Author: Vishwanews.com

  • ‘शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ’- प्रधानमन्त्री

    ‘शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ’- प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्।

    सहिद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित सहिद स्मारकमा ज्ञात-अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले सहिदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताएका हुन्।

    कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुयाउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताए।

    सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, जनसाधारणलगायतको सहभागिता थियो।

    सभा हुनुअघि रत्नपार्क शान्तिवाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी गरिएको थियो। कार्यक्रममा नेपाली सेनाको टुकडीले शहीदप्रति सलामी चढाएको थियो।

    राणाशासनविरुद्ध प्रजातन्त्रका लागि ज्यान अर्पण गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको स्मरणमा शहीद दिवस मनाउने गरिएको छ।

    राणाशासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीस्थित खरीबोट, र धर्मभक्त माथेमालाई सिफल तथा माघ १५ गते चन्द र श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ।

  • आयोगले बोलाएकाे छलफलमा सहभागी नभई पत्र बुझाएर फर्कियो प्रचण्ड–माधव समूह

    आयोगले बोलाएकाे छलफलमा सहभागी नभई पत्र बुझाएर फर्कियो प्रचण्ड–माधव समूह

    काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव समूह छलफलमा सहभागी नभई पत्र बुझाएर निर्वाचन आयोगबाट फर्किएको छ।

    शुक्रबार बिहान आयोगले केपी ओली र प्रचण्ड–नेपाल समूहलाई छलफलका लागि बोलाएकोे थियो । आफ्नो समूहका दुवै अध्यक्ष काठमाडौंबाहिर रहेको र माघ १८ अघि आयोगमा उपस्थित हुन नसक्ने पत्र बुझाएर फर्किएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

    प्रचण्ड–नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणी पोखरेल र मुक्ती प्रधानले आयोगलाई पत्र बुझाउँदै दुवै अध्यक्ष जिल्ला बाहिर रहेकाले १८ गतेपछि मात्रै छलफलमा बस्ने जवाफ दिएका थिए ।

    पत्रमा भनिएको छ, ‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनैतिक कार्यक्रममा व्यस्त हुनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनु भएको हुँदा सोको लागि आज तोकिएको समियमा उपस्थित हुन सम्भवन हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छु ।’

    प्रचण्ड–नेपालले माघ १८ गतेपछि मात्रै छलफलको आयोजना गर्न निर्देशन दिएको पार्टी सचिव श्रीराम ढकालले काटेको पत्रमा उल्लेख गरिएको छ ।

    यस अघि आयोगले दुवै पक्षलाई पत्र लेखेर स्वयं अध्यक्ष वा अध्यक्षले तोकेका ५–५ जना प्रतिनिधिलाई आयोगमा छलफलका लागि बोलाएको थियो।

    यसअघि दुवै पक्षले आयोगका बुझाएका विवरण अनुसार आयोगले एक पक्षलाई वैधानिकता दिन अस्वीकार गरेको थियो।

    पुस ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति तोकेपछि नेकपामा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आ–आफ्नो पक्षलाई आधिकारिक भन्दै विभिन्न निर्णय गर्दै आएका छन्।

  • इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड

    इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आइपीओ शुक्रबार बाँडफाँड भएको छ।

    धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित मुख्यालयमा बिहान १० बजे एक कार्यक्रमबीच निफ्राका आइपीओ बाँडफाँड गरिएको छ। आईपीओ बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेजमा पनि गरिएको थियो।

    कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।

    निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२ प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको थियो । ।

    बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । क्यापिटलले दिएको जानकारी अनुसार ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीको सेयर पाएका छन् ।

    यो आइपीओमा १० कित्ताका दरले आवेदन दिने ३४ हजार ३० आवेदकले ३ लाख ४० हजार ३०० कित्ता, २० कित्ताका दरले दिने २९ हजार ८५४ आवेदकले ५ लाख ९७ हजार ८० कित्ता, ३० कित्ताका दरले दिने २० हजार २४८ आवेदकले सेयर पाएका छन् ।

    ६ लाख ७ हजार ४४० कित्ता, ४० कित्ताका दरले दिने १६ हजार ९३४ आवेदकले ६ लाख ७७ हजार ३६० कित्ता र ५० कित्ताका दरले दिने १ लाख ७९ हजार ९३८ आवेदकले ८९ लाख ९६ हजार ९०० कित्ता सेयर पाएका छन्। ५० कित्ताभन्दा माथि आवेदन दिने ११ लाख ९४ हजार ४ आवेदकले पनि ५० कित्ता नै पाएका छन् ।

    बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरले बाँडफाँड भएको छ । त्यस अनुसार अधिकतम ६० कित्तासम्म आवेदनकर्ताले सेयर पाएका छन् ।

    इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ हालसम्मकै ठूलो साधारण सेयर हो । नेपाल सरकारको समेत लगानी रहेको बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो ।

  • नेकपाका दुबै खेमासँग निर्वाचन आयोगले आज छलफल गर्दै

    नेकपाका दुबै खेमासँग निर्वाचन आयोगले आज छलफल गर्दै

    काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी भावनात्मक रुपमा फुटिसकेको छ । तर, कानूनी रुपमा भने नफुटेको निष्कर्ष निर्वाचन आयोगले दिएको छ । आयोगको यो निर्णयले अन्यौल बढिरहेका समयमा आयोगले आज पुनः नेकपाका दुबै खेमासँग छलफल गर्ने भएको छ ।

    नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाउँदै आयोगले आज दुवै पक्षसँग छलफल गर्न लागेको हो ।

    आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठका अनुसार निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५, ५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलमा बोलाइएको छ ।

    सरकारले आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सोही सन्दर्भमा आयोगले आज दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई धारसँग छलफल गर्न लागेको हो । आजको बैठकमा आधिकारिकताको विषयमा समेत छलफल हुने भएको छ ।

  • अब मोफसलबाट पनि सुन वितरण हुने, व्यवसायी काठमाडौं धाउन नपर्ने

    अब मोफसलबाट पनि सुन वितरण हुने, व्यवसायी काठमाडौं धाउन नपर्ने

    काठमाडौं । अब काठमाडौं बाहिरबाट पनि सुन व्यवसायीले सुन पाउने भएका छन् । मोफसलबाट समेत सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको बताइएको छ ।

    यससँगै अब सुन किन्न काठमाडौं नै धाउनु पर्ने सुनचाँदी व्यवसायीको बाध्यता समेत हट्ने भएको छ । छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीहरूले दुःख खेप्नुपरेको गुनासो गरेका थिए ।

    बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहाललगायत सङ्घका पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन सङ्घ तयार रहेको जानकारी दिए ।


    नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यकाबाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषय मौद्रिक नीतिमा राखेको छ । छलफलका क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरूपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको सङ्घका पदाधिकारीको प्रतिवद्धता थियो ।

    राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार बैंकर्स सङ्घको सिफारिसमा बैंकहरूले विदेशबाट कच्चा सुनको आयात गरि महासङ्घको सिफारिसमा व्यवसायीहरूलाई सुन उपलब्ध गराउँदै आएका छन् ।

    मोफसलका जिल्लाबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्र काठमाडौंमा भन्दा बढी लिने, मोफसलका जिल्लामा पनि सुनको स्टक राख्ने, बैंकपिच्छे फरक–फरक हुँदै आएको दरभाउमा एकरूपता ल्याउने, सुन खरिद गर्न बैंकहरूले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरि पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ ।

  • शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री

    शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख भएको बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सुस्थिर राजनीति र विकासमा बाधा गर्नेहरुलाई संयुक्त रुपमा पराजित गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।

    शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने उनको प्रतिवद्धता रहेको छ ।

    उनले देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएको समेत बताएका छन् । प्रधानमन्त्रीले शहीद दिवसले सबैलाई समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

  • आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाईदैं

    आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाईदैं

    काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापनाको लडाईमा आफ्नो ज्यानको आहुती दिने महान व्यक्तिहरुको सम्मानमा आज शहीद दिवस मनाईदैंछ । १ सय तीन वर्षे जहानिया राणा शासनको अन्त्य गर्न हाँसीहाँसी ज्यानको आहुती दिन तयार भएका योद्धालाई आज सम्झना गरिन्छ ।

    शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरेको हो । त्यस आन्दोलनयता र अगाडीका आन्दोलनमा समेत ज्यान गुमाएका योद्धाहरुको सम्मान आजकै दिन गरिने हुँदा पनि यो दिनको विशेष महत्व छ ।

    यद्दपी सरकारले यो दिनका दिन सार्वजनिक बिदा भने दिँदैन । वीर शहीदहरुको स्मरणमा विक्रम संवत् २०१२ सालदेखि काठमाडौं महानगरपालिकाको संयोजनमा साताव्यापी रुपमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाउन थालिएको हो । आज साताव्यापी कार्यक्रमको अन्तिम दिन हो । आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना हुने भएको छ ।


    शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने कार्यक्रम छ । सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुख सहभागी हुने भएका छन् ।


    १० माघ १९९७ मा निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्न थालेका शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तको हत्या गरिएको थियो । माघ १५ मा दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी तत्कालिन शासकको आदेशमा हत्या भएको थियो ।

