Author: Vishwanews.com

  • ​शुक्रबार मात्र करीव ८ सय घर टहरामा डोजर चल्यो

    ​शुक्रबार मात्र करीव ८ सय घर टहरामा डोजर चल्यो

    १८ वैशाख, काठमाडौं । सरकारले शुक्रबार काठमाडौंमा करीव ८ सय घर टहरामा डोजर चलाएको छ । बल्खुमा मात्र ४०१ घर, टहरा र छाप्रो भत्काइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उता, ​बंशीघाटमा १९३ घर टहरा भत्काइएको छ । उता शंखमुलमा मात्र १५० भन्दा बढी घर भत्किएका छन् । ती अधिकांश पक्की घर हुन् ।

    आज भत्काइएका घरमध्ये ३२३ परिवार सम्पर्कमा आएका छन् । जसको परिवार संख्या १ हजार ४१४ रहेका छन् । उनीहरुमध्ये ​खरिपाटीमा ८० जनाको मात्र व्यवस्थापन गरिएको छ । काठमाडौंमा आज घर टहरा भत्काउँदा भत्काउँदै एक व्यक्तिले आत्महत्या गरेका छन् । यसले सरकारको कडा आलोचना भइरहेको छ ।

  • रोल्पामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो

    रोल्पामा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो

    रुकुम पश्चिम, वैशाख १८ गते । तिर्थयात्राको लागि बिहीबार रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा घाइते भएका १ जना भने उपचारपछि घर फर्किएका छन् । हिजो दिउँसो रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा लु। १ ज। ४१६७ नम्बरको जीप भीरबाट ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । यात्रुहरू सबै रुकुम पूर्वको रुकुमकोटबाट गएका थिए । उनीहरू रुकुम पूर्व र केही दाङ जिल्लाका रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

    यसैगरी दाङको शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने गाउँपालिका ५ मा बस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वको भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुक्मिना बस्नेत रहेका छन् ।

    त्यसैगरी मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया विष्ट रहेका छन्।

    जलजलामा लाग्ने धार्मिक मेलामा सहभागी हुन जाने क्रममा दुर्घटना भएको बताइएको छ । जिपको छतमा बसेका सिस्ने गाउँपालिका–५, टाकुराका ३२ वर्षीय समीर कामी भने हाम फालेर जोगिएका थिए । थवाङस्थित पालिका अस्पतालमा उपचारपछि जिल्ला अस्पताल रुकुम पूर्व ल्याइएका उहाँ उपचारपछि घर फर्कनु भएको छ । दुर्घटनाको छानबिनका लागि सरकारले एक समितिसमेत बनाएको छ।

  • उपत्यका विस्थापित नागरिकलाई कहाँ व्यवस्थापन गरिन्छ ?

    उपत्यका विस्थापित नागरिकलाई कहाँ व्यवस्थापन गरिन्छ ?

    १८ वैशाख, काठमाडौं । काठमाडौंको बागमती र त्यसका सहायक नदी किनारको अत्यन्तै जोखिमपूर्ण जीवनबाट मुक्त भई एउटा सुरक्षित र व्यवस्थित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन् । काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै उनीहरु यतिबेला दशरथ रंगशाला पुगेर आफ्नो विवरण टिपाउन व्यस्त छन् ।

    ​आज मात्र आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएका छन् । रंगशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिकामा विवरण संकलन गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    विवरण संकलनसँगै त्यहाँ पुगेका नागरिकहरूको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ, जसले उनीहरुमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको समेत सचिवालयको दावि छ । ​आतिथ्य र सम्मानस् लामो समयदेखि असुरक्षित र कष्टकर बसोबास गरिरहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारका साथ खाजा खुवाएर व्यवस्थित तरिकाले होल्डिङ सेन्टरुमा लैजाने तयारी गरिएको दावि प्रधानमन्त्रीको सचिवालयको छ । ​

    विवरण संकलनपछि उनीहरुलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ।

  • बागमती किनारबाट विस्थापितलाई रंगशालामा स्वास्थ्य शिविर

    बागमती किनारबाट विस्थापितलाई रंगशालामा स्वास्थ्य शिविर

    १८ वैशाख, काठमाडौं । बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार, र मनोसामाजिक परामर्श दिइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    सो कार्यमा ​संलग्न अस्पताल शुक्रराज ट्रपिकल (नेतृत्वदायी भूमिका), कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरू खटिएका छन्। सचिवालयका अनुसार उपचार प्रक्रिया शिविरमै औषधी र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको छ। अहिले सम्म ६८ जनाले सेवा लिइसकेका छन्।

    बसोबास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको छ। उता, ​कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको बताइएको छ । जहाँ आँखा र दाँतको उपचार गरिएको छ । काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको छ।

  • अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

    अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता

    १८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो अर्थ मन्त्रालयमा मन्त्री वाग्ले र गोरबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जानकारी दिएको छ । गोर बिहीबार साँझ काठमाडौं आएका हुन् । उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

  • ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु

    ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ सुरु

    १८ वैशाख, काठमाडौं । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ शुक्रबारदेखि सुरु भएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चार दिने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गरेकी छन् ।

    औपचारिक उद्घान अघि बन्दीपुर बजार क्षेत्रमा गण्डकी प्रदेशका ११ जिल्लाका १९ वटा होमस्टेहरूको सहभागितामा र्‍याली आयोजना गरिएको थियो । स्थानीय कला, संस्कृति र पर्यटनको पहिचान झल्काउने झाँकीसहितको र्‍यालीपछि औपचारिक कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटन व्यवसायी, विभिन्न सरोकारवाला निकाय, सञ्चारकर्मी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

    औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिमालले बन्दीपुरमा आयोजित पर्यटन मार्टले स्थानीय कला, संस्कृति प्रवर्द्धन गर्नुका साथै रोजगारी र आयआर्जन बढाउने विश्वास व्यक्त गरिन् । ‘नेपालमा संघीयता कार्यान्वयनसँगै विकासको विकेन्द्रीकरण भएको छ । स्थानीय सरकारले आफ्नो गाउँ निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन् । गाउँ बलियो बने मात्र समग्र समृद्धिको आधार तयार हुन्छ’ उनले भनिन्, ‘गाउँ बलियो बनाउने प्रमुख आधार नै पर्यटन हो । स्थानीय समुदायलाई पर्यटनसँग जोड्न आवश्यक छ ।’ उनले स्थानीय रोजगारी सिर्जना गर्नका लागि पर्यटन महत्त्वपूर्ण साधन भएको बताइन् ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ_ दीपकराज जोशीले पछिल्लो समय समुदायसँग जोडिने पर्यटन प्रवृत्ति विश्वभर बढ्दो क्रममा रहेको उल्लेख गर्दै त्यसबाट लाभ लिन नेपालले तयारी बढाउनुपर्ने धारणा राखे । ‘नयाँ अनुभूति गर्ने र समुदायसँगै इन्गेज हुने ट्रेन्ड बढिरहेको छ । यसका लागि हामीले पर्यटन चेतना विस्तार गर्ने, खोज गर्ने र पर्यटन अभ्यासका कामलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘हाम्रा परम्परागत सिप, ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता छ ।’

