Author: Vishwanews.com

  • ‘ओलीले रोजेको पतनको बाटो हो, त्यो हामीलाई स्वीकार्य छैन’

    ‘ओलीले रोजेको पतनको बाटो हो, त्यो हामीलाई स्वीकार्य छैन’


    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोली जन्त जाँदा रुँदै हिँड्ने र मलामी जाँदा हाँस्दै हिँड्ने व्यक्ति भएको जनाएका छन् ।

    आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद् विघटन हुँदा जनता स्तब्ध भएको बेला ओली हाँस्दै हिँडेको भन्दै उनले आपत्ति जनाए।

    ‘आज जनता स्तब्ध भएको बेला तपाइँ हाँस्दै हिँड्नु भएको छ,’ उनले भने, ‘तपाइँको कमेन्ट एउटा जोकरले गरेको कमेन्ट बाहेक केही होइन ।’ संसद् विघटन गरेर जनताको उपलब्धीमाथि प्रहार भएको दाहालको टिप्पणी छ।

    लामो संघर्ष र बलिदान पछि पाएको संविधानमाथि प्रहार भएको भन्दै सिंगो देश नै स्तब्ध भएको जिकिर गरे।

    ‘जनाताको भाषा बोलिएको संविधानको मूल मर्ममाथि प्रहार भएको छ। हाम्रा सहिद ,वीर योद्धाहरुको उपलब्धिमाथि प्रहार भएको छ। यसकारण हामी चिन्तित छौं। हामी हसि‍मजाक गर्ने वातावरणमा छैनौं। हामी गम्भीर मुडमा छौं।’

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने बताए। ‘हामी तपाईँको बाटोमा हिँड्न सक्दैनौं| तपाईले रोजेको पतनको बाटो हो। त्यो बाटो हामीलाई स्वीकार्य छैन।

  • काठमाडौं उपत्यकाका स्कुल संचालनमा आउँदै

    काठमाडौं उपत्यकाका स्कुल संचालनमा आउँदै

    काठमाडौं । आजबाट काठमाडौं उपत्यका भित्रका अधिकांश विद्यालय संचलनमा आउने भएका छन् । यसअघि अनलाइन कक्षा संचालन भइरहेका विद्यालयलहरुले अब भौतिक रुपमै कक्षा संचालन गर्न लागेका हुन् ।


    कोरोनाको जोखिम कम भएको भन्दै स्थानीय सरकारहरुले विद्यालय खोल्न अनुमति दिएका छन् । केही विद्यालय भने अझै बन्द हुने भएका छन् । विद्यालय खोल्ने वा बन्द गर्ने भन्ने विषय भने व्यवस्थापन स्वयमको हुनेछ । तर, अब कुनै पनि बाहनामा पठनपाठन भने रोकिने छैन ।

    ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने भएका छन् । काठमाडौं महानगरपालिकाले समेत विद्यालय खोल्न औपचारिक निर्णय गर्ने तयारी गरेको छ । सरकारले भने विद्यालय खुलाउने जिम्मा स्थानीय सरकारहरुलाई नै दिएको छ ।

  • संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन

    संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन

    काठमाडौं । संगीतकार संघको नेतृत्वमा पारस मुकारुङ चयन भएका छन् । संघको १० औं साधारणसभाले संगीतकार पारस मुकारुङलाई संगीतकार संघ नेपालको अध्यक्षमा चयन गरेको हो ।

    संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल, द्वितीय उपाध्यक्षमा अष्ट लामा, महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा चयन भए ।

    सदस्यमा जेम्स प्रधान, राजन इशान, कालीप्रसाद बाँसकोटा र टंक बुढाथोकी रहेका छन् । उनीहरुको कार्यकाल दुई वर्षको हुनेछ ।

  • पोखरामा जीप दुर्घटना, दुई जनाको मृत्यु

    पोखरामा जीप दुर्घटना, दुई जनाको मृत्यु

    पोखरा । बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएको छन् । प्रहरीका अनुसार यस दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जीपमा नौ जना सवार थिए । घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको छ । पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

  • संसद विघटनको मुद्दामा आजबाट निरन्तर सुनुवाई

    संसद विघटनको मुद्दामा आजबाट निरन्तर सुनुवाई

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजबाट निरन्तर सुनुवाई हुने भएको छ । संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने राष्ट्रिय समाचार समितिले जनाएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु हुन लागेको बताइएको छ ।