  • टी-१० लिगमा सोमपालको डेब्यू, टीम विजयी

    टी-१० लिगमा सोमपालको डेब्यू, टीम विजयी

    आबुधाबी । नेपाली फास्ट बलर सोमपाल कामीले आबुधाबी टी–१० क्रिकेट लिगमा डेब्यू गरेका छन् । पहिलो ओभरमै बलिंगमा आएका उनी आवद्ध टीम मराठा अरेबियन्स खेलमा विजयी समेत भएको छ । आबुधाबीमा बिहीबार साँझ सम्पन्न खेलमा नर्दन वारियर्सविरुद्ध मराठाले पहिले बलिंग गरेको थियो ।

    वारियर्सले निर्धारित १० ओभरमा २ विकेट गुमाएर १२७ रन जोड्यो । वारियर्सले दिएको एक सय २८ रनको लक्ष्य मराठा अरेबियन्सले पाँच विकेट गुमाएर अन्तिम बलमा पूरा गरेको छ । अरेबियन्सका लागि अब्दुल सकुरले २८ बलमा ७३ रन बनाए । मोहम्मद हफिजले आठ बलमा १९ रन जोडेका छन् ।

    नर्दन वारियर्सका फबिन एलेनले दुई विकेट लिएका छन् । वारियर्सका लागि भने लेन्डी सिमन्सले ५४ रन बनाएका थिए । ब्राण्डन किङले २९ रन जोडे । अरेबियन्सका लागि मुक्तर अलीले एक विकेट लिए । दुई ओभर बलिंग गरेका सोमपालले विना विकेट २८ रन खर्चिए ।

  • दोस्रो दिनसम्म करीव २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

    दोस्रो दिनसम्म करीव २९ हजारले लगाए कोरोनाविरुद्धको खोप

    काठमाडौं । नेपालमा बुधबारबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको हो । आज बिहीबार दोस्रो दिनसम्मको आंकडा अनुसार २८ हजार ७ सय ३२ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा उत्साहजनक सहभागितासहित कोरोना खोप विरुद्धको अभियान चलिरहेको छ ।

    आजसम्म प्रदेश नम्बर १ का ३ हजार ८ सय ४७, प्रदेश २ का २ हजार १ सय ७४, बागमतीका ११ हजार ४ सय ६१, गण्डकीमा ४ सय ८५३, लुम्बिनी २ हजार ३ सय ३, कर्णालीका १ हजार ६ सय ७७ र सुदूरपश्चिममा २ हजार ४ सय १६ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांक छ ।

    मन्त्रालयका अनुसार खोप लगाएका व्यक्ति कसैमा पनि स्वास्थ्य समस्या देखिएको रिर्पोट प्राप्त भएको छैन । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका जनशक्तिले खोप पाइरहेका छन् । यसमा स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालक, खोप केन्द्रमा खटीने सुरक्षाकर्मी तथा स्वयं सेवक रहेका छन् ।

    यसैगरी शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयं सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, वृद्धाश्रमका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनामा सबै जनसंख्यालाई पुग्ने गरी खोप भित्राउने घोषणा बुधबार गरेका छन् ।

  • गूड न्यूज : ६ महिनायता पहिलो पटक कोरोनाबाट नेपालमा शून्य मृत्यु

    गूड न्यूज : ६ महिनायता पहिलो पटक कोरोनाबाट नेपालमा शून्य मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा एक जनाको पनि मृत्यु भएन । यो सुखद समाचार यस्तो समयमा आएको छ, जहाँ कोरोना विरुद्धको खोप अभियान शुरु भएको दुई दिन मात्र भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ६ महिनायता पहिलो पटक सुखदः दिन आएको हो ।

    नेपालमा २०७७ जेठ १ मा कोरोना भाइरसको संक्रमण पुष्टी भएका बिरामीका पहिलो मृत्यु भएको थियो । सिन्धुपाल्चोककी एक सुत्केरीको कोरोनाकै कारण ज्यान गएको थियो । त्यसपछिको एक महिना बित्दा नबित्दै नेपालमा कोरोना उत्कर्षमा पुग्यो र मृत्युदरले पनि गति लियो ।

    साउनको अन्तिम सातापछि भने हरेक दिन औसतः दैनिक १० जना हाराहारीको ज्यान गएको छ । नेपालमा अहिलेसम्म २ हजार २० जनाको कोरोनाबाट ज्यान गएको छ । तर, पछिल्लो २४ घण्टाले भने त्यो सिलसिला तोकेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो पटक १९ साउनमा नेपालमा मृत्यू संख्या शून्य रहेको थियो । त्यसपछि आज यस्तो सुखद दिन रहन सफल भयो ।

    कात्तिक १९ मा नेपालमा एकै दिन सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको दर संक्रमितको तुलनामा ०.७५ प्रतिशत छ । यो अन्य मुलुकहरुको तुलनामा कम हो । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा २९६ जनाले कोरोना जितेका छन् ।

