Author: Vishwanews.com

  • बजेट निर्माणबारे अर्थले पूर्वसचिवसँग लियो सुझाव

    बजेट निर्माणबारे अर्थले पूर्वसचिवसँग लियो सुझाव

    काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८\८९ को बजेट निर्माणका लागि गृहकार्य थालेको छ । सोही क्रममा अर्थ मन्त्रालयले बुधबार पूर्व अर्थ सचिवहरुसँग छलफल कार्यक्रम आयोजना गर्यो । पूर्वअर्थ सचिवहरुले कोभिड १९ महामारीको कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनरउत्थान गर्नेगरी आगामी आर्थिक बर्षको बजेटलाई केन्द्रित गर्न सुझाव दिए ।

    उनीहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिन आग्रह गरे । उक्त अवसरमा पूर्व मुख्य सचिव तथा अर्थ सचिव डा. विमल कोइरालाले कोभिड १९ र निर्वाचनको घोषणाले आगामी आर्थिक बर्षको बजेट निर्माणमा नयाँ चुनौती थप गरेको उल्लेख गरे । उनले बजेट निर्माण गर्दा आर्थिक परिसूचकहरु र विभिन्न प्राविधिक विषयहरुको अतिरिक्त अर्थराजनीतिलाई समेत ध्यान दिन उपयुक्त हुने सुझाव दिए ।

    पूर्व मन्त्री एवं अर्थ सचिव विद्याधर मल्लिकले विकासलाई केही आर्थिक परिसूचकमा सिमित राख्नुभन्दा समग्रतामा हेर्नुपर्ने आवश्यकता औंल्याए । उनले निजी लगानी विस्तारका आवश्यक वातावरण श्रृजना गर्ने तथा अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्नुपर्ने आवश्यकता औल्याए ।

    पूर्वअर्थ सचिव रामेश्वर खनालले व्यवसायिक वातावरण निर्माण र नीतिगत एवं कानूनी सुधारतर्फ जोड दिए । उनले प्रारम्भमा विभिन्न आर्थिक परिदृश्य निर्माण गरेर नीति तथा कार्यक्रमको मस्यैदा निर्माण गरी बजेट तर्जुमाको समयको स्थिति मुल्यांकन गरेर मात्र बजेट तर्जुमा गर्न उपयुक्त हुने धारणा राखे ।

    पूर्वअर्थ सचिव डा. शान्ताराज सुवेदीले कोभिड१९ लाई अवसरका रुपमा लिएर कोभिड १९ जे जुन जुन क्षेत्रमा असर गरेको छ, सोही क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन जरुरी रहेको बताए । पूर्व अर्थ सचिव डा राजन खनालले समयमै सुधार गर्न सकिएन भने सार्वजनिक संस्थान मुलुकका लागि निकै ठूलो बोझ बन्ने अवस्था तर्फ अर्थ मन्त्रालयको ध्यान आकर्षण गरे ।

    पूर्व अर्थ सचिव तथा प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार लाल शंकर घिमिरेले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । सो अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले छलफल कार्यक्रमको उद्देश्य, आवश्यकता र
    औचित्यका सम्बन्धमा बोल्दै आगामी दिनमा पनि खासगरी नीतिगत, कार्यक्रमिक एवं व्यवस्थापकीय सुधारका सम्बन्धमा यसप्रकारका कार्यक्रम आयोजना गरिने जानकारी दिए । पूर्व सचिवहरुबाट महत्वपूर्ण र गहन सुझाव आएको बताउँदै अर्थ मन्त्रालयले ती सुझावहरुलाई गम्भीरतापूर्वक ग्रहण गर्ने बताए ।

  • २३ फागुनदेखि जेष्ठ नागरिकलाई कोरोना खोप दिइने

    २३ फागुनदेखि जेष्ठ नागरिकलाई कोरोना खोप दिइने

    काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि जेष्ठ नागरिकका लागि कोरोना खोप अभियान शुरु गर्ने भएको छ । प्राथमिकतामा परेका नागरिकलाई त्यस अगाडी नै खोप दिने र ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप वितरणको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको बताइएको छ ।

    यो उमेर समुहमा कुल २८ लाख जनसंख्या रहेको अनुमान सरकारको छ । निकट भविश्यमा २० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरीद गरेको भित्राइदैछ । कोभ्याक्समार्फत समेत कोरोना खोप आउने भएकाले खोपको अभाव नहुने बताइएको छ ।

    यसअघि मन्त्रालयले ५५ वर्षमाथिकालाई खोप दिने योजना अनुरूप आन्तरिक तयारी गरेको थियो। खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेको हो । यसपछि भने ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउने भएका छन् ।

