Author: Vishwanews.com

  • नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण, ३०३८ जना डिस्चार्ज

    नेपालमा थप २३६४ जनामा कोरोना संक्रमण, ३०३८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ७६९ जनाको पीसीआर परीक्षणमा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको १ लाख ६४ हजार ७१८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३०३८ जना संक्रमणमुक्त भएका छन्।

    योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ। देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।

  • काठमाडौं उपत्यकामा १६१५ कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १६१५ कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा १६१५ कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७०४ महिला र ९११ पुरुषमा कोरोना संक्रमण देखिएको हो । जसमा काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।

  • थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो

    थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ सय नाघ्यो

    काठमाडौं । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १७ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो । बुधबार देशभर ११ जनाको मृत्यु भएको थियो ।

    योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

  • कोरोनाले रोक्यो मेसी र रोनाल्डोको भेट, बार्सिलोना विजयी

    कोरोनाले रोक्यो मेसी र रोनाल्डोको भेट, बार्सिलोना विजयी

    काठमाडौं । वर्तमान फुटबलका सबैभन्दा महान खेलाडी हुन् लियोनल मेसी र क्रिष्ट्रियानो रोनाल्डो । यी दुई खेलाडीले स्पेनमा लामो समय एक अर्काविरुद्ध खेले । तर, दई वर्ष अगाडी रोनाल्डो इटली गएपछि भने दुई महान खेलाडीको भेट भएको थिएन । तर, बुधबार राती भने दुई खेलाडीबीच युरोपियन च्याम्पियन्स लिगमा भेट्ने अवसर थियो ।

    तर, कोरोना भाइरसले दुई खेलाडीबीचको भिडन्त भने हेर्न पाइएन । रोनाल्डो अहिले कोरोनाको सामना गरिरहेका छन् । उनी होम आइसोलेसनमा बसेका छन् । उता, खेलमा भन स्पेनिस महारथी बार्सिलोनाले इटालियन च्याम्पियन युभेन्ट्समाथि जित निकालेको छ । जसमा कप्तान मेसीले एक गोल गर्न सफल भएका छन ।

    बार्सिलोनाले युभेन्ट्सलाई उसकै होम ग्राउण्डमा हराएको हो । समूह जी अन्तर्गत बार्सिलोनाले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको छ । खेलको १४ मिनेटमा बार्सिलोनाले उस्मान डेम्बेलेको गोलबाट अग्रता लियो । उनलाई लिओनल मेसीले पास दिएका थिए ।

    खेल सकिन पाँच मिनेट बाँकी रहेको अवस्थामा युभेन्ट्स १० खेलाडीमा सीमित भयो । डिफेन्डर मेरिह डेमिरल दोस्रो पहेँलो कार्ड पाउँदै बाहिरिए । दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो।

    अन्सु फातीमाथि भएको फउलमा मेसीले पेनाल्टीमार्फत बार्सिलोनाका लागि दोस्रो गोल गरे । लगातार दोस्रो जित निकालेको बार्सिलोना समूहको पहिलो स्थानमा छ ।

  • मुम्बई पुग्यो आइपीएलको प्लेअफमा, कोहलीको टीम पराजित

    मुम्बई पुग्यो आइपीएलको प्लेअफमा, कोहलीको टीम पराजित

    अबुधाबी । विराट कोहलीको टीम रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध रवाफिलो जित निकाल्दै मुम्बई इन्डियन्स जारी आइपिएलमा प्लेअफ पुगेको छ । प्लेअफ पुग्ने मुम्बई पहिलो टिम बन्न समेत सफल भएको छ । बुधबार राति अबुधाबीमा सम्पन्न खेलमा मुबईले बेंग्लोरलाई ५ विकेटले हराएको हो ।

    पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १६४ रन जोडेको थियो । टीमका लागि देवदुत पडिकलले सर्वाधिक ७४ रनको योगदान गरे । बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले किफायति बल फाले । उनले ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन राखेर मात्र १४ रन दिए ।

    १६५ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १९.१ ‌ओभरमा भेट्टायो । मुम्बईको जितमा सूर्यकुमार यादवले नटआउट ७९ रनको योगदान गरे ।

