वृद्धि लागू गरेका िथए । यद्यपि, कोटा आयात गर्न सहमत भएपछि ब्राजिललाई छुट दिइएको थियो । एजीएल कार्गो निर्यात कम्पनीका संस्थागत सम्बन्ध निर्देशक ज्याक्सन क्याम्पोसले एएफपीसँग भने, “ब्राजिलले प्रतिशोधको सट्टा कूटनीति रोज्ने सम्भावना छ ।”

    क्याम्पोसले भने, “कूटनीतिको माध्यमबाट वार्ता गर्नु एउटा विकल्प हुनेछ, किनभने यसको तत्काल प्रभाव पर्छ । यदि सम्झौता हुन सकेन भने ब्राजिलले भारत, दक्षिण कोरिया र अफ्रिकालाई हेरेर बजारलाई विविधीकरण गर्ने प्रयास गर्न सक्छ ।” ब्राजिलस्थित अमेरिकी चेम्बर अफ कमर्शले एक विज्ञप्ति जारी गर्दै स्टिल र आल्मुनियममा लगाइने करले यी क्षेत्रमा ब्राजिलको निर्यातमा उल्लेखनीय असर पार्ने सम्भावना रहेकाले वार्ताबाट समाधानको अपेक्षा गरेको जनाएको छ ।

    “सन् २०२४ मा ब्राजिलले संयुक्त राज्य अमेरिकामा ५.७ अर्ब डलरभन्दा बढीको स्टिल र फलाम निर्यात गरेको थियो । सोही वर्ष ब्राजिलले अमेरिकी बजारमा २६ करोड ७० लाख अमेरिकी डलरबराबरको आल्मुनियम निर्यात गरेको थियो, जुन ब्राजिलको विश्वव्यापी बिक्रीको १६.७ प्रतिशत बराबर हो ।

    ब्राजिलको स्टिल इन्स्टिच्युटले भनेको छ, “विशेषगरी देशको बजार अमेरिकासँग पहिल्यै प्रतिस्पर्धा गरिरहेका चीनजस्ता मुलुकबाट आयातमा भएको उल्लेखनीय वृद्धिले पनि प्रभावित भएको छ । “इन्स्टिच्युटले व्यापार प्रतिरक्षाका उपायहरूको परिणामस्वरूप ‘ब्राजिलले तेस्रो देशहरूबाट संयुक्त राज्य अमेरिकामा स्टील उत्पादनहरू रोक्ने कुनै सम्भावना छैन,” ट्रम्पले भनेका छन् । रासस\एएफपी

  • ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी

    ट्रम्पलाई भेट्न अमेरिका पुगे नरेन्द्र मोदी

    काठमाडौं \बीबीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार वाशिङ्टन डीसी पुगेर राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट्दा न्यानो स्वागत पाउने छन्। तर उनको भ्रमण त्यतिमा मात्र सीमित हुने छैन। पछिल्ला वर्षहरूमा ट्रम्प र मोदीले बलियो व्यक्तिगत सम्बन्ध विकास गरेका छन्। दुई देशबीच उच्चस्तरीय भेटघाटहरू भएका छन् र उनीहरू सँगसँगै देखा पनि परेका छन्।

    सन् २०१७ मा वाशिङ्टनमा भएको पहिलो भेटघाटपश्चात् उनीहरूको सम्बन्ध झाँगिएको छ। ह्यूस्टन र अहमदाबादमा भएका विशाल र्‍यालीहरूमा उनीहरूको संयुक्त रूपमा उपस्थिति रहे। विश्वमामिला तथा राजनीतिमा समान दृष्टिकोण अनि चीनसँग जुझ्ने विषयमा रहेको आपसी रणनीतिक दृष्टिले उनीहरूको सम्बन्ध मात्र नभई अमेरिका-भारत साझेदारी पनि थप बलियो बनाएको छ।

    सम्भवतः त्यसैले बेलाबेला भारतको आलोचना गरे पनि ट्रम्पले कहिल्यै मोदीको आलोचना गरेका छैनन्। मोदीको भ्रमणका बेला दुई नेताहरूले अमेरिका-भारत रणनीतिक साझेदारीका आगामी कार्यदिशाबारे पक्कै केही समय बिताउने छन्। मोदीले ट्रम्पका कैयौँ वरिष्ठ मन्त्रीहरूलाई भेट्ने छन्। उनले अमेरिकी अग्रणी व्यापारीहरू तथा भारतीय-अमेरिकी समुदायका सदस्यहरूसँग पनि कुराकानी गर्ने छन्। उनले स्पेसएक्स र टेस्लाका प्रमुख इलोन मस्कसँग पनि भेट्ने सम्भावना छ। मोदी भारतमा विद्युतीय गाडीको क्षेत्रमा विकास गर्न उत्सुक देखिन्छन्। उनी मस्कले भारतमा टेस्लाको कारखाना खोलेमा निकै खुसी हुने छन्।

    तर ट्रम्प-मोदी मित्रता र रणनीतिक साझेदारीका कुराकानीले एउटा गम्भीर वास्तविकता छोपेको छ, मोदीको भ्रमणताका सम्बन्धको कारोबारी प्रकृति केन्द्रबिन्दुमा देखा पर्ने छ जहाँ दुवै नेता, अझ खास गरी ट्रम्पसँग मागहरूको सूची हुन सक्छ। दिल्लीले ट्रम्पलाई राम्रै बुझेको छ। अहिले मोदीको मन्त्रिपरिषद्‌का कतिपय सदस्यहरू उनको अघिल्लो कार्यकालमा पनि थिए।

    त्यति बेला ट्रम्प आफ्नो पहिलो कार्यकाल सम्हाल्दै थिए। गत महिना भएको ट्रम्पको शपथग्रहण समारोहमा पनि यो चिनजान झल्किएको थियो स् अनि दिल्लीले अमेरिकी आयातमा शुल्क घटाउन, गैरकानुनी भारतीय आप्रवासी फिर्ता लिन र अमेरिकी तेल किन्न तयार रहेको सार्वजनिक सङ्केत दिइसकेको छ।

