Author: Vishwanews.com

  • चितवनमा ट्याक्टर दुर्घटना, कम्तिमा ५ को मृत्यु

    चितवनमा ट्याक्टर दुर्घटना, कम्तिमा ५ को मृत्यु

    चितवन । चितवनमा आइतबार साँझ ट्याक्टर दुर्घटनामा परी कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रहरीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार राप्तीमा वडा कार्यालयको भवन ढलान गरेर फर्किएका कामदार चढेको ट्याक्टर दुर्घटनामा परेको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको र एक दर्जन भन्दा बढी व्यक्ति घाइते रहेको बताइएको छ ।

    आँपपानीमा रहेको राप्ती नगरपालिकाको वडा नम्बर–११ को भवन ढलान गरेर फर्किएका कामदार दुर्घटनामा परेका छन् ।ना १ त ६२८२ नम्बरको ट्याक्टर चिउडे खोलामा दुर्घटनाग्रस्त भएको हो । ट्याक्टर सडकबाट २०० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकि रहेको छ

  • काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला

    काठमाडौं नयाँ बसपार्कको गेष्टहाउसमा युवक मृत फेला

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेष्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार गोङ्गबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको छ ।

    शनिबार राति १० बजे गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको थियो । नागरिकताको आधारमा मृतकको परिचय खुलेको हो । शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

    प्रहरीले कोठामा घर्तिसँगै बसेका राजकुमार गाहा र झक्कुराम बस्नेतलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । गेष्टहाउसमा सँगै बसेका दुई जना शनिबार राती नै उपत्यकाबाट भागेको र बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • राजकुमार फिलिपको अन्त्येष्टीमा प्रधानमन्त्री बोरिस नजाने

    राजकुमार फिलिपको अन्त्येष्टीमा प्रधानमन्त्री बोरिस नजाने

    लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयका पति प्रिन्स फिलिपको अन्त्येष्टिमा प्रधानमन्त्री बोरिस जोन्सनले नजाने निर्णय लिएका छन् । आफु नजाँदा राजपरिवारका थप एक सदस्य अन्तिम संस्कारमा सहभागी हुन सक्ने भन्दै उनले यस्तो निर्णय लिएको बीबीसीले लेखेको छ ।

    बेलायतमा कोरोना भाइरसको महामारीका कारण कडा प्रतिवन्ध छ । यहाँ सार्वजनिक स्थलमा ३० जना भन्दा बढी मानिस सहभागी हुन नपाउने नियम छ । सोहीकारण अन्त्येष्टी समारोहमा राजपरिवारका सदस्यलाई सहभागी हुन सजिलो होस भनी आफु नजाने निर्णयमा प्रधानमन्त्री पुगेका हुन् । उनी राजसंस्थालाई हित हुने गरी निर्णय लिने नेता हुन् ।


    प्रिन्स फिलिपको गत शुक्रबार ९९ वर्षको उमेरको निधन भएको हो । अप्रिल १७ मा विन्डसर कासलको सेन्ट जर्ज चापेलमा उनको अन्त्येष्टिको तयारी गरिएको छ । प्रिन्स फिलिपका नाति–नातिना, पनाति–पनातिनाका साथै अन्य नजिकका व्यक्ति मात्र सहभागी हुनेछन् ।

    उनको अन्तिम बिदाईमा आम मानिसहरु सहभागी हुन चाहन्छन् । तर, कोराना महामारीका कारण उनीहरुलाई टाढा नै रहन भनिएको छ । दरवारले आफ्नो भवना अनलाइनबाटै व्यक्त गर्न र च्यारिटीमा सहभागी हुन समेत नागरिकमा आह्वान गरेको छ ।

  • फुजेल हत्याकाण्डका १२ आरोपितले उच्च अदालतबाट पनि पाए सफाई

    फुजेल हत्याकाण्डका १२ आरोपितले उच्च अदालतबाट पनि पाए सफाई

    हेटौडा । फुजेल हत्याकाण्डका रुपमा परिचित गोरखाका कृष्ण प्रसाद अधिकारीको हत्या अभियोग लागेका १२ जनाले उच्च अदालतबाट समेत सफाई पाएका छन् । यसअघि उनीहरुले जिल्ला अदालत चितवनबाट सफाई पाएका थिए । २०६१ सालमा कृष्णप्रसादको हत्या चितवनमा भएको हो ।

    उनको हत्या तत्कालिन द्वन्द्वरत पार्टी माओवादीका कार्यकर्ताले अपहरणपछि गरेको आरोप लागेको थियो । आफ्नो छोराको हत्यापछि जाहेरी दिन गंगामाया र नन्दप्रसादले लामो समय अनसन बस्नु परेको थियो ।


