Author: Vishwanews.com

  • नेपालमा थप १५२ जनामा कोरोना पुष्टि, ६५ जना डिस्चार्ज

    नेपालमा थप १५२ जनामा कोरोना पुष्टि, ६५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ८५१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३१ पुगेको छ ।

  • एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको आदेश

    एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको आदेश

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भएको छ।

    प्रधानन्याायधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाश ढुंगानाको पूर्ण इजलासले नेकपा ब्यूँताउने विषयमा पुनरावलोकन नहुने फैसला गरेको हो ।

    गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा बदर गरेको थियो । त्यसविरुद्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए।

  • घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टी सदस्यबाट ६ महिना निलम्बित

    घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पार्टी सदस्यबाट ६ महिना निलम्बित

    काठमाडौं । नेकपा एमालेले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

    स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।

    स्पष्टिकरण समयमा नदिएको, आत्मआलोचना नगरेको, स्पष्टिकरण पत्रमा अहंकार देखाएको, आफ्नो स्वार्थका लागि जनता र पार्टीको हितलाई क्षति पुर्याउन तयार रहेको, आपराधिक मनोवृति देखिाएको, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको बाटोमा पार्टीलाई समाहित हुने, पुराना गल्तीलाई स्वीकार गर्नुको साटो उल्टै स्पष्टिकरण सोध्ने काम गरेकाले निलम्बन गरिएको उल्लेख छ ।

    पत्रमा भनिएको छ, ‘यस्तै गतिविधिहरु कायम रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ समेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारबाही गर्नुभन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु(प्रतिनिधिसभा सदस्य पद बाहेक) तथा पार्टी सदस्यताबाटै पार्टीको विधान २०४९ (शंशोधन २०७१ समेत)को धारा ४९ (ख) बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।’

    यसअघि एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको थियो ।

  • फ्रान्समा एक महिने लकडाउन घोषणा

    फ्रान्समा एक महिने लकडाउन घोषणा

    पेरिस । कोरोना भाइरस नियन्त्रणका लागि भन्दै फ्रान्समा तेस्रो चरणको लकडाउन घोषणा भएको छ । फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशव्यापी लकडाउन घोषणा गरेका छन् । यो एक महिना कायम रहने भएको छ । कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिएको उनको भनाई छ ।

    म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरे । लकडाउन शनिबारदेखि लागु हुनेछ । फ्रान्सले लकडाउन घोषणा गर्नुअघि पनि विभिन्न प्रतिवन्ध कायमै राखेको थियो । तर, अब एक महिना भने नागरिकले लकडाउन बेहोर्नु पर्ने भएको हो । म्याक्रोंका अनुसार विद्यालय कम्तिमा तीन साता बन्द हुनेछन् । फ्रान्समा कोरोनाबाट प्रभावित मुलुकमध्ये अगाडी नै पर्छ । यहाँ १ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

  • संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु

    संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै काठमाडौं उपत्यका प्रवेशमा पुनः कडाई शुरु भएको छ । काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम शुरु भएको जानकारी नेपाली संचारमाध्यमलाई गराएका छन् ।

    उनका अनुसार चार दिन अघि देखि नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले कर्मचारीले ज्वरो नाप्ने काम थालेका छन् ।

    आगामी दिनमा स्वास्थ्य मापदण्ड पालनामा अझै कडाई गरिने उनको भनाई छ । नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहर भित्रन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले कडाई थालेको हो ।

  • आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

    आज बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै

    काठमाडौं । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज बस्दैछ । यो बैठक श्रीलङ्काले आयोजना गरेको हो । बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्दैछन् । बैठक अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको मन्त्रालयले जनाएको छ ।

    बुधबार भर्चुअल रूपमै आजको बैठकबारे तयारी बैठक बसेको थियो । सो बैठकमा भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए । बैठकले बिहीबार भर्चुअल रूपमा बस्ने मन्त्रीस्तरीय बैठकको एजेन्डा तथा संयुक्त वक्तव्यमा सम्बोधन हुने विषयवस्तु तय गरेको छ ।


    बुधबारको उच्चस्तरीय बैठकले सङ्गठनको विभिन्न सम्बन्धित विषयका बारेमा छलफल गर्दै मूल्य मान्यताको स्थापना, संस्थागत समृद्धि, बिमस्टेक अन्तर्गत सहयोगी क्षेत्र र त्यसलाई सुलभ बनाउने उपाय, बिमस्टेकको बडापत्र, बिमस्टेकको बृहत् योजनालगायतका कानुनी कागजातलाई अन्तिम रूप दिने कामलाई अगाडि बढाउन आवश्यक तयारी गरेको मन्त्रालयले जनाएको छ ।

