Author: Vishwanews.com

  • प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता

    प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता

    काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला अन्तिम चरणमा छ।

    फैसला आउने मिति नजिकिँदै गर्दा अवस्थामा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच आकस्मिक भेट भएको छ। फागुन १३ गतेभित्र संसद विघटन सम्बन्धी मुद्दाको फैसला आउने अनुमान गरिएको छ।

    सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

    प्रधानसेनापति थापा सर्वोच्चले नयाँ भवन बनाउने स्थानमा नेपाली सेनाको केही जग्गा परेकोले त्यससम्बन्धी छलफल गर्न अदालत गएका नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौड्यालले पुष्टि गरे।

    अहिलेको भवनको पछाडि सर्वोच्च अदालतको नयाँ भवन बन्दैछ। ‘नेपाली सेनाको जग्गा रहेकाले सोही विषयमा छलफल गर्न जानुभएको हो,’ पौडेलले भने, ‘प्रधानन्यायाधीशज्यूसँग भेट भए नभएको चाहिँ आफूलाई थाहा छैन्।’

    तर, प्रधानसेनापति थापा र प्रधानन्यायाधीश जबराबीच भेट भएको सर्वोच्च अदालत स्रोतले दाबी गरेको छ। यस्तो समयमा प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेटले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरिदिएको छ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पक्षरविपक्षको बहस ७ फागुनमा सकिएको थियो। मंगलबारदेखि हेर्दाहेर्दैमा सुनुवाई हुँदैछ।

    गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

    संसद विघटनको निर्णयसँगै सत्तारुढ दलकै विभाजित प्रचण्ड माधव समूहले विरोध गर्दै आइरहेका छन्।

  • नेपाली सेयर बजारमा करेक्शन, नेप्से दोहोरो अंकले घट्यो

    नेपाली सेयर बजारमा करेक्शन, नेप्से दोहोरो अंकले घट्यो

    काठमाडौं । सेयर बजारमा करेक्शन आएको हो । गत सोमबारदेखि लगातार उकालो लागेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो ।

    आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा २६४० विन्दुमा पुगेको बजार आज करिब ३३ अंकले गिरावट आएको हो । प्रफिट बुक गर्नेहरु हाबी हुँदा बजारमा करेक्शन आएको हो ।

    सूचकमा ठूलो गिरावट आए पनि कारोबार रकममा भने खासै गिरावट आएको छैन । बजार घटेको बेला सस्तोमा सेयर उठाउनेहरु हाबी हुँदा कारोबार रकम उत्साहजनक नै रहेको छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ३२.६७ अंकले घटेर २६०७.६७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर किनबेच भएका छन् ।

    सोमबार कारोबारमा आएका १२ वटा समूहमध्ये अन्य र जलविद्युत समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ४५.८५ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ३५१.३४ अंकले घटेको छ ।

    कारोबारमा आएका २०७ कम्पनीमध्ये जम्मा ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ३८ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३२ करोड र निर्धन उत्थन लघुवित्तको ३० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    आज पनि हाइड्रोपावर समूहको सेयरमा चमक आएको छ । अन्य क्षेत्रका कम्पनीको मूल्य घटे पनि यस क्षेत्रका कम्पनीको मूलय भने बढेको छ ।

    घट्दो बजारमा पनि आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँखुखोला जलविद्युत कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यसैगरी माथिल्लो तामाकोशी, नेशनल हाइड्रो डेभलपर, शिव श्री हाइड्रोपावर, चन्द्रागिरी हिल्स, सनराइज म्युचुअल फण्ड र खानीखोला हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    दोहोरो अंकले घटेको बजारमा आज सेञ्चुरी कमर्शियल बैंकका सेयरधनीले सबैभन्दा धेरै ५.५२ प्रतिशत गुमाएका छन् ।

  • प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)

    प्रचण्ड-नेपाल समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुंगो लगायो (नामसहित)

    काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ ।

    सोमबार ३५ जिल्ला पूर्व माओवादी र ३३ पूर्व एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याएको हो। साङ्गठानिक स्वरूप टुङ्ग्याउने क्रममा अध्यक्ष र सचिवको टुंगो लगाएको हो।

    फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति बनेको छ। सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह इन्चार्ज एवं पार्टी कमिटीहरू तथा जन संगठनका पदाधिकारीहरूमा रिक्त स्थानमा आधा/आधा हुनेगरी मिलाउने सहमति बनेको छ।

    पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका तहमा पनि ५०/५० प्रतिशत हुनेगरी मिलाउने भएको छ। रिक्त स्थान पूर्ति गर्दा यो समूहले साविक घटकको कमिटी र जनसंगठनमा वरियताक्रमलाई प्राथमिकता दिने भएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ ।

  • सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

    सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

    चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिए ।

    प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उनले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँकतै कोहीकोही व्यक्ति, पक्षहरुले निर्वाचन विरोधी कुरा गरे पनि ती सबै हास्यापद रहेको टिप्पणी उनले गरे । उनले थपे, ‘लोकतन्त्रमा विश्वास गर्ने, जनताको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हरकोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरु निर्वाचनमा जाने कुरा, जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’ उपप्रधानमन्त्री पोखरेलले अहिले जसले जे भने पनि समय आएपछि सबै निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

    अर्को एक प्रसङ्गमा उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताका समयमा भएको प्रबन्धका आधारमा आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाउने विश्वास व्यक्त गरे । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने जनाउँदै उनले फैसलाको प्रतीक्षा गर्नुपर्ने भनाइ राखे। सरकारले आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दवाव नदिने प्रष्ट पार्दै उनले भने ‘सरकारले कुनै दवाव दिँदैन । विधिसम्मत ढङ्गले काम अघि बढाउँछ ।’

  • प्रधानमन्त्री ओली कञ्चनपुरमा, सुरक्षा व्यवस्था कडा पारियो

    प्रधानमन्त्री ओली कञ्चनपुरमा, सुरक्षा व्यवस्था कडा पारियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार महेन्द्रनगर जाँदैछन् ।

    कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगर जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रधानमन्त्री जाने भएपछि आइतबारदेखि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

    करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् । कार्यक्रमस्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

    प्रधानमन्त्री ओली आज काठमाण्डुबाट श्रीएयरलाइन्सको पहिलो उडानमार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।

    उनी केहीबेर धनगढीमा आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत दैजीछेला औद्योगिक क्षेत्रमा सहभागी हुने छन् । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ ।

    कार्यक्रमका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट हिजो नै पुगिसकेका छन् भने प्रधानमन्त्रीसँगै सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेम आले र श्रम मन्त्री गौरीशंकर चौधरी आज कार्यक्रममा सहभागी हुदैछन् ।

  • भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम

    भारतमा फैलन थाल्यो कोरोनाको दोस्रो लहर, नेपालमा जोखिम

    महाराष्ट्र । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलन थालेको छ । यसले नेपालमा समेत जोखिम बढाएको छ । कोरोना संक्रमणको लहरलाई रोक्न भारतको महाराष्ट्र सरकारले सोमबारबाट लागु हुने गरी सबै प्रकारका राजनीतिक, धार्मिक र सामाजिक कार्यक्रममा भेला हुन रोक लगाएको छ ।

    यता नेपाल र भारतबीच अब निर्वाध आवतजावतको ढोका करीव खुलिसकेको अवस्थामा नेपालमा समेत जोखिम बढेको हो । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले टेलिभिजन सम्बोधनमार्mत यस्तो निर्देश जारी गरेका हुन् । उनका अनुसार महाराष्ट्रका सबै राज्यमा मानिस भेला हुन रोक लगाइएको छ ।

    महामारीले राज्यमा फेरि टाउको उठाउँदै गरेको भन्दै उनले लकडाउनबाट मात्र कोभिड १९ समाधान भने नहुने समेत बताए । तर, मानिसहरुको भेला हुने कामले भने फैलावटमा सहयोग पुगेको उनको भनाई छ ।

    मुख्यमन्त्री ठाकरेका अनुसार कोरोना संक्रमणबाट जोगिने नियमहरुको पालना नगर्नेहरुलाई सजायँ दिइने छ । भारतमा कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने राज्यमध्ये महाराष्ट्र एक हो ।

  • आजबाट दोस्रो पटक मेलम्चीको सुरुङको परीक्षण हुँदै

    आजबाट दोस्रो पटक मेलम्चीको सुरुङको परीक्षण हुँदै

    काठमाडौं । आज मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गरिने भएको छ । साढे २६ किलोमिटर लामो सुरुङमा आजबाट पानी पठाइने छ । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिने आयोजनाको तयारी छ । खानेपानी मन्त्री मणि थापा आयोजना स्थलमा पुगी सुरूङमा पानी हाल्ने कामको उदघाटन गर्नेछन् ।

    सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १५ देखि २० दिन लाग्ने बताइएको छ । प्रारम्भिक चरणमा सुरुङको क्षमताअनुसार भने पानी नछाडिने आयोजनाले जनाएको छ । यसअघि गत २९ असारमा सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो ।

    हेलम्बु गाउँपालिकाको अम्बाथानमा अडिटको मुख्य गेट नं १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालक बगाएर दुखदः दुर्घटना भयो । त्यसपछि परीक्षण रोकिएको थियो । रोकिएपछि चारजना विशेषज्ञले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मतको काम भएको छ ।

    विगतको जस्तो दुर्घटना नहोस् भनेर आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको समेत बताएको छ । परीक्षणका क्रममा हुन सक्ने सम्भावित दूर्घटनालाई मध्यनजर गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

  • कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु

    कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप एक नेपालीको ज्यान गएको छ । यस साता थप १ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको मृत्यु भएको हो । यससहित २१ देशमा कोरोना सङ्क्रमणले ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ ।

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो हप्ता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, यूएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । बेलायत, क्यालिफोर्निया, एसिया र दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ ।

  • काठमाडौं आयो १० लाख डोज खोप, शिक्षक र चालक-सहचालकलाई पनि लगाइने

    काठमाडौं आयो १० लाख डोज खोप, शिक्षक र चालक-सहचालकलाई पनि लगाइने

    काठमाडौं । नेपालले भारतबाट खरीद गरेको १० लाख डोज कोरोना खोप नेपाल आएको छ । आज एयर इण्डियाको जहाजबाट खोप नेपाल आएको हो । सरकारले दोस्रो चरणको खोप अभियान २३ फागुनबाट शुरु गर्दैछ । यसका लागि सरकारले भारतबाट खोप किन्ने निर्णय गरेको हो ।

    नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खोप किनेको हो । भारतबाट सरकारले २० लाख डोज किन्दैछ । त्यसमध्ये पहिलो खेप नेपाल आएको हो । यो खोप ६० वर्षभन्दा माथिका वृद्धवृद्धालाई लगाउने तयारी छ । यसबाहेक सरकारले खोप लगाउने प्राथमिकता अनुसार थप व्यक्तिलाई पनि खोप दिने निर्णय गरेको छ । त्यसमा सार्वजनिक यातायातका चालक र सहचालक परेका छन् ।

    यसबोहक औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ कर्मचारीले भने अहिले नै खोप लगाउन सक्नेछन् । महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउने छन् । यसअघि भारतले नेपालले १० लाख डोज खोप अनुदानमा दिएको थियो ।

  • पशुपतिमा सुनको जलहरी लगाउन क्षमापूजा शुरु, भारतबाट बोलाइयो २५ ब्राह्मण

    पशुपतिमा सुनको जलहरी लगाउन क्षमापूजा शुरु, भारतबाट बोलाइयो २५ ब्राह्मण

    काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्ने निश्चित भएको छ । सरकारले करीव १ अर्ब लगानीमा सुनको जलहरी राख्ने भएको हो । सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मत गरिने छ । यसका लागि शनिबारबाट क्षमापूजा सुरु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

    क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मण नेपाल आएका छन् । क्षमापूजामा ९६ नेपाली ब्राह्मण र २५ जना भारतीय ब्राह्मण खटिएका हुन् । उनीहरुले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई उदृत गर्दै राससले जनाएको छ ।

    क्षमापूजा बुधबारसम्म जारी रहने भएको छ । अहिले रहेको चाँदीको जलहरी रणबहादुर शाहको शासनकालमा राखिएको हो । जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको बताइएको छ ।

    वर्षौंदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा गर्न लागिएको हो । चाँदीको जलहरी नहटाइने र मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको बताइएको छ । पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको जलहरी बनाउने काम जारी रहेको छ ।

    मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको हो । बाँकि रकम भने कोषले बेहोर्दै छ । सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेछ ।