    उसले केही वस्तुमा आयात शुल्क घटाइदिसकेको छ भने गत साता पहिलो खेपमा विमानमार्फत् आइपुगेका १०४ गैरकानुनी आप्रवासी भारतीयहरूलाई स्वीकार गरिसकेको छ। भारतमाथि ट्रम्पले कुनै लक्षित मागहरू नगरून् अनि नयाँ ट्रम्प प्रशासनसँग तनावको सम्भावना घटाउन यी कदमहरू चालिएका छन्।

    पछिल्ला वर्षहरूमा भारतसँगको वस्तु तथा सेवा व्यापारमा अमेरिकाले बेहोरिरहेको करिब ४६ अर्ब डलरको घाटा कम होस् भन्ने उद्देश्यले ट्रम्पले मोदीसँग अमेरिकी आयातमा लगाइएका शुल्क अझै घटाउने माग राख्न सक्छन्। तर यो अवरोधले नयाँ अवसरको ढोका खोल्न सक्छ स् दुवै तर्फ शुल्क घटाउने गरी एउटा आर्थिक साझेदारी सहमतिका निम्ति द्विपक्षीय वार्ता थाल्न आग्रह मोदीले ट्रम्पलाई आग्रह गर्न सक्छन्।

    हालैका वर्षहरूमा दिल्लीले व्यापार सम्झौताका लागि तयार रहेको सङ्केत दिएको छ। बाइडन प्रशासनभन्दा ट्रम्प प्रशासन यो मामिलामा खुला हुन सक्छ। बाइडन प्रशासनले नयँ व्यापार सम्झौताहरूमा थुप्रै वातावरणीय एवं श्रमसँग सम्बन्धित सर्तहरू तेर्स्याउने गर्थ्यो।

    मोदीलाई थप गैरकानुनी भारतीय आप्रवासी फिर्ता लग्न पनि ट्रम्पले भन्न सक्छन्। कतिपय विवरणहरूमा त्यो सङ्ख्या सात लाख भनिएको छ – अमेरिकामा रहेका त्यस्ता मानिसहरूको यो तेस्रो ठूलो समुदाय हो। यो विषय चाहिँ दिल्लीका निम्ति अलि कठिन र संवेदनशील हुन सक्छ।


    गत साता भारतीय विदेशमन्त्री एस जयशङ्करले संसद्‌मा बोल्दै भारत आफ्ना नागरिकहरूमाथि गलत व्यवहार नगरियोस् भन्ने निश्चय गर्न अमेरिकासँग मिलेर काम गरिरहेको बताए। गत साता फिर्ता पठाइएका भारतीयहरूलाई हतकडी लगाइएको विवरणले भारतमा क्रोध फैलिएको थियो।

    ट्रम्पले अझ धेरै अमेरिकी तेल किन्न पनि मोदीलाई भन्न सक्छन्। सन् २०२१ मा अमेरिकी तेल निर्यातका लागि भारत मुख्य गन्तव्य थियो। तर युक्रेनमा रुसको अतिक्रमणले विश्वको तेल बजारमा उथलपुथल भयो अनि दिल्लीले उसको साझेदार रुसबाट सस्तोमा धेरै परिमाणमा तेल किन्न थाल्यो। तेलको मूल्यले नै भारतले अमेरिकाबाट कति परिमाणमा तेल किन्न चाहला भन्ने निर्क्योल गर्ने छ।
    मोदीले ऊर्जाको क्षेत्रमा विशेष आग्रह गर्न सक्छन् । दिल्लीले उसको परमाणु दायित्व कानुन परिमार्जन गर्दै छ अनि नयाँ परमाणु ऊर्जा अभियानको घोषणा गरेको छ। सन् २०३० सम्ममा आफ्नो ऊर्जा आवश्यकताको आधा नविकरणीय ऊर्जा स्रोतबाट पूर्ति गर्ने भारतको लक्ष्य छ।

    ट्रम्पलाई परमाणु ऊर्जामा लगानी गर्न अनुरोध गरेर उसले बीचको बाटो खोज्न सक्छ स् यो ऊर्जा परम्परागत इन्धनभन्दा सफा मानिन्छ तर ट्रम्प प्रशासनले लगानीका लागि खासै नरुचाउने सौर्य वा वायु ऊर्जा जस्तो पनि होइन। बाइडन कालमा द्विपक्षीय सम्बन्धमा प्रविधिको ठूलो महत्त्व रह्यो। सन् २०२२ मा आईआईटी भनिने इनिशटिभ अन क्रिटिकल एन्ड इमर्जिङ टेक्नोलजिजको कार्यान्वयन गरियो। दुवै पक्षले यसलाई रणनीतिक साझेदारीको नयाँ पाटो माने।

    कर्मचारीतन्त्रमा पुगेर यो विषयमा कुनै ढिलाइ नहोस् भनेर आईसीईटीको नेतृत्व दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको काँधमा दिइयो। मोदीले ट्रम्प र उनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जसँग यस मामिलामा उनीहरूको प्रतिबद्धताबारे आश्वस्त हुन खोज्ने छन्। चीनसँग जुझ्नका लागि भारतलाई विश्वको प्रविधि आपूर्ति शृङ्खलामा बढी भूमिका दिने रुचिका कारण सायद उनीहरूले त्यस्तो प्रतिबद्धता व्यक्त गर्ने छन्।

    साथै प्रविधिको क्षेत्रमा मोदीले ट्रम्पसँग एच(वनबी भिसाको व्यवस्था कायम राख्न अनुरोध गर्न सक्छन्। यस्ता प्रवेशाज्ञा प्रतिभाशाली विदेशी कामदारहरूलाई दिइन्छ। ट्रम्पका कतिपय प्रभावशाली समर्थकहरूले यसको आलोचना गर्दै आएका छन्। अमेरिकामा रहेका ठूलो सङ्ख्याका भारतीय प्राविधिकहरूले यस्तो प्रवेशाज्ञा पाएका छन्।

