Author: Vishwanews.com

  • अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

    अर्थमन्त्री र अमेरिकी सहायक मन्त्रीबीच भेटवार्ता

    ८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एस पउल कपुरबीच भेटवार्ता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको छ ।

    छलफलमा अर्थमन्त्री डा। वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण रहेको उल्लेख गरे । उनले पुराना अनावश्यक कानुन खारेजी र नयाँ कानुन निर्माणबाट आर्थिक सुधार र लगानीको वातावरण सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे ।

    अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी अपेक्षित रहेको समेत उनले बताए । अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे । शान्तिपूर्ण निर्वाचनपछि गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको समेत उनले बताए ।

    सफल व्यापारिक सम्बन्ध र यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनजस्ता संस्थासँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने विषयमा सहायक विदेशमन्त्री कपुरले जोड दिएको समेत अर्थले बताएको छ । बैठकमा अर्थ सचिव डा। घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी लगायत उपस्थित थिए ।

  • लगानी बोर्डको प्रगति देखेर अर्थमन्त्रीले भने : लाजमर्दो भयो

    लगानी बोर्डको प्रगति देखेर अर्थमन्त्रीले भने : लाजमर्दो भयो

    ८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी बोर्डबाट ५५ आयोजनाको लगानी स्वीकृत भएकोमा २ वटा मात्रै निर्माणमा गएको विवरण सुन्दै प्रगति लाजमर्दो भएको टिप्पणी गरेका छन् । उनले भने, ‘लगानी स्वीकृत भएको ५५ आयोजनामा २ वटा मात्रै निर्माणमा जानु त लाजैमर्दो भयो । लगानी बोर्ड अनुगमन तथा सहजीकरण समितिको १३औं बैठकमा उनले ‘विदेशी लगानी स्वीकृत भएका यति लामो समयमा काम नै नगर्नु भनेको त निर्मम समीक्षा गर्नुपर्ने भयो’ भने ।

    परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुमा दोषी पत्ता लगाउनुपर्ने अर्थमन्त्रीको भनाइ थियो । यसमा व्यक्ति दोषी भए त्यसको खोजी र कानुन दोषी भए फेर्नैपर्ने अवस्था आएको उनले बताए । ‘समस्या के हो, त्यो तुरुन्तै चाहियो,’ उनले भने । उनले अब १४औं बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिने समेत चेतावनी दिए । लगानी सहजीकरण गर्ने यति ठूलो शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको समेत उनको भनाइ छ ।

    उनले कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने समेत बताए । ‘केही फेन्सी आयोजना छन्, त्योबारे सोच्नुपर्छ,’ उनले भने । कार्यक्रममा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजनाको हालत अत्यन्तै दयनीय देखिएको टिप्पणी गरे ।

    ‘परियोजना अघि बढाउन प्रगतिको बाधक के–के हुन्, तत्काल सम्बोधन गरियोस्, कुन निकाय ? कुन व्यक्ति ? के–के कारण समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुन्छ,’ उनले भने । सोही अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्ड, कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाबारे जानकारी गराएका थिए ।

  • योजना आयोग र नीति प्रतिष्ठान अझ सुदृढ बनाउने प्रधानमन्त्रीको आश्वासन

    योजना आयोग र नीति प्रतिष्ठान अझ सुदृढ बनाउने प्रधानमन्त्रीको आश्वासन

    ८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भए मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने बताए । ‘यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठुलो सहयोग पुग्नेछ’ उनले भने ।

    नीति अनुसन्धान प्रतिष्ठानका सन्दर्भमा उनले भने, ‘विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व कति रहन्छ भन्ने हामीलाई थाहा छ । हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो, जसले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकुन्। सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्नेछ ।’ प्रधानमन्त्री शाहले कुनै पनि बहानाबाजी नगरी विना सङ्कोच नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिए । ‘कुनै पनि कार्य सम्पादन गर्दा ठोस योजना र सजग कार्यान्वयन आवश्यक हुन्छ। विकासमा विषय विज्ञको भूमिका अतुलनीय हुन्छ, यो तथ्यलाई आत्मसात् गरेर अघि बढ्नुस्’ उनले भने ।

    मन्त्रालयहरूबीच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने स्पष्ट पार्दै उनले एउटै सरकार मातहत त्यस्तो समस्या हुन नहुने बताए । साथै, बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न समेत उनले सचेत गराए । ‘प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव छ । पुराना नीति र ऐनकै भरमा ५० वर्षसम्म काम त चलाउन सकिएला तर सुधार नगरेसम्म देश समृद्ध हुन सक्दैन,’ प्रधानमन्त्रीको कथन थियो ।

    सो अवसरमा अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने र उच्च राजनीतिक प्रतिबद्धताअनुसार काम अघि बढ्ने बताए । उनले विज्ञहरूको ज्ञानलाई सरकारी नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न निर्देशन दिए । स्पष्ट लक्ष्य, पर्याप्त बजेट, तोकिएको जिम्मेवारी र मापनयोग्य परिणामसहितका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमार्फत ल्याउनुपर्नेमा उनको विशेष जोड थियो ।

    अर्थमन्त्री वाग्लेले विद्यमान संस्थागत संरचनाको सुदृढीकरण, अप्रासङ्गिक प्रावधानहरूको खारेजी र नयाँ आवश्यकता अनुसार नीति विकास गर्ने प्रक्रिया थालनी गरिने जानकारी दिए । उनले नवप्रवर्तनात्मक कार्यक्रमहरूलाई ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरी सफल भएपछि राष्ट्रिय स्तरमा विस्तार गर्ने रणनीतिबारे समेत चर्चा गरे ।