  • प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला

    प्रदेश २ प्रमुख राजेश झालाई ओली समुहको युवा संघले लगाइदियो १०१ किलाको माला

    जनकपुर । राष्ट्रपतिबाट शुक्रबार प्रदेश २ प्रमुखमा नियुक्त भएका राजेश झालाई प्रधानमन्त्री केपी शर्मा ओली समुह अन्तर्गतको युवा संघले १ सय १ किलाको माला लगाएर स्वागत गरेको छ । कार्यभार सम्हाल्न प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका उनलाई युवासंघले उक्त माला पहिराएको हो ।


    आइतबार दिउँसो जनकपुरधाम आएका उनलाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा स्वागत गरे । त्यसक्रममा उनलाई १ सय १ किलाको माला पहिराएको हो । उनीहरुले विमानस्थलमा प्रदेश प्रमुख जिन्दावाद, प्रधानमन्त्री जिन्दावादजस्ता नारा लगाएका थिए ।

    उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहले स्वागत गरे । तिलक परियारलाई हटाएर राष्ट्रपतिले झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । सरकारको यस कार्यको आलोचना भइरहेको छ । यसअघि परियार प्रदेश प्रमुख बनी जनकपुर जाँदा भने मुख्यमन्त्री लालबाबु राउतसहित उच्च पदस्थ अधिकारी नै विमानस्थल पुगेका थिए ।

  • नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ४ सय ९४ रहेको छ ।

  • प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश

    काठमाडौं । प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ।

    आइतबार बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्। अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।

  • सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ८३ करोडको कारोबार

    सामान्य अंकले बढ्यो नेप्से, ८ अर्ब ८३ करोडको कारोबार

    काठमाडौं । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । विहिबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    साताको पहिलो दिन नेप्सेले २६४०.३५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि विहिबार नेप्सेले २६३६ विन्दु पार गरेको थियो ।

    आइतबार सेयर बजार मापक सूचक नेप्से ३.६६ अंकले बढेर २६४०.३५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०६ कम्पनीको ८ अर्ब ८३ करोड ४६ लाख ३९ हजार ६६ रुपैयाँ बराबरको २ करोड ४३ लाख ५ हजार ६६ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०६ कम्पनीमध्ये ६७ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    कारोबार भएका ७ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी कम्पनी मध्ये २ कम्पनीको सेयरमूल्य ८ प्रतिशले बढेको छ भने अन्य ५ कम्पनीको ९ प्रतिशत बढेको छ ।

    आज अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नेपाल हाइड्रो डेभलपर्श कम्पनी, चन्द्रागीरी हिल्स, समृद्धी फाइनान्स, एनआईसी एसिया ब्यालेन्स फण्ड, एनएमबी हाइब्रीड फण्ड र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।

  • चिकित्सकले परामर्शबाहेक अन्य शुल्क दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था

    चिकित्सकले परामर्शबाहेक अन्य शुल्क दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था

    काठमाडौं । सरकारले चिकित्सकहरुले सरकारले तोकेको परामर्श शुल्क बाहेक अन्य शुल्क २०० प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’ जारी गरेर चिकित्सकीय परामर्श शुल्क सरकारले तोके बमोजिम र अन्य सेवा शुल्क अस्पतालको नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था गरेको हो ।

    उक्त कार्यविधिमा भनिएको छ, ‘प्रत्यक्ष खर्च खटाएर आम्दानीको २० प्रतिशत रकम अस्पताल विकास समितिमा छुट्याई बाँकी ८० प्रतिशतलाई १०० प्रतिशत मानी चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुलाई ९० प्रतिशत र लेखा, प्रशासन, स्टोर काउण्टर, मेडिकल रेकर्डर वायोमेडिकल, सरसफाईलगायतका कर्मचारीलाई १० प्रतिशत उपलब्ध गराउने ।’

    मन्त्रालयले कार्यक्रमको काम कारबाहीलाई नियमित र व्यवस्थित गर्नका लागि एक समिति गठन गरेको छ । जसमा अस्पताल प्रमुख अध्यक्ष, अस्पताल प्रशासन प्रमुख, अस्पताल लेखा प्रमुख, अस्पतालको नर्सिङ प्रमुख सदस्य र स्वास्थ्यकर्मीहरुमध्येबाट अस्पताल प्रमुखद्वारा सिफारिस एक जना सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

    यो कार्यक्रम संघीय सरकारी अस्पताल, प्रदेश तथा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न सकिनेछ । त्यस्तै सामुदायिक र सहकारी अस्पतालहरुमा पनि यो कार्यक्रम लागू गर्न सकिनेछ ।