    २०७० चैत ३० मा चितवन जिल्ला अदालतमा एक दर्जन तत्कालिन माओवादी कार्यकर्ताविरुद्ध मुद्दा दायर भएको थियो । कुल १३ जनाविरूद्ध मुद्दा दायर भएकोमा एकजना फरार रहेको भन्दै मुद्दा मुल्तवीमा राखिएको थियो। अनसनकै क्रममा नन्दप्रसादको पाँच वर्ष अगाडी नै मृत्यु भइसकेको छ ।

    उनको दाहसंस्कार गर्न भने श्रीमती गंगामायाले मानेकी छैनन् । उनी पनि छोराका हत्यारालाई कारबाही माग गर्न भन्दै अहिले आमरन अनसनमा छिन्। नन्दप्रसादको शव अहिले शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

    जाहेरीपछि प्रहरीले अगाडी बढाएको मुद्दामा जिल्ला अदालत चितवनले साढे २ वर्षअघि सबै प्रतिवादीलाई सफाइ दिएको थियो। सो मुद्दामा आज सुनुवाई गर्दै आइतबार उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

    अभियोग लगाउँदैमा, मुद्दा अदालतमा दायर गर्दैमा अभियोग प्रमाणित हुने नदेखिँदा हुँदा आरोपित प्रतिवादीउपरको जन्मकैद गरी पाऊँ भन्ने वादीको दाबी पुग्ने वस्तुनिष्ठ आधार नदेखिने भन्ने चितवन जिल्ला अदालतको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेको हो ।

    घटनाका प्रतिवादी गोरखा फुजेल बस्ने सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजीव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भनिने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल र सुभद्रा तिवारीले सफाइ पाएका छन् ।

  • नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ८० हजार नाघ्यो

    नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ८० हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १४१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७७ हजार २७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या २ हजार ९ सय २९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०४० पुगेको छ ।

  • काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च

    काठमाडौं । काठमाडौंमा कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । कुखुराको मासुको खुद्रा मूल्य किलोको ४१० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघले जनाएको छ ।

    व्यवसायीहरुका अनुसार मागको तुलनामा उत्पादनमा कमी आएपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नयाँ मूल्य काठमाडौं उपत्यकामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको पुगेको हो ।

    संघले तोकेको मूल्य ब्रोइलर कुखुराको मासु काठमाडौं उपत्यकामा बिक्री इतिहासकै सबै भन्दा धेरै हो । जिउँदो कुखुराको मूल्य पनि हालसम्मकै उच्च भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।

    यस अघि किसानले प्रतिकिलो अधिकतम् २७० रुपैयाँ पाउने जिउँदो कुखुराको भाउ अहिले २९० रुपैयाँ पुगेको छ ।

  • शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग

    शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग

    काठमाडौं । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ।

    बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो निभाउन सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको हो । हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि आगलानी नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

    डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।

    काठमाडौं दुई वटा दमकल गएर नियन्त्रणको प्रयास गरे पनि डढेलो सडकभन्दा धेरै माथि पुगेकाले सफल हुन नसकेपछि दमकल फर्किएका छन् ।

  • कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?

    कहिले हुँदैछ राजकुमार फिलिपको अन्तिम संस्कार ?

    लण्डन । बेलायती महारानी एलिज़ाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको अन्तिम संस्कारको तयारी शुरु गरिएको छ । यद्दपी उनको अन्तिम संस्कारको साइत भने १७ अप्रिलमा तोकिएको छ । उनको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको हो ।

    बीबीसीका अनुसार बकिंगघम दरवारले विंडसर कास्टलमा उनको अन्तिम संस्कारको तयारी छ । दरवारले आफ्ना सबैभन्दा प्रिय अविभावकको संस्झनामा एक औपचारिक कार्यक्रमको आयोजना गर्नेछ ।

    ब्रिटिश सरकारले संस्कार हुने दिन राष्ट्रिय घण्डा बिहान ८ बजेसम्म आधा झुकाउने घोषणा गरिसकेको छ । तर, महामारी रहेको दरबारमा रहने राजसंस्थाको झण्डा भने आधा फहरिने छैन ।

    Photo: Dominic Lipinski/PA Wire

    किनकी यो झण्डालाई राजसंस्थाको सम्प्रभुताको प्रतिक मानिन्छ । शनिवार दिउँसो फिलिपको सम्मानमा तोपको सलामी दिइएको छ । एडिनबरा, कार्डिफ़, लण्डन, उत्तरी आयरल्याण्ड, डेवनपोर्टलगायतमा त्यहाँको सेनाले प्रत्येक मिनेटमा एक हवाई फायर गरेको थियो । यो क्रम ४० मिनेटसम्म जारी राखिएको थियो ।

    फ़िलिपले द्वितीय विश्व युद्धमा नौसेना अधिकारीका रुपमा भाग समेत लिएका थिए । बेलायतमा आगामी महिना आम निर्वाचन चलिरहेको छ । राजकुमार फ़िलिपको सम्मानमा बेलायत, स्कटल्याण्ड र वेल्समा चुनावी अभियान रोकिएको छ ।

