Author: Vishwanews.com

  • ‘मौसममा तत्काल सुधारको सम्भावना छैन’

    ‘मौसममा तत्काल सुधारको सम्भावना छैन’

    काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानको आकास धुलाम्य छ । तुवाँलोले आकाश ढाकेको छ । तर, यो प्रदुषणसहितको तुवाँलो तत्काल नहट्ने भएको छ । जल तथा मौसम विभागले आगामी तीन दिनको मौसमी विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । वायुमण्डल स्थिर अवस्थामा रहिरहने छ, जसले गर्दा तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको विभागको भनाई छ ।

    मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भएको भन्दै विभागले चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको बताएको छ । वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको विभागले जानकारी दिएको छ ।

    देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गएको समेत विभागले जनाएको छ । तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले पुनः अुनरोध गरेको छ ।

  • स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो

    स्वेज नहरमा अड्किएको विशाल कन्टेनर जहाज ६ दिनपछि किनारबाट हटाइयो

    इजिप्ट । स्वेज नहरमा अड्किएको एक विशाल कन्टेनर जहाजले ६ दिनदेखि अन्तर्राष्ट्रिय व्यापार ठप्प थियो । स्वेज नहर यूरोप र एसिया जोड्ने सबैभन्दा छोटो दूरीको समुन्द्री मार्ग हो । तर, यसै मार्गमा जहाज तेस्रो परी अड्किएपछि सयौं कन्टेनरको जाम लागेको थियो ।

    यसले दुई महादेशबीचकै व्यापारमा प्रभाव पारेको थियो । अधिकारिहरुका अनुसार एक सातादेखि नहरमा फसेको कन्टेनर जहाज़लाई पानीमा तैराउने प्रयास गरिएको छ । जसलाई फसेको स्थान नहरको किनाराबाट हटाइएको छ । स्वीस नहर प्राधिकरणका अनुसार यो जहाज ४ सय मिटर लामो छ ।

    यसलाई ८० प्रतिशतसम्म सिधा बनाउने काम भएको छ । जहाजलाई सिधा गराउने काम अहिले पनि जारी भने रहेको छ । यो नहरबाट दैनिक ९.६ अर्ब डलर बराबरको सामान आवतजावत हुने गरेको बीबीसीले जनाएको छ ।

    समाचार एजेन्सी रोयटर्सलाई उदृत गर्दै बीबीसीले लेखे अनुसार जहाजको पछिल्लो भाग किनाराबाट ४ मिटरको दुरीमा थियो । अब यसलाई १ सय २ मिटर सम्म पर लगिएको छ । यो जहाजले कम्तिमा ३६५ अन्य जहाजलाई फसाएर राखेको छ । जसमा इन्धन, ग्याससहितका सामान लोड गरिएको छ ।

  • कप्तान विराज महर्जनले लिए सन्यास

    कप्तान विराज महर्जनले लिए सन्यास

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । आज दशरथ रंगशालामा बंगालदेशविरुद्धको थ्री नेसन्स कप फुटबलको फाइनलमा खेलेका उनको यो खेल देशका लागि अन्तिम थियो । उनले यसअघि नै यो घोषणा गरेका थिए । सोहीकारण आज प्रशिक्षक बालगोपाल महर्जनले विराजलाई ८९ औं मिनेटमा मैदान छिराएका थिए । उनले कुल ७ मिनेट मैदानमा बिताए ।

    यद्दपी उनको विदाईको क्षण भने सुखद रह्यो । किनकी यो खेल नेपालले जितेको छ । ३१ वर्षीय डिफेन्डर पछिल्लो समय टीममा पर्न भने छाडेका थिए । उनको बिदाईका बेला आज खेलाडीले विराजलाई काँधमा बोकेर मैदान परिक्रममा परेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लेजर लगाएर उनको सम्मान गरे ।


    उनी २१ महिनापछि राष्ट्रिय टिममा परेका हुन् । उनले सन् २००८ मा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपालका लागि डेब्यू गरेका हुन् । यसबीचमा उनले ७३ पटक मैदानमा उत्रने मौका पाए । उनले कुल १८ खेलमा कप्तानी गरेका छन् । उनको कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२औं साग फुटबलको उपाधि उचालेको छ ।

