Author: Vishwanews.com

  • तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?

    तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?

    काठमाडौं । तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको त्यहाँका उपराष्ट्रपतिले घोषणा गरेका छन्। राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गरेका हुन्।

    मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए। विपक्षी नेताहरूले उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको दाबी गरे पनि त्यसको पुष्टि हुन सकेको छैन। गतसाता देशका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र राम्ररी काम गरिरहेको बताएका थिए। तान्जनियामा मगुफुलीको एकजना विवादित नेताको पहिचान थियो।

    भ्रष्टाचारसँग जुझ्ने र उच्च सरकारी खर्च घटाउने कामका लागि उनको प्रशंसा हुनेगर्छ। उनले खानीमा काम गर्ने विदेशी कम्पनीलाई बढी कर तिर्न लगाएका थिए।

    तर विपक्षी नेता र सञ्चारमाध्यमहरूप्रति कडा व्यवहार गर्दै बढ्दो रूपमा निरङ्कुश चरित्र देखाएको भन्दै उनको आलोचना हुने गर्दथ्यो। मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । उनी सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनमा देशको राष्ट्रपति घोषित भएका थिए। गत वर्षको एउटा विवादित चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

    तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकालमध्ये अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले निर्वाह गर्नेछन्। गत जुन महिनामा मगुफुलीले तान्जनियालाई कोभिड १९ मुक्त घोषणा गरेका थिए। उनले मास्कको प्रभावकारिताका बिषयमा हलुका अभिव्यक्ति दिनुका साथै कोरोनाभाइरसको परीक्षणबारे शङ्का व्यक्त गरेका थिए।

    उनले महामारीसँग जुझ्न छिमेकी देशहरूले चालेका स्वास्थ्यका उपायको खिल्ली उडाएका थिए। मे महिनायता तान्जनियाले कोरोनाभाइरसका विवरण प्रकाशित गरेको छैन। उक्त देशले खोप खरिद गर्न समेत अस्वीकार गर्दै आएको छ।

    संवाददाताहरू भन्छन्उ, नको साखलाई जोडेर अब देशको नेतृत्व गर्नेले मगुफुलीकै शैली अपनाउँछ वा त्यसलाई परिवर्तन गर्नेछ भन्ने त्यहाँ निकै बहसको बिषय बन्नेछ।

  • अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु

    अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु

    काबुल । अफगानिस्तानमा भएको सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो । बुधवार राति वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।

    यस दुर्घटनामा चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयले जनाएको छ । सेनाले दुर्घटनाबारे अनुसन्धान गरिरहेको समेत जनाएको छ । यसअघि नोभेम्बरमा समेत पूर्वी प्रान्त नान्र्गाहरमा सेना हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्यको ज्यान गएको थियो ।

  • एमाले नेपाल-खनाल समुहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित (विस्तृतमा)

    एमाले नेपाल-खनाल समुहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित (विस्तृतमा)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल-झलनाथ खनाल समुहको दुई दिने राष्ट्रिय भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । बुधबार र बिहीबार राजधानीमा आयोजना भएको भेलाले प्रधानमन्त्री ओलीको कडा आलोचना गरेको छ । प्रतिनिधिसभा ब्यूँताउने सर्वोच्च अदालतको स्वागत गरेको भेलाले नेकपा विभाजन गर्ने आदेशप्रति भने असहमति प्रकट गरेको छ । यस्तो छ राष्ट्रिय भेलाबाट पारित १७ बुँदे प्रस्ताव

    १. नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा क्रियाशील हुँदा आफ्नो अमूल्य जीवनको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी र कम्युनिष्ट पार्टी नेतृत्वको पहिलो सरकारका प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी सहितका हाम्रो पार्टीका अग्रजहरुको स्मरण गर्दै उहाँहरु प्रति यो भेला हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।


    २. नेकपा (एमाले) लाई विधान, विधि र पद्धति अनुरुप देश तथा जनताको हितमा सञ्चान गर्नुपर्नेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वेच्छाचारी किसिमका गतिविधि गरी पार्टीको एकता र प्रणालीका सामु संकट उत्पन्न गरिरहेको बेला पार्टीको एकता तथा विधिसम्मत सञ्चालनको पक्षमा ऐक्यवद्धता प्रकट गर्न आफ्नो उमेर र स्वास्थ्यसमेतको पर्वाह नगर राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुनुभएका पार्टीका सम्मानित नेताको रुपमा भूमिका निर्वाह गरिसक्नुभएका नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल प्रसाद कोइराला, राधाकृष्ण मैनाली, शितल झा, केशरमणि पोखरेल प्रति कृतज्ञता प्रकट गर्दै उहाँहरुप्रति यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ । त्यस्तै, भेलामा सहभागी हुनुभएकोमा शिक्षक आन्दोलन र संगठनको निर्माणमा अगुवाई गर्दै नेपालको वामपन्थी आन्दोलनमा योगदान पु¥याउनु भएका बद्रीप्रसाद खतिवडाप्रति कृतज्ञता प्रकट गर्दै उहाँप्रति यो भेला धन्यवाद ज्ञापन गर्दछ ।


    ३. सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टीको दर्ता खारेज गर्नुका साथै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) पूर्ववत् स्थितिमा रहने फैसला गरेपछि नेकपा (एमाले) का सबै कमिटी, सम्बद्ध जनसंगठन र पेशागत संगठन लगायत सबै संरचनाहरु उक्त दुई कम्युनिष्ट पार्टीहरुको एकीकरण पूर्वको स्थितिबाट विधिसम्मत सञ्चालन र क्रियाशील तुल्याउनु कानूनसम्मत र पद्धतिसम्मत हुन्छ । यसरी पार्टीलाई विधान, विधि र पद्धति अनुरुप सञ्चालन गरेर मात्र नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिन्छ । यसलाई क्षतविक्षत तुल्याउँदै राष्ट्रिय स्वाधीनतालाई समेत कमजोर बनाउने सबै प्रकारका षडयन्त्रहरुलाई विफल गर्दै नेकपा एमालेलाई एकताबद्ध र सुदृढ बनाउन सकिन्छ । यसको विपरीत सर्वोच्च अदातलको फैसलामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का बीच पुनः एकीकरणको सम्भावनाबारे छलफल गर्न निर्वाचन आयोगले दिएको १५ दिनको समयको उपयोग गर्दै तत्सम्बन्धमा पार्टीको स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीका बैठक बोलाई छलफल गर्नुको साटो गत फागुन २८ गते आफ्नो गुटका सीमित व्यक्तिहरु बाहेकका केन्द्रीय कमिटी सदस्यहरुलाई कुनै जानकारी नगराई प्रधानमन्त्रीको सरकारी निवासमा गुटको भेला गरी पार्टी विधान विपरीत स्वेच्छाचारी किसिमले पार्टी विधान संशोधन, केन्द्रीय कमिटीका पदाधिकारीहरुको जिम्मेवारी हेरफेर र परिवर्तन तथा नेकपा ९एमाले० को सदस्य नै नरहेका केही व्यक्तिहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने जस्ता अवैध निर्णय र स्वेच्छाचारी कार्यकोे यो भेला तीब्र विरोध गर्दछ । यस प्रकारको कार्य सर्वोच्च अदालतको फैसलाको मर्म विपरीत तथा नेकपा (एमाले) को एकतामा भाँजो हाली पार्टीलाई विभाजन गर्दै अन्ततः नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउने र विसर्जन गर्नेतर्फ परिलक्षित रहेको छर्लङ्गै छ । अतः पार्टी विधान, पद्धति र नेकपा एमाले को सिद्धान्त, नीति र अभ्यास विपरीत अध्यक्ष पदमा रहनुभएका केपी शर्मा ओलीको तर्फबाट भएका कथित निर्णय र कामहरुलाई यो भेला पूर्णतः अस्वीकार गर्दछ ।


