Author: Vishwanews.com

  • धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

    धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा

    काठमाडौँ, ५ वैशाखः नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएका हुन् । श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको प्रतिक्रिया दिए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मङ्सिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।

  • तस्करी नियन्त्रण गर्न गृहमन्त्री र सांसदबीच छलफल

    तस्करी नियन्त्रण गर्न गृहमन्त्री र सांसदबीच छलफल

    काठमाडौँ, ५ वैशाखः गृहमन्त्री सुधन गुरुङ र मधेस र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदबीच सीमापार अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको छलफलका क्रममा सांसदले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने माग गरे ।

    यसक्रममा विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका विषयमा सांसदले सुझाव दिए ।

    छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित सवाल गृह मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा अर्थ मन्त्रालयसँग थप छलफल तथा समन्वयमार्फत् समाधान गर्ने गरी बैठक सम्पन्न भएको बताइएको छ ।

  • लेबनानमा युद्ध–विराम लागु

    लेबनानमा युद्ध–विराम लागु

    बेरुत, ५ वैशाख (रासस–क्युएनए) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा घोषणा गरिएको लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता लागु भएको जनाइएको छ । राष्ट्रपति ट्रम्पले बिहीबार दुई देशकोबीचमा १० दिनको युद्ध–विराम सुरु हुने बताएको जनाइएको छ भने दीर्घकालीन सम्झौतामा पुग्ने उद्देश्यले वार्ताका अस्थाइ युद्धविराम गरेको जनाइएको छ । स्थायी सुरक्षा व्यवस्था र शान्तिका लागि वार्ताको वातावरण सिर्जना गर्ने प्रयासमा लेबनान र इजरायल दुवैले युद्धविराम लागु गर्ने अमेरिकी विदेश विभागले पुष्टि गरेको छ ।

    लेबनानका प्रधानमन्त्री नवाफ सलामले युद्धविरामको घोषणालाई स्वागत गर्दै यसलाई वाशिङ्टनमा हालैको वार्तामा समेत द्वन्द्वको सुरुवात देखि बेरुतले चाहेको प्रमुख विषयको रुपमा वर्णन गरेका छन् । यसैबीच, लेबनानी सेनाले नागरिकहरूलाई युद्धविराम पूर्ण रूपमा लागु नभएसम्म दक्षिणी क्षेत्रका गाउँ र सहरहरूमा नफर्कन आग्रह गरेको छ, भने इजरायली सेनाले कब्जा गरेको क्षेत्रहरू नजिक नआउने चेतावनी पनि दिएको छ ।

    लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार द्वन्द्व सुरु भए देखि लेबनानमा दुई हजार १९६ जना भन्दा बढी मानिसहरुले मृत्यु वरण गर्नु का साथै सात हजार १८५ भन्दा बढी घाइते भएका छन् ।

  • इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    तेहरान, ५ वैशाख (रासस–एएफपी) । इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबीच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो । इजरायल र लेबनानबीच १० दिने युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले उक्त युद्धविराम त्यसभन्दा पनि धेरै लम्बिन सक्ने बताएको छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनानसँग ‘ऐतिहासिक सम्झौताका लागि’ यसले अवसर सिर्जना गर्ने आशा व्यक्त गर्नुभएको छ । इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ। उक्त लडाकु समूहले लेबनानको भूमिमा आक्रमण रोक्ने र इजरेली सेना उक्त भूमिमा हिँडडुल बन्द गर्ने सर्तमा सहमति हुनुपर्ने पनि माग गरेको छ।

    नभाडामा कर दिवसको छलफलमा युद्धबारे छोटो टिप्पणी गर्दै ट्रम्पले भने, “यो निकै छिट्टै नै अन्त्य हुनु पर्छ।“ उनले यसबारे थप व्याख्या नगरी युद्ध राम्रोसँग अघि बढिरहेको बताए । ट्रम्पले युद्धमा अमेरिकी सेनाको भूमिकाको पनि प्रशंसा गरे । गत सप्ताहान्तमा अमेरिका र इरानबीच इस्लामाबादमा भएको वार्ता असफल भएको थियो। यद्यपि पाकिस्तान सहितका मध्यस्थकर्ताहरूले दोस्रो चरणको वार्ताका लागि पहल गरिरहेका छन्।

    ह्वाइट हाउसले सम्भावित दोस्रो चरणको शान्ति वार्ताबारे छलफलहरू भइरहे पनि मिति र स्थान तय नभएको तर वार्ताको सम्भावना बढेको जनाएको छ ।
    इरानका विदेश मन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा लेखेका छन्, “लेबनानमा युद्धविरामको अनुरूप, अमेरिका–इरानबिचको युद्धविरामको बाँकी अवधिको लागि हर्मुज जलमार्ग भएर आवत जावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग पूर्ण रूपमा खुला गरिएको छ।”

    उनले लेबनान र इजरायलबीच मध्यरातदेखि लागू भएको १० दिने युद्धविरामको कुरा गरेका हुन् वा अप्रिल ८ मा इरान र संयुक्त राज्य अमेरिकाबीच सुरु भएको दुई हप्ताको युद्धविरामको बारेमा कुरा गरेका भन्ने प्रष्ट हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ व्यवसायिक जहाजका लागि खुला गर्ने इरानको घोषणाको स्वागत गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “धन्यवाद, इरानले हर्मुजको साँघुरो जलमार्ग पूर्ण रूपमा खुला गरेको छ । यो सबै व्यवसायिक जहाजका लागि खुला भएको छ ।”

    मस्कोले शुक्रबार इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको समर्थन गरेको छ र १० दिने युद्धविरामले दीर्घकालीन सम्झौताको मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँगको भेटमा भने, “हामी युद्धविरामको निर्णयको स्वागत गर्दछौं र आशा गर्दछौं कि यी केही दिनहरूमा सैन्य भिडन्तहरू दोहोरिन नदिन सम्झौतामा पुग्न सम्भव हुनेछ।” युद्धविराम गर्ने सहमतिको विश्व समुदायले प्रशंसा गरेको छ। फ्रान्स, बेलायत, भारत, चीन, अमेरिकालगायत विश्व शक्ति राष्ट्रका नेताहरूले पनि सहमतिको लागि खुशी व्यक्त गरेका छन् ।

  • बेनीको ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना अझै कार्यान्वयनमा आएन

    बेनीको ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना अझै कार्यान्वयनमा आएन

    म्याग्दी, ४ वैशाख । बेनी नगरपालिका–२ खबरामा प्रस्तावित ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा आउन सकेको छैन । बेनी नगरपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा गौरवको योजनाको रुपमा बजेट बिनियोजन गरेको लभ्लिहिल पर्यटन पूर्वाधार योजना कार्यान्वयन हुन नसकेको हो । बजेट बिनियोजन भएपनि योजना कार्यान्वयनमा अलमल र ढिलाई हुँदा निराश बनेको खबराका बासिन्दा ध्रुबराज कार्कीले बताए ।


    “परिकल्पना गरिएको शाहासिक पिङको नक्साङ्कन र डिजाइन तयार पार्ने प्राविधिक जनशक्तिको अभाव, सामुदायिक वनको कार्ययोजनामा पर्यटन प्रर्वद्धनको कार्यक्रम समावेश गराउन भएको प्रक्रियागत ढिलाई र निर्माण तथा सञ्चालनको मोडालिटी स्पष्ट नहुँदा ढिलाई भएको हो,” उनले भने, डेढ देखि दुई महिनाको काम गर्न तीन वर्षसम्म अल्झीदा बजेट बिनियोजन र योजना छनौट हुँदा खुसी भएका खबराबासी निराश हुन थालेका छौ ।”

    लभ्लिहिल पर्यटन पूर्वाधार शिर्षकमा आर्थिक वर्ष २०८०–८१ मा रु. १५ लाख बिनियोजन गरेको बेनी नगरपालिकाले गत आर्थिक वर्षमा बिनियोजन गरेको रु. २५ लाख खर्च गर्न सकेन् भने यस वर्ष बिनियोजन भएको रु. २५ लाख पनि कार्यान्वयनमा ढिलाई भएको छ । पहिलो वर्षको बजेटबाट रु. छ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार र प्राविधिक अध्ययन गरिएको थियो । नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ र खबराको सामुदायिक बन उपभोक्ताको साझेदारीमा ‘साहासिक पिङ’ बनाउने परिकल्पना सहित बजेट बिनियोजन भएको हो ।

    म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार गत वर्ष संघले परामर्शदाता परिचालन गरेर साहासिक पिङ बनाउने योजनाको नक्साङ्कन र लागत अनुमान तयार पारेपनि समय छोटो भएका र वन सम्बन्धी प्रक्रिया पुरा गर्न भएको ढिलाईले निर्माण गर्न नसकिएको बताए । “यस वर्ष योजना कार्यान्वयनको तयारी गरेको अवस्थामा म पारिवारिक कामले भारत जान परेपछि कार्यवाहक अध्यक्ष र पुर्व अध्यक्षहरुको नेतृत्वमा काम अघि बढाउन छलफल गरिरहेको छु,” उनले भने, “केही दिनमै निर्माण र सञ्चालनको मोडालिटीमा स्पष्ट भएर काम अघि बढाउने तयारीमा छौ ।”

