Author: Vishwanews.com

  • तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधन धमाधम कारबाहीमा

    तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधन धमाधम कारबाहीमा

    काठमाडौं । यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ ।

    मालवाहक सवारीसाधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारबाही गर्न लागिएको विभागले जनाएको छ ।

    मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम भार ओसारपसार गर्नुपर्ने भए पनि पछिल्लो समय त्यसको विपरीत हुने गरेको विभागमा गुनासो आएको प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए ।

    विभागले यसअघि नै चितवनको अपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । विभागको सडक सुरक्षाका लागि मुख्य सडकमा तौल पुल निर्माण गरी सवारी साधनको भारवाहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना रहेको छ ।

  • चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

    चम्किँयो नेपाली सेयर बजार, नेप्से ६३.३८ अंकले बढ्दा ९ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । बीमा रमाइक्रोफाइनान्स कम्पनी चम्किँदा सेयर बजारमा उछाल आएको छ । गत बुधबारदेखि उकालो लागेको बजार यससाता पनि निरन्तरता दिएको हो ।

    पछिल्लो ३ कारोबार दिनमै नेप्से करिब १४० अंकले बढेको छ । सूचकसँगै आज कारोबार रकम पनि २ अर्ब बढीले बढेको छ । गतसाता औसतमा करिब ४ अर्बको कारोबार हुँदै आएकोमा आज बढेर करिब ६ अर्ब रुपैयाँ पुगेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ६३.३८ अंकले बढेर २५३८.४६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँ बराबरको १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच भएका छन् ।

    मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ७४२.७६ अंकले बढेको छ ।

    कारोबारमा आएका २०६ कम्पनीमध्ये १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ३९ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स ३१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक २१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा आज ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सूर्योदय लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

    यसैगरी, आज सामुदायिक, समिट, किसान, स्वाभिमान लघुवित्त, चन्द्रागिरी हिल्स र युनाइटेड इदीमार्दी हाइड्रोपावरको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

    बढ्दो बजारमा आज ग्रीन लाइफ हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ६.०६ प्रतिशत गुमाएका छन् ।

  • बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

    बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

    काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।

    गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरेका छन् ।

    उक्त अवसरमा गृहमन्त्री थापाले पुरस्कृत पदाधिकारीहरुलाई बधाई दिँदै पुरस्कारले थपेको जिम्मेवारी र चुनौतीलाई सहर्ष स्वीकार गरी आगामी दिनमा अझै सक्रिय भई काम गरी सफलता हासिल गर्ने अपेक्षा रहेको बताए । देशको समृद्धि तथा विकास, सुशासन, नागरिकको आकाङ्क्षा र सरकारले आव्हान गरेको समृद्ध नेपाल र सुखी नेपालीको अपेक्षा पूरा गर्न लाग्नेतर्फ तत्पर हुनुपर्ने उनले उल्लेख गरे ।

    उक्त अवसरमा गृह सचिव महेश्वर न्यौपानेले पुरस्कृत भएपछि जिम्मेवारी थपिएको अन्तरआत्माबाट मनन गरी अझै उत्तरदायी भएर काम गर्ने बताए । बेरुजु फछर्यौटमा अझै समर्पित भएर काम गरी बेलाबेलामा समिक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

    प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्‍यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्‍यौट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न नेपाल प्रहरी सफल भएको हो ।

    आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्‍यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

    बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ गरी ३ वटा आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।

  • बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

    बेलायतमा आजबाट जनगणना, नेपालीलाई समेत भाग लिन आह्वान

    लण्डन । संयुक्त अधिराज्य (बेलायत)मा आजबाट राष्ट्रिय जनगणना शूरु हुँदैछ । यस अवसरमा त्यहाँ रहेका नेपालीलाई समेत सक्रिय सहभागिता जनाउन विभिन्न संघसंस्थाले आह्वान गरेका छन् । यसले पहिचान स्थापित गर्न सहयोग गर्ने बताइएको छ । संयुक्त अधिराज्यका चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा राष्ट्रिय जनगणनामा हुन लागेको हो ।

    गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) यूके, इङ्ल्यान्ड राज्य समन्वय परिषद्ले समेत यस जनगणनामा भाग लिन नेपाली समुदायलाई आह्वान गरेका छन् । जनगणनामा कोही पनि नछुटुन् भनेर हेल्पलाइन समेत एनआरएनएले सञ्चालनमा ल्याएको छ ।

    घरमै बसेर अनलाइनमार्फत फाराम भर्न सकिने भएको छ । यसले नेपालीको सहभागिता बढ्नेछ । पछिल्लो जनगणनामा इङ्ल्यान्ड र वेल्समा ६० हजार २०२ र स्कटल्यान्डमा एक हजार २६८ जना नेपालीले नाम लेखाएका थिए ।

  • राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्‌याङमा चिप्लिएपछि…

    राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्‌याङमा चिप्लिएपछि…

    वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाजको भर्‌याङमा चिप्लिएका छन् । उनी भर्‌याङ चढ्दाचढ्दै लडेका हुन् । वासिंटनबाट एटलान्टाका लागि जान जहाज चढ्ने क्रममा बाइडेन भर्‌याङमा चिप्लिएर लडेका थिए । यो क्षणलाई भने संचारमाध्यमले खिचेका थिए ।

    चिप्लिएर लडेका उनी उठ्ने कोसिस गर्दा गर्दा फेरि चिप्लिएका थिए । यद्दपी उनी अहिले शतप्रतिशत फिट रहेको ह्वाइटहाउसले जनाएको छ । उनको साथमा उपराष्ट्रपति कमला ह्यारिस पनि थिइन् ।

  • कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतमा एक नेपालीको मृत्यु

    कुवेत । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको ज्यान गएको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार कपिलवस्तुका ३० वर्षीय यम ठकुरीको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा ज्यान गएको हो । उनी उच्च रक्तचापका कारण पिडित थिए । उनको शुक्रबार मृत्यु भएको हो । ७ वर्षदेखि कुवेतमा कार्यरत उनी कुन कम्पनीमा थिए भन्ने चाँही खुलेको छैन । ठकुरीको शव उनको परिवारसँग समन्वय गरेर नेपाल पठाइने दूतावासको भनाई छ ।

  • भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम

    भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम

    काठमाडौं । भारतमा कोराना भाइरसको दोस्रो लहर नियन्त्रण बाहिर गएको छ । भारतका विभिन्न राज्यमा कोरोनाको तिब्र लहर देखिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् । नेपाल र भारतका बीच अहिले आवत जावत सामान्य जस्तै बनेको छ । यसले नेपालमा समेत कोरोना भाइरसको दोस्रो वेव आउने जोखिम बढेको छ । किनकी अहिले नेपालमा परीक्षण शून्यप्रायःको अवस्थामा छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १९६ जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सङ्ख्या १ लाख ५९ हजार ७ सय ९० भन्दा धेरै पुगेको छ । भारतले अहिलेसम्म २३ करोड २४ लाखभन्दा धेरै व्यक्तिमा परीक्षण गरेको छ । कोरोनाको सङ्क्रमण अस्वाभाविक रुपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा गरिएको छ ।

  • मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

    मनाङमा ट्रक दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं । मनाङमा भएको ट्रक दुर्घटनामा ६ जनाको ज्यान गएको छ । ध १ ख ५९२ नम्बरको मालबहक ट्रक शनिबार दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममाः ज्यान गएको हो ।

    मनाङको नासों गाउँपालिका वडा नम्बर ४ स्थित खोत्रोमा शनिबार अपरान्ह ३ बजेतिर ट्रक दुर्घटनामा परेको थियो । लमजुङको बेशीसहरबाट सिमेन्ट बोकेर मनाङ जाँदै गरेको ट्रकमा यात्रु समेत बसेको पाइएको छ ।

    दुर्घटनामा मनाङको नासों गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षिया मनिषा गुरूङ, ३० वर्षिया जलकाशी गुरूङ र मनिषाका छोरा डेढ वर्षिय लियोन गुरूङको घटनास्थलमै मृत्यु भएको थियो ।

    घाइतेमध्ये मनाङको चामेका २८ वर्षिय राजु विक र लमजुङ मर्स्याङ्दी खोरियाखेतका २१ वर्षिय लक्ष्मण नेपालीलाई उपचारका लागि लैजाँदै गर्दा लमजुङमा शनिबार राती मृत्यु भएको हो । नासों गाउँपालिका १ तालका ३ वर्षिय थियोन गुरूङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएका दुई जनाको उपचार भइरहेको छ । मालबाहक सवारीले यात्रु ओसार्न पाइदैन । तर, प्रहरीको निगरानी नहुँदा ग्रामिण भेगमा यस प्रकारको जोखिम मोलेर यात्रु यात्रा गर्न बाध्य भएका छन् ।

  • चितवनमा जंगली हात्तिको आक्रमणमा एक जनाको मृत्यु

    चितवनमा जंगली हात्तिको आक्रमणमा एक जनाको मृत्यु

    काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ। राससका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल छिन् ।

    इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको छ । हात्तीले सो स्थानका तीन घर पूर्णरूपमा क्षति पुर्‍याएको छ । हात्तीले आक्रमण गर्न थालेपछि मानिसहरु भाग्न थालेका थिए । सोहीक्रममा भुजेललाई हात्तिले आक्रमण गरेको हो । क्षतिको थप विवरण आउने क्रममा रहेको प्रहरीको भनाई छ ।

  • दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

    दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

    काठमाडौं । नेपाल दक्षिण एसिया मै सबैभन्दा खुशी नागरिक बस्ने मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकास समाधान नेटवर्कले गरेको सर्वेक्षणमा यस्तो नतिजा आएको हो । सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको छ ।

    सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा रहेको थियो । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको छ । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको हो ।

    राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा अध्ययन गरेको बताइएको छ । कूल ग्राहस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।

    रिपोर्ट अनुसार फिनल्याण्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशी देशको रुपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुशी देशको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान रहेको छ । भारत १ सय ४४ औँ स्थानमा छ ।

    नेपाल, बंगलादेश र पाकिस्तानभन्दा भारत तल रहेका छन् । खुशी देशको शीर्ष सूचीमा फिनल्याण्डपछि क्रमशः डेनमार्क, स्विजरल्याड, आइसल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्युजिल्याण्ड र अष्ट्रिया रहेको छन् ।

  • भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

    भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

    कोलकाता । इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जेलबाट छुटेका छन् । भारतीय जेलबाट थुनामुक्त भएका इलामका तिम्सिनालाई आफन्त र वकिलले माला लगाएर स्वागत गरे । उनलाई कोलकाताको दमदम कारागारबाट निकालिएको हो ।

    कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार दूर्गाप्रसादले गीत गाउँथे । ‘रेशम फिरिरी’ गीत बढी समय गाउने गरेका थिए । शुक्रबार कारागारमा भएको काउन्सिलिङका क्रममा आफूले नेपाल गएर बिहे गर्ने बताएको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    दुर्गाप्रसादलाई भाई प्रकाशचन्द्रले आफ्नो साथमा लिएका हुन् । बुधबार साँझ उच्च अदालत कोलकाताबाट उनलाई प्रकाशको रोहबरमा छाड्न आदेश दिएको हो । त्यसपछि कानुनी प्रक्रिया पूरा गरेसँगै शनिबार छाडिएको हो ।


    दूर्गाप्रसाद १९ वर्षको हुँदा इलामको घरबाट निस्किएका हुन् । उनलाई दार्जिलिङमा हत्या आरोपमा पक्राउ गरिएको थियो । अदालतले मानसिक स्वास्थ्य जाँच गरेर उनलाई ल्याउन भनेपनि जाँच गरेर नलगेका कारण ४० वर्षसम्म उनी विनासुनुवाइ भारतीय जेलमा बस्न बाध्य भएका हुन् ।

  • एमालेले पाँच नेतालाई स्पष्टिकरण सोध्ने

    एमालेले पाँच नेतालाई स्पष्टिकरण सोध्ने

    काठमाडौं । नेकपा एमालेले आफ्ना पाँच नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    बालुवाटारमा शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप लगाइएको छ । यो गतिविधिलाई एमाले फुटका रुपमा लिइएको छ ।

  • नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी

    नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टी

    काठमाडौं । नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २६३७ मा पिसिआर गरिएको थियो । यसमध्ये ७९ जनामा कोरोना पुष्टि भएको हो ।

    अब नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ। पछिल्लो २४ घन्टामा ८२ जना निको भएर फर्किएका छन्। अब कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ८१५ पुगेको छ। नेपालमा कोरोनाबाट निको हुनेको दर ९८.५ प्रतिशत रहेको छ।

  • राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?

    राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबारबाट दुई दिने बंगलादेश भ्रमण गर्दैछिन् । चैत ९ मा ढाका जाने राष्ट्रपतिको टोली १० चैतमा स्वदेश फर्कने छ । यो राजकीय भ्रमण हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । उनका अनुसार भ्रमणका क्रममा महत्त्वपूर्ण एजेन्डामा सहमति हुनसक्नेछ ।

    यस पटकको भ्रमणमा बंगालदेशले नेपाललाई एक नयाँ पारवहन मार्ग दिन सक्ने अपेक्षा नेपाली पक्षले गरेको छ । सांस्कृतिक आदानप्रदान र पर्यटन विकासमा समेत यो भ्रमण महत्वपूर्ण हुने बताइएको छ । हाल नेपालले बंगलादेशसँग काँकडभिट्टा-फुलबारी-बङ्गलाबन्ध पारवहन मार्ग प्रयोग गर्न पाउँछ ।