  • घरेलु मैदानमा नेपालले उचाल्यो थ्री नेसन्स कप उपाधि

    घरेलु मैदानमा नेपालले उचाल्यो थ्री नेसन्स कप उपाधि

    काठमाडौं । घरेलु मैदानमा नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि उचालेको छ । सोमबार दशरथ रंगशालामा करीव १२ हजार समर्थकमाथ नेपालले उपाधीमाथि कब्जा जमाउँदा बंगालदेशलाई हरायो । नेपालले बंगलादेशमाथि २-१ गोल अन्तरको जित निकालेको हो ।

    नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । संजोग राई म्यान अफ दी घोषित भए । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएर नेपाललाई चूनौति दिन खोजे पनि त्यसपछि थप गोल हुन सकेन । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टीम सहभागी थिए । आजको खेलमा नेपालले करीव आधा दर्जन गोलको मौका खेर फाल्यो ।

    आज नेपालले १८ महिनापछि पहिलो गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गरेका थिए । त्यसपछि ८ खेलमा नेपाल गोलविहिन थियो । पहिलो हाफमै दुई गोलको अग्रता लिएको नेपालको दोस्रो हाफमा भने खेल केही कमजोर थियो ।

    सोही मौकाको फाइदा उठाउँदै बंगलादेशले गोल फर्कायो । जितसँगै नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पायो । बंगलादेशले ३ हजार डलर नगद जित्यो । रोहित चन्द प्रतियोगिताको उत्कृष्ट खेलाडी बने । प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता टोलीलाई उपाधी प्रदान गरे । उनी पुरै खेल अवधिभर रंगशालामा रहेका थिए ।

  • नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ३ हजार एक सय २२ जना गरिएको परीक्षणमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९ जना ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १३ सय ४१ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • ओलीद्वारा माधव नेपाल र भीम रावललाई निलम्बन

    ओलीद्वारा माधव नेपाल र भीम रावललाई निलम्बन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। नेपाल र रावललाई सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका हुन् ।

    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले दुवै जनालाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन जनाएका छन् ।

    एमालेले पार्टी उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।

    यसैबीच सच्चिएर आएमा निलम्बनको अवधि घटाउन सकिनेसमेत ओलीले पत्रमा उल्लेख गरेका छन्।

    यद्यपी उनले सच्चीने मौकालाई पार्टीको कमजोरी नठान्नसमेत ओलीले चेतावनी दिएका छन्।

    नेपाल र रावल कार्वाहीमा परेको पत्र पाएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेट्न कोटेश्वर पुगेका थिए । उनिहरुले दुई घण्टा कोटेश्वरमा छलफल गरेका थिए ।

  • भोलिदेखि देशभरका विद्यालय चारदिन बन्द गर्ने सरकारको निर्णय

    भोलिदेखि देशभरका विद्यालय चारदिन बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

    मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

    निर्णय अनुसार मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने हुनेछ । केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ ।

    जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल-कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

  • बेलायतले म्यानमारबाट आफ्ना नागरिकलाई फिर्ता बोलायो

    बेलायतले म्यानमारबाट आफ्ना नागरिकलाई फिर्ता बोलायो

    काठमाडौं । बेलायत सरकारले म्यानमारबाट आफ्ना नागरिकलाई स्वदेश बोलाएको छ । सेनाले नरसंहार थालेसँगै म्यानमार असुरक्षित बनेको छ । सेनाले सडकमा हिड्ने मानिसहरुलाई ताकी ताकी गोली हान्न थालेसँगै बेलायतले आफ्ना नागरिकलाई घर फर्कन भनेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको यूरोप, अमेरिका, जापान, अस्ट्रेलियासहितका मुलुकको कडा निन्दा गरेका छन् ।

    शनिबार सेनाले देखाएको बर्बरताको भिडियोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । जहाँ अमानवीय तरिकाबाट सेनाले सडकमै निहत्था मानिसको हत्या गरेको देखिएको छ । शनिबार सेनाले बालबालिकासहित एक सय १४ जनाको हत्या गरेको थियो । १ फेब्रुअरीमा सेनाले यहाँको सत्ता हातमा लिएको थियो । सेनाको कदमको विरोधमा म्यानमारमा हिंसा भड्किएको छ । यहाँ ४ सयभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ ।

  • भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान

    भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान

    काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाभाइरस विरूद्धको एक लाख डोज खोप दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार खोप आइतबार काठमाडौं आएको हो । सेनाले कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यसहित भारतीय सेनाबाट नेपाली सेनालाई भ्याक्सिन प्राप्त भएको जनाएको छ ।

