Author: Vishwanews.com

  • दुई वर्षे छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण

    दुई वर्षे छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण

    अर्घाखाँची । अर्घाखाँचीमा एक युवाले आफ्नै दुई वर्षिय छोरीको हत्या गरी प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । नेपाली संचरमाध्यमहरुका अनुसार अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर २ सीतापुर झिर्राका २४ वर्षीय सन्तोष घिमिरेले मंगलबार आफ्नै छोरी सृष्टिको हत्या गरेका हुन्।

    नाइलनको डोरीले घाँटी कसेर छोरीको हत्या गरेपछि उनी इलाका प्रहरी कार्यालय ठाडामा आत्मसमर्पणका लागि पुगेको बताइएको छ । दिउँसो १ बजेतिर आफुले छोरीको हत्या गरेको स्वीकार गर्दै उनी प्रहरी कार्यालय पुगेका थिए । सन्तोषले छोरीको हत्या गर्दा घरमा कोही नभएका कारण अप्रिय घटना हुन पुगेको हो ।

    उनकी श्रीमती भने बाँकेस्थित माइती बस्दै आएकी छन्। प्रहरीका अनुसार सन्तोषले मामाघरमा आमासँगै बसिरहेकी छोरीलाई डेढ महिना अगाडी मात्र घर ल्याएका थिए । श्रीमान र श्रीमतीबीचको सम्बन्ध भने राम्रो नभएको प्रहरीले जनाएको छ । छोरीको हत्यामा समेत यही विवादको कारण हो की भन्ने आंशका प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको रहेको बताइएको छ ।

  • कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो

    कांग्रेसले एक दर्जन जनवर्गिय संगठनको म्याद ६ महिना लम्ब्यायो

    काठमाडौं । नेपाली कांग्रेसले आफ्ना एक दर्जन भन्दा बढी भ्रातृ संगठनको म्याद ६ महिना लम्ब्याएको छ । मंगलबार राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको हो । नेपाली कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघको म्याद बढाउने निर्णय लिएको छ ।

    यसैगरी नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना म्याद थप हुने निर्णय समेत भएको छ ।

    मगलबारको बैठकले नेपाली जनसम्पर्क समिति कतार, वहराइन, मलेसिया र साउदी अरबबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने निर्णय समेत लिएको छ । उता, नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई आवद्धता प्रदान गरेको छ ।

    जनसम्पर्क समिति युएईको विधान स्वीकृत गरेको समेत नेपाली कांग्रेसले जनाएको छ । ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल थप गर्ने निर्णय भएको बताइएको छ ।

  • बामदेवले नेकपा एकता अभियान थाल्ने

    बामदेवले नेकपा एकता अभियान थाल्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कुनै पनि खेमामा लागेका छैनन् । यसबीचमा निर्वाचन आयोगको नतिजा कुरिरहेका उनले अब भने औपचारिक रुपमा सक्रियता बढाउने भएका छन् ।

    उपाध्यक्ष गौतमले आज औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्न लागेको बताइएको छ । उनले ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम आयोजना गरेका छन् । जहाँ प्रचण्ड र केपी शर्मा ओलीलाई समेत आमन्त्रण गरिएको छ ।

    सोही भेलाबाट गौतमले नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेका हुन् । त्यसो त प्रचण्ड र ओली भेलामा सहभागी हुने वा नहुने खुलेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ मा संसद विघटन भएपछि नेकपा दुई खेमामा पुगेको छ । यद्दपी यो फूटलाई निर्वाचन आयोगले भने मान्यता दिएको छैन ।

  • आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने

    आजबाट नेपालमा कोरोना खोप अभियान शुरु, गम्भीर असर गरे सरकार जिम्मेवार नहुने

    काठमाडौं । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान प्रारम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बावुवाटारबाट भच्र्यूअल रुपमा अभियानको थालनी गर्नेछन् । तर, उनले खोप भने लगाउने छैनन् । संसारमा धेरैजसो मुलुकमा सरकार प्रमुखले खोप लगाएर अभियान थालेका थिए ।

