Author: Vishwanews.com

  • प्रतिनिधिसभा विघटनविरुद्धका रिटको आज सर्वोच्चमा संवैधानिक इजलासमा सुनुवाई

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटको आज सर्वोच्चमा संवैधानिक इजलासमा सुनुवाई

    काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि यसविरुद्ध परेका सबै रिटको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै छ। यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले सबै रिट संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ पुसमा संसद विघटन गरिएको थियो । राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते दुई चरणमा आमनिर्वाचन समेत घोषणा गरेकी छन् । तर, यो प्रावधान संविधानमै नभएको भन्दै सर्वोच्चमा मुद्दा परेका छन् ।

    सरकार र राष्ट्रपतिको यो कदमविरुद्ध १३ वटा रिट परेका छन् । जसमा संविधानको व्यवस्थाविपरीत संसद विघटन गरिएको दावि गरिएको छ । सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ ।

    प्रधानन्यायाधीश जबराले भने सो धाराको थप संवैधानिक व्याख्या आवश्यक रहेको भन्दै रिटहरु संवैधानिक इजलासमा पठाउने आदेश गरेका हुन् । सरकारको यो कदमविरुद्ध नेकपाको प्रचण्ड समूहले समेत रिट दायर गरेको छ ।

  • आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीलाई बिदा

    आज क्रिसमस डे, क्रिश्चियन धर्मावलम्बीलाई बिदा

    काठमाडौं । आज संसारभर क्रिसमस डे मनाइदैछ । यस दिनको उपलक्ष्यमा नेपालमा समेत क्रिश्चियन धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने प्रचलन रहेको छ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार छ ।

    यसलाई क्रिश्चियन धर्मालम्बीले क्रिसमसका रुपमा धुमधाम साथ मनाउने गर्छन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मान्यता छ । येशुलाई जिसस क्राइस्ट समेत भनिन्छ ।

    उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास रहेको छ ।

    क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले यस प्रकारका धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सदभाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

    सरकारले आज क्रिश्चियन समुदायका लागि बिदा दिएको छ । आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गर्ने प्रचलन रहेको छ ।

  • धरहराको २० औं तलाको काम सकियो, अब तीन तला मात्र बाँकि

    धरहराको २० औं तलाको काम सकियो, अब तीन तला मात्र बाँकि

    काठमाडौं । काठमाडौंको सुन्धारामा निर्माण भइरहेको धरहराको २० औं तलाको निर्माण सम्पन्न भएको छ । यो २० औं तला बार्दली हो । यही तलाबा सर्वसाधारणले अवलोकन गर्न सक्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार २० औं तलामा बारदली बन्ने छ ।

    यस स्थानलाई अवलोकन स्थानका रुपमा उपयोग गरिनेछ । धरहरा कुल २३ तलाको हुनेछ । यसअघि भूकम्पले भत्काएको धरहरालाई नचलाई नयाँ धरहरा बनाइएको हो । धरहरा अब अत्याधुनिक टावरका रुपमा विकास भएको छ ।

    यसको परिसरभित्रै एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल बनेको छ । यस परिसर भित्रै टक्सार संग्राहलय र भूकम्प संग्राहलय समेत रहने छ । त्यसको काम समेत जारी रहेको छ ।

    धरहरा चढ्न अब भर्यांग उक्लन पर्ने छैन । यहाँ जमिनमुनिको दुई तलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी डिजाइन गरिएको छ । यो संसारका अन्य मुलुकमा हुने जस्तै टावरको संरचना हो ।

    प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष भित्रै धराहराको काम सकाएर हस्तान्तरण गर्ने योजना रहेको छ । धरहरा निर्माणको कुल लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ । यो ४२.२ रोपनी क्षेत्रफलमा बनिरहेको छ ।

  • सरकारको कदमविरुद्ध कांग्रेसले १३ पुस र नेकपाले १४ पुसमा आन्दोलन गर्ने

    सरकारको कदमविरुद्ध कांग्रेसले १३ पुस र नेकपाले १४ पुसमा आन्दोलन गर्ने

    काठमाडौं । सरकारले चालेको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस र नेकपा (प्रचण्ड -नेपाल) समूहले आन्दोलन घोषणा गरेका छन् । नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ ।

    बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारको निर्णय खारेजीको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।

    प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    उता, नेकपा केन्द्रिय कमिटि बैठकले समेत सरकारको कदम असंवैधानिक भएको भन्दै फिर्ता लिनुपर्ने माग गरी सडक आन्दोलन घोषणा गरेको छ । १४ पुसमा देशैभर आन्दोलन गर्ने घोषणा नेकपाले गरेको छ । नेकपाले वडास्तरसम्म संगठनात्मक भेला गर्ने निर्णय समेत गरेको छ ।

  • चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा

    चर्को आवाज निकाल्दै गुड्ने ३४२ मोटरसाइकल कारवाहीमा

    काठमाडौं । प्रहरीले चर्को आवाज निकाल्ने गरी मोडिफाइ गरेका मोटरसाइकलविरुद्ध कारवाही अभियान चलाएको छ । एक महिना चलाएको यो अभियानका दौरान कुल ३ सय ४२ मोटरसाइकल कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार एक महिनामा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरी चलाउनेलाई कारबाही गर्न विशेष अभियान चलाइएको थियो । सो अभियानका दौरान ३ सय ४२ वटा मोटरसाइकल प्रहरीको फन्दामा परेका हुन् ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईका अनुसार यस प्रकारका मोटरसाइकलका कारण दुर्घटना निम्तिने खतरा हुन्छ । त्यसले सर्वसाधारणलाई अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदूषण समेत गर्छ ।

    साइलेन्सरलाई मोडिफाई गरी, फिल्टर निकालेर वा कम्पनीबाटै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलको संचालनमा प्रहरीले कडाई गरिरहेको छ । महाशाखाका अनुसार यस प्रकारका मोटरसाइकलको नम्बर संकलन गरी निरन्तर निगरानी गरिदै आएको छ ।

  • नेपालमा थप ६१३ जनामा कोरोना पुष्टी, ५ जनाको मृत्यु

    नेपालमा थप ६१३ जनामा कोरोना पुष्टी, ५ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणदर उल्लेख्य घटेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ६ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यससँगै अब नेपालमा संक्रमितको संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा ७३९ जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । नेपालमा कोरोनालाई जित्नेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८ पुगेको छ। पछिल्लो २४ घण्टामा ५५१० जनामा कोरोना परीक्षण गरिएको हो ।

  • ओलीलाई रामचन्द्र पौडेलको चूनौति : ‘तनहुँ आउनुस चुनाव लड्न’

    ओलीलाई रामचन्द्र पौडेलको चूनौति : ‘तनहुँ आउनुस चुनाव लड्न’

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तनहुँमा आफुसँगै चुनाव लड्न चूनौति दिएका छन् । बुधबार नेपालको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पौडेल चुनावको पक्षमा नदेखिएको तनहुँमा निर्वाचन हार्ने भएकाले भन्दै टिप्पणी गरेका थिए ।

    यसको जवाफमा पौडेलले ओलीलाई तनहुँमै चुनावमा आफुसँग भिड्न चूनौति दिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले नेता पौडेल क्रान्तिकारी देखिन खोजेको भन्दै कांग्रेस महाधिवेशनबाट सभापति बन्न सुझाव दिएका थिए। कांग्रेसको राजधानीमा जारी केन्द्रिय समिति बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै नेता पौडेलले ओलीलाई यस्तो चूनौति दिएका हुन् ।

    पछिल्लो समय ओलीले आफुविरुद्ध बोल्ने नेताप्रति लक्षित गलर्दै विष वमन गर्दै आइरहेका छन् । आज समेत उनले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध कटाक्ष गर्दै उनको नेपाली राजनीतिमा कुनै योगदान नै नभएको बताएका थिए ।

    यता, पौडेलले भने आफु पाँचपटक चुनाव जितेको मानिस भएको भन्दै भने, ‘अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु ।’

    प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद भंग गरेपछि कांग्रेसमा पौडेल समुह आन्दोलन चर्काउनु पर्ने पक्षमा छ । सभापति देउवा समुह भने पर्ख र हेरको रणनीतिमा देखिएको छ ।

  • राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश

    राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश

    काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस भएको छ ।

    आयोगका कार्यवाहक प्रमुख आयुक्त डा।गणेशराज जोशीले राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित समारोहमा आयोगको आर्थिक वर्ष ०७६–०७७ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

    नेपालको संविधानको धारा २९४ बमोजिम आज सो प्रतिवेदन प्रस्तुत गरिएको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

  • ‘प्रचण्ड’ ओली समूहको कारबाहीमा, कार्यकारी अध्यक्षबाट हटाइयो

    ‘प्रचण्ड’ ओली समूहको कारबाहीमा, कार्यकारी अध्यक्षबाट हटाइयो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कारबाही गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाले विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डलाई कारबाही गर्ने निर्णय गरेको हो ।

    ओली नेतृत्वको नेकपाको बिहिबार वालुवाटारमा बसेको केन्द्रिय समितिको बैठकले प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको हो ।

    यसअघि ओली नेतृत्वको नेकपाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिएको थियो ।