    उक्त कार्यविधि जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३१ को उपदफा (१) र (२) अनुसार सोही ऐनको दफा ६४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ ।

  • स्पेनिस लालिगा: शीर्ष स्थानको एट्लेटिको हार्दा रियल र बार्सालाई राहत

    स्पेनिस लालिगा: शीर्ष स्थानको एट्लेटिको हार्दा रियल र बार्सालाई राहत

    काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड पराजित भएको छ । उसलाई लेभान्टेले नमिठो हार दिलाएको छ । आठौं स्थानमा रहेको लेभान्टेले शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको छ । शनिबार राती सम्पन्न खेलमा जितपछि लेभान्टेको ३१ अङ्क भएको छ ।

    शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको ५५ अङ्क छ । एट्लेटिकोको हारले दोस्रो र तेस्रो स्थानमा रहेका रियल मड्रिड र बार्सिलोनालाई भने राहत मिलेको छ । गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको रियल मड्रिडले रियल भालाडोलिडालाई पराजित गर्दै शीर्ष स्थानको एट्लेटिकोसँग अङ्क दूरी समेत घटाएको छ ।

    २१ अङ्कसहित १९ स्थानमा रहेको रियल भालाडोलिडालाई १-० गोलले पराजित गर्दै रियल मड्रिडले दोस्रो स्थान कायम गर्दै ५२ अङ्क बनाएको छ ।

  • म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली, दुई जनाको मृत्यु

    म्यानमारमा प्रदर्शनकारीमाथि प्रहरीले चलायो गोली, दुई जनाको मृत्यु

    म्यानमार । म्यानमारको सैन्य सरकारविरुद्धको आन्दोलन हिंसात्मक बनेको छ । शनिबार देशको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि गोली चलाएका छन् । यस घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीका अनुसार सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

    आक्रोशित प्रदर्शनकारीको भीड नियन्त्रण गर्न गोली चलाएको सरकारको दावि छ । घटनामा करिब ३० जना घाइते छन् । घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीको दावि छ । मृतकमध्ये एक जना किशोर हुन् । उनको टाउकोमा गोली लागेको छ । म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक शासकले ‘कू’ गरी हटाएका थिए । त्यसको विरोधमा प्रजातन्त्र समर्थकले आन्दोलन चर्काएका छन् ।

  • पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि भारत जाँदै, झलनाथ खनाल फिर्ता

    पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि भारत जाँदै, झलनाथ खनाल फिर्ता

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आज भारत प्रस्थान गर्ने भएका छन् । उनी नेपाल एयरलाइन्सको जहाजबाट पत्नी हिसिला यमीको साथमा भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।

    भट्टराई पेटको समस्याको उपचारमा चिकित्सकको सल्लाहअनुसार भारत जान लागेको बताइएको छ । भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका चिकित्सकले गरेका छन् ।

    दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनको उपचार हुनेछ । दिल्लीमा उनी नेपाली दूतावासमा बस्ने भएका छन् । यसैबीच भारतमा उपचारका लागि गएका अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने शनिबार काठमाडौं फिर्ता भएका छन् ।

  • अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो

    अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो

    डेनभर । अमेरिकाको डेनभरमा युनाइटेड एयरलाइन्सको एक जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । आकासमै इन्जिन फेल भई आगो लागेको जहाजलाई पाइलटले कुशलतापूर्वक अवतरण गराए । उनको यो बहादरीका कारण २३१ यात्रु र चालक दलका १० यात्रुको ज्यान बच्न सफल भएको छ । यो घटना शनिबारको हो ।

    २३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको युनाइटेड एयलाइन्सको बोइङ ७७७-२०० जहाजको दाँयातर्फको इन्जिनमा टेकअफ हुनासाथ समस्या देखिएको थियो । इन्जिनमा समस्या आएको पत्ता पाएका क्याप्टेनले तत्काल एटीसीसँग सहयोग मागेका थिए ।

    पाइलटले यो जहाजलाई थप अगाडी बढाउने फैसला लिएनन र डेनभरमै आपतकालिन अवतरण गराए । अमेरिकी संचारमाध्यमहरुका अनुसार डेनभर अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो पौने १ बजे उडेको जहाज साढे १ बजे विमानस्थलमै आपतकालिन अवतरण गराइएको थियो ।