    यसले जनतामा आत्मविश्वास बढाउँछ । नेपालमा भने खोप लगाउनु अगाडी नै यसले गम्भीर असर गरेमा सरकार जिम्मेवार नहुने व्यहोराको शर्तनामामा हस्ताक्षर गर्नुपर्ने भएको छ । नेपालमा कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने भएको छ ।

    काठमाडौंमा एक दर्जन अस्पतालमा खोप लगाइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीमा आज स्वास्थ्यकर्मीका लागि खोप दिइने भएको छ ।


    भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा लगाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप लगाएपछि कुनै गम्भीर स्वास्थ्य समस्या भए, अंगभंग भए या मृत्यु भएमा खोप दिने निकाय वा संस्थाले क्षतिपूर्ति दिने छैन ।

    खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने भने बताइएको छ । यो खोप १८ वर्षमाथिका सबैले लगाउन मिल्छ ।

    कोरोसँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवतीले भने खोप लगाउनु हुँदैन । पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।

  • माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत

    माउण्ट केटु चढेर फर्किएको कीर्तिमानी टिमलाई विमानस्थलदेखि वालुवाटारसम्म भब्य स्वागत

    काठमाडौं । हिउँदे सिजनमा पहिलो पटक विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरी विश्व कीर्तिमान राखेको नेपाली टोली आज स्वदेश फर्किएको छ । टोलीको नेतृत्व विश्वविख्यात आरोही निर्मल पुर्जाले गरेका थिए । टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

    विमानस्थलबाट उनीहरुलाई गाडीमा राखेर शहर परिक्रममा गराइएको थियो । त्रिभुवन विमानस्थलबाट ठमेल पुगेको टोलीलाई त्यहाँबाट पर्यटन बोर्डमा ल्याएर बोर्ड तथा पर्यटन मन्त्रालयको तर्फबाट स्वगत गरिएको छ । त्यसपछि यो टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास वालुवाटारमा स्वागत गरे ।

    नेपालका १० जना आरोहीले माघ ३ मा पाकिस्तानको माउन्ट केटु हिमालको सफल आरोहण गरेका हुन् । किलर माउण्टेनका रुपमा चिनिने यो हिमाल चढ्ने प्रत्येक ४ जना आरोहीमध्ये एक जनाको दुर्घटनामा परी निधन भएको इतिहास छ ।

    यस्तोमा टोलीका सबै सदस्य सकुसल फर्किएर जोखिमपूर्ण कीर्तिमान नेपाली आरोहीले आफ्नो नाममा लेखाएका छन् ।

    नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार बिहान ५ः४५ मा ८ हजार ६११ मिटर अग्लो माउन्ट केटु चढेका थिए ।

    नेपाली आरोहीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई समेत दिएका थिए । सम्मान ग्रहण गर्दै टोली नेता पूर्जाले यो आरोहण आगामी पुस्ताको हौसलाका लागि महत्वपूर्ण सावित हुने धारणा राखे ।

  • प्रतिनिधिसभा विघटन विरोधमा कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

    प्रतिनिधिसभा विघटन विरोधमा कांग्रेसद्वारा थप आन्दोलनको घोषणा, ३० गते देशभर प्रदर्शन

    काठमाडौं । प्रप्रतिनिधिसभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

    पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

    सार्वजनिक कार्यक्रम अनुसार माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक सस्था र ३० गते जिल्लामा आन्दोलन गर्ने निर्णय गरेकोछ ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रभावकारी रुपमा विरोधका कार्यक्रम गर्न सकेको छैन।

    सभापति अदालतको निर्णय मान्य हुने भन्दै चुप झैं देखिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल संघर्षका कार्यक्रम सहित आन्दोलित हुनुपर्ने पक्षमा देखिएका छन्।

  • अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

    अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य

    वासिङ्टन । अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ।

    त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन्। यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो।

    यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था अमेरिकी वा गैर अमेरिकी सबै नागरिकलाई लागु हुने अधिकारीहरुले जनाएका छन्।

    अमेरिकी केन्द्रीय रोग नियन्त्रण केन्द्रले जनवरी २६ देखि यस्तो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको छ।

