Author: Vishwanews.com

  • गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना जिवनभर जेल बस्नु पर्ने, छोरीलाई सफाई

    गोंगबु हत्याकाण्डकी अभियुक्त कल्पना जिवनभर जेल बस्नु पर्ने, छोरीलाई सफाई

    काठमाडौं । गत साउनमा काठमाडौंको गोंगबुमा एक आततायी घटना सार्वजनिक भयो । जहाँ एक व्यक्तिको हत्यापछि टाउको, खुट्टा र जिउ काटेर टुक्रा पारेको अवस्थामा फेला पर्यो । यो घटना घटाउने अपराधी थिइन् कल्पना मुडभरी पौडेल । उनलाई प्रहरीले घटना भएको तेस्रो दिनमै पक्राउ गर्न सफल भएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई जिवनभर जेल बस्नुपर्ने सजाय सुनाएको छ ।

    यससँगै अब उनी जेलबाट मुत्त हुन पाउने छैनन् । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई आजीवन काराबासको सजाय सुनाएको हो । मुलुकी फौजदारी संहितामा ज्यानसम्बन्धी कसुर गर्नेलाई जन्मकैद अर्थात २५ वर्ष कैदको व्यवस्था छ । तर, कल्पनाको हकमा भने क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको पुष्टि भएको छ ।

    सोहीकारण उनी आजीवन जेल बस्नु पर्ने भएको हो । यस घटनामा कल्पनाकी छोरीको भने संलग्नता नदेखिएको भन्दै अदालतले सफाइ दिएको छ। कल्पनाले छोरीलाई लास बोक्न प्रयोग गरेकी थिइन् । गोंगबुको गणेशस्थान नजिक गत साउन २५ मा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको हो ।

    कल्पना मुडभरी पौडेलको कोठामै उनको हत्या भएको हो । राति हत्या गरी टाउको र खुट्टा एउटा झोला र जीउ सुटकेसमा राखेर सडकको छुट्टाछुट्टै स्थानमा फालेको अवस्थामा फेला परेको थियो ।

  • निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग

    निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग

    काठमाडौं । निर्वाचन आयोगले नेकपा विवादको टुंगो लगाउन छाडी असंवैधानिक रुपमा घोषित निर्वाचनको तयारीमा लागेको प्रति अहिले व्यापक आलोचना भइरहेको छ । यसै सन्दर्भमा पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र कानून अनुसार निर्णय दिन निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् ।

    पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङले बुधबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेकाहुन् । उनीहरुले आयोगको निर्णय क्षमता र स्वायत्ततामा प्रश्न उठेको तर्फ समेत ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद विघटनको सिफारिस गरेपछि नेकपा दुइ धारमा विभाजन भएको छ । तर, आयोगले यसको टुंगो लगाएको छैन । तर, पार्टी विवाद नमिलाई आयोग भने नयाँ निर्वाचनको तयारीमा जुटेको थियो । त्यस कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको छ ।

    पार्टीमा फाटो आएपछि प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । उता, ओली समूहले विधान संशोधन गर्न केन्द्रीय कमिटी विस्तार गरेको छ । दुबै समूहले आफ्नो निर्णय अध्यावधिक गर्न माग गर्दै आयोगमा पत्र दिएका छन् । आयोगले भने माघ ११ मा दुबै समूहको दाबी अस्वीकार गर्दै ४४१ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको उल्लेख गरेको छ ।


    यसमा चित्त नबुझाई प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार नेकपाको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै २० माघमा निर्वाचन आयोगमा निवेदन दिएको छ । आयोग भने यो विषयमा मौन छ । कानून अनुसार गर्दा प्रधानमन्त्रीको विपक्षमा निर्णय जाने भएकाले आयोगबाट ढिलाई भएको आंशका गर्न थालिएको छ ।

  • सरकार-विप्लवबीच दोस्रो चरणको वार्ता सकियो, दुवैपक्ष समान धारणा नजिक

    सरकार-विप्लवबीच दोस्रो चरणको वार्ता सकियो, दुवैपक्ष समान धारणा नजिक

    काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दोस्रो चरणको वार्ता छिट्टै सकारात्मक निष्कर्ष पुग्ने अपेक्षासहित सकिएको हो ।

    वार्तामा विषय केन्द्रीत हुनुका साथै दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी टोलीका सदस्य डा. राजन भट्टराईले जानाकारी दिए ।

    विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका थिए । विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो ।

    सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । वार्तामा विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरेको छ ।