    म्याग्दी हुदै सडक मार्ग भएर मुस्ताङ जाने आउने पर्यटकलाई बेनीमा भुलाउनका लागि लभ्लीहिललाई गन्तब्य बनाउन यसअघि प्रवासी म्याग्देली, उद्योग वाणिज्य संघ र नगरपालिकाको साझेदारीमा बेनी देखि लभ्लीहिल जोड्ने पदमार्ग निर्माण भएको थियो । प्रदेश सरकारको सहयोगमा डाडाको डिलमा तारजाली, पदमार्ग र पार्क निर्माण भएको छ । बेनी–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले लभ्लिहिल पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा भएको ढिलाईका विषयमा नगरपालिकालाई दवाव र सहजिकरण तथा समन्वय गरिरहेको बताए । पहल गरेपनि अपेक्षित उपलब्धी हाँसिल नहुँदा यस वर्षपनि योजना कार्यान्वयन नहुने होकी भन्ने चिन्ता बढेको बताए ।
    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले यस वर्ष सामुदायिक वन समूहले कार्ययोजनामा समावेश गरेको, प्राबिधिक टोलीले सबै तयार गरिसकेकाले उद्योग वाणिज्य संघ र खबराबासीसँग समन्वय गरेर जति सक्दो छिटो योजना कार्यान्वयनमा लैजान पहल गरिरहेको बताए । बेनी बजारदेखि लभ्लिहिल जोड्ने सडक स्तरोन्नति योजनालाई निरन्तरता दिएको उनले बताए । प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. पाँच लाख बजेटको योजना भने उपभोक्ता समितिबाट कार्यान्वयन थालिएको छ ।

    बेनी बजारदेखि २० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने लभ्लीहिलबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत आठ हिमाल, बेनीबजार, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ ।लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीय नारायण कार्कीले बताए ।

    पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूह बनाएर दैनिकरुपमा युवापुस्ता पुग्न थालेपछि पूर्वाधारको आवश्यकता महशुस गरिएको हो । पछिल्लो समय तस्वीर खिचाउन र टिकटक बनाउन पनि यहाँ दैनिकजसो युवायुवतीको भीड लाग्ने गरेको छ ।

  • तराई क्षेत्रमा तापक्रम बढ्दै

    तराई क्षेत्रमा तापक्रम बढ्दै

    काठमाडौँ ४ वैशाख । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । कतैकतै तातो बढिरहेका बेला आज पनि केही जिल्लामा मध्यमसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले अझै केही दिन कोशीलगायत केही क्षेत्रमा मौसम बदली भइरहने र तराईका क्षेत्रमा तातो बढ्ने जानकारी दिए । उनले मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले आधिकारिक सूचनाबारे जानकारी राख्न अनुरोध पनि गरे । उनले भने, “मधेस प्रदेशलगायत तराई क्षेत्रमा तापक्रम बढ्ने छ, तर कोशीलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने बदली रहने छ ।”

    उनका अनुसार आज पछिल्लो तीन घण्टामा चितवनमा २२.६, तनहुँमा २५.८, कास्कीमा १४, लमजुङमा ८.८, नवलपरासीपूर्वमा २० मिलीमिटर वर्षा भएको छ । आज खोटाङमा पनि दिउँसो २५ मिलीमिटर वर्षा भएको थियो । शनिबार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यता मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भूभागमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

  • विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह

    विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह

    काठमाडौँ, ४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसमक्ष ‘प्रिन्सिपल एसोसियएसन अफ नेपाल’ (पान)ले विद्यालय शिक्षा ऐन छिटो जारी गरिनुपर्नेलगायत विद्यालय क्षेत्रका सुधारसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएको छ । सो एसोसिएसनका अध्यक्ष सुदामप्रसाद गौतमको नेतृत्वमा गएको टोलीले मन्त्री पोखरेललाई १० बुँदे सुझावपत्र हस्तान्तरण गरेको हो ।

    पानले पर्याप्त लगानी गरेर विद्यालय शिक्षामा रुपान्तरण ल्याउन, सामुदायिक विद्यालयमा पुनःजागरण अभियान सञ्चालन गर्न, परीक्षा प्रणालीलाई डिजिटल प्रविधिमा आधारित सरलीकृत बनाउन, समयानुकूल र व्यवहारिक पाठ्यक्रम बनाउन, विद्यालयलाई डिजिटल लर्निङ हब बनाउन, शिक्षकको क्षमता विकास र उत्प्रेरणा दिन, शिक्षक दरबन्दीको असन्तुलन मिलाउन सुझाव दिएको छ ।
    सुझाव ग्रहण गरेपछि मन्त्री पोखरेलले शिक्षा सुधारका लागि उपयोगी सुझावहरूलाई मनन् गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • कांग्रेसमा गगन थापा समूहले पायो अदालतबाट वैधानिकता

    कांग्रेसमा गगन थापा समूहले पायो अदालतबाट वैधानिकता

    ४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्‍याएको हो । सर्वोच्चको निर्णयसँग विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रुपमा अस्विकृत भएको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले निर्णयको संक्षिप्त आदेश सुनाए । सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पूर्णबहादुर खड्काद्वारा दायर दायर रिट खारेज भएको जनाएको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्यसमितिले गर्ने कामकारवाहीले निरन्तर मान्यता पाउनेछ । शुक्रबार सभापति गगन थापाको तर्फबाट हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालसहितका अधिवक्ताले बहस गरेका थिए ।

    रिट निवेदक (देउवा समूह)बाट अधिवक्ताहरू रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीसहितले बहस गरेका थिए । गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह त्यसका विरुद्ध सर्वोच्च पुगेको थियो । गत माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा भएको सुनुवाइले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोगसहितका विपक्षीका नाममा लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

    निर्वाचन आयोग, नेपाली कांग्रेस पार्टी कार्यालय र सभापति गगन थापाले लिखित जवाफ पेस गरेपछि चैत २१ का लागि पेसी तोकिएको थियो । उक्त पेसी सरेर बिहीबारका लागि तय भएको थियो । बिहीबार सुनुवाइ नसकिएपछि यो रिटमा आज शुक्रबार सुनुवाइ भएको थियो ।

  • ललितपुरमा शनिबार रातो मच्छिन्द्रनाथको रथारोहन हुने

    ललितपुरमा शनिबार रातो मच्छिन्द्रनाथको रथारोहन हुने

    ललितपुर, ४ वैशाखः वर्षा र सहकालका देवताको रूपमा पूजाअर्चना गरिने रातो मच्छिन्द्रनाथको रथारोहन शनिबार हुने भएको छ । रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको महत्त्वपूर्ण र लामो समयसम्म चल्ने जात्राका रूपमा लिने गरिएको छ । हाल पुलचोकमा रथ निर्माण भइरहेको छ । रथ निर्माण अन्तिम चरणमा पुगेको रथ निर्माणसँग सम्बन्धित बाराही ञँवालले जनाएको छ ।

    ञँवालका नाइके प्रेम महर्जनका अनुसार शनिबार (भोलि)सम्म रथ निर्माण सम्पन्न गरी पात्रोअनुसार बेलुकासम्म रथारोहन गरिनेछ । “परम्पराअनुसार रथ तयार भएपछि यसको टुप्पामा गजुर (ब्यामो) राखिन्छ, जुन रथ निर्माण सम्पन्न भएको सङ्केत मानिन्छ”, उनले भने ।


    गजुर राखेपछि ललितपुरस्थित मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोकमा ल्याइनेछ । मूर्ति ल्याउने क्रममा गजुरको पल्टनसहित रातो मच्छिन्द्रनाथको पुजाहारी जलपानेजु र खलपानेजुको सक्रिय सहभागिता रहन्छ । मन्छिन्द्रनाथको मूर्तीलाई पूजागरी रथमा चढाइन्छ । रथारोहन सम्पन्न भएपछि पात्रोको तिथिअनुसार वैशाख ८ गते बेलुका रथ तान्ने कार्यक्रम रहेको ञँवालका नाइके महर्जनले जानकारी दिए ।

    उनका अनुसार सोही दिन रथलाई गाबल पुर्‍याइनेछ । रातो मच्छिन्द्रनाथ जात्रा उपत्यकाको सबैभन्दा लामो समयसम्म सञ्चालन हुने धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ । प्रत्येक वर्ष श्रद्धा र उत्साहका साथ मनाइने यस जात्राले स्थानीय समुदायमा विशेष महत्त्व राख्दै आएको छ ।

  • सभामुखको पहलमा बुढीगण्डकी जलविद्युत् आयोजनाबारे छलफल

    सभामुखको पहलमा बुढीगण्डकी जलविद्युत् आयोजनाबारे छलफल

    काठमाडौँ, ४ वैशाखः सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिहरूबीच आज छलफल भएको छ । छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ तथा सांसदहरू कबिन्द्र बुर्लाकोटी, बोधनारायण श्रेष्ठ, आशिका तामाङ, शोभा खनाल र एन्जिला गुरुङ सहभागिता भए । सैगरी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्ट, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल तथा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि उपस्थिति रहेको थियो ।