    ‘दुई वर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिकी प्रवेश गर्नुअघि कोरोनाभाइरसबाट सङ्क्रमित नभएको वा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ,’ राज्य विभागद्वारा जारी वक्तव्यमा लेखिएको छ।

    यस्तो प्रमाण पेश गर्न नसक्नेहरुलाई बोर्डिङ पासको व्यवस्था गर्न सकिने उनीहरुले स्पष्ट पारेका छन्।

    ‘यदि तपाइँले अन्तर्राष्ट्रिय उडानको योजना बनाउनु भएको छ भने तपाइँले बढीमा तीन दिन अगाडिको कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्दछ,’ वक्तव्यमा उल्लेख छ।

    न्यूनीकरण केन्द्रले यही जनवरी १२ मा यो व्यवस्था लागु गर्ने सम्बन्धी निर्णय गरेको थियो।

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०१७ पुग्यो

    थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०१७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।

  • नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

    नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २८५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ रहेको छ ।

  • ‘बाजे वकिल’ को अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता

    ‘बाजे वकिल’ को अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । वरिष्ठ अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले अदालतको अवहेलना गरेको भन्दै कारबाही लागि निवेदन दिएका थिए ।

    उनले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री ओलीले संवैधानिक इजलाशमा बहस गर्ने वरिष्ठ वकिल कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्तिले अदालत र इजलासको अवहेलना भएको ठहर गर्दै मुद्दा दर्ताका लागि निवेदन दिएका छन् ।

    वरिष्ठ अधिवक्ता भण्डारीले संसद पुनःस्थापनाको पक्षमा बहस गरेको भन्दै प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ भन्ने अभिव्यक्ति दिएका थिए ।

  • नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो खोप कसलाई लगाइन्छ ?

    नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो खोप कसलाई लगाइन्छ ?

    काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान माघ १४ बाट शुरु हुँदैछ ।

    भारत सरकारले बिहीबार अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप माघ १४ देखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोना खोप लगाउने सरकारको तयारी छ।

    बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको घोषणा गर्नेछन्।

    माघ १८ गतेसम्म देशका ७७ वटै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिइने छ। खोप अभियानको पहिलो चरण १० दिनसम्म जारी रहने छ।

    बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको थियो ।

    यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ ।

    पहिलो चरणमा फोहर संकलक, चालक, एम्बुलेन्स चालक, शव वाहान चालक, प्रत्यक्ष खोप दिने स्वास्थ्य संस्थाका स्वाथ्यमर्की, स्वयमसेवक र सुरक्षाकर्मी, महिला स्वयम सेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिने कर्मचारी, वृद्धाश्रममा खटिने कर्मचारी, र जेलमा रहेका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ।

    प्रधानमन्त्री ओलीको घोषणासँगै काठमाडौंमा कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले लगाउने भएका छन्।

    उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताए।

    भारतमा यो खोप लगाएपछि करिब ५ सय जनालाई साइड इफेक्ट देखिएको छ। केही मानिसहरुको मृत्युसमेत भएको छ। तर, भारतीय अधिकारीहरुले खोपका कारण मृत्यु नभएको बताइरहेका छन्।

    स्वास्थ्य मन्त्री त्रिपाठीले खोपबारेको भ्रममा नपरी अभियानमा सहभागी हुन अपीलसमेत गरेका छन्।

    सरकारले निर्धक्क भएर कोरोना विरुद्धको खोप लगाउन आग्रह गरिहेका बेला कोरोना भाइरस विरुद्धको खोपबाट उत्पन्न नकारात्मक असरको जिम्मेवार को हुने रु भन्ने विषय अहिलेको मुख्य विषय बनेको छ ।

    भारतको खोप उपत्पादक कम्पनी सेरमले समेत स्वास्थ्यमा विभिन्न किसिमका समस्या भएका व्यक्तिहरुले खोप नलगाउन आग्रह गरिसकेको छ । यता सरकारले भने कोभिड–१९ विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै समस्या आएमा आफु स्वयम जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको छ ।

  • ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

    ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको माउन्ट केटु आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई सम्मान गरेका छन्।

