Author: Vishwanews.com

  • ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिकलाई भिसाका लागि पुनः आवेदन दिन आह्वान

    ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिकलाई भिसाका लागि पुनः आवेदन दिन आह्वान

    एजेन्सी । अमेरिकी विदेश विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १३ देशका नागरिक माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवासँगै १३ देशका नागरिकहरुले भिसाका लागि पुनः आवेदन दिन पाउने भएका छन् ।

    अधिकांश मुस्लिम बाहुल्‍य तथा अफ्रिकी देशका नागरिक थिए। राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहण गरेको पहिलो दिनमा ट्रम्पले लगाएको प्रतिबन्धलाई खारेज गरेका थिए । विभागले भनेको छ, ‘ट्रम्पका कारण ज-जसलाई अमेरिका आउनका लागि भिसा प्रतिबन्ध लगाइएको थियो। उनीहरुलाई अमेरिका आउने दोस्रो मौका दिनेछौँ। खासगरी मुस्लिमहरु पुन: आवेदन दिन सक्‍नेछन्।’

    अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भनेका छन्, ‘जुन आवेदनको २० जनवरी २०२० भन्दा पहिला भिसा दिनबाट रोकिएको थियो, उनीहरुले नयाँ आवेदन दिनुपर्छ र नयाँ आवेदन शुल्क बुझाउनु पर्नेहुन्छ।’

    यसका साथै रद्द गरिएका आवेदनमाथि पनि पुनर्विचार गर्न सकिने तर त्यसका लागि अतिरिक्त शुल्क लाग्‍ने प्रवक्ताले बताएका छन्।

    अमेरिकी विदेश विभागको तथ्यांक अनुसार यात्रा प्रतिबन्धका कारण करीब ४० हजार मानिसहरु अमेरिका प्रवेश गर्नबाट बञ्‍चित भएका थिए।

    ट्रम्प प्रशासनले इरान, लिबिया, सोमालिया, सुडान, सिरिया तथा यमनसहित १३ देशबाट आउने यात्रीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

    तर सन् २०१७ डिसेम्बमा अमेरिकाको सर्वोच्च अदालतले उक्त फैसलालाई रोकिदिएको थियो।

  • एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले भन्याे-‘एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन दिनू’

    एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगले भन्याे-‘एकीकरण गर्ने भए १५ दिन भित्र निवेदन दिनू’

    काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेको छ । आयोगले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा खारेज गरेको हो ।

    आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने भएको छ । नेकपा एमाले र माअ‍ोवादी केन्द्रले एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन जानकारी गराउने प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उनकाअनुसार सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहेकोबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक रुपमा जानकारी दिइनेछ ।

    आयोगले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा काम भएको व्यहोरा पनि राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

    एमाले र माओवादी केन्द्रले एकीकरण गर्ने भएमा आ–आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णय सहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकिकरण पछि बन्ने दलको नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ (पन्ध्र) दिन भित्र आयोगमा निवेदन सहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने निर्णय आयोगले गरेको छ ।

  • एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने भएको छ ।

    जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो ।

    गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

  • एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफाले,दुईको शव भेटियो तीन वेपत्ता

    एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफाले,दुईको शव भेटियो तीन वेपत्ता

    कर्णााली। दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका छन्। आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिए।

    हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

    उनले भने, “शव फेला परेकाको सनाखत भइसकेको छ। नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन।” गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको उनले बताए।

    मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए।

    आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमान्ले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने आकलन गरिएको छ। नेपालभर १११औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइरहँदा सोही दिनमा आठबीस नगरपालिका–३ दैलेखको निमाइल बस्ती शोकाकुल बनेको थियो।

  • धुम्बाराहीमा टाँगियो एमालेको बोर्ड

    धुम्बाराहीमा टाँगियो एमालेको बोर्ड

    काठमाडौं । धुम्बाराहीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको छ ।

    आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतालाई पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको हो ।

    एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै भएका छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।

    २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो ।

    तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।

  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन्। सर्वोच्च अदालतको निर्णयपछि पहिलोपटक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

    अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि अब उत्पन्न हुने राजनीतिक परिस्थिति र सत्तासमिकरणबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका एक नेताले जनाकारी दिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र आ–आफ्नो कित्तामा लागेका छन् ।

    ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन्। यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ।

    आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन।

  • आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति

    आइ-पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट कम्पनी आइ पे डिजिटल वालेटलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ ।

    बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमति दिएको हो ।

    सन् २०१० देखि नेपालमा सञ्चालन गर्दै आएको गुणस्तरीय र व्यवस्थित सेवा आइपेलाई अनुमतिपत्र दिएकोमा आइ–पेका अध्यक्ष अमृतमान तुलाधरले खुशी व्यक्त गरे ।

    ‘यसबाट हामीले नेपालको सन्दर्भमा नगदरहित डिजिटल भुक्तानी प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै अझ राम्रो गर्दै जान प्रोत्साहन गरेको अनुभूती गरेका छौं,’ उनले भने ।

    आइ–पे अनलाइन भुक्तानी द्वार र डिजिटल वालेट हो । जसले प्रयोगकर्ताहरुलाई इन्टरनेटको माध्यमबाट विभिन्न वस्तु तथा सेवा विभिन्न व्यवसायीबाट अनलाइन खरिद गर्न र सो को भुक्तानी पनि आई पे डिजिटल वालेटमार्फत सजिलै अनलाइन नै गर्न सकिने गरी मध्यस्थता गर्दछ।

    त्यस्तै आई–पेका प्रमुख कार्यकारी अधिकृत अमिर महर्जनका अनुसार देशैभरी आइ–पेका पाँच लाखभन्दा बढी सक्रीय प्रयोगकर्ता रहेका छन् भने एक हजारभन्दा बढी मेहनती एवम् क्रियाशील एजेन्ट रहेका छन् ।

    विगत एक दशकदेखि मोबाइल रिचार्जरटपअप, बिजुली र पानीको बिल, इन्टरनेट तथा टेलिभिजनको बिल, फिल्म हलको टिकेटिङ, प्लेनको टिकेटिङ आदी लगायत ई–कमर्समार्फत् किनिएको सामान तथा सेवाको अनलाइन भुक्तानी गर्ने सेवा प्रदान गर्दै आएको छ।

    अबका दिनमा प्रयोगकर्ताहरुको दैनिकी सहज बनाउन थप नवीनतम् डिजिटल वित्तीय सेवाहरु प्रदान गर्ने कम्पनीले जनाएको छ।

  • छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमाले र माओवादी केन्द्रमा फर्किने

    छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमाले र माओवादी केन्द्रमा फर्किने

    अन्ततः छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमालेमै गएर संघर्ष गर्ने नेपाल पक्षको निर्णय
    काठमाडौं, २४ फागुन । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ।

    पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। उनी पेरिसडाँडाबाट फेरि भेटौंला भन्दै बाहिरिएका थिए । अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने भएका छन्। खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो,’ बैठकबाट फर्किंदै झलनाथ खनालले भने, ‘फेरि भेटौंला।’

    प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बैठक अन्तिम भएको बताए । उनले एमाले र माओवादी केन्द्रबीच पुनः पार्टी एकता गर्ने पहल जारी राख्ने बताए । प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उनले केपी शर्मा अ‍ोलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।

    आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनष्ट पार्टी ९नेकपा०लाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

  • नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना डिस्चार्ज

    नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८१० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९२७ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । यो सहित मृतकको संख्या ३०११ जना पुगेको छ ।

  • भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

    काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो।

    प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो। प्राधिकरणले गरेको मागअनुसार आशयपत्र बुझाएका कम्पनीमध्येबाट पाँच कम्पनीलाई छनोट गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार छनोटमा परेका कम्पनीमा फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इंक, अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेश्नल, बेलायतको इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी असुर्‍यानसीटी एण्ड कन्सल्टिङ सर्भिस रहेका छन्।