    सम्पर्क सञ्जालको गठन, बिमस्टेक सचिवालयका लागि सन् २०२० को आर्थिक बजेट तथा सन् २०२१ का लागि अनुमानित बजेटका विषयलगायतका बारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा १७औँ मन्त्रीस्तरीय बैठकको तयारीका बारेमा पनि बृहत् छलफल गरेको थियो ।


    बुधबारको बैठकमा अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्चाधिकारीको सहभागिता रहेको थियो । बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

  • मेलम्चीपछि सर्वसाधारणमा सेयर जारी गर्ने तयारीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

    मेलम्चीपछि सर्वसाधारणमा सेयर जारी गर्ने तयारीमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

    काठमाडौं । काठमाडौंमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयनमा आएसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार मेलम्चीको पानी वितरणले पूर्णता पाएपछि कम्पनीको आर्थिक अवस्थामा सुधार हुनेछ ।

    त्यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निकाल्ने भएको छ । कम्पनीप्रति आम मानिसको अपनत्व बढाउन र नाफा वृद्धिका लागि यो योजना सफल हुने अपेक्षा लिइएको छ । नेपालमा लगातार तीन वर्ष नाफामा देखिएको कम्पनीले सेयर जारी गर्न पाइने व्यवस्था छ ।

    केयूकेएलले अहिले दैनिक आठ करोड लिटर पानी वितरण गर्छ । मेलम्चिको पानी आएपछि दैनिक १७ करोड लिटर क्षमता थप भएको छ । मेलम्चीको दोस्रो आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाको १७\१७ करोड लिटर पानी थप भएपछि केयूकेएलको क्षमता दैनिक ५१ करोड लिटर पानी वितरण गर्ने पुग्नेछ ।

    केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको रहेको छ ।

  • रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

    रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

    काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको अब अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी मिल्नु पर्ने भएको छ । त्यसरी नमिलेको पाइएमा भने विमानस्थल बाटै फर्काइने भएको छ ।

    वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको वा नक्कली बायोमेट्रिक लिएको अवस्था भए उनीहरु विमानस्थलबाटै फर्कनुपर्ने स्पष्ट पारेको छ ।

    यो व्यवस्था १ वैशाखबाटै लागु हुने भएको छ । पछिल्लो समयमा विभागले गरेको अनुगमनका क्रममा वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने, दिने गरिएको पाइएको छ ।

    तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएको भन्दै विभागले अब कडाई गर्न लागेको छ । विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएपछि यस्तो नियम ल्याइएको हो ।


    नक्कली बायोमेट्रिकको प्रयोग गरी विदेश जाँदा श्रमिक स्वयमले असुविधा भोग्नुपर्ने
    भन्दै यस्तो जोखिम नलिन समेत आह्वान गरेको छ । नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुन्छ ।

    बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानुनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने विभागले स्पष्ट पारेको छ ।

    अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई हाजिरी विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनुपर्ने भएको छ ।

  • उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना

    उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडी भेगमा बुधबार साँझबाट हल्का वर्षा शुरु भएको छ । यो वर्षापछि एक सातादेखि आकासमा लागेको तुवाँलो हट्ने अपेक्षा गरिएको छ । आज कोठमाडौंमा भिजिविलिटी समेत केही बढेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको छ ।

    वर्षाले अहिले देखिएको वायु प्रदुषण र तुवाँलो घटाउने भएको हो । यद्दपी तुवाँलो पुरै हट्न समेत केही समय अझै लाग्नेछ । हल्का वर्षा भएपनि ठूलो वर्षाको सम्भावना तत्काल नभएका कारण वायु प्रदुषण कम नहुने देखिएको हो ।

  • नेपालमा थप १६२ जनामा कोरोना पुष्टि, ५९ जना डिस्चार्ज

    नेपालमा थप १६२ जनामा कोरोना पुष्टि, ५९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको हो।

    थपिएका मध्ये काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरूमा ६७ जना रहेका छन् । भक्तपुरमा ४ जना, ललितपुरमा १३ जना र काठमाडौंमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ५९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ७८६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९३ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३० पुगेको छ ।

