Author: Vishwanews.com

  • नेता खड्कालाई थुनामुक्त गर्न आदेश

    नेता खड्कालाई थुनामुक्त गर्न आदेश

    काठमाडौँ, ३ वैशाखः सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश गरेको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले आज नेता खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ थुनामुक्त गर्न आदेश दिएको हो ।

    “निवेदकलाई हिरासतमा राख्दा उचित विधि र प्रक्रिया पूरा गरेको देखिएन, निजको पक्राउ पुर्जी र म्याद थप कानुन सङ्गत देखिएन”, आदेशमा भनिएको छ, “निज माथिको दाबीको कसुरको अनुसन्धान हिरासत बाहिर बसेर नै हुनसक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिइ मात्र निवेदकलाई विदेश जान दिनु र निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।”

    अदालतले सम्पत्तिको स्रोत खुलाउन नसकेको हदसम्म आन्तरिक राजस्व विभागले कर निर्धारण गरी उपदफा (७) बमोजिम असुल गर्नसक्ने कर असुल गर्नसक्ने भनेको छ आदेशमा भनिएको छ, “निवेदकउपर हाल अनुसन्धान भएको राजस्वसम्बन्धी कसुर राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को २०८१ को संशोधनले थप गरेको दफा २४ ‘क’ ले यस ऐनअन्तर्गतको मुद्दामा प्रतिवादीले बिगो र लाग्ने जरिवाना भुक्तानी गरी मिलापत्र गरी पाउँ भनी निवेदन दिएमा त्यस्तो मुद्दामा मिलापत्र हुनसक्ने देखिन्छ ।”

    सोमबार राजस्व अनुसन्धान विभागले नेता खड्कालाई तीन दिन हिरासतमा राख्न अनुमति लिएको थियो । नेता खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत गत चैत १५ गते पक्राउ गरेको थियो ।

  • गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

    गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

    काठमाडौँ, ३ वैशाखः अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । विभागका प्रवक्ता निर्देशक टिकाराम ढकालले यसरी गैररकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि आन्तरिक छानबिनको प्रक्रिया अघि बढाइएको बताए ।

    संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘Employment is strictly prohibited Visit till’ लेखेको भनि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले छानबिन थालिएको बताए ।


    विभागले आज एक विज्ञप्ति जारी गरी आजको दिनमा धेरै नेपालीहरूको विदेश यात्रा रहर र राम्रो अवसरको खोजी मात्र नभई बाध्यता भएको यथार्थ हामी सबैलाई अवगत छ । नागरिकको यही बाध्यतालाई भजाएर विभिन्न तहमा हुने गरेका ठगी र शोषण नियन्त्रण गर्न अध्यागमन प्रशासनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको जनाएको छ ।

    विभागले अनावश्यक कागजात माग गर्ने र तजबिजीको आधारमा निर्णय गरी हुने गरेको अनियमिततालाई नियन्त्रण गर्न नेपाल सरकारको २०८२ कात्तिक १३ को निर्णयानुसार भिजिट भिसामा नेपालबाट प्रस्थान गर्ने नेपाली नागरिकको सन्दर्भमा कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने गरी प्रस्थानलाई सरलीकृत र व्यवस्थित बनाइएको स्पष्ट पारेको छ ।

    विभागले यात्रुहरूको आगमन र प्रस्थानलाई झन्झटरहित बनाउन नीतिगत सहजीकरण र अध्यागमन प्रणालीलाई थप आधुनिकीकरण गरी राष्ट्रिय सुरक्षाको सुदृढीकरणका क्षेत्रमा काम गरिरहेको जानकारी गराएको छ ।

  • कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण कांग्रेस

    कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण कांग्रेस

    पाटन (ललितपुर), ३ वैशाखः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, सम्पत्ति छानविन, पेट्रोलियम पदार्थको मूल्यलगायतका विषयमा छलफल भएको प्रवक्ता चालिसेले जानकारी बताए ।


    “बैठकले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, नागरिक सर्वोच्चता, मानव अधिकार तथा प्रेस स्वतन्त्रताजस्ता संविधानमा नीहित मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने निर्णय गरेको छ, सरकारका सकारात्मक र कानुनसम्मत काममा सहयोग गर्ने तर लोकतान्त्रिक मूल्यविपरीत कदममा कडा प्रतिवाद गर्ने कांग्रेसको धारणा छ”, उनले भने । उनले कांग्रेसले विधिको शासनलाई लोकतन्त्रको आधार मानेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही नहुने स्पष्ट पारे ।


    मध्यपूर्व सङ्कटका कारण बढेको पेट्रोलियम पदार्थको मूल्यले आमनागरिकको जीवन प्रभावित भएकाले मूल्य घटाउन विभिन्न करमा सहुलियत, भन्सार र अन्य शुल्क घटाउने तथा विद्यार्थीलाई विशेष सुविधा दिन कांग्रेसले सरकारसँग माग गरेको छ । बैठकले भ्रातृ संस्थाहरूको अवस्था अध्ययनसम्बन्धी प्रतिवेदन पारित गर्नुका साथै प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन अनुमोदन गरेको छ । साथै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिए ।

  • कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

    तानसेन (पाल्पा), ३ वैशाखः यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी भुसालगाउँका ३९ वर्षीय शरण भुसाल मृतावस्थामा भेटिएका हुन् ।

    बस्यालको हिजो बुधबार र भुसालको आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनीहरु मङ्गलबार नयाँवर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनीहरुको स्थानीय बासिन्दा, सुरक्षाकर्मी र बुधबार नेपालगञ्जबाट आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरी शव फेला पारेको प्रनाउ चौधरीले बताए ।

