Author: Vishwanews.com

  • अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

    अब सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क

    काठमाडौं । अब सरकारी अस्पतालमा कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको बताइएको छ । सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण समेत निःशुल्क गरिने छ ।

    यसअघि सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । सरकारले यो फैसला पुनरावेदनका लागि निवेदन दिएको थियो । उक्त निवेदन सर्वोच्चबाट खारेज भएपछि सरकारले निर्णय सच्याउन बाध्य भएको हो ।

  • न्यूजिल्याण्डकी प्रधानमन्त्रीको देशबासीलाई उपहार, साना व्यवसायीले राहत पाउने

    न्यूजिल्याण्डकी प्रधानमन्त्रीको देशबासीलाई उपहार, साना व्यवसायीले राहत पाउने

    काठमाडौं । न्यूजिल्याण्डमा नवगठित सरकारले आफ्ना मतदाता तथा नागरिकका लागि आकर्षक सहुलियत प्याकेज ल्याएको छ । खासगरी साना व्यवसायीलाई बचाई राख्न विषेश राहत कार्यक्रम ल्याइएको हो ।

    लेबर पार्टीबाट नवगठिन सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण साना तथा मझौला उद्योगमा ठूलो प्रभाव परेको छ ।

    प्रधानमन्त्री जसिन्दा अर्डेर्नले साना व्यवसायी अर्थतन्त्रको महत्वपूर्ण अंश भएको बताउँदै अर्थतन्त्र बचाउन प्याकेज ल्याइएको बताएकी छिन् । उनका अनुसार यस अगाडी नै ल्याएका सहुलियत प्याकेजको अवधि समेत थप भएको छ ।

    मन्त्रिपरिषद् बैठकपछि उनले देशबासीका नाममा सम्बोधन गरेकी थिइन । यसवर्ष म्याद सकिन लागेका राहत तथा सहुलियत कार्यक्रम सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने उनको भनाई छ ।

    सरकारको घोषणा अनुसार अब साना व्यवसायीले एक बर्षदेखि दुई बर्षसम्म व्याज मिनाहा सहुलियत पाउने छन् । न्यूजिल्याण्डमा नवगठिन सरकारका मन्त्रीले शुक्रवार सपथग्रहण गरेका थिए ।

    सोमवार पहिलो बैठक बसेको छ । अर्डेर्नले लगातार दोस्रो कार्यकाल सम्हालेकी हुन् । कोरोना भाइरसको महामारी व्यवस्थापन प्राप्त सफलताका लागि उनी दोस्रो पटक समेत लोकप्रिय मतसहित विजयी भएकी छिन् । एजेन्सी

  • किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे

    किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले मारे

    बैतडी । बैतडीमा १८ वर्षीया माया महताको ज्यान लिएको चितुवालाई स्थानीयले मारिदिएका छन् । सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया महतालाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो । डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न पुगेकी उनलाई चितुवाले सोमबार दिउँसो आक्रमण गरेको थियो ।

    चितुवाले आक्रमण गरी उनलाई मारेपछि पनि लास छोडेको थिएन । त्यसपछि स्थानीयले घेरा हाली ढुंगामुढा र घरेलु हतियारले चितुवामाथि आक्रमण गरेका थिए । सोहीक्रममा चितुवा मरेको बताइएको छ । चितुवा मार्ने क्रममा स्थानीय मानिससमेत घाइते भएका थिए ।

    मायासँगै गएका अन्य महिलाले गाउँलेलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थलमा प्रहरी पुग्नुभन्दा अगाडी नै स्थानीयले चितुवालाई मारिदिएका छन् । उक्त स्थानमा आइतबार नै डडेल्धुराको भागेश्वरका १२ वर्षीय बालकको समेत चितुवाले ज्यान लिएको थियो ।

  • हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टिभिबाट आउने

    हास्य टेलिश्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टिभिबाट आउने

    काठमाडौं । नेपालको लोकप्रिय हास्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ। कोरोना महामारीका कारण यो श्रृङ्खला रोकिएको थियो । यसअघि नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको ‘सक्किगोनी’ अब हिमालय टिभिबाट आउने गरी सम्झौता भएको हो ।

    कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’का अनुसार आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने ‘सक्किगोनी’ श्रृङखलालाई जेपिटी क्रियसनले निर्माण गर्ने भएको छ । कार्यक्रमको बजारीकरणको जिम्मा एपप्याड प्रालिले पाएको छ ।

  • नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?

    नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९८ जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ५९ हजार ७ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन्।

    हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ जना रहेका छन् ।

    कुन जिल्लामा कति थपिए ?

    प्रदेश १ को इलाममा ५, उदयपुरमा १२, ओखलढुंगामा ३, खोटाङमा २, झापामा ३३, तेह्रथुममा १, धनकुटामा ४, पाँचथरमा ५, भोजपुरमा २, मोरङमा १ सय ४८, संखुवासभामा ३ र सुनसरीमा ९१ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धुनषामा १२, पर्सामा १०, बारामा ३, महोत्तरीमा ७, रौतहटमा ५, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ११ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ३६ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ४७, चितवनमा २८, दोलखामा ४२, धादिङमा ५, नुवाकोटमा ८, भक्तपुरमा ९१, मकवानपुरमा ४२, रसुवामा १, रामेछापमा ५, ललितपुरमा २ सय १, सिन्धुलीमा ५ र सिन्धुपाल्चोकमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय ५१, गोरखामा १३, तनहुँमा १८, नवलपरासी पूर्वमा ११, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा २ र स्याङजामा १७ जनामा कोरोना पुष्टि भएको छ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा २९, गुल्मीमा ४, दाङमा ११, नलवपरासीमा ९, पाल्पामा २४, प्यूठानमा २, बर्दियामा ३, बाँकेमा ८ र रुपन्देहीमा ८५ जनामा कोरोना पाइएको छ।

    यस्तै, कर्णाली प्रदेशको जुम्लामा ५, दैलेखमा १३ र सुर्खेतमा ७ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिमको अछाममा ९, कञ्चनपुरमा २५, कैलालीमा ६६, डडेल्धुरामा १५, डोटीमा १०, दार्चुलामा ११, बझाङमा १२, बाजुरामा १० र बैतडीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो

    कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ११२६ पुग्यो

    काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको हो ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतबार २१ जनाको मृत्यु भएको थियो । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

  • काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।

    योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित पुगेका छन्।

  • संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’ मात्र लेख्‍ने सरकारको निर्णय रोक्न निर्देशन

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा ‘नेपाल’ मात्र लेख्‍ने सरकारको निर्णय रोक्न निर्देशन

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

    सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो।

    गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले नेपालको आधिकारिक नाम ुसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालुबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाएर ‘नेपाल’ मात्र बनाउने निर्णय गरेको थियो।

    देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे समितिले परराष्ट्रमन्त्रीसँग छलफल गरेको थियो ।

    छलफलको क्रममा ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको भन्दै मन्त्रिपरिषद्को निर्णयको बचाऊ गरेका थिए ।

    त्यस्तै, नेकपाका सांसदहरु विजय सुब्बा र नवराज सिलवालले पनि सरकारको निर्णयमा आफ्नो सहमति रहेको भन्दै कुनै निर्देशन दिन नपर्ने धारणा राखेका थिए ।

    विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा समेत नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘फेडेरल डेमाक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरिएको थियो ।

  • बाइडेनको योजना : कोभिड प्रमुख प्राथमिकता, सात देशमा यात्रा प्रतिबन्धको अन्त्य

    बाइडेनको योजना : कोभिड प्रमुख प्राथमिकता, सात देशमा यात्रा प्रतिबन्धको अन्त्य

    काठमाडौं । अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनले कोभिड-१९ महामारीसँग जुझ्ने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने उनको टोलीले जनाएको छ ।

    उनी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका हुन । उनको टोलीका अनुसार अमेरिकामा कोभिड परीक्षणको दायरा बढाइनेछ र सर्वसाधारणहरूलाई मास्क लगाउन भनिनेछ । बाइडेनले जातीय विभेद र जलवायु परिवर्तन जस्ता मुद्दाको सामना गर्दै अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

    तर ट्रम्पले हार स्वीकारेका छैनन्
    राष्ट्रपति ट्रम्पले भने हालसम्म हार स्वीकार गरिसकेका छैनन् र बाइडेनको जित प्रक्षेपणमै सीमित छ । केही महत्त्वपूर्ण राज्यहरूमा मतगणना जारी छ । तर अमेरिकाका मुख्य नेटवर्कहरूले निर्वाचनमा उनी विजयी भएको भनेसँगै डेमोक्र्याटिक दलका तर्फबाट निर्वाचनमा सहभागी उनी जनवरी महिनामा सत्ता सम्हाल्ने योजनासहित तयारीमा जुटेका छन् ।

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार बाइडेनको नेतृत्वमा अमेरिकाले प्यारिस सम्झौता पुन: स्वीकार गर्नेछ । त्यस्तै अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय पनि बाइडेनले बदर गर्ने बताइएको छ । ट्रम्प प्रशासनले सात वटा मुलुकमा जारी गरेको यात्रा प्रतिबन्धको व्यवस्था पनि अन्त्य गरिने बताइएको छ । ती सात मुलुकमा अधिकांश मुस्लिम राष्ट्र छन् ।

    ‘निको हुने समय’


    राष्ट्रपति निर्वाचित भएपछिको पहिलो भाषणमा शनिवार उनले यो ‘निको हुने समय’ भएको बताएका थिए । डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले देशलाई ‘विभाजित हैन एकताबद्ध पार्ने’ प्रतिबद्धता समेत व्यक्त गरेका छन् । शनिवारको सम्बोधनका क्रममा उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरेका थिए । बाइडेनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ७.४ करोडभन्दा बढी मत प्राप्त गरेको बताएका छन् ।

    ‘म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,’ उनले भने । ‘म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने बाचा गर्छु जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ ।’ अमेरिकामा डेमोक्र्याटिक पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन् । बाइडेनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट छुट्याइने कुराको सङ्केत गरेका हुन् । (बीबीसी)

  • विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

    विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो।

    शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। उनले सोमबार नै पदबाहाली गरेका छन् ।

    शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ।

    ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।

    ऊर्जा मन्त्रालय सम्बद्ध अधिकारीहरूका अनुसार मन्त्री पुनले शाक्यलाई कार्यकारी निर्देशक बनाउने गरी प्राधिकरणमा फर्काएका हुन्। भदौ २८ गते घिसिङ बाहिरिएसँगै प्राधिकरण नेतृत्वविहीन भएको थियो ।

    यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् ।

  • अजरबैजानको दावी : विवादित शुशी शहर कब्जा गर्यौं

    अजरबैजानको दावी : विवादित शुशी शहर कब्जा गर्यौं

    काठमाडौं । अजरबैजानले विवादित नागोर्नो काराबाखको एक सहर कब्जा गरेको घोषणा गरेको छ । उसको यो दावीलाई अर्मेनियाले भने अस्विकार गरिदिएको छ । बीबीसीका अनुसार अजरबैजानका राष्ट्रपति इलहाम अलीयेवले नागोर्नो काराबाखको शुशी सहर आफ्नो कब्जामा लिएको घोषणा गरेका छन् ।

    अर्मेनियाले भने यस भेगमा भिडन्त जारी रहेको र अजरबैजानको दावि झुट भएको बताएको छ । दुई मुलुकबीच सीमानामा विवादित अवस्थाको नागोर्नो काराबाख क्षेत्र ४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो पहाडी क्षेत्र हो ।

    यो सोभियत सङ्घ विघटन हुनुभन्दा पहिला स्वायत्त क्षेत्र बनेको थियो । प्रारम्भमा यसलाई अजरबैजानकै हिस्सा मानिएको थियो । पछि अर्मेनियाले समेत यो क्षेत्रमा आफ्नो दावि बढाएपछि यहाँ सशस्त्र द्धन्द्ध भइरहेको छ । यहाँ इसाई अर्मेनीयाली र तुर्क मुसलमानको बाहुल्य छ ।

  • अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी

    अधिक चिसोले हुम्लामा जम्न थाल्यो पानी

    सिमकोट । नेपालमा अधिक चिसोका कारण हिमाली भेगको जनजीवन प्रभावित हुने छ । यसै सिलसिलामा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ।

    राष्ट्रिय समाचार समिति (रासस)का अनुसार कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो।

    रातको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ। यहाँको तापक्रम समेत माइनसमा झरिसकेको छ ।

    दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउँछ । कोरोना भाइरसका कारण हिल्सामा होटल बन्द छन् । यहाँ प्रहरी मात्र रहेका छन् ।

    चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले समेत मङ्सिर पहिलो साता आफ्नो बसाई सिमकोट सार्ने गर्छ । नेपाल प्रहरीको टोली जिल्ला फिर्ता भइसकेको छ । अहिले यहाँ सशस्त्र प्रहरी मात्र रहेको छ ।

  • भाइटीकाको उत्तम साइत ११:३७ बजे

    भाइटीकाको उत्तम साइत ११:३७ बजे

    काठमाडौं । यो वर्ष भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ लाई तोकेको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार मंसिर १ गते टीका परेको छ ।

    त्यस दिन टीका लगाउन साइत हेर्नु नपरे पनि उत्तम साइत भने साढे ११ बजे रहेको हो । मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत उत्तम रहेको समितिको भनाई छ ।

    राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन् ।

    यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरू हुन्छ। त्यस दिनदेखि यमदीप दान सुरू गरिन्छ। कात्तिक २८ गते काग तिहार परेको छ। यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ।

    कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। अपराह्न १स्४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ।

    सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ।

    गाई, गोरु र आत्म ९म्ह० पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ।

    आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ।
    म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ। समितिले स्वीकृति दिने तीन पात्रो ९पञ्चाङ्ग० नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन्।

    सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन्।

  • आज पनि नबस्ने भयो कांग्रेस कार्यसमिति बैठक

    आज पनि नबस्ने भयो कांग्रेस कार्यसमिति बैठक

    काठमाडौं । पटक पटक स्थगित भइरहेको नेपाली कांग्रेस कार्यसमिति बैठक आज पनि स्थगित भएको छ । केही नेतामा कोरोना भाइरसको संक्रमण भएको र केही आइसोलेसनमा बस्नु परेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक सारेको हो । अब अर्को बैठक कात्तिक २७ गते बोलाइएको छ ।


    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक सरेको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई डाकिएको छ । यो बैठक कांग्रेसले गत असोजमै डाकेको हो । तर, बाहनाबाजी निकाल्दै बैठक स्थगित भइरहेको छ ।

    असोज १२ मा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका २७ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै १६ बुँदे विरोध पत्र दर्ता गरेका छन् । सोही पत्रबारे पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी रहेर पटकपटक छलफल गरेको कांग्रेसले अब कात्तिक २७ मा हुने बैठकमा सहमतिका लागि प्रस्ताव पेश गर्ने तयारी गरेको बताइएको छ ।

    आइतबार सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले विभाग यथावत् राख्दै क्रियशील सदस्यता तथा समायोजन लगायतका एजेन्डामा सहमतिको प्रस्ताव अब बस्ने केन्द्रीय समितिमा पेश गर्ने सहमति गरेको छ।

  • दिल्ली पुग्यो आईपीएलको फाइनलमा, मुम्बईसँग उपाधी भिडन्त

    दिल्ली पुग्यो आईपीएलको फाइनलमा, मुम्बईसँग उपाधी भिडन्त

    दुबई । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । आइपीएल इतिहासमा पहिलो पटक यो टोली फाइनल खेल्न लागेको हो । नेपाली स्टार सन्दीप लामिछाने सम्मिलित यो टोलीले उनलाई भने यो सिजन बेन्चमै सिमित राखेको छ ।

    युएईमा आइतबार राती सम्पन्न दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । दिल्लीले अब उपाधिका लागि सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्ससँग मंगलबार भिड्नेछ ।

    पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यो सिन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ । दिल्लीले दिएको १९० रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो ।

    जसले गर्दा दिल्लीको फाइनल ढोका खुलेको हो । हैदरावादका लागि केन विलियमसनले अर्धशतक प्रहार गरे । बलिङमा दिल्लीका लागि कागिसो रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका उनी म्यान अफ द म्याच चुनिए ।

  • एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु

    एक सातामा विदेशमा ५४४ जना नेपालीमा कोरोना पुष्टी, एक जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको महामारी कतिपय मुलुकमा पुनः दोहोरिन थालेको छ । यसको शिकार विदेशमा रहेका नेपाली समेत हुन थालेका छन् । कुनै बेला संक्रमण शून्यमा झरिसकेका यूरोपेली मुलुकमा पुनः दैनिक हजारौं मानिसमा कोरोना देखिएको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो हप्ता कुन ५ सय ४४ जना नेपालीमा कोरोना देखिएको छ । अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण बढी देखिएको हो । विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

    संघ मातहतको स्वास्थ्य समितिका अनुसार, यो हप्ता विदेशमा १ हजार १ सय ६३ जना नेपालीले भने कोरोनालाई जित्न सफल भएका छन् । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परिसकेका छन् ।

    त्यसमध्ये ४० हजार सात सय २८ जना अर्थात् ९२ प्रतिशत नेपालीले कोरोनालाई जितेका छन् । यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । अहिलेसम्म विदेशमा दुई सय ८५ जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।
    १० हजार किट स्वास्थ्य सामग्री
    एनआरएनएले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गरेको एनआरएनले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरेका थिए ।

  • उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं

    उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आए काठमाडौं

    काठमाडौं । उखु किसानले मन्त्रालयमा सम्झौता भएको एक वर्षसम्म पनि बक्यौता रकम नपाएपछि पुनः सरकारको ढोका ढक्ढकाएका छन् । उनीहरुले छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलनको चेतावनी समेत सरकारलाई दिएका छन् ।

    आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलनको चेतावनी दिएका हुन् ।

    उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रले किसानमाथि अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

    सरकारले बेवास्ता गरे मङ्सिर २७ पछि माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने तयारी कृषकको छ ।

    मन्त्री भट्टले भने बन्द भएका उद्योगको जायजेथा बेचेर भए पनि किसानको रकम दिलाउने प्रतिबद्धता व्यक्त गरे । यसअघि एक वर्ष अगाडी नै कृषकले काठमाडौं आएर लामो आन्दोलन गरी सम्झौता गरी घर फर्किएका थिए ।

  • नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना संक्रमणमुक्त

    नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि, २८१२ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना निको भइ घर फर्केका छन्।

    यो सँगै नेपालमा एक लाख ५७ हजार ९ सय २६ जना संक्रमित उपचारपछि निको भएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् ।

  • काठमाडौं उपत्यकामा १५३३ जना कोरोना स‌ंक्रमित थपिए

    काठमाडौं उपत्यकामा १५३३ जना कोरोना स‌ंक्रमित थपिए

    काठमाडौं । काठमाड‌ौं उपत्यकामा १५३३ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।

  • कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु , मृतकको संख्या ११ सय नाघ्यो

    कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु , मृतकको संख्या ११ सय नाघ्यो

    काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।

    यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ जना पुगेको छ । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।

  • विदेशमा रहेका नेपालीकाे उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस

    विदेशमा रहेका नेपालीकाे उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस

    काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

    आइतबार बसेको सीसीएमसीको बैठकले नेपालीहरुको उद्दार सकिएकाले उडान बन्द गर्न सिफरिस गरेको सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