    यस मुद्दामा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने बारे पुस २२, २९ गते र माघ १ गते संवैधानिक इजलासमा सुनुवाइ गर्ने तय भएको हो। रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका थिए ।

    गत १० पुसमा सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ रिट निवेदन दर्ता भएका छन् ।

  • सामुहिक बलात्कारको झुटो आरोप लगाउने युवती पक्राउ

    सामुहिक बलात्कारको झुटो आरोप लगाउने युवती पक्राउ

    काठमाडौं । आर्थिक प्रलोभनमा पारी सामुहिक बलात्कार जस्तो जघन्य अपराधमा फसाउन खोज्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई पाँच जनाले सामूहिक बलात्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वर्षिया युवतीले २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा उजुरी गरेकी थिइन् ।

    ओखलढुंगाबाट काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा ५ जना व्यक्तिले अपहरण गरी रौतहट, चन्द्रनिगाहपुरमा ल्याएर बलात्कार गरेको आरोप उनको थियो । चन्द्रनिगाहपुरको दुई तल्ले एक घरमा आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको उनले दिएको उजुरीमा उल्लेख छ ।

    त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीसमक्ष उजुरीमा नाम किटान गरिएका आरोपितको मोबाइल लोकेसनका आधारमा उनीहरु घटना भएको भनिएको जिल्लामै नरहेको पाइयो । त्यसपछि प्रहरीले युवतीमासथ नै शंका गरी अनुसन्धान थालेको थियो ।

    बलात्कृत भएकी भनिएका युवतीको कुरा शंकास्पद लागेपछि सोधपुछ गर्दा ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन खोजिएको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए । उनका अनुसार गजेन्द्र भन्ने राम विश्वास साहलगायतको योजनामा युवतीले यो नाटक रचेकी थिइन् ।

    जग्गासम्बन्धी मुद्दामा विपक्षी रहेका राम निवास साहसहित ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैयाँ नगद र जागिर समेत दिने भन्ने प्रलोभन दिइएको थियो । झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने र बलत्कृत भएको बताउनले दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरुमाथि जबरजस्ती करणीसम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

  • स्वदेश फर्किए परराष्ट्र मन्त्री, भारतसँग केके विषयमा कुरा भयो ?

    स्वदेश फर्किए परराष्ट्र मन्त्री, भारतसँग केके विषयमा कुरा भयो ?

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । बिहिबार दिल्ली पुगेका उनी शुक्रबार भने नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिएका थिए । स्वदेश फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले कोरोना खोपका लागि भारतले नेपाललाई प्राथमिकतामा राखेको बताए ।

    भारत भ्रमणले दुई देशको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान गर्ने उनको भनाई छ । कोरोनाका कारण बन्द गरिएका हवाई तथा स्थल मार्ग खुला गर्दै जाने, हुलाकी सडकको निर्माण भएका खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी काम छिटो सक्ने सहमति भएको समेत उनले जानकारी दिए ।

    उनका अनुसार बैठकमा रक्सौल काठमाडौं रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकाले शिघ्र काम शुरु गर्ने सहमति बनेको छ । महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको छ ।

    नेपाल भारत बिचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय समेत भएको उनले उल्लेख गरे । कृषिमा थप सहकार्य गर्ने तथा जि टु जि प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमति लगायत निर्णय समेत बैठकमा भएको उनले जनाए ।

  • हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

    हिउँदे सिजनमा पहिलो पटक नेपाली आरोही केटुको शिखर पुगे

    काठमाडौं । हिँउदे सिजनमा संसारको दोस्रो सर्वोच्च शिखर माउण्ट केटु आरोहण हुन सकेको थिएन । नेपालका १० जना पर्वतारोहीले शनिबार यो कीर्तिमान राखेका छन् । केटु पाकिस्तानमा पर्छ । यसअघि संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न नसकेको पर्यटन विभागले जनाएको छ ।

    विभागकी निर्देशक मिरा आचार्यले नेपालीले टोलीले यो कीर्तिमान राखेको भन्दै बधाई दिएकी छिन् । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमालमा मात्र हिउँदे सिजनमा आरोहण सम्भव भएको थिएन ।