    बृटिस संसदले सोमबार राजकुमारलाई अन्तिम सम्मान प्रदान गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारीका बीच आफ्ना प्रिय राजकुमारलाई जनताले भने एकिकृत भई अन्तिम बिदाई गर्न पाउने सम्भावना कम छ ।

    Photo : Press Association

    अहिले दरवारको बाहिर मानिसहरुले फुल ल्याएर राखिरहेका छन् । शाही परिवारले यसो नगर्न समेत आग्रह गरेको छ । यसले कोरोनाको जोखिम जनतामा अझ बढ्ने चिन्ता दरवारको छ ।

  • एलक्लासिको भिडन्तमा बार्सिलोना हार्यो

    एलक्लासिको भिडन्तमा बार्सिलोना हार्यो

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा दुई बलियो टीम रियल म्याड्रिड र बार्सिलोनाबीचको भिडन्तमा रियलले बाजी मारेको छ । यो खेललाई एलक्लासिको भिडन्तका नामबाट चिनिन्छ ।

    वर्षमा कम्तिमा दुई पटक यी टीमबीच भिडन्त हुन्छ । रियल म्याड्रिडले गत राती सम्पन्न खेलमा बार्सिलोनालाई २-१ गोलले हराउँदै शीर्ष स्थानमा पुगेको छ । रियलको घरेलु मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जामा र टोनी क्रुजले एक एक गोल गरे ।

    बार्सिलोनाका लागि ओस्कार मिंगुएजाले एक गोल गरेपनि त्यो बराबरीका लागि समेत पर्याप्त बनेन् । खेलको ९० औं मिनेटमा रियल १० खेलाडीमा समेटिएको थियो ।

    रियल म्याड्रिडका कासमिरोले खेलको ९०औ मिनेटमा दोहोरो पहँलो कार्ड खाँदै बाहिरिएका थिए । जितपछि रियल म्याड्रिडको ३० खेलमा ६६ अंक भएको छ। दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २९ खेलमा ६६ अंक रहेको छ । गोल अन्तरमा दोस्रो स्थानमा छ ।

    तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३० खेलमा ६५ अंक रहेको छ । उपाधी भिडन्तमा यी तीन टोलीले अब एउटा पनि खेल गुमाउने छूट पाउने छैनन् । ३० खेल खेलिसकेका टोलीले यो सिजनमा अझै ८ खेल खेल्न बाँकि रहेको छ ।

  • भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान

    भारतको राजधानी दिल्लीमा कोरोनाविरुद्ध कडा प्रावधान

    नयाँ दिल्ली । कोरोना संक्रमणको नयाँ भेरियन्टमा भएको वृद्धिसँगै भारतको राजधानी दिल्लीमा कोरोना विरुद्धका स्वास्थ्य मापदण्डमा कडाई शुरु भएको छ । शनिबार दिल्ली सरकारले यस्तो प्रावधानहरुको घोषणा गरेको छ ।

    दिल्ली सरकारले संक्रमण रोकथामका लागि भन्दै कडा नियमहरु ल्याएको हो । स्थानीय प्रशासनका अनुसार मानिसहरु भेला भएर हुने सबै प्रकारका गतिविधि रोकिएको छ । यसमा सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग सम्बन्धित काम रहेका छन् ।

    राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा भाग लिने खेलाडी बाहेक अन्य व्यक्तिले स्वीमिङ पूल प्रयोग गर्न नपाउने भएका छन् । बढ्दो गर्मिका बीच लागेको प्रतिवन्धले समस्या निम्त्याउन सक्ने बताइएको छ ।

    विवाहमा ५० र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै मानिसलाई भाग लिन दिइने छैन । रेस्टूराँ र बारमा ५० प्रतिशत भन्दा बढी मानिस राख्न पाइने छैन । दिल्लीका सबै कलेज र कोचिङ संस्था बन्द गरिएको छ ।

    सार्वजनिक सवारीले सीटमा ५० प्रतिशतमात्र यात्रु राख्नु पर्नेछ । कोरोनाबाट भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्रबाट दिल्ली आउने यात्रुले आफू संक्रमित नरहेको प्रमाण देखाउनु पर्नेछ ।

    रिर्पोट नभए अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ । यसका वावजुत पनि आर्थिक गतिविधि रोक्ने गरी भने दिल्ली सरकारले प्रावधान ल्याएको छैन । यसले दैनिक मजदुरी गर्नेहरुलाई भने राहत दिने छ ।

