Author: Vishwanews.com

  • ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन

    ओलीको दाबी: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न सक्दैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन् । आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले प्रतिनिधिसभा पुनर्बहाली हुन नसक्ने बताएका हुन् ।

    उनले ६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको निर्णय अदालतले उल्ट्याउन नसक्ने दाबी भेलामा गरेका हुन् । प्रधानमन्त्री ओलीले नेकपामा आफूले हस्ताक्षर नगरेको कुनै पनि निर्णयले वैधानिकता नपाउने बताएका छन् ।

    आफूलाई अनुशासनको कारवाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने उनले आफु निकटका नेतालाई बताए । सरकारलाई पार्टीभित्रैबाट असहयोग भएकाले अहिलेको अवस्था आएको उनको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले विभिन्न बहानामा सरकारलाई झुलाउने काम भएकाले ताजा जनादेश प्राप्त गर्न नयाँ निर्वाचनमा जानु परेको प्रष्टिकरण पनि दिएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपालले सरकारलाई असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको,पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको आरोप पनि लगाएका छन् ।

    दाहालले पार्टी एकतामा तत्परता नदेखाएका कारण पनि अहिलेको अवस्थामा जानु परेको आरोप उनको छ । ओलीले पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर जनतामाझ जान सांसदहरुलाई निर्देशन समेत दिएका छन् । भेलालाई महासचिव विष्णु पौडेल र पूर्व माओवादी खेमामा लेखराज भट्टले पनि सम्बोधन गरेका छन् ।

  • पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?

    पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?

    काठमाडौं । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् । पुल्चोकस्थित सरकारी निवासमा उनले सोमबार बिहान आफू निकट सांसद र नेताहरुलाई भेलामा बोलाएका हुन् ।

    पुर्व माओवादीमा बादल समुहका ३५ जना केन्द्रिय सदस्य छन् । त्यसैगरी उनको पक्षमा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङ समेत छन् । उनिहरु दुवै जना कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा छन् ।

    भेलामा हितमान शाक्य, मनोज थापा, यशोधा सुवेदी, सूर्यप्रकाश सुवेदी, लेखनाथ न्यौपाने, सावित्रीकुमार काप्ले, अमृता थापा,श्रीराम ढकाल, मायाप्रसाद शर्मा, दिलिपकुमार प्रजापति,सुरेश आलेमगर, रामदीप आचार्य, महेश्वर दाहाल र युवराज भट्टराई सहभागी छन् ।

    गृहमन्त्री बादल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसंग निकट छन् । उनको पक्षमा पुर्व माओवादीका नेताहरु टोपबहादुर रायामाझी,हरिवोल गजुरेल,लेखराज भट्ट र मणी थापा समेत छन् ।

  • ‘पार्टी एकतावद्ध छ, केपी ओलीको गतिविधिले कुनै असर पर्दैन-‘प्रचण्ड’

    ‘पार्टी एकतावद्ध छ, केपी ओलीको गतिविधिले कुनै असर पर्दैन-‘प्रचण्ड’

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका गतिविधिले पार्टी एकतालाई असर नपार्ने बताएका छन् ।

    सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन्।

    ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन’, उनले सोमबार विज्ञप्तिमार्फत भनेका छन् ।

    अध्यक्ष प्रचण्डले नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।

    ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु’, उनले भनेका छन् ।

    अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको बिषय पनि स्मरण गरेका छन् ।

    ‘नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो,’ दाहालको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरूका विरूद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु।’ दाहालले विज्ञप्तिमा भनेका छन् ।

  • इजरायलले अमेरिकी कम्पनीको कोरोना खोप वितरण थाल्यो, दैनिक ६० हजारमा लगाइने

    इजरायलले अमेरिकी कम्पनीको कोरोना खोप वितरण थाल्यो, दैनिक ६० हजारमा लगाइने

    काठमाडौं । इजरायलले आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । दैनिक ६० हजार नागरिकमा खोप लगाउने लक्ष्यसहित इजरायलमा विभिन्न १० अस्पताल र खोप केन्द्रबाट खोप लगाउन शुरु भएको हो । आइतबारबाट शुरु भएको यस अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप प्राप्त गरेका छन् ।

    स्वास्थ्यकर्मीपछि ६० वर्ष भन्दामाथिका उमेर समूहका नागरिकलाई खोप लगाइने भएको छ । स्वास्थ्यकर्मी भन्दा अगाडी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र स्वास्थ्यमन्त्रीले एकसाथ खोप लगाएर कार्यक्रम थालेका थिए । इजरायलमा फाइजर र बायोटेकले विकास गरेको कोरोना खोप लगाउन थालिएको छ । यो अमेरिकी कम्पनी हो ।

