Author: Vishwanews.com

  • वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु

    वीरगन्ज (पर्सा), ६ वैशाखः सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको हो । सडक डिभिजन हेटौँडा कार्यालयले अब बिहान पाँच बजेदेखि करिब एक दर्जन एक्जाभेटर लगाएर अतिक्रमित संरचना हटाउन थालेको र समग्रमा करिब एक हजार २०० घरटहरा भत्काइने जनाइएको छ ।

    कार्यालयका इन्जिनियर भोला साहले सर्वोच्च अदालतको फैसला र सङ्घीय सरकारको निर्देशनअनुसार नै अतिक्रमित संरचना भत्काउन सुरु गरिएको जानकारी दिए । “मापदण्ड विपरितका घर टहरा भत्काउन पटक–पटक सूचना जारी गरेको थियौँ, तर अटेर गरेपछि एक्जाभेटर लगाएर भत्काउन थालेका हौँ”, उनले भने, “यसले सडक विस्तार अभियानलाई अघि बढाउन सहज हुनेछ ।”

    वीरगञ्जको मुख्य सडकमा घरटहरा रहेका घरधनी, व्यापारी तथा व्यवसायीले भने स्थानीय प्रशासनले १२ घण्टाभन्दा छोटो सूचना दिएर घरखाली गर्न निर्देशन दिँदा समस्या भएको गुनासो गरेका छन् । यहाँको घण्टाघरमा घर रहेका घरधनी कन्हैयालाल केशरीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नका लागि भत्काउने विषयमा कुनै पनि गुनासो नभए पनि पर्याप्त समय नदिएकाले समस्या भएको गुनासो गरे । “घर तथा पसल खाली गर्नका लागि कम्तीमा एक साताको समय दिएको भए आफूहरूले स्वस्फूर्त सरसमान हटाउने मौका पाउने थियौँ”, उनले भने ।


    वीरगञ्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले आइतबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको कडा सुरक्षा निगरानीमा अतिक्रमित संरचना भत्काइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साझ सूचना जारी गर्दै आज बिहान ४ः३० बजेभित्र गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन निर्देशन दिएको थियो । बिहानैदेखि मुख्य सडक खण्डमा संरचना भत्काइएपछि आज दिउँसो १२ः३० बजेसम्म यहाँ बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

  • क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    काठमाडौँ, ६ वैशाख । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको छ । ‘क्रुड’ आयल (कच्चा तेल) को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको निगमले जनाएको छ । नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

    “क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वभाविक रूपमा बढी हुन्छ, त्यसैले मूल्य तुलना गर्दा क्रुड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तरराष्ट्रिय मूल्य हेर्नुपर्छ”, निगमका प्रवक्ता मनोज ठाकुरले रासससँग भने । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । आइओसीबाट प्राप्त प्रशोधित पेट्रोल र डिजेलको खरिद मूल्यका आधारमा नेपालमा प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजन हुँदै आएको छ ।

    निगमले उपलब्ध गराएको तथ्याङ्कअनुसार १६ अप्रिल २०२६ मा क्रुड आयलको मूल्य प्रतिब्यारेल ९९.६ अमेरिकी डलर, पेट्रोल १३९.३ डलर र डिजेल २२८.१ डलर थियो । यस अवधिमा सबैभन्दा उच्च मूल्य २ अप्रिल २०२६ मा पुगेको थियो, जहाँ क्रुड आयल ११८.३ डलर, पेट्रोल २६२.० डलर र डिजेल ३३४.४ डलर प्रति ब्यारेल पुगेको देखिन्छ ।

    सामान्य अवस्थामा क्रुड आयल र पेट्रोलबीच करिब १० डलर तथा क्रुड आयल र डिजेलबीच करिब २० डलरको अन्तर रहने भए पनि पछिल्लो अन्तरराष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ । निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्नेछ ।

    निगमले यही वैशाख ३ गतेदेखि नेपालमा डिजेल÷मट्टितेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरेको थियो । निगमले डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु २३६ र तेस्रो वर्गका लागि रु २३७ तोकेको छ । मूल्य वृद्धिपश्चात् पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको निगमले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा दैनिक बढोत्तरी आउँदा १५ दिनमा करिब रु पाँच अर्ब ७५ करोड घाटा हुने प्रवक्ता ठाकुरले जानकारी दिए ।

  • हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

    सिरहा, ६ वैशाखः जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा लगाइएको आँपमा यस वर्ष मञ्जर निकै राम्रो लागेको थियो, तर रोगको जोखिमले गर्दा अहिले रुखहरूमा करिब १० प्रतिशत मात्र फल बाँकी रहेको छ ।

    केन्द्रका सूचना अधिकृत सुदीप खनालले भने, “सिरहाको करिब नौ हजार २५ हेक्टर क्षेत्रफलमा गरिएको आँपखेतीबाट यसपटक उल्लेख्य उत्पादनको अपेक्षा थियो । तर रोगका कारण मञ्जर र टिकुला झर्ने क्रम नरोकिँदा उत्पादनमा ठूलो ह्रास आउने देखिएको छ ।” उनका अनुसार गत वर्ष जिल्लामा ५९ हजार ८८६ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ ।

    लहान नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइका अनुसार किसानले ‘इमिडाक्लोप्रिड’जस्ता विषादी प्रयोग गरे तापनि प्रकोप नियन्त्रण बाहिर गएको थियो । मञ्जर लाग्ने समयमा भएको वर्षा र अत्यधिक हावाहुरीले समस्या झनै बल्झाएको प्राविधिकहरूको ठहर छ । आँपखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका किसानहरू यतिबेला निकै निराश छन् । लहान–२४ का किसान प्रमोद यादवले भने, “हामीलाई रोग नियन्त्रणका लागि आवश्यक ज्ञान र सीपको अभाव छ । सरकारले समयमै सचेतनामूलक कार्यक्रम र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ ।”

    त्यस्तै, गए रातिको हावाहुरीले बाँकी रहेका टिकुलाहरू पनि झारिदिएपछि लगानी नै नउठ्ने अवस्था आएको लहान–२२ का किसान रामवृक्ष यादवले बताए । उनले दुखेसो पोख्दै भने, “विषादी र मलजलमा निकै खर्च भयो, तर अहिले रुखमा टिकुला नै छैनन् । आम्दानी हुने बेला रोगको प्रकोप त एकातिर छँदैछ, अर्कोतर्फ बेस्सरी आएको हावाहुरीले आँपका अडिएका चिचिला नै झरेपछि यसपालि लगानी पनि नउठ्ने डर भयो ।” रोगको क्षतिलाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्रले आगामी वर्षहरूमा मञ्जर लाग्नुअगावै सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

  • यसरी फेरिदैछ रुपाको रुप

    यसरी फेरिदैछ रुपाको रुप

    वासुदेव पौडेल / रासस

    गण्डकी, ६ वैशाखः अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ । यसका लागि जलस्रोत तथा सिँचाइ विभागले गुरुयोजना कार्यान्वयलाई पहिलो प्राथमितामा राख्दै अहोरात्र एकसाथ विभिन्न काम गरिरहेको छ ।

    विभागमा महानिर्देशक महानिर्देशक ई मित्र बरालले जलस्रोत संरक्षण कार्यक्रम अन्तर्गत विभागले रुपाताल संरक्षणमा गुरुयोजना कार्यान्वयन गरिराखेको जानकारी दिए । उनले भने, “पर्यावणीय संरक्षण, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले काम भइराखेको छ ।”

    अहिले जारी काम सम्पन्न भएसँगै दिनमा पटकपटक रुप फेरिनै भएका कारण रुपाताल नामकरण गरिएको रुपातालको समग्र रुप नै फेरिने लागेको छ ।
    सात तालको बगैँचा सिमसार सूचीमा सूचीकृत तालहरूमध्येको एक रुपातालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको सफलतासँगै यसको समग्र रुप फेरिने अवस्थामा पुगेको हो । यसअघि रुपाताल संरक्षण एकीकृत विकास परियोजना नाममा रहेको यो परियोजना अहिले भने सिँचाइ तथा जलस्रोत व्यस्थापन आयोजनाअन्तर्गत छ ।

    रुपाकोट, हंसपुरको सिरान र माझठाना साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्न थालेपछि गुरुयोजनासहित संरक्षणका कामहरू थालिएको हो । आयोजनाका लागि विस्तृत योजना प्रतिवेदन तयार गरी त्यसअनुरुप काम निरन्तर अघि बढिरहेको जलस्रोत तथा सिँचाइ विभाग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, पोखराका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए ।


    उनले अनुुसार परियोजना सम्पन्न भएसँगै रुपा तालको स्वरुप नै परिवर्तन हुनेछ । २०७५÷०७६ देखि काम थालिएको थियो । चरणबद्ध अघि बढ्ने आयोजनाको रु चार अर्ब ५२ करोड लागत रहेकामा हालसम्म दुई अर्ब ७० करोडको काम गरिएको छ । स्वीकृत गुरुयोजनाअनुुसार यो आयोजना २०८५\०८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल १२२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल हालको निर्माणाधीन बाँध सम्पन्न भएसँगै क्षेत्रफल बढेर १८३ हेक्टर क्षेत्रफल हुनेछ । परियोजनाअन्तर्गत बाँध निर्माण ठेक्का सम्झौता भएर काम अघि बढिसकेको छ । बाँध निर्माणका लागि कूल रु २९ करोडको ठेक्का सम्झौता भएकोमा कालिका नयाँ बाटो जेभिले निर्माण गरिरहेको छ ।

    बाँध निर्माण कार्य २०८३ भदौ २३ सम्म सक्ने समयावधि निर्धारण गरिएको छ । निर्माण सम्झौता अनुसार तालमा ५९० मिटर माटाको बाँध रहनेछ भने ४५ मिटर कङ्क्रिट बाँध रहनेछ । बाँध निर्माणको काम ७० प्रतिशत सकिएको आयोजना प्रमुले श्रेष्ठले जानकारी दिए । बाँध निर्माण कार्य सकिएसँगै हाल रहेको तालको गहिराइ तीन मिटरबाट बढेर सात मिटर हुनेछ । यस आयोजनाअन्तर्गत रुपातालको बायाँतर्फ ७.८ किलोमिटर पक्की सडक गत आर्थिक वर्षमा नै सम्पन्न भइसकेको छ ।

    त्यस्तै परियोजनाअन्तर्गत नै हालको लम्बाइ दुई किलोमिटर रहेको ताल फैलिएर ३.६ किलोमिटर हुनेछ । तालमा रहेको आठ लाख घनमिटर माटो निकालेर त्यसलाई व्यवस्थित गर्नै काम भइरहेको छ । यसका लागि रु ४० करोड विनियोजन भई काम भइरहेको र सम्झौताअनुसार आगामी फागुन २० सम्म सक्ने लक्ष्य राखिएको छ । यसको निर्माण कार्य उमा एण्ड कम्पनीमार्फत भइरहेको छ । आयोजनाअन्तर्गत नै तालको बीचमा टापु बनाएर त्यहाँ मन्दिर बनाउने योजना छ । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइमा रहने उक्त टापुमा आकर्षक मन्दिर बनाउन लागिएको हो । त्यस्तै तालको दायाँ किनारामा पाँच किलोमिटर दूरीको इको ट्रेल निर्माण गरिनेछ ।

    बाँकी काम गर्नका लागि ३१७ रुख काट्नुपर्नेछ । यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन पनि भइसकेको छ । त्यस्तै भोगाधिकारका लागि एक हेक्टर जग्गा लिन बाँकी छ । वातावारणीय प्रभाव मूल्याङ्कन (इआइए) अनुुसार ३१७ रुख काट्न स्वीकृति भए पनि फिल्ड भेरिफिकेशन गर्दा १२८ वटा मात्रै रुख हटाउनुुपर्ने देखिएको जानकारी दिँदै श्रेष्ठले १० प्रतिशत तलमाथि भएमा पुनः पुरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएकोले त्यसका लागि वनबाट स्वीकृति आउनुुपर्ने प्रावधान रहेको उनले जानकारी दिए ।

