Author: Vishwanews.com

  • आज श्री स्वस्थानी व्रतकथाको समापन

    आज श्री स्वस्थानी व्रतकथाको समापन

    काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथा आजबाट समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको छ । श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्म विसर्जन गर्ने प्रचलन रहेको छ । एक महिनाभर स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाए मनोकांक्ष पूरा हुने जनविश्वास रहेको छ ।

    सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउना विष्णुको सल्लाहनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको जनविश्वास रहेको छ । आज व्रत समाप्तिको दिन श्रीस्वस्थानीको पूजा गरी एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्री चढाइन्छ ।

  • नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

    नाइजेरियामा हतियारधारीले गरे ३ सय छात्राको अपहरण, अवस्था अज्ञात

    जम्फारा\नाइजेरिया । एक साता अगाडी दर्जनौं विद्यार्थी अपहरणमा परी अवस्था अज्ञात रहेको नाइजिरियामा पुनः सयौं छात्रालाई हतियारधारीले अपहरण गरेका छन् । बीबीसीका अनुसार नाइजेरियाको उत्तर पश्चिमी जम्फारा राज्यबाट सयौँ स्कुले बालिका अपहरणमा परेको आशंका छ । रातको एक बजेको समयमा हतियारधारीले ति छात्रालाई अपहरण गरेको एकजना शिक्षकले पुष्टी गरेका छन् । यो घटना शुक्रबार बिहानको हो ।

    उक्त राज्यका गभर्नरका प्रवक्ताले समेत हमलाको पुष्टि गरेको बीबीसीले लेखेको छ । यद्दपी अवस्था भने अज्ञात छ । यो हालकै हप्ताहरूमा भएको सामूहिक अपहरणको सबैभन्दा ठूलो घटना मानिएको छ । यहाँ सशस्त्र समूहहरूले बालबच्चा अपरहण गरी तिनका अभिभावकबाट फिरौती माग्ने गरिन्छ । नाइजेरिया विश्वकै एक असुरक्षित मुलुक हो ।

    गत हप्ता छिमेकको नाइजर राज्यस्थित कगारा भन्ने स्थानबाट २७ जना विद्यार्थी सहित अपहरणमा परेका ४२ जना अझै हराइरहेको बताइएको छ । गत डिसेम्बरमा ३ सय भन्दा छात्रलाई काट्सिना राज्यको कन्काराबाट बन्दूकधारीले अपहरण गरेका थिए । उनीहरुलाई भने छाडिएको थियो ।

  • कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

    कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अवस्था गम्भीर

    काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघातका कारण उनको स्वास्थ्य अवस्था समेत गम्भीर रहेको चिकित्सकले जानकारी गराएका छन् । बिहीबार राती मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । त्यहाबाट उनलाई नर्भिक अस्पतालमा रिफर गरिएको थियो ।

    चिकित्सकहरुका अनुसार अस्पताल पुगेर सिटी स्क्यान गर्दा उनको टाउकोमा रगत जमेको पाइएको हो । त्यसपछि वीरले नर्भिक रिफर गरेको थियो । उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झाका अनुसार जोशीलाई कोमामा राखिएको थियो । सास फेर्न गाह्रो हुने र बान्ता फोक्सोमा पुगिसकेको अवस्था रहेको उनले जानकारी दिए ।

    चिकित्सकले सास फेर्न सहज होस् भनेर पाइप राखेको र फोक्सोमा पुगेको वान्तासमेत निकालेको उनले बताए । सिटी स्क्यानबाट दिमागको बीचमा पानी जम्मा हुने ठाउँमा रगत पुगेका कारण ब्लक भएको पाइएको उनले बताए । सुगर, प्रेसरजस्ता समस्याबाट उनी यसअघि नै ग्रसित रहेको पाइएको छ । जोशीले रगत पातलो बनाउने औषधि खाइरहेको बताइएको छ । जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् ।

  • फागुन २३ मा संसद बैठक बोलाउन सरकारको सिफारिस

    फागुन २३ मा संसद बैठक बोलाउन सरकारको सिफारिस

    काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्च अदालतले १३ दिन भित्र बैठक बोलाउन आदेश गरेके थियो ।

    आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय सरकारले गरेको छ । ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेपछि बैठक बस्ने छ ।

  • ‘जनताको निर्णयभन्दा ठूलो सर्वोच्च होइन, हिम्मत भए अविश्वास प्रस्ताव ल्याउनु’

    ‘जनताको निर्णयभन्दा ठूलो सर्वोच्च होइन, हिम्मत भए अविश्वास प्रस्ताव ल्याउनु’