    ४. नेकपा (एमाले) केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) संग सम्झौता गर्नुका साथै २०७५ साल जेठ ३ गते नेकपा (माओवादी केन्द्र) संग पार्टी एकीकरणसम्बन्धी घोषणामा हस्ताक्षर गर्नुभएको थियो । यस तथ्यको स्मरण गराउँदै नेपालको कम्युनिष्ट आन्दोलनमा विगतमा देखिएका फुटको श्रृंखलालाई सधैंका निम्ति अन्त्य गर्ने प्रतिबद्धताका विपरीत उहाँले पार्टीको एकता तथा कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न गर्नुभएका विभिन्न गतिविधिहरु प्रति दुःख प्रकट गर्दै नेकपा (एमाले) को एकता जोगाउन सर्वोच्च अदालतको पैmसला अनुरुप नेकपा (माओवादी केन्द्र) संगको एकीकरण पूर्वको पार्टीको संगठनात्मक स्थितिलाई स्वीकार गरी फागुन २८ गते सरकारी निवास, वालुवाटारमा पार्टीको विधान, पद्धति र अभ्यास विपरीत गरिएका कथित निर्णयहरु रद्द गरी क्रमशः पार्टी स्थायी कमिटी, पोलिटव्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न यो भेला जोडदार माग गर्दछ ।


    ५. प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वेच्छाचारीरुपमा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको यो भेला स्वागत गर्दछ। सो फैसलाबाट प्रधानमन्त्रीद्वारा नेपालको संविधानको अपव्याख्या गर्ने कामलाई समेत रोकिएको थियो । तर अदालतले नेकपाको नामसम्बन्धी अर्को मुद्दामा फैसला गर्दा विघटनसम्बन्धी मुद्दाको फैसलामा अन्तरनिहित कतिपय कुराहरुसंग बाझिने गरी निवेदकले माग गर्दै नगरेको विषयमा प्रवेश गरी राजनीतिक किसिमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने निर्णय गर्यो । यस्तो सर्वोच्च अदालतको फैसलाप्रति यो भेला असहमति प्रकट गर्दछ । नेपालको संविधान र कानून अनुरुप दुई स्वतन्त्र राजनीतिक दलहरु निर्वाचन आयोगमा विधिवत् दर्ता भई नेपाल राजपत्रमा समेत सोही अनुरुप सूचना प्रकाशित हुनुका साथै झण्डै बितेका तीन बर्ष निरन्तर गतिविधि गर्दै निर्वाचनमा उम्मेदवारी दिएर जनताबाट अनुमोदन प्राप्त गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गरिनु संविधान प्रदत्त राजनीतिक दलको एकीकृत हुनपाउने अधिकार एवम् जनताको सार्वभौम अधिकारमाथिको समेत प्रहार हो । यस प्रकारका कार्यहरुले राष्ट्रको दीर्घकालिन हितमा समेत कुप्रभाव पार्ने हुँदा स्वतन्त्र न्यायपालिका र कानूनी शासनको अवलम्वनमा पुनः जोड दिदै अदालत तथा निर्वाचन आयोग लगायतका राज्यका सबै निकायहरुलाई संविधान, कानून र सुशासनका मान्यताअनुरुप अघि बढ्न यो भेला आग्रह गर्दछ ।


    ६. नेपालमा एकीकृत, सशक्त र सुदृढ कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ गठित नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई षडयन्त्रमुलक किसिमले छिन्नभिन्न गरिएको कार्यबाट शिक्षा लिदैै नेकपा (एमाले) लाई समेत फुटाई नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने र नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानलाई नै कमजोर तुल्याउने देशी, विदेशी प्रतिक्रियावादीहरुको षडयन्त्रको भत्र्सना गर्दै त्यस्तो षडयन्त्रलाई विफल तुल्याई राष्ट्रको अस्मिता तथा कम्युनिष्ट आन्दोलनको भविष्य सुरक्षित गर्न एकता र दृढताका साथ अग्रसर हुन नेकपा ९एमाले० पार्टी पंक्तिका साथै सम्पूर्ण देशभक्त तथा वामपन्थी शक्तिलाई यो भेला हार्दिक आव्हान गर्दछ । राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, समाजवाद उन्मुख शासनप्रणालीको विकास गर्दै सामाजिक रुपान्तरण, सामाजिक न्याय तथा समृद्धिका लागि एकता र सहकार्यको मार्गमा अग्रसर हुन यो भेला सम्पूर्ण कम्युनिष्ट पार्टी र समूहहरुलाई हार्दिक आव्हान गर्दछ ।


    ७. पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीलाई समेत विधान, विधि, पद्धति अनुरुप अगाडि बढ्न नदिई तथा प्रतिनिधि सभालाई असंवैधानिक रुपमा विघटन गरी नेपालको राजनीतिमा सिर्जना गरिएको राजनीतिक अस्थिरता तथा पार्टीभित्रको अराजकता र अन्योललाई चिर्न नेकपा (एमाले) का घोषित सिद्धान्त, नीति र कार्यक्रम अनुरुप पार्टी र यससंग सम्बद्ध सबै जनसंगठन र पेशागत संगठनहरुलाई अगाडि बढाउन तथा अध्यक्ष केपी शर्मा ओलीस्वयंको गुटबन्दीबाट भएका र हुनसक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनैपनि काम कार्वाईका विरुद्ध दृढताका साथ अग्रसर हुन यो भेला नेकपा (एमाले) का सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछ ।


    ८. पार्टीको विधान, विधि र पद्धतिविपरीतका कथित निर्णयहरु गरी नेकपा ९एमाले० को देश, पार्टी र जनताप्रति प्रतिबद्ध अनुशासित पंक्तिलाई राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि अनिवार्य भएको यो राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित हुनुभएका नेता कार्यकर्ताहरुलाई केपी शर्मा ओली पक्षबाट सार्वजनिकरुपमा दिइएको धम्की तथा यो राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी नहुन दिइएको कथित निर्देशनलाई अस्वीकार गर्दै हजारौंहजार पार्टी सदस्यहरुको अथक परिश्रमबाट निर्माण भएको नेकपा एमालेलाई गुट र सत्तास्वार्थमा दुरुपयोग नगर्न यो भेला सम्बन्धित सबैलाई सचेत गर्नचाहन्छ । देशका विभिन्न भागमा पार्टीका कार्यकर्ता र सदस्यहरुलाई धम्क्याउने, तर्साउने र प्रलोभन दिनेजस्ता निकृष्ट कार्यहरुको यो भेला निन्दा गर्दछ ।


