Author: Vishwanews.com

  • विदेशमा एक सातामा ९६३ जना नेपालीमा कोरोना पुष्टी

    विदेशमा एक सातामा ९६३ जना नेपालीमा कोरोना पुष्टी

    काठमाडौं । पछिल्लो एक सातामा विदेशमा ९६३ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले यस्तो जानकारी दिएको छ । संघको स्वास्थ्य समितिले उपलब्ध गराएको विवरण अनुसार पछिल्लो साता थप सङ्क्रमित मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् ।

    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपालीमा कोरोना कोरोना सङ्क्रमण देखिएको छ ।

    गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपालीमा कोरोना कोरोना सङ्क्रमण देखिएको छ ।

    संक्रमण पुष्टी भएपनि यो साता विदेशमा नेपालीले ज्यान भने गुमाउनु परेन । अहिलेसम्म विदेशमा ४२ देशमा रहेका ४३ हजार ५६९ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    सङ्क्रमित नेपाली मध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत निको भइसकेका छन् । अहिलेसम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको संघको तथ्यांक छ ।

  • सुनसरीमा मोटरसाइकल दुर्घटना, २ को मृत्यु

    सुनसरीमा मोटरसाइकल दुर्घटना, २ को मृत्यु

    सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । सुनसरीको रामधुनी–२ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी बसेका सोही स्थानका २३ वर्षीय जिवन चौधरी छन्।

    शनिवार राति साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकल सडक किनारमा रोकिएको को २ त ९८७६ नम्बरको ट्याक्टरको ट्रलीमा ठोकिएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका उनीहरुको उपचारका क्रममा ज्यान गएको हो ।

  • जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ

    जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ

    काठमाडौं । पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाटै पक्राउ गरेको बताएको छ ।

    महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएअनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङसहितका व्यक्ति छन ।

    जुवा खालबाट १ लाख ५३ हजार रुपैयाँ बरामद भएको छ । खोभारी राय २०५२ सालमा शेरबहादुर देउवा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा राज्यमन्त्री बनेका थिए ।

    उनी २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसदमा विजयी भएका थिए । अहिले भने उनी राजनीतिमा सक्रिय छैनन् ।

  • महत्वपूर्ण खेलमा हैदरावाद विजयी, प्लेअफको सम्भावना कायमै

    महत्वपूर्ण खेलमा हैदरावाद विजयी, प्लेअफको सम्भावना कायमै

    सारजाह । जारी इण्डियन प्रिमियर लिग आइपिएलमा सनराइजर्स हैदरावादले महत्वपूर्ण खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरुलाई ५ विकेटले हराएको छ । जितसँगै उसको प्लेअफ (अन्तिम चार) पुग्ने सम्भावना कायम नै रहेको छ । बेंग्लोरुलाई भने शनिबारको खेल जित्दै प्लेअफमा स्थान पक्का गर्ने मौका थियो । तर, उसले त्यो मौका गुमायो ।

    कुल ८ टीममध्ये मुम्बई इण्डियन्समात्र प्लेअफमा पुग्न सफल भएको छ । जितपछि चौथो स्थानमा उक्लिएको हैदरावादको अन्तिम खेलअघि १२ अंक छ। पाँचौ स्थानको पञ्जाव, छैटौं स्थानको राजस्थान र सातौं स्थानको कोलकताको समेत समान खेलबाट समान १२, १२ अंक छ। अन्तिम स्थानको चेन्नईको १० अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ ।

    सोहीकारण यो पटक अन्तिम खेलले सबै टीमको भविश्य निर्धारण गर्ने भएको छ । दोस्रो स्थानमा रहेको बेंग्लोरको १४ अंक रहेको छ । मुम्बईको १८ अंक रहेको छ । दिल्ली क्यापिटल्स समेत १४ अंक सहित तेस्रो स्थानमा छ।

    शनिबार शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ७ विकेटको क्षतिमा १२० रनमा मात्र जोड्यो । १२१ रनको लक्ष्य हैदरावादले १४.१ ओभरमा ५ विकेट गुमाएर भेटायो ।

  • बेलायतमा चार साताका लागि लकडाउन घोषणा

    बेलायतमा चार साताका लागि लकडाउन घोषणा

    लण्डन । बेलायतमा कोरोना भाइरसको महामारीले पुनः जनजिवन प्रभावित बनाउन शुरु गरेको छ । भाइरसको दोस्रो लहर शुरु भएपछि यहाँ चार साता लामो देशव्यापी लकडाउन घोषणा भएको छ । लकडाउन आगामी विहीबारबाट लागु हुने भएको हो । बेलायतमा गत मार्च २३ मा पहिलो पटक लकडाउन घोषणा भएको हो । यो लकडाउन जुलाईमा खोलिएको थियो ।