    आगो लागेका इन्जिनका टुक्रा आकासबाटै जमिनमा खसेको समेत बताइएको छ । डेनभर विमानस्थलले जहाजका सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताएको छ । अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले जहाजमा आएको खराबीबारे अनुसन्धान गर्ने समाचारमा उल्लेख छ ।

  • जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी

    जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी

    काठमाडौं । सरकार यो वर्ष पुनः सगरमाथा संवाद आयोजनाको तयारीमा जुटेको छ । यसअघि गत वर्ष भ्रमण वर्ष २०२० अगाडी नै सगरमाथा संवाद आयोजनाको तयारी थियो । तर, कोरोना महामारीले सो वर्ष कार्यक्रम आयोजना हुन सकेन । अघिल्लो वर्ष अप्रिल २ देखि ४ तारिखसम्म सम्मेलनको मिति तय भएको थियो ।

    जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्व लिनु पर्छ भन्ने उदेश्यसहित सरकारले सगरमाथा संवाद आयोजना गर्न लागेको छ । जलवायु परिवर्तनमा कारक मुलुक नेपाल होइन । तर, विकसित मुलुले गर्ने गतिविधिबाट सबैभन्दा बढी प्रभावित मुलुक भने नेपाल हो । किनकी नेपाल हिमाल वाहुल्य भएको मुलुक हो ।

    हिमाल नेपालको जनजिविकासँग जोडिएको छ । अहिले कोरोना भाइरसको संक्रमण कम भएको र खोप समेत सहजै उपलब्ध हुने अवस्था बनेको भन्दै परराष्ट्र मन्त्रालय सगरमाथा संवाद आयोजनामा जुटेको हो । आगामी नोभेम्बर १ देखि १२ तारीखसम्म कोप सम्मेलन हुँदैछ ।

    त्यसअगाडी नै नेपालले सगरमाथा सम्मलेन गर्न चाहेको छ । यसबारे मन्त्रालयले कार्यक्रम आयोजना गर्न सम्भव भए नभएको बारे विज्ञबाट राय समेत लिएको छ । मन्त्रालयमा शुक्रबार भएको वैठकमा विज्ञ समूहलाई कोप सम्मेलन अगाडि संवाद आयोजना गर्न सकिने विषयमा अध्ययन गरी पाँच दिनभित्र राय पेस गर्न समय सिमा दिइएको छ । विज्ञ समूहको रायका आधारमा मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लैजाने छ ।

  • नेपालले किनेको १० लाख डोज कोरोना खोप आज काठमाडौं आउँदै, २३ गतेबाट लगाइने

    नेपालले किनेको १० लाख डोज कोरोना खोप आज काठमाडौं आउँदै, २३ गतेबाट लगाइने

    काठमाडौं । नेपाल सरकारले भारतबाट खरीद गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं ल्याइदैछ । कोभिशिल्ड खोपको पहिलो खेप मध्ये १० लाख डोज आज दिउँसो काठमाडौं ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले भारतबाट २० लाख डोज खोप खरीद गरेको छ । प्रतिडोज ४ डलर खर्च गरेर सरकारले यो खोप किनेको हो ।

    पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् काठमाडौं आउने छ । उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारी गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

    सरकारले २३ गतेबाट ६० वर्षभन्दा माथिका वृद्धवृद्धालाई खोप लगाउने भनेको छ । यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको हो ।

    त्यो खोप प्राथमिकतामा परेका नागरिकलाई लगाइएको छ । अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयको भनाई छ ।

  • नेपालमा अब १५३५ जना मात्र सक्रिय कोरोना संक्रमित

    नेपालमा अब १५३५ जना मात्र सक्रिय कोरोना संक्रमित

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दरमा उच्च गतिमा गिरावट आएको छ । यसमा कोरोना परीक्षण घट्नु पनि एक कारण हो । तर, कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा समेत उच्च कमी आएका कारण समग्रमा कोरोना भाइरस नियन्त्रण उन्मुख देखिएको छ । अब देशभर मात्र १५३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडाले देखाएको छ ।

    साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमितले रोगलाई जित्न सफल भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३६ जना संक्रमित डिस्चार्ज भए र अब देशभर दुई लाख ६९ हजार सात सय ५५ जनाले कोरोना जित्न सफल भएका छन् ।

