Author: Vishwanews.com

  • आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

    आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दै

    काठमाडौं । सरकारले गरेको संसद विघटनको विरुद्धमा आज नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गर्दैछ । कांग्रेसका १३ वटा भ्रातृ संस्थाले आज संसद बिघटनविरुद्ध संयुक्त विरोध प्रर्दशन गर्न लागेको बताइएको छ । भ्रातृ संस्थाहरुको संयुक्त आयोजनामा आज ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसको भनाई छ ।

    संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागेको कांग्रेसको भनाई छ ।

    नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघलगायतले संयुक्त प्रदर्शन गर्दैछ् । काठमाडौंमा भोटाहिटीबाट दिउँसो १ बजे विरोध प्रर्दशन शुरु हुने छ । कांग्रेसका सबै भातृ संगठनले आन्दोलनमा सरिक हुन आह्वान गरेका छन् । सरकारको विरोधमा कांग्रेसले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

  • पशुपति मन्दिरको शिवलिंग, छाना र बसाहामा १ अर्बको सुनको जलप लगाइने

    पशुपति मन्दिरको शिवलिंग, छाना र बसाहामा १ अर्बको सुनको जलप लगाइने

    काठमाडौं । सरकारले शव जलाउन समेत रकम नहुने गरिब जनताबाट समेत पशुपतिमा दाउराको मूल्य लिन्छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले धार्मिक मान्यता विपरित पशुपतिमा १ अर्ब रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुनको जलप लगाउन निर्देशन दिएका छन् । धार्मिक मान्यता अनुसार भगवान शिवलाई सुन मन पर्दैन । त्यसकारण शिवमन्दिरमा चाँदीको प्रयोग बढी गरिन्छ । अहिले पनि पशुपतिको ढोका चाँदीबाट बनेको छ । सुन भगवान विष्णुको प्यारो धातु हो ।

    तर, पशुपति क्षेत्र विकास कोषले धार्मिक मान्यता विपरित पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउन लागेको हो । यसबाहेक पशुपतिनाथ मूल मन्दिर अघिको बसाहा र छानामा समेत सुनको जलप लगाउन लागिएको छ ।

    शिवरात्रीसम्म सुनको जलप लगाएर अवलोकन गर्न सकिने व्यवस्था मिलाउने तयारी भएको दुई दिन अघि पर्यटन मन्त्री भानुभक्त ढकालले मन्त्रालयबाटै घोषणा गरेका थिए । कोषका अनुसार यो सबै कामका लागि १४२ किलोग्राम सुन प्रयोग हुने भएको छ ।

    करीव १ अर्ब रुपैयाँ बजेटमा यो काम हुन लागेको हो । जसमा ६५ करोड कोष र ३० करोड सरकारको रकम खर्च हुने भएको छ । पशुपतिनाथको छाना र बसाहामा भने अहिले पनि सुनको जलप छ । शिवलिंगमा भने चाँदीको जलहरि छ ।

  • आज नेकपा प्रचण्ड-नेपाल समुहको केन्द्रिय समिति बैठक, के छन् एजेण्डा ?

    आज नेकपा प्रचण्ड-नेपाल समुहको केन्द्रिय समिति बैठक, के छन् एजेण्डा ?

    काठमाडौं । आज नेकपा (प्रचण्ड–नेपाल समूह)को केन्द्रीय समिति बैठक बोलाइएको छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा समसामयीक विषयमा छलफलको तयारी छ । प्रचण्ड–माधव समूह अहिले सरकारको कदमको विरुद्ध आन्दोलनमा रहेको छ ।

    सरकारले ५ पुसमा संसद विघटन गरी निर्वाचनको तयारीमा छ । तर, यो समुह भने सरकारको कदम असैंवैधानिक भएको भन्दै आन्दोलनमा रहेको छ । विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने माग यो समुहको रहेको छ ।

    बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा सम्पन्न गरी समूहले २८ माघमा काठमाडौंमा विशाल सभा आयोजनाको तयारी समेत भएको छ । प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक यसअघि पुस ७–९ मा बसेको बसेको थियो ।

    उक्त बैठकपछि बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेसँगै भावनात्मक रुपमा नेकपा विभाजन भइसकेको छ । तर, निर्वाचन आयोगले भने पार्टी विभाजनलाई मान्यता दिएको छैन ।

  • आज ढल्केवर सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री पूर्वी तराई झर्दै