    आयोजनाकै लागि एक हजार २०० रोपनी अधिग्रहण गर्नुुपर्नेमा यसअघि ९११ रोपनी अधिग्रहण भइसकेको छ । त्यसका लागि रु एक अर्ब रुपमा मुआब्जा वितरण गरिसकिएको आयोजनाले जनाएको छ । बाँकी थप १२६ रोपनी अधिग्रहण गर्नुपनेर््मा त्यसका लागि नयाँ दररेट कायम हुनुपर्ने भए पनि जिल्ला दररेट कायम भइनसकेको कारण उक्त कार्य पनि प्रभावित बनेको छ । यी सबै काम सम्पन्न भएसँगै तालको क्षेत्रफलसँगै थप चार मिटर गहिराइ पनि बढ्ने जनाइएको छ ।

    रुपातालको एकीकृत विकास आयोजनासँगै सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गण्डकी प्रदेश भित्रका विभिन्न ५० भन्दा बढी आयोजना हेदै आएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । हालै सिँचाइ दिवस एवं ७३ औँ वार्षिकोत्सवका अवसरमा आयोजनाबाट सम्पादित कार्यप्रगति एवं समुदायमा पु¥याएको समग्र प्रभाव मूल्याङ्कनका आधारमा उत्कृष्ट आयोजनाका रुपमा पुरस्कृत समेत भएको उनले बताए ।


    सूर्यको किरणसँगै रुपातालमा पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको यहाँका बूढापाकाको तर्क छ । पछिल्ला वर्षमा सौन्दर्य ह्रासका अतिरिक्त बढ्दो अतिक्रमणले तालको आकार पनि खुम्चँदै गएका अवस्थामा परियोजना सम्पन्न भएसँगै यसले तालको संरक्षण हुने विश्वास लिइएको छ ।

    विगतमा अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्दै आइएको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौँ पर्यटक रुपाताल पुग्ने गरेका छन् ।

    सार्वजनिक बिदाका दिनका साथै अधिकांश शनिबारका दिन रुपाताल किनारमा माछा खान जानेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । प्रेमी–पे्रमिकाको भेटघाटका लागि पनि पछिल्लो समयमा आकर्षणको केन्द्र बन्दै गएको यो तालमा स्विमिङ र फिसिङका लागि पनि पर्यटक पुग्ने गरेका छन् । आयोजनाका लक्षित कामहरूले समग्र तालको रुपमा परिवर्तन आउने उनले बताए ।

    मोती उत्पादनको परीक्षण

    रुपा तालमा मोती उत्पादनको परीक्षण पनि थालिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोती उत्पादनका लागि परीक्षण बढाइएको सहकारीका अध्यक्ष थापाले जानकारी द्रिए । मोती उत्पादन परीक्षण समफल भएमा यस ताललाई मोती उत्पादनका माध्यमबाट पनि उपयोग गर्न सकिने उनको भनाइ छ ।

    तालमाथि झोलुुङ्गे पुल

    रुपाताल किनारका जङ्गललाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । प्राणी उद्यान केन्द्र पर्यटकका लागि आकर्षक गन्तव्य बनिरहेको केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिनानाथ ढकालले जानकारी दिए । आयोजना अन्तर्गत ताल किनारमा बनाउने भनिएको फुट ट्रयाकले यहाँको सौन्दर्यतालाई अझै उजागर गर्ने उनको भनाइ छ । केन्द्रमा अवलोकन गर्न आउने पर्यटकले रुपातालको मनोरम दृश्यसँगै यहाँ राखिएका चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।

    उहाँका अनुुसार रुपाताल आसपासका क्षेत्रको जङ्गलमा ३६१ प्रजातिका वनस्पति, १७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् । यस क्षेत्रमा एकसय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छ ।

    रुपामाथि राखिएको झोलुङ्गे पुल यहाँको अर्को आकर्षण हो । दुई सय ६९ मिटर लामो पुल तालमाथि बनेपछि यो पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पोखरा महानगरपालिका–३१ र रुपा गाउँपालिका–६ जोड्ने गरी पुल निर्माण गरिएको हो । पछिल्ला समयमा तालमाथिको झोलुङ्गे पुल हेर्न र टिकटक तथा भिडियो बनाउन आउने क्रम पनि बढीरहेको छ ।

    रुपातालमा सञ्चालत आयोजनाका काम सबै सम्पन्न भएसँगै यसको रुपमा नै आमूल परिवर्तन आउने ढकालले बताए । तालको रुपमा परिवर्तनसँगै रुपाताल यस क्षेत्रकै विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास हुने उनले बताए ।

    चरा पर्यटन गन्तव्य

    रुपाताल चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । यस तालमा धेरै प्रजातिका विदेशी चरा चीन, साइबेरियालगायतका देशबाट आउने गरेका छन् । विशेषगरी हिउँदको समयमा साइबेरियालगायत स्थानबाट विभिन्न प्रजातिका चराहरु रुपातालमा आउने गरेको पोखरा पन्छी समाजका निवर्तमान अध्यक्ष मनशान्त घिमिरेले बताए । रुपातालसहित लेखनाथका तालहरू चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्यका रुपमा रहेको उनको भनाइ छ ।

  • पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

    पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

    काठमाडौँ, ६ वैशाखः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माटाको नयाँ मूर्ति बनाउने काम भइरहेको छ । हरेक १२र१२ वर्षमा मन्दिरको कलेवर फेर्ने गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिए ।

    वैशाख १८ गतेसम्म कलेवर फेरी सक्ने गरी काम भइरहेको उनले बताए । जयवागेश्वरीमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको छ । यसैले यहाँको मूर्तिमा सूँढ छैन । कलिगत संवत् ३२३२ मा सुरु भएर ४७ वर्षपछि ३२७४ मा जयवागेश्वरीको निर्माण सम्पन्न भएको इतिहास छ । विसं १९९० को भूकम्पले क्षति पुगेको मन्दिर त्यसबेला जीर्णोद्वार गरिएको थियो । यस्तै, विसं २०७२ वैशाख १२ को भूकम्पमा धेरै क्षति भएपछि मन्दिर पुनःनिर्माण गरिएको थियो ।

    जयवागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मी मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ । तन्त्र साधना गर्नेले अन्तिममा जयवागेश्वरी मै आएर पूजा गर्ने परम्परा छ । मन्दिरसँगै सुन्धारा पनि स्थापना भएकामा हाल यसको अस्तित्व लोप हुने अवस्थामा पुगेको छ । जयवागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ ।

    जयवागेश्वरी उपत्यकाको पुरानो राजधानी मानिन्छ । स्थानीयवासी सन्देश मुनिकार ‘गोल’ भनिने जयवागेश्वरी उपत्यकाकै पहिलो बस्ती भएको बताउँछन् । यस बस्तीमा नौथरी जात, नौ पोखरी, नौ पाटी र नौ ढोकालगायत संरचना रहेको उनको भनाइ छ। गोपाल र किराँत शासनकालको राजधानी जयवागेश्वरी रहेको र लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको जानकारहरू बताउँछन् । मल्लकालमा भने हाँडीगाउँबाट हनुमानढोकामा राजधानी सारिएको इतिहास छ ।

  • एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

    एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

    नेपालगन्ज, ६ वैशाखः बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बिएए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान गुलरिया नगरपालिका–७ स्थित तुलापुरमा ठक्कर दिँदा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।

    उनका अनुसार योग शिविर चलिरहेको ठाँउमा जादै गरेको अवस्थामा तीव्रगतिको एम्बुलेन्सले ठक्कर दिएको थियो । मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा लामिछानेकी पत्नी ५० वर्षीया सीता र अर्का ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन् । घाइते दुवै जनाको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ । घटनापछि एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।

  • अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता

    सिबी अधिकारी–रासस
    काठमाडौँ, ६ वैशाखः अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । विश्वविद्यालयले योग्य, दक्षा र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो ।

    तर प्रध्यापकहरूले बिदाको चरम दुरुपयोग गरेको पाइएको छ । यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक÷कर्मचारीहरूको खोजबिन गर्न डा जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य हुनुहुन्छ ।

    उक्त समितिले खोजबिन गर्दा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको छ । यसबाट त्रिविलाई आर्थिका साथै प्राज्ञिक क्षति पुगेको छ । अध्ययन बिदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिविलाई थप आर्थिक भार परेको छ । समितिका संयोजक डा काफ्लेले अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको सङ्ख्या बढ्दा त्रिविले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको बताए । “शिक्षक कर्मचारीबाटै अध्ययन बिदामा गएर नफर्किने लापरवाही प्रवृत्तिले विद्यार्थीमा नकारात्मक सन्देश गएको छ”, उनले भने, “त्रिविप्रतिको धारणामा असर पनि पुगेको छ ।”

    त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते छानबिन समिति बनाएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा नफर्किएका १९१ जना र बिदा लिएर अध्ययन पूरा नगर्नेमा २०७ जना गरी कुल ३९८ प्राध्यापक छन् । समितिका संयोजक काफ्लेका अनुसार थप ५०–६० फाइल पनि भेटिएको छ । त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा तीन वर्षभन्दा बढी पाँच वर्षसम्मको अध्ययन बिदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । यदि तीन वर्षको अध्ययन बिदा उपभोग गरेमा कम्तीमा तीन वर्ष विश्वविद्यालयको सेवामा रही काम गर्नुपर्ने नियम छ ।

    अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारीले कबुलियतनामा पनि गरेका हुन्छन् । पाँच वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा युरोपका विभिन्न मुलुकमा बस्ने गरेको पाइएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले धेरै वर्षदेखि पेचिलो बनिरहेको अध्ययन बिदा दुरुपयोगको विषयलाई त्रिविले आँट गरेर बाहिर ल्याएको उल्लेख गरे । उनले भने, “समितिले गरेको अध्ययनमा १९३ जना पाँचवर्षे अध्ययन बिदा सकेर नफर्किएका र अध्ययन बिदा लिएर अध्ययन पूरा नगरेका ४०० भन्दा बढी पाइएको छ ।”

    शिक्षाध्यक्ष डा केसीका अनुसार विश्वविद्यालयसँग गरेको कबुलियतअनुसार साँवाब्याजसहित फिर्ता गर्न त्रिविले पत्राचार गरेकामा २० जनाले रकम बुझाइसकेका छन् । उनीहरूबाट रु छ करोड रकम फिर्ता भएको छ । अध्ययन बिदा सकिएपछि नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलबभत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ । सोही कबुलियतनामाअनुसार रकम फिर्ता गरिरहेका हुन् ।

    त्रिविले ताकेता गरेपछि ५० जनाभन्दा बढी प्राध्यापक फिर्ता गर्ने प्रक्रियामा छन् । त्रिविका अनुसार नफर्किने प्राध्यापकले प्रतिव्यक्ति कम्तीमा रु १० लाखदेखि रु ५० लाख बढीसम्म फिर्ता गर्नुपर्ने देखिएको छ । डा केसीले भने, “हामी निर्ममतापूर्वक अहिले पनि लागिरहेका छौँ । अब पहिलो चरणमा पैसा नबुझाउनेलाई दोस्रो चरणमा कानुनी परामर्श लिएर नाम सार्वजनिक गर्छौँ, ३५ दिने सूचना अवधिमा पनि सम्पर्कमा नआए सम्बन्धित निकायलाई कारबाहीका लागि सिफारिस गरिनेछ ।”

    त्रिविको उपप्राध्यापक पदको शिक्षकको सेवा सुविधालाई मात्र आधार मान्ने हो भने एक शिक्षकको रु ४८ हजार ७३७ बेसिक तलब जम्मा आठ ग्रेडबापत रु १३ हजार र कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोष समेत १०–१० प्रतिशत कट्टी गर्दा रु १२ हजार ३४८ र मासिक बिरामी बिदाबापत रु दुई हजार ५७३, महँगी भत्ता रु दुई हजार र प्राज्ञिक भत्ता रु एक हजार चाडबाड खर्च रु ६१ हजार ७३७ गरी जम्मा वार्षिक रु १० लाख १७ हजार ६३३ को हिसाबले ३९७ शिक्षक कर्मचारीले पाँच वर्षको अवधिमा करिब रु दुई अर्बको हाराहारीमा दुरुपयोग गरेको प्रतिवेदनको प्रारम्भिक विवरणमा छ ।

