Author: Vishwanews.com

  • थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६९ पुग्यो

    थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६९ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९६९पुगेको छ ।

  • ह्वाइट हाउसले यसरी गर्नेछ नयाँ अमेरिकी राष्ट्रपति जो बाइडनलाई स्वागत

    ह्वाइट हाउसले यसरी गर्नेछ नयाँ अमेरिकी राष्ट्रपति जो बाइडनलाई स्वागत

    बीबीसी । बुधवार बाइडन प्रशासनले शासन सम्हाल्दै गर्दा ट्रम्प प्रशासनका तन्तुहरू विस्थापित हुनेछन्। कर्मचारीका डेस्कहरू खाली पारिनेछन्, कोठाहरू सफा गरिनेछन् अनि राजनीतिक नियुक्ति पाएका नयाँ समूहमा सदस्यहरूले राष्ट्रपतिको सहयोगीको भूमिका सम्हाल्नेछन्। नयाँ प्रशासनको आगमनले सरकारको केन्द्रमा यसरी व्यापक परिवर्तन ल्याउनेछ।

    गत साता एक साँझ ट्रम्प प्रशासनका एक केन्द्रीय अधिकारी एवं नीति सल्लाहकार स्टीभन मिलर वेस्ट विङमा फुर्सदिला भेटिएका थिए।मिलरले ट्रम्पको राष्ट्रपतिका रूपमा प्रारम्भिक दिनदेखि उनका भाषणहरू लेखेका थिए अनि नीतिहरू मस्यौदा गरेका थिए। उनी राष्ट्रपति ट्रम्पको त्यो सानो समूहमा पर्छन् जो चार वर्षदेखि अन्त्यसम्म साथ रह्यो।

    भित्तामा अडेस लगाउँदै उनी सहकर्मीसँग त्यसै दिन अबेर हुने एउटा बैठकबारे कुरा गर्दै थिए। उनी त्यहाँबाट फर्किने कुनै हतारमा देखिएका थिएनन्। सामान्यतया वेस्ट विङ निकै व्यस्त देखिन्छ तर त्यतिखेर लगभग सुनसान थियो। फोनहरू बन्द थिए। रित्ता कार्यालयहरूमा कागजपत्रका चाङ अनि नखोलिएका चिठीपत्रका रास थिए। यस्तो लाग्थ्यो त्यहाँका कर्मचारी हतारमा हिँडेका थिए र अब फर्किनेवाला थिएनन्। ज्यानुअरी ६ को क्यापिटल दङ्गापश्चात् दर्जनौँ वरिष्ठ अधिकारीहरूले कार्यालय छाडेका थिए। मिलरजस्ता थोरै विश्वासपात्रहरू मात्र बाँकी थिए।

    जब उनको सहकर्मीसँगको वार्तालाप सकियो उनी त्यहाँबाट विस्तारै निस्किए। जब मैले उनलाई अब कता जाँदै हुनुहुन्छ भनेर सोधेँ, उनी मुस्कुराए। कार्यालयमा फर्कँदैछु, भन्दै उनी हलबाट सुस्तरी हिँडे।

    निकै उतारचढाव छ

    बाइडनको शपथको दिन मिलरको कार्यालय कोठा पनि खाली भइसकेको हुनेछ। बाइडनको टोली आउँदा त्यहाँ पहिले उनी वा उनका कोही सहकर्मी थिए भन्ने कुनै चिह्न बाँकी रहनेछैन। वेस्ट विङका कार्यालयहरू खाली गर्ने अनि दुई राष्ट्रपतिको आउजाउको कार्य निकै पुरानो परम्पराको एउटा पाटो हो। अनि यो प्रक्रिया सधैँ हार्दिकताले परिपूर्ण पनि हुँदैन।

    सन् १८६९ महाभियोग लागेका डेमोक्र्याट राष्ट्रपति एन्ड्रु जनसनले नयाँ राष्ट्रपति युलिसेस एस ग्रान्टलाई स्वागत गरेनन् र शपथ कार्यक्रममा पनि सहभागी भएनन्। जनसनलाई हटाउने काममा समर्थन जनाएका ग्रान्टलाई खासै आश्चर्य पनि लागेन। यो वर्षको राष्ट्रपतीय सङ्क्रमण असाधारण रूपमा तिक्ततापूर्ण बनेको छ। सामान्यतया यो प्रक्रिया निर्वाचनलगत्तै सुरु हुने गर्छ। तर ट्रम्पले पराजय अस्वीकार गरेकाले यस पटक यो काम हप्तौँपछि मात्र सुरु हुन सक्यो। अनि राष्ट्रपति ट्रम्पले बाइडनको शपथ कार्यक्रममा भाग नलिने भनिसकेका छन्। सम्भवत उनी ह्वाइट हाउसबाट सोझै फ्लोरिडास्थित मारलागो क्लब जानेछन्।