    प्रधानमन्त्री बोरिस जोन्सनका अनुसार अहिले स्कुल, कलेज तथा विश्वविद्यालय भने खुलै हुने छन् । अत्यावश्यक वस्तुका पसल समेत खुल्ने छन् । त्यसबाहेक अन्य पसल भने खोल्न पाइने छैन । रेस्टुरेन्ट र पब बन्द हुनेछन् । तर, टेक–वे पसल भने संचालन गर्न सकिने छ । लकडाउन घोषणा गर्नुअघि बेलायती मन्त्रिमण्डलमा लामो छलफल भएको बीबीसीले जनाएको छ ।

  • कर्णाली प्रदेशमा ओली पक्षधर मन्त्री हटाइँदै, माधव नेपाल पक्षका थपिने

    कर्णाली प्रदेशमा ओली पक्षधर मन्त्री हटाइँदै, माधव नेपाल पक्षका थपिने

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई जना मन्त्रीको आज जागिर जाँदैछ । उनीहरुलाई हटाएर मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । थपिने दुई मन्त्री माधव नेपाल समूहका बन्ने भएका हुन् ।

    किनकी यहाँ प्रचण्ड र माधव नेपाल समुह मिलेपछि मूख्यमन्त्री शाहीको पद जोगिएको हो । कर्णाली प्रदेशमा ओली एक्लिएका छन् । यसले केन्द्रिय राजनीतिमा समेत तरंग ल्याएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढा हट्ने छन् ।

    भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री बैंकिङ कसुरमा परेपछि उनी समेत हटाइएका थिए । उक्त पदसमेत आर्ज पूर्ति हुने भएको छ । उनी समेत ओली पक्षका नेता थिए । नयाँ बन्ने मन्त्रीमा भने चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा रहेको संचारमाध्यमले लेखेका छन् ।

  • नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार

    नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता नभएको करीव दुई साता पुगेको थियो । लो समयको यो अन्तरमा आज आइसब्रेक भएको छ । आज प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड वालुवाटर पुगेका छन् ।

    निरन्तर पार्टी निर्णय विपरित विवादित निर्णय गरिरहेका प्रधानमन्त्रीसँग एक्लाएक्लै भेट्नुको अर्थ नभएको भन्दै प्रचण्ड वालुवाटर जान मानेका थिएनन् । तर, ओलीले विभिन्न माध्यमबाट प्रचण्डलाई निरन्तर प्रस्ताव गरेपछि आज प्रचण्ड बालुवाटार पुगेका हुन । भेटमा प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउनु पर्ने प्रस्ताव गरेका छन् ।

    यसबीचमा प्रधानमन्त्रीले भेटेका भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयल, कर्णालीमा ओलीको समर्थनमा मुख्यमन्त्रीमाथि पार्टी भित्रैका सांसदको अविश्वासको प्रस्ताव, पर्सामा पूर्वमाओवादी कार्यकर्ताको हत्या हुँदा समेत प्रहरीले जाहेरी लिन नमान्नुजस्ता घटनाको सचिवालयमै छलफल हुनुपर्ने प्रचण्डको प्रस्ताव थियो । प्रधानमन्त्री भने पार्टीका सबै तहका बैठकबाट उम्कन खोजिरहेको नेकपाका नेताहरुको गुनासो छ ।

  • सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही

    सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही

    काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादर नटासेमा अब कारवाही हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण सार्वजनिक रुपमा देखिने गरी नटाँसे कारवाही गर्ने स्ष्ट पारेको छ । शुक्रवार देखि अभियानका रुपमा भाडादर टास्न लागिएको महाशाखाले जनाएको छ ।

    शुक्रबार मात्र ४२९ वटा सवारी साधनमा भाडादर टाँसिएको महाशाखाको भनाई छ । शनिवार समेत यो अभियान जारी रहेको छ ।


    सार्वजनिक सवारी साधनले चर्को भाडा असुलेको गुनासो बढेपछि विवरण टास्नै पर्ने नियम ल्याइएको हो । यसले यात्रुको गुनासो व्यवस्थापन हुने र यात्रुले समेत गन्तव्यसम्मको भाडादर थाहा पाएर सोही अनुसार भाडा दिन सक्नेछन् ।

    अब सवारी साधनमा विवरण नटासेमा कारवाही गरिने महाशाखाले जनाएको छ । प्रहरीले सडक र सवारी प्रयोगकर्ताहरुलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आह्वान समेत गरेको छ ।

  • काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना

    काठमाडौं उपत्यकामा थप १३५७ जनामा कोरोना

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३ सय ५७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना कोरोना संक्रमित थपिए ।

