Author: Vishwanews.com

  • एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई दुई सातामै सरकारी नियुक्ति

    एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई दुई सातामै सरकारी नियुक्ति

    काठमाडौं। एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई सरकारले नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ ।

    प्रधान दुई साताअघि मात्रै एमाले प्रवेश गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उनलाई निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ ।

    नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको सचिवालयले जानकारी गराएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी चैत ६ मा एमाले प्रवेश गरेका थिए । प्रधान नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन् । महासंघको गएको अधिवेशनमा चन्द्रप्रसाद ढकालसँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।

  • नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड

    नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड

    काठमाडौं । शेयर बजारले फेरि इतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड बनाएको छ । सोमबार इतिहासकै उच्च विन्दुको कीर्तिमान बनाएको नेप्सेले उक्त रेकर्ड तोड्दै आज नयाँ रेकर्ड बनाएको हो ।

    मंगलबार नेप्स २६७४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक २६५८.७४ विन्दुको रेकर्ड बनाएको थियो । आज शेयर बजार मापक सूचक नेप्से १५.७२ अंकले बढेर २६७४.४६ विन्दुमा पुगेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१३ कम्पनीको ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता शेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटा समूहको परिसूचक राताम्मे भएका छन् । आज बैंकिङ समूह १ अंकमुनि रातो रह्यो। ब्यापार ४३२, फाइनान्स ३, निर्जीवन बीमा २८७, अन्य ३ र जीवन बीमा समूह १९१ अंकले घटेका छन्।

    होटल तथा पर्यटन २०५, विकास बैंक २९, जलविद्युत ११४, उत्पादन १८३, माइक्रोफाइनान्स ६४ र लगानी समूह २ अंकले बढेका छन्। चिलिमे हाइड्रोपावर, युनिभर्सल पावर, युनाइटेड इदिमर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ।

    ओमी माइक्रोफाइनान्स, महिला लघुवित्त, एनआइसी एसिया लघुवित्त, सान्जेन जलविद्युत, शिवश्री हाइड्रोपावर, पन्चकन्या माइ हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै रसुवागढीको मूल्य ९.३ प्रतिशतले बढेको छ।

  • कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

    कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा

    काठमाडौं । कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

    नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन्।

    एमालेबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले राजीनामा दिएका हुन्। उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

    कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो ।

    यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् ।

  • अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नेपाल-खनाल पक्षद्वारा समानान्तर कमिटी घोषणा

    अष्टलक्ष्मी शाक्यको नेतृत्वमा नेपाल-खनाल पक्षद्वारा समानान्तर कमिटी घोषणा

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ ।

    मंगलबार काठमाडौँमा बसेको नेपाल–खनाल पक्षको बागमती प्रदेश कमिटीको बैठकले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर प्रदेश समिति घोषणा गरेको हो।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहले १७५ सदस्यीय समानान्तर कमिटी बनाएको छ ।

    जसको सहसंयोजकमा केदार न्यौपाने, अरूण न्यौपाने र पशुपति चौलागाई छन् भने सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन्। सचिवमा रचना खड्का रहेकी छन् ।

    बागमती प्रदेशको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत छन् ।

  • राष्ट्रियसभाका अध्यक्ष स्पेन प्रस्थान

    राष्ट्रियसभाका अध्यक्ष स्पेन प्रस्थान

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना एकसाता लामो भ्रमणका लागि स्पेनतर्फ लागेका छन् । चैत २४ देखि ३० गतेसम्म चल्ने पिस कम्फरेन्स अफ लुम्बिनी गार्डन प्रोजेक्टको कार्यक्रममा भाग लिन अध्यक्ष तिमिल्सिना स्पेनतर्फ लागेका हुन् । उनी सोमबार साँझ त्यसतर्फ लागेका छन् ।

    अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी, प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी समेत छन् ।

    टोलीमा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह, देवतह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी कार्डन प्रोजेक्ट स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्य हेको संसद सचिवालयले जानकारी दिएको छ ।