    पाकिस्तान र चीनको सीमानामा रहेको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी नयाँ रेकर्ड कायम गरी फर्केका १० नेपाली आरोहीहरुलाई मंगलबार सम्मान कार्यक्रममा प्रधानमन्त्री ठट्यौली गरेका हुन् ।

    उनले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए माउन्ट केटु आरोहणमा आफू पनि जान सक्ने बताएका छन् ।

    ‘हिमाल आरोहण कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो,’ उनले ठट्यौली गर्दै भने, ‘अझ बढी धुमधाम हुन्थ्यो । तर त्यो दुस्साहस आफूले गरेको भए फर्केर आउँदिन थिएँ होला ।’

    साथै, उनले कीर्तिमान राख्ने गरी हिमाल चढ्न जाँदा सरकारलाई औपचारिक जानकारी गराएमा राज्यको तर्फबाट सहयोग गर्ने आश्वासनसमेत दिएका छन्।

    नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए।

  • प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

    प्रधानमन्त्रीको भनाईप्रति कांग्रेसको कडा आपत्ति

    काठमाडौं । ‘संसद विघटनको विरोध गर्नेहरु देशविरोधी हुन’ भनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अलोकतान्त्रिक’ र ‘अधिनायक आकाङ्क्षालाई थप उजागर’ गर्ने संज्ञा दिएका छन् ।

    प्रधानमन्त्रीले सर्वोच्च अदालतको बहसलाई ‘तमासा’ भन्नु ‘अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न’ र आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति’ रहेको समेत कांग्रेसले जनाएको छ । प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई ‘धूलिसात’ बनाउँदै लगेको समेत काङ्ग्रेसले उल्लेख गरेको छ ।

    आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने काम गरेर आफ्नै जिम्मेवारीको प्रधानमन्त्रीबाट अपमान भइरहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको यो प्रवृत्ति दुःखद मात्र नभई लज्जास्पद समेत भएको कांग्रेसको ठहर छ ।

  • नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा

    नेपालमा बुधबारदेखि लगाइने भयो कोरोना खोप, उपत्यकाका १२ अस्पतालमा सेवा

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप बुधबारबाट लगाउन शुरु गरिने भएको छ । पहिलो चरणमा चिकित्सक तथा फ्रन्टलाइनमा रहेर काम गर्नेहरुमा कोरोना खोप लगाइने भएको छ । यसका लागि ७ वटै प्रदेशमा खोप पठाइ सकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १२ सरकारी तथा निजी अस्पतालबाट खोप सेवा उपलब्ध हुने भएको छ । पहिलो चरणमा १४ माघबाट खोप वितरण शुरु हुने गरी तयारी पुरा भएको मन्त्रालयको भनाई छ । काठमाडौंमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज र वीर अस्पतालबाट सेवा दिइने भएको छ । यसैगरी प्रसूति गृह थापाथली, टेकु अस्पताल, सिभिल अस्पताल, के एमसी सिनामंगल, नेपाल आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेदिक ट्रेनिङ सेन्टर कीर्तिपुरमा खोप लगाइने भएको छ । चार साताको फरकमा दुई पटक खोप लगाउनु पर्छ । अघिल्लो बिहीबार भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आएको छ । भारतीय कम्पनी सिरम इन्स्टिच्युटले बनाएको कोभिसिल्ड खोप नेपाल आएको छ । यो खोप भारतले नेपाललाई अनुदानमा दिएको हो ।

  • दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड

    दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड

    काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

    आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको नयाँ कीर्तिमान बनाएको हो ।

    नेप्सेले २४४० विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४४० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २४२४ विन्दु पार गरेको थियो ।

    आज सेयर बजार मापक सूचक नेप्से १६.०४ अंकले बढेर २४४०.८८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ९०.७७ अंकले बढेको छ भने जीवन बीमा समूह ८८.५८ अंकले घटेको छ ।

    कारोबारमा आएका २०८ कम्पनीमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यसको आज सबैभन्दा धेरै ६० करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक ३३ करोड र एनसीसी बैंक ३१ करोड सहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नागरिक लगानी कोष, गुराँस लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र नेशनल हाइड्रोका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज श्री इन्भेष्टमेन्ट फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ६.९८ प्रतिशत गुमाएका छन् ।

  • थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०११ पुग्यो

    थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०११ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ ।

  • नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ डिस्चार्ज

    नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण, ४०१ डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४० रहेको छ ।

  • माघ २३ गते रत्नपार्कमा ओली पक्षको शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने

    माघ २३ गते रत्नपार्कमा ओली पक्षको शक्ति प्रदर्शन, २ लाख जनता उतार्ने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले माघ २३ गते रत्नपार्कमा जनसभा गर्ने भएको छ । ओली समूहको वाग्मती प्रदेश कमिटीले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो।

    ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ रत्नपार्कमा जनसभा गर्न लागेको जनाएको छ ।

    त्यस्तै, कमिटीले प्रचण्ड९माधव नेपाल समूहले अराजनीतिक क्रियाकलाप गरेको ठहर गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बागमति प्रदेश संगठन कमिटीले पत्रकार सम्मेलन गरी दुई लाख जनता सहभागी गराउने बताएको छ ।

    नेकपाले सकेसम्म सभास्थललाई फोहोर नबनाउन अपिल समेत गरेको छ । फोहोर भईहालेमा कार्यक्रमको समापनपछि स्वयमसेवकले त्यसलाई सफा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

    पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले पनि २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

    शक्ति प्रदर्शनमा नेकपाका दुई समूहबीच प्रतिस्पर्धा देखिएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शुक्रबार गरेको शक्ति प्रर्दशनलाई साँघुरा गल्लीमा अलिअलि जम्मा गर्दैमा आमसभा हुँदैन भनेर व्यंग्य गरेका थिए ।

    ओलीले रत्नपार्कमा ८ , १० हजार मान्छे देखेर भुइँमा खुट्टै नभएको आरोप लगाउँदै आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताएका थिए । प्रचण्ड पक्षले सोमबार तेस्रो चरणको आन्दोलन घोषण गर्दै काठमाडौंमा २८ गतेको प्रदर्शनमा २५ हजार मान्छे उतार्ने बताएको छ ।

  • प्रधानमन्त्रीले गरे पशुपतिनाथमा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा,सवा लाख दीप प्रज्ज्वलन

    प्रधानमन्त्रीले गरे पशुपतिनाथमा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा,सवा लाख दीप प्रज्ज्वलन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन्।

    पत्नी राधिका शाक्य र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालसहित बिहानै पशुपतिनाथ मन्दिर गएर प्रधानमन्त्री ओलीले पूजा गरेका हुन् ।

    ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी थिए।

    पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए । विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइदिएका थिए । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएको कोषले जनाएको छ ।

  • नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलन सार्वजनिक,यस्ता छन् नयाँ कार्यक्रम

    नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलन सार्वजनिक,यस्ता छन् नयाँ कार्यक्रम

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

    सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड-नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध कार्यक्रम सार्वजनिक गरेका छन्।

    जसअनुसार माघ १३ गते सिठ्ठी जुलुस, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना, माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने तयारी छ ।

    त्यस्तै देशका विभिन्न सहरमा विरोध कार्यक्रम गर्न लागेको छ।

    जसमा १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा कार्यक्रम गर्न र उक्त कार्यक्रमलाई अध्यक्षद्वयलगायतले सम्बोधन गर्ने, यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्‍याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने घोषणा गरिएको छ ।

  • अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

    अमेरिका छिर्ने मेक्सिकन सीमा क्षेत्रमा १९ जनाको हत्या, विभत्स अवस्थामा भेटिए शव

    टेक्सास । मेक्सिको हुँदै अमेरिका छिर्ने सीमा क्षेत्रमा कम्तिमा १९ व्यक्तिको शव भेटिएको छ । स्थानीय प्रहरीका अनुसार मेक्सिकोको कार्मागो शहर नजिकै सडकमा दुई वटा गाडीमा मानव अवशेष भेटिएको हो । संचारमाध्यमले जनाए अनुसार शुरुमा मानिसहरुमाथि गोली हानेर त्यसपछि जलाइएको अवस्थामा शव भेटिएका हुन् ।

