Author: Vishwanews.com

  • त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र खुल्ने

    त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र खुल्ने

    काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा मात्र चल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थल दैनिक १८ घण्टा मात्र चलाउने गरी समय तोकिएको हो । अहिले विमानस्थल दैनिक २१ घण्टा संचालनमा छन् । सोचेजति यात्रु र उडान नभएपछि विमाास्थलको संचालन अवधि घटाउन लागिएको हो ।

    कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेपनि अन्तर्राष्ट्रिय उडानमा यात्रु बढ्न सकेका छैनन् । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन बढ्न सकेको छैन ।

    अब विमानस्थल बिहान साढे ६ बजे खुलेर रातको साढे १२ बजे बन्द हुनेछ । अहिले नेपाल वायुसेवा निगमले रातको १ बजे जापानको नारितामा उडान गर्छ । अन्य तीन हवाई कम्पनीले समेत रातको समयमा उडान गर्छन् । काठमाडौं विमानस्थलबाट अहिले औसत २ सय ३० हाराहारी उडान अवतरण भइरहेको विमानस्थलको तथ्यांक छ । यसमध्ये ३० उडान अवतरण अन्तर्राष्ट्रिय हुन् ।

  • नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज

    नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ७१ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार १३९ जना पुगेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ६६ जना पुगेको छ।

  • अदालतको आदेश छल्न हतारमा पशुपतिमा सुनको जहलरी राखेकै दिन नराख्न सर्वोच्‍चको अन्तरिम आदेश

    अदालतको आदेश छल्न हतारमा पशुपतिमा सुनको जहलरी राखेकै दिन नराख्न सर्वोच्‍चको अन्तरिम आदेश

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ ।

    सर्वोच्च अदालतको आदेश छल्न हतारमा सुनको जलहरी राखेकै दिन मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । साथै सर्वोच्चले जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग माग गरेको छ ।

    सर्वोच्चले १५ दिनभित्र विपक्षीहरुलाई लिखित रुपमा अदालतमा उपस्थित हुन समेत आदेश दिएको हो ।

    प्रदेशसभा सदस्य वैद्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री एवं कोषका अध्यक्ष भानुभक्त ढकाल, कोषका सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष तथा जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक मिलनकुमार थापा, नेपाल राष्ट्र बैंक, गुठी संस्थान र पुरातत्त्व विभागलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

    सर्वोच्चले जलहरी नराख्न अन्तरकालीन आदेश जारी गरेकै दिन विहान ११: ४५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ ।

  • एक महिनामै गुम्यो टेस्लाका मालिक एलन मस्कको विश्वकै धनीको उपाधि

    एक महिनामै गुम्यो टेस्लाका मालिक एलन मस्कको विश्वकै धनीको उपाधि


    काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्। उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको सेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन्।

    उनी जनवरीमा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए। जनवरीको शुरुवातको तुलनामा टेस्लाको सेयरमा २० प्रतिशतले गिरावट आएको छ।

    पछिल्लो ३ हप्तामै टेस्लाको सेयर मूल्य १७५ डलर घटिसकेको छ । फेब्रुअरी २ मा प्रतिकित्ता ८७२ डलर रहेको यसको सेयर मूल्य मंगलबार ६९८ डलरमा झरेको छ ।

    मस्कको सम्पत्तिमा आएको गिरावटपछि अमाजनका मालिक जेफ बेजोस पुनः विश्वका सर्वाधिक धनी बनेका छन्। टेस्लाको सेयर बढेका बेला मस्कको कुल सम्पत्ति १८५ अर्ब डलरभन्दा बढी भएको थियो।

    हालैका दिनहरूमा बिट्क्वाइनको मूल्य लगातार घटिरहेको छ। मस्क र टेस्लाले बिट्क्वाइनमा लगानी बढाएको खबरसँगै कतिपय लगानीकर्तालाई त्यसमा गरेको लगानी निकाल्न प्रेरित गरेको विश्लेषकहरूको भनाइ छ।

    टेस्लाले १ अर्ब ५० करोड डलर बराबरको बिट्क्वाइन किनेको र त्यसलाई भुक्तानीका रूपमा स्वीकार्ने योजना बनाएको बताएको थियो। त्यसपछि बिट्क्वाइनको मूल्यमा यो साता ५० प्रतिशतले कमी आएको छ।

    मस्कले बिट्क्वाइनको मूल्य बढाउन जसरी भूमिका खेलका थिए उस्तैगरी त्यसको मूल्यमा आएको गिरावटमा पनि आफूलाई दोषी ठान्न सक्छन्।

    त्यस्तै अमेरिकी अर्थमन्त्री जानेट यालेनको एउटा चेतावनीयुक्त अभिव्यक्ति पनि बिट्क्वाइनको मूल्य घटबढ गर्न भूमिका खेलेको बताइन्छ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब ७० करोडको कारोबार