    नेपाल पर्यटन बोर्डका सदस्य नरेन्द्रदेव भट्टले पर्यटन बोर्डले सधै ग्रामीण पर्यटनलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । ‘ग्रामीण पर्यटन नै नेपालको वास्तविक पहिचान हो, यसलाई अझ सशक्त बनाउन यस्ता कार्यक्रम आवश्यक छन्,’ उनले भने । बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गाउँका कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मार्ट आयोजना गरिएको स्पष्ट पारेका छन् । ‘बन्दीपुरको थुम्का पर्यटनलाई थप प्रवर्द्धन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘होमस्टेसम्म पर्यटक पुर्‍याउन र ग्रामीण पर्यटन सर्किट जोड्न ‘गाउँ सफारी’ले पनि उल्लेखनीय भूमिका खेलेको छ ।’

    कार्यक्रममा आगामी वर्ष ‘गाउँ पर्यटन मार्ट’ गोरखामा आयोजना गरिने घोषणा गर्दै बन्दीपुर गाउँपालिकाले गोरखा नगरपालिकालाई औपचारिक रूपमा फ्ल्याग हस्तान्तरण गरेको छ । फ्ल्याग ग्रहणपछि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले आगामी संस्करण सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ‘ऐतिहासिक गोरखा अहिले केही ओझेलमा परेको छ, गाउँ पर्यटन मार्टले यसलाई पुनः उजागर गर्न सहयोग गर्नेछ,’ उनले भने, ‘एक पटक गोरखा आएर घुम्न सबैलाई आग्रह गर्दछु ।’

    गाउँ पर्यटन प्रवर्द्धन मञ्च, गण्डकी अध्यक्ष शोभा सापकोटाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरिन् । कार्यक्रमले ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास आयोजकको छ। चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम वैशाख १६ र १७ गते तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ मा रहेको रुम्सी सामुदायिक होमस्टे र रामकोट सामुदायिक होमस्टेलगायतका क्षेत्रमा परिचयात्मक भ्रमण गरिएको थियो । नेपालमा पहिलो पटक सफारी मार्फत् ग्रामीण क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो । स्थानीय पर्यटन व्यवसायी वसन्त पौडलको संयोजकत्वको टोलीले पहिलो दिन आगन्तुकहरूको स्वागतसँगै स्थानीय होमस्टेहरूको अवलोकन गराएका थिए ।

    त्यसैगरी दोस्रो दिन बन्दीपुरका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण र सांस्कृतिक साँझ आयोजना गरिएको थियो । शुक्रबार औपचारिक उद्घाटनसँगै ‘बीटुबी’ बैठक तथा नेटवर्किङ सत्र सञ्चालन गरिएको छ । जसबाट पर्यटन व्यवसाय विस्तार र सहकार्यका नयाँ सम्भावनाका ढोका खोल्‍ने अपेक्षा गरिएको छ । त्यसैगरी कार्यक्रम शनिबार समापन गरिनेछ ।

  • यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

    यूएईविरुद्ध नेपालको रोमाञ्चक जीत

    १८ वैशाख, काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा दोस्रो जित निकालेको छ । आज नेपालले यूएईमाथि रोमाञ्चक जित हात पारेको हो । यूएईमाथि नेपालले आज ६ रनको जित निकालेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।

    यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । शाहदादले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । सिंहले ४१ रन बनाए । आर्यशं शर्मा ३३, अदीब उसमानी १४, मोहम्मद जुहैब १ र कप्तान मोहम्मद वासिम ० रनमा आउट भए । खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाउँदा अक्षदीप नाथ ३२ बलमा २६ रनमा अविजित रहे ।

    बलिङमा नेपालका सन्दीप लाछिमानेले ३, सोमपाल कामी र नन्दन यादवले दुई–दुई तथा नन्दन यादवले एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । दीपेन्द्रले ९४ बलमा १०० रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे । करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए । उनले ७९ बलमा ५६ रनको योगदान दिए ।

    गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, आरिफ शेख ११ रनमा आउट भए । सोमपाल कार्मी ० रनमा अविजित रहे । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले एक–एक विकेट लिए । अब नेपालले आफ्नो चौथो खेल मंगलबार ओमानसँग खेल्नेछ ।

  • आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : न्यूनतम पारिश्रमिक समेत नपाएको उजुरी बढ्दो

    आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : न्यूनतम पारिश्रमिक समेत नपाएको उजुरी बढ्दो

    काठमाडौँ, वैशाख १८ गते । धादिङकी मीनाले काठमाडौँमा आएर घरेलु श्रमिकका रूपमा काम गर्न थालेको सात वर्ष भयो । एउटै घरमा घरभित्रको सरसफाइदेखि बुढाबुढीको स्याहारसुसार गर्दै आएकी मीनालाई गत वर्ष सुन चोरीको दोष लगाएर तीन महिनाको पारिश्रमिकबिना नै निकालियो । त्यो घरका परिवारले खाएका जुठा भाँडा माझ्ने, ट्वाइलेट सफा, जुत्तामोजा धुनेदेखि घर सरसफाइ गर्दै आएकी मीनाले साप्ताहिक बिदाको माग गरेपछि चोरदोष लगाएर तीन महिनाको पारिश्रमिक नदिई कामबाट निकालिएको थियो । मीनाले घर मालिकको ज्यादतीविरुद्ध श्रम तथा रोजगार कार्यालय टेकुमा उजुरी गरिन् ।


    उक्त श्रम कार्यालयले मीनाको उजुरीको सुनुवाइ गर्दै घर मालिकबाट तीन महिना बराबरको लिन बाँकी पारिश्रमिक, सात वर्षसम्म साप्ताहिक बिदामा काम लगाएकोसमेत जोडेर क्षतिपूर्ति रकम भराइयो । मीना त एउटा प्रतिनिधिमूलक पात्र मात्रै हुन् । चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा मीना जस्ताका ४५० वटा उजुरी सो कार्यालयमा दर्ता भएका छन् ।

    कार्यालयका अनुसार आएकामध्ये आधा बढी फस्र्योट भएका छन् । सो कार्यालयका प्रमुख उदयकुमार गुप्ताले कार्यालयमा आउने उजुरीमध्ये अधिकांश औपचारिक क्षेत्रमा काम गर्ने प्रष्ठिानविरुद्धका रहेको र अनौपचारिक क्षेत्रका असाध्यै कम आउने गरेको जानकारी दिए ।