    प्राधिकरणले गत पुस २७ गते दिउँसो १२:०० बजेभित्र आवेदन दिन सक्ने गरी पुस १ गते उक्त आवेदन खुलाएको थियो। आशयपत्र पेश गरेका कम्पनीबाट छनोट गरेको प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट गर्नेछ। चालिस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने प्रवक्ता अर्यालले जानकारी दिए।

    उनका अनुसार छनोटमा पर्ने कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिनेछ। उनीहरुबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले भू–उपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा दिनेछ। प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा छनोट हुने कम्पनीले आवश्यक सम्पूर्ण तयारी गरेपछि भू–उपग्रह स्थापनाका लागि पुनः अर्को कम्पनी छनोट गरिनेछ।

    सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो। यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए ।

    अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य छ।

  • ‘म कुन पार्टीको प्रधानमन्त्री रे ! जान्ने मन भए सर्वोच्चमा जानुस्’

    ‘म कुन पार्टीको प्रधानमन्त्री रे ! जान्ने मन भए सर्वोच्चमा जानुस्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्च अदालतलाई सोध्न आग्रह गरेका छन् ।

    अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा बोल्दै ओलीले पार्टीका नेता भीम रावललाई म कुन पार्टीको प्रधानमन्त्री भनेर सर्वोच्चलाई नै जानुस् भन्दै व्यंङग गरेका हुन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्न गरेका थिए। सोही अभिव्यक्तिको जवाफ दिँदै ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्चलाई सोध्न भनेका हुन्।

    ‘अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीका हो जानकारी पाउँ भन्नुभयो, सर्वोच्च अदालतमा जानुस्। कुन पार्टीको हो रे !’ ओलीले भने।

    आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिनेगरी फैसला गरेको थियो।

  • कांग्रेस र प्रचण्ड-माधव समुहको अवरोधपछि प्रतिनिधिसभा बुधबारसम्म स्थगित

    कांग्रेस र प्रचण्ड-माधव समुहको अवरोधपछि प्रतिनिधिसभा बुधबारसम्म स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी बुधबारसम्मका लागि स्थागित भएको छ । संसद सचिवालयले सूचना टासी बुधवार १ बजेसम्मका लागि संसद स्थगित भएको बताएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आज संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेको छ । त्यसपछि बैठक १० मिनेटका लागि स्थगित भएकोमा सूचना टासी बुधबारसम्म स्थगित गरिएको हो ।

    कांग्रेसको निर्णयमा जनता समाजवादी पार्टीले पनि काङ्ग्रेसलाई साथ दिएको छ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रचण्ड-माधव नेपाल समूहका सांसदहरूले बहिष्कार गरेका थिए। नेकपाका नेताहरुले सर्वोच्च अदालतले संसद्‌ पुनर्स्थापित गरेसँगै सरकारले वैधानिकता गुमाएको भन्दै पहिलो बैठकमा अध्यादेश सहितका कार्यसूची राख्न नहुने माग गरेका थिए ।

  • विदेशमा कोरोनाबाट थप दुई नेपालीको मृत्यु

    विदेशमा कोरोनाबाट थप दुई नेपालीको मृत्यु

    काठमाडौं । गतसाता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गत स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट यो साता बेलायतमा दुई नेपालीको मृत्यु भएको हो । शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएको तथ्यांक छ ।


    संघका अनुसार कोरोनाका कारण हालसम्म सबैभन्दा बढी साउदी अरबमा ८८, बेलायतमा ८६ र युएईमा ५० जना नेपालीको मृत्यु भएको ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । शनिबार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९८१ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    तीमध्ये ६० हजार ६२८ जना निको भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार पछिल्लो साता स्वीडेन, मलेसिया, युएई र पोर्चुगलमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

  • प्रचण्ड माधव समूहद्वारा संसद बैठक बहिष्कार

    प्रचण्ड माधव समूहद्वारा संसद बैठक बहिष्कार

    काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिष्कार गरेका छन् ।

    सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठकको कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हुन् । प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन् ।

  • नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८८६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय २८ रहेको छ । मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • सर्वोच्चको फैसलाले ब्युँतिए एमाले र माओवादी केन्द्र