    नेपालमा प्रारम्भमा चिकित्सक र फ्रन्टलाइनमा काम गर्ने, दोस्रो प्राथमिकतामा पत्रकार र तेस्रो प्राथमिकतामा सरकारी कर्मचारी तथा जनप्रतिनिधिलाई राखेर खोप दिइएको छ ।

  • नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३९४ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ६ सय २१ रहेको छ ।

  • भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

    भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

    काठमाडौं । दोगडाकेदार गाउँपालिका–७ बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टलाई भागरथी हत्या प्रकरणमा संलग्नता पुष्टि भएको भन्दै भट्टलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

    उनि भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्थे । घटनामा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए ।

    उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए । भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएको उनले जनाए ।

    दोगडाकेदार गाउँपालिका-७ की भागरथी भट्ट माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।

  • संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल

    संसद विघटन राजनीतिक नभई संवैधानिक विषय होः वरिष्ठ अधिवक्ता खरेल

    काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताएका छन् ।

    प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट सुझाव दिँदै अधिवक्ता खरेलले संसद विघटन राजनीतिक नभई संवैधानिक प्रश्न भएको बताएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका थिए । उनले सार्वजनिक अभिव्यक्तिमा पनि आफूले राजनीतिक कदम चालेकाले अदालतले त्यसमा हात हाल्न नहुने भनेका थिए ।

    ‘प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न हो । कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुन्छ तर संसद् विघटन राजनीतिक विषय होइन । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन, यो संवैधानिक विषय हो,’ अधिवक्ता खरेलले भने ।

    संसद् पुनःस्थापना भए अर्को प्रधानमन्त्री बन्ने विकल्प छ कि छैन भन्ने विषय भने राजनीतिक भएको खरेलले बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

    त्यस निर्णयका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन परेका थिए । ती निवेदनमाथि माघ ४ देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ ।

  • ओपिडी शुल्क बढ्यो, बिरामीले कसलाई कति तिर्ने ? (सूचीसहित)

    ओपिडी शुल्क बढ्यो, बिरामीले कसलाई कति तिर्ने ? (सूचीसहित)

    काठमाडौं । अस्पतालको बिहिरंग (ओपिडी) शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) को बुधबार बसेको बैठकले चिकित्सककोको परामर्श शुल्क बढाउने निर्णय गरेको हो।

    निर्णय अनुसार ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने छन् । नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३७०, ५ वर्ष भन्दा माथिकाले ४५० रुपैयाँ ओपिडी शुल्क लिन पाउने छन्।

    एमडी/एमएस र एमडिएस डाक्टरको हकमा ५ वर्ष अनुभव नभएकाले ६६० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन्। डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा ५ वर्षभन्दा कम अनुभव भएकाले ७७० र ५ वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन्।

    त्यस्तै एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले ५ वर्षभन्दा कम अनुभव भएकाले ५१५ र ५ वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने विज्ञप्तिमा जनाईएको छ ।

    यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडीरएमएस र एमडिएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन्।

  • प्रतिखोप ४ डलर खर्चेर भारतबाट थप २० लाख डोज किन्ने सरकारको निर्णय

    प्रतिखोप ४ डलर खर्चेर भारतबाट थप २० लाख डोज किन्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले भारतबाट थप २० लाख कोरोना खोप किन्ने निर्णय गरेको छ । यसका लागि प्रतिखोप ४ डलर खर्च गर्ने निर्णय समेत भएको छ । कोरोना खोपका लागि भारतीय कम्पनीलाई अग्रिम पैसा पठाउने निर्णय समेत सरकारले गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग खोप किन्न लागेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    खोपका लागि रकम पठाउने निर्णय भइसकेको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले बताएका छन् । यसअघि सरकारले सेरमसँग २० लाख डोज किन्ने निर्णय गरेको थियो। थप २० लाख डोज खोप ल्याउने निर्णय मंगलबार भएको छ । प्रतिखोपको चार डलरका दरले राष्ट्र बैंकमार्फत पैसा भारत पठाइने भएको छ ।

    सेरमले काठमाडौंसम्म खोप ल्याइदिने भएको छ । अब ल्याउने २० लाख डोजले कम्तिमा १० लाख मानिसलाई खोप पुग्ने भएको छ । यो खोप जेष्ठ नागरिकलाई वितरण गरिने भएको छ । नेपालमा खोप भने निःशुल्क दिने सरकारको तयारी छ । खोप सरकार आफैले किन्ने छ ।

  • अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु

    अमेरिकाको टेक्साससहित राज्यमा हिमआँधी, कम्तिमा २३ को मृत्यु

    टेक्सास । अमेरिको टेक्सास र यस आसपासका क्षेत्रमा हिमआँधीमा परी कम्तिमा २३ जनाको ज्यान गएको छ । अमेरिकाका मध्य तथा दक्षिणी राज्य आँधिबाट प्रभावित बनेका छन् । टेक्सासमा विजुली काटिएको छ । यसले राज्यभर अन्धकार बनाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । मंगलबार आएको आँधीले कोरोना खोप वितरण अभियान प्रभावित बनेको छ । आगामी आइतबारसम्म नै आँधिको असर देखिने भएको छ ।


    टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीसहितका राज्य आँधिबाट प्रभावित छन् । घटनामा कम्तिमा २३ जनाको मृत्यु भइसकेको रिर्पोट आएको छ । नर्थ क्यारोलाइना, ओरेगन राज्य समेत प्रभावित बनेका छन् । बिजुलीको अभावमा चिसो बढेको छ । संचार सम्पर्क समेत विच्छेद भएको छ । केही राज्यले मंगलबार विद्यालय समेत बन्द गराएका छन् ।

    चिसो मौसम र तीव्र हावाका कारण मागअनुसार बिजुली आपूर्ति नभएको सरकारी अधिकारीले जनाएका छन् । टेक्सासको तापक्रम माइनस १८ डिग्रीसम्म झरेको छ । हिमआँधीले मेक्सिकोमा पनि प्रभाव पारेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रभावित राज्यहरूमा आपतकालीन सहयोग गर्न प्रशासन तयार रहेको बताउँदै टेक्सासमा आपतकाल घोषणा गरेको संचारमाध्यमले लेखेका छन् ।

  • आज कांग्रेसको केन्द्रिय समिति बैठक, आगामी रणनीति तय हुने

    आज कांग्रेसको केन्द्रिय समिति बैठक, आगामी रणनीति तय हुने

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समिति बैठक आज बस्दैछ । पार्टीको १४ औं महाधिवेशन र आगामी कार्यक्रमबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्न लागेको पार्टीले जनाएको छ । दिउँसो दुई बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको कार्यतालिका, संसद विघटनविरुद्धको आन्दोलनको समीक्षा र आगामी योजनाबारे छलफल हुने भएको हो ।

    १३ औं महाधिवेशनबाट निर्वाचित कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०७६ साल फागुनमा सकिएको थियो । विधान अनुसार एक वर्ष कार्यकाल थपिएको थियो । थपिएको कार्यकाल समेत २० फागुनमा सकिँदैछ । त्यसपछि कांग्रेसले संवैधानिक सुविधा प्रयोग गरी ६ महिना अवधि लम्ब्याउन सक्ने प्रावधान रहेको छ ।

    आजको बैठकबाट सभापति शेरबहादुर देउवाले भदौमा महाधिवेशनको प्रस्ताव गर्ने सम्भावना रहेको छ । कांग्रेस पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न भने असफल भएको छ । अर्कोतर्फ संसद विघटनको विरोधमा कांग्रेसले समेत शक्ति प्रदर्शनको तयारी गरेको छ । यसअघि स्थानीय स्तरमा मात्र सिमित सभा अब केन्द्रिय स्तरमा समेत आयोजना हुने गरी तयारी गरिने भएको छ ।

  • भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी

    भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी

    काठमाडौं । बैतडीमा बलात्कारपछि विभत्स हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा नेपाल प्रहरीले ठूलो सफलता प्राप्त गरेको छ । प्रहरीले भागरथीको हत्या भएको १३ औं दिनमा हत्या अभियोगमा एक युवालाई पक्राउ गरेको छ । उनलाई आज सार्वजनिक गरिने भएको छ ।

    दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयकै एक विद्यार्थी पक्राउ परेका हुन् । प्रहरीले सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । उनले अभियोग स्वीकार समेत गरेका छन् ।

    यद्दपी प्रहरीले उनलाई शंकाको घेरामा राखी पक्राउ भने गरेको थिएन् । यसअघि सोधपुछ गरी उनलाई छाडिएको थियो । भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन । २१ माघमा विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो ।

    भागरथीको हत्या प्रकरण निर्मला पन्तको जस्तै हुने आशंका धेरैले गरेका थिए । सोहीकारण प्रहरीले यो प्रकरणमा निकै सुझबुझपूर्ण तरिकाले काम गरेको बताइको छ । दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको हो ।

  • पिएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

    पिएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

    काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)ले स्पानिस क्लब बार्सिलोनालाई हराएको छ । खेलमा किलिएन एमबाप्पेले ह्याट्रिक गरे । घरेलु मैदानमा बार्सिलोनाले अग्रता लिएको थियो । तर, त्यसलाई जोगाउन नसक्दा ४-१ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।

    क्याम्प नोउमा खेलको २७औं मिनेटमा कप्तान लिओनल मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ३२औं मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काए । दोस्रो हाफमा पीएसजीले तीन गोल थप्यो । जसमा एमबाप्पेले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।