    काठमाडौं । साताको चौथोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । छ । बुधबार नेप्से परिसूचक १२.४६ अंकले घटेर २५९९.०७ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०४ कम्पनीको ६ अर्ब ७० करोड १५८ लाख ७२ हजार ४७२ रुपैयाँ बराबरको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने २ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

    कारोबारमा आएका २०४कम्पनीमध्ये १११ कम्पनीको सेयर मूल्य बढेको छ भने ५१ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज तीन कम्पनीको सेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । उच्च सेयरमूलय बृद्धि हुनेमा आईएमई जनरल इनस्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्स रहेका छन् ।

    कम्पनी मध्ये दुई सेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने अर्को एक कम्पनीको १० प्रतिशतले सेयरमूल्य बढेको छ ।

    यस दिन बैंकिङ १५, ब्यापार १.६५, होटल ४६, विकास बैंक १८, फाइनान्स ५, निर्जीवन बीमा १८४, माइक्रोफाइनान्स २२, जीवन बीमा १८० र उत्पादन समूह ५४ अंकले बढेका छन्। जलविद्युत २२ र अन्य समूह १० अंकले ओर्लिएका छन्।

    यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशतले घट्यो सो कम्पनीको मूल्य प्रतिकित्ता ५६२ रुपैयाँमा झरेको छ। निफ्राको सेयर कारोबारमा केही घण्टा समस्या उत्पन्न भएको थियो।

  • पशुपति मन्दिरको मुख्य शिवलिङमा राखियो सुनको जलहरी

    पशुपति मन्दिरको मुख्य शिवलिङमा राखियो सुनको जलहरी

    काठमाडौ । हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङमा सुनको जलहरी राखिएको छ ।

    राष्ट्र प्रमुखको हैसियतमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापुजा गरेपछि सुनको जलहरी स्थापना कार्य पुरा भएको हो । यसअघि त्यहाँ चादीँको जलहरी राखिएको थियो ।

    तर चाँदीको जलहरी खिइसकेकोले फोहोर देखिनुका साथै पञ्चामृत लगायतका कतिपय पूजा सामग्री फोहोर हुने गरेको जलहरी परिवर्तन गर्नु परेको पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।

    जलहरी राख्न अघि क्षमापूजा आवस्यक भएको र त्यसका लागि भारतबाट ३३ जना व्राह्मण बोलाइएको थियो । जलहरीका लागि १ सय ८ ग्राम सुन प्रयोग गरिएको छ ।

    तर संस्कृतिविद्हरुले भने जलहरी प्रतिस्थापनको विरोध गर्दै आएका छन । जलहरी प्रतिस्थापनको विषयलाई लिएर सर्वोच्च अदालतमा दुई वटा छुट्टाछुट्टै रिट निवेदन समेत दायर गरिएको छ । जलहरी प्रतिस्थापन गर्ने विषयलाई पछिल्लो सात वर्ष देखि विवाद चल्दै आएको छ ।

    यसअघि पशुपतिनाथमा रहेको चाँदीको जलहरी राजा महेन्द्रले २०२५ सालमा प्रतिस्थापित गरेका थिए । त्यसअघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी राखेको विभिन्न अभिलेखहरुमा उल्ल्ेख छ ।

  • ‘अवस्था मूल्यांकन गरेर प्रधानमन्त्रीको राजीनामा निर्णय हुन्छ’

    ‘अवस्था मूल्यांकन गरेर प्रधानमन्त्रीको राजीनामा निर्णय हुन्छ’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ ।

    संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउने बारे छलफल र त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने बैठकले निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ । त्यस्तै देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ।

    राजीनामापछिको अवस्था मूल्यांकन गरेर प्रधानमन्त्री ओलीले राजीनामा दिने नदिने आवश्यक निर्णय गरिने नेकपा ओली समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

    ‘प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’

  • च्याम्पियन्स लिग : चेल्सीले हरायो एट्लेटिकोलाई

    च्याम्पियन्स लिग : चेल्सीले हरायो एट्लेटिकोलाई

    काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एट्लेटिको मड्रिडलाई हराएको छ । राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई चेल्सीले १ ० गोल अन्तरमा हराएको हो ।

    मंगलबार राति भएको खेलमा अलिभिएर जिरुडले ६८औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक भयो । जितपछि चेल्सीको क्वाटरफाइनल यात्रा समेत बलियो बनेको छ । अब चेल्सीले दोस्रो लेग घरेलु मैदानमा खेल्ने छ । यहाँ उसका लागि बराबरी मात्र पनि पर्याप्त हुनेछ ।