    नेपालका .निम्सदाइ पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले यो कीर्तिमान बनाएका हुन् ।

    टोली शनिबार साँझ ५ः४५ मा ८ हजार ६११ मिटर अग्लो शिखरको चुचुरो पुगेको छ । दश आरोहीमध्ये मिङ्मा जी शेर्पा भने बीना अक्सिजन नै चुचुरो पुगेका छन् ।

  • नेपालमा थप २४० जनामा कोरोना पुष्टी

    नेपालमा थप २४० जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा थप २४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३८१९ परीक्षणबाट उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८७ महिला र १५३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    अब नेपालामा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । २ लाख ६१ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । १९५४ जनाको मृत्यु भएको छ । हाल देशभर ४ हजार ५८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६९ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको समेत मन्त्रालयले जनाएको छ ।

  • अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि

    अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख माथि

    काठमाडौं । संसारमा कोरोनाबाट अति प्रभावित मुलुक अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७५४ संक्रमितको मृत्यु भएपछि अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख १ हजार ८०८ पुगेको हो ।

    पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

    पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४१ लाख पुगेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४२ लाख २६ हजार ४५० जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका ९४ लाख ७१ हजार ८२२ जनामध्ये २८ हजार ९३७ जनाको अवस्था गम्भीर रहेको तथ्यांक रहेको छ ।

  • सचिन पुत्र अर्जुनले गरे मुम्बईको सिनियर टीममा डेब्यू

    सचिन पुत्र अर्जुनले गरे मुम्बईको सिनियर टीममा डेब्यू

    मुम्बई । विश्व क्रिकेटका एक महान हस्ती सचिन तेन्दुलकरका पुत्र अर्जुन सिनियर टीममा आएका छन् । २१ वर्षिय अर्जुनले मुम्बईको सिनियर टोलीबाट डेब्यु गरेका हुन् । भारतमा जारी सैयद मुश्ताक अली ट्रफी टी २० प्रतियोगितामा शुक्रबार अर्जुनले हरियाणाविरूद्ध मुम्बईबाट डेब्यू खेल खेलेका छन् ।

    उनी बलरको रुपमा टीममा आएका हुन् । अर्जुनले डेब्यू म्याचमै विकेट लिन सफल भए । ३ ओभर बलिङ गरेका उनले ३४ रन दिएर एक विकेट झारेका छन् । उनको टीम भने हारेको छ ।

    मुम्बईले दिएको १ सय ४४ रनको लक्ष्य हरियाणाले १७.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । अर्जुनको सिनियर टोलीमा डेब्यूसँगै आइपीएल खेल्ने बाटो खुलेको संचारमाध्यमले लेखेका छन् । अर्जुनले यसअघि भारतको १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

  • भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

    भारतमा आजबाट सर्वसाधारणले कोरोना खोप पाउने

    नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरस विरुद्धको खोप सर्वसाधारणमा लगाउन शुरु हुँदैछ । यसलाई महाअभियान नाम दिएर प्रधानमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गर्दैछन् । अभियान उद्घाटनपछि देशभरका ६ हजार खोप केन्द्रका कर्मचारीलाई प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

    अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाइने भारतीय संचारमाध्यमले जनाएका छन् । भारतले पहिलो प्राथमिकतामा ३० करोडलाई जुलाईसम्ममा खोप लगाइसक्ने जनाएको छ । यस प्रयोजनका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ।

    भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन्। ‘कोभिसिल्ड’ प्रति डोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

  • सबै स्थानीय तहमा आज कांग्रेसको सरकार विरोधी प्रदर्शन

    सबै स्थानीय तहमा आज कांग्रेसको सरकार विरोधी प्रदर्शन

    काठमाडौं । आज सरकारको संसद विघटन गर्ने अंवैधानिक निर्णयको विरुद्धमा नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दैछ । पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको जनाएको छ ।

    सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् । पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यही अनुसार आज प्रदर्शन हुन लागेको हो ।

    पुस २५ मा ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय कांग्रेसले गरेको हो । यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरिसकेको छ ।