    तापनि हस्तान्तरणका अन्य कार्य पहिले झैँ हुनेछन्। स्थापित प्रणालीले काम गरिरहेको छ, प्रिन्सटन विश्वविद्यालयका अमेरिकी इतिहासका प्राध्यापक सन विलेन्चले भने। यो निकै उतारचढावपूर्ण बनेको छ। तर पनि सङ्क्रमण सम्पन्न हुनेछ।सामान्य समयमा पनि यो फेरबदलको बन्दोबस्ती निकै जटिल हुन्छ। यसमा ज्ञानको हस्तान्तरणदेखि लिएर कर्मचारीहरूको व्यापक स्तरको परिवर्तन हुने गर्छ।

    स्टीभन मिलर करिब ४ हजार जना कर्मचारीमध्ये एक हुन् जसलाई ट्रम्प प्रशासनले नियुक्त गरेको थियो र जो अब बाइडन प्रशासनको आगमनसँगै जागिरबाट विस्थापित हुनेछन्। वाशिङ्टनस्थित सेन्टर फर प्रेजिडेन्शल ट्रान्जिशनका अनुसार औसतमा डेढदेखि तीन लाख मानिसहरूले यी कामका निम्ति आवेदन दिने गर्छन्। करिब १ हजार १०० पदका निम्ति सिनेटको अनुमोदन पनि आवश्यक हुन्छ। सबै पदपूर्ति गर्न महिनौँ वा वर्षौँसम्म लाग्छ।

    चार वर्षभरिका नीतिपत्रहरू तथा अन्य महत्त्वपूर्ण कागजपत्रहरू राष्ट्रिय अभिलेखालयमा लगिने जहाँ तिनलाई १२ वर्षसम्म गोप्य राखिनेछ त्यसका केही अंश सो समयअगावै सार्वजनिक गर्न राष्ट्रपति स्वयंले निर्णय गरेकोमा बाहेक।

    महत्त्वपूर्ण दिन

    राष्ट्रपतिको रूपमा ट्रम्पको अन्तिम साताको एक साँझ उनका प्रेस सचिव केली मक्इनानीको कार्यालयको कोठाको ढोका आंशिक खुला थियो।मक्इनानी ट्रम्पको कडा प्रतिरक्षा गर्नेमध्ये पर्छिन्। सधैँ चिटिक्क देखिने उनी अस्तव्यस्तताका माझ पनि शान्त रहन्छिन्। उनको कार्यालय पनि निकै व्यवस्थित देखिन्छ।

    यी अन्तिम दिनहरू सामान्यतया नियन्त्रित अस्तव्यस्तताले पूर्ण हुने गरेको केट एन्डरसन ब्राउरले बताइन्। उनले ह्वाइट हाउस द रेजिडेन्स नामक किताब लेखेकी छन्।

    ह्वाइट हाउसका फर्निचरहरू जस्तो कि ओभल अफिसको रिजोलूट डेस्क, अधिकांश कलाकृति, कपप्लेट तथा अन्य सामग्री सरकारी हुन् र त्यहीँ रहन्छन्।

    तर हलवेमा टाँगिएका राष्ट्रपतिका चित्रजस्ता र अन्य सामग्री भने झिकिन्छन्।

    कैयौँ सामग्री कर्मचारीहरूले झिकेर लगिसकेका छन्। हिलजुत्ता लगाएकी एक महिला कर्मचारीले इस्ट विङबाट प्रथम महिला मेलानिया ट्रम्पका कैयौँ ठूला चित्रहरू झिकेर लग्दै थिइन्। निकै ठूलो आकारका जम्बो भनिने ती चित्रहरू राष्ट्रिय अभिलेखालयमा लैजान लागिएको उनले बताइन्।

    लुगाफाटा, गरगहना जस्ता ट्रम्प परिवारका व्यक्तिगत सामानहरू भने उनीहरूको नयाँ निवासमा लगिनेछन् सम्भवत फ्लोरिडाको मारलागोमा। अनि यो वर्ष सम्पूर्ण परिसर निकै घोटेर सफा गरिनेछ।

    विगत केही महिनामा राष्ट्रपति लगायत मिलर अनि ह्वाइट हाउसमा कार्यरत दर्जनौँ व्यक्तिहरू कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। यो छतले भवन र यसका १३२ कोठाहरूमा निकै सरसफाइ गरिनेछ। यी बन्दोबस्तीका निम्ति जिम्मेवार सङ्घीय निकाय जेनरल सर्भिसेज एडमिनिस्ट्रेशनकी एक प्रवक्ताका अनुसार भर्‍याङका रेलिङदेखि लिएर लिफ्टका बटनसम्म पुछपाछ र स्यानिटाइज गरिनेछन्।

    ह्वाइट हाउस आउने नयाँ परिवारले आफ्ना किसिमका सजावट गर्ने गर्छन्। आफू आएको केही दिनमै ट्रम्पले ओभल अफिसमा एक लोकप्रियतावादी राष्ट्रपति एन्ड्रू ज्याकसनको फोटो टाँगेका थिए। उनले पर्दा सफा तथा सोफा फेर्न लगाएका थिए र सुनौलो रङ्गको दरी ओछ्याउन लगाएका थिए।