    ९. प्रनिधिसभाको पुनःस्थापनाका लागि आन्दोलनमा उत्रने तथा सशक्त आवाज उठाउने पार्टीपंक्ति तथा सम्पूर्ण जनसमुदायप्रति कृतज्ञता प्रकट गर्दै उहाँप्रति यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ । उक्त आन्दोलनमा योगदान गर्नुका साथै नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा र सम्बद्र्धनका लागि निर्भय र अठोटका साथ अग्रसर हुनुहुने नेकपा (एमाले) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा अझ सशक्त रुपमा सक्रिय हुन यो भेला हार्दिक आव्हान गर्दछ ।


    १०. नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पु¥याउने सबै प्रकारका असमान सन्धि–सम्झौता र कार्यहरुको विरोध गर्दैआएको छ । संविधान सभामा लामो छलफल र बहसपछि बनेको नेपालको संविधानले पनि सबै प्रकारका असमान सन्धि सम्झौताहरुको पुनरावलोकन गरी राष्ट्रिय हितलाई सर्वोपरी राखेर अन्य देशहरुसंग सन्धि सम्झौता र सहमति गर्ने एवम् संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील एवम् असंलग्नताका सिद्धान्त तथा स्वतन्त्र परराष्ट्र नीतिको आधारमा नेपालको परराष्ट्र नीति सञ्चालन हुने स्पष्ट मार्ग निर्देशन गरेको छ । यसको विपरीत प्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीको नेतृत्वमा भएका नेपालको हित प्रतिकूलका कतिपय सम्झौता, निर्णय र कामहरुको विरोध गर्दै यो भेला तिनलाई अस्वीकार गर्दछ । साथै नेपालको सीमा क्षेत्रमा देखा परेका समस्याप्रति नेपाल सरकारको मौनताको विरोध गर्दै अन्तर्राष्ट्रिय कानून, मान्यता र अभ्यास अनुरुप नेपालको भूभाग, सीमाको सुरक्षा गर्दै नेपालको भौगोलिक अखण्डतामा आँच आउन नदिन यो भेला सम्बद्ध जिम्मेवारहरुसंग माग गर्दछ ।


    ११. नेपालको संविधानको मार्ग निर्देशन अनुरुप नागरिकता, नेपाल सरकार र विभिन्न मुलुकहरुका बीचमा भएका सहयोग सम्झौता तथा नेपालका प्राकृतिक स्रोतहरुको उपयोगका सम्बन्धमा हुने कुनैपनि सम्झौता र सहमति नेपालको स्वतन्त्रता, स्वाधीनता र हित अनुकूल मात्र हुनुपर्नेमा जोड दिदै त्यसतर्फ यो भेला सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछ ।


    १२. देशलाई अस्थीर राजनीति, आर्थिक विश्रृंखलता, अन्योल र अशान्तिबाट जोगाउन सम्पूर्ण लोकतान्त्रिक राजनीतिक दलहरुलाई जिम्मेवारीवोधका साथ अग्रसर भई देशलाई उचित निकास दिने कार्यमा योगदान पु¥याउन यो भेला हार्दिक आव्हान गर्दछ ।


    १३. कोरोना विषाणुको महामारीबाट जनतालाई जोगाउनको लागि भरपर्दो खोपको व्यवस्था गर्न तथा विगतमा झैं औषधोपचारका सामग्री आयातमा भ्रष्टाचार हुननदिन यो बैठक माग गर्दछ । साथै सार्वजनिक भएका भ्रष्टाचारसम्बन्धी विभिन्न कार्यहरुको बारेमा तथ्यसंगत किसिमले छानबिन गरी दोषी उपर प्रभावकारीरुपमा कानूनी कार्वाई गर्न यो भेला सम्बन्धित निकायहरुसंग माग गर्दछ ।


    १४. कोराना विषाणुको महामारीबाट नेपालको अर्थतन्त्र र समाजमा पर्न गएको कुप्रभावको गहन अध्ययन गर्दै खोप लगायतका जनस्वास्थ्यसंग सम्बन्धित कामहरु सुव्यवस्थित किसिमले अगाडि बढाउन, आर्थिक क्रियाकलापलाई प्रोत्साहित गर्न र यससम्बन्धी सबै काम पारदर्शीरुपमा गर्न तथा भ्रष्टाचारीहरु माथि कानूनी कावाई गर्न यो भेला सम्बन्धित सबैसंग यो बैठक आग्रह गर्दछ ।


    १५. देशमा बढ्दो वेरोजगारी, जनताको दैनिक जीवनलाई कठीन बनाइरहेको बढ्दो महंगी र सामाजिक अपराधतर्फ ध्यान दिई त्यसको समाधान गर्न राज्ययन्त्र परिचालित हुनुपर्नेमा जोड दिदै गुट र सत्तास्वार्थमा राज्य स्रोत दोहन गर्ने कार्यको यो भेला भत्र्सना गर्दछ ।


    १६. नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धात्मक प्रक्रियाबाट आफुलाई अगाडि बढाउँदै नेपालको राष्ट्रिय स्वाधीनता र हितलाई सर्वोपरी राखेर क्रियाशील हुनेभनी गरेको सार्वजनिक प्रतिबद्धतालाई यो भेला हार्दिक स्वागत गर्दछ । साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई यसको क्रान्तिकारी र देशभक्तिपूर्ण चरित्र अनुरुप अगाडि बढाउन वामपन्थी एकताका लागि योगदान गर्न समेत यो भेला आव्हान गर्दछ ।


    १७. हाम्रो पार्टी नेकपा (एमाले) को यो राष्ट्रिय कार्यकर्ता भेलालाई भव्यरुपमा सफल पार्न नैतिक, भौतिक लगायत विभिन्न किसिमले सहयोग गर्ने सबैलाई यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

  • ब्यूँतियो वाइसिएल, राष्ट्रिय भेला गर्ने घोषणा

    ब्यूँतियो वाइसिएल, राष्ट्रिय भेला गर्ने घोषणा

    काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) ब्यूँतिएको छ । केन्द्रमा माउ पार्टी ब्यूँतिएसँगै चर्चित भातृसंगठन वाइसिएल समेत ब्यूँतिएको हो । संगठनले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतको आदेश पछि एमाले र माओवादी केन्द्र पार्टी अस्तित्वमा आएका छन् । यो संगठनको काठमाडौंमा चैत ४ र ५ गते बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले राष्ट्रय भेला आयोजना गर्ने निर्णय लिएको हो ।

    भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने भएको छ । संगठनलाई चलायमान गराउन राष्ट्रिय भेला अगावै टोल कमिटीदेखि प्रदेश कमिटीसम्म भेला आयोजना हुने भएको छ । राष्ट्रिय भेलाका प्रतिनिधिहरु प्रदेश भेलाबाट चुनिएर आउने छन् । बैठकले राष्ट्रिय भेला अगावै दुई लाख नयाँ सदस्यता विस्तार गर्ने निर्णय समेत गरेको छ।

  • सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीको माग

    सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीको माग

    काठमाडौ । यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजन गर्न आग्रह गरेको हो ।

    पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको भन्दै महासंघले चैत्रको तेस्रो साताभित्र भाडा समायोजन नगरे सवारी साधन नचलाउने चेतावनीसमेत दिएका छन् ।

    महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ ।

    वैकल्पिक व्यवस्था नभएसम्मका लागि प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट दिनुपर्ने शर्त पनि महासंघले राखेको छ ।

  • नेपालमा ३ हजार २ सय परीक्षण गर्दा थप १ सय ७ जनामा कोरोना संक्रमण

    नेपालमा ३ हजार २ सय परीक्षण गर्दा थप १ सय ७ जनामा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ६१० जना पुगेको मन्त्रालयले जनाएको छ ।

    संक्रिय संक्रमितको संख्या १ हजार रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । त्यो सहित कोरोनाबाट मृत्यु ३०१५ पुगेको छ ।

  • एमाले संसदीय बोर्डमा झलनाथ र माधवसहित २७ जना मनोनित, यस्तो छ सूची

    एमाले संसदीय बोर्डमा झलनाथ र माधवसहित २७ जना मनोनित, यस्तो छ सूची

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकले संसदीय बोर्ड गठन गरेको छ । २७ सदस्यीय बोर्डमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पनि मनोनीत भएका छन् ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले पार्टीमा सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा निर्णय गर्नका लागि उक्त बोर्ड गठन गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा अ‍ोली प्रमुख रहेका बोर्डको सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनित भएका छन् ।

    बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन् ।

  • कुवेतमा कोरोनापछि लागेको प्रतिवन्ध हट्यो, नेपाली पनि जान सक्ने

    कुवेतमा कोरोनापछि लागेको प्रतिवन्ध हट्यो, नेपाली पनि जान सक्ने

    कुवेत । कोरोना महामारी फैलिएपछि कुवेतले मुलुक प्रवेशमा लगाएको प्रतिबन्ध हटाएको छ । यसले नेपाली कामदार समेत लाभान्विन हुने भएका छन् । नेपालसहित ८ मुलुकका नागरिकले कुवेतले अझै प्रवेश अनुमति दिएको थिएन । प्रतिबन्ध फुकुवा भएपछि आगामी मार्च २५ तारिखबाट नेपालसहित बहराइन, युएई, भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतबाट विदेशी श्रमिक कुवेत जान सक्ने भएका हुन् ।

    कुवेत जानु अगाडी कोरोना पीसीआर परिक्षण गरी नेगेटिभ रिर्पोट भने आएको हुनुपर्छ । यस्तो अवधि ७२ घण्टाको तोकिएको छ । पीसीआर रिपोर्टमा कोरोना रिपोर्ट नेगेटिभ आएपनि ज्वरो र रूघाखोकीको लक्षण देखिए पनि कुवेतले प्रवेश दिने छैन । कुवेतले आगामी सेप्टेम्बरपछि भने कोरोना विरुद्धको खोप नलगाएका आप्रवासी कामदारको आवासीय अनुमति पत्र समेत नविकरण नगर्ने भएको छ । कुवेतमा कोरोना खोप नि:शुल्क दिइएको छ ।

  • ओलीले बोलाए एमाले संसदीय दलको बैठक, नेपाल-खनाल पक्षीय सांसद नजाने

    ओलीले बोलाए एमाले संसदीय दलको बैठक, नेपाल-खनाल पक्षीय सांसद नजाने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी संसदीय दलको बैठक डाकेका छन् । तर, यो बैठकमा वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधर सांसद भने उपस्थित नहुने भएको छन् । त्यो समुहको राष्ट्रिय कार्यकर्ता भेला आज पनि काठमाडौंमा जारी रहने छ ।

    ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका हुन् । यो समुहले बैठकलाई नियमित भनेको छ । तर अर्को पक्षले भने ओलीले सांसद आफुतिर तान्ने रणनीति अनुसार ओलीले बैठक बोलाएको अनुमान गरेको छ । ओलीले कारवाही गर्न सक्ने डरले पनि सांसद आफुतिर आउने अध्यक्षको विश्वास छ । सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएपछि अहिले एमाले नै फुटको नजिक पुगेको छ ।

  • खरीद गरेको थप खोप नआएपछि रोकियो खोप  अभियान

    खरीद गरेको थप खोप नआएपछि रोकियो खोप अभियान

    काठमाडौं । नेपालले भारतको सेरम इन्स्टिच्युटसँग किनेको खोप नआएपछि खोप अभियान नै प्रभावित बनेको छ । सरकारले तत्कालका लागि कोरोना खोप अभियान नै स्थगित गरेको छ । सेरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिएर खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज मात्र नेपाल आएको छ । बाँकि १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    यसअघि भारतले १० लाख कोरोना खोप अनुदानमा दिएको थियो । त्यससँगै १४ माघबाट खोप अभियान सुरु भएको हो । प्रारम्भमा पहिलो प्राथमिकतामा रहेकालाई खोप दिइएको हो । सरकारले किनेको १० लाख डोज नेपाल आएपछि फागुन २३ देखि ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । बुधबारसम्म नेपालमा १६ लाख ७३ हजार २२७ जनाले कोरोना खोप लगाएका छन् । पहिलो डोज लगाएकालाई भने वैशाख ७ गतेदेखि दोस्रो डोज दिइने छ ।

  • आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

    आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

    काठमाडौं । यो वर्ष आरोहण सिजनलाई सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिने भएको छ । आपतकालिन समयमा आरोही तथा सहयोगीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले काजमा डाक्टर खटाउने भएको छ । पर्यटन विभागका अनुसार सगरमाथाको आधार शिविर र नाम्चेदेखि आधार शिविरको बीचमा एक स्थानमा डाक्टर रहने छन् ।

    उनीहरुले आरोहीलाई प्राथमिक उपचार गरी तत्काल उद्दारमा सहयोग गर्ने भएका छन् । जारी सिजनका लागि आरोहण अनुमति लिने क्रम शुरु भएको छ । नेपालका सबै जसो ८ हजार मिटर भन्दा अग्ला हिमालमा अनुमती जारी हुन सक्ने अनुमान विभागले गरेको छ । यसरी डाक्टर नै फिल्डमा खटाउन लागिएको पहिलो पटक हो ।

    यो पटक कोरोना भाइरसको महामारीका बीच संसारभर मानिसहरुको आत्मविश्वास खस्किएको छ । आरोहणमा आत्मविश्वासको भूमिका निकै महत्वपूर्ण हुन्छ । विभागका अनुसार विगतमा आरोहणमा आरोहीको स्वास्थ्य अवस्थाबारे त्यति धेरै चासो राख्ने प्रचलन थिएन । यसपटक भने स्वास्थ्यमा विशेष आरोही राखिने भएको छ ।