    प्रधानमन्त्री नेतन्याहुले सबैलाई खोप लगाउन प्रेरित गर्न आफूले पनि खोप लगाएको प्रतिक्रिया दिएका छन् । इजरायलले फाइजरसँग ८० लाख डोज कोरोना खोपको लागि सम्झौता गरेको थियो । इजरायलमा तीन लाख ७३ हजार ६ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण भइसकेको छ । तीन हजार ८२ जनाको ज्यान गएको छ ।

  • आज प्रधानमन्त्री ओली गूटको भेला वालुवाटारमा

    आज प्रधानमन्त्री ओली गूटको भेला वालुवाटारमा

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफुनो गूटमा रहेका नेता र विघटित प्रतिनिधिसभाका सदस्यहरुलाई वालुवाटारमा भेला गराएका छन् । उनीहरुलाई ९ बजे बिहान आमन्त्रण गरिएको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नयाँ निर्वाचनको मिति तोकिएको छ । यसले निम्तिएको राजनीतिक परिस्थितिका बारेमा नेताहरुलाई ओलीले बिफ्रिंग गर्ने बताइएको छ ।

    प्रधानमन्त्रीमाथि पार्टीले कारवाही गर्ने तयारी गरिरहेको छ । यस अवस्थामा उनी नयाँ पार्टी गठनको प्रक्रियामा समेत जानेछन् । प्रधानमन्त्री स्वयमले निम्त्याएको अस्थिरतालाई अब उनले गूटगत आधारमा भिड्ने मनस्थिति बनाएका छन् ।

  • विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ

    विप्लव समुहले भन्यो : वर्तमान राज्य व्यवस्थाकै विकल्प खोजिनुपर्छ

    काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीले समेत चर्को आलोचना गरेको छ । पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अपनाएको फाँसिवादी चरित्रका कारण वर्तमान राज्य व्यवस्थाको नै विकल्प खोजिनुपर्ने तर्क गरेका छन् ।

    आफु संकटमा पर्दा संसारभरका शासकले अपनाउने उपाय केपी ओलीले अपनाएको भन्दै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको बताएका छन् ।

    ‘नेपाली जनताको अग्रगामी एवम् रूपान्तरणकारी चाहना र दलाल पुँजीवादी सत्ताको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने सङ्घर्षले उनीहरूले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरे पनि यो असफलता र सङ्कट आउनु अनिवार्य थियो‚’ विप्लवले भनेका छन्, ‘जनताको शान्ति र प्रगतिको आकांक्षा पूरा गर्न असफल हुँदा फासिवादको सहाराद्वारा आफ्नो सङ्कट टार्न खोज्ने संसद्‌वादी तत्वहरूको विश्वव्यापी चरित्रअनुरूप पर्ने केपी ओलीले यो कदम चालेका छन्।’

    विप्लवले लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडि बढ्न तयार रहेको समेत बताएका हुन् ।

  • कांग्रेसले आज बोलायो सर्वदलीय बैठक

    कांग्रेसले आज बोलायो सर्वदलीय बैठक

    काठमाडौं । नेपाली कांग्रेसले उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । आज पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । बैठक ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी मध्यावधी चुनाव घोषणा भएपछि यसको व्यापक विरोध भइरहेको छ ।

    तर, स्वयमः कांग्रेस भित्र भने दुई मत देखिएको छ । एक पक्ष निर्वाचनमा भाग लिने तर्कमा छ भने अर्को पक्ष असंवैधानिक कदमको विरोध गर्नुपर्ने पक्षमा छ । सोही सन्दर्भका बीच कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो । बैठकमा सत्तारुढ दल नेकपालाई समेत बोलाइएको छ ।

    प्रधानमन्त्रीको कदमको नेकपाले समेत प्रतिवाद गरिसकेको छ । यसबाहेक जसपा, राप्रपालगायत दललाई कांग्रेसले आमन्त्रण गरेको हो ।

    प्रधानमन्त्री ओलीले आइतबार संसद विघटन गरेका हुन् । आइतबार कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच छलफल भएको छ । छलफलमा प्रधानमन्त्रीको कदम असंवैधानिक र निरंकुश रहेको निष्कर्ष निकालिएको थियो ।

  • सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने

    सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने भएको छ । उनिमाथि कारवाहीको निर्णयको प्रस्ताव पुस ७ मा बोलााइएको केन्द्रीय कमिटीको बैठकमा पेश हुने भएको छ ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको हो । यो कदमको राजनीतिकसँगै कानुनी उपचार खोज्ने निर्णय भएको समेत प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर समेत स्थायी कमिटी बैठकले गरेको छ । पुस ७ गतेका लागि बोलाइएको आकस्मिक केन्द्रीय कमिटी बैठकले यसबारे निर्णय गर्ने भएको छ ।

    सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरमा नेकपा संसदीय दलको बैठक समेत बस्ने भएको छ । सोमबार दिउँसो ३ बजे नै स्थायी कमिटीको बैठक समेत बोलाइएको छ । बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

    आजको स्थायी कमिटि बैठकमा प्रचण्ड र माधव नेपाल समुहका ३१ जना सदस्य उपस्थित भएका थिए । ओली र उनी समर्थक नेता भने सहभागी भएनन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमै भएको थियो ।

  • नेपालमा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमितको मृत्यु

    नेपालमा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना संक्रमितको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४३ हजार ६ सय ६४ जना कोरोना संक्रमित निको भएका छन् ।

    हालसम्म १८ लाख ७० हजार ८ सय ३० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ८८ जना पुगेका छन् ।

  • सात मन्त्रीले दिए सामूहिक राजीनामा, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ओली पक्षमा

    सात मन्त्रीले दिए सामूहिक राजीनामा, गृहमन्त्री थापा र उद्योग मन्त्री भट्ट ओली पक्षमा

    काठमाडौं । संसद विघटनको विरोधमा सात जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । एक कार्यक्रमकाबीच पूर्व माओवादी र पूर्व एमालेको माधव नेपाल समूहबाट मन्त्री भएकामध्ये सात जनाले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा पूर्व माओवादी समूहबाट मन्त्री भएका वर्षमान पुन, शक्‍तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र बिना मगर रहेका छन् ।

    यसैगरी माधव नेपाल समूहबाट मन्त्री भएका घनश्याम भुसाल र योगेशकुमार भट्टराईले पनि राजीनामा दिएका छन्। गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने राजिनामा दिएनन्।

    शनिबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीको क्वाटर बालुवाटार पुगेका थिए।

    थापा सरकारमा सामेल भएसँगै प्रधानमन्त्री ओली निकट बनेका थिए। तर अन्तिम समयमा पूर्व माओवादी एक ठाउँमा रहने पूर्व माओवादी कित्ताको अपेक्षा विपरित थापा र भट्ट सरकारमै बसेका हुन्। त्यस्तै सुदुरपश्चिममा भीम रावलसँग प्रचण्ड नजिकिएपछि भट्ट ओली कित्तामा पुगेका थिए।

  • नेपाली सेयर बजारमा भीषण पहिरो, आधा दर्जन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    नेपाली सेयर बजारमा भीषण पहिरो, आधा दर्जन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

    काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै आएको राजनीतिक तरंगको प्रभाव सेयर बजारमा देखिएको हो ।

    राजनीतिक अस्थिरता छाउने संकेत देखिएसँगै लगानीकर्ताको मनोबल गिर्दा बजारमा ९७ अंकको पहिरो गएको हो । नेप्से इतिहासमै यो दोस्रो ठूलो गिरावट हो ।यसअघि मंसिर २१ गते इतिहासमै धेरै एकै दिन १२३ अंकले घटेको थियो ।

    सेयर बजार मापक सूचक नेप्से ९६.८८ अंकले घटेर १९३५.६३ बिन्दुमा आइपुगेको छ । यसदिन १९८ कम्पनीको ९ अर्ब ५२ लाख ५८ हजार ९३ रुपैयाँ बराबरको १ करोड ३३ लाख ३९ हजार ५७३ कित्ता सेयर किनबेच भएका छन् ।

    आज कारोबारमा आएका १२ वटै समूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ६६९.६१ अंकले घटेको छ ।

    कारोबारमा आएका १९८ कम्पनीमध्ये जम्मा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    आज लगानीकर्ताको रोजाइमा शिखर नेपाल लाइफ इन्स्योरेन्स परेको छ । भाउ घटेको बेला सस्तोमा सेयर किन्ने हाबी हुँदा यस कम्पनीको मात्र १ अर्ब बढीको कारोबार भएको छ । नेपाल लाइफ एकैदिन १ अर्ब बढीको सेयर कारोबार हुने दोस्रो कम्पनी बनेको छ । यसअघि पुनर्बीमा कम्पनीको एकैदिन १ अर्ब बढीको कारोबार भएको थियो ।