  • ओलीको व्यङ्ग्य: ‘उपद्रो मच्चाए स्वर्ण भनेको सिल्भर पाउनुभएछ ‘

    ओलीको व्यङ्ग्य: ‘उपद्रो मच्चाए स्वर्ण भनेको सिल्भर पाउनुभएछ ‘

    काठमाडौं । नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माघव नेपालप्रति व्यङ्ग्य गरेका छन् ।

    बालुवाटारस्थित तेस्रो केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले नेकपामा उपद्रो मच्चाएवापत माधव नेपालले रजत पदक पाएको भन्दै व्यङ्ग्य गरेका हुन् ।

    ओलीले माधव नेपाललाई प्रचण्डले झुक्याएर दोस्रो वरियताको अध्यक्ष बनाएको बताए । ‘मसँग उधारो हुन्न, हाताहाती चाहिन्छ । महाधिवेशनसम्म कुर्ने ? भन्नुहुन्थ्यो । प्रचण्डले हाताहाती दिनु भएछ । तर, झुक्याएर दोस्रो अध्यक्ष । स्वर्ण होइन, सिल्भर’, ओलीले बैठकमा भने ।

    ओलीले आफूसँग राजनीतिक विभाजन गरेर अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचनमा जान डराएर आन्दोलनमा लागेको आरोप लगाएका छन्।

    ‘उहाँहरुलाई जनमतदेखि सधैँ डर लाग्छ, निर्वाचन भएमा प्रधानमन्त्री र अध्यक्ष हुन पाइँदैन भन्ने भयले गाँजेको छ, घालमेल गरेर प्रधानमन्त्री र अध्यक्ष हुने बानी जो परेको छ,’ ओलीले प्रचण्ड-नेपाल समूहलाई सोधेका छन्, ‘चुनावमा जान किन डराएको? आन्दोलन किन गर्न खोजेको हो?’

  • नेकपामा विवाद चुलिंदा चिनियाँ राजदूतको सक्रियता बढ्यो, प्रचण्ड र यान्छीबीच भेटवार्ता

    नेकपामा विवाद चुलिंदा चिनियाँ राजदूतको सक्रियता बढ्यो, प्रचण्ड र यान्छीबीच भेटवार्ता

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष दाहालससँग उनले बिहीबार बिहान खुमलटारस्थित दाहाल निवासमा भेटवार्ता गरेकी हुन् । भेटमा नेकपा विवाद, फुटको अवस्थाका विषयमा चिनको चासो दाहाल समक्ष यान्छीले राखेको बताइएको छ ।

    दाहालले भने आफु नेपालमा एउटै कम्युनिष्ट पार्टी होस् भन्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

    नेकपा दुई भागमा विभाजन भएको बेला उनले प्रचण्डलाई भेटनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । चिनियां राजदूतले पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रचण्डसंगको भेटमा चांसो राखेको बुझिएको छ । यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसंग शितल निवास पुगेर भेटवार्ता गरेकी थिईन ।

    चिनियां राजदूतले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपाललाई समेत भेट्ने तयारी गरेकी छन् । त्यसैगरी पुर्व उर्जामन्त्री वर्षमान पुनलाई समेत उनले भेट्ने कार्यक्रम छ ।

  • भारतमा कोरोना खोप अनिवार्य नहुने, इच्छुकलाई मात्र दिइने

    भारतमा कोरोना खोप अनिवार्य नहुने, इच्छुकलाई मात्र दिइने

    नयाँ दिल्ली । भारतले कोरोना भाइरसविरुद्धको खोपलाई अनिवार्य नगर्ने भएको छ । भारतमा खोप वितरणको अन्तिम चयारी भइरहेको छ । यसै सन्दर्भमा त्यहाँको स्वास्थ्य मन्त्रालयले खोप वितरण अनिवार्य नगर्ने स्पष्ट पारेको छ । कुनै व्यक्तिले आफुले कोरोना खोप लिन नचाहेमा उनीहरुका लागि स्वतन्त्र छाडिने भएको हो ।

    सरकारले कुनै पनि व्यक्तिलाई जवर्जस्ती खोपका लागि नगर्ने मन्त्रालयको भनाई छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा उपलब्ध खोप विश्वका अन्य मुलुकमा जत्तिकै प्रभावकारी हुने छ । भारतमा आम सर्वसाधारणको स्तरमा अहिले पनि खोपबारे विभिन्न अफवाह जारी छन् ।

    यसबाट सकारात्मक सन्देश प्रवाह गर्न भारतले खोपलाई ऐच्छिक बनाउने भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार भारतमा जनवरीको पहिलो साताबाटै खोप वितरण थालिने भएको छ । यस्तो खोपले कोरोना भाइरसलाई मार्ने नभई शरीरमा एन्टिबडी उत्पादनमा सहयोग गर्नेछ ।