    आज ढल्केवर सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री पूर्वी तराई झर्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिराहाको भ्रमणमा निस्कदैछन् । आज देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन गर्ने कार्यक्रम छ । त्यस क्रममा प्रधानमन्त्री यी दुई जिल्लाको भ्रमणमा पुग्ने छन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाने कार्यक्रम रहेको छ ।

    धनुषामा डेढ घण्टा बिताउने कार्यक्रम रहेको छ । त्यसपछि उनी सिरहा जाने छन् । ढल्केवर सवस्टेशन धनुषामा पर्छ । धनुषामा उद्घाटन कार्यक्रम सकेपछि पुनः हेलिकोप्टरमार्फत उनी सिराह गएर त्यहाँबाट काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार अहिले ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान छन् । कूल ४००÷२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेका छन् ।

    यो सव स्टेशनबाट अब ९०० मेगावाट हाराहारी विद्युतलाई प्रसारण गर्न सम्भव हुनेछ । ढल्केबर सबस्टेशन बनेपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणको भनाई छ ।

  • म्यानमारमा सैन्य कू, प्रजातन्त्रवादी नेतृ सुकी सेनाको हिरासतमा

    म्यानमारमा सैन्य कू, प्रजातन्त्रवादी नेतृ सुकी सेनाको हिरासतमा

    काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी सैन्य हिरासतमा परेकी छिन् । बीबीसीका अनुसार म्यानमारमा सैन्य कु भएको छ । सुकीलाई सेनाले हिरासतमा लिएको हो । सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै यसको पुष्टी गरेका छन् ।

    केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको हो । म्यानमारमा नोभेम्बर महिनामा आम निर्वाचन भएको थियो । जसमा सुकीको पार्टी पार्टी भारी मतसहित अग्रस्थानमा थियो ।

    सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै अमान्य भएको बताएको थियो । सेनाले सोमबार तय भएको संसद बैठक समेत स्थगित गर्न आह्वान गरेको छ । अहिले म्यानमारमा व्यापक सैन्य तैनाथी बढाइएको छ । राजधानीसहितका शहरमा सैनिकको कब्जामा छन् । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द भएको छ ।

  • चीनले नेपाललाई दिने भयो ३ लाख डोज कोरोना खोप

    चीनले नेपाललाई दिने भयो ३ लाख डोज कोरोना खोप

    काठमाडौं । भारतपछि अब चीनले समेत नेपाललाई कोरोना विरुद्धको खोप अनुदानमा दिने भएको छ । नेपाली संचारमाध्यमहरुले चिनियाँ दुतावासलाई उदृत गर्दै यसको पुष्टी गरेका छन् । नेपाल सरकारको आग्रहमा चीनले नेपाललाई खोप उपलब्ध गराउने भएको हो ।

    यसअघि भारतले दिएको १० लाख डोज कोरोना खोप प्रमुख प्राथमिकतामा रहेका व्यक्तिहरुमा लगाउने क्रम जारी छ । आइतबारसम्म ८८ हजार मानिसले कोरोनाको खोप लगाइसकेका छन् ।

    चीनले समेत कोरोना खोप दिएसँगै नेपालमा खोप लगाउनेको संख्यामा समेत वृद्धि हुने भएको छ । चीनले आफ्ना नागरिकलाई खोप लगाइसकेको छ । यद्दपी उक्त मुलुकले व्यवसायिक रुपमा भने खोप वितरण थालिसकेको छैन ।

  • नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित भेटिए ?

    नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति संक्रमित भेटिए ?

    काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ३३६ सय पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या २ हजार ५सय ९४ रहेको छ ।

    प्रदेश १ को मोरङमा र प्रदेश २ को सप्तरीमा १÷१ जनामा कोरोना भेटिएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ६० जनामा कोरोना पुष्टि भएको छ। चितवनमा १, भक्तपुरमा २, रसुवामा १, ललितपुरमा ६ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १०, गोरखामा १, तनहुँमा ४, पर्वतमा १, म्याग्दीमा ३, बागलुङमा ५ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको कपिलवस्तुमा ३, पाल्पामा १ र बाँकेमा २ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ।

  • सेनाको बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ चक्कर लगाउने

    सेनाको बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ चक्कर लगाउने

    किन लगाउँदैछ सेनाको बख्तरबन्द गाडीले राति चक्रपथ चक्कर ?
    काठमाडौं । नेपाली सेनाले माघ १९ गते राति बख्तरबन्द गाडीले काठमाडौंको चक्रपथमा चक्कर लगाउने भएको छ ।

    माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउन लागेको सैनिक जनसम्पर्क निर्देशनलायले जनाएको छ ।

    सेनाको वख्तरवन्द माघ १९ मा काठमाडौंमा र २१ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् । प्रमुख शहरहरुमा वख्तरवन्द निकालिएका छन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ । यसलाई सेनाले नियमित अभ्यास भनेको छ ।

    देशमा राजनीतिक संकट गहिरिदै जाँदा सेनाको पछिल्लो सक्रियता र वख्तरवन्द सहितको रातमा समेतको अभ्यासलाई चासोका साथ हेरिएको छ । नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ ।

  • सभामुख अग्नि सापकोटाद्वारा संवैधानिक निकायमा गरेको नियुक्ति सिफारिस ‘फिर्ता’

    सभामुख अग्नि सापकोटाद्वारा संवैधानिक निकायमा गरेको नियुक्ति सिफारिस ‘फिर्ता’

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्‌द्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाइदिएका छन्।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पठाइएको थियो ।

    ती नाम संसदीय सुनुवाइको निम्ति संसद्‍मा पठाइएको थियो।सभामुख सापकोटाले मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै नियुक्ति सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाएका छन् ।

    ‘११ वटा संवैधानिक निकायमा रिक्तरहेका ती आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरु, अध्यक्ष तथा सदस्यहरुको नियुक्तीका लागि सिफारिस भई नेपालको संविधानको धारा २९२ बमोजिम यस सचिवालयमा पुस ९ मा पत्र प्राप्त हुन आइको सन्दर्भमा उपर्युक्त संवैधानिक आधार र कारण तथा अवस्था विद्यमान देखिन आएकाले संदीय सुनुवाई हुन नसकेको कारणले गर्दा तहाँबाट प्राप्त हुन आएको सम्पूर्ण सक्कलै कागजात यसै साथ फिर्ता पठाइएको छ’, पत्रमा भनिएको छ ।

    संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेश ल्याएर परिषद्का बहुमत सदस्यको उपस्थितिमा बैठक बसी निर्णय गर्न सक्ने व्यवस्था गरेको थियो।

  • नेपाली सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताले एकै दिन गुमाए ७३ अर्ब

    नेपाली सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताले एकै दिन गुमाए ७३ अर्ब

    काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आइतबार करिब ५५ अंकको गिरावट आएको छ ।

    सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको आज दोस्रो दिन हो । बिहीबार नेप्से करिब १६.५५ अंकले घटेको थियो ।

    बजारमा ठूलो गिरावट आउँदा लगानीकर्ताले एकैदिन करिब ७३ अर्ब गुमाएका छन् । बिहीबार ३२ खर्ब ६६ अर्ब रहेको लगानीकर्ताको कुल सम्पत्ति घटेर आज ३१ खर्ब ९३ सीमित भएको छ ।

    अघिल्ला दुईसाता लगातार बढेको सेयर बजारमा प्रफिट बुक गर्ने हाबी हुँदा करेक्शन आएको हो । बजार घट्ने अन्य खास कारण केही नभए पनि अल्पकालीन कारोबारी हाबी हुँदा बजारमा गिरावट आएको लगानीकर्ताहरु बताउँछन् ।

    सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । घटेको मौका छोपी सेयर उठाउनेहरु हाबी हुँदा करिब ९ अर्ब रुपैयाँको कारोबार भएको छ ।

    सेर बजारमा सामान्य करेक्शन आइरहने भएकाले लगानीकर्ताहरु आँत्तिहाल्नु पर्ने अवस्था नरहेको जानकारहरु बताउँछन् । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेको र कर्जाको ब्याजदरसमेत एकल अंकको रहेकाले बजारमा ठूलो गिरावट आइहाल्न अवस्था नरहेको उनीहरुको भनाइ छ ।

    आज सेयर बजार मापक सूचक नेप्से ५४.७५ अंकले घटेर २३७०.५५ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ८ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० रुपैयाँ बराबरको १ करोड ६२ लाख ७७ हजार २३५ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४६०.३७ अंकले घटेको ।

    कारोबारमा आएका २०६ कम्पनीमध्ये जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । पछिल्लो दुई सातादेखि सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ४३ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा शिखर इन्स्योरेन्स ३४ करोड र प्रभु लाइफ इन्स्योरेन्स ३१ करोड हुँदै शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । प्रभु लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    घट्दो बजारमा आज रिलायन्स फइनान्सका सेयरधनीले सबैभन्दा धेरै ८.३० प्रतिशत गुमाएका छन् ।