    साथै बैतडीको झुलाघाट नाका र केबलकार, जंगल सफारी र साहसिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।

    कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ ।

    अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ।

  • बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा

    बाइडेनको जितले महाशक्ति बन्ने होडमा रहेको चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा

    काठमाडौं । केही दिनको अनिश्चिततापछि जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचन हुने निश्चित भएको छ ।उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकामा मात्रै होइन विश्व शक्ति बन्ने होडमा रहेको चीन, भारत लगायत देशमा समेत समेत प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पर्ने आँकलन गर्न थालिएको छ ।

    ट्रम्पको अपरिपक्क अभिव्यक्ति तथा नीतिका कारण चीन, उत्तरकोरिया लगायत देशसँग सम्बन्ध चिसिँदै गएकाले यतिबेला बाइडेनको जीतलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

    चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा

    अमेरिकामा जो बाइडनको जितले चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा गरिदिएको छ।

    कसैलाई चीन डोनल्ड ट्रम्पको ह्वाइट हाउसबाट बिदाइ भएको हेर्न चाहन्छ भन्ने लाग्न सक्छ। किनकि उनी चीनसँगको व्यापार–युद्ध , चीनविरुद्ध लगाइएका दण्डात्मक प्रतिबन्धहरूका साथै कोरोनाभाइरसको महामारीका लागि चीनलाई दोष दिने गरेर एक नम्बरको चीन आलोचकका रूपमा देखिन्थे।

    तर केही विश्लेषकहरूको विचारमा ट्रम्प ह्वाइट हाउसका लागि पुनः निर्वाचित भएको भए उनका नीतिहरूका कारण अमेरिकाको शक्ति क्षीण हुँदै जान सक्ने हुँदा त्यो आफ्नो हितमा हुने आशा बेइजिङले गरेको हुनुपर्छ।

    तर निश्चय नै अब जो बाइडनले जलवायु परिवर्तनजस्ता ठूला मुद्दामा आपसी सहयोग खोज्ने प्रयास गर्दा चीनले आफ्नो फाइदा हुने अवसरहरू पनि खोज्ने नै छ।

    अमेरिका चीन ट्रम्प कालयत व्यापार युद्ध चलिरहेको छ । बाइडनले चीनसँग अमेरिकी सम्बन्ध सुधार गर्ने प्रयासहरू गर्दा ट्रम्पले जस्तो एक्लै हिँड्ने कदमको दाँजोमा विश्वशक्ति बन्ने चिनियाँ आकाङ्क्षामा केही अङ्कुश लाग्न सक्छ।

    भारत

    उपराष्ट्रपति–निर्वाचित कमला ह्यारिसको वंशको नाताले गर्दा उनलाई भारतमा गौरवका रूपमा लिइएको छ। तर, प्रधानमन्त्री नरेन्द्र मोदीले बाइडनबाट उनका पूर्ववर्तीभन्दा केही चिसो प्रतिक्रिया पाउन सक्छन्।

    भारत लामो समयदेखि नै अमेरिकाको महत्त्वपूर्ण साझेदार रहँदै आएको छ र यो दिशामा बाइडनको शासनकालमा पनि खासै परिवर्तन होला जस्तो छैन।

    चीनको उदय रोक्न र विश्वव्यापी आतङ्कवादविरुद्ध लड्न दक्षिण एशियाको सबैभन्दा ठूलो जनसङ्ख्या भएको यो देश अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको एक महत्त्वपूर्ण साझेदार हुनसक्छ।

    तर बाइडनको चुनाव प्रचार अभियानको वेबसाइटमा कश्मीरका सबै बासिन्दाको अधिकार पुनर्स्थापित हुनुपर्ने आह्वानदेखि लिएर न्याश्नल सिटिजन रेजिस्टर एनआरसी नागरिकता संशोधन ऐन सीएएको विरोधसम्मका कुराहरू राखिएका छन्।