    उनका अनुसार चालु आवको नौ महिनामा आएका उजुरीको सुनुवाइ गर्दै करिब पाँच करोड बराबरको रकम श्रमिकलाई दिलाउन सफल भएका छौँ । उक्त रकम श्रमिक, रोजगारदाताबिच छलफल गराएर सहमतिमा वा सहमति हुन नसकेका उजुरीमा कार्यालयले दुवै पक्षलाई अन्याय नहुने गरी निर्णय गर्ने गरेको छ ।

    उजुरी गर्ने क्रम बढ्दो

    औपचारिक तथा अनौपचारिक क्षेत्रमा श्रमिकले न्यूनतम पारिश्रमिक नपाएको भन्दै उजुरी गर्ने क्रम बढेको छ । श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतका श्रम तथा रोजगार कार्यालयमा पछिल्लो समयमा रोजगारदातासँग भएको सम्झौता अनुसार पारिश्रमिक, साप्ताहिक बिदा नदिएको र सामाजिक सुरक्षा कोषमा आबद्ध नगरेको भन्दै उजुरी गर्ने श्रमिकको सङ्ख्या बढेको हो ।

    विभागका अनुसार चालु आव २०८२–८३ को चैतसम्म ७५२ वटा उजुरी परेका छन् । यो सङ्ख्या विभाग अन्र्तगत देशभर रहेका ११ वटा श्रम तथा रोजगार कार्यालयमा परेका उजुरीको सङ्ख्या हो । जसमा सबैभन्दा धेरै काठमाडौँको टेकुमा रहेको श्रम कार्यालयमा ४५० वटा उजुरी परेका छन् । जबकि आव २०८१–८२ मा ७७३ वटा उजुरी परेका थिए भने आव २०८०,८१ मा ६६८ वटा र आव २०७९–८० मा ६४७ वटा उजुरी परेका थिए ।

    विभागका महानिर्देशक चक्रपाणि पाण्डेले पछिल्ला वर्षमा सम्झौता अनुसार पारिश्रमिक, साप्ताहिक बिदा नपाएको, सामाजिक सुरक्षामा नलगेको भन्ने उजुरी धेरै पर्ने गरेको बताए । उनले बिनाकारण कामबाट निकाल्ने, काममा विभेद गर्ने, जथाभाबी सरुवा गर्नेलगायतका उजुरी आउने गरे पनि अधिकांश उजुरी न्यूनतम पारिश्रमिक नपाएकासम्बन्धी नै रहेको बताए । सरकारले गएको साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपियाँ तोकेको छ । योसँगै श्रम ऐन, २०७४ मा श्रमिकले बिदा र सामाजिक सुरक्षा पाउनुपर्ने अनिवार्य व्यवस्था छ ।

    गोरखापत्रबाट….

  • आज पनि देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना

    आज पनि देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ, वैशाख १८ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    शुक्रबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा आंशिक बदली रहने सम्भावना छ । कोशी र मधेश प्रदेशका साथै देशका हिमाली तथा पहाडी भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भू–भागमा अधिकांश बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । रासस

  • विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

    विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

    १८ वैशाख, काठमाडौं । नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना डाक्टरको दर्ता खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले आज सूचना जारी उनीहरुको दर्ता खारेज भएको जानकारी दिएको हो । सूचना अनुुसार उनीहरुले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएकाले दर्ता खारेज गरिएको हो ।

    दर्ता खारेज भएका डाक्टरहरुमा सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती रानाभाट, रमेश राज पहारी, सन्जोक घले, ऋषिराज बराल, प्रभु पाण्डे, तृप्ति महर्जन, सृजना श्रेष्ठ लगायत छन् ।

    यसैगरी सुनिता विष्ट, दिपा मल्ल, सौरब जीसी, जेनिशा श्रेष्ठ, प्रभास रेग्मी, दिपिका ज्ञवाली, हेमु चौरसिया, समिक्षा शर्मा र मनोरमा पाण्डेको पनि मेडिकल काउन्सिलले दर्ता खारेज गरेको छ ।

  • रोल्पा जिप दुर्घटना : आज पनि उद्धारको काम जारी

    रोल्पा जिप दुर्घटना : आज पनि उद्धारको काम जारी

    १८ वैशाख, रोल्पा । थवाङ गाउँपालिका–१, रोल्पामा २० जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनास्थलमा थप खोज तथा उद्धार कार्य पुनः सुरु गरिएको छ । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो । रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आज बिहानैबाट सुरक्षाकर्मीहरु घटनास्थलमा परिचालित भइसकेका छन् । उनका अनुसार आज शव पहिचान गरी आफन्तलाई जिम्मा लगाउने काम सुरु हुनेछ ।

    रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा २० जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै रुकुम पूर्व अस्पतालबाट बाहिर रिफर गरिएको जनाइएको छ ।

    भौगोलिक विकटताका कारण शव संकलन गरी घटनास्थल नजिकै राखिएको छ । उद्धार कार्यमा हेलिकप्टर समेत प्रयोग गर्ने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । सबै शवको संकलन भइसकेको जानकारी दिँदै उनले उद्धार कार्य सकिए पश्चात् आज नै सबैको पहिचान हुने प्रजिअ क्षेत्रीले बताए ।

  • आज २५७०औं बुद्ध जयन्ती, विश्वभर मनाइदैं

    आज २५७०औं बुद्ध जयन्ती, विश्वभर मनाइदैं

    १८ वैशाख, काठमाडौं । आज २५७०औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

    दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि लागि भव्य तयारी गरिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।

    विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

    लुम्बिनीको कार्यक्रममा प्रधानमन्त्री नजाने

    आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रममा प्रधानमन्त्री बालेन शाहलाई निम्तो गरिए पनि उनले नआउने जानकारी गराइसकेको आयोजक लुम्बिनी क्षेत्र विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काले बताए । बुद्ध जयन्तीमा प्रमुख अतिथिका रूपमा सभामुख डोलप्रसाद अर्याल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गनेश पौडेल विशिष्ट अतिथिका रूपमा आउने कार्यक्रम तय भएको रोक्काले बताए ।

    दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ । भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको छ। लुम्बिनी विकास कोषका अनुसार बुद्ध जयन्तीको मुख्य समारोह अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुनेछ । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ ।

  • सरकारले बढायो खाना पकाउने ग्यासको मूल्य

    सरकारले बढायो खाना पकाउने ग्यासको मूल्य

    १८ वैशाख, काठमाडौं । खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ । यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो । पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको छ ।

  • डिजेल र पेट्रोलको मूल्य घट्यो

    डिजेल र पेट्रोलको मूल्य घट्यो

    १८ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो ।

    अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ । यो सँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो । सुर्खेत र दाङमा यसअघि २१८ रहेको मूल्य अब २१६ भएको छ ।