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोेराना संक्रमणबाट मृयु हुनेको संख्या तीन हजार नाघेको छ । बुधबार मृतकको संख्यामा २३३ जना थपिएसँगै मृत्यु हुोको संख्या तीन हजार १० जना पुगेको हो ।

  • नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज

    नेपालमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, ६२ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ३८१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६०५ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ७ सय ६६ रहेको छ ।

  • केपी ओली, सूर्य थापादेखि शान्ता चौधरीसम्मलाई दाहाल-नेपाल समूहको कारबाही

    केपी ओली, सूर्य थापादेखि शान्ता चौधरीसम्मलाई दाहाल-नेपाल समूहको कारबाही

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ ।

    बुधबार बसेको स्थायी कमिटीले प्रधानमन्त्री ओलीलाई हटाउँदै दलको उपनेताबाट सुवास नेम्वाङसहित ७ जनालाई ६ महिना निलम्बन गरेको हो । त्यस्तै संसदीय दलको सचेतकबाट शान्ता चौधरीलाई कारबाही गरेको छ ।

    नेकपाको ओली समूहबाट संसदीय दलको प्रमुख सचेतक बनेका विशाल भट्टराई, महेश बस्‍नेत, प्रभु साह, कर्ण थापा,प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेर कारबाही गरेको छ ।

    थापा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत हुन् । स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो।

    उनीहरुलाई पार्टी अनुशासन विपरित काम गरेकोले कारबाही गरिएको दाहाल-नेपाल समूहले जनाएको छ ।

    प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन गरेसँगै पुस ५ गते नै दलको नेता र पार्टी अध्यक्षबाट हटाइसकेको छ ।

    पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड-नेपाल र प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। दुवै दल कानुनी रूपमा भने अहिले पनि एकै छन्।

  • सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

    सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

    काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ ।

    दुवै वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । वार्ता भएको स्थान गोप्य राखिएको छ ।

    वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका थिए ।

    विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका थिए । विप्लव समूहको वार्ता टोली मंगलबार (हिजो) नै काठमाडौं आइपुगेको थियो ।

    वार्तामा के–के भयो खुलाइएको छैन । दुई समूहबीच निरन्तर छलफल जारी राख्ने सहमति भएको बताइएको छ । सरकारले ०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

  • विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा

    विश्वमा सबैभन्दा बढी अर्बपति चीनमा, भारत तेस्रो स्थानमा

    काठमाडौं । संसारमा सबैभन्दा बढी अर्बपति भएको मुलुक हो चीन । कोरोना भाइरसले विश्व आक्रान्त भएको समयमा पनि चीनको अर्थतन्त्रमा त्यति ठूलो प्रभाव परेन । किनकी चीनले कोरोना रोकथाममा कडा नीति लियो र त्यसलाई नियन्त्रण गर्न सफल भयो । त्यसपछि कोरोना सँग सम्बन्धित क्षेत्रको व्यापार थालेको चीनको आर्थिक वृद्धिसमेत यो वर्ष सबैभन्दा बढी भएको छ ।

    तथ्यांक अनुसार अर्बपतिको संख्या तिब्र गतिमा बढ्ने मुलुकमा चीन र भारत नै अग्रस्थानमा छन् । अमेरिका दोस्रो स्थानमा झरेको छ । हालै सार्वजनिक भएको ग्लोबल रिच लिस्ट अनुसार भारत विश्वमा सर्वाधिक अर्बपति भएको मुलुकको तेस्रो स्थानमा आउन सफल भएको छ । भारतमा १ सय ७७ अर्बपति रहेका छन् । जसमा ६१ जना मुम्बई शहरमा मात्र बस्छन् ।

    नयाँ दिल्लीमा ४० र बेंग्लौंरमा २२ जना अर्बपति रहेका छन्। विदेशमा रहेका भारतीय अर्बपति जोड्दा भारतका मात्र २ सय ९ जना पुग्ने तथ्यांक छ । चीनमा भने १ हजार ५८ जना अर्बपति रहेका छन्। यस वर्ष मात्रै चीनमा २ सय ५९ जना अर्बपतिको संख्या थप भएको छ ।

    राजधानी बेइजिङमा १ सय ४५ जना अर्बपति छन्। सांघाईमा १ सय १३ जना अर्बपति रहेको सूचिमा उल्लेख छ । अमेरिका दोस्रो स्थानमा छ । यहाँ ६ सय ९६ अर्बपति छन्। एक वर्षमा अमेरिकामा ७० जना नयाँ अर्बपति थपिए । विश्वका सबैभन्दा बढी सम्पत्ति अमेरिकी नागरिक इलन मस्कसँग रहेको छ । उनको कुल सम्पत्ति १ सय ९७ बिलियन डलर रहेको तथ्यांक छ ।