    उपराष्ट्रपति–निर्वाचित कमला ह्यारिसले पनि भारतको हिन्दू राष्ट्रवादी सरकारका नीतिहरूको आलोचना गरेकी छन्।

    वेलायत

    जो बाइडन शक्तिमा आएपछि अमेरिका र यूकेको ‘विशेष मैत्रीपूर्ण सम्बन्ध’ ओरालो लाग्न सक्ने अनुमान गरिएको छ । अनुभवी डेमोक्र्याट राजनीतिज्ञ जो बाइडन र चर्को ब्रेक्जिट पक्षधर बोरिस जोनसनका बीचमा स्वाभाविक तालमेल नमिल्न सक्छ।

    कुनै बेला डोनल्ड ट्रम्पले ब्रिटिश प्रधानमन्त्री जोनसनलाई ‘ब्रिटेन ट्रम्प’ भनेका थिए र त्यसप्रति बाइडनको सहमति रहेको हुनसक्छ। किनकि उनले पनि जोनसनलाई ट्रम्पका ‘शारीरिक र भावनात्मक नक्कल’ भनेका बताइएको थियो।

    यसर्थ पनि जो बाइडनले यूकेसँग भन्दा पहिला ब्रसल्स , बर्लिन वा प्यारिससँग सम्बन्ध अघि बढाउने चाहना राख्न सक्छन्।

    उत्तर कोरिया

    उत्तर कोरियाले कुनै समय बाइडनलाई ‘रोगग्रस्त श्वान’ भन्ने गर्थ्यो। तर अब किम जङ अनले नयाँ अमेरिकी राष्ट्रपतिलाई उत्तेजित पार्ने प्रयास गर्नुभन्दा अघि केही सावधानीपूर्ण आकलनहरू गर्नेछन्।

    डोनल्ड ट्रम्पसँगको अभूतपूर्व भेटघाट र बैठकहरूले उपलब्ध गराएका विभिन्न अवसरहरूका कारण किमले सम्भवतः ट्रम्पको थप चार र्षे कार्यकाल चाहेका हुनसक्छन्।

    तर जो बाइडनले किम जङ अनसँग भेट गर्नुअघि उनले देशको परमाणुअस्त्र कार्यक्रमहरू परित्याग गर्ने चाहना स्पष्ट रूपमा प्रदर्शन गर्नुपर्छ भनेका छन्।बीबीसीको सहयोगमा

  • दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ५२ करोड बढीको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । साताको पिहलो दिन आइतबार नेप्से १२.४९ अंकले बढेर १६४८.५८ विन्दुमा कायम भएको छ ।

    यसदिन १९८ कम्पनीको ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ८६ लाख ३८ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी २ समूहको परिसूचक ओरालो लागेका छन् । ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

    हिमालयन डिष्टिलरी कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, यूनिभर्सल पावर कम्पनी लिमिटेड र सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

  • दोस्रो हाफमा मैदान छिरेर पनि चम्किए मेसी, बार्सिलोना विजयी

    दोस्रो हाफमा मैदान छिरेर पनि चम्किए मेसी, बार्सिलोना विजयी

    बार्सिलोना । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकाल्ने क्रममा कप्तान लियोनल मेसी चम्किएका छन् । पहिलो हाफ बेन्चमा बसेका उनी दोस्रो हाफमा मैदान छिरेका हुन् । पहिलो हाफ १\१ गोलको बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा बार्सिलोनाले ४ गोल थप्यो । जसमा एक पेनाल्टीसहित दुई गोल मेसीले गरे ।

    समग्रमा बार्सिलोना ५-२ गोल अन्तरले विजयी भयो । बार्सिलोनाका लागि खेलको २२ औं मिनेटमा उसमान डेम्बेलेले अग्रता दिलाएका थिए । बार्सिलोनाका लागि ग्रिजमनले एक तथा फ्रेडीले एक गोल गरे । जितपछि बार्सिलोनाको ६ खेलमा ११ अंक भएको छ । टीम अब अंक तालीकाको आठौं स्थानमा उक्लिएको छ ।

  • अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन

    अमेरिकालाई रातो र नीलो राज्यका रूपमा रहन दिन्नँ : बाइडेन

    काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेनले अब अमेरिकालाई कुनै रातो त कुनै नीलो राज्यका रूपमा रहन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सम्बोधन मार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    देशवासीका नाममा आइतबार पहिलो सम्बोधन गर्दै जो बाइडेनले अमेरिकी नागरिकले आफूलाई अमेरिकाको इतिहासमै सबैभन्दा बढी मत दिएर जिताएको उल्लेख गरे । उनले भने, यो जित तपाईंहरूको हो। मैले ७.४ करोड भोट प्राप्त गरेको छु। यति भोट अहिलेसम्म कसैले (अमेरिकाको इतिहासमा) पाएका थिएनन्।’

    उनले मतदाताले आफुप्रति गरेको विश्वासलाई विनम्रतापूर्वक स्वीकार गर्ने भन्दै सबैलाई साथमा लिएर अघि बढ्ने समेत बताएका छन् । आफु अमेरिकाको राष्ट्रपति भएको भन्दै अब कुनै पार्टीको नभई सबैसँग मिलेर काम गर्ने उनको प्रतिवद्धता रहेको छ । डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गरेका हुन् । उता, भारतीय मूलकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित भएकी छिन् । ह्वाइट हाउससम्म पुग्नको लागि आवश्यक २७० इलेक्टोरल भोट पार गर्दै बाइडेन विजयी बनेका हुन् ।

  • निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई

    निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमलालाई प्रधानमन्त्री ओलीको बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्। ट्वीटरमार्फत ओलीले उनीहरुको जितलाई प्रभावकारी र ऐतिहासिक समेत भनेका छन् ।

    उनले अमेरिकाको नयाँ नेतृत्वसँग नजिक रहेर काम गर्ने अवसर प्राप्त हुने आशा व्यक्त गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले आगामी चार वर्ष अमेरिकाको नेतृत्व गर्नेछन् ।

  • दाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    दाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    दाङ । दाङमा जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । दाङको तुलसीपुरबाट रोल्पा जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।

    प्रहरीका अनुसार चालक रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय भीमबहादुर ओली, गँगादेव ५ का ६५ वर्षीय गंजबहादुर बुढा र दाङ बबई गाउँपालिकका २ पंचकुलेका १७ वर्षीय भीमराज बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

    जिपमा सात जना थिए । अन्य चार जना भने घाइते छन् । सल्यान र रोल्पाको सिमाना सल्यानको छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा शनिबार साँझ जिप दुर्घटनामा परेको हो ।

  • मुख्यमन्त्री घोडाबाट लडेपछि..

    मुख्यमन्त्री घोडाबाट लडेपछि..

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्लामा घोडाबाट लडेका उनलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको छ । टाउको र हातमा चोट लागेको तर अवस्था भने सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

    शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका ३ को तोर्पा, बरगाउँ हुँदै लिमाटाङ्ग हिँडेका थिए । सदरमुकामबाट गाडीमा गएका शाहीलाई त्यहाँका स्थानीय लामा समुदायले घोडामा लैजाने योजना अनुसार घोडामा चढाएका थिए ।

    उनी हुडी र लिमाटाङ्गको बीचमा पर्ने खोलामा घोडाबाट लडेका हुन् । उनी सामान्य उपचारपछि निजी निवास फर्किएका छन् ।

  • काठमाडौं उपत्यकामा १५१२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १५१२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १५१२ जना कोरोना संक्रमित थपिएका छन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जनालाई कोरोना संक्रमण देखिएको छ।

    काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १५४५५ पुगेको छ। ललितपुरमा २१९१ र भक्तपुरमा १२१६ सक्रिय संक्रमित छन्।

  • थप १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १०८७ पुग्यो

    थप १७ जना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १०८७ पुग्यो

    काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।