    यसमध्ये महिला ५ सय ६९ र पुरुष ७ सय ८८ रहेको मन्त्रालयको तथ्यांक छ । अहिले काठमाडौं जिल्लामा १६ हजार ८ सय ९० सक्रिय संक्रमित रहेका छन् । काठमाडौं जिल्लामा मात्र कुल २ सय १९ संक्रमितको ज्यान गइसकेको छ । यहाँ ४४ हजार ७ सय ४६ जनाले भने कोरोना जित्न सफल भएका छन् ।

  • नेपालमा कोरोनाबाट थप १७ को मृत्यु

    नेपालमा कोरोनाबाट थप १७ को मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबार उक्त संख्यामा मानिसको मृत्यु कोरोनाका कारण भएको हो । योसहित अब देशभर अहिलेसम्म ज्यान गुमाउने नेपालीको संख्या ९३७ पुगेको छ।

    देशभर उपचारका क्रममा रहेका ३६५ जनाको अहिले आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको छ । अन्य सक्रिय संक्रमितको अवस्था भने सामान्य रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते

    नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरसका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट तथ्यांक अनुसार देशभर ९ सय ७६ महिला र १५ सय ३२ पुरुषमा संक्रमित पुष्टी भएको हो ।

    यो अवधिमा २२ सय ६४ जना संक्रमितले भने कोरोना जित्न सफल भएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ पिसिआर परीक्षण भएको थियो । मन्त्रालयका अनुसार अब निको भएर घर फर्कनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको छ ।

  • रोनाल्डोले जिते कोरोना

    रोनाल्डोले जिते कोरोना

    काठमाडौं । पोर्चुगिष्ट स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमण जितेका छन् । युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्ने उनी शुक्रबार कोरोना संक्रमण मुक्त भएको क्लवले उल्लेख गरेको छ । यसबीचमा उनले च्याम्पियन्स लीगअन्तर्गत बार्सिलोनसँगको खेल गुमाएका छन् । उक्त खेलमा युभेन्ट्स पराजित भएको थियो ।

    रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले उल्लेख गरेको छ । उनी कोरोना पुष्टी भएको १९ औं दिनमा मुक्त हुन सफल भएका हुन् । नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोमा २४ अक्टोबरमा कोरोना संक्रमण पुष्टी भएको हो ।

  • अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण

    अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण

    न्यूयोर्क । चुनावी माहौलमा व्यस्त अमेरिकामा कोरोना भाइरसको संक्रमणको दर भने हरेक दिन उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    अमेरिकामा एकै दिन देखिएको संक्रमण संख्या यो सबैभन्दा उच्च हो । थप संक्रमितसँगै अब अमेरिकामा कुल कोरोना संक्रमितको संख्या ९३ लाख १६ हजार १३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख १८ हजार ९१० जनाले भाइरसलाई जित्न सफल भएका छन ।

    उपचार गराइरहेकाको संख्या ३० लाख ६२ हजार ६७ रहेको छ । त्यसमध्ये १६ हजार ९८३ जनाको अवस्था गम्भीर छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जाने मानिसको संख्या २ लाख ३५ हजार पुगेको छ ।

    पछिल्लो २४ घण्टामा यहाँ ९८५ जनाको मृत्यु भएको छ । अमेरिका संक्रमण र मानवीय क्षति दुबै दृष्टिबाट विश्वमै पहिलो मुलुक हो ।

  • टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते

    टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते

    इस्तानबुल । टर्की र ग्रिसमा गएको शक्तिशाली भूकम्पबाट कम्तिमा २२ जनाको मृत्यु भएको छ । सयौं मानिस घाइते भएका कारण मृतक संख्या बढ्न सक्ने आंशका गरिएको छ । भूकम्पले घरहरु भत्कदा मानवीय क्षति भएको हो ।

    टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले उल्लेख गरेको छ । उता, टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको उल्लेख गरेको छ ।

    भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा २० जनाको ज्यान गएको । यहाँ ७ सय ८६ जना घाइते भएको तथ्यांक आएको छ । सामोसमा दुई जनाको ज्यान गएको छ। भूकम्पपछि सुनामी उठेको र यसले इज्मिर र सामोसमा बाढी पसेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

  • पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी

    पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी

    वीरगन्ज । पार्टी भित्रको विवादका कारण उत्पन्न विवादपछि भएको झडपका क्रममा ज्यान गुमाएका नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भएको ८ दिनपछि अन्त्येष्टी गरिएको छ । उनको शुक्रबार अन्त्येष्टि भएको हो ।

    चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि उनको शव उठाउन परिवार तयार भएको हो । यसअघि उनको शव नारायणी अस्पतालमा राखिएको थियो । शवको पोस्टमार्टमपछि अन्त्येष्टि गरिएको हो।

    उक्त अवसरमा नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेता पुगेका थिए । उनीहरुले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