    बिरल-राधिकापुर मार्ग उपलब्ध छ । तर, यो मार्गको प्रयोग भने हुन सकेको छैन । बीबीसीका अनुसार यस पटक रोहनपुर सिंहबाद रेलरुट पारवहन मार्गको अनुमतिबारे औपचारिक घोषणा हुन सक्ने सम्भावना छ । यो रुट नेपालले सन् २०११ देखि नै मागेको थियो ।

    बंगलादेशको मन्त्रिपरिषद्‌ले गत अक्टोबरमै यसबारे अनुमति दिइसकेको थियो। अहिलेको भ्रमणमा औपचारिक दिन लागिएको बीबीसीले जनाएको छ । बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीको अवसरमा त्यहाँ आयोजना हुने विशेष कार्यक्रममा भाग लिन राष्ट्रपति ढाका जान लागेकी हुन् । राष्ट्रपति भण्डारीले त्यहाँ विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध

    अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध

    लण्डन । यूरोपेली यूनियन (इयू)ले म्यानमारमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । १ फेब्रुअरीमा त्यहाको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । सत्ता हातमा लिएपछि त्यसको विरोधमा भइरहेका प्रदर्शनलाई सेनाले हिंसाको माध्यमबाट दवाउन खोजेको छ । यसक्रममा सयौं प्रदर्शनकारीको ज्यान गइसकेको छ । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको मृत्यु भएको तथ्यांक आएको छ ।

    दुई हजारभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । यसै सन्दर्भमा इयुले म्यानमारमाथि विभिन्न प्रतिबन्ध लगाएको हो । इयुका विदेशमन्त्रीहरुको बेठकले म्यानमारका ११ अधिकारीमाथि युरोप भ्रमणमा प्रतिबन्ध लगाएको छ । म्यानमारलाई आर्थिक सहयोग तथा हतियार बिक्री रोक्ने निर्णय समेत इयूले गरेको हो ।

    इयुअन्तर्गत २७ देशका विदेशमन्त्रीको बैठकले म्यानमारको जननिर्वाचित सरकारलाई अपदस्थ गरेको सैनिक शासकले सत्ता हस्तान्तरण नगरेसम्म विभिन्न क्षेत्रमा प्रतिबन्ध थप्दै जाने निर्णयसमेत गरेको अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । म्यानमारमाथि यसअघि अमेरिकाले प्रतिवन्ध लगाएको छ ।

  • ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

    ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने

    ललितपुर । ललितपुर महानगरपालिका भित्र अब पम्प्लेट तथा पोस्टरहरु टास्न नपाइने भएको छ । सहरलाई सुन्दर र सफा बनाउन यस्तो अभियान चलाइएको महानगरपालिकाले जनाएको छ । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्न पाइने छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार यस अभियानको प्रारम्भ गरेका हुन् ।

    महानगरले सडकपेटीमा रोपिएको रुखमा ६ फिटसम्म हरियो रङ लगाउने भएको छ । यस्तो अभियान आइतबारबाट प्रारम्भ गरिने भएको हो । यसरी रंग लगाएको स्थानमा जथाभावी पम्प्लेट टाँस्न आउनेमाथि भने कारवाही हुने भएको छ ।

    महानगरले तत्काल यो काम बाग्मती पुलबाट जावलाखेल लगनखेलहुँदै सातदोबाटोसम्म, हिमालय होटेल, पाटनढोका, अशोक हल, क्वाल्खुहुँदै मंगलबजार, लगनखेलसम्म र पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म गर्ने उल्लेख गरेको छ ।

    कसैले पोस्टर टाँस्दै गरेको भेटिए तत्कालै नियन्त्रणमा लिएर कारवाही अघि बढाइने भएको छ । महानगरले यसअघि महानगरपालिकाभित्र अव्यवस्थित मोटरसाइकल वर्कसप हटाएको छ । सडक पेटी व्यवस्थित बनाउने अभियान समेत जारी रहेको छ ।

  • आज एमाले संसदीय दल र केन्द्रिय कमिटी बैठक, माधव -झलनाथ पक्ष नजाने

    आज एमाले संसदीय दल र केन्द्रिय कमिटी बैठक, माधव -झलनाथ पक्ष नजाने

    काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । यो बैठक माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताले भने बहिष्कार गर्दैछन् । संसदीय दलको बैठक विहान साढे १० बजे र केन्द्रीय कमिटीको बैठक मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको छ ।