  • आगामी रणनीति तय गर्न प्रधानमन्त्रीले बोलाए स्थायी कमिटि बैठक

    आगामी रणनीति तय गर्न प्रधानमन्त्रीले बोलाए स्थायी कमिटि बैठक

    काठमाडौं । सर्वोच्च अदालतले आफ्नो निर्णय उल्टाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आगामी रणनीति निर्माणमा जुटेका छन् । सोही क्रममा उनले आज आफ्नो समूहको स्थायी कमिटी बैठक डाकेका छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन गरी उनले मध्यावधी निर्वाचनमा जाने निर्णय लिएका थिए । यो निर्णयलाई राष्ट्रपति विद्यादेवि भण्डारीले तत्काल सदर गरेकी थिइन । यी दुबै कदम असंवैधानिक भएको सर्वोच्च अदालतले फैसला गरेको छ ।

    संसद विघटन रद्द भएपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने छ ।

    प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने र संसदको सामना गर्ने जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार नै दिएका छन् । यद्दपी उनीमाथि राजिनामाको चौतर्फी दवाव भने छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चबाट संसद विघटन रद्द भए नैतिक रुपमा प्रधानमन्त्री कुर्सीमा बस्न नमिल्ने भनी बताएको भिडियो समेत यतिबेला सार्वजनिक रुपमा चर्चामा छ ।

  • प्रचण्ड-नेपाल समुहले आज देशभर उत्सव मनाउँदै

    प्रचण्ड-नेपाल समुहले आज देशभर उत्सव मनाउँदै

    काठमाडौं । सर्वोच्च अदालतबाट संसद विघटन बदर भएसँगै आज निर्धारित विरोध कार्यक्रमलाई नेकपा प्रचण्ड-नेपाल समूहले उत्सवका रुपमा मनाउने भएको छ । संसद विघटनविरुद्ध पार्टीको चौथो चरणका आन्दोलन जारी रहेका थिए । यसै सन्दर्भमा मंगलबार सर्वोच्च अदालतबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा फैसला आएसँगै विरोध सभा अब विजयी सभामा परिणत गर्न लागिएको हो ।

    प्रचण्ड-नेपाल समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने पूर्वनिर्णय गरेको थियो । समूहले यस प्रदर्शनलाई उत्सवका रुपमा मनाउने भएको हो । संसद पुनर्स्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

    युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार आज शान्तिवाटीकामा भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिनेछ । कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल सहभागी हुनेछन् । सर्वोच्चको फैसला आउने दिन मंगलबार भने उनीहरु चितवनमा थिए ।

  • काठमाडौंको जगडोलमा रावणको ४० फिट अग्लो मुर्तीसहित यज्ञ पार्क निर्माण शुरु

    काठमाडौंको जगडोलमा रावणको ४० फिट अग्लो मुर्तीसहित यज्ञ पार्क निर्माण शुरु

    काठमाडौं । बुढानिलकण्ठ नगरपालिकास्थित जगडोल हाईटमा रावणले यज्ञ गर्दै गरेको ४० फिट अग्लो विशाल मुर्ती सहित  सुविधा सम्पन्न पार्क निर्माण शुरु भएको छ । नगरपालिकाको ११ नम्बर वडामा स्थानिय यज्ञडोल जगडोल युवा क्लबको संयोजनमा निर्माण हुन लागेको पार्कको मंगलबार नगर प्रमुख उद्धब खरेलले एक कार्यक्रमबीच निर्माण सुभारम्भ गरे ।


    परापुर्ब कालमा रावणले यज्ञ गरेर थुप्रिएको चरुबाट निर्माण भएको मान्यता रहदै आएको यज्ञडोल पछी अप्रभम्स भई जनजिब्रोमा जगडोलको नामले प्रचलित भएको जन विश्वास छ ।जगडोल हाईटको दारेगौडामा निर्माण हुन लागेको पार्कको निर्माण सिलान्यास कार्यक्रम नगर प्रमुख खरेलको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएको हो ।


    दिन प्रतिदिन सार्वजनिक जग्गा माथि अतिक्रमण हुँदै गएको पारिपेक्षमा सर्वजनिक जमिन संरक्षण गर्ने तथा आफ्नो गाऊको धार्मिक तथा साँस्कृतिक ईतिहास जोगाउने उदेश्यका साथ रावणले यज्ञ गर्दै गरेको मुर्ति सहितको यज्ञपार्क निर्माण गर्न लागेको यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष संन्जय पौडेलले बताए।

    अध्यक्ष पौडेलका अनुसार अहिले गाऊमा सार्वजनिक काम गर्न आवस्यक पर्ने सामान्य खर्चका लागि समेत स्थानिय वडा र नगर पालिकासँग पटक पटक गुहार मागिरहनु पर्ने बाध्यता छ । अब भने आर्थिक आय-आर्जनको लागि र सुन्दर जगडोलमा व्यापारिक प्रयोजनको लागि जथाभाबी निर्माण गरी संचालन गर्दै आएका छाप्रो क्रमैसँग व्यवस्थित गरिने भएको छ । ति छाप्रोलाई सटरमा स्थानान्तरण गरि पार्क व्यवस्थित गरिने छ ।