    गाँउपालिका कमिटीमा ६ कात्तिकमा भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा चौरसिया घाइते भएका थिए । उनको कात्तिक ७ मा उपचारका क्रममा निधन भएको थियो। त्यसपछि प्रहरीले उनलाई रड प्रहार गर्नेविरुद्ध जाहेरी लिन मानेको थिएन ।

    स्थानीय प्रहरीलाई केन्द्रले दवाव दिइरहेको थियो । किनकी यहाँ पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच झडप भएको हो । यसमा प्रधानमन्त्रीस्तर बाटै प्रहरीलाई दवाव गएको भन्दै केन्द्रिय राजनीति समेत तरंगित बनेको थियो ।

  • आइपीएल : गेल चम्किएको खेलमा पंजाव हार्यो

    आइपीएल : गेल चम्किएको खेलमा पंजाव हार्यो

    आबुधावी । टी २० क्रिकेटमा बादशाह मानिने खेलाडी क्रिस गेल चम्किएको खेलमा उनको टीम भने पराजित भएको छ । शुक्रबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ । उक्त खेलमा राजस्थानका लागि बेन स्टोक्सले अलराउन्ड प्रदर्शन गरे । उनी बल र ब्याट दुबैमा उत्कृष्ट ठहरिए ।

    अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन जोडेको हो । पन्जाबका लागि क्रिस गेलले ९९ रनको पारी खेले । उनी शतक बनाउन १ रनले चुकेका हुन् । ६३ बल खेलेको उनले ८ छक्का र ६ चौका प्रहार गरे । उनले आफ्नो करियरमा १ हजार छक्काको कीर्तिमान समेत पुरा गरेका छन् ।

    कप्तान केएल राहुलले ४१ बलमा ४६ रनको योगदान दिए । उनी जारी सिजनमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।


    बलिङतर्फ जोफ्रा आर्चर र बेन स्टोक्सले २–२ विकेट लिएका थिए । जवाफी ब्याटिंगमा उत्रिएको राजस्थानले १८६ रनको लक्ष्य १८ औं ओभरमा तीन विकेट गुमाएर सजिलै भेटायो ।

    राजस्थानको जितमा बेन स्टोक्सले सबैभन्दा धेरै ५० रन बनाए । सन्जु सामसनले ४८ रनको योगदान दिए । रोबिन उथप्पा ३०, स्टिभ स्मिथ ३१ र जोस बटलरले २२ रनको योगदान गरे ।

  • टर्की र ग्रीसमा शक्तिशाली भुकम्प

    टर्की र ग्रीसमा शक्तिशाली भुकम्प

    काठमाडौं । टर्की र ग्रीसमा शक्तिशाली भुकम्प गएको छ । ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीको इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी भूगर्भ निकायका अनुसार यहाँ नेपाली समय अनुसार शुक्रबार साँझ ७.० म्याग्निट्युडको भूकम्पको धक्का महसुश गरिएको हो ।

    यसको धक्का एथेन्स र इस्तानबुलसम्म भएको बीबीसीले लेखेको छ । अहिलेसम्म मानिसहरु मरेको खबर आएको छैन । तर, भवनहरु भत्किएको भिडियो र तस्वीर भने सामाजिक संजालमा आइरहेका छन् । टर्की भूकम्पबाट बढी प्रभावित मुलुकमध्ये एक हो ।

  • जब बुबाले आफ्नै छोराको चौरासी पुजा गरे..

    जब बुबाले आफ्नै छोराको चौरासी पुजा गरे..

    नवलपरासी । एक भाग्यमानी बुबाले आफ्नै छोराको चौरासी पुजा देख्न पाएका छन् । नेपालको राष्ट्रिय समाचार समिति (रासस)का अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक बुवाले छोराको चौरासी पूजा गर्ने दुर्लभ अवसर पाएका छन् । वर्तमान समयमा मानिसहरुको औसतः आयु बढेको छ । तर, अनेक कारणले मानिसले अकालमै ज्यान गुमाउनु पर्छ ।

    तर, एक बुवाले भने आफ्नै छोराको चौरासी पूजा गर्दै यो शौभाग्य प्राप्त गरेका हुन् । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै थप दीर्घायुको कामना गरेका छन् ।

    बुवाले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको स्थानीयको प्रतिक्रिया थियो । स्थानीयवासीले समेत बुवा केशवराजको हातबाट टिका तथा आशीर्वाद ग्रहण गरेका छन् ।
    बुवा केशवराज अहिले पनि स्वस्थ्य रहेको परिवारले जनाएको छ ।

    उनी खेतीपातीमै जीवन बिताएका व्यक्ति हुन् । केशवराजका चार छोरामध्ये ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा. बाबुराम रहेको छन् ।

    उनी विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका हुन् । उनको अहिले आफ्नै पाँचौँ पुस्ता (खनाति) देखिसकेका छन् । उनका खनाति शिवम् दुई वर्ष पूरा भएको राससले उल्लेख गरेको छ ।

  • काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या

    काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या

    काठमाडौं । काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या गरिएको छ । काठमाडौंको धापासीमा एक समूहले छुरा प्रहार गरी युवकको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान ज्यान गएको छ ।

    धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा उनीमाथि समूहले छुरा प्रहार गरेको हो । त्यसक्रममा गम्भीर घाइते भएका उनको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहार गर्ने दुई जना पक्राउ परेका छन्।

    प्रहरीका अनुसार दिवस अधिकारी र रवि थापा मगर पक्राउ परेका हुन्। घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक

    अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक

    बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।

    सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    राष्ट्रपति सी जिनपिङको नेतृत्वको चीनले ट्रम्प प्रशासनले अमेरिकी प्रविधि विक्रीमा लगाएको प्रतिबन्धबाट सिर्जित क्षतिलाई सीमित गर्ने प्रयास गरिरहेको छ । अमेरिकाले खासगरी सुरक्षा र जासुसीको आरोप लगाउँदै चिनियाँ प्रविधि कम्पनीहरुलाई एकपछि अर्को आदेशद्वारा अमेरिकी चिप्सहरु विक्री गर्न रोकिराखेको छ ।

    चिनियाँ कम्पनीहरुले टेलिकम, बायोटेक र अन्य क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेपछि अमेरिकाले नयाँ रणनीति अपनाउन थालेको चिनियाँ नेताहरुको बुझाई छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीद्वारा प्रकाशित विज्ञप्तिमा ‘विज्ञान र प्रविधि राष्ट्रिय विकासको लागि रणनीतिक महत्वका भाएकाले यो क्षेत्र आत्मनिर्भर हुनु पर्दछ’ भनिएको छ । विज्ञान र प्रविधिमाथिको सामथ्र्य निर्माणका कार्यलाई द्रुत गतिमा अघि बढ्नुपर्ने विज्ञप्तिमा उल्लेख छ तर यसबारे विस्तृत विवरण दिइएको छैन ।

    चीनमा सन् १९५० को दशकदेखि पञ्चवर्षीय योजना लागू छ । चार दशकयता खुला बजार र आर्थिक उदारीकरणको नीति अंगालेको चीनले पञ्चवर्षीय योजनाका आधारमा देशको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने गरेको छ जसमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका प्रमुख रुपमा रहने गरेको छ ।

    योजनाको पूर्ण विवरण अर्को वर्षको मार्चमा सार्वजनिक गरिनेछ । नियमहरुमा संशोधन तथा उद्योगहरुका लागि नयाँ योजना त्यसपछि अगाडि सारिने बताइएको छ ।

    बिहीबार सार्वजनिक वक्तव्यमा ‘हरित र कम कार्बनयुक्त विकास’लाई बढावा दिइने तथा चिनियाँको जीवनस्तर माथि लैजाने वाचा गरिएको छ । साथै वक्तव्यमा २३ लाख सैनिकलाई थप सुदृढ र सुसज्जित गरी “राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न” सक्षम तुल्याइने उल्लेख छ ।

    चीनले हाल एक ‘जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गरिरहेको छ,’ वक्तव्यमा भनिएको छ, तर कोरोनाभाइरस महामारी वा अमेरिकासँगको कर युद्धका बारेमा कुनै उल्लेख गरिएको छैन ।

    चीनका कारखानाहरूले विश्वको अधिकांश स्मार्टफोन, पर्सनल कम्प्युटर र दैनिक उपभोग्य इलेक्ट्रोनिक्स उत्पादन गर्दछन्, तर त्यसका लागि अमेरिकी, युरोपियन र जापानी सामान जरुरी हुन्छ । चिनियाँ कम्युनिष्ट नेताहरूले यी वस्तुको उत्पादनमा विदेशीसँगको परनिर्भरतालाई रणनीतिक कमजोरीको रूपमा हेर्छन् ।

    बिहीबारको वक्तव्यमा कुनै खास प्रविधिका बारेमा उल्लेख छैन, तर नेताहरूले विशेष गरी चीनमा उत्पादित स्मार्टफोन, इलेक्ट्रिक कारहरू र अन्य प्रविधिमा प्रयोग गरिने प्रसेसर चिप्सहरुका लागि अमेरिकासँग निर्भर रहनु परेकामा चिन्ता व्यक्त गरेका छन् ।चीनले मूल्यका आधारमा हाल कच्चा तेलको भन्दा बढी मूल्यको सेमीकन्डक्टर आयात गर्दछ ।