    शपथको दिन उपराष्ट्रपति पेन्स र उनकी श्रीमतीले कमला ह्यारिस तथा उनका श्रीमान डग एम्हफका निम्ति आफ्नो भवन खाली गर्नेछन्। उनीहरू ह्वाइट हाउसभन्दा केही माइल पर रहेको नेभल अब्जर्भेटरी परिसरस्थित १९औँ शताब्दीमा निर्मित सरकारी भवनमा रहनेछन्।

    एउटा कालखण्डको समापन

    नीति सल्लाहकार स्टीभन मिलर हतारमा नभए पनि अरूले भने हतारहतार कार्यालय खाली गरे। यो मेरो यहाँ अन्तिम दिन हो,एक पुरुषले भन्दै थिए। उनले नर्थ लनमा आफ्ना छोरोहरूको फोटो खिचे। उनको काँधमा झोला भिरिएको थियो। नेश्नल सेक्युरिटीका केही अधिकारीहरूले वेस्ट विङअगाडि उभिएर मलाई उनीहरूको फोटो खिचिदिन भने।

    मरीन गार्ड पनि देखियोस् है, एक जनाले भने। उनको सङ्केत ओभल अफिसमा राष्ट्रपति रहेको जनाउनेगरी त्यहाँको ढोकामा उभिएर रहने मरीन गार्ड पनि तस्बिरमा देखियोस् भन्ने थियो। ती अधिकारीहरू हल्का रमाइलो र ठट्टा गर्दै थिए।

    ह्वाइट हाउसका यी राजनीति नियुक्तिप्राप्त कर्मचारीहरू हँसिलो मुद्रामा थिए किनभने हप्तौँदेखि उनीहरू अन्योलमा थिए। उनीहरूका हाकिमले निर्वाचनको वैधतामाथि चुनौती दिइरहेको भए पनि उनीहरूलाई आफ्नो कार्यकाल सकिन लागेको आभास भइहेको थियो। अब भने बल्ल उनीहरूले ढुक्कसाथ आफ्नो आगामी भविष्यबारे सोच्न सक्नेछन्।

    एक पुरुषले त योजना बनाइसकेको जस्तो देखिन्थ्यो। परिसरमा अर्का मित्रसँग जम्काभेट हुनेबित्तिकै उनले अब सङ्क्रमणपश्चात् भेटघाट गर्ने बताए। तर कहाँ भेट्ने भन्नेबारे कुरा भयो। सायद ग्रीक आयल्समा वा अन्य कतै भेट होला।

    हो, हो। पक्का, उनका मित्रले हाँस्दै जबाफ फर्काए। अभिवादन गर्दै उनीहरू आफ्ना बाटा लागे।

  • भारतले नेपाललाई कोरोनाविरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने

    भारतले नेपाललाई कोरोनाविरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने

    काठमाडौं । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको एक करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाल र भुटानलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । बंगलादेशलाई भने दुई करोड डोज खोप दिने निर्णय बैठकले गरेको हो ।

    भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले छिमेकी देशलाई १० करोड डोज खोप वितरण गर्ने तयारी गरेको छ । उसले सेरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिन उपलब्ध गराउने भएको हो ।

    भारतले दिने भनिएका खोप अर्को हप्ताबाट आपूर्ति शुरु हुने बताइएको छ । भारतले आफ्नो देशमा अघिल्लो शनिवारबाट खोप दिन शुरु गरिसकेको छ ।

  • प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    प्रतिनिधिसभा विघटन मुद्दाः पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताएका छन् ।

    संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन उनले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने तर्क दिए ।

    रिट निवेदक भण्डारीकै तर्फबाट अधिवक्ता शेरबहादुर ढुङ्गानाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै कानूनविरूद्व भएको विघटन बदर गरी पुनःस्थापना हुनुपर्ने माग गरे । रिट निवेदकका तर्फबाट ३१० जनाले वकालतनामा हालेका छन् ।

    गत पुस ११ देखि सर्वाेच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुरु भएको हो ।

    उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो ।

    गत १० पुस गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो । आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् ।

    अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।

    अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।

    प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।

    रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।

    त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेका थिए ।

    कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भए गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।

  • पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

    पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन्।

    नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गरे।

    प्रधानमन्त्री ओलीले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु। हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु।’

    अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गरे।

    कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गरे।

    उनले भने, ‘हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ। विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन।’ कार्यक्रममा नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिए।