    बस्याल चन्द्र मावि चापपानीमा प्राविधिक शिक्षातर्फ शिक्षक हुन् भने भुसाल विदेशबाट छुट्टीमा फर्केका थिए । मृतक दुवै एउटै टोलका भएकाले चापपानी, झिरभञ्ज्याङ गाउँ अहिले शोकमा डुबेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सतर्कता केन्द्रद्वारा छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस

    सतर्कता केन्द्रद्वारा छ सय बत्तीस कर्मचारीलाई कारबाही सिफारिस

    काठमाडौँ, ३ वैशाखः राष्ट्रिय सतर्कता केन्द्रले ६३२ जना कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालय प्रमुखलाई सिफारिस गरेको छ । केन्द्रले विभिन्न कार्यालयमा छड्के अनुगमन गरी ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । ती कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ को दफा ५५ अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने जनाइएको छ ।

    यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ । उनले कार्यालय समयमा नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको बताए । केही कर्मचारीलाई कारबाही गरेको जानकारी केन्द्रमा प्राप्त भइसकेको उनले बताए । केन्द्रले सेवा प्रवाह धेरै हुने त्यस्ता कार्यालयमा छड्के अनुगमन गरेको थियो ।

    त्यसैगरी केन्द्रले सातै प्रदेशका एकरएक जिल्लामा अनुगमन गरिरहेको छ । जनसम्पर्क धेरै हुने जिल्लाका कार्यालयमा केन्द्रले अनुगमन गरिरहेको हो । केन्द्रका प्रवक्ता भट्टले दैनिक सरकारी कार्यालयमा अनुगमन गरिरहेको जानकारी दिए ।

  • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    प्रकाश सिलवाल–रासस
    काठमाडौँ, ३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरुले नियमितरुपमा गुनासो टिपाउन थालेका छन् । मन्त्रालयको निर्र्देशन कार्यान्वयनका लागि लिखित रुपमा सबै स्थानीय तहलाई अनुरोध गर्नाका साथै भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सहायता कक्ष स्थापना गरिएको छ । केन्द्रका निर्देशक निर्मलप्रसादसिंह राठौरले विद्यार्थी भर्ना शुल्कलगायत विषयमा विभिन्न माध्यमबाट सरकारी निकायलाई प्राप्त गुनासा समयमा सम्बोधन गरी सेवा प्रवाहको प्रभावकारिता वृद्धिमा सहायता कक्ष क्रियाशील रहेको राससलाई बताए ।


    “मेरो मोबाइल नम्बर र इमेल पनि सार्वजनिक गरिएकाले मलाई हरेक क्षण अभिभावकको फोन आइरहन्छ । उठाएरै भ्याइन्न ।’’ निर्देशक राठौरले भने, “फोनबाट समाधान हुने विषय फोनबाटै नै सम्बोधन गर्दै आएको छु । इमेबाट प्राप्त गुनासा एकीकृत गरेर महानिर्देशकसमक्ष पेस गरेको छु । कतिपय अभिभावकमा भर्ना र वार्षिक शुल्कका विषयमा अस्पष्टता भएकाले पनि गुनासो बढेको पाइएको छ ।’’

    शिक्षा नियमामवली, २०५९ ९संशोधनसहित० को नियम १४६ मा विद्यालयले लिन पाउने शुल्क तथा धरौटीको व्यवस्था छ । उक्त दफामा विद्यालयले मासिक पढाइ शुल्क, कुल दुई महिनाको पढाइ शुल्क बराबरको रकममा नबढ्ने गरी खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, मर्मत सम्भार, पुस्तकालय र प्राथमिक उपचार, वार्षिक शुल्क, विद्यालयमा पहिलो पटक भर्ना हुँदा एक पटकको लागि भर्ना हुने कक्षाको मासिक पढाइ शुल्कमा नबढ्ने गरी भर्ना शुल्क लिन पाउने प्रबन्ध गरिएको छ ।

    यसैगरी, विविध शीर्षकमा परीक्षा शुल्क, कम्प्युटर शुल्क, स्थानान्तरण प्रमाणपत्र शुल्क, विशेष प्रशिक्षण (जुडो, मार्शल आर्टस्, पौडी, गायन, नृत्य) शुल्क, आवास शुल्क, परिवहन शुल्क, भोजन शुल्क लिन सकिने नियमावलीले व्यवस्था गरेको छ । नियमावलीको नियम १४७ मा विद्यालयले विद्यार्थीसँग लिने अधिकतम् शुल्क विद्यालयको वर्गीकरणका आधारमा तोकी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाले शैक्षिकसत्र सुरु हुनु भन्दा तीन महिना अगावै सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

    विद्यालय व्यवस्थापन समितिले शिक्षक–अभिभावक सङ्घको कार्यकारी समितिसँग परामर्श गरी तोकिएको अधिकतम शुल्क सीमाभित्र रही शैक्षिकसत्र सुरु हुनु दुई महिना अघि समन्वय इकाइमा पेस गर्नुपर्ने भनिएको छ । इकाइले प्रस्तावको जाँचबुझ गरी शुल्कको दर तोकी सूचना प्रकाशन गर्नेछ । शुल्क व्यवस्थापन तथा अनुगमनका लागि केन्द्रका महानिर्देशकको संयोजकत्वमा केन्द्रीय समिति गठनको व्यवस्था गरिएको छ ।

    मन्त्रालयले कानुन विपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण माापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारित बाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन गत चैत २२ गते सम्बन्धित सबै स्थानीय तहलाई अनुरोध गरेको थियो । आफूखुसी शुल्क लिएर फिर्ता नगर्ने विद्यालयलाई शिक्षा ऐन, २०२८ बमोजिम कारवाही हुन सक्नेतर्फ मन्त्रालयले सचेत गराएको थियो । शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब बढेको छ । सरकारले यही वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र प्रारम्भ गर्न निर्देशन दिएको छ ।

  • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्यबारे छलफल

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्यबारे छलफल

    काठमाडौँ, ३ वैशाखः काठमाडौँका सडक र सहरी सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भेट भएको थियो । सो भेटमा काठमाडौँभित्रका सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापन थप बलियो बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।

    कार्यवाहक प्रमुख डङ्गोलले सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र उपयोग, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सडक मानवमुक्त बनाउने अभियानलगायत विषयमा महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको बताइन् ।

    भेटमा प्रहरी महानिरीक्षक कार्कीले महानगरपालिकालाई आवश्यक पर्ने सुरक्षा सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताए । “उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ, यसका लागि हामीले ‘फोकल पर्सन’ तोकेका छौँ,” महानिरीक्षक कार्कीले भने ।

  • कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

    कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

    मकवानपुर, ३ वैशाख : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए । कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए ।

  • कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    काठमाडौँ, ३ वैशाखः बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।

    उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए । साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड नजान अनुरोध गरेको छ ।

  • दक्षिणी लेबनानमा इजरायली आक्रमण, मानवीय क्षति जारी

    दक्षिणी लेबनानमा इजरायली आक्रमण, मानवीय क्षति जारी

    बेरुत, ३ वैशाख (रासस–क्युएनए) । दक्षिणी लेबनानको अन्सारीयेह शहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।
    लेबनानी राष्ट्रिय समाचार एजेन्सीले बुधबार शहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    यसले इजरायले अल–कुलाइलाह शहरको प्रवेशद्वार, साथै बिन्त जबेल शहरको वरपरका क्षेत्रहरूलाई लक्षित गरी हात्रलमण गरेको र हानिन शहरका घरहरूमा विस्फोट गराएको पनि बताएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले मार्च– २ देखि देशमा जारी इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार १२४ जना पुगेको र छ हजार ९२१ जना घाइते भएको जनाएको छ।

  • बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

    बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

    पटना (बिहार), ३ वैशाख (रासस–एएनआई) । भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आएका नितिश कुमारको युग समाप्त भएको सङ्केत गरिएको छ ।

    राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हालेका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास बिहार लोक भवनमा पुगेका थिए । त्यहीँ बिहारका राज्यपाल सैयद अता हसनैनले उनलाई मुख्यमन्त्री पदको शपथ दिलाए ।


    नितिश कुमारको राजीनामापछि चौधरी बिहारका पहिलो भाजपा मुख्यमन्त्री बनेका छन् । सन् २०२५ को विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले ऐतिहासिक जित दर्ता गरेपछि उनले रेकर्ड १०औँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए । यसले राज्य राजनीतिमा लामो समयसम्म उनको प्रभाव देखाएको थियो ।

    तर अब ५७ वर्षीय सम्राट चौधरीले उहाँको स्थान लिँदै बिहारको नेतृत्व सम्हालेका छन् । उनको उदयलाई केवल सत्ता परिवर्तनका रूपमा मात्र नभई बिहारको राजनीतिक युग परिवर्तनका रूपमा पनि हेरिएको छ, जहाँ नितिश कुमारको ‘सुशासन’ केन्द्रित शासन शैलीले लामो समय प्रभाव जमाएको थियो । सम्राट चौधरीको राजनीतिक यात्रा रोचक मानिन्छ ।

    राजनीतिमा प्रारम्भिक प्रवेश उनले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) बाट गरेका थिए । भने पछि सन् २०१८ मा उहाँ भाजपा प्रवेश गरेका हुन् । सन् २०२३ मा उहाँलाई भाजपा प्रदेश अध्यक्ष बनाइएको थियो र सन् २०२४ मा उनले बिहारको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।


    सन् १९६८ मा जन्मनुभएका चौधरी राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आएका हुन् । उनका पिता शकुनी चौधरी तारापुर निर्वाचन क्षेत्रबाट छ पटक विधायक निर्वाचित भएका थिए । आमा पार्वती देवीले सन् १९९८ मा तत्कालीन समता पार्टीबाट सोही क्षेत्र जितेका थिए । पहिले नितिश कुमारका कट्टर आलोचक रहनुभएका चौधरी सन् २०२४ मा भाजपा–जेडीयु गठबन्धन पुनः बनेपछि राजनीतिक रूपमा नयाँ भूमिकामा देखिएका थिए । सन् २०२२ मा उनले सार्वजनिक रूपमा नितिश कुमारलाई सत्ताबाट हटाएपछि मात्र आफ्नो प्रतीकात्मक ‘मुरेथा’ (पगडी) उतार्ने बताएका थिए । जसले उनको आक्रामक जनीतिक शैली झल्काउँथ्यो ।

    आजको शपथ ग्रहणअघि केन्द्रीय मन्त्री चिराग पासवानले चौधरीलाई भेटेर शुभकामना व्यक्त गरेका थिए । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै चौधरीको नेतृत्वमा बिहार विकास, सुशासन र समृद्धिको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका थिए । सम्राट चौधरीको नेतृत्वलाई ओबीसी समुदाय, विशेषगरी कोइरी÷कुशवाहा समूहबीच पार्टीको समर्थन विस्तार गर्ने रणनीतिक कदमका रूपमा पनि विश्लेषण गरिएको छ ।

  • बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने’

    बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने’

    लण्डन, ३ वैशाख (रासस–एएफपी) । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन् ।

    ‘आईटिभी न्यूज’ र ‘प्रेस एसोसिएसन न्यूज एजेन्सी’का अनुसार यो कटौती प्रसारण क्षेत्रमा एउटै संस्थाले लगभग १५ वर्षमा गर्न लागेको सबैभन्दा ठूलो कटौती हुनेछ। बीबीसीले भने कथित रूपमा बुधबार कर्मचारीहरूलाई घोषणा गरिएको भनिएको नियोजित जागिर कटौतीको पुष्टि भने गरेको छैन । कटौतीको पुष्टि गर्ने एएफपीको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिइएको छैन ।