  • आजबाट काठमाडौंका सुकुमबासी बस्तीमा पुनः डोजर चल्दै

    आजबाट काठमाडौंका सुकुमबासी बस्तीमा पुनः डोजर चल्दै

    १८ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ । आजबाट काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ वंशीघाट, वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भू, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्रमा डोजर चलाउने तयारी छ ।

    त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालित भइसकेका छन् । बस्ती खाली गर्ने सूचनालाई अटेर गरी बस्दा कुनै क्षति भएमा त्यसको जिम्मेवार स्वयं हुने चेतावनी जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो । काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट वर्षौंदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य आज बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानहरुबाट सुरु हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

    सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि अनामनगरको धोबीखोला छेउका सुकुमवासीहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेको देखिएको थियो । सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउने प्रशासनले जनाएको छ ।

    बस्ती खाली हुने क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ वटा काम तत्काल गर्न भनेको छ ।

    यी हुन् प्रशासनले अनुरोध गरेका कार्य–

    १. जोखिमपूर्ण वस्तीमा निर्माण भएका घरटहराहरू तत्काल खाली गर्नुहोला ।

    २. तपाईंको परिवारमा विरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने उनीहरूलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्ने कार्य गर्नुहोला ।

    ३. बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्वार गर्नुपर्ने भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोला । अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । तपाईंको आवश्यकता अनुसार मद्दत लिनुहोला ।

    ४. तपाईंको व्यक्तिगत मालसामानहरू, लत्ताकपडा, पशुपंक्षी चौपाया, समेत बाहिर निकाल्नु होला । उक्त बस्तुहरूको ढुवानी गरी अन्यत्र लैजानु पर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौं महानगरपालिका प्रहरी र स्थानीय प्रहरी समेतको मद्दत लिनुहोला ।

    ५. २०८३ वैशाख १७ गते साँझसम्म पूर्ण रुपमा घर टहरा खाली गर्नु होला ।

    ६. वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्नेछ ।

    ७. वास्तविक भूमिहिन व्यक्ति एवम् परिवारको पहिचान गरी दिगो रुपमा समस्याको समाधान नेपाल सरकारका सम्बन्धित निकायबाट यथासक्य छिटो हुनेछ ।

    ८. तपाईंलाई मानवीय सहायता प्रदान गर्दै, उद्धार गर्ने कार्य हुनेछ । कोही कसैको गलत हल्ला, दवाव, प्रभाव वा अफवाहका पछाडि नलाग्नुहोला ।

    ९. नक्कली एवं अवास्तविक भूमिहीन भनिएका व्यक्ति एवं परिवारको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याइने छ ।

    १०. तपाईंको सुरक्षा, जिउ ज्यानको रक्षा र संविधान प्रदत्त तपाईंको हक अधिकार सुरक्षित रहनेछ ।

    ११. सरकारको यस अभियानमा सहयोग गर्ने कार्य तपाईंको समेत कर्तव्य र जिम्मेवारी हो ।

    १२.सरकारले तपाईंलाई सहयोग र मद्दत गर्न आएको छ । तपाईंका बालबालिकाको शिक्षाको प्रबन्ध सरकारको तर्फबाट हुनेछ ।

    १३.कसैले यो सूचनालाई अटेर गरी बस्दा घर टहरा भत्किई थप क्षति हुन पुगेमा त्यसको जिम्मेवार तपाईं स्वयम् हुने व्यहोरा समेत यसै सूचनाबाट सूचित गरिन्छ ।

  • स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, मन्त्रालयले थाल्यो हस्तान्तरणको प्रक्रिया 

    स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार, मन्त्रालयले थाल्यो हस्तान्तरणको प्रक्रिया 

    १८ वैशाख, काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो । 
    सोही अनुसार बिहीबार सम्म धरान उपमहानगरपालिका सहित २०७ वटा पालिकाले स्थानीय तहबाट सेवा दिन इच्छुक रहेको जानकारी सहित मन्त्रालयमा निवेदन पठाएका छन् । 

    हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका सहित घोराही उपमहानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिका समेत रहेका छन् । यस्तै भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले समेत स्थानीय तहबाटै नापी तथा मालपोतको सेवा दिन तयार रहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन् । 

    मन्त्रालयले प्राप्त निवेदन उपर अध्ययन थालेको छ । मन्त्रालयले चरणबद्ध रूपमा इच्छुक सबै पालिकालाई सेवा हस्तान्तरण गर्ने योजना अनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी समेत सुरु गरेको छ । पालिका छनोट गर्दा सेवाग्राहीको चापको अवस्था, पहुँच तथा व्यवस्थापन क्षमतालाई आधार मानी कम भिडभाड भएका साथै अत्यधिक सेवा चाप रहेका पालिकालाई प्राथमिकता दिइने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ । 

    इच्छुक पालिका रहेका जिल्ला स्थित नापी तथा मालपोतका अधिकारीहरूलाई तत्कालै स्थानीय तहमा पुगेर स्थलगत अनुगमन गरी वस्तुस्थिति जानकारी गराउन मन्त्रालयले बिहीबार नै पत्राचार समेत गरेको छ । लगत्तै नापी तथा मालपोत सेवा प्रवाहका लागि स्थानीय तहलाई आवश्यक प्राविधिक तथा जनशक्ति व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले पालिकाहरूलाई आवश्यक सामाग्री सहित कर्मचारीहरूलाई समेत तालिम र प्रशिक्षण दिने तयारी गरेको छ । एक सातामै भित्रै सबै तयारी पुरा गरेर केही पालिकामा नापी र मालपोत सेवा हस्तान्तरण गर्ने मन्त्री रावलको सचिवालयले जनाएको छ ।

  • अब लाइन होइन, अनलाइन : देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने

    अब लाइन होइन, अनलाइन : देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत धाउनै नपर्ने

    १८ वैशाख, काठमाडौं। सरकारले मालपोत कार्यालयहरूमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले शासकीय सुधार सम्बन्धी कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय प्रवन्ध लागू गर्ने क्रममा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

    भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकीको कामलाई अनिवार्य अनलाइन गर्न निर्देशन दिएको हो । यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का र फुकुवा गर्न सेवाग्राही आफैँ मालपोत धाउनुपर्ने र बिचौलियालाई अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरिएको छ ।

    यसअन्तर्गत मालपोत कार्यालयबाट प्रदान हुँदै आएको धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी सेवा अब अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन हुने भएको छ। नागरिकलाई छिटो, सहज तथा बिचौलिया(मुक्त सेवा पूर्वानुमानयोग्य समयभित्र उपलब्ध गराउने तथा सेवा प्रक्रियालाई मुहारविहीन, समयबद्ध र पूर्ण रूपमा डिजिटल बनाउने लक्ष्यअनुरूप यो व्यवस्था लागू गरिएको हो।