    निर्माण सुभारम्भ कार्यक्रममा यज्ञ पार्क निर्माणको आर्थिक पाटो तर्फ बताउदै आर्थिक वर्ष २०७७\७८ अन्तर्गत स्वीकृत नगर स्तरीय योजना मार्फत बुढानिलकण्ठ नगरपालिको वडा ११ जगडोलस्थित जगडोल झण्डा पार्क , यज्ञपार्क सटर तथा गेट निर्माण,सटर कोठा बनाउने,गेट बनाउने,कम्पाउण्ड बनाउने कुल अनुमानित लागत ५०लाख १सय ६रुपैया ७४ पैसा मध्ये नगरपालिका बाट यज्ञ पार्क निर्माणको लागि प्रारम्भमा ४८ लाख ७५ हजार छुट्याएको छ भने र जन श्रमदान बाट बेहोर्ने गरी १लाख २५हजार १ सय ६रुपैया ७४पैसा रहेको जानकारी गराइएको थियो ।

    यज्ञ पार्क निर्माण योजना यज्ञडोल जगडोल उपभोक्ता समिति मार्फत हुन लागेको र सो कामको मिति २०७७ साल माघ २२गते योजना सम्झौता भए अनुसार सूचना टास गरि मिति २०७७ साल चैत्र २५ गते भित्र सकिने पनि जानकारी गराइएको थियो । देशकै एउटा गौरबको पार्कको रुपमा निर्माण हुन लागेको यज्ञ पार्क निर्माणको लागि छिमेकी नगर पालिका गोकर्णेश्वोरले समेत बलियो सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख सन्तोष चालिसेले पटक पटक गरेको हुँदा पार्क निर्माण कार्यका लागि आर्थिक अभाब नहुने स्थानिय युवाहरुले विश्वास लिएका छन् ।


    पर्यटकीय दृष्टिकोणले रमणीय ठाउँ जगडोलको आफ्नो पहिचान जोगाउन जगडोलमा रहेका सम्पुर्ण संघ(संस्थाहरुलाई समेटि पार्क निर्माण आयोजना कार्यान्वयन कार्यदल समिती समेत गठन गरि सुरु गरिएको योजनाको पारदर्शी ढंगबाट कार्य गर्न वडा अध्यक्ष राजु अधिकारीले कार्यक्रममा सुझाव दिएका छन्।यज्ञ पार्क कुल ६ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिने क्लबका सचिब कपिल पौडेलले बताए ।

    स्थानिय युवाहरूको भावना र पहलमा सुरु गरिएको योजना सामाजिक क्रियाकलाप र परिवर्तनको लागि हामी जुट्नु पर्छ भन्ने प्रमुख उद्देश्यका साथ जगडोलको पहिचान र बिकासमा यज्ञ पार्क निर्माण सम्पन्न हुँदा थप टेवा पुग्ने आयोजकले बिश्वास लिएका छन् ।

  • प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने

    प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नगर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकबाट यस्तो सन्देश जारी गरेका हुन् । थापाले सर्वोच्च अदालतले गरेको फैसलालाई विवादास्पद भनेका छन् । तर, यसलाई मान्नुको विकल्प नभएको र मान्ने समेत उल्लेख गरेका छन् । यो फैसलाको दुष्प्रभाव भविश्यमा देखिने चेतावनी समेत थापाले दिएका छन् ।

    यो फैसलाबाट राजनीतिक समस्याहरुको कुनै पनि हल नहुने समेत उनले उल्लेख गरेका छन् । बरु अस्थिरता बढ्ने भन्दै उनले खुलेआम चेतावनी समेत दिएका छन् । उनले प्रधानमन्त्रीले राजिनामा नगरी प्रतिनिधिसभाको सामना गर्ने जानकारी समेत गराएका छन् । यता, सर्वोच्च अदालतको फैसलापछि विपक्षी कांग्रेसदेखि नेकपाका नेताहरुले समेत प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।

  • संसद पुनर्स्थापनाको खुसीयालीमा देशभर दिपावली, सामाजिक संजालमा सर्वोच्चको प्रशंसा

    संसद पुनर्स्थापनाको खुसीयालीमा देशभर दिपावली, सामाजिक संजालमा सर्वोच्चको प्रशंसा

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि देशभर दिपावली शुरु भएको छ । आज माइतिघर मण्डलासहितका स्थानमा युवाले भेला भई दिपावली गरेका छन् । उनीहरुले प्रतिगमन पराजित भएको भन्दै सर्वोच्च अदालतको निर्णयको स्वागत समेत गरेका छन् ।