  • ‘ह्विलचेयरले दियो खुसी’

    ‘ह्विलचेयरले दियो खुसी’

    महोत्तरी, ३ वैशाखः पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ । मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मङ्गलबार भुजेलले घुमफिर गर्न सहयोगी हुने ‘ह्विलचेयर’ पाएका छन् ।

    त्यसैले यसपालिको नयाँ वर्ष र जुडशीतल पर्व उनका लागि सम्झनलायक बनेको हो । लायन्स क्लब अफ बर्दिबास समाजले बस्तीमै पुगेर उनलाई ह्विलचेयर दिएको हो । “हातगोडा केही नचल्ने भएर तीन वर्षदेखि थला परेको थिए, अब भने यही ह्विलचेयरमा घर ओरपर डुल्न पाइने भएको छ । यो अवसरका लागि सहयोगी संस्था र व्यक्तित्वलाई आभार छ”, भुजेलले भने ।


    उक्त बस्तीमा भुजेलका अतिरिक्त १३ वर्षीय जनम दियाली र ३५ वर्षीय खुपबहादुर थापाले पनि सहयोग पाएका छन् । “दुर्घटनामा परेर दुवै गोडा काटिएपछि १५ वर्षदेखि कुँजिएर बसेको थिएँ, आफ्नै जीवन बोझजस्तै बनेको थियो”, ह्विलचेयर पाएपछि थापा भन्छन् । यसपटक भने नयाँ वर्षले आफ्नो जीवनमा नयाँ आशा ल्याएर आएको अनुभूति भएको छ । अब त ह्विलचेयरमा वरपर जान सहज भएको छ ।”

    दियाली त जन्मँदै अशक्त हुन् । उनी बोल्न पनि सक्दैनन् । ह्विलचेयर पाएपछि उनी पनि खुसी छिन् । हेर्दा सानो सहयोग भए पनि लायन्स क्लब अफ बर्दिबासले अशक्त जीवनमा निकै खुसी दिएको बर्दिबास–११ का वडाध्यक्ष गोपाल बल बताउँछन् । समाजका अध्यक्ष वैकुण्ठप्रसाद देवकोटाले लायन्स क्लब इन्टरनेसनल ३२५ ‘एफ’ को सहयोगमा ह्विलचेयर प्रदान गरिएको बताए । यसपटक छ वटा ह्विलचेयर सहयोग गरिएको उनले जानकारी दिए ।

  • दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

    दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

    म्याग्दी, ३ वैशाखः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर महेन्द्र बानियाँले बताए ।


    “ग्राभेलमाथि राखेको ‘प्राइमकोड’ सुुकेपछि अर्को चरणमा पनि बिटुमिन बिछ्याएपछि तेस्रो चरणमा बिटुनीमसँग चिप्स भुटेर सडकमा बिछ्याउँछौँ”, उनले भने, “छ किलोमिटर दूरीमा स्तरोन्नतिका लागि सञ्चालित आयोजना सम्पन्न हुुने चरणमा छ ।” यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । यस योजनामार्फत दुई लेनमा ९०० मिटर दूरीमा कालोपत्र गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न सञ्चालित आयोजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले बताए ।

    दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो । ठेकेदारले संरचना निर्माण, बेस र सबबेस बिछ्याएको छ । गौथली भिरलगायत अप्ठ्यारो ठाउँमा ढलान भएको छ । सडकलाई आठ मिटर फरालिको बनाउने, नाली र पर्खाल निर्माण गरिएको छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

    कालोपत्र हुुन थालेपछि ताकमवासी उत्साहित भएका धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताए । सडक चालु आर्थिक वर्षभित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको म्याग्दी १ (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए ।

    गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ । म्याग्दीको मङ्गला मालिका, धौलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताए । द्यौलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी, ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरा गत फागुन महिनामा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

  • जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

    जुम्ला, ३ वैशाखः जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा दुई हजार १६५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन भएको छ । यहाँ रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत विभिन्न जातका स्याउ फल्ने गरेका छन् ।

    यहाँ उच्च घनत्वका गाला र फुजी स्याउको पनि उत्पादन हुने गरेको छ । यस वर्ष मात्र जिल्लाबाट करिब १८ हजार २४५ मेट्रिक टन उत्पादन भएको विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउ खेतीमा आकर्षित भइरहेका छन् । जिल्लाका १९ हजार घरधुरीमध्ये करिब १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न रहेका कृषि विकास कार्यालयले जनाएको छ ।

    स्याउ बगैँचामा फूल फुलेर सेताम्मे

    हाल बगैँचामा स्याउ फुलेर सेताम्मे भएका छन् । ती फूलले यहाँको वातावरण निकै रमणीय देखिन थालेको चन्दननाथ नगरपालिका–५ मा रहेको आँखे कृषि पर्यटन अनुसन्धान उद्योगका सञ्चालक सरोज शाहीले बताए । “बगैँचाका स्याउ बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण निकै रमाइलो देखिएको छ । चैत–वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिकमा पाक्ने गरेको छ”, उनले भने ।
    शाहीले चन्दननाथ मन्दिरको जग्गा भाडामा लिएर तीन हजार ३०० इटालियन जातको फुजी स्याउ लगाएका छन् । बोटले फल दिन थालिसकेका छन् । राम्रो आम्दानी दिने भएकाले हाल जिल्लाभरि उक्त जातको स्याउ खेती फैलिएको उनको भनाइ छ ।

    हिमा गाउँपालिकाका कृषि उद्यमी गोपाल रोकायाले बगैँचामा बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको र कुनै समस्या नभए यसपटक राम्रो उत्पादन हुने विश्वास जागेको बताए । जिल्लाको एक नगरपालिकासहित सात पालिकाका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । हाल फूल फुलेर स्याउ बगैँचा सेताम्मे भए पनि कालो तुसारोले फूल झारेर समस्या हुने गरेको तिला गाउँपालिका–१ का किसान सरिता रावतले बताइन् ।

  • अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

    अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

    जेद्दाह, साउदी अरब, (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित दोस्रो चरणको सम्भावनाअघि चार दिने भ्रमणको शुरुवातमा बुधबार साउदी अरब पुगेका छन् । गत साता इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ। उनी साउदी अरबपछि कतार र टर्कीको भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ । पाकिस्तानी नेताले ‘क्षेत्रीय अवस्था’ बारे साउदी राजकुमार मोहम्मद बिन सलमानसँग छलफल गर्ने उनको कार्यालयले जनाएको छ ।

    पाकिस्तानको विदेश मन्त्रालयले यसअघि साउदी अरब र कतारको भ्रमण ‘द्विपक्षीय परिवेश’लाई ध्यानमा राख्दै हुन लागेको बताएको थियो । साउदी अरब र कतारपछि सरिफले अन्टाल्या कूटनीति मञ्चमा भाग लिर्ने पनि बताइएको छ। शरीफले अन्टाल्या फोरमको छेउछाउमा राष्ट्रपति रेसेप तैयप एर्दोगान र अन्य नेताहरूसँग द्विपक्षीय बैठकहरू गर्ने कार्यक्रम रहेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासमा इस्लामाबाद वार्ता एक कदम अगाडिको प्रगति हो । वार्ताबाट कुनै उपलब्धी नभएपनि दुई पक्षलाई संवादमा ल्याउन वार्ता पहल सफल भएको छ ।

    इरानले अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणको बदलामा साउदी अरब र कतारलगायत खाडीमा रहेका अमेरिकी सहयोगीलाई निशाना बनायो र उक्त क्षेत्रबाट ऊर्जा निर्यातमा अवरोध गर्यो, जसका कारण तेलको मूल्य अत्यधिक बढेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि कुनै सहमति नभए पनि वार्ता यसै हप्ता पाकिस्तानी राजधानीमा पुनः सुरु हुन सक्ने बताएका छन् । संयुक्त राज्य अमेरिकाले इरानको नौसैनिक नाकाबन्दीको आदेश दिए पनि अर्को हप्ता समाप्त हुने युद्धविराम जारी छ ।

    सरिफसँगै अमेरिका–इरान वार्ताका क्रममा मध्यस्थकर्ता रहेका विदेशमन्त्री इशाक दार र अन्य वरिष्ठ अधिकारीहरु पनि छलफलमा सहभागी हुने उहाँको कार्यालयले जनाएको छ । पाकिस्तान र साउदी अरबबीच घनिष्ठ सम्बन्ध छ र इस्लामाबादको अर्थ मन्त्रालयले बुधबार रियादले पाकिस्तानलाई आफ्नो विदेशी मुद्रा भण्डार बढाउन तीन अर्ब डलर उपलब्ध गराउने घोषणा गरेको छ । पाकिस्तानले रियादको सहयोगी बनेको संयुक्त अरब इमिरेट्सलाई अर्बौं ऋण फिर्ता गर्ने बताएको केही दिनपछि यो सहयोग आएको हो।

    साउदी अरबको विद्यमान पाँच अर्ब अमेरिकी डलर बराबरको निक्षेप पनि अनिर्दिष्ट अवधिका लागि विस्तार गरिने अर्थ मन्त्रालयले जनाएको छ । यसैबीच, सेना प्रमुख असिम मुनिरको नेतृत्वमा पाकिस्तानी प्रतिनिधिमण्डल इरान पुगेको छ भने उहाँलाई इरानी विदेशमन्त्री अब्बास अराघचीले स्वागत गरेका छन् ।
    इरानको सरकारी टेलिभिजनले यसअघि नै प्रतिनिधिमण्डलले वासिङ्टनको नयाँ सन्देश ल्याउने र दोस्रो चरणको वार्ताबारे छलफल गर्ने बताएको थियो।

  • आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

    आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

    काठमाडौँ, ३ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई रु २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।


    यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । उक्त मुद्दामा रु एक करोड ५६ लाख बराबरको बिगो दाबी गरिएको छ । प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई जनालाई रु एक करोड १६ लाख बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ ।

    उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । यसैगरी, काठमाडौँ महानगरपालिका २६ ठमेलबाट रु १७ करोड ७९ लाख ७० हजार ३७१ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

    यस्तै, एक महिनाको अवधिमा हराएका २७३ मानिसमध्ये १५९ जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । विविरणअनुसार साइबर अपराध तथा ठगीतर्फ कुल २६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङको नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन् ।

  • म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

    म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

    म्याग्दी, ३ वैशाखः म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय सूचीमध्ये २७ नम्बर बुँदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । “सरकारी सेवा घरमै उपलब्ध गराउने सरकारको नीतिअनुसार बुधबारदेखि काम सुरुआत गरेका छौँ,” उनले भने, “हुलाक कार्यालयमार्फत राहदानीलाई घरमै पुुगेर उपलब्ध गराउन कामलाई निरन्तर जारी राख्ने छौँ ।”

    पहिलो दिन बेनी नगरपालिका–२ का चार र वडा नम्बर ६ का दुई जनालाई घरै पुुगेर राहदानी उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । बेनी नगरपालिका–२, ज्यामरुककोटको बिमिराबोटका सरस्वती घिमिरे थापाको घरमा पुगेर प्रजिअ आचार्य, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापा र वडाध्यक्ष यामबहादुर कार्कीले राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरे । यस्तै, कृषा थापा क्षेत्री, सरस्वती घिमिरे थापा, कियान थापा क्षेत्री र करिस्मा थापा क्षेत्रीले आफ्नै आँगनमा राहदानी प्राप्त गरे । यसअघि राहदानी लिन सदरमुकाम बेनीसम्म धाउनुपर्ने बाध्यता रहेकामा अब घरमै कागजात प्राप्त हुने भएपछि सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास गरिएको छ ।