    ६५औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे । ७०औं मिनेटमा मोइस केनले पीएसजीको लागि तेस्रो गोल गरे । ८५औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे । आज राती नै सम्पन्न अर्को खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई २-० ले हरायो ।

  • सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको भाउ, सातामै दुई पटक मूल्यवृद्धि

    सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको भाउ, सातामै दुई पटक मूल्यवृद्धि

    काठमाडौं । सरकारले एक साता भित्र दोस्रो पटक पेट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढेको छ ।

    बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा चेलको भाउ बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमको दाबी छ ।

    यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको दावी गरेको छ

  • नेपालबारे भाजपा अध्यक्ष शाहको अभिव्यक्तिको दुबै मुलुकमा आलोचना

    नेपालबारे भाजपा अध्यक्ष शाहको अभिव्यक्तिको दुबै मुलुकमा आलोचना

    काठमाडौं । भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले नेपालमा समेत भारतीय जनता पार्टीको सरकार बन्ने अभिव्यक्ति दिएको भाजपाकै एक नेताले सार्वजनिक गरेका छन् । त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले केही दिन अगाडी सार्वजनिक कार्यक्रममै यस्तो खुलासा गरेका हुन् । उनले शाहले सन् २०१८ मा यस्तो योजना बताएको उनले सार्वजनिक गरेका थिए ।

    शाहले दिएको भनिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालले भने असन्तुष्टी जनाएको छ । भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले यसबारे भारतीय अधिकारीसँग कुरा राखेको बताइएको छ । शाहले सन् २०१८ मा एक कार्यक्रममा भारतीय जनता पार्टीले नेपाल र श्रीलंकामा आफ्नो सरकार बनाउने योजना रहेको बताएको देवले खुलासा गरेका हुन् ।

    शाह भने यो विषयमा मौन छन् । उता, भाजपा समर्थक संचारमाध्यममा भने नेताहरुले ठट्टाका रुपमा शाहले भनेको विषयलाई देवले यो विषयलाई गम्भीर रुपमा उचालेको आरोप लगाएका छन् । तर, मुख्यमन्त्रीबाटै यो विषय सार्वजनिक भएपछि भने यसले भारत र नेपालमा समेत हंगामा सिर्जना गरेको छ । इन्डियन नेसनल कंग्रेसका नेता राहुल गान्धीले शाहको अभिव्यक्तिले छिमेकीसँगको सम्बन्ध विग्रने अभिव्यक्ति दिएका छन् । उनले यसबारे शाहले नै बोल्नु पर्ने उनको भनाई छ ।

  • अब कक्षा १० मा पनि सिधै भर्ना हुन सकिने

    अब कक्षा १० मा पनि सिधै भर्ना हुन सकिने

    काठमाडौं । नेपालमा अब कक्षा १० मा पनि सिधै भर्ना हुन पाइने भएको छ । सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने प्रावधान ल्याएको हो । शिक्षा नियमावलीमा संशोधन गगर्दै सरकारले कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने अनिवार्य प्रावधान हटाएको छ ।

    नयाँ प्रावधान अनुसार महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयले सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्ने व्यवस्था थपिएको छ ।

    यसअघि वैवाहिक सम्बन्धको कारण वा सरकारी कर्मचारी रहेका अभिभावकको सरुवा भएको अवस्थामा बाहेक कक्षा १० मा भर्ना हुन पाइदैनथ्यो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थानान्तरण हुने विद्यार्थीलाई लक्षित गरेर नियमावली संशोधन गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

  • अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला

    अमेरिकी ब्लगरको हत्या मुद्दामा इस्लामिक लडाकु समूहका ५ जनामाथि मृत्युदण्डको फैसला

    ढाका । बंगलादेशको अदालतले इस्लामिक लडाकु समूहका ५ सदस्यलाई मृत्युदण्डको फैसला सुनाएको छ ।

    अमेरिकी ब्लगर अभिजित रोयको ६ वर्षअघि हत्या गरेको अभियोगमा उनीहरुलाई मृत्युदण्डको फैसला गरेको हो । बंगलादेश मूलका अमेरिकी रोय २०१५ मा बंगलादेश फर्किएका बेला उनको हत्या भएको थियो ।

    उक्त घटनाको मुद्दामा एक जनालाई आजीवन कारावास तोकेको छ । अधिकारीहरुका अनुसार ती ६ जना व्यक्तिहरु नै अलकायदा सम्बद्ध घरेलु लडाकु समूह अन्सार उल्लाह बांग्लाका सदस्य हुन्। एक दर्जन ब्लगर र धर्मनिरपेक्षतावादी अभियन्ताहरुको हत्यामा उनीहरु संलग्न रहेको प्रहरीले जनाएको छ ।