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड-माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिएका छन्।

    अनेरास्ववियुले काठमाडाैंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री केपी ओली त्यसको संसदमा डटेर सामना गर्त तयार हुनुहुन्छ। हामी संसद् बोलाउँछौँ, कसको हिम्मत छ? अविश्वासको सामना गर्दा के परिणाम आउँछ त्यसलाई स्वीकार गछौँ।’

    उनले प्रधानमन्त्रीले राजीनामा नदिने पनि दाबी गरे। सर्वोच्च अदालतको निर्णयले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको उनले बताए। ‘अदालतको निर्णय हामी कार्यान्वयन गछौँ। तर, सर्वोच्च अदालतको निर्णय सबैभन्दा ठूलो होइन’ उनले भने, ‘सबैभन्दा ठूलो अदालत भनेको जनता नै हो।’

    ओली नेतृत्वको नेकपा सग्लो भएकाले जस्तोसुकै परिस्थिती आएपनि लड्न सक्ने बताए। ‘केपी ओली लोकतन्त्रमाथि विश्वास राख्नुहुन्छ। सडकमा भुस्याहा कुकुरझैँ कराउँदैमा ओलीले राजीनामा दिनुहुन्छ भन्ने नसोचे हुन्छ’ उनले भने।

    अब पार्टीले चुनौतीका बीचमा नयाँ ढंगबाट अगाडि जाने उनले बताए। ‘पार्टी र सत्ता कब्जा गरेर आएका अब हुँदैनन्। अब नयाँ पुस्ताबाट कम्युनिस्ट पार्टी बन्छ’ उनले भने।

  • नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

    नेपालले कार्बन सञ्चिति बढाए बापत ५ अर्ब पाउने

    काठमाडौं । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब ५ अर्ब रुपैयाँ (४५ मिलियन अमेरिकी डलर ) रकम पाउने भएको छ ।

    वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भोसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौअनुसार नेपालले सो रकम प्राप्त गर्नेछ ।

    सो सम्झौतानुसार नेपालले पश्चिम तराईका जिल्लाका वनबाट ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन घटाउने छ । यसरी वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत नेपालले सो रकम पाउन लागेको मन्त्रालयले जनाएको छ ।

    साथै समुदायमा आधारित वन व्यवस्थापन सुधार, राष्ट्रिय वनका लागि उपभोक्ता अधिकार स्थानीय समुदायमा हस्तान्तरण, एकीकृत भूमि उपयोग योजना सुधार, ऊर्जाको वैकल्पिक स्रोतको प्रवद्र्धन र संरक्षित क्षेत्र व्यवस्थापनको क्षमता अभिवृद्धि गरिनेछ । बैंकसँग यस्तो सम्झौता गर्ने नेपाल एशिया-प्रशान्तमा पाँचौँ र विश्वव्यापीरूपमा १२औँ देश हुन पुगेको छ ।

  • नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ५४ जना डिस्चार्ज

    नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ५४ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २७७ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित मृतको संख्या २७७१ पुगेको छ ।

  • ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटायो, विशाल भट्टराईलाई जिम्मेवारी

    ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटायो, विशाल भट्टराईलाई जिम्मेवारी

    काठमाडौं । ओली समूहले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ ।

    गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए ।

  • अब ट्रायल पास गरेको  महिना दिनमै चालक अनुमतिपत्र

    अब ट्रायल पास गरेको महिना दिनमै चालक अनुमतिपत्र

    काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ ।

    ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ ।

    अहिले तत्काल कार्ड स्टक थोरै सङ्ख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउनासाथ अनुमतिपत्र छपाइ गरिने छ ।

    विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक रामचन्द्र पौडेलले बताए । उनका अनुसार यी कार्डको खरिद गर्न लागेको कम्पनीले अहिले थोरै सङ्ख्यामा कार्ड नमूना परीक्षणका लागिसमेत पठाइसकेको छ ।

    त्यो ठीक छ भन्ने जानकारी दिएपछि केही समयमा नै कार्ड आउने उनले जानकारी दिए । ‘हामीसँग थोरै कार्ड मात्रै बाँकी भएकाले थोरै छापिएको हो, नयाँ कार्ड आउनासाथ धमाधम एकैदिनमा धेरै छपाइ हुनेछ’, उनले भने ।

    विभागले गत वर्ष खरीद गरेको ‘मास प्रिन्टर’ को क्षमता एक घण्टामा ४५० अनुमतिपत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि चार हजार ५०० छापिने निर्देशक पौडेलले बताए । उपकरणलाई २४ घण्टा चलाउँदा १० हजार बढी छापिने उनको भनाइ छ ।

    विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो । उनले भने, ‘कति घण्टा चलाउने भन्ने चापमा निर्भर गर्छ ।’,

    कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ अनुमतिपत्र सरकारले गत पुसमा पुनः खुलाएको हो ।

    देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिइसकेका छन् । तीमध्ये पास दर ३० प्रतिशत हाराहारीमा हुने भएकाले छपाइ गर्न सकिने विभागले जनाएको छ । नयाँ १४ लाख कार्ड एकैपटक आएपछि माग धान्न गाह्रो नहुने निर्देशक पौडेलले बताए ।

    ‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण रहेका छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागले जनाएको छ ।

    विगत दुई वर्षदेखि प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ अनुमतिपत्रका लागि परीक्षा सञ्चालन, नवीकरण र वितरण गरिरहेका छन् । विभागले ‘सर्भर’ को काम र अनुमतिपत्र छपाइ गरिरहेको छ । रासस

  • राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त

    राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका फिलिप्स नियुक्त

    काठमाडौं । राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त भएको अखिल नेपाल फुटबल संघले जनाएको छ । एन्फाको ५ सदस्यीय टेक्निकल समितिले बिहीबार फिलिप्सलाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी यसअघि एन्फाको प्राविधिक निर्देशकका रुपमा काम गरिरहेका थिए ।

    फिलिप्सले यसअघि सन् २०१४ देखि २०१५ सम्म पपुआ न्युगिनीको महिला टिममा रहेर प्रशिक्षकका रुपमा समेत काम गरिसकेका हुन् । साफ महिला च्याम्पियनसिप र महिला एशियन कप क्वालिफायरका लागि एन्फाले राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण पनि छिट्टै सुरु गर्ने जानकारी गराएको छ ।

    गत वर्ष स्वदेशमा भएको १३औँ दक्षिण एशियाली खेलकुद (साग) यता राष्ट्रिय महिला टोलीले प्रशिक्षक पाएको छैन । सागको महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएसँगै तत्कालिन मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि नयाँ प्रशिक्षक नियुक्त गरिएको थिएन ।

  • म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

    म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

    काठमाडौं । म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बेनी नगरपालिका ४ फापरखेतमा बिहीवार राति भएको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जना घाइते भएका छन् । मालिका गाउँपालिका ३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नंको जीप सडकबाट म्याग्दी नदीमा खसेको थियो ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार दुर्घटनामा मालिका ३ का ६२ वर्षीय गोविन्द रोकाको मृत्यु भएको छ । उनी रुखबाट लडेर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल ल्याउने क्रममा जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते चालक मालिका १ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचार गर्न पोखरा सिफारिस गरिएको छ । मालिका३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार जारी छ ।
    यता, काठमाडौंको दक्षिणकाली नगरपालिका, ६ मा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ नाम्चेखानीबाट फर्पिङका लागि छुटेको बा २ क ४५५३ नम्बरको टिप्परको ठक्करबाट मकवानपुर भीमफेदी गाउँपालिका८ का ३५ वर्ष सन्तलाल लुम्बाको मृत्यु भएको हो । टिप्पर चालक प्रहरी नियन्त्रणमा छन् ।

  • तारकेश्वरमा फेरी बर्ड फ्लु पुष्टी, १२ हजार कुखुरा नष्ट

    तारकेश्वरमा फेरी बर्ड फ्लु पुष्टी, १२ हजार कुखुरा नष्ट

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लू पुष्टी भएको छ । बिहीबार मात्र यहाँ १२ हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ । पशुसेवा विभागका अनुसार तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा उक्त संख्यामा कुखुरा नष्ट गरिएको हो । विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको छ ।

    फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना समेत नष्ट गरिएको छ । उता, सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ । उनको फार्ममा रहेका ७५० किलो दाना पनि नष्ट गरिएको छ । सम्झना ठकुरी तिवारीले पालेका २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरासमेत नष्ट गरिएको छ ।

    शान्ता खनालको फार्मबाट १०० लोकल कुखुरा र २ वटा टर्की नष्ट गरिएको विभागले जनाएको छ । यसअघि पनि यहाँ बर्डफ्लु पुष्टी भएको थियो । केही साता अगाडी १४ सय भन्दा बढी हाँस मार्नु परेको थियो । विभागका अनुसार अहिले बर्ड फ्लूको सङ्क्रमण देखिएको स्थान पहिचानको काम जारी रहेको छ । बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानले भने क्षतिपूर्ति पाउने छन् ।

  • अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण

    अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण

    बगदाद । संयुक्त राज्य अमेरिकाले सिरियामा सक्रिय मिलिसियाको एक अखडामा हवाई आक्रमण गरेको छ । सिरियामा इरानले समर्थन गरेको समुहविरुद्ध अमेरिकाले आक्रमण गरेको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनले आक्रमणको अनुमति दिएका थिए ।

    यसअघि अघिल्लो साता इराकमा रहेको अमेरिकी सेनाको ब्यारेकमा इरानले रकेक आक्रमण गरेको थियो । यसको बदलामा बिहीबा सिरियास्थित मिलिसिया अखडामा आक्रमणको अनुमति बाइडेनले दिएका हुने । रोयटर्सका अनुसार गत साताको आक्रमणविरूद्ध अमेरिकाको यो पहिलो जवाफी हमला हो ।

    हमलाबाट भएको क्षतिको भने विवरण आइसकेको छैन । १५ फेब्रुअरीका दिन इराकमा रहेको अमेरिकी बेसमा इरानले गरेको रकेट आक्रमणमा एकजना गैरअमेरिकी ठेकेदारको ज्यान गएको थियो । गत वर्ष इरानी सेनाका जनरल कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन हमलामा मारिदिएपछि अमेरिका र इरानको सम्बन्ध चिसिएको छ ।

  • भारत र चिनियाँ राजदूतद्धारा कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट

    भारत र चिनियाँ राजदूतद्धारा कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट

    काठमाडौं । बदलिँदो परिस्थितिमा नेपाली कांग्रेस केन्द्रमा छ । किनकी भावनात्मक रुपमा नेकपा विभाजित भइसकेको अवस्थामा नयाँ सरकारको बनाउने कसरतको केन्द्रमा कांग्रेस आइपुगेको छ । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवाको सक्रियता समेत बढेको छ । उनलाई नेकपाका नेताहरुले भेटिसकेका छन् ।

    बिहिबार नेपालका लागि चिनियाँ र भारतीय राजदूतले समेत उनलाई भेटेका छन्। नेपाली संचारमाध्यमहरुका अनुसार बिहीबार छुट्टाछुट्टै समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले देउवासँग भेटेका छन् । दुबै राजदूत देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरुबीचमा कुराकानी के भयो भन्ने बारेमा भने कुनै पनि पक्षबाट सार्वजनिक गरिएको छैन ।


    देउवा निवासमा बिहीबार नै कांग्रेसको पदाधिकारी बैठक राखिएको थियो । सो बैठक सकिएपछि राजदूतहरूले भेटेका हुन् । नेकपाका प्रचण्ड र माधव कुमार नेपाल तथा ओली समुहले देउवासँग छुट्टाछुट्टै सहकार्यको प्रस्ताव गरिसकेका छन् । यसमा भारत र चीनले देउवालाई दिएको सन्देश नै निर्णायक हुने देखिएको छ ।

  • संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

    संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला हो : भारत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधी निर्वाचनको मिति तोक्दा धेरैले यसमा भारतले साथ दिएको आशंका गरेका थिए । सोहीकारण प्रधानमन्त्री अतिआत्मविश्वासका साथ प्रस्तुत भएको र यसमा अदालतले समेत प्रधानमन्त्रीकै साथ दिने अनुमान धेरैको थियो । त्यसविपरित सर्वोच्च अदालतले नेपालको संविधानको स्पष्ट व्याख्यासहित प्रधानमन्त्रीको कदमको विपरित फैसला सुनायो ।

    यो प्रकरणबारे भारतले पनि मुख खोलेको छ । भारतले यसलाई नेपालको आन्तरिक मामला भएको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनका दौरान यस्तो प्रतिक्रिया दिएका हुन् । अदालतको फैसलाबारे उनलाई पत्रकारले सोधेका थिए । उनले २३ फेब्रुअरीमा आएको सर्वोच्च अदालतको फैसला बारे भारत जानकार रहेको भन्दै नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिए ।

    यद्दपी यो नेपालको आन्तरिक मामला भएको समेत उनको भनाई थियो । नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्धारा टुंगो लगाउने विषय भएको उनले उल्लेख छ । सर्वोच्च अदालतको फैसला आउनु अगाडी नेकपा अध्यक्ष प्रचण्डले नेपालमा प्रजातन्त्रको रक्षार्थ भारतको समेत समर्थन हुनुपर्ने प्रतिक्रिया दिएका थिए ।