    घरमै राहदानी प्राप्त गरेपछि सेवाग्राहीहरू निकै खुसी भएका थिए । सेवाग्राही सरस्वतीले भनिन् । “पहिले राहदानी लिन बेनी जाँदा दिनभरको समय र गाडीभाडा खर्च हुन्थ्यो । अब घरमै सेवा पुगेपछि दुवै समस्याबाट मुक्ति मिलेको छ । सरकारप्रति भरोसा जागेको छ । यो सेवाले सरकारी सेवा प्रवाहलाई अझ सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरेका छौँ ।”

  • एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

    एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

    काठमाडौँ, ३ वैशाखः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ । खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानमा विभागले स्थलगत अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको जनाएको हो ।

    विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बुधबार एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुमगन गरी सुधारात्मक निर्देशन दिइएको छ । दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री बिक्री–वितरण गर्ने व्यावसायिक फर्म, पसलले बिल बीजक दिए–नदिएको, उपभोक्ताले देख्ने गरी मूल्यसूची राखेनरराखेको, कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य क्रियाकलाप गरे–नगरेको विषयमा जानकारी लिएको छ ।” उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको उपस्थितिमा अनुगमन गरिएको विभागले जनाएको छ ।

  • कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

    गोरखा, ३ वैशाखः तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छिन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले बताइन् । श्रेष्ठ यसअघि विसं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । दुई हप्ताको छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा उनको नामअङ्कित भएको थियो ।

    तेह्र दिनभित्रै तीनपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अङ्कित गरिएको उनले जानकारी दिइन् । “पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ”, श्रेष्ठले भनिन् । उनले आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु हिमाल पटक पटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसकेकी छिन् । आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका–९ आरुटार निवासी हुन् ।

  • सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

    काठमाडौँ, ३ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल÷मट्टीतेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर रु २५६ पुगेको छ ।

    अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको र इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार हिसाब गर्दा अझै अत्यधिक घाटा रहेको निगमको दाबी छ । लागत मूल्य बढी र बिक्री मूल्य कम भएकाले मूल्य समायोजन गर्दासमेत पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ३२ पैसा, डिजलमा प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा, मट्टीतेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा कायम रहेको निगमले जनाएको छ । पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड ६१ लाख बराबरको घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

  • कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

    कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

    कर्णाली, ३ वैशाखः प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरे ।

    योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले आफ्नो प्रस्तुति राख्दै कर्णाली प्राकृतिक तथा आध्यात्मिक हिसाबले आरोग्य हबका रूपमा विकास गर्न सकिने आधार बलियो रहेको बता्ए । उनले भने, “जडीबुटी अर्थात् प्राकृतिक स्रोत, लोक चिकित्सा, योग ध्यान, सामुदायिक जीवन, पर्यावरणीय पक्ष, वैदिक पद्धति, आयुर्वेदक\प्राकृतिक चिकित्सा (सोवा रिग्पा) र खानपान तथा जीवनशैली आरोग्य हब बनाउन सकिने बलिया आठ आधार हुन् । यसका लागि कर्णालीलाई योग ध्यान आरोग्य केन्द्रित गन्तव्य बनाउने, परम्परागत र आधुनिक प्रणालीको समन्वय, स्थानीय स्रोत, संस्कृति र प्रकृतिमा आधारित विकास, दिगो पर्यटन र समग्र आरोग्यतामा योगदान पुर्याउनुपर्दछ ।”

    युवा वैज्ञानिक राजेन्द्र विष्टले जडीबुटी र लोक उपचार पद्धतिमार्फत समृद्धिको आधार तयार गरी कर्णालीलाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने कार्यपत्र प्रस्तुत गरे । जडीबुटी केवल उपचार मात्र नभई मानिसलाई प्रकृतिसँग जोड्ने जीवन दर्शन भएको बताउँदै उनले योग ध्यान, जडीबुटी उपचार, अध्यात्मिक अभ्यास, स्वच्छ हावा, शान्त वातावरण, जैविक खानपानले पर्यटकलाई अद्वितीय अनुभव प्रदान गर्न सक्ने भएकाले यसलाई आरोग्य पर्यटनका रूपमा विकास गर्नुपर्ने सुझाव दिए ।


    वैज्ञानिक विष्टले भने, “कर्णालीका जडीबुटी, लोक उपचार र सोवा–रिक्पा भविष्यका सम्भावनाका स्रोत हुन् । परम्परागत ज्ञान र आधुनिक प्रविधिको समन्वयबाट दिगो विकास गर्न सकिन्छ । तसर्थ, कर्णाली केवल जडीबुटीको भण्डार मात्र होइन, नेपालको हरित अर्थतन्त्र (ग्रिन इकोनोमी) निर्माण गर्ने आधार भूमि हो । यसमा तीनै तहका सरकार र सम्बन्धित सरोकार भएकाहरूको समन्वय र सहकार्य दुवै आवश्यक छ ।”

    कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कार्यक्रममा प्रस्तुत सुझावका आधारमा नीति, योजना र कार्यक्रम निर्माण गरेर अगाडि बढ्ने बताए । उनले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीको धार्मिक पर्यटकीय सडक निर्माणमा पहल गरिने जनाए ।

    मन्त्रालयका सचिव धोलकराज ढकालले आरोग्यताका सन्दर्भमा धेरै कुराको जानकारी भएको र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नीतिसहित कार्यक्रम तथा बजेट तर्जुमा गर्न ध्यान दिने बताए । कर्णालीलाई ‘अग्र्यानिक’ प्रदेश बनाउने गरी यसअघि पनि नीति तथा कार्यक्रम ल्याइएको बताउँदै उनले अब आरोग्यको केन्द्र बनाउने गरी थप नीति अगाडि सारिने धारणा राखे ।