    छलफलका क्रममा आयोगका पदाधिकारीहरूले आफ्नो क्षेत्रको कार्य प्रगति, चुनौती र बजेटको अवस्थाबारे प्रधानमन्त्रीसमक्ष बिफ्रिङ गरेका थिए । प्रतिष्ठानका कर्मचारीहरूले हालसम्मका अध्ययन–अनुसन्धान सरकारी कार्य प्रणालीका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थप जनशक्ति र स्रोतसाधनको मागसमेत गरे । प्रधानमन्त्रीसँगको यस प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र मेहनतका साथ काम गर्ने प्रेरणा मिलेको उनीहरूको भनाइ छ ।

  • समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम

    समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम

    ८ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीहरूका ऋणहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मङ्गलवार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो । ऋण चुक्ता नगरेमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलामसम्म हुने बताइएको छ ।

    सूचनामा भनिएको छ,’नेपाल सरकार (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय)बाट सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि यस समितिको मातहतमा आएका तपसिलबमोजिमका सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस, फोनलगायतका माध्यमबाट पटक पटक जानकारी गराउँदा पनि हालसम्म ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत नबुझाएको हुँदा यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौँमा सम्पर्क गरी आफ्नो हरहिसाब लिई रकम बुझाउनका लागि यो सूचना प्रकाशन गरिएको छ।’

    साथै १५ दिन भित्र ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गर्ने जनाएको छ । साथै सार्वजनिक सेवा सुविधा समेत रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितो लिलाम गर्ने सूचनामा उल्लेख गरिएको छ ।

    सूचनामा थप भनिएको छ, ‘उल्लेखित मितिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउनुका साथै सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिंदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरिने छ।’

    आज मात्रै सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ । मङ्गलबा को मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा प्युठानका डिल्लीराज आचार्य तथा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई सदस्य नियुक्त गरेको थियो । मन्त्रालयले सहकारीका बचतकर्ताहरूको रकम फिर्ताका लागि चरणबद्ध रुपमा प्रक्रिया अघि बढाएको छ । ऋण असुलीसँगै बचत फिर्तालाई तीव्रता दिने मन्त्रालयको तयारी रहेको छ ।

  • यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

    यूएईसँगको सिरिज बराबरी, कुशल भुर्तेल चम्किँदा नेपालको सहज जित

    ८ वैशाख, काठमाडौं । यूएईसँगको दोस्रो टी–२० आईमा नेपाल ८ विकेटले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । दुई खेलको टी–२०आई सिरिज एकएकको बराबरीमा टुंगिएको छ । यसअघि सोमबार भएको पहिलो खेलमा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल ५७ बलमा ८४ रन बनाएर अविजित रहे । उनले १२ चौका र २ छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरी १७ बलमा २३ रन बनाएर अविजित रहे । ओपनर कुशल मल्ल १९ बल र सन्तोष यादव १ रन जोडेर आउट भए । बलिङमा युएईका मोहम्मद अरफान र निलंश केसवानीले एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । युएईका लागि अक्षदीप नाथले अर्धशतक प्रहार गरे । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद अरफानको साझेदारीले उकासेको थियो ।

    नाथ र अरफानले सातौं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । नाथ ५३ रनमा अविजित रहँदा अरफान ३२ रनमा आउट भए । कप्तान मोहम्मद वासिम ०, अदीब उसमानी ३०, अलीशान शराफू १, हरप्रीत सिंह भाटिया १, शोएब खान ०, निलंश केसवानी ० र खुजाइमा तनभीर ० रनमा आउट भए । बलिङमा नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र शाहव आलमले एकएक विकेट लिएका थिए ।

  • ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

    ट्रम्प भन्छन्– इरानमा प्रतिबन्ध यथावत

    ८ वैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नहुँदासम्म इरानी बन्दरगाहहरूमा लगाइएको प्रतिबन्ध नहटाउने बताएका छन् ।
    जारी युद्ध समाप्तीका लागि दोस्रो चरणको वार्ता हुने–नहुने अन्योल रहेका बेला राष्ट्रपति ट्रम्पले इरानी बन्दरगाहहरूमा जारी नाकाबन्दीबारे प्रतिक्रिया दिएका हुन् । अमेरिकी नाकाबन्दीले इरानलाई पूर्णतया ध्वस्त गरिरहेको दाबी गर्दै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘उनीहरू दैनिक ५ सय मिलियन डलर गुमाइरहेका छन् । यस्तो लामो समयसम्म चल्न असम्भव छ ।’

    उता, इरानले बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी नहटाउँदासम्म वार्ता नहुने बताइसकेको छ । यद्यपि, पाकिस्तानको राजधानीमा सम्भावित वार्ताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । तर, बैठकमा अमेरिकाको प्रतिनिधित्व गरेका उपराष्ट्रपति जेडी भान्स अहिलेसम्म वासिङ्गटन छाडेका छैनन् । इरानले पनि अहिलेसम्म वार्तामा सहभागी हुने–नहुने बारे तय गरिनसकेको बीबीसीले जनाएको छ । ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य स् इरान

    इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बीच वार्ता स्वीकार्य नरहेको बताएको छ । अमेरिकासँगको अघिल्लो वार्तामा सहभागी इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले ट्रम्पको धम्कीका बीच इरानले वार्ता नस्वीकार्ने बताएका हुन् ।

    गालिबाफले एक्समा लेखेका छन्, ‘हामी धम्कीको छायामा वार्ता स्वीकार गर्दैनौं । विगत दुई हप्तादेखि हामीले युद्धभूमिमा नयाँ चालहरू चाल्ने तयारी गरिसकेका छौं ।’ ट्रम्पले घेराबन्दी गरेर र युद्धविराम तोडेर वार्ताको मेजलाई आफ्नो कल्पनामा आत्मसमर्पणको मेज बनाउने वा युद्धलाई जायज ठहराउने प्रयास गरिरहेका उनको भनाइ छ ।