  • देउवा र पौडेलबीच भेट:ओलीका कदमविरूद्ध प्रचण्ड–नेपालले दिएको ‘अफर’बारे ब्रिफिङ

    देउवा र पौडेलबीच भेट:ओलीका कदमविरूद्ध प्रचण्ड–नेपालले दिएको ‘अफर’बारे ब्रिफिङ

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बोहराटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । अरू नेताको निवास नधाउने देउवा यो पटक भने बोहराटार पुगेर वरिष्ठ नेता पौडेलसँग करिब १ घण्टा कुराकानी गरेका हुन् ।

    श्रोतका अनुसार उनीहरुबीच प्रतिनिधि सभा विघटन, निर्वाचन, केन्द्रदेखि प्रदेशसम्म हुन सक्ने सत्तारोहण र पार्टीको १४औं महाधिवेशनबारे छलफल भएको हो ।

    देउवाले केहीदिनअघि नेकपाका प्रचण्ड–नेपालसँग भएको भेटबारे समेत बिफिङ गरेका थिए । उनले पौडेलसमक्ष ओलीका कदमविरूद्ध सडकमा संघर्ष गर्ने र उनी हटेपछि सत्तामा सहकार्य गर्ने ‘अफर’ प्रचण्ड–नेपालले दिएको बताएका थिए ।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक रुपमा विभाजित भएको नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केही दिनअघि देउवासँग भेट गरेका थिए ।

    प्रचण्ड–नेपालसँगको भेटमा देउवाले नेकपा अहिलेपनि विभाजित नभएको भन्दै आफु संयुक्त आन्दोलनमा जान अस्वीकार गरेका थिए ।

    जुनसुकै बेला आत्मआलोचना शब्द राखेर ओली र प्रचण्ड–नेपाल एक हुन सक्ने सम्भावना रहेको भन्दै कानुनी रूपमा विभाजन नभई सहकार्य गर्न नसक्ने देउवाले बताएका थिए ।

    श्रोतका अनुसार यीनै घटनाक्रमबारे देउवाले सोमबार वरिष्ठ नेता पौडेललाई जानकारी गराएका हुन् । साथै देउवाले पौडेलसँग पार्टीभित्रको विवाद पुरानै कार्यसमितिबाट जेष्ठता र वरिष्ठताका आधारमा संघीय संरचनामा समायोजन गर्ने कार्यविधि अनुसार नै विवाद हल गरेर जाने समेत बताएका छन् ।

    देउवा र पौडेलबीच सोमबार भएको भेटपछि कांग्रेसले आज बस्ने तय गरेको केन्द्रीय समिति बैठक माघ १३ गतेसम्मका लागि पर सारेको छ ।

    देउवाले ओलीको कदमलाई असंवैधानिक भन्दै आएपनि प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा ‘मौन’ रहेका छन् । उनले उक्त विषयमासर्वोच्च अदालतमा बहस भइरहेको भन्दै अदालतलाई सडकबाट दबाब दिन नहुने बताउँदै आएका छन् ।

  • ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

    ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

    काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको स्वशासित राज्य तिब्बतको राजधानी ल्हासामा परीक्षण उडान गरेको छ ।

    निजी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले केही महिनाअघि भित्र्याएको कलसाइन एचनाइन ९६१ विमानबाट ल्हासामा परीक्षण उडान गरेको हो ।

    एच नाइन ९६१ कलसाइनको विमान मंगलबार बिहान ७ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो। विमान ल्हासाको गोंगर विमानस्थलमा स्थानीय समयअनुसार बिहान १०।४६ बजे अवतरण गरेको थियो। विमान आजै काठमाडौं फर्कदैछ।

    नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो ।

    एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चारवटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ ।

    परीक्षण उडानसँगै सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडान सुरू गर्ने व्यावसायिक योजनासमेत कम्पनीले अगाडि सारेको छ।

  • भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

    भारतमा कोरोना खोप लगाएका ५८० जना बिरामी, दुईको मृत्यु

    नयाँ दिल्ली । अहिले संसारका विकसित मुलुकहरुले धमाधम कोरोना भाइरसविरुद्धको खोप लगाइरहेका छन् । खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको प्रमाणित भएपछि सर्वसाधारणको प्रयोगमा ल्याइएको हो । तर, यसले कतिपय मानिसमा भने असर देखाउन थालेको छ ।

    नर्वेमा २९ जनाको ज्यान गएको खबर गत साता आएको थियो । यता, छिमेकी मुुलुक भारतमा समेत कोरोनाविरुद्धको खोप लगाएका ५८० जना बिरामी परेका छन् । दुई जनाको मृत्यु भइसकेको छ । ७ जना गम्भीर छन् ।

    भारतमा शनिबारबाट खोप अभियान सुरू भएको हो । शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

    भारतमा अहिलेसम्म ३ लाख ८१ हजार जनामा खोप दिइसकिएको छ । नेपालमा समेत भारतबाटै कोरोना खोप ल्याउने तयारी छ । यसैसाता भित्र खोप ल्याउने गरी तयारी गरिएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

