Author: Vishwanews.com

  • बाइडेनले अघि सारेको १९ खर्ब डलरको राहत प्याकेज अमेरिकी कङ्ग्रेसबाट स्वीकृत

    बाइडेनले अघि सारेको १९ खर्ब डलरको राहत प्याकेज अमेरिकी कङ्ग्रेसबाट स्वीकृत

    वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ।

    राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्त्वपूर्ण विजय मानेका छन्।

    बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कङ्ग्रेसबाट उक्त विधेयक पारित भएको छ तर कङ्ग्रेसमा भएको मतदानमा २२०-२११ मत खसेको थियो। अर्थात् कङ्ग्रेसमा बहुमतमा रहेका डेमोक्रेट सदस्यहरुले विधेयकको पक्षमा मतदान गरेका भए पनि रिपब्लिकन पार्टीले विपक्षमा मतदान गरेको थियो।

    यो विधेयकलाई अमेरिकी माथिल्लो सदनले चार दिन अघि बहुमतका आधारमा पारित गरिसकेको छ। अमेरिकी श्रमिकको प्रतिघण्टा पारिश्रमिक १५ डलर पुर्‍याउने प्रस्तावलाई विधेयकबाट हटाइए पनि सिनेटमा रिपब्लिकन पार्टीका सदस्यहरुले विधेयकको विपक्षमा मतदान गरेका थिए।

    कङ्ग्रेसले विधेयक पारित गरेसँगै राष्ट्रपति बाइडेनले ट्विट गर्दै कङ्ग्रेसलाई धन्यवाद दिएका थिए। उनले विधेयकमा यही शुक्रबार हस्ताक्षर गरेसँगै राहत प्याकेज कार्यान्वयनमा आउने छ।

    प्रस्तावित विधेयकमा निकै महत्त्वपूर्ण मानिएको विषय हो अधिकांश अमेरिकी नागरिकलाई एक हजार चार सय डलर उपलब्ध गराउने। यसबाहेक हरेक साता तीन सय डलर आपतकालीन बेरोजगार भत्ता आगामी सेप्टेम्बरसम्म उपलब्ध हुनेछ। तर यो विधेयकले त्यतिमात्र कुरा समेटेको छैन।

    यो विधेयकले डेमोक्रेटले चुनावमा व्यक्त गरेका प्रतिज्ञा र बाइडेनको सर्वाधिक प्राथमिकतामा मुलुकको अर्थतन्त्रको पुनरुद्धार दुवै समेटेको छ। अमेरिकामा कोरोनाभाइरस महामारीले सिर्जना गरेको मानवीय क्षति र आर्थिक क्षति निकै कहालीलाग्दो अवस्थामा पुगिसकेको बाइडेनको ठहर छ। यसलाई सम्बोधन गर्न प्रभावकारी कदम जरुरी भइसकेको बाइडेनले बताउँदै आएका छन्।

    संयुक्तराज्य अमेरिकामा कोभिड-१९ को संक्रमणबाट पाँच लाख २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

    अमेरिकी कङ्ग्रेसकी सभामुख नान्सी पेलोसीले पनि कोरोनाभाइरस महामारीका कारण देशका सामुन्‍ने उत्पन्‍न समस्या सम्बोधन गर्न सरकार र संसद् एकै ठाउँमा आएकामा आभार व्यक्त गरे।

    बाइडेन प्रशासनले अघि सारेको १९ खर्ब डलरको राहत योजनाले कोभिड-१९ सँग सम्बन्धित कार्यक्रममा खर्च गर्ने, संकटमा परेका परिवारलाई राहत दिने, रोजगारी जोगाउने र नयाँ रोजगार सिर्जना गर्ने विश्वास लिएको छ।

    देशको ऋणभार २२ ट्रिलियन डलर पुगे पनि डेमोक्रेट र रिपब्लिकन पार्टीले यसप्रति खासै वास्ता गरेका छैनन्।

    करिब ६२८ पृष्ठ लामो यो विधेयकले खासगरी न्यून र मध्यम आय भएका परिवारलाई राहत उपलब्ध गराउन सङ्‍घीय सरकारको प्रयत्‍न समेटेको छ। बालबच्चा, बालस्याहार र पारिवारिक विदा बस्दा करछुट दिने समयावधि अहिले बढाइएको छ, र कतिपय डेमोक्रेट सदस्यहरु यो व्यवस्थालाई स्थायी रुपमै उपलब्ध गराउन प्रयासरत छन्।

    प्रत्यक्ष भुक्तानी र बेरोजगार भत्ताका अलावा यस विधेयकले कोभिड-१९ को खोप र उपचार, स्कुल, राज्य र स्थानीय सरकार तथा विमानसेवादेखि कन्सर्ट हलसम्मका संकटग्रस्त उद्योग, व्यवसायका लागि अर्बौं डलरको व्यवस्था गरिएको छ। साथै किसानहरुलाई राहत, निवृत्तिभरण प्रणाली र विद्यार्थी ऋण तथा स्वास्थ्य बिमा खरिद गर्नेहरुका लागि अनुदान तथा थोरै आर्जन गर्नेहरुका लागि मेडिकेड खरिद गर्न राज्यहरुलाई रकम उपलब्ध गराउने प्रावधान नयाँ विधेयकमा छ।