  • सत्तारुढ समूह चुनाव लक्षित सभामा, प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त

    सत्तारुढ समूह चुनाव लक्षित सभामा, प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त

    काठमाडौं । गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ।

    अहिले दुबै समूह देशभर आमसभा गर्न व्यस्त छन्। सत्तारुढ समूह चुनाव लक्षित सभामा व्यस्त छ भने प्रचण्ड–नेपाल समूह विरोधसभामा व्यस्त रहेका छन् ।

    आगामी २८ गते हुने व्यापक जनप्रदर्शनको तयारीस्वरूप प्रचण्ड-माधव पक्षले माघ १४ बाट माइतीघरमा जारी राखेको धर्ना कार्यक्रम आजबाट टुंग्याएको छ।

    धर्ना कार्यक्रम २१ गतेसम्मका लागि तोकिएको थियो। यसअघि पुस १० गते पनि ‘हामी यहाँ छौँ’ भन्दै प्रचण्ड र माधवसहितका नेता कार्यकर्ताहरू माइतीघरमा बसेका थिए।

    यो समूहले बुटवल, विराटनगर र धनगढीमा विरोधसभा आयोजना गरिसकेको छ। यसअघि दुई चरणका विरोध कार्यक्रम सम्पन्न गरिसकेको प्रचण्ड नेपाल समूहले तेस्रो चरणमा पनि काठमाडौंलगायत देशभर प्रदर्शन तथा विरोधसभाका कार्यक्रम आयोजना गरेको छ।

    ओली पक्षले माघ २३ गते नारायणहिटी दरबारअगाडि शक्ति प्रर्दशन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त जनसभा नारायणहिटी दरबार संग्राहलयको दक्षिण ढोकातर्फको सडकमा आयोजना हुनेछ। दुई लाख जनता उतार्ने यस अघि नै घोषणा गरि सकेको छ ।

    उक्त जनसभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी हुनेछन्।

  • पेट्रोलियम पदार्थ बिक्रेताको कमिशन बढ्यो, भार उपभोक्तामाथि

    पेट्रोलियम पदार्थ बिक्रेताको कमिशन बढ्यो, भार उपभोक्तामाथि

    काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन बढाउने सहमति भएको छ । कमिशन बढेसँगै यसको भार भने उपभोक्ताले बोक्नु पर्ने भएको छ ।

    निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २‍.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरिने भएको छ ।

    अब पेट्रोलमा ३.३९५५ र डिजलमा ३.१२५ कमिशन पुगेको छ । कमिशन वृद्धि गर्दा हुने मूल्य समायोजनअनुसार पेट्रोल र डिजलमा प्रतिलिटर औसत ३६ पैसाले थप हुनेछ। पेट्रोल र डिजलमा दिइआएको क्रमशः १० लिटर प्रति चार किलोलिटर र तीन लिटर प्रति चार किलोलिटर जर्ती समेत स्थगन गरिएको छ ।

    यता, निगमले विक्रेताको प्राविधिक नोक्सानीको विस्तृत अध्ययन गर्न काठमाडौं विश्वविद्यालयको प्राविधिक विज्ञ टोलीलाई अनुरोध गरेको र सो कार्यलाई अघि बढाउन नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं निगम सञ्चालक समितिका सदस्यले संयोजकत्व गर्ने गरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका दुई प्रतिनिधि एवं निगमका तर्फबाट समेत वरिष्ठ पदाधिकारी सदस्य रहने गरी एक उच्चस्तरीय कमिटी गठन गर्ने सहमति भएको छ ।

  • देशको सबैभन्दा ठूलो सवस्टेशन तयार, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

    देशको सबैभन्दा ठूलो सवस्टेशन तयार, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौं । नेपालको सबैभन्दा विद्युत प्रसारण लाइन ढल्केबर सबस्टेशन तयार भएको छ । अहिलेसम्मको सबैभन्दा बढी क्षमताको यो सवस्टेशनलाई अब पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशन उद्घाटन गर्ने भर्एका छन् ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार ढल्केबरमा अहिले १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान गरिएका छन् । कूल ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेका छन् ।

    जसले करिब ९०० मेगावाट विद्युत प्रसारण गर्न सक्ने क्षमता राख्छ । सबस्टेशन जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेशन समेत भएको राससले लेखेको छ । सबस्टेशनमा जडित ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर परीक्षण गरिएको थियो ।

    मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको प्राधिकरणको भनाई छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको बताइएको छ ।

    अब ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसके विद्युत् भारत निर्यात गर्न समेत सम्भव हुने भएको छ ।

  • कैलालीमा मोटरसाइकल र ट्याक्टर ठोक्किए, दुई जनाको मृत्यु

    कैलालीमा मोटरसाइकल र ट्याक्टर ठोक्किए, दुई जनाको मृत्यु

    कैलाली । कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । कैलाली प्रहरीका अनुसार घोडाघोडी नगरपालिका १० पहलमानपुरमा शनिबार राति ११ बजे पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

    मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका १० का २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

    ट्याक्टर चालक घोडाघोडी नगरपालिका ५ का २१ वर्षीय रामसिंह चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अत्यधिक गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

  • काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौंमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोक र नयाँ बसपार्कस्थित बिजी मल अगाडि सडक दुर्घटनामा एक–एक जनाको ज्यान गएको हो ।

    हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किएर दुर्घटना भएको र सो क्रममा सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको छ । प्रहरीका अनुसार विपरीत दिशाबाट लेन मिचेर आएको बा ५ ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठोक्किएको थियो । टिप्पर चालक प्रहरीको नियन्त्रणमा छन् ।

    उता, नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको छ । लमजुङ घर भई काठमाडौं बस्ने सुनमाया गुरुङको मोटरसाइकलको ठक्करबाट ज्यान भएको छ ।

    गोंगबुबाट नयाँ बसपार्क छिर्दै गरेको बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले उनलाई शनिबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक भने प्रहरी नियन्त्रणमा छन् ।

  • विश्वविख्यात व्यक्तिलाई यूएइले नागरिकता दिने

    विश्वविख्यात व्यक्तिलाई यूएइले नागरिकता दिने

    यूएई । संयुक्त अरब इमिरेट्स (युएई)ले विश्वमा विभिन्न माध्यमबाट ख्याती कमाएका विदेशी नागरिकलाई आफ्नो मुलुकको समेत नागरिकता दिने घोषणा गरेको छ । यूएईमा बसिरहेका नागरिकलाई टिकाइराख्न उक्त मुलुकले सो नीति ल्याएको हो ।

    कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटसँगै हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारबाट यस्तो घोषणा आएको बीबीसीले लेखेको छ । युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकारलगायत काबिल व्यक्तिहरुलाई युएईको नागरिकता दिइने भएको छ ।

    विदेशी र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता राख्न सक्ने नीति सरकारले ल्याएको हो । यसबाट युएईको विकासको यात्रामा योगदान दिन सक्ने व्यक्तिहरुलाई आकर्षित गर्ने उद्देश्य राखिएको छ । यो घोषणाबाट विभिन्न क्षेत्रमा विशेषज्ञता हाँसिल गरी यस मुलुकमा बसिरहेका विदेशी नागरिक लाभान्वित हुने भएका छन् ।

    युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनु नपर्ने भएको छ । युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिन नामावली तयार पार्नेछन् । ती नामावलीबाट स्वीकृत गर्ने काम भने मन्त्रीपरिषद्बाट हुने भएको छ ।

  • पोखराकी एलिना बनिन् वाई वाई नेपाल स्टार

    पोखराकी एलिना बनिन् वाई वाई नेपाल स्टार

    काठमाडौ । शनिबार सम्पन्न वाई वाई नेपाल स्टार सिजन १ मा पोखराकी एलिना गुरुङले टाईटल हात परेकी छिन् । गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोटसहित नेपाल स्टारमा सहभागी भएको बताउदै आएकी एलिनाले वाई वाई नेपाल स्टार सिजन १ को उपाधी हात पारेसङै काठमाडौ तारेभिरका सुरेश लामाको सपना यस पटकका लागि पुरा हुन सकेन ।

    काठमाडौस्थित गोकर्णेश्वोर नगर पालिकाका पदाधीकारीहरुले आफ्नै नगर पालिका भित्रका स्थाई बासिन्दालाई जिताउने प्रतिबद्दता सहित बिभिन्न समितीहरु समेत बनाएर लामालाई जिताउन कम्मर कसेर लागेका थिए । लामा यस पटक उक्त रियालिटी सोको उपबिजेता बनेका छन् ।

