Author: Vishwanews.com

  • सम्पत्ति छानविन आयोगले आजबाट थाल्यो काम

    सम्पत्ति छानविन आयोगले आजबाट थाल्यो काम

    ९ वैशाख, काठमाडौं । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा काम सुरु गरेको छ । यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ ।

    आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराए ।

    जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाएको यस आयोगको कार्यसम्पादन सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ । एक वर्षको कार्यकाल तोकिएको यस आयोगले सार्वजनिक पदमा रहेका, सेवानिवृत्त भएका वा पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी सूक्ष्म जाँचबुझ गर्नेछ ।

    आयोगले कुनै पनि व्यक्तिको अनुसन्धान सम्पन्न हुनासाथ प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ, जसलाई सरकारले ४५ दिनभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेछ। आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ ।

    आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी संकलन गर्नेछ। कार्यसम्पादनको सिलसिलामा आयोगले आवश्यकताअनुसार विभिन्न क्षेत्रका विज्ञहरूको सल्लाह लिन सक्ने प्रावधान राखिएको भएता पनि स्वार्थको द्वन्द्व भएका विज्ञहरूलाई भने आमन्त्रण गर्न नपाइने कडा सर्त तय गरिएको छ।

    यो आयोगको गठन २०८२ चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरु’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचारविरोधी प्रतिबद्धताअनुरुप भएको हो। हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ जना कर्मचारीको छनोट (स्क्रिनिङ) गरिरहेको छ। आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।

  • सहकारी पीडितको बचत फिर्ताबारे महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्री रावलको छलफल

    सहकारी पीडितको बचत फिर्ताबारे महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्री रावलको छलफल

    ९ वैशाख, काठमाडौँ । सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरिरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न पक्षसँग चरणबद्ध छलफल गरेको छ । समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा केन्द्रित रहेर बुधबार बिहान मन्त्री प्रतिभा रावलले चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गरेकी हुन् । लगत्तै महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी मनोज केसीसँग छलफल गरिन् ।

    समस्याग्रस्त सहकारीसँग सम्बन्धित मुद्दाहरूको अदालती प्रक्रियाको अवस्थाका विषयमा महान्यायाधिवक्ता डा. कँडेलले मन्त्रीलाई जानकारी गराएका थिए । अनुसन्धानको अवस्थाबारे एआईजी केसीले ब्रिफिङ गरेका थिए । छलफलपछि महान्यायाधिवक्ता डा. कँडेल र एआईजी केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    महान्यायाधिवक्ता डा. कँडेल बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा देखिने कानुनी जटिलता समाधान गर्न महान्यायाधिवक्ताको कार्यालयले आवश्यक भूमिका खेल्ने बताए । ‘समस्याग्रस्त सहकारीसम्बन्धी मुद्दा हेर्नका लागि महान्यायाधिवक्ताको कार्यालयमा छुट्टै डेस्क नै स्थापना भएको छ, यसले अझै प्रभावकारी भूमिका खेल्ने छ’ उनले भने ।

    एआईजी केसीले सीआईबीले पनि आवश्यक समन्वय गर्ने बताए । एआईजी केसीले भने, ‘अनुसन्धानमा देखिएको केही जटिलतालाई कानुनी निरूपण गरी बचतकर्ताको रकम फिर्ताका लागि सीआईबीले आवश्यक समन्वय गर्ने छ ।’ छलफलपछि मन्त्री रावलले सरकारले १०० दिन भित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिनु पर्ने वातावरण सिर्जना नहोस् भन्ने ध्यान दिन आग्रह गरे ।

  • मेयर्स फोरमको निर्णय : ११ वैशाखदेखि विद्यार्थी भर्ना

    मेयर्स फोरमको निर्णय : ११ वैशाखदेखि विद्यार्थी भर्ना

    ९ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले ११ वैशाखदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र १५ वैशाखदेखि नियमित पठनपाठन सुरु गर्न उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने भएको छ । बुधबार बसेको मेयर्स फोरमको बैठकले स्थानीय तहको अधिकार र सर्वोच्च अदालतको आदेशलाईसमेत ध्यानमा राखी यस्तो निर्णय गरेको हो ।

    ‘नेपाल सरकारले हालै गरेको निर्देशनलाई समेत मध्यनजर गर्दै शिक्षा नियमावलीमा तोकिएको शैक्षिक सत्र अनुसार विद्यालय सञ्चालन गर्नका लागि यस वर्ष मिति २०८३ वैशाख ११ गतेदेखि विद्यालयमा नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्न र मिति २०८३ वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्नरगराउन काठमाडौं उपत्यका मेयर्स फोरमको मिति २०८३ वैशाख ९ गते बसेको बैठकको निर्णयअनुसार उपत्यकाभित्रका सबै पालिकाहरूलाई अनुरोध गर्ने निर्णय गरियो,’ मेयर्स फोरमले जारी गरेको विज्ञप्तिमा छ ।

    साथै मुलुकमा विद्यमान इन्धन संकटलाई ध्यानमा राख्दै आगामी दिनमा इन्धनको थप संकट बढ्दै गएमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन र विद्यालय सञ्चालन तथा पठनपाठन अवरुद्ध हुन नदिनका लागि अनलाइन कक्षा लगायत अन्य वैकल्पिक उपायको समेत तयारी गरन फोरमले भनेको छ ।

    २२ चैतको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र २०८३ को भर्ना अभियान १५ वैशाखदेखि र पठनपाठन २१ वैशाखदेखि सुरु गर्ने निर्णय गरेको थियो । यस निर्णयले विद्यालय सञ्चालनमा अन्योलता सिर्जना भई नियमित शैक्षिक क्रियाकलापमा असर पर्न गएकोप्रति मेयर्स फोरमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सरोकार निकायबाट प्राप्त गुनासो सम्तको विश्लेषण गरी विद्यार्थीको सिकाइ उपलब्धिमा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न र उपत्यकाको शैक्षिक वातावरणमा एकरूपता कायम गर्नका लागि सबै विद्यालयहरूङ्गा शैक्षिक सत्र सञ्चालनको भावना अनुरूप पठनपाठन सुरु गर्न आवश्यक रहेको मेयर्य फोरमको बुझाइ छ ।

  • राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान

    राष्ट्रपतिबाट बजेट अधिवेशन आह्वान

    ९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । यो अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि–बजेट छलफलसमेत हुनेगर्छ । आजै सभामुख डिपी अर्याल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आगामी बजेट अधिवेशनको तयारीबारे छलफल समेत भएको छ ।

  • मन्त्रालयबाट बाहिरिनु अगाडी के भने सुधनले ?

    मन्त्रालयबाट बाहिरिनु अगाडी के भने सुधनले ?