    नेपाल आउनु अगाडि नै आरोहीले कोरोना भाइरसको परीक्षण गर्नु पर्नेछ । नेगेटिभ आएपछि मात्र नेपाल आउन पाइन्छ । नेपाल आएपछि पनि पर्यटकले अनिवार्य क्वारेन्टिनका नियम पालना गर्नुपर्छ । आरोहण अनुमति लिने बेला पर्वतारोही स्वयमःले आफू आरोहणमा जान योग्य रहेको स्वःघोषणा गर्नुपर्छ । त्यसपछि मात्र आरोहण अनुमति जारी हुन्छ ।

  • च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पुरा

    च्याम्पियन्स लिगको क्वार्टरफाइनल समिकरण पुरा

    काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२०\२१ को क्वार्टरफाइनल समिकरण पुरा भएको छ । आज राती भएका अन्तिम १६ का खेलहरुबाट अन्तिम ८ मा पुग्ने टोलीहरुको टुङ्गो लागेको हो । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भए । यसबाट क्वार्टरफाइनल खेल्ने ८ वटा टोली निश्चित भएका हुन् ।

    चेल्सीसँगै इंग्ल्याण्डबाट म्यानचेष्टर सिटी र लिभरपुल छनोट भए । जर्मनीबाट बार्यन र बोरुसिया डर्टमण्ड क्वाटरफाइनल पुगे । स्पेनबाट रियल मड्रिडमात्र क्वाटरफाइनल पुग्न सक्यो । बार्सिलोना, एट्लेटिको मड्रिड र सेभिया अन्तिम १६ मै रोकिए । फ्रान्सबाट पेरिस सेन्ट जर्मन (पीएसजी) र पोर्चुगलबाट एफसी पोर्टो क्वाटरफाइनलमा पुगे । इटालियन सिरी एको कुनै पनि टोली अन्तिम ८ मा पुग्न सकेन ।

    क्वाटरफाइनल पुगेकामध्ये म्यानचेष्टर सिटी र पीएसजी बाहेक अरु ६ क्लब पूर्वविजेता हुन् । पीएसजी गत सिजन फाइनल पुगेर बार्यनसँग हारेको हो । अब क्वाटरफाइनल र सेमिफाइनलका लागि शुक्रबार तालीका सार्वजनिक हुँदैछ । क्वाटरफाइनलमा पहिलो लिगका खेल अप्रिल ६ र ७ मा हुनेछन् । दोस्रो लेग अप्रिल १३ र १४ तारीखमा हुनेछन् ।

  • बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइयो

    बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइयो

    बर्दिया । बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइएको छ । बर्दियामा पछिल्लो समय बाघको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । मानिसमाथि आक्रमण गरी आतंक फैलाएको एउटा बाघलाई आज बर्दियाको गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएको राष्ट्रिय निकुन्जले जनाएको छ ।

    बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।


    मंगलबार पनि उक्त बाघको आक्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्जको जंगलभित्र निगुरो टिप्न गएकी ६५ वर्षीया डल्लु राउतको ज्यान गएको थियो ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, सेना र निकुञ्जका कर्मचारीहरुको संयुक्त प्रयासमा उक्त बाघलाई बर्दियाको गेरुवा गाउँपालिका–४ राजीपुरबाट नियन्त्रणमा लिइएको हो । बाघलाई नियन्त्रणमा लिँदा लठ्याउने ओषधि प्रयोग गरिएको छ । नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जभित्र खोरमा राखिने भएको छ ।

  • निर्माण व्यवसायीले भेटे भौतिक मन्त्री, सहुलियत दिन माग

    निर्माण व्यवसायीले भेटे भौतिक मन्त्री, सहुलियत दिन माग

    काठमाडौं । नपाल उद्योग वाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त प्रतिनिधिमण्डलले बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई भेटेको छ । भेटमा व्यवसायीका समस्या र समाधानका उपायबारे जानकारी गराइएको छ ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिसन, मूल्यवृद्धि, कोभिड–१९ को मापदण्ड, कानून संशोधनलगायत विषयमा मन्त्री नेम्बाङको ध्यानाकर्षण गराएका छन् ।

    जवाफमा मन्त्री नेम्वाङले व्यवसायीहरूका समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग छलफल गर्ने आश्वासन दिएका छन् । म्याद थप बारे समस्या समाधान गर्न कानूनी जटिलता भएको हुँदा कानुन नै संसोधन गर्ने मन्त्री नेम्बाङले जानकारी दिएका छन् ।


    कोभिड–१९ को असरले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रही बन्द प्राय रहेको निर्माण कार्यलाई पुनः संचालन गरी आर्थिक कारोबारलाई चलायमान बनाउन निर्माण व्यवसायीले मन्त्रीसमक्ष माग गरेका थिए । सम्पन्न भएका र चालु अवस्थामा रहेका ठेक्काको आफ्नो बीलबाट कट्टी भई राज्यको ढुकुटीमा निष्क्रिय अवस्थामा रहेको पाँच प्रतिशत धरौटी बापतको रकम निर्माण उद्योगलाई जिवन्तता दिन निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीको आधारमा फिर्ता पाउने व्यवस्था गरिनु पर्ने माग महासंधको रहेको छ ।

    कोभिडको प्रभाव, बर्षायाम तथा चाडपर्वले गर्दा काम हुन नसकी ती ठेक्काहरूको म्याद थप नभई विकास निर्माणका काम ठप्प भएको भन्दै व्यवसायीले पुनः म्याद थप हुनुपर्ने माग समेत दोहोर्याएका छन् ।

    हाल निर्माणाधिन रहेका सबै प्रकारका परियोजना एवं ठेक्काहरूको म्यादको सन्दर्भमा गएको असार २९ र माघ ११ को मन्त्रिपरिषद्को निर्णयानुसार म्याद समाप्त भएको मितिदेखि लागु हुने गरी ६ महिना म्याद थप भएता पनि त्यस अवधिमा लकडाउनका कारण धेरैजसो कल कारखाना बन्द भएको महासंघले स्पष्ट पारेको छ ।

    सबै प्रकारका निर्माण कार्यहरूको म्याद थप ६ महिना थप गर्न नेपाल सरकारबाट नीतिगत निर्णय गरिनुपर्ने माग महासंघले राखेको छ ।


    २०७६ जेठ १५ अगाडि सम्झौता भई निर्माण कार्यहरू सम्पन्न भएका र संचालनमा रहेका परियोजनाहरूमा डिजेल खर्चको मूल्य अभिवृद्धि कर फिर्ताको सुविधा नपाएको समेत महासंघको भनाई छ ।

    निर्माण उद्योगीहरु आर्थिक रुपले धराशायी हुने भएकोले पुराना परियोजनाहरूको इष्टिमेटमा समेत भएको मूल्य अभिवृद्धि करको रकम सम्बन्धित् योजना तथा सार्वजनिक निकायहरूले थप गरी व्यवसायीहरूले सहज रुपमा पाउने व्यवस्था गरिनुपर्ने माग महासंघले राखेको छ ।

