Author: Vishwanews.com

  • देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

    देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ।

    पर्बत जान हिडेका सभापति देउवा चढेको कैलाश एयरको हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल स्थानमा नजिक आकस्मिक अवतरण गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

    भट्टराईले सभापति देउवा चढेको हेलिकप्टर खाराब मौसमका कारण आकस्मिक अवतरण गरेको जानकारी दिदै अहिले देउवा सुरक्षित रहेको बताए ।

    मौसमको कारणले केहीबेर गोरखामा अवतरण गरिए पनि अहिले देउवा सवार उक्त हेलिकप्टर पर्वतका लागि उडिसकेको छ।

  • विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स

    विदेशबाट नेपालीले ५ महिनामा पठाए ४ खर्ब १६ अर्ब रेमिट्यान्स

    काठमाडौं । विदेशमा रहेका नेपालीबाट चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म चार खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पाँच महिनामा चार खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो रकम गत साल यसै अवधिको तुलनामा १० दशमलव ९ प्रतिशत बढी हो । अमेरिकी डलरमा रेमिट्यान्स ६ दशमलव ४ प्रतिशतले बढेर तीन अर्ब ५२ करोड पुगेको छ ।

    यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनदेखि मङ्सिरसम्म अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ११ दशमलव ८ प्रतिशतले बढेको थियो ।

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पाँच महिनामा ६९ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनदेखि भदौसम्म पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७ दशमलव ६ प्रतिशतले बढेको थियो

  • अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित

    अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित

    वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध त्यहाँका तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट महाअभियोग प्रस्ताव पारित भएको छ । उनको कार्यकार्यमा दोस्रो पटक तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएको हो । बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको छ ।

    ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । अघिल्लो साता संसद भवनमा हिंसा भड्काउन आफ्ना समर्थकलाई उक्साएको आरोप ट्रम्पमाथि
    लागेको छ ।

    महाअभियोग प्रस्तावमा ट्रम्पको पार्टी रिपब्लिकन पार्टीका १० सांसदले मतदान गरेका छन् । माथिल्लो सदन सिनेटबाट समेत महाअभियोग प्रस्ताव पारित भएमा भने उनी पदच्यूत हुनेछन् । यद्दपी उनको कार्यकाल भने २० जनवरीबाटै सकिने छ । ट्रम्पको कार्यकाल सकिएको अवस्थामा समेत उनीविरूद्धको महाअभियोग सिनेटबाट पारित भए आगामी निर्वाचनमा उमेदवार बन्न उनी असक्षम हुनेछन् ।

  • आज माघे संक्रान्ती पर्व, माघिको उपलक्ष्यमा सार्वजनिक बिदा

    आज माघे संक्रान्ती पर्व, माघिको उपलक्ष्यमा सार्वजनिक बिदा

    काठमाडौं । आज माघे संक्रान्ती, विभिन्न समुदायमा विविध परम्परा अनुसार यो पर्व मनाइर्दछ । सरकारले यस दिनको उपलक्ष्यमा सार्वजनिक बिदा समेत घोषणा गरेको छ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्तिका अवसरमा नेपाल भित्र र बाहिर रहेका नेपालीले स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाउने गर्छन् ।

    सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिएको हो । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने गरिन्छ ।

    आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्न ठूलो संख्यामा मानिस पुग्छन् । धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ । यस दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायत परिकार खाने प्रचलन रहेको छ ।

  • आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

    आज भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक तीन दिनसम्म चल्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा अध्यक्षता गर्ने आयोगको बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ ।

    भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत गर्ने बताइएको छ । मन्त्रीसँगै परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायत सरकारी अधिकारी पनि जानेछन् । उनी ज्ञवाली शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

    नेपाल भारत संवाद नभएको समयमा हुन लागेको यो भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ । सम्भवतः यो भ्रमणबाटै नेपाल र भारतबीच कोरोना खोप खरीद सम्बन्धमा समेत सम्झौताको रुपरेखा बन्ने छ ।

  • मोरङका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

    मोरङका छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला

    विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका –१८ र सुन्दरहरैचा नगरपालिका–११ मा पुरुषको शव भेटिएको हो । विराटनगरबाट भारत जाने पालो पर्खिरहेको ट्रकका चालक बुधबार बिहान मृत भेटिएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जानकारी दिएको छ ।