  • नेपाली सेयर बजारमा उछाल, नेप्से फेरि २६०० माथि

    नेपाली सेयर बजारमा उछाल, नेप्से फेरि २६०० माथि

    काठमाडौं । सेयर बजारमा उछाल आएको छ । मंगलबार दोहोरो अंकले बढेको बजार आज लगातार दोस्रो दिन दोहोरो अंकले बढेको हो ।पछिल्ला दुई दिनमा नेप्से करिब ७४ अंकले बढेको छ ।

    सूचकसँगै कारोबार रकममा पनि उत्साहजनक रहेको छ । अद्धिल्लो साता औसतमा दैनिक ४ अर्ब हाराहारीमा रहेको कारोबार रकम यससाता दैनिक ६ अर्ब माथि पुगेको हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ४३.३६ अंकले बढेर २६१९.०२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३८ रुपैयाँ बराबरको १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता सेयर किनबेच भएका छन् ।

    बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक ३४९.६८ अंकले बढेको छ भने व्यापार समूह ९८.९९ अंकले घटेको छ ।

    कारोबारमा आएका २०९ कम्पनीमध्ये १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको मूल्यमा गिरावट आएको छ । २४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज एचआडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ३६ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशी ३१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, वोमी लघुवित्त, अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज रैराङ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ३.२९ प्रतिशत गुमाएका छन् ।

  • नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको संशोधित प्रक्षेपण

    नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने विश्व बैंकको संशोधित प्रक्षेपण

    काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

    विश्व बैंकले ‘साउथ एसिया इकोनोमिक फोकसः साउथ एसिया भ्याक्सिनेट्स’ रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो। विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको जनाएको छ ।

    कोभिड–१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    त्यस्तै प्रतिवेदनले आगामी आवमा भने मुलुकमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने उल्लेख गरेको छ । यसअघि विश्व बैंकले गत जनवरीमा २.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।

    उक्त अनुमानलाई संशोधन गरी विश्व बैंकले नयाँ प्रक्षेपण गरेको हो । नेपालसँगै बंगलादेश, पाकिस्तानको समेत आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमान रहेको छ ।

    यसअघि सन् २०२० को अक्टोबरमा पनि बैंकले १.४ प्रतिशत नै आर्थिक वृद्धिदर हासिल हुने जनाएको थियो । यसबाहेक दक्षिण एसियामा सन् २०२१ मा आर्थिक वृद्धिदर ७.२ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । त्यस्तै सन् २०२२ मा ४.४ प्रतिशत वृद्धि हासिल हुने समेत उसले उल्लेख गरेको छ ।

    बंगलादेश, नेपाल र पाकिस्तान सबैको आर्थिक वृद्धिदर बैंकले यसअघि गरेको प्रक्षेपणभन्दा बढी हुने संशोधित अनुमान गरेको छ।

  • संसदलाई बिजनेश बिहीन बनाउँदै पुनः संसद विघटनको खेल हुँदैछ- देव गुरुङ

    संसदलाई बिजनेश बिहीन बनाउँदै पुनः संसद विघटनको खेल हुँदैछ- देव गुरुङ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकार संविधान समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले संसदलाई बिजनेश बिहीन बनाउँदै पुनः संसद विघटनको खेलमा लागेको आरोप लगाएका हुन् । उनले सरकार निर्वाचन गराउन भन्दा पनि संविधान सिध्याउन उद्दत देखिएको बताएका छन् ।

    ‘नेता गुरुङले ताजा जनादेशको कुरा उठाइरहेको छ । ताजा जनादेश भनेको के हो ? संविधानले नचिन्ने ताजा जनादेश हुन सक्छ कि सक्दैन । संविधानले ५ वर्षको निर्वाचनको सेड्युल तोकेको छ । संविधानले तोकेको समय भन्दा अगाडि हुने निर्वाचनहरु गैरसंवैधानिक निर्वाचन ताजा जनादेश र निर्वाचन हुन सक्दैन । सरकार निर्वाचन गर्नभन्दा पनि संविधान सिध्याउन उद्दत देखिन्छ’, उनले भने, ‘सरकारले सदनलाई बिजेनश बिहीन बनाइरहेको छ । सदनलाई विजनेश दिनुपर्ने सरकारको दायित्व हो । विभिन्न विषयगत समितिहरुबाट आएका विधेयकहरु अघि बढ्न सकेको छैन् । सरकारको मनस्थिति पुस ५ गतेको मनस्थितिमा छ । फेरि पनि संसद भंग गर्ने र मध्यावधी निर्वाचनमा जाने दिशामा उद्धत रहेको देखिन्छ । यदी सदन विघटन र अवरुद्ध भयो भने संविधानका झण्डै ५० प्रतिशत धारा, दफाहरु निष्कृय हुन्छ । यो हुनु भनेको प्रकारान्तरले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विफल हुनु हो । संविधानलाई विफल तुल्याउने दिशामा सरकार उद्दत भएर लागेको देखिन्छ ।’