    सामाजिक संजालमा सर्वोच्च अदालत, प्रधानन्यायाधीस र न्यायाधीसहरुको प्रशंसा शुरु भएको छ । नेता तथा कार्यक्रताले नेपालमा न्याय नमरेको तथा अब देश संविधान अनुसार आफ्नो बाटोमा अगाडी बढ्ने अपेक्षा समेत गरेका छन् । यद्दपी फैसला आफ्नो पक्षमा नआएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने अर्को कदमप्रति भने सर्वसाधारणमा अझै पनि संसय रहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचनाका बीच राजिनामा माग भएको छ । तर, उनी भने भिड्ने मनस्थितिमै छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले तत्काल राजिनामा दिने छैनन् । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयनमा जाने भएका छन् ।

  • सर्वोच्चको फैसला आउँदा प्रधानमन्त्री केक काट्दै, एउटै होटेलमा थिए प्रचण्ड र माधव नेपाल

    सर्वोच्चको फैसला आउँदा प्रधानमन्त्री केक काट्दै, एउटै होटेलमा थिए प्रचण्ड र माधव नेपाल

    काठमाडौं । मंगलबार सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्चको यो फैसलाको समयमा भने वालुवाटारमा प्रधानमन्त्रीको जन्मदिनको उपलक्ष्यमा केक पार्टी थियो । उनी आफ्ना बुबासहित आफन्तसँग खुसी साटासाट गरिरहेका थिए । तर, उनको खुसी लामो समय टिक्न सकेन ।

    अदालतबाट ठूलो भरोसा गरेका प्रधानमन्त्रीको अपेक्षा विपरित फैसला भयो । यसले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई भने हौसला दियो । उनीहरु आफ्नो पार्टीले बुधबार चितवनमा आयोजना गरेको विरोध सभामा भाग लिन चितवन पुगेका थिए । दुबै नेता एउटै होटेलमा थिए । जब सर्वोच्चको फैसला आयो, त्यसपछि नेकपा नेताहरुले खुसीयाली मनाए ।

    उनीहरुले मिठाई आदान प्रदान गरेको तस्वीर अहिले सामाजिक संजालमा भाइरल गराइएको छ । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाएका थिए । उक्त अवसरमा सहभागीलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता भए प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको भनाई छ । प्रचण्ड र माधव नेपालसहित नेताहरुले चितवनमा बुधबार हुने सभालाई विजय जुलुसका रुपमा मनाउने भएका छन् ।

  • देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत

    देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’

    देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको समेत स्मरण गराएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासले संसद पुनर्स्थापना गर्ने आदेश सुनाएको हो । अदालतले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

  • प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

    प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै फैसला आएको हो। संविधान प्रतिकूल हुने गरी प्रधानमन्त्रीले विघटन गरेको फैसलामा उल्लेख छ।

  • ओलीको धम्की -‘अदालतलाई राम्ररी थाहा छ नि प्रतिनिधि सभा पुनःस्थापना भयो भने के हुन्छ ?’

    ओलीको धम्की -‘अदालतलाई राम्ररी थाहा छ नि प्रतिनिधि सभा पुनःस्थापना भयो भने के हुन्छ ?’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापना भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न आफु कहाँ नै आउनु पर्ने बताएका छन् ।

    मंगलबार राजधानीमा आयोजित आफूनिकट राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले प्रचण्ड–नेपाल प्रधानमन्त्री बन्ने एक प्रतिशत पनि सम्भावना नरहेको दाबी गरे ।

    अदालतलाई राम्ररी थाहा छ नि पुनःस्थापना भयो भने के हुन्छ ? अदालतलाई राम्ररी थाहा छैन र ?

    उहाँहरुको कुनै चान्स छ ? कुनै सम्भावाना छ प्रधानमन्त्री हुने ? विलकुल छैन । एक प्रतिशत मात्रै होइन कि एक प्रतिशतभन्दा पनि तलतल । लडाइँ जित्नु भो भने उहाँहरुले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्ने हो । खोज्दै हिँडेर अन्त्यमा मैकहाँ आइपुग्नुपर्छ,’’ उनले भने ।

    प्रतिनिधि सभा पुनःस्थापनानहुने जिकीर गरेका प्रधानमन्त्री ओलीले यदि पुनःस्थापना भएमा जस्तासुकै परिस्थिति आए पनि सामना गरे बताए ।

    पुनःस्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएको ओलीको भनाइ छ। उनले सूर्य चिह्नमा प्रचण्ड नलडेकोले उनले सूर्य चिह्न नपाउने दाबी गरे । आफू २०४८ सालदेखि सूर्य चिन्हमा चुनाव लड्दै आएको ओलीले बताए।

  • थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना डिस्चार्ज

    थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १०२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६८ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३३ रहेको छ । मृत्यु हुनेको संख्या ४ जना रहेको छ ।

  • तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

    तीव्र उतारचढावको बीच २१ अंकले ओर्लियो सेयर बजार, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

    काठमाडौं । साताको तेस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार ३२.६७ अंकले घटेको नेप्से मंगलबार दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा झरेको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये १ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ११ वटा समूहको परिसूचक राताम्मे भएका छन् ।

    कारोबारमा आएका २०५ कम्पनीमध्ये ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११कम्पनीको मूल्य स्थिर रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमूल्य १० प्रतिशत घटेको छ ।

    कारोबारका आधारमा पनि इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो भने माथिल्लो तामाकोसीको ४३ करोडको कारोबार भयो।

    त्यसपछि नविल, एनआइसी एसिया, ग्लोबल आइएमई बैंक, नेको इन्स्योरेन्स कारोबारका आधारमा क्रमशः अगाडि रहे। परिसूचक घटे पनि नेपाल फाइनान्स, अपि पावर, लिवर्टी इनर्जी र हिमालय पावर पार्टनरको मूल्य १० प्रतिशतले बढेको छ।

  • निर्वाचन आयोगले २५ करोड खर्चेर निर्वाचन सामग्री किन्दै

    निर्वाचन आयोगले २५ करोड खर्चेर निर्वाचन सामग्री किन्दै

    काठमाडौं । निर्वाचन आयोगले २५ करोड रुपैयाँ बराबरका निर्वाचन सामग्री खरीद प्रक्रिया अगाडी बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधिक निर्वाचन घोषणा गरेका छन् । यद्दपी यसबारे सर्वोच्च अदालतको फैसला आउन भने बाँकि नै छ । आयोगले चुनावी सामग्री खरीद गर्न बोलपत्र आह्वान गरेको हो ।

    आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्न मंगलबार बोलपत्र आह्वान गरेको छ । वैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि चुनावका लागि आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको बताएको छ । बोलपत्रदाताहरुले १७ गतेभित्र बोलपत्र फारम खरिद गरिसक्नुपर्ने शर्त तोकिएको छ ।

    १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गरिसक्नुपर्ने भएको छ । आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्री माग गरिएको छ ।

  • सर्वोच्चको फैसलाको मुखमै प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

    सर्वोच्चको फैसलाको मुखमै प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन् । बैठक मंगलबार बिहानका लागि बोलाइएको हो । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला आउने समय नजिकिएको समयमा उनले डोकेको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

    यसअघि प्रधानसेनापति र प्रधानन्यायाधिशबीच सोमबार सर्वोच्च अदालतमा भएको बैठकले समेत पुनः एक पटक राजनीतिक विवाद बढेको छ । आजको बैठकमा समसामयिक सुरक्षा विषय, देशमा विकसित पछिल्ला घटनाक्रम लगायत विषयमा छलफल हुने बताइए पनि मुल एजेण्डा सार्वजनिक भएको छैन ।

    बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापासहितका मन्त्री समेत रहने छन् । प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहन्छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहन्छन् । सुरक्षा परिषद्को बैठक सकिएपछि आज नै मन्त्रिपरिषदको बैठक समेत डाकिएको छ ।

  • कंगोमा इटलीका राजदूतसहित तीनको हत्या

    कंगोमा इटलीका राजदूतसहित तीनको हत्या

    रोम । कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओसहित तीन जनाको कङ्गोमा हत्या भएको छ। इटलीयन संचारमाध्यमहरुका अनुसार कंगोको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का सुरक्षा दलमाथि आक्रमण भएको थियो । सोही समयमा राजदूतमाथि समेत आक्रमण भयो ।

    आक्रमण राजदूत, उनका अङ्ग रक्षक र चालक मारिएको पुष्टी भएको छ । अन्य केही मानिसको समेत मृत्यु भए पनि पुष्टी हुन बाँकि रहेको छ । घटनामा कैयौं मानिस घाइते रहेको बताइएको छ । कंगोमा आफ्ना कुटनीतिज्ञ मारिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको इटलीयन अधिकारीहरुले जनाएका छन् ।

  • विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन

    विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन

    वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट सोमबारसम्म ५ लाख मानिसको ज्यान गएको पुष्टी भएको छ । संसारमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ५ लाख ७१ जनाको ज्यान गइसकेको पुष्टी भएको छ ।

    यो आंकडालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दुखद पक्ष भएको बताएका छन् । उनका अनुसार पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा मृत्यु भएका सबै अमेरिकीभन्दा कोरोनाले बढी मानिसको ज्यान गएको छ । यो हृदयविदारक भएको उनको भनाई छ ।