    भारतमा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी सबैभन्दा धनी व्यक्ति हुन । उनी विश्वका सबैभन्दा धनी व्यक्तिको ९ औं सूचीमा छन् । उनको सम्पत्ति ८३ अर्ब डलर पुगेको छ ।

  • चार महिला फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने भए व्यवसायिक फुटवल

    चार महिला फुटबल खेलाडीले पाकिस्तानमा खेल्ने भए व्यवसायिक फुटवल

    काठमाडौं । नेपालका चार महिला फुटबल खेलाडीले पाकिस्तानमा व्यवसायिक फुटबल खेल्ने भएका छन् । हालै सम्पन्न राष्ट्रिय महिला लिगमा उत्कष्ट प्रदर्शन गरेका सरु लिम्बु, एन्जिला तुम्बाप्पो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको ‘राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप’ खेल्ने निश्चित भएको हो । चारै जना खेलाडी नेपालका राष्ट्रिय टीमका सदस्य समेत हुन् ।

    एन्जिला गोलकिपर हुन । गीता डिफेण्डर, सरु मिडफिल्डर र अनिता फरवार्ड हुन् । राष्ट्रिय महिला लिगमा चारै जना खेलाडी एपीएफबाट खेलेका थिए । टोली राष्ट्रिय लिगमा अपराजित रहेको थियो भने उपाधी समेत उचाल्न सफल भयो ।

    नेपाली खेलाडीले मासा युनाईटेड फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्ने निश्चित भएको हो । खेल पाकिस्तान फुटबल फेडेरेशनले आयोजना गरेको हो । नेपाली खेलाडी बिहीबार दुबई हुँदै पाकिस्तान जाने भएका छन् । प्रतियोगिता मार्च ८ बाट शुरु भई अप्रिल ३ सम्म कराँचीमा संचालन हुने छ ।

  • बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै

    बंगलादेशसँग नेपालले किनेको मल कोलकात्ता आयो, कार्गो रेलमा राखी नेपाल ल्याईंदै

    काठमाडौं । नेपाल सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलमध्ये पहिलो खेप भारतको कोलकात्ता आइपुगेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार यो मल आजबाट नेपाल ल्याउने प्रक्रिया शुरु हुने छ । बुधबार कार्गो रेलमा राखेर मल नेपाल तर्फ ल्याइने छ । नेपाली सिमानामा आइतबारसम्म मल आइपुग्ने बताइएको छ ।

    पहिलो खेपमा बंगलादेशबाट २२ हजार ५ सय मेट्रिकटन मल आएको छ । सरकारले बंगलादेशबाट मल पहिँचोमा ल्याएर नेपालमा कृषकलाई वितरण गर्ने र बंगलादेशलाई तिर्ने प्रक्रिया अगाडी बढाएको थियो । तर, बंगलादेशले समेत नपत्याएपछि खरीद प्रक्रिया शुरु गरिएको थियो । सरकारले प्रक्रिया थालेको ६ महिनापछि बंगलादेशबाट मल नेपाल आउन लागेको हो ।

    बंगलादेशसँग जीटुजी मोडलबाट मल खरिद गरिएको छ । कोलकात्ताबाट कार्गो रेलमा राखेर भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा मल आइपुग्ने छ । बंगलादेशसँग सरकारले ५० हजार मेट्रिक टन युरिया मल किनेको छ । बाँकी २७ हजार ५ सय मेटन मल १५ दिनपछि बंगलादेशको चटगाउँ पोर्ट नेपाल तर्फ लाग्ने छ ।

  • आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने

    आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने

    काठमाडौं । आजबाट संघीय संसदका सांसद तथा संसद सचिवालयका कर्मचारीलाईखोप लगाइने भएको छ । संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम राखिएको छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइने भएको छ ।

    सभामुख र अध्यक्ष नेपालमा खोप लगाउने उच्च तहका व्यक्ति हुनेछन् । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारलाई समेत खोप लगाउने कार्यतालिका राखिएको छ ।

    संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायत सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने कार्यक्रम तय भएको छ । २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधबार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने संसद सचिवालयको सूचनामा उल्लेख छ ।

  • सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने

    सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने

    काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप किन्ने भएको छ । यसका लागि खरिद प्रक्रिया समेत शुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप किन्न अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरिसकेको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा उपस्थित भएका सचिव अर्यालले यस्तो जानकारी गराएका हुन् ।

    नेपाललाई भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको छ । चीन सरकारले ८ लाख डोज खोप दिने घोषणा गरेको छ । सरकारले भारतबाट यसअघि २० लाख डोज खोप किनिसकेको छ । त्यसमध्ये १० लाख डोज नेपाल आइसकेको छ ।

    नेपालले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप किनेको छ । उता, कोभ्याक्समार्फत समेत पहिलो चरणमा नेपालमा २२ लाख डोप आउने छ । यसरी सबै खोप हेर्दा कुल १ करोड १० लाख डोज खोप उपलब्ध हुने भएको सचिव अर्यालले उल्लेख गरे ।

  • नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

    नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

    जाम्फारा\नाइजेरिया । नाइजेरियामा अपहरणमा परेका सयौं विद्यार्थी किशोरी रिहा भएका छन् । उनीहरुलाई गत शुक्रबार एक हतियारधारी समुहले विद्यालयबाटै अपहरण गरेको थियो । यसअघि प्रहरीले ३ सय १७ जना किशोरी अपहरणमा परेको बताएको थियो । बीबीसीका अनुसार त्यसमध्ये केही किशोरी भाग्न सफल भएका थिए ।

    सोहीकारण कुल अपहरणमा परेका २७९ जना छात्रा रिहा भएका हुन् । त्यहाँको प्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गर्दै नजिकको जङ्गलमा लगेको थियो । उनीहरु र सरकारी अधिकारीबीच वार्ताका माध्यमबाट शान्तीपूर्ण रुपमा छात्रालाई छाड्ने वातावरण बनेको हो ।

    जाम्फारा राज्यका गभर्नर बेले मटावाले ट्वीट गर्दै अपहरणमा परेका छात्राहरूलाई रिहा गरिएको घोषणा गर्न पाउँदा आmुलाई निकै खुसी लागेको उल्लेख गरेका छन् । नाइजेरियामा हतियारधारी समूहले फिरौती माग्न बालबालिका र किशोर किशोरीको अपहरण गर्ने गर्छन् । गत डिसेम्बरमा नाइजेरियाको कत्सिना राज्यमा समेत हतियारधारी समुहले तीन सयभन्दा बढी किशोरहरुको अपहरण गरेका थिए । उनीहरुलाई पनि छाडिएको थियो ।

  • ताप्लेजुङको दोभानमा भिषण आगोलागीमा परी कम्तिमा ४७ घर जले, योगेशद्धारा सहयोग घोषणा

    ताप्लेजुङको दोभानमा भिषण आगोलागीमा परी कम्तिमा ४७ घर जले, योगेशद्धारा सहयोग घोषणा

    ताप्लेजुङ । ताप्लेजुङ पुनः एक पटक आगोलागीको घटनाका कारण पिडामा पर्यो । आज बिहान ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा लागेको आगोले कम्तिमा ४७ वटा घर जलेर नष्ट भएका छन् ।अहिले भने आगो नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण मेरिङदेन गाउँपालिका–३, दोभान बजारका ४७ वटा घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    आगो करिब दुई घण्टापछि स्थानीय, दमकल र सुरक्षा निकायका जनशक्तिले नियन्त्रणमा लिएका छन् । सदरमुकाम फुङलिङबाट पुगेको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिनबाट रोकिएको थियो । आगो फैलन नदिन एक्स्काभेटर प्रयोगले केही कच्ची घर समेत भत्काएको छ ।

    बस्तीतर्फको जोखिम कम भए पनि आगो नजिकैको जंगलतर्फ फैलिएको बताइएको छ। त्यसलाई समेत नियन्त्रणको प्रयास भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार ४७ वटा घरमा रहेका ७९ परिवार विस्थापित भएको बताइएको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभर फैलिएको हो।

    यसैबीच ताप्लेजुङमा भएको आगोलागीको घटनाप्रति राष्ट्रपति र प्रधानमन्त्रीले दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले राहत दिने घोषणा गरेका छन् । ताप्लेजुङका सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले भने तत्काल पिडितका लागि ५ लाख रुपैयाँ दिने घोषणा गर्दै थप राहतका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

  • ‘आफ्नै ज्यान जोगाउन नसक्ने प्रधानमन्त्रीले जनताको रक्षा कसरी गर्छन् ?’