    सांसद गुरुङले सरकार काम चलाउ भएको बताएका छन् । उनले सर्वोच्च अदालतको गत फागुन ११ गतेको फैसलाले संसदको मात्रै पुर्नस्थापना गरेको भन्दै सरकारको पुर्नस्थापना नगरेको स्पष्ट पारेका छन् ।

    ‘संसद विघटन भएको अवस्थामा काम चलाउमा परिणत भएको देखिन्छ । र काम चलाउ सरकार भएको अवस्थामा सर्वोच्च अदातले पुनःस्थापना गर्दा होस् या विघटनलाई सदर गर्दा होस् । दुवै अवस्थामा सरकारको पुनःस्थापना गरेको छैन् । २०४७, ०६३ र फागुन ११ गतेको फैसलामा पनि संसदको पुनःस्थापना गरेको छ’, उनले भने, ‘सरकारको पुनःस्थापना गरेको छैन् । त्यसकारण सरकार स्वतः काम चलाउ सरकारको अवस्थामा परिणत भयो । तर, यो काम चलाउ सरकारको रुपमा अझै पनि स्वीकार गरिरहेको छैन् । त्यसकारण संविधानलाई मिच्ने संविधानलाई निशेध गर्ने र संविधानको सर्वोच्चतालार्य निषेध गर्ने प्रवृति देखिरहेको छ । यो प्रवृतिलाई सच्याउनुपर्छ ।’

    उनले सर्वोच्च अदालतले दल विभाजनको फैसला गरेकोले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताएका छन् । उनले २३ गते एक महिना पुग्ने भन्दै विश्वासको मत नलिए के हुने भन्ने अवस्था आएको बताएका छन् ।

    ‘आज १८ गते भइसक्यो । २३ गते ३० दिन पुग्दैछ । ३० दिनभित्र विश्वासको मत लियो भने वैधानिकता हासिल हुनसक्छ । अन्यथा सरकारको संवैधानिक हैसियत के हुने हो भन्ने प्रश्‍न उठ्ने देखिन्छ,’ उनले भने ।

  • भारतबाट सम्पर्कमा आए महोत्तरीबाट हराइरहेका सात किशोरी

    भारतबाट सम्पर्कमा आए महोत्तरीबाट हराइरहेका सात किशोरी

    काठमाडौं । मंगलबार साँझबाट हराइरहेका सात जना किशोरी सम्पर्कमा आएका छन् । उनीहरुलाई भारतबाट उद्धार गरिएको हो । मंगलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिकारकिशोरी अपहरणमा परेको अनुमान थियो।

    भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    उद्धार गरिएकाहरुमा स्थानीय १८ वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १८ वर्षीया नगिना पासवान, १० वर्षीया रंजना पासवान र १० वर्षीया सीमा पासवान रहेका छन्।

    उनीहरु समूहमै घाँस काट्न घर नजिकैको चौरमा दिउँसो गएको र साँझसम्म घर नफर्किएपछि स्थानीय त्रसित भएका थिए ।

  • गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी

    गैरआवासीय नेपालीको लगानी रहने कम्पनी दर्ता सम्पन्न, अब आइपीओ जारी गर्ने तयारी

    काठमाडौं । विदेशमा परिश्रम गरी कमाएको रकमले मातृभुमी नेपालमा लगानी गर्ने उद्देश्यले खोलिएको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड नामक कम्पनी औपचारिक रुपमा दर्ता भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नेतृत्वमा लगानी कम्पनी दर्ता भएको हो । यो कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत शेयर रहने भएका छ । बाँकि लगानी भने विदेशमा बस्ने गैरआवासीय नेपालीको रहने भएको छ ।

    सङ्घले मङ्गलबार कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको छ । सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार अहिलेसम्म उक्त कम्पनीमा दुई अर्ब रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भइसकेको छ । यसै हप्ताबाट उक्त रकम प्राप्त हुन थाल्नेछ ।
    सङ्घले उक्त कम्पनीमार्फत नेपालका उद्यम, पूर्वाधार र व्यवसायका क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । प्रारम्भिक चरणमा दस अर्ब रुपियाँ लगानी गर्ने योजना बनाएको कम्पनीका लागि ८५ प्रतिशत रकम प्राथमिक सेयर (आईपीओ)मार्फत जुटाउने तयारी छ ।