    तर, यी निकै राम्रा प्रावधानहरु प्रस्तावित राहत प्याकेजमा समेटिए पनि रिपब्लिकनहरु त्यति खुसी छैनन्। उनीहरुको भनाइमा अतिरिक्त खर्चले राष्ट्रमाथि अतिरिक्त बोझ सिर्जना गर्नेछ।

    यद्यपि, राष्ट्रव्यापी जनमत सर्वेक्षणहरुले बाइडेनको राहत प्याकेजलाई डेमोक्रेट र स्वतन्त्र व्यक्तिसहित कैयौं रिपब्लिकनले समर्थन गरेको देखाएको छ। रासस/एपी

  • नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ११६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ९ सय ४२ रहेको छ । मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • ‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

    ‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनःस्थापनासँगै एउटा ‘ब्याटल’ जितेको र अझै दुईचार ब्याटल जित्न बाँकी रहेको बताएका छन्।

    पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित नेकपा नेकपा माओवादी केन्द्रनिकट नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रनुपर्ने आवश्यक देखिएकाले आफूलाई सहयोग गर्न नेता-कार्यकर्तालाई अनुरोध गरे।

    यतिखेर आफू राजनीतिक लडाइँबाट भाग्ने मनस्थितिमा रहेको पनि उनले स्पष्ट पारे। फेरि एकपटक क्रान्ति गर्नबाट आफू कुनै हालतमा पछि नहट्ने अठोट उनले व्यक्त गरे। यसका लागि उमेरले नछेक्ने विश्वास उनले व्यक्त गरे।

    माओत्से तुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेको उदाहरण दिँदै प्रचण्डले जनयुध्द थाल्दा आफ्नाे उमेर ४२ वर्ष रहेकाे र अहिले ६२/६३ वर्षको भएकाले लडाइँ लड्ने उमेर अझै बाँकी रहेको बताए।

    अध्यक्ष प्रचण्डले सर्वोच्चको पछिल्लो फैसलाले देशलाई जटिल अवस्थामा पुर्याएको बताए। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा प्रधानमन्त्री केपी ओलीविरुद्ध आफूले लेखेको १९ पृष्ठको प्रतिवेदनबारे चर्चा गर्दै उनले फेरि शान्तिपूर्ण जनयुद्धको तयारी थाल्नुपर्ने अवस्था आउन सक्ने बताए।

    प्रतिक्रियावादीविरुद्ध विचारको युद्ध गरेकाे उल्लेख गर्दै उनले क्रान्तिकारी साथीसँग भर परेर विगतमा जनयुद्ध सुरु गरेको स्मरण गरे। लोकतान्त्रिक गठबन्धनविरुद्ध भइरहेको हमलाविरुद्ध जनतासँग मिलेर देशव्यापी अभियान चलाउने र देशीविदेशी षड्यन्त्रलाई परास्त गर्ने उनकाे भनाइ थियाे।

  • बागमतीमा छोडियो मेलम्चीको पानी, लेदो बगेर नुहाउनै नमिल्ने

    बागमतीमा छोडियो मेलम्चीको पानी, लेदो बगेर नुहाउनै नमिल्ने

    काठमाडौं । महाशिवरात्रिका अवसरमा आज मेलम्चीको पानी बागमती नदीमा छोडिएको छ । भक्तजनहरुलाई नुहाउनका लागि भन्दै मेलम्चीको पानी बागमती नदीमा छोडिएको हो ।

    मेलम्चीको सफाल पानी नदीमा बगाइए पनि ढल र लेदो मिसिएको पानी मात्रै बगेको छ । खानेपानी मन्त्रालयले बागमतीमा नुहाउनका लागि भन्दै मेलम्चीको सफा पानी छोडेको थियो ।

    तर, पानी लेदो मिसिएको ढल मात्रै बगेको छ । बुधबार, बिहीबार र शुक्रबारका लागि भक्तजनहरुलाई नुहाउन भन्दै सुरुङमार्फत ल्याइएको मेलम्चीकाे खानेपानी बागमती नदीमा छोडिएको थियो । भक्तजनहरुले लेदो मिसिएको फोहोर पानीले कसरी नुहाउनु भन्दै प्रश्न गरेका छन् ।

  • इण्डोनेसियामा पर्यटक बस दुर्घटना, कम्तिमा २६ जनाको मृत्य

    इण्डोनेसियामा पर्यटक बस दुर्घटना, कम्तिमा २६ जनाको मृत्य

    जावा इण्डोनेसिया । इण्डोनेसियामा एक पर्यटक बस दुर्घटनामा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । ३५ भन्दा बढी घाइते छन् । यहाँको जावा द्वीपमा पर्यटक सवार बस दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटना बुधबारको हो ।