    घटनास्थलमा गोलीका छर्रा नभेटिएका कारण मानिसहरुलाई अन्यत्रै हत्या गरी सो स्थानमा जलाइएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । यो क्षेत्र लागु औषध ओसारपसारमा बढी प्रयोग हुने गरेको छ । गुण्डागर्दीका लागि बदनाम यो क्षेत्रमा हरेक दिन जसो झगडा हुने गरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले उल्लेख गरेको छ ।

    अभियोजनकर्ताहरूको कार्यालयले शवको परीक्षण गरिरहेको बताएको छ । तर, शव जलिसकेका कारण पहिचानमा समेत समस्या रहेको बताइएको छ । कर्मागोमा करीव १५ हजार व्यक्ति बसोबास गर्छन् । यो शहर अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्छ ।

  • ब्राजिलमा निजी जेट दुर्घटना, चार फुटबलरसहित ६ को मृत्यु

    ब्राजिलमा निजी जेट दुर्घटना, चार फुटबलरसहित ६ को मृत्यु

    काठमाडौं । ब्राजिलमा एक निजी जेट दुर्घटनामा ४ जना व्यवसायिक फुटबल खेलाडीको ज्यान गएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार दुर्घटना आइतबार भएको हो । दुर्घटनामा स्थानीय पाल्मास क्लबका अध्यक्ष र चार खेलाडीको मृत्यु भएको छ ।

    उत्तरी ब्राजिलको टोकान्टिन्स राज्यको विमानस्थलबाट टेक अफ हुने क्रममा उनीहरू चढेको जहाज धावनमार्ग छाडेर चिप्लिएको थियो । मैदानमा पुगेको रन वेको अन्तिमबाट चिप्लिएर मैदानमा पुगेको थियो। दुर्घटनामा पाइलटको समेत ज्यान गएको छ । यो जहाज गोइआनिया जान लागेको थियो ।

    त्यहाँ उनीहरूको टिमले भिला नोभासँग खेल्ने कार्यक्रम रहेको बताइएको छ । मृत्यु हुनेमा क्लबका अध्यक्ष लुकास मेइरा र खेलाडीहरू लुकास प्राक्सेडेस, ग्युल्हेर्मे नोय, रानुल र मार्कस मोलीनार छन् । पाइलटको पहिचान भएको छैन् । सन् १९९७ मा स्थापना भएको पाल्मास ब्राजिलको चौंथौ डिभिजनको क्लव हो ।

  • नेकपा विवादमा निर्वाचन आयोगको निर्णयले बढ्यो अन्यौल

    नेकपा विवादमा निर्वाचन आयोगको निर्णयले बढ्यो अन्यौल

    काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई वटै समूहबाट भएका निर्णय अमान्य भएको बताएको छ । यसले नेकपा भित्र अन्यौल बढेको छ । अर्थातः अहिलेसम्म भएका कुनै पनि निर्णयबाट नेकपा विभाजन भएको छैन । आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो ।

    दुबै समुहबाट भएका आफुखुसी निर्णयलाई अमान्य बताएसँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात थपेका ११ सय केन्द्रिय सदस्यको पद गएको छ । उता, अर्को खेमाबाट अध्यक्ष बनेका माधव कुमार नेपालको समेत पद मान्य भएन ।

    कागजी रुपमा अहिले पनि ओली र प्रचण्ड नै नेकपाको अध्यक्ष हुनेछन् । दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएको तर्क आयोगले गरेको छ ।

    संसद विघटन लगतै प्रचण्ड, माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । ओली समूहले केन्द्रीय कमिटी बिस्तार गरेको हो ।

    दुबै समूहले त्यही विवरणलाई बैधानिकता दिन आयोगलाई आग्रह गरेका थिए । तर आयोगले दुबै निर्णय विधान सम्वत नभएको बताएको हो ।

  • प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

    प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै

    काठमाडौं । २०७३ सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका छन् । दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    त्यहाँ उनले संसद विघटनबारे आफ्नो धारणा समेत राख्नेछन् । यो पुल राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी बनाइएको हो । यो पुलको लागत एक अर्ब रुपैयाँ रहेको छ ।

    ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा रहेको हो । ‘गेरुवा पुल’को नामबाट चिनिने उक्त पुलको लम्बाइ भने १ हजार १५ मिटर रहेको छ । राप्ती पुल उदघाटनपछि प्रधानमन्त्रीले राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

  • प्रदेश १ का मूख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए, प्रधानमन्त्रीबाट बधाई

    प्रदेश १ का मूख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए, प्रधानमन्त्रीबाट बधाई

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । उनको काठमाडौंमा आइतबार जाङ्मु शेर्पासँग विवाह भएको हो । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा पर्यटन मन्त्री भानुभक्त ढकालसहित नेकपाका सिमित नेता र आफन्त मात्र सहभागी थिए ।

    ४९ वर्षिय राईले २३ वर्षकी बेहुलीसँग किराती समुदायको परम्परागत भेषभुषामा सजिएर विवाह गरेका हुन् । राई भोजपुरका हुन् । शेर्पाको घर संखुवासभा हो । काठमाडौंमा हुर्केबढेकी शेर्पाको आमाबाबु हाल अमेरिकामा बस्दै आएको बताइएको छ । उनी पेशाले मोडल हुन् । उनले मिस मंगोल २०१८ को उपाधि समेत जितेकी छन् । राई दम्पत्तिलाई आजै प्रधानमन्त्रीले भेटेर बधाई दिएका छन् ।

  • कोरोनाबाट विदेशमा थप ९ जना नेपालीको निधन, एक सातामा २ हजार संक्रमित

    कोरोनाबाट विदेशमा थप ९ जना नेपालीको निधन, एक सातामा २ हजार संक्रमित

    काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ ।

    गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय २७ पुगेको छ।

    संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

    यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६९ हजार १ सय ८० जना छ भने २ लाख ६३ हजार ७ सय ३४ जना अर्थात ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

    एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित
    स्वास्थ्य समितिले एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित हुने गरेको जनाएको छ।

    सो आधारमा एक महिनामा औसतमा ८ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सापकोटाले बताए। उनका अनुसार औसतमा एक महिना अवधिमा ४ हजार जना संक्रमणमुक्त हुने गरेका छन्।

    स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसके पनि नेपाललगायत कयौँ मुलुकमा खोप अभियान सुरु नभएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

  • नेपालमा थप २७० जनामा कोरोना संक्रमण, ४०३ जना डिस्चार्ज

    नेपालमा थप २७० जनामा कोरोना संक्रमण, ४०३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ रहेको छ ।

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ ।

  • नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड,नेप्से इतिहासकै उच्च विन्दुमा

    नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड,नेप्से इतिहासकै उच्च विन्दुमा

    काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्सेले फेरि नयाँ रेकर्डै रेकर्ड बनाएको छ । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।

    गत बिहीबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    नेप्सेले २४२४ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २४०० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि गत बिहीबार नेप्सेले इतिहासकै उच्च २३७४ विन्दु पार गरेको थियो ।

    यस्तै, नेप्सले आज एकै दिन सर्वाधिक कारोबारको रेकर्ड पनि बनाएको छ । आज ९ अर्ब ३७ करोड बढीको कारोबार हुँदै एकैदिन सर्वाधिक कारोबारको रेकर्ड बनाएको हो । यसअघि मंसिर १४ गते एकैदिन सर्वाधि ९ अर्ब २३ करोडको कारोबार भएको थिए ।

    यस्तै, नेप्सेले आज सर्वाधिक बजार पूँजीकरणको रेकर्ड पनि बनाएको छ । नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर साढे ३२ खर्ब नाघेको छ । नेप्सेका अनुसार आज बजार पूँजीकर ३२ खर्ब ६६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से ५०.२० अंकले बढेर २४२४.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० रुपैयाँ बराबरको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २२१.६१ अंकले बढेको छ भने व्यापार समूह ७३.३५ अंकले घटेको छ ।