    उक्त प्रक्रिया पनि छिटै सुरु गरिने अध्यक्ष पन्तले जानकारी दिए । उनका अनुसार कम्पनीको आईपीओमा गैरआवासीय नेपालीले आवेदन दिन सक्ने छन् । आईपीओमा तोकिएकोभन्दा अधिक रकम प्राप्त भएको अवस्थामा उक्त रकमलाई पनि लगानी गर्ने सुविधासमेत सङ्घलाई उपलब्ध हुने छ ।

    सङ्घका अनुसार अहिलेसम्म लगानीका लागि १७० वटा परियोजनाको प्रस्ताव आएको छ । त्यसमध्ये दुई दर्जन परियोजना छनोट गरेर सम्भाव्य क्षेत्रमा लगानी गर्ने सङ्घले जनाएको छ । सम्भाव्यता अध्ययनका लागि सङ्घले बैङ्कर अनलराज भट्टराईको संयोजकत्वमा विज्ञ टोली पनि गठन गरेको छ ।

  • कोरोना महामारीका बीच ब्राजिलमा राजनीतिक संकट, सेना प्रमुखहरुको सामुहिक राजिनामा

    कोरोना महामारीका बीच ब्राजिलमा राजनीतिक संकट, सेना प्रमुखहरुको सामुहिक राजिनामा

    काठमाडौं\एजेन्सी । कोरोना भाइरसको उच्च संक्रमण दर र व्यापक मानवीय क्षति भोगेको ब्राजिल राजनीतिक संकटमा समेत फसेको हो । राष्ट्रपति जइर बोल्सोनारुमाथि एक पछि अर्को राजनीतिक सङ्कट थपिएका छन् । सोमवार विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएका थिए ।

    मंगलबार ब्राजिलका तीन वटै तहका सेनाका प्रमुखले सामुहिक राजिनामा दिएका छन् । सेना, नौसैनिक तथा हवाई सेनाका प्रमुखले सामुहिक राजिनामा बुझाएको बीबीसीले लेखेको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको उनीहरुको आरोप छ ।

    कोरोनाभाइरसले गरेको क्षति र यसको नियन्त्रणमा सरकारको उदासिनतालाई लिएर यहाँ राष्ट्रपतिमाथि आलोचना बढेको छ । राष्ट्रिपति बोल्सोनारुले कोरोना भाइरसलाई मामुली बताउने गर्थे । उनी दुई वर्षअघि सत्तामा आएका हुन् । कोरोना महामारीमा क्वारेन्टीनसम्बन्धी नियमको आलोचना गरेका उनकै कारण ब्राजिलमा मानिसहरुले अकालमा ज्यान गुमाउन परेको धेरैको धारणा छ।

    उनी भने जनस्वास्थ्य सम्बन्धी नियमले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने बताउँदै आएका छन् । कोरोनाभाइरसका कारण उत्पन्न स्थितिबारे धेरै हल्ला भएको उनको तर्क छ । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ३ लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ । यो अमेरिका भन्दा दोस्रो बढी मानवीय क्षति हो । यहाँ १ करोड २५ लाखमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

  • खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने

    खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने

    काठमाडौं । राजधानी काठमाडौंमा घाम देखिन थालेको छ । यसले भिजिविलिटीमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज बिहान दुई हजार मिटरसम्म भिजिविलिटी रहेको छ । यो चार हजार मिटरसम्म पुग्ने अनुमान छ । यो हेलिकोप्टर उडान सम्मलाई पुग्ने भिजिविलिटी हो । हवाईजहाज भने १५ सय मिटरको भिजिविलिटीमै उड्न सक्छन् ।

    आज देशको पहाडी भू–भागहरुमा मौसम आंशिक बदली रहेको विभागले जनाएको छ । बाँकी भू–भागमा बदली नरहे पनि तुवाँलो भने लागिरहेको छ । देशका विभिन्न भेगका वनमा लागेको डढेलो नियन्त्रणमा नआएकाले तुवाँलो अझै केही दिन कायम नै रहने विभागको भनाई छ ।

    अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

    प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक, दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ । रातमा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।

  • महोत्तरीमा घाँस काट्न निस्केका ७ किशोरी वेपत्ता

    महोत्तरीमा घाँस काट्न निस्केका ७ किशोरी वेपत्ता

    महोत्तरी । महोत्तरीमा मंगलबार घरबाट घाँस काट्न निस्किएका ७ जना किशोरी वेपत्ता भएका छन् । स्थानीय संचारमाध्यमहरुका अनुसार भंगहा नगरपालिका वडा नम्बर ८ स्थित धर्मपुर टोलका ७ जना किशोरी एकै पटक वेपत्ता भएका छन् । उनीहरूको उमेर १० वर्षदेखि १८ वर्षको बीचमा रहेको छ ।