    भारतीय नम्बर प्लेटका ट्रक चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मदको मृत्यु भएको हो । उनी आफैंले चलाउने पीबी ९ एक्स २९६४ नम्बरको ट्रक भित्र मृत अवस्थामा भेटिएका छन् । मंगलबार सह–चालक पञ्जावकै २५ वर्षीय अब्दुल लतिकसँगै सुतेका नुर नउठेपछि सह–चालकले प्रहरीलाई यसबारे जानकारी गराएका थिए ।

    शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उता, मोरङको ग्रामथान गाउँपालिका–७ बाट मंगलबारदेखि हराइरहेका ३३ वर्षीय मनोज शाहको शव सुन्दरहरैचा नगरपालिका– ११ को झर्ना खोलामा भेटिएको छ ।

    बुधबार दिउँसो सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरमा रहेको झर्ना खोलामा डुबेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । उनी मंगलबार दिउँसोबाट बेपत्ता भएका थिए । उनको शव समेत पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

  • ५ महिनामा १३९५ जना विदेशी कामदार नेपाल आए

    ५ महिनामा १३९५ जना विदेशी कामदार नेपाल आए

    काठमाडौं । कोरोना महामारीका कारण रोकिएका विदेशी सहायताका आयोजना क्रमशः अगाडी बढ्ने क्रममा छन् । यसमा ठूलो भूमिका विदेशमै रोकिएका कामदार समेत हुन् । चालु आर्थिक वर्षको पहिलो ५ महिना (मंसिरसम्म) १३९५ जना विदेशी कामदार नेपाल आएको तथ्यांकले देखाएको छ ।

    विभागका अनुसार कामदार भिषा लिएका उक्त संख्यामा विदेशी नेपाल भित्रिएका छन् । पछिल्लो दिनमा विदेशी कामदारको आगमन बढेको छ । ५ महिनामा कुल ५४७० जना पर्यटकले अनअराइभल भिसा लिएका छन् ।

    ८५६६ जना पर्यटकले नेपालमा भिसा थप गरेको विभागले जनाएको छ । यो अवधिमा ४८८ गैरआवासीय नेपालीले भिसा प्राप्त गरेका छन् । वैवाहिक भिसा लिनेको संख्या ५४६ रहेको छ । अध्ययन भिसामा ४८० जना विदेशी नेपाल आएको तथ्यांकले देखाएको छ ।


    ५ महिनाको अवधिमा विभागले ३० करोड ५ लाख ८२ हजार रपैयाँ राजस्व संकलन गरेको छ । पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई भने नेपालले देश निकाला गरिदिएको छ ।

    गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने गरिन्छ । साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको हो । मंसिर महिनामा मात्र २० जना विदेशीलाई निकाला गरिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

  • नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना डिस्चार्ज

    नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४५जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४१४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय ३४ जना सक्रिय संक्रमित छन्।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३७ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३७ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।

  • काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जना कोरोना संक्रमित भेटिएका हुन्।

    योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।

  • नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

    नेपाली सेयर बजारले फेरि बनायो नयाँ कीर्तिमान

    काठमाडौं । काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ ।

    मंगलबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    नेप्सेले २२८७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२८५ विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि हिजो नेप्सेले इतिहासकै उच्च २२६७ विन्दु पार गरेको थियो ।यस साता नेप्सेले हरेक दिन रेकर्ड तोड्दै आएको छ ।

    नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर पौने ३१ खर्ब नाघेको छ । नेप्सेका अनुसार बजार पूँजीकरण ३० अर्ब ७९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यो सेयर बजार इतिहासमै हालसम्मकै धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से १८.८१अंकले बढेर २२८६.५४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ र होटल समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै २४२.५२ अंकले बढेको छ भने होटल समूह ५.३९ अंकले घटेको छ ।

    कारोबारमा आएका २०७ कम्पनीमध्ये १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता नेपाल टेलिकमको सेयर झुम्मिएका छन् । यसको सबैभन्दा धेरै २६ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा पुनर्बीमा कम्पनी २० करोड र अपर तामाकोशी १८ करोडसहित शीर्ष तीनमा रहे ।

    दोहोरो अंकले बढेको बजारमा ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त, नारायणी विकास बैंक, गोर्खा फाइनान्स, गणपति माइक्रोफाइनान्स र समृद्धि फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज मल्टिप्रपोज फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ४.७१ प्रतिशत गुमाएका छन् ।

  • ‘ विदेशी आएर के–के मन्त्र सुनाए, जी न्यूजको अन्तर्वार्ता नाटक नै हो ‘- प्रचण्ड

    ‘ विदेशी आएर के–के मन्त्र सुनाए, जी न्यूजको अन्तर्वार्ता नाटक नै हो ‘- प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर संविधान भाँचेको आरोप लगाएका छन् ।

    बुधबार काठमाण्डुमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीले विदेशीको इशारामा नेपालको संविधानमाथि प्रहार गरेको बताएका छन् ।

    ‘केपी ओली बैठकबाट भाग्ने भगौडा हो । यो प्रचण्डलाई खेद्ने कारण के पर्‍यो ? विदेशी आएर के–के मन्त्र सुनाए । जी न्यजको अन्तर्वार्ता नाटक नै हो । उहाँले भारत र आफ्नै पार्टीबाट हटाउन खोजे भन्नुभयो । हामीले हटाएनौं नि । तर, भारतको दबाबमा यसलाई तपाई के भन्नुहुन्छ केपीजी ? मैले भारतलाई भन्न खोजेको होइन ।

    म भएको भए त्यति नै बेला राजीनामा दिइहाल्थें’, उनले भने, ‘पहिले पनि सरकार छोड्नुपर्यो भने कुर्सी भाँच्छु भन्नुभयो । तर, उहाँले संविधान, गणतन्त्र नै भाँच्नुभयो । सबै भाँचभुच पारेको छ । भाङ खाएर नाचेको जस्तो । निर्वाचन आयोग, सर्वोच्च अदालत पनि केही होइन । तानाशाहा जस्तो । कमिलाको प्वाँख उम्रिएपछि छिट्टै चिप्लिन्छ । उहाँ गणतन्त्र विरोधी हो । पोहोरबाट उहाँले पार्टी फुटाउन खोज्नुभयो । अहिले त उहाँले घरमै आगो लगाइदिनुभयो । सर्वोच्चमा सरी भनेर निवेदन दिनुभयो ।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओली समूहको सभा प्रहसन र कमेडी शो जस्तो भएको बताएका छन् । जबज छोड्ने पहिलो व्यक्ति केपी ओली नै भएको बताएका छन । उनले पहिलो नम्बरको अध्यक्ष माधव नेपाल भएको बताएका छन् ।

    ‘जबज छोड्ने पहिलो व्यक्ति केपी ओली नै हो । माधवजी एक नम्बर अध्यक्ष हो । केपी ओलीले माधव नेपाल प्रचण्डसँग मिल्न गयो भन्नुभयो । प्रचण्ड चाँही माधव नेपालसँग मिल्न गएको हो’, उनले भने ।

    उनले अहिलेको समय भनेको राजनीतिक दल र जनताले ७० वर्षदेखि गरेको संघर्ष उपलब्धिलाई प्रधानमन्त्री ओलीले खोसेको बताए । उनले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीइ लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताएका हुन् ।

    ‘हामी राजनीतिक हिसाबले अप्ठ्यारो अवस्थामा छौँ, ७० वर्षदेखि हामीले जे जति संघर्ष ग¥यौँ, जनताले बलिदान गरे, ती सबैको उपलब्धि गणतन्त्र घोषण र गणतन्त्रात्मक संविधान निर्माण ग¥यौँ त्यो अहिले धरापमा छ’, उनले भने ।

    अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटनपछि राष्ट्र र जनतामा देखा परेको संकटलाई समधान गर्ने उपयबारे र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए ।

    ‘हामी यहाँ कुनै प्रहसन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखानटुक्का गरेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने पार्नै कुराका निम्ति पनि यहाँ जुटेका होइनौँ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपायबारे छलफल गर्ने उपस्थित भएका छौं ।’

  • प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

    प्रतिनिधि सभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्ष असहमत

    काठमाडौं । प्रतिनिधिसभा विघटविरुद्ध परेको रिटबारेको सुनुवाई संवैधानिक इजलासमा सुरु भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको अध्यक्षतामा गठित इजलासमा रिट निवेदकहरुले सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका छन् ।

    रिट निवेदकहरुको बृहत पूर्ण इजलासको माग गरेपनि सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले असहमति जनाएका छन् ।

    उनले असहमति जनाएपछि प्रधानन्यायाधीश राणाले सरकारबाट सहमति नभएपछि बहस गर्न रमण श्रेष्ठलाई आग्रह गरेका थिए । नेकपा नेता देव गुरुङ उक्त मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा हुनुपर्ने माग गरेका छन् ।

    आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश राणाले संसद विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि बुधबार बिहान संवैधानिक इजलास पुनर्गठन गरेका थिए ।

    संवैधानिक इजलासमा प्रधानन्ययाधीश चोलेन्द्रशमशेर राणासहित इजलासमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

  • रुसबाट आउँदैछ नेपाललाई कोरोना खोप ?

    रुसबाट आउँदैछ नेपाललाई कोरोना खोप ?

    काठमाडौं । रसियामा उत्पादन भएको खोप नेपाल ल्याउने तयारी भइरहेको पाइएको छ । रुसले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन खोप नेपाललाई दिन तयार रहेको बताएको छ । रुसले यसअघि पनि नेपाललाई खोप दिने प्रतिवद्धता व्यक्त गरिसकेको छ ।

    यद्दपी यसरी आउने खोप अनुदान हो या बिक्रि मार्फत आउने भन्ने खुलेको छैन । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोप ल्याउने बारे कुरा भइरहेको जनाएका थिए । काठमाडौं स्थित रुसी दुतावास पनि नेपाललाई खोप उपलब्ध गराउने पहलमा रहेको बताइएको छ ।

  • संसद विघटनको रिटमा आज पनि सुनुवाई

    संसद विघटनको रिटमा आज पनि सुनुवाई

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका छन् ।

    आजको सुनुवाइबाट यो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने टुंगो लगाउने तयारी छ । पुस ५ मा संसद विघटन भएको हो । संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

    सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका छन् ।

    अघिल्लो पटकको सुनुवाइमा न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश जबराले आज कार्कीको सट्टा अर्का न्यायाधीशलाई इजलासमा राख्न सक्ने प्रावधान रहेको छ । कार्की केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता थिए ।

  • एकै पटक ८४३ जना नासुमा जागिर खुल्यो

    एकै पटक ८४३ जना नासुमा जागिर खुल्यो

    काठमाडौं । लोक सेवा आयोगले एकै पटक ८४३ नासुका लागि जाखिर खुला गरेको छ । नायब सुब्बा पदमा खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति हुने गरी जागिर खुला भएको हो । आयोगले बुधबार विज्ञापन सार्वजनिक गरेको हो ।

    काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि आवेदन खुलेको छ । धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि आवेदन माग भएको छ ।

    जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने आयोगले जनाएको छ । पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुनेछ ।

    बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने आयोगके भनाई छ । सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।

    दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको पदपूर्ति हुने भएको छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगको विज्ञापनमा उल्लेख छ ।

  • प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’

    प्रधानमन्त्रीले बालुवाटारमा स्वागत गरेका पत्रकारले भने : ‘सगरमाथामा भारतले दावि गर्नुपर्छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिन अगाडी भारतीय न्यूज च्यानल जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीलाई बालुवाटारमा बोलाएर हिन्दी भाषामा अन्तरवार्ता दिए । वार्तामा ओलीले ठूल्ठूला राष्ट्रवादका गपल दिए । तिनै चौधरी बालुवाटारबाट सगरमाथाको आधार शिविर नजिकै कालापथ्थर पुगेर एक भिडियो रिर्पोट बनाए । जसमा उनले सगरमाथामाथि भारतले पनि दावा गर्नुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।

    उनले रिर्पोटमा सगरमाथाको नाम फेर्नुपर्ने र यसमा भारतको दावा हुनुपर्ने उल्लेख छ । चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर भनेका छन्, ‘अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ, यसको नाम ‘राधानाथ सिकदर’ हुनुपर्छ ।

    राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेको उनको दावि छ । जी न्यूजले यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको थियो । त्यस रिर्पोटको विरोधमा नेपालका केबल अपरेटरले केही च्यानललाई प्रसारणमा रोक समेत लगाएका थिए । तर, प्रधानमन्त्री ओलीले यसै च्यानलमार्फत आफ्ना सहकर्मीलाई जनतासामु गिराउन खोजेका थिए ।

  • गौरीका र मन्देकाजी बने वर्ष खेलाडी (कसले कुन अवार्ड जिते)

    गौरीका र मन्देकाजी बने वर्ष खेलाडी (कसले कुन अवार्ड जिते)

    काठमाडौं । पौडीबाज गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ २०७६ सालका लागि वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । २०७६ साल भित्र भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा मनोनयन गरी पब्लिक भोटिंग समेत गरिएको थियो ।

    यस प्रतिस्पर्धामा मन्देकाजीले सुवास तामाङ (गल्फ), कमल श्रेष्ठ (तेक्वान्दो), गोपीचन्द्र पार्की (एथलेटिक्स) र विकेश कुथु (फुटबल) रहेका थिए । यी सबै खेलाडी अघिल्लो वर्ष नेपालमै सम्पन्न १३औं सागका स्वर्ण विजेता हुन् । मन्देकाजी सागमा (टिम काता र एकल) गरी दुई स्वर्ण जित्ने खेलाडी हुन् ।

    महिला तर्फ भने गौरिकाले अनु अधिकारी (कराते), आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र सोनी गुरुङ (ट्रायथलन) लाई पछि पार्दै अवार्ड जितेकी छिन् । यी सबै खेलाडी समेत सागका स्वर्ण विजेता हुन् ।

    गौरिकाले १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक गरी नौ पदक प्राप्त गरेकी हुन् । वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । अन्य विधामा विजेता बनेका खेलाडीलाई भने जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।
    कुन खेलाडीले कुन अवार्ड जिते ?
    उत्कृष्ट खेलाडी (पुरुष) : मन्देकाजी श्रेष्ठ (कराते)
    उत्कृष्ट खेलाडी (महिला) : गौरिक सिंह (पौडी)
    पिपल्स च्वाइज : अरुणा शाही (भलिबल)
    उत्कृष्ट प्रशिक्षक : नवीन श्रेष्ठ (तेक्वान्दो)
    उत्कृष्ट युवा खेलाडी : सुवास तामाङ (गल्फ)
    पारा एथ्लेट ‍: दिगमसिंह चेम्जोङ (पारा क्रिकेट टोलीका कप्तान)
    स्पेशल अवार्ड : आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)
    टिम अफ दि इयर : महिला भलिबल
    लाइफटाइम अचिभमेन्ट : सिजरन शाह र गीता क्षेत्री (टेबलटेनिस)

  • अब लाइसेन्स परीक्षामा समेत अंकभार, हजारौं चालक लाभान्वित हुने

    अब लाइसेन्स परीक्षामा समेत अंकभार, हजारौं चालक लाभान्वित हुने

    काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा सानो गल्तीका कारण समेत फेल हुने अवस्था हट्ने भएको छ । लाइसेन्स सम्बन्धी निर्देशिका परिवर्तन गर्दै सरकारले अंकभार ल्याउने तयारी गरेको हो । अब प्रयोगात्मक परीक्षामा ६० प्रतिशत अंक प्राप्त गर्ने चालकलाई पास गराइने भएको छ ।

    प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क कायम गरिने भएको छ । ट्रायल परीक्षा दिने बेला उत्तीर्णाङ्क ल्याएमा पास गराइने भएको छ ।

    अहिले प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन सक्ने चालक समेत सबै प्याराममिटर सजिलै पार गर्न नसक्दा फेल हुने गरेका छन् । यसले चालकहरु प्रभावित बनेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ निर्देशिकाको तयारी गरेको हो ।

    मन्त्रालय स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइने भएको छ । सजिला प्याराममिटरले कम अंकभार पाउने छन् । यसरी पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याएमा चालक अनुमतिपत्र प्राप्त गर्नेछन् ।

  • नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

    नयाँ पाठ्यक्रम प्रारूपविरुद्धको रिट सर्वोच्चद्वारा खारेज,कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

    काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ ।

    न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो ।

    यो सँगै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो ।

    नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

    यसअघि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कार्तिक १९ गते नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