  • बेलायत र दक्षिण अफ्रिकाका लागि नेपाली राजदुतहरुले लिए सपथ

    बेलायत र दक्षिण अफ्रिकाका लागि नेपाली राजदुतहरुले लिए सपथ

    काठमाडौं । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    उनीहरुलाई सरकारको सिफारिसमा राजदुत पदमा नियुक्त गरिएको हो । रेग्मी पूर्वमूख्य सचिव हुन् । कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहित उच्च अधिकारी उपस्थित थिए ।

  • नेकपाको पार्टी विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

    नेकपाको पार्टी विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादको टुंगो नलागेसम्म प्रमुख विपक्षी नेपाली कांग्रेसले कुनै पनि समुहसँग सहकार्य नगर्ने निर्णय लिएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

    आजको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको नेताहरुले बताएका छन् । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको जानकारी गराएका थिए । त्यसपछि उनले नेताहरुको राय माग गरे ।

    बैठकले नेकपा विवादको अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन नहुने निष्कर्षमा पुगेको छ । जनताले प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार नगर्न नेतृत्वलाई सुझाव दिएका थिए ।

  • नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना डिस्चार्ज

    नेपालमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार २२३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

  • प्रतिनिधिसभाका संसादहरुले ३ महिनाकाे एकमुष्ट तलब पाउने

    प्रतिनिधिसभाका संसादहरुले ३ महिनाकाे एकमुष्ट तलब पाउने

    काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै प्रतिनिधिसभाका संसादहरुले पुस यताको एकमुष्ट तलब पाउने भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधिसभाका सांसदहरुको जागिर पनि पुनःस्थापना भएको छ ।

    योसँगै २७५ जना सांसदहरुले संसद नचलेको अवधिको पनि तलब पाउने भएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए ।

    सांसदहरूको मासिक करिव ६५ हजार रूपैयाँ वुझ्ने गरेका छन् । यो हिसावले मासिक झण्डै एक करोड ८० लाख रूपैयाँ प्रतिनिधिसभाका सांसदको तलबभत्तामा खर्च हुन्छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ ।

    सर्वोच्चको आदेशपछि प्रधानमन्त्री ओली प्रतिनिधिसभाको बैठक बोलाउन तयार भएका छन् । अब प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनभित्र बैठक आव्हवान गर्ने छिन् ।

    सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो ।

    पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरिदिएपछि सांसदहरुको तलब रोक्का भएको थियो ।

  • प्रचण्ड–माधवलाई जसपाले सोध्यो,तपाईंहरू कुन पार्टीबाट ?

    प्रचण्ड–माधवलाई जसपाले सोध्यो,तपाईंहरू कुन पार्टीबाट ?

    काठमाडौं । सत्ता सहकार्यका लागि प्रचण्ड–माधव समूहको नेकपासँग छलफलका लागि पार्टी कार्यालय पेरिसडाँडा पुगेका जनता समाजवादी पार्टी (जसपा) नेताहरूले प्रचण्ड–माधव समूहलाई तपाईंहरूको कुन पार्टीको हो भनेर प्रश्न गरेका छन्।

    नेकपाको प्रचण्ड–माधव समूहसँग छलफल गर्न पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पुगेका थिए।

    बैठकमा अध्यक्षद्वय प्रचण्ड र माधवले राजनीतिक परिस्थितिअनुसार सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका थिए। जवाफमा जसपाका नेताहरूले ‘तपाईंहरूको पार्टी कुन हो?’ भनेर सोधेको थियो।

    नेकपा राजनीतिक रूपमा विभाजित भएपनि कानूनी रूपमा नछुट्टिएको, तर सत्ता समीकरणका लागि छलफल तीव्र बनाएsf कारण जसपाले आधिकारिक पार्टीको प्रश्न राखेको जनाएको छ।

    सहकार्यको लागि आधिकारीक पार्टी चाहिएको नेता महतोले बताए। बैठकमा प्रचण्डले आफूहरू नै आधिकारिक नेकपा भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जवाफ दिएको महतोको भनाइ छ।

    बैठकमा विगतमा संविधान संशोधनका सवालमा कांग्रेस, एमाले, माओवादीसित भएका सम्झौता कार्यान्वयन, आफ्ना नेता/कार्यकर्ताको रिहाइ लगायत विषयमा पार्टीको तर्फबाट भनाई राखिएको नेता महतोले जानकारी दिए।

  • माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने

    माटोको डिजिटल नक्सा तयार, घरमै बसेर परीक्षण गर्न सकिने

    काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार पारेको छ । माटोमा रहेको विभिन्न तत्त्व र गुण देखाउन अब जिपिएस माध्यमबाट नक्सा तयार पारिएको हो । माटोको डिजिटल नक्साको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । कृषि तथा पशुपक्षीं विकास मन्त्रालयका अनुसार देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियामै पहिलो बनेको छ ।