    स्पेनमा उनले सिनेटका अध्यक्ष, उपप्रधानमन्त्री एक्सत्रेमादुराका मुख्यमन्त्री, प्रदेशका सभामुख, सांसदसँग भेट्ने कार्यक्रम छ । भ्रमणका क्रममा लुम्बिनी तथा कोथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

  • लालिगा उपाधी होडमा बलियो बन्दै बार्सिलोना

    लालिगा उपाधी होडमा बलियो बन्दै बार्सिलोना

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधी होडमा बार्सिलोनाले पुनः आफ्नो दावेदारी प्रस्तुत गरेको छ । कमजोर शुरुवात गरेको बार्सिलोनाका लागि यो सिजन निकै कठिन हुने आंकलन गरिएको थियो । तर, सन् २०२१ यता भने उसले उत्कृष्ट पुनरावलोकन गर्दै उपाधी होडमा फर्किएको हो ।

    सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराउँदै दोस्रो स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको २९ खेलबाट ६५ अंक भएको छ । ६६ अंकसहित एथ्लेटिको म्याड्रिड पहिलो स्थानमा छ । तेस्रो स्थानको रियल म्याड्रिड रहेको छ ।

    उसको ६३ अंक छ । अब हुने यी तीन टोलीको एक अर्का बीचको खेलले उपाधीको टुंगो लगाउने छ । सोमबार राती बार्सिलोनाको जितका लागि ओस्मान डेम्बेलेले ९०औँ मिनेटमा निर्णायक गोल गरे ।

  • नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी

    नाइजेरियामा जेलमा आक्रमण गरी भगाइयो १८ सय कैदी

    काठमाडौं \एजेन्सी । नाइजेरियामा जेलमा आक्रमण गरी १८ सय भन्दा बढी कैदी भगाइएको छ । नाइजेरियाका दक्षिण पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण गरि पृथकतावादी समुहले आफ्नो १८ सय ४५ जना कार्यकर्तालाई भगाउन सफल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

    बीबीसीका अनुसार सोमवार बिहान पीकअप ट्रक र बस चढी ठूलो हातहतियारसहित आएका आक्रमणकारीले जेलबाट कैदी भगाउन सफल भएका छन् । आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, बिस्फोटक पदार्थ र राइफल बोकेका थिए ।

    अहिलेसम्म ६ जना कैदि भने जेल फर्किएका छन् । ३५ जनाले भने नभागी जेलमै बसेका थिए । यो घटनामा पृथक्तावादी समूह द इन्डीजीनीएस पीपल अफ बीयाफ्राको हात रहेको प्रहरीले जनाएको छ । यो समुह नाइजेरियामा प्रतिवन्धित छ । तर, समुहले प्रहरीको आरोपको खण्डन गरेको समेत बीबीसीले लेखेको छ ।

  • कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका

    कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका

    काठमाडौं । कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका व्यक्तिले ७ वैशाख २०७८ देखि दोस्रो डोज लगाउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज वितरण हुने छ ।

    पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिले दोस्रो डोजको खोप लिन सक्ने भएका हुन् । यो खोप भने अहिले सरकारले भण्डारण गरी सुरक्षित राखेको छ । पहिलो चरणमा लगाएको खोपबाहेक अहिले भारतबाट थप खोप आएको छैन ।

    चैत २५ बाट सरकारले चिनियाँ खोप वितरण गर्दैछ । चीनबाट आएको ८ लाख डोजमध्ये पहिलो चरणमा कम्तिमा ४ लाख डोज खोप लगाइने भएको छ । यता, पहिलो चरणमा खोप लगाएका व्यक्तिले दोस्रो चरणका लागि माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने भएको छ । खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लगाइन सकिने छ ।

    यस्तो छ तालीका

  • पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    पाल्पाको तानसेनमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    पाल्पा । पाल्पाको तानसेनमा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटनामा परेको पाल्पा प्रहरीले जनाएको छ । दुर्घटना गएराती साढे १२ बजे भएको हो ।