    ९ वैशाख, काठमाडौं । सम्पत्ति तथा शेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा दिएपछि बुधबार मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताए ।

    ‘तपाईंहरुको क्षमतादेखि म निकै खुसी छु । तपाईंहरुको क्षमतालाई मैले बाहिर ल्याउने काम मात्रै गरेको हुँ । यतिन्जेल मलाई सहयोग गरेकोमा तपाईंहरुलाई धन्यवाद दिन चाहान्छु । जुन स्पिरिटले काम गरिएको थियो, त्यसको तपाईंहरु नै हकदार हो । तपाईंहरुको र मन्त्रालयको इज्जतका लागि पनि मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ’ गुरुङले भने ।

    गुरुङले दिएको राजीनामालाई धेरैले स्वागत गरेका छन् । आरोप लागेपछि नैतिकता देखाउँदै राजीनामा दिएर अनुसन्धानका लागि बाटो खुल्ला गर्नुलाई धेरैले राम्रो मानेका छन् । राजीनामा दिँदै उनले लेखेका छन्, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु । मेरा लागि पदभन्दा ठूलो कुरा नैतिकता हो । जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषय निष्पक्ष छानबिन होस् ।’

  • गृहमन्त्री गुरुङले दिए राजीनामा

    गृहमन्त्री गुरुङले दिए राजीनामा

    ९ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । सम्पत्ति विवरण सार्वजनिक र दिपक भट्टको लगानी रहेको कम्पनीमा शेयर कारोबारको खुलासा पछि गुरुङमाथि प्रश्न उठिरहेको थियोे । भट्ट अहिले प्रहरी हिरासतमा छन् ।

    यस्तो छ गुरुङको स्टाटस

    म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
    मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
    त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
    मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
    For my country and For the respect of our security forces and For the youths of Nepal.

  • विद्युतीय गाडीले धेरै भाडा लिए कारवाही हुने

    विद्युतीय गाडीले धेरै भाडा लिए कारवाही हुने

    ९ वैशाख, काठमाडौँ । यातायात व्यवस्था विभागले हालै वृद्धि गरिएको सार्वजनिक सवारी साधनको भाडा विद्युतीय सवारीको हकमा लागू नहुने स्पष्ट पारेको छ । विभागले एक सूचना जारी गर्दै डिजेल इन्जिन प्रयोग हुने सवारी साधनको मात्र भाडा वृद्धि गरिएको जानकारी दिएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणाली अनुसार गत चैत २५ गतेदेखि लागू हुने गरी अन्तरप्रदेशीय सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरिएको थियो । तर, उक्त वृद्धि केवल डिजेलबाट चल्ने यात्रुवाहक तथा मालवाहक सवारीको हकमा मात्र भएको विभागले जनाएको छ ।

    सूचनामा भनिएको छ, ‘विद्युतीय सवारी साधनको हकमा उक्त भाडा वृद्धि लागू नहुने व्यहोरा अनुरोध गर्दछौँ । विद्युतीय सवारीमा साविककै भाडादर कायम रहेको छ ।’ पछिल्लो समय केही विद्युतीय सवारी चालक तथा यातायात सेवा प्रदायकले बढेको भाडा असुल गरिरहेको र यात्रुलाई अनिवार्य दिनुपर्ने टिकट समेत नदिएको गुनासो प्राप्त भएपछि विभागले यस्तो स्पष्टीकरण दिएको हो ।

    विभागले सबै यातायात व्यवसायीलाई यात्रुसँग साविककै भाडा लिन र अनिवार्य रूपमा टिकट प्रदान गर्न निर्देशन दिएको छ । यदि विभागको यस निर्देशन विपरीत बढी भाडा लिएको वा नियम पालना नगरेको पाइएमा ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ र ‘सवारी तथा यातायात व्यवस्था नियमावली २०५४’ बमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

  • कांग्रेसको निर्वाचन समिक्षा बैठक विराटनरमा, सभापति सहभागी हुने

    कांग्रेसको निर्वाचन समिक्षा बैठक विराटनरमा, सभापति सहभागी हुने

    ९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् । निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानकारी दिइन्।

    पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा तथा आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला सभापतिहरू, क्षेत्रीय सभापतिहरू तथा अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ।

    कांग्रेसले पछिल्लो समय विभिन्न प्रदेशमा निर्वाचन समीक्षा कार्यक्रम गर्दै आएको छ । यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको पार्टीले आज कोशी प्रदेशमा सङ्गठनात्मक छलफललाई निरन्तरता दिन लागेको हो।

    पार्टी नेतृत्वले समीक्षा कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्म सङ्गठनको अवस्था, चुनावी परिणाम, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव सङ्कलन गर्ने अपेक्षा गरेको छ। साथै आगामी राजनीतिक रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता, १५ औँ महाधिवेशनको तयारी र कार्यकर्ताको सक्रियता बढाउने विषयमा समेत व्यापक छलफल हुने बताइएको छ।

    कांग्रेसको कोशी प्रदेशको नेतृत्व व्यवस्थापन तथा सङ्गठन सुदृढीकरणका विषयमा पनि बैठकमा प्राथमिकताका साथ छलफल हुने सहमहामन्त्री सङ्ग्रौलाले जानकारी दिइन् ।

  • कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदै

    कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदै

    ९ वैशाख, काठमाडौं । आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ । कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन् । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइन्छ । जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।

    स्थापनाको ८ दशक पुग्न लाग्दा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका कम्युनिष्ट पार्टीहरूले कार्यक्रमको आयोजना गरेका छन् ।

  • गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग गरे मध्यरातीसम्म छलफल

    गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुसँग गरे मध्यरातीसम्म छलफल

    ९ वैशाख, काठमाडौं । सेयर कारोबारको विषयलाई लिएर तिव्र आलोचनाका बीच गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका प्रमुखहरूसँग मध्यरातीसम्म छलफल गरेका छन्। मंगलबार राति गृहमन्त्री गुरूङले गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूसँग लामो छलफल गरेका हुन्। झन्डै ५ घन्टासम्म चलेको छलफल राति करिब ११ बजे सकिएको थियो।


    छलफलबाट बाहिरिने क्रममा गृहमन्त्री गुरूङलाई पत्रकारहरूले के विषयमा छलफल भएको भनेर सोधेका थिए। जबाफमा उनले भने, अब पछि भनौला’ उनले उल्टै पत्रकारलाई किन यति रातीसम्म दुख पाएको भन्दै प्रतिप्रश्न समेत गरेका थिए ।

  • कम्यूनिष्ट स्थापना दिवसमा प्रचण्ड प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरमा मोर्चा

    कम्यूनिष्ट स्थापना दिवसमा प्रचण्ड प्रस्ताव : वामपन्थी पुनर्गठन, शान्ति सम्झौता पक्षधरमा मोर्चा

    ९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता र शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक रहेको बताएका छन् । विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक भइरहेको भन्दै प्रचण्डले यो परिस्थितिमा शान्ति सम्झौता तथा लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दीमा पनि जोड दिएका छन् ।

    नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको जनाएका छन् र शुभकामना सन्देशमा लेखेका छन्, ‘सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ ।’

    उनी थप लेख्छन्, ‘नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु ।’ सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने महान् उद्देश्यसहित वि।सं। २००६ साल वैशाख ९ ९२२ अप्रिल १९४९० मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । स्थापना दिवस नेपालका कम्युनिष्ट पार्टीहरुले आआफ्नै तरिकाले मनाउँदै आएका छन् ।