    आज संसदीय दलको विधान संशोधन गर्ने कार्यसूची रहेको नेताहरुले बताएका छन् । संसदीय दलको विधान संशोधन केन्द्रीय कमिटीबाट अनुमोदन गरिने भएको छ । एमालेमा अहिले स्पष्ट दुई गुट भएका छन् । जसमा एक गुटले अर्को गुटको बैठक बहिष्कार गर्ने प्रवृत्ति बढेको छ ।

  • फेरी बढ्यो हवाई भाडा

    फेरी बढ्यो हवाई भाडा

    काठमाडौं । इन्धनको मूल्य बढेसँगै निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायु सेवा सञ्चालक संघले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जारी विज्ञिप्तमा जनाइएको छ । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए ।

    संघका अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा साविकको तुलनामा ७० शूल्क बढेको छ । काठमाडौंबाट धनगढी जाँदा ९० रुपैयाँ बढी तिर्नुपर्नेछ । काठमाडौंबाट सिमराका लागि २० रुपैयाँ बढी तिर्नुपर्ने गरी हवाई भाडामा इन्धनको शूल्क बढेको छ ।

    माउन्टेन उडानमा २५ रुपैयाँ, काठमाडौं–भद्रपुर ६० रुपैयाँ, काठमाडौं– विराटनगर ५० रुपैयाँ, काठमाडौं–जनकपुर २५ रुपैयाँ, काठमाडौं– भरतपुर रुपैयाँ, काठमाडौं– पोखरा ३० रुपैयाँ, काठमाडौं–भैरहवा ४० रुपैयाँ बढेको छ ।

    त्यस्तै काठमाडौं–नेपालगञ्ज ६५ रुपैयाँ, काठमाडौं–धनगढी ९०रुपैयाँ, काठमाडौं–तुम्लिङटार ४० रुपैयाँ, काठमाडौं– सुर्खेत ६५ रुपैयाँ र काठमाडौँ–सिमराको उडानमा ३० रुपैयाँ भाडा बढेको छ ।

    त्यस्तै विराटनगर–तुम्लिङटार २० रुपैयाँ, पोखरा–भरतपुर २० रुपैयाँ, पोखरा–पोखरा–नेपालगञ्ज ५० रुपैयाँ, पोखरा माउन्टेन ६० रुपैयाँ, काठमाडौं–सुर्खेत ७० रुपैयाँ, विराटनगर–माउन्टेन ६५ रुपैयाँ, काठमाडौं–राजविराज ४० रुपैयाँ र विराटनगर–भोजपुरको उडानमा १५ रुपैयाँ भाडा बढेको छ ।

  • दक्षिणकालीमा एकै स्थानमा दुई किशोरको शव फेला

    दक्षिणकालीमा एकै स्थानमा दुई किशोरको शव फेला

    काठमाडौं । दक्षिणकाली नगरपालिका–१, खहरेमा आज दुई किशोरको शव एकै स्थानमा भेटिएको छ । काठमाडौं प्रहरी प्रभागका अनुसार नुवाकोटका १६ वर्षीया अर्जुन खड्का र काभ्रेका १८ वर्षीया मंगल तामाङको शव फेला परेको हो । प्रहरीका अनुसार खड्का असनको टेउडा स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन् ।

    तामाङ क्षेत्रपाटीको जिपी स्कुलमा कक्षा १० मा पढ्ने विद्यार्थी हुन्। दुवै जना बांगेमुढामा बस्ने गरेको पाइएको बताइएको छ । शुक्रबार दिउँसो दुई जनाको शव भेटिएको हो । त्यसपछि प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।

    केन्द्रीय प्रहरी कुकुर विद्यालयबाट विशेषज्ञ कुकुर ल्याएर घटनास्थलमा छाडिएर अनुसन्धान गरिएको छ । फरेन्सिक विज्ञसहितको टोलीले जाँच गरेपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट सल्फस नामक विषादीको बट्टा बरामद भएको छ ।

  • भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति

    भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति

    काठमाडौं । भारत बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति मिलेको छ । यो खोपलाई नेपालमा आकस्मिक प्रयोगको अनुमति दिइएको हो । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हो ।

    कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा विभागले खोपको प्रयोगको अनुमति दिएको हो । यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड र चिनियाँ कम्पनीले उत्पादन गरेको सिनोफार्म नामक खोपले मात्र आकस्मिक अनुमति पाएका हुन् । अहिले नेपालमा करिब १७ लाख खोप कोभिशिल्डको प्रयोग भइसकेको छ ।

  • उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

    उद्योगी किशोर प्रधान ओली समुहको एमालेमा प्रवेश

    काठमाडौं । उद्योगी किशोर प्रधान ओली समुहको नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले बताएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका छन् ।