    दुर्घटनामा चालक बगनासकाली–४ का विजय खाम्चा र रिब्दीकोट ४ का राज थापाको मृत्यु भएको छ । उनीहरुको युनाईटेड मिसन अस्पताल पाल्पामा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।

  • रूसी राष्ट्रपति पुटिन सन्  २०३६ सम्म सत्तामा रहन सक्ने

    रूसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म सत्तामा रहन सक्ने

    मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म सत्तामै रहन सक्ने भएका छन् । उनले आफ्नो सत्ता सन् २०३६ सम्म लम्ब्याउन मिल्ने एक कानूनमा सोमबार हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यसो त यो कानुन विधायीकाबाट पास गराउन समेत उनी सफल बनेका छन् ।

    संसदको दुबै सदनबाट गत महिना नै कानून पास भएको हो । यो कानून अनुसार पुटिन थप दुई कार्यकाल राष्ट्रपति बन्न सक्ने छन् । जारी कार्यकाल सन् २०२४ मा सकिने भएको छ । रूसमा राष्ट्रपतिको एक कार्यकालको अवधि ६ वर्ष रहेको छ ।

    उनले अघिल्लो वर्ष संविधान संशोधन गर्दै यसको बाटो खोलेका थिए । पुटिन ६८ वर्षका भएका छन् । जारी कार्यकालसँगै सन् २०२४ भित्र उनले चार कार्यकाल राष्ट्रपति र एक कार्यकाल प्रधानमन्त्रीका रुपमा बिताउने छन् ।

  • कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक घाइते

    कैलालीमा तस्कर र प्रहरीबीच गोली हानाहान, एक घाइते

    कैलाली । कैलालीमा भारतीय तस्कर समूह र प्रहरीबीच गोली हानाहान भएको छ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषध भित्रन लागेको सूचनापछि चनाखो बसेको प्रहरीमाथि भारतीय तस्करले गोली चलाएका थिए ।

    त्यसपछि प्रहरीले जवाफी फायर खोलेको स्थानीय संचारमाध्यमले जनाएका छन् । लागुऔषध भित्रन लागेको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीको ठूलो समुह नाकामा खटिएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भाला र पेस्तोलसहित तस्कर आएको सूचना प्रहरी समक्ष पुगेको थियो ।

    तस्कर समूहसँग जम्काभेट हुँदा फायरिङ भएको हो । बब्लु सिंहसहितका तीन जना तस्करबाट एक राउण्ड गोली चलेको बताइएको छ । यो घटनामा भारत उत्तर प्रदेश, लखिमपुरखिरी जिल्ला तिकुनियाका निज सिंह घाइते भएका छन् । अन्य तस्कर भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । बरामद भएको प्रहरीले बताएको छ ।

  • सिक्किममा भूकम्प, पूर्वी नेपालमा धक्का

    सिक्किममा भूकम्प, पूर्वी नेपालमा धक्का

    विराटनगर । भारतको सिक्किममा भूकम्प गएको छ । आज राती ९ बजेर ५ मिनेटमा गएको भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत भएको छ । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ, संखुवासभासहितका जिल्लामा महसुस गरिएको छ ।

    पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महसुस भएको छ । भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्किममा केन्द्रबिन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । यसको असर भूटान र बिहारसम्म पुगेको छ । भूकम्पको क्षतिबारे थप विवरण आउन बाँकि छ ।

  • मनकामना केवलकार ६ दिन बन्द हुने

    मनकामना केवलकार ६ दिन बन्द हुने

    चितवन । मनकामना केबुलकार ६ दिनसम्म बन्द हुने भएको छ । यो केवलकार परियोजनालाई अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्ने कामका लागि २५ चैतबाट ३० गतेसम्म बन्द हुन लागेको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको काम अनुसार बुल ह्विल बेरिङ नयाँ फेरिने भएको छ ।

    बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । ३१ चैतबाट भने केवलकार पुनः संचालनमा आउने भएको छ । उक्त अवधिभर चितवनको इच्छाकामना–४ चेरेसस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने भएको छ ।