    बैठकमा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले आयोजनाको वर्तमान अवस्था र आवश्यकताबारे प्रस्तुतीकरण गरेका थिए । छलफलपछि सभामुख अर्यालले आयोजनाको निर्माण प्रक्रियालाई तीव्रगतिमा अघि बढाउन आवश्यक कानुन निर्माण तथा संशोधन गर्ने बताउँदै कार्यान्वयनलाई फास्ट ट्रयाकमा लैजानुपर्ने बताए । “आयोजना सम्पन्न नगर्नुको विकल्प छैन, कि त सरकारले आयोजना बन्न नसक्नुको कारण स्पष्ट पार्नुपर्छ । अन्यथा अबका दिनमा कार्यान्वयनमा एक दिन पनि ढिलाइ हुनु हुँदैन”, उनले भने ।

  • सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

    सुनसरीमा दुर्घटना, बाढी–डुबान र आपराधिक गतिविधिले वर्षभरि चुनौती

    धरान (सुनसरी) ४ वैशाख । अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, लापरबाही र सडक सुरक्षाको कमजोर कार्यान्वयन दुर्घटनाका प्रमुख कारणका रूपमा देखिए ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार लगातार भइरहेका दुर्घटनाको अध्ययन गर्दा जथाभावी सडक खन्ने प्रवृत्ति पनि जिम्मेवार देखिएको छ । सडक निर्माण भए पनि आवश्यक अध्ययन बिना जथाभावी सडक खन्ने गरिएको उनको भनाइ छ । ती सडकहरूमा कस्ता सवारी साधन चलिरहेका छन् भन्ने विषयमा नियन्त्रण गर्ने संयन्त्र नहुँदा पनि दुर्घटना बढिरहेको उनले बताए ।


    उनले भने, ‘‘दुर्घटना बढ्नु चिन्ताको विषय हो । यसलाई शून्यमा झार्न त सकिँदैन, तर सचेतना अपनाउने हो भने न्यूनीकरण गर्न सकिन्छ । दुर्घटना कम गर्न विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) र मदिरा सेवन (मापसे) गरेर सवारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिइँदै आएको छ ।’’ नशालु पदार्थ सेवन गरेर सवारी चलाउँदा चालक मात्र होइन, यात्रुको जीवनसमेत जोखिममा पर्ने भएकाले यसविरुद्ध निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए ।


    आर्थिक वर्ष २०८२ आठ महिनाको अवधिमा जिल्लामा एक हजार ५०४ वटा दुर्घटना हुँदा ८७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कमा उल्लेख छ भने एक सय ५३ जना गम्भीर र एक हजार पाँच सय ६२जना साधारण घाइते भएका थिए । ती दुर्घटनामा परेर एक ६८ जना पुरुष, १५ जना महिला र चार जना बालबालिका गरी ८७ जनाले ज्यान गुमाएका थिए ।

    कतिपय सवारी दुर्घटना मौसमी कारण पनि देखिने गरेका छन् । हुस्सु लाग्ने याममा अगाडिको गाडी नदेख्दा ठोक्किएर धेरै दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक (एसपी) गिरीको भनाइ छ । यसको न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको उनी बताउँछन् ।


    सवारी दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र खड्का भन्छन्, ‘‘जिल्लामा भएका दुर्घटनामध्ये धेरैजसो तीव्र गतिका कारण दुर्घटना भएको देखिन्छ भने चालकको लापरबाही,सडक प्रयोगकर्ताको असावधानी, मादकपदार्थ सेवन साथै लाइसेन्स बिनाका चालकले चलाएका सवारी साधनहरु बढी दुर्घटना पर्ने गरेको छ ।’’ यी घटनाहरूले भौतिक क्षति मात्र होइन, सामाजिक र आर्थिक रूपमा पनि गम्भीर असर पारेका छन् ।

    वर्षायाम सुरु भएसँगै सप्तकोशी नदी र सहायक खोलाहरूमा पानीको सतह बढ्दा तटीय क्षेत्र डुबानमा परे । इटहरी, इनरुवा, बराहक्षेत्र, रामधुनी, भोक्राहलगायतका क्षेत्रमा घर डुबानमा पर्नुका साथै सयौँ बिघा खेतीयोग्य जमिनमा क्षति पुगेको थियो । गत असोज महिनाको लगातारको वर्षाले सुनसरीमा बाढी पहिरोको जोखिम बढायो ।

    सुनसरीमा बाढीका कारण असोज १९ गते एकै दिनमा करिब एक हजार ३६ घर डुबानमा परेको थियो । लगातार वर्षाका कारण सानातिना खोलानाला बढेपछि जिल्लाका विभिन्न नगर तथा गाउँपालिका क्षेत्रका बस्तीहरूमा बाढी पस्यो । डुबान भयो र डुबानमा परेका अधिकांश घरहरूबाट मानिसहरू अस्थायी रूपमा सुरक्षित स्थानमा सारियो । बाढीका कारण घरहरु मात्र डुबानमा परेनन् केही विद्यालय र अस्पतालहरु समेत डुबानमा परेका थिए ।

    अविरल वर्षा र बाढीका कारण सुनसरीमा मौसमी तथा बेमौसमी तरकारी खेतीमा ठूलो क्षति पुग्यो । असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षासँगै आएको बाढीका कारण किसानहरूले लगाएका बालीहरू डुबानमा प¥यो । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार २०८२ सालमा बाढी र अविरल वर्षाले जिल्लाभरका तरकारी बाली, धान खेतीमा ठुलो क्षति पुर्याएको थियो । कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले सुनसरीका किसानको पाक्न लागेको धान तथा तरकारीबालीमा ठूलो क्षति पु¥यायो ।

    त्यसैगरी सीमावर्ती क्षेत्रलाई केन्द्र बनाएर चोरी, लागूऔषध ओसारपसार, कुटपिट तथा गोली प्रहारजस्ता आपराधिक घटनाहरू पनि सार्वजनिक भए । सुरक्षा निकायले केही घटनामा संलग्नलाई नियन्त्रणमा लिए पनि समग्र रूपमा आपराधिक गतिविधि नियन्त्रण चुनौतीपूर्ण देखिएको छ । सामाजिक तथा राजनीतिक गतिविधिसँग जोडिएका झडपले समेत वर्षभरि वातावरण तनावपूर्ण बनायो ।

  • डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    अछाम, ४ वैशाखः अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र १३ वर्षीय छोरा नरि बुढा छन् । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा एक्कासि डुङ्गा पल्टिँदा डुङ्गा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन् ।

    बेपत्ताको खोजीकार्यको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरीचौकी भैरवस्थान, ढुङ्गाचाल्ना, ढकारीबाट टोली खटिएको र सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले जानकारी दिए ।

  • नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

    नाजुक युद्धविरामबीच अनिश्चित शान्ति प्रयास

    बेरुत, ४ वैशाख (रासस–एपी) । हप्तौँदेखि जारी विनाशकारी सङ्घर्षपछि इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविराम सुरु भए पनि मैदानको अवस्था अझै अनिश्चित देखिएको छ । मध्यरातदेखि लागू भएको यो सहमति क्षेत्रीय तनाव कम गर्ने प्रयासको रूपमा प्रस्तुत गरिएको छ, तर जमिनमा जारी झडप, अस्पष्ट सर्तहरू र आपसी अविश्वासले यसको दीर्घकालीन प्रभावमाथि प्रश्न उठाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्धविरामको घोषणा गरेका हुन् । यद्यपि इजरायल प्रत्यक्ष रूपमा लेबनान सरकारसँग भन्दा पनि त्यहाँ सक्रिय इरानी समर्थित हिजबुल्लाह लडाकू समूहसँग युद्धरत रहेको तथ्यले सम्झौताको प्रभावकारितामाथि शङ्का उत्पन्न गरेको छ, किनकि उक्त समूह औपचारिक रूपमा सम्झौतामा समावेश छैन ।

    युद्धविराम सुरु भएसँगै बेरुतका विभिन्न स्थानमा बासिन्दाहरूले हर्ष प्रकट गर्दै हावामा गोली चलाएका थिए । तर यही बीचमा केही क्षेत्रमा गोलीबारी र आक्रमणका घटनाहरू जारी रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणी लेबनानका खियाम र डिब्बाइन गाउँमा युद्धविराम लागू भएको आधा घण्टापछि पनि इजरायली गोलाबारी भएको रिपोर्ट सार्वजनिक भएको छ । युद्धका कारण विस्थापित भएका लाखौँ मानिसहरू घर फर्कने प्रयासमा लागे पनि अधिकारीहरूले अवस्था पूर्ण रूपमा सुरक्षित नभएसम्म प्रतीक्षा गर्न आग्रह गरेका छन् । करिब १० लाख मानिस अझै विस्थापित अवस्थामा छन् र उनीहरूको सुरक्षित फिर्ती कहिले सम्भव हुन्छ भन्ने स्पष्ट छैन ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति प्रयासलाई अगाडि बढाउन युद्धविराम स्वीकार गरिएको बताउनुभएको छ, तर इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता नहुने स्पष्ट पारे । उनका अनुसार इजरायलले १० किलोमिटर क्षेत्रसम्म ‘सुरक्षा क्षेत्र’ विस्तार गरेको छ र त्यहाँबाट पछि हट्ने योजना छैन ।
    हिजबुल्लाहले आफ्नो भूमिमा रहेको इजरायली उपस्थितिलाई कब्जाको रूपमा व्याख्या गर्दै त्यसविरुद्ध प्रतिरोध गर्ने अधिकार कायम रहेको जनाएको छ । समूहले भविष्यको कदम परिस्थितिअनुसार निर्धारण गरिने सङ्केत दिएको छ, जसले युद्धविरामलाई थप जटिल बनाएको छ ।