    प्रचण्डले शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेको भन्दै साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्णरूपमा स्थापित हुन नसकेको जनाएका छन् । त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहने उनले उल्लेख गरेका छन् । अर्कोतर्फ, वर्तमान विश्व परिवेशमा साम्राज्यवाद राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारविरुद्ध झन् आक्रामक र फासिवादी दिशातिर अगाडि बढिरहेको भन्दै उनले लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेको उल्लेख गरेका छन् ।

    कम्युनिष्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको प्रचण्डको भनाइ छ । तसर्थ, नेपाली कम्युनिष्टहरूको काँधमा विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको प्रचण्डले उल्लेख गरेका छन् । ‘इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु,’ उनले भनेका छन् ।

    शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले लेखेका छन्, ‘विगतको समीक्षा र वैचारिक संश्लेषणका साथ वामपन्थी आन्दोलनको पुनर्गठनको संकल्प लिन सबैमा पुन: आह्वान गर्दछु ।’

  • तराई र उपत्यकामा तातो दिन

    तराई र उपत्यकामा तातो दिन

    काठमाडौँ, वैशाख ९ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेकोे छ ।

    महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ ।

    कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

    त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस

  • इरान–अमेरिका युद्धबिराम लम्बियो

    इरान–अमेरिका युद्धबिराम लम्बियो

    ९ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाएका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार गरिएको यो निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पको भनाई छ ।

    ट्रम्पले बुधबारसम्म इरान सहमतिमा नआए आक्रमण गर्ने धम्की दिएका थिए । उनले युद्धविराम अवधि लम्बिए पनि इरानमाथिको नाकाबन्दी जारी राखेका छन् । ‘हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार अवस्थामा रहन निर्देशन दिएको छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको प्रस्ताव प्रस्तुत नभएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’

    युद्धविराम कति समयसम्म लम्बिएको हो भन्ने कुरा ट्रम्पले खुलाएका छैनन् । युद्धविराम विस्तार ट्रम्प प्रशासनको अचानक निर्णय परिवर्तनको उदाहरण बनेको छ । सामाजिक सञ्जाल पोस्ट गर्नुअघि केही घण्टामै ट्रम्पले युद्धविराम नलम्ब्याउने र इरानमाथि ठूलो आक्रमण गर्ने चेतावनी दिएका थिए ।
    त्यसबीच इरानी अधिकारीहरूले अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दीको आलोचना गरेका थिए, जसले बुधबारका लागि तय गरिएको वार्तामा उनीहरूको सहभागिता अनिश्चित बनाएको थियो ।

    पछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम लम्ब्याउने निर्णयका लागि ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै इस्लामाबादले द्वन्द्व समाधानका लागि कूटनीतिक पहल जारी राख्ने बताएका छन् । ‘म आशा गर्दछु कि दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट स्थायी समाधान निकाल्न सक्नेछन्,’ शरीफले एक्समा लेखेका छन् ।

    तर नौसैनिक नाकाबन्दी जारी रहेकाले युद्धविराम विस्तारले मात्र इरानलाई वार्तामा ल्याउन पर्याप्त हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको वक्तव्यबारे इरानले तत्काल प्रतिक्रिया दिएको छैन । अर्धसरकारी तास्निम समाचार एजेन्सीले तेहरानको धारणा पछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको अलजजिराले लेखेको छ ।

    यसअघि मंगलबार नै इरानका विदेशमन्त्री अब्बास अराघचीले बन्दरगाह नाकाबन्दीलाई ‘युद्धको कार्य’ भन्दै विद्यमान युद्धविरामको उल्लंघन भएको बताएका थिए । ‘इरानलाई प्रतिबन्ध निष्प्रभावी बनाउने, आफ्ना हित रक्षा गर्ने र दबाबको सामना गर्ने तरिका थाहा छ,’ उनले लेखेका छन् ।

  • सरकारलाई हर्क साम्पाङको ३३ बुँदे सुझाव : तीन दिन किताब, चार दिन श्रम–सिर्जना

    सरकारलाई हर्क साम्पाङको ३३ बुँदे सुझाव : तीन दिन किताब, चार दिन श्रम–सिर्जना

    ९ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, शिक्षा, कृषि, सुशासन र नागरिक अधिकारका विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक गरे । अध्यक्ष राईले नेपालको असंलग्न परराष्ट्र नीतिलाई सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट जोगाउनुपर्ने बताए ।

    उनले एमसीसी, एसपीपी र हाल चर्चामा रहेको ‘बफर स्टेट’ जस्ता सैन्य रणनीतिसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने सन्धि सम्झौता नगर्न सरकारलाई सुझाव दिए । उनले भने, “नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक हो, हामी असल छिमेकी भएर प्रस्तुत हुनुपर्छ तर हाम्रो देशलाई युद्धको मैदान बन्न दिने गरी बफर स्टेटको व्याख्या गरिरहनु पर्दैन ।”

    अध्यक्ष राईले वर्तमान शिक्षा प्रणालीले उत्पादन र आविष्कार गर्न नसकेको भन्दै हप्ताको तीन दिन मात्र किताब पढाउने र बाँकी चार दिन श्रम, सीप, सिर्जना र आविष्कारमा लगाउनुपर्ने प्रस्ताव अघि सारे । उनले किताब घोकाउने शिक्षाको अन्त्य गरेर व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउँदै यसका लागि सरकारले सुरुमा पाठ्यभार र पाठ्यक्रम घटाउनुपर्ने उल्लेख गरे ।

    सीमा रक्षाका लागि नेपाली सेनालाई सीमावर्ती क्षेत्रमा परिचालन गर्नुपर्ने र छिमेकी मुलुकसँग नियमित छलफल गर्नुपर्ने सुझाव पार्टीले दिएको छ । यस्तै, महाकाली जस्ता क्षेत्रमा भइरहेका अवैध तटबन्ध तथा निर्माण कार्य रोक्न माग गरिएको छ । वैदेशिक ऋण र अनुदानको भर नपरी आफ्नै प्राकृतिक स्रोत, प्रविधि र जनशक्ति परिचालन गरी स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्ने उनको दाबी छ ।

    कागजी कृषि क्रान्ति सिंहदरबार र मन्त्रालयमा सीमित भएको टिप्पणी गर्दै राईले सिँचाइ, मल, बीउ र प्रविधिलाई किसानको खेतसम्म पुर्‍याउनुपर्ने बताए । ‘एक पालिका एक उद्योग र एक परिवार एक रोजगार’ को नीति लागु गरी युवालाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने उनले बताए । सहकारी ठगी प्रकरणमा संलग्न दोषीलाई कारबाही गरी पीडितको पैसा राज्यकोषबाट नभई ठगी गर्नेकै जायजेथा लिलाम गरेर फिर्ता गर्नुपर्ने माग राईले गरे । यस्तै, स्रोत नखुलेको सम्पत्ति जोड्नेको सम्पत्ति सरकारीकरण गर्न र भ्रष्टाचार अन्त्य गरी पारदर्शी सरकार बनाउन उनले जोड दिए ।