    २३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा लैजाने तयारी छ । गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

    पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिने छ । दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ । अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने भएको छ ।

  • ‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’

    ‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आफै भिडभाड गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकार आफैले आफ्नो नियम उल्लंघन गरिरहेको बताएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई प्रश्न गर्दै सांसद थापाले कोभिड–१९ले सरकार र जनता नछुट्याउनेसमेत प्रष्ट पारे । उनका अनुसार सरकारले आफैले स्वास्थ्य प्रोटोकल उल्लंघन गरेर जनतालाई नियन्त्रण गरिरहेको छ ।

    ‘सरकारले भन्यो होली नखेल, भिडभाड हुन्छ कोरोना सर्न सक्छ । तर, प्रधानमन्त्री त हजारौँ मानिसलाई राखेर फुटबल हेर्न जानुभयो । फुटबल खेल्न हेर्न मिल्ने होली खेल्न नमिल्ने ?’, उनले भने,‘सरकार जनतालाई भन्छ अनावश्यक सभा, सम्मेलन भिडभाड नगर तर सम्माननीय राष्ट्रिपतिबाट धारा खोल्ने, बाल्टिन थाप्ने तमासा भरहेको छ ।’

  • काठमाडौंं संसारकै नम्बर एक प्रदूषित शहर

    काठमाडौंं संसारकै नम्बर एक प्रदूषित शहर

    काठमाडौं । काठमाडौं विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो ।

    एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्सको तथ्याक अनुसार काठमाडौंको एक्यूआई अहिले २४३ रहेको छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

    एआईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ३०५ पुगेको छ ।

    सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

    काठमाडौंपछि दोस्रो नम्बरमा म्यानमारको शहर परेको छ । तेस्रोमा भियतनाम र चौथामा पाकिस्तानको लाहोर शहर परेको छ । तथ्याक अनुसार ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

    वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

    यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ ।

    वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत विज्ञहरुले अग्रह गरेका छन् ।

    सो प्रतिवेदनअनुसार विश्वका धनी देशहरूको क्षेत्र जस्तो कि युरोप र उत्तर अमेरिकामा हावामा पाइने गुणस्तरको मात्रा केही सुधारोन्मुख छ ।

    तर पनि गरिब देशमा भने स्थिति झन्भन्दा झन् ह्रासोन्मुख हुँदै गएको छ । यस्तो क्षेत्रमा विकासशील देशहरू मध्यपूर्वी क्षेत्र र दक्षिणपूर्वी एसियाली देशहरू पर्दछन् ।

    बढी मात्रामा सवारी साधनको प्रयोगलाई घटाएर ट्राफिक भार कमगर्ने, बटुवाको लागि सडक पेटी राखी विरुवा रोप्ने र साइकलको प्रयोगगरी सवारीको चाप घटाउने गर्नाले यो समस्याको समाधान निस्किने पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    त्यसैगरी तेस्रो विश्वका कतिपय देशहरूमा भने फोहोर व्यवस्थापनको अवस्था कमजोर भएको, फोहोरलाई डढाएर व्यवस्थापन गर्ने तरिका अपनाउँदा त्यसले झनठूलो मात्रामा प्रदूषण बढाएको पाइएको पनि उल्लेख छ ।

  • नेपालमा एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

    नेपालमा एकैदिन २६६ जना कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४५३६ जनाको पीसीआर परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३४२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या चार जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३६पुगेको छ ।

  • काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने, लक्षण देखिएमा पीसीआर परीक्षण

    काठमाडौं प्रवेश गर्न एन्टीजेन परीक्षण गर्नुपर्ने, लक्षण देखिएमा पीसीआर परीक्षण

    काठमाडौं । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यका प्रवेशमा कडाइ गरेको छ ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा कडाइ गरेको हो । थप कडाइगरेसँगै उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ ।

    अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ।

    नाकामा जोडिएका नगरपालिका र गाउँपालिकामा हेल्थ हेस्क राखिनेछ । त्यसको सबै व्यवस्थापन सरकारले गर्ने निर्णयमा भनिएको छ, एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी पठाउने छ ।

    साथै स्वास्थ्य मापदण्ड पालना नगरे दण्ड जरिवाना समेत गर्ने निर्णयका उल्लेख गरिएको छ ।

    के हो एन्टीजेन परीक्षण ?