    यद्यपि ती ६ अभियुक्तले उच्च अदालतमा निवेदन दिनसक्ने जनाइएको छ । इस्लामिक स्टेट वा अलकायदा सम्बद्ध समूहहरुले बंगलादेशमा २०१३ देखि २०१६ बीचमा धर्मनिरपेक्षतावादी अभियन्ता, ब्लगर, धार्मिक अल्पसंख्यकहरुमाथि लक्षित गर्दै सृंखलावद्ध हमला गरेको विभिन्न रिपोर्टले जनाएका छन् । २०१६ को जुलाइमा ढाकास्थित भएको गम्भीर हमलामा २२ जना मारिएका थिए ।

  • कोरियामा २३ वर्षयताकै धेरैको रोजगारी गुम्यो, साढे ६ हजार नेपाली रोजगारीमा फर्किन पाएनन्

    कोरियामा २३ वर्षयताकै धेरैको रोजगारी गुम्यो, साढे ६ हजार नेपाली रोजगारीमा फर्किन पाएनन्

    सउल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।

    यहाँको एक सरकारी तथ्याङ्क अनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या सन् १९९८ मा भएको एशियन वित्तीय सङ्कटपछिको पहिलो हो ।

    कोभिड–१९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन् ।

    त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन् । कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको संख्या २५.८ मिलियन छ ।

    हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको संख्या ८ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने ५ लाख ६३ हजारले रोजगारी गुमाएका छन् ।

    त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने २ लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार १ लाख ५८ हजारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ ।

    जानकारहरु कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्षरुपमा असर पर्ने बताउँछन् ।

    कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार ६ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र इपीएसको परीक्षासमेत हुन सकेको छैन ।

  • नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज

    नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९९ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३०३ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८७ रहेको छ ।

  • काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कर्मचारीको कुटाकुट

    काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि कर्मचारीको कुटाकुट

    काठमाडौं । जिल्ला अदालत काठमाडौंमा न्यायाधीशकै अगाडि कर्मचारीले एकआपसमा कुटाकुट गरेका छन् । इजलास अधिकृत र फाँटका कर्मचारीबीच कुटाकुट भएको बताइएको छ ।

    न्यायाधीशकै अगाडि भएको सो कुटाकुटमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते भएको अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले बताए ।

    प्राप्त जानकारी अनुसार नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच कुटाकुट भएको हो । यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच कुटाकुट भएको उक्त अदालतले जनाएको छ ।

    ‘दुबैको दाबी पहिले अर्कैले आक्रमण गरेका भनेका छन्, सुब्बा सापको हकमा इजलासले घटना विवरण माग गरेको छ, उहाँले पनि छानबिन गरिपाउँ भनेर निवेदन दिनुभएको छ, हामी अनुसन्धानका क्रममा छौँ, अनुसन्धान गरेर दोषीलाई कारबाही हुन्छ’, निरौलाले भने ।

    उनका अनुसार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको अगाडि उक्त झगडा भएको हो । सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुई जनाबीच झगडा भएको हो ।

    नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राखेका थिए । सोही विषयलाई लिएर दुईबीच हात हालाहालको अवस्था सिर्जना भएको हो। घाइते शर्माको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद प्रारम्भिक रुपमा देखिएको छ। मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राखेका थिए ।

  • इटालीका प्रधानमन्त्रीलाई ओलीको बधाई

    इटालीका प्रधानमन्त्रीलाई ओलीको बधाई

    काठमाडौं । इटालीका प्रधानमन्त्री मारियो ड्राघीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् । उनी हालै प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन् । प्रधानमन्त्री ओलीले मंगलबार इटालीका समकक्षीलाई शुभकामना सन्देश पठाउँदै इटालीका जनताको शान्ति र समृद्धिको कामना समेत गरेका छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले दुई देश बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप बिस्तार हुने विश्वास समेत व्यक्त गरेका छन्। उनले इटालीका प्रधानमन्त्रीसँग नजिक रहेर आगामी दिनमा उत्पादनमूलक क्षेत्रहरु जस्तै व्यापार र लगानीका क्षेत्रमा काम गर्ने र जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्ने समेत उल्लेख गरेका छन् ।

  • ५ पुससम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी निर्वाचनमा मत हाल्न पाउने

    ५ पुससम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी निर्वाचनमा मत हाल्न पाउने

    काठमाडौं । गत पुस ५ सम्म १८ वर्ष पुगेका नेपाली नागरिकले आगामी आम निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगेले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । पुस ५ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिले मात्र आगामी वैशाख १७ र २७ गते तोकिएको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