    शनिबार साँझ सम्पन्न फाइलनमा ३ प्रतिस्पर्धीलाई उछिन्दै एलिनाले नगद ३५ लाख रुपैयाँ पुरस्कार जितिन् । साथै १ करोड रुपैयाँ बराबरको जीवन वीमा प्राप्त गरिन् । उपविजेता अन्य ३ जनाले जनही ५ लाख र ५० लाख रुपैयाँको जीवन वीमा प्राप्त गरेका छन् ।

    विजेता र उपविजेतालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्ट लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

  • शनिबार करीव १५ हजारले लगाए कोरोना खोप, ६४ हजार ४ सय पुगे खोप लगाउने

    शनिबार करीव १५ हजारले लगाए कोरोना खोप, ६४ हजार ४ सय पुगे खोप लगाउने

    काठमाडौं । नेपालमा शनिबार मात्र देशभर करीव १५ हजार मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । देशभरका १ सय ४३ खोप केन्द्रबाट शनिबार १४ हजार ८ सय ९४ जनाले कोरोनाको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    आज प्रदेश १ मा १५ सय ४७, प्रदेश २ मा २१ सय १०, बागमती प्रदेशमा ५४ सय २, गण्डकीमा १८ सय ८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ९ सय ३० व्यक्तिले खोप लगाएका छन् । आज नेपालमा खोप अभियानको चौथो दिन हो । यस दिनसम्म कुल खोप लगाउनेको संख्या भने ६४ हजार ४ सय २२ पुगेको छ।

  • काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी

    काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी

    काठमाडौं । काठमाडौंमा बल्र्डफ्लु भित्रिएको छ । घरपालुवा पंक्षीमै बर्ड फ्लुको संक्रमण पुष्टी भएको पशु सेवा विभागले जानकारी दिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु पुष्टी भएको हो ।

    त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको पशु सेवा विभागको भनाई छ ।

    रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तया रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको छ ।

    सो क्रममा १ हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको बताइएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिएको विभागले उल्लेख गरेको छ ।


    विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गराउन आग्रह गरेको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्वन गर्न, फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि विभागले कृषकलाई सूचित गरेको छ।

    सरकारले कुनैपनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न पनि आग्रह गरेको छ ।

  • नेपालमा थप १ सय ९ जनामा कोरोना पुष्टी, ३५० जना डिस्चार्ज

    नेपालमा थप १ सय ९ जनामा कोरोना पुष्टी, ३५० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरस देखिएको छ । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । अब नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२७ पुगेको छ ।

  • उत्तर प्रदेशमा बस र ट्रक ठोक्किए, कम्तिमा १० जनाको मृत्यु

    उत्तर प्रदेशमा बस र ट्रक ठोक्किए, कम्तिमा १० जनाको मृत्यु

    मुराबाद । भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मरादाबाद आगरा राजमार्ग अन्तर्गतको हुसैनपुर पुलियामा ट्रकले बसलाई ओभर टेक गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

    दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । घाइतेको मुराबादका स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि अन्यन्त्र रिफर गरिएको छ ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ राहत दिने र घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।

  • तल्लो अरुण जलविद्यूत आयोजना भारतीय कम्पनीले पायो

    तल्लो अरुण जलविद्यूत आयोजना भारतीय कम्पनीले पायो

    काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई दिने निर्णय गरेको छ ।

    यो कम्पनी भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी स्थापना भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सार्वजनिक निजी साझेदारी मोडल अन्तरगत (निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्न सतलजलाई छनोट गरेको हो ।

    नेपालसँग भारतले लामो समयदेखि यो कम्पनीको माग गरिरहेको थियो ।सतलज विद्युत् निगमले भने अहिले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। सतलज विद्युत निगमले अरुण तेस्रो जलविद्युत आयोजना निर्माणमा भने ‘एसजेभीएन नेपाल’ नामक कम्पनी दर्ता गरेर काम गर्नेछ ।

  • प्रधानमन्त्री आज चितवन जाँदै, महानगरपालिकाले कार्यक्रम बहिष्कार गर्ने

    प्रधानमन्त्री आज चितवन जाँदै, महानगरपालिकाले कार्यक्रम बहिष्कार गर्ने

    भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदैछन् । तर, भरतपुर महानगरपालिकाले भने प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न चितवन जान लागेका उनलाई प्रचण्ड नेपाल समुहको नेतृत्वमा रहेको महानगरपालिकाले बहिष्कार गर्न लागेको हो । भरतपुर महानगरको मेयर प्रचण्ड पुत्री रेणु दाहाल हुन् । चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्नेछन । दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले पनि सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । सभाका लागि चितवनको गाउँगाउँबाट कार्यकर्ता ओसारिएको छ । सभामा जानुअघि प्रधानमन्त्री ओलीले भरतपुरमा बन्न लागेको पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारको शुभारम्भ गर्ने कार्यक्रम छ । साथै भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास पनि गर्ने भएको बताइएको छ ।