    घट्दो बजारमा आज युनाइटेड इदी मार्दी कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । आजबाटै कारोबारमा आएको यस कम्प्नीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

    भीषण पहिरो गएको बजारमा आज करिब आधा दर्जन कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सूर्योदय, नेरुडे, स्वावलम्वन लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, अपर तामाकोशी, फरवार्ड लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।

  • अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू

    अख्तियार प्रमुखमा पूर्वसचिव प्रेमकुमार राई , यी हुन् संवैधानिक परिषद्ले सुटुक्क गरेका सिफारिसहरू

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्।

    संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो । चन्द पूर्वएआइजी हुन्। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा देउवाले चन्दलाई प्रहरी महानिरीक्षक बनाउन जोड गरेका थिए।

    तर, चन्दलाई सर्वोच्च अदालतले महानिरीक्षक नियुक्तिबाट रोक लगाएको थियो। चन्द सुदूरपश्चिमका हुन्।

    उक्त निर्णय गोप्य राखिए पनि केहीबेर अघि संसद सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको छ। तर पत्र पुग्दा नपुग्दै सरकारको सिफारिसमा प्रतिनिसभा विघटन भइसकेको छ।

    अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन्। उनले झन्डै एक वर्षअघि सचिवबाट अवकाश पाएका थिए।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग

    प्रेमकुमार राई (प्रमुख आयक्त)

    जयबहादुर चन्द (आयुक्त)

    किशोरकुमार सिलवाल (आयुक्त)

    निर्वाचन आयोग

    वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त)

    डाक्टर जानकी तुलाधर (आयुक्त)

    राष्ट्रिय मानव अधिकार आयोग

    तपबहादुर मगर (अध्यक्ष)

    मनोज दवाडी (सदस्य)

    डा सूर्य ढुङ्गेल (सदस्य)

    लिली बस्नेत थापा (सदस्य)

    मिन ठाकुर (सदस्य)

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

    जुद्ध गुरुङ (सदस्य)

    अमर राज मिश्र (सदस्य)

    महिला आयोग

    कमलाकुमारी पराजुली (अध्यक्ष)

    कृष्णकुमारी पौडेल खतिवडा (सदस्य)

    विद्याकुमारी सुनार (सदस्य)

    दलित आयोग

    देवराज बिक (अध्यक्ष)

    मिना शोब (सदस्य)

    परशुराम रम्तेल (सदस्य)

    कुञ्ज बराइली (सदस्य)

    मेहेने पार्थी (सदस्य)

    समावेशी आयोग

    मानप्रसाद खत्री (अध्यक्ष)

    रामकृष्ण तिमिल्सिना (सदस्य)

    हरिदत्त जोशी (सदस्य)

    आदिवासी जनजाती आयोग

    रामबहादुर थापा (अध्यक्ष)

    मिनश्रीस मगर (सदस्य)

    मिनचुङ लामा (सदस्य)

    रिमा राना (सदस्य)

    शरण राइ (सदस्य)

    मधेशी आयोग

    जीवत्व साह (सदस्य)

    रेणुदेवी साह (सदस्य)

    विजय गुप्ता (सदस्य)

    थारु आयोग

    विकास चौधरी (सदस्य)

    बबिता चौधरी(सदस्य)

    सुबोध सिंह (सदस्य)

    भोलाराम चौधरी (सदस्य)

    मुस्लिम आयोग

    मोहम्मदिन अलि (सदस्य)

    मिर्जा अरसद बेग (सदस्य)

  • राष्ट्रपतिद्वारा संसद विघटन, आउँदो वैशाख १७ र २७ गते निर्वाचन घोषणा

    राष्ट्रपतिद्वारा संसद विघटन, आउँदो वैशाख १७ र २७ गते निर्वाचन घोषणा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।

    आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसहितको प्रस्ताव स्वीकृतीका लागि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालयमा गएका थिए ।

    नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन। संविधानको धारा ८५ को १ मा यस संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ’भन्ने उल्लेख छ ।

    संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ ।

    प्रतिनिधि सभाको विघटन गरेसँगै २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल बैशाख २७ गते सोमबार दोश्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने गरि मिति तोकिएको हो।

    संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मान्यताको आधारमा ताजा जनादेशमा जान मन्त्रिपरिषद्बाट सिफारिस भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

  • कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण

    कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु, ५२ हजारभन्दा बढीमा संक्रमण

    काठमाडौं । कोरोना रोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ। यो साता मलेसियामा र केन्यामा थप एक–एक जना नेपालीको निधन भएको छ।

    एनआरएनएका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जना नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ। तीमध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपाली कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्। यो कूल संक्रमितको ९४ प्रतिशत रहेको हो।

    शनिवार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका ३ सय १२ जना जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

    एनआरएनए अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

  • संविधानमा संसद विघटनसम्बन्धी यस्तो छ व्यवस्था, सिफारिसपछि अब के हुन्छ ?