    प्रधानमन्त्री र शिक्षामन्त्रीको चासो

    अध्ययन बिदाको दुरुपयोगका विषयमा सरकारले चासो लिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र सरकारको प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री सस्मित पोखरेलले चासोका साथ अध्ययन गरिरहेका छन् । प्रधानमन्त्री शाह र शिक्षामन्त्री पोखरेलको सचिवालयले छानबिन समितिका संयोजक डा काफ्लेसँग छलफल गरेको छ । प्रधानमन्त्री र शिक्षमन्त्रीले चासो देखाएपछि त्रिविले कामलाई थप तीव्रता दिएको छ ।

    समितिका संयोजक डा काफ्लेले डिन कार्यालय, क्याम्पस, केन्द्रीय विभागलगायतका कार्यालयमा पुगेर नफर्किने प्राध्यापक र कर्मचारीको खोजी गरिरहेको बताए । उनले भने, “पूर्ववत रूपमा आकलन गरिएको सङ्ख्याभन्दा अझ बढी सङ्ख्यामा दुरुपयोगको अवस्था देखिएको छ भने समिति गठनपश्चात् दुरुपयोग गर्नेहरू सार्वजनिक जीवनमा पर्न जाने असरलाई मूल्याङ्कन गरी आफूले दुरुपयोग गरेको क्षतिपूर्ति रकम त्रिवि नियमअनुसार बुझाउन अग्रसर देखिएका छन् ।”

    डा काफ्लेका अनुसार हालसम्म टोलीले त्रिविका ६० प्रतिशत आङ्गिक क्याम्पस र कार्यालयमा प्रत्यक्ष रूपमा अवलोकन गर्दा अध्ययन बिदा लिई सेवामा नफकर्ने शिक्षक कर्मचारीका साथै अध्ययन बिदा लिई उपाधि हासिल गर्न नसक्नेहरूको सङ्ख्या समेत उल्लेख्य रूपमा रहेको पाइएको छ ।

    त्रिविले विशवविद्यालयअन्तर्गतका क्याम्पस कार्यालयहरूमा कार्यरत स्थानीय शिक्षक तथा कर्मचारीलाई निजहरूको वृत्ति विकासका लागि अध्ययन अध्यापन र अनुसन्धान कार्य गर्न एक वर्षदेखि पाँच वर्षसम्मको अध्ययन बिदा दिने गरेको छ । यसरी अध्ययन बिदाबाट प्राप्त गरेको ज्ञान र सीप विश्वविद्यालयको समग्र हितमा हुने अपेक्षाका साथ एक वर्षदेखि पाँच वर्षसम्मको तलबी अध्ययन बिदा दिने गरेको हो ।

    अध्ययन बिदामा बसेको शिक्षकहरूले आफूले अध्ययन बिदा उपयोग गरेको समयअनुसार विश्विद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ र सोअनुसार सेवा नगर्ने शिक्षक कर्मचारीका लागि दण्ड सजायको समेत व्यवस्था गरिएको छ । अध्ययन बिदामा बसी नफर्कने शिक्षक कर्मचारीलाई त्रिविले पत्र काटेर नफर्किने शिक्षकको विवरण उपलब्ध गराउन सबै निकायलाई भनेको थियो । तर सही विवरण नआएपछि समिति क्याम्पस क्याम्पसमा पुगेर सङ्कलन गर्न लागेको हो ।

    “समितिले सम्बन्धित क्याम्पसमै पुगेर खोजबिन गरिरहेको छ । ठूलो सङ्ख्यामा शिक्षक र कर्मचारी अध्ययन बिदामा गएर नफर्किएको पाइएको छ”, समितिका संयोजक डा काफ्लेले भने। विसं २०४४ यताका सबै फाइल खोजेर अध्ययन गरिरहेको समितिले जनाएको छ । अध्ययन बिदामा गएका त्रिविका कति शिक्षक कर्मचारी फर्किए, कति उतै लुके भन्ने तथ्याङ्क त्रिविसँग थिएन । त्यसैले समिति बनाएर त्रिविले तथ्याङ्क सङ्कलन गरिरहेको हो ।

    समितिका अनुसार त्रिविका आङ्गिक क्याम्पस÷डिन कार्यालय÷केन्द्रीय विभागमा खोजबिन सकिएको छ । कति सङ्ख्यामा शिक्षक कर्मचारी विदेशमै लुकेका छन् भन्ने तथ्याङ्क एकैपटक सार्वजनिक गरिने उहाँले बताउनुभयो । असार मसान्तसम्मको समयावधि पाएको समितिले तीव्र रूपमा काम गरिरहेको छ ।

    चार सयले गरे बिदाको दुरुपयोग

    समितिले छ महिना त्रिविका सबै निकायमा पुगेर खोजबिन गर्दा ४०० प्राध्यापकले दुरुपयोग गरेको भेटिएको हो । समितिले ताकेता गरेपछि अहिले अध्ययन बिदाबाट नफर्किएका प्राध्यापकले धमाधम रकम फिर्ता गर्न थालेका छन् । हालसम्म ४४ जनाले निवेदन दिएको र तीमध्ये २० जनाले साढे छ करोड रकम फिर्ता गरेको समितिका संयोजक डा काफ्लेले जानकारी दिए । उनले भने, “अहिले २० जनाबाट साढे ६ करोड रकम उठिसकेको छ । अरुलाई पनि हामीले पत्राचार गरिरहेका छौँ ।”

    अध्ययन बिदामा बसेर नफिर्किने शिक्षक र कर्मचारी अहिले करिब चार सय पुष्टि भएको तथा अझै केही केशहरू पनि आइरहेकाले यो सङ्ख्या झन्डै पाँच सय पुग्ने बताइन्छ । विश्वविद्यालयको नियममा पाँच वर्षसम्म अध्ययन बिदामा बस्न पाउने प्रावधान छ । तीन वर्षसम्म अध्ययन बिदा पूरा गरेकाले कम्तीमा तीन वर्ष र सोभन्दा बढी बिदा उपभोग गरेकाले कम्तीमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था छ । बिदामा बस्दा शिक्षकले नेपाली कागजमा फर्किने कबुलियतनामा गरेको हुन्छ । नफर्किएमा जायजेथाबाट भए पनि खाएको रकम असुल गर्ने भनिएको छ । तर, २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् ।

    धेरैजसो प्राध्यापकको खाएको तलबभन्दा ब्याज बढी भएपछि फिर्ता गर्न आनाकानी गरिरहेका छन् । यसमा के गर्ने भनेर त्रिवि पदाधिकारीले छलफल गरिरहेको छ । शिक्षाध्यक्ष डा केसीले त्रिविलाई अझै पनि अध्ययन बिदा दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याउन तथा प्रतिवेदन कार्यान्वयनका चुनौती र छिद्रहरू रहेकाले जवाफदेही बनाउनका लागि सरकार, नागरिक समाज र सञ्चारमाध्यमको साथ र सहयोगको जरुरी भएको उल्लेख गरे ।

    अध्ययन बिदा लिएपछि क्याम्पस कार्यालयमा नफर्कने शिक्षक तथा कर्मचारीको सङ्ख्या अध्ययन संस्थानतर्फ सङ्कायतर्फको भन्दा तुलनात्मक रूपमा बढी देखिएको समितिले उल्लेख गरेको छ । त्रिविका केही शिक्षकहरूले स्वीकृत अध्ययन बिदा लिएपछि निर्धारित समयमा अध्ययन पूरा नगरेको तथा बिदा समाप्त भएपछि क्याम्पस वा विभागमा पुनः नफर्किनुले अध्ययन बिदाको मूल उद्देश्य नै विफल भएको समितिको ठहर छ ।

    त्रिविको नियममा शिक्षक लगातार ९० दिनसम्म बिनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने भनिएको छ । विदेशबाट राजीनामापत्र त्रिविमा पठाउने तर रकम भने फिर्ता गर्दैनन् ।

    यी हुन् समितिले खोजबिन गरेका क्याम्पस

    अध्ययन बिदामा बसेर नफर्केका शिक्षक÷कर्मचारीको खोजबिन समितिले अहिलेसम्म खोजबिन गरेका क्याम्पसहरूमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, रसायनशास्त्र केन्द्रीय विभाग, प्राणीशास्त्र केन्द्रीय विभाग, भौतिकशास्त्र केन्द्रीय विभाग, वनस्पतिशास्त्र केन्द्रीय विभाग, भूगर्भशास्त्र केन्द्रीय विभाग, जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, माइक्रोबायोलोजी केन्द्रीय विभाग, गणित केन्द्रीय विभाग, तथ्याङ्कशास्त्र केन्द्रीय विभाग, वातावरण केन्द्रीय विभाग, विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र बायोटेक्नोलोजी केन्द्रीय विभाग रहेका छन् ।

    यस्तै रत्नराज्यलक्ष्मी क्याम्पस, अमृत क्याम्पस, नेपाल ल क्याम्पस, पुल्चोक क्याम्पस, पुल्चोक, विश्वभाषा क्याम्पस, महेन्द्र रत्न बहुमुखी क्याम्पस, थापाथली क्याम्पस तथा झापाको मेची बहुमुखी क्याम्पस, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस, विराटनगर नर्सिङ क्याम्पस छन् ।

    त्यसैगरी, धरानको पूर्वाञ्चल क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, काठमाडौँको त्रिवि शिक्षण अस्पताल, आयुर्वेद क्याम्पस, मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, महाराजगञ्ज नर्सिङ क्याम्पस, पोखराको पृथ्वी नारायण क्याम्पस, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, वन विज्ञान क्याम्पस रहेका छन् ।

    यसरी खोजबिन गर्दा मानविकी तथा सामाजिकशास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानका धेरै प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन् । तीन सय ९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेकामा मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् । वन विज्ञान अध्ययन संस्थानमा २८, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३, चिकित्साशास्त्र अध्ययन संस्थानमा नौ, शिक्षाशास्त्र सङ्कायमा नौ, व्यवस्थापन सङ्कायमा १९ र कानुन सङ्कायमा एक प्राध्यापक रहेका छन् ।

    फिर्ता गर्नेमा सांसद पनि

    त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिई पूरा अवधि काम नगरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका सांसदले तलबभत्ता फिर्ता गरेका छन् । कैलाली–५ बाट निर्वाचित रास्वपा सांसद डा आनन्द चन्द र गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित कांग्रेस सांसद जगत तिमिल्सिनाले रकम फिर्ता गरेका हुन् । सांसद हुनुअघि उपप्राध्यापक चन्द त्रिवि पाटन संयुक्त क्याम्पस र सहप्राध्यापक तिमिल्सिना व्यवस्थापन केन्द्रीय विभागमा कार्यरत थिए । चन्दले गत ३० चैतमा ४४ लाख ५६ हजार र तिमल्सिनाले गत २ वैशाखमा ३३ लाख ५० हजार रकम फिर्ता गरेका हुन् ।

    त्यसैगरी, रकम फिर्ता गर्नेमा मित्रमणि सुवेदी, हिमाकुमारी राउत, रीना श्रेष्ठ, पुष्पराज आचार्य, ज्ञानप्रसाद गौतम, डा आशुतोषकुमार सिंह, जीवनाथ लम्साल, डा बुना भण्डारी, दीपक पुडासैनी, सरस्वती दवाडी, थिरबहादुर बुढाथोकी, नारायण सुवेदी, प्रकाश आचार्य, शम्भु पौडेल, जगत तिमल्सिना, बालहरि पौडेल, वीरेन्द्रप्रसाद गुप्ता, अर्चना न्यौपाने तिमिल्सिना, शैलेन्द्रनाथ अधिकारी र आनन्दबहादुर चन्द छन् । त्रिविले अध्ययन बिदाको दुरुपयोग गर्ने शिक्षक कर्मचारीबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राखेको छ । आर्थिक वर्ष २०८२÷८३ को बजेटमा त्रिविले यो शीर्षकलाई आन्तरिक आम्दानीको स्रोतमा पनि राखेको छ ।

  • मन्त्रीहरुलाई आइफोन बाँडेको हल्ला सामाजिक सञ्जालमा, सञ्चारमन्त्रीले लिए यस्तो स्पष्टीकरण