    चिकित्सकहरुका अनुसार क्यान्सर, डाइविजिटजस्ता घातक रोगका बिरामीले समेत कोरोना खोप लिन भने सक्नेछन् । भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्ने कर्मचारी, वृद्ध र गम्भीर बिरामीमा लगाउने भएको छ । त्यसपछि मात्र अन्यको पालो आउने छ ।

  • फ्रान्समा झगडा मिलाउन पुगेका तीन जना प्रहरीको गोली हानी हत्या

    फ्रान्समा झगडा मिलाउन पुगेका तीन जना प्रहरीको गोली हानी हत्या

    पेरिस । फ्रान्समा स्थानीयको झगडा मिलाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा तीन जना प्रहरीको मृत्यु भएको छ । फ्रान्सको पुये–डी–डोममा प्रहरीको हत्या भएको हो । फ्रान्सेली संचारमाध्यमहरुका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न प्रहरी बोलाइएको थियो ।

    उनीहरुमाथि नै गोली प्रहार भएको हो । घटना बुधबारको हो । उक्त घटनामा अर्का एक प्रहरी घाइते भएको बताइएको छ । बुधबार मध्यरात एक महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएका हुन ।

    आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि महिलाको घरमा समेत आगो लगाइदिएका छन् । पछिल्लो समय फ्रान्समा गोलीकाण्डका घटना निरन्तर बढीरहेका छन् ।

  • कुवेतमा कोरोना भाइरसको खोप आजबाट लगाइने

    कुवेतमा कोरोना भाइरसको खोप आजबाट लगाइने

    काठमाडौं । कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । यो मुलुक नेपाली नागरिक बढी रहेको मध्ये एक हो । कुवेत सरकारले वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप वितरण गर्ने भएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने योजना रहेको कुवेती संचारमाध्यमले जनाएका छन् ।

    बुधबार मात्र खोपको पहिलो डोज आएको र अब लगाउन थालिने बताइएको छ । मुलुकमा खोप लगाउने अभियान नै चलाउन लागिएको स्वास्थ्य मन्त्री बसेल अल सबाहले बताएका छन् । उनका अनुसार एक, एक महिनाको अवधि वर्षभरि नै खोप भित्राइने भएको छ ।

    खोप लगाएसँगै थप मानवीय क्षति नहुने र सङ्क्रमित समेत घट्ने विश्वास स्वास्थ्य मन्त्रीको छ । कुवेतले अन्तर्राष्ट्रिय उडान रोक्दै कोरोना विरुद्धको अभियानलाई समेत कडाई गरिरहेको छ ।

  • तीन नेपाली क्रिकेटरले खेल्ने भए टी–१० लिग

    तीन नेपाली क्रिकेटरले खेल्ने भए टी–१० लिग

    काठमाडौं । यूएईमा संचालन हुन टी–१० लिग क्रिकेट प्रतियोगितामा नेपालका तीन क्रिकेटर खेल्ने भएका छन् । पूर्व कप्तान पारस खड्काले भने कोचिंग टीममा आवद्ध भइसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र बलरद्वय सोमपाल कामी र करण केसी तथा युवा अलराउन्डर कुशल मल्ललाई युएईमा आयोजना हुने टी–१० क्रिकेट प्रतियोगितामा आवद्ध गरिएको हो ।

    युएईमा भएको ‘ड्राफ्ट’मा सोमपाललाई मराठा अरेवियन्सले अनुबन्ध गरेको हो । मराठा गत सिजनको उपाधि विजेता टोली हो। करण केसीलाई पुने डेभिल्सले अनुवन्ध गरेको छ । कुशललाई भने टिम आवुधावीले आवद्ध गरेको हो ।

    टी–१० लिगमा सन्दिप लामिछाने र पारस खड्काले अघिल्ला सिजनमा यो लीग खेलिसकेका छन् । अघिल्लो सिजन आबुधावीबाट खेलेका पारस यस सिजनका लागि सोही टीमकोइमर्जिङ प्लेयर मेन्टरको भूमिकामा छन् ।

  • बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु

    बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु

    बैतडी । बैतडीमा जिप दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते रहेको प्रहरीले जनाएको छ । धनगढीबाट छुटेको से १ ज ८४३ नम्बरको बलेरो जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटनाग्रस्त भएको हो । घटनामा जीप चालक बझाङ, बुङ्गल नगरपालिका –११ बस्ने २६ वर्षीय धनबहादुर बोहराको मृत्यु भएको हो।

    बिहीबार बिहान भएको दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका ४ का ३५ वर्षीय जनकराज भट्ट, ४० वर्षीय गंगादत्त भट्ट र बझाङको चिरबित्थडका २७ वर्षीय हरिश बोहरा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये पनि दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

  • नवलपरासीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    नवलपरासीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

    गैँडाकोट । नवलपरासीको गैँडाकोटमा आज भएको ट्रक दुर्घटना तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ना ३ ख ५३३९ नम्बरको लहरे प्लेटफर्म टेलर कालिगण्डकी करीडोरको भित्री सडक खण्डमा दुर्घटनामा पर्दा तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

    दुर्घटनामा परी टेलर चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका—१७ हटियाका ४५ वर्षीय सुरेश भुजेल, सोही ठाउँका ३५ वर्षीय बलराम श्रेष्ठ र पर्सा जिल्लाको ठोरी गौतमनगर बस्ने ५० वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले पुष्टी गरेको छ ।

    सिमेन्टसहित निर्माण सामग्री बोक्ने टेलर बिहान बुलिनटार गाउँपालिकाबाट गैँडाकोटतर्फ आउँदा गैँडाकोट नगरपालिका—३ को सेतिभीरबाट अन्दाजी १ सय मिटर तल खसेको हो ।

  • १ पुसयता बेलायतबाट नेपाल आएका सबै यात्रु होटेल क्वारेन्टिनमा बस्नुपर्ने

    १ पुसयता बेलायतबाट नेपाल आएका सबै यात्रु होटेल क्वारेन्टिनमा बस्नुपर्ने

    काठमाडौं । १ पुसयता बेलायतबाट सिधा उडान वा ट्रान्जिट गरी नेपाल आएका सबै यात्रु अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बेलायतमा नयाँ प्रकृतिको कोरोना भाइरस देखिएपछि नेपालमा समेत उच्च सतर्कता अपनाइएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट एक सातायता नेपाल आएका यात्रुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । उनीहरुले होटेल क्वारेन्टिनमा बसेको ७ देखि १० दिन भित्र पिसिआर परीक्षण गर्नुपर्ने भएको छ ।

    त्यसको नतिजा नेगेटिभ आए मात्र यात्रु घर जान पाउनेछन् । सरकारी प्रयोगशालामा भएको परीक्षण निशुल्क गरिएको समेत मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले आजबाट भने बेलायतबाट नेपालमा यात्रु ल्याउन पूर्णतया रोक लगाएको छ ।

    बेलायतबाट सिधा उडान वा ट्रान्जिट कुनै पनि माध्यमबाट नेपालमा यात्रु ल्याउन पाइने छैन । यस्तो व्यवस्था आज रातीबाट लागु भएको छ । बेलायतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस देखिएसँगै संसारभर बेलायतबाट यात्रा प्रतिवन्ध लगाउने क्रम जारी छ ।

  • सरकारको कदमबारे कांग्रेसको धारणा आज पनि आएन, शीर्ष नेताबीच विवाद

    सरकारको कदमबारे कांग्रेसको धारणा आज पनि आएन, शीर्ष नेताबीच विवाद

    काठमाडौं । सरकारले संसद विघटन गरी नयाँ निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेसमा विवाद चर्कने संकेत देखिएको छ । राजधानीमा जारी केन्द्रिय कमिटिको बैठकको दोस्रो दिन बितिसक्दा पनि कांग्रेसले सरकारको कदमबारे आफ्नो आधिकारिक धारणा बनाउन सकेको छैन । उल्टो बैठकमा शीर्ष नेताहरुबीचमा तिब्र विवाद देखिन थालेको छ ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता संसद विघटन असंवैधानिक भएको भन्दै यसको प्रतिवाद गर्नुपर्ने तर्कमा छन् । सभापति शेर बहादुर देउवा भने अझै पनि सर्वोच्च अदालत र निर्वाचन आयोगका निर्णयहरु आउन्जेल नबोल्ने पक्षमा छन् । यसले कांग्रेसमा स्पष्ट दुई खेमा विभाजन गरिदिएको छ ।

    सभापतिले सोही अनुसार केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउने मुड बनाएको आरोप पौडेल समूहको रहेको छ । त्यसो त देउवालाई नेकपा विभाजनबाट तत्काल प्राप्त हुने लाभबारे ओलीले फकाइसकेको आशंका गरिएको छ ।

    मंगलबारको बैठकमा केन्द्रीय समितिका मात्र चार जना नेतालाई बोल्न दिइएको थियो । आज पनि उत्तिकै नेताले बोले । जसले गर्दा बैठक लम्ब्याउने नियत देखिएको पौडेल पक्षको आरोप छ । आज नेता डा. रामशरण महतले संसद विघटन असंवैधानिक भएको बताएका थिए ।