    भ्याक्सिनको ‍औपचारिक हस्तान्तरण भने केही दिनपछि हुने छ । भारत सरकारले नेपाल सरकारलाई यसअघि नै १० लाख डोजखोप अनुदानमा दिइसकेको छ । नेपाल र भारतका सेनाबीच सुमधुर सम्बन्ध रहेको छ । दुबै मुलुकले एक अर्का मुलुकका सेनापतिलाई मानार्थ सेनापतिको उपाधी दिने प्रचलन रहेको छ ।

  • बागलुङ झडप : हराएका सबै युवा सम्पर्कमा

    बागलुङ झडप : हराएका सबै युवा सम्पर्कमा

    बागलुङ । होली खेल्ने क्रममा बागलुङमा वेपत्ता भएको भनिएका युवा सम्पर्कमा आएका छन् । बागलुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी आइतबार हिंसात्मक झडप भएको थियो । त्यस क्रममा १० जना भन्दा बढी युवा हराएका थिए ।

    स्थानीय संचारमाध्यमहरुका अनुसार हराएका सबै युवा आइतबार राती सम्पर्कमा आएका छन् । आइतबार बल्देधुरीमा होली मनाउने क्रममा बागलुङको निसीखोला गाउँपालिका ७ राजकुत र बडीगाड गाउँपालिका १० दर्लिङका युवाबीच झडप भएको हो । झगडामा निसीखोला७ राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको ज्यान गएको छ ।

    निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले संचारमाध्यमलाई बताए अनुसार दिउँसोको ग्याङ फाइटपछि सम्पर्कविहीन भएका युवा राती अबेर सम्पर्कमा आएका हुन् । उनीहरु सामान्य घाइते अवस्थामा थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको बताइएको छ ।

  • थ्री नेसन्स कप : उपाधि लक्ष्यमा नेपाल, प्रधानमन्त्री रंगशाला जाने

    थ्री नेसन्स कप : उपाधि लक्ष्यमा नेपाल, प्रधानमन्त्री रंगशाला जाने

    काठमाडौं । थ्री नेसन्स कप फुटबलको उपाधिका लागि आज फाइनल खेल हुँदैछ । खेल अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाने तयारी छ । उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशसँग खेल्न लागेको हो । खेल साँझ ५ः३० बाट शुरु हुनेछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा नेपाल स्पष्ट जितका साथ उपाधी जित्ने लक्ष्यमा हुने छ । प्रतियोगिताका दुबै खेल गोलरहित बराबरी खेलेको नेपालले आज भने गोलको खडेरी तोड्नु पर्नेछ । नेपालको सिनियर टिमले गोल गर्न नसकेको ८ खेल पुगिसकेको छ ।

    सन् २०१९ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध अन्जन विष्टले दुई गोल गरेका थिए । त्यसयता गोल हुन सकेको छैन । बंगलादेश, कीर्गिस्तान र नेपालबीचको प्रतियोगितामा बंगलादेशले मात्र स्पष्ट जित निकाल्दै फाइनल पुगेको हो ।

  • चीनबाट आयो अनुदानको ८ लाख डोज कोरोना खोप

    चीनबाट आयो अनुदानको ८ लाख डोज कोरोना खोप

    काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको ८ लाख डोज कोरोना भाइरसको खोप काठमाडौं आएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहान साढे ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यसै जहाजले चीनको राजधानी बेइजिङबाट खोप काठमाडौं ल्याएको हो ।

    जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ उडेको थियो । चीन सरकारले नेपाललाई कोरोनाविरुद्धको ‘भेरासेल’ खोप दिएको छ । यो खोप चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको हो ।

    खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोपको दुई मात्रा लगाएपछि साइकल पुरा हुन्छ । नेपालमा अहिले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाइएको छ । पहिलो पटक चिनियाँ खोप नेपाल आएको हो ।

  • आज तराईमा खेलिँदैछ होली

    आज तराईमा खेलिँदैछ होली

    जनकपुर । आज तराई भेगमा फागु (होली) को उत्सव मनाइदैछ । आइतबार पहाड र हिमालमा मनाइएको होली सोमबार भने तराई तथा मधेसका जिल्लामा मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार तराई मधेसका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

    आइतबार पहाडी र हिमाली भेगमा बिदा थियो । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ नामबाट यो पर्व मनाइन्छ । तराईमा समेत होलीको अवसरमा शान्ती सुरक्षा कायम राख्न उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । सरकारले यो पटक औपचारिक कार्यक्रम भने आयोजना नगर्न भनेको छ ।