    स्थानीय पुलिस प्रमुख एको प्रासेत्यो रोब्बियांतोका अनुसार यो बस पश्चिमी जावास्थित सुबांग शहरबाट इस्लामी माध्यमिक स्कूलका विद्यार्थी र अभिभावकलाई लिएर सोही प्रान्तको तासिकामलय जिल्लाको एक तीर्थस्थल जाँदै थियो । बस सडकबाट १३ मिटर तल खसेको थियो ।

    घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले दुर्घटनाको कारणबारे खोजी गरिरहेको बताएको छ । घाइतेहरुले भने बसको ब्रेक फेल भएको बयान दिएका छन् । मृत्यु हुनेमा बसका चालक समेत छन् ।

  • ब्राजिलमा कोरोनाबाट एकै दिन २ हजार २ सय ८६ को मृत्यु

    ब्राजिलमा कोरोनाबाट एकै दिन २ हजार २ सय ८६ को मृत्यु

    काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणले भयाभह रुप लिन थालेको छ । बिबिसीका अनुसार बुधबार यहाँ एकै दिन २ हजार मानिसको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । यो ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक भएको ठूलो मानवीय क्षति हो । यस दिन २ हजार २ सय ८६ जनाको मृत्यु भएको छ ।

    कोरोनाबाट सबैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ । त्यसपछि ब्राजिलले गुमाएको छ । कोरोनाका कारण ब्राजिलमा २ लाख ६८ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको नयाँ प्रकार अझ खतरनाक सावित भएको त्यहाँका चिकित्सकहरुले बताएका छन् । ब्राजिलमा लापरवाहीका कारण धेरैको ज्यान गएको आरोप लाग्ने गरेको छ ।

  • मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

    मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

    काठमाडौं । बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०का उपविजेता सन्तोष साहलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिट बधाई दिएकी छिन् । साह अहिले नेपालमा छन् । उनलाई नेपालमा आतिथ्य उद्योगले भब्य स्वागत समेत दिएको छ । बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेट गरी बधाई ज्ञापन गरेकी हुन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर नेपाली खाना चिनाउन लागिपरेको भन्दै बधाई दिएको उल्लेख गरेकी छिन् ।

    उनले ट्वीट गर्दै यसबारे जानकारी दिएकी हुन् । सेफ सन्तोष साहसँग निकै रमाइलो कुराकानी भएको र नेपाली खानालाई बेलायत र विश्वभर प्रसिद्ध पार्ने उनको योजना सुनेर आफु धेरै नै खुशी भएको उनले बताएकी छिन् ।

    विश्वपसिद्ध उक्त प्रतियोगितामा उपविजेता बनेका साहले विश्वमा नेपाल र नेपाली खानालाई परिचित गराउन भूमिका खेलेका थिए । साह सिराहाको कर्जन्हामा जन्मेका हुन् । उनी पछिल्लो १० वर्षदेखि बेलायतमा सेफका रुपमा कार्यरत छन्। यस पेशामा उनको अनुभव भने २० वर्षभन्दा लामो छ ।

  • बार्सिलोना पनि च्याम्पियन्स लिगबाट आउट

    बार्सिलोना पनि च्याम्पियन्स लिगबाट आउट

    काठमाडौं । जारी च्याम्पियन्स लिग फुटबलमा यो वर्ष पनि संसारका समकालिन महान खेलाडी लियोनल मेसी र क्रिष्टियानो रोनाल्डो मैदानमा देखिने छैनन् । यी दुबै टीम लिगको अन्तिम १६ बाटै बाहिरिएका छन् । प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ५–२ को हारसहित बाहिरिएको छ ।

    घरेलु मैदानमा पहिलो लेगमा बार्सिलोना ४–१ ले हारेको थियो । यो हार नै उसका लागि महंगो सावित भयो । बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३० औँ मिनेटमा पाएको पेनाल्टीमा केलियन एमबाप्पेले गोल गरे । ३७ औँ मिनेटमा लियोनल मेस्सीले दर्शनीय गोग गरे । तर, त्यसपछि भने कुनै पनि टोलीबाट गोल हुन नसकेपछि पिएसजी विजयी भएको हो । पछिल्लो १४ वर्षमा पहिलोपटक बार्सिलोना अन्तिम ८ मा पुग्न असफल भएको हो ।

  • आज नेपाली सेना दिवस, टुडिखेलमा विशेष कार्यक्रम

    आज नेपाली सेना दिवस, टुडिखेलमा विशेष कार्यक्रम

    काठमाडौं । आज नेपाली सेनाले सेना दिवस मनाउँदैछ । यस अवसरमा काठमाडौंको टुडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्ति सहभागी हुने भएका छन् । नेपाली सेनाको परमाधिपति राष्ट्राध्यक्ष हुने प्रचलन रहेको छ ।

    कार्यक्रममा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पण गर्ने कार्यक्रम छ । ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार समेत राष्ट्रपतिको हातबाट गरिने छ ।

    सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइने सेनाले जनाएको छ ।

    नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

    समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गर्ने तयारी सेनाले गरेको छ ।

  • आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै

    आज महाशिवरात्रि, भगवान शिवको आरधना गर्दै मनाईंदै

    काठमाडौं । आज हिन्दुधर्मावलम्बीको महान पर्व महाशिवरात्रि देश तथा विदेशमा मनाईंदैछ । आराध्यदेव भगवान् शिवको पूजा–आराधनाका साथ यो पर्व मनाउने गरिन्छ । आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । भगवान शिवको मूख्य मन्दिर काठमाडौंको पशुपतिनाथसहितका देशभरका शिवालयमा भक्तजनको घुईचो लाग्छ ।

    पशुपतिनाथ मन्दिरमा मात्र १० लाख भन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । भगवान शिवको पूजा आराधनाबाट सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने विश्वास गरिन्छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन रहेको छ ।

    आज भगवान् महादेवलाई जाडो हुने जनविश्वाससहित घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तन गरिन्छ । पशुपतिनाथ दर्शनको काम आज बिहान ४ बजेदेखि शुरु भएको हो । पशुपतिका चार ढोका खोलिएको छ ।

  • राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

    राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटक अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्ने भएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार यो कदमलाई चीनको बढ्दो प्रभाव न्यूनिकरणको पाइलाका रुपमा हेरिएको छ । राष्ट्रपतिबाट पहिलो पटक यस प्रकारको पहल हुन लागेको संचारमाध्यमले लेखेका छन् ।

    वार्ता भर्चुअल विधिबाट शुक्रबार हुनेछ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा भत्किएका धेरै कुटनीतिक संरचनालाई बाइडेनले क्रमशः जोड्दै लगेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारसँग कुरा गर्दै हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार मुलुकसँग निकट सहयोगलाई अमेरिकाले महत्त्व दिएको र त्यसै सन्दर्भमा राष्ट्रपतिबाट वार्ता हुन लागेको जानकारी दिएकी छिन् ।

    यो समुहलाई “क्वीड” नाम दिइएको छ । इन्डो–प्यासिफिक क्षेत्र मुलुकमा व्यापार र सुरक्षा वार्ताको मूख्य प्राथमिकता हुने भएको छ । वार्तामा जलवायु परिवर्तन र कोभिड–१९ महामारीका मुद्दा समेत उठाइने भएको छ । भारतीय विदेश मन्त्रालयले समेत यो खबरको पुष्टी गरेको छ । सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले नेतृत्व गरि क्वीड स्थापना गरेका थिए ।
    एजेन्सी

  • कर्णाली नदीमा हाम फालेकी आमासहित चार जनाको अन्त्येष्टी, एक छोरी अझै बेपत्ता

    कर्णाली नदीमा हाम फालेकी आमासहित चार जनाको अन्त्येष्टी, एक छोरी अझै बेपत्ता

    दैलेख । घरेलु हिंसाको शिकार बनेकी दैलेखकी एक महिलाले आइतबार राती आफ्ना चार सन्तानसहित यो संसारलाई त्याग्ने अकल्पनीय निर्णय लिइन् । आइतबार भएको यो घटनामा चार जनाको शव भेटिएको छ भने एक जना अझै वेपत्ता छिन् । कर्णालीमा हाम फालेका एकै परिवारका पाँच जनामध्ये शव फेला परेका चार जनाको दाहसंस्कार गरिएको छ ।

    आठबिस नगरपालिका–३ निमाल बस्ने मानसिंह बडुवालकी श्रीमती सुखी, उनका ३ छोरी र एक छोराले २३ फागुनको राती कर्णाली नदीमा हाम फालेका थिए । स्थानीय प्रहरीका अनुसार श्रीमान मानसिंह मदिरा सेवन गरी परिवारमा झगडा गर्थे । श्रीमान नसुध्रिएपछि सुखीले अन्ततः दुखद निर्णय लिएको हुन सक्ने आशंका गरिएको छ । श्रीमानलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    दाहसंस्कार गरिएकामा मानसिंहकी छोरी १२ वर्षीया सरिता, १४ वर्षीया छोरी कल्पना, उनकी श्रीमती ३५ वर्षीया सुखी र १० वर्षीया छोरा ललित रहेका छन् । कान्छी छोरी ७ वर्षीया रजनी भने बेपत्ता नै छिन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

    सुनको आपूर्ति कोटा बढाउने अर्थमन्त्रीको आश्वासन

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सुनको आपूर्ति कोटा बढाउने आश्वासन दिएका छन् । यस विषयमा सरकार सकारात्मक रहेको उनको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको आश्वासन दिएका हुन् ।

    बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको भन्दै उनले केही दिनभित्रै यस बिषयमा निर्णय हुने समेत जानकारी गराए । माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका बिषयमा व्यवसायीसँग चासो राखेका थिए । त्यसक्रममा महासंघका सल्लाहकार तथा सभासद छविलाल बिश्वकर्माले व्यवसायीलाई परेको अप्ठ्याराका विषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए ।