    अमेरिकी विदेश मन्त्रालयले सम्झौताअनुसार इजरायललाई कुनै पनि सम्भावित वा जारी आक्रमणविरुद्ध आफूलाई जोगाउने अधिकार सुरक्षित रहेको जनाएको छ । तर अन्य अवस्थामा लेबनानी लक्ष्यहरूविरुद्ध आक्रामक सैन्य कारबाही नगर्ने उल्लेख गरिएको छ । यद्यपि यस व्यवस्थाले इजरायललाई आवश्यक ठानेको अवस्थामा कारबाही गर्ने स्वतन्त्रता दिने सङ्केत गरेको विश्लेषण गरिएको छ । युद्धविराम सुरु हुनुअघि हिजबुल्लाहले उत्तरी इजरायलका सहरहरूमा रकेट आक्रमण जारी राखेको थियो भने मध्यरातअघि केही सीमावर्ती क्षेत्रमा हवाई हमलाका साइरन बजेका थिए ।

    यो सहमति वासिङ्टनमा भएको कूटनीतिक पहलपछि सम्भव भएको बताइएको छ । अमेरिकी प्रशासनका अनुसार इजरायल र लेबनानका प्रतिनिधिहरूबीच भएको छलफल, त्यसपछि भएका उच्चस्तरीय फोन वार्ताहरू र विदेश मन्त्रालयको सक्रिय भूमिकाले समझदारीको वातावरण तयार गरेको थियो । दशकौँपछि दुई देशबीच प्रत्यक्ष कूटनीतिक संवाद भएको पनि जनाइएको छ ।

    लेबनानले भने दीर्घकालीन वार्ताअघि युद्धविराम अनिवार्य शर्त रहेको बताउँदै आएको छ । साथै हिजबुल्लाहलाई निशस्त्र पार्ने विषयमा पनि प्रतिबद्धता जनाएको छ, यद्यपि यो प्रक्रिया जटिल र विवादास्पद बन्ने देखिएको छ । सन् १९४८ मा इजरायल स्थापना भएदेखि नै दुवै देशबीच औपचारिक रूपमा युद्धकै अवस्था कायम रहेको छ । सन् १९८३ मा भएको एउटा शान्ति सम्झौता लेबनानको गृहयुद्धका कारण कार्यान्वयन हुन नसकी अन्ततः खारेज भएको थियो ।

    यसबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा पनि कूटनीतिक गतिविधि तीव्र बनेका छन् । पाकिस्तानका सेना प्रमुखले इरानका उच्च अधिकारीसँग भेट गरी युद्धविराम विस्तारका लागि पहल गर्नुभएको छ । अमेरिका र इरानबीच पनि थप वार्ताको सम्भावना रहेको बताइएको छ, जसका लागि इस्लामाबादलाई सम्भावित स्थलको रूपमा हेरिएको छ ।

    तर तनाव अझै कायम छ । इरानले आफ्नो बन्दरगाहमाथि अमेरिकी नाकाबन्दी हटाउन चेतावनी दिएको छ भने जलमार्ग अवरुद्ध गर्ने धम्कीसमेत दिएको छ । यसले विश्वव्यापी तेल आपूर्ति र अर्थतन्त्रमा असर पारेको छ । युद्धका कारण तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ भने विश्व बजारमा अस्थिरता बढेको छ ।

    यस सङ्घर्षमा हालसम्म हजारौँ मानिसको ज्यान गइसकेको छ । इरानमा कम्तीमा तीन हजार, लेबनानमा दुई हजारभन्दा बढी र इजरायलमा दुई दर्जनभन्दा बढी मानिस मारिएका छन् । साथै अन्य खाडी मुलुक र अमेरिकी सैनिकहरू पनि प्रभावित भएका छन् ।

    मध्यस्थकर्ताहरूले अहिले तीन प्रमुख मुद्दामा सहमति खोजिरहेका छन्—इरानको आणविक कार्यक्रम, स्ट्रेट अफ होर्मुजमार्फत हुने तेल आपूर्ति र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति । यी विषयमा प्रगति भए मात्र दीर्घकालीन शान्ति सम्भव हुने विश्लेषकहरूको भनाइ छ । अहिलेको अवस्थामा युद्धविरामले तत्कालका लागि राहत दिएको देखिए पनि यसको भविष्य अनिश्चित छ । साना घटनाले पनि फेरि ठूलो द्वन्द्व भड्किने जोखिम यथावत् रहेको छ ।

  • भारतमा महिला आरक्षण विधेयक बहसमा

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    नयाँदिल्ली, ४ वैशाख (रासस–एपी) । भारतको संसद्मा महिलाका लागि एक तिहाइ सिट आरक्षण सुनिश्चित गर्ने ऐतिहासिक विधेयकमाथि बिहीबारदेखि बहस सुरु भएको छ । यस कदमले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने अपेक्षा गरिए पनि निर्वाचन क्षेत्र पुनः सीमाङ्कनसँग जोडिएकाले देशको राजनीतिक सन्तुलनमा गहिरो प्रभाव पार्न सक्ने बहस चर्किएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले अघि बढाउनुभएको यो प्रस्ताव पारित भएमा संसद् र राज्य विधानसभामा महिलाका लागि ३३ प्रतिशत सिट अनिवार्य गर्ने सन् २०२३ को कानूनलाई व्यवहारमा छिटो लागू गर्नेछ । यो स्वतन्त्रता पछिको भारतमा राजनीतिक प्रतिनिधित्वमा सबैभन्दा ठूलो संरचनात्मक परिवर्तनमध्ये एक मानिनेछ, जसले महिलाको सहभागिता उल्लेख्य रूपमा बढाउने सम्भावना देखिएको छ ।

    तर, यही विधेयकलाई मतदाताको सिट सीमा पुनः निर्धारणसँग जोडिएको अर्को विवादास्पद प्रस्तावले जटिल बनाएको छ । उक्त पुनः सीमाङ्कन लागू भएमा लोकसभाको सिट सङ्ख्या हालको ५४३ बाट बढेर करिब ८५० पुग्न सक्ने अनुमान गरिएको छ । यस विषयले राजनीतिक वृत्तमा तीव्र बहस जन्माएको छ ।संसद्मा महिला आरक्षणप्रति व्यापक द्विदलीय समर्थन देखिए पनि निर्वाचन सीमाङ्कनसम्बन्धी प्रस्तावले विपक्षी दलहरूको गम्भीर चिन्ता बढाएको छ । उनीहरूले जनसङ्ख्याका आधारमा सिट पुनः निर्धारण हुँदा राजनीतिक शक्ति उत्तरी राज्यतर्फ केन्द्रित भई सत्तारूढ भारतीय जनता पार्टीलाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन् ।

    यो विधेयक संसद्को तीन दिने विशेष सत्रमा छलफलमा रहेको छ र पारित हुन दुवै सदनमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ । एसियाली क्षेत्रका नेपाल र बङ्गलादेशजस्ता देशहरूले राष्ट्रिय संसद्मा महिलाका लागि यस्तै कोटा प्रणाली अपनाइसकेका छन् । भारतले स्थानीय निकायमा एक तिहाइ महिला आरक्षण लागू गरिसकेको भए पनि राष्ट्रिय संसद्मा महिलाको प्रतिनिधित्व हाल करिब १४ प्रतिशत मात्र छ । समर्थकहरूले यो आरक्षणले सयौँ महिलालाई प्रत्यक्ष रूपमा विधायिकी राजनीतिमा ल्याउने र महिला स्वास्थ्य, शिक्षा तथा लैङ्गिक हिंसासम्बन्धी नीतिमा सकारात्मक परिवर्तन ल्याउने दाबी गरेका छन् । तर विस्तारित संसद्मा सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय अझै स्पष्ट छैन ।

    महिला अधिकारकर्मी रञ्जना कुमारीले यो कदमलाई भारतको लोकतन्त्रलाई अझ प्रतिनिधिमूलक बनाउने अवसरका रूपमा व्याख्या गरिन् । उनका अनुसार राजनीतिक दलहरू अब थप महिला उम्मेदवार खडा गर्न बाध्य हुनेछन् । “ढोका अलि खुला भएको छ, महिलाहरू विस्तारै भित्र पस्नेछन् र अन्ततः त्यो ठाउँ भरिनेछ”, उनले भनिन् ।


    युवापुस्तामा पनि यो प्रस्तावले उत्साह जगाएको छ । २३ वर्षीया कानून स्नातक प्रणिता गुप्ताले यसले महिलालाई राजनीतिमा सक्रिय हुने आत्मविश्वास दिने बताइन् । उनका अनुसार संसद्मा महिलाको उपस्थितिले सहभागिताको सोचलाई नै परिवर्तन गर्न सक्छ । तर सबैभन्दा ठूलो विवाद निर्वाचन क्षेत्र पुनः सीमाङ्कन प्रक्रियामा केन्द्रित छ, जुन सन् २०११ को जनगणनाको आधारमा अघि बढाइने भनिएको छ । यसले लामो समयदेखि रोकिएको निर्वाचन क्षेत्रहरूको सीमाङ्कन (कुन क्षेत्रबाट कति सांसद चुनिने भन्ने भूगोल पुनः निर्धारण गर्ने प्रक्रिया) फेरि सुरु हुन सक्ने देखिएको छ ।