  • कलंकीमा घरमा आगलागी, एक जनाको मृत्यु

    कलंकीमा घरमा आगलागी, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौं, कलङ्कीस्थित खड्का गाउँ भन्ने स्थानमा एक घरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षिय शिवराम खड्काको जलेर ज्यान गएको हो ।

    आफ्नो घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको अनुमान प्रहरीको छ ।


    घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि थाहा पाएका थिए । त्यतिन्जेल खड्काको ज्यान गइसकेको अवस्थामा प्रहरीलाई खबर गरेका थिए ।

  • नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल, मट्टितेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल, मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको हो ।

    निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल, मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० रूपैयाँ र ९३ रूपैयाँ प्रतिलिटर बनेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत छ ।

    मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर रु ४.३४, डिजेलमा प्रतिलिटर रु २.९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १३४.७२ घाटा रहेको निगमको भनाई छ ।

    अर्धवार्षिकरुपमा निगमलाई रु ४९.८८ करोड घाटा हुने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमले उल्ल्ेख गरेको छ ।

    मूल्य समायोजन पछि पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.२६ रूपैयाँ र डिजेल प्रतिलिटर ३७.६४ रूपैयाँले नेपालतर्फ सस्तो पर्छ ।

  • अधिक चिसोका कारण प्रदेश २ मा चार जनाको मृत्यु

    अधिक चिसोका कारण प्रदेश २ मा चार जनाको मृत्यु

    जनकपुर । अत्यधिक चिसोका कारण यो वर्ष प्रदेश नं २ मा चार जनाको मृत्यु भएको छ । अहिले पनि तराईका धेरैजसो जिल्लामा शितलहर जारी रहेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नम्बर २ मा पुसयता चार जनाको ज्यान गइसकेको छ ।

    कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको ज्यान गएको छ ।

    प्रदेश नम्बर २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित छन् । तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध समेत गरिरहेका छन् ।

    अहिले दक्षिण पूर्वी अरव सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा समेत मौसम प्रतिकुल बनेको हो ।
    चिसो बढेपछि प्रदेश नम्बर २ का अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ।

  • भारतमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक, कम्तिमा १५ को मृत्यु

    भारतमा फुटपाथमा सुतेका मजदुरमाथि ट्रक, कम्तिमा १५ को मृत्यु

    गुजरात । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रक कुदेर भएको विभत्स दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरत भन्नै स्थान नजिकै कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको हो । ट्रकले उखु बोकेको थियो ।

    सडकमा ट्याक्ट्ररसँग ठोक्किएको ट्रक फुटपाथमा उछिट्टीएको थियो । चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको संचारमाध्यमले लेखेका छन् । राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुर फुटपाथमा सुतेका थिए। दुर्घटनामा घाइतेहरुको उपचार जारी रहेको छ । चरम गरिबीका कारण भारतमा मजदुर सडकमै सुत्नु सामान्य मानिन्छ ।

  • सुडानमा आतंकवादी आक्रमण, कम्तिमा ८३ जनाको मृत्यु

    सुडानमा आतंकवादी आक्रमण, कम्तिमा ८३ जनाको मृत्यु

    काठमाडौं । सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाको आक्रमणमा कम्तिमा ८३ जनाको ज्यान गएको छ । सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी)लाई उदृत गर्दै राष्ट्रिय समाचार समितिले जनाए अनुसार शनिबारबाट शुरु भएको झडपमा यो हताहती भएको हो । झडपमा अन्य एक सय ६० जना घाइते भएको बताइएको छ ।

    यसको पुष्टी अस्पताल तथा चिकित्सकले गरेका छन् । शनिबार बिहानदेखि एल जेनिना सहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेको समाचारमा जनाइएको छ । सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी यस्तो जानकारी गराएको हो ।

    सुरक्षा बल र मेडिकल सेवासहितको यातायात साधन उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले उल्लेख गरेको छ । पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञा जारी गरेका छन्।
    एजेन्सी

  • पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत नियुक्त

    पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत नियुक्त

    काठमाडौं । पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    पूर्वमूख्य सचिवसमेत रहेका रेग्मीलाई मन्त्रिपरिषद्को बैठकले बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

    रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए भने त्यही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।

  • इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

    इसेवा मनिट्रान्सफर र लिगल रेमिटबीच सम्झौता,अस्ट्रेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

    काठमाडौं । रेमिट्यान्स क्षेत्रमा आफ्नो बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनि ट्रान्सफर र अस्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

    योसँगै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ। रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरााला र लिगल रेमिटका तर्फबाट निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् ।

    यससँगै अष्ट्रेलियाबाट नेपालीले नगद तथा कुनै पनि बैंक खातामा वा सोझै ईसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

    नगदमा पठाइएको रकम ईसेवा मनी ट्रान्स्फरका नेपाल भर रहेका आठ हजारभन्दा धेरै एजेन्ट तथा ईसेवा वालेट एप मार्फत प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

    नगदमा पठाइएको रकम ईसेवा वालेटमा प्राप्त गर्दा ५५ रुपैयाँ अतिरिक्त रुपमा क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।