    नेपाल बाहेकका दक्षिण एशियाका अन्य मुलुकमा केही सिमित क्षेत्रको मात्र डिजिटल नक्सा बनेको छ । नेपालको भने देशभरको बनेको बताइएको छ । यो प्रविधिको प्रयोगबाट माटोमा कुन पोषक तत्त्व छ, कुन पोषक तत्त्व छैन वा बढी छ, रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउन सक्ने मन्त्रालयले जनाएको छ ।

    किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्न सक्ने प्रधानमन्त्री ओलीले बताए । जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गरिने समेत उनले उल्लेख गरे ।

    कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्त्वपूर्ण फड्को भएको उल्लेख गरिन् । उनका अनुसार माटोको विद्युतीय नक्साङ्कनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्त्व आवश्यक छ भन्ने पत्ता लगाउन सक्ने छन् । त्यसको पूर्ति, कुन बाली लगाउँदा राम्रो उत्पादन हुन्छ भन्ने जानकारी समेत पाउने छन् ।

  • कोभ्याक्स स्किम अनुसार खोप वितरण शुरु, घाना पुग्यो पहिलो खेप

    कोभ्याक्स स्किम अनुसार खोप वितरण शुरु, घाना पुग्यो पहिलो खेप

    काठमाडौं । गरिब तथा कम आय भएका मुलुकका संयुक्त राष्ट्रसंघको पहलमा कोभ्याक्स स्कीम अनुसार खोप वितरण शुरु भएको छ । यसको पहिलो खेप घाना पठाउँदै खोप वितरण शुरु गरिएको हो । कोभ्याक्स योजना अनुसार खोप पाउने घाना पहिलो मुलुक समेत बनेको छ । एस्ट्राजेनेकाको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यास स्कीममा पहिलोपटक घानाको राजधानी अँकारा पुगेको छ ।

    बीबीसीका अनुसार घानामा ६ लाख डोज खोप लगिएको छ । त्यहाँ यो खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई दिइने छ । कोरोनाविरुद्धको खोप सम्पन्न मुलुकले खरिद गरेर समेत लगाउन सक्नेछन् । तर, गरिब मुलुकका लाई भने अनुदान मै दिनुपर्ने भएकाले यो योजना ल्याइएको हो ।

    यस योजनाको नेतृत्व भने विश्व स्वास्थ्य संगठनले नै गरिरहेको छ । ग्लोबल भ्याक्सिन एलायन्स र कोअलिशन फर एपिडेमिक प्रिपेयर्डनेस इनोभेसनले योजनामा साथ दिएका छन् । सन् २०२१ भित्रै १९० देशमा कोरोनाविरुद्धको झण्डै दुई अर्ब डोज वितरण गर्ने तयारी कोभ्याक्सको छ ।

    कोभ्याक्स अन्तर्गत गरिब देशमा २० प्रतिशत नागरिकका लागि पुग्ने खोप वितरण गरिने छ । यो योजना अनुसार नेपालले समेत २० लाख डोज खोप पाउने छ । तर, नेपालले यसअघि नै भारतबाट १० लाख अनदान र २० लाख डोज खरीद गरी खोप वितरणमा अग्रणी मुलुक बन्न भने सफल भएको छ ।

  • च्याम्पियन्स लिग : रियल मड्रिड र सिटीको महत्वपूर्ण जित

    च्याम्पियन्स लिग : रियल मड्रिड र सिटीको महत्वपूर्ण जित

    काठमाडौं । युईएफ़ए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लव रियल मड्रिड र इलिंस क्लव म्यानचेष्टर सिटीले महत्वपूर्ण जित निकालेका छन् । अन्तिम १६ अन्तर्गत पहिलो लेगमा दुबै क्लवले जित हात पारेका हुन् । यस सँगै दुबै क्लवको सेमिफाइनल यात्रा समेत बलियो बनेको छ ।

    रियल मड्रिडले एटलान्टामाथि संघर्षपूर्ण जित निकालेको छ । रियलले १० खेलाडीमा सिमित एटलान्टालाई १-० गोल अन्तरले हरायो। रियलको जितमा फेरल्याण्ड मेण्डीले ८६औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो खेलमा एटलान्टाका रिमो फ्रेउलेरले खेलको १७औ मिनेटमा रातो कार्ड पाएका थिए ।