  • आज घोडे जात्र पर्व मनाईंदै

    आज घोडे जात्र पर्व मनाईंदै

    काठमाडौं । नेपालमा आज घोडे जात्रा पर्व मनाईंदै छ । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्छ । यस दिनको उपलक्ष्यमा नेपाली सेनाले विशेष कार्यक्रम तथा प्रदर्शनी आयोजना गर्छ । कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै एक तिहाइ पाहुनालाई मात्र बोलाएर कार्यक्रम गर्न लागिएको सेनाले जानकारी गराएको छ ।

    राष्ट्रपतिसहित उच्च पदस्थ अधिकारी घोडेजात्रा अवलोकनमा पुग्ने छन् । किंवदन्तीअनुसार काठमाडौंको टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खान्थ्यो । पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर राक्षसलाई मारेका थिए ।

    राक्षसको प्रेतात्मा फेरि जागेर बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरहेपछि हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनविश्वास छ ।

    राससका अनुसार शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा समेत दिने प्रचलन रहेको छ ।

  • म्यानमार प्रदर्शन : थप ८० प्रदर्शनकारी र १० प्रहरीको मृत्यु

    म्यानमार प्रदर्शन : थप ८० प्रदर्शनकारी र १० प्रहरीको मृत्यु

    काठमाडौं\एजेन्सी । म्यानमारमा सेनाको सैन्य कु विरुद्धको आन्दोलनमा त्यहाँको सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि हिंसा जारी राखेको सोही क्रममा शुक्रबार र शनिबार दुई दिनको अवधिमा करीव १ सय मानिसको ज्यान गएको छ । त्यसमध्ये कम्तीमा एक दर्जन प्रहरी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    शुक्रबार यंगुन सहरनजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो । त्यस घटनामा कम्तिमा ८० जना प्रदर्शनकारी मारिएको आंकडा आएको छ । केही मानिस घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

    बागो शहरको यो घटनामा मारिएका मानिसको लास एकै थुप्रो बनाएर राखिएका कारण एकिन तथ्यांक समेत नआएको एएफपीले लेखेको छ । उक्त क्षेत्रमा सर्वसाधारणलाई जान समेत दिइएको छैन ।

    उता, आदिवासी विद्रोहीको एक सशस्त्र समुहले सान प्रान्तको एउटा प्रहरी चौकीमा आक्रमण गर्दा कम्तिमा १० प्रहरी मारिएका छन् । घटना शनिबार बिहान भएको हो ।

    १ फेब्रुअरीमा भएको सैनिक कू यता म्यानमारमा ६ सय १८ जना नागरिकको ज्यान गइसकेको छ । त्यसमा १६ जना सुरक्षाकर्मी रहेको बताइएको छ । तर, सेनाले भने सर्वसाधारणको आंकडा कम भएको दावि गरिरहेको छ ।

  • सिराहामा गोली हानेर एक जनाको हत्या

    सिराहामा गोली हानेर एक जनाको हत्या

    सिराहा । सिराहामा गोली हानेर एक जनाको हत्या गरिएको छ । प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार लहान नगरपालिका वडा नम्बर २३ वरियार चोकमा गतराती १ बजे गोली चलेको हो । गोली प्रहारबाट स्थानीय प्रदीप विश्वकर्माको मृत्यु भएको छ ।

    उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । उनीमाथि गोली र खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनकी श्रीमती घाइते अवस्थामा भेटिएकी छिन् ।

    जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार श्रीमतीको हातमा चोट देखिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्रेको छ । लहान नगरपालिका वडा नम्बर ७ का रामकृष्ण चौचरी र सूर्य सहनी पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • आइपीएल : दिल्ली सामु चेन्नई निरिह

    आइपीएल : दिल्ली सामु चेन्नई निरिह

    मुम्बई । १४ औं संस्करणको आइपीएलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्समाथि रवाफिलो जित दर्ता गरेको छ । ओपनरद्वय शिखर धवन र पृथ्वी शको उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली चम्किएको हो । शनिबार राती सम्पन्न खेलमा चेन्नईमाथि दिल्लीले ७ विकेटको जित निकाल्न सफल भयो ।

    पहिले ब्याटिंग गरेको चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै दिल्लीले पूरा गरेको हो । दिल्लीका लागि शिखर धवनको नाममा सर्वाधिक ८५ रनको योगदान रह्यो ।

    पृथ्वी शले ३८ बलमा ७२ रन जोडे । मुम्बईको वाङखडे स्टेडियममा भएको खेलमा चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको लागि सुरेश रैनाले सर्वाधिक ५४ रन बनाए । मोइन अलीको नाममा ३६ रन रह्यो ।

  • राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’

    राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेका नक्मामा नेपालको पुरानो नक्सा प्रयोग भएको छ । सरकारले नयाँ नक्सा जारी गरी लिम्पुवाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समेटेको भएपनि सर्वोच्च संस्थाबाट वितरण गरिने अति सम्मानित तक्मामा भने पुरानै नक्साको प्रयोग भएपछि सरकारको नियतमाथि प्रश्न उठेको छ ।