  • नेपालमा थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना डिस्चार्ज

    नेपालमा थप ४३० जनामा कोरोना संक्रमण, ३९० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३९० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित छन्।

  • थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो

    थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।

    यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९३२ पुगेको छ ।

  • ५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न

    ५ लाख ५९ हजार घरको पुनर्निर्माण सम्पन्न

    काठमाडौं । २०७२ सालको भूकम्पबाट क्षति भएका साढे ८ लाख बढी निजी आवासमध्ये हालसम्म ५ लाखभन्दा बढीको पुनर्निर्माण सम्पन्न भएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ५९ हजार १३९ निजी घर निर्माण सम्पन्न भएको हो ।

    भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा ८ लाख ६६ हजार ६० भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

    लाभग्राही सूचीमा समावेश भएकामध्ये ७८ हजार ३३ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म ७ लाख ९५ हजार ३१४ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

    जसमा ७ लाख ९१ हजार १०१ लाभग्राहीले पहिलो किस्ताको ५० हजार रुपैयाँ लिएका छन् । जग निर्माण सम्पन्न गरी ६ लाख ८२ हजार ८५७ जनाले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी ६ लाख १५ हजार ८३ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

    हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्ने समय तोकिएको थियो ।

    पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने छ ।तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ ।

  • अमेरिकाद्वारा विमानका पाटपूर्जामा थप १५ प्रतिशत कर वृद्धि, फ्रान्स र जर्मनीलाई ठूलो धक्का

    अमेरिकाद्वारा विमानका पाटपूर्जामा थप १५ प्रतिशत कर वृद्धि, फ्रान्स र जर्मनीलाई ठूलो धक्का

    वासिङ्टन । संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपूर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मङ्गलबारदेखि लागू हुने जनाएको छ ।

    अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक विमानहरुका पार्टपूर्जामा १५ प्रतिशत थप कर उठाइने जनाएको छ । साथै यी दुई मुलुकका अन्य कतिपय उत्पादनमा २५ प्रतिशत भन्सार कर लिइने पनि विभागले बताएको छ ।

    युरोपेली मुलुकहरुले आफ्ना विमान उत्पादक कम्पनीहरुलाई अनुदान उपलब्ध गराएको र त्यसबाट अमेरिकी कम्पनी पनि प्रभावित भएको तथा बजारमा अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भएको जनाउँदै अमेरिकी प्रशासनले युरोपेली उत्पादनमा करवृद्धि गर्ने घोषणा गरेको थियो ।

    गत साता, अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले विमानका पार्टपूर्जामा थप १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेको थियो । साथै फ्रान्स र जर्मनीबाट उत्पादित वाइनमाथि २५ प्रतिशत थप कर लिइने बताइएको थियो ।

    अमेरिकी ट्रम्प प्रशासनले अक्टोबर २०१९ देखि नै करिब साढे ७ अर्ब डलर बराबरका युरोपेली वस्तुमा थप कर लगाउने तयारी गरेको थियो । विश्व व्यापार संगठनले युरोपेली विमान उत्पादक एयरबस र अमेरिकी बोइङ कम्पनीलाई सरकारहरुले प्रदान गरिरहेको अनुदानमाथि प्रश्न उठाउँदै आएको थियो ।

    अमेरिकी घोषणासँगै युरोपेली युनियनले पनि नोभेम्बर २०२० मा ४ अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा पनि करवृद्धि गर्ने घोषणा गरेका थिए ।

    अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले भने युरोपले अमेरिकी सामानबाट बढी कर असुल्न चाहेको प्रतिक्रिया दिएको छ । तर अमेरिकाले खासगरी युरोपका फ्रान्स र जर्मनीमाथि बढी दबाब दिएको छ ।

    युरोपेली मुलुकले विमान कम्पनीलाई दिइरहेको अनुदानका विषयमा विगत १६ वर्षदेखि विवाद छ । सन् २००४ मा संयुक्तराज्य अमेरिकाले विश्व व्यापार संगठनको कार्यालयमा उजूरी गर्दै एयरबसलाई युरोपले बढी अनुदान दिएको भन्दै आपत्ति जनाएको थियो ।