    उक्त अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको बताए । उनले यो समस्या तत्काल समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिले समस्या आएको उल्लेख गरे । अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता औल्याए ।

    आवश्यकताअनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको अर्थमन्त्रीलाई उनले जानकारी गराए । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ ।

    लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । यसैवीच आगमी आर्थिक बर्षको बजेटमा सुनचाँदीको क्षेत्रवाट समुट्नुपर्ने बिषयहरुलाई समेटिएको सुझाव समेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ ।

  • नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ५० जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ९ सय ११ रहेको छ । मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • ‘ओलीसँग सहकार्य हुँदैन माओवादी र कांग्रेससँग छलफलका लागि खुल्ला छौं’

    ‘ओलीसँग सहकार्य हुँदैन माओवादी र कांग्रेससँग छलफलका लागि खुल्ला छौं’

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रीक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन् ।

    बुधबार संघीय संसद भवनमा सञ्‍चारकर्मीसंग कुरा गर्दै असंवैधानिक कदम र प्रतिगमन कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल ध्येय हुने यादवले बताए ।

    हाम्रो मुख्य ध्ययअ संवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउने हो यादवले भने । अध्यक्ष यादवले ओली नेतृत्वको सरकारमा जाने जनता समाजवादी पार्टीको कुनै योजना नरहेको बताए ।

    उनले प्रधानमन्त्रीसंग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने बिषयमा भएको तर्क गरे । जसपाले लोकतन्त्र र संघीयताको रक्षा गर्ने शक्तिसंगमात्र सहकार्य गर्ने भन्दै उनले त्यो शक्ति नेकपा एमाले नभएको बताए ।

    उनले कांग्रेस र माओवादीको सरकारमा जान पार्टी खुल्ला रहेको बताए ।

  • प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

    प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधि सभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको हो ।

    बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको थियो ।

  • महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?

    महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न कसरी बस्ने लाइन ?

    काठमाडौं । यस वर्षको महाशिवरात्री पर्व बिहीबार मनाइदैछ । यस दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा भब्य मेला लाग्छ । लाखौं भक्तजन महादेवको दर्शनका लागि पशुपति मन्दिर पुग्ने गर्छन । यसको तयारी पुरा भइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार यस वर्ष महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसर प्रवेश गर्न सकिन्छ ।

    कोषका अनुसार मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन बस्ने भएको छ । बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी मिलाइएको छ । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने भएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि उत्तर र दक्षिणबाट तीन\तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिने भएको छ ।

    कोरोना महामारीका कारण यो वर्ष मास्क अनिवार्य लगाउन भनिएको छ । यो वर्ष भारतबाट आउने तीर्थालु घट्ने भएका छन् । किनकी स्थलमार्ग अहिले पनि बन्द छ । तर, भारतबाट करिब तीन हजार साधुसन्त भने पाशुपत क्षेत्रमा आइसकेका छन् । पशुपति क्षेत्रमा मांस, मदिरा तथा नशालु पदार्थ निषेधित गरिएको छ । करीव १० हजार सुरक्षाकर्मीले त्यसमा पनि सुक्ष्म निगरानी गर्ने भएका छन् ।

  • रोनाल्डोको टीम युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

    रोनाल्डोको टीम युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो

    काठमाडौं । क्रिष्टियानो रोनाल्डो आवद्ध रहेको टीम इटालियन च्याम्पियन युभेन्ट्स जारी यूईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वार्टरफाइनलका लागि भएको दोस्रो लेगमा घरेलु मैदानमा पोर्टोलाई हराएपछि अवे गोलको आधारमा युभेन्ट्स बाहिरिएको हो । गएराति अतिरिक्त समयमा लम्बिएको खेल ३–२ मा सकियो । पहिलो लेग पोर्टोले २–१ ले आफ्नो पक्षमा पारेको फाइदा दोस्रो लेगमा उठायो । समग्रमा ४–४ को बराबरी भयो ।

    तर, पोर्टोले युभेन्टसको मैदानमा २ अवे गोल गरेका कारण युभेन्ट्स अन्तिम १६ मै रोकिएको हो । पोर्टोको जितमा सर्जियो अलिभिएराले नै २ गोल गरेका हुन् । युभेन्ट्सका फेडेरिको किएजाले २ तथा एड्रिएन राबिअटले १ गोल गरे। त्यसपछि पनि कुनै पनि टीमबाट गोल हुने सकेन । मंगलबार राती नै भएका अन्य खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्ड क्वाटरफाइनल पुगेको छ ।

    उसले दोस्रो लेगमा स्पेनिस क्लब सेभिल्लासँग २–२ गोलको बराबरी खेल्यो । समग्रमा ५–४ को नतिजाका साथ डर्टमण्ड क्वाटरफाइनल पुगेको हो ।