    आर्थिक वर्ष २०७५\०७६ वा सो भन्दा अघिसम्मको मूल्य अभिवृद्धि कर तथा आय कर विवरण पेश गर्ने र नगर्ने मूल्य अभिवृद्धि कर तथा आयकरमा दर्ता भएका तर विवरण बुझाएका तथा नबुझाएका जे.भी निर्माण कम्पनी समेतका करदाताले आफुले बुझाउनु पर्ने वक्यौता मूल्य अभिवृद्धि कर, आयकर र विवरण २०७८ चैत्र मसान्त भित्र बुझाएमा त्यसमा लाग्ने जरिवाना, थप दस्तुर र ब्याज छुट गरी एक पटकको लागि साँवाकर मात्र चुक्ता गरे पुग्ने व्यवस्था गरिनुपर्ने माग महासंघले राखेको छ ।

    हाल संसदमा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रुपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसंग सम्बन्धित कानूनहरु निर्माण मैत्री हुने गरी संशोधन गरिनुपर्ने महासंघको माग रहेको छ ।

    विगत ३ वर्षदेखि सम्बन्धित् प्रदेश सरकारलाई हस्तान्तरण गरेका विकास निर्माणका कार्यहरू प्रदेश सरकारले सोको स्वामित्व लिन अस्विकार गरेको देखिएकोले उक्त योजनाहरूको निर्माण कार्यहरूको म्याद थप, बजेटको समस्याले गर्दा ती योजनाहरू ठप्प रहेकोले यस्ता किसिमका योजनाहरूका समस्या तत्काल समाधान गरिनुपर्ने माग मन्त्री नेम्बाङ समक्ष राखिएको छ ।


    विगत केही समय यता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट पटक पटक भइरहेको श्रृखंलावद्ध आक्रमण तथा आगजनीका घटना बारे अवगत गराई दोषीलाई कडा कारबाहीकोे माग गर्दा समेत त्यस्ता घटनामा कुनै कमी नआई निर्माण व्यवसायीहरुलाई अझ बढी आतंकित पार्ने निन्दनीय कार्य निरन्तर भइरहेकोले यस समस्या तत्काल समाधान तत्काल गर्न मन्त्री नेम्बाङको ध्यानाकर्षण गराइएको छ ।

  • नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ५५० जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ९ सय ५४ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • लयमा फर्कियो नेपाली सेयर बजार,६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

    लयमा फर्कियो नेपाली सेयर बजार,६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौं । सेयर बजार उच्च अंकले कमब्याक गरेको छ । लगातार दुईसाताको गिरावट पछि बजार लयमा फर्किएको हो ।

    पछिल्लो दुईसातामा करिब २२५ अंकले घटेको बजार आज करिब ४१ अंकले बढेको छ । सूचकमा सुधार आए पनि कारोबार रकममा भने घट्दो क्रममा नै रहेको छ ।

    फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा पछिल्लो तीन सातामै घटेर करिब साढे ३ अर्बमा सीमित भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँ बराबरको ८६ लाख २६ हजार ६६७ कित्ता सेयर किनबेच भएका छन् ।

    बुधबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ३७२.५८ अंकले बढेको छ ।

    कारोबारमा आएका २१२ कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै नेपाल लाइफ इन्स्योरेन्स १८ करोड र एचआइडीसीएल १६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इदिमार्दी हाइड्रोपावर र पञ्चकन्यामाइ हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, खानीखोला हाइड्रोपावरका सेयरधनीले पनि ९.३८ प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज घलेम्दी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ८.९५ प्रतिशत गुमाएका छन् ।

  • एमालेले फिर्ता लियो कर्णाली प्रदेशलाई दिएको समर्थन, शाहीको सरकार अल्पमतमा

    एमालेले फिर्ता लियो कर्णाली प्रदेशलाई दिएको समर्थन, शाहीको सरकार अल्पमतमा


    काठमाडौ । नेकपा एमालेले कर्णाली प्रदेश सरकरलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णय समेत गरेको छ । हाल कर्णालीमा माओवादी केन्द्रको नेतृत्व रहेको छ ।

    बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ। बैठकमा एमालेका २० जना सांसदमध्ये प्रदेश इञ्चार्ज यमलाल कँडेल सहित १० जना सांसदहरु मात्र सहभागि थिए । बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ ।

    कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।

  • ‘सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एकभारी छन्’

    ‘सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एकभारी छन्’

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताएका छन्।

    काठमाडौँमा आफ्नो पक्षको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

    उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए।

    पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यो कसको कारणले सिर्जना भयो ? यसको जिम्मेवार को हुन् ? यो प्रश्न उत्पन्‍न भएको छ,’ उनले भने, ‘विगतको धेरै चर्चा गर्न चाहन्‍नँ । यो कार्यकर्ता भेला रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’

    ‘आजको यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन, एमालेका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीजी, उहाँ नै सबै कामका निम्ति, सबै बितण्डाका निम्ति, यो सबै अवस्थाका निम्ति, पार्टीभित्र विग्रहका निम्ति जिम्मेवार हुनुहुन्छ’, उनले भने, ‘यसका निम्ति तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण छन्।’

  • अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए

    अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए

    अमेरिका । अमेरिकाको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् ।

    प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ ।

    जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका व्यवसायमाथि शृंखलाबद्ध आक्रमण हुन थालेका छन् ।

    चार जनाको जोर्जियाको राजधानी एटलान्टाको बाहिरी इलाका आर्कवर्थ नजिक योङ एसियन मसाजमा हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मारिएकाहरुमा दुई जना एसियाली महिला, एक जना श्वेत महिला र एक जना श्वेत पुरुष रहेका छन् भने एक जना हिस्पानिक समुदायका व्यक्ति घाइते भएका छन् ।

    एटलान्टा प्रहरी विभागले उत्तरपूर्वी एटलान्टाका दुई वटा व्यवसाय– गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पा– मा आक्रमण भएको र त्यहाँ चार जना महिलाको हत्या भएको जनाएको छ । प्रहरीले मारिने चारै जना एसियाली मुलका महिलाहरु भएको बताएको छ ।

    प्रहरीले उक्त तीनवटै आक्रमणमा रोबर्ट आरोन लोङ संलग्न रहेको आशंका गरेको छ ।

    एटलान्टा प्रहरी प्रवक्ता सर्जेन्ट जोन चाफले प्राप्त प्रमाणहरुले उक्त तीनवटै आक्रमणमा चिरोकी काउन्टी निवासी रोबर्ट आरोन मुख्य आशंकित व्यक्ति रहेको भेटिएको बताए । उनले पक्राउ परेका व्यक्ति हाल प्रहरी हिरासतमा रहेको जानकारी दिए ।

    प्रहरीले आरोनलाई एटलान्टाबाट करिब २४० किलोमिटर टाढाबाट गिरफ्तार गरेको थियो । मृत्यु भएका सबैलाई गोली लागेको प्रहरीको भनाई छ । अमेरिकी सङ्घीय जाँच ब्युरोले पनि उक्त घटनामा स्थानीय प्रहरीलाई अनुसन्धानका लागि सहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

    जोर्जियामा करिब पाँच लाख एसियाली मुलका व्यक्तिहरु बसोबास गर्दछन् अर्थात् यहाँको कूल जनसंख्याको करिब चार प्रतिशत एसियाली मुलका छन् ।