    त्यसपछि १० खेलाडीमा सिमित भएपनि उसले रियललाई अन्तिमसम्म रोक्न सफल भएको थियो । यी दुई क्लवबीच दोस्रो लेग भने मार्च १७ मा हुनेछ । उता, अर्को खेलमा म्यानचेष्टर सिटीले बोरुसिया मोन्चेनग्लाडबाचमाथि २-० गोल अन्तरको जित निकाल्यो । सिटीका लागि बर्नान्डो सिल्भा र गाब्रियल जिससले गोल गरेका छन् ।

  • जर्मनीमा कोरोनाको तेस्रो लहर शुरु, लकडाउन लम्बियो

    जर्मनीमा कोरोनाको तेस्रो लहर शुरु, लकडाउन लम्बियो

    जर्मनी । यूरोपेली मुलुक जर्मनीमा कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् । तेस्रो लहरका रुपमा आएको भाइरसको संक्रमणले जोखिम बढाएको जर्मन चान्सलर एन्गेला मर्केलले बताएकी छिन् । उनले कन्जरभेटिभ पार्टीका सांसदलाई यसबारे ब्रिफ्रिंग गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    उनका अनुसार जर्मनीमा कोरोनाको तेस्रो लहर प्रारम्भ भएको छ । रोयटर्सका अनुसार जर्मनीले लकडाउन केही खुकुलो पारिएको छ, तर मार्च ७ सम्म लम्बिएको छ । जर्मनीमा अत्यावश्यक बाहेकका व्यवसाय बन्द छन् । चेक गणतन्त्र र अष्ट्रियासँगको सिमानामा कडाई गरिएको छ ।

  • भागरथी हत्या प्रकरणमा खटिएका प्रहरी कर्मचारीलाई बढुवा र पुरस्कार

    भागरथी हत्या प्रकरणमा खटिएका प्रहरी कर्मचारीलाई बढुवा र पुरस्कार

    काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । तिव्र दवावका बीच पनि हत्यारासम्म पुगि प्रहरीको छवि उच्च राख्न सफल भएको भन्दै संगठनले उनीहरुलाई पुरस्कृत गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस प्रकरणको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको एक तह बढुवा गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनालाई नगद पुरस्कार प्रदान गरिएको छ ।


    प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् । साथै इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् । थापाले यसअघि कैलालीमा दुई प्रहरीको हत्या, कञ्चनपुरमा खण्टी भुलको हत्यासहितका घटनामा समेत महत्वपूर्ण भूमिका खेलेको संगठनको निष्कर्ष छ ।

    जवान नरबहादुरले भागरथी प्रकरणसहित दुई प्रहरीको हत्या र बझाङमा सम्झना विकको बलात्कारपछि हत्या प्रकरणमा समेत प्रहरीलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । भागरथी प्रकरणको अनुसन्धानमा आफै खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहित ५ अधिकृतलाई भने नगद पुरस्कार दिइएको छ ।

    पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन्

  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै, नयाँ परिस्थितिबारे छलफल हुने

    आज कांग्रेस पदाधिकारी बैठक बस्दै, नयाँ परिस्थितिबारे छलफल हुने

    काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाएको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुनेछन् ।

    बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड,माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको तयारी शुरु भएको छ ।

    यसमा कांग्रेसको भूमिका प्रमुख हुन्छ । यसअघि बुधबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव गरिसकेका छन् । देउवाले भने पार्टीमा छलफल गरेर मात्र जवाफ दिने बताएका छन् । सोही अनुसार देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीलाई डाकेका हुन् ।

  • नेपाली मिडफिल्डर प्रकाशले गरे आइलिगमा डेब्यु

    नेपाली मिडफिल्डर प्रकाशले गरे आइलिगमा डेब्यु

    नयाँ दिल्ली । नेपाली मिडफिल्डर प्रकाश बुढाथोकीले भारतको ए डिभिजन लिग फुटबल प्रतियोगिता आइलिगमा डेब्यू गरेका छन्। आज उनी मणिपुरस्थित नेरोका एफसीको पहिलो रोजाईको खेलाडीका रुपमा मैदानमा उत्रिए । उनले ५२ मिनेट खेल्ने अवसर पाए । त्यसपछि भने उनी बाहिरिए । उनले बुधबार चर्चिल ब्रदर्श गोवाविरुद्ध डेब्युको अवसर पाएका हुन् ।

    नेरोकाले ५२ औं मिनेटमा उनको स्थानमा अकबर खानलाई मैदान पठायो । यद्दपी आजको खेलमा उनको टोली भने १ गोल अन्तरले हारेको छ । उनको टीम आइलिग अंक तालिकाको दशौं स्थानमा रहेको छ । प्रकाशसँगै लिगमा नेपालका गोलकिपर किरणकुमार लिम्बू र फरवार्ड अभिषेक रिजाल समेत खेलिरहेका छन् ।