    तर, गृह मन्त्रालयले भने गत वर्ष नै तक्मा छापिएको र त्यति बेला नयाँ नक्सा नबनिसकेको भन्दै कुतर्क गरेको छ । नयाँ नक्सा सार्वजनिक गरेको एक वर्ष पुगिसकेको छ ।

    यस अवधिसम्म पनि तक्मामा नयाँ नक्सा राख्न नसकेको सरकारले नक्सा अंकित नभएको विषयमा आएका प्रतिक्रिया र समाचारको विषयमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।

    संविधान दिवसको अवसरमा २०७६ साल असोजमा विभूषण घोषणा भएको हो । यी तक्मा २०७७ साल वैशाख एक गते वितरण गर्ने गर्ने कार्यक्रम थियो । तर, कोरोना भाइरसको महामारीका कारण तक्मा वितरण शुक्रबार मात्र भएको हो ।

  • नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना

    नेपालमा बढ्यो संक्रमणदर, एकै दिन ३३७ जनामा कोरोना

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस दिन ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना देखिएको हो । अब नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार सात सय २५ पुगेको छ ।

    आज एक सय ५१ जना निको भएका छन् । नेपालमा कुल दुई लाख ७३ हजार आठ सय ८६ जनाले कोरोनालाई जित्न सफल भएका छन् । पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३९ पुगेको छ । नेपालमा हाल २ हजार आठ सय जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्यांक रहेको छ ।

  • नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे

    नेपालमा ७५२ गैंडा, पाँच वर्षमा १०७ ले बढे

    काठमाडौं । नेपालमा पछिल्लो ५ वर्षको अवधिमा १ सय ७ वटा गैंडा बढेको पाइएको छ । गैंडा गणनाको नतिजा सार्वजनिक गर्दै सरकारले यस्तो जानकारी गराएको हो । अब नेपालमा गैंडाको कुल संख्या ७ सय ५२ पुगेको छ । सन् २०१५ मा गरिएको गैंडा गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

    शुक्रबार सम्पन्न भई शनिबार सार्वजनिक विवरण अनुसार अहिले चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी गैंडा फेला परेका छन् । यहाँ ६ सय ९४ वटा गैंडा भेटिए । बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ वटा, शुक्लफाँटा वन्यजन्तु आरक्षमा १७ वटा र पर्सा वन्यजन्तु आरक्षमा तीन वटा गैंडा भेटिएका छन् ।

    यस वर्ष ९ चैतबाट गैंडा गणना थालिएको हो । सन् २०१५ मा भएको गणनापछि एक सय ६१ वटा गैंडा भने विभिन्न कारणले मरेका छन् । गैंडाको मृत्युदर यो वर्ष बढी रहेको छ ।

  • विपुल पोखरेल  नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित

    विपुल पोखरेल नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित

    काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । केन्द्रमा काठमाडौं जिल्लाको निर्णायक भोट गणना सकिएसँगै उनी निर्वाचित भएका हुन् । तर, नुवाकोटसहित विभिन्न ५ जिल्लामा विवादका कारण मत आउन बाँकी छ । सोहीकारण औपचारिक घोषणा गरिएको छैन ।

    महासंघमा पोखरेलको प्यानल नै विजयी भएको छ । सोही अनुसार महासंघको महासचिवमा रोशन पुरी निर्वाचित भएका छन् ।

    ती जिल्लामा थोरै मत रहेको र काठमाडौंको मत गणना पुरा भइसक्दा पोखरेलको अग्रता २ हजार १ सयभन्दा बढीको भइसकेका कारण उनी निर्वाचित भएका हुन् । आजै औपचारिक घोषणाको तयारी समेत रहेको छ ।

    पोखरेल नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीको समर्थनमा उमेदवार बनेका हुन् ।

    एमालेको ओली समूह निकट प्रेस चौतारीसहित ९ संगठनको तर्फबाट निर्मला शर्माले अध्यक्षमा दावेदारी दिएकी हुन् । गजेन्द्र बुढाथोकी स्वतन्त्र रुपमा उठेका थिए ।

  • सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने

    सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने

    चितवन । गैँडा गणना सम्पन्न भएसँगै आज नतिजा सार्वजनिक गरिने भएको छ । ९ चैतबाट नेपालमा पर्सा राष्ट्रिय निकुञ्जबाट गैंडा गणना थालिएको हो । शुक्रबार गणनाको काम सकिएसँगै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा शुक्रबार गणनाको काम सकिएको हो ।

    ४० मुख्य गणक र २० जना वैकल्पिक गणक खटिएर यस वर्ष गैंडा गणना गरिएको हो । नेपालमा प्रत्येक पाँच वर्षमा गैंडा गणना गर्ने प्रचलन रहेको छ । यो वर्ष कोरोना महामारीका बीच एक वर्ष ढिला गरि गैंडा गणना भएको हो । नेपालमा यसअघि सन् २०१५ मा गैंडा गणना भएको हो ।

    निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक, एक गरी गैंडा गनेका हुन् । गैंडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना गरिन्छ । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापन हुने गरिएको छ । सन् २०१५ मा कूल ६४५ वटा गैंडा भेटिएका थिए । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति खटिएका हुन् ।

  • हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै

    हरिद्धारमा पूर्वराजालाई विशेष सम्मान दिईंदै

    काठमाडौं । भारतको हरिद्वारमा कुम्भ मेला जारी छ । यस अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विशेष सम्मान दिईंदै छ । ज्ञानेन्द्र शाही स्नानमा सहभागी हुनेछ । त्यसक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका लागि विशेष रथको व्यवस्था गरिने भएको हो ।

    नेपाली संचारमाध्यमहरुका अनुसार श्रीपञ्चायती निरन्जनी अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको निमन्त्रणमा उनी हरिद्धारमा शाही स्नानमा सहभागी हुन लागेका हुन् ।

    मेला आयोजनास्थलबाट गंगातटको शाही स्थानस्थलसम्म जान पूर्वराजा शाहलाई यस्तो व्यवस्था गरिएको छ । शाहको रथ आचार्य महामण्डलेश्वर गिरी र आनन्द अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी बालकानन्द गिरीको रथको पछि रहने संचारमाध्यमले जनाएका छन् ।

    मेलामा अखडाका पीठाधीश र विशिष्ट व्यक्तिहरू शाही स्नानस्थलसम्म जान विशेष किसिमले सजाइएको रथ प्रयोग गर्ने परम्परा रहेको छ । पूर्वराजा दम्पती आइतबार साँझ आचार्य महामण्डलेश्वरले दिने विशेष रात्रिभोजमा सहभागी हुने भएका छन् । मेलामा सहभागी हुन पूर्वराजा शाह र पत्नी कोमल बिहीबार नै दिल्ली पुगिसकेका छन् । दम्पत्ति शनिबार हरिद्वार जाने कार्यक्रम रहेको छ ।

  • आइपीएल : पहिलो खेलमा मुम्बईलाई बैंलौरले हरायो

    आइपीएल : पहिलो खेलमा मुम्बईलाई बैंलौरले हरायो

    चेन्नई । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट सिरिजको १४ औं संस्करण शुक्रबारबाट शुरु भएको छ । शुक्रबार राती सम्पन्न पहिलो खेलमा साविक विजेता मुम्बई इण्डियन्सलाई रोयल च्यालेन्जर्स बैंलौरले रोमाञ्चक भिडन्तमा हराएको छ । मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बैंलौरले दुई अंक समेत जोडेको छ ।

    चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५९ रन जोडेको थियो । १६० रनको लक्ष्य पाएको बैंलौरले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटायो । उसले अन्तिम बलमा लक्ष्य भेटाएको हो । बेङ्ग्लोरको जितका लागि एबी डेबिलियर्सले सर्वाधिक ४८ रनको योगदान गरे ।

  • काठमाडौंमा हट्यो वायुप्रदुषण, खुल्दैछ आकास

    काठमाडौंमा हट्यो वायुप्रदुषण, खुल्दैछ आकास

    काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदुषण हट्दै आकास खुल्ने क्रम शुरु भएको छ । शुक्रबार साँझ हावाहुरीसहित भएको वर्षाका कारण समेत शनिबार वायु प्रदूषण हट्न थालेको हो ।

    शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वायु प्रदूषण मापन गर्ने इकाई अनुसार नेपालको एक्यूआई अहिले १५० भन्दा तल झरेको छ । यो अति हानिकारक अवस्था भन्दा सुधारिएको अवस्था हो । केही समय काठमाडौंको आकास विश्वकै सबैभन्दा प्रदुषित शहरका रुपमा रहेको थियो ।

    शनिबार प्रदेश १ र देशको पहाडी भाग बाहेकका ठाउँहरुमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुन भएकाले आज पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा फाट्टफुट्ट पानी पर्न सक्ने भएको छ । शुक्रबार गण्डकी, वाग्मती र प्रदेश१ मा पानी परेको थियो ।

    अहिले न्यूनचापीय मौसमी प्रणाली कमजोर बन्दै गएको र स्थानीय वायुको प्रभाव रहेकाले ठूलो पानी पर्ने सम्भावना भने कम रहेको महाशाखाको भनाई छ ।

  • विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो

    विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो

    काठमाडौं । नेपाल सरकारले विदेशमा खुलेका शिक्षण संस्थालाई नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न स्वीकृति दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिएका छन् ।

    खासगरी गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपाली नागरिकले आफु रहेको मुलुकमा खोलेका शिक्षण संस्थामा नेपाली पाठ्यक्रम अनुसार पठनपाठनको स्वीकृति मागेका थिए । सोही अनुसार सरकारले यस्तो निर्णय गरेको हो ।