    काठमाडौँको सुकुमवासी बस्ती व्यवस्थापनको प्रसङ्गमा बोल्दै उहाँले नागरिकको घाँटी निमोठ्ने कार्य लोकतान्त्रिक नभएको बताए । उनले भने, “भात खान पाउनु मान्छेको पहिलो अधिकार हो । उचित विकल्प नदिई बस्ती भत्काउँदा नागरिक पुलमुनि बस्नुपर्ने अवस्था आउनु राज्यको असफलता हो । दमन होइन, उचित पुनर्वास र क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्छ ।”

    अध्यक्ष राईले सुशासनको सुरुवात आफैँबाट गर्नुपर्ने भन्दै आफू र आफ्नो पार्टीका तर्फबाट सांसदका लागि दिइने स्वकीय सचिव र त्यसको बजेट नलिने घोषणा गरे । “कागजी काम कम गरौँ, कामै नहुने ठाउँमा मान्छे राखेर राज्यको स्रोत खर्च गर्नु आवश्यक छैन”, उनले भने ।

    भूपू गोर्खा सैनिकका लागि समान पेन्सनका विषयमा बेलायत सरकारसँग पहल गर्ने र नागरिकता यथावत राख्ने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार ग्यारेन्टी गर्ने तथा अधुरा रहेका पुल, बाटो र अस्पताल यथाशीघ्र सम्पन्न गर्ने विषय सुझावमा समेटिएका छन् । काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने, सबैभन्दा सस्तो प्रस्तावभन्दा पनि गुणस्तर र समयको सुनिश्चितता गर्नेलाई ठेक्का दिने व्यवस्था मिलाउन पनि उनले माग गरे ।


    कर्मचारी प्रशासनमा काम नगर्ने र भ्रष्टलाई बर्खास्त गर्ने तथा राम्रो काम गर्नेलाई पुरस्कृत र बढुवा गर्ने नीति लिनुपर्ने उनको सुझाव छ । साथै, युवा पुस्ताको भावना र चाहना अनुसारका कार्यक्रम बनाउन ‘जेनजी आयोग’ गठन गर्नुपर्ने माग राख्दै अध्यक्ष राईले ३३ बुँदे सुझावका विषयमा सरकारले ध्यान नदिए आन्दोलनमा उत्रन सक्ने सङ्केत समेत गरे ।

  • सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता

    सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता

    जेनेभा, वैशाख ८ गते । सन् २०२५ मा आप्रवासन मार्गमा लगभग सात हजार ९०० व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएका संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले मङ्गलबार सार्वजनिक उक रिपोर्टमा भनेको छ । यससँगै आप्रवासनका क्रममा सन् २०१४ देखि सन् २०२५ को अन्त्यसम्म कुल मृतक र बेपत्ता व्यक्तिको सङ्ख्या ८० हजारभन्दा बढी भएको छ ।

    संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले सुरक्षित मार्ग पहुँच भन्दा बाहिर हुँदा मानिस खतरनाक, अनियमित यात्रामा जान बाध्य हुनेगरेको र ज्यान गुमाउने गरेको बताएको छ । सङ्गठनले देशलाई आप्रवासन मार्गहरूमा बढीभन्दा बढी जीवन बचाउन राजनीतिक इच्छाशक्ति खोज्न आग्रह गरेको छ । आइओएमले भनेको छ, “सन् २०२५ मा विश्वभर आप्रवासनका क्रममा करिब सात हजार ९०० मानिसको मृत्यु वा बेपत्ता भएको अभिलेख राखिएको छ ।”

    आइओएमको बेपत्ता आप्रवासी परियोजनाले सन् २०१४ यता आप्रवासनका क्रममा ८० हजारभन्दा बढीको मृत्यु र बेपत्ताको अभिलेख राखेको छ । “यद्यपि यी तथ्याङ्कले प्रभावित व्यक्तिको वास्तविक संख्याको सबैभन्दा कम सीमालाई प्रतिनिधित्व गर्दछ, तर पनि यसले आप्रवासी मृत्युको अन्त्य गर्न र पछाडि छोडिएका परिवारको जटिल आवश्यकतालाई सम्बोधन गर्न तत्काल प्रतिक्रियाको आवश्यकतालाई जोड दिन्छ,” आइओएमले भनेको छ ।

    आइओएमले सन् २०२५ मा भएको हजारौँको मृत्यु र बेपत्ताको अभिलेखले यी रोकथाम गर्न सकिने मृत्युलाई अन्त्य गर्न विश्वव्यापी असफलताको निरन्तरता र वृद्धिलाई सङ्केत गरेको बताएको छ । “सन् २०२५ मो सहायता कटौती र खतरनाक अनियमित मार्गको सूचनामा प्रतिबन्ध लगाइएको थियो, जसले धेरै भन्दा धेरै बेपत्ता आप्रवासीको गणनालाई कठिन बनाएको थियो, ” विज्ञप्तिमा भनिएको छ ।

    यसैबिच, आप्रवासीको वेपत्ता हुने समस्याले गर्दा अहिले कम्तिमा तीन लाख ४० हजार परिवारका सदस्य प्रत्यक्ष रूपमा प्रभावित भएको अनुमान गरिएको छ । उनीहरूले आफ्नो नातेदारको मनोवैज्ञानिक, सामाजिक, कानुनी र आर्थिक प्रभावको सामना गरिरहेका आइओएमले जनाएको छ । बेपत्ता हुने समस्या अझै पनि समाधान भएको छैन ।

    आइओएमले सन् २०२६ मेको अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्च गतिशीलता परिवर्तन गर्ने अवसर भएको बताएको छ । “विश्वव्यापी आप्रवासन मार्गमा जीवन बचाउन र यी रोकथाम गर्न सकिने क्षतिबाट सबैभन्दा बढी प्रभावित परिवारलाई देख्न दिगो राजनीतिक इच्छाशक्ति आवश्यक छ,” आइओएमले भनेको छ । रासस-एएफपी

  • ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना

    ओर्टेगाद्वारा ट्रम्पको तीव्र आलोचना

    सान जोस, वैशाख ९ । मध्यपूर्वमा चर्किंदै गएको युद्धको पृष्ठभूमिमा निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा व्यक्तिगत आक्षेप लगाउँदै उहाँलाई ‘मानसिक रूपमा अस्थिर’ रहेको टिप्पणी गरेका छन् । इरानविरुद्धको सैन्य आक्रमणलाई लक्षित गर्दै गरिएको यस्तो अभिव्यक्तिले वासिङ्टन–मानागुआ सम्बन्धमा थप तिक्तता ल्याउने सङ्केत दिएको छ ।

    राज्यद्वारा सञ्चालित सञ्चार माध्यममार्फत प्रसारित मानागुआस्थित एक कार्यक्रममा बोल्दै ओर्टेगाले वर्तमान अमेरिकी नेतृत्वको युद्ध सञ्चालन शैलीलाई असामान्य र खतरनाक भएको बताए । उनका अनुसार यस्तो आक्रामक नीति ‘आफ्नो नियन्त्रण गुमाइसकेको व्यक्तिको व्यवहार’ जस्तो देखिन्छ, जसले आफूले चाहेको कुनै पनि क्रूर कदम चाल्न सक्छ भन्ने मानसिकता झल्काउँछ ।

    उनले यसलाई ‘मानसिक अस्थिरताको समस्या’ भन्दै थप कडा टिप्पणी गरेका थिए । फेब्रुअरी २८ मा इरान विरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा सुरु गरेको आक्रमणपछि ओर्टेगाले लगातार ट्रम्पको आलोचना गर्दै आएका छन् । उनको भनाइमा उक्त युद्धले क्षेत्रीय मात्र नभई, विश्वव्यापी अस्थिरता बढाएको छ । ओर्टेगाले ट्रम्पको सामाजिक सञ्जाल गतिविधिलाई समेत विवादास्पद भन्दै आलोचना गरे ।

    विशेषगरी ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा कृत्रिम बौद्धिकताबाट बनाइएको एउटा तस्बिर पोस्ट गरेको प्रसङ्ग उठाउँदै उनले त्यसलाई अस्वीकार्य व्यवहारको उदाहरणका रूपमा प्रस्तुत गरे । उक्त तस्बिरमा ट्रम्पलाई येशू ख्रीष्टको रूपमा चित्रण गरिएको देखाइएको थियो, जहाँ उहाँ बिरामी व्यक्तिलाई निको पार्दै गरेको दृश्य देखिन्छ । यसप्रति प्रतिक्रिया जनाउँदै ओर्टेगाले ट्रम्पले कति जनालाई निको पारेका छन् भन्ने प्रश्न गर्दै, उल्टै युद्धमार्फत कति जनाको ज्यान गएको छ भन्ने विषयमा विश्व समुदायले जवाफ खोज्ने बताए ।


    यसैबिच, ओर्टेगाले आफ्ना परिवारमाथि लक्षित अमेरिकी प्रतिबन्धको पनि आलोचना गरेका छन् । सन् २००७ देखि सत्तामा रहँदै आउएका उनीमाथि यसअघि पनि संवैधानिक संशोधन र असन्तुष्टिलाई दमन गरेर शक्ति केन्द्रित गरेको आरोप लाग्दै आएको छ, जसलाई संयुक्त राज्य अमेरिकाले बारम्बार उठाउँदै आएको छ ।

    पछिल्लो समयमा उहाँका दुई सन्तान सुन उद्योगसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा अमेरिकाले प्रतिबन्ध लगाएको छ । यस कदमप्रति आक्रोश व्यक्त गर्दै ओर्टेगाले आफूलाई लक्षित गर्न नसकेपछि आफ्ना परिवारमाथि दबाब सिर्जना गरिएको टिप्पणी गरे । उनका अनुसार यस्तो प्रतिबन्ध राजनीतिक उद्देश्यले प्रेरित रहेको छ । रासस-एएफपी

  • अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

    अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

    काठमाडौँ, वैशाख ८ गते । देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

    विभागका मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना छ । उनले दिउँसोको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार स्थानमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिए ।


    लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरू(कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही—मा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ । त्यस्तै, अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायत जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ ।

    तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ । बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस

  • गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

    गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

    सियोल, वैशाख ९ । उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र दक्षिण कोरियाबिच गुप्तचर साझेदारीमा चिसोपन देखिएको छ । सियोलका एक मन्त्रीको टिप्पणीपछि वासिङ्टनले उत्तर कोरिया सम्बन्धी केही उपग्रह खुफिया जानकारी साझेदारीमा आंशिक सीमितता लगाएको विवरण सार्वजनिक भएको छ ।

    दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ(युङले गत महिना संसद्‌मा उत्तर कोरियाको उत्तरपश्चिमी कुसोङ क्षेत्रमा युरेनियम संवर्धन स्थल सञ्चालन भइरहेको आशङ्का व्यक्त गरेका थिए । यही अभिव्यक्तिलाई लिएर अमेरिकाले असन्तुष्टि जनाएको र संवेदनशील सूचनाको अनुमतिबिना खुलासा भएको ठहर गर्दै प्रतिक्रिया दिएको दक्षिण कोरियाली समाचार संस्था योन्हापसहितका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

    रिपोर्ट अनुसार यस घटनापछि अमेरिकाले पहिले नियमितरूपमा सियोललाई दिँदै आएको केही उपग्रह सूचनामा सीमितता लगाएको छ । उक्त प्रतिबन्ध यसै महिनाको सुरुदेखि लागु भएको बताइए पनि यसले समग्र सैन्य तयारीमा ठुलो असर नपारेको एक अज्ञात दक्षिण कोरियाली सैन्य अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । ती अधिकारीका उत्तर कोरियाको सैन्य गतिविधिबारे गुप्तचर सङ्कलन र आदानप्रदान भने अझै सामान्यरूपमा जारी छ ।

    यद्यपि, दक्षिण कोरिया वा अमेरिकाका अधिकारीले औपचारिक रूपमा यस्तो प्रतिबन्धको पुष्टि गरेका छैनन् । कोरियामा तैनाथ अमेरिकी सैन्य संरचना ‘युनाइटेड स्टेट्स फोर्सेज कोरिया’ ले पनि सञ्चारमाध्यममा आएका विवरणबारे जानकारी भएको जनाउँदै थप टिप्पणी गर्न अस्वीकार गरेको छ । यसैबिच, दक्षिण कोरियाको एकीकरण मन्त्रालयले कुसोङस्थित कथित आणविक सुविधाबारे अन्य कुनै स्रोतबाट नयाँ जानकारी प्राप्त नभएको जनाएको छ । उत्तर कोरियाले यसअघि योङब्योन र राजधानी प्योङयाङ नजिक कङ्गसन क्षेत्रमा युरेनियम संवर्धन सुविधा सञ्चालन गर्दै आएको जानकारी सार्वजनिक भइसकेको छ ।

    चुङको अभिव्यक्तिलाई लिएर विपक्षी दलले आलोचना गरेका छन् र यसले अमेरिका(दक्षिण कोरिया सम्बन्धमा असर पारेको आरोप लगाएका छन् । तर चुङले आफ्नो भनाइ सार्वजनिकरूपमा उपलब्ध जानकारीमा आधारित रहेको र यसलाई गोप्य सूचनाको चुहावटका रूपमा व्याख्या गरिनु ‘दुःखद्’ भएको बताउनुभएको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले पनि चुङको बचाउ गर्दै कुसोङ सुविधा सम्बन्धी जानकारी पहिले नै विभिन्न शैक्षिक अध्ययन र सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेको ‘स्पष्ट तथ्य’ भएको उल्लेख गर्नुभएको छ । उहाँले अमेरिकी गोप्य सूचनाको चुहावट भएको दाबी आधारहीन रहेको स्पष्ट पार्नुभयो ।

    यसै क्रममा, केही रिपोर्टहरूमा कोरियास्थित अमेरिकी सैन्य कमान्डर जेभियर ब्रुनसनले दक्षिण कोरियाका रक्षामन्त्रीसँग असन्तुष्टि व्यक्त गरेको उल्लेख भए पनि रक्षा मन्त्रालयले यस्तो दाबीलाई कूटनीतिक रूपमा उपयुक्त नहुने भन्दै अस्वीकार गरेको छ । उत्तर कोरिया निरन्तर आणविक हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रम अघि बढाइरहेको भन्दै संयुक्त राष्ट्रसङ्घका विभिन्न प्रतिबन्धहरू अन्तर्गत छ, जसलाई उसले बारम्बार उल्लङ्घन गर्दै आएको आरोप छ ।