    पछिल्लो २४ घण्टामा दुई हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भयो । कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ५१ पुगेको छ । २४ घण्टा यता कोरोनाबाट मानवीय क्षति भने भएन ।

  • अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति

    अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतलाई दिएको दवावप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक संजालमा धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सर्वोच्च अदालतलाई दवाव दिएको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै सभालाई हेरेर आफ्नो पक्षमा फैसला गर्न आग्रह गरेका थिए । आफ्नो पक्षमा फैसला नआए आन्दोलनमा जाने चेतावनी समेत उनले दिन भ्याए । कांग्रेस प्रवक्ता शर्माले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दवावको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदिय गरिमा विपरित छ ।’ प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सकिए शनिबार विराटनगर गरेका छन् । जहाँ बोल्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूभन्दा बाहिर गए आन्दोलन चर्काउने चेतावनी दिए ।

    उता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले कम्युनिस्ट सरकार गिराउन कम्युनिस्ट नै लागेका बेला कांग्रेस मौन बस्न नहुने बताए । सुनसरीको इनरुवाको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमाथि आपत् आइलाग्दा अदालतलाई जे गर्छस् गर भनेर छाड्न नमिल्ने बताए। संविधान मासेर देशलाई अस्थिरता निम्त्याउन नपाइने उनको तर्क थियो ।

  • आफ्नो निर्णयविरुद्ध फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी

    आफ्नो निर्णयविरुद्ध फैसला आए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी

    विराटनगर। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने आफ्नो निर्णयको विपरित हुने गरी सर्वोच्च अदालतबाट फैसला आएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसका लागि तयार रहन समेत उनले कार्यकर्तालाई आग्रह गरेका छन् । ‘सेटिङ फेटिङ’ भएर प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलनमा जाने उनको चेतावनी छ ।

    शनिबार आफ्नो पक्षको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन पुनर्स्थापना गर्न ‘सेटिङ’ भइरहेको आरोप समेत उनले लगाएका छन् । यसले उनीमाथि लाग्दै आएको सेटिङमा समेत केही गडबडी भएको संकेत प्रधानमन्त्री स्वयमले गरेका छन् ।

    ‘सेटिङफेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उनले भनेका छन् । जनताले चुनाव चाहेको र त्यसमा आफ्नो दलले बहुमत ल्याउने भन्दै उनले संसद पुनस्र्थापनाको पक्षमा फैसला नआउने बताए । देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको भन्दै उनले तोकिएको समयमा निर्वाचन हुने समेत उल्लेख गरे ।

  • विप्लव समुहले दियो वार्तामा आउने संकेत

    विप्लव समुहले दियो वार्तामा आउने संकेत

    काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जानकारी गराएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको उनको भनाई छ ।

    यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा आफ्नो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको समेत उनले स्पष्ट पारेका छन् । सरकारले केही सातायता विप्लवसँग वार्ताको वातावरणका लागि पहल गरिरहेको थियो । सोही अनुसार विप्लव समुहले समेत वार्तामा आउने संकेत गरेको छ ।

  • सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह

    सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा जनताको पक्ष रहेको भन्दै देशभर भइरहेका आफ्नो सभा हेरेरै फैसला आफ्नो पक्षमा आउनु पर्ने धारणा राखेका छन् । सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना समेत गर्न नसकिने उनको भनाई छ ।

    नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसक्ने बताए । उनले कुनै कारणले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सांसद किनबेच, सरकार बनाउने, ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने तर्क गरे ।

    ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला,’ उनले भने, ‘यस्ता सभामा प्रकट भएको जनताको अभिमत हेरे होला ।’

  • माउण्ट केटुमा तीन आरोहीको मृत्यु

    माउण्ट केटुमा तीन आरोहीको मृत्यु

    इस्लामावाद । संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटू आरोहणमा गएका तीन आरोहीको ज्यान गएको छ । यसको पुष्टी पाकिस्तान सरकारले गरेको छ । फेब्रुअरी महिनाको प्रारम्भ मै आरोहणमा गएका तीन जना वेपत्ता छन् । उनीहरु भेटिने सम्भावना नरहेको भन्दै सरकारले मृत घोषणा गरेको हो ।

    पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल पाब्लो मोहर बेपत्ता छन् । पाकिस्तानी मौसम विभागका अधिकारीका अनुसार खराब मौसम र लगातार हिमपात भइरहेका कारण सम्पर्कविहीन भएकाहरूको खोजीमा समेत समस्या आएको छ । ती आरोही फेब्रुअरी ५ मा सम्पर्कविहिन भएका हुन् ।

    केटू संसारकै खतरनाक हिमाल हो । यहाँ प्रत्येक चार आरोहीमध्ये एक जनाको मृत्यु हुने गरेको इतिहास छ । हराएका आरोही केटूको चुचुरोमा पुगेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने अनुमान छ । यसअघि सन् २००८ मा पनि केटु हिमाल आरोहणका क्रममा एकै दिन ११ जना आरोहीको मृत्यु भएको थियो ।

  • बहराइन छिर्दा तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने

    बहराइन छिर्दा तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने

    बहराइन । अब बहराइन छिर्दा तीन पटकसम्म पिसिआर परीक्षण गर्नुपर्ने भएको छ । यो नियम बैदेशिक रोजगारीमा जाने नेपालीको हकमा पनि लागु हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर बहराइन सरकारले आफ्नो मुलुक प्रवेश गर्नेलाई कोरोना परीक्षणको दायरा फराकिलो बनाएको नेपाली दूतावासले उल्लेख गरेको छ ।

    यो नियम २२ फेब्रुअरीबाट लागू हुनेछ । पहिलो पटक प्रवेश गर्ने बित्तिकै विमानस्थलमै परीक्षण गर्नुपर्नेछ । दोस्रो पटक पाँच दिनपछि तथा तेस्रोपटक १० दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्ने नियम ल्याइएको छ । यद्यपि १० दिन अगावै बहराइन छोड्नेहरुको हकमा भने तेस्रो पटक पीसीआर परीक्षण आवश्यक नपर्ने दूतावासको भनाई छ ।

    त्यहाँ जाने सबै यात्रुले आफ्नो मोवाइलमा ‘बीवेयर बहराइन’ एप अनिबार्य डाउनलोड गर्नुपर्नेछ । विमानस्थलमा गरिएको पहिलो परीक्षणको रिपोर्ट नआउँदासम्म ‘सेल्फ आइशोसन’मा बस्नु पर्ने नियम ल्याइएको छ ।

  • आज ओली समुहको विराटनगरमा सभा

    आज ओली समुहको विराटनगरमा सभा

    विराटनगर । आज नेकपाको ओली समूहको विराटनगरमा शक्ति प्रदर्शन हुँदैछ । नेपालमा गणतन्त्र आएपछि पहिलो पटक सरकारले मान्छे बटुलेर शक्ति प्रदर्शन गरिरहेको छ । प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधी आन्दोलनलाई चूनौति दिँदै आफै प्रदर्शन गर्दै हिँडिरहेका छन् । ओली समूहले यसलाई चुनावी प्रचारप्रसार र सरकारको कदमका पक्षमा जनमत रहेको देखाउन खोजिरहेको छ ।

    तर, नेपालमा अधिकांशले संसद विघटन असंवैधानिक भनिरहेको बेला उनको प्रदर्शनलाई तडकभडक भन्नेहरु धेरै छन् । विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उतार्ने दावि समुहको छ ।


    आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५ सय सार्वजनिक बसको व्यवस्था गरिएको छ ।

  • नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप

    नेपालमा ३ लाख ४० हजारले लगाए कोरोना खोप

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियानको तेस्रो प्राथमिकतामा परेकालाई खोप लगाउने अभियान आज पुरा हुँदैछ । शुक्रबारसम्म कुल ३ लाख ४० हजार मानिसले कोरोना खोप लगाएका छन् । पछिल्लो पटक यो साता पत्रकार, स्थानीय जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले खोप लगाएका छन् ।


    यसअघि माघ २४ गते पहिलो र ३० गते दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाइएको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शववाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाइकर्मीलाई खोप लगाइएको थियो । दोस्रो प्राथमिकतामा पत्रकार, दूतावासका कर्मचारीहरु र राष्ट्रसङ्घको एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।


    अहिलेसम्म तीन लाख ४० हजारभन्दा धेरैले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयको भनाई छ । मन्त्रालयले आउँदो २३ गतेदेखि भने दोस्रो अभियान सञ्चालनको तयारी गरेको छ । दोस्रो अभियानमा ६० वर्षमाथिका नागरिकलाई खोप दिइने छ ।