    मन्त्रीहरुलाई आइफोन बाँडेको हल्ला सामाजिक सञ्जालमा, सञ्चारमन्त्रीले लिए यस्तो स्पष्टीकरण

    नुवाकोट, ६ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताएका छन् । पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भनी फैलिएको विषय पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको उनले बताए ।

    यहाँको लिखु गाउँपालिका–६ स्थित छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा मन्त्री डा तिमिल्सिनाले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिएको उक्त सूचना सत्य नभएको जनाउँदै यस्ता भ्रमपूर्ण सामग्रीले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भएको उल्लेख गरे ।

    उनले यस्तो सूचना गलत नियतका साथ फैलाइएको हुनसक्ने आशंकासमेत व्यक्त गरे । मन्त्री डा तिमिल्सिनाले नागरिकलाई कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता र स्रोतको विश्वसनीयता जाँच गर्न आग्रह गरे । “पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनुपूर्व त्यसको आधिकारिकता खोज्नु हामी हरेक सचेत नागरिकको जिम्मेवारी पनि हो ।” उनले भने ।

    सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान सरकार नागरिकको करबाट सङ्कलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै जनताको पैसाको कहीँकतै दुरुपयोग भएको देखिएमा नागरिकले खबरदारी गर्नुपर्नेसमेत बताए । “हामीले सत्यमा आधारित प्रश्न गर्न छोड्न हुँदैन । यसले सरकारलाई पनि थप जिम्मेवार बनाउँछ । तर फैलिएका सबै सूचना सही हुन वा होइनन् भनेर चनाखो हुनुपर्छ”, उनले भने ।


    सरकारको प्राथमिकता नागरिकको जीवनस्तर सुधार र देशको समग्र विकासमा केन्द्रित रहेको उनको भनाइ थियो । यसै सन्दर्भमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको र कुनै पनि प्रकारको अनियमितता वा पदको दुरुपयोग सहन नहुने स्पष्ट गरे । प्रश्न उठ्ने बित्तिकै सरकारले छानबिन र आवश्यक कारबाही अघि बढाउने नीति अवलम्बन गरिएको उनले बताए ।


    मन्त्री डा तिमिल्सिनाले लोकतान्त्रिक व्यवस्थामा जनताको अपेक्षा र आवाजलाई केन्द्रमा राखेर काम गर्न सरकार प्रतिबद्ध रहेकोसमेत उल्लेख गरे । नागरिकलाई सहज सेवाप्रवाह, सुशासन र पूर्वाधार विकासका काममा विगतका वर्षहरूमा अपेक्षित रूपमा काम हुन नसकेको अवस्थामा अब परिणाममुखी ढङ्गले काम गर्ने समय आएको उनले बताए । “बोलेर होइन, काम गरेर देखाउने हाम्रो लक्ष्य हो । हामी अभिव्यक्तिभन्दा प्रमाण र परिणाममा विश्वास गर्छौं”, उनले भने ।

  • बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

    बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’

    काभ्रेपलाञ्चोक, ६ वैशाखः वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभे्रको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । कटुञ्जे–मङ्गलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

    गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

    यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।

    गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

  • हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

    हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

    सिरहा, ६ वैशाखः शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन् । चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार, प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि पठाएको छ । गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ भने अन्य क्षेत्रमा भएको क्षतिको विवरण पनि सङ्कलन भइरहेको प्रहरीले जनएको छ ।

  • वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलो दिन नौ जनाद्वारा आरोहण

    वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु : पहिलो दिन नौ जनाद्वारा आरोहण

    रासस
    म्याग्दी, ६ वैशाखः धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालुु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् । चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विटजरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको छ ।

    शनिबार दिउँसो ११ः४० बजे धौलागिरिको चुचुरोमा पुुगेको आरोहण टोली सकुशल रुपमा तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्व गरेका फुुर ग्याल्जेन शेर्पाले बताउनुभयो । शेर्पाहरुको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरुको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन् । पर्यटन विभागका अनुसार वसन्तयाममा धौलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताइन् । गत शरद्याममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए ।

    छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धौलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धौलागिरिको चुचुरोमा पुगेका थिए ।

  • नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

    नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

    रासस
    कञ्चनपुर, ६ वैशाखः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, जहाँ बिहानको सुरुआत चराचुरुङ्गीको मधुर स्वरबाट हुन्छ । खुला मैदानमा निलगाई र चितल निस्फिक्री चरिरहेका देखिन्छन् । कहिलेकाहीँ मयूरको नृत्यले वातावरण झन् रमाइलो बनाइदिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो वन क्षेत्र प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि स्पष्ट योजना, पूर्वाधार र लगानीको अभावमा यो क्षेत्र ओझेलमा परेको छ ।

    करिब ४८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन प्राकृतिक स्रोत, जैविक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध छ । साल, सिसम, खयर, असनाजस्ता बहुमूल्य वनस्पतिले ढाकिएको यो वन चित्तल, निलगाई, मयूर, वनकुखुरा, बाँदरजस्ता वन्यजन्तुको सुरक्षित बासस्थानका रूपमा रहेको छ । स्थानीयका उपभोक्ताका अनुसार सामुदायिक वनमा कहिलेकाहीँ चितुवा र पाटेबाघ पनि देखापर्ने गर्दछन् । जसले वनको जैविक महत्वलाई अझ उच्च बनाएको छ ।

    वनको समथर भूभाग, हरियाली मैदान, नजिकै बग्ने स्याली नदी र सिमसार क्षेत्रले यसलाई प्राकृतिक रूपमा नै पर्यटकीय गन्तव्य बनाएको छ । यहाँको शान्त वातावरण, चिसो हावा र हरियालीले आन्तरिक पर्यटकका लागि उत्कृष्ट विश्रामस्थल बन्न सक्ने सम्भावना बोकेको छ । सामुदायिक वनका पूर्वअध्यक्ष जयबहादुर ऐरका अनुसार यो क्षेत्रलाई योजनाबद्ध रूपमा विकास गर्न सकियो भने शुक्लाफाँटा क्षेत्रकै एक महत्त्वपूर्ण पर्यटकीय केन्द्र बन्न सक्छ । प्रकृति, वन्यजन्तु र संस्कृति तीनै कुरा एउटै ठाउँमा भेटिने भएकाले यो ठाउँको महत्व धेरै छ । आवश्यक पूर्वाधार विकास नहुँदा यसको सम्भावना प्रयोग हुनसकेको छैन ।

    नागेश्वर वनको अर्को विशेषता भनेको यहाँ बसोबास गर्ने राना तथा चौधरी थारू समुदाय हो । थारू समुदायको मौलिक जीवनशैली, परम्परागत घर, विशिष्ट खानपान र सांस्कृतिक नृत्यले यस क्षेत्रलाई सांस्कृतिक पर्यटनका लागि पनि आकर्षक बनाएको छ । पर्यटकलाई स्थानीय जीवनशैलीसँग जोड्ने होमस्टे अवधारणासमेत यहाँ सहजै लागू गर्न सकिने देखिन्छ ।

    स्थानीय धनबहादुर चौधरी भन्छन्, “यति सुन्दर ठाउँ भएर पनि न त प्रचारप्रसार भएको छ, न आवश्यक पूर्वाधार बनेको छ ।” उनका अनुसार योजना अभावकै कारण वन क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास हुनसकेको छैन । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै जोडिएको यस वनमा सहज पहुँच भए पनि व्यवस्थित प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, सूचना बोर्ड, भ्यूटावरजस्ता आधारभूत संरचना अभावमा पर्यटक आकर्षित गर्न नसकेको चौधरीको भनाइ छ ।

    वन संरक्षणकर्मी कृष्णबहादुर ऐरका अनुसार यदि वन क्षेत्रमा पदमार्ग निर्माण, बर्ड वाचिङ टावर, सिमसार व्यवस्थापन, थारू सांस्कृतिक सङ्ग्रहालय र होमस्टेजस्ता पूर्वाधार विकास गर्न सकियो भने यसलाई ‘शुक्लाफाँटा उद्यान’का रूपमा विकास गर्न सकिन्छ । सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार नागेश्वर वनलाई नजिकै रहेको हिरापुरको कृष्णसार संरक्षण क्षेत्र, तारा ताल र अन्य पर्यटकीयस्थलसँग जोडेर एकीकृत पर्यटन सर्किट निर्माण गर्न सकिन्छ । “यसले पर्यटकलाई एकै ठाउँमा धेरै अनुभव दिनेछ”, उनले भने ।


    यस किसिमको विकासले स्थानीयस्तरमा रोजगारी सृजना गर्ने, सामुदायिक वनको आम्दानी बढाउने र स्थानीय उत्पादन तथा हस्तकलालाई बजार उपलब्ध गराउने उनी बताउँछन् । जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ । नगरपालिकाको वडा नं ६ का अध्यक्ष दानबहादुर ऐरले नागेश्वर वनको प्राकृतिक सुन्दरता र सम्भावनालाई उजागर गर्दै यसलाई योजनाबद्ध रूपमा विकास गर्न सके शुक्लाफाँटा क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बताए ।

    “स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय हुनसके यो सम्भावना वास्तविकतामा बदल्न धेरै समय लाग्दैन”, उनले भने । “सामुदायिक वन उपभोक्ता समितिले पनि यस क्षेत्रलाई पर्यटकीय उद्यानका रूपमा विकास गर्न आवश्यक बजेट, प्राविधिक सहयोग र योजना स्वीकृतिका लागि सम्बन्धित निकायसँग पहल गर्नुपर्छ, त्यसमा हामी पनि सहयोग गर्छौँ” उनले भने ।

  • अन्नपूर्णमा आरोहण सुरु

    अन्नपूर्णमा आरोहण सुरु

    म्याग्दी, ६ वैशाखः अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी पर्वातारोही शनिबार अन्नपूूर्णको चुुचुरो चुमेका हुन् ।

    सेभेन समिटका अनुुसार आरोहण गर्नेहरूमा क्यानडाका चाल्र्स पेज, रुसका भालेरिय बाबानोभ, भ्लादिमिर अफानासेभ, युरी कुग्लोभ र अजरवैजानका इस्फार्ली असुुर्ली रहेका छन् । नेपाली लाक्पासहित छेवाङ, दावा नर्बुु, पासाङ दुुङपा, छाङुुबा, तारामान र पासाङ शेर्पाले पनि शनिबार नै अन्नपूूर्णको सफल आरोहण गर्नुभएको कम्पनीले जनाएको छ ।

    त्यसैगरी, शनिबार विहान १०ः१५ बजे नेदरल्यान्ड र अष्टे««लियाका दुई आरोहीसँगै एक शेर्पाले सफलतापूर्वक आरोहण गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । “अन्नपूर्ण हिमालमा यसपटकको पहिलो आरोही टोलीले सफलतापूर्वक आरोहण गरेका छन्”, उनले भने, “आरोहण टोलीसँगै बेसक्याम्पसम्म घुम्न जानेको चहलपहल सुरु भएको छ”, अभियान्ता गुरुङले भने ।


    यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट चार समूहका २७ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु एक करोड २० लाख ४९ हजार १७५ राजस्व प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताइन् । अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । गत वर्षको वसन्तयाममा अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए ।

    अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकहरूको आधार शिविरमा चहलपहल छ । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ सालमा सरएडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

  • ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

    ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

    ललितपुर, ६ वैशाखः ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार शनिबार रथारोहण गरिएको हो । गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।

    रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो । तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ तानिनेछ ।

  • राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

    राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

    काठमाडौँ, ६ वैशाखः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गरेका हुन् ।

    भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देशबीचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनुपर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीयमैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए ।


    दुई देशबीचको कूटनीतिक सम्बन्ध छ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे । अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपाली भारतको राजधानी दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबीच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबीचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे ।


    आइपीयूको महासभामा टर्की सरकार र संसद्ले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे । सो क्रममा टर्कीको संसद् ग्रान्ड नेसनल एसेम्बलीका सभामुखले राष्ट्रियसभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । टर्की र नेपालबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए ।


    टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उनले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबीचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे । आगामी नोभेम्बरमा कोप–३१ टर्कीमा हुन लागेको उल्लेख गर्दै सभामुख नुमानले त्यसको नेतृत्वका लागि टर्कीलाई आवश्यक सहयोग गर्न अनुरोध पनि गरे । भेटमा आइपीयूमा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित थिए ।

  • गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु

    गाजा युद्धमा ३८ हजार महिला र बालिकाको मृत्यु

    जेनेभा, ५ वैशाख (रासस–एएफपी) । सन् २०२५ सम्ममा गाजा युद्धमा ३८ हजारभन्दा बढी महिला र बालिकाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जारी गरेको अनुमानित तथ्याङ्कमा जनाइएको छ। गाजामा अवस्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सन् २०२५ को अन्त्यसम्म रेकर्ड गरिएको यो सङ्ख्या गाजा युद्धमा उक्त समयसम्म मारिएका कुल ७१ हजार व्यक्तिको आधाभन्दा बढी हो।

    “सन् २०२३ अक्टोबरदेखिसन् २०२५ डिसेम्बरको बीचमा गाजामा ३८ हजार भन्दा बढी महिला र केटीहरू मारिएका छन्, जुन इजरायली सेनाको हवाई र स्थल आक्रमणको कारण भएको होे,” संयुक्त राष्ट्रसङ्घ महिला तथा बालबालिका मामिला निकाय (युएन वुमनका)की प्रवक्ता सोफिया कलटर्पले जेनेभामा एक पत्रकार सम्मेलनमा भनिन् ।


    “गाजा युद्धमा मारिएका ती महिला तथा बालिकामध्ये २२ हजारभन्दा बढी महिला र १६ हजार भन्दा बढी केटीहरू रहेका छन् । यसरी हेर्दा यो सङ्ख्या औसतमा कम्तिमा ४७ महिला र केटीहरूको भएको मृत्यु सङ्ख्या हो । ‘युएन वुमन’ले भनेको छ, “शवहरू अझै भग्नावशेषमा पुरिएको अवस्थामा भेटिने गरेको र रिपोर्टिङ प्रणालीहरू गम्भीर रूपमा सीमित रहेकाले युद्धमा मारिएका महिला तथा बालबालिकाको वास्तविक तथ्याङ्क योभन्दा अझ बढी हुन सक्छ।”

    “महिला र बालिकाहरूको मृत्युको अनुपात गाजामा यसअघिको द्वन्द्वमा देखिएको भन्दा धेरै बढी रहेको देखिएको छ,” कलटोर्पले थपिन् । सन् २००८ देखि २००९ को द्वन्द्वमा मारिनेमध्ये १५ प्रतिशत र सन् २०१४ को द्वन्द्वमा मारिनेमा २२ प्रतिशत महिला र बालिकाको रहेको युएन वुमनको प्रतिवेदनमा उल्लेख छ ।
    युएन वुमनले भनेको छ, “दुःखको कुरा के छ भने यति धेरै सङ्ख्यामा मृत्युपछि पनि युद्धबाट जीवन जोगिएका महिला तथा बालिकाहरूले अझै पनि जीवनमा दैनिक खतरा, भोकमरी, बारम्बार विस्थापन र अत्यावश्यक सेवाहरूमा गहिरो प्रतिबन्धित पहुँचको सामना गर्नु परेको छ।”

    “कहालीलाग्दो मृत्युको सङ्ख्यासँग गाजामा लगभग ११ हजार महिला तथा बालिकाहरूलाई विनाशकारी चोटपटक लागेको छ र उनीहरू आजीवन अशक्तताको साथ मात्र बाँच्नेछन्,” कलटोर्पले भनिन् । उनले थपिन्, “युद्धले प्यालेस्टिनी परिवारलाई नयाँ आकार दिएको छ, गाजाका दशौँ हजार घरपरिवारहरू उनीहरूको पुरूष अभिभावक गुमाएका कारण अहिले महिलाहरूको अभिभावकत्वमा रहेका छन् । अविभावकत्व गुमाएका महिलाहरूले बाध्यात्मक र चुनौतिपूर्ण अवस्थामा परिवारको जिम्मेवारी बहन गरिरहेका छन् र उनीहरू अब ‘आय बिना, सहयोगको पर्खाइमा वा आवश्यक सेवाहरूमा पहुँचबिना’ आफ्नो परिवारको भरणपोषणको व्यवस्थापन गर्न बाध्य छन्।

    – कहालीलाग्दो अवस्था –

    द्वन्द्वका क्रममा झण्डै १० लाख महिला तथा बालिकाहरू बारम्बार विस्थापित भएका छन् भने करिब सात लाख ९० हजार महिलाहरूले खाद्य असुरक्षाको सङ्कट–स्तर वा विनाशकारी स्तरको अनुभव गरेका छन्। कलटोर्पले भनिन्, “फेब्रुअरी २८ मा इरानमा अमेरिका–इजरायल आक्रमणसँगै सुरु भएको मध्यपूर्व युद्धले पनि सीमा पार बन्द र मानवीय पहुँचमा अवरोधका कारण गाजाको जनजीवन थप कठिनाइपूर्ण बनेको छ।”

    सन् २०२५ अक्टोबरमा घोषणा गरिएको इजरायल र हमासबीचको कमजोर युद्धविराम गाजामा दुई वर्षभन्दा बढी युद्धपछि भएको थियो । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि सीमापार आक्रमण गरेपछि इजरायलले गाजामा व्यापक हवाई तथा स्थल आक्रमण गरेको थियो । हमासको नियन्त्रणमा रहेको र संयुक्त राष्ट्रसङ्घले भरपर्दो मानेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता कम्तीमा ७६६ प्यालेस्टिनीहरू मारिएका छन् । युद्धविरामका बाबजुद हालैका महिनाहरूमा महिला र बालिकाहरूको हत्या जारी रहेको युएन वुमनले जनाएको छ।

  • ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन : ट्रम्प

    ‘स्ट्रेट अफ हर्मुज’ मा इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन : ट्रम्प

    वासिङ्टन, ५ वैशाख (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई स्ट्रेट अफ हर्मुजको भविष्यमा सौदाबाजी (ब्ल्याकमेल) नगर्न चेतावनी दिएका छन् । “तपाईंलाई थाहा छ, उनीहरूले वर्षौंदेखि गरेजस्तै हर्मुज घाँटी फेरि बन्द गर्न चाहन्थे । हामी उनीहरूसँग वार्ता गरिरहेका छौँ। उनीहरूले हामीलाई ‘ब्ल्याकमेल’ गर्न सक्दैनन्,” ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममा भने । राष्ट्रपति ट्रम्पले इरानका बारेमा केही जानकारी प्राप्त हुने बताउँदै भने, “हामी कडा अडान लिइरहेका छौँ । यसैबीच, इरानको सेनाले शनिबार विश्वको कच्चा र तरलीकृत प्राकृतिक ग्यासको पाँच भागको एक भाग पार हुँदै जाने जलमार्ग हर्मुज घाँटी फेरि एकपटक बन्द गरिएको घोषणा गरेको छ।

  • इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनमा रोक लगाएको घोषणापछि इन्धन बोकेका जहाजमाथि आक्रमण

    इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा आवागमनमा रोक लगाएको घोषणापछि इन्धन बोकेका जहाजमाथि आक्रमण

    लन्डन, ५ वैशाख (रासस–एएफपी) । इरानले शनिबार ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने क्रममा इन्धन बोकेका व्यावसायिक जहाजहरूमा आक्रमण भएको साथै थप आक्रमणको चेतावनीको सामना गर्नुपरेको सुरक्षा अनुगमनकर्ताहरूले बताएका छन्। इरानले मध्यपूर्व युद्धमा युद्धविरामको क्रममा जलमार्गलाई व्यापारिक यातायातका लागि पुनः खोल्ने आफ्नो प्रतिज्ञालाई शुक्रबार उल्ट्याउँदै अनुमतिविना यहाँबाट कुनै पनि आवागमनमा रोक लगाइएको घोषणा गरेको थियो । उक्त मार्ग मध्यपूर्वका लागि र त्यहाँबाट अन्य देश जाने सामानको ढुवानीको लागि एक महत्त्वपूर्ण मार्ग हो।

    बेलायतको एक समुद्री सुरक्षा एजेन्सीले भनेको छ, “इरानको रिभोलुसनरी गाड्र्स (आईआरजीसी) ले एक ट्यांकरमा गोली चलाएको छ।” सामुद्रिक सुरक्षा निगरानी का लागि प्रयोग हुने संूथा ‘भ्यानगार्ड टेक’ले शुक्रबार तेहरानले केही समयको राहत घोषणा गरेपछि खाडीबाट भागिरहेका खाली यात्रुबाहक जहाजलाई ‘आक्रमण गर्ने’ चेतावनी दिएको छ।

    यद्यपि, केही तेल र ग्याँस ट्याङ्करहरूले शनिबार बिहानै स्ट्रेट पार गरेका निगरानी समूहका तथ्याङ्कले देखाएको छ । ‘यूके मेरिटाइम ट्रेड अपरेसन सेन्टर (यूकेएमटीओ)’ ले एक अनलाइन विज्ञप्तिमा भनेको छ, “ओमानको उत्तरपूर्वी जलमार्गमा ट्याङ्करमा ‘गनबोट’ हरूले गोली चलाएका छन् तर जहाज र चालक दल सुरक्षित रहेका छन्।”

    भ्यानगार्डले ट्याङ्करलाई भारतको ध्वजावाहक ट्यांकर सनमार हेराल्डको रूपमा पहिचान गरेको छ। यसले क्याप्टेनलाई उद्धृत गर्दै भन्यो, “आईआरजीसीका दुई गस्ती डुङ्गाहरू रेडियो सम्पर्क बिना नै नजिक आए र त्यसपछि ‘गोली चलेको’ थियो, आक्रमणबाट जहाजको झ्यालहरूमा क्षति पुगेको थियो।”

  • मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

    मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

    काठमाडौँ, ५ वैशाख । नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ । खड्गदल गण, रामेछापमा बलाधिकृत रथी प्रदीपजङ्ग केसी र अन्य २ (दुई) उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा आज भएको सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब छ हजार पाँच सय अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको थियो ।

    उक्त सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक, ज्येष्ठ एकल महिला, चार सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने चार अभिभावक तथा सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीलाई सम्मान, प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा फरक क्षमता भएका तथा अशक्त २४ जना भूतपूर्व सैनिकहरूलाई ह्विलचेयर तथा वैसाखी वितरण गरिनुको साथै रामेछाप जिल्लास्थित १०२ वर्षीय एकल महिला नरमाया कार्कीलाई ज्येष्ठ शताब्दी महिलाका रूपमा अभिनन्दन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल सन्देशका यसवर्ष देशका विभिन्न स्थानमा भूपू सैनिक सम्मेलन भएका थिए । सम्मेलनले सेवारत र अवकाश प्राप्त सैनिकबीचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यावहारिक सुझाव सङ्कलन गरी हिताधिकारीहरूलाई शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा समयानुकूल सुविधा प्रदान गर्न मद्दत पुग्ने सेना विश्वास छ ।

  • अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

    अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी आज उपचारपश्चात घर फर्किएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए ।

    उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालका प्रवक्ता डा सेढाईले बताए । गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएका थिए ।

  • विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

    विभिन्न देशका राजदूतहरूद्वारा हात्तीवन–चम्पादेवीमा ‘आरोग्य पदयात्रा’

    कीर्तिपुर (काठमाडौँ), ५ वैशाख । नेपालस्थित विभिन्न देशका राजदूतहरूले नेपालको स्वच्छ हावापानी र स्वस्थ्य जीवन शैलीको प्रशंसा गर्दै दक्षिणकाली नगरपालिका–३ मा आज पैदलयात्रा गरेका छन् । पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा परराष्ट्र मन्त्रालयले हात्तीवन–चम्पादेवी पदमार्गमा ‘आरोग्य पदयात्रा’ गराइएको हो ।

    यात्रामा काठमाडौँस्थित राजदूतहरू, कूटनीतिक समुदायका अन्य सदस्य तथा सरकारका उच्च पदाधिकारीले नेपालले विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न खोजेको आरोग्य र स्वस्थ जीवनशैलीको समर्थन गर्न आफूहरूले प्रतिबद्धता जनाएको उनीहरुको प्रतिक्रिया थियो ।