    संविधानमा संसद विघटनसम्बन्धी यस्तो छ व्यवस्था, सिफारिसपछि अब के हुन्छ ?

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।

    आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघटनका लागि सिफारिस गरेका हुन् ।ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् ।

    नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट देखिँदैन । संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।

    संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको चुनाव सम्पन्न हुने गरी मिति तोक्ने उल्लेख छ ।

    प्रधानमन्त्रीको यो निर्णय राष्ट्रपतिले अनुमोदन गरे २०७४ सालमा निर्वाचित संसद औपचारिक रुपमा विघटन हुन्छ । त्यसपछि राज्यका तीन निकाय कार्यपालीका, व्यवस्थापिका र न्यायपालिका मध्य सबैभन्दा महत्वपूर्ण व्यवस्थापिका हुदैन।

    अन्तिम फैसला गर्ने अधिकार भने न्यायपालिकामा हुनेछ । ओलीले संसद विघटन गरेका निर्णय खारेज गरी पाउ भनेर छिट्टै सर्वोच्च अदालतमा रिट निवेदन दायर हुनेछ । त्यसपछि संसद विघटनको वैधानिक कि अवैधानिक जाच्ने अधिकार सर्वोच्च अदालतमा पुग्नेछ।

    त्यहीबीचमा वर्तमान कामचलाउन सरकारले नयाँ चुनावको मिति घोषणा गर्न सक्नेछ ।

  • संविधानविद्हरु भन्छन्- ‘संसद् फेस गर्न सक्दिनँ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो, विघटनको अधिकार छैन’

    संविधानविद्हरु भन्छन्- ‘संसद् फेस गर्न सक्दिनँ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो, विघटनको अधिकार छैन’

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न राष्ट्रपतिलाइ गरेको सिफारिस असंवैधानिक भएको संविधानविदले बताएका छन् ।

    वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । हाम्रो संविधानमा संसद विघटनको प्रावधान छैन’ थापाले भने ।

    अर्का संबिधानविद डा। भीमार्जुन आचार्यले प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न नसक्ने बताए । उनले बहुमत सिद्ध भएको प्रधानमन्त्रीले संसद् विघटन गर्नै नसक्ने दाबी गरे ।

    नेपाल वार एसोसियनका पूर्व अध्यक्ष शेरबहादुर केसीले प्रधानमन्त्री ओलीले संविधान मै नभएको कदम चालेर संवैधानिक कू गरेको बताएका हुन् ।

    संविधानविद विपिन अधिकारीले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर उदण्डता देखाएको बताएका छन् । उनले संसद विघटन गर्ने कुनै अधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको पनि उल्लेख गरेका छन् ।

    ‘यदि प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिन सक्दिनँ भन्ने लाग्दछ वा अविश्वासको प्रस्तावलाई फेस गर्न नसक्ने लाग्दछ भने उहाँले राजीनामा गर्न सक्नुहुन्छ । तर, प्रतिनिधिसभा भंग गर्ने उहाँको अधिकार छैन,’ उनले भने ।

    त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसद विघटन गर्ने ओलीको निर्णयलाई संविधानको हत्याको संज्ञा दिएका हुन् । ‘जबसम्म संसदबाट सरकार बन्नसक्छ तबसम्म संविधानमा संसद विघटनको कुनै प्रावधान छैन’ वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘यसरी संसद विघटन गर्नु भनेको संविधानको हत्या हो, प्रधानमन्त्रीले ‘कू’ गरेका हुन् ।’

  • संसद विघटनको सिफारिस संविधान विपरीत, अधिनायकवादी आकांक्षा- कांग्रेस

    संसद विघटनको सिफारिस संविधान विपरीत, अधिनायकवादी आकांक्षा- कांग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति आपत्ति जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक राखी संसद विघटन गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्री ओलीको उक्त कदम संविधान, लोकतन्त्रको मर्म र राष्ट्रहित विपरीत रहेको वरिष्ठ नेता पौडेलले टिप्पणी गरेका छन्।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त सिफारिसकोे प्रतिवाद गर्ने बताउँदै संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताए ।