    गालिबाफले अमेरिकासँगको पहिलो चरणको वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । अहिले पाकिस्तानको राजधानी इस्लामाबादमा दोस्रो चरणको वार्ताका लागि तयारी भइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान जाने बताइसकेका छन् । तर, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने वार्ताका लागि निर्णय भइनसकेको बताएका छन् ।

  • सरकारी वेबसाइटहरू अब अपाङ्गतामैत्री : किबोर्डबाटै चलाउन सकिने

    सरकारी वेबसाइटहरू अब अपाङ्गतामैत्री : किबोर्डबाटै चलाउन सकिने

    ८ वैशाख, काठमाडौं । सूचना प्रविधि विभागले सरकारी वेबसाइटलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको छ ।

    विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार अब सरकारी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहजरूपमा सञ्चालन गर्न सकिने छ । यस व्यवस्था अन्तर्गत प्रयोगकर्ताले माउस प्रयोग नगरीकनै वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउने छन् । साथै वेबसाइटमा ‘स्किप नेभिगेसन’ लिङ्कको व्यवस्था गरिएकाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोग गर्ने व्यक्तिहरूले अनावश्यक नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा जान सक्ने सुविधा प्राप्त गर्ने छन् ।

    विभागले वेबसाइटमा राखिएका सबै महत्त्वपूर्ण तस्बिर, लोगो, चिह्न तथा सेवासम्बन्धी तस्बिरहरूमा ‘अल्ट टेक्स्ट’ समावेश गरेको छ । यसले गर्दा स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्रीको प्रकृति बुझ्न सहज हुने छ । त्यस्तै फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब सजिलै सुन्न र बुझ्न सकिने गरी परिमार्जन गरिएको छ । सर्च र सम्पर्क फारामजस्ता सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिह्न राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई थप सहजता हुने विभागले जनाएको छ ।

    किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा छु भन्ने कुरा स्पष्ट देखिने गरी दृश्य सङ्केतहरू पनि समावेश गरिएको छ । फाराम पेस गरेपछि प्राप्त हुने सन्देशहरू समेत स्क्रिन रिडरले सजिलै पहिचान गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि प्रत्यक्ष रूपमा धेरै नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि भने अत्यन्त उपयोगी हुने छन् ।

    महानिर्देशक साहले यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्‍याउने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । यस कदमले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

  • कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

    कन्चनपुरमा विवाहमा झगडा, एक किशोरको हत्या

    ८ वैशाख, काठमाडौं । कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्वल सायरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा उज्वलमाथि धारिलो हतियार प्रहार भएको थियो ।

    उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए । उनको छातीमा धारिलो हतियार प्रहार भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिइएका उनीहरुको परिचय गोप्य राखिएको छ ।

  • नेपाल र यूएईबीच दोस्रो खेल आज

    नेपाल र यूएईबीच दोस्रो खेल आज

    ८ वैशाख, काडमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो इनिङ सकिन लाग्दा वर्षा भएपछि खेल रोकिएको थियो ।

    त्यसपछि खेल १० ओभरमा घटाइएको थियो भने यूएईलाई ७८ रनको लक्ष्य प्राप्त भएको थियो । यूएईले ७ बल बाँकी छँदा लक्ष्य पूरा गर्‍यो । नेपालका लागि हिजोको खेलमा पेस बलर हेमन्त धामीले टी–२०आई डेब्यू गरे । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाएपछिको नयाँ स्वरुपको टोली पहिलो खेलमा भने सफल हुन सकेन । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएका छन् ।

  • सरकारले खुलायो पुनः श्रम स्वीकृति

    सरकारले खुलायो पुनः श्रम स्वीकृति

    ८ वैशाख, काठमाडौं । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो ।

    सरकारले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखी गएको फागुन १७ देखि लागु हुने गरी साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल देशमा सबै प्रकारका श्रम स्वीकृति स्थगन गरेको थियो । ती देशका लागि दुई चरणमा पुनः श्रम स्वीकृति खुला गरेको विभागले नयाँका लागि भने एकै पटक खुला गएको छ ।

    विभागका अनुसार पुनः श्रम स्वीकृति गएको चैत ५ देखि पश्चिम एसियाका सात देश साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा खुला गरेको हो भने इजरायल, कुवेत, बहराइन र लेबनानका लागि भने चैत ३० देखि दिन थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०८२ फागुन १७ को मन्त्रीस्तरीय निर्णय अनुसार सम्बन्धित सबैलाई जानकारी गराउँदै यो व्यवस्था लागु गरिएको विभागका महानिर्देशक मीरा आचार्यले जानकारी दिइन् ।


    यसै गरी इराकका हकमा भने नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ पुस ११ को निर्णयबमोजिम श्रम स्वीकृति प्रदान गरिने जनाइएको छ । यसअघिको निर्णय अनुसार विभागले वैदेशिक रोजगारीका लागि इराकमा काम गरेर ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिने व्यवस्था गर्दै आएका थिए । विभागका अनुसार विभिन्न माध्यमबाट इराक गएर इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई सरकारले श्रम स्वीकृति दिने निर्णयको कार्यान्वयन गर्दै श्रम स्वीकृति व्यवस्था गरेको थियो ।

  • तराईमा तातो हावा चल्ने सम्भावना, सचेत रहन आह्वान

    तराईमा तातो हावा चल्ने सम्भावना, सचेत रहन आह्वान

    काठमाडौँ, वैशाख ८ गते । हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षा–हिमपातको सम्भावना रहेको ‘बुलेटिन’मा जनाइएको छ ।