    सर्वोच्चको फैसलाले ब्युँतिए एमाले र माओवादी केन्द्र

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्न ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।

    ‘निर्वाचनमा आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा अब यी दुई राजनीतिक दलको एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनू’ भनि इजलासले आदेश दिएको छ

  • नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

    नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

    न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएका हुन् ।

    यो फैसलासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज खारेज भएको छ ।

  • पाकिस्तानी प्रधानमन्त्री इमरानले लिए विश्वासको मत, जोगियो पद

    पाकिस्तानी प्रधानमन्त्री इमरानले लिए विश्वासको मत, जोगियो पद

    इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रधानमन्त्री पद जोगिएको छ । उनले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्लीबाट विश्वासको मत प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत पाउन सफल भएका छन् ।

    यसबाट उनले आफ्नो पदमात्र जोगाएनन्, आफ्नो कार्यकालमा लोकप्रिय रहेको समेत प्रमाणित गरेका छन् । राष्ट्रपतिले बोलाएको संसदको नयाँ अधिबेशनमा प्रधानमन्त्री रहिराख्न खानले आफूलाई प्रधानमन्त्रीमा साधारण बहुमत रहेको पुष्टि गर्न विदेशमन्त्री साह मोहम्मद कुरेसीद्वारा संसदको तल्लो सदन प्रस्तुत प्रस्ताव अनुमोदन भएपछि उनलाई थप विश्वासका साथ काम गर्ने प्रोत्साहन मिलेको बताइएको छ । तल्लो सदनमा सत्तारुढ पार्टीको बहुमत छ ।

  • लालिगा फुटबल, बार्सिलोनाले अंक दुरी छोट्यायो

    लालिगा फुटबल, बार्सिलोनाले अंक दुरी छोट्यायो

    काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ओसासुनालाई २-० गोल अन्तरले हराएको बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँग अंक दूरी छोट्याएको छ। म्याड्रिडको २४ खेलबाट ५८ अंक रहेको छ । बार्सिलोनाको २६ खेलबाट ५६ छ । तेस्रो स्थानमा रियल म्याड्रिड रहेको छ । उसको अंक रहेको छ ।

    शनिबार राती भएको खेलमा बार्सिलोनाका जोडी अल्वाले ३० औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिए । उनले लियोनेल मेस्सीको पासमा गोल गरे । ८३औं मिनेटमा बार्सिलोनाका मोरिवाले मेसीकै पासमा दोस्रो गोल गरी टोलीको जित सुनिश्चित गरेका हुन् । गएराति नै भएको अर्को खेलमा एल्चेसँग सेभिल्ला २-१ ले पराजित भएको छ ।

  • नारायणगढ-मुग्लिन सडक दिउँसो दैनिक साढे ४ घण्टा बन्द, एक सातापछि मात्र खुल्ने

    नारायणगढ-मुग्लिन सडक दिउँसो दैनिक साढे ४ घण्टा बन्द, एक सातापछि मात्र खुल्ने

    काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा यात्रा गर्दै हुनुहुन्छ भने आजबाट एक साता ट्राफिक जामको समस्या पर्न सक्छ । पहिरो रोकथामसम्बन्धी बाँकी पुरा गर्न यो सडक खण्ड आजबाट एक हप्ता दिउँसो बन्द हुँदैछ । आगामी २९ गतेसम्म दिउँसो साढे १० बजेबाट ३ बजेसम्म सडक बन्द गर्न लागिएको छ ।


    नारायणगढमुग्लिन सडक आयोजनाका अनुसार यो सडकखण्डको चारकिलोमा पहिरो रोकथामको काम गरिँदैछ । अत्यावश्यक सेवाबाहेक सबै सवारी साधनको आवागमन दुई तर्फी नै रोक्न लागिएको छ । असार पहिलो साता पहिरोले बगाएको क्षेत्रमा पहिरो रोकथामको काम हुनेछ । आजबाट नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने भएको छ ।