  • ‘प्रचण्ड रोल्पा, सिराहा, कीर्तिपुर हुँदै चितवन जानुभयो, जुल्फी कोरेर अब जाने ठाउँ छैन’

    ‘प्रचण्ड रोल्पा, सिराहा, कीर्तिपुर हुँदै चितवन जानुभयो, जुल्फी कोरेर अब जाने ठाउँ छैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प कमल दाहाल प्रचण्डलाई चितवनबाट आफूहरूले जिताएको बताएका छन् ।

    ट्रेड युनियन महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतालाई प्रणाम गरेर आफुहरुले प्रचण्डलाई जिताएको बताएका हुन् ।

    ‘७४ सालमा प्रचण्डलाई जनतालाई प्रणाम गरेर चितवनमा हामीले जिताएको । ७० मा बत्ती निभाएर बाकस साटेर जितेका हुन् ।

    त्यो भन्दा अगाडि कीर्तिपुर हारिसक्नु भएको थियो,’ उनले भने, ‘उहाँ त यस्तो ‘फ्लोटिङ’ हुनुहुन्छ नी कहिले रोल्पा, कहिले सिराहा, कहिले कीर्तिपुर जानुभयो अब जाने ठाउँ कतैपनि छैन ।’

    जनयुद्धको बेला प्रचण्ड जेलवाला तेल लाएर जुल्फी कोरेर दिल्ली बसेको उनको टिप्पणी छ । प्रधानमन्त्री ओलीले जनयुद्धमा प्रचण्ड जंगल नबसेको र दिल्लीमा बसेर कार्यकर्तालाई जंगलमा बसाएको बताए ।

    ‘जनयुद्धमा उहाँ जंगल बसेको होइन । त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो । जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो ।’

    त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो पहिलो सरकार ढाल्नेमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको दाबी गरेका छन् ।

    ओलीले २०७२ सालमा आफ्नो नेतृत्वमा बनेको सरकार माधव नेपालसहितका नेताले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उकासेर ढालेको दाबी गरेका हुन् ।

    प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै नरहेको भन्दै उनले तीन महिनापछि प्रचण्ड, माधव नेपालसहितका नेताहरू नागरिक समाजमा रूपान्तरण हुने पनि बताए ।

  • नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, २९६ जना डिस्चार्ज

    नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, २९६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २९६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ रहेको छ ।

  • प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

    प्रधानमन्त्रीलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री शर्मा ओली सहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले अदालत अवहेलना मुद्दामा लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

    इजलासले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

    पूर्व प्रधाननन्यायाधीशहरु अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए।

    यस्तै पूर्व सभामुख ढुंगानाले पनि अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थियो।

  • विपी राजमार्गको पुनःनिर्माणपछि नेपाललाई हस्तान्तरण

    विपी राजमार्गको पुनःनिर्माणपछि नेपाललाई हस्तान्तरण

    काठमाडौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

    बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो।

    पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए।

    उनले नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको योगदान अतुलनीय रहेको बताए।

    ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु,’ उनले भने।

    कार्यक्रममा जापनी राजदुत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ सधैं निरन्तर रहने बताइन्।

    राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो।

    हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गतेको महाभुकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो। भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो।

    जापानीज निर्माण कम्पनी हाजमा अण्डो करर्पोरेशनले सन् २०१९ जुलाई ३ मा सुरु गरेको पुनःनिर्माण करिब १८ महिनामा निर्माण सम्पन्न गरेको थियो।

    पुनःनिर्माणमा गिट्टी, बालुवा बाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो।

  • दोहोरो अंकले घट्यो नेप्से,कारोबार इतिहासकै सर्वाधिक

    दोहोरो अंकले घट्यो नेप्से,कारोबार इतिहासकै सर्वाधिक

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से १६.५५ अंकले घटेर २४२५.२९ विन्दुमा कायम भएको हो ।

    यसदिन २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता सेयर किनबेच भएको छ ।

    ९ अर्ब ९८ करोड ८४ लाख ५६ हजार १ सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूह मध्ये ३ वटाको परिसूचक ओरालो लागेका छन् ।

    बिहिबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७७ साल माघ ११ गते आइतबार नेप्सेमा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ वटा समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ४१०.३९ अंकले बढेको छ भने विकास बैंक समूह ४३.२५ अंकले घटेको छ ।

    कारोबारमा आएका २०९ कम्पनीमध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ११९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ५७ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालय डिस्ट्रिलरी र पुनर्बीमा कम्पनी समान ३२÷३२ करोड हुँदै शीर्ष तीनमा रहे ।

    आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा सुर्योदय लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, सारथी नेपाल लघुवित्त, एभरेष्ट इनस्योरेन्स कम्पनी, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी र सपोर्ट माइक्रोफाइनान्स रहेका छन् ।

  • निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो

    निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई बोलायो

    काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली र पुष्पलकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहलाई बोलाएको छ ।

    सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिरहेका बेला आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पार्टीको नाम र चुनाव चिन्हमा दुवै समूहले आ–आफ्नै दाबी गर्दै आइरहेकाले छलफलका लागि शुक्रबार बिहान करिब ११ बजेका लागि बोलाइएको जानकारी दिए ।

    आयोगले यसअघि नेकपा विभाजनका लागि कानूनी रुपमा स्वीकृति नदिने निर्णय गरिसकेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेर सोही अनुसार तयारी गरिरहेको छ ।

    त्यस्तै आयोगले पनि नामवली प्रकाशन गर्ने, राजनीतिक दल दर्ता गर्नेलगायतका कार्यहरु गरिरहेको छ । ७७ वटै जिल्लामा मतदान केन्द्र र मतदान स्थलको निर्धारणलगायतको तयारी भइरहेको छ ।

    त्यस्तै आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।

  • नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा

    नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा

    काठमाडौं । नेपालमा भ्रष्टाचार झनै बढेको तथ्यांक सार्वजनिक भएको छ ।

    भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल गत वर्षभन्दा पनि खस्किएको छ ।

    नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ । गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो ।

    यो वर्ष ३३ अंक पाउदा अरु ४ मुलुकले उछिनेर नेपाल ११७औं स्थानमा पुगेको हो । १ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि एकदमै न्यूनस्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ। यस्तै, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ।

    राजनीति, न्यायमा पहुँच, वित्तीय अनुशासनसहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सूचकांक तयार पारिने जननाइको छ।

    ट्रान्सपरेन्सी इन्टरनेशनलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ।

    यस्ताे छ दक्षिण एशियाली मुलुकहरूकाे अवस्था

    सीपीआई २०२० मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २४ औं स्थान, मालदिभ्स ४३ अङ्क प्राप्त गरी ७५ औं स्थान, भारत ४० अङ्क प्राप्त गरी ८६ औं स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरी ९४ औं स्थान, नेपाल ३३ अङ्क प्राप्त गरी ११७ औं स्थान, पाकिस्तान ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४६ औं स्थान र अफगानिस्तान १९ अङ्क प्राप्त गरी १६५ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ४२ अङ्क प्राप्त गरी ७८ औं स्थानमा रहेको छ ।

    सीपीआई २०२० ले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेको छ । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार पारिएको हो । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दैआएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको छ ।

    कम र बढी भ्रष्ट मुलुक कुन ?

    यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजील्याण्डले कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने साउथ सुडान र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।

    सीपीआई २०२० मा दुईतिहाई मुलुकले ५० भन्दा कम अंक (स्कोर) पाएका छन् र यस वर्षको औसत स्कोर ४३ रहेको छ । आधाजति मुलुक एक दशकदेखि सूचीमा लगभग उस्तै स्थानमा रहनुले सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेको देखाएको छ ।

  • दुई खेलको प्रतिवन्धपछि मैदान फर्किएका मेसी चम्किए, टीम कोपा डेल रेको क्वाटरफाइनलमा

    दुई खेलको प्रतिवन्धपछि मैदान फर्किएका मेसी चम्किए, टीम कोपा डेल रेको क्वाटरफाइनलमा

    स्पेन । लियोनल मेस्सी दुई खेलको प्रतिवन्ध पार गर्दै बुधबार राती मैदान उत्रिए । कोपा डेल रे फुटबलको अन्तिम १६ को भिडन्तमा उनले पुनः आफुलाई उत्कृष्ट सावित गरे र टीमलाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्याएका छन् ।

    बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ । घरेलु टोली भालेकानोविरूद्ध बार्सिलोनाले पछि परेको अवस्था उल्टाउँदै महत्वपूर्ण जित निकालेको हो ।

    खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसको गोलबाट भालेकानोले अग्रता लियो । मेस्सीले ६९औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

    मेसिले मिडफिल्डबाट निकालेको बल जोर्डी अल्बाले फ्रेन्की डी जोङ्गलाई उपलब्ध गराउँदा भएको गोलबाट बार्सिलोनाले ८० औँ मिनेटमा अग्रता लियो र खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

  • विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

    विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

    काठमाडौं । डिसेम्बर २०१९ मा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर १० करोड मानिसमा पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार बिहानसम्मको आंकडा अनुसार १० करोड नौ लाखभन्दा धेरै मानिसले यो भाइरसको सामना गरेका छन् ।