    भूमि प्रशासन निर्देशिका, २०८१ को दफा (९) को उपदफा (४) बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरिएको हो। यसअनुसार तोकिएका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल वैशाख २१ गतेदेखि र अन्य क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल जेठ १ गतेदेखि उक्त सेवा अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन गरिनेछ।

    हालसम्म अनलाइन प्रणाली सञ्चालनका लागि अनुमति नलिएका र सम्झौता नगरेका अन्य बैंक तथा वित्तीय संस्थाहरूका हकमा आगामी जेठ १ गतेदेखि यो व्यवस्था अनिवार्य गर्न भनेको छ । विभागले ती संस्थाहरूलाई जेठ १ अगावै अनुमति पत्र लिई आवश्यक तयारी गर्न आग्रहसमेत गरेको छ।

    सरकारले यस व्यवस्थाबाट सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र समयबद्धता सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ। साथै, यसले सेवाग्राहीलाई अनावश्यक झन्झट तथा बिचौलियाबाट मुक्त गर्दै डिजिटल सुशासन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।यस कार्यले मालपोत कार्यालयहरुमा हाल रहेको सेवा चाप ६० प्रतिशतले कम हुने अनुमान गरिएको छ।

  • राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

    राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

    काठमाडौँ, वैशाख १७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले बताए ।

  • राष्ट्रपतिबाट सार्वजनिक खरिद अध्यादेश जारी

    राष्ट्रपतिबाट सार्वजनिक खरिद अध्यादेश जारी

    काठमाडौँ, वैशाख १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । उनले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् ।

  • देशभरका सुकुमबासी बस्तीमा त्रास फैलिएपछि सरकारले दियो यस्तो स्पष्टीकरण

    देशभरका सुकुमबासी बस्तीमा त्रास फैलिएपछि सरकारले दियो यस्तो स्पष्टीकरण

    १८ वैशाख, काठमाडौं । सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने आफ्नो योजना रहेको र यसमा सरकार दृढ रहेको स्पष्ट पारेको छ। वास्तविक सुकुम्बासीहरूमा पर्न गएको त्रासप्रति सचेत रहँदै, सरकारले उनीहरूलाई ढुक्क हुन आग्रह गरेको छ।

    सरकारले वर्षायाम सुरु हुन लागेको सन्दर्भमा प्रत्येक वर्ष बाढी तथा डुबानको चपेटामा पर्ने काठमाडौं उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारका जोखिमपूर्ण बस्तीलाई लक्षित गरी २०८३ वैशाख १२ गतेदेखि विशेष अभियान सुरु गरेको हो। जनधनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै थापाथली, शान्तिनगर, गैरीगाउँ तथा कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार बुद्धचोक र मनोहरा टोलका जोखिमयुक्त बस्तीहरू खाली गर्ने कार्य सम्पन्न भइसकेको छ।

    यस सम्बन्धमा शहरी विकास मन्त्री सुनिल लम्सालले वर्षायाममा बाढीको उच्च जोखिममा रहेका नदी किनारका ती बस्तीहरूलाई मानवीय सुरक्षाको दृष्टिकोणले मात्र खाली गरिएको स्पष्ट पारे । मन्त्री लम्सालले बाँकी क्षेत्रमा रहेका सुकुम्बासीको हकमा भने उनीहरूको पहिचान र उचित व्यवस्थापनको खाका तयार नभएसम्म जग्गा खाली गर्ने प्रक्रिया अगाडि नबढाइने प्रतिबद्धता जनाउँदै वास्तविक सुकुम्बासी परिवारलाई ढुक्क हुन आग्रह गरेका छन् ।


    यो अभियान सरकारको नीतिगत निर्णय अनुरूप अगाडि बढेको हो। गत वर्ष चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ९२ मा सार्वजनिक जग्गाको संरक्षण गर्ने, डिजिटल अभिलेख तयार गर्ने र नयाँ अतिक्रमणलाई कडाइका साथ रोक्ने स्पष्ट व्यवस्था गरिएको छ। सोही नीतिलाई कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ वैशाख १७ गते देशभरका सबै स्थानीय तहलाई परिपत्र जारी गरेको छ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आफ्नो क्षेत्रभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै हुने भएकाले मन्त्रालयले सम्बन्धित पालिकालाई सुकुम्बासीको पहिचान गर्न र उनीहरूको सुरक्षित व्यवस्थापनको ठोस योजना बनाउन निर्देशन दिएको छ।


    व्यवस्थापनको प्रक्रियामा उनीहरूको आधारभूत मानव अधिकारलाई सुरक्षित गर्न मन्त्रालयले विशेष जोड दिएको छ। सुकुम्बासी व्यवस्थापन गर्दा सुरक्षित आवासको प्रबन्ध, स्वास्थ्य उपचार, पौष्टिक खानपान, गोपनीयताको संरक्षण, तथा महिला र अपाङ्गतामैत्री आवास र सुरक्षा प्रबन्ध मिलाउन स्थानीय तहहरूलाई स्पष्ट निर्देशन दिइएको छ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुम्बासीको पहिचान र व्यवस्थापनपछि मात्र सरकारी जग्गा खाली गर्ने सरकारको योजनामा आफूहरू दृढ रहेको र यो कार्य निकै संवेदनशील भएकाले स्थानीय तहहरूले जिम्मेवारीपूर्वक मानवीय भूमिका निर्वाह गर्नुपर्ने बताए । यस विषयमा थप स्पष्ट पार्दै गृह मन्त्रालयले समेत सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

    मन्त्रालयले स्थानीय तहले नै सुकुम्बासीको पहिचान र व्यवस्थापनको योजना तयार पार्ने र अतिक्रमण हटाउने कार्य गर्दा स्थानीय जनतालाई पूर्वसूचना दिएर सुसूचित गराउनुपर्ने व्यवस्था गरेको छ। स्थानीय तहको माग र उनीहरूको योजना बमोजिम आवश्यक परेको खण्डमा मात्र जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रबन्ध मिलाउने गृह मन्त्रालयले स्पष्ट पारेको छ।


    सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र वास्तविक सुकुम्बासीको सम्मानजनक पुनःस्थापना गर्ने दुवै कार्यलाई सन्तुलित र मानवीय ढंगले अगाडि बढाएको सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन् ।

    उनले भनिन्, “सरकारी तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका वास्तविक सुकुम्बासीले चिन्ता लिनुपर्ने कुनै कारण छैन। उनीहरूको सुरक्षित र सम्मानजनक व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको छ।”

  • २० जनाको ज्यान जाने गरी भएको दुर्घटनाबारे छानविन गर्न समिति गठन

    २० जनाको ज्यान जाने गरी भएको दुर्घटनाबारे छानविन गर्न समिति गठन

    १७ वैशाख, काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो भएको भीषण जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले जारी गरेको विज्ञप्तिअनुसार आजै भएको सचिवस्तरीय निर्णयबाट उक्त समिति गठन गरिएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा गठित यस चार सदस्यीय समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।


    छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक र जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रशासकीय अधिकृत सदस्य रहेका छन्। गृह मन्त्रालयले समितिलाई उक्त दुर्घटना कसरी भयो र यसमा कसको लापरवाही वा कमजोरी रह्यो भन्ने पत्ता लगाउनुका साथै आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका लागि चाल्नुपर्ने कदमहरूबारे सुझाव दिन कार्यादेश दिएको छ। रुकुमबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दिउँसो करिब २ः५० बजे कच्ची सडकबाट करिब ८ सय मिटर तल खस्दा २० जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

  • संघीय मामिला मन्त्रालयले सबै पालिकालाई भन्यो: वास्तविक सुकुमवासी पहिचान गर्नु

    संघीय मामिला मन्त्रालयले सबै पालिकालाई भन्यो: वास्तविक सुकुमवासी पहिचान गर्नु

    १७ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकाहरूलाई पत्र लेखेर वास्तविक सुकुमवासी पहिचान गर्न आग्रह गरेको छ । मन्त्रालयले सुकुमवासी पहिचान, तत्काल अन्यत्र व्यवस्था गर्ने योजना र अतिक्रमण हटाउन आवश्यक परे जिल्ला प्रशासन कार्यालयसँग सहयोग माग गर्नु भन्दै बिहिबार परिपत्र गरेको हो ।

    राष्ट्रिय गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले बिहिबार बिहान नेपाली सेनाले सुकुमवासीको लगत संकलन गरेको प्रति आपत्ति जनाएर विज्ञप्ती निकालेको थियो । नेपाली सेनाले भने विपद् प्रयोजनका लागि विवरण संकलन गरेको प्रतिक्रिया दिएको थियो ।

    बिहीबारै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन र अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध लगायतका आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो ।

    नेपाली सेना र नेपाल प्रहरीले सुकुमवासीको लगत पठाउन माग गरेर पालिकाहरूलाई पत्रचार गरेको थियो । बर्दियाका पालिकाहरूले यसअघि नै यसको विरोध गरेको थियो । सरकारले काठमाडौंको थापाथाली, गैरीगाउँ, मनोहरालगायत देशका विभिन्न स्थान अतिक्रमित बस्ती हटाउन सुरु गरेको छ ।

  • एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

    एक महिनामा देशभर ४१७ जना बिचौलिया पक्राउ

    १७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले पछिल्लो एक महिनाको अवधिमा देशभर ४१७ जना बिचौलिया पक्राउ गरेको जनाएको छ । प्रहरी प्रधान कार्यालयको बिहीबारको बुलेटिनमा सो कुरा उल्लेख छ । पक्राउ परेकामध्ये उपत्यकाबाट १२३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशका उपत्यकाबाहेकका जिल्लाबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकामध्ये १२१ जनाविरुद्ध मुद्दा दर्ता गरेको र २९६ जनालाई छानबिनपछि छाडिएको प्रहरीले भनेको छ । सरकारले सार्वजनिक सेवालाई बिचौलियारहित, नागरिक मैत्री, कानुनसम्मत, पारदर्शी र छिटो छरितो बनाउने भनेको थियो । सोहीअनुसार देशभरका सेवा कार्यालयमा रहेका बिचौलियामाथि प्रहरीले धरपकड सुरु गरेको थियो ।

  • शुक्रबार सबै सरकारी अस्पतालको ओपिडी खोल्न मन्त्रालयको निर्देशन

    शुक्रबार सबै सरकारी अस्पतालको ओपिडी खोल्न मन्त्रालयको निर्देशन

    १७ वैशाख, काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते देशभरका सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । भोलि सार्वजनिक बिदा भए पनि बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लगातार तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • रोल्पामा जिप दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

    रोल्पामा जिप दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

    १७ वैशाख, काठमाडौं । रोल्पामा जिप दुर्घटनामा परि कम्तिमा २० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार रुकुम पुर्वबाट जलजलातर्फ गइरहेको जिप भिरबाट ८ सय मिटर तल खसेको थियोे । घटनास्थलबाट २० जनाको मृत्यु भइसकेको प्रहरीले बताएको छ । थप विवरण आउन बाकी छ ।

  • दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षामा

    दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षामा

    न्युयोर्क, वैशाख १७ । दक्षिण सुडानमा बढ्दो भोकमरी सङ्कटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म ७८ लाख मानिसलाई चरम खाद्य असुरक्षाको अवस्थामा धकेल्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाले दिएका छन् । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो एकीकृत खाद्य सुरक्षा वर्गीकरण (आइपिसी) रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । रिपोर्टमा उल्लेखित तथ्याङ्कले दक्षिणी सुडानको कुल जनसङ्ख्याको ५६ प्रतिशत मानिस हाल तीव्र खाद्य असुरक्षाको सामना गर्न बाध्य भएको जनाएको छ ।

    प्रतिवेदन अनुसार ७३ हजार ३०० मानिसले दुःखद एंव “विनाशकारी” भोकमरी सङ्कटकोे सामना गरिरहेका छन् । यस अघि २५ लाख मानिस भोकमरीको आपतकालीन चरणको सामना गर्दै बाँचिरहेको बताइएको थियो भने ५३ लाख मानिसहरू सङ्कटको चरणमा बाँचिरहेका छन् । संयुक्त राष्ट्र सङ्घका एजेन्सीले बढ्दो द्वन्द्व, सामूहिक विस्थापन, आर्थिक गिरावट, जलवायु परिवर्तन कृषि उत्पादनमा कमीको कारण यो सङ्कट बढेको बताएका छन् । आइपिसी रिपोर्ट संयुक्त राष्ट्रका एजेन्सी, क्षेत्रीय साझेदार र सहायता संस्थाको समन्वयमा गरिने विश्वव्यापी पहल हो यसले खाद्य असुरक्षालाई विभिन्न पाँच चरणमा वर्गीकृत गरी अध्यन अनुसन्धान गर्दछ । रासस-क्युएनए

  • भारतले खर्बौ लगानीको योजना बनाएको निकोबार परियोजनामा किन भइरहेको छ विवाद ?

    भारतले खर्बौ लगानीको योजना बनाएको निकोबार परियोजनामा किन भइरहेको छ विवाद ?