  • होली खेल्दाखेल्दै बागलुङमा हिंसात्मक झडप, कम्तिमा २ को मृत्यु-१० वेपत्ता

    होली खेल्दाखेल्दै बागलुङमा हिंसात्मक झडप, कम्तिमा २ को मृत्यु-१० वेपत्ता

    बागलुङ । होली खेल्ने क्रममा बागलुङमा हिंसात्मक झडप भएको छ । युवाहरुको दुई समुहबीच भएको झडपमा दुई जनाको मृत्यु भएको पुष्टी प्रहरीले गरेको छ । अझै १० जना हराएका कारण हताहती बढ्न सक्ने आंशका गरिएको छ ।

    जिल्लाको बडिगाड गाउँपालिका १० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच झडप भएको नेपालको राष्ट्रिय समाचार समितिले जनाएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताएका छन् ।

    गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही युवा घाइते भएको हुनसक्ने उनले बताए । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् ।

    उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।

    आइतबार दिउँसो बडिगाड१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका७ र बडिगाड १० का केही युवा बेपत्ता भएको आशङ्का छ ।

  • कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?

    कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?

    काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाश छोपिएको छ । बाक्लो तुवाँलोका कारण भिजिविलिटी कम भएको छ । यसले हवाई उडानमा प्रभाव पारेको छ । मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखिएको छ । बाक्लो धुँवासहितको यो तुवाँलोले मानिसहरुलाई अत्याएको बेला जल तथा मौसम विज्ञान विभागले तुवाँलो हट्न अझै केही दिन लाग्ने बताएको छ ।

    नेपालका धेरैजसो जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी परेका कारण हावा समेत चल्न पाएको छैन । यसले उत्पन्न भएको प्रदूषणका कण वायुमण्डलमा जम्मा भएसँगै आकासमा तुवाँलो देखिएको हो । स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको विभागको भनाई छ ।

    विभागका अनुसार प्रदूषित वायुमण्डल सफा हुन वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ । सरकारले यसअघि नै अत्यावश्यक काम नपरेसम्म घर बाहिर नजान आह्वान गरिसकेको छ ।

  • होलीको दिन ट्राफिक नियम मिच्ने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा

    होलीको दिन ट्राफिक नियम मिच्ने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । होली पर्वको दिन ट्राफिक नियम मिचेर सवारी चलाउने १ हजार भन्दा बढी सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसर यो आंकडा उपत्यकाभित्र गरिएको चेकजाँचको मात्र हो । आज बिहानै देखि काठमाडौंमा प्रहरीले चेकजाँच कडा पारेको थियो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ट्राफिक नियम मिच्ने दुई पाङ्ग्रे ९ सय ५० र ५० वटा चारपाङ्ग्रे सवारी साधनका चालक कारवाहीमा परेका छन् । यसमध्ये ५१ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ ।

    मोटर साइकलमा दुई भन्दा बढी जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालक बढी कारवाहीमा परेका छन् । कारवाहीमा पर्ने अधिकांश युवा युवति छन् ।

    यस बर्षको होलीमा अप्रिय घटनाहरु भने नभएको प्रहरीले जनाएको छ । सरकारले भिडभाड नगर्न भनेपनि बसन्तपुरमा भने एकै स्थानमा ठूलो जमात भेला भई होली मनाएको छ । यद्दपी सडकमा ठूला औपचारिक कार्यक्रम भने आयोजना भएनन् ।

  • २१ सय परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टी

    २१ सय परीक्षण गर्दा ८९ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा कुल २१ सय १ जनामा कोरोना परीक्षण भएको थियो ।

    ९५ जनाले भने संक्रमणलाई जित्न सफल भएका छन् । २४ घण्टाको अवधिमा मृत्यु भने शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

  • झा दम्पत्ति हत्या प्रकरण : थप तीन जना पक्राउ

    झा दम्पत्ति हत्या प्रकरण : थप तीन जना पक्राउ

    महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका, सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको अपहरणपछि भएको हत्याको अभियोगमा थप तीन जना पक्राउ परेका छन् । करीव एक महिनादेखि वेपत्ता झा दम्पत्तिको गत बिहीबार मात्र शव फेला परेको थियो ।

    खाल्डो खनेर गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले स्थानीय तारादेवी झा र उनका दुई छोरा कैलास र विकास झालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ परेका कैलासको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको वाकस, जलेका दाउरालगायत सामग्री फेला परेको थियो।