    सहभागी कूटनीतिज्ञहरूलाई बिहान हात्तीवन रिसोर्टमा भेला गराई योग र पूर्वीय दर्शनमा आधारित ध्यानबारे जानकारी दिइएको थियो । उनीहरुलाई जीवन विज्ञानका प्रशिक्षक प्रतीक शर्माले आसन, प्राणायाम र ध्यानका केही विधिबारे प्रशिक्षण दिए

    त्यसपछि सहभागी सबै कूटनीतिज्ञलाई हात्तीवन रिसोर्ट क्षेत्रबाट चम्पादेवीतर्फ जाने मार्गमा करिब दुई घण्टाको पदयात्रा गराइएको थियो । कूटनीतिज्ञलाई स्वागत गर्दै परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल १५ लाई अन्तररष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गरे ।


    साथै, उनले नेपाललाई विश्वकै उत्कृष्ट ‘आरोग्य पर्यटकीय गन्तव्य’ का रूपमा विकास गर्ने नेपाल सरकारको नीति रहेको समेत बताए । नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले आरोग्य पर्यटन रणनीति तयार गरेको जानकारी दिँदै उनले आगामी सन् २०२७ लाई नेपाली आरोग्य पर्यटन वर्षका रूपमा मनाउने त्यसका लागि आवश्यक लगानी भित्र्याउने तयारीमा सरकार रहेको जानकारी गराए । नेपालले विश्वका विभिन्न देशमा रहेका दूतावास कूटनीतिक नियोग र गैरआवासीय नेपालीको सञ्जाल प्रयोग गर्नेसमेत उनले बताए ।


    नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहकले उपत्यकाका कै प्राकृतिक डाँडामा गरिएको यात्रा सामान्य हिँडाइ वा शारीरिक अभ्यास मात्र नभई मानसिक शान्तिसमेत दिने किसिमको भएको बताए । नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधि जाको डु टोइटले नेपाली प्राकृतिक थलोमा नेपाली गीत सुन्दै हिँड्दा आफूले आरोग्य लाभ गरिरहेको प्रतिक्रिया दिए । आफ्नो देश दक्षिण अफ्रिकमा यहाँजस्ता उच्च हिमाल नभए पनि तर प्राकृतिक सम्पदाहरूले एकअर्को देशलाई जोड्नसक्ने धारणा उनको थियो ।

    नेपालका लागि राष्ट्रसङ्घीय विकास नियोग प्रतिनिधि क्योको योकोसुकाले सप्ताहन्तमा अत्यन्त स्वच्छ हावा युक्त हात्तिवन चम्पादेवी पदमार्गको पैदलयात्रा, योग र ध्यानले आफूलाई उत्साहित बनाएको बताए । आफ्ना आफन्त देशवासीलाई नेपाल प्राकृतिक र सांस्कृति सम्पदा मात्र नभई योग ध्यानमार्फत आत्मसन्तुष्टि प्राप्तिका लागि घुम्नैपर्ने मुलुक भएको सन्देश पु¥याउने बताए ।


    नेपालका लागि बेलायती राजदूत रोर्वट फेनले अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा नेपालले यसरी पदयात्रा आयोजना गर्दा आफूलाई खुसी लागेको बताए । आरोग्य दिवसमा तय गरिएको नारामध्ये लामो पैदलयात्राले श्वासप्रश्वासलाई अझ लामो समय स्वस्थ्य राख्छ भन्ने कुराले आफू प्रभावित भएको बताए ।


    बेलायतमा नेपाल पहिल्यै लोकप्रिय भएको बताउँदै बेलायतीहरूमा नेपालबारे जान्न चाहने र नेपाली भौगोलिक र सांस्कृतिक विविधताप्रति मोहित भएको बताए । रासससँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालको आरोग्य पर्यटनका माध्यमबाट नेपाली ‘सप्ट पावर’ कूटनीतिलाई अगाडि बढाउन खोजेको बताउँदै पहिलो अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा आयोजित १३ देशका राजदूतहरूले महत्त्व दिनु कूटनीतिक हिसाबले महत्त्वपूर्ण भएको बताए । “नेपाललाई योग ध्यानजस्ता प्राकृतिक स्वास्थ्यलाभका पद्धतिहरूमार्फत विश्वकै उत्कृष्ट आरोग्य गन्तव्य बनाउने लक्ष्य सरकारको छ”, उनको भनाइ थियो ।

  • सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

    सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ, ५ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताए । गोँगबु आवास क्षेत्र सुधार समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष–२०८३ को शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले त्यसका लागि सरकारले आवश्यक काम गर्न सुरु गरिसकेको बताए । मन्त्री खनालले भने, “जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएर परिवर्तनको बाटो रोजेका छन्, वर्तमान सरकारले यसलाई खेर फाल्दैन । रास्वपाले वाचापत्रमा उल्लेख गरेअनुसार सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्छौं ।”

    उनले भ्रष्टाचार नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेकाले मन्त्रिपरिषद्को बैठकले विसं २०६२ पछि उच्च ओहोदामा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न समिति गठन गरिएको उल्लेख गरे । परराष्ट्रमन्त्री खनालले जनतालाई सहज रूपमा सेवा, सुविधा प्रदान गर्नका लागि सरकारले रातदिन नभनी काम गरिरहेको बताए ।


    “हामीले जनताले परिवर्तनको अनूभूति गर्नेगरी काम गरिरहेका छौँ । देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपाली नागरिकलाई पनि सुरक्षित राख्नका लागि सरकारले काम गरिरहेको छ”, उनले भने, “आर्थिक समृद्धि र रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिन्छ । सहज ढङ्गले व्यापार व्यवसाय गर्ने वातावरण बनाउँछ ।” काठमाडौँ क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री खनालले आफ्नो क्षेत्रभित्रको खानेपानी, ढल, सडकलगायत समस्या समाधानका लागि पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

  • गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

    गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

    गुल्मी, ५ वैशाखः गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएका छन् । नेपाल वायुसेवा निगमले काठमाडौँबाट गुल्मीका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । यसअघि आइतबार, मङ्गलबार र बिहीबार उडान सञ्चालन हुँदै आएको थियो । नेपाल वायुसेवा निगमका आन्तरिक उडानतर्फ रहेका ट्विनअटर जहाजको मर्मतसम्भार गरेसँगै उडान तालिका थप गरिएको रेसुङ्गाका स्टेसनका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार निगमको उडान तालिका थप भएसँगै भाडादरसमेत वृद्धि भएको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै रेसुङ्गा–काठमाडौँको हवाई उडानको भाडादरमा वृद्धि भएको स्टेसन प्रमुख थापाले बताए । नयाँ लागू गरिएको भाडादर अनुसार काठमाडौँबाट रेसुङ्गाका लागि रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँका लागि रु १० हजार ७०२ निर्धारण गरिएको उनले जानकारी दिए । निगमले यसअघि काठमाडौँबाट रेसुङ्गाका लागि रु सात हजार ५०० र गुल्मीबाट काठमाडौँका लागि रु सात हजार ३०० भाडादर निर्धारण गरेको थियो ।

    विगतमा यात्रुहरूको अत्यधिक घुइँचो हुने गरेको रेसुङ्गा विमानस्थलमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै भाडादरमा रु तीन हजार ४०२ मूल्य वृद्धि गरिएकोे स्टेसन प्रमुख थापाले जानकारी दिए । उनका अनुसार निगमले आन्तरिक उडानतर्फ ट्विनअटर जहाजले सेवा दिइरहेको छ । वर्षाको समय र प्रतिकूल मौसमका कारणबाहेक पछिल्लो पाँच महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई सेवा सञ्चालन हुँदै आएको छ ।

    नेपाल वायुसेवा निगमद्वारा १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँ–रेसुङ्गा सेवा सञ्चालन हुँदै आएको छ । काठमाडौँबाट आइतबार बिहान ८ः०५ बजे र रेसुङ्गाबाट बिहान ९ः०५ बजे र मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँबाट बिहान ६ः१५ बजे र रेसुङ्गा विमानस्थलबाट काठमाडौँका लागि बिहान ७ः१५ बजे उडान हुने स्टेसन प्रमुख थापाले जानकारी दिए । दिउँसोको समयमा हावाको चाप बढी हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान भर्ने गरिएको उनको भनाइ छ ।

    गुल्मीमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । करिब १६ देखि १८ घण्टाको लामो स्थलमार्गबाट यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता हटेको यात्रुहरू बताउँछन् । सेवा सुरु भएपछि हवाईमार्गबाट ४५ देखि ५० मिनेटमा गुल्मीबाट राजधानी आवतजावत गर्न सकिन्छ । गुल्मीमा नेपाल वायुसेवा निगमले विसं २०८० वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सुरु गरेको थियो ।

  • आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू

    आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू

    काठमाडौँ, ५ वैशाखः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताउनुभयो । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

    “स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायतका बिरामीको सहजता हेरि ‘रिसेडयुल’ गरी अन्तरङ्ग र आकस्मिक सेवाहरु सधैँझैँ २४ घण्टा सूचारु गरिने छ”, उनले भने ।


    मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरुले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गरे । यस्तै अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्सहरु हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।

  • प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    प्याराग्लाइडिङले रङ्गिँदै सुर्खेतको आकाश

    सुर्खेत, ५ वैशाखः सुर्खेतको आकाश केही वर्ष प्याराग्लाइडिङका कारण रङ्गिन थालेका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यो सहर पछिल्लो समय साहसिक पर्यटनको नयाँ केन्द्रका रूपमा विस्तार भएको हो । चुरे पहाडको काखबाट उडान भर्दा तल देखिने हरियाली वन, फैलिएका बस्ती र टाढासम्म फैलिएको भू दृश्यले जो कोहीलाई केही क्षण भए पनि आनन्द दिलाउँछ ।

    खुला आकाशमा स्वतन्त्र रूपमा उड्ने अनुभूति लिन पनि पर्यटकहरु केही वर्षयता यहाँ आउन थालेका छन् । शिक्षण पेसामा आबद्ध रमेश विष्ट यस परिवर्तनका साक्षी मात्र होइनन्, सक्रिय सहभागी पनि छन् । उनी भन्छन्, “छोटो समयमै यहाँको प्याराग्लाइडिङले सबै वर्गका मानिसलाई आकर्षित गरेको छ ।”

    सुर्खेतमा प्याराग्लाइडिङ विस्तार हुँदै जाँदा यसको दायरा विस्तार हुँदै गएको छ । व्यवसायी, विद्यार्थी, शिक्षक, डाक्टर, इन्जिनियर सबै पेसाका मानिस प्याराग्लाइडिङमा सहभागी हुन थालेका छन् । अब यो खेल सीमित समुदायका लागि मात्र नभएर सर्वसाधारणको पहुँचमा आएको छ । व्यवस्थापनमा गरिएको सुधार, सुरक्षा मापदण्डको पालना र प्रशिक्षित पाइलटको उपलब्धताले यो व्यवसायप्रति थप विश्वास बढाएको छ ।

    पाँच वर्ष जापान बसाइ सकेर फर्किनुभएका ‘सेन्से’ उपनामले परिचित स्थानीय एक युवाले जीवनमै पहिलोपटक प्याराग्लाइडिङ अनुभव लिन सुर्खेत आइपुगेको बताए । उनका लागि यो केवल मनोरञ्जन होइन, स्वदेशको प्रकृति र पर्यटनको सम्भावनासँग पुनः जोडिने अवसर पनि हो । उनले भने, “उडानअघि हल्का डर भए पनि पछि मज्जा भयो ।”