    युरोपेली युनियनले पनि गैरकानुनी ढंगबाट अमेरिकाले बोइङलाई अनुदान प्रदान गरिरहेको आरोप लगाएका थिए ।डब्लुटीओले भने संयुक्तराज्य अमेरिका र युरोपेली युनियन दुवैले नियम विपरीत विमान उत्पादक कम्पनीहरुलाई अनुदान दिइरहेको जनाएको थियो । सिन्ह्वा

  • नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, नेप्से इतिहासकै उच्च विन्दुमा

    नेपाली सेयर बजारमा दिनदिनै नयाँ रेकर्ड, नेप्से इतिहासकै उच्च विन्दुमा

    काठमाडौं । पछिल्लो समय दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । सोमबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

    नेप्सेले २२६७ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २२५० विन्दु पार गरेको इतिहासमै पहिलो पटक हो । यसअघि हिजो नेप्सेले इतिहासकै उच्च २२३९ विन्दु पार गरेको थियो ।

    नेप्से इतिहासकै उच्च विन्दुमा पुगेसँगै लगानीकर्ताको सम्पत्ति बढेर साढे ३० खर्ब नाघेको छ । यो बजार पूँजीकरण हालसम्मकै धेरै हो ।

    आज सेयर बजार मापक सूचक नेप्से २८.३१अंकले बढेर २२६७.७३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०२ कम्पनीको ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको १ करोड ३५ लाख ३१हजार २२७ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३७६ अंकले बढेको छ भने व्यापार समूह १५.०४ अंकले घटेको छ ।

    कारोबारमा आएका २०२ कम्पनीमध्ये १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ता प्रिमियर इन्स्योरेन्सको सेयर झुम्मिएका छन् । कम्पनीले गत वर्षको नाफाबाट ११ प्रतिशत लाभांश घोषणा गरेसँगै लगानीकर्ता यसको सेयरप्रति आकर्षित भएका हुन् । यस कम्पनीको आज सबैभन्दा धेरै २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा प्रभु बैंक १६ करोड र अपर तामाकोशी १५ करोडसहित शीर्ष तीनमा रहे ।

    उच्च अंकले बढेको बजारमा ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइएमई जनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, युनाइटेड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, अपर तामाकोशी, प्रभु लाइफ इन्स्योरेन्स र समृद्धि फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

  • ‘नेकपा र सूर्य चिन्ह आफूहरुले पाउनेमा कुनै द्विविधा छैन्’-प्रचण्ड

    ‘नेकपा र सूर्य चिन्ह आफूहरुले पाउनेमा कुनै द्विविधा छैन्’-प्रचण्ड

    काठमाडौं । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् ।

    मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन चिन्ह र पार्टीको नाम आफूहरुले पाउनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका हुन् । ‘नाम र चिन्ह हाम्रो हुन्छ । नेकपा र सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘यसमा कुनै द्विविधा राख्नु पर्ने छैन । चिन्ह र नेकपा नाम नपाउने अवस्था आएमा आँधीवेहरी आउँछ ।’

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाएका छन् । प्रचण्डले ओलीसँग पदको नभई विचारको लडाइँ भइरहेको बताए ।

    ‘के जनयुद्ध कुहिएकै फर्सी हो त ? प्रतिक्रान्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्व सम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो कीर्ते हस्ताक्षर थियो ? होइन भने यो स्वीकार्य छैन ।’

    उनले केन्द्रीय समिति बैठकले केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने तयारी भएको बताएका छन् । अध्यक्ष प्रचण्डले सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा ओली अल्पमतमा परेको बताए । उनले ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग भएको दाबी गरेका छन् ।

    प्रचण्डले केपी ओलीले कहिल्यै पनि राजनीतिक प्रतिवेदनमा गरिएको सहमति स्वीकार नगरेको आरोप लगाउँदै अहिले जनयुद्ध भनेको कुहेको फर्सी भनेको उहाँसँग लागेका पूर्व माओवादीहरुले कसरी सुन्न सकेके हो ? भन्दै प्रश्न गरे ।

    ‘पार्टी एकताताका भएका सहमति र समझदारीको मर्म र भावना विपरित बोल्दा ती साथिहरु प्रतिक्रान्ति र प्रतिगमनको साक्षी भएर बस्नुभएको छ । के जनयुद्ध कुहेकै फर्सी हो त ? के केपी ओलीले गरेको हस्ताक्षर किर्ते हो ?’