    नयाँदिल्ली, वैशाख १७ । भारतको रणनीतिक रूपमा महत्त्वपूर्ण ग्रेट निकोबार टापुमा प्रस्तावित बहु–अर्ब डलरको मेगापोर्ट तथा सहर विकास योजनाले राजनीतिक, वातावरणीय र मानवअधिकार सम्बन्धी गम्भीर बहस चर्काएको छ । विपक्षी नेता राहुल गान्धीले यस परियोजनालाई ‘विकासको नाममा विनाश’ भन्दै कडा आलोचना गरेका छन् र यसविरुद्ध अभियान चलाउने सङ्केत दिएका छन् ।


    नयाँदिल्लीबाट करिब तीन हजार किलोमिटर टाढा अवस्थित ग्रेट निकोबार टापु विश्वकै व्यस्त जलमार्ग स्ट्रेट अफ मलक्काको प्रवेशद्वार नजिक पर्छ । यहाँबाट करिब ३० प्रतिशत विश्व समुद्री व्यापार आवतजावत हुने गर्छ । यही भूराजनीतिक महत्त्वलाई ध्यानमा राख्दै भारत सरकारले करिब नौ अर्ब डलर लागतमा कन्टेनर बन्दरगाह, अन्तर्राष्ट्रिय विमानस्थल र नयाँ सहर निर्माणसहितको व्यापक विकास योजना अघि बढाएको हो ।

    तर यो योजनाले ९१० वर्गकिलोमिटर क्षेत्रफलको टापुमा फैलिएको प्राचीन वर्षावन तथा त्यहाँ सदियौँदेखि बसोवास गर्दै आएका आदिवासी समुदायको अस्तित्वमाथि नै प्रश्न उठाएको भन्दै विरोध बढेको छ । राहुल गान्धीले टापुको भ्रमणका क्रममा सार्वजनिक भिडियो सन्देशमार्फत आफूले देखेको अवस्थालाई ‘देशको प्राकृतिक र आदिवासी सम्पदामाथिको गम्भीर आक्रमण’ को संज्ञा दिए ।


    उनका अनुसार यो कुनै साधारण विकास परियोजना नभई लाखौँ रुख काटिने, करिब १६० वर्गकिलोमिटर वर्षावन नष्ट गरिने र स्थानीय समुदाय विस्थापित हुने प्रक्रिया हो । उनले आदिवासीको भूमि र जीवनशैलीलाई बेवास्ता गरिएको आरोप लगाउँदै यस्तो योजनालाई रोक्न पहल गर्ने स्पष्ट पारे । यता प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस परियोजनालाई राष्ट्रिय हितसँग जोड्दै रणनीतिक, रक्षा र आर्थिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण ठहर गरेका छन् ।


    भारतको वातावरणीय अदालतले पनि गत फेब्रुअरीमा यस योजनालाई स्वीकृति दिएको छ, जसले सरकारलाई परियोजना अघि बढाउन कानुनी आधार दिएको छ । सरकारका तर्फबाट वातावरणमन्त्री भूपेन्द्र यादवले परियोजनाले स्थानीय आदिवासी समुदायलाई कुनै खतरा नपार्ने र पर्यावरणीय सन्तुलनलाई असर नगर्ने दाबी गर्नुभएको छ । तर अधिकारकर्मी र अन्तर्राष्ट्रिय संस्थाले यस दाबीमाथि प्रश्न उठाउँदै आएका छन् ।

    सर्वाइवल इन्टरनेसनलका अनुसार ग्रेट निकोबार टापुमा करिब नौ हजार मानिस बसोवास गर्छन् । तीमध्ये करिब एक हजार २०० जना निकोबारी र सोम्पेन जस्ता आदिवासी समूहका छन् । विशेष गरी सोम्पेन समुदाय अझै बाह्य सम्पर्कबाट टाढा रहँदै आएको सिकारी जीवनशैलीमा निर्भर समूह हो । संस्थाकी प्रतिनिधि सोफी ग्रिगले यस परियोजनाले स्थानीय वातावरण मात्र नभई, सम्पर्कविहीन आदिवासी समुदायको अस्तित्वमै गम्भीर सङ्कट ल्याउने चेतावनी दिए ।

    उनले मेगापोर्ट योजनालाई ‘गलत अवधारणामा आधारित’ भन्दै यसले सम्पूर्ण समुदाय नै लोप हुने खतरा निम्त्याउन सक्ने उल्लेख गरे । एकातिर रणनीतिक र आर्थिक विकासको तर्क प्रस्तुत भइरहेको र अर्कोतिर वातावरण संरक्षण र आदिवासी अधिकारको प्रश्न बलियो रूपमा उठिरहेको यी परस्पर विरोधी दृष्टिकोणबिच ग्रेट निकोबार परियोजना अब केवल पूर्वाधार विकासको मुद्दा नभई दीर्घकालीन प्रभाव र नैतिक उत्तरदायित्वको बहसमा परिणत भएको छ । रासस-एएफपी

  • दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको सजाय बढाइयो

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको सजाय बढाइयो

    सियोल, वैशाख १७ । दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानुनी कारबाही थप कठोर बन्दै गएको छ । न्याय प्रक्रियामा अवरोध पुर्‍याएको अभियोगमा पहिले दिइएको पाँच वर्षको जेल सजायलाई उच्च अदालतले बढाएर सात वर्ष पुर्‍याएको छ । यसले उहाँमाथिको कानुनी सङ्कट अझ गहिरिएको सङ्केत दिएको छ ।

    सियोल उच्च अदालतले बुधबार गरेको फैसलामा युनको कार्यलाई ‘अत्यधिक निन्दनीय’ ठहर गर्दै सजाय बढाएको हो । अदालतका न्यायाधीशका अनुसार युनले पक्राउ वारेन्ट कार्यान्वयनमा अवरोध पुर्‍याउने प्रयास मात्र नगरेर राज्यका सुरक्षाकर्मीलाई निजी प्रयोजनका लागि प्रयोग गर्न खोज्नुभएको थियो ।

    यसअघि जनवरीमा तल्लो अदालतले राष्ट्रपति सुरक्षा एजेन्सीका सदस्यलाई प्रयोग गरेर आफ्नै गिरफ्तारी रोक्न खोजेको प्रमाणित भएपछि पाँच वर्षको सजाय सुनाएको थियो । त्यस निर्णयविरुद्ध युन र अभियोजन पक्ष दुवैले अपिल गरेका थिए । युनले आफ्नो गिरफ्तारी वारेन्ट नै ‘गैरकानुनी अनुसन्धान’ मा आधारित रहेको दाबी गर्नुभएको थियो भने विशेष अभियोजकले उहाँको अपराधको गम्भीरता हेर्दा कम्तीमा १० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए ।

    उच्च अदालतले भने दुवै पक्षका तर्क सुनेपछि सजाय बढाएर सात वर्ष कायम गरेको हो । फैसलामा अदालतले सार्वजनिक पदको दुरुपयोग गर्दै राज्य संयन्त्रलाई व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्न खोज्नु कानुनी शासनविरुद्धको गम्भीर कार्य भएको उल्लेख गरेको छ । फैसला सुनुवाइका क्रममा कालो सूट र सेतो सर्टमा अदालतमा उपस्थित युनले कुनै विशेष प्रतिक्रिया नदेखाएको जनाइएको छ ।