    पक्राउ परेकाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ । अहिलेसम्म भेटिएको प्रमाणका आधारमा उनीहरू झा दम्पती हत्यामा संलग्न देखिएको पुष्टी भएको प्रहरीले जनाएको छ । झा दम्पत्ति फागुन १० गते रातिदेखि वेपत्ता थिए । उनीहरुको शव पिपरा गाउँपालिका वडा नम्बर २ अतरारमा भेटिएको हो ।

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई भने यसअघि नै पक्राउ गरि सार्वजनिक गरिसकेको छ । पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षिय रामबाबु यादव, उनकै २६ वर्षिय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर छन् ।

  • म्यानमारमा सैन्य हिंसा निन्दनीय छ : कांग्रेस

    म्यानमारमा सैन्य हिंसा निन्दनीय छ : कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा प्रजातन्त्र पुनर्स्थापनाका लागि जारी आन्दोलनका दौरान सैन्य शासकको हर्कतको कडा निन्दा गरेको छ । आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै कांग्रेसले सेनाले गरेको नरसंहारको भने निन्दा गरेको हो ।

    म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नरसंहार गरिरहेको घटना तथा प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको कांग्रेसको ठहर छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति निकाल्दै यस्तो उल्लेख गरेका हुन् । जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न समेत कांग्रेसले
    आह्वान गरेको छ ।

    कांग्रेसले लोकतन्त्रवादी नेतृ आङ सान सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको समेत बताएको छ । सबै मुलुकमा हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यवद्धता जनाउने नीति कांग्रेसको रहेको पनि शर्माको भनाई छ ।

    म्यानमारको पछिल्लो कूलगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटना क्रमलाई निरन्तर नियालिरहेको उनले बताएका छन् । सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको समेत कांग्रेसको भनाई छ ।

    ‘दमनका विरूद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनु पर्ने आवश्यकता र अभियानका पक्षमा ऐक्यवद्ध हुन नेपाली कांग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपिल गर्दछ,’ विज्ञप्तिमा शर्माले भनेका छन् ।

    म्यानमारमा सैनिक कूविरुद्ध भएका प्रदर्शनमा अहिलेसम्म ४ सयभन्दा बढीको ज्यान गएको छ। शनिबारमात्रै सेनाले ११४ नागरिकलाई गोली हानेर मारेको छ ।

  • मह जोडीले पाए महामुर्खको उपाधि

    मह जोडीले पाए महामुर्खको उपाधि

    जनकपुर । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) ले महामुर्खको उपाधि पाएका छन् । मिथिला नाट्य परिषद्ले हरेक वर्ष होली पर्वमा यो उपाधि दिने गर्छ । यो वर्षको महामुर्खको उपाधि महजोडीलाई दिइएको हो । आइतबार जानकी मन्दिर प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी उपाधि प्रदान गरियो ।

    परिषद्ले यो वर्षको मुर्ख शिरोमणीको उपाधि प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई दिएको छ । चित्रकार एसपी सुमनलाई तरघुस्का, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीलाई पटमुर्ख, जनता समाजवादी पार्टीका नेता राजिव झालाई बंशकुरहरि, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई बैशाखानन्द, सञ्चार उद्यमी शंकर साहलाई मुसरीलाल उपाधि दिइएको परिषद्ले जनाएको छ ।

    शिक्षक संघ प्रदेशका अध्यक्ष मेघनाथ यादवलाई चौपटानन्द, वरिष्ठ पत्रकार शितल साहलाई ढोरबा, मोडेल कलेजका संचालक वीरेन्द्र साहलाई लोरहाशंकर, हरित अभियानी सुरेश शर्मालाई हराशंख, साहित्यकार एवं पत्रकार अशोक दत्तलाई बोलानन्द, महिला नेतृ बिन्दु ठाकुरलाई खापसुरती, प्रशिक्षक बिरेन्द्र कर्णलाई बज्रकटि, डा. सुजित झालाई सिलौटानन्द उपाधि प्रदान गरियो ।

  • काठमाडौका धारामा मेलम्चीको पानी, यस्तो छ पानी आउने तालिका

    काठमाडौका धारामा मेलम्चीको पानी, यस्तो छ पानी आउने तालिका

    काठमाडौं । आजबाट काठमाडौँ उपत्काका घरमा मेलम्चीको पानी वितरण शुरु भएको छ । पहिलो चरणमा उपत्यकाका सीमित ठाउँमा भएपनि परीक्षणका रुपमा पानी पठाउन लागिएको हो ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने भएको छ । यसअघि रहेका पोखरीमा पानी भरेर सोही पोखरीमार्फत पानी वितरण गर्न लागिएको हो ।