  • स्पोर्टस अवार्ड घोषणा आज

    स्पोर्टस अवार्ड घोषणा आज

    काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज वितरण हुँदैछ । नेपाली खेलकुदको सबैभन्दा ठूलो अवार्डका रुपमा यसलाई दिने गरिन्छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा आयोजना हुँदैछ ।

    अवार्ड कार्यक्रम अपरान्ह साढे ४ बजेबाट शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण सेमी भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गर्न लागिएको आयोजक जनाएको छ ।

    अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेको मञ्चले जानकारी दिएको छ ।

  • झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

    झापाको शरणार्थी शिविरमा आगोलागी, एक जनाको मृत्यु

    झापा । झापामा शरणार्थी बसोबास गर्ने शिविरमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । सोमबार साँझ साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षिय देशमान राईको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका राई प्यारालाइसिसका बिरामी थिए । उनको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    आगलागीका कारण तीन लाख रुपैयाँ बराबरको सुनचाँदी, ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीको भनाई छ । स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगो करीव एक घण्टापछि नियन्त्रणमा आएको हो ।

  • भारतका केन्द्रिय रक्षामन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमती र स्वकीय सचिवको मृत्यु

    भारतका केन्द्रिय रक्षामन्त्री कार दुर्घटनामा गम्भीर घाइते, श्रीमती र स्वकीय सचिवको मृत्यु

    कर्नाटक । भारतीय केन्द्रीय रक्षामन्त्री श्रीपाद नाइक गम्भीर सवारी दुर्घटनामा परेका छन्। उनी सवार कार दुर्घटनामा मन्त्री गम्भीर घाइते भएको र श्रीमती तथा स्वकीय सचिवको भने ज्यान गएको भारतीय संचारमाध्यमले लेखेका छन् । मन्त्री नाइकको कार सोमबार कर्नाटकको अंकोलामा दुर्घटनामा परेको हो ।

    पत्नी विजया नाइक र स्वकीय सचिवको ज्यान गएको र मन्त्री नाइक गम्भीर घाइते भएको बताइएको छ । मन्त्री नाइकको अहिले अंकोला जिल्ला अस्पतालमा उपचार जारी छ । अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् । उनी पत्नीसहित गोकर्ण गइरहेका थिए ।

    येल्लापुर र गोकर्णबीचको सडक खण्डमा उनी सवार कार दुर्घटनामा परेको हो । कर्नाटकको येल्लापुरस्थित गणपति, कवादिकरे, पंडवासी ग्राम दीवी मन्दिर र ईश्वर मन्दिरमा पुजा गरेर फर्किदा कार दुर्घटनामा परेको संचारमाध्यमले लेखेका छन् । उनको दुर्घटनापछि केन्द्रीय स्तरका नेताहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी

    बाइडेनको सपथ अगाडी अमेरिकामा पुनः हिंसाको चेतावनी

    काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह जनवरी २० मा हुने छ । यस अगाडी राष्ट्रपति ट्रम्प समर्थक कार्यकर्ताले अमेरिकामा हिंसा मच्याउन सक्ने चेतावनी अमेरिकी सुरक्षा एजेन्सीले दिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबिआई)बाट यस्तो चेतावनी आएको हो ।

    उसले राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले फेरि हिंसा फैलाउन सक्ने चेतावनी दिएको हो । बाइडेनको सपथअघि वासिङ्टन र ५० राज्यकै ठूला सहरमा ट्रम्प समर्थकले प्रदर्शन गर्न लागेको बताइएको छ । ती प्रदर्शनले हिंसा भड्किन सक्ने एफबिआईको चेतावनी रहेको छ ।

    उता, अमेरिकी रक्षा मन्त्रालयले बाइडेनको सपथका लागि १५ हजार नेशनल गार्ड खटाउन स्वीकृति दिएको छ। यसबाट पनि सुरक्षा संवेदनशिलता प्रष्ट हुने संचारमाध्यमको विश्लेषण रहेको छ । अघिल्लो साता ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । त्यस क्रममा ५ जनाको मृत्यु भइसकेको छ ।
    एजेन्सी