    एमाले प्रवेश गरेका प्रधान नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक पराजित भएका हुन् । उनी वर्तमान अध्यक्ष शेखर गोल्छा र वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसँग हारेका हुन् । प्रधानसहित सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगीसहितका उद्योगी व्यवसायी समेत एमालेमा छिरेको बताइएको छ । दुगडले प्रधानमन्त्रीको निकट रहेर उद्योगीहरुलाई पार्टी प्रवेश गराउन भूमिका खेलेका हुन् ।

  • अस्ट्रेलियन सुन्दरी  मोडेल म्यानटिन अभिनित ‘सुस्तरी’ सार्वजनिक (भिडियोसहित)

    अस्ट्रेलियन सुन्दरी मोडेल म्यानटिन अभिनित ‘सुस्तरी’ सार्वजनिक (भिडियोसहित)

    मेलबर्न । अस्ट्रेलियाकी चर्चित मोडेल भिक्टोरिया म्यानटिन पहिलोपटक नेपाली म्युजिक भिडियोमा देखिएकी छिन । अस्ट्रेलियामा बसेर फिल्ल्म मेकिङ्ग सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले ‘सुस्तरी’को भिडियोमा अस्ट्रेलियन मोडेल म्यानटिनलाइ पर्दामा उतारेका हुन् ।

    सुस्तरीको भिडियोलाइ अस्ट्रेलियाको सुन्दर समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । जसमा निर्देशक गिरीको प्रसस्तै निर्देशकीय कला देख्न सकिन्छ । निर्देशक गिरी लामोसमय देखि अस्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका छन् ।

    उनले धेरै अंग्रेजी सर्ट फिल्म र टी भी शोहरुको निर्देशन गरेका छन् । उनले नेपाली भिडियोमा समेत प्रसस्त उपस्थिति देखाएका छन् । सुस्तरीमा पहिलो नेपाल आइडलमा टप ५ की गायिका सुजाता पाण्डेको शब्द संगीत र स्वर रहेको छ । भिडियोलाइ एजी फिल्म अस्ट्रेलियाबाट सार्वजनिक गरिएको हो ।

  • प्रतिनिधिसभा विघटनको मुद्दालाई सक्रिय साथ दिएका बडाल महान्यायाधिवक्ता नियुक्त

    प्रतिनिधिसभा विघटनको मुद्दालाई सक्रिय साथ दिएका बडाल महान्यायाधिवक्ता नियुक्त

    काठमाडौं । अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिए लगत्तै अधिवक्ता बडाललाई नियुक्तिको सिफारिस गरेका हुन् ।

    महान्यायाधिवक्ताले सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा काम गर्नेछन् । प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दामा विज्ञ मानिन्छन्।

    खरेलको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेसँगै प्रधानमन्त्रीको सिफारिसमा उनलाई नियुक्ती गरेकी हुन् ।

    बडाल नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष हुन् । । जिफन्ट सत्तारुढ नेकपा एमाले निकट संगठन हो । प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालपछि सरकारको कानुनी सल्लाहकार पनि जिफन्टकै पोल्टामा परेको छ ।

    महान्यायाधिवक्ता अग्नि खरेलले आजै राजीनामा दिएका थिए। प्रतिनिधि सभा विघटन मुद्दामा खरेलको बहस फितलो भएको भन्दै सरकार पक्ष असन्तुष्ट थियो।

  • ‘प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश लिने निर्णय संविधान विपरित थिएन्’

    ‘प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेश लिने निर्णय संविधान विपरित थिएन्’

    काठमाडौं । परराष्ट्रमन्त्री तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले ओली नेकपा एमाले समूह र माओवादी केन्द्रको आलोचना गरेका छ्न्।

    प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उनले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने सरकारको निर्णय संविधान विपरित नभएको भन्दै सरकरको बचाउ समेत गरे।

    उनले स्थायित्वका लागि संसद विघटन गरिएको प्रष्टिकरण दिए। ‘सर्वोच्चका फैसला अनुसार अहिले संसद चलिरहेको छ। सरकारको दृष्टिकोण थियो ताजा जनादेशले सरकार र देश चलाउन सजिलो हुन्छ,’ उनले भने।

    उनले अब संसद भित्रैबाट राजनीतिक स्थायित्व खोज्न बाध्यात्मक स्थिति आएको बताए।

    संसद बैठकलाई सरकार विरोधीले राम्ररी चल्न नदिएको ज्ञवालीको आरोप थियो। भने,’सुरुका बैठकहरु जसरी अगाडी बढे तिनीहरुले राम्रो संकेत गरेको छैन्।’