    ‘आफ्नै ज्यान जोगाउन नसक्ने प्रधानमन्त्रीले जनताको रक्षा कसरी गर्छन् ?’

    सर्लाही । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा आफुमाथि कुनै तलमाथि भए अचम्म नमाने हुन्छ भनेर दिएको अभिव्यक्तिको अहिले सर्वत्र आलोचना भइरहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै ज्यानको सुरक्षा गर्न नसक्ने प्रधानमन्त्रीबाट जनताको रक्षा हुन नसक्ने बताएका छन् । उनले यस्ता प्रधानमन्त्रीलाई ‘लुते’ भनिने समेत उल्लेख गरे ।

    मंगलबार सर्लाहीको धनकौलमा मंगलबार आयोजित सभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गरेका नेता गगनले भने, ‘जुन देशका प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन, त्यो देशका प्रधानमन्त्रीले जनताको ज्यान कसरी जोगाउँछ ?’ उनले यस्तो लुते प्रधानमन्त्री नचाहिने समेत उल्लेख गरे ।

    बालुवाटारमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको घेरामा रहँदा त डराउने प्रधानमन्त्रीले अरुको ज्यानको रक्षा गर्न नसक्ने उल्लेख गरे । अहिलेका प्रधानमन्त्रीसँग अब कुनै अपेक्षा बाँकी नरहेको भन्दै उनले दिनभित्र बिदाइ गर्ने अभिभारा पूरा गर्नुपर्ने समेत उल्लेख गरे ।

  • कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा

    कार्यविधि खारेज नगर्न एक अर्बको प्रलोभन आएको वन मन्त्री प्रेम आलेको खुलासा

    काठमाडौ । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको प्रलोभन आएको खुलासा गरेका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफुलाई बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाईएको खुलासा गरेका हुन् ।

    सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिना पछि विभागिय मन्त्रीले सो कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाईएको बताएका हुन् ।

    मन्त्री आलेले आफु सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर वैज्ञानिक बन कार्यक्रमको बारेमा अध्ययन गर्दा पनि जिल्ला बन अधिकृत, क्षेत्रिय निर्देशक, काठव्यवसायी कर्मचारी लगायतले विभिन्न किसिमका प्रलोभन देखाएको दाबी गरे ।।

  • नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ५४२ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ९ सय ७४ रहेको छ । मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • ‘बीएण्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिन अब कसैले रोक्न सक्दैन’- प्रधानमन्त्री

    ‘बीएण्डसी शिक्षण अस्पताललाई सञ्चालन अनुमति दिन अब कसैले रोक्न सक्दैन’- प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडमा निर्मित बीएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिन कसैले रोक्न नसक्ने बताएका छन् । झापाको बिर्तामोडमा आज पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    मापदण्ड नपुगेको भन्दै लामो समयदेखि रोकिएको सम्बन्धन् दिने विषयमा प्रधानमन्त्रीले घोषणा नै गरिदिएका हुन् । बिएण्डसी अस्पतालको मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढेको बताउँदै काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिने बताए ।

    बिएण्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको काम उनै दुर्गा प्रसाईंलाई थाहा छ, अब यो शिक्षण अस्पतालको रुपमा परिचित हुनेछ, यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदैछ,’ उनले भने ।

    ओलीले मेडिकल कलेज र अस्पताल बन्दा केही मानिस अनसन बस्ने र बसाइने गरेको भन्दै डा गोविन्द केसीमाथि लक्षित आलोचना गरे ।

    ‘आलोचना गर्ने गर्दै गर्छन् तर हामी काम गर्छौं ’ उनले भने, ‘नदेख्न खोजेपछि केही लाग्दैन। यहाँ मेडिकल कलेज बन्छ भनेर कोही अनसन बस्छन् र कसैलाई बसाउन लगाइन्छ।’

    नियमनअनुसार मेडिकले कलेजको सम्बन्धन राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सिफारिसमा विश्वविद्यालयले दिनुपर्ने हुन्छ।

  • विप्लव समूहले बनायो वार्ता टोली, जनयुद्धका दुई कमाण्डर आमने-सामने हुँदै

    विप्लव समूहले बनायो वार्ता टोली, जनयुद्धका दुई कमाण्डर आमने-सामने हुँदै

    काठमाडौं । सरकारसँग वार्ताको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

    विप्लव नेतृत्वको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा प्रकाण्डसँगै नेता दीपक चलाउने रहेको छन् ।