  • मूख्यमन्त्री राईको विवाहको खबरले तात्यो सामाजिक संजाल

    मूख्यमन्त्री राईको विवाहको खबरले तात्यो सामाजिक संजाल

    काठमाडौं । राजनीतिक उचारचढावका बीच शुक्रबार एक खबर सार्वजनिक भयो, जसअनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने निश्चित भएको छ । सामाजिक संजालमा गसिपका लागि यो खबर राम्रो मसला भएको छ । ५० वर्षीय राईले माघ ११ मा काठमाडौंमा विवाह गर्ने भएका छन् । तर, उनी कोसँग बिवाह बन्धनमा बाँधिने छन्, त्यो भने सार्वजनिक भइसकेको छैन । मूख्यमन्त्री राईले सरप्राइज दिने बताएका छन् । मूख्यमन्त्रीको विवाह काठमाडौंमा हुने भएको छ । भोज भने विराटनगरमा हुनेछ । प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बाचा गरेका मूख्यमन्त्री राईले यो बाचा भने पुरा गर्न सकेनन् । नेकपा विभाजन भएसँगै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्तावमाथि ७ माघबाट चल्ने प्रदेश १ को हिउँदे अधिवेशनमा छलफल शुरु हुनेछ ।

  • पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चोरीको प्रयास

    पेट्रोलियम पाइपलाइनमा प्वाल पारी डिजेल चोरीको प्रयास

    काठमाडौं । नेपाल–भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भन्दै आज भारतीय संचारमाध्यमले खुलासा गरेका छन् । मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गत नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी नवभारत टाइम्सले उल्लेख गरेको छ ।

    यता, नेपाल आयल निगमले भने पाइपलाइनमा आक्रमण भएको जानकारी भएको तर डिजेल चोरीको जानकारी प्राप्त नभएको प्रतिक्रिया नेपाली संचारमाध्यमलाई दिएको छ । पाइपलाइनबाट नियमित रुपमा डिजेल आपूर्ति भइरहेको निगमको भनाई छ । पाइपलाइनमा आक्रमणलगत्तै भारतीय आयल कर्पोरेसनको मोतीहारीस्थित प्रणालीमा प्रेसर कम भएको र पाइपलाइनमा क्षतिको जानकारी भारतीय पक्षले तुरुन्तै पाएको निगमको दाबी छ ।

    पाइपलाइन आक्रमणबाट भएको क्षति नेपालले व्यहोर्न नपर्ने निगमको भनाई छ । पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरेर कानुनी कारबाही सुरु गरेको जानकारी पाइए पनि विस्तृत विवरण भने आइनसकेको बताइएको छ ।

    भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ । सो पाइपलाइनबाट हाल डिजेल आउने गर्दछ । नेपाल र भारतका प्रधानमन्त्रीले गत वर्ष भदौ २४ गते संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेका थिए ।

  • नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

    नेपाल-भारत संयुक्त आयोगको बैठकमा के के विषयमा कुरा भयो ?

    नयाँ दिल्ली । नेपाल भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषय यो बैठकमा औपचारिक प्रवेश नै नभएको पाइएको छ ।

    वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको बताएका थिए । तर, वैठकपछि जारी विज्ञप्तिमा भने यसबारेमा कुनै उल्लेख छैन ।

    भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा भने ज्ञवालीले यी विषय उठाएका हुन् । तर नेपाल भारत–संयुक्त आयोगको वैठकपछि आयोजक मुलुक भारतले जारी गरेको विज्ञप्तिमा सीमा विवादको विषयमा छलफल भएको बारे भने उल्लेख छैन ।

    बैठकमा सीमा व्यवस्थापनको विषयमा कुरा भएको छ । सन् २०१४ मा काठमाडौंमा भएको आयोगको वैठकमा किटेर नै सुस्ता र कालापानीको किटेरै छलफल भएको थियो ।


    यस पटकको वार्तामा भारत यसअघिझैं प्रवुद्ध समूहको प्रतिवेदन ग्रहण गर्न तयार भएन । परराष्ट्रमन्त्रीको भ्रमणको समयमा कोभिड–१९ खोप ल्याउने विषयमा कुराकानी भएको समेत बताइएको छ । वार्तामा नेपालले भारतलाई सकेसम्म छिटो खोप प्रदान गर्न आग्रह गरेको छ ।

  • सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप

    सबै सरकारी सेवा एउटै एपमार्फत दिनेगरी सरकारले ल्यायो नागरिक एप

    सरकारले सञ्चालनमा ल्यायो नागरिक एप, के छ सुविधा ?
    काठमाडौं । सरकारले नागरिक एप संचालनमा ल्याउने निर्णय गरेको छ । आज मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता/सूचना तथा संचारमन्त्री पार्वत गुरुङले नागरिक एप संचलनमा आएको जानकारी दिए ।

    उनका अनुसार आजैबाट यसको सेवा नागरिकले लिन सक्नेछन् ।अहिले यो एप मार्फत नागरिकले नागरिकता विवरण, स्थायी लेखा नम्बर (प्यान)को विवरण, संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष लगायतको विवरण एकै ठाउँमा हेर्न पाइने छ ।

    सरकारले यही एपबाट आगामी तीन महिना भित्रै यातायात क्षेत्रसँग सम्बन्धीत कर लगायतका सेवा आफ्नै मोवाइलबाट तिर्न सक्नेगरी काम भइरहेको उनले जानकारी दिए । यो एपलाई सिजलै एप स्टोरबाट डाउनलोड गर्न सकिने छ ।

    सरकारले अबको तीन महिना भित्र सेवालाई थप विस्तार गर्दै लाने जनाएको छ । यसले नेपालमा सरकारी राजश्व तिर्न घन्टौ लाइन बस्नु पर्ने दिनको अन्त्य गर्ने विश्वास सरकारले लिएको छ ।

  • नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

    नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपतकालिन प्रयोग अनुमति

    काठमाडौं । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ

    सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिएको हो ।

    कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।

    पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो। खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्येमा गनिन्छ।

    कोभिड–१९ खोपको आपत्कालीन प्रयोगका लागि दर्ता गर्दा नेपाल सरकारबाट स्वीकृत भएको औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मान्ने विभागले अनुमति प्रदान गरेको छ ।

    विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो । हाल नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।

    चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।

  • नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

    नेपालमा थप २७० जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति भेटिए ?

    काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय १ जना सक्रिय संक्रमित छन्।

    प्रदेश १ को ओखलढुंगामा १ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा मात्र १ जनामा कोरोना भेटिएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४४ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ९, चितवनमा ९, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा ६, मकवानपुरमा १, ललितपुरमा २२ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा १, तनहुँमा २, नवलपरासीमा पूर्वमा ४, म्याग्दीमा १, बागलुङमा ३ र स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको कपिलवस्तुमा २, दाङमा ३, नवलपरासीमा १, पाल्पामा ३, बर्दियामा १, बाँकेमा १९ र रुपन्देहीमा ८ जनामा कोरोना पाइएको छ।

    गत २४ घण्टामा कर्णाली प्रदेशको दैलेखमा १ र कैलालीमा १ जनामा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र बाजुरामा १÷१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९४८ पुगेको छ ।

  • नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

    नेपाली सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

    काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन गर्नेछ। यदि पहिलो चरणमा बिक्री नभए दोस्रो चरणमा माघ १६ गतेसम्म निष्काशन गर्ने तयारी गरेको छ।

    बैंकले ८ करोड कित्तामध्ये कर्मचारीका लागि एक लाख ६० हजार कित्ता सुरक्षित गरेको छ। त्यस्तै म्युचुअल फण्डहरुलाई ५ प्रतिशत अर्थात् ४० लाख कित्ता बिक्री गरिसकेको छ। कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो।

    बैंकले नेपालकै इतिहासमा सर्वाधिक प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको हो। यसअघि अपर तामाकोशीले सर्वसाधारणका लागि सर्वाधिक प्राथमिक शेयर जारी गरेको थियो। हाल बैंकको संस्थापकहरुको शेयर पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

    अहिलेसम्मको शेयर संचरनाअनुसार नेपाल सरकारको शेयर स्वामित्व १६.६७ प्रतिशत रहेको छ। प्राथमिक शेयर निष्काशनपछि नेपाल सरकारको स्वामित्व १० प्रतिशतमा खुम्चिनेछ। बैंकमा नेपाल सरकारको लगानी २ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै हाल वाणिज्य बैंकहरुको शेयर स्वामित्व ३४.८२ प्रतिशत रहेको छ। प्राथमिक शेयर निष्काशनपछि उनीहरुको पनि शेयर स्वामित्व २०।८९ प्रतिशतमा खुम्चिने छ। हाल उनिहरुको लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ।

    बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

    यसअघि प्राथमिक शेयर निष्काशन गरेको चन्द्रगिरी हिल्समा १२ लाख ५६ हजारले आवेदन दिएका छन्। यदि अधिकतम १५ लाख लगानीकर्ताले नै आवेदन दिए भने पनि न्युनतम ५० कित्ता पर्नेछ। यसमा पनि सबै लगानीकर्ताले ५० कित्ताको आवेदन दिदैनन्। १० कित्ताको लागि आवेदन दिदा पनि शेयर नपाइरहेको सन्दर्भमा अधिकांशले १० कित्ताको लागि आवेदन दिन सक्ने सम्भावना रहन्छ।

    लगानीकर्ताले अधिकतम ७० कित्ताको लागि आवेदन दिनु बुद्धिमता हुन्छ। अधिकतम कित्ता पार्न चाहने लगानीकर्ताले १०० कित्तासम्मको लागि आवेदन दिनु राम्रो हुन्छ।

  • बाइडेनले घोषणा गरे १.९ ट्रिलिययन डलरको राहत, बेरोजगारलाई साप्ताहिक ४ सय !

    बाइडेनले घोषणा गरे १.९ ट्रिलिययन डलरको राहत, बेरोजगारलाई साप्ताहिक ४ सय !

    काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको राहत प्याकेज १ दशमलव ९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा गरेका छन् ।

    स्थानीय समयअनुसार बिहीवार राति उनले जनताको नाममा सम्बोधन गर्दै यो राहत प्याकेज घोषणा गरेका हुन्।

    प्याकेजमा राहत चेक, बेरोजगार भत्ता, साना व्यापारीलाई सहयोग र कोरोनाविरुद्धको खोपलाई थप सहयोग समेटिएको छ।

    संसदबाट पारित र जनवरीको पहिलो सातादेखि प्राप्त ६ सय डलरको राहत चेकका अतिरिक्त १४ सय डलरको राहत चेक जोडेर कुल रकम २ हजार डलर प्रस्ताव गरिएको छ ।

    डेमोक्रेटिक सांसदहरुले प्रतिनिधिसभाबाट २ हजार डलरको राहत चेक पारित गरेपनि रिपब्लिकनहरुले सिनेटमा रोकेका थिए । अब सिनेटमा पनि डेमोक्र्याट्सको बहुमत हुने भएको छ ।

    बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिदै आएकोमा बाइडेनको प्याकेजमा त्यसलाई बढाएर ४ सय डलर बनाउने उल्लेख छ । महामारी बेरोजगारी कार्यक्रमहरु मार्च १४ सम्ममात्र कायम रहेकोमा बाइडेनको प्याकेजमा त्यसलाई सेप्टेम्बरसम्म लम्बाउने विषय समावेश छ ।

    बाइडेनको योजनामा भाडा सहायता कार्यक्रमका लागि २५ बिलियन डलर प्रदान गर्ने उल्लेख छ । यो रकम डिसेम्बरमा संसदबाट पारित २५ बिलियन डलरका अतिरिक्त हुनेछ । महामारीमा काम गुमाएका र कम आम्दानी भएका अमेरिकनलाई भाडा सहायताका लागि यो कार्यक्रम ल्याइएको हो ।

    प्याकेज प्रस्तावमा थप ५ बिलिलयन युटिलिटी बिलहरु तिर्न नसकेका कम आम्दानी भएका परिवारका लागि छुट्याइएको छ । त्यस्तै घरबारविहिनताको अवस्थाको जोखिममा रहेकाहरुको सहायताका लागि ५ बिलियन डलर छुट्याइएको छ ।

    बाइडेनको प्याकेजमा आगामी सेप्टेम्बरसम्म फुड स्ट्याम्पमा १५ प्रतिशत बृद्धि गर्ने उल्लेख छ । बालबालिकाहरुको ट्याक्स क्रेडिट बढाउने विषय पनि प्याकेजमा उल्लेख छ । ६ बर्ष मुनीका बालबालिकाहरुका लागि ३६ सय डलर र ६ देखि १७ बर्षसम्मका बालबालिकाहरुका लागि ३ हजार डलर ट्याक्स क्रेडिट प्याकेजमा समावेश छ ।