    हालै संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले उत्तर कोरियाले आफ्नो आणविक क्षमतामा ‘धेरै गम्भीर वृद्धि’ गरिरहेको चेतावनी दिएका थिए । उत्तर कोरियाको सम्भावित सैन्य खतरा नियन्त्रण गर्न अमेरिकाले दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । साथै, स्याटेलाइट र अन्य माध्यमबाट प्राप्त गुप्तचर सूचना सियोलसँग साझेदारी गर्दै आएको छ । पछिल्लो घटनाक्रमले दुई सहयोगीबिच विश्वास र सूचनाको संवेदनशीलता कति महत्त्वपूर्ण हुन्छ भन्ने प्रश्न फेरि उठाएको छ । रासस-एएफपी

  • सभामुख अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत

    सभामुख अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन प्रस्तुत

    ८ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली समिति मस्यौदा समितिको प्रतिवेदन २०८३ बुझाइएको छ । प्रतिवेदनको प्रस्तावनामा प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही र सदन वा समितिको कार्यविधि नियमित गर्न र परिआएको खण्डमा बाधा अड्काउ फुकाउ नियमावली बनाइएको उल्लेख छ ।

    प्रतिवेदनमा प्रतिनिसभाको अधिवेशन र बैठक सञ्चालन, अध्यक्षता, सदस्यको उपस्थिति, बस्ने क्रम, निर्वाचन, शपथ, दैनिक कार्यसूची, कार्यव्यवस्था परामर्श समिति, समयावधि निर्धारण, शून्य र विशेष समय, प्रश्न उत्तरको समय, सूचना दिने समय, सूचना संशोधन, बैठक प्रारम्भ, पालना गर्नुपर्ने नियम, बोल्ने क्रम, नियमापत्ति, निर्णयार्थ प्रश्न पेस गर्ने विधि, विभाजन, सदस्यको निलम्बन र सभामुखको विशेष अधिकारजस्ता विषयवस्तु समेटिएको छ ।

    राष्ट्रपतिबाट सम्बोधन, धन्यवादको प्रस्ताव, जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव, स्थगन प्रस्तावको सूचना, नीति तथा कार्यक्रमसम्बन्धी कार्यविधिजस्ता विषय प्रतिवेदनमा समेटिएको छ ।

    प्रतिवेदनमा कार्यपालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन मिलाउन संसद् र संसदीय समितिमार्फत दिइने निर्देशन कार्यान्वयन भए नभएकोबारे ३० भित्र खोज्न सक्नेगरी समयसीमा तोकिएको छ । सदन र समितिले दिएका निर्देशन निष्कर्षमा पु¥याउन नसक्ने अवस्था रहेमा कार्यपालिकाले समयसीमाभित्रै व्यवस्थापिकालाई जानकारी गराउनुपर्नेछ । सदन र विषयगत समितिमा जनताका तर्फबाट उठेका मुद्दा सामूहिक रूपमा कसरी सम्बोधन गर्ने तथा व्यावहारिक र प्रभावकारी बनाउने भन्ने पक्ष पनि प्रतिवेदनमा समेटिएको छ ।

    सभामुख अर्यालले मस्यौदा प्रतिवेदन ग्रहण गर्दै प्रतिनिसभा र मातहतका विषयगत समितिका कामकारबाहीलाई अघि बढाउन प्रस्तुत निमावलीको मस्यौदा प्रतिवेदनले महत्त्वपूर्ण मार्गदर्शन गर्ने बताए । उनले समितिको अथक प्रयासबाट तोकिएको समयसीमा भित्रै तयार भएको मस्यौदा प्रतिवेदन आगामी सदनमा पेस गरिने बताए ।
    सभामुख अर्यालले भने, “मस्यौदा प्रतिवेदनमा कहीँ कतै कमी कम्जोरी रहेको खण्डमा सुधार गर्न र संशोधनका लागि समय दिइनेछ । सदनका गतिविधि संविधान, कानुन, नजिर, अभ्यासका आधारमा अघि बढाइनेछ ।” निर्धारित समयभित्रै काम सम्पन्न भएको विषयले आगामी दिनका लागि पनि नजिर बसाल्ने बताउँदै उनले समयसीमाभित्रै काम सम्पन्न भएमा आफूलाई गर्व लाग्ने मात्र नभई जनताले त्यसबाट लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।


    मस्यौदा समितिका सभापति गणेश पराजुलीले जनतासमक्ष समयमै कानुन बनाएर न्यायको सुनिश्चिता गर्ने वाचा गरेबमोजिम समितिले पनि समयसीमा र क्यालेन्डर बनाएर काम गर्ने व्यवस्था मिलाएको बताए । उनले कार्यपालिकाले व्यवस्थापिकालाई जवाफदेहिता बनाउने र व्यस्थापिकालाई कार्यपालिकाले बिजनेस दिनुपर्ने प्रमुख दायित्व हो भन्ने विषय सुनिश्चित गरिएको बताए । सबै सदस्यको क्षमता, विज्ञता र अनुभव समेटिएकाले संसदीय अभ्यास र गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउन मस्यौदा प्रतिवेदन महत्त्वपूर्ण डकुमेन्टका रूपमा रहने उनको विश्वास छ ।

    पन्ध्र सदस्यीय मस्यौदा समितिले नियमित रूपमा चौधवटा बैठक बसी मस्यौदा प्रतिवेदनलाई अन्तिम रूप दिएको थियो । समितिमा केही विषयमा दलगत अडान रहे पनि ९५ प्रतिशतभन्दा बढी विषय सर्वसम्मत रूपमा अघि बढाइएको सभापति गणेश पराजुलीले जानकारी दिए । त्यस अवसरमा प्रतिपक्षी सदस्यहरूले संसद्लाई बढी लोकतान्त्रिक, जवाफदेही र उत्तरदायी तुल्याउने विषयमा आफूहरूको पूर्ण रूपमा सहयोग र समर्थन रहने प्रतिबद्धता जनाए ।

  • धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको सिफारिस गर्न समिति गठन

    धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको सिफारिस गर्न समिति गठन

    ८ वैशाख, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमल्सिनाले जानकारी दिए । भट्टको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य छन् ।

  • अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

    अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

    ८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

    छलफलमा अर्थमन्त्री डा। वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको उल्लेख गरे । उनले पुराना अनावश्यक कानुन खारेजी र नयाँ कानुन निर्माणबाट आर्थिक सुधार र लगानीको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे ।

    अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी अपेक्षित रहेको समेत उनले बताए । अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे । शान्तिपूर्ण निर्वाचनपछि गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको समेत उनले बताए ।

    सफल व्यापारिक सम्बन्ध र यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनजस्ता संस्थासँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने विषयमा सहायक विदेशमन्त्री कपुरले जोड दिएको समेत अर्थले बताएको छ । बैठकमा अर्थ सचिव डा। घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी लगायत उपस्थित थिए ।