    यससँगै मेलम्चीको पानी पिउने राजधानीबासीको ३ दशक लामो प्रतिक्षा समेत पुरा भएको छ । पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने भएको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गर्ने तयारी छ ।


    उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउने बताइएको छ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने छ ।

    दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिने बताइएको छ । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो ।

    यस्तो छ पानी आउने तालिका

    खानेपानी लिमिटेडले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ ।

    यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

    यस्तै साँझ ७ बजेदेखि ८ बजेसम्म पुनः महांकालचौरीको ट्यांकी भरिनेछ भने त्यसपछि राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी आउनेछ ।

    यस्तै दोस्रो दिन राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरेर २ देखि बिहान ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।

    त्यसपछि फेरि ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ । यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी डोलमा पानी आउनेछ ।

    यस्तै अपरान्ह ४ बजेदेखि ५ बजेसम्म ट्यांकीमा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ ।

    पानी आउने दिनको पहिलो दिनमा आइतबार र दोस्रो दिनमा सोमबार मान्दा त्यसको एक दिन बिराएर धारमा पानी आउनेगरी तालिका बनाइएको छ ।

  • कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

    कोरोनाबाट विदेशमा थप ३ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

    काठमाडौं । कोरोना भाइरस -कोभिड १९_ संक्रमणबाट विदेशमा थप ३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार युकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

    गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३ सय ४५ जना नेपालीको निधन भएको छ । संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

    हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ। यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार ३७ जनाको निधन भएको छ ।

    नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ ।

    स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरे ।

    उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोर दोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उनले सुझाए ।

  • कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान

    कोरोना त्रासले ‘फिक्का’ बनाईदियो यो वर्ष पनि होली, वसन्तपुरमा देखियो सुनसान

    काठमाडौं । यो वर्षको होलीपनि कोरोना त्रासले नै फिक्का बनाईदिएको छ । यस वर्षको फागुमा त कोरोना त्रास कम होला र धुमधामसँग पर्व मनाउन पाइएला भन्ने थियो, तर अवस्था पुनः त्रासपूर्ण हुन गएको छ।

    हरेक वर्ष होलीको दिन पाइला टेक्नसम्मको ठाउँ नहुने वसन्तपुर यो वर्ष मा खासै भिडभाड देखिन्न । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण यस पटक पनि बढ्दै गएपछि देशको विभिन्न ठाँउमा यसको असर देखिएको छ ।

    हरेक वर्ष काठमाडौंको प्राय सबै चोकमा एक हप्ता अघि नै आउने होलीको रौनक यो वर्ष भने होलीकै दिनपनि कमै देखिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लाका सार्वजनिक स्थानमा होली खेल्न निषेध गरेको छ । यसको प्रभाव स्वरुप वसन्तपुर सुनसन देखिएको हो ।

    यस पटकपनि मानिसहरु होली मनाउने ‘मुड’ मै देखिएनन् । विगत विगतका वर्षमा मदिरा कम्पनीको प्रायोजनमा युवा लक्षित होली कार्यक्रम गर्नेहरु पनि यसपालि थन्किएका छन्। तारे होटलले होली कार्यक्रम राखेका छैनन्।

    कोरोनाको त्रासले बजारमा पनि चहलपहल घटेको छ। पिचकारी, लोला बनाउने प्लास्टिक तथा अबिरको व्यापार यसपालि निराशाजनक रहेको व्यापारीले बताएका छन्।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारत, बेलायत, फ्रान्सलगायत युरोपेली मुलुकमा कोभिड-१९ को संक्रमणको दरमा वृद्धि भएको र नेपालमा पनि प्रभाव पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

    काठमाडौं प्रशासनले पनि संक्रमणको जोखिम उच्च रहेको भन्दै होली पर्वलाई आफ्नो घर भित्रै सीमित गरी सामाजिक सांस्कृतिक मर्यादानुसार खेल्न भनेको छ।

    बाहिर हिँड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ।

    फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।

    पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ। उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन। असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्व नै होली हो भन्ने मान्यता छ।

  • म्यानमारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलायो, कम्तिमा ६० जना मारिए