    यद्दपी निर्वाचन हुने वा नहुने भन्ने अन्यौलमै छ । एकातर्फ संसद विघटनको मुद्दा अदालतमा विचाराधिन छ । अर्कोतर्फ स्वयमः आयोग पनि नेकपाको विवादमा अन्यौलमै छ । तर, आयोगले आन्तरिक तयारी थाल्दै मतदाताको टुंगो लगाएको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी छन् । सरकारले निर्वाचनबाट स्थिरता आउने दावि गरेपनि संविधान विपरित काम भएको भन्दै उत्पन्न विरोधका स्वरले अस्थिरता निम्त्याउने देखिएको छ ।

  • विप्लवसहित ३६ जनाविरुद्ध शिक्षक हत्याको अभियोगमा ज्यान मुद्दा

    विप्लवसहित ३६ जनाविरुद्ध शिक्षक हत्याको अभियोगमा ज्यान मुद्दा

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका संयोजक विप्लवसहित ३६ जना नेता कार्यकर्ता विरुद्ध मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका उच्च नेताविरुद्ध समेत ज्यान मुद्दा दर्ता भएको हो । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले विप्लवसहित ३६ जनालाई अपहरण तथा कर्तव्य ज्यानमुद्दा दर्ता गरेको जानकारी गराएको छ ।

    उनीहरुमध्ये एक जना मात्र प्रतिवादी पक्राउ परेका छन् । समुहका मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक मोरङ प्रहरीको नियन्त्रणमा छन् । उनले भने अपराध अस्वीकार गरेका छन् । पक्राउ परेका प्रतिवादी विक हातहतियार तथा खरखजना मुद्दामा सोमबार नै पुर्पक्षका लागि कारागार चलान भएका छन्।

    मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको २३ मंसिरमा हत्या भएको थियो। उनको घाँटी रेटेर विभत्स हत्या भएको हो । हत्या गरेको दिन नै नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।

  • विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध

    विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध

    काठमाडौं । सरकारले देशभर सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजाका रुपमा ‘जङ्क फुड’ दिन नपाउने नियम ल्याएको छ । राष्ट्रिय समाचार समितिका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सोमबार यस्तो नियम सार्वजनिक गरेको छ ।

    ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ प्रकाशन गर्दै केन्द्रले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन नपाइने नियम ल्याएको हो ।

    अब विद्यालयहरुले स्थानीयस्तरमा उत्पादन भएका खानेकुरालाई प्राथमिकतामा राखेर दिवाखाजा तयार पार्नु पर्ने छ । केन्द्रले बालबालिकालाई उपयुक्त हुने ६० प्रकारका ‘मेनु’ तयार गरी पुस्तिकामा समावेश समेत गरेका छ ।

    सरकारले विद्यार्थीलाई दिवाखाजाको प्रयोजनका लागि ७ अर्ब ७२ करोड ९३ लाख ३० हजार रुपैयाँ देशभरका सामुदायिक विद्यालयमा पठाएको छ । यो रकमले २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क खुवाइन्छ ।

    सरकारले कर्णाली भेगमा प्रतिविद्यार्थी दैनिक २० रुपैयाँ र अन्य भेगका विद्यार्थीलाई १५ रुपैयाँका दरले दिवाखाजा खुवाउने गरेको छ । यसले विद्यालयमा भर्ना हुने र विद्यालयमा नियमित आउने विद्यार्थीको संख्या कायम राख्न समेत ठूलो भूमिका खेलेको छ ।

  • कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ साता भित्र लगाउन सिफारिस

    कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ साता भित्र लगाउन सिफारिस

    काठमाडौं । कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ साताको बीचको अवधिमा लगाउन सकिने कोभिड १९ खोप प्राविधिक सल्लाहकार समितिले स्पष्ट पारेको छ । समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यस्तो सुझाव दिएको हो । सल्लाहकार समितिको बैठकले दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको गरेको बताइएको छ ।

    यो प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको छ । मन्त्रालयले यसअघि खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने जानकारी गराएको थियो । तर, विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज)को सिफारिसका आधारमा नेपालमा समेत विज्ञ समुहको बैठकले यस्तो निर्णय लिएको हो ।

    सेजका अनुसार पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने बताएको छ । खोपको दोस्रो मात्रा ढिला लगाउँदा शरीरमा एन्टिबडी प्रभावकारी हुने देखिएको हो । चिकित्सकहरुका अनुसार खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिने प्रतिअसर दोस्रो मात्रा लगाउँदा भने कम मात्र देखिन्छन् । कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलता स्वास्थ्य समस्या समेत कम गर्ने बताईएको छ ।