  • जापानमा हावाहुरी र हिमपात, हवाई सेवा रोकियो

    जापानमा हावाहुरी र हिमपात, हवाई सेवा रोकियो

    टोकियो । जापानमा हावाहुरी र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जापानका विभिन्न क्षेत्रमा तिब्र गतिमा आएको हावाहुरी तथा बाक्लो हिमपातले हवाइ सेवा नै रोकिएको स्थानीय संचारमाध्यमले जनाएका छन् । उत्तरी भागमा हावाहुरी र हिमपात चल्दा १ सयवटा भन्दा धेरै उडान उद्द भएका छन् ।

    होक्काइडो र उत्तरी होन्सु प्राकृतिक विपत्तिबाट मारमा परेको छ । मानवीय क्षतिको भने विवरण आइसकेको छैन । पछिल्लो प्राकृतिक अवरोधका कारण मुलुकको सबैभन्दा ठूलो हवाइ सेवा प्रदायक अल निप्पन एअरवेजका ४६ र जापान एअरवेजका ३४ वटा उडान स्थगित भएको बताइएको छ । होक्काइडोमा शुक्रबार रातिदेखि नै ३० मिटर प्रतिसेकेण्ड गतिमा हुरी चलेको छ ।

  • भारतमा इजरायली दूतावास नजिक बम विस्फोट, सुरक्षा व्यवस्था कडा

    भारतमा इजरायली दूतावास नजिक बम विस्फोट, सुरक्षा व्यवस्था कडा

    नयाँ दिल्ली । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएसँगै प्रहरीले पुरै दिल्ली कब्जा गरेको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठको दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको भारतीय संचारमाध्यमले जनाएका छन् । विष्फोटबाट दूतावासमा कुनै क्षति भने पुगेन ।

    मानवीय क्षति समेत नभएको बताइएको छ । कार पार्किङ क्षेत्रमा भएको यो विष्फोटमा कारका सिसा फुटेका छन् । यससँगै दिल्ली प्रहरीले राजधानीमा सरक्षा अलर्ट बढाएको छ । यसअघि भारतको स्वतन्त्रता दिवसका दिन समेत नयाँ दिल्लीमा आक्रमणको चेतावनी दिइएको थियो ।

    बम विष्फोट कसले र किन गरायो भन्ने नखुलेको समेत संचारमाध्यमले जनाएका छन् । दिल्ली प्रहरीका जनसम्पर्क अधिकारीले चर्चामा आउने उद्देश्यले कसैले बम विष्फोट गराएको हुन सक्ने आशंका गरेका छन् ।

    दिल्ली प्रहरीका कमिश्नर एसएन श्रीवास्तवले यस घटनाको अनुसन्धान विशेष सेलले गरिरहेको जानकारी दिए । दिल्लीमा विमानस्थल, महत्वपूर्ण प्रतिष्ठान, मेट्रो र सरकारी कार्यालयसहित बढी भिडभाड हुने क्षेत्रमा सुरक्षाकर्मीहरु नैताथ भएका छन् ।

  • खोप लगाएर विदेशबाट नेपाल आए क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गरिँदै

    खोप लगाएर विदेशबाट नेपाल आए क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गरिँदै

    काठमाडौं । सरकारले नेपाल आउने नागरिक र विदेशीलाई खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्ने भएको छ । यसबारे छिट्टै मन्त्रिपरिषद्को निर्णय आउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिए । उनका अनुसार विदेशबाट खोप लगाएर आएमा नेपालमा निर्वाध हिँडडुल गर्न सकिने गरी निर्णय आउने छ ।

    यसका साथै पर्यटकको क्वारेन्टिन अवधि घटाएर पिसिआर परीक्षणमा नेगेटिभ आएलगत्तै बाहिर जान सकिने गरी नियम ल्याउन लागिएको छ । अहिले नेपालमा आउने नेपाली तथा विदेशी जो आएपनि १० दिन क्वारेन्टिन बस्नुपर्ने प्रावधान रहेको छ ।