    आज बहुचर्चित दुई क्लव बार्सिलोना र पेरिस सेन्ट जर्मेनबीच खेल हुँदैछ । बार्सिलोनाको घरेलु मैदानमा ३ गोल अन्तरसहित पहिलो लेगमा पिएसजी विजयी भएको थियो । आज पिएसजीको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनाले कम्तिमा ४ गोल हान्नु पर्नेछ । पिएसजी भने कुनै पनि दवावमा हुने छैन । उ कम्तिमा २ गोल अन्तरको हारका वावजुत पनि अन्तिम ८ मा पुग्नेछ ।

  • ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको  प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

    ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

    लण्डन । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले बेलायती राजपदवी त्याग गरी अलग भएका छन् । उनीहरु राजदरबार छोडेर पहिला क्यानडा पुगे, त्यसपछि एक धनाढ्यको सहायतामा अमेरिका पुगेर त्यही बसोबास गरिरहेका छन् । बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले यसै साता अमेरिकामा एक दिएको एक अन्तर्वाता बहुचर्चित बन्यो । जहाँ मर्केलले राजदरबारमा आफुले भोग्नु परेको पिडा र विभेदबारे खुलेर बताएकी छिन् ।

    यस अन्तर्वार्तापछि दरवारको प्रतिक्रिया नआएको भन्दै आलोचना शुरु भएको थियो । अन्ततः महारानी एलिजावेथले मुख खोलेकी छिन् । उनले राजदरबारमा भोग्नुपरेको विभेदबारे दुःख मनाउ गरेको बेलायती संचारमाध्यमले लेखेका छन् । महारानीको तर्फबाट मंगलबार विज्ञप्ति जारी गर्दै बकिङ्हम प्यालेसले ह्यारी र मेघनका लागि बितेका केही वर्ष कठिन थिए भन्ने थाहा पाएर राजपरिवार दुःखित भएको उल्लेख गरेको छ ।

    ह्यारी र मेघनले सार्वजनिक गरेको एक विषय रंगभेद थियो । राजदरवार भित्र यो जोडीबाट जन्मने बच्चा कालो रंगको हुने र उसलाई राजकुमार मान्न कठिन हुने सम्मका कुरा हुने गरेको विषय अन्तर्वार्ताका क्रममा सार्वजनिक भएको छ । यसरी बाहिरिएका विषयलाई गम्भीरतापूर्वक लिएर समाधान गरिने दरवारको भनाई छ । महारानी एलिजावेथले ह्यारी, मेघन र उनीहरूका छोरा आर्चीप्रति राजपरिवारकै सदस्यका रूपमा सधैँ माया दिइरहने समेत उल्लेख गरेकी छिन् ।

    ह्यारी र मेघनको अन्तर्वार्ता अमेरिकी टेलिभिजन च्यानल सिबिएसमा सोमबार प्रसारण भएको हो । यस क्रममा मेघनले राजपरिवार भित्र रहेको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पुर्‍याएको बताएपछि संसारभर दरवारको विषयबारे कडा बहस जारी छ । मेघन अमेरिकी अभिनेत्री पनि हुन् । उनले सन् २०१८ मा ह्यारीसँग विवाह गरेकी हुन् ।

    मेघन अश्वेत आमाबाट जन्मिएकी हुन् । राजपरिवारमा रंगभेदबारे कुरा कसले गरेको थियो भन्ने विषय भने आफुले जिन्दगीभर नबताउने ह्यारीको भनाई छ । बिवाहपछि राजपरिवारबाट आर्थिक सहयोग नपाएपछिको पिडा समेत उनीहरुले सार्वजनिक गरेका छन् । उनीहरुले अन्तर्वार्तामा महामारी भने आफुहरुको आदर्श भएको भन्दै उनीबाट सधै माया मात्र पाएको बताएका छन् ।

  • आज बस्दै प्रतिनिधिसभा बैठक, के छन् एजेण्डा

    आज बस्दै प्रतिनिधिसभा बैठक, के छन् एजेण्डा

    काठमाडौं । आज प्रतिनिभिसभा बैठक बस्दैछ । यसअघि २३ फागुनमा बसेको बैठक कांग्रेस तथा जनता समाजवादी पार्टीको अवरोधपछि स्थगित भएको थियो । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । फागुन २३ गतेको बैठकमा सरकारले विभिन्न अध्यादेश पेश गर्न खोजेको थियो । सोहीकारण प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाले विरोध गरेका हुन् । आजको कार्यसूचिमा समेत अध्यादेश पेश गरिने भएको छ ।

    कांग्रेसले असंवैधानिक अध्यादेश ल्याइएको भन्दै ती अध्यादेश संसदमा पेश हुन नसक्ने बताइरहेको छ । त्यसो त अदालतबाट नेकपा विभाजन नभएको अवस्थामा प्रचण्ड र माधव नेपाल समुहमा रहेका सांसदले समेत बैठक बहिष्कार गरेका थिए । अब एमाले र माओवादी केन्द्र भएको अवस्थामा सरकारको विरुद्धमा रहेका एमाले सांसदले के गर्छन् भन्ने विषय समेत चासोपूर्वक हेरिएको छ ।

  • सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

    सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

    निजगढ । बाराको निजगढमा १८ वर्षीय युवक रोहित शर्माको हत्यामा उनका आफ्नै मिल्ने साथीको संलग्नता देखिएको छ । साथी साथी भएपनि एकले अर्कोलाई मार्ने धम्की दिएका कारण आफ्नै साथीको हातबाट उनको हत्या भएको देखिएको हो । प्रहरीले मंगलबार शर्माको हत्या गरेको आरोपमा रौतहट चन्द्रपुर ४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    शर्माको बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घरमा सुतेको स्थानमै धारिलो हतियार प्रहारबाट हत्या भएको पाइएको थियो । दुई जनाबीच लागूऔषध सेवन गर्ने विषयमा विवाद भएको र एकले अर्कालाई मार्ने धम्की दिएका थिए । आफुले नमारेमा उसले मार्ने डरसहित आफुले साथिको हत्या गरेको शाहले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

    हत्या हुनुभन्दा अघिल्लो दिन समेत उनीहरु सँगै बसेर लागूऔषध गाँजा, ट्याबलेट र रक्सी सेवन गरेको पाइएको छ । मार्ने मनसायले चक्कुसहित शर्माकै घरमा सुतेको र बिहान करिब ४ बजेतिर चक्कु प्रहार गरी हत्या पछि भागेको पाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हत्यापछि मोटरसाइकल प्रयोग गरी भागेको र प्रहरीले सोही मोटरसाइकलका आधारमा उनलाई फेला पार्न सफल भएको बताएको छ ।

  • १३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

    १३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

    काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १३ जेठबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । परीक्षा जेठ २४ गते सकिने भएको छ । मंगलबार परीक्षाको मिति तय गरेको बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा राखिएको छ ।

    यस दिन वेद विद्याश्रममा अनिवार्य सँस्कृत भाषा र साहित्य, अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने गरी तालीका राखिएको छ । जेठ १४ गते अनिवार्य नेपाली राखिएको छ । जेठ १६ मा अनिवार्य गणित र जेठ १७ मा अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।

    जेठ १८ मा सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा राखिएको छ । २० गते ऐच्छिक गणितको परीक्षा छ । यस दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन गरिने भएको हो ।

  • ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

    ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

    ट्यूनिसिया । ट्यूनिसियामा भएको डुंगा दुर्घटनामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । १६५ जना भन्दा बढी घाइते भएको आंकडा आएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दुई वटा डुङ्गा दुर्घटनामा परेका छन् । डुंगा मंगलबार अफ्रिकी साहारा क्षेत्रबाट छुटेका थिए । डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी आप्रबासी शरणार्थी रहेको बताइएको छ ।

    ३९ आप्रबासीको ज्यान गएको पुष्टी भइसकेको छ । अत्यधिक भारका कारण डुंगा पानीमा डुबेको हो । दुर्घटनाको पुष्टी त्यहाको राष्ट्रिय सुरक्षा गार्डले समेत गरेको छ । गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार सुरक्षा निकायले तत्काल सामुद्रिक तटमा खटी उद्धारमा जुटेको थियो । यसले धेरै मानिसको ज्यान जोगाउन सफल भएको छ ।

  • अफगानिस्तानमा मारिए २१ तालिवान लडाकु

    अफगानिस्तानमा मारिए २१ तालिवान लडाकु

    काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा २१ तालिवान मारिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सरकारी सुरक्षाफौजको कारबाहीमा ती लडाकु मारिएका हुन् । थप १३ जना घाइते रहेको बताइएको छ । तालिबान लडाकू लुकेर बुसेको इलाकालाई लक्षित गरी सेनाले आक्रमण गरेको अफगान हवाईबलको भनाई छ । बलले विज्ञप्ति जारी गर्दै यसको पुष्टी गरेको हो ।

    कान्दाहारको आर्घान्दाब र झारी जिल्लामा हमला भएको हो । कारबाहीको क्रममा सेनाले विद्रोही तालिबानले योजना गरेको २२ बारुदी सुरुङ र विस्फोट पदार्थ समेत निष्क्रिय बनाएको बताएको छ । सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको समेत संचारमाध्यमले लेखेका छन् ।

  • त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु

    त्रिशुलीमा ट्रक खस्दा दुई जनाको मृत्यु

    धादिङ । धादिङमा ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा मंगलबार ट्रक त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो ।

    दुर्घटनामा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको ज्यान गएको हो । दुवैको ट्रकले थिचेर मृत्यु भएको पाइएको छ । त्रिशुली नदीमाथिको सडकमा अत्यधिक गतिमा चढ्ने सवारीसाधन दुर्घटनाको शिकार हुने गरेका छन् ।