    किरण पञ्जावका गोलकिपर र कप्तान समेत हुन् । उनले आफुलाई प्रमाणित गरिसकेका छन् । अभिषेक आइजोल टीममा छन् । उनलाई भने खेल्ने अवसर प्राप्त भइसकेको छैन । यी खेलाडीले व्यवसायीक रुपमा राम्रो आम्दानी प्राप्त गर्छन् ।

  • सरकारले कोरोनाबाट ज्यान गुमाएकाको संख्या लुकाएको पुष्टी, एकैदिन थपियो ६१९ मृतक

    सरकारले कोरोनाबाट ज्यान गुमाएकाको संख्या लुकाएको पुष्टी, एकैदिन थपियो ६१९ मृतक

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएका नागरिकको संख्या लुकाएको पुष्टी भएको छ । बुधबार एकै दिन ६१९ जना थप गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृतक संख्या सच्याएको छ । यसअघि सरकारमाथि मृतकको संख्या लुकाएको आरोप लागेको थियो । तर, सरकारले भने प्रतिक्रिया दिएको थिएन ।

    कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जना मानिसको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ६८४ पुगेको छ ।

    बुधबार ६१९ थप संख्या सार्वजनिक भए पनि यस दिन मृत्यु हुनेको संख्या भने मात्र एक थियो । मन्त्रालयका अनुसार बुधबार मात्र ९४ जनामा कोरोना भाइरसको पुष्टी भएको छ । यस दिन देशभर ३ हजार ६९२ जनाको नमुना परीक्षण भएको थियो । अब नेपालमा कुल संक्रमित २ लाख ७३ हजार ७६० जना पुगेको छ । यसमध्ये २ लाख ७० हजार १३९ जनाले कोरोनालाई जितिसकेका छन् ।

  • नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन

    नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन

    काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपति वाइडनले यस्तो बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावासले यस्तो जानकारी गराएको छ ।

    ओहोदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएका हुुन् । ओहदाको प्रमाणपत्रका साथ खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको शुभकामना सन्देश समेत राष्ट्रपतिलाई सुनाएका छन् ।

    राजदूत खतिवडाले अमेरिकाबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गरेको दूतावासले जनाएको छ । नेपालका पूर्वअर्थमन्त्री डा. खतिवडा कार्यभार सम्हाल्न अमेरिका पुगिसकेका छन् ।

  • पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा हाफ म्याराथुन हुँदै

    पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको स्मृतिमा हाफ म्याराथुन हुँदै

    काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वसभापती तथा सन्त नेता, पूर्वप्रधानमन्त्री स्व. कृष्ण प्रसाद भट्टराईको स्मृतिमा हाफ म्याराथुन आयोजना हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले आगामी चैत्र २२ गते (शनिवार) महिला तथा पुरुष हाफ म्याराथुन आयोजना गर्न लागेको हो । लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशका अध्यक्ष दीपक गुरुङले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यस्ता जानकारी गराएका छन् ।

    नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए । भट्टराई प्रधानमन्त्री हुँदा नेपालले काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको थियो । त्यसबेला नेपाल पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।

    प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै लैजाने लक्ष्य रहेको बताए । संघले नयाँ खेलाडी उत्पादन, खेलकुदको व्यसायिकरण र सन्यासपछिको सहज जीवनका लागि आउने दिनमा सम्बन्धित निकायमा पहल गर्ने पनि गुरुङले बताए ।

    म्याराथुनका महिला र पुरुषत तर्फका दुवै विजेताले उपाधिसहित २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार तथा चौथो र पाँचौंले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघको प्रचारका लागि पनि तत्काल हाफ म्याराथनको आयोजना गरिएको जनाउँदै अध्यक्ष गुरुङले भविष्यमा अन्य प्रतियोगिता पनि आयोजना गरि खेलकुद तथा खेलाडीको विकासमा मेरुदण्डको भुमिका निर्भाह गर्ने बताए ।

    म्याराथुन काठमाण्डौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहि स्थानमा पुगेर टुंगिने तय भएको जानकारी दिइयो ।

    नेपाल एथलेटिक्स संघका सचिव एवंम प्रतियोगिताका निर्देशक आरके विष्टले हाफ म्याराथुन कमै आयोजना भइरहेको सन्दर्भमा यसरी प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए । अध्यक्ष गुरुङले प्रतियोगितामा ८०-८५ खेलाडीको सहभागिता रहने अनुमान गरिएको बताए ।