    तर गत साता अमेरिकी प्रशासनले तेहरानविरुद्ध अत्यधिक दबावको नीति घोषणा गरेको छ। चाबहारमा व्यापारीक गतिविधि गर्नेहरूविरुद्ध आर्थिक प्रतिबन्ध नलाग्ने गरी पहिले गरिएका व्यवस्था हटाइदिने सङ्केत उसले दिएको छ। मोदीले यस विषयले दिल्लीलाई पार्ने असरबारे प्रस्टता खोज्ने छन्।

    अनि युक्रेन र गाजामा युद्ध रोक्ने उनको ठूलो विदेश नीति प्राथमिकताबारे पनि ट्रम्पले मोदीको विचार जान्न चाहलान्। दिल्ली दुवै युद्ध समाप्त भएको हेर्न चाहन्छ। युक्रेनको हकमा मोदीको नीति – युद्ध अन्त्यको आह्वान गर्ने तर रुस वा पुटिनको आलोचना नगर्ने – ट्रम्पसँग मेल खान्छ। भारतको रुससँगको विशेष सम्बन्ध अनि इजरेलसँगको निकटताका कारण ट्रम्पले मोदी ती द्वन्द्व समाधानमा तेस्रो पक्ष मध्यस्थकर्ताको भूमिका वहन गर्न इच्छुक छन् कि भनेर बुझ्न खोज्लान्। यदि सङ्घर्षरत पक्षहरू बाह्य मध्यस्थताबारे सहज भएमा मात्र मोदी यस्तो भूमिका वहन गर्न राजी होलान्। तर यी संवेदनशील कुराकानीका बाबजुद दुवै नेताहरूले सकारात्मक सन्देश दिन चाहने छन्। यहाँनेर इन्डो-प्यासिफिक क्वाडले उचित स्थान पाउने छ।

    बेइजिङकेन्द्रित अमेरिका, भारत, जापान र अस्ट्रेलिया सम्मिलित यो समूहलाई ट्रम्पले बलियो समर्थन दिएका छन्। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले क्वाडको वार्षिक बैठकलाई विदेशमन्त्रीस्तरीय बनाइदिए भने पछि बाइडनले त्यसलाई शीर्ष नेता तहमा उचालिदिए। यो वर्षको क्वाड बैठक भारतमा हुँदै छ। मोदीले त्यसमा सहभागी हुन ट्रम्पलाई निम्तो दिन सक्ने छन्। अन्तर्राष्ट्रिय यात्रा गर्न ट्रम्प खासै रुचाउँदैनन्। तर सायद भारत भ्रमणका लागि भने उनी इच्छुक हुने छन् – मोदीसँगको व्यक्तिगत सम्बन्ध थप गहिरो बनाउन अनि बहुआयामिक द्विपक्षीय साझेदारीलाई अघि बढाउन।


    बीबीसी नेपाली सेवाबाट साभार

  • इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की

    इजरायली प्रधानमन्त्रीले दिए गाजामा पुनः आक्रमणको धम्की

    काठमाडौं । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहुले गाजामा पुनः आक्रमणको चेतावनी दिएका छन् । गाजामा अहिलेसम्म ४४ हजारभन्दा माथि निहत्था मानिसको ज्यान गइसकेको छ । इजरायली बन्धकको रिहाई हमासका तर्फबाट रोकिएसँगै इजरायली प्रधानमन्त्रीको यस्तो धम्की आएको हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत सोही धम्की दिइसकेका छन् ।

    इजरायली प्रधानमन्त्रीले आफ्नो सेनालाई गाजा आसपास तैनाथ हुन आदेश गरेका छन् । हमासले भने इजरायलले युद्धबिराम पालना नगरेको आरोप लगाउँदै आएको छ । इजरायल र हमासबीच १९ जनवरीमा युद्धबिराम लागु भएको थियो । त्यसयता १६ इजरायली र ५ थाई बन्धकको रिहाई भइसकेको छ । यसबीचमा इजरायलले ५६६ प्यालेस्टाइनलाई छाडेको छ ।

  • दक्षिण कोरियामा बेरोजगारी दर कम

    दक्षिण कोरियामा बेरोजगारी दर कम

    काठमाडौं । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७।९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ हजार पुगेको छ ।

    गत वर्ष रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या अक्टोबरमा १२।४ प्रतिशत, नोभेम्बरमा २।२ प्रतिशत र डिसेम्बरमा ९।० प्रतिशतले वृद्धि भएको थियो । व्यावसायिक, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा आवेदकहरूको कमी आएको तर निर्माण उद्योगमा यो दरमा सामान्य वृद्धि भएको छ ।

    दक्षिण कोरियामा बेरोजगारहरूलाई रोजगारी खोज्न मद्दत गर्न सरकारले सहयोग प्रदान गर्छ र यो राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ । जनवरीमा रोजगारीको लाभ प्राप्त गर्नेहरूको सङ्ख्या कुल छ लाख रहेको थियो र यो अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले कम हो । रोजगारीको खोजीमा रहेका व्यक्तिहरूको कुल भुक्तानी ३.८ प्रतिशतले बढेर ९७४.७ बिलियन वोन (६७०.१ मिलियन अमेरिकी डलर) पुगेको छ । रासस–सिन्ह्वा

  • हमासले थप बन्दी रिहा नगर्ने, किन लियो यस्तो निर्णय ?

    हमासले थप बन्दी रिहा नगर्ने, किन लियो यस्तो निर्णय ?

    काठमाडौं । हमासले बन्धकमा रहेकाको रिहाइ रोकेको छ । इजरायलबाट युद्धविराम सम्झौता उल्लंघन भएको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । पूर्वसम्झौता अनुसार बन्धकहरुको रिहाइ आगामी शनिबार हुनेवाला थियो । शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो ।

    हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा नेपाली विपिन जोशी पनि पर्ने अपेक्षा गरिए पनि नयाँ घोषणसँगै अन्यौल छाएको छ । हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको बीबीसीले लेखेको छ । हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पु¥याइरहेको आरोप लगाएको छ ।

    हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले भनेका छन्, ‘पछिल्लो तीन हप्तामा दुश्मन (इजरायल)ले पटक–पटक युद्धविराम सम्झौता उल्लंघन गरिरहेको हाम्रो नेतृत्वले देखेको छ । उसले सम्झौताका सर्त पालना गरिरहेको छैन । त्यसैले बन्धकहरुको रिहाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।’ इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो ।

    हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषय इजरायलको तर्फबाट प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शनिबार हमासले बन्धकहरु रिहा नगरेमा युद्धविराम अन्त्य भएको घोषणा गर्ने र हमासलाई निमिट्यान्न पार्ने प्रस्ताव राख्न बाध्य हुने चेतावनी दिएका छन् ।

  • चीनमा पहिरोमा परी कम्तिमा २९ वेपत्ता

    चीनमा पहिरोमा परी कम्तिमा २९ वेपत्ता

    काठमाडौं । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको सङ्ख्या अझै पुष्टि हुन नसकेको बताइएको छ । निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन सहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो ।

  • क्यारेबियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    क्यारेबियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएसँगै सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको बीबीसीले लेखेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट करिब २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण(पश्चिम छ ।

    भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी भएको छ । राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरुमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ । केही देशहरुमा भने यसको सम्भावना कम भएको बताउँदै केन्द्रले चेतावनी रद्द गरिसकेको छ ।

  • पाकिस्तानमा शरण लिइरहेका १८ हजार अफगानी शरणार्थी स्वदेशी फिर्ता

    पाकिस्तानमा शरण लिइरहेका १८ हजार अफगानी शरणार्थी स्वदेशी फिर्ता

    काठमाडौं । गत महिना छिमेकी मुलुक पाकिस्तानबाट १८ हजार भन्दा बढी अफगान शरणार्थी आफ्नो स्वदेश फर्किएका छन् । ती अवैध आप्रवासीहरूमध्ये करिब एक हजार इस्लामावादबाट घर फर्काइएका रिपोर्टमा उल्लेख छ ।

    सन् २०२३ सेप्टेम्बर १५ देखि आठ लाख २५ हजार ६०० भन्दा बढी अफगानीहरू पाकिस्तान सरकारको गैरकानुनी विदेशी स्वदेश फिर्ता योजनाको कार्यान्वयनपछि फर्केका छन् । अफगानिस्तानको काम चलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आग्रह गरिरहेको छ । रासस-सिन्ह्वा

  • दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित

    दिल्लीमा २७ वर्षपछि भाजपाको सरकार बन्ने निश्चित

    ाकठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले राजधानी सहर दिल्लीमा २७ वर्षपछि आफ्नो सरकार बनाउने निश्चित भएको छ।
    दिल्ली विधानसभा निर्वाचनमा बहुमत हासिल गरेसँगै भाजपाले सन् १९९८ पछि दिल्लीमा सरकार बनाउने निश्चित भएको हो । दिल्लीको ७० सदस्यीय विधानसभामा भाजपाले ४७ सिटमा जित हासिल गरेको छ। थप एक सीटमा अग्रता लिइरहेको छ।

    विधानसभाको आधा अर्थात् ३५ सीट जित्ने पार्टीले दिल्लीमा नयाँ सरकार गठन गर्न सक्छ। प्रधानमन्त्री मोदीले दिल्लीको विकासका लागि कुनै कसर बाँकी नराखिने बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले पोस्ट गरेका छन्, विकासको जित भएको छ, सुशासनको विजय भएको छ। सन् २०१३ यता दिल्ली सरकार सञ्चालनको नेतृत्व गरिरहेको अरविन्द केजरीवालको आम आदमी पार्टी (आप) ले २२ सीट मात्र जितेको छ।

    आपका नेता पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको विधानसभा सीट गुमाएका छन्। उनी भाजपाका उम्मेदवार प्रवेश बर्मासँग ३,००० भन्दा बढी मतान्तरले पराजित भए। चुनावमा आफ्नो हार स्वीकार गर्दै उनले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो सन्देशमा भनेका छन्, जनताको फैसलालाई हामी पूर्ण रूपमा विनम्रताको साथ स्वीकार गर्छौँ।

    उनले दिल्ली निर्वाचन परिणामलाई लिएर भाजपालाई बधाई दिएका छन्। देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए। भारतको राजधानी सङ्घीय प्रशासित क्षेत्र हो। मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरीवालको आपले सरकार चलाइरहेको थियो। तर पछिल्लो समय केजरीवालसहित उनको दलका नेताहरूमाथि भ्रष्टाचारको आरोप लागेको छ।

    केजरीवाल र आपका नेताहरूले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्। भाजपाका लागि राजधानी सहरमा देखिएको निर्वाचन परिणाम चुनावी सफलतामा मात्रै सीमित छैन। सन् १९९८ यता राजधानीमा सत्ता बाहिर रहेको भाजपाले यो निर्वाचनसँगै राजधानीमा महत्त्वपूर्ण आधार पाएको छ।
    महाराष्ट्र र छत्तीसगढ लगायतका राज्यमा हालैका राज्यसभा निर्वाचनहरूमा सफलता हासिल गरेपछि भाजपाले आफ्नो सम्पूर्ण ध्यान दिल्ली निर्वाचनमा लगाएको थियो।

    प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह यहाँका चुनावी सभाहरूमा सहभागी भएका थिए। भारतको सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दल भारतीय न्याश्नल कांग्रेस पनि दिल्ली राज्यसभाको निर्वाचनमा सहभागी छ। यो दलले हालसम्म कुनै सीटमा अग्रता कायम गरेको छैन। कांग्रेसले सन् १९९८ देखि २०१३ सम्म यहाँ सरकार चलाएको थियो। तर भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताहरूले कांग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पुर्‍याएका थिए।

  • दिल्ली विधानसभा निर्वाचन रुझान : कमजोर देखिए केजरीवाल

    दिल्ली विधानसभा निर्वाचन रुझान : कमजोर देखिए केजरीवाल

    नयाँ दिल्ली । दिल्ली विधानसभा निर्वाचनको प्रारम्भिक रुझान आउन थालेको छ । सो क्रममा आम आदमी पार्टी कमजोर देखिन थालेको छ । धेरै सिटमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी अगाडी छ ।