    बाइडेनको प्याकेजमा इमर्जेन्सी तलबी विदाको सुविधा सेप्टेम्बरसम्म लम्बाउने उल्लेख छ । साना विजनेशहरुलाई पेचेक प्रोटेक्सन कार्यक्रम बाहेकको राहत कार्यक्रमका लागि १५ बिलियन डलर छुट्याउने पनि प्याकेजमा समावेश छ । बाइडेनले २० जनवरीमा शपथ लिएपछि संसदमा यो प्रस्ताव पेश हुने छ ।

    अहिले सिनेटमा राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पनि रहेकाले सिनेटले ट्रम्पको कार्यकाल सकिएपछि यस प्रस्तावलाई कसरी अगाडी बढाउछ भन्ने स्पष्ट भइसकेको छैन ।

  • संसद विघटन विरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

    संसद विघटन विरुद्धको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।

    संसद विघटनको असंवैधानिक कदमविरुद्ध कांग्रेसले माघ ३ गते देशभर गर्न लागेको विरोध प्रदर्शनमा सक्रिय सहभागी देउवाले अपील गरेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ । यसअघि कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

    उनले माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् ।

    ‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु’, उनले भनेका छन् ।

  • पोर्चुगलले फेरी थाल्यो देशव्यापी लकडाउन

    पोर्चुगलले फेरी थाल्यो देशव्यापी लकडाउन

    काठमाडौं । युरोपेली मुुलुक पोर्चुगलले देशव्यापी लकडाउन थालेको छ । कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि पोर्चुगलले पुनः देशव्यापी लकडाउन घोषणा गरेको हो । प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेको जानकारी गराएका छन् ।

    यहाँ एकैदिन साढे १० हजार नयाँ संक्रमित थपिएको र १५६ जनाको मृत्यु भएको जानकारी स्थानीय संचारमाध्यमले जनाएका छन् । सम्भव भएसम्म घरबाटै काम गर्न कोष्टाले आग्रह गरेका छन् । यसपटक विद्यालय भने खुलै रहने भएका छन् ।

    यसबाहेक लकडाउनका नियम तोड्नेले यो पटक पहिलाभन्दा दोब्बर सजाय भोग्नु पर्ने उनको भनाई छ । यहाँ जनवरी २४ मा राष्ट्रपतिय निर्वाचन हुनेछ । सरकारले चुनावका दिन लकडाउनका प्रतिबन्ध खुला गराउने छ । दुई सातापछि लकडाउन जारी राख्ने कि हटाउने भन्नेबारे समीक्षा हुने प्रधानमन्त्रीले जनाएका छन् ।

  • आज नेपाल-भारत संयुक्त आयोगको बैठक

    आज नेपाल-भारत संयुक्त आयोगको बैठक

    २ माघ, नयाँ दिल्ली । नेपाल र भारतका परराष्ट्र मन्त्रीको नेतृत्वमा आज संयुक्त आयोगको छैठौं बैठक संचालन हुँदैछ । बैठक भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको हो । गतवर्ष लिपुलेक लिम्पियाधुरा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो।

    बैठकमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँदिल्ली पुगेका छन् । भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू हुने भएको छ ।

    भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्दैछन् । बैठकमा नेपाली पक्षले सीमा, पारवहन, विद्युत व्यापारलगायत सबै विषयमा कुरा राख्ने भएको छ । बैठकमा नेपालले कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध गराउन भारतीय पक्षलाई अनुरोध गर्ने समेत बताइएको छ । भारतले शनिबारबाट आफ्ना नागरिकलाई खोप लगाउँदैछ ।

  • चन्द्रागिरिको आइपिओ भर्नेलाई टिकटमा २५ प्रतिशत छूट

    चन्द्रागिरिको आइपिओ भर्नेलाई टिकटमा २५ प्रतिशत छूट

    काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयर भर्ने सबैले चन्द्रागिरिको टिकट मूल्यमा २५ प्रतिशत छूट पाउने भएका छन् । बुधबार सम्पन्न ११ औँ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो । साधारण सभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको छ ।