    टेलिकम उपकरण निर्माता हुवावे टेक्नोलोजिजले अहिले चिप्स र अन्य उपकरण निर्माण गर्न थालिसकेको छ । तर, यसले आफ्ना सबै आवश्यकता पूर्ति गर्न सक्दैन ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा चिनियाँ कम्पनीमाथि दबाब बढाएसँगै चिनियाँहरुले प्रसेसर चिप्स र प्रविधि विकासतर्फ ध्यान दिन थालेका हुन् ।गत वर्ष, ह्वाइट हाउसले चिनियाँ चिप्स र अन्य सामानको आयातमा समेत कडा नियन्त्रण घोषणा गरेको थियो । एपी

  • काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८१महिला र ११०७ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    जसमा काठमाडौंमा १५०८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप थपिएका छन् ।

  • नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना डिस्चार्ज

    नेपालमा थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ९८९ जनाको पीसीआर परीक्षणमा थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा ४०९६ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।

  • थप १६ जना कोरोना संक्रमितको मुत्यु,मृतकको संख्या ९२० पुग्यो

    थप १६ जना कोरोना संक्रमितको मुत्यु,मृतकको संख्या ९२० पुग्यो

    काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

  • पेरिस छाड्ने मानिसका कारण ७ सय किलोमिटरसम्म ट्राफिक जाम

    पेरिस छाड्ने मानिसका कारण ७ सय किलोमिटरसम्म ट्राफिक जाम

    पेरिस । फ्रान्स सरकारले आजबाट लागु हुने गरी १ महिले लामो लकडाउन घोषणा गरेको छ । त्यसको पूर्वसन्ध्यामा फ्रान्सको राजधानी पेरिस छाड्ने मानिसको अत्यधिक संख्या सडकमा निस्किएपछि ७ सय किलोमिटर भन्दा बढी लामो ट्राफिक जाम भएको छ । बीबीसीका अनुसार ग्रामिण भेगबाट राजधानी शहर पेरिसमा आएर बसेका धेरै मानिस गाउँ फmर्कन गाडी लिएर सडकमा आएका थिए ।

    फलस्वरुप सडकमा डरलाग्दो ट्राफिक जाम भएको हो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ । यसले पेरिसमा सम्भावित संकट देखेर धेरै मानिस गाउँ फर्कन चाहेका छन् । फ्रान्समा पछिल्लो केही दिनयता कोरोना सङ्क्रमित र त्यसबाट ज्यान गुमाउनेको संख्यामा गुणात्मक वृद्धि भएको छ ।

    बिहीबार मात्र यहाँ साढे ४७ हजार मानिसमा सङ्क्रमण पुष्टि भएको छ । २ सय ५० जनाको ज्यान गएको छ । फ्रान्समा अति आवश्यक काम नपरी अब मानिस घर बाहिर जान पाउने छैनन् । फ्रान्समा अधिकांश अस्पतालका बेड भरिभराउ भइसकेको र आइसीयु बेडको समेत अभाव शुरु भएको बताइएको छ ।

  • कश्मिरमा विजेपीका तीन कार्यकर्ताको गोली हानेर हत्या

    कश्मिरमा विजेपीका तीन कार्यकर्ताको गोली हानेर हत्या

    जम्मु-कश्मिर । भारतको कश्मिरमा सत्तारुढ भारतीय जनता पार्टीका तीन जना कार्यकर्ताको गोली हानेर हत्या भएको छ । यो प्रधानमन्त्री नरेन्द्र मोदीको दल हो । भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दलका कार्यकर्ताको हत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेको बताइएको छ । विजेपी जम्मु कश्मिरका प्रवक्ता अल्ताफ ठाकुरले घटनाको निन्दा गर्दै यो काम बर्बर भएको उल्लेख गरेका छन् ।

    ठाकुरले ईद (एमीलाद) नबीको पावन अवसरमा निहत्ता नागरिक मारिएको समेत बताएका छन् । पार्टीले घटनामा संलग्नलाई कडा कारवाहीको माग समेत गरेको छ । कश्मिरमा सत्तारुढ दलका कार्यकर्ता असुरक्षित बन्दै गएका छन् । कश्मिरलाई केन्द्र सरकारले आफ्नो नियन्त्रणमा लिएपछि अहिले यहाँ चरमपन्थी आन्दोलनसमेत चर्कदै गएको छ ।

  • राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी

    राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना पुष्टी

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबारदेखि ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । त्यसमध्ये चार जना खेलाडीमा कोरोनाबाट भाइरसको सङ्क्रमण पुष्टी भएको हो । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा छन् ।

    नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । सोही प्रयोजनका लागि एन्फाले बिहीबारदेखि प्रशिक्षण थालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरू भएको प्रशिक्षणमा ३० खेलाडी मात्र उपस्थित छन् ।