  • नेपालमा आजबाट दोस्रो चरणको खोप अभियान शुरु, ६५ वर्ष माथिका नागरिकलाई कोरोना खोप दिईंदै

    नेपालमा आजबाट दोस्रो चरणको खोप अभियान शुरु, ६५ वर्ष माथिका नागरिकलाई कोरोना खोप दिईंदै

    काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट शुरु हुनेछ । यस अभियानका दौरान देशभरका ६५ वर्ष माथिका करीव १६ लाख नागरिकले खोप पाउने भएका छन् । साथै यसै चरणमा हिमाली जिल्लाका ५५ वर्ष माथिका सबैले खोप लगाउन सक्ने भएका छन् । नेपालमा १४ माघबाट खोप लगाउन थालिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिको प्राथमिकतामा परिवर्तन गर्दै ६५ वर्ष माथिका नागरिकलाई मात्र खोप लगाउन लागेको हो । यसअघि ५५ वर्ष माथिका सबैलाई खोप दिने तयारी थियो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको अभियानको प्रारम्भ गर्ने भएका छन् ।

    उनी १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्ने कार्यक्रम छ । देशभर स्थापना गरिएका ६ हजार खोप केन्द्रबाट खोप लगाइने भएको छ । भारतबाट नेपालले किनेको कोभिशिल्ड खोप नेपालमा वितरण हुँदैछ ।

  • अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

    अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आज अपराह्न चार बजेका लागि बैठक आह्वान भएको हो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गर्दै संसद विघटन खारेज गरिदिएको थियो ।

    अदालतले ११ फागुनमा यस्तो आदेश दिएको हो । अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको थियो । सोहीअनुसार पुनः सरकारको सिफारिसमा राष्ट्रपतिबाट नयाँ मिति तोकिएको हो । आजको बैठकमा अन्यौल भने हुनेछ । नेकपा दुई खेमामा बाँडिएको छ । तर औपचारिक रुपमा विभाजित भएको छैन । दुवै नेकपाका आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक छन् । तर, उनीहरुलाई बस्न राखिएको लहर सत्ता पक्षतर्फ नै छ ।

    धेरैले आफ्नो कदम गलत सावित भएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजिनामा दिन्छन् भन्ने आंकलन गरेका थिए । तर प्रधानमन्त्री त्यसो नगरी विश्वासको मत पनि नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने तयारीमा छन् । सोहीकारण संसद बैठकपछि राजनीतिक परिदृष्य अझ पेचिलो बन्दै जाने देखिएको छ ।

  • कोभ्याक्सबाट २० मुलुकमा २ करोड डोज खोप पठाइयो, नेपालमा आइतबार आउने

    कोभ्याक्सबाट २० मुलुकमा २ करोड डोज खोप पठाइयो, नेपालमा आइतबार आउने

    काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा शुरु भएको कोभ्याक्स कार्यक्रममार्फत अहिले विश्वका गरिब तथा कम आयस्रोत भएका मुलुकमा कोरोना भाइरस विरुद्धको खोप पठाउन थालिएको छ । यसै क्रममा विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका २ करोड डोज खोप पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    यो कार्यक्रमबाट अनुदानमा मुलुकहरुलाई खोप दिइने भएको छ । खोप पहिलो चरणमा अफ्रिकी मुलुकमा पठाइएको छ । अनुदानको खोप वितरण गर्ने कार्यक्रम घानाबाट प्रारम्भ गरिएको थियो । संगठनका अनुसार आगामी सातासमेत खोप वितरण जारी रहनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा समेत कोभ्यास कार्यक्रमको अनुदानको १० लाख डोज खोप आइतबार आउँदैछ ।

  • दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु

    दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु

    दार्चुला । दार्चुलामा जीप दुर्घटनामा परी कम्तिमा तीन जनाको मृत्यु भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार चालक सहित तीन जनाको मृत्यु भएको पुष्टी भएको छ । शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नम्बरको को जीप दुर्घटनामा परेको छ ।

    जीप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खसेको स्थानीय प्रहरीले जनाएको छ । जीपमा ७ जना चढेका थिए ४ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । मृत्यु हुनेमा जीप चालक चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन् ।