    साथै मधेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । महाशाखाका अनुसार आज राति हिमाली भू–भागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने र कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाहिमपातको सम्भावना रहेको छ । रासस

  • भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

    भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द

    झापा, वैशाख ८ गते । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।


    भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिने भए पनि उपचारका लागि बिरामी र अतिजरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए । नेपाल र बङ्गलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको उनले बताए । रासस

  • भारत–कोरिया रणनीतिक वार्ता

    भारत–कोरिया रणनीतिक वार्ता

    नयाँदिल्ली, वैशाख ७ गते । बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको अस्थिरताको पृष्ठभूमिमा भारतले सोमबार नयाँदिल्लीमा दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङलाई औपचारिक स्वागत गरेको छ । यस भेटमा जहाज निर्माण, कृत्रिम बौद्धिकता तथा उच्च प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा लिइएको छ ।

    राष्ट्रपति ली जे-म्युङले आफ्नो पहिलो भारत भ्रमणका क्रममा सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा दुवै देशबिचको सम्बन्ध रणनीतिक रूपमा अझ महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरेका छन् । उनले मध्यपूर्वमा जारी द्वन्द्व र विश्वव्यापी आर्थिक सङ्कटबिच भारत र गणतन्त्र कोरिया एकअर्काका लागि अत्यावश्यक साझेदारका रूपमा उदाउँदै गएको बताए ।


    भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति लीबिच भएको वार्तामा जहाज निर्माण उद्योग, व्यापार, लगानी, कृत्रिम बौद्धिकता (एआई), सेमिकन्डक्टर तथा अन्य महत्त्वपूर्ण र उदीयमान प्रविधिहरूमा सहकार्य विस्तारबारे विस्तृत छलफल भएको छ । दुवै नेताले आपसी आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा सहमति जनाएका छन् ।


    वार्ताका क्रममा कोरियाली प्रायद्वीप र क्षेत्रीय शान्तिका लागि रचनात्मक सहकार्य जारी राख्ने विषयमा पनि छलफल भएको कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वी सुङ–ल्याकले सियोलमा जानकारी दिए । यसले दुवै देशबिचको सुरक्षा र रणनीतिक संवादलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

    राजकीय स्वागत समारोहका क्रममा भारतीय सेनाको औपचारिक परेडबिच प्रधानमन्त्री मोदी र राष्ट्रपति लीले राष्ट्रपति भवन बाहिर एकसाथ उपस्थित भएर सम्मान ग्रहण गरेका थिए । जसले दुई देशबिचको उच्चस्तरीय कूटनीतिक सम्बन्धलाई झल्काएको छ । ऊर्जा सुरक्षा पनि यस वार्ताको महत्त्वपूर्ण पक्ष बनेको छ । फेब्रुअरी अन्त्यतिर इरानमा भएको अमेरिकी-इजरायली आक्रमणपछि स्ट्रेट अफ होर्मुजमा उत्पन्न अवरोधका कारण दक्षिण कोरियाले आफ्नो ऊर्जा आपूर्तिमा जोखिम सामना गर्नु परेको सन्दर्भमा दुवै पक्षले दीर्घकालीन ऊर्जा सहकार्यबारे समेत छलफल गरेका छन् ।

    भारत र दक्षिण कोरियाले सन् २०१० मा गरिएको आर्थिक साझेदारी सम्झौतालाई थप सुदृढ गर्ने विषयमा पनि सहमति खोजिरहेका छन् । भारतीय विदेश मन्त्रालयको तथ्याङ्क अनुसार उक्त सम्झौतापछि दुई देशबिचको द्विपक्षीय व्यापार १४ अर्ब २० करोड अमेरिकी डलरबाट बढेर सन् २०२४–२५ सम्म २६ अर्ब ८९ करोड अमेरिकी डलर पुगेको छ । यो करिब ९० प्रतिशतको वृद्धि हो । यस भेटलाई दुवै देशले रणनीतिक साझेदारीको नयाँ चरणका रूपमा लिएका छन्, जसले आगामी वर्षमा प्रविधि, व्यापार र सुरक्षा क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ । रासस-एएफपी

  • यस्तो छ आज निर्धारित विदेशी विनिमय दर

    यस्तो छ आज निर्धारित विदेशी विनिमय दर

    ८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुुसार आज अमेरिकी डलर, युके पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढेको छ । अष्ट्रेलियन डलरको भाउ भने हिजोको तुलनामा केही घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको थियो । आज युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा थियो ।

    आज युके पाउण्ड स्ट्रलिङको भाउ हिजोको तुलनामा केही बढेको छ । आज पाउण्ड एकको खरिददर २०१ रुपैयाँ ८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा थियो । आज स्वीस फ्रयांकको पनि भाउ बढेको छ । आज स्वीस फ्रयांक एकको खरिददर १९० रुपैयाँ ३९ पैसा र बिक्रीदर १९१ रुपैयाँ १५ पैसा कायम गरिएको छ । हिजो स्विस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५६ पैसा कायम गरिएको थियो ।

    आज अष्ट्रेलियन डलरको भाउ भने आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा थियो । क्यानेडियन डलरको भाउ भने आज बढेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ नौ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा थियो । आज सिंगापुर डलरको भाउ बढेको छ । आज सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ र बिक्रीदर ११७ रुपैयाँ ४७ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा तोकिएको थियो ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४३ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ सात पैसा, कुवेती दिनार एकको खरिददर ४८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४८७ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