    यसअघि सरकारले आज मंगलबार नै विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई छन् । बादलले आफ्ना पूर्वसहकर्मीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने जिम्मेवारी पाएका छन् ।

    प्रधानमन्त्री अ‍ोलीले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएर विप्लवसँग सहकार्य गर्ने मनस्थिति बनाएका छन् । ओली समूहमा रहेका बादल विप्लवसँग सहकार्य भएको खण्डमा प्रतिबन्धले चिसिएकाे जनयुद्धको मित्रता पुनः प्रगाढ हुने सम्भावना देखिन्छ ।

    १० वर्ष सहकर्मी भएर जनयुद्ध लडेका बादल संयोगले सरकारमा छन् भने विप्लव भूमिगत जीवन बिताइरहेका छन् । १० वर्षे जनयुद्धसँगै लडेर आएका बादल र विप्लव प्रतिबन्ध फकुवापछि पहिलो पटक आमने-सामने हुँदैछन् ।

  • विप्लव समूहसँग वार्ता गर्न समिति गठन, बादल संयोजक, राजन भट्टराई सदस्य

    विप्लव समूहसँग वार्ता गर्न समिति गठन, बादल संयोजक, राजन भट्टराई सदस्य

    काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ । विप्लव समूहसँग वार्ता गर्नका लागि सरकारले दुई सदस्यीय टोली गठन गरेको हो ।

    गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने तयारी भएको गुरुङले बताए ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको यस अगाडि विज्ञप्ति सार्वजनिक गरेको थियो। विप्लवले सहज रुपमा गतिविधि र कार्यक्रम गर्ने वातावरण बने सरकारसँग वार्ता हुने बताएका थिए।

    सरकारले ०७५ फागुन २८ गते विप्लवका गतिविधि हिंसात्मक देखिएको भन्दै उनी नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसयता दुवै पक्षले एकअर्कालाई गलाउने गर्दै वार्तामा ल्याउन अनेक अनौपचारिक प्रयास जारी राख्दै आएका थिए।

  • आइलिगमा चम्किएका किरण

    आइलिगमा चम्किएका किरण

    काठमाडौं । नेपाली खेलाडीले अवसर पाए भने उत्कृष्ट प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् किरण चेम्जोङ । उनी नेपाली राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान समेत हुन् । यतिबेला उनले भारतको एक डिभिजन लिग आइलिगमा व्यवसायिक फुटबल खेलिरहेका छन् । त्यहाँ उनले जारी लिगमा आफुलाई उत्कष्ट सावित गरेका छन् ।

    पञ्जाव एफसीबाट आइलिग खेलिरहेका उनले सोमबारसम्म कुल १० खेलमा भाग लिए । जसमध्ये ६ खेलमा एक गोल पनि नखाई क्लिनसीट राख्न सके । उनको प्रशंसा गर्दै क्लवले एक विश्वस्तरीय गोलकिपरको उपमा दिएको छ । पञ्जावले सोमबार नेरोका एफसीलाई हराउँदा किरण हिरो अफ दी म्याच बने । उनको टोली अहिले लिगको दोस्रो स्थानमा छ ।

    सोमबार साँझ बंंगालको कल्याणी स्टेडियममा भएको खेलमा पञ्जावले नेरोका एफसीलाई १–० ले पराजित गरेको हो । पञ्जावको जितमा पापा बाबाकार डायबाराले खेलको ६५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नेरोकाबाट अर्का नेपाली खेलाडी प्रकाश बुढाथोकीले समेत खेले । उनी खेलको ६० औं मिनेटमा खैमिथांह्याङ ल्हुगंडिमको स्थानमा मैदान प्रवेश गरेका हुन् । पंजावले किरणलाई अधिकांश खेलमा कप्तानको जिम्मेवारी दिएको छ । उनले त्यस जिम्मेवारीलाई सफलतापूर्वक पुरा गरिरहेका छन् ।

  • कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

    कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

    लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाका ९९ बर्षीय श्रीमान् फिलिप बिरामी परेका छन् । बेलायती राजसंस्थाका ज्यूदो इतिहास मानिने राजदम्पत्ति वृद्ध अवस्थामा पनि बिरामी परेको खबर खासै सार्वजनिक भएको थिएन । तर, राजकुमार फिलिपको स्वास्थ्य अवस्थाबारे भने दरवारले नियमित जानकारी सार्वजनिक गरिरहेको छ । बेलायती संचारमाध्यमहरुक अनुसार उनको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार जारी छ ।