    अब नेपालमा माध्यामिक स्तरको मान्यता पाएको पाठ्यक्रमलाई विदेशमा समेत शिक्षण संस्थाले पढाउन सक्ने भएका छन् ।

    देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न माग भई आएकोमा त्यस्ता विद्यालयमा नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्न शर्त तोकी अनुमति दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको उनले जानकारी दिए ।

  • बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन

    बेलायती महारानी एलिजावेथका श्रीमान राजकुमार फिलिपको निधन

    लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार बकिङ्घम राजदरबारले आज एक अप्रिय खबरको पुष्टी गरेको हो । राजकुमार फिलिप बिरामी थिए । उनी अस्पतालमा भर्ना भएका थिए ।

    बकिङ्घम राजदरबारले जारी गरेको विज्ञप्तिमा गहिरो दुखका साथ महारानीले उनका प्रिय श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेको उल्लेख छ ।

    राजकुमारी एलिजाबेथ र फिलिपबीच सन् १९४७ मा बिवाह भएको हो । यो एलिजाबेथले राजगद्दी सम्हाल्नु पाँच वर्ष अगाडि थियो। शुक्रबार बिहान विन्डसर क्यासलमा उनको निधन भएको बीबीसीले लेखेको छ ।

    File Photo by: zz/KGC-178/STAR MAX/IPx 2017

    राजकुमार फिलिप र महारानी एलिजाबेथका चार सन्तान, आठ नातिनातिनी छन् र १० जना पनातिपनातिनी छन्। उनीहरूका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सन् १९४८ मा जन्मेका हुन् ।

    राजकुमारी एनएस १९५० जन्मेकी हुन् । ड्यूक अफ योर्क राजकुमार एन्ड्रयू सन् १९६० मा जन्मेका थिए । अर्ल अफ वेसेक्स प्रिन्स एडवार्ड सन् १९६४ मा जन्मेको बीबीसीले लेखेको छ ।

    प्रिन्स फिलिप ग्रीसको कोर्फु द्वीपमा १० जुन सन् १९२१ मा जन्मिएका थिए। उनी हेलेन्सका राजा जोर्ज प्रथमका कान्छा छोरा हुन् । उनकी आमा, राजकुमारी एलिस, लर्ड लुइ अफ ब्याटनबर्गकी छोरी र रानी भिक्टोरियाका पनातिनी थिइन्। महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत भने थिएन।

  • माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ

    माओवादी केन्द्रले कारवाही गरेका चार मन्त्रीको आजै नियुक्ती र सपथ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट मुक्त गर्ने गरी कारवाही गरेका चार जना नेता आजै मन्त्री पदमा पुननियुक्त भई सपथ समेत लिएका छन् । नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले कारवाही गरेसँगै उनीहरुको सांसद पद गुमेको थियो ।

    सांसद नरहेपछि उनीहरु स्वतः मन्त्रीबाट समेत पदमुक्त बनेका थिए । अब संवैधानिक प्रावधान अनुसार उनीहरु ६ महिना मन्त्री बन्न सक्नेछन् । त्यतिन्जेल सांसद बन्न नसकेमा भने पुनः पद जानेछ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरूलाई पद तथा गोपनीयताको सथप खुवाएकी छिन् ।

    त्यसअगाडी प्रधानमन्त्रीले उनलाई मन्त्री पदमा नियुक्तीको सिफारिस गरेसँगै राष्ट्रपतिबाट मन्त्री पदमा नियुक्त गरिएको थियो । उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका छन् । रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन् ।

  • देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव

    देउवाद्धारा माओवादी केन्द्र र जसपासँग सत्ता गठबन्धनको प्रस्ताव

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ सरकार गठनको पहल शुरु गरेको छ । आज नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का उच्च नेतासँग भेट गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले औपचारिक रुपमा सत्ता गठबन्धनको प्रस्ताव राखेका हुन् ।

    देउवाले आज आफ्नो निवासमा तीन दलको बैठक बोलाएका थिए । नेताहरुका अनुसार उनले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका छन् । प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक जवाफ दिएको छ । उता, जसपा भने आज समेत अनिर्णित बनेको छ ।

    जसपाका केही नेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वासन दिएका कारण जसपाले छलफलका लागि भन्दै समय मागेको छ । प्रतिनिधिसभा पुनस्र्थापना पछि प्रधानमन्त्रीले स्वतः राजिनामा दिने अपेक्षा गरेका अन्य दल उनले सत्ता नछाड्ने बरु अझ बलियो बन्ने रणनीति अपनाएपछि नयाँ गठबन्धनको तयारी भएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी भएको र राज्यसत्ता कब्जा गर्न खोजेको र यस्ता सरकारले लोकतान्त्रिक चुनाव गराउन नसक्ने भन्दै देउवाले आजको बैठकमा कांग्रेसको नेतृत्वमा तीन दलको सरकार बनाउने प्रस्ताव राखेको नेताहरुले बताएका छन् ।