    नेपालले बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ मा खेल्नेछ । दोस्रो मैत्रीपूर्ण खेल २ मंसिरमा तय भएको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक नेपाली फुटबल टोलीले अन्तर्राष्ट्रिय सहभागिता जनाउन लागेको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी थालेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा छन् ।

  • दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति लीलाई १७ वर्ष जेल सजाय

    काठमाडौं । दक्षिण कोरियाली सर्वोच्च अदालतले भष्ट्राचार गरेको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ वाकलाई १७ वर्ष जेल सजाय सुनाएको छ । उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका थिए । यसअघि उनी धरौटीमा रिहा भएका थिए । अदालतले मुद्दाको फैसला नभएसम्मका लागि उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    ली माथि आफ्ना विश्वासपात्रमार्फत् आर्थिक अनियमितता गरेको आरोप लागेको छ । पछिल्लो फैसला अनुसार पूर्व राष्ट्रपति लीले पुनरावेदनको सुविधा समेत पाउने छैनन् । वर्तमान राष्ट्रपतिबाट सजाय माफ गर्न सक्ने प्रावधान छ । त्यो अस्वीकृत भएमा भने उनी तोकिएको अवधिभर जेलमा बस्नु पर्ने छ ।

    लीलाई पहिलो पटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो । उक्त मुद्दामा पुनरावेदन अदालतले उनीमाथि १७ वर्षको सजाय तोकेको थियो ।

    अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वनको अनियमितता र नौ अर्ब ४० करोड वन बराबर घुुस स्वीकार गरेको ठहर गरेको छ । उनीमाथि अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि संलग्न रहेको आरोप छ । एजेन्सी

  • आज कोजाग्रत पूर्णिमा, दशैं सकिँदै

    आज कोजाग्रत पूर्णिमा, दशैं सकिँदै

    काठमाडौं । आजबाट दशैं औपचारिक रुपमा सकिँदै छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज अन्तिम दिन दसैंको टीका प्रसाद लगाउने काम पुरा गरी दशैंको समापन हुने भएको हो । आज बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमरा नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गर्ने प्रचलन छ । त्यससँगै दशैंको औपचारिक समापन हुन्छ ।

    आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरिन्छ । कतै रातभर जाग्राम बसेर आरधना गर्ने समेत प्रचलन रहेको छ । यससँगै दुर्गापक्षको समापन हुन्छ । माता दुर्गाका तीन रुपमध्ये एक रुप महालक्ष्मीको पूजार गरि आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

    दसैं र नवरात्र विजया दशमीकै दिन सकिन्छ । तर, दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने मान्यता छ । आज हात्तीमा चढेका इन्द्रको समेत पूजा गरिन्छ ।
    आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५.२५ बजेसम्म चतुर्दशी तिथि छ । त्यसकारण कोजाग्रत व्रत भने शनिबार बस्ने सकिने भएको छ ।

    मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको भएको नेपाल पञ्चांग निर्णयक समितिले जनाएको छ । पूर्णिमा शनिबारको तिथि ३३ घडी १६ पला अर्थात् बेलुकी ७.३३ बजेसम्म छ ।

  • संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै

    संसारकै दोस्रो अग्लो बन्जी कुश्मामा शनिबारबाट संचालनमा आउँदै

    काठमाडौं । संसारकै अग्लो दोस्रो तथा प्राकृतिक रुपमा निर्मित संसारकै अग्लो बन्जी नेपालमा संचालनमा आउने भएको छ । पर्वतस्थित कुश्माको बन्जी र स्वीङ आगामी शनिबारबाट संचालनमा आउने भएको हो ।

    कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलबाट बन्जी, स्वीङ र स्काइ साइक्लीङसहितका साहसिक खेल संचालनमा आउँदैछ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चालन गर्ने गरी तालीका सार्वजनिक गरेको हो । यो स्थानमा २०७३ सालबाट पुल निर्माण थालिएको हो ।

    पुल र रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिएको थियो । लकडाउनका कारण सन्चालनमा ढिलाई भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताएका छन् । यहाँ ५२५ मिटर लामो झोलुङ्गे पुलको बिचमा कालीगण्डकी नदिको ठिक माथी बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्म निर्माण गरिएको छ। खोला देखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।

    अहिले विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजना पछि स्विटरल्याण्डलाई पछि पार्दै यसले बिश्वकै दोस्रो अग्लो बन्जिका रुपमा दर्ज हुनेछ ।

    मकाउको मकाउ टावरस्थित बन्जी मानव निर्मित टावरमा बनेको हो । कुश्मामा भने प्राकृतिक खोँचमा बन्जी गर्न पाइनेछ । यहाँ विश्वकै अग्लो स्वीङ समेत बनेको छ । बन्जी र स्वीङ दुबैको मुल्य ७ हजार तोकिएको छ। पोखरा देखी कुश्माको दुइतर्फी गाडीको सुबिधा सहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रहेको कम्पनीले जनाएको छ ।