    त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ। नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा रु। ५५ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ।

    लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्चस्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा ५ मिनेट भित्रै रेमिटेयान्स् प्राप्त गर्न सकिनेछ।

    इसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट दुवै माध्यममार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले अमेरिका, जापान, युरोपीयन देशलगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ।

    डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गरिरहेको इसेवा मनि ट्रान्सफर पछिल्लो समय विदेशमा रहेका नेपालीहरुमा रोजाइमा पर्दै गएको छ।

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६५पुग्यो

    थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९६५पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९६५ पुगेको छ ।

  • नेपालमा थप ३२२ जनामा कोरोना संक्रमण, ३७४ जना डिस्चार्ज

    नेपालमा थप ३२२ जनामा कोरोना संक्रमण, ३७४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६ सय ४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३७४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ८ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ८ जना ६१ सक्रिय संक्रमित छन्।

  • नेप्से इतिहासकै उच्च विन्दुमा, लगानीकर्ताको सम्पत्ति साढे ३१ खर्ब नाघ्यो

    नेप्से इतिहासकै उच्च विन्दुमा, लगानीकर्ताको सम्पत्ति साढे ३१ खर्ब नाघ्यो

    काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    नेप्सेले २३३२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २३३० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि आइतबार नेप्सेले इतिहासकै उच्च २३१५ विन्दु पार गरेको थियो ।

    सेयर बजरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको आज लगातार सातौं दिन हो । गत साताको आइतबारदेखि नेप्सेले हरेक दिन पुरानो रेकर्ड तोड्दै आएको छ ।

    नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर करिब साढे ३१ खर्ब नाघेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से १७.३१ अंकले बढेर २३३२.३२ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६६ रुपैयाँ बराबरको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत् समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १९९.४७ अंकले बढेको छ भने जलविद्युत् ११.५२ अंकले घटेको छ ।

    कारोबारमा आएका २०७ कम्पनीमध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ताको रोजाइमा प्रभु बैंक परेको छ । यसको सबैभन्दा धेरै ३३ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल टेलिकम २६ करोड र एनआइसी एशिया बैंक २० करोडसहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिभिल लघुवित्त, विशाल बजार, गोर्खा फाइनान्स, नारायणी विकास बैंक, स्वाभिमान लघुवित्त, गुराँस लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, एचआइडीसीएलका सेयर धनीले १० प्रतिशत कमाएका छन् ।

    यसैगरी, आज प्रभु लाइफ इन्स्योरेन्स, तारगाउँ होटल, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, वरुण हाइड्रोपावर, कामना सेवा विकास बैंक र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

    बढ्दो बजारमा आज समृद्धि फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.१४ प्रतिशत गुमाएका छन् ।

  • नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना

    नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना

    काठमाडौं । बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना नेपालमा पनि भेटिएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रजातिको भएको पाइएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

    हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरूषमा यसअघि बेलायतमा देखिएको नयाँ भेरियन्टसँग मिलेको मन्त्रालयले जनाएको छ।

    संक्रमितमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरूष संक्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरूषमा पनि कुनै लक्षण देखिएको छैन।

    बेलायतसहित युरोपियन मुलुक, अमेरिका र अफ्रिकामा फैलिएको नयाँ प्रजातिको भाइरस पहिलाको भन्दा बढी संक्रामक रहेको वैज्ञानिकहरूले बताएका छन्।

    केही दिनअघि बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूमा देखिएको कोरोना नयाँ प्रजातिको हो कि होइन भनेर विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङस्थित प्रयोगशालामा पठाइएको थियो।

  • मेसीलाई रातो कार्ड, बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पराजित

    मेसीलाई रातो कार्ड, बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पराजित

    काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेसीले आफ्नो करियरको तेस्रो रेड कार्ड प्राप्त परेका छन् । स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिक बिल्बाओसँग भिड्ने क्रममा उनले रातो कार्ड पाएका हुने । त्यसपछि १० खेलाडीमा सिमित भएको बार्सिलोना पराजित हुँदै उपाधीबाट वन्चित भएको छ ।

    आइतबार राति सम्पन्न फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । निर्धारित समय २-२ गोलको बराबरीमा सकिएको थियो ।

    अतिरिक्त समयमा इनाकी विलियम्सले निर्णायक गोल गरे । बिल्बाओका भिलालिब्रामाथि फाउल गरेपछि मेस्सीलाई रातो कार्ड देखाइएको हो । त्यसअघि ग्रीजम्यानले ४० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

    ४२ औं मिनेटमा ओस्कार डी मार्कोसले गोल गर्दै बिल्बाओलाई १-१ गोलको बराबरीमा ल्याए ।

    खेलको ७७ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए । खेलको ९० औं मिनेटमा इजर भिलालिब्राले गोल गर्दै बिल्बाओलाई २-२ को बराबरीमा पुर्याएका थिए ।