    म्यानमारमा प्रदर्शनकारीमाथि सेनाले गोली चलायो, कम्तिमा ६० जना मारिए

    काठमाडौं\एजेन्सी । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सेनाले अन्धाधुन्ध गोली चलाएको छ । यस क्रममा कम्तिमा ६० जना मारिएको बीबीसीले जनाएको छ । शनिवार यहाँ आर्म फोर्स डे मनाइएको थियो । त्यस क्रममा सेनाले प्रदर्शनकारीमाथि गोली चलाएको हो ।

    समाचार सुत्रहरुले जनाए अनुसार ६० जनाको मृत्यु भइसकेको र यस्तो संख्या ९० भन्दा बढी रहेको आंशका गरिएको छ । अमेरिकी दूतावासले म्यानमारमा सुरक्षाबलले निहथ्था मानिसको ज्यान लिएको प्रतिक्रिया दिएको छ ।

    आजै सैन्य प्रमुख मिन आंग लाइंगले त्यहाको राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै आफु लोकतन्त्रको रक्षाको पक्षमा रहेको र देशमा निर्वाचन हुने बताएका थिए । तर, उनले निर्वाचन कहिले हुन्छ, त्यसबारे भने कुनै बोलेनन् ।

    सेनाले फेब्रुअरीमा सत्ता हत्याएसँगै यहाँ हिंसा भड्किएको छ । अहिलेसम्म प्रदर्शनका दौरान ४ सय जना भन्दा बढीको ज्यान गइसकेको छ ।

  • कांग्रेस नेता जोशीको अन्त्येष्टी, शीर्ष नेताले दिए अन्तिम श्रद्धाञ्जली

    कांग्रेस नेता जोशीको अन्त्येष्टी, शीर्ष नेताले दिए अन्तिम श्रद्धाञ्जली

    काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज अन्त्येष्टि भएको छ । मस्तिष्कघातका कारण उनको शुक्रबार राति नर्भिक अस्पतालमा निधन भएको हो । उनको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिए ।

    अन्त्येष्टिपूर्व नेता जोशीको शव श्रद्धाञ्जली दिन निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । सानेपामा जोशीको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाए ।

    उनलाई श्रद्धाञ्जली दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, एमाले नेता सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित शीर्ष नेतृत्व कांग्रेसको पार्टी कार्यालय सानेपामा पुगेका थिए ।

    जोशीको जन्म २०१९ साल असार ३ मा काठमाडौंमा भएको हो । उनी नेपाल विद्यार्थी संघको पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाको पूर्वउपमेयर, २०६४ र २०७० सालमा काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित सांसद थिए ।

    २०७३ सालमा उद्योगमन्त्री बनेका जोशी नेपाली कांग्रेसको १२ औं र १३औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए । जोशीका श्रीमती र एक छोरी रहेको राससले जनाएको छ ।

  • थ्री नेसन्स कप : नेपाल फाइनल पुग्यो

    थ्री नेसन्स कप : नेपाल फाइनल पुग्यो

    काठमाडौं । नेपाल थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ। तीन राष्ट्र सहभागी भएको प्रतियोगिताको अन्तिम लिग खेलमा नेपाल र बंगलादेशबीच आज गोलरहित बराबरी भएसँगै नेपाल फाइनलमा पुगेको हो । फाइनल खेल नेपाल र बंगलादेशबीच नै सोमबार साँझ साढे ५ बजे हुने भएको छ ।


    पहिलो खेलमा पनि नेपाल र कीर्गिस्तानको ओलम्पिक टिम बराबरी खेलेका थिए । नेपाल दुबै खेल बराबरी र एक गोल पनि नगरी फाइनल पुग्न सफल भएको हो । प्रतियोगितामा कुल तीन खेल भएका छन् । जसमा एक गोल मात्र सम्भव भएको छ, त्यो पनि आत्मघाती । नेपालले लगातार छैठौं अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेन । आज नेपालले पर्याप्त गोलका अवसर पाएपनि त्यसलाई उपयोग गर्न भने सकेन ।

    आज बंगलादेशविरुद्ध खेल्दै नेपालका तीन खेलाडीले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने मौका पाएका छन् । मिडफिल्डरद्वय सन्जोग राई र त्रिदेव गुरुङले सुरुवाती रोजाइमा खेल्ने मौका पाए । दुबै खेलाडीले आफुलाई अब्बल सावित गर्न सफल भए । निशान खड्काले दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरेका छन् । आज बंगलादेशले भने पूरै सेट परिवर्तन गर्दै फाइनलका लागि खेलाडीलाई आराम दिएको हो ।