    विपक्षी दलहरूले जनसङ्ख्याका आधारमा सीमाङ्कन गर्दा शक्ति सन्तुलन उत्तर भारततर्फ झुक्ने र दक्षिणी राज्यहरूको प्रतिनिधित्व घट्ने चेतावनी दिएका छन् । उनीहरूको भनाइमा यसले राजनीतिक प्रभाव मात्र नभई क्षेत्रीय असन्तुलन पनि बढाउन सक्छ । साथै, यो प्रक्रिया सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को पक्षमा अनुकूल हुन सक्ने आरोपसमेत लगाइएको छ । भारतको संविधानले प्रत्येक जनगणनापछि सिट पुनः निर्धारण गर्नुपर्ने व्यवस्था गरेको भए पनि सन् १९७१ यता यो प्रक्रिया रोकिएको छ । लगातार सरकारहरूले जनसङ्ख्या असन्तुलनका कारण यसलाई स्थगित गर्दै आएका थिए ।

    दक्षिणी राज्यका नेताहरूले पनि आपत्ति जनाउँदै यसले ती क्षेत्रहरूलाई राजनीतिक रूपमा कमजोर बनाउने र उत्तर भारतलाई असमान रूपमा फाइदा दिने बताएका छन् । जनसङ्ख्या नियन्त्रणमा सफलता हासिल गरेका दक्षिणी राज्यहरू यस प्रक्रियाबाट दण्डित हुन सक्ने उनीहरूको दाबी छ । राजनीतिक प्रतिक्रिया तीव्र बन्दै गएको छ । सत्तारूढ पक्षले भने आलोचनालाई अस्वीकार गर्दै संसदीय मामिलामन्त्री किरेन रिजिजुले चिन्ताहरूलाई भ्रामक बताए ।


    तर विरोधका सङ्केतहरू सार्वजनिक रूपमा देखिन थालेका छन् । तमिलनाडुका मुख्यमन्त्री एम. के. स्टालिनले विधेयकको प्रतिलिपि जलाउँदै कालो झण्डासहित विरोध जनाउनुभएको छ र राज्यव्यापी विरोध आह्वान गरेका छन् । दक्षिणी राज्यका केही सांसदहरू संसद्मा कालो पोशाकमा उपस्थित भएर असन्तोष प्रकट गरेका छन् । विपक्षी नेता राहुल गान्धीले पनि सीमाङ्कन प्रक्रियालाई सत्तारूढ दलको राजनीतिक लाभका लागि प्रयोग गर्न सकिने भन्दै आलोचना गरे । उनले यसलाई पारदर्शी र सर्वसम्मत प्रक्रियामार्फत मात्र अघि बढाउनुपर्ने बताए ।

  • एआईसँग बलिउडको नयाँ दौड

    एआईसँग बलिउडको नयाँ दौड

    मुम्बई, ४ वैशाख (रासस–एएफपी) । कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यही दौडमा अग्रपङ्क्तिमा देखिएको परियोजना ‘महाराजा इन डेनिम्स’ अहिले विशेष चासोको केन्द्र बनेको छ ।

    खुशवन्त सिंहको सन् २०१४ को लोकप्रिय उपन्यासमा आधारित यो फिल्म यसै गर्मीमा प्रदर्शनका लागि तयारी अवस्थामा रहेको छ । परम्परागत फिल्म निर्माणभन्दा फरक, यसमा कलाकार, महँगो सेट वा लामो सुटिङ तालिकाको आवश्यकता नपरेको निर्माण टोलीले जनाएको छ । “यहाँ कलाकारको पारिश्रमिक छैन, ढिलाइको झन्झट छैन, सेट निर्माणको बोझ पनि छैन—यो दिमाग र मेसिनबीचको सिर्जनात्मक सहकार्य हो”, सिंहले भने ।


    भारतीय फिल्म उद्योगले बर्सेनि दुई हजारभन्दा बढी फिल्म उत्पादन गर्ने क्षमतासहित एआईलाई छिटो आत्मसात गरिरहेको छ । यसको विपरीत, हलिउडमा भने एआईको प्रयोगलाई लिएर विवाद, हड्ताल र कडा युनियन सर्तहरू देखिएका छन् । भारतमै ‘चिरञ्जीवी हनुमानः द इटर्नल’ र कन्नड भाषाको ‘लभ यु’ जस्ता परियोजनाहरू पनि एआईमा आधारित अग्रगामी प्रयासका रूपमा प्रस्तुत भइरहेका छन् ।

    यद्यपि, सबै परियोजनाहरू सहज छैनन् । ‘नाइशा’ नामक अर्को एआई फिल्म प्राविधिक समस्याका कारण निर्धारित समयमै प्रदर्शन हुन सकेन । ‘महाराजा इन डेनिम्स’ पनि एआई प्रविधिको तीव्र विकासका कारण बारम्बार परिमार्जन गर्नुपर्दा ढिलाइको सामना गर्न बाध्य भएको थियो । “नयाँ प्रविधि प्रयोग गर्ने लोभले पहिले तयार सामग्री पनि असन्तोषजनक लाग्छ, तर यसले लागत बढाउँछ”, सिंहले स्वीकार गरे ।


    सन् २०२४ मा सुरु गरिएको यस परियोजनामा सिंह र इन्टेलिफ्लिक्स स्टुडियोका सह–संस्थापक गुरदीप सिंह पालले निर्देशक र सिनेमाटोग्राफरसहित सानो टोली बनाएर काम अघि बढाएका थिए । पाल यसअघि माइक्रोसफ्टमा एआई र प्रोडक्ट विकाससँग सम्बन्धित जिम्मेवारीमा रहेका थिए । फिल्मको कथा एक किशोर वरिपरि केन्द्रित छ, जसले आफू १९औँ शताब्दीका सिख शासक महाराजा रणजीत सिंहको पुनर्जन्म भएको विश्वास गर्छ । यस्ता ऐतिहासिक र बहुपरत कथा सामान्यतया महँगो निर्माणसँग जोडिन्छन्, तर एआईले लागतलाई करिब दशौँ भागमा सीमित गरेको निर्माण पक्षको दाबी छ ।

    तर यथार्थपरक दृश्य निर्माण सबैभन्दा ठूलो चुनौती बनेको छ । एआई मोडेलहरू भारतीय अनुहार र सिख ऐतिहासिक पात्रहरूका लागि पर्याप्त प्रशिक्षित नभएकाले बारम्बार समस्या समाधान गर्नुपरेको थियो । “पश्चिमी कथा बनाउन सजिलो हुन्थ्यो, किनकि मोडेलहरू त्यसका लागि तयार छन्”, सिंहले भने, “यदि चुनौती थाहा हुन्थ्यो भने सायद फरक कथा रोज्ने थियौँ ।”

    फिल्ममा पूर्ण एआई प्रयोग भए पनि केही मानवीय पक्ष जोगाइएको छ । विशेषगरी, सङ्गीतमा परम्परागत शैली समेटिएको छ, जसमा चर्चित गायक सुखविन्दर सिंहको स्वर रहनेछ । “भारतमा दर्शकले सङ्गीत हेर्छन्, त्यसैले यसलाई समावेश गर्नु आवश्यक हुन्छ”, सिंहले भने । एआई फिल्म निर्माणप्रति रुचि फिल्म उद्योगबाहिर पनि फैलिन थालेको छ ।

    सिंहका अनुसार केही मन्दिर ट्रस्टहरूले समेत पौराणिक कथामा आधारित एआई फिल्म बनाउन प्रस्ताव पठाएका छन् । चुनौतीहरू हुँदाहुँदै पनि सिंह एआईले फिल्म उद्योगलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्छन् । “प्रविधि यसरी अघि बढ्दै जाँदा कुनै गाउँमा बसेको १८ वर्षको युवाले पनि ठूला स्टुडियोलाई चुनौती दिन सक्नेछ”, उनले भने ।

  • पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    बेइजिङ, ४ वैशाख (रासस–एएफपी) । मध्यपूर्वको युद्धका कारण विश्व अर्थतन्त्र अनिश्चिततामा रहेका बेला चीनले भने सन् २०२६ को पहिलो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो आर्थिक प्रदर्शन गर्दै पाँच प्रतिशत वृद्धि हासिल गरेको छ । यसले बाह्य दबाबबीच पनि चिनियाँ अर्थतन्त्रको स्थायित्वलाई देखाएको विश्लेषकहरूले बताएका छन् ।

    चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबिएस) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जिडिपी) वार्षिक आधारमा पाँच प्रतिशतले वृद्धि भएको छ । यो दर एएफपीले गरेको ४.८ प्रतिशतको पूर्वानुमानभन्दा माथि रहेको हो ।

    सरकारले यस वर्षका लागि ४.५ देखि ५.० प्रतिशतसम्मको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ, जुन पछिल्ला दशकहरूमा सबैभन्दा न्यून लक्ष्यमध्ये एक मानिन्छ । यद्यपि, पछिल्ला वर्षहरूमा रियल स्टेट क्षेत्रमा देखिएको दीर्घकालीन सङ्कट र आन्तरिक उपभोगमा आएको सुस्तताका कारण नेतृत्वलाई आर्थिक लक्ष्य पूरा गर्न निर्यातमा अझ बढी निर्भर छ ।