    ‘यो संविधान विपरीत छ, लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्रहित विपरीत छ। अहिलेको संविधानअनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन। यो फिर्ता गर्नु पर्दछ।’

  • संसद विघटनको प्रस्ताव पारित गरेर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

    संसद विघटनको प्रस्ताव पारित गरेर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका छन्।

    मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।

    राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ। आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

    ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिएनन् । त्यसपछि प्रचण्ड खुमलटार फर्किएका छन् ।

  • प्रधानमन्त्री ओलीद्वारा संसद विघटनका लागि सिफारिस

    प्रधानमन्त्री ओलीद्वारा संसद विघटनका लागि सिफारिस

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले संसद विघठनका लागी सिफारीस गरेका हुन् । प्रधानमन्त्री ओली उक्त निर्णय गरेर हिडेका छन् । तर,मन्त्रीहरु भने बैठकमा बसिरहेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमा भएको बेला प्रधानमन्त्रीले उक्त निर्णय गरेका हुन् ।

    यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो। नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो।

    प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए। तर, प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ।

  • डान्सिङ्ग विथ द स्टार्सको उपाधी सुमी-बिजुको जोडीलाई

    डान्सिङ्ग विथ द स्टार्सको उपाधी सुमी-बिजुको जोडीलाई

    काठमाडौं । हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले जितेको छ । शनिबार राती सम्पन्न फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई उछिन्दै सुमी मोक्तान र बिजु पार्कीको जोडीले उपाधी कब्जा गरेको हो । यो उपाधी विजेता जोडीले बिजेताले २० लाख नगदसहित पुरस्कार प्राप्त गरेका छन् ।

    फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्न सफल भयो । सेकेन्ड रनरअपको उपाधी प्रियना आचार्य र सुभम् भुजेलले प्राप्त गरे । फाइनलमा दर्शकले गरेको भोटिङलाई मूख्य आधार मानिएको आयोजकले जनाएको छ । एक जना स्टार कलाकार र अर्को कोरियोग्राफ मिलेर जोडी बनाइएको थियो । सोही आधारमा नृत्य प्रतियोगिता भएको हो ।

  • मेसीले गरे कीर्तिमानी गोल, पेलेको रेकर्ड बराबरी

    मेसीले गरे कीर्तिमानी गोल, पेलेको रेकर्ड बराबरी

    काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले शनिबार राती ऐतिहासिक रेकर्ड बनाएका छन् । ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान भेट्टाउन सफल भएका हुन । एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसँग मेसीले बराबरी गरेका छन् ।

    भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि मेसीले करियरको ६४३ औं गोल गरे । यो संख्या महान फुटबलर पेलेले ब्राजिलियन क्लब सान्तोषका लागि गरेको अलटाइम करियर गोल थियो । मेसी सन् २००४ यता निरन्तर बार्सिलोनाबाट खेलिरहेका छन् ।

    सोहीकारण उनलाई यो ऐतिहोसिक अवसर प्राप्त भएको हो । जुन इतिहासमा सायदै अर्को खेलाडीले तोड्न सक्नेछन् । मेसीले बार्सिलोनाबाट खेल्दै कैयौं विश्वरेकर्ड कायम गरेका छन् । जसले उनलाई इतिहासकै सफल खेलाडी बनाउन सहयोग गरेको छ ।

    भ्यालेन्सियाबिरुद्ध शनिबार राति पहिलो हाफको इन्जुरी समयमा उनले दुर्लभ हेड गोल गरे । होचो कदका उनले हेडगोल एकदमै कम गरेका छन् ।


    मेसीले बार्सिलोनाका लागि अहिलेसम्म १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितिसकेका छन् । उनी सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि जित्ने एक मात्र खेलाडी हुन् ।

  • जाडो भगाउन बालेको आगो घरमा सल्कियो, किशोरको जलेर मृत्यु

    जाडो भगाउन बालेको आगो घरमा सल्कियो, किशोरको जलेर मृत्यु

    विराटनगर । नेपालको तराईदेखि हिमालसम्म चिसो अत्यधिक बढेको छ । यसले जनजीवन प्रभावित बनाइरहेको छ । चिसो भगाउन घरमा बालेको घुरको आगोले घर नै जलेपछि विराटनगरमा एक किशोरको ज्यान गएको छ । प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् । शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगो घरमा सल्किएको थियो ।

    विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको जलेर मृत्यु भएको छ । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी र सात वर्षीय छोरा किसनकुमार भने घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते आमा–छोराको कोशी अस्पताल विराटनगरमा उपचार जारी छ । आगलागीको समयमा राजेशकुमार घरमा नभएको पाइएको छ । घुर ननिभाई सुतेका कारण त्यसले घरमा आलो सल्किएको अनुमान प्रहरीले गरेको छ ।

  • बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

    बैतडीमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

    बैतडी । बैतडीमा ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको मेलौली नगरपालिका–९ स्थित असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको छ ।

    सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर सडकबाट एक सय मिटर तल खसेको थियो । दुर्घटनामा परी मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले पुष्टी गरेको छ ।

    कैलालीको गौरीगंगा नगरपालिका–३ का अन्दाजी २५ वर्षीय ट्याक्टर चालक अमृत चौधरी भने सामान्य घाइते भएका छन् । कच्ची सडकमा ट्याक्टर सडकबाट तल खसेको हो ।

  • हिन्दु राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले प्रदर्शन गर्ने

    हिन्दु राष्ट्र र राजसंस्था माग गर्दै राप्रपाले प्रदर्शन गर्ने

    काठमाडौं । नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको माग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शन गर्ने भएको छ । आगामी पुस १७ गते राजधानी केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको हो । शनिबार काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा नेताहरुले यस्तो जानकारी दिएका हुन् ।

    राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा देशभर उठेको आवाजमा आफूहरुको पनि समर्थन रहेको उल्लेख गरे । उनका अनुसार राप्रपाले झापा, मकवानपुर लगायतका जिल्लामा प्रदर्शन गरिसकेको छ ।

    पुस १७ गते काठमाडौं उपत्यकामा पनि प्रदर्शन गर्न लारिएको उनको भनाई छ । सरकारले जनताको अभिमतको दुरुपयोग गरिरहेको, महँगी नियन्त्रण, बेरोजगारी समस्या समाधान गर्न, भ्रष्ट्राचार नियन्त्रण गर्न, संगठित धर्म परिवर्तन रोक्न सरकार असफल भएको आरोप समेत राप्रपाको रहेको छ ।

    राप्रपाका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुनःस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको उल्लेख गरे । राप्रपाले अंगिकार गरेका एजेण्डाहरुलाई सुन्न समेत नचाहनेमा बहस सुरु हुनु सुखद रहेको भन्दै उनले देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

  • शनिबार दिनभर प्रधानमन्त्रीको दौडधुप, अध्यक्षदेखि मन्त्री भेट्न निवासमै धाए

    शनिबार दिनभर प्रधानमन्त्रीको दौडधुप, अध्यक्षदेखि मन्त्री भेट्न निवासमै धाए

    काठमाडौं । पार्टी भित्रको आन्तरिक विवादमा यसअघि केन्द्रमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आजको दौडधुपपछि भने केही बेचैन भएको देखिएको छ । वालुवाटारमै पार्टी भित्रका अनेक बैठक बहिष्कार गर्दै आएका प्रधानमन्त्री ओली आज भने कार्यकारी अध्यक्ष प्रचण्डदेखि मन्त्रीहरुलाई समेत भेट्न उनीहरुको निवासमै धाए । उनको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    प्रधानमन्त्री यसअघि आक्रामक थिए । तर, उनीविरुद्ध पार्टी भित्र र बाहिर माहौल प्रतिकुल बन्दै गएपछि अन्ततः प्रधानमन्त्री आफै माहौल साम्य बनाउन कम्मर कसेर लागेका छन् । शनिबार उनी दिनभरजसो राजनीतिक भेटवार्तामा व्यस्त भए । ति भेटवार्ता आज केवल वालुवाटारमा सिमित भएनन् ।

    आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका उनले आफ्ना विरुद्धको आरोप पत्र फिर्ता दिन आग्रह गरे । प्रचण्डले विवादास्पद अध्यादेश फिर्ता लिन गरिएको सहमति कार्यान्वयन गर्न र विगतका सहमति कार्यान्वयमा जोड दिए ।

    दुई अध्यक्षबीच भेटवार्ता भएकै समयमा उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगे । खुमलटारमा तीन नेताबीच झण्डै २ घण्टा छलफल भएको हो । खुमलटारबाट निस्किएपछि भने ओली नेकपा सचिवालय तथा गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगेका थए ।

    त्यहाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेत आए । यसरी आज दिनभर जसो प्रधानमन्त्री महत्वपूर्ण भेटवार्तामा सहभागी भएका छन् ।