    यसमध्ये २१ लाख ६९ हजार मानिस भने यो भाइरससँग पराजित भई मृत्युवरण गर्न बाध्य भएका छन् । सात करोड २९ लाखभन्दा धेरै मानिस भने यो लडाईमा सफल बनेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका हो । यहाँ २ करोड ६० लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    कोरोनाका कारण अमेरिकामा मात्र ४ लाख ३५ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोनाबाट प्रभावित दोस्रो मुलुक भारत हो । यहाँ १ करोड ६९ लाखभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

    कोरोनाका कारण भारतमा १ लाख ५३ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा मृत्युदर भने कम रह्यो । ब्राजिलमा अहिलेसम्म ९ लाख ३६ हजारभन्दा धेरैमा कोरोना भाइरस सङ्क्रमण भएको छ । यहाँ २ लाख १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

  • अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप

    अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप

    काठमाडौं । उखु किसानको रकम लामो समयसम्म भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्। प्रहरीका अनुसार उनलाई गतराती काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी परेको थियो । उखु मिलहरुबाट किसानले लामो समयदेखिको वक्यौता भुक्तानी पाएका छैनन् । उनीहरुले भुक्तानी माग्दै काठमाडौंको माइतीघरमा पटक पटक आन्दोलन गर्दै आएका छन् ।

    सरकारले उखु किसानको भुक्तानी दिलाइदिने आश्वासन दिएपछि उनीहरु आन्दोलन स्थगित गरेर घर फर्किएका थिए। तर, सरकारको आश्वासन फेरी पनि कागजमै सिमित भएका बेला अग्रवाल पक्राउ परेका हुन् ।

  • आजबाट श्रीस्वस्थानी व्रत आरम्भ, शालीनदीमा एक महिने मेला

    आजबाट श्रीस्वस्थानी व्रत आरम्भ, शालीनदीमा एक महिने मेला

    काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको एक उत्सव श्रीस्वस्थानी व्रत आरम्भ भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा शुरु भएको हो । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत गर्ने प्रचलन रहेको छ ।

    आज बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गर्ने गरिन्छ । बेलुका स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।

    प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।


    आजबाट एक महिनासम्म काठमाडौंको शालीनदीमा स्वस्थानी मेला सुरु हुन्छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथा स्वस्थानीमा रहेको छ ।

    सोही धार्मिक विश्वासका साथ साँखुस्थित शालीनदीमा स्वस्थानीको मेला लाग्ने गरेको हो । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि भने कडा नियम बनाइएको छ । निमोनिया नभएको प्रमाण माग्ने गरिन्छ ।

    निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको छ । यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ । १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको छ । व्रतालु २० देखि ५० वर्षसम्म उमेर समूहको हुनुपर्ने उमेरहद तोकिएको छ । पीसीआर वा एन्टिजिन टेस्ट अनिवार्य गरिएको छ ।

  • क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु

    क्यामरुनमा यात्रुवाहक बसमा आगलागी, कम्तिमा ५३ जनाको मृत्यु

    क्यामरुन । क्यामरुनमा एक यात्रुवाहक बसमा भएको आगलागीमा परी कम्तिमा ५३ जनाको ज्यान गएको छ । २९ जना गम्भीर घाइते रहेको र उनीहरुको अवस्था समेत चिन्ताजनक रहेको अधिकारीहरुले जनाएका छन् । पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग बस ठोक्किँदा बसमा आगो लागेको बताइएको छ ।

    दुर्घटनामा परेका सबैको शव जलेको र पहिचानमा समेत कठिनाई आएको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने स्थानमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ः३० बजे दुर्घटना भएको थिया । यो ७० सीटे बस थियो । दुर्घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • नेपालमा पहिलो दिन ९०८४ जनाले कोरोना खोप लगाए

    नेपालमा पहिलो दिन ९०८४ जनाले कोरोना खोप लगाए

    काठमाडौं । नेपालमा बुधबारबाट कोरोना भाइरसको खोप लगाउन शुरु भएको छ । यो अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् ।

    ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएका हुन् । मन्त्रालयको आंकडा अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा २ हजार ६९४, गण्डकीमा १ हजार ८४३, लुम्बिनमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाए ।

    खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म समस्या समेत नदेखिाएको मन्त्रालयको भनाई छ । अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिको सहभागिता उल्लेख्य रहेको मन्त्रालयको भनाई छ ।

    स्वतस्फूर्त सहभागिताका लागि मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यो अभियान सफल बनाउन भूमिका खेलेकोमा सबैप्रति मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ । भारतबाट अनुदानमा प्राप्त १० लाख डोज खोपको अहिले नेपालमा वितरण शुरु गरिएको हो ।

  • नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज

    नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४६ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ रहेको छ ।

  • ‘ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन्, फुटेर बहुमत ल्याउने कुरामा सपना मात्र’