    नेता गगन थापाले कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले केन्द्रिय कमिटिमा अलमल गर्न नहुने तर्क राखे । प्रधानमन्त्रीले घोषणा गरेको चुनाव हुन नसक्ने भन्दै उनले अदालतलाई पर्खने नभई संसद विघटन असंवैधानिक छ, यसलाई सच्याओस् भन्ने माग उठाउन माग गरे ।

    सडक आन्दोलनकै बलमा सरकारलाई दवाव दिनुपर्ने उनको भनाई छ । आज बोलेका नेता बलबहादुर केसी र आनन्दप्रसाद ढुंगाना समेत संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको पक्षमा उभिए ।

    उनीहरु बोलेपछि आफ्नो धारणा राख्दै सभापति देउवाले कांग्रेस सडकमा जान हतार गर्न नहुने भन्दै संसद विघटनबारे परेको रिटमा सर्वोच्च अदालतको आदेश र नेकपाको आधिकारिकतामा निर्वाचन आयोगले दिने निर्णय कुर्नपर्ने बताए ।

    उनको यो धारणामा भने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए । अरुले के भन्छ भन्दा पनि कांग्रेसले स्पष्ट धारणा बनाएर सडकमा जानु पर्ने उनको भनाई छ ।

  • नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, ९५२ जना संक्रमण मुक्त

    नेपालमा थप ७४३ जनामा कोरोना पुष्टि, ९५२ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको पुगेको छ ।

    थप ९५२ जना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४६हजार ६ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म संक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ रहेको छ ।

  • सेयर बजारको उकालो यात्रा कायमै, लगानीकर्ताको रोजाइमा नेपाल लाइफ

    सेयर बजारको उकालो यात्रा कायमै, लगानीकर्ताको रोजाइमा नेपाल लाइफ

    काठमाडौं । सेयर बजारले आफ्नो उकालो यात्रा कायमै राखेको छ । पछिल्ला दुई दिनमै करिब १२८ अंकले बढेको बजारमा आज सामान्य बढोत्तरी आएको छ ।

    सेयर बजार मापक सूचक नेप्से ७.०४ अंकले बढेर २०६८.४५ बिन्दुमा पुगेको छ । यसदिन २०३ कम्पनीको ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैयाँ बराबरको १ करोड १५ लाख ५८ हजार ९९१ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक राताम्मे भएका छन् भने ३ समूहको परिसूचक हरियो भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३९४.०७ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ५३.०५ अंकले घटेको छ ।

    कारोबारमा आएका २०३ कम्पनीमध्ये जम्मा ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज पनि लगानीकर्ताको रोजाइमा नेपाल लाइफ इन्स्योरेन्स परेको छ । यससाता सर्वाधिक कारोबार हुँदै आएको यस कम्पनीको आज सबैभन्दा धेरै १ अर्ब करोड ४३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    कारोबार रकमकै आधारमा नेशनल लाइफ इन्स्योरेन्स ४५ करोड र एनआइसी एशिया बैंक ३३ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

    सामान्य बढोत्तरी आएको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । नबिल बैंक र समृद्धि फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

    बढ्दो बजारमा आज दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र युनाइटेड इदी मार्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

  • प्रचण्ड–माधव समूह: संसदीय दलको नेतामा प्रचण्ड चयन

    प्रचण्ड–माधव समूह: संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन् ।

    मंगलबार बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा प्रचण्डलाई दलको नेता चुनेको हो । यसअघि नेकपा संसदीय दलको नेता केपी शर्मा ओली थिए।

    बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

  • प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा, सर्वोच्चले अन्तरिम आदेश दिएन

    प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा, सर्वोच्चले अन्तरिम आदेश दिएन

    काठमाडौं । संसद विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    बुधबार भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै यो मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने आदेश दिएको हो ।

    बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, टीकाराम भट्टराई गोविन्द वन्दी, कृष्ण भण्डारी कञ्चनकृष्ण न्यौपाने लगायतले बहस गरेका थिए ।

    विघटनसम्बन्धी रिटमाथिको सुनुवाईमा कानुन व्यवसायी र संवैधानिक कानुनका जानकारहरुले प्रधानमन्त्री र राष्ट्रपतिलाई संसद विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै उनीहरुले गरेकाे काम असंवैधानिक भएको जिकिर गरेका थिए ।

  • ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

    ओमान, साउदी र कुवेतले रोके अन्तर्राष्ट्रिय उडान, नेपाली कामदार प्रभावित

    काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले यूरोपलाई प्रभावित बनाएपछि खाडी मुलुकहरुले धमाधम अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाइरहेका छन् । यसले नेपाल आउने तयारीमा रहेका र वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको नेपालीको यात्रा पुनः प्रभावित हुन थालेको छ ।

    साउदी अरेवियाले पहिलो चरणमा एक साता र दोस्रा चरणमा अर्को एक साता सबै उडानमा रोक लगाएको छ । यता, ओमानले समेत एक हप्ताका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । कोरोना महामारीको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मंगलबारदेखि पुस १४ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको ओमानस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

    ओमानका सम्पूर्ण हवाईस्थलमार्गबाट हुने आवागमन बन्द गरिएको जनाउदै त्यहाँको सर्वोच्च कमिटीले त्यसपछिको भाइरसको विस्तार फैलावटको अवस्थाको आधारमा अर्को निर्णय लिने उल्लेख छ ।

    साउदी र कुवेतले समेत यस्तै नीति अपनाएका छन् । यी मुलुक बढी नेपाली पुग्ने मध्येमा पर्छन् । पछिल्ला दिनमा बेलायतसहित यूरोपका अन्य मुलुकमा नयाँ खालको कोरोना भाइरसले संक्रमण फैलावट लिइरहेको छ ।

  • ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

    ललितपुर । ललितपुर, धोवीघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ ।
    एकान्तकुनाबाट बल्खुतर्फ लागेको बा ०२० प २३६१ नम्बरको मोटरसाइकलले काभ्रेका २७ वर्षिय गोपीकृष्ण खनाललाई ठक्कर दिएको थियो ।

    उनको उपचारका क्रममा गतराती स्टार हस्पिटलमा ज्यान गएको हो । चालक र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उपत्यकामा बढ्दो सवारी चापका कारण पैदल यात्रा समेत असुरक्षित बनेको छ ।

  • नेकपा ओली पक्षले आज प्रदेश भेला गर्दै

    नेकपा ओली पक्षले आज प्रदेश भेला गर्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूह आज प्रदेशस्तरीय कार्यकर्ता भेलाको तयारीमा छ । उक्त समूहको मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आज सातै प्रदेशमा भेला गर्ने निर्णय गरे अनुसार नेताहरुलाई प्रदेशमा खटाइएको छ । पार्टी विभाजनको काम निकै तिब्र गतिमा गरेको यो समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

    दुईदिन भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत रहेको नेताहरुले बताएका छन् । बागमती प्रदेशअन्तर्गत आज काठमाडौंमा प्रदेश कमिटीको दुई दिने प्रशिक्षण भेला आयोजना गरिने भएको छ । यो भेलालाई पार्टीका नेता ईश्वर पोखरेलले सम्बोधन गर्दैछन् ।

    प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललाई नेता तोकि खटाइएको छ ।

  • मेसीले तोडे पेलेको ऐतिहासिक कीर्तिमान

    मेसीले तोडे पेलेको ऐतिहासिक कीर्तिमान

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन स्टार लिओनल मेसीले ब्राजिलियन महान खेलाडीले राखेको ऐतिहासिक कीर्तिमान तोडेका छन् । कुनै पनि एउटा क्लवका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान अब मेसीका नाममा बसेको छ ।

    यो रेकर्ड यसअघि पेलका नाममा थियो । मेसीले ला लिगाअन्तर्गत मंगलबार राती सम्पन्न रियल भालडोलिडविरुद्धको खेलमा गोल गर्दै बार्सिलोनाका लागि करियरमा ६४४ गोलको रेकर्ड राखे । यसअघि गत शनिबार उनले पेलेको कीर्तिमानसँग बराबरी ६४३ औं गोल गरेका थिए ।


    खेलमा बार्सिलोना ३-० ले विजयी भएको छ । मेसीले ६५ मिनेटमा टोलीका लागि तेस्रो र आफ्ना लागि एक कोशेढुंगा गोल गरेका छन् । सम्भवनतः यो कीर्तिमान तोड्न अन्य खेलाडीका लागि असम्भव जस्तै हुनेछ । किनकी मेसी सन् २००४ देखि बार्सिलोनका लागि मात्र खेलिरहेका छन् । पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष खेलेका थिए ।

    त्यहाँ उनले ६५६ खेलमा ६४३ गोल गरेका थिए। यो रेकर्ड तोड्न असम्भव भनिएको थियो । सन् २००४ मा बार्सिलोनाको ए टीममा डेब्यू गरेका मेसीले अहिलेसम्म उक्त टीमलाई ठूलो योगदान गरेका छन् । बार्सिलोनाका लागि उनले १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि दिलाइसकेका छन् ।

  • बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या

    बहिनीले प्रेम विवाह गरेपछि दाजुद्धारा बहिनीको हत्या

    खोटाङ । बहिनीले आफुले रोजेको केटा विवाह नगरी प्रेम विवाह गरेपछि ठूलो बुबाका छोरा (दाजु)ले बहिनीको हत्या गरेका छन् । खोटाङमा यस्तो घटना भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार आफुले मन पराएका प्रेमीसँग प्रेम विवाह गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको विवाह भएको तेस्रो दिनमै दाजुले हत्या गरेका हुन् ।

    उनले पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न बहिनीलाई दवाव दिएको खुल्न आएको प्रहरीले जनाएको छ । सकुन्तलाका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलेको राससले लेखेको छ ।

    करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी हुन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजु सञ्जीवले बहिनी सकुन्तलालाई काम छ भनी घरबाट जङ्गलमा लगि हत्या गरेको खुलेको हो ।

    हत्या भएको अघिल्लो राति दाजु सञ्जीवले फोनमा समेत पटकपटक धम्की दिएको खुलेको छ । घरबाट हिँडेको केही समयपछि नै सकुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला परेको श्रीमानले जानकारी गराएका छन् ।

    घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ । सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको राससले लेखेको छ ।

  • नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड

    नेकपा संसदीय दलको नेता बन्दै प्रचण्ड

    काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेकपाले आज संसदीय दलको नेतामा प्रचण्डलाई छनोट गर्दैछ । त्यसका लागि आज १ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको छ । मंगलबार अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरी दोस्रो अध्यक्षमा माधव कुमार नेपाललाई छानिएको थियो । आज संसदीय दलको बैठकले नेता छान्ने छ ।

    आज १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसदीय दलको बैठक बोलाइएको छ । यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएका कारण उनी संसदीय दलको नेता बन्ने पक्का भएको हो ।

    प्रचण्ड, नेपाल समुहमा प्रतिनिधि सभा सदस्यमध्ये ९० जना सांसद उपस्थित छन् । यो बहुमत संख्या हो । यसअघि मंगलबार नै नेकपाको ओली समुहले आफ्नो समूह आधिकारिक भएको भन्दै पार्टी विभाजनका कामहरु फटाफट गरेको थियो । जसमा नयाँ केन्द्रिय सदस्य थपेर आफ्नो बहुमत देखाइएको छ । यसबारे अब निर्वाचन आयोगले दिने फैसलाबाट औपचारिक रुपमा पार्टी विभाजन हुनेछ ।

  • प्रधानमन्त्रीको कदमबारे कांग्रेस अझै अनिर्णित, आज पनि जारी रहने केन्द्रिय समिति बैठक

    प्रधानमन्त्रीको कदमबारे कांग्रेस अझै अनिर्णित, आज पनि जारी रहने केन्द्रिय समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद विघटन गर्ने गरी चालेको असंवैधानिक कदमको औपचारिक धारणा बनाउन अझै सकेको छैन । यसले कांग्रेस भित्र समेत असन्तुष्टी तिब्र बन्दै गएको छ । खासगरी सभापति शेर बहादुर देउवाको मौन समर्थनमै प्रधानमन्त्रीबाट पछिल्ला कदम चालेको आशंका कांग्रेस भित्रै गर्न थालिएको छ ।

    मंगलबार पार्टीका तर्फबाट धारणा बनाउन बसेको केन्द्रीय समिति बैठक विना निष्कर्ष सकियो । बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि सुरू भएको केन्द्रीय समिति बैठक आज पनि निरन्तर जारी रहने भएको हो ।

    बुधबार दिउँसो १ बजेदेखि बैठक सुरू हुने पार्टी सचिवालयले जनाएको छ । सडक आन्दोलन गर्ने वा प्रधानमन्त्रीको कदमलाई स्वीकार गर्दै पार्टीलाई चुनावमा लैजाने भन्ने निचोडमा पुग्न कांग्रेसलाई मुस्किल परेको छ ।

    यद्दपी मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको कदम निरंकुश र असंवैधानिक भएकोले साथ दिन नसकिने बताए । वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टमा भर पर्न नहुने भन्दै ओली कदमविरूद्ध प्रतिरोधमा जानु पर्ने बताए ।

    कांग्रेसले ११७ जना केन्द्रीय सदस्यकै धारणाबाट निर्णयमा पुग्ने बताएको छ । कांग्रेसले निर्णय ढिला दिने र त्यतिन्जेल प्रधानमन्त्री ओलीको कदमविरूद्ध सर्वोच्चमा परेको रिटको समेत आदेश आउने भएकाले सोही रणनीति अपनाउन लागेको बताइएको छ ।