    जीवन र रमेशझैँ प्याराग्लाइडिङ अनुभव बटुल्न पहिलोपटक आउनुभएकी निरु चौधरीको अनुभव पनि खासै फरक छैन । “मैले प्याराग्लाइडिङ गरेको धेरै भिडियोहरु देखेकी थिएँ । पोखरा गएर गर्नलाई आर्थिक रुपले र समयको व्यस्तताले सम्भव थिएन । तर यहाँ दूरीले पनि नजिक भएकाले आएकी हुँु”, उनले भने । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित बयलकाँडा क्षेत्रमा निमार्ण गरिएको प्याराग्लाइडिङ गर्ने स्थान विस्तारै व्यवस्थित र योजनाबद्ध रूपमा विकास गर्दै लगेको वेलकम प्याराग्लाइडिङ कम्पनीका सञ्चालकको भनाइ छ । ‘कर्णाली समृद्धि २०८२’ को सन्दर्भसँगै यहाँ सस्तो र सुलभ दरमा प्याराग्लाइडिङ उडान सञ्चालन गरिएको सञ्चालक कम्पनीले जनाएको छ । जसले आन्तरिक पर्यटनलाई चलायमान बनाएको छ ।

    यस अभियानको नेतृत्व अनुभवी प्रशिक्षक देशवीर जिमीले गरिरहेका छन् । जसले करिब १६ वर्षदेखि यस क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् । उनको नेतृत्वमा सञ्चालन भइरहेको ‘वेलकम प्याराग्लाइडिङ’ कम्पनीमार्फत चार जना दक्ष पाइलटले दैनिक रूपमा व्यावसायिक उडान गरिरहेका छन् । समुद्र सतहदेखि करिब एक हजार ५०० मिटर उचाइमा रहेको बयलकाँडा प्राकृतिक रूपमा प्याराग्लाइडिङका लागि उपयुक्तस्थल मानिन्छ । यहाँको हावाको सन्तुलित बहावले उडानलाई सुरक्षित र सहज बनाउने गरेको जिमीको भनाइ छ । जीमीका अनुसार बयलकाँडाबाट उडान भरेपछि वीरेन्द्रनगर–१ स्थित रेडियो नेपाल अगाडिको खुला फाँटमा सुरक्षित अवतरणको व्यवस्था गरिएको छ ।

    प्याराग्लाइडिङको सम्पूर्ण अनुभव तीन चरणमा विभाजित हुने उनी बताउनुहुन्छ । टेकअफ, फ्लाइङ र ल्यान्डिङ । केही मिनेटको यो उडानले सहभागीलाई जीवनभर सम्झिने अनुभव दिन्छ । प्याराग्लाइडिङ फस्टाउँदै एपछि स्थानीय व्यवसायमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । होटल, रेष्टुराँ, यातायात र गाइड सेवामा संलग्न व्यक्तिहरूको आम्दानी बढ्न थालेको छ ।

    यसै सन्दर्भमा आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख चक्रप्रसाद ढुङ्गानाले कर्णाली प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धनमा सुर्खेतमा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ गतिविधिले महत्त्वपूर्ण योगदान पु(याएको बताए । उनका अनुसार प्याराग्लाइडिङले प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ । सुर्खेतको आकाशमा उडिरहेका प्याराग्लाइडिङ केवल साहसिक खेलको विस्तार मात्र होइन, यो त कर्णालीको पर्यटन विकासमा सम्भावनाको सङ्केत पनि हो ।

  • मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा

    मुस्ताङको छुसाङमा राताम्मे पहाडमा गुफाभित्र गुम्बा

    रासस
    मुस्ताङ, ५ वैशाखः यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएका गुफाभित्र पनि गुम्बा छ । यो गुम्बामा प्रतिस्थापन गरिएको मूर्तिहरूको इतिहास बुझ्दा गुफाभित्र रहेको गुम्बा करिब एक हजार २०० भन्दा बढी पुरानो हो । जोमसोम हुँदै कागबेनी–कोरला सडकको नजिकै भिरालो सतहमा अवस्थित गुफाभित्रको गुम्बालाई ‘मिन्ची ल्हवङ’ गुम्बा भन्ने गरिएको छ । यो गुफाभित्रको धार्मिक बुद्धिस गुम्बा छुसाङगाउँका छ परिवारको स्वामित्वमा छ । यहाँ दैनिक साँझ छ परिवारका व्यक्तिले बर्सेनि आलोपालो गरी बत्ती बाल्ने र पूजाआजा गर्ने गर्दछन् ।

    कोरला सडकमार्गको माथि भिरालो सतहमा अवस्थित गुफा निकै जोखिमयुक्त स्थानमा अवस्थित छ । परापूर्व कालमा छुसाङ गाउँका पूर्खाहरूले यहाँ पहाड खोपेर गुम्बा प्रतिस्थापन गरेका स्थानीय बताउँछन् । यहाँको गुम्बा कति वर्ष पुरानो हो भन्ने तथ्य स्वयं गुम्बाको स्वामित्व बोकेका पछिल्ला पुस्तालाई यकिन जानकारी नभएको छ परिवारमध्येका स्थानीय श्याम गुरुङले जानकारी दिए । परापूर्वकालमा मनाङबाट आएका पूर्खाले आफ्नो देवतालाई साथै लिएर छुसाङ गाउँमा स्थानान्तरण भएको भन्ने विश्वास रहँदै आएको उनले बताए ।


    निकै कमजोर भूसतहमा अवस्थित गुफा आफैँमा जोखिम स्थानमा रहेको जनाउँदै स्थानीय गुरुङले पुरातात्विक र ऐतिहासिक महत्त्वको यस गुफा र भित्र रहेको गुम्बा संरक्षण गर्नुपर्ने अभिभारा यहाँका छ परिवारलाई रहेको बताए । उनका अनुसार वर्षौंदेखि यिनै छ परिवारका पुस्ताले गुफा र गुम्बा संरक्षण गर्दै आइरहेका छन् ।
    करिब एक सय मिटर अग्लो माटोको पहाडमा रहेको गुफामा भूक्षय र बाढीले क्षति पु¥याउन सक्ने जोखिम रहेकाले सरोकार भएका निकायले यसको संरक्षण गर्नुपर्नेमा स्थानीय गुरुङले जोड दिए ।

    भगवानको शक्तिले गुफा र गुफाभित्रको गुम्बामा हालसम्म कुनै असर नभएको उनले उल्लेख गरे । यस अनौठो गुफाभित्रको माथिल्लो तलामा गुम्बा प्रतिस्थापन गरिएको छ । गुम्बामा अधिकांश माटोद्वारा निर्मित बुद्धका विभिन्न स्वरुपका मूर्तिहरू ८०० वर्षभन्दा बढी पुराना रहेका स्थानीय गुरुङले जानकारी दिए । एउटा फ्रेम (चौघेरो) भित्र राखिएको हरिताराको ढुङ्गाको मूर्ति एक हजार २०० वर्ष पुरानो मानिएको उनले विश्वास व्यक्त गरे । उनका अनुसार गुम्बाभित्र एक दर्जन बुद्ध भगवान्का विभिन्न स्वरुपका मूर्ति प्रतिस्थापन भएका छन्

    “गुम्बामा चन्दा सङ्कलनका लागि बाकस राखिएको छ । गुफा र गुम्बा दर्शन गर्ने र विदेशी पर्यटकले स्वेच्छिक चन्दा दान गर्दछन्”, स्थानीय गुरुङले भने, “चन्दा बाकसमा जम्मा भएको रकम गुम्बाको संरक्षण र हिउँ पर्दा गुफाको छतमाथिको हिउँ पन्छाउन खर्च गरिन्छ ।” उनका अनुसार गुफाभित्रको मिन्ची ल्हवङ गुम्बाको ओढारभित्र वर्षौँ पुराना कलात्मक पेन्टिङहरू अवस्थित छन् । यसरी गुफाको भूगोलसँग मिल्दो माटोको रङ्गले गुफाको माथिल्लो तलाको भित्ता र सिलिङमा पेन्टिङ गरिएको उनले जानकारी दिए ।


    “गुफाको दोस्रो तलामाथिको एउटा कुनामा बुद्धका मूर्तिहरू छन् । यहाँ गुम्बा परिक्रममा गर्ने ठाउँ छ । गुफाभित्रको गुम्बालाई केही विदेश संस्थाका अनुसन्धानकर्ताले पनि अध्ययन पनि गरिसकेका छन्”, स्थानीय गुरुङले भने । गुम्बा संरक्षणका लागि विदेशीले प्राविधिक तथा आर्थिक सहयोग गरी गुम्बा मर्मतसम्भार कार्यमा सहयोग पु¥याएको स्थानीय उनले बताए । वर्षौं पुरानो गुम्बा र यहाँका मूर्तिहरू जीर्ण बन्दै जान थालेकाले यसको संरक्षण र मर्मतसम्भार गर्न सरोकार भएका निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए ।


    छुसाङको भिरालो पाखोमा अवस्थित गुम्बा, गुफाभित्रको पहिलो तला र दोस्रो तलामा उज्यालोका लागि झ्याल जस्ता केही प्वालहरू बनाइएको छन् । गुफाको भुइँतलाबाट माथि उक्लिन दुई वटा काठका भर्‍याङ राखिएको छ । भर्‍याङ चढेर गुफाको माथिल्लो तलामा पुग्न सकिन्छ । व्यक्तिगत रूपमा छ परिवारको स्वामित्वमा रहेकाले यस गुफा र गुम्बाको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय गुरुङले बताए । “यो हाम्रो गुफाभित्रको गुम्बा कुलदेवता जस्तै हो, पूर्खाहरूले पूजाआजा गर्ने थलो हो”, उनले भने, “त्यसैले हामीले यसलाई सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्नुपर्छ । गुफा र गुम्बा पर्यटक लोभ्याउने खालको भएकाले पर्यटन प्रवर्द्धन गर्नु जरुरी छ ।”

    हालसम्म गुफा र गुम्बालाई प्रचारप्रसार नगरेकाले मुस्ताङका अधिकांश यहाँका गुम्बाबारे अनभिज्ञ रहेका स्थानीय गुरुङको भनाइ छ । कागबेनी–कोरला सडक नजिकै रहेको छुसाङस्थित अनौठो गुफाभित्रको मिन्ची ल्हवाङ गुम्बा ऐतिहासिक धरोहर र पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य बन्नसक्ने स्थानीय गुरुङले बताए ।


    गुफासम्म जान मुख्य सडकबाट पैदल हिडेर पाँच मिनेटमा सहजै पुग्न सकिन्छ । गुफा र गुम्बाको आवश्यक प्रचारप्रसार हुन सकेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका स्थानीयको आयआर्जन वृद्धि हुने स्थानीय बताउँछन् । यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह र अन्य सरोकार भएका निकायले पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका हुन् ।

  • मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो

    मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो

    प्रगति ढकाल–रासस
    काठमाडौँ, ५ वैशाखः हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुन पूर्वनै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो । वन तथा भू–संरक्षण विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो सङ्ख्या २०७९ चैतमा घटेर २६७ मा झरेको थियो । २०८० चैतमा २४९ र २०८१ चैतमा पुनः बढेर ३३१ पुगेको थियो । २०८२ चैतमा भने हालसम्मकै थोरै ७९ वटा मात्रै डढेलाका घटना दर्ता भएका छन् ।

    समग्रमा २०७८ मा दुई हजार १६२ वटा डढेलोका घटना भएकामा २०७९ मा एक हजार २७० मा झरेको थियो । २०८० मा दुई हजार ५५ र २०८१ मा तीन हजार ४७ पुगेको थियो । २०८२ मा भने ४२४ वटा घटना दर्ता भएका छन् । वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले यस वर्ष मनसुन सुरु हुनु अघि नै वर्षा भएका कारण वन डढेलोमा कमी आएको बताए ।

    “यस वर्ष वन डढेलाको ठूलो समस्या भएन । तर वन डढेलो कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा पनि छलफल भएको थियो,” उनले भने, “वन डढेलो नियन्त्रणका लागि ड्रोन खरिदलगायतका कुराहरू पनि उठेका थिए । बैठकमा मनसुनजन्य विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक स्रोत सम्बन्धित मन्त्रालयको विनियोजित बजेटबाट व्यवस्थापन गर्ने तथा अपुग हुने स्रोत अर्थ मन्त्रालयसँग माग गर्ने निर्णयसमेत भएको छ ।”