    सुन चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक कपिलवस्तुबाट पक्राउ

    ८ वैशाख, काठमाडौं । सुन चोरीमा संलग्न दुई जना पाकिस्तानी नागरिकलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान घर भएका २३ वर्षीय इरफान अली र ४४ वर्षीय सैफ उर रहमान रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।
    वैशाख ५ गते पक्राउ परेका उनीहरुको साथबाट १७ हजार १३६ अमेरिकी डलर, साउदी रियाल, बंगलादेशी टाका, युएई दिराम, मलेसियन रिंगेट र दुई थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    केही स्थानीय तथा सुनचाँदी व्यवसायीहरुलाई अपिरिचित व्यक्तिहरुले अल्मल्याउने र सुन चोरेर भाग्ने गरेको सूचनाको आधारमा कपिलवस्तु प्रहरी अनुसन्धानमा खटिएको थियो । त्यसक्रममा गत चैत ३० गते नै २० वर्षीया बिबी कालसुम र ४१ वर्षीया शबानालाई पक्राउ प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट पाएको सूचना समेतको आधारमा यही वैशाख ५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई जना पुरुषलाई पनि पक्राउ गरिएको हो ।

    उनीहरुलाई कपिलवस्तु पुर्‍याई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका यी व्यक्तिहरुमाथि सुनसरीको इटहरी, मोरङको विराटनगर, रुपन्देहीको बुटवल र चितवनमा समेत सुनका गरगहना चोरीको जाहेरी दरखास्त परेको प्रहरीले जनाएको छ ।

  • उदयपुरमा आगलागी, २ जनाको मृत्यु

    उदयपुरमा आगलागी, २ जनाको मृत्यु

    ८ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको घरबाट आगलागी सुरु भएको थियो । आगोले लक्ष्मीनारायणसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेको छ । त्यतिबेला उनीहरु सुतिरहेका थिए ।

    सुतिरहेको अवस्थामा आगलागीमा परी लक्ष्मीनारायण र पवन खड्का खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए । त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान आगो नियन्त्रणमा लिइएको छ । विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

  • विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गरौं : प्रधानमन्त्री

    विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गरौं : प्रधानमन्त्री

    ७ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी सङ्गठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको साढे ३ घण्टा लामो छलफलका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

    छलफलमा उपकुलपतिहरुले जेन्जी आन्दोलन र चुनावपछि विद्यार्थीले राजनीतिक गतिविधि सुस्त भएको र यस्ता संगठन हटाउन पहल भइरहेको बताएका थिए ।
    प्रधानमन्त्री शाहले भने शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पारे । उनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताउँदै राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव दिए ।


    छलफलका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले विद्यार्थी संगठनहरू हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको भन्दै असुरक्षाको गुनासो गरे । जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका संरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिए ।


    प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे । प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न र परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नसमेत कडा निर्देशन दिए ।

    त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनहरू खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने बताए । छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले जेन्जी आन्दोलन र निर्वाचनपछि विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको जानकारी दिए ।


    मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले केही आंगिक क्याम्पसहरूमा अझै पनि विद्यार्थी राजनीतिको तनाव कायमै रहेको बताए । अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले भने आफ्नो संस्थामा राजनीतिक गतिविधि न्यून रहेको र प्रशासन कडा भएमा शैक्षिक क्षेत्रमा राजनीति अन्त्य हुने विश्वास व्यक्त गरे ।

  • नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

    नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस

    ८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त चार गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यका अनुसार सोमबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि गैर आवासीय राजदूतहरू गाम्बियाका मुस्तफा जवारा, क्यानडाका क्रिस्टोफर कुटर, स्लोभेनियाका टोमाज मेन्सिन् र अल्जेरियाका एब्डेनर खेरिफीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको उनको भनाइ छ।

  • नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

    नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

    काठमाडौँ, वैशाख ७ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षण मुद्रण केन्द्रमार्फत छापिँदै आएको नयाँ स्मार्ट लाइसेन्सको प्राविधिक संरचना, सुरक्षा तह र दीर्घकालीन रणनीतिबारे विस्तृत जानकारी दिइएको हो ।

    मन्त्रालयका अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ । जसको आकार विश्वभर प्रयोग हुने क्रेडिट कार्डको जस्तो छ । विकसित देशहरूले दशकौँदेखि प्रयोग गर्दै आएको यस्तै प्रविधिमा आधारित यो कार्डलाई नेपालले पनि अवलम्बन गरेको मन्त्रालयले जनाएको छ ।

    विगतमा प्रयोगमा रहेको ‘स्मार्ट चिप’ प्रविधि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको निष्कर्षसहित सरकारले नयाँ ढाँचा रोजेको हो । “विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’ को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन–अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी–प्रोटेक्टेड बौद्धिक क्यूआर (आइ क्युआर) प्रविधि अवलम्बन गरिएको छ”, विज्ञप्तिमा भनिएको छ, “जसले अफलाइन प्रमाणीकरणलाई संस्थागत गरी ट्राफिक प्रहरी वा अन्य नियामक निकायहरूले कुनै पनि स्थानमा इन्टरनेटको पहुँच बिना नै कार्ड स्क्यान गरी सवारीचालकको पहिचान र आधिकारिकता तत्कालै पुष्टि गर्न सक्षम बनाएको छ ।”

    सुरक्षाका हिसाबले नयाँ स्मार्ट लाइसेन्समा तीन तहमा विभाजित ३९ वटा फरक–फरक सुरक्षा विशेषता समावेश गरिएको मन्त्रालयले जनाएको छ । पहिलो तहमा सामान्य आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन ९एमआरजेड० तथा फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन् । दोस्रो तहमा भने विशेष उपकरणमार्फत मात्र देखिने अदृश्य युभी मसी र ‘इन्फ्रारेड एब्जोप्र्सन’ प्रविधि प्रयोग गरिएको छ ।