    त्यसपछि आम आदमी पार्टी रहेको छ । यो अरविन्द केजरीवालको पार्टी हो । केजरीवाल स्वयमः भने केही मतले अगाडी छन् । उनी नयाँ दिल्लीमा उठेका हुन् । प्रारम्भिक रुझानमा ४३ सिटमा भाजपा अगाडी छ । २७ सिटमा आम आदमी पार्टी अगाडी छ । कांग्रेस अग्रतामा छैन ।

  • विश्व स्वास्थ्य संगठनबाट अर्जेण्टिना पनि बाहिरियो

    विश्व स्वास्थ्य संगठनबाट अर्जेण्टिना पनि बाहिरियो

    काठमाडौं । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सिएनएनले जनाएको छ । “राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएका हुन् ।


    एडोर्नीले अर्जेन्टिनाको निर्णयलाई ‘स्वास्थ्य व्यवस्थापनसम्बन्धी गहिरो मतभेदहरू, विशेष गरी महामारीको समयमा मानव इतिहासको सबैभन्दा लामो लकडाउन र केही राज्यहरूको राजनीतिक प्रभावको सामना गर्न स्वतन्त्रताको कमिमा पुर्‍याएको तर्क गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो ।

    पछि जारी गरिएको वक्तव्यमा अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लुएचओलाई कोभिड–१९ महामारीको समयमा ‘ (अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर)’ आर्थिक क्षति पुर्‍याएको आरोप लगाएको छ । वक्तव्यमा भनिएको छ, “अन्तर्राष्ट्रिय समुदायबाट यो पुनर्विचार गर्न जरुरी छ कि किन सबैले वित्त पोषण गरेका अन्तर्राष्ट्रिय सङ्गठनहरू अस्तित्वमा छन्, जसले आफू सिर्जना गरिएका उद्देश्यहरू पूरा गर्दैनन्, अन्तर्राष्ट्रिय राजनीतिमा संलग्न हुन्छन् र सदस्य देशहरूभन्दा माथि आफूलाई थोप्न खोज्छन् ।”

    डब्लुएचओले अर्जेन्टिनामा काम गर्छ । तथापि एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्लुएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताए । यसअघि जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट संयुक्त राज्यलाई फिर्ता लिने योजना घोषणा गरेका थिए ।

  • अमेरिकाविरुद्ध चीनको जवाफी घोषणा के आयो ?

    अमेरिकाविरुद्ध चीनको जवाफी घोषणा के आयो ?

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनबाट आयात गरिने सामानमा लगाएको थप शुल्कविरुद्ध बेइजिङ्गले जबाफी कदम चालेको बीबीसीले जनाएको छ । अमेरिकाबाट चीन आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत कर लगाउनेसहितका कदम रहेको समाचारमा जनाइएको छ । चिनियाँ घोषणाअनुसार अमेरिकाबाट आयात हुने कच्चा तेल, कृषि औजार, पिकअप ट्रक र ठूला इन्जिन भएका कारमा चीनले १० प्रतिशत शुल्क लगाउने छ।

    चीनबाट अमेरिका आयात गरिने सामानमा नयाँ १० प्रतिशत शुल्क लगाउने डोनल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको केही घण्टापछि चीनले जबाफी कदम चालेको हो। जबाफी शुल्क घोषणा गरिएको विषयको एउटा वक्तव्यमा चीनले ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय व्यापार नीतिहरू उल्लङ्घन गरेको आरोप लगाएको छ।

    ‘अमेरिकाले एकपक्षीय रूपमा लादेका शुल्कहरूबाट विश्व व्यापार सङ्गठन डब्ल्यूटीओका नीतिहरू गम्भीर रूपमा उल्लङ्घन भएका छन्। उसका समस्याहरूको सम्बोधनका लागि मात्रै त्यो असहयोगी नभई तिनले चीन र अमेरिकाबीच हुने सहज आर्थिक र व्यापार सहकार्यलाई पनि बेवास्ता गरेका छन्, चीनले भनेको छ।

    शुल्कसम्बन्धी चीनको जबाफी घोषणाले बेइजिङ्ग जस्तालाई तस्तै गर्ने पक्षमा रहेको देखाउँछ र त्यो कदमले धेरै पर्यवेक्षकहरूलाई आश्चर्यचकित बनाएको छ।
    यद्यपि चीनले आयात गरिने सबै अमेरिकी सामानमा शुल्क लगाएको नभई निश्चित उत्पादनहरूमा मात्र लगाएको छ। बेइजिङ्गस्थित बीबीसीकी चीन संवाददाता लउरा बिकरका अनुसार चीनको जबाफी कदम डोनल्ड ट्रम्पले अमेरिका आयात हुने चिनियाँ सामानहरूमाथि लगाएको शुल्कको स्तरभन्दा सीमित मात्रामा देखिएको छ।

    अमेरिकाबाट आयात हुने सामानहरूमा चीनले घोषणा गरेका शुल्कहरू आउँदो सोमवारदेखि कार्यान्वयनमा आउने छ। यद्यपि अमेरिकामाथि पर्ने असर चाहिँ सीमित मात्रामा हुन सक्छ। अमेरिका विश्वभरि तरलीकृत प्राकृतिक ग्यास धेरै निर्यात गर्ने देश हो जबकि चीनले त्यसको करिब २.३ प्रतिशत हिस्सा मात्रै ओगट्छ।

  • दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

    दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

    काठमाडौं । भारतको दिल्ली विधानसभा चुनावमा मतदान सुरू भएको छ। दिल्लीको सबै ७० विधानसभा सिटमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् । मतदानको समय साँझ ६ बजेसम्म तोकिएको छ । दिल्ली विधानसभा चुनावका लागि ६९९ उम्मेदवार मैदानमा छन्। मतदान गर्न १ करोड ५६ लाख मतदाता योग्य छन् ।

    आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा दिइएको छ। दिल्लीमा सन् २०१५ र सन् २०२० मा आम आदमी पार्टीले बहुमत ल्याएको थियो। २०१५ मा ७० मध्ये ६७ सिट र २०२० मा ७० मध्ये ६२ सिट आम आदमी पार्टीले जितेको थियो। यसबीच अरबिन्द केजरिवाल पक्राउ, लोकसभा चुनावपछि बढेको भारतीय कंग्रेस आईको शक्ति लगायत विभिन्न हिसाबले दिल्ली बिधानसभा चुनावलाई चासोका साथ हेरिएको छ।