    परिवारलाई उदृत गर्दै संचारमाध्यमले जनाए अनुसार वेपत्ता हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान छन्।

    मंगलबार ४ बजेतिर घाँस काट्न निस्केका उनीहरु राती अबेरसम्म घर नफर्केपछि परिवारले सोधखोज थालेका थिए ।

    प्रहरीले खबर पाएलगत्तै खोजी थालेको बताएको छ । किशोरीहरु यसअघि पनि यसरी नै सामुहिक रुपमा घाँस काट्न जाने गरेका थिए । सधै समयमा घर आउने उनीहरु नआएपछि परिवारमा भने चिन्ता बढेको छ ।

  • भारतीय राष्ट्रपतिको मुटुको शल्यक्रिया, राष्ट्रपति भण्डारीबाट स्वास्थ्य लाभको कामना

    भारतीय राष्ट्रपतिको मुटुको शल्यक्रिया, राष्ट्रपति भण्डारीबाट स्वास्थ्य लाभको कामना

    काठमाडौं । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको सफल शल्यक्रिया गरिएको छ । आज भएको सफल शल्यक्रियापछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीले साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत भारतीय समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन् । शल्यक्रिया सम्पन्न भएकोमा राष्ट्रपतिले खुुशी व्यक्त गरेकी छिन् ।

  • थ्री नेसन्स कप जित्ने फुटबलरले जनही एक लाख पाउने

    थ्री नेसन्स कप जित्ने फुटबलरले जनही एक लाख पाउने

    काठमाडौं । थ्री नेसन्स कप फुटबलको उपाधी जित्ने फुटबलरले जनही एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । टोलीका प्रत्येक सदस्यले एन्फाबाट एक\एक लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।

    थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलर समेत टोलीका सदस्यलाई नै वितरण गरिने भएकोछ । सोमबार नेपालले बङ्गलादेशलाई २–१ ले हराउँदै यो उपाधि जितेको हो ।

    उपाधिसँगै नेपालले ट्रफी र पाँच हजार अमेरिकी डलर पाएको हो । टोलीका २३ जना खेलाडीमा पाँच हजार अमेरिकी डलर वितरण गरिने भएको हो । त्यसैगरी घरेलु मैदानमा ऐतिहासिक जित हात पारेकोमा प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरुप थप एक एक लाख प्रदान गरिने एन्फाको भनाई छ ।

  • बाल यौन दुराचारको आरोपमा पोखराबाट अमेरिकी नागरिक पक्राउ

    बाल यौन दुराचारको आरोपमा पोखराबाट अमेरिकी नागरिक पक्राउ

    पोखरा । बाल यौन दुराचारको आरोपमा पोखराबाट एक अमेरिकी नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार मंगलबार अमेरिकाको क्यालिफोर्निया स्थायी घर भएका ६६ वर्षीय माइकल नोरम्यान टेलर पक्राउ परेका हुन् । उनलाई ब्युरोले पोखरा महानगरपालिका १८ सेदीस्थित विष्णु होमस्टेबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनी यौन दुराचारको मनसायबाटै पटक पटक नेपाल आउने गरेको खुलेको हो । उनीविरुद्ध परेको गोप्य सूचनाका आधारमा प्रहरीले पच्छ्याएको थियो । उनी नेपालमा सन् २०१८, २०१९ र २०२१ गरी तीन पटकसम्म आएको खुलेको छ । पेशाले वकिल उनले सन् २०१९ मा मात्रै उनले तीन जना बालबालिकालाई बाल यौन दुराचार गरेको जाहेरी परेको थियो ।

    सन् २०१९ मै उजुरी परेको र नेपाल आएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ४ हजार ६ सय अमेरिकी डलर, एक थान ल्यापटप, दुई वटा आइफोन, पेनड्राइभ र पासपोर्ट बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

    काठमाडौं । सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना र संचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार जोशीको निवासमै पुगी यसबारेमा जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेको सन्देश लिएर मन्त्री ललितपुरमा रहेको जोशी निवास पुगेका थिए।

    मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र जोशीले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल गरेको जानकारी गराए । राष्ट्रपतिले संस्कृतिविद् जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाँको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको सन्देश लिएर आफु जोशीको निवास आएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार विद्यालय नेपालकै नमूना र सामुदायिक विद्यालयको उत्कृष्ट सूचीमा पर्ने गरी संचालनको योजना छ । सरकारले आगामी आवबाट बजेट समेत राख्ने उनको भनाई छ । विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय राखिने भएको छ । जोशीलाई नेपालका जिवित इतिहास मानिन्छ ।

  • बढ्यो प्रचण्डको दौडधुप, देउवा र बाबुरामलाई भेटे

    बढ्यो प्रचण्डको दौडधुप, देउवा र बाबुरामलाई भेटे

    काठमाडौं । नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन प्रस्ताव दर्ता गर्न सर्वोच्च अदालत पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजबाट दौडधुप बढाएका छन् । उनले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका छन् ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिएर फाइनल लडाईको तयारी गरिरहेका प्रचण्डले त्यसमा स्पष्ट निर्णय लिन कांग्रेस सभापति देउवालाई आग्रह गरेको बताइएको छ । कांग्रेस अनिर्णित बन्दा माओवादी केन्द्रले समेत निर्णय लिन सकेको छैन । यस अवस्थामा लामो समय संक्रमण लम्ब्याउन नहुने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।

    उनी आज देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने वा नबनाउने भन्नेबारे स्पष्ट निर्णय लिन आग्रह गरेका हुन् । देउवाले बुधबार जनता समाजवादी पार्टी (जसपा)का नेतासँग छलफलको तयारी गरेका छन् । माओवादी केन्द्रले कांग्रेसको नेतृत्व स्वीकार गर्ने यस अघि नै बताएपछि देउवा भने नेतृत्व लिन तयार देखिएका छैनन् । कांग्रेस भित्र समेत नेतृत्व लिनुपर्ने माग हावी छ । उता, जसपा भित्र भने दुई मत रहेको छ ।

  • ‘कसैलाई छटपटी लाग्छ भने लागोस् साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ’

    ‘कसैलाई छटपटी लाग्छ भने लागोस् साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिने बताएका छन्। रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला, छटपटी लाग्ला तर साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’

    सरकारले वृद्धवृद्धालाई हेर्न थालेको सुन्दा मान्छेहरूलाई अर्को छटपटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस्,’ उनले भने।

  • दोहोरो अंकले बढ्यो सेयर बजार, ५ कम्पनीका लगानीकर्ता मालामाल

    दोहोरो अंकले बढ्यो सेयर बजार, ५ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । पछिल्ला दुई दिन लगातार ओरालो लागेको बजार आज लयमा फर्केको हो ।

    सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब पोनै २ अर्बले बढेर ६ अर्ब माथि पुगेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ३२.१५ अंकले बढेर २५७५.६६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँ बराबरको १ करोड २२ लाख ९ हजार ९७६ कित्ता सेयर किनबेच भएका छन् ।

    मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार र उत्पादनमूलक समूह बाहेक बाँकी ११ समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक ३९८.३२ अंकले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै २९.७ अंकले घटेको छ ।

    कारोबारमा आएका २०९ कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्यमा गिरावट आएको छ । २५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा निर्धन उत्थान लघुवित्त ४३ करोड र एनएलजी इन्स्योरेन्स ३३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र समिट लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज युनाइटेड इदी मार्दी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ५.३३ प्रतिशत गुमाएका छन् ।

  • नेपालमा थप १६७ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

    नेपालमा थप १६७ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

    काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ३१४० जनाको पीसीआर परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो।

    यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ११५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ७२७ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ३ सय ९० रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ जना रहेको छ । त्यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३० पुगेको छ ।

  • रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन

    रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन

    मस्को । रुसमा बसेर नेपाली भाषा–साहित्य तथा पत्रकारितामा योगदान गरिरहेका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यसको पुष्टी गरेका छन् । उनले भाषा, साहित्य र नेपाल–रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् ।

    श्रेष्ठ जगदम्बा पुरस्कार विजेता समेत हुन् । उनको रुसको राजधानी मस्कोमा ८३ वर्षको उमेरमा निधन भएको हो । उनले रुसमा नेपाल विद्या केन्द्र सञ्चालन गर्दै आएका थिए ।केन्द्रमार्फत उनले रुसी–नेपाली भाषामा अनुवाद आदानप्रदान गराएर भाषा–साहित्यको प्रचार गर्दै आएका थिए ।