    तेस्रो वा फोरेन्सिक तहमा प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने ‘डिजिटल फिंगरप्रिन्ट’ र प्रोप्राइटरी रसायनिक हस्ताक्षरजस्ता उच्चस्तरीय सुरक्षा संयन्त्र राखिएको जनाइएको छ । प्रत्येक कार्डको डिजाइन अर्को भन्दा फरक हुने भएकाले एक कार्ड अर्को कार्डसँग पूर्णतः भिन्न हुने र यसले नक्कली बनाउने सम्भावना न्यून बनाएको दाबी गरिएको छ ।

    मन्त्रालयले सम्पूर्ण उत्पादन प्रक्रिया ‘एन्ड–टु–एन्ड अफलाइन’ ढाँचामा सञ्चालन गरिएको पनि स्पष्ट पारेको छ । यसले तथ्याङ्क चुहावट वा अनधिकृत पहुँचको जोखिम नगण्य बनाएको उल्लेख गर्दै क्यूआर कोडको वैधता कार्डको अवधिसम्म कायम रहने जनाइएको छ । नागरिकको गोपनीयता र डेटा सुरक्षालाई प्राथमिकतामा राखिएको प्रणाली विकास गरिएको मन्त्रालयको भनाइ छ ।

    सरकारको यो पहललाई सुरक्षण मुद्रणका क्षेत्रमा आत्मनिर्भरतातर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । यसबाट विदेशी मुद्राको बहिर्गमन नियन्त्रण हुनुका साथै संवेदनशील कागजातहरू स्वदेशमै सुरक्षित रूपमा उत्पादन गर्ने क्षमता विकास भएको छ । सुरक्षित मुद्रण केन्द्रका अनुसार आगामी दिनमा सवारीचालक अनुमतिपत्रबाहेक हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तःशुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर तथा विश्वविद्यालयका प्रमाणपत्रहरू समेत स्वदेशमै उत्पादन गर्ने आधार तयार भएको छ ।

    हाल सवारीचालक अनुमतिपत्रका लागि ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्रमा केन्द्रले लाइसेन्स छापिसक्ने गरेको छ । त्यस्तै पुरानो छाप्न बाँकी सबै लाईसेन्स असार मसान्तभित्रमा छपाइ सकिनेछ । केन्द्रका अनुसार वैशाख १२ गतेसम्ममा १२ लाख र असार मसान्तसम्ममा थप १७ लाख पुरानो लाइसेन्सको छपाइ सकिनेछ ।

  • घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

    घरेलु मैदानमा भएको ऐतिहासिक खेलमा हार्यो नेपाल

    ७ वैशाख, काठमाडौं । यूएईसँगको टी–२०आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रीकेट मैदानमा वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ३३ रन बनाए । अलीशान शराफूले १८ रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछाने ३ र कुशल मल्लले एक विकेट लिए ।

    त्यसअघि नेपालले १८ ओभर ५ बलको खेल सकिदा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ३२ र सन्दीप लामिछाने २ रनमा अविजित रहेका थिए । कुशल भुर्तेल १६, अर्जुन साउद १३, सन्दीप जोरा ६, कुशल मल्ल १७, बसिर अहमद १४, गुल्सन झा १, नन्दन यादव १३ र शेर मल्ल ० रनमा आउट भए । बलिङमा युएईका मुहम्मद जुहेबले ३, जुनैद सिद्दिकीले २, साएद हैदर र मुहम्मद अरफानले एकएक विकेट लिएका थिए । नेपाल र युएईबिचको दोस्रो टी–२०आई खेल मंगलबार हुनेछ ।

  • चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

    चौतर्फी आलोचनाका बीच गृहमन्त्रीको चेतावनी : कारवाही रोकिन्न

    ७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् ।
    सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुनः अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् ।

    ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्,’ गृहमन्त्री गुरुङले लेखेका छन्, ‘मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो । कारबाही रोकिँदैन, डगमगाइँदैन ।’ दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुस्ख गरेर लागेको आफूले नदेखेको उनको भनाइ छ ।

  • कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

    कान्छारामलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

    ७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ ।
    जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिए ।

  • प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

    प्रमुख प्रतिपक्षी कांग्रेसले भन्यो : गृहमन्त्रीमाथि निष्पक्ष छानबिन गर

    ७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि लागेका आरोपहरूको ढाकछोप गरिए जनविश्वासमाथि गम्भीर आघात पुग्ने बताएको छ । ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउने छ ।’

    पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसको धारणा छ । कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरेको थियो ।

    गृहमन्त्री गुरूङसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासोमात्र नभएर राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको कांग्रेसले जनाएको छ । ‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’

  • गृहमन्त्री गुरुङमाथि प्रश्नै–प्रश्न, सामाजिक संजालमा दिए स्पष्टीकरण

    गृहमन्त्री गुरुङमाथि प्रश्नै–प्रश्न, सामाजिक संजालमा दिए स्पष्टीकरण

    ७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको बता्रएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताए । ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?,’ उनले भनेका छन् । साथै, लगानीको स्रोतमाथि उठेका प्रश्नबारे स्पष्टीकरण दिँदै उनले विसं २०८० भदौ २९ गतेको लिखित तमसुक रेकर्डमा रहेको उल्लेख गरेका छन् ।

    ‘अब स्रोतको कुरा, मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०–०५–२९ को हो, जुन रेकर्डमा नै छ,’ गुरुङले भनेका छन्, ‘उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।’

    आफ्नो रकमको विषय अनुमानको नभइ कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय भएको उनको तर्क छ । ‘अर्थात्, पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,’ गुरुङले भनेका छन् । यद्दपी उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सो ऋणबारे उल्लेख नगरेका कारण उनको दाविमाथि अझ प्रश्नहरु थपिएका छन् । सुधन गुरुङको अस्वभाविक सम्पत्ति र त्यसको स्रोतमाथिका प्रश्नलाई लिएर सर्वसाधारणले भने नैतिक प्रश्न उठाइरहेका छन् ।

  • जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी

    जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी

    ७ वैशाख, काठमाडौं । जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। सुरुवाती रिपोर्टमा ७.३ म्याग्निच्युड मापन गरिएको यस भूकम्पलाई पछि जापानले ७.५ म्याग्निच्युडमा संशोधन गरेको छ। भूकम्पको केन्द्रविन्दु देशको पूर्वी भागमा पर्ने सान्रिकु तटमा १० किलोमिटर गहिराइमा रहेको थियो। जापानको आफ्नै भूकम्पीय मापन स्केल (० देखि ७ सम्म) मा यसलाई ‘५ं’ रेकर्ड गरिएको छ।

    भूकम्पलगत्तै देशको उत्तरपूर्वी तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी गरिएको छ, जुन जापानको चेतावनी प्रणालीअनुसार दोस्रो उच्च स्तरको सतर्कता हो। मौसम विज्ञान एजेन्सीले ३० मिनेटभन्दा कम समयमै तटीय क्षेत्रहरूमा ३ मिटरसम्म अग्ला सुनामीका छालहरू ठोक्किन सक्ने अनुमान गरेको छ। एनएचके न्युजका अनुसार जापानको समुद्री तटमा सुनामीका छालहरू देखिन थालिसकेका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रका मानिसहरूलाई कुनै ढिलाइ नगरी तत्काल उच्च भूभागतर्फ जान कडा निर्देशन दिएका छन्।

    सुनामीबाट मध्य प्रशान्त होक्काइडो तट, आओमोरी प्रिफेक्चर तट र इवाते प्रिफेक्चर तट सबैभन्दा बढी प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । शक्तिशाली भूकम्पका कारण सार्वजनिक यातायातमा पनि प्रत्यक्ष असर परेको छ। जापानको क्योडो न्युजका अनुसार, राजधानी टोकियो र उत्तरी सहर आओमोरीबीच चल्ने बुलेट ट्रेन सेवा हाललाई पूर्ण रूपमा रोकिएको छ। अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् भने प्रभावित क्षेत्रमा निरन्तर उच्च सतर्कता अपनाइएको छ।

  • अर्थमन्त्रीले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

    अर्थमन्त्रीले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

    ७ वैशाख, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबीच आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । छलफलमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष तथा सदस्य र प्रधानमन्त्रीका प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल समेत सहभागी थिए ।

    अर्थ सचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणका लागि निर्णय गरेको, बहुवर्षीय ठेक्काको स्रोत सहमतिको समयसीमा परिवर्तन लगायत विषयमा जानकारी गराए । बजेट तथा कार्यक्रम महाशाखा सहसचिव डा। सुमन दाहालले आगामी आवको बजेट तयारीको हालसम्मको अवस्थाबारे जानकारी गराए ।

    विषयगत मन्त्रालयका मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको बजेट तथा कार्यक्रमसँग सम्बन्धित स्थिति र समस्याबारे जानकारी गराएका थिए । कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालको सार्वजनिक वित्त संकटको अवस्थामा रहेको सन्दर्भमा आगामी बजेटमा सबैको सामूहिक परीक्षण हुने बताए । राज्यको अनिवार्य दायित्व १ हजार ३ सय ३० अर्ब र राजस्व १ हजार १ सय ८० अर्ब रहेको अवस्थामा नागरिकका आकांक्षा सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण रहेको समेत उनले बताए ।

    बजेटका लागि सिद्धान्तका रूपमा सुशासन तथा संस्थागत सबलीकरण, सदाचारिता नीति अवलम्बन, फराकिलो आर्थिक वृद्धिसहित आर्थिक विकास, निजी लगानी, सूचना प्रविधि विस्तार, पूँजी निर्माणका लागि पूर्वाधार विकास, मध्यमस्तरीय वर्ग विकास, विपन्न वर्ग उत्थान र सौम्यशक्ति विस्तारजस्ता सैद्धान्तिक आधार मध्यनजर गर्दै बजेट तथा कार्यक्रम छनोट गर्नुपर्नेमा उनले जोड दिए । अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयको बाध्यता र सीमा सबै मन्त्रालयलाई जानकारी भएको र सोही बमोजिम आफ्ना मन्त्रालयको प्राथमिकता निर्धारण गरी बजेट निर्माण कार्यमा लाग्न अनुरोध गरे ।

  • भूपदेव शाह बने रास्वपा महामन्त्री

    भूपदेव शाह बने रास्वपा महामन्त्री

    ७ वैशाख, काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । प्रमुख स्वकीय सचिव भएर काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् । पछिल्लोपटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।

  • ट्रम्पको दावि : इरानी पानीजहाज नियन्त्रणमा लिइयो

    ट्रम्पको दावि : इरानी पानीजहाज नियन्त्रणमा लिइयो

    ७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथिको सामुद्रिक नाकाबन्दी अन्तर्गत एउटा इरानी झन्डावाहक पानीजहाज नियन्त्रणमा लिइएको बताएका छन्। खाडी क्षेत्रमा अमेरिकाले नियन्त्रणमा लिएको भनिएको मालवाहक जहाजबारे इरानले कुनै प्रतिक्रिया जनाएको छैन। रोक्न दिइएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी नौसेनाले टोस्का नाम गरेको जहाजलाई कब्जामा लिएको अमेरिकी राष्ट्रपतिले ट्रुथ सोशलमा उल्लेख गरेका छन्।