    युन सुक योलले पहिले नै अर्को गम्भीर मुद्दामा सजाय भोगिरहनुभएको छ । सन् २०२४ को अन्त्यतिर मार्सल ल लागु गर्ने असफल प्रयाससँग जोडिएको विद्रोहको नेतृत्व गरेको अभियोगमा उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको छ । यस नयाँ फैसलाले उहाँमाथिको राजनीतिक र कानुनी भविष्य थप जटिल बनेको देखिएको छ । रासस-एएफपी

  • मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

    मेटामाथि इयूको बालसुरक्षा उल्लंघनको आरोप

    लन्डन, वैशाख १७ । युरोपेली सङ्घ (इयू)ले सामाजिक सञ्जालमार्फत बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै प्रविधि कम्पनी मेटामाथि औपचारिकरूपमा दबाब बढाएको छ । नियामकले फेसबुक र इन्स्टाग्राम जस्ता प्लेटफर्ममा कम उमेरका प्रयोगकर्तालाई रोक्न असफल भएको निष्कर्ष सार्वजनिक गर्दै कडा कारबाहीको चेतावनी दिएका छन् ।

    इयुको कार्यकारी निकाय युरोपेली आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कनमा मेटाले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्लेटफर्ममा साइन अप गर्नबाट रोक्न प्रभावकारी प्रणाली विकास गर्न नसकेको जनाएको छ । आयोगका अनुसार खाता खोलिसकेपछि पनि यस्ता प्रयोगकर्तालाई पहिचान गरी हटाउने काम पर्याप्तरूपमा भइरहेको छैन ।

    मेटाले आफ्नै नियम अनुसार फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न न्यूनतम उमेर १३ वर्ष तोकेको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन कमजोर देखिएको आयोगको ठहर छ । यसले बालबालिकालाई प्लेटफर्ममा प्रवेश मात्र होइन, उनीहरूलाई उमेर अनुसार अनुपयुक्त सामग्री र अनुभवको जोखिममा पनि राखिरहेको उल्लेख गरिएको छ ।

    यो मुद्दा केवल पहुँचमा सीमित नभएको आयोगले जनाएको छ । १३ वर्षमुनिका बालबालिकाले प्लेटफर्म प्रयोग गर्दा उनीहरू कस्तो सामग्रीसँग सम्पर्कमा आउँछन् भन्ने जोखिमको मूल्याङ्कनसमेत मेटाले पर्याप्तरूपमा नगरेको निष्कर्ष निकालिएको छ । युरोपेली आयोगले यो कारबाही डिजिटल सेवा ऐन (डिएसए) अन्तर्गत अघि बढाएको हो । उक्त ऐनले २७ सदस्य राष्ट्रमा सञ्चालन गर्ने ठुला प्रविधि कम्पनीलाई प्रयोगकर्ताको सुरक्षा, विशेष गरी नाबालिगको सुरक्षामा थप जिम्मेवार बनाउने व्यवस्था गरेको छ ।

    आयोगका कार्यकारी उपाध्यक्ष हेना विर्ककुनेनले सन् २०२४ देखि सुरु गरिएको अनुसन्धानले मेटाका प्लेटफर्मले आफ्नै नियम र सर्तमा १३ वर्षमुनिका प्रयोगकर्तालाई लक्षित नगर्ने उल्लेख गरे पनि व्यवहारमा त्यसलाई लागु गर्न ‘अत्यन्त सीमित प्रयास’ मात्र गरिएको देखाएको बताउनुभयो । उहाँका अनुसार नियम केवल कागजमा सीमित नहुने, प्रयोगकर्ताको सुरक्षाका लागि ठोस कार्यमा रूपान्तरण हुनुपर्ने स्पष्ट सन्देश दिनुपर्ने समय आएको छ ।

    अब मेटालाई आयोगको प्रारम्भिक निष्कर्षमा आफ्नो प्रतिक्रिया दिने अवसर दिइने छ । अन्तिम निर्णयपछि यदि उल्लङ्घन प्रमाणित भएमा कम्पनीलाई विश्वव्यापी वार्षिक आम्दानीको छ प्रतिशतसम्म जरिवाना लगाइने सम्भावना रहेको छ । यस विषयमा मेटाले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । इयूको यो कदमले विश्वभर सामाजिक सञ्जाल कम्पनीमाथि बालसुरक्षा सम्बन्धी जिम्मेवारी कडा पार्ने सङ्केतका रूपमा हेरिएको छ । रासस-एपी

  • मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड, चार हजार पक्राउ

    मध्यपूर्व युद्ध सुरु भएदेखि इरानद्वारा २१ जनालाई मृत्युदण्ड, चार हजार पक्राउ

    जेनेभा, वैशाख १७ । इरानले मध्यपूर्व युद्ध सुरु भएदेखि कम्तिमा २१ जनालाई मृत्युदण्ड दिनुका साथै चार हजार भन्दा बढीलाई पक्राउ गरेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । गत फेब्रुअरीको अन्त्यमा भएको आक्रमणको कारण युद्ध सुरु भएदेखि सन् २०२६ जनवरीमा विरोध प्रदर्शनको क्रममा कम्तिमा नौ जनालाई मृत्युदण्ड दिइएको जनाइएको छ ।

    यसै गरी थप १० जनालाई विपक्षी समूहको सदस्यता लिएको आरोपमा र दुई जनालाई जासुसीको आरोपमा मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घको अधिकार कार्यालयले जनाएको छ । यसैबिच चार हजार भन्दा बढी मानिसलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयका आधारमा पक्राउ गरिएको अनुमान गरिएको छ ।

    द्वन्द्वको क्रममा धेरै कैदी जबरजस्ती बेपत्ता, यातना वा क्रूर, अमानवीय र अपमानजनक व्यवहारको सिकार भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले आरोपको जबरजस्ती स्वीकारोक्ति लगायतका गम्भीर आरोपले इरानी जनताको अधिकार सिमित गरेको उल्लेख गर्दै विज्ञप्ति जारी गर्नु भएको छ ।

    उहाँले अधिकारीहरूलाई थप मृत्युदण्डमा रोक लगाउन, उचित प्रक्रियाबाट निष्पक्ष परीक्षणको पूर्ण ग्यारेन्टी सुनिश्चित गर्न र मनमानी ढङ्गले हिरासतमा राखिएका व्यक्तिलाई तुरुन्तै रिहा गर्न आह्वान गर्नु भएको छ । एम्नेस्टी इन्टरनेसनल लगायतका अधिकार समूहले इरानले प्रत्येक वर्ष विभिन्न आरोपमा मानिसलाई मृत्युदण्ड दिँदै आएको छ । रासस-एएफपी