  • इजिप्टमा रेल दुर्घटना, कम्तिमा ३२ जनाको मृत्यु

    इजिप्टमा रेल दुर्घटना, कम्तिमा ३२ जनाको मृत्यु

    कायरो । इजिप्टमा रेल दुर्घटनामा गरी कम्तिमा ३२ जनाको मृत्यु भएको छ । दुर्घटना शुक्रबार भएको हो । घटनामा ६६ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका अनुसार घटनास्थलमा ३६ एम्बुलेन्स परिचालन भएका थिए ।

    घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । प्रहरीका अनुसार दुई रेल एक आपसमा ठोक्किएर दुर्घटनामा परेको हो । इजिप्टको लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वानतर्फ जादै गरेको रेल एक आपसमा ठोक्किएको बताइएको छ ।

    देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घटना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्ने बताइएको छ ।

  • थ्री नेसन्स कप फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

    थ्री नेसन्स कप फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । यसै खेलबाट फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । पहिलो खेल जितिसकेका कारण बंगलादेश आज हारेको अवस्थामा पनि फाइनल पुग्ने छ ।

    नेपाल र कीर्गिस्तानबीच बराबरी नतिजा आएका कारण आज नेपाल दुई गोलभन्दा बढी अन्तरमा पराजित भएमा नेपालको फाइनल यात्रा सकिने भएको छ । खेल साँझ साढे ५ बजेबाट दशरथ रंगशालामा हुनेछ । त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले कीर्गिस्तानलाई १ गोल अन्तरले हराएको हो । फाइनल सोमबार हुने भएको छ ।

  • मोदी बंगलादेश पुग्दा भड्कियो हिंसा, कम्तिमा ५ जनाको मृत्यु

    मोदी बंगलादेश पुग्दा भड्कियो हिंसा, कम्तिमा ५ जनाको मृत्यु

    ढाका । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने बंगलादेश भ्रमणका सिलसिलामा शुक्रबार ढाका पुगेका छन् । तर, उनको ढाका भ्रमणका भने व्यापक विरोध भइरहेको छ । यस्र क्रममा ढाकामा भएको प्रदर्शन हिंसात्मक बन्द कम्तिमा ५ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ ।

    शुक्रबारको प्रदर्शनमा ४ जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको पुष्टी भएको छ । अर्का एक जना हिफाजात इस्लाम संगठनमा आवद्ध प्रदर्शनकारीहरूको पनि मृत्यु भएको समाचारमा उल्लेख छ ।


    प्रधानमन्त्री मोदीको भ्रमणको विरोधमा प्रदर्शन चर्किएपछि प्रहरीले हस्तक्षेप गरेको छ । राजधानी ढाकाको बैतुल मुकरराम क्षेत्र तनावग्रस्त भएको थियो । प्रदर्शनमा थुप्रै मानिस घाइते भएको बताइएको छ । हिफाजात इस्लाम संगठनका नेता मुफीबुर रहमान हामिदीले प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको बताएका छन् ।

    ढाकामा मुस्लिम समुदाय र वामपन्थी संगठनबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध भइरहेको छ । बंगलादेशले भने सुरक्षामा आश्वस्त पार्दै भारतीय प्रधानमन्त्रीलाई स्वागत गरेको हो ।

  • नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच ट्राइ नेसन्स क्रिकेट सिरिज हुने

    नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच ट्राइ नेसन्स क्रिकेट सिरिज हुने

    काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच ट्राइ नेसन्स क्रिकेट सिरिज हुने भएको छ । प्रतियोगिता आगामी अप्रिलमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएका छ । क्यानका अनुसार अप्रिल १७ देखि २४ सम्म ट्राइ नेसन्स टी२० आई सिरिज आयोजना हुन लागेको हो ।


    ट्राइ नेसन्स सिरिजमा नेपालसंगै नेदरल्याण्ड्स र मलेसियाले प्रतिस्पर्धामा उत्रन लागेका हुन् । डबल राउण्ड रोविन लिगका आधारमा खेल खेलाइने भएको छ । लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्ने बताइएको छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएका छन् । कोरोना भाइरसका महामारीपछि नेपालको राष्ट्रिय टीम पहिलो पटक मैदान उत्रने तयारीमा रहेको छ ।