    पीसीआर परीक्षणले शरीरमा भाइरसको संक्रमण रहे(नरहेको पहिचान गर्छ भने एन्टीजेन परीक्षणले पनि कोरोनाभाइरस छ कि छैन भनेर नै पहिचान गर्ने हो ।

    पीसीआर परीक्षण गर्नको लागि हामीलाई प्रयोगशाला, विशिष्टीकृत उपकरण, विभिन्न किट, धेरै थरीका जनशक्ति चहिन्छ भने एन्टीजेनमा आधारित परीक्षणमा त्यस्तो विशेष जरुरत पर्दैन । धेरै झमेला नगरीकन नै सामान्य परीक्षणको आधारमा रिपोर्ट थाहा पाइने परीक्षण हो ।

    पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको दिनदेखि ४८–७२ घण्टामा मात्रै नतिजा थाहा पाउन सकिन्छ । पीसीआर परीक्षणको नतिजा ६–८ घण्टामा नै आउने भए पनि विविध कारणले रिपोर्ट ढिला आउने हुन्छ । तर निजी प्रयोगशालाहरूले विगतको तुलनामा छिटो रिपोर्ट दिँदै आएको पाइन्छ ।

    पीसीआर परीक्षणको तुलनामा एन्टीजेनमा आधारित परीक्षण गर्दा धेरै चाँडो रिपोर्ट आउँछ ।यस परीक्षणबाट चाँडै नतिजा थाहा पाइने भएकाले अस्पतालमा आकस्मिक शल्यक्रिया वा अन्य रोगका बिरामीलाई पनि तत्काल उपचार गर्ने अवस्थामा रहेकाहरूलाई संक्रमण रहे(नरहेको पहिचान गर्न सकिने हुन्छ ।

    यसले गर्दा बिरामीले सहजरुपमा उपचार गराउन पाउने भए । यस्तै अस्पतालका स्वास्थ्यकर्मी, अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी सम्पूर्णले सहजरुपमा परीक्षण गरी रोगीको ढुक्क भएर उपचार गर्न पाउँछन् । यो विधिबाट एकै पटकमा ३–४ सयजनाको पनि स्वाब परीक्षण गर्न सकिन्छ ।

  • भारतको छत्तीसगढमा माओवादी आक्रमणमा मारिने प्रहरीको संख्या २२ पुग्यो

    भारतको छत्तीसगढमा माओवादी आक्रमणमा मारिने प्रहरीको संख्या २२ पुग्यो

    छत्तिसगढ । भारतको छत्तीसगढमा माओवादी संगठनको आक्रमणमा मारिने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ । यसअघि राज्य सरकारले ४ सुरक्षाकर्मी मारिएको जनाएको थियो । माओवादी संगठनले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाएको थियो ।

    यस घटनामा कम्तीमा २२ जना प्रहरीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्। बीबीसीका अनुसार बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिवार यो घटना भएको हो । छत्तीसगढका एक वरिष्ठ सुरक्षा अधिकारी अशोक जुनेजाका अनुसार हमलापछि एकजना जवान अझै वेपत्ता रहेका छन् ।

    यो घटना पछिल्ला वर्षमा माओवादीबाट भएको सबैभन्दा ठूलो र घाइत हमला थियो । हमलापछि सुरक्षाकर्मीसँग सम्पर्क टुटेको थियो । त्यसपछि घटनास्थलमा थप बल पठाएर खोजी थालिएको थियो । त्यसक्रममा अन्य शव फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनापछि ट्वीट गर्दै मृतकका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन्। भारतको द्धत्तीसगढमा माओवादी संगठन सक्रिय छ । समाचारमा जनाए अनुसार माओवादी तथा सुरक्षाकर्मीबीच करिब चार घण्टा गोली हानाहान भएको हो । माओवादीतर्फ पनि निकै क्षति भएको बताइए पनि यकिन तथ्यांक आएको छैन ।

  • कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु

    कोरोना संक्रमणबाट विदेशमा थप चार नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा यो साता थप चार जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले गर्ने साप्ताहिक अपडेट अनुसार एक साता भित्र कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको ज्यान गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको ज्यान गइसकेको छ ।

    यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण थप भएको छ । अहिलेसम्म ५४ देशमा ६५ हजार २८७ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    तीमध्ये ६२ हजार ६६३ कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो समय नेपालसहित विश्वका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएको भन्दै संघले स्वास्थ्य सावधानी अपनाउन आह्वान समेत गरेको छ ।

  • इण्डोनेसियामा बाढीको वितण्डा, कम्तिमा ४४ को मृत्यु

    इण्डोनेसियामा बाढीको वितण्डा, कम्तिमा ४४ को मृत्यु

    जाकार्ता । इन्डोनेसियामा बाढी र पहिरोले वितण्ड मच्याएको छ । यहाँ विभिन्न घटनामा परी कम्तिमा ४४ जनाको मृत्यु भएको खबर आएको छ । इन्डोनेसिया विपत् व्यवस्थापन निकाय, (रादिति अ जाती)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षा भएको छ ।

    यसले निम्त्याएको बाढी र पहिरोमा परी कम्तिमा ४४ जनाको मृत्यु भएको छ । विभिन्न स्थानमा खोज तथा उद्धारको काम जारी रहेका कारण मानवीय क्षति अझ बढ्न सक्ने समेत जनाइएको छ । बाढी पहिरोले दर्जनौं घर बगेका छन् । ठूलो भौतिक क्षति पुगेको समाचारमा उल्लेख छ ।

    घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी छ । उता, इन्डोनेसियामै पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा कम्तिमा १७ जना वेपत्ता भएका छन् । बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजीकार्य जारी रहेको बताएका छन् ।

  • अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित

    अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित

    फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएसँगै सयौं घर परिवार प्रभावित बनेका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएको हो । यसले कम्तीमा तीन सय घरपरिवार प्रभावित बनेका छन् ।

    स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै उनीहरुलाई सुरक्षितस्थानमा सारेको छ । सीएनएनका अनुसार फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था जारी गरिएको छ ।


    विषाक्त पानी रहेको पोखरी पिनी पोइन्ट बाँध क्षेत्रलाई सुरक्षित गर्ने प्रयास जारी रहेको समेत प्रशासनले जनाएको छ । यो बाँध ३१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो बाँधको पानीमा फस्फोरस र नाइट्रोजन मिसिएका कारण मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

  • भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु

    भक्तपुरमा कुटपिटबाट एक जनाको मृत्यु

    भक्तपुर । भक्तपुरमा केही मानिसहरुको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । पानी तान्ने मेशिन चोरी गर्न लागेको आरोपमा काभ्रेपलाञ्चोक कुसादेवीका कृष्ण गुरुङलाई स्थानीय युवाले कुटेका थिए । त्यसक्रममो उनको ज्यान गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कुटपिटमा संलग्नहरु पक्राउ समेत परेका छन् ।

    कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीमा शनिवार राति घटना भएको हो । उनलाई पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरिएको थियो । प्रहरील स्थानीय टेकबहादुर केसी, नवीन कोजु, विनोद लाखा, कमल खत्री र सनिशकुमार रायलाई पक्राउ गरेको छ ।

  • गैंडा गणनामा खटिएका एक कर्मचारीको बाघको आक्रमणमा परी निधन

    गैंडा गणनामा खटिएका एक कर्मचारीको बाघको आक्रमणमा परी निधन

    बर्दिया । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एक कर्मचारीको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुलाई आइतबार बाघले आक्रमण गरेको हो । गैंडा गणनामा प्रयोग भएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र उनी घाँस काट्दै गरेको अवस्थामा बाघले साँझ ५ बजेतिर आक्रमण गरेको थियो ।