    अत्यावश्यक र जनजीविकासँग जोडिएका विधेयकहरु, एसिड सम्बन्धि विधेयक छलफलमा लग्न नसकेको उनको दाबी थियो। खोपको विषयमा सहमति जुटाउन सकेनौं।’

  • महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा

    महान्यायाधीवक्ता अग्नि खरेलद्वारा राजीनामा

    काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् ।

    खरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार राजीनामा दिएको खरेलले बताए ।

    राजीनामापछि खरेल नेकपा एमालेको राजनीतिमा सक्रिय हुने बताइएको छ । विगतमा केन्द्रीय सदस्य भइसकेका खरेल फेरि केन्द्रीय समितिमा मनोनीत भएर काम गर्ने बताइएको छ ।

    यसअघि, पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएका खरेल दोस्रो संविधानसभामा मनोनीत सभासद बनेका थिए ।

    मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्या भण्डारीले २०७४ साल फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन्।

  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्दै

    प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्दै

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यसअघि संसदलाई विजनेश नदिएको र पंगु बनाउन खोजेको भन्दै सरकारको कडा आलोचना भइरहेको छ । आजको बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची राखिएको छ ।


    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची छ । संसद सचिवालयका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन् । कोइरालाको विहीबार निधन भएको छ ।

  • नेपालसहित तीन मुलुकबीच चैत १० बाट फुटबल सिरिज, टिकट दर तोकियो

    नेपालसहित तीन मुलुकबीच चैत १० बाट फुटबल सिरिज, टिकट दर तोकियो

    काठमाडौं । नेपालसहित तीन मुलुकबीच फुटबल सिरिज आगामी चैत १० बाट दशरथ रंगशालामा शुरु हुँदै छ । थ्री नेसन्स कपका लागि टिकट दर समेत सार्वजनिक गरिएको छ । नेपाल, कीर्गिस्तान र बंगलादेशले खेल्ने यस प्रतियोगितामा दर्शकलाई समेत प्रत्यक्ष खेल हेर्ने सुविधा दिन लागिएको हो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार प्रत्येक खेलमा अधिकतम १२ हजार दर्शकलाई मात्र रंगशालामा पठाइने छ । रंगशालाको क्षमता भने १५ हजार हो । एन्फाले साधारण प्यारापिटतर्फ १० हजार पाँच सय सीट बेच्ने छ । भिआइपीतर्फ १ हजार ५ सय टिकट बिक्रि गर्ने भएको छ ।

    साधारणतर्फको टिकट मुल्य ७ सय रुपैयाँ र भिआइपीतर्फको टिकट मुल्य १५ सय रुपैयाँ राखिएको छ । नेपाल, बंगलादेश र किर्गिस्तानका यु २३ टिमबीच प्रतियोगिता हुन लागेको हो । विजेताले ५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । उपविजेताले ३ हजार डलर प्राप्त गर्ने छ।

    प्रतियोगितामा भाग लिन बंगलादेशको टिम बिहीबार नेपाल आइपुग्ने र कीर्गिस्तानको टिम आइतबार नेपाल आउने भएको छ । प्रतियोगितामा भाग लिन भारतको आइ लिग खेलिरहेका गोलकिपर किरण चेमजोङ र फरवार्ड अभिषेक रिजाल नेपाल आउने भएका छन् ।


    कपको पहिलो खेलमा आगामी चैत १० गते कीर्गिस्तान र बंगलादेश भिड्ने छन् । चैत १२ मा दोस्रो खेलमा नेपाल र कीर्गिस्तान भिड्ने एन्फाले जनाएको छ । चैत १४ गते नेपाल र बंगलादेश भिड्ने तालिका छन् ।

    तीन टिम एकआपसमा प्रतिस्पर्धा गरेसँगै अंक तालिकाको शीर्ष दुई टिमबीच चैत १६ मा फाइनल हुने कार्यक्रम छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपालको राष्ट्रिय टीम प्रतिस्पर्धामा उत्रन लागेको हो ।

  • नेपालमा अवैध भित्रिएका मोवाइल सेट नचल्ने प्रणाली जोडिँदै

    नेपालमा अवैध भित्रिएका मोवाइल सेट नचल्ने प्रणाली जोडिँदै

    काठमाडौं । नेपालमा अब अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम नगर्ने भएको छ । नेपाल दूरसञ्‍चार प्राधिकरणले आगामी जेठबाट अवैध मोवाइलको सेट लक गर्ने प्रणाली कार्यान्वयनमा ल्याउँदैछ । प्राधिकरणले यो प्रणाली कार्यान्वयन गराउन आवश्यक यन्‍त्र उपकरण नेपाल ल्याइसकेको र जडानको काम भइरहेको जनाएको छ। यो सिस्टम प्रयोगमा आएसँगै नेपालमा दर्ता नभई अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम गर्ने छैन ।