  • ट्रम्पको निम्तामा मोदी अमेरिका भ्रमणमा जाँदै

    ट्रम्पको निम्तामा मोदी अमेरिका भ्रमणमा जाँदै

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्‍पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमण गर्न निम्तो दिएका छन्। रोयटर्सका अनुसार ट्रम्पले अर्को साता मोदीलाई भ्रमणमा आउन निम्तो दिएका छन् । ट्रम्प र मोदीबीच जनवरी २७ मा टेलिफोन वार्ता समेत भएको थियो । दुई नेताबीच आप्रवासी र भारतले अमेरिकामा बनेका सुरक्षाका सामान खरिद गर्ने विषयमा कुराकानी भएको थियो ।

    सोमबार मात्र अमेरिकाको सैन्य जहाजमा २०५ जना अवैध आप्रवासी भारतीय नागरिकलाई भारत पठाइएको छ । ट्रम्पलाई खुशी पार्न मोदीले करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिने तयारी गरेको खबर छ । पहिलो कार्यकालमा पनि मोदी र ट्रम्पको राम्रो सम्बन्ध थियो।

    ट्रम्पले सन‍् २०२० मा भारत भ्रमण गरेका बेला मोदीले आफ्नो गृहराज्य गुजरातको राजधानी अहमदाबादमा उनकै नाममा बनाएको विशाल क्रिकेट स्टेडियमको उद्घाटन गराएर एक लाख जनतामाझ स्वागत गरेका थिए। बाइडेनको पालामा पनि भारत–अमेरिका सम्बन्ध सुधार भएको थियो ।

  • बेलायती राजकुमार दम्पत्ति र राष्ट्रपति पौडेलबीच भेट, के भयो कुराकानी ?

    बेलायती राजकुमार दम्पत्ति र राष्ट्रपति पौडेलबीच भेट, के भयो कुराकानी ?

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेलायती राजकुमार एडवार्ड र श्रीमती सोफियासँग शिष्टाचार भेटवार्ता गरेका छन् । ६ दिने भ्रमणका लागि आजै नेपाल आइपुगेका उनीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतनिवासस्थित राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा दुई देशबीच भएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी गराएकी छिन् । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।

    ‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

    यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गईरहेको उनको भनाइ थियो । उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण पनि भेटवार्ताका क्रममा गरेका छन् ।

    ‘नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रही आएको छ, महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्‍याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु’, राष्ट्रपति पौडेलले भने । सो अवसरमा एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझ्न पाउने पनि विश्वास उनले व्यक्त गरे ।

    बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै राजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने बताए ।

    ब्रिटिस सेनामा नेपालले भर्तीका लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गरे । सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे ।

    राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताए । ‘ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ’, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

  • सिरियामा बम विष्फोट, कम्तिमा १५ जना मारिए

    सिरियामा बम विष्फोट, कम्तिमा १५ जना मारिए

    काठमाडौं । सिरियाको उत्तरी सहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी १५ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ । आक्रमणमा १४ महिला एक पुरूष गरी १५ जनाको मृत्यु भएको र सोही सङ्ख्यामा घाइते भएको सिरियाली सञ्चारमाध्यमले जनाएका छन् । ह्वाइट हेल्मेट उद्धारकर्तालाई उद्धृत गर्दै सानाले लेखेको छ, स्थानीय सडकमा ‘नरसंहार’ भएको र ‘कृषि मजदुरहरू चढेको गाडी नजिकै कार बम विस्फोट’ भएको थियो । आक्रमणमा परी १४ महिला र एक पुरुषको मृत्यु भएको र १५ जना महिला घाइते भएको र केहीको अवस्था गम्भीर रहेका छन् ।

    सिरियामा तत्कालिन राष्ट्रपति बसर अल असद्को अन्त्यका लागि सन् २०११ मा सुरू भएको आन्दोलनले पछि गृहयुद्धको रूप लिँदा पाँच लाखभन्दा बढी सिरियालीको मृत्यु भएको र कूशल जनसङ्ख्याको करिब आधा जनसङ्ख्या आन्तरिक वा बाह्यरूपमा विस्थापित बनेको थियो । राजनीतिक सुधारको दिशामा केही प्रारम्भिक कदमहरूको बावजुद, पूर्व राष्ट्रपति असदले सिरियाको शक्तिशाली सैन्य र सुरक्षा सेवाहरू प्रयोग गरी राजनीतिक असहमतिलाई दबाउन अन्ततः आफ्नो पिताको अधिनायकवादी शासन शैलीलाई जारी राखेपछि उहाँप्रतिको आक्रोश चुलिएको पाइन्छ ।

    गृहयुद्धमा असदको क्रूर प्रतिक्रियाका कारण ठुलो मात्रामा मृत्यु र विनाशपछि अन्ततः डिसेम्बर २०२४ मा उहाँलाई पदच्युत गरिएको थियो । लामो समय असदलाई सहयोग गर्दै आएका केही तत्कालिन सरकारका सहयोगी लडाकू समूह र असदप्रति बफादार समूहले नयाँ सरकारविरूद्ध उनीहरूको राम्रो प्रभाव रहेको स्थानमा यदाकदा आक्रमण गर्ने गरेका छन् ।

    डिसेम्बर २०२४ मा हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा विद्रोहीहरूले दमास्कसलाई बलपूर्वक नियन्त्रणमा लिएपछि असदको शासनको अन्त्य भएको र एचटिएसले अन्तरिम सरकार गठन गरेको छ । नयाँ सरकार गठनको केही दिनपछि सन् २०१२ को संविधानलाई निलम्बित गरी नयाँ संविधान जारी गर्न संविधानको मस्यौदा तयार गरिरहेको छ । रासस/एएफपी

  • दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने ट्रम्पको चेतावनी

    दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने ट्रम्पको चेतावनी

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकाले केही वर्गका मानिसमाथि गरेको व्यवहारका कारण त्यहाँ सहायता रोकिने चेतावनी ट्रम्पले दिएका हुन् । दक्षिण अफ्रिकामा व्यापाक मानवाधिकार उल्लंघनका घटना भइरहेको समेत उनको भनाई छ ।

    अमेरिकाले यस्तो सहन नसक्ने भन्दै यसको विरुद्धमा कदम उठाउने चेतावनी ट्रम्पले दिए । अमेरिकाले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत महसुल बढाएर आर्थिक कारवाही सुरु गरिसकेको छ । सन् २०२३ मा दक्षिण अफ्रिकामा मात्र अमेरिकाबाट ५५ करोड डलर सहायता गएको आंकडा छ ।

  • अमेरिकाको महसुल बढाउने निर्णयमा मेक्सिकोले दियो यस्तो प्रतिक्रिया

    अमेरिकाको महसुल बढाउने निर्णयमा मेक्सिकोले दियो यस्तो प्रतिक्रिया

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आउने सामानमा शूल्क बढाउने निर्णय गरेसँगै विश्वभर यसले तरंग उत्पन्न गराएको छ । यसै सन्दर्भमा मेक्सिकोका तर्फबाट प्रतिक्रिया सार्वजनिक भएको छ । अमेरिकाले मेक्सिकन सामानमा २५ प्रतिशत शूल्क बढाउने निर्णय गरेको थियो । राष्ट्रपति क्लायडिा शिनबामले अमेरिकासँग कुनै पनि प्रकारको टकराव आफ्नो मुलुकले नचाहेको बताइन् ।

    यद्यपि आफ्नो मुलुक त्यति कमजोर नरहेको चेतावनी समेत उनले दिएकी छिन् । आफ्नो समर्थनमा जनता रहेको भन्दै उनले मेक्सिको सरकारप्रति अमेरिकाले लगाएका आरोपको समेत खण्डन गरेकी छिन् । अमेरिकाले मेक्सिको सरकारलाई आपराधिक संगठनलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ ।

    आफ्नो देशले सम्प्रभुता रक्षाका लागि कसैसँग सम्झौता नगर्ने उनको भनाई छ । उनले आफ्नो मुलुकले समेत अमेरिकी सामानमा कर बढाउने बारे तयारी गरिरहेको बताएकी छिन् । अमेरिकी कदमबारे उनले आफ्नो मुलुकले प्लान बी अनुसार काम गर्ने बताइन् ।

  • अमेरिकामा एक सातामै दोस्रो विमान दुर्घटना, कम्तिमा ७जनाको मृत्यु

    अमेरिकामा एक सातामै दोस्रो विमान दुर्घटना, कम्तिमा ७जनाको मृत्यु

    काठमाडौं । अमेरिकामा एक साताको बीचमै दोस्रो जहाज दुर्घटनामा परेको छ । ६७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटना ताजा रहँदै अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएका हुन् ।

    विमानमा सवार ६ जना र भुइँमा रहेका कम्तिमा एक जनाको मृत्यु भएको फिलाडेल्फिया शहरका मेयर चेरेल पार्करलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । उनले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । बिरामी बोकेको विमानमा दुई पाइलट, एक डाक्टर, स्वास्थ्यकर्मी, बिरामी र ती बिरामीकी आमा थिए । उनीहरु सबै मेक्सिकन नागरिक थिए ।

    लिअरजेट ५५ विमान मिसौरीमा केहीबेर रोकिएर मेक्सिकोको तिजुआनातर्फ जाँदै थियो । उडान भरेको एक मिनेटमै उक्त विमान जमिनमा खसेको थियो । भिडियोमा उक्त विमान तीव्र गतीले भुइँमा तल झरेको र आगो लागेको देखिन्छ । थुप्रै घरहरुमा ठोक्किँदै जहाज भुइँमा खसेको थियो । बुधबार मात्रै अमेरिकाको वाशिङ्टन डिसीमा सैनिक हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किएर दुर्घटना हुँदा कम्तिमा ६७ जनाको मृत्यु भएको थियो ।

  • भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान

    भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान

    काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२५÷२६ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । भारतमा १ फेब्रुअरीका दिनमा नयाँ बजेट ल्याउने गरिन्छ । साथै यस वर्ष भारतले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ७ अर्ब अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ७ सय करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।

    छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार १ सय ५० करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यो रकम यस आर्थिक वर्षको भन्दा कम हो । यस आर्थिक वर्ष भारतले २ हजार ५ सय ४३.४८ करोड रुपैयाँ विनियोजना गरेको थियो ।

    भारतको आगामी बजेटमा माल्दिभ्सलाई ५ सय करोड, म्यानमारलाई ३ सय ५० करोड, श्रीलंकालाई ३ सय करोड, अफगानिस्तानलाई १ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय २५ करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।

  • अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै

    अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किए, क्षतिको विवरण आउदै

    अमेरिकामा हेलिकप्टर र जहाज ठोक्किएका छन् । अहिलेसम्म हताहतिको सङ्ख्या सार्वजनिक भइसकेको छैन । वासिङ्टन डिसिस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरणका क्रममा रहेको जहाज र सेनाको हेलिकप्टर ठोक्किएर दुर्घटना भएको हो । स्थानीय समय अनुसार रातको ९ बजे भएको यो घटनापछि जहाज पोटोम्याक नदिमा खसेको छ । जहाजमा चालक दलका चार र ६० यात्रु सवार थिए ।

    दुर्घटनामा परेको सेनाको हेलिकप्टरमा तीन सैनिक सवार थिए । उनिहरुको अवस्था समेत अज्ञात छ ।

  • कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?

    कुम्भ मेलामा भएको भागदौड घटनााबारे के भन्छन् मूख्यमन्त्री आदित्यनाथ ?