    सोमबार ह्वाइटहाउसमा संचारमाध्यमसामु उपस्थित राष्ट्रपतिले एउटा राष्ट्रको रूपमा कठोर अवस्था स्वीकार गर्नुको विकल्प समेत नभएको बताए । उनले लामो समयदेखिको लडाईले अब अमेरिकालाई अझ बलियो बनाउनु पर्ने भन्दै विक्षिप्त हुने समय नभएको समेत बताए ।

    परिवार, समुदाय र देशलाई विभाजित गर्ने गलत सूचनाको राजनीति रोक्नुपर्ने भन्दै उनले सबै अमेरिकी एक भएमात्र लडाई जितिने उल्लेख गरे । बाइडेनले कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा पाँच दिन राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।

    संघीय सरकारमातहतका सबै कार्यालय र सैनिक बेसमा अमेरिकी झन्डा झुकाइने भएको छ । कोरोनाबाट संसारभर २४ लाख ८४ हजार मानिसको मृत्यु भइसकेको छ । यसमध्ये १९ प्रतिशत मानिस अमेरिकाका ज्यान गुमाउने छन् ।

  • संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी

    संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनको मुद्दा अब अन्तिम फैसला आउने चरणमा प्रवेश गरेको छ । मुद्दाको आज पेसी तोकिएको छ। आज हेदाहेर्दैमा रहने पेसीले आफै पनि फैसला दिन सक्ने सम्भावना हुन्छ ।

    आज नभ्याएको अवस्थामा एक दुई दिन भित्रै फैसला आउन सक्ने बताइएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि नै सकिएको हो । त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए।

    इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यबाट समेत राय आइसकेको छ । फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन आदेश गरेको थियो । इजलासको आदेशअनुसार सोमबारसम्म सबै वकिलले बहसको नोट बुझाइसकेका छन् ।

    सोही अनुसार आज मुद्दाको पेसी तोकिएको हो । सोही अनुसार अब यो मुद्दा निर्णायक मोडमा पुगेको हो । त्यसो त सर्वोच्चको फैसला आउने समयमा बढेको सरगर्मीले समेत अब छिट्टै फैसला आउने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फैसला सरकारको पक्षमा नआए आन्दोलनमा जाने चेतावनी दिइसकेका छन् । उनले देशभरका सभा हेरेर फैसला गर्न सुझाव समेत दिएका छन् ।

  • नेपाल सुपर लिग फुटबल बैशाखमा हुने, अक्सनबाट खेलाडी छान्ने तयारी

    नेपाल सुपर लिग फुटबल बैशाखमा हुने, अक्सनबाट खेलाडी छान्ने तयारी

    काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिता आगामी वैशाखमा संचालन हुने भएको छ । वैशाख ११ गतेदेखि २५ गतेसम्म संचलन हुने प्रतियोगितामा खेलाडीको छनोट भने अक्सनबाट हुने भएको छ । प्रतियोगिता नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुन लागेको हो ।

    राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी विभिन्न टिम रहने बताइएको छ । प्रतियोगितामा हरेक टिममा विदेशी खेलाडी समेत राख्न पाउने भएका छन् । प्रतियोगितामा कुल १९ खेल हुने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको भनाई छ । हरेक टोलीमा विभिन्न श्रेणीबाट २० खेलाडी रहने छन् । प्रतियोगिता दशरथ रङ्गशालामा हुनेछ ।

  • अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड

    अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड

    डेनभर । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आफ्नो बी ७७७ जहाज ग्राउण्डेड गरेको छ । शनिबार अमेरिकाको डेनभरबाट उडेको जहाजको एक इन्जिनमा अचानक आगो लागेपछि जहाजको आकस्मिक अवतरण गर्नु परेको थियो । तर, पाइलटको कुसलताले ठूलो दुर्घटना भने टरेको थियो । सोही समस्यापछि अमेरिकी विमान निर्माता बोइङले विश्वभर उडिरहेका दर्जनौँ बोइङ ७७७ विमान ‘ग्राउण्डेड’ गर्ने निर्णय गरेको हो ।

    युनाइटेड एअरलाइन्स र जापानका दुई मुख्य एअरलाइन्ससँग रहेका यस मोडलका ६२ जहाज बन्द भएका छन् । कोरियन एअरसँग रहेका ६ विमान समेत ग्राउण्डेड भएका छन् । बोइङका अनुसार यस मोडलका कुल १ सय २८ जहाज बनेका छन् । ती जहाजमा शनिबार भएको घटनाजस्तै इन्जिन प्रयोग भएको छ ।

    बोइङले जाँचपछि समस्या पत्ता लाग्ने र त्यसको समाधानको उपाय दिने बताएको छ । त्यतिन्जेल प्रेट एण्ड ह्विटनी ४०००–११२ इन्जिन प्रयोग भइरहेको ६९ र स्टोरमा राखिएका ५९ विमानको प्रयोग रोक्न सिफारिस गरिएको कम्पनीले जनाएको छ ।

  • साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने

    साउदीमा अब महिला पनि सेनामा भर्ति हुन सक्ने

    काठमाडौं । साउदी अरबले सेनामा महिलालाई समेत समावेश गर्ने भएको छ । यो निर्णयलाई महत्वपूर्ण निर्णयका रुपमा समेत लिइएको छ । साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने योजना सार्वजनिक गरेको हो । साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने भएका छन् ।

    साउदी महिलालाई सिपाहीदेखि सर्जेन्टसम्मको पदमा भर्ती दिलाउने तयारी भएको हो । साउदी युवराज मोहम्मद बिन सलमानले भिजन २०३० इनिसियटिभ ल्याएका छन् । जहाँ महिलालाई अझ बढी उदार बनाउने योजना छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सेनामा भर्ती हुन महिला २१ देखि ४० वर्षका हुनु पर्छ। १५५ सेन्टिमिटर उचाइ भएका र कुनै सरकारी जागिर नखाएका महिलालाई भर्ती लिइने छ । हाइस्कुल उत्तीर्ण गरेका र विदेशीसँग विवाह नगरेका युवतिले सेनामा प्रवेश पाउने छन् । एजेन्सी

  • गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला

    गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत फेला

    गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोरखाको सुलिकोट गाउँपालिका–१ बारपाकमा ८४ वर्षिय वृद्धसहित तीन जना मृत फेला परेका हुन् । ८४ वर्षीय टिल बहादुर गुरुङ, उनकी २२ वर्षीया बुहारी आइत कुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ सोमवार बिहान घरमा मृत फेला परेको प्रहरीको भनाई छ ।

    बिहान अवेरसम्म घरको ढोका नखुलेपछि गाउँलेले ढोका खोलेका थिए । त्यसक्रममा उनीहरुलाई मृत अवस्थामा देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । मृतकहरुको मुखबाट फिज आएको प्रहरीले बताएको छ । विषालु च्याउका कारण ज्यान गएको हुन सक्ने अनुमान प्रहरील गरेको छ । यद्दपी पोष्टमार्टम रिर्पोटपछि मात्र विस्तृत जानकारी हुने प्रहरीले जनाएको छ ।

  • पिसिआर नेगेटिभ रिर्पोट हुने पर्यटकलाई अनअराइभल भिसा देउ : व्यवसायी

    पिसिआर नेगेटिभ रिर्पोट हुने पर्यटकलाई अनअराइभल भिसा देउ : व्यवसायी

    काठमाडौं । पर्यटन व्यवसायीले सरकारले आफै ठूल्ठूला सभा सम्मेलन गर्दै हिँड्ने तर पर्यटक आगमनमा भने कोरोनाको डण्डा लगाइरहेको प्रति आपत्ति जनाएका छन् । सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संगठनका प्रतिनिधिले नेपालमा पर्यटकलाई तोकिएको कडा क्वारेन्टिनको प्रावधान हटाउन माग गरेका हुन् ।

    पछिल्लो समय नेपालमा हजारौं मानिस भेला गरेर प्रधानमन्त्री स्वयमःले भाषण गर्दै हिँडेका छन् । तर, पर्यटक आगमनमा भने ७ दिन क्वारेन्टिन अनिवार्य छ । यता, अनअराइभल भिसाको समेत सुविधा उपलब्ध छैन ।


    कोरोना भाइरसको संक्रमणका कारण नेपालको पर्वतीय पर्यटनसहित समग्र पर्यटन उद्योग नै धराशयी भएको भन्दै व्यवसायीले पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर नभएको समेत गुनासो गरे । व्यवसायीले नेपाल आउने सबै पर्यटकलाई अनअराइभल सेवा समेत सूचारु गर्न माग गरेका छन् । अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट भिसाको व्यवस्था पूर्ववत् रुपले गराउनुपर्ने माग व्यवसायीले गरेका छन् ।

    काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेसिन राखी पर्यटकलाई तत्काल स्वाब संकलन गरी नतिजा दिन सक्ने व्यवस्थापनको माग समेत व्यवसायीले गरेका छन् । पर्यटन व्यवसायीले नेपालमा पर्वतारोहण सिजन नजिकिएको भन्दै हवाई यातायात समेत सूचारु गर्न माग गरेका छन् । हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडान यथाशीघ्र खोल्न पहल गर्नुपर्ने उनीहरुको माग छ । कोरोना विरुद्धको भ्याक्सिन पर्यटन ब्यवसायी र पर्यटन श्रमिकलाई पनि उपलब्ध गराउनुपर्ने व्यवसायीको माग छ ।

  • थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार९६६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५ सय २९ रहेको छ । मृत्यु हुनेको संख्या शून्य रहेको छ ।