    त्यसैबीच, उपभोक्ता खर्चको सङ्केत दिने खुद्रा बिक्री मार्च महिनामा १.७ प्रतिशतले मात्र वृद्धि भएको छ, जुन ब्लुमबर्गले गरेको २.४ प्रतिशतको अनुमानभन्दा कम हो । यसले घरेलु माग अझै कमजोर रहेको सङ्केत गरेको छ । औद्योगिक उत्पादनतर्फ भने सकारात्मक सङ्केत देखिएको छ । मार्चमा औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको एनबिएसले जनाएको छ, जुन ब्लुमबर्गको ५.३ प्रतिशतको अनुमानभन्दा बढी हो । तर, जनवरी र फेब्रुअरीमा संयुक्त रूपमा रहेको ६.३ प्रतिशत वृद्धिदरको तुलनामा भने यसमा केही सुस्तता आएको देखिन्छ ।

    विश्वव्यापी ऊर्जा बजारमा देखिएको अस्थिरताले पनि चीनको आर्थिक अवस्थालाई नजिकबाट प्रभाव पारिरहेको छ । विशेषगरी, इरानसँग सम्बन्धित अमेरिका–इजरायल द्वन्द्वका कारण तेल र ग्यासको मूल्यमा वृद्धि भएको छ । होर्मुज जल डमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि विश्व ऊर्जा आपूर्ति प्रभावित बनेको छ, जहाँबाट विश्वको झन्डै पाँचौँ भाग तेल तथा ग्यास आपूर्ति हुन्छ ।

    यद्यपि, विज्ञहरूले चीनको ऊर्जा आपूर्ति स्रोत विविध भएकाले तत्काल ठूलो धक्का नलाग्ने बताएका छन् । तर, युद्ध लम्बिँदै गएमा विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने र त्यसले चीनको निर्यात मागमा गिरावट ल्याउन सक्ने चिन्ता भने कायम रहेको छ ।

  • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

    म्याग्दी, ४ वैशाख । रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत हारेनन् । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भीमलाई बाख्रापालन गर्ने सोच पलायो । आठ वर्षअघि सुरु गरेको घुम्तीगोठमा बाख्रापालन व्यवसायले उनलाई स्वरोजगारका साथै आत्मनिर्भर बनाएको हो ।

    “विदेशबाट फर्किनुपर्दा घरव्यवहार चलाउने खर्च कसरी जुटाउने भनेर पिरोलिएको थिएँ”, उनले भने, “घुम्तीगोठमा बाख्रापालन सुरु गरेपछि रोजगारी र घरव्यवहार चलाउनकै लागि पैसा कमाउन विदेश नै जानुपर्दो रहनेछ भन्ने महसुस भयो ।” भीमले बुबा लालबहादुर भण्डारीले पितापुर्खाको पालादेखि नै गर्दै आएको बाख्रापाल्ने पेसालाई व्यवस्थित गरेर निरन्तरता दिएका हुन् । पचास वटाबाट सुरु भएको भीमको गोठमा हाल एक सय ५० स्थानीय खरी जातका बाख्रा छन् । उहाँलाई बाख्रापालनमा श्रीमती विपनाले साथ दिइन् ।


    वार्षिक १५ देखि २० वटा खसीबोका र त्यति नै सङ्ख्यामा पाठापाथी तथा माउ बाख्रा बिक्री गर्ने भण्डारी दम्पती बाख्रापालनबाट सन्तुष्ट छन् । “गोठमा बाख्राको सङ्ख्या धेरै हुँदा दुई सय वटासम्म पुगेको थियो”, विपनाले भनिन्, “अर्काको देशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्ने हो भने आत्मनिर्भर भइने रहेछ ।”

    अग्ला र धेरै तौल हुने खरी स्थानीय जातको बाख्रा हो । औसतमा एक बेतमा एकवटा पाठापाठी जन्माउने खरीका खसी दुई वर्ष पालेपछि प्रतिगोटा रु २० हजारमा बिक्री हुने विपनाले बताउनुभयो । धेरै सङ्ख्यामा दानापानी र घाँस पुर्याउन नसकिने हुँदा ग्रामीण क्षेत्रका किसानले घुम्तीगोठमा बाख्रापालन गर्छन् ।

    कात्तिकमा बेँसी झरेका भण्डारी दम्पतीका बाख्रागोठ हिजोआज फलीगाउँको फेदीमा रहेको हुचिनमा छ । चिसो हुने भएकाले हुचिनभन्दा अझ न्यायो र बेँसी सोलवाङमा गोठ राखिएको थियो । वैशाखको अन्तिम साता चरनका लागि बाख्रागोठ ढोरपाटन लैजाने उनीहरूको योजना छ । जेठ, असार र साउनमा गुर्जाघाट चर्ने बाख्रा भदौ र असोजमा त्यो भन्दा माथिको बुकी अनेरीमा पुग्छन् । किसानले पशुका लागि आवश्यक पर्ने पोषिलो आहारा पाइने चरन क्षेत्रलाई बुकी भन्छन् । त्रिपालको टहरामा रात कटाउने उनीहरूले बाख्राको सुरक्षाका लागि पाँचवटा कुकुर पालेका छन् ।

    कुकुरले चितुवालगायत जङ्गली जनावरको गतिविधिलाई निगरानी गर्ने, बाख्रालाई बचाउने, भुकेर सूचना दिने र कतिपय अवस्थामा जङ्गली जनावरसँग भिडेर भगाई सहयोग गर्ने विपनाले सुनाइन् । आफ्नै नाममा जग्गा जमिन नहुँदा व्यवसाय दर्ता गर्न नपाएका उनीहरूले बाख्रापालनलाई नै निरन्तरता दिने र जीविकोपार्जनको माध्यम बनाउने बताएका छन् ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अभियानकै रूपमा महामारीजन्य रोग पिपिआरविरुद्धको खोप र धवलागिरि गाउँपालिकाले प्राविधिक सेवा, त्रिपाल र सौर्य ऊर्जा सहयोग गरेको छ । महामारीबाहेकको अवस्थामा पनि बाख्राको औषधि उपचार निःशुल्क गर्ने र पशु बीमाका लागि सहजीकरण गरिदिन भण्डारी दम्पतीले राज्यका निकायसँग अनुरोध गरेका छन् ।

  • मातातीर्थमा मातृभक्तको भीड

    मातातीर्थमा मातृभक्तको भीड

    काठमाडौँ, ४ वैशाखः दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको भीड लागेको छ । मातातीर्थमा बिहान ३ः०० बजेदेखि नै स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्ने र मेला भर्नेको घुइँचो बढेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले राससलाई जानकारी दिए । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् ।

    मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास छ । सो तीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ ।हरेक वर्ष आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउने प्रचलन छ । जात्रा व्यवस्थापनका लागि मातातीर्थ मेला व्यवस्थापन समितिलगायत स्थानीय सामाजिक सङ्घसंस्था परिचालन भएका छन् ।

  • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

    मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त

    काठमाडौँ, ४ वैशाखः प्रधानमन्त्री वालेन्द्र शाहले आज मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) का अवसरमा सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले यस अवसरमा माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गर्दै आमाहरुप्रति सम्मान प्रकट गर्नुका साथै देशलाई आमाको प्रतीकका रूपमा लिँदै नेपालको उज्ज्वल भविष्यको कामना गरेका छन् । माताको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र बताउँदै प्रधानमन्त्री शाहले आमाहरूलाई माया र त्यागको अनुपम उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

    उक्त सन्देश उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गर्दै जीवनका पहिलो गुरुका रूपमा आमाको भूमिकाको उच्च प्रशंसा गरेका छन् । उनले सन्तानहरूले आफ्ना कर्ममार्फत आमालाई सधैँ गर्व गर्नसक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै आमालाई सधैँ हँसाउनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरको छन्े ।

  • पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

    पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी

    काठमाडौँ, ४ वैशाखः हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज रााति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशका तराईसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ । देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको, अन्य प्रदेशका तराई भेगको तुलनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही स्थानमा गर्मी हुने सम्भावना छ ।

  • फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

    फेसबुकले ल्यायो अठार वर्षपछि हराएको छोराको खबर, परिवार पुनर्मिलनको प्रतीक्षामा

    कञ्चनपुर, ४ वैशाख । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समयदेखि सम्पर्कविहीन रहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ ।

    घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका दीपक गाउँकै एक आफन्तसँग हिमाञ्चल पुगेका थिए । त्यहाँ काम गर्ने क्रममा बिरामी परेपछि ‘अस्पताल जान्छु’ भनेर हिँडेका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए । त्यसयता उनी कहाँ छन् भन्ने कुनै जानकारी परिवारले पाउन सकेको थिएन ।

    समय बित्दै जाँदा परिवारले आफन्त र चिनेजानेकाहरूसँग खोजी गरे पनि कुनै पत्तो लागेन । अन्ततः दीपक जीवित छन् कि छैनन् भन्ने नै अन्योलमा परेको अवस्थामा परिवारले आशा मारेको थियो । तर नियतिले नयाँ मोड लियो । भारतको लेह–लद्दाख क्षेत्रमा चौँरीगोठमा काम गरिरहेका एक नेपालीले दीपक नेगीसँग भेट गरेका थिए । कुराकानीका क्रममा उहाँले आफू कञ्चनपुरको देखतभूलीको दीपक ९दीपु० नेगी भएको बताएका थिए ।