    अन्तरक्रिया कार्यक्रममा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राजयोग प्रतिष्ठान केन्द्र सुर्खेतका ब्रह्माकुमारी विष्णु, विश्व हिन्दू महासङ्घका परमानन्द रेग्मी, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सस्नेस (स्कुन)का शक्ति विक, सत्य साई केन्द्रका कृष्णमाया पोखरेल र महायोगी शिद्धबाबा अध्यात्मिक प्रतिष्ठानका केन्द्रीय सदस्य ललित भट्टराईले प्रकृति, अध्यात्म, पुरातत्व, संस्कृति, सभ्यता र धर्मको जननी कर्णालीमा सबैलाई आकर्षण गर्ने नीति र कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिए ।

  • दश इन्च लामो सियोले जिब्रो छेडेर जात्रामा सहभागी भए सुजन

    दश इन्च लामो सियोले जिब्रो छेडेर जात्रामा सहभागी भए सुजन

    रमेश गिरी–रासस
    भक्तपुर, २ वैशाखः आज बिहानैदेखि सर्वसाधारण मध्यपुरथिमिमा सिन्दूर खेल्दै देवीदेवताका खट जात्रा गर्दै बिस्का जात्रा मनाइरहेका थिए । तर मध्याह्नदेखि भने बोडे क्षेत्रमा भीड बढ्न थाल्यो । केहीक्षणमै बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासमा सर्वसाधारण खचाखच हुन थाल्यो । बिस्केट जात्राका अवसरमा हरेक वर्षको वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न १२ बजेसम्म भीड लागिसकेको थियो ।

    दिउँसो २ः३० बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिसहरू हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो । बीचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै आइपुगे, २९ वर्षीय सुजन वाग श्रेष्ठ ।


    त्यसपछि बोडेका स्थानीय वासिन्दाले जयजयकार गरे । पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि यसअघि १२ पटक जिब्रो छेडाइसकेका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाहरू, मञ्चमा उक्लिए । जिब्रो छेड्न तयार सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झँदै धूप बत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि दिउँसो ठीक ३ बजे सुजनको जिब्रो छेडिदिए ।

    उनले जिब्रो छेड्दा आँखा चिम्म गरे पनि हजारौँको होहल्लामा उत्साहित हुँदै सबैतिर फर्केर हात हल्लाए । हात हल्लाएर नमस्कार गर्दा जयजयकारको आवाज सुनियो । जुन कुनै चर्चित सेलिब्रेटी देख्दा दर्शकले गरेको हुटिङ भन्दा कम थिएन ।

    त्यसपछि सबैलाई नमस्कार र अभिवादन गर्दै चन्द्राँकारको भ्वाय्अर्थात् महाद्वीप बोकेर निस्किनुभयो सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाइदेखि स्थानीय दिलकृष्ण प्रजापतिसमेतले चौथो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गरिरहे । महाद्वीप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवीदेवताका मन्दिरको परिक्रमा गरे ।

    त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पु¥याइयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्वीपलाई मन्दिर बाहिर राखेर सुजनभित्र प्रवेश गरेपछि जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो । हजारौँको भीड विस्तारै तितरवितर भयो ।

    जिब्रो छेडाएपछि सुजनले भने, “बुबाले जिब्रो छेडाउँदा प्रायः म सधैँ सँगै हुन्थे, उनले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो त्यही भएर आँट आयो, सबैले जयजयकार गरेको देख्दा निकै रहर लाग्थ्यो, रहर पूरा गरेँ । यस वर्ष पनि जात्रालाई निरन्तरता दिन चौथो पटक जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे देश घुम्न पाउँदा खुसी छु ।”

    चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लगाउने चलन छ । माटो लगाएपछि जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गर्नुपर्छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएपछि घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहेको यसअघि नौ पटक जिब्रो छेडाउनुभएका बुद्धकृष्ण बताउँछन् ।


    किम्वदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिएर बलेको महाद्वीप काठको गह्रुँगो भारी बोकाएर बोडे घुमाए ।

    कष्ट सहन नसकी पिशाचले आफूलाई छाडिदिए जुनसुकै वाचा पुरा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किम्वदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

    तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उनी भन्छन्, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिशाच कोही नभई नील बाराहीका देव गण हुन् । जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने उनी बताउँछन् । जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षस होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरुरी रहेको उनले बताए ।

  • अब जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

    अब जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

    काठमाडौँ, २ वैशाखः राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।
    अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ । तथ्याङ्क एकीकरणपछि जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुनेछन् ।

    पछिल्लो समय सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिइरहेको छ । जसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फतै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । त्यस्तै, नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी परिषद्बाट जारी हुने व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने प्रक्रियासमेत अघि बढाइएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने र ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो । तर सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले तोकिएको अवधिभन्दाअगावै यी कामहरू सकिसक्न विभागलाई निर्देशन दिनुभएको छ । यस पहललाई अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाले विशेष चासो देखाउँदै नागरिक एपमा थप सेवा एकीकृत गर्नसमेत निर्देशन दिनुभएको छ । सोही निर्देशनअनुसार विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास तथा परिमार्जनको काम भइरहेको जनाएको छ ।

    सार्वजनिक सेवामा पारदर्शिता, सहजता र डिजिटल पहुँच विस्तार गर्ने लक्ष्यसहित मन्त्रिपरिषद्को बैठकबाट यहि चैत १३ गते स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ मा पनि यो विषय उल्लेख भएको थियो । नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र ९पुलिस क्लियरेन्स रिपोर्ट० डाउनलोड गर्न सकिने सुविधा भने हाल सञ्चालनमा आइसकेको छ । नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको उद्देश्य अझ सशक्त हुने अपेक्षा गरिएको छ ।

    डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस कदमले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिने विश्वास गरिएको छ भने सरकारी सेवा प्रवाहलाई पनि थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

  • इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

    इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

    काठमाडौँ, २ वैशाखः पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् । गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा परेका उनी आज रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा छन् । नेपाली अधिकारीको टोली उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको मन्त्री खनालले उल्लेख गरेका छन् ।

  • १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

    १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

    रासस
    काठमाडौँ, २ वैशाख । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो । “सबैजसो इन्टरनेट सेवा प्रदायकले हालसम्म १० हजारभन्दा बढी यस्ता एप र वेबसाइट बन्द गरिसकेको जानकारी गराएका छन् । नेपाल टेलिकमले सबैभन्दा धेरै २१ हजारभन्दा बढीको सङ्ख्यामा बन्द गरेको छ, यस्ता एप र वेभसाइट निरन्तर पहिचान गर्ने र बन्द गर्ने क्रम चलिरहेको छ”, लामिछानेले रासससँग भने ।


    सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यस्तो कदम चालेको हो । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ ।

    सोही निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते मन्त्रीस्तरबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो । उक्त निर्देशनपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको जनाएको छ ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा ९४० अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन नपाइने व्यवस्था छ । उक्त प्रावधान उल्लङ्घन गरेमा सोही दफाको उपदफा ९६० अनुसार प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

    त्यसैगरी, विज्ञापन ९नियमन गर्ने० ऐन, २०६६ ले समेत जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिठ्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा प्रचलित कानुनअनुसार सजाय हुने र अन्यथा एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

    सरकारले नेपालभर सञ्चालनमा रहेका सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न तथा सञ्चालन नगर्न आग्रह गरेको छ । साथै, कसैले अनधिकृत रूपमा यस्ता गतिविधि सञ्चालन वा प्रयोग गरेको पाइएमा सम्बन्धित निकायबाट कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ । प्राधिकरणले नागरिकलाई सचेत रहन, यस्ता अवैध डिजिटल गतिविधिबाट टाढा रहन तथा कुनै पनि शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ ।

  • सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

    काठमाडौँ, २ वैशाख । सरकारले २०६२–६३ सालदेखि २०८२–८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ–छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो ।

    आयोगका सदस्यहरूमा पूर्वन्यायाधीशहरू चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन् । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गत चैत १३ गते १५ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुदाँमा यसबारे उल्लेख गरिएको छ ।

    उक्त बुँदामा देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्र्तगत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख छ । छानबिन प्रक्रियालाई कानूनी मापदण्ड, प्रमाणमा आधारित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने तथा आयोगले पेस गरेको प्रतिवेदन तथा सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

  • परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

    काठमाडौँ, २ वैशाखः परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेको अवगत गराएका थिए ।

  • कांग्रेसले पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण

    कांग्रेसले पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण

    काठमाडौँ, २ वैशाख : नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत ३० गते विधान विपरित काम गरेको भन्दै सो कारबाही गरेको जनाएको छ ।

    समितिले नेता खड्काले यसअघि चैत १४ गते पनि पार्टीको लेटरप्याडमार्फत वक्तव्य जारी गरेको भन्दै सचेत गराउने निर्णय गरेको थियो । यसैगरी समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको विधानविपरित अनुशासन उल्लङ्घन गरेका व्यक्ति उपर उजुरी दिने अवधि थप गरी यही वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

  • राष्ट्रिय आर्थिक गणना सुरु

    राष्ट्रिय आर्थिक गणना सुरु

    काठमाडौँ, २ वैशाखः देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेर तथ्याङ्क सङ्कलन थालेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । उक्त कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरेर चार हजार ४३३ जना तालिमप्राप्त गणक तथा सुपरीवेक्षक आगामी असार ७ गतेसम्म तथ्याङ्क सङ्कलनमा परिचालन हुने जानकारी दिएको हो ।

    उक्त कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार उद्योग, व्यापार, सेवा, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको सङ्ख्या, वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने छ । अन्तररराष्ट्रिय औद्योगिक वर्गीकरणअनुसार अर्थतन्त्रका २१ मध्ये १८ क्षेत्रमा आधारित आर्थिक क्रियाकलापलाई गणनामा समेटिएको छ । गणनामा दर्ता भएका तथा नभएका साना–ठूला व्यवसाय, गैरसरकारी संस्था, विद्यालय, अस्पताललगायत आर्थिक गतिविधिमा संलग्न एकाइहरूमा समावेश छन् भने कूटनीतिक नियोग, सुरक्षा निकाय तथा घरायसी क्रियाकलापलाई गणनामा समावेश गरिएको छैन ।

    “गणनालाई सफल बनाउन केन्द्रदेखि स्थानीय तहसम्म समन्वय समितिहरू गठन गरिएका छन् । साथै, स्थानीय तह र वडा कार्यालयसँग सहकार्य, उद्योग व्यवसायसँग सम्झौता तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिएको कार्यालयले जनाएको छ ।

    रेडियो, टेलिभिजन तथा डिजिटल माध्यमबाट जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालनमा छन्”, प्रवक्ता लामिछानेले भने, “प्राविधिक रूपमा गणनालाई सुदृढ बनाउन अनलाइन ‘इ–सेन्सस’ प्लेटफर्म सञ्चालनमा ल्याइएको छ भने भौगोलिक सूचना प्रणाली (जिआइएस)मार्फत गणना क्षेत्र पहिचान गरिएको छ ।” साथै उनले उद्यमी, व्यवसायी, सेवा प्रदायक तथा सङ्घसंस्थालाई सत्य, पूर्ण र विश्वसनीय विवरण उपलब्ध गराउन आग्रह गरे । सङ्कलित सबै विवरण तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिने छ ।