    ‘इ.भा.मिनाएभको नेपाल’, ‘रुसमा नेपालको अध्ययन’, ‘रुसी महावीरहरुको कथा’, ‘नेपाली किंवदन्तीमाला’, ‘स्थाननामकोष’, ‘दर्शनशाश्त्रको प्रारम्भिक ज्ञान’, ‘रुसमा नेपालको छवि’लगायत थुप्रै रचना उनले गरेका छन् । उनले २०५९ सालमा जगदम्बा पुरस्कार प्राप्त गरेका हुन् ।

  • कोरोना संक्रमित १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

    कोरोना संक्रमित १० दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

    काठमाडौं । कोरोना भाइरसका संक्रमित १० दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लक्षण भएका संक्रमित अस्पताल र नभएका बिरामी घरमा अनिवार्य आइसोलेसनमा बस्नु पर्नेछ । भारतमा अहिले बढ्दो संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले यस्तो सर्कुलर जारी गरेको हो ।

    सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले सातवटै मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई यस्तो जानकारी गराएको छ ।

    एकाइका प्रमुख डा. गुणराज लोहनीले अस्पताल र आइसोलेसन सेन्टरमा राखेबापत प्रतिदिन प्रतिबिरामी दुई हजार रुपियाँ सोधभर्ना स्वास्थ्य मन्त्रालयबाट लिन सकिने जानकारी गराएका छन् ।

    अहिले नेपालमा पनि क्रमशः संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । सोमबार १४१ जनामा संक्रमण पुष्टी भयो । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ ।

  • अनिवार्य मास्क लगाउनु आवश्यक छ : राष्ट्रपति बाइडेन

    अनिवार्य मास्क लगाउनु आवश्यक छ : राष्ट्रपति बाइडेन

    वासिंटन डिसी \एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले स्वास्थ्य सतर्कताका लागि लापरवाही नगर्न सरोकारवालासँग आह्वान गरेका छन् । अमेरिकाका सबै राज्य र सहरमा मास्क लगाउन प्रोत्साहित गर्न गभर्नर एवम् मेयरलाई समेत उनले अपिल गरेका छन् ।

    कोेरोना महामारीका सन्दर्भमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले महामारी पूर्णरुपमा उन्मूलन भइनसकेको बारे स्मरण गराए । सोहीकारण अनिवार्य मास्क लगाउन आवश्यक रहेको उनको भनाई छ । यसमा नागरिकलाई बढी भन्दा बढी प्रोत्साहित गर्नुपर्ने उनको भनाई छ ।

    लापरबाही नै कारोना संक्रमणको एक कारण रहेको भन्दै उनले सोहीकारण संक्रमण नियन्त्रणमा चूनौति थपिएको समेत बताए । यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्प भने मास्क विरोधी थिए । उनी यसलाई चिनियाँ फेसन मान्थे । सोहीकारण अहिले पनि कतिपय अमेरिकी मास्क लगाउन आनाकानी गर्छन् ।

    आफूले कार्यभार सम्हालेपछि सङ्क्रमणदर दुईतिहाइ घटेको दावि समेत उनले गरे । सरकारले कोरोनाविरुद्धको खोप सबैभन्दा धेरै व्यक्तिलाई लगाउने प्रयास गरिरहेको समेत उनले जानकारी दिए ।

    अमेरिका विश्वकै सबैभन्दा बढी संक्रमण र मानवीय क्षति भएको मुलुक हो । यहाँ अहिलेसम्म ३ करोड १० लाख २८ हजारलाई कोरोना सङ्क्रमण भइसकेको छ । ५ लाख ६३ हजार १ सय ६८ जनाले ज्यान गुमाएका छन् ।

  • ललितपुरमा बर्डफ्लू पुष्टी

    ललितपुरमा बर्डफ्लू पुष्टी

    ललितपुर । ललितपुरमा बर्डफ्लू पुष्टी भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा कृषकले पालेका पन्क्षीमा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टी भएको हो । भारतमा बढ्दो यो रोगको संक्रमण नेपालमा समेत फाट्टफुट्ट देखिएको छ ।

    नेपालमा यस वर्ष बर्ड फ्लु देखिएको यो छैटौँ पटक हो। सुर्खेत, जाजरकोट र काठमाडौँको तारकेश्वरमा यसअघि बर्डफ्लु पुष्टी भएको थियो । ती स्थानका बर्ड फ्लू भने नियन्त्रणमा रहेको छ ।

    बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट अरु स्थानमा फैलिन नदिन त्यहाँ रहेका पक्षीलाई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकेको विभागले जनाएको छ ।

    यहाँ ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ। विभागले हरेक स्थानमा सोही विधि अपनाएर कृषकलाई क्षतिपूर्ति दिने गर्छ ।