    उता, प्रधानमन्त्री निस्किएपछि भने पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । मन्त्री निवासबाट निस्किएका प्रधानमन्त्री त्यसपछि भने राष्ट्रपति निवास बालुवाटार पुगेका थिए । यो भेटवार्ताको विषयवस्तु भने खुलेको छैन ।

  • दुई विपक्षी दलको बैठक, संसद बोलाउन माग

    दुई विपक्षी दलको बैठक, संसद बोलाउन माग

    काठमाडौं । दुई विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच आज छलफल भएको छ । बैठकले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । छलफलमा संसदको अधिवेशन बोलाउन माग गर्ने निर्णय भएको नेताहरुले जनाएका छन् । यसअघि कांग्रेस पदाधिकारी बैठकले समेत संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

    कांग्रेसको प्रस्तावअनुसार शनिबार दुई दलका नेताहरुबीच छलफल भएको छ । बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल सहभागी थिए । जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी भए । संसदमा समन्वय गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउन दुबै दलका नेता सहमत रहेको नेताहरुले जनाएका छन् ।

  • खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार

    खुमलटार छलफलः आरोपपत्र फिर्ता लिन ओलीले गरेको आग्रह प्रचण्डद्धारा अस्वीकार

    काठमाडौं । पार्टीभित्र देखिएको विवाद र प्रचण्ड–नेपाल समूहले आफूमाथि दबाब बढाएपछि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट र छलफल बढाएका छन्।

    शनिबार नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान प्रचण्ड निवासमै पुगेर भेटघाट गरेका थिए ।

    भेटवार्तामा दुई अध्यक्षबीच पार्टीभित्र उत्पन्न विवाद समाधानका विषयमा कुराकानी भएको हो। प्रधानमन्त्री ओली अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पहिलो पटक पुगेका थिए।

    दुई अध्यक्षबीचको भेटवार्तामा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका थिए। प्रचण्डलाई भेटेर सचिवालय बैठकमा पेश गरेको लिखित आरोपपत्र फिर्ता लिन आग्रह गरेका छन् ।

    जवाफमा अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत भइसकेको प्रस्ताव फिर्ता नहुने भन्दै स्थायी कमिटीको बैठकमा छलफल गरेर निष्कर्षमा पुग्ने बताए स्रोतले जनाएको छ ।

    स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा दुई अध्यक्षबीच छलफल भएको हो । खुमलटारमा दुई अध्यक्षबीचको छलफल चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । ओली र गौतम प्रचण्डनिवासबाट बाहिरिएलगत्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।

    पछिल्लो समय ओली प्रचण्डबीच लिखित प्रस्तावको दोहोरी चलिरहेका बेला ओलीले संवैधानिक परिषद् सम्बन्धी विवादास्पद अध्यादेश जारी गरेपछि नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेको छ । त्यस लगत्तै ओलीले नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्।

    शनिबार बिहान कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री ओली प्रचण्डसँगको भेटपछि सिधैँ गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका हुन्।

    पार्टीभित्रको आन्तरिक विवाद चरोमत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार र थापालाई मन्त्रीनिवास पुल्चोकमा नै पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच शुक्रबार साँझ बालुवाटारमा भेटवार्ता भएको थियो।

  • थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७७७ पुग्यो

    थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७७७ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमतिको मृत्यु भएको हो ।

    यो सहित अहिलेसम्म नेपालमा १७७७ जना संक्रमितको मृत्यु भएको छ ।

  • नेपालमा थप ७१० जनामा कोरोना पुष्टि, ११७५ जना संक्रमण मुक्त

    नेपालमा थप ७१० जनामा कोरोना पुष्टि, ११७५ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७१० जनामा कोरोना संक्रमण देखिएको हो ।

    यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको पुगेको छ । थप ११७५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त मुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ८४० जना रहेका छन् ।

  • अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

    अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

    काठमाडौं । अमेरिकी उपराष्ट्रपति र माइक पेन्स तथा उनकी श्रीमतीले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गरेका छन् । नागरिकमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार कोभिड १९ विरूद्धको खोप लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

    खोप लगाउँदा संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । उच्च सरकारी अधिकारीले खेप प्रयोग गर्दा नागरिकमा खोप प्रयोगको आत्मविश्वास र खोपको विश्वसनीयता समेत बढ्ने बताइएको छ ।

    ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा आत्मविश्वास बढाउन आफुले शरुमै सेवा लिएको प्रतिक्रिया दिएका छन् । अमेरिका विश्वमा सबैभन्दा प्रभावित मुलुक हो ।