    घाइते शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धि बल्लभ पन्त, पदम राज पन्तका छोराहरु वर्ष १२ का मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त र ७० वर्षीय गंगादेवी पन्तको उपचार जारी छ ।

  • प्रधानमन्त्रीले आइतबार कोभिड खोप लगाउने, शुरु हुँदै दोस्रो चरणको खोप अभियान

    प्रधानमन्त्रीले आइतबार कोभिड खोप लगाउने, शुरु हुँदै दोस्रो चरणको खोप अभियान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ कोरोना भाइरसविरूद्धको खोप लगाउने निश्चित भएको छ । संसारका अधिकांश मुलुकमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखले खोप लगाएर अभियानको प्रारम्भ हुने गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म लगाएका थिएनन् । उनले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने भएका हुन् ।

    शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा ललितपुरमा आयोजित कोभिड १९ खोप अभियानसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले यस बारे जानकारी गराएका हुन् । उनकाअनुसार आइतबार बिहान संवैधानिक निकायका प्रमुखले समेत खोप लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले खोप लगाएपछि आइतबारबाटै कोरोनाविरूद्धको खोप लगाउने अभियानको दोस्रो चरणको काम सुरू हुनेछ।

    सरकारले दोस्रो चरणमा ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाउने योजना बनाएको छ । कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगाएत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरिकाले जनतासम्म लैजाने काम भइरहेको जनाएका छन् । आइतबार नै कोभिड १९ विरूद्धको कोभ्याक्स खोपको पहिलो खेप नेपाल आउने भएको उनले जानकारी दिए ।

    सरकारले भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने उनको भनाई छ ।

  • अन्ततः काठमाडौंमा झर्यो मेलम्चीको पानी, धारामा कहिले ?

    अन्ततः काठमाडौंमा झर्यो मेलम्चीको पानी, धारामा कहिले ?

    काठमाडौं । उपत्यकाबासीको तीन दशक लामो प्रतिक्षा चिर्दै अन्ततः काठमाडौंमा मेलम्चीको पानी झरेको छ । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आज सोही प्रयोजनका लागि सुन्दरीजल पुगेका थिए । उनले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटम थिचे ।

    त्यसपछि गत फागुन १० मा सुरुङमा खसालिएको पानी सुन्दरीजलमा झरेको हो । आजको पानी धमिलो थियो । सोहीकारण पानी बागमती नदीमा पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो सपना पुरा भएको दिनका रुपमा व्याख्या गरे ।

    उनले अब केही दिनमै घरघरमा पानी आउने बताए । उनले दिनपिच्छे ठूल्ठूला काम भएको दावि गर्दै यसअघि आफ्नै पार्टीबाट समेत सहयोग नभएको गुनासो समेत आज गर्न भ्याए ।

  • आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान

    आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान

    काठमाडौं । मेलम्ची खानेपानीको परीक्षणका दौरान आज सुन्दरीजलमा पानी खसालिँदैछ । यसरी आएको पानीलाई मेलम्चीको वितरण केन्द्रमा नभई बागमति नदीमा पठाइने छ । यसले नदीको जलप्रवाह बढ्न सक्ने भन्दै मेलम्ची विकास समितिले सतर्क रहन नदी किनारका बासिन्दालाई आह्वान गरेको छ । सुरुङ परीक्षणका क्रममा बागमतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको हो ।

    फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा आज सुन्दरीजल आइपुग्ने छ । पानीको केही परिमाण सिधैँ बागमतीमा जाने समितिको भनाई छ । पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको हो । आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएसँगै परीक्षणको काम जारी छ । आज परीक्षणको अवलोकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाँदैछन् ।