  • लगानी बोर्डको प्रगति देखेर अर्थमन्त्रीले भने : लाजमर्दो भयो

    लगानी बोर्डको प्रगति देखेर अर्थमन्त्रीले भने : लाजमर्दो भयो

    ८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी बोर्डबाट ५५ आयोजनाको लगानी स्वीकृत भएकोमा २ वटा मात्रै निर्माणमा गएको विवरण सुन्दै प्रगति लाजमर्दो भएको टिप्पणी गरेका छन् । उनले भने, ‘लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु त लाजैमर्दो भयो । लगानी बोर्ड अनुगमन तथा सहजीकरण समितिको १३औं बैठकमा उनले ‘विदेशी लगानी स्वीकृत भएका यति लामो समयमा काम नै नगर्नु भनेको त निर्मम समीक्षा गर्नुपर्ने भयो’ भने ।

    परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी पत्ता लगाउनुपर्ने अर्थमन्त्रीको भनाइ थियो । यसमा व्यक्ति दोषी भए त्यसको खोजी र कानुन दोषी भए फेर्नैपर्ने अवस्था आएको उनले बताए । ‘समस्या के हो, त्यो तुरुन्तै चाहियो,’ उनले भने । उनले अब १४औं बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिने समेत चेतावनी दिए । लगानी सहजीकरण गर्ने यति ठूलो शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको समेत उनको भनाइ छ ।

    उनले कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने समेत बताए । ‘केही फेन्सी आयोजना छन्, त्योबारे सोच्नुपर्छ,’ उनले भने । कार्यक्रममा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजनाको हालत अत्यन्तै दयनीय देखिएको टिप्पणी गरे ।

    ‘परियोजना अघि बढाउन प्रगतिको बाधक के–के हुन्, तत्काल सम्बोधन गरियोस्, कुन निकाय ? कुन व्यक्ति ? के–के कारण समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुन्छ,’ उनले भने । सोही अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्ड, कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाबारे जानकारी गराएका थिए ।

  • योजना आयोग र नीति प्रतिष्ठान अझ सुदृढ बनाउने प्रधानमन्त्रीको आश्वासन

    योजना आयोग र नीति प्रतिष्ठान अझ सुदृढ बनाउने प्रधानमन्त्रीको आश्वासन

    ८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भए मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने बताए । ‘यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठुलो सहयोग पुग्नेछ’ उनले भने ।

    नीति अनुसन्धान प्रतिष्ठानका सन्दर्भमा उनले भने, ‘विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व कति रहन्छ भन्ने हामीलाई थाहा छ । हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो, जसले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकुन्। सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्नेछ ।’ प्रधानमन्त्री शाहले कुनै पनि बहानाबाजी नगरी विना सङ्कोच नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिए । ‘कुनै पनि कार्य सम्पादन गर्दा ठोस योजना र सजग कार्यान्वयन आवश्यक हुन्छ। विकासमा विषय विज्ञको भूमिका अतुलनीय हुन्छ, यो तथ्यलाई आत्मसात् गरेर अघि बढ्नुस्’ उनले भने ।

    मन्त्रालयहरूबीच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने स्पष्ट पार्दै उनले एउटै सरकार मातहत त्यस्तो समस्या हुन नहुने बताए । साथै, बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न समेत उनले सचेत गराए । ‘प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव छ । पुराना नीति र ऐनकै भरमा ५० वर्षसम्म काम त चलाउन सकिएला तर सुधार नगरेसम्म देश समृद्ध हुन सक्दैन,’ प्रधानमन्त्रीको कथन थियो ।

    सो अवसरमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने र उच्च राजनीतिक प्रतिबद्धताअनुसार काम अघि बढ्ने बताए । उनले विज्ञहरूको ज्ञानलाई सरकारी नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न निर्देशन दिए । स्पष्ट लक्ष्य, पर्याप्त बजेट, तोकिएको जिम्मेवारी र मापनयोग्य परिणामसहितका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमार्फत ल्याउनुपर्नेमा उनको विशेष जोड थियो ।

    अर्थमन्त्री वाग्लेले विद्यमान संस्थागत संरचनाको सुदृढीकरण, अप्रासङ्गिक प्रावधानहरूको खारेजी र नयाँ आवश्यकता अनुसार नीति विकास गर्ने प्रक्रिया थालनी गरिने जानकारी दिए । उनले नवप्रवर्तनात्मक कार्यक्रमहरूलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरी सफल भएपछि राष्ट्रिय स्तरमा विस्तार गर्ने रणनीतिबारे समेत चर्चा गरे ।

    छलफलका क्रममा आयोगका पदाधिकारीहरूले आफ्नो क्षेत्रको कार्य प्रगति, चुनौती र बजेटको अवस्थाबारे प्रधानमन्त्रीसमक्ष बिफ्रिङ गरेका थिए । प्रतिष्ठानका कर्मचारीहरूले हालसम्मका अध्ययन–अनुसन्धान सरकारी कार्य प्रणालीका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थप जनशक्ति र स्रोतसाधनको मागसमेत गरे । प्रधानमन्त्रीसँगको यस प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र मेहनतका साथ काम गर्ने प्रेरणा मिलेको उनीहरूको भनाइ छ ।

  • समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम

    समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम

    ८ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका ऋणहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो । ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलामसम्म हुने बताइएको छ ।

    सूचनामा भनिएको छ,’नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)बाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका तपसिलबमोजिमका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस, फोनलगायतका माध्यमबाट पटक पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौँमा सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउनका लागि यो सूचना प्रकाशन गरिएको छ।’

    साथै १५ दिन भित्र ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने जनाएको छ । साथै सार्वजनिक सेवा सुविधा समेत रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितो लिलाम गर्ने सूचनामा उल्लेख गरिएको छ ।

    सूचनामा थप भनिएको छ, ‘उल्लेखित मितिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउनुका साथै सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिंदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरिने छ।’

    आज मात्रै सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । मङ्गलबा को मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा प्युठानका डिल्लीराज आचार्य तथा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई सदस्य नियुक्त गरेको थियो । मन्त्रालयले सहकारीका बचतकर्ताहरूको रकम फिर्ताका लागि चरणबद्ध रुपमा प्रक्रिया अघि बढाएको छ । ऋण असुलीसँगै बचत फिर्तालाई तीव्रता दिने मन्त्रालयको तयारी रहेको छ ।

  • यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

    यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

    ८ वैशाख, काठमाडौं । यूएईसँगको दोस्रो टी–२० आईमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । दुई खेलको टी–२०आई सिरिज एकएकको बराबरीमा टुंगिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल ५७ बलमा ८४ रन बनाएर अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरी १७ बलमा २३ रन बनाएर अविजित रहे । ओपनर कुशल मल्ल १९ बल र सन्तोष यादव १ रन जोडेर आउट भए । बलिङमा युएईका मोहम्मद अरफान र निलंश केसवानीले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । युएईका लागि अक्षदीप नाथले अर्धशतक प्रहार गरे । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद अरफानको साझेदारीले उकासेको थियो ।