    जोर्जियाको डेमोक्रेटिक पार्टीले मङ्गलबारको उक्त गोलीकाण्ड निकै भयानक र त्रासदीपूर्ण रहेको बताएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै एसियाली अमेरिकीमाथि भइरहेका तिरस्कारयुक्त घृणित अपराध अमेरिकाका लागि लज्जाको विषय रहेको भन्दै कडा शब्दमा निन्दा गरेका थिए ।

    उनले भनेका थिए, ‘यो गलत छ । यो गैर–अमेरिकी कदम हो । यसलाई रोक्नै पर्दछ ।’

  • नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु

    नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु

    काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको भेलाको अहिले उद्घाटन सत्र चलिरहेको छ । दुईदिन चल्ने भेलामा सहभागी हुन देशभरबाट समूहका नेता(कार्यकर्ताको सहभागिता छ ।

    अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध भेला गरेको सो समूहको भनाइ छ ।

    भेलामा केन्द्रीय समितिका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ । टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको एमाले नेपाल पक्षले जनाएको छ ।

    भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । भेला बिहीबारसमम चल्ने छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेका थिए । अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गर्दै आएको छ । अध्यक्ष ओलीले नेपाल समूहका नेताहरूको जिम्‍मेवारी खोसेका थिए । पार्टीमा ओलीले एकलौटी गरेपछि नेपाल समूहले भेला आयोजना गरेको हो । आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए ।

  • ७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

    ७ महिनामा विदेशबाट नेपालीले पठाए ५ खर्ब ६७ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्ष २०७७\७८ को ७ महिनामा सम्ममा विदेशमा रहेका नेपालीले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७\०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु.६२९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

  • एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

    एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा प्रारम्भ हुने भएको छ । तर, यो भेलामा नजान ओली समुहको एमालेले भने कडा उर्दी जारी गरेको छ । नेता इश्वर पोखरेलले एमालेको कुनै पनि राष्ट्रिय भेला आयोजना नभएको भन्दै गुट भेलामा सहभागी नहुने सबैमा आग्रह गरेका छन् ।

    तर, नेपाल-खनाल पक्षधरले भने भेलाको उदघाटनमै प्रधानमन्त्री आउनु पर्ने बताएका छन् । भेला दुई दिनसम्म चल्ने छ । जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेको बताइएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल(नेपाल समूह आक्रोसित बनेको हो ।

    सो कदमपछि एमाले विभाजनको नजिक पुगेको छ । भेलाका लागि खनाल-नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ ।

  • कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

    कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

    काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । उनी मष्तिष्कघातपछि काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारार्थ भर्ना भएका छन् । जोशीको अवस्था गम्भीर रहेको साथै उनको भेन्टिलेटरमा उपचार भैरहेको अस्पतालको भनाई छ । उनी १४ फागुनमा अस्पताल भर्ना भएका हुन् । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएपनि अवस्था फेरी गम्भीर भएको थियो ।

  • राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि झस्किए नेताहरु

    राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि झस्किए नेताहरु

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक बोलाएकी छिन् । भेटमा राष्ट्रपति तथा प्रधानमन्त्रीको अभिव्यक्तिबाट भने दलका नेताहरु झस्किएका छन् । बैठकमा सहभागी नेताहरुका अनुसार राष्ट्रपतिले निर्वाचनमा जानु नराम्रो नभएको भन्दै प्रधानन्त्रीको पक्षमा अभिव्यक्ति दिएकी छिन् । उता, प्रधानमन्त्रीले भने संसदले आफुलाई काम गर्न नदिएको भन्दै पुनः विघटन र नयाँ निर्वाचनमा जानु पर्ने आषयको अभिव्यक्ति दिएका छन् ।

    प्रधानमन्त्रीको यस्तो भनाईको भने माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताले प्रतिवाद गरेका थिए । बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको प्रचण्ड र रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए । शेरबहादुर देउवा भने मौन बसेको नेताहरुले जनाएका छन् । जनमोर्चाका नेता चित्र बहादुर केसीले भने संसद विघटन गर्नु अगाडी नै किन यस्तो वैठक नराखेको भन्दै राष्ट्रपतिसँग प्रश्न राखेका थिए ।

    प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्‌ले अहिले प्रभावकारी भूमिका खेल्न नसकिरहेको र ताजा जानदेशमा जानुपर्ने अवस्था आउनसक्ने भनेपछि दलका नेताहरु झस्किएका हुन् । यता, सरकारले नै संसदलाई विजनेश नदिई असफल बनाउने कोसिस गरिरहेको छ । संसद चलाउन सरकारको मूख्य भूमिका हुन्छ ।

  • नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामा चौथोपटक वृद्धि

    नेपालमा फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एक महिनामा चौथोपटक वृद्धि

    काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको भाउ पुनः बढेको छ । नेपाल आयल निगमले २८ माघयता मात्र चौथो पटक मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि नै लागू हुने भएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेको छ । नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११८ र डिजेल तथा मट्टितेलको १०१ रुपैयाँ पुगेको छ।

    हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा २ रुपैयाँ बृद्धि गरी ७४ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ। अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमको भनाई छ । यसअघि निगमले ४ र १७ फागुन तथा माघ ६ र २८ गते समेत पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

  • सिन्धुलीमा जिप दुर्घटना, चार जनाको मृत्यु

    सिन्धुलीमा जिप दुर्घटना, चार जनाको मृत्यु

    सिन्धुली । सिन्धुलीमा जिप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते छन् । प्रहरीका अनुसार कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप आज अपरान्ह पौने ४ बजे सडकबाट ५० मिटर तल खसेको हो । ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठ छन् । चालक भोजबिक्रम थापासहित घाइतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार जारी छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर पल्टिएको बताइएको छ । जिपमा ११ जना चढेका थिए ।

  • महिला क्रिकेट टिमलाई लोकतान्त्रीक खेलकुद संघको सम्मान

    महिला क्रिकेट टिमलाई लोकतान्त्रीक खेलकुद संघको सम्मान

    काठमाडौं । नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डिएससी काठमाडौंलाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा बिजयी भएर फर्किएको डिएसी महिला टिमलाई नगद ३० हजार सहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।


    मंगलबार काठमाडौं, नारायण गोपाल चोकस्थित हेडलाईन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाण्डौ क्षेत्र नं. ४ का प्रतिनिधी सभा साँसद गगन कुमार थापाले डिएससी महिला टोली तथा प्रशिक्षकलाई नगद सहित प्रशंसा पत्र प्रदान गरे ।


    टोलीलाई सम्मान गर्दै पूर्व मन्त्री थापाले सम्मान गरेकोमा नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशलाई धन्यवाद प्रदान गर्दै यस्ता कार्यक्रमले खेलाडीहरुको हौसला अभिबृद्धि गर्न मद्धत पुग्ने र प्रतियोगिताले खेलाडीहरुको स्तर बृद्धिमा सघाउ पुग्ने बताए । उनले टोलीलाई आगामी दिनमा पनि सफलता प्राप्तका लागि शुभकामना प्रदान गर्दै पुनः खेलाडीहरुलाई सम्मान गर्न पाउनेमा बिस्वस्त रहेको बताए ।


    नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश संयोजक तथा केन्द्रिय सदस्य दीपक गुरुङ्गले नेपाल लोकतान्त्रीक खेलकुद संघ खेलाडीहरुको अभिभावकको रुपमा रहेको भन्दै आगामी दिनमा खेलाडीहरुको हक हितका लागि सदा लागि पर्ने र खेलाडीहरुले आफुलाई कहिलै टुहुरो सम्झनु नपर्ने बताए ।
    महिला क्रिकेट खेलाडीहरुको स्तरोन्नती र क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले फागुन ६, ७ र ८ गते पोखरामा डिएससी र गण्डकी प्रदेशविच ५० ओभरको तीन एक दिवसिय मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । जसमा डिएससी तीनै प्रतिस्पर्धामा बिजयी भएको टोली प्रशिक्षक रविन जोशीले जानकारी गराए ।


    प्रतिस्पर्धामा जानेबेला खेलाडीहरुलाई बिदाई गर्दै नेपाल लोकतान्त्रीक खेलकुद बागमती प्रदेशका संयोजक दीपक गुरुङ्गले टोलीलाई बिजयी भएर फर्केको अवस्थामा हौसला स्वरुप नगद ३० हजारले सम्मान गर्ने जुन घोषणा गरेका थिए त्यसै घोषण अनुरुप टोलीलाई सम्मान गरिएको हो ।


    कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सचिव मनिष जोशी (राम), सदस्य कुमार बस्नेत, राजु बिक्रम थापा, दोलखा क्षेत्र नं. १ का उपसभापती राजन अधिकारी, बागमती प्रदेशका सचिव दामोदर भट्टराई (बद्री), कोषाध्यक्ष कविराज नेगी लगायतको उपस्थिती रहेको थियो ।

  • नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ४९५ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो

    विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो

    बीबीसी । अमेरिकाले विगत पाँच वर्षमा अस्त्र व्यापारमा आफ्नो विश्वव्यापी अंश बढाएर ३७ प्रतिशत पुर्‍याएको स्वीडनस्थित एउटा अनुसन्धान संस्थाले जनाएको छ।

    रुस र चीनबाट निर्यात घटेका बेला अमेरिका, फ्रान्स र जर्मनीले आफ्नो अस्त्र निर्यात बढाएका हुन्। हतियारको आयात र निर्यात शीतयुद्ध अन्त्य भएपछि अहिले उच्चबिन्दुमा पुगेको देखिन्छ।

    तर कोभिड महामारीले त्यसमा केही परिवर्तन ल्याउन सक्छ।मध्यपूर्वमा शस्त्रअस्त्र किन्ने होड अन्यत्रभन्दा बढी देखिएको छ।

    कस्तो छ बजार ?

    यस्तो विवरण सङ्कलन गरेको स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिट्यूट (सिप्री) का वरिष्ठ अध्ययनकर्ता पिटर वेजेमन भन्छन्, ‘सन् २०२० मा महामारी उत्कर्षमा पुगेको बेलामा समेत केही देशहरूले अस्त्रशस्त्र किन्ने ठूला सम्झौता गरेका छन्।’

    उक्त संस्थाका अनुसार अन्तर्राष्ट्रिय रूपमा अस्त्रशस्त्रको विक्री सन् २०१६ देखि सन् २०२० सम्म अघिल्लो पाँच वर्षको तुलनामा स्थिर रहेको थियो।आधाजसो अर्थात् ४७ प्रतिशत अमेरिकी अस्त्र मध्यपूर्वमा निर्यात भएको थियो। त्यसमध्ये अमेरिकाले बेचेको कुल अस्त्रको २४ प्रतिशत साउदी अरब गएको छ।

    आफ्नो बजार हिस्सा बढाएको अमेरिकाले यतिखेर ९६ देशमा आफूले उत्पादन गरेका अस्त्रशस्त्र पठाइरहेको छ।फ्रान्सले आफ्ना मुख्य अस्त्रको निर्यातलाई ४४ प्रतिशतले बढाएको छ भने जर्मनीको निर्यात पनि २१ प्रतिशतले बढेको छ।इजरेल र दक्षिण कोरिया दुवैले उल्लेख्य रूपमा निर्यात बढाएका छन्। तर अरू निर्यातकर्तासँग तुलना गर्दा तिनलाई सानै मानिन्छ।

    मध्यपूर्वमा कसरी भएको छ वृद्धि ?

    विगत पाँच वर्षको तथ्याङ्कसँग तुलना गर्दा सन् २०१६ देखि २०२० सँगको अवधिमा २५ प्रतिशत बढी अस्त्र किनेर मध्यपूर्व तीव्र गतिमा बढेको बजार बनेको छ।

    सो अवधिमा साउदी अरबको आयात वृद्धिदर ६१ प्रतिशत, इजिप्टको १३६ प्रतिशत र कतारको ३६१ प्रतिशत देखिन्छ। एशिया र ओशिआनिया मुख्य अस्त्र आयात गर्ने विश्वका ठूला क्षेत्र हुन्। त्यहाँ विश्वको ४२ प्रतिशत हतियार निर्यात भएका छन्। भारत, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र पाकिस्तान उक्त क्षेत्रका ठूला आयातकर्ता हुन्।

    रूस र चीनको व्यापार किन घट्यो ?

    रुस र चीन दुवैको अस्त्र निर्यात घटेको भए पनि सब(सहारा अफ्रिकामा यी देशहरू मुख्य निर्यातकर्ताका रूपमा छन्। यद्यपि सिप्रीका अध्ययनकर्ताहरू रुसले हालै कैयौँ देशसँग नयाँ सम्झौता गरेकाले आगामी दिनमा उसको हिस्सा बढ्ने धारणा राख्छन्।

    केही समययता रुसको अस्त्र निर्यात २२ प्रतिशतले कम भएको थियो। त्यसको एउटा मुख्य कारण भारतमा हुने निर्यात ५३ प्रतिशतले घट्नु हो।

  • लगातार गिरावट आएको नेपाली सेयर बजारमा झिनो सुधार

    लगातार गिरावट आएको नेपाली सेयर बजारमा झिनो सुधार

    काठमाडौं । सेयर बजारमा झिनो सुधार आएको छ । पछिल्लो दुईसाता यता लगातार गिरावट आएको बजारमा मंगलबार साढे २ अंकको सुधार आएको हो ।

    सूचकमा सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्ब रुपैयाँले घटेको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा पछिल्लो तीन सातामै घटेर करिब साढे ३ अर्बमा सीमित भएको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ बराबरको ९० लाख १२ हजार ८५३ कित्ता सेयर किनबेच भएका छन् ।

    मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचमा हरियाली छाएको छ भने ६ समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा धेरै २३०.२९ अंकले बढेको छ भने व्यापारसमूहको परिसूचक सबैभन्दा धेरै ७२.५९ अंकले घटेको छ ।

    कारोबारमा आएका २१६ कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै १९ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशीको १८ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक १७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    झिनो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, जोशी हाइड्रोपावर र खानीखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज राष्ट्रिय बीमा कम्पनीका प्रकोटर सेयरधनीले सबैभन्दा धेरै ८.८१ प्रतिशत गुमाएका छन् ।