  • कांग्रेस नेता जोशीको स्वास्थ्य अझै जोखिमपूर्ण

    कांग्रेस नेता जोशीको स्वास्थ्य अझै जोखिमपूर्ण

    काठमाडौं । मस्तिष्कघातका कारण अस्पतालमा उपचारार्थ भर्ना भएका कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै जोखिमपूर्ण रहेको अस्पतालले जनाएको छ । उनी फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना भएका छन् । अस्पतालका अनुसार उनको अवस्थामा गम्भीर छ । तर, मंगलबार भने स्वास्थ्य अवस्था स्थिर र जोखिमपूर्ण अवस्थामा रहेको छ ।

    जोशीको भेन्टिलेटरमा उपचार जारी रहेको छ । जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिन राम्रो सुधार भएको भए पनि शनिबारपछि भने मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालको भनाई छ । अहिले प्रतिमिनेट आठ, दश पटक मात्र सास फेरिरहेको चिकित्सकको भनाई छ ।

  • महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने

    महाशिवरात्रीमा मास्क नलगाए पशुपतिनाथ दर्शन गर्न नपाइने

    काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शनमा जाने सबै जनाले मास्क अनिवार्य पहिरिनु पर्ने भएको छ । कोरोना महामारी अझै पनि जारी रहेका कारण संक्रमण फैलन नदिन यस्तो नियम बनाइएको पशुपति क्षेत्र विकास कोषको भनाई छ । अनिवार्य मास्क लगाएर आउन र मास्क नलगाए दर्शन गर्न नपाइने कोषको भनाई छ ।

    महाशिवरात्रिको तयारी पुरा भएको समेत कोषले जनाएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले यस्तो जानकारी गराएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार कोभिड महामारीको अन्त्य नभए पनि सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी गरिएको छ । शिवरात्री बिहीबार मनाइने छ ।

    ढकालका अनुसार दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने भएको छ । स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ । मेलालाई सुरक्षित बनाउन नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।


    नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने छन् । मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर राखिने छ । सुरक्षाकर्मीसमेतका कुल ३० वटा स्वास्थ्य संस्थाका शिविर यहाँ राखिने भएको छ । भारतबाट करिब ३ हजारको हाराहारीमा बाबा मेलामा भाग लिन आएका छन् ।

  • सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….

    सेनाका प्यारासुट टुडिखेलमा अवतरण हुन नसकेपछि….

    काठमाडौं । नेपाली सेनाका प्यारासुटमा उडेर आकासबाट ग्राउण्डमा झरेका ६ जना सैनिक आज टुडिखेलको निर्धारित स्थानभन्दा बाहिर अवतरण भएका छन् । नेपाली संचारमाध्यमले जनाए अनुसार सेनाको जहाजबाट प्यारासुटसहित झरेका ६ जना सैनिक टुँडिखेल बाहिर ल्यान्ड भएका हुन् । यद्दपी यस दौरान कुनै दुर्घटना भने हुन पाएन ।

    नेपाली सेनाका अनुसार अहिले सैनिकले शिवरात्री तथा सेना दिवसको अवसर पारी हुने प्रदर्शनीका लागि रिहर्सल गरिरहेको छ । त्यस क्रममा १४ जना सेनाको जहाजबाट प्यारासुटमा उड्दै ग्राउण्डमा अवतरण हुनुपर्ने थियो । त्यसमध्ये ६ जना प्यारासुट टुँडिखेलको निर्धारित स्थानभन्दा बाहिर अवतरण भए ।

    वायुमण्डलमा हावाको गति नमिलेकाले उनीहरू निर्धारित ठाउँभन्दा बाहिर ल्यान्ड भएको बताइएको छ । टुडिखेलबाट बाहिर ल्याण्ड भएपनि सबैको स्थास्थ्य अवस्था राम्रो भएको सेनाले जनाएको छ । शिवरात्रीका अवसरमा टुडिखेलमा सेनाले विशेष प्रदर्शनी गर्दै आएको छ । यस वर्ष आगामी बिहिबार शिवरात्री परेको छ ।

  • प्रचण्ड र देउवाबीच भेट, सत्ता सहकार्यका विषयमा छलफल

    प्रचण्ड र देउवाबीच भेट, सत्ता सहकार्यका विषयमा छलफल

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार देउवालाई भेट्न प्रचण्ड साँझ उनको निवास बुढानीलकण्ठ पुगेका छन् । उनीहरुबीच बदलिँदो राजनीतिक परिस्थिति र सत्ता साझेदारीका विषयमा छलफल भएको बताएको छ ।

    आजै बसेको माओवादीको बैठकले सत्ता साझेदारीका विषयमा कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज प्रचण्डले पहिलो चरणमा देउवासँग अनौपचारिक छलफल गरेका हुन् । सर्वोच्च अदालतबाट नेकपा एकिकरणलाई वैधानिकता नदिएपछि एनेकपा माओवादी र नेकपा एमाले पुनः अस्तित्वमा आएका छन् । तर, सत्ता साझेदारीका विषयमा भने सरगर्मी बढेको छ ।

  • नेपालमा थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, ६० डिस्चार्ज

    नेपालमा थप ५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु, ६० डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९८७ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय ७० रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । यो सहित मृतकको संख्या ३०१२ जना पुगेको छ ।