    उनमा मुटुसम्वन्धी समस्या देखिएको छ । मुटुको परीक्षण भइसकेको छ । यद्दपी स्वास्थ्य अवस्थामा सुधार आएको छैन । हालै उनलाई शुरुमा भर्ना गरेको अस्पतालबाट स्थानान्तरण समेत गरिएको छ । लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई सरकारी अस्पताल सेन्ट बर्थोलोमेज अस्पतालमा सारिएको हो ।

    मुटुको अवस्थाका बारेमा निगरानी गर्दै चिकित्सकले थप उपचार अगाडि बढाएको दरवारले जनाएको छ । राजकुमार फिलिप आगामी जुन १० एक सय वर्षमा पाइला टेक्दैछन् । महारानी एलिजावेथ द्वितीया ९४ वर्षकी भइन् ।

  • ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

    ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्दा चालक पक्राउ

    काठमाडौं । नेपालमा ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेका एक ट्रक चालक पक्राउ परेका छन् । सोमबार साँझ बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमलाई एक सय रुपैयाँ घुस दिन खोजेका ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरी पक्राउ परेका हुन् । प्रहरीले उनीसँग कागज पत्र मागेका थिए ।

    ट्राफिक प्रहरीका अनुसार उनलाई पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको छ । सोमबार नै बालाजुमा ट्राफिक प्रहरी जवान विवेक नकाललाई २ सय रुपैयाँ घुस दिन खोजेका अर्का ट्रक चालक समेत प्रहरीको फन्दामा परेका छन् । ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानले घुस दिन खोजेका थिए ।

  • लालिगामा टप थ्री भिडन्त रोचक बन्दै, रियल बराबरीमा रोकियो

    लालिगामा टप थ्री भिडन्त रोचक बन्दै, रियल बराबरीमा रोकियो

    काठमाडौं । कुनै समय एटलेटिको मड्रिड र रियल मड्रिडले फराकिलो अन्तरमा अग्रता बनाएको जारी स्पेनिस ला लिगा फुटबलको टप थ्री अब रोचक मोडमा आएको छ । जहाँ तीन शीर्ष स्थानका टोलीबीच अंक तालिकामा भिडन्त शुरु भएको हो । साविक विजेता रियल मड्रिड सोमबार राती भएको खेलमा बराबरीमा रोकिएको छ ।

    रियललाई रियल सोसिडाडले १–१ गोलको बराबरीमा रोकेको हो । यसले उसको दोस्रो स्थानमा उक्लने अवसर पर धकेलिएको छ । १ गोलले पछाडी परेको रियलका लागि भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै अंक दिलाएका थिए ।

    रियल मड्रिड र बार्सिलोनाको अहिले अंक तालीकामा समान ५३ अङ्क छ । गोल अन्तरका आधारमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन् । पहिलो स्थानमा एटलेटिको मड्रिड रहेको छ ।

  • प्रधानसेनापति थापाले लगाए कोरोना खोप

    प्रधानसेनापति थापाले लगाए कोरोना खोप

    काठमाडौं । संसारका अधिकांश मुलुकमा उच्च पदस्थ अधिकारीबाट कोरोना खोप लगाएर खोप अभियानको शुरुवात गरिएको छ । तर, नेपालमा भने राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च सरकारी अधिकारीले खोप लगाएनन् । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोना विरुद्धको खोप लगाउँदै खोप सुरक्षित रहेको सन्देश दिएका छन् । उनले भारतबाट अनुदानमा आएको कोभिसिल्ड खोप लगाएका हुन् ।

    थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । उता, अन्य सुरक्षा निकायका प्रमुखले भने अझै खोप लगाएका छैनन्। नेपालमा पहिलो चरणको खोप अभियान पुरा भइसकेको छ ।

    यद्दपी अनुदानमा आएको खोप पुरै खपत नभएपछि सरकारले खोप वितरण भने जारी राखेको छ । अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मी र पत्रकारलाई पहिलो प्राथमिकतामा राखी खोप लगाइएको छ । अब सांसद र संसद सचिवालयका कर्मचारीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