    त्यसपछि ती नेपालीले दीपकको नाम, ठेगाना र अवस्थासहितको भिडियो फेसबुकमा अपलोड गरे । उक्त भिडियो सामाजिक सञ्जालमार्फत फैलिँदै नेगी परिवारसम्म पुगेको हो । प्रहरीमार्फत सूचना वडा कार्यालयसम्म पुगेपछि परिवार र भिडियो अपलोड गर्ने व्यक्तिबीच सम्पर्क स्थापित भएको थियो । त्यसपछि फेसबुक र फोनमार्फत दीपकको अवस्थाबारे थप जानकारी लिइएको छ ।

    मोबाइलको स्क्रिनमा १८ वर्षपछि छोराको अनुहार देख्दा परिवारका सदस्यहरू स्तब्ध बनेका थिए । एकछिन त विश्वास नै गर्न नसकेको परिवार त्यसपछि भावुक बनेको थियो । “भगवान्ले नै आएर खबर सुनाएजस्तो भयो”, दीपकका बुबा डम्बरबहादुर नेगीले भने, “यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै हो ।” आमा मानमती नेगीका लागि पनि त्यो क्षण अत्यन्त भावुक रह्यो । “पहिले त विश्वास नै लागेन, पछि राम्रोसँग हेर्दा आफ्नै छोरा हो भन्ने थाहा पाएँ”, उनले भनिन्, “खुसीले बोल्न सकिनँ, आँसुमात्रै आयो, अब छिट्टै भेट्ने व्यग्र प्रतीक्षा छ, छोरा भेट्ने अझै बेचैनी बढ्दै जान थालेको छ ।”

    परिवारका अनुसार दीपक केही वर्षदेखि मानसिक रूपमा अस्वस्थ छन् । काम गर्ने ठाउँका मालिकले उपचार गराइरहेका छन् भन्ने जानकारी प्राप्त भएको छ । सीमित स्रोतसाधनका बाबजुद गरिएको सहयोगप्रति परिवारले आभार व्यक्त गरेको छ । हाल नेगी परिवार र दीपकबीच फेसबुक भिडियो कलमार्फत नियमित सम्पर्क भइरहेको छ । लामो समयपछि छोरासँग कुरा गर्दा परिवार अझै पनि विश्वास गर्न गाह्रो भइरहेको बताउँछ ।

    “फोनमा आवाज सुन्दा र भिडियोमा देख्दा मन भरिन्छ”, बुबा डम्बरबहादुरले भने, “अब छिट्टै घर ल्याउन पाए सबै दुःख बिर्सिन्छौँ ।” छत्तीस वर्षीय दीपकलाई घर फर्काउने तयारी पनि सुरु गरिएको छ । दुर्गम लेह–लद्दाख पुग्न समय र खर्च दुवै लाग्ने भएकाले परिवार आवश्यक स्रोत जुटाउने कार्यमा लागेको छ । आफन्तसँग सरसापट र कर्जा मागेर भए पनि दीपकलाई ल्याउनका लागि तयारी गरिएको छ ।

    हाल दिल्लीमा कार्यरत दीपकका दाजु र भाउजुले यसै महिनाको २० तारिखतिर लद्दाख पुगेर उहाँलाई घर ल्याउने योजना बनाइरहेका छन् । परिवारले ल्याउनका लागि अब ढिलाइ नगर्ने जनाएको छ । वडाध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना प्राप्त भएपछि परिवारलाई जानकारी गराइएको र भारतस्थित सम्पर्क व्यक्तिसँग समन्वय गरिएको हो ।

    “फेसबुककै कारण वर्षौँदेखि हराएको व्यक्ति परिवारसँग जोडिनु प्रविधिको सकारात्मक प्रयोग हो”, उनले भने । नेगी परिवारका छिमेकी वडा सदस्य जयसिंह भण्डारीले पनि फेसबुक भिडियोमार्फत दीपक जीवित रहेको थाहा पाउँदा गाउँभरि खुसी छाएको बताए । नेगी परिवारका तीन छोरामध्ये दीपक माइला हुन् । जेठो र कान्छो छोरा भारतमै रोजगारीमा छन् भने बुबा गाउँकै सामुदायिक वनमा चौकीदारका रूपमा कार्यरत छन् ।

  • वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान-प्रविधि प्रयोगमा जोड

    वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान-प्रविधि प्रयोगमा जोड

    खोटाङ, ४ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव बिहीबारदेखि सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो ।

    कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा ८२ वटा स्टल राखिएको छ । यही वैशाख ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खोटाङका २१ माध्यमिक विद्यालयको ६४ वटा तथा राजधानीसहित बाहिरी जिल्लाका १५ वटा विद्यालयको १८ वटा स्टल रहेको आयोजक समितिका स्टल संयोजक भूपाल राईले जानकारी दिए ।


    स्थानीय स्रोतसाधन प्रयोग गरेर आयोजना गरिएको महोत्सवमा परियोजना प्रतिस्पर्धासमेत गराइने आयोजकले जनाएको छ । नगरपालिकाभित्र सञ्चालित सबै माध्यमिक तहका विद्यालय तथा देशभरका विद्यार्थीको सहभागिता रहेको महोत्सवको परियोजना प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीलाई क्रमशः नगद रु २० हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।

    प्रदर्शनीमा विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआइ प्रविधिमा आधारित नमूना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टलहरू राखिएको महोत्सव आयोजक समितिका संयोजक एवं शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए ।

    “पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीले विद्यार्थीमा सिर्जनशील सोचको विकास हुने र ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीपको विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छौँ । महोत्सवमा पिपुल्स च्वाइस अवार्डको व्यवस्थासमेत गरिएको छ”, उनले भने, “प्रदर्शनीको पहिलो दिनमै एक हजारभन्दा बढी अवलोकनकर्ताले भोट गरेका छन् । अवलोकनकर्ताको भोटको आधारमा उत्कृष्ट स्टललाई पुरस्कृत गरिन्छ । त्यसले विद्यार्थीहरू उत्साहित भएका छन् ।”

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउन्डेसनमा आयोजना गरिएको महोत्सवमा रोबो–कार रेसमा प्रथम हुनेलाई नगद रु १५ हजार, द्वितीय हुनेलाई रु १० हजार र तृतीय हुनेलाई रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सवमा मोस्ट प्राक्टिकल इनोभेसन अवार्डअन्तर्गत नगद रु पाँच–पाँच हजार प्रदान गरिने संयोजक राईले जानकारी दिए ।

    पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीहरूबीच एआइसम्बन्धी निबन्ध लेखन प्रतियोगितासमेत आयोजना गरिएको आयोजकले जनाएको छ । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः नगद रु १५ हजार, रु १० हजार र रु पाँच हजार प्रदान गरिने हिमालय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सप्तमणि राईले बताए ।


    जिल्लामा पहिलोपटक आयोजना गरिएको वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवमा नाष्टका वैज्ञानिकहरूसँग विद्यार्थीको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षण, धिरज राईलगायतका राष्ट्रियस्तरका चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति राखिएको आयोजकले जनाएको छ । महोत्सवमा आएका नाष्टका वैज्ञानिकसँगको प्रत्यक्ष कुराकानी तथा प्रशिक्षणले विज्ञान, प्रविधि र नवप्रवर्द्धनका क्षेत्रमा रुचि राख्ने विद्यार्थीका लागि थप प्रोत्साहन मिल्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।


    महोत्सवमा काठमाडौँका आठ तथा भक्तपुर, काभ्रेको धुलिखेल र विराटनगरको एक–एकवटा विद्यालयले सहभागिता जनाएको आयोजकले दिएको छ । खोटाङ प्रदेशसभा १ (१)का प्रदेशसभा सदस्य एवं कोशी प्रदेश सरकारका निवर्तमान सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का उपकुलपति डा दिलीप सुब्बाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

  • गैँडाको खागसहित चार जना पक्राउ

    गैँडाको खागसहित चार जना पक्राउ

    इनरुवा (सुनसरी), ४ वैशाख । सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गैँडाको खागसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्याम कार्कीले जानकारी दिए ।

    झापाबाट गैँडाको खाग लिएर आइरहेको भनी आएको गोप्य सूचनाका अधारमा खागसहित बर्जु–६ ताल नजिकबाट चार जनालाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेकाको साथबाट एउटा खाग, दुईवटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । पक्राउ परेकाको नाम गोप्य राखिएको सशस्त्र प्रहरीले जनाएको छ । यसको सञ्जाल ठूलो भएको र अनुशन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरेको उनले बताए ।

  • काठमाडौंमा सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

    काठमाडौंमा सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

    काठमाडौँ, ४ वैशाख । काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ ।

    काठमाडौँलाई सडकआश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन कामपाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार थालेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिए ।


    “हामीले सबैलाई सडकबाट उद्धार गरेका होइनौँ, बेसहारा र अशक्तको उद्धार गर्छौँ, शारीरिक अवस्था ठिक भएकालाई माग्ने पेसामा निषेध गर्छौँ”, प्रमुख डङ्गोलले भने । पशुपति क्षेत्रबाट नुवाकोट घर भएका ६५ वर्षीय पुरुष, रामेछाप घर भएका ५० वर्षीय, ४८ वर्षीय र ४१ वर्षीय गरी तीन जना पुरुष र काभ्रे घर भएका ४८ वर्षीय एक जना र ५० वर्षीय एक जना व्यक्ति गरी छ जनालाई उद्धार गरिएको हो ।