    कारोबारमा आएका २०७ कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता माइक्रोफाइनान्स, जीवन बीमा र निर्जीन बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यसको सबैभन्दा धेरै ६६ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ३४ करोड र नेपाल टेलिकम ३१ करोड सहित शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा करिब १४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, मिथिला लघुवित्त र ग्रामीण विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

    यस्तै, गुराँस लघुवित्त, नागरिक लगानी कोष, एनसीसी बैंक, सपोर्ट माइक्रो फाइनान्स, रिडि हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, एचआइडीसीएल र शिव श्री हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    दोहोरो अंकले बढेको बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले सबैभन्दा धेरै ९.९१ प्रतिशत गुमाएका छन् ।

  • ‘म कसरी तानाशाह भएँ, निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’

    ‘म कसरी तानाशाह भएँ, निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय कुनै हालतमा असंवैधानिक हुन नसक्ने बताएका छन्।

    अपांगता भएका व्यक्तिहरुसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले स्थिरताको लागि ताजा जनादेशमा जाँदा संबिधान विरोधी काम नहुने भएको बताएका छन् ।

    प्रतिनिधिसभा विघटन गरेर आफूले हातमा शासन नलिएको पनि उनले बताए। ‘मैले आफ्ना हातमा शासन लिएको भए पो तानाशाही हुन्थ्यो, जनताबीचमा लैजाँदा म कसरी तानाशाह भएँर’, ओलीले भने, ‘सांसद किनबेच र तिगडम गरेर म नै शासनमा रहन्छु भनेको छैन। मैले त जनतालाई मेरो र अरुको काम पनि मूल्यांकन गर्नुस् भनेको हो।’

    आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा भइसकेकाले अब दण्ड सजाय पनि उनीहरुले नै दिने ओलीले बताए। ‘अब निर्वाचनबाटै जनताले पुरस्कृत गर्ने कि सजाय दिने टुंगो गर्छन्’, उनले भने, ुजनताबाटै सबै कुराको हिसाब किताब हुन्छ, मेरो पनि हिसाब जनताले नै गर्नेछन्।

    ‘एकथरीले संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक, जनविरोधी भयो भनिहरेका छन्’, उनले भने, ‘संविधान विघटन गलत भन्नेहरु देशविरोधी, जनता विरोधी, लोकतन्त्र र स्थायित्व विरोधी हुन्।’

    उनले बहुमतको सरकार तोडेर अस्थिरता लाद्न खोजिएपछि आफूले बाध्य भएर उक्त कदम चालेको बताएका छन्। ‘बहुमतको सरकार तोडेर देशलाई अस्थिरतातर्फ लैजान खोजियो, त्यहीकारण ताजा जनादेशमा जाने निर्णय लिएका हौँ’, ओलीले भने ।’

    ओलीले बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुको उचित व्यवस्थापन गरिएको बताए । त्यस्ता व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य, सीप विकासका लागि सरकारले उचित सहयोग गर्ने उनले आश्वासन दिएका छन् ।

    ‘सरकारले शारीरीक अपाङ्गता भएका व्यक्तिहरुको उचित हेरविचार गर्नुपर्छ । सरकारले अभिभावक, शहारा नभएका व्यक्तिहरुका सन्दर्भमा म तपाईहरुलाई ढुक्कसँग भन्न चाहान्छु, सरकार छ,’ उनले भने, ‘हिजो खाते भनेर अपमान गरिन्थ्यो ।

    आज कुनै पनि नेपालीका छोराछोरीले खाते भन्ने सुन्नु बेहोर्नु परेको छैन् । हामी नेपालीका छोराछोरीलाई खाते हुन दिँदैनौं । अहिले सडकमा खाते छैनन् । जसलाई खाते भनेर अपमान गरिन्थ्यो । सरकार अभिभावकको भूमिका खेल्छ । सरकार छ । यसमा भूगोल, जात, भाषाको हिसाब हुँदैन ।’

    प्रधानमन्त्री अ‍ोलीले सरकारले सडक मानवमुक्त अभियान सफल पारेको बताएका छन् । उनले सडकमा अलपत्र परेका अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारले खोजीखोजी खाना खुवाएको बताएका छन् ।