  • आज श्रीपञ्चमी, अक्षाराम्भ गराउने उत्तम साइत

    आज श्रीपञ्चमी, अक्षाराम्भ गराउने उत्तम साइत

    काठमाडौं । आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले श्रीपञ्चमी पर्व मनाउँदैछन् । माघ शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वमा विद्याकी देवी सरस्वतीको पूजाआज गरिन्छ । यस दिन विद्यालय जाने उमेरका बालबालिकाको पहिलो सिकाई प्रारम्भ गराउन अर्थातः अक्षाराम्भका लागि पनि शुभसाइत मानिन्छ ।

    सूर्य उत्तरतिर लाग्ने र दिन लामो हुने तथा वसन्त ऋतु प्रारम्भ हुने दिनका रुपमा समेत आज मान्यता छ । सोहीकारण यो दिनलाई ‘वसन्त पञ्चमी’ समेत भन्ने गरिएको छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्र्ने प्रचलन रहेको छ ।

    आज काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा विद्यार्थी तथा भक्तजनको घुइचो लाग्छ । हनुमानढोका दरबारमा वसन्त श्रवण गर्ने समेत प्रचलन छ । वसन्त श्रवणमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ ।

    आज विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न समेत छुट्टै साइत जुराउन नपर्ने मान्यता रहेको छ ।

  • ट्रम्पको ट्वीटर खाता अब नखुल्ने

    ट्रम्पको ट्वीटर खाता अब नखुल्ने

    वासिंटन डिसी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता अब सधैँका लागि बन्द भएको छ । ट्वीटरले फेरि नखोल्ने गरि उनको खाता प्रतिबन्ध गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ट्वीटरका प्रमुख वित्तीय अधिकारीका अनुसार पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर चलाउन पाउने छैनन् ।

    अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै ट्वीटरले उनको ट्वीटर खाता प्रतिबन्धमा राखेको थियो । अमेरिकी राष्ट्रपति चुनावमा हार बेहोरेपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत हिंसालाई प्रोत्साहित गर्ने ट्वीट गरेको आरोप लागेको छ । उनी चुनावमा धाँधली भएको दाबी गर्छन् । यसअघि अघिल्लो महिनामा ह्वाइटहाउसबाट बाहिरिनु अगाडी उनका समर्थकले अमेरिकी संसद भवनमा हिंसा मच्चाएका थिए ।

  • कोरोनाले कोरियामा बढ्यो बेरोजगारी, नेपालीको रोजगारी के हुन्छ ?

    कोरोनाले कोरियामा बढ्यो बेरोजगारी, नेपालीको रोजगारी के हुन्छ ?

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण दक्षिण कोरियामा बेरोजगारी बढेको छ । पछिल्लो डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएको कोरोनामा जनवरी भित्रै ९ लाख ८२ हजारले रोजगारी गुमाइसकेको सरकारी तथ्यांक सार्वजनिक भएको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या पछिल्लो २३ वर्ष यताकै सबैभन्दा बढी हो ।

    कोरियाको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको हो । कोभिड १९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी कटौतीमा परेको बताइएको छ ।

    होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जन स्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन्। कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको सङ्ख्या २५.८ मिलियन पुगेको समेत बताइएको छ ।

    अहिलेसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्या आठ लाख ९८ हजार छ । आंशिक समय काम गर्ने पाँच लाख ६३ हजारले रोजगारी गुमाएको तथ्यांक छ । दैनिक ज्यालादारीमा काम गर्ने दुई लाख ३२ हजारले रोजगारी गुमाएको तथ्यांक आएको छ । स्वरोजगार एक लाख ५८ हजारले रोजगारी गुमाएका छन् ।
    कोरोना महामारीका कारण गुमेको रोजगारीको असर नेपाली कामदारलाई समेत पुगेको छ ।

  • निर्वाचन आयोगप्रति नै शंका गर्नुपर्ने बेला भयो : देउवा

    निर्वाचन आयोगप्रति नै शंका गर्नुपर्ने बेला भयो : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा बैधानिकताबारे मौन बसेको भन्दै निर्वाचन आयोगप्रति आक्रोस व्यक्त गरेका छन् । यसले आयोगप्रति नै शंका उत्पन्न गराएको उनको भनाई छ । नेपाली कांग्रेसले आज भैरहवामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनी आयोग अनिर्णयको बन्दी भएको भन्दै निर्वाचन आयोगप्रति आक्रोसित बनेका हुन् ।

    आयोगले निर्वाचन नै गराउन नचाहेको त होइन भन्ने उनको आशंका उत्पन्न भएको उनले बताए । देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नमिल्ने समेत बताए । यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै उनले अदालतको निर्णय पर्खिनुपर्ने राय व्यक्त गरेका छन् ।