    नाथ र अरफानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । नाथ ५३ रनमा अविजित रहँदा अरफान ३२ रनमा आउट भए । कप्तान मोहम्मद वासिम ०, अदीब उसमानी ३०, अलीशान शराफू १, हरप्रीत सिंह भाटिया १, शोएब खान ०, निलंश केसवानी ० र खुजाइमा तनभीर ० रनमा आउट भए । बलिङमा नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र शाहव आलमले एकएक विकेट लिएका थिए ।

  • ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

    ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

    ८ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।
    जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया दिएका हुन् । अमेरिकी नाकाबन्दीले इरानलाई पूर्णतया ध्वस्त गरिरहेको दाबी गर्दै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘उनीहरू दैनिक ५ सय मिलियन डलर गुमाइरहेका छन् । यस्तो लामो समयसम्म चल्न असम्भव छ ।’

    उता, इरानले बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी नहटाउँदासम्म वार्ता नहुने बताइसकेको छ । यद्यपि, पाकिस्तानको राजधानीमा सम्भावित वार्ताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, बैठकमा अमेरिकाको प्रतिनिधित्व गरेका उपराष्ट्रपति जेडी भान्स अहिलेसम्म वासिङ्गटन छाडेका छैनन् । इरानले पनि अहिलेसम्म वार्तामा सहभागी हुने–नहुने बारे तय गरिनसकेको बीबीसीले जनाएको छ । ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य स् इरान

    इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य नरहेको बताएको छ । अमेरिकासँगको अघिल्लो वार्तामा सहभागी इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले ट्रम्पको धम्कीका बीच इरानले वार्ता नस्वीकार्ने बताएका हुन् ।

    गालिबाफले एक्समा लेखेका छन्, ‘हामी धम्कीको छायामा वार्ता स्वीकार गर्दैनौं । विगत दुई हप्तादेखि हामीले युद्धभूमिमा नयाँ चालहरू चाल्ने तयारी गरिसकेका छौं ।’ ट्रम्पले घेराबन्दी गरेर र युद्धविराम तोडेर वार्ताको मेजलाई आफ्नो कल्पनामा आत्मसमर्पणको मेज बनाउने वा युद्धलाई जायज ठहराउने प्रयास गरिरहेका उनको भनाइ छ ।

    गालिबाफले अमेरिकासँगको पहिलो चरणको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । अहिले पाकिस्तानको राजधानी इस्लामाबादमा दोस्रो चरणको वार्ताका लागि तयारी भइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने बताइसकेका छन् । तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने वार्ताका लागि निर्णय भइनसकेको बताएका छन् ।

  • सरकारी वेबसाइटहरू अब अपाङ्गतामैत्री : किबोर्डबाटै चलाउन सकिने

    सरकारी वेबसाइटहरू अब अपाङ्गतामैत्री : किबोर्डबाटै चलाउन सकिने

    ८ वैशाख, काठमाडौं । सूचना प्रविधि विभागले सरकारी वेबसाइटलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको छ ।

    विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार अब सरकारी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहजरूपमा सञ्चालन गर्न सकिने छ । यस व्यवस्था अन्तर्गत प्रयोगकर्ताले माउस प्रयोग नगरीकनै वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउने छन् । साथै वेबसाइटमा ‘स्किप नेभिगेसन’ लिङ्कको व्यवस्था गरिएकाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोग गर्ने व्यक्तिहरूले अनावश्यक नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा जान सक्ने सुविधा प्राप्त गर्ने छन् ।

    विभागले वेबसाइटमा राखिएका सबै महत्त्वपूर्ण तस्बिर, लोगो, चिह्न तथा सेवासम्बन्धी तस्बिरहरूमा ‘अल्ट टेक्स्ट’ समावेश गरेको छ । यसले गर्दा स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्रीको प्रकृति बुझ्न सहज हुने छ । त्यस्तै फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब सजिलै सुन्न र बुझ्न सकिने गरी परिमार्जन गरिएको छ । सर्च र सम्पर्क फारामजस्ता सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिह्न राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई थप सहजता हुने विभागले जनाएको छ ।

    किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा छु भन्ने कुरा स्पष्ट देखिने गरी दृश्य सङ्केतहरू पनि समावेश गरिएको छ । फाराम पेस गरेपछि प्राप्त हुने सन्देशहरू समेत स्क्रिन रिडरले सजिलै पहिचान गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि प्रत्यक्ष रूपमा धेरै नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि भने अत्यन्त उपयोगी हुने छन् ।

    महानिर्देशक साहले यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्‍याउने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । यस कदमले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  • कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

    कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

    ८ वैशाख, काठमाडौं । कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्वल सायरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा उज्वलमाथि धारिलो हतियार प्रहार भएको थियो ।

    उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए । उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरुको परिचय गोप्य राखिएको छ ।

  • नेपाल र यूएईबीच दोस्रो खेल आज

    नेपाल र यूएईबीच दोस्रो खेल आज

    ८ वैशाख, काडमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो इनिङ सकिन लाग्दा वर्षा भएपछि खेल रोकिएको थियो ।

    त्यसपछि खेल १० ओभरमा घटाइएको थियो भने यूएईलाई ७८ रनको लक्ष्य प्राप्त भएको थियो । यूएईले ७ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि हिजोको खेलमा पेस बलर हेमन्त धामीले टी–२०आई डेब्यू गरे । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाएपछिको नयाँ स्वरुपको टोली पहिलो खेलमा भने सफल हुन सकेन । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएका छन् ।

  • सरकारले खुलायो पुनः श्रम स्वीकृति

    सरकारले खुलायो पुनः श्रम स्वीकृति

    ८ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

    सरकारले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखी गएको फागुन १७ देखि लागु हुने गरी साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल देशमा सबै प्रकारका श्रम स्वीकृति स्थगन गरेको थियो । ती देशका लागि दुई चरणमा पुनः श्रम स्वीकृति खुला गरेको विभागले नयाँका लागि भने एकै पटक खुला गएको छ ।

    विभागका अनुसार पुनः श्रम स्वीकृति गएको चैत ५ देखि पश्चिम एसियाका सात देश साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा खुला गरेको हो भने इजरायल, कुवेत, बहराइन र लेबनानका लागि भने चैत ३० देखि दिन थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८२ फागुन १७ को मन्त्रीस्तरीय निर्णय अनुसार सम्बन्धित सबैलाई जानकारी गराउँदै यो व्यवस्था लागु गरिएको विभागका महानिर्देशक मीरा आचार्यले जानकारी दिइन् ।


    यसै गरी इराकका हकमा भने नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ पुस ११ को निर्णयबमोजिम श्रम स्वीकृति प्रदान गरिने जनाइएको छ । यसअघिको निर्णय अनुसार विभागले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने व्यवस्था गर्दै आएका थिए । विभागका अनुसार विभिन्न माध्यमबाट इराक गएर इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई सरकारले श्रम स्वीकृति दिने निर्णयको कार्यान्वयन गर्दै श्रम स्वीकृति व्यवस्था गरेको थियो ।