    साधारण सभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

    शेयरमा देखिएको उल्लेखनीय सहभागिता, सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेको हूँदा सबै आवेदकको सम्मान गर्दै यो योजना सार्वजनिक गरिएको कम्पनीका अध्यक्ष चन्द्रप्रकाश ढकालले जानकारी दिएका छन् ।

    चन्द्रगिरि शेयरमा आवेदन दिने १२ लाख ५६ हजार सात सय ४६ जना आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्ने भएको छ । यो योजना यही माघ ५ गतेदेखि एक वर्षसम्मका लागि मान्य हुने भएको छ ।

  • वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

    वुहान पुग्यो डब्लूएचओको टोली, कोरोना उत्पत्तीबारे अनुसन्धान गर्ने

    वुहान । कोरोना भाइरसको उत्पत्तीबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टोली चीन पुगेको छ। चीनको वुहानबाट पहिलो पटक कोरोना देखिएको हो । डब्लुएचओको टोली बिहीबार बिहान चीन पुगेको बिबिसीले उल्लेख गरेको छ ।

    १० सदस्यीय वैज्ञानिकको टोलीले सुरूमा महामारी फैलिएको क्षेत्रका अनुसन्धान संस्थान, अस्पताल र सिफुड बजारका मानिसहरूसँग अन्तर्वार्ता लिने भएको बताइएको छ । टोलीमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रूस, नेदरल्यान्ड, कतार र भियतनामका विज्ञ र वैज्ञानिक सहभागी रहेको बताइएको छ ।

    कोरोनाभाइरसको संक्रमण पहिलो पटक सन् २०१९मा चीनको वुहानमा भेटिएको हो । अनुसन्धान बढाउनुअघि डब्लुएचओको टोली दुई हप्ता क्वारेन्टिनमा बस्ने समेत समाचारमा उल्लेख छ । चीनले डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभएको भन्दै प्रवेश लामो समय रोकेको थियो । चीन विश्वमा तुलनात्मक रुपमा सफल रुपमा कोरोना भाइरस नियन्त्रण गर्न सफल मुलुक हो ।

  • ६ महिनामा मात्र १४.४ प्रतिशत पूँजिगत खर्च

    ६ महिनामा मात्र १४.४ प्रतिशत पूँजिगत खर्च

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र १४.४ प्रतिशत मात्र पूँजिगत खर्च भएको छ । सरकारको प्राथमिकता विकास निर्माणका काम नपर्दा पूँजीगत (विकास) खर्च दयनीय देखिएको हो । साउन देखि पुससम्म ६ महिनामा ५० अर्ब ८१ करोड रुपैयाँ पूँजिगत खर्च भएको छ । चालु आर्थिक वर्षमा पूँजिगत खर्चको लक्ष्य ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ रहेको छ ।


    यो खर्च गत वर्षयसै अवधिको तुलनामा १३ अर्ब कम हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा पूँजिगत खर्च ६३ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । ६ महिनाको अवधिमा चालु तर्फको खर्च भने घटेको छैन । यसअवधिमा कुल ३ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ चालु खर्च भएको देखिएको छ । यो रकम लक्ष्यको ३६.०८ प्रतिशत हो ।

    यस आवमा सरकारले ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्चको लक्ष्य राखेको छ । पहिलो ६ महिनामा कुल सरकारी खर्च भने २८.१९ प्रतिशत पुगेको छ । यस अवधिमा वित्तीय व्यवस्थातर्फ १३.०६ प्रतिशत प्रगति भएको छ । ६ महिनामा २२ अर्ब ५७ करोड रुपैयाँ वित्तीय व्यवस्थातर्फ खर्च भएको छ । राजस्व संकलनतर्फ एकै दिन ३३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार ६ महिनाको अवधिमा राजस्व संकलन ४ खर्ब २२ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । मंगलबार सम्म राजस्व संकलन ३ खर्ब ८८ अर्ब ५१ करोड रहेको छ । यो वर्ष सरकारले १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्वको लक्ष्य राखेको छ ।

  • थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४३ पुग्यो

    थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९४३ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ६ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९४३ पुगेको छ ।

  • नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना डिस्चार्ज

    नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४०५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय २६ जना सक्रिय संक्रमित छन्।