  • अर्थमन्त्री लखेटिएको औद्योगिक कोरिडोरको मुद्दामा घनश्यामले दिए जनताको साथ

    अर्थमन्त्री लखेटिएको औद्योगिक कोरिडोरको मुद्दामा घनश्यामले दिए जनताको साथ

    बुटवल । रूपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोर शिलान्यास गर्न पुगेका अर्थमन्त्री विण्णु पौडेल तथा उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लखेटे । खासगरी स्थानीयसँग समन्वय नगरी एकलौटी रुपमा आयोजना अगाडी बढाउन खोजेपछि यहाँ विवाद शुरु भएको हो । स्थानीयले विरोध गर्दै शुक्रबार अर्थमन्त्री विष्णु पौडेलमाथि लक्षित गरी ढुंगा वर्षाएका थिए ।

    यो मुद्दामा उक्त क्षेत्रका अर्का सांसद तथा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता घनश्याम भुसालले भने आफु स्थानीयको साथमा रहेको र उनीहरुको मागमा समर्थन रहेको बताएका छन् । भुसालले स्थानीयसँग सामान्य छलफल पनि नगरी सरकारका दुई,दुई जना मन्त्रीको दमनपूर्ण हर्कतकै कारण घटना हुन पुगेका बताएका हुन् । यसबाट सरकारको जनविरोधी मुकुण्डो उदाङ्गो भएको भुषालको भनाई छ ।

    करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिईं, उनीहरुसँग सामान्य छलफल नगरी, वातावरणीय प्रभाव मुल्यांकन समेत नभएको र केवल राजनीतिक प्रचारका लागि देखाइएको मोतिपुर औद्योगिक करिडोर शिलान्यासका नाममा दमनपूर्ण हर्कत गरिएको उनको भनाई छ ।

    यसअघि अर्थमन्त्री पौडेलले भने पर्दा पछाडीबाट नभई सामुन्ने आएर विरोध गर्न आह्वान गरेका थिए । लगत्तै घनश्यामको विज्ञप्ती सार्वजनिक भएको हो । वातावरणीय प्रभाव मुल्याङ्कन गरेपछि स्थानीय वासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अगाडि बढाउने विषयमा उद्योगमन्त्री, औद्योगिक व्यवस्थापन लिमिटेडका अधिकारीसँग भएको सहमतिसमेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीले सयौं सुरक्षकर्मीका घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको नांगो नाच नाचेको घनश्यामले बताए ।

  • मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने

    मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने

    काठमाडौं । आज मेलम्चीको पानी काठमाडौं झारिदैछ । दुई साता अगाडी नै सुरूङमा पठाइएको पानी आज काठमाडौंस्थित सुन्दरीजलमा झार्न लागिएको हो । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी सुरूङमार्गमार्फत पहिलो पटक काठमाडौं आएको हो । निर्माण थालेको दुई दशकपछि काठमाडौं बासीको पानीको तिर्खा मेट्ने सपना पुरा हुने समय भने नजिकिएको छ ।

    आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि छाडिएको पानी आज दिउँसोसम्म सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झरिसक्ने आयोजनाको भनाई छ । आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो रहेको छ । सुन्दरीजलमा पानी झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम रहेको छ । आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरुङमा पानी छाडेको हो । यो दोस्रो प्रयासमा सफल हुन लागेको हो ।

    यसअघि असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको हो । सुरुङमा आएको मेलम्चीको पानी सुन्दरीजलस्थित केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण हुनेछ । ​सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउने भएका छन् ।

    आयोजनाका अनुसार सुरुङमार्गबाट झर्ने पानीलाई बागमतीमा बगाउने तयारी छ । जसले गर्दा आज बागमतीको समेत सतह बढ्न सक्छ ।

  • मौसम प्रतिकुल बन्दै, केही स्थानमा वर्षा हुने

    मौसम प्रतिकुल बन्दै, केही स्थानमा वर्षा हुने

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शनिबार बिहानबाटै मौसम प्रतिकुल बनेको छ । देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यरुपमा बदली भएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागहरुको एक, दुई स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

    सामान्य वर्षा र हिमपातको सम्भावना सोमबारसम्म नै जारी रहने छ । काठमाडौं उपत्यकामा शुक्रबार साँझ नै वर्षा भएको छ । अन्य प्रदेशको मौसम सफा रहने महाशाखाको भनाई छ ।