    प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले निर्वाचन आयोगलाई मतलब नै नभएको जस्तो देखिएको उल्लेख गरे । उनले भने यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’निर्वाचनको तयारी गर्न अदालतको निर्णय कुर्नु नपर्ने उनको तर्क छ ।

  • नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि, १४४ जना डिस्चार्ज

    नेपालमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि, १४४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार २०४ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८१ रहेको छ ।

  • यस्तो छ केपी ओली नेतृत्वको सरकारको तीनवर्षे उपलब्धि (पूर्णपाठ)

    यस्तो छ केपी ओली नेतृत्वको सरकारको तीनवर्षे उपलब्धि (पूर्णपाठ)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन् ।

    सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारको तीनवर्षे उपलब्धि सार्वजनिक गरेका हुन् । समीक्षाका क्रममा प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन् ।

    उपलब्धि सार्वजनिक कार्यक्रममा ओलीले आगामी वर्ष मुलुकमा १० प्रतिशत हाराहारीको आर्थिक वृद्धि हासिल हुने दाबी गरे । आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो वर्ष ७ प्रतिशत र दोस्रो वर्ष त्योभन्दा माथिको आर्थिक वृद्धिदर हासिल भएको बताए ।

    ओलीले सरकारप्रति नागरिकको उच्च आशा भए पनि आफ्नै पार्टीभित्रको गुट उपगुटका कारण चाहेजस्तो काम गर्न नसकेको गुनासो गरे । आफ्नै दलका नेताहरूले नै संसदीय सुनुवाइको प्रक्रियासमेत रोक्ने काम गरेको उनको दाबी थियो ।

    राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आ फ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् ।http://<iframe src=”https://drive.google.com/file/d/1aWLBfMShKZGbmvS_GtOE1aRWrUjyw5g2/preview” width=”640″ height=”480″></iframe>

  • नेपाली सेयर बजारमा उछाल, एकैदिन ३६ कम्पनीका लगानीकर्ता मालामाल

    नेपाली सेयर बजारमा उछाल, एकैदिन ३६ कम्पनीका लगानीकर्ता मालामाल

    काठमाडौं । नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले सोमबार फेरि नयाँ रेकर्ड बनाएको छ । इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको रेकर्ड तोड्दै मापक नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको हो ।

    आइतबार ३३.३३ अंकले घटेको सेयर बजार सोमबार कारोबार शुरु भएदेखि नै उछाल आएको थियो । नेपाल स्टक एक्सचेन्जका नेप्सेका अनुसार ९२.४२ अंकले नेप्से बढेर २५८६.१ विन्दुमा पुगेको छ ।

    यो हालसम्मकै उच्च विन्दु हो । यसअघि २०७७ माघ २७ गते मंगलबार नेप्से ३७ अंकले बढेर २५८५.१५ विन्दुमा पुगेको थियो ।

    सोमबार २०५ कम्पनीको १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बरोबरको कारोबार भएको छ । २ करोड २४ हजार ४७ हजार १५७ कित्ता सेयर किनबेच भएका छन् ।

    सोमबार कारोबारमा आएका १२ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६७९.९१ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमा समूह ४४७ र माइक्रोफाइनान्स ३७० अंकले बढेको छ ।

    कारोबारमा आएका २०५ कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा ६ वटा कम्पनीको कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ताको रोजाइमा निर्धन उत्थान लघुवित्त परेको छ । यसको सबैभन्दा धेरै ७० करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक ६८ करोड र छिमेक लघुवित्त ४७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

    बैंकिङ ५७, ब्यापार ७१, विकास बैंक ४९, होटल २४, जलविद्युत ६४, फाइनान्स ३४, निर्जीवन बीमा ४४७, उत्पादन १५९, अन्य ६२, माइक्रोफाइनान्स ३७० र जीवन बीमा समूह ६९७ अंकले बढेका छन्।

    यस दिन धेरै कमाउनेमा लघुवित्त कम्पनीका लगानीकर्ता अगाडि रहे। यस दिन ११ कम्पनीको मूल्य ठीक १० प्रतिशतले बढेको छ।

    उन्नति सहकार्य लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त, आरएसडिसी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, छिमेक लघुवित्त, मिथिला, आशा, फरवार्ड, सामुदायिक लघुवित्त, डिप्रोक्स लघुवित्त, विजय लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। ।

    आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले पूँजीबजारमा बाधा पर्ने कुनै विषय सम्बोधन नभएकाले लगानीकर्ताहरु उत्साहित भएर लगानी गरेको देखिन्छ ।

    मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले लघुवित्त कम्पनीहरुलाई बजारमा लगानी गर्न रोक लगाउने व्यवस्था लागू गर्ने हल्ला हल्लामै सिमित भएकाले लगानीकर्ताहरु थप उत्साहित भएको जानकारहरु बताउँछन् ।