    ‘ओली बाहेक सबै पार्टी एकताको पक्षमा छन्, फुटेर बहुमत ल्याउने कुरामा सपना मात्र’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ओली समूहका अध्यक्ष केपी शर्मा ओली बाहेक सबै पार्टी एकताको पक्षमा रहेको बताएका छन्।

    ललितपुरमा बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले नेकपा व्यवहारिक र राजनीतिक रुपमा फुटिसकेपनि ओल िबाहेकका सबै पार्टी एकताको पक्षमा रहेको बताएका हुन् ।

    उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा रहेकाहरु पनि धेरै जसो पार्टी एताको पक्षमा रहेको बताए ।

    गौतमले आफूलाई पछि एक समूहमा लाग्ने आंशका भइरहेको भन्दै आफू दुवै समूहमा नलाग्ने घोषणा गरे । उनले पार्टी एकतामा नै जुट्ने बताए ।

    निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाउने ठाउँमा पुगेको यो पार्टीको गौरव एकतामै बढ्ने थियो भन्दै उनले देशको नयाँ विशेषतामा आधारित समाजवाद हेर्न संसारका मान्छे आउने भनेर खुसी भइरहेको अवस्थामा पार्टी फुटेको बताए।

    यद्यपि फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको गौतमले दाबी गरे।

    गौतमले अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गर्दै विभाजित नेकपाको प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षले अलग–अलग चुनावमा जाँदा चुनाव जित्न नसक्ने बताए।

    फुटेर बहुमत ल्याउने कुरामा सपना मात्र भएको गौतमले बताए। ‘गत चुनावमा हामी पार्टी एकता गरेर गएका थियौं। त्यतिबेला नेकपाको पक्षमा लहर आएको थियो,’ गौतमले भने, ‘त्यस्तो अवस्थामा दुई पार्टी मिलेर ल्याएको मत जम्मा ४३ लाख हो।’

    त्यतिबेला नेपाली कांग्रेसले ३० लाख मत ल्याएको बताउँदै गौतमले विभाजित अवस्थामा आफ्नो पक्षमा लहर नआउने तर्क गरे। उनले भने, ‘अहिलेसम्म ५-७ लाख मतदाता बढे होलान्। त्यसैले दुईतर्फ भोट बाँडिदा २१–२१ लाख हुन्छ। २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ। कांग्रेसले पहिल्यै ३० लाख ल्याएकोमा अब झन् बढ्छ।’

    त्यसैले अलग–अलग गरेर चुनाव लड्दा नेकपा पराजित हुने गौतमको बुझाई छ। ‘सर्वोच्च अदालतले के निर्णय गर्ला ? दुईमध्ये एक निर्णय गर्छ । वैशाख १७ र २७ गते चुनाव भए पनि एकता अभियान चलाइरहनुपर्छ’, उनले भने, ‘केपी ओली कहिल्यै पनि एकताको पक्षमा हुनुहुन्न । उहाँहरु एकता प्रक्रियामा आउनुभएन भने सेनापति त हुनुहुन्छ पछि सेना हुनुहुन्छ ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए इज्जत बढ्ने बताए ।

  • तीन महिना भित्र सबै नेपालीलाई निःशुल्क कोरोना खोप -प्रधानमन्त्री

    तीन महिना भित्र सबै नेपालीलाई निःशुल्क कोरोना खोप -प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीन महिना भित्र सम्पूर्ण नागरिकलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने बताएका छन् ।

    कोरोना विरुद्धको खोप अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीमा खोप पुर्याउने आश्वासन दिएका हुन्।

    ओलीले भारत सरकारले सहयोग स्बरुप उपलब्ध गराएको खोप संगै सरकारले थप खरिदको तयारी गरेको पनि जानकारी दिए ।

    खरिदका लागि सरकारले बजेटको ब्यबस्था गरिसकेको जानकारी गराउदै प्रधानमन्त्री ओलीले अभियनका लागि सबैको साथ र सहयोग र सग्लनता आबश्यकता रहेको बताए ।

    उनले भने, ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, कुनै भेदभावविना नै सबै नेपालीलाई निःशुल्क रूपमा खोप लगाइन्छ।’

    ‘हामी खोपमा मात्रै भर पर्ने होइन।’ प्रधानमन्त्रीले भने, ‘यो शतप्रतिशत विश्वसनीय नहुन सक्छ। हामीले भौतिक दुरी काय गर्ने, मास्क लगाउने, सरसफाई र खानपिन जस्ता स्वास्थ्यमापदण्ड अपनाईराख्नु पर्छ।’

    ‘पहिले जता पनि मान्छे देख्यो कि कोभिडको संवाहक जस्तो लाग्थ्यो।’ प्रधानमन्त्रीले भने, ‘अहिलेको अवस्था हिजो जस्तो भयावह छैन। मान्छे भयवित भएको देखिदैन। मानिसले सावधानि अपनाएको छ। हिजो साबधानी भन्दा बढी त्रास थियो।’