    इरानसँगको युद्ध अन्त्यका लागि पाकिस्तानमा हुन लागेको दोस्रो चरणको वार्ता टोलीको नेतृत्व फेरि पनि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गर्ने ह्वाइट हाउसले पुष्टि गरेलगत्तै ट्रम्पको यो घोषणा आएको हो। दोस्रो चरणको वार्तामा तेहरानले आफ्नो सहभागिता हुनेबारे अहिलेसम्म पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी कायम रहेसम्म इरानी अधिकारीहरूले सहभागिता नजनाउने बताएका छन्।

    ट्रम्पले अमेरिकी नियन्त्रणमा रहेको पानीजहाज करिब ९०० फिट लामो र विमानवाहक जहाज जत्तिकै तौलको रहेको उल्लेख गरेका छन्। अमेरिकी सामुद्रिक नाकाबन्दी अटेर गरेर जान खोजेको भन्दै ट्रम्पले उक्त जहाजको इन्जिन रहने कोठामा प्वाल पारेर जहाजलाई रोकेको जनाएका छन्। अवैध गतिविधिको विगतका कारण टोस्का अमेरिकी ट्रेजरीको प्रतिबन्धमा छ। जहाजलाई हामीले पूर्ण नियन्त्रणमा लिएका छौँ र त्यसमा के छ भनेर हेर्दै छौँ, ट्रम्पले भनेका छन्।


    अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको एउटा भिडिओमा अमेरिकी जलसेनाको जहाजले उक्त जहाजलाई रोक्न चेतावनी दिएको र गोली प्रहार गरिएको देखिएको छ। इरान र अमेरिकाबीच पहिलो चरणको वार्ता असफल भएपछि ट्रम्पले दुई देशबीच सम्झौता नभएसम्म इरानी बन्दरगाहमा अमेरिकाले सामुद्रिक नाकाबन्दी जारी राख्ने चेतावनी शुक्रवार दिएका थिए। पाकिस्तानमा भएको वार्ताबाट मध्यपूर्वमा दुई हप्ताको युद्धविराम घोषणा हुनुअघि गएको फेब्रुअरी २८ बाट पाँच हप्तासम्म इरानमा युद्ध चलेको थियो।

    इरान र अमेरिकाबीच इरानको परमाणु कार्यक्रम र स्ट्रेट अफ होर्मुज भनिने तेल ओसारपसारको प्रमुख जलमार्गमा नियन्त्रण सहितका विषयहरूमा सहमति हुन सकेको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले आइतवार दुई पक्षबीच वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानमा आफ्ना प्रतिनिधिहरू सोमवार पुग्ने बताएका थिए। यसअघि घोषणा भएको युद्धविरामको दुई साता लामो अवधि बुधवारबाट सकिँदै छ। भान्ससँगै ट्रम्पका सल्लाहकार स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ ज्यारड कुश्नर पनि अमेरिकी प्रतिनिधिमण्डलमा समावेश रहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन्। उनीहरू दुवै जना अघिल्लो चरणको वार्तामा पनि सहभागी थिए।

    तर इरानको सरकारी समाचार संस्था आईआरएनए ले अमेरिकासँग दोस्रो चरणको वार्ता हुने विवरणहरूमा सत्यता नभएको बताएको छ। अमेरिकी नाकाबन्दीसँगै वाशिङ्टनका अत्यधिकू माग र धम्कीपूर्ण भाषाले वार्ताको प्रगतिमा बाधा पुर्‍याएको इरानी समाचार संस्थाले उल्लेख गरेको छ। यद्यपि पाकिस्तानको राजधानी इस्लामाबादमा थप छलफलका लागि तयारी सुरु गरिएको छ।

  • आज तराई भेगमा अधिक तातो, यस्तो छ प्रक्षेपण

    आज तराई भेगमा अधिक तातो, यस्तो छ प्रक्षेपण

    ७ वैशाख, काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा लेखिएको छ, ‘मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको छ ।’ विभागका मौसमविदहरुका अनुसार आज कैलालीको धनगढी, डोटीको दिपायल र बाँकेको नेपालगञ्जमा तातो हावाको लहर चल्ने प्रक्षेपण छ । साथै दाङको घोराही र रुपन्देहीको भैरहवामा पनि तातो दिन हुने सम्भावना छ ।

    आज दिउँसो धनगढी, दिपायल र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ । यसैगरी घोराही र भैरहवामा ३६ देखि ३८ डिग्री सेल्सियस पुग्ने अनुमान छ । केन्द्रीय राजधानी काठमाडौंमा भने आज दिउँसोको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस पुग्ने मौसम विज्ञान विभागको अनुमान छ । मौसमविद सन्जिव अधिकारीका अनुसार अन्य ठाउँहरुमा पनि गर्मी बढ्ने सम्भावना देखिएको छ ।

    मंगलबार पनि कोशी बाहेकका प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने अनुमान छ । त्यसैले गर्मीको बेला अनावश्यक रुपमा घरबाहिर ननिस्किन, प्रशस्त पानी पिउन र शरीर छोपिने खालका कपडा लगाउन विज्ञहरुले सुझाव दिएका छन् ।

  • अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा

    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमणमा

    ७ वैशाख, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । उनी आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । भारतीय मूलका कपुर बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित काठमाडौं आइपुगेको बताइएको छ ।

    काठमाडौं बसाइको क्रममा कपुरले उच्चस्तरीय भेटघाट गर्ने र सरकारका केही मन्त्रीहरुलाई पनि भेट्ने तयारी छ । गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशियाली सुरक्षाका विज्ञ कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए । त्यसअघि डोनाल्ड लुले दक्षिण एशिया मामिला हेर्दथे ।

    कपुरको काठमाडौं भ्रमण तीन दिनको हुने बताइएको छ । उनी बुधबार फर्किनेछन् । नेपाल आएका कपुर बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने सबैभन्दा वरिष्ठ विदेशी कूटनीतिज्ञ हुन् ।