    पशुपति क्षेत्रपछि सेवामा खटिएको टोली कालीमाटी पुगेको थियो । कालीमाटीबाट काभ्रे घर भएका ८६ वर्षीय एक जना पुरुष र काभ्रे घर भएका ५० वर्षीय एक जना पुरुषको उद्धार भयो । उनीहरू दुवैको अवस्था सामान्य छ । टेकु क्षेत्रबाट धादिङ घर बताउने करिब ६० वर्षीय एक जना ज्येष्ठ नागरिकको उद्धार भएको छ ।

    उद्धार तथा पहिचान, उपचार तथा पुनःस्थापना कार्यलाई व्यवस्थित बनाउन कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी र मानव सेवा आश्रमका प्रतिनिधि सदस्य छन् । समितिको सदस्यसचिवमा सामाजिक विकास विभागका प्रमुख छन् ।


    यसरी सहयोगापेक्षीहरूको उद्धार कार्यमा रहेको बेला मानवतामा आधारित काठमाडौँ निर्माण कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “सडकमा माग्न बस्नुभएका सबैलाई सहयोग गर्नुपर्ने अवस्थाको हुनुहुन्न । कोहीले माग्ने कामलाई पेसा बनाउनुभएको छ । कोही दुव्र्यसनका कारण पारिवारिक बेमेलका कारण सडकमा आउनुभएको छ । उहाँहरूको अवस्थाका आधारमा व्यवस्थापन गर्ने योजनाअनुरूप उद्धार कार्य थालेका हौँ”, उनले भनिन् । कामपाले काठमाडौँलाई सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउने अभियानलाई तीव्रता दिएको छ ।

  • एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

    एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

    काठमाडौँ, ४ वैशाख । आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५३ वटा फर्मको विवरण लिएको छ । विभागले विभिन्न व्यापारिक प्रतिष्ठान, फर्म तथा पसलहरूमा बिलबिजक जारी भए–नभएको, उपभोक्तालाई दिनुपर्ने जानकारी दिए–नदिएको तथा उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्था परिपालना भए–नभएको बारेमा अनुमगन गर्दै आएको छ ।

    पछिल्ला दिनमा विभागले ठूलो सङ्ख्यामा व्यावसायिक फर्महरूमाथि अनुमगन गर्दै आएको छ । सोही क्रममा बिहीबारमात्रै काठमाडौँको खिचापोखरी क्षेत्रका ५३ वटा फर्ममा अनुमगन निरीक्षण गरेको हो । विभागले अनुमगन गरेका सबै फर्मलाई सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको स्पष्ट पारेको छ ।

  • वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

    वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

    काठमाडौँ, ४ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

    छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

    सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् ।


    सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।

    वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

  • सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

    सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउन प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग छलफल

    रासस
    काठमाडौँ, ४ वैशाखः सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गरेका छन् । छलफलका क्रममा मुख्यमन्त्रीहरूले प्रदेशगत रुपमा आफ्ना समस्या राखेका थिए । प्रधानमन्त्री शाहले कुनै पनि विषयमा मुख्यमन्त्रीको जिज्ञासा सुन्ने बित्तिकै थप स्पष्ट पार्न र समाधानका विकल्पबारे अन्तरक्रियात्मक शैलीमा छलफल गरे ।


    प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्याबारे कतिपय प्राविधिक र व्यावहारिक समस्यालाई तत्काल समाधान गर्ने उपायसमेत सुझाए । नीतिगत जटिलताहरु फुकाउन सङ्घ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, “सङ्घ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ । त्यसैले तपार्इँहरुलाई छलफलका लागि मैले राजधानी बोलाएको हुँ ।” साथै, प्रधानमन्त्री शाहले प्रदेश सरकार आफैँले तत्काल गर्नसक्ने सुधारहरू ढिला नगरी अघि बढाउन समेत आग्रह गरे ।
    मुख्यमन्त्रीहरु उत्साहित

    प्रधानमन्त्रीसँगको अन्तरक्रियात्मक र सौहार्द व्यवहारसहित भएको छलफलबाट मुख्यमन्त्रीहरु उत्साहित देखिनुभएको छ । सोचेभन्दा बिल्कुलै फरक र सकारात्मक छलफल भएको छलफलपश्चात उनीहरुले प्रतिक्रिया दिए । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने, “प्रधानमन्त्री शाहसँगको पहिलो भेट नै धेरै पुराना साथीहरूबीचको संवाद जस्तै सौहार्द र मित्रतापूर्ण रह्यो । उहाँले हाम्रा कुरा गम्भीरतापूर्वक सुन्नुभयो र बीचबीचमा जिज्ञासा राखेर विषयलाई अझ प्रष्ट पार्नु भयो । पाण्डेले प्रधानमन्त्रीसँग स्थानीय तहको नेतृत्व गरिसकेको अनुभवले गर्दा प्रदेशका समस्या बुझ्न सजिलो भएको देखिएकाले आगामी दिनमा सङ्घीयता कार्यान्वयनले सहजता प्राप्त गर्नेमा आशावादी रहेको उल्लेख गरे ।


    वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँले पनि प्रधानमन्त्रीको व्यक्तित्वले छलफललाई सहज बनाएको टिप्पणी गरे । “मैले उहाँकाबारेमा जे सुनेको थिएँ, त्यो होइन रहेछ । प्रधानमन्त्री कम बोल्नुहुन्छ, अरुको कुरा पनि सुन्नुहुन्न भन्ने सुनिन्थ्यो, तर उहाँले त पर्याप्त समय दिएर हाम्रा कुरा सुन्नुभयो, र आफ्नो कुरा राख्नुभयो”, उनले भने, “उहाँले आवश्यक सहजीकरणका लागि आजै आफ्नो कार्यालयमार्फत निर्देशन समेत दिनुभएकोमा खुसी लागेको छ ।”

    त्यसैगरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीले संविधानको मर्मअनुसार तीन तहका सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वको भावनालाई गहिरोसँग आत्मसात् गरेको महसुस गरेको प्रतिक्रिया दिए । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र कर्णालीका यामलाल कँडेलले अन्य मुख्यमन्त्रीहरुको प्रतिक्रियामा सहमति जनाए ।

    छलफलमा मुख्यमन्त्रीहरु वाग्मती प्रदेशका इन्द्रबहादुर बानियाँ, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्रराज पाण्डे, कर्णालीका यामलाल कँडेल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थिति थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भने पारिवारिक कारण र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भने स्वास्थ्य समस्याका कारण सहभागी भएनन् ।

  • सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता

    सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता

    काठमाडौँ, ३ वैशाखः सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता भएको छ । समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिको सभापतिमा मनोनयन दर्ता भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

    प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्काको मनोनयन दर्ता भएको छ ।

    महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरीले उम्मेदवारी दर्ता गराए । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गुरुप्रसाद बरालको मनोनयन दर्ता भएको छ ।

    सङ्घीय संसद्को संयुक्त समितिका रूपमा रहेको संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी दर्ता भएको छ ।


    सङ्घीय संसद् सचिवालयले सभापति उम्मेदवारको मनोनयनसम्बन्धी सूची प्रकाशित गरेको छ । शुक्रबार अपराह्न १ः०० बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयका प्रवक्ता गिरीले जानकारी दिए ।

  • जात्रामय बन्यो टोखा

    जात्रामय बन्यो टोखा

    काठमाडौँ, ३ वैशाखः धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको टोखा जात्रामय बनेको छ । सपनतीर्थ मेलासँगै सुरु भएको टोखाको ऐतिहासिक विस्काः नख (जात्रा)लाई टोखाको विशेष पर्वका रूपमा लिने गरिन्छ । जात्राको तेस्रो दिन आज बिहान ७ः०० बजे तपलाक्षीः बाट सिन्दूरजात्रा गरी देवता उठाएर बजार परिक्रमा गरिएको छ । बिहान ११ः०० बजे हासल टोलमा सबै रथ बिसाइएको र दिउँसो ३ः०० बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा लगेर चोख्याइएको छ ।

    उक्त रथलाई मसानकालीको मन्दिर र गाउँको परिक्रमा गरी कोनेलाक्षीमा लगिएको छ । आज राति भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहिआएको छ । मौलिक बाजागाजाको मौलिक धुन, सद्भाव र उल्लासका साथ सङ्गीतमय वातावरणमा यस जात्रालाई मनाइएको छ । यसबाहेक टोखाकै धापासीमा समेत आज जात्रा मनाइएको छ । भक्तपुरको ठिमी जस्तै हुने यो जात्रालाई काठमाडौँको विस्काः जात्राका रुपमा लिने गरिन्छ । यस वर्ष टोखामा विस्का जात्रा मनाउने सङ्ख्या बढेको छ ।

  • एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा

    एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा

    काठमाडौँ, ३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताए । उनले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने र प्रदेश कमिटीले केन्द्रीय सचिवाललाई पठाउने जानकारी दिए ।

    त्यस्तै, केन्द्रीय सचिवालयले ‘अनलाइन’ प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझाव सङ्कलन गरिरहेको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले बताए । केन्द्रीय सचिवालय बैठकले सबैतिरबाट आएका समीक्षासहित केन्द्रीय कमिटी बैठकमा पनि समीक्षा गरेर पार्टीको संस्थागत दृष्टिकोण तय गर्ने उनले उल्लेख गरे । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नौ सिट प्राप्त गरेको थियो ।