  • सोलुखुम्बुमा आइचर दुर्घटना, तीन जनाको मृत्यु

    सोलुखुम्बुमा आइचर दुर्घटना, तीन जनाको मृत्यु

    सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानामा पर्ने महादेव भिरमा आइचर दुर्घटनामा परी कम्तिमा तीनको ज्यान गएको छ । एक जना घाइते रहेको प्रहरीले जनाएको छ । आइतबार राति करिब साढे ११ बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटनामा परेको हो ।

    यस घटनामा धादिङ स्थायी घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते छन् । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार जारी छ । प्रहरीका अनुसार दूधकोशी सोलुखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भिरबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनाको कारण अझै खुलेको छैन ।

  • उत्पादनमुलक उद्योगलाई लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्क छूट दिइने

    उत्पादनमुलक उद्योगलाई लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्क छूट दिइने

    काठमाडौं । उत्पादनमुलक उद्योगहरुले लकडाउन अवधिभरको विद्यूत डिमाण्ड शूल्कमा छूट पाउने भएका छन् । अर्थ मन्त्रालयका अनुसार यो निर्णयको कार्यान्वयन आजबाट हुन लागेको हो । सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने निर्णय गरेको हो ।

    यस्तो व्यवस्था बजेट मै उल्लेख थियो । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन माग समेत गरिरहेका थिए ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो निर्णय कार्यान्वयनबाट उद्योग लाभान्वित हुने र कोभिडबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानमा थप सहयोग पुग्ने बताएका छन् । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने तयारी छ ।

    चालु आर्थिक वर्षको बजेटमा कोभिड १९ का कारण प्रभावित उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने उल्लेख छ ।

  • प्रदेश दुईमा आज सार्वजनिक बिदा

    प्रदेश दुईमा आज सार्वजनिक बिदा

    जनकपुर । मधेष आन्दोलनको सम्झनामा प्रदेश नं २ मा हरेक वर्ष ५ लाई बलिदानी दिवसका रुपमा मनाइन्छ । यसै दिनको अवसर पारी दिन आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

    मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइने गरिएको हो ।

    बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ। यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने छ।

  • निर्वाचनको तयारीमा आयोग र सुरक्षा निकाय, अदालतमा भने बहस जारी

    निर्वाचनको तयारीमा आयोग र सुरक्षा निकाय, अदालतमा भने बहस जारी

    काठमाडौं । संसद विघटन गरी सरकारले निर्वाचनको नयाँ मिति तोकेपछि यसको तयारीमा निर्वाचन आयोग र सुरक्षा निकाय जुटेका छन् । सरकारले निर्वाचनको मिति नै घोषणा गरेको अवस्थामा अदालतमा विचाराधिन भएपनि तयारी समेत थाल्नुपर्ने तर्क आयोगको छ ।

    सोहीकारण १५ माघमा मतदाता नामावली प्रकाशित गर्ने तयारीमा आयोग जुटेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छ ।

    यस निर्णयको विरोधमा सर्वोच्च अदालतमा दर्ता भएका रिटमा सुनवाइ संवैधानिक इजलासमा जारी रहेको छ । आयोगले निर्वाचनको तयारीकै क्रममा आइतबार संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसंग मतदाता नामावली अध्यावधिक र मतदान स्थलका विषयमा समेत परामर्श लिएको छ ।

    आयोगले दलहरूलाई चुनाव केन्द्रीत कार्यक्रमहरूमा सहभागी भइदिन, आमनागरिकलाई सुसुचित गराइदिन, सहयोग, समन्वय र सहजीकरण गर्न समेत अनुरोध गरेको छ । आयोगका अनुसार माघ १५ मा मतदाता नामावली प्रकाशित हुनेछ ।

    यसमा त्रुटि भए सच्याउन १६, १७ गते निवेदन दिन सकिने छ । माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अध्यावधिक गरिनेछ ।

    तर, नेकपा भित्रको अर्को समुहले भने संसद पुनस्र्थापना हुने भन्दै निर्वाचनका तयारीका काम अगाडी नबढाउन निर्वाचन आयोगसँग अनुरोध गरिसकेको छ । उता, गृहसचिव महेश्वर न्यौपानेले निर्वाचनको तयारीमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका गृहसचिव न्यौपाने अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित हुन् सरकारको स्पष्ट निर्देशन आएको भन्दै आवश्यक तयारी थाल्न निर्देशन हुन् ।

  • अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिशमाथि गोली हानियो

    अफगानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिशमाथि गोली हानियो

    काबुल । अफगानिस्तानको राजधानी काबुलमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि गोली प्रहार भएको छ । उनीहरुको गोली हानी हत्या भएको पुष्टी सरकारी अधिकारीले गरेका छन् ।

    दुई महिला न्यायाधीश कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीको आक्रमणमा परेको अदालतका प्रवक्तालाई उदृत गर्दै समाचार संस्था एएफपीले जानकारी गराएको छ ।