  • प्रधानमन्त्रीको शिलान्यास राजनीति, आज पुनः झापा र मोरङ जाने

    प्रधानमन्त्रीको शिलान्यास राजनीति, आज पुनः झापा र मोरङ जाने

    काठमाडौं । संसद विघटनबाट जनताबीच अलोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफुलाई विकासवादी नेता स्थापित गर्न लागि परेका छन् । पछिल्लो समय राज्यस्रोतको दोहन गर्दै उनी शिलान्यासमा बढी केन्द्रित छन् । किनकी उनको तिनवर्षे कार्यकालको अवधिमा कुनै पनि आयोजना सम्पन्न हुन सकेका छैनन् । सोहीकारण उनल पूर्वतयारी समेत नसकिएका आयोजनाहरुको समेत धमाधम शिलान्यास गरिरहेका छन् ।

    यसै सिलसिलामा उनी आज मोरङ र झापा जाने कार्यक्रम तय भएको छ । झापा उनी यो साता मात्र दोस्रो पटक जान लागेका हुन् । व्यापारी दुर्गा प्रसाईले निर्माण गरी एक वर्ष अगाडी नै संचालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा प्रधानमन्त्री आज विर्तामोड जाने भएका छन् । आजै सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा निर्माण गर्न लागेको सन्थाल जातिको एकीकृत बस्तीको शिलान्यासमा समेत पुग्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएका छन् । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको छ । एकीकृत सन्थाल बस्ती निर्माणको लागि गुरुयोजना बनेको छ । रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर निर्माण हुने भएको हो । बस्ती निर्माणको लागत ३० करोड अनुमान गरिएको छ ।

  • चीनबाट अनुदानमा नेपालले पाउने भयो थप तीन लाख डोज खोप, कुल ८ लाख पुग्यो

    चीनबाट अनुदानमा नेपालले पाउने भयो थप तीन लाख डोज खोप, कुल ८ लाख पुग्यो

    काठमाडौं । नेपालले चीनबाट थप तीन लाख डोज कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ । शुरुमा ३ लाख दिने भनेको चीनले त्यसलाई बढाएर ५ लाख पुर्याएको थियो । यो मात्र पनि बढाएर ८ लाख पुर्याएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् ।

    सोमबार साँझ एक ट्वीट गर्दै उनले यस्तो जानकारी गराएकी हुन् । चिनियाँ खोप नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त भइसकेको छ । यद्दपी चीनबाट खोप भने आइसकेको छैन । अहिले नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोजको वितरण भइरहेको छ ।

    आगामी २३ फागुनबाट भने नेपालले भारतबाट किनेको खोप वितरण गर्दैछ । भारतबाट सरकारले २० लाख डोज खोप किनेको छ । संसारका धेरै मुलुकमा खोप नपुगेको भएपनि नेपालमा भने दुई विशाल मुलुकको अनुदान र खरीद उपलब्धताले सहज भएको छ ।

  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । पछिल्लो एक महिनायता तेस्रो पटक मूल्य वृद्धि भइसकेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ ।

    पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २, २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको छ । ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ ।

    त्यस्तै आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ । भारतबाट मूल्य बढेर आएपछि नेपालमा समेत बढाउनु परेको निगमको भनाई छ ।

  • पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टी, मंगलबार स्वदेश फर्कने

    पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको पुष्टी, मंगलबार स्वदेश फर्कने

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम्‌ जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारको सिलसिलामा भारतको नयाँ दिल्लीमा छन् । उनलाई क्यान्सर नभएको पुष्टि चिकित्सकले गरेका छन् । भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सरको आशंका गरिएको थियो । तर, चिकित्सकले क्यान्सर नरहेको पुष्टी गरेका हुन् । ​

    वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेको जानकारी उनका सहयोगी विश्वदीप पाण्डेले सामाजिक संजालबाट गराएका छन् । ट्युमरलाई भने केही महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । भट्टराई मंगलबार नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल फर्कने भएका छन् ।

  • २०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?

    २०७८ सालमा पर्यो तीन वटा दशैं, कसरी ?

    काठमाडौं । हिन्दु धर्मावलम्बीले विसं २०७८ मा तीन वटा दशैँ मान्नु पर्ने भएको छ । सामान्यतया चैते दशैं र मुल दशैं गरी वर्षमा दुई वटा दशैं पर्छ । तर, २०७८ सालमा भने तीन वटा दशैं परेको छ । २०७७ सालमा हुनुपर्ने चैते दशैं समेत वैशाखमा परेपछि यस्तो संयोग जुरेको हो । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेका हो ।

    वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख भएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ । विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ। बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापनासहित शुरु हुनेछ ।

    असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ। कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुने भएको छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ। चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउे प्रचलन रहेको छ ।

    वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ। असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन। यस वर्ष विसं २०७७ असोजमा मलमास परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको बताइएको छ ।