    आजको बैठकमा कांग्रेसका सबै पदाधिकारी सहभागी भएका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी भए । जसपाबाट संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी भए ।

  • नेपालले किनेको खोप छिटो दिन भारत सरकारसँग आग्रह

    नेपालले किनेको खोप छिटो दिन भारत सरकारसँग आग्रह

    काठमाडौं । नेपालले भारतबाट खरीद गरेको गरेको कोरोना विरुद्धको खोप छिटो दिन भारत सरकारसँग आग्रह गरेको छ । भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग नेपालले कुल २० लाख डोज खोप किनेको थियो । तर, १० लाख डोज मात्र प्राप्त भएको छ ।

    आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गगर्दै यस्तो आग्रह गरेका हुन् । ज्ञवालीले भारतीय समकक्षीसमक्ष खोप नेपाल पठाउने वातावरण मनाउन आग्रह गरेको परराष्ट मन्त्रालय स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् ।

    दुई पराराष्ट्रमन्त्रीबीच भारत र नेपालमा पछिल्लो समय बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणको विषयमा समेत छलफल भएको छ । अहिले भारतमा कोरोना संक्रमण उच्च रहेको छ । यसले नेपालमा पनि जोखिम बढाउने देखिएको छ ।

  • नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप २८८ जनामा कोरोना संक्रमण, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ४ हजार ७१ जनाको पीसीआर परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १२७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ७३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या २ हजार ६ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ ।

  • बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने आदेशमा हस्ताक्षर

    बाइडेनद्वारा घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने आदेशमा हस्ताक्षर

    अमेरिकी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘घोस्ट गन’ भनेर चिनिने घरेलु उत्पादनको बन्दुक प्रयोगमा रोक लगाउने उद्देश्यले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

    बन्दुकबाट हुने हिंसा अमेरिकाको महामारी हो र यो अन्तर्राष्ट्रियस्तरमै लज्जाको विषय हो भन्दै बाइडेनले कार्यकारी आदेश जारी गरेको उल्लेख छ । यो कार्यकारी आदेशलाई संसदबाट स्वीकृत गर्नुपर्ने छैन ।

    स्थानीयस्तरमा उत्पादन हुने ‘घोस्ट गन’ दर्ता नहुने भएकाले पत्ता लगाउन कठिन हुने जानकारहरु बताउँछन् । अमेरिकी नागरिकले हतियार राख्न पाउने अधिकार अमेरिकी संविधानले सुनिश्चित गरेको छ ।

    बाइडेनले जारी गरेको यस सम्बन्धी कार्यकारी आदेशलाई कतिपयले आफ्नो संवैधानिक अधिकार हनन भएको रूपमा हेरेका छन् ।

    अमेरिकामा बन्दुकबाट हुने हिंसा टाउको दुखाइको विषय बनेको छ । एक कार्यक्रममा राष्ट्रपति बाइडेनले अमेरिकामा बन्दुकबाट हरेक दिन १०६ जनाको मृत्यु हुने गरेको तथ्यांक सुनाएका थिए ।

    गत बुधबारमात्रै साइथ क्यारोलाइनमा भएको गोली प्रहारमा पाँच जनाको मृत्यु भएको थियो । त्यसैगरी मार्च महिनामा भएको बन्दुक आक्रमणबाट १८ जनाको ज्यान गएको थियो ।

  • नेपालमा कोरोनाको दोस्रो लहर: विद्यालयसहित २५ जना बढी जम्मा हुने क्षेत्र बन्द गर्ने तयारी

    नेपालमा कोरोनाको दोस्रो लहर: विद्यालयसहित २५ जना बढी जम्मा हुने क्षेत्र बन्द गर्ने तयारी

    काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संस्या ह्वात्तै बढेपछि नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।

    पछिल्ला केही दिनयता नेपालभर संक्रमणको दर बढ्दै गएको छ। बिहीबार मात्रै तीन महिनायताकै धेरै ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ।

    कोरोना रोकथामको लागि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

    पछिल्लो समय विद्यार्थीमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आग्रह गरेको हो ।

    दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ।

    पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

    त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।

    सिफारिसमा सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस बन्द र स्विमिङ पुल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।

    सरकारले दोस्रो चरणको कोरोना फैलिन नदिन विद्यालयसहित अन्य सार्वजनिक क्षेत्र पनि बन्द तयारी गरेको हो। केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित पठनपाठन सञ्चालन हुँदै आएको छ ।

    केही महिनादेखि विद्यालय र कलेज भौतिक उपस्थितिमा नै खुलिरहेका छन्। पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा भीड देखिन थालेको छ।