    प्रयागराज । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या ३० पुगेको प्रशासनले पुष्टी गरेको छ । घटनाबारे मूख्यमन्त्री योगी आदित्यनाथले औपचारिक बयान दिएका छन् । उनले घटना दुर्भाग्यपूर्ण रहेको बताए । उनका अनुसार घटना संगम तट निर भएको हो । भीड नियन्त्रण गर्न राखिएका ब्यारियर्स तोड्ने र त्यसमाथि भीड कुद्ने काम भएको उनले जानकारी दिए ।

    प्रशासनले प्रयागराजको सबै घाटमा स्थान खुला गरी सहज बनाए पनि केही मानिस संगम तटमै पुग्ने अडिगमा रहँदा घटना भएको बताइएको छ । उनका अनुसार घटनामा ३६ भन्दा बढी घाईते छन् । उता राज्य सरकारले मृतकका परिवारलाई २५÷२५ लाख क्षतिपूर्ति दिने घोषणा समेत गरेको छ ।

  • सुडानमा विमान दुर्घटना, कम्तिमा २० जनाको मृत्यु

    सुडानमा विमान दुर्घटना, कम्तिमा २० जनाको मृत्यु

    काठमाडौं । दक्षिण सुडानमा विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालका अनुसार राजधानी जुबाका लागि उडेको विमान बुधबार युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो । ‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनामा परेको हो ।

    विमानमा २१ जना सवार थिए । जसमध्ये एक जना मात्रै बाँचेका छन्,’ गतवेच विपालले भने । ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी) ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए । उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए ।

  • कुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

    कुम्भ मेलामा मृत्यु हुनेको संख्या ३० पुग्यो

    काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । जसमध्ये २५ जनाको सनाखत भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन् ।

    १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो । तर, मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । मानिसहरूको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरू हटाएर सडक खुला गरेको थियो ।

  • कुम्भ भेलामा भागडौड, कम्तिमा १० जनाको मृत्यु

    कुम्भ भेलामा भागडौड, कम्तिमा १० जनाको मृत्यु

    काठमाडौं । करोडौं मानिस सहभागी हुने भारतको उत्तरप्रदेशस्थित बहुचर्चित प्रयागराज कुम्भ मेलामा भागदौड मच्चिएको छ । सो क्रममा कैयौं व्यक्ति हताहत भएको भारतयि सञ्चारमाध्यमले लेखेका छन् । अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टी गरिएको छ । घटना गएराति भएको हो । समाचार एजेन्सी एएफपीले १५ जनाको मृत्यु भएको पुष्टी भएको लेखेको छ । सरकारी निकायबाट औपचारिक तथ्यांक सार्वजनिक भइसकेको छैन ।

    घटनापछि अमृत स्नान रद्द गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरिसकेका छन् । बुधबार मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान छ । मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको हो । धेरै व्यक्तिको भिडमा कुल्चिएर ज्यान गएको हो । भारतीय

  • लेवनानमा इजरायलको आक्रमण, थप २५ मारिए

    लेवनानमा इजरायलको आक्रमण, थप २५ मारिए

    काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ । सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए । आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दा आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् ।

    लेबनानी बासिन्दा इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् । तर, इजरायली सेनाले सिमानामा फर्किएका नागरिकहरूमा गोली हानेको छ । सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीच जारी युद्धविराम सम्झौताको बावजुद यी घटना आएका छन् । रासस, सिन्ह्वा

  • भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । दुबै मुलुकले वार्ता सार्थक भएको उल्लेख गरेका छन् । ह्वाइट हाउसले जारी गरेको बयानमा दुई नेताबीच अमेरिका र भारतबीच सहयोग मजवुत गर्ने र अझ अगाडी लैजाने सन्दर्भमा कुराकानी भएको उल्लेख छ । दुई नेताबीच इन्डोप्यासिफिक, मध्यपूर्व तथा यूरोपको ताजा अवस्थाका बारेमा समेत कुराकानी भएको बताइएको छ ।

  • ट्रम्पमाथि अनुसन्धान गरिरहेका १२ अधिकारी बर्खास्त

    ट्रम्पमाथि अनुसन्धान गरिरहेका १२ अधिकारी बर्खास्त

    काठमाडौं । ट्रम्प प्रशासनले जस्टिस डिपार्टमेन्टमा काम गरिरहेका १२ अधिकारीलाई बर्खास्त गरेको छ । यी १२ अधिकारी ट्रम्पविरुद्धको अनुसन्धानमा खटिएका बीबीसीले जनाएको छ । विभागका कार्यबाहक प्रमुख जेम्स मेक हेनरीले १२ अधिकारीलाई हटाउने निर्णय गरेका हुन् । यी अधिकारीले ट्रम्पका एजेण्डामा पुरा इमानदारीसाथ काम गर्ने विश्वास नभएको भन्दै हटाउने निर्णय गरिएको समेत बताइएको छ ।

  • अमेरिकामा कुन देशका अवैध आप्रवासी धेरै छन् ?

    अमेरिकामा कुन देशका अवैध आप्रवासी धेरै छन् ?

    काठमाडौं । अमेरिकाले अवैध आप्रवासीलाई पक्राउ गर्न थालेको छ । कतिपय मुलुकका नागरिकलाई जहाजमा राखेर फिर्ता समेत पठाउन थालिएको छ । एक अध्ययनका अनुसार अमेरिकामा १ करोड १० लाख हाराहारी अवैध आप्रवासी रहेको अनुमान गरिएको छ । यसमध्ये मेक्सिकन मात्र ४० लाख भन्दा धेरै छन् । प्यू रिसर्च सेन्टरले गरेको अध्ययनमा दोस्रो स्थानमा एल साल्भाडोर रहेको छ । सो मुलुकका ७ लाख भन्दा धेरै नागरिक अवैध रुपमा अमेरिकामा बसिरहेका छन् ।

    भारतीय नागरिक समेत ७ लाख भन्दा बढी नै रहेको अनुमान छ । ग्वाटेमालाका साढे ६ लाख, होण्डुरसका साढे ५ लाख, चिनियाँ झण्डै ४ लाख, डोमिनिकन रिपब्लिक झण्डै ३ लाख, भेनेजुएलाका झण्डै ३ लाख र ब्राजिलका साढे २ लाख नागरिक अमेरिकामा अवैध रुपमा बसिरहेको पाइएको छ । कोलम्बियाका २ लाख मानिस अवैध बसोबासमा छन् । पहिलो १० सूचीमा नेपाल भने छैन ।