    विदेशबाट व्यक्तिगत रुपमा ल्याएका मोवाइल सेटलाई पनि बैध गराउन दर्ता गर्नु पर्ने भएको छ । प्रणालीको डेटाबेसमा नभएका डिभाइस ब्लक भएसँगै नेटवर्कले काम गर्ने छैन । आधिकारिक आयातकर्ताले भने डिभाइसको युनिक नम्बर दर्ता गराउने छन् । यसरी दर्ता भएका मोवाइल भने चल्नेछन् । सिस्टममा दर्ता भएका डिभाइसको डेटाबेस सेवा प्रदायकको नेटवर्कसँग जोडिएपछि काम गर्नेछ ।

    विदेशबाट फर्कदा समेत एउटा व्यक्तिले एक वर्षमा निश्चित डिभाइस मात्र दर्ता गर्न पाउने गरी नियम बन्ने छ । यद्दपी पहिलो ६ महिना भने यो प्रणाली परीक्षणका रुपमा संचालनमा ल्याउने तयारी प्राधिकरणको रहेको छ । नेपाली संचारमाध्यमहरुका अनुसार यसबीचमा प्राधिकरणले जनचेतनाको काम समेत गर्नेछ । ६ महिनापछि पनि बाध्यकारी बनाउने छ ।

  • बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति

    बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शब्द युद्ध चलेको छ । एक अमेरिकी टेलिभिजनमा जो बाइडेनले पुटिनलाई हत्यारा भनेका छन् । त्यसको जवाफमा पुटिनले हिम्मत भए प्रत्यक्ष कुराकानी गर्न चूनौति दिएका छन् । पुटिनले रशियन टिभिमा बोल्दै यस्तो चूनौति दिएका हुन् । राष्ट्रपति बाइडेनले एबीसी टेलिभिजनमा बोल्दै पुटिनको सुरक्षा एजेन्सीले विपक्षी नेता एलेक्सी नवेलनीलाई मार्ने कोसिस गरेको आरोप लगाएका थिए ।

    यो आरोपको समेत पुटिनले ठाडै अश्विकार गरेका हुन् । उता, बाइडेनले सन् २०२० को चुनाव प्रभावित पार्न रुसले खेलेको भूमिकाको समेत ठूलो मूल्य चुकाउनु पर्ने चूनौति दिएका छन् ।

    हालै अमेरिकी इन्टिलीजेन्सको एक रिर्पोट सार्वजनिक भएको छ, जसमा अमेरिकी चुनाव प्रभाव पार्न रुसी राष्ट्रपतिले एक अभियानलाई अनुमति दिएको खुलेको छ । बाइडेनले सत्ता सम्हाले लगत्तै यी दुई शक्तिशाली मुलुकबीचको सम्बन्ध भने बिग्रिएको छ । किनकी रुसले पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रंपको पक्षमा अभियान चलाएका थिए ।

  • अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए

    अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए

    लण्डन । युरोपेली सङ्घ ईयूको औषधी नियामक (ईएमए)ले कोरोना भाइरसको खोप अक्सफर्ड आस्ट्राजेनेका सुरक्षित रहेको बताएको छ । बीबीसीका अनुसार इएमएले गरेको एक समिक्षामा यो खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालिएको हो । यूरोपका १३ मुलुकले यो खोपको प्रयोग रोकेका छन् ।

    खोप लगाएमा रगत जम्ने समस्या भएको भन्दै खोप वितरण रोकिएको थियो । त्यसपछि इएमएले अध्ययन थालेको हो । इटली, स्पेन र जर्मनी सहितका केही देशले उक्त खोपको प्रयोगलाई शुक्रवारबाट पुनः सुरु गर्ने घोषणा समेत गरिसकेका छन् ।

    स्वीडेनले निर्णय लिन आफूलाई अझै केही दिन चाहिने उल्लेख गरेको छ । ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले बिहीवार अनलाइन पत्रकार सम्मेलनमा यस्तो निष्कर्ष सुनाएको बीबीसीले लेखेको छ ।


    ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, ‘यसले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो।’

    आफ्ना खोप कार्यक्रममा आस्ट्राजेनेका प्रयोग गर्ने नगर्ने विषयमा ईयू देशहरूले एक्लाएक्लै निर्णय गर्न सक्नेछन्। यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बिहीवार देशहरूलाई उक्त खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो। उक्त खोपको सुरक्षाका सम्बन्धमा शुक्रवार उसले आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्दैछ।