    पछिल्लो दिनमा निकुन्ज भित्र बाघले मानिसमाथि अत्यधिक आक्रमण गरिरहेको छ । यसअघि एउटा बाघलाई प्रशासनले समाएर खोरमा थुनेको भएपनि खोरबाटै बाघ भाग्न सफल भएको थियो ।

    थारुको शव ८ बजेतिर मात्र फेला पारिएको निकुन्ज प्रशासनले जनाएको छ । पुलिसराम झण्डै एक दशकदेखि हात्तीसारमा कार्यरत रहेको निकुन्जले जनाएको छ । उनलाई आक्रमण गरेको आशंकामा निकुञ्जका अधिकारीहरुले एउटा वयस्क बाघलाई डार्ट गरी नियन्त्रणमा लिएको समेत बताइएको छ ।

  • फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको मूल्य प्रतिलिटर १२०

    फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको मूल्य प्रतिलिटर १२०

    काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य दुई, दुई रुपैयाँका दरले बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार बढेको अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ ।

    डिजल र मट्टीतेलको मूल्य १ सय ३ रुपैयाँ पुगेको छ । निगमले आन्तरिक हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । मूल्य समायोजन भए पनि निगमलाई १५ दिनमा ८८ करोड रुपैयाँका दरले घाटा हुने निगमको दावि छ । अन्तराष्ट्रिय मूल्यमा भएको वृद्धिसँगै नेपालमा पनि बढाइएको निगमको भनाई छ ।

  • एनआरएनएले कोभिड महामारीमा विश्वभर १ लाख ७० हजार नेपालीलाई दियो राहत

    एनआरएनएले कोभिड महामारीमा विश्वभर १ लाख ७० हजार नेपालीलाई दियो राहत

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड १९ महामारीबाट समस्यामा परेका विश्वभरका १ लाख ७० हजार नेपालाीलाई राहत दिएको छ । समस्यामा परेका विभिन्न मुलुकका ती नेपालीलाई सहयोग गरेको संघले जनाएको छ । कोभिड १९ महामारीपछि संघको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै सघंले यस्तो जानकारी गराएको हो ।

    ५० देशका ३ सयभन्दा बढी शहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको बताइएको छ । संघले समस्यामा परेका नेपाली श्रमिकमध्ये घरफिर्तीका लागि ३२४ जनाको पीसीआर परीक्षण तथा २१७ जनालाई आंशिक हवाई टिकटको समेत व्यवस्थापन गरेको समेत जानकारी गराएको छ ।

    रोजगारी गुमाएका, सामान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका, बिरामी, विशेष आवश्यकता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग खर्चिएको संघले उल्लेख गरेको छ । संघले धेरै नेपाली श्रमिक भएका मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत तथा ओमानलगायत मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो ।

    आज सम्पन्न भर्चुअल पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँगको सहकार्यमा खाना तथा बासको व्यवस्था, घरफिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पीसीआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीलाई सहयोग गरिएको उल्लेख गरेका छन् ।

    संघका महासचिव डा. हेमराज शर्माले कोभिड १९ पछाडि देखिन सक्ने मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर विश्वभर २०० बढी नेपाली चिकित्सक परिचालित गरिएको जानकारी दिए ।

  • २५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?

    २५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?