    यसले आगामी बसन्त ऋतुमा पर्यटक आगमन प्रभावित हुने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरिरहेका थिए । यही सन्दर्भमा सरकारले सहजिकरण गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार अब क्रमशः भारततर्फका नाकासमेत खोल्दै जाने योजना रहेको छ । यसले स्थलमार्गबाट समेत पर्यटक भित्रन सहज हुने छ । अहिले भारत र नेपाल दुबै मुलुकमा खोप अभियान जारी छ ।

  • कोरोना खोप अभियानको तेस्रो दिनसम्म ४६ हजारले लगाए खोप

    कोरोना खोप अभियानको तेस्रो दिनसम्म ४६ हजारले लगाए खोप

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहेको छ । आज तेस्रो दिनसम्म आइपुग्दा देशभर ४६ हजार भन्दा बढीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७७ जिल्लाका १६९ खोप केन्द्रबाट कुल ४६ हजार १७९ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएका छन् ।

    यसरी खोप लगाउनेमा प्रदेश १ मा ७ हजार ३६९, प्रदेश २ मा ४ हजार ६५०, वाग्मती प्रदेश मा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जना छन् ।

    शुक्रबारसम्म खोप लगाएका व्यक्तिहरुमा सामान्य असर देखिएको तथ्यांक प्राप्त भएको छ । यद्दपी यस्ता असर केही समय पश्चात आफैं निको भएका कारण गम्भीर समस्या नदेखिएको उनले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार खोप पश्चात अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभर विज्ञ चिकित्सकहरु परिचालन गरिएको छ ।

    वृद्धाश्रम र जेलमा रहेका लक्षित समूहका व्यक्तिहरुलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर खोप लगाउने व्यवस्था मिलाउन निर्देशन भएको उनको भनाई छ ।

  • किन घट्यो हुवावेको स्मार्टफोनको बिक्री ?

    किन घट्यो हुवावेको स्मार्टफोनको बिक्री ?

    बेइजिङ । चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल)को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ ।

    अनुसन्धान संस्था क्यानालिसका अनुसार, हुवावेमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरुका कारण हुवावेका स्मार्टफोनहरुको बिक्रीमा ठूलो असर परेको हो ।

    गत वर्ष अक्टोबरदेखि डिसेम्बरमा चीनभित्र हुवावेका स्मार्टफोनको बिक्रीमा ४४ प्रतिशतले कमी आई १ करोड ८८ लाख थान बिक्री भएको क्यानालिसले जनाएको छ । औद्योगिक विश्लेषण गर्ने इन्टरनेसनल डेटा कर्प (आइडिसी) ले पनि गत साता सार्वजनिक गरेको विवरणमा चीनबाट अन्यत्र मुलुकमा पठाइएका मोबाइल सेटको संख्यामा ४३ प्रतिशतले कमी आई ३ करोड २० लाख रहेको जनाएको थियो ।

    क्यानालिसका अनुसन्धाता निकोल पेङले देशभित्रै पनि हुवावे निकै कठिन समयबाट गुज्रिरहेको बताए । अमेरिकी प्रतिबन्धहरुका कारण हुवावेले देशको आन्तरिक मागलाई पनि पूरा गर्न समस्या भइरहेको उनको भनाई छ ।

    पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावे राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै अमेरिकी बजारमा हुवावेको प्रवेशलाई निषेध गर्नुका साथै अमेरिकी गठबन्धनका अन्य मुलुकलाई समेत यही नीति अबलम्बन गर्न दबाब दिएका थिए ।

    हुवावेले मोबाइल डिभाइसका अतिरिक्त पाँचौं पुस्ताको तिब्र गतिको इन्टरनेट र दूरसंचार उपकरणहरु पनि उत्पादन गरिरहेको छ ।

    हुवावेले चीनका लागि जासुसी गर्ने गरेको अमेरिकी दाबी असत्य रहेको हुवावेको भनाई छ । अमेरिकी सरकारले हुवावेले जासुसी गरेको आरोप पुष्टी गर्न नसकेको पनि हुवावेले बताएको छ ।

    हुवावे गत वर्ष केही समय विश्वमै सबैभन्दा बढी फोन उत्पादक कम्पनी बनेको थियो । हाल विश्वमा सामसुङ, एप्पल मात्र होइन चिनियाँ कम्पनीहरु साओमी र ओप्पोभन्दा पछि हुवावे छ ।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०२५पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०२५पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ ।

  • नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ जना डिस्चार्ज

    नेपालमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि, ३३३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३३३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ ।