Author: Vishwanews.com

  • काठमाडौं जिल्ला प्रशासनको स्थगित सेवा मंसिर ३ देखि सुचारु,स्थानीय तहलाई बार अनुसार पालो

    काठमाडौं जिल्ला प्रशासनको स्थगित सेवा मंसिर ३ देखि सुचारु,स्थानीय तहलाई बार अनुसार पालो

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ३ गतेदेखि स्थगित सम्पूर्ण सेवाहरु दिने भएको छ ।

    उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बन्द गरेको सेवा बुधबारदेखि पुनः सञ्चालनमा ल्याउन लागेको हो ।

    प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नावालिग परिचयपत्र, राहदानी हतियार दर्ता तथा नवीकरण जस्ता सेवा मंसिर ३ गतेदेखि खुला गर्ने जानाकारी दिएको हो । उक्त सेवाहरु भदौं २५ गतेदेखि रोकिएको थियो ।

    पुनः सञ्चालनमा आएपनि कार्यालयले स्थानीय तहअनुसार निश्चित बार मात्र सेवा दिनेछ । सार्वजनिक सूचना अनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका बासिन्दाले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

    त्यस्तै मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मकाले, बुधबार बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका सेवाग्राहीले सेवा पाउेछन् ।

    बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ सम्मकाले र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका वासिन्दाले सेवा पाउनेछन् ।

    पत्रपत्रिका संघसंस्था दर्ताको लागि सोमबार र बुधबार तोकिएको छ भने नवीकरणको लागि आइतबार, मंगलबार र विहिबार तोकिएको छ । पत्रपत्रिका छापाखान दर्ता र विधान संशोधनको लागि शुक्रबारको लागि तोकिएको छ ।

    शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। सेवा लिन आउनेले तोकिएको मापदण्ड भने पालना गर्नु पर्नेछ ।

  • चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

    चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

    काठमाडौं। कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो।

    अर्थ मन्त्री विष्णु पौडेलले सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय भएको ट्वीटरमार्फत जानकारी दिएका छन्। नेता केसीलाई मंगलबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

    राष्ट्रिय जनमोर्चाको बिहीबार बसेको बैठकले केसीको अवस्था गम्भीर रहेको भन्दै उपचारका लागि आर्थिक सहयोग गर्न आव्हान गरेको थियो। तर, केसीका परिवारले भने उनको अवस्था सामान्य रहेको भन्दै सहयोग माग्ने पार्टीको निर्णयको विरोध गरेका छन्।

  • अन्ततः प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार

    अन्ततः प्रधानमन्त्री सचिवालय बैठक बोलाउन तयार

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मालाई बैठक बोलाउन अन्य सचिवालय सदस्यले चर्को दवाव दिएका थिए ।

    महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक शुक्रबार दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई गराएको नेपाली संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले पटक पटक प्रधानमन्त्री समक्ष तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

    प्रचण्ड पक्षमा बहुमत रहेका कारण प्रधानमन्त्री बैठक बोलाउन बाध्य भएका छन् । प्रधानमन्त्रीले बैठक नबोलाए आफैले बैठक डाकेर आवश्यक निर्णय लिने तयारीमा प्रचण्ड थिए ।

  • कतारका राजकुमार आमादब्लम चुचुरोमा

    कतारका राजकुमार आमादब्लम चुचुरोमा

    काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरो पुगेको हो ।

    उनीहरुलाई हिमालयन गाइड्स नेपालले हिमाल आरोहणको प्रवन्ध मिलाएको हो । विश्वकै सुन्दर तर आरोहणमा भने यो हिमाल कठिन मानिन्छ ।

    आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली दसैंको दिन काठमाडौंबाट लुक्ला पुगेको टोलीमा कुल १४ जना सदस्य रहेका छन् ।

    कोरोना भाइरसले थलिएको नेपालको पर्यटनमा गल्फ मुलकबाट भएका उच्चस्तरीय आरोहणले ठूलो सहयोग गर्ने अपेक्षा लिइएको छ ।

  • विश्वकप छनोटमा नेपालले खेल्न बाँकि खेलको तालीका सार्वजनिक

    विश्वकप छनोटमा नेपालले खेल्न बाँकि खेलको तालीका सार्वजनिक

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा हुनुपर्ने विश्वकप छनोट खेलहरु प्रभावित भएका छन् । नेपालले प्रतिस्पर्धा गरिरहेका फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेल सन् २०२१ को जुन महिनाभित्र सकिने गरी नयाँ तालिका आएको छ ।

    एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेल जुन १५ सम्म सकिने गरी नयाँ तालीका बनाएको हो । एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको छ ।

    कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोट खेल स्थगित भएका हुन् । छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने भएको हो । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले घरेलु खेल खेल्न बाँकि छ ।

    नेपालले तीन खेल खेल्नेछ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्नेछ । यी खेल दशरथ रंगशालामा हुनेछन् । यसमध्ये अष्ट्रेलिया विश्वकप खेलिसकेको टीम हो । यसैबीच नेपालले शुक्रबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खुल्दैछ ।

  • आजबाट नेपालको दोस्रो ठूलो पर्व तिहार शुरु

    आजबाट नेपालको दोस्रो ठूलो पर्व तिहार शुरु

    काठमाडौं । आजबाट हिन्दु धर्मावलम्बीको महान पर्व तिहार शुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट प्रारम्भ भएको हो । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार बिहीबार बेलुकी यमदीपदान शुरु गरिन्छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार भने शुक्रबार परेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार तिथिको घटबढका कारण यस्तो भएको छ । उनका अनुसार सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था छ । धन्वन्तरि जयन्ती र धनतेरस पर्व समेत शुक्रबार नै मनाइने भएको छ ।

    यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने र धनतेरसको दिन भाँडाकुँडा किने लक्ष्मीको बास रहने विश्वास रहेको छ । कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गरिने भएको छ ।

    अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार गरिने भएको छ ।

    आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुन्छ । भाइटिका भने मंसिर १ मा परेको छ । बिहान ११ः३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।

  • कलंकीमा दुई वटा ट्रक ठोक्किए, तीन जनाको मृत्यु

    कलंकीमा दुई वटा ट्रक ठोक्किए, तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कलंकीमा दुई वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

    कलंकीको मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नम्बरको कुखुरा बोक्ने ट्रकले ठक्कर दिएको थियो । घटनामा कुखुरा बोक्ने गाडीमै सवार तीन जनाको ज्यान गएको हो ।

    दुर्घटनामा एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार दुर्घटनामा नुवाकोटको सुन्दरादेवी घर भएका २४ वर्षीय रोशन तामाङ, नुवाकोटको तारकेश्वर घर भएका ३७ वर्षीय माधब घिमिरे र नुवाकोट तारकेश्वरकै भुवेन्द्र तामाङको ज्यान गएको छ ।

    कलंकीस्थित सहिद स्मृति अस्पतालमा उपचारको क्रममा उनीहरुको ज्यान गएको हो । दुर्घटनामा नुवाकोट तारकेश्वर घर भएका २२ वर्षीय को विजय तामाङ छन् ।
    दुवै ट्रकका चालक सकुसल रहेको र उनीहरु प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

    रुसले भन्यो : स्पुतनिक ९२ प्रतिशत प्रभावकारी भयो

    मस्को । रूसले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको सार्वजनिक गरेको छ । अमेरिकी र जर्मन कम्पनीले आफ्नो उत्पादन ९० प्रतिशत प्रभावकारी भएको दावि सार्वजनिक गरेसँगै रुसले आफ्नो उत्पादनबारे पछिल्लो अपडेट सार्वजनिक गरेको हो ।

    रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको सार्वजनिक गरेको छ । सोमबार अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको थियो ।

    रूसले गत अगस्ट मै स्पुतनिक फाइभ भ्याक्सिनलाई स्वीकृति दिएको हो । रूसले तेस्रो चरणको परीक्षण नसकिँदै खोपलाई स्वीकृति दिएको थियो । बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित रहेको बताइएको छ ।

    रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका अनुसार भ्याक्सिनका दुई डोज लगाएका मानिसलाई कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशत कम हुने नतिजा आएको छ ।

  • संखुवासभा पुगेर प्रधानमन्त्रीले भने : म दुबै पदबाट हट्दिन

    संखुवासभा पुगेर प्रधानमन्त्रीले भने : म दुबै पदबाट हट्दिन

    संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर संखुवासभामा व्यस्त रहे । नेपाली सेनाको विशेष हेलिकोप्टर चढेर संखुवासभा पुगेका उनले किमाथांकास्थित सशस्त्र प्रहरीको बोर्डर पोष्टको अनुगमन गरे । कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनामा समेत स्थलगत अनुगमन गरे ।

    स्थानीय बासिसँग भेटे र स्थानीय जनप्रतिनिधिसँग छलफल समेत गरे । उनले स्थानीय पत्रकारसँग समेत कुरा गरेका छन् । त्यसक्रममा उनले आफु नेकपा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहट्ने दावि गरेका छन् ।

    आफु पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्री भएको भन्दै उनले बीचैमा राजीनामा दिन नमिल्ने बताए । उनले भने ,’हल्लाको पछि नलाग्नुस ।’

    उनले पत्रकारले आफ्नो राजिनामाबारे बढी महत्व दिएको बारे समेत असन्तुष्टि पोखे । उनले भने ‘मैले पत्रकारहरुलाई राजीनामा दिनुपर्ने हो ?’

    ओलीले आफू महाधिवेशनबाट निर्वाचित भएकाले अध्यक्ष पद समेत नछाड्ने बताए । कसैले चाहँदैमा आफुले पद छाड्न नमिल्ने उनको भनाई थियो । प्रधानमन्त्री बुधबार नै काठमाडौं फर्किएका छन् ।

  • बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्री बन्न बाटो खुला

    बामदेवको मुद्दामा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार, मन्त्री बन्न बाटो खुला

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यामा नियुक्त गरिएका नेकपाका उपाध्यक्ष वामदेव गौतमको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको छ।

    बुधबार प्रधानन्यायधिससहितको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो। यो निर्णयले गौतमलाई मन्त्री बन्न बाटो खुलेको छ।

    गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णयमा बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि मन्त्री बन्न बाटो खुलेको हो। प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट असोज १ गते सांसद मनोनित गरिएको थियो।

    निर्वाचनमा पराजित व्यक्ति राष्ट्रिय सभामार्फत् संसदमा पुगेपनि मन्त्री बन्न पाउने कि नपाउने भन्ने विषयमा परेको रिट अदालतमा विचाराधीन रहेका कारण गौतम मन्त्री बन्ने बाटोसमेत छेकिएको थियो।

  • नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि

    नेपालमा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या वृद्धि

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोनासको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २६ जनाको मृत्यु भएको हो ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या ११७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो।

    पछिल्लो केही सातायता कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्यामा समेत वृद्धि भइरहेको छ ।

  • उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिए

    उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं। काठमाडौं उपत्यकामा १२६१ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ।

  • नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

    नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८१ नमुना परीक्षण गर्दा २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख २ हजार हजार ३२९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६६जना निको भइ घर फर्केका छन्। यो सँगै नेपालमा एक लाख ६२ हजार २४३ जना संक्रमित उपचारपछि निको भएका छन्।

    हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ जना रहेका छन् ।

  • उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढ्यो,सुरक्षा व्यवस्थामा थप कडाइ

    उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढ्यो,सुरक्षा व्यवस्थामा थप कडाइ

    काठमाडौं । उपत्यकामा तिहार केन्द्रीत चहलपहल बढेको छ ।

    कोरोना भाइरसको संक्रमण र जोरा बिजोरको बीच नै चहलपहल बढेपछि नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर ट्राफिक चेकिङमा कडा गर्न लागेको हो ।

    दशैँको तुलनामा अहिले भीडभाड बढेसँगै सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको प्रहरीले जनाएको छ । दशैँअघिदेखि नै सुरु भएको एकीकृत सुरक्षा योजना बमोजिम तिहार नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने तयारी थालेको छ । अब दिउँसो पनि शंका लागेमा मापसे चेकिङ गर्ने महाशाखाले तयारी थालेको हो ।

    महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा मात्रै ७४९ जना जनशक्ति थप गरिएको छ । यस्तै २० वटा चेक प्वाइन्ट थपिएसँगै चेक प्वाइन्टको संख्या ६६ पुगेको छ ।

    यस्तै महाशाखाले सिभिलमा ८ वटा टोलीमा ३२ जना ट्राफिक प्रहरी परिचालन गरेको छ । त्यसैगरी बस तथा टिकट काउन्टरमा यात्रुहरु माथि हुने ठगी नियन्त्रण गर्ने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

  • नेप्से परिसूचक १७ सय माथि, बजार पुँजीकरणमा दिनदिनै नयाँ रेकर्ड

    नेप्से परिसूचक १७ सय माथि, बजार पुँजीकरणमा दिनदिनै नयाँ रेकर्ड

    काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ ।

    बुधबार कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा कायम भएको छ ।

    यसदिन १९५ कम्पनीको ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ४२ रुपैयाँको कारोबार भएको छ । १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ११ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १ समूहको परिसूचक ओरालो लागेका छन् ।

    बुधबार ६ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी कोष, विशाल बजार कम्पनी लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

    दोस्रो बजारमा उछाल आउँदा पनि ५३ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने १०१ वटा कम्पनीको मूल्य बढेको छ। सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड ९० लाख रुपैयाँको खरिद बिक्री भएको छ।

  • बिहारमा चल्यो मोदी लहर, नितिश कुमारले फेरी सरकार बनाउने

    बिहारमा चल्यो मोदी लहर, नितिश कुमारले फेरी सरकार बनाउने

    पटना । नेपालसँग सीमाना जोडिएको बिहारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जादु चलेको छ । सन् २०१५ मा ५३ सीटमा खुम्चिएको भारतीय जनता पार्टीलाई उनले यस पटक ७० सीटमा विजयी बनाउन सफल भएका छन् ।

    बिहार विधानसभा निर्वाचनमा नितिशकुमार र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले १ सय २५ सिट जित्दै पूर्ण बहुमत समेत प्राप्त गरेको छ। यससँगै अब एनडीएले नितिश कुमारको नेतृत्वमा पुनः एक पटक सरकार बनाउने बाटो खुलेको छ ।

    यो गठबन्धनलाई लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले कडा टक्कर भने दियो । तेजस्वी नेतृत्वको गठबन्धन १ सय १० सिटमा विजयी भयो । उनलाई कांग्रेसले साथ दिएको थियो । जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अबको दशक बिहारको आत्मविश्वासको दशक हुने बताएका छन् । उनले बिहारका जनतालाई धन्यवाद समेत दिएका छन् ।

    बिहार विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले ७०, राष्ट्रिय जनता दलले ७५ सीटमा जित निकाल्न सफल भए । जेदयूले ४३ सिट जितेको छ । कांग्रेसले १९, लोक जनशक्ती पार्टीले १ तथा हिन्दूस्तान अवाम मोर्चाले ४ सिटमा जित हासिल गरेका छन् ।

  • प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?

    प्रधानमन्त्री आज संखुवासभा जाने, के छ कार्यक्रम ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि काठमाडौं बाहिरको भ्रमणमा निस्कँदैछन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री उपत्यका बाहिर निस्किएका छैनन् ।

    प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको तालीका अनुसार प्रधानमन्त्री ओली आज दश बजे संखुवासभा जाने कार्यक्रम तय भएको छ । उनी हेलिकोप्टरमा त्यहा जाने छन् । पार्टीभित्र तिब्र विवाद भइरहेका समयमा प्रधानमन्त्री उपत्यका बाहिर जान लागेका हुन् ।

    यसअघि वालुवाटरको चौघेराबाट बाहिर निस्कन नसकेको भन्दै उनको आलोचना भइरहेको छ । जिल्लामा उनले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।

    उनी संखुवासभामा भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको निरिक्षणमा पुग्ने भएका छन् । त्यसपछि उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफलको कार्यक्रम राखिएको छ ।

    त्यहाबाट उनी भोटखोला ३ स्थित च्यान्ताङ पुग्नेछन् । त्यहाँ निर्माण भइरहेको विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने कार्यक्रम छ ।


    त्यसपछि प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने भएका छन् । त्यसपछि भने प्रधानमन्त्री काठमाडौं फिर्ता हुनेछन् ।

  • दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

    दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

    दाङ । दाङमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार देउखुरीको राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको हो । ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई गतराती ८ बजे ठक्कर दिएको थियो ।

    प्रहरीका अनुसार मोटरसाइकलमा तीन जना सवार थिए । उनीहरुको घटनास्थलमै ज्यान गएको छ । इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको ज्यान गएको हो । ट्रक प्रहरी नियन्त्रणमा छ ।

  • मुम्बईले उचाल्यो पाँचौ उपाधी, दिल्ली निरास

    मुम्बईले उचाल्यो पाँचौ उपाधी, दिल्ली निरास

    दुबई । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को पाँचौ उपाधी उचाल्न सफल भएको छ । १३ वटा संस्करण पुरा हुँदा सर्वाधिक उपाधी जित्ने टीमका रुपमा मुम्बई कायम रहेको छ । मुम्बई पछि चेन्नईले सर्वाधिक ३ पटक उपाधी उचालेको छ ।

    युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको छ । मुम्बईले सन् २०१० मा पहिलो पटक फाइनल पुगेर चेन्नईसँग हारेको थियो । त्यसयता भने मुम्बईले हरेक फाइनलमा जितेको छ ।

    मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनलमा स्थान बनेको दिल्ली भने निरास बनेको छ । कप्तान रोहित शर्माले मुम्बईका लागि सर्वाधिक योगदान गरेको खेलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर भेटायो । रोहितले ६८ रनको योगदान गरे ।

    इशान किसनले अविजित ३३ रन जोडे । दिल्लीका लागि एनरिक नोर्किएले २ तथा कागिसो रबाडा, र मार्कुस स्टोइनिसले १ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयास ऐर र विकेटकिपर ऋषभ पन्तले अर्धशतक बनाए ।

    अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । दिल्लीले पहिलो बलमै मार्कुस स्टोइनिङलाई गुमाएको थियो । उनलाई ट्रेन्ट बोल्टले आउट गरेका हुन् । तेस्रो ओभरको चौथो बलमा बोल्टले अजिन्का रहानेलाई आउट गरे ।

    १५ रन बनाएर शिखर धवन समेत आउट भएपछि दिल्ली ३.३ ओभरमा २२–३ को अवस्थामा थियो । दिल्लीलाई कप्तान श्रेयास र ऋषभले महत्वपूर्ण भूमिका खेलेका थिए । मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

  • सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव

    सुनको मूल्य ३४ सय घट्यो, कोरोना खोपबारे सकारात्मक समाचारको प्रभाव

    काठमाडौं । सोमबार कोरोना भाइरसविरुद्ध अमेरिकी र जर्मन कम्पनीले निर्माण गरिरहेको खोपको सफलताबारे आएको समाचारले विश्वभर सुनको मूल्यमा प्रभाव पारेको छ । आज सुनको मूल्यमा एकै दिन प्रतितोला ३ हजार ४ सयको गिरावट आएको छ ।

    सुनको मूल्यमा अन्तर्राष्टिय बजारमा आएको गिरावटको प्रभाव नेपाली बजारमा समेत देखिएको छ । लामो समय अन्तर्राष्ट्रिय बजारमा लगानी सुनमा आएको थियो । जसले यसको मूल्यमा ठूलो वृद्धि भएको छ । खोप निर्माणमा सफलताका समाचार आइरहँदा अब लगानी शेयर बजारमा जाने अनुमान छ ।

    सोमबार सुन नेपालमा ९८ हजार २ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यो सोमबारको तुलनामा तोलामा ७० रुपैयाँ कम हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भएको छ ।

  • नेकपाका पाँच नेताको प्रधानमन्त्रीलाई सन्देश, ‘२७ गते सचिवालय बैठकमा आउनु’

    नेकपाका पाँच नेताको प्रधानमन्त्रीलाई सन्देश, ‘२७ गते सचिवालय बैठकमा आउनु’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कुनै पनि तहका बैठक राख्ने पक्षमा छैनन् । तर, पार्टीका अन्य नेता भने बैठक राखेर विवादहरुमा सामुहिक छलफल चलाउनु पर्ने मागमा छन् । सोहीकारण उत्कर्षमा पुगेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्र कुनै निष्कर्ष आउन सकेको छैन ।

    आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका थिए । बैठकमा केपी ओली पक्षधर नेता इश्वर पोखरेल र विष्णु पौडेल उपस्थित भएनन् । रामबहादुर थापा बादलसमेत उक्त बैठकमा गएनन् ।


    आज अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको प्रचण्डसहित पाँच सचिवालय सदस्य भने उपस्थित थिए । बैठकअघि प्रचण्ड बालुवाटर पुगेका थिए । उनले प्रधानमन्त्रीलाई २७ गते सचिवालय बैठकमा उपस्थित हुन सन्देश पठाएका छन् ।

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम छ । सोहीकारण बिहीबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सचिवालय बैठकमा उपस्थित हुने अपेक्षा ५ नेताले राखेका छन् ।

    प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न लिखित रूपमा अध्यक्ष ओलीसँग माग गरेका छन् । अध्यक्ष ओलीले भने २७ गते पनि बैठक सहमति जनाएका छैनन् ।

  • काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौं उपत्यकामा आज भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौं नजिक धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको हो ।

    मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले पुष्टी गरेको छ । यसले काठमाडौं र यस आसपासका जिल्लामा धक्का महसुस गरिएको हो ।

  • काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित

    काठमाडौं उपत्यकामा थपिए १४२० सक्रमित

    काठमाडौं । आज काठमाडौं उपत्यकामा थप १४२० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना कोरोना संक्रमित थपिएका हुन् ।

    आज महिला ६ सय ३ र पुरुष ८ सय १७ मा कोरोना पुष्टी भएको छ । अहिले काठमाडौं जिल्लामा १६ हजार ६ सय ८६ सक्रिय संक्रमित छन्। २ सय ८० संक्रमितको मृत्यु, ५७ हजार ३ सय ७८ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ७४ हजार ३ सय ४४ रहेको तथ्यांक छ ।

    होम आइसोलेसनमा ११ हजार ३ सय ९३ संक्रमित उपचाररत रहेको समेत मन्त्रालयले जनाएको छ । भक्तपुरमा सक्रिय संक्रमित १ हजार २ सय ४२४ छन्। ५ हजार ३ सय ८७ कोरोना संक्रमणबाट मुक्त भएका, ७३ संक्रमितको मृत्यु र कुल संक्रमित ६ हजार ६ सय ८४ रहेका छन्। होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार ८ सय १४ पुगेको छ।


    ललितपुरमा २ हजार ३ सय ५० सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ । ८ हजार १ सय २५ कोरोना संक्रमणबाट मुक्त भएका छन्। ७२ संक्रमितको मृत्यु र कुल संक्रमित १० हजार ५ सय ४७ छन्। होम आइसोलेसनमा १ हजार ८ सय ३१ छन्।

  • नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु

    नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा उनीहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    अब नेपालमा कोरोनाबाट मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ४८ पुगेको छ। पछिल्लो समय नेपालमा औसतः २० भन्दा बढी मानिसले दैनिक ज्यान गुमाइरहेका छन् ।

  • नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)

    नेपालमा थपिए २७३६ संक्रमित, ८५३ संक्रमणमुक्त (कुन जिल्लामा कति थपिए ?)

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    अब नेपालमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । १ लाख ९९ हजार ७६० जना मानिसमा संक्रमण पुष्टी भएको हो । आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन् । यससँगै १ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

    यससँगै अब देशभर ३८ हजार ३५ संक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये २९ हजार ७३४ जना होम आइसोलेसनमा छन् । ४०४ जनाको आईसीयू र ९६ जनाको भेन्टिलेटरमा उपचार जारी छ ।
    कुन जिल्लामा कति थपिए ?
    मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४२० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११४१, ललितपुरका १९३ र भक्तपुरका ८६ जना छन् ।

    यस्तै चितवनका १६८, काभ्रेका १०१, कास्कीका ९४, झापाका ९३, रुपन्देहीका ८८, सुनसरीका ७८, कैलालीका ५४, मोरङका ४७, दाङका ४५, नवलपुरका ४१, बर्दियाका ३१, गुल्मीका २७, दोलखाका २४, नुवाकोट, पाल्पा र बाँकेका २२\२२ जना, गोरखाका २१, सिन्धुपाल्चोक र स्याङजाका २०\२० जना, बाराका १९, कञ्चनपुरका १८, धनुषा र सप्तरीका १६र१६ जना, नवलपरासीका १५, सिराहाका १४, महोत्तरीका १३, मकवानपुरका १२ तथा धनकुटा, सर्लाही, कपिलवस्तुका ११\११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    रोल्पा र बझाङका १०\१० जना, सिन्धुलीका ९, लमजुङ र बाग्लुङका ८\८ जना, तनहुँका ७, धादिङ, रामेछाप र पर्वतका ६\६ जना, उदयपुर, ओखलढुंगा, पर्सा र दैलेखका ५\५ जना, रौतहट, म्याग्दी, अर्घाखाँची, प्युठान, सुर्खेत र डडेलधुरााकका ४\४ जना, खोटाङ, पाँचथर, भोजपुर, अछाम, दार्चुला र बैतडीका ३\३ जना, इलाम, तेह्रथुम र सल्यानका २\२ जना तथा ताप्लेजुङ, रुकुम पूर्व, हुम्ला र डोटीका १\१ जनामा पनि संक्रमण देखिएको छ ।

  • थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु

    थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा बसको ठक्करबाट एक जनाको निधन भएको छ । आज बिहान साढे ४ बजे तरकारी बेच्न निस्किएका ४० वर्षिय नविन लोहारको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

    बालाजु निवासी उनी थानकोटमा बसी व्यवसाय गर्दै आएका थिए । नम्बर नखुलेको पहेलो रंगको सार्वजनिक बसले उनलाई ठक्कर दिएको प्रहरीको भनाई छ । अहिले बसको खोजी भइरहेको छ । उनको ओम समाज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

  • कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन

    कोरोना विरुद्धको खोप नेपाल ल्याउन सरकारी समिति गठन

    काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप निर्माण सफल भई सार्वजनिक प्रयोगमा आउनासाथ नेपाल आपूर्तिको व्यवस्था मिलाउन तयारी थालेको छ । सोहीक्रममा सरकारले सचिवस्तरको एक उच्चस्तरीय समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले अर्थ, स्वास्थ्य तथा जनसंख्या र परराष्ट्र सचिव रहेको तीन सदस्यीय समिति गठन गरेको हो ।

    समितिले कोरोनाविरूद्धका खोपबारे अध्ययन गरी नेपाल ल्याउने प्रक्रिया थाल्ने छ । समितिले अहिले बनिरहेका खोपको अध्ययन, उक्त खोप नेपाल छिटो र छरितो माध्यमबाट कसरी ल्याउन सकिन्छ भन्नेबारे समेत अध्ययन गर्नेछ । मूल्यका विषयमा समेत समितिले काम गर्ने भएको छ । अहिले संसारका विकसित मुलुकहरु खोप आविष्कार र परिक्षणमा छन् ।

    अमेरिका, चीन, रुस, भारत, बेलायतमा यसको धमाधम काम भइरहेको छ । खोप समयमै ल्याउने प्रयोजनका लागि आर्थिक स्रोतको जोहो अर्थ मन्त्रालयले मिलाउने भएको छ । यसअघि अमेरिकी औषधि उत्पादक कम्पनी पिफिजर र जर्मन बायोटेक कम्पनी बायोएनटेकले कोरोना भाईरस बिरुद्धको भ्याक्सिनले ९० प्रतिशत काम गरेको बताउँदै नयाँ उत्साह थपेका छन् ।

    ति दुई कम्पनीले कोभिड १९ बिरुद्ध उनिहरुले उत्पादन गरेको भ्याक्सिनले संक्रमणको लक्षण नदेखिएका मानिसहरुलाई भाईरसबाट जोगाउन ९० प्रतिशत सफल भएको दावि गरेका छन् । अमेरिकाबाट उक्त समाचार आएकै दिन सरकारले नेपालमा खोप आपूर्तिका लागि समिति गठन गरेको हो ।

  • आज आइपिएल फाइनल : दिल्ली सामु पहिलो उपाधी जित्ने मौका

    आज आइपिएल फाइनल : दिल्ली सामु पहिलो उपाधी जित्ने मौका

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेटको १३ औं संस्करणको उपाधी भिडन्त आज हुँदैछ । फाइनलमा सर्वाधिक ४ पटकको विजेता मुम्बई इन्डियन्सले पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दैछ ।

    आज दिल्ली सामु मुम्बईबाट जारी सिजनमा भोगेको लगातार तेस्रो हारको बदला लिने मौका त छँदैछ, उसका लागि पहिलो उपाधी उचाल्ने मौका समेत आएको छ । खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुँदैछ ।

    मुम्बई साविक विजेता हो । उसले छैठौं पटक फाइनल खेल्दैछ । लिग चरणका दुई खेल र पहिलो क्वालिफायरमा मुम्बईले दिल्लीलाई हराएका कारण मनोवैज्ञानिक दवाव दिल्लीसामु रहेको छ । लिग चरणमा मुम्बईले १४ मध्ये ९ खेल जितेको हो । दिल्लीले भने ८ खेल जितेको हो ।

  • मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा

    मन्त्रीहरुको चैतसम्मको ५० प्रतिशत सुविधा कोरोना कोषमा

    काठमाडौं । सरकारले चर्को आलोचनाका बीच मन्त्रीहरुको तलव भत्ता कटौती गर्ने निर्णय गरेको छ । अब यस्तो रकम कोरोना उपचार तथा रोकथाम कोष जम्मा गरिने भएको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

    सुविधा कटौती आगामी चैतसम्म लागु हुने भएको छ । यसअघि जनतामाथि कर मात्र उठाउने, निःशुल्क उपचारको दायित्वबाट उम्कने तर मन्त्री र जनप्रतिनिधिले भने पूर्ण रुपमा सेवा सुविधा बुझेको भन्दै सरकारको आलोचना भइरहेको थियो ।

    सोमबार कोरोना परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको सरकारले मन्त्रीहरुको सेवा सुविधा समेत काट्ने निर्णय गरेको छ । बैठकले पुस्तक आयातमा लगाएको कर समेत हटाएको छ ।

    यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको यो निर्णयको समेत चर्को आलोचना भएको थियो । गत आर्थिक वर्षको बजेटमा सरकारले विदेशबाट आयात हुने पुस्तकमा अतिरिक्त १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको थियो ।

  • पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने

    पैंचो ल्याउन नसकेपछि सरकारले बंगलादेशबाट मल किन्ने

    काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याएर पछि फिर्ता गर्ने प्रक्रिया पुरा गर्न नसकेपछि मल ल्याउन पुनः नयाँ प्रक्रियामा जाने निर्णय गरेको छ । अब बंगलादेशबाटै जीटूजीमार्फत रासायनिक मल खरिद गरिने भएको छ ।

    मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको छ । बंगलादेशबाट मल पैंचोमा ल्याउन दुई मुलुकका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता समेत भएको थियो । वार्तामा सहमति जुटेपछि मन्त्रालयस्तरबाट प्रक्रिया अगाडी बढेको थियो ।

    तर, अन्तिममा सो प्रक्रिया समेत अवरुद्ध भएको छ । बंगलादेशले पैंचोमा मल दिन आनाकानी गरेको मन्त्रालयका अधिकारीहरुको भनाई छ । सोहीकारण सरकारले खरीद नै गर्ने निर्णय गरेको हो ।

    साथै सरकारले अब नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय समेत गरेको छ । यसअघि एक अध्ययनमा नेपालकै विजुली खपत गरी मल उत्पादन सम्भव भएको निष्कर्ष निकालेको थियो ।