    काठमाडौं । नेपालमा अहिलेसम्म भारतमा उत्पादित कोरोना विरुद्धको खोपको प्रयोग भइरहेकोमा २५ चैतबाट भने चिनियाँ खोप लगाउन शुरु हुने भएको छ । चीन सरकारले अनुदानमा दिएका ८ लाख डोज खोप लगाउने अभियान उक्त मितिबाट शुरु गर्ने निर्णय सरकारले गरेको हो ।

    चीनले ‘भेरोसेल’ नामक खोप नेपाललाई अनुदानमा दिएको छ । यो दुई साता अगाडी नै नेपाल आएको हो । यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्ति, हिमालय सीमापार व्यापार गर्ने र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीले पहिलो प्राथमिकतामा पाउने भएका छन् ।

    चीन सरकारले चिनियाँ खोप लगाएका व्यक्तिलाई मात्र प्रवेशमा प्राथमिकता दिने निर्णय यसअघि नै गरेको छ । नेपाल भित्र अत्यावश्यक सेवामा अन्तर्गत स्वास्थ्य, खानेपानी, दुग्ध पदार्थ वितरणलाई राखिएको छ ।

  • नेपालमा थप १७६ जनामा कोरोना पुष्टि,२४ घण्टामा मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप १७६ जनामा कोरोना पुष्टि,२४ घण्टामा मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १७६ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार २४० जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या १ हजार ६ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३२ पुगेको छ ।

  • वसन्त मानन्धरको नेतृत्वमा खनाल-नेपाल समूहले काठमाडौंमा बनायो समानान्तर कमिटी

    वसन्त मानन्धरको नेतृत्वमा खनाल-नेपाल समूहले काठमाडौंमा बनायो समानान्तर कमिटी

    काठमाडौं । एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल(झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी बनाएको छ । वसन्त मानन्धरको नेतृत्वमा काठमाडौं जिल्ला समानान्तर कमिटी घोषणा गरेको हो ।

    प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तिव्रता दिएको छ ।

    एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् । भेलामा नेताद्वय नेपाल र खनाल पनि उपस्थित थिए।

    सर्वोच्च अदालतले एकतालाई भंग गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएयता अहिलेसम्म एमालेभित्र तीव्र विवाद हुँदै आएको छ।

  • एमालेले कर्णालीका मुख्यमन्त्रीको राजीनामा माग्यो

    एमालेले कर्णालीका मुख्यमन्त्रीको राजीनामा माग्यो

    काठमाडौं । कर्णाली प्रदेश नेकपा एमालेले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको राजीनामा माग गरेको छ ।

    आज बसेको कर्णाली प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई राजीनामा दिएर मार्ग प्रशस्त्र गर्न आग्रह गरेको छ ।

    ‘सरकारलाई नेकपा एमाले संसदीय दलको चैत ५ गते बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरिसकेको हुनाले कर्णाली प्रदेश नेकपा माअ‍ोवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारले मार्गप्रशस्त गरेर यथाशक्य राजीनामा दिन आग्रह गरेको छ’, एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले भने ।

    त्यस्तै आजको बैठकमा नेकपा एमालेका तीन जना मन्त्रीहरुले मुख्यमन्त्री शाही नेतृत्वको सरकारबाट राजीनामा दिने बताएका छन् ।

  • नेपाली सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुमा

    नेपाली सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुमा

    काठमाडौं । सेयर बजारले इतिहासकै सबैभन्दा उच्च विन्दुको रेकर्ड बनाएको छ । पछिल्लो दुई साता यता निरन्तर उकालो लागेको बजारले डेढ महिना पुरानो रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो ।

    नेप्सले २६५७ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि नेप्सले फागुन ९ गत इतिहासकै सर्वाधिक २६४०.३४ विन्दुको रेकर्ड बनाएको थियो ।

    सूचकमा नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि सुधार आएको छ । गतहप्ता औसतमा दैनिक ६ अर्ब हाराहारीमा कारोबार हुँदै आएकोमा आज बढेर ९ अर्ब माथि पुगेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ९ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपैयाँ बराबरको १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर किनबेच भएका छन्।

    आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटा समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५४३.५८ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २०३.५९ अंकले घटेको छ ।

    आइतबार कारोबारमा आएका २१२ कम्पनीमध्ये १२० कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा झुम्मिएका छन् । यसको सर्वाधिक ४७ करोड ५६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी २८ करोड र नेपाल पुनर्बीमा कम्पनी २६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंक्ले बढेको बजारमा आज आधादर्जन बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधि विद्युत् कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआइसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।