    महिनागत विश्लेषणले वैशाखमा सबैभन्दा धेरै डढेलो हुने गरेको छ । विक्रम संवत् २०७८ मा एक हजार २०४, विसं २०७९ मा ६०९, विसं २०८० मा एक हजार २७० र विसं २०८१ मा एक हजार ९०४ वटा घटना वैशाखमै भएका थिए । विसं २०८२ को वैशाखमा भने डढेलोको सङ्ख्या घटेर १७३ मात्र छ । जेठमा पनि उल्लेख्य सङ्ख्यामा डढेलो हुने गरेको तथ्याङ्कले देखाउँछ । वन तथा भू–संरक्षण विभागले सार्वजनिक गरेको वन डढेलोसम्बन्धी प्रतिवेदनले पछिल्लो समय डढेलोको जोखिम बढेसँगै वातावरणीय चुनौतीका रूपमा देखिएको छ । प्रतिवेदनअनुसार कुल घटनामध्ये करिब ८९ प्रतिशत डढेलो फागुनदेखि वैशाखसम्ममा हुने गर्छन् ।

    file

    दीर्घकालीन तथ्याङ्कले विसं २०७३ लाई सबैभन्दा गम्भीर डढेलो वर्षका रूपमा देखाएको छ । पछिल्ला वर्षहरूमा पनि डढेलोको जोखिम उच्च छ । विशेषगरी २०७८ र २०८१ मा उल्लेख्य सङ्ख्यामा डढेलोका घटना अभिलेख भएका छन् । विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, लामो सुक्खा अवधि तथा मानवीय कारणले वन डढेलोका घटना बढ्ने बताउनुभयो ।

    “लामो हिउँदे सुक्खा अवधि, न्यून आद्र्रता, उच्च तापक्रम, हावाको तीव्रता, कृषि अवशेष जलाउने प्रचलन तथा वन क्षेत्रमा मानव गतिविधि वृद्धि हुने कारण वन डढेलोको जोखिम बढी हुन्छ,” उनले भने । विशेषगरी वैशाख सबैभन्दा जोखिमयुक्त महिनाका रूपमा देखिएको छ, जसमा मात्र कुल घटनाको करिब ५७.७ प्रतिशत डढेलो हुने गरेको छ ।

    यस्तो छ प्रदेशगत वन डढेलो

    प्रदेशगत रूपमा हेर्दा डढेलोबाट पछिल्ला वर्षमा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित छ । विसं २०७८ मा ४८२ वटा डढेलो भएको लुम्बिनीमा २०८१ सम्म यो सङ्ख्या बढेर ६९८ पुगेको थियो । २०८२ मा भने यो सङ्ख्या घटेर ४४ मा झरेको छ । कर्णाली प्रदेशमा पनि २०७८ मा ३१४ बाट २०८१ मा ५७५ पुगेको थियो । तर २०८२ मा भने ५७ वटा वन डढेलोका घटना दर्ता भएका छन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा २०७८ मा ३८९ र २०८१ मा ५२५ वटा डढेलोका घटना भएकामा २०८२ मा भने १३१ वटा घटना दर्ता भएका छन् ।

    बागमती प्रदेशमा २०७८ मा ३०३ बाट २०८१ मा ४७५ पुगेको थियो भने २०८२ मा यो सङ्ख्या घटेर ७६ पुगेको छ । गण्डकी प्रदेशमा २०८१ मा २४९ वन डढेलोका घटना भएकामा २०८२ मा घटेर ३५ वटा दर्ता भएका छन् । यसैगरी, कोशी प्रदेशमा २०८१ मा २८७ वन डढेलोका घटना भएकामा २०८२ मा घटेर ३१ पुगेको छ । अघिल्लो वर्ष मधेस प्रदेशमा २३८ वन डढेलोका घटना भएकामा २०८२ मा घटेर ५० मा झरेको छ ।

    तथ्याङ्कले २०८२ मा सबैभन्दा बढी सुदूरपश्चिममा र सबैभन्दा कम कोशी प्रदेशमा डढेलो भएको देखाउँछ । वन तथा भू–संरक्षण विभागको तथ्याङ्कमा विशेषगरी विसं २०७३, २०७८ र २०८१ मा अत्यधिक डढेलो घटना अभिलेख भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले आर्थिक वर्ष २०७७÷७८ देखि आर्थिक वर्ष २०८१÷८२ सम्मको पाँच वर्षमा वन डढेलोका कारण करिब ९१ करोड ७९ लाख रुपैयाँ आर्थिक क्षति भएको जानकारी दिनुभयो ।

    मनसुन पूर्वनै सरदरभन्दा बढी वर्षा

    मनसुन सुरु हुनुपूर्व नै औसतभन्दा बढी वर्षा हुँदा सुक्खापन घटेको र वन डढेलोजस्ता प्राकृतिक विपद्का घटना कम भएको मौसमविद्को भनाइ छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् डिविड ढकालका अनुसार शुक्रबारसम्म प्रि–मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा ‘रेकर्ड’ भएको छ । “यस अवधिमा सामान्यतया करिब ३० प्रतिशत वर्षा हुने गरे पनि यस वर्ष ४४ दशमलव ३ प्रतिशत वर्षा भइसकेको छ,” उनले भने ।


    उनका अनुसार विभागअन्तर्गत रहेका २० वटा मौसमी स्टेसनमध्ये जुम्लामा सरदर वर्षा भएको छ भने अन्य अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा मापन गरिएको छ । ढकालले हालसम्म कुल १०१ दशमलव ४ मिलिमिटर वर्षा भइसकेको जानकारी दिँदै यसले सुक्खा अवस्था कम गर्न र वन डढेलोको जोखिम घटाउन सहयोग पुगेको उल्लेख गर्नुभयो ।

    वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ अनुसार वन क्षेत्रको विस्तारसँगै उचित व्यवस्थापन र सदुपयोगको अभावमा वनमा आगलागीको जोखिम पनि बढेको छ । विगतका घटनाहरूका आधारमा अधिकांश वन डढेलो मानिसले लगाएको देखिन्छ ।

    वन डढेलो लाग्ने कारणहरूमा चरिचरनका लागि आगो लगाउने प्रवृत्ति (३० प्रतिशत), चुरोट पिउनेहरूबाट (१५ प्रतिशत), सिकारीहरूबाट (सात प्रतिशत), वनभोज, क्याम्प फायर आदिबाट (सात प्रतिशत), बच्चाहरू खेल्दा (छ प्रतिशत), अवैध काठ कटान गर्नेहरूबाट (पाँच प्रतिशत), अतिक्रमणकारीहरूबाट (पाँच प्रतिशत), खोरिया फँडानीबाट (पाँच प्रतिशत), अज्ञात कारणबाट (चार प्रतिशत), गोल पोल्नेबाट (चार प्रतिशत), जडीबुटी सङ्कलकहरूबाट (तीन प्रतिशत), राँको बाल्ने कारणले (तीन प्रतिशत) तथा खेतीपातीका लागि (एक प्रतिशत) रहेको कार्ययोजनामा उल्लेख छ ।

    समग्रमा मानिसहरूको जानाजानीबाट ६४ प्रतिशत, लापरबाहीबाट ३२ प्रतिशत र अज्ञात कारणबाट चार प्रतिशत वन डढेलो लाग्ने गरेको तथ्याङ्क छ ।

  • आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

    आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’

    काठमाडौँ, ५ वैशाखः काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुने जानकारी दिइन् । हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ ।

    आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि कामपाले निरन्तर काम गरिरहेको छ । यसरी गरिने कामले काठमाडौँको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने अपेक्षा गरिएको छ ।

    मानवीय तथा सवारी आवागमन चापका कारण पछिल्लो समय काठमाडौँका भित्री सहरी क्षेत्रमा व्यवस्थापकीय चुनौती थपिएका छन् । सांस्कृतिक तथा सामाजिक चलनलाई मौलिक स्वरुपमा निरन्तरता दिन कठिन हुन थालेको र काठमाडौँको पहिचानमा नकारात्मक प्रभाव पारेकाले कामपाले उक्त कार्यक्रम सञ्चालन गरेको कामपाको प्रवक्ता नवीन मानन्धरले बताए ।


    शनिबार असन क्षेत्रमा सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन तथा नृत्यलगायत क्रियाकलाप सञ्चालन हुनेछन् । त्यस क्षेत्रमा भएका जीवन्त मूर्त अमूर्त सम्पदा बचावट गर्ने, संरक्षण र प्रवर्द्धन गर्ने, परम्परागत धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत व्यापारिक क्रियाकलापको प्रदर्शन र प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गरिने प्रवक्ता मानन्धरले जानकारी दिए ।
    कार्यक्रम सञ्चालन अवधिमा जमलतर्फ कःमिलाछी (कमलाछी) सिंह ढोकाबाट असनतर्फ सवारी प्रवेश गर्न पाइने छैन ।

    यस्तै भोटाहिटी कलश ढोकाबाट असनतर्फ प्रवेश पाइने छैन । वीर अस्पतालबाट महाबौद्ध स्तुपतर्फ सवारी प्रवेश निषेध हुनेछ । वटु गणेश र भोँसीको स्थित गणेश मन्दिरबाट महाबौद्ध स्तूपतर्फ प्रवेश पाइने छैन । इन्द्रचोकबाट सवारी प्रवेश रोकिनेछ । मच्छिन्द्र वहाल, मांस गल्लीबाट मोटरसाइकलसमेत प्रवेश रोकिनेछ । गोसिफबाट इनबहाल इनबहाल गणेश मन्दिर जान सकिनेछ । गणेश मन्दिरबाट पिलांतु गल्लीतर्फ प्रवेश निषेध हुनेछ । न्हकेटलाबाट असनतर्फ जान पाइने छैन । कान्तिपथतर्फ ज्याठा अन्नपूर्ण स्कुलबाट भमुलु गल्लीतर्फ प्रवेश रोकिनेछ ।

    यो क्षेत्र भएर सवारी धनीहरुले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ । शनिबारका दिन असन आउने आगन्तुकहरुले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल तथा अन्य तोकिएका स्थानमा सवारीसाधन राखेर पैदलयात्राबाट असन प्रवेश गर्नुपर्ने जनाइएको छ ।

  • यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ, ५ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

    सिरुवारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम

    म्याग्दी, ५ वैशाख । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधि अपनाइएको छ । सिरुवारीमा बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले अल्पकालिन रुपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने ‘बेञ्चिङ’ बिधि अपनाएको हो । म्याग्दीका सडकमा पहिरो रोकथामका लागि ‘बेञ्चिङ’ बिधि पहिलो पटक सिरुवारी पहिरोमा प्रयोग भएको हो ।

    अस्थायी रुपमा सिरुवारी पहिरो रोकथाम गरेर आगामी बर्खामा बेनी–जोमसोम–कोरला सडकमा नियमित यातायात सञ्चालनका लागि ‘बेञ्चिङ’ बिधि अपनाइएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । “सिरुवारीको तीन सय मिटर दुरीको पहिरोको दिर्घकालिन समाधानका लागि आवश्यक पर्ने रु। ६० करोड बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रुपमा पहिरो रोकथाम गर्न बेञ्चिङ गरेको हो,” उनले भने, “भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि गह÷गह बनाइएको छ ।”

    गत चैत महिनाको पहिलो सातादेखि डोजर परिचालन गरेर शुरु गरिएको बेञ्चिङ गर्ने कार्य केही दिनअघि सकिएको हो । सिरुबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकतल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता बर्खायाममा सिरुवारीको सडक माथिबाट पहिरो खसेर दैनिक जसो बेनी–जोमसोम सडक अवरुद्ध हुने गरेको छ ।

    सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु बिच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी–जोमसोम सडकको अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिएपनि सबैभन्दा ठूलो सिरुवारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन् ।

    भिरालो जमिनलाई सिँढीजस्तो तह बनाएर स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने बिधीलाई प्राबिधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ । सडक भन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधै खस्न नपाउने गरि सम्माइएको छ । करिब १७ मिटर फराकिलो पारिएको सडकको डिलतर्फ सात मिटर छाडेर कुनातर्फको भागमा पहिरो थुप्रिने ठाउँ राखिएको छ । ढल्केको जमिनलाई सिढीजस्तो बनाएपछि प्रत्येक तहले माथिको माटोको भार सम्हाल्ने, पानी बग्ने गति घट्ने र माटो चिप्लने सम्भावना कम हुने बेनी–जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी जेमकुमार बैठाले बताए ।