    प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेपछि देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, चालक, एम्बुलेन्स चालक लगायतलाई खोप दिइएको छ ।

    आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    नेपाल दक्षिण एशियामा कोराेनाविरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा लगाउन थालिएको हो ।

  • टेकुमा ८० वर्षीय अमात्य कोरोना खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक

    टेकुमा ८० वर्षीय अमात्य कोरोना खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक

    काठमाडौं । टेकुमा ८० वर्षका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । बिहान टेकु अस्पतालका रेडियोलोजिस्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले खोप लगाएका हुन्। उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन् ।

    खोप लगाएपछि उनले खोप लगाउँदा केही नहुने भन्दै यसबाट केही नहुने बताएका हुन्। ‘सबैले खोप लागाउन,कसैलाई कोरोना नहोस भनेर लगाए,’उनले भने,‘म अहिले नर्मल छु। त्यसै डराएका मात्रै हुन। नडराइ ढुक्क भएर खोप लगाउँदा हुन्छ। केही हुँदैन।’

    पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलाई खोप लगाउन थालिएको हो।

  • कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप

    कोरोना विरुद्धको खोप अभियान शुरु, टेकु अस्पतालका निर्देशकले लगाए पहिलो खोप

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरिएको छ। बिहान १० बजेबाट सुरु भएको खोप अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री पनि सहभागी छन्। कोरोना खोप अभियानमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले पहिलो खोप लगाएका छन् ।

    त्यसपछि दोस्रो नम्बरमा प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
    उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । यस अस्पतालमा आज ४०० जनालाई खोप लगाइने जनाइएको छ ।

    पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदीलाई खोप दिइने छ।

  • जुम्लामा आगलागी हुँदा ३० घर जले, क्षतिको विवरण आउँदै

    जुम्लामा आगलागी हुँदा ३० घर जले, क्षतिको विवरण आउँदै

    काठमाडौं । जुम्लाको तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँमा आगलागी भएको छ । मंगलबार साँझबाट शुरु भएको आगोलागीले ३० वटा घर जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ । साँझको समयमा भएका कारण मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।

    पानीको समस्या हुने यस स्थानमा आगो नियन्त्रणमा समेत समस्या आएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पानीको समस्याका कारण आगो पुर्ण नियन्त्रणमा लिन सकिएको छैन ।

    यो स्थान सदरमुकाम खलंगाबाट ३५ किलोमिटर दूरीमा पर्छ । आगलागी नियन्त्रण गर्न आज समेत स्थानिय र प्रहरी बिहानैदेखि खटिएको कार्यालयले जनाएको छ । यी घरमा पालिएका ठूलो संख्यामा पशु चौपायाको ज्यान गएको छ । आगोलागीको कारण भने नखुलेको प्रहरीको भनाई छ ।

  • अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

    अमेरिकी र रुसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

    काठमाडौं । नवनियुक्त अमेरिकी राष्ट्रपति जो बाइडेनले र रूसी राष्ट्रपति भ्लादमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । राष्ट्रपति बाइडेनले आफ्नो कार्यकाल शुरु गरेपछि पहिलो पटक पुटीसँग कुराकानी गरेका हुन् । उनी अहिले अघिल्लो प्रशासनले सम्बन्ध बिगारेका मुलुकसँग सम्बन्ध पुनस्र्थापना गर्ने अभियानमा छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यी दुई विश्व नेताबीचमा दुबै मुलुकबाट फरक फरक विषय सार्वजनिक भएको बताएका छन् । खासगरी ह्वाइटहाउसको तर्फबाट वार्तामा पुटीनका आलोचक अलेक्सी नाभाल्नीको गिरफ्तारी, साइबर हमला र अफगानिस्तानमा अमेरिकी सैनिकमाथि हमला गर्न रूसले तालिबानलाई उक्साएको विषय उठाइएको छ ।

    उता, रुसको तर्फबाट भने जारी विवरणमा भने बाइडेनले अमेरिका, रूस हतियार नियन्त्रण सम्झौताको म्याद थप्न प्रस्ताव गरेको सार्वजनिक गरिएको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रूससँग दुई वटा हतियार सम्बन्धी सम्झौता खारेज गरेको थियो ।

    न्यू स्टार्टलाई पनि नवीकरण नगर्ने पक्षमा उक्त प्रशासन थियो । यसै सम्झौतामा केन्द्रित भई दुई नेताबीच कुराकानी भएको बताइएको छ । बाइडेन र पुटिनबीच युक्रेन समस्याबारे समेत कुराकानी भएपनि यसबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।

    एजेन्सी