    सञ्चारकर्मी, अधिकारवादी, राजनीतिक व्यक्तित्वलगायतलाई लक्षित गरि पछिल्लो केही महिनायता अफगानिस्तानमा आक्रमण भइरहेका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्ना सेनाको सङ्ख्या घटाइरहेका बेला यो मुलुक भित्र भने आक्रमणका घटना बढिरहेको बताइएको छ । अमेरिकी सेना घट्दा यसले जोखिम अझ बढाउन सक्ने चिन्ता अधिकारीहरुको रहेको छ ।

  • नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

    नर्वेमा कोरोना खोप लगाएका २९ को मृत्यु, किन आयो यस्तो नतिजा ?

    ओस्लो । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएको २९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमलले उल्लेख गरेका छन् ।

    खोपको साइड इफेक्टपछि उनीहरुको मृत्यु भएको बताइएको छ । त्यसो त शनिबारबाट शुरु भएको कोरोना खोप लगाएपछि भारतमा समेत सयौं व्यक्ति घाईते भएको र एक जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

    नर्वेमा भने मृत्यु हुने सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको हो । मृत्यु हुने व्यक्तिमा यसअघि कै गम्भीर स्वास्थ्य समस्या रहेको जनाइएको छ । सबैजसो दीर्घरोगबाट पिडित थिए ।

    तर, ठूलो संख्यामा खोपका कारण मानिसको ज्यान गएपछि अधिकारीहरु भने यसबारे चनाखो बनेका छन् । यो मुलुकले अहिलेसम्म ४२ हजार जनालाई खोप लगाइसकेको छ ।

    नर्वेजियन मेडिसिन एजेन्सीका अनुसार अहिलेसम्म नर्वेमा फाइजरको कोरोना खोप मात्र लगाइएको छ । त्यसकारण २९ जनाकै मृत्यु फाइजरको कोरोना खोपसँग सम्बन्धित रहेको छ । नर्वेजियन मेडिसिन एजेन्सीले फाइजरको खोपबारे चिन्तित भने नरहेको उल्लेख गरेको छ ।

  • राज्यमन्त्री खोसिएका व्यापारी दुगडलाई प्रधानमन्त्रीको उपहार, बने विशेष सल्लाहकार

    राज्यमन्त्री खोसिएका व्यापारी दुगडलाई प्रधानमन्त्रीको उपहार, बने विशेष सल्लाहकार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् । उनी अब मन्त्रीसरहको नियुक्ति भएका हुन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा यस पदमा थिए ।

    खतिवडालाई सरकारले अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्ति दिएपछि रिक्त रहेको पदमा दुगडलाई लिइएको हो । संसद विघटनपछि भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा प्रधानमन्त्रीले उनको राज्यमन्त्री पख खोसेका थिए ।

    तर, खोसेभन्दा पनि राम्रो स्थान दिएर प्रधानमन्त्रीले उद्योगी नेतालाई उपहार प्रदान गरेका छन् । दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका थिए ।

    प्रधानमन्त्रीले व्यापारी मोहका रुपमा उनको काखी च्याप्नुका पछाडी आफैले घोषणा गरेको निर्वाचनमा खर्चको जोहो थाल्न व्यापारी रिजाउने उपायका रुपमा समेत हेरिएको छ । विराटनगरमा जन्मेका दुगड सन् १९८४ देखि उद्योग व्यवसायमा सक्रिय छन् ।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९५९पुगेको छ ।

  • नेपालमा थप २६६ जनामा कोरोना संक्रमण, ४०० जना डिस्चार्ज

    नेपालमा थप २६६ जनामा कोरोना संक्रमण, ४०० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ३ जना १९ सक्रिय संक्रमित छन्।

  • राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारका पछिल्ला गतिविधिबारे ब्रिफ्रिङ

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारका पछिल्ला गतिविधिबारे ब्रिफ्रिङ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् ।

    प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई सरकारका पछिल्ला गतिविधिबारे ब्रिफ्रिङ गरेको स्रोतले जानकारी दियो । त्यस्तै उनले पार्टी र आगामी निर्वाचनबारे पनि राष्ट्रपतिसँग परामर्श गरेको बुझिएको छ ।

    संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा बहस भइरहेका बेला प्रधानमन्त्री अ‍ोलीले राष्ट्रपतिलाई भेटेका हुन् । प्रधानमन्त्री अ‍ोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनमा जाने निर्णय गरेका थिए । त्यसयता सरकारको चौतर्फी विरोध भइरहेको छ ।

    प्रधानमन्त्रकिो उक्त कदम सरकारमा रहेका मन्त्रीले नै अस्वीकार गरेपछि सामूहिक राजीनामा दिएका थिए । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहका मन्त्रीले संसद विघटन असंवैधानिक कदम भन्दै सामूहिक रजाीनमा दिएका थिए ।