    टेण्डम (जोडि) स्वीङको १२ हजार रुपैयाँ शुल्क तोकिएको छ । बन्जीकालागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ । सो भन्दा माथी बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ । जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक रहेको कम्पनीले जनाएको छ ।

    यहाँ गुलेलीको शैलीमा निर्माण गरिएको छ । पिङ खेल्न प्रतीव्यक्ति २ सय ५० रुपैयाँ तोकिएको छ । यहाँ स्टील कोर केबल प्रयोग गरि स्काइ साइक्लीङ समेत तयार गरिएको छ । विश्वकै सबैभन्दा ऊचाईमा सन्चालित कालीगण्डकी खोंचको स्काइ साइक्लीङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ।

    दुइतर्फी तीन सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लीङ गर्न मिल्छ । स्काइ साइक्लीङको सन्चालन भने केही महिना पछि हुने भएको छ । कम्पनीले बाग्लुङ्गको बलेवामा २५ रोपनी क्षेत्रफलमा ुद क्लिफ रिसोर्टु समेत निर्माण गरेको छ । यो परियोजनाको कुल लगानी २८ करोड रहेको कम्पनीको भनाई छ ।

  • यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै

    यी हुन् विश्वका मूल्यवान कम्पनी, प्रविधिका ब्राण्डको प्रभुत्व कायमै

    काठमाडौं । यो वर्षको विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूची सार्वजनिक भएको छ ।

    इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ ।

    एप्पलले आफ्नो ब्रान्ड भ्यालू ३८ प्रतिशले बढाउँदै ३ खर्ब २२ अर्ब डलर पु्याएको छ ।

    अमेरिकी धनाढ्य जेफ बेजोसको अनलाइन व्यापार कम्पनी अमेजन विश्वको दोस्रो ठूलो ब्रान्ड भ्यालू भएको कम्पनी बनेको छ ।

    कोरोनाकालमा आक्रमक व्यापार विस्तार गरेको अमेजनले सन् २०२० मा ब्रान्ड भ्यालू ६० प्रतिशले वृद्धि गरी २ खर्ब ६ अर्ब डलर पुर्याएको छ ।

    विश्वका चर्चित सार्वजनिक सामाजिक सञ्जाल फेसबुक भने टपटेन वाट नै बाहिरिएको छ । फेसबुक १४ औं स्थानमा पुगेको छ । गत वर्ष पनि १४ औं स्थानमा फेसबुक नै रहेको थियो ।

    यो वर्ष विश्वका सर्वाधिक मूल्यवान १ सय ब्राण्डको सूचिमा प्रविधिका ब्राण्डको प्रभुत्व देखिएको छ । इन्टरब्राण्डका अनुसार टेक्नोलोजी ब्राण्डले बढि हिस्सा ओगटेका छन् ।

    ब्राण्डेड प्रडक्ट तथा सेवाको वित्तिय अवस्था, उपभोक्ताको छनोटमा ब्राण्डले खेल्ने भूमिका तथा मूल्य र कम्पनीको मुनाफा लगायतका तत्वहरुको आधारमा इन्टरब्राण्डले विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि निकाल्ने गर्दछ ।

    सूचना प्रविधि कम्पनी माइक्रोसफ्ट तेस्रो स्थानमा रहेको छ । विश्वको चौथो ठूलो मूल्यवान कम्पनी बनेको गुगलको ब्रान्ड भ्यालू १ खर्ब ६५ अर्ब डलर रहेको छ ।

    विश्वका मूल्यवान कम्पनीहरुको सूचीमा सामसङ पाचौं स्थानमा रहेको छ । यसको ब्रान्ड भ्यालू गत आवको भन्दा २ प्रतिशतले बढेर ६२ अर्ब २८ करोड पुगेको छ ।

    ब्रान्ड भ्यालूका आधारमा पेयपदार्थ उत्पादक कम्पनी कोकाकोला छैटौं स्थानमा रहेको छ ।

    ब्रान्ड भ्यालूकै आधारमा गाडी उत्पादक कम्पनी टोयोटा सातौं, मर्सिडिज बेन्ज आठौं, फास्टफूड कम्पनी म्याक डोनाल्ड नवौं र डिज्नी दशौं स्थानमा रहेको छ ।

    विश्वको सर्वाधिक लोकपिय भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युब विश्वको ३० औं लोकप्रिय ब्राण्ड बनेको छ । सूचीको १९ औँ स्थानमा फेसबुक मातहतको इन्स्टाग्राम रहेको छ ।