  • विप्लव समुहका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ

    विप्लव समुहका दुई कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ

    विराटनगर । विप्लव समुहका दुई कार्यकर्ता हातहतियार र विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)का पूर्वी कमाण्ड अन्तर्गत दुई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका अनुसार उनीहरुलाई मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार नियन्त्रणमा लिइएको हो ।


    पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ६ का १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय प्रतिक भन्ने काशीनाथ घिमिरे रहेका छन् । उनीहरुले हातहतियार देखाउँदै स्थानीयसँग चन्दा आतंक फैलाएपछि प्रहरीले खोजीको सूचिमा राखेको थियो । उनीहरुलाई विशेष सुराकीका आधारमा प्रहरीले मिक्लाजुङ गाउँपालिका १ स्थित विजुलीप्रसाद तिम्सिनाको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यो घर खाली भएका कारण उनीहरु कब्जा गरेर बसेका थिए । उनीहरूको साथबाट प्रहरीले हतियार र ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ। घिमिरे विप्लव समूहको पूर्वी कमाण्ड मेची कोसी ब्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) हुन । राई भने साधरण सदस्य रहेको प्रहरीले उल्लेख गरेको छ ।

    उनीहरूको साथबाट एक थान भरुवा बन्दुक, सोको गोली, हाई एक्सप्लोसिप विस्फोटक पदार्थ जिलेटिन तीन केजी, सुतली बम दुई थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटरसहित बम विस्फोटमा प्रयोग हुने सामग्री बरामद भएको छ ।

  • बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते

    बारामा तस्कर समुह र प्रहरीबीच झडप, १४ वर्षिय बालक गम्भीर घाइते

    बारा । बारामा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । यस क्रममा १४ वर्षीय बालक र तीन जना जना प्रहरी घाइते भएको बारा प्रहरीले जानकारी दिएको छ । बाराको सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे झडप भएको थियो । प्रहरीले स्थितिलाई काबुमा राख्न १२ राउन्ड हवाइफायर गरेको बताइएको छ । सोही क्रममा बालकको टाउकोमा चोट लागेको हो ।

    स्थानीयले तस्करी गरी ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीको भनाई छ । प्रहरीमाथि आक्रमण गरी गाडी तोडफोड गर्न थालेपछि प्रहरीले १२ राउन्ड हवाईफायर गरेको बताएको छ । घाइते बालकको बयोधा अस्पतालमा उपचार भइरहेको छ।

  • काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद

    काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद

    काठमाडौं । नजिकिएको तिहारलाई लक्षित गरी नेपालमा प्रतिवन्धित पटाका काठमाडौं भित्रने गरेको रहस्य खुलेको छ । सोही क्रममा प्रहरीले नागढुंगा चेकपोइन्टबाट बुधबार ठूलो मात्र विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

    प्रहरीले चेकजाँच गर्दा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ लाख ६६ हजार पटाका बरामद भएको हो । पटाका महेन्द्रनगरबाट काठमाडौं भित्रिएको पाइएको छ । पूर्व र मध्य नेपालका नाकामा अत्यधिक कडाई भएका कारण अहिले तस्करीका लागि सुदुरपश्चिमका नाका प्रयोगमा आइरहेका छन् ।

    यसअघि कंचनपुरमा तस्करले दुई प्रहरीको हत्या गरिसकेका छन् । महानगरीय प्रहरी प्रभाग, नागढुंगाका अनुसार महेन्द्रनगरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँच गर्दा सिटमुनि लुकाएर ल्याएको १० बोरा पटाका बरामद भएको हो ।

    प्रहरीले बस चालक कञ्चनपुरका ३० वर्षिय नविन जोशीलाई नियन्त्रणमा लिएको छ । नागढुंगाबाटै रौतहटको गौरबाट ल्याइएको ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद भएको प्रहरीले जनाएको छ ।

    ना ६ ख ७११४ नम्बरको बसमा चेकजाँच गर्दा रौतहटको पिन्टु जैसवालले पटाका ल्याएर आएको खुलेको छ ।

  • फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने

    फ्रान्समा पुनः शुरु भयो देशव्यापी लकडाउन, एक महिना कायम रहने

    पेरिस । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच फ्रान्सले देशव्यापी लकडाउन शुरु गरेको छ । फ्रान्समा दोस्रो पटक लकडाउन घोषणा गरिएको हो । राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गरेका छन् । लकडाउन शुक्रबारबाट शुरु भएको हो । लकडाउन नोभेम्बर महिना भर लागु हुने भएको छ ।

    अहिले यूरोपमा कोरोना भाइरसको संक्रमणले फैलावट लिएको छ । राष्ट्रपति इम्यानुयल म्याक्रोका अनुसार लकडाउन घोषणा गरेको समयमा अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाइने छैन । स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग खुला राखिएको छ ।

    रेष्टुरेन्ट्स, बारसहित मानिसको भिडभाड हुने व्यवसाय बन्द गरिएको छ । अन्तरर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार फ्रान्समा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने मानिसको संख्या अप्रिल महिनापछि अहिले सबैभन्दा माथि पुगेको छ ।

    यस मुलुकमा पछिल्लो २४ घण्टामा ३३ हजार नयाँ संक्रमित पुष्टी भएको छ । राष्ट्रपति म्याक्रोले कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगेको उल्लेख गरेका छन् । फ्रान्समा अस्पतालका आइसीयू बेडसमेत भरिएको उनले जानकारी गराएका छन् ।

  • मूख्यसचिव बैरागीलाई कोरोना पुष्टी

    मूख्यसचिव बैरागीलाई कोरोना पुष्टी

    काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी स्वयमःले आफुलाई कोरोना पुष्टी भएको जानकारी गराएका छन् । बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको बैरागीले उल्लेख गरेका छन् ।

    आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह समेत उनले गरेका छन् । कोरोना पुष्टी हुने उनी सबैभन्दा उच्च तहका कर्मचारी हुन् ।

  • आजबाट पुनः संचालनमा आयो तातोपानी नाका

    आजबाट पुनः संचालनमा आयो तातोपानी नाका

    काठमाडौं । तातोपानी नाका आजबाट पुनः संचालनमा आएको छ । नेपाल—चीनबीचको प्रमुख व्यापारिक नाका आजबाट औपचारिक रुपमा पुनः सञ्चालनमा आएको हो । यसअघि बाढीपहिराका कारण बन्द भएको यो नाका असोज १९ मा सञ्चालनमा आएको थियो ।

    खुलेको पहिलो दिनमै केही नेपाली कर्मचारीमा कोरोना संक्रमण देखिएपछि चिनियाँ पक्षले असोज २० गतेदेखि नाका एकलौटी रुपमा बन्द गरेको थियो। दुवै देशबीचको समझदारीअनुसार स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्ने गरी बुधबारबाट नाका खुलेको हो । बिहीबारबाट मालवाहक कन्टेनर भित्रन शुरु गर्ने भन्सार कार्यालयले जनाएको छ ।

    नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने भएको छ । अब नेपाली कामदार सीमा पारि जानु पर्ने छैन ।


    यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखिने छ । त्यसपछि जाँचपास गरी पठाइने भएको छ ।

  • अब दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने

    अब दैनिक कोरोना प्रेस ब्रिफिङ नहुने

    काठमाडौं । अब दैनिक कोरोना सम्बन्धी प्रेस ब्रिफिङ नहुने भएको छ । सरकारले साताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने गरी निर्णय गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    उनका अनुसार अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे लाइभ ब्रिफिङ हुनेछ । यसअघि दशैं बिदाको असर पारी ब्रिफिङ ५ दिनसम्म रोकिएको थियो। अन्य दिन भने वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी सार्वजनिक गरिने भएको छ ।

    सरकारले २०७६ चैत ११ गतेबाट दैनिक सवा ४ बजे नेपाल टेलिभिजनबाट कोरोना ब्रिफिङ गर्दै आएको थियो।

  • अरिङ्गालले टोक्दा दुई बालिकाको ज्यान गयो

    अरिङ्गालले टोक्दा दुई बालिकाको ज्यान गयो

    डोटी । डोटीमा अरिङ्गालले टोक्दा दुई जना बालिकाको ज्यान गएको छ । डोटीको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको ज्यान गएको हो । उक्त वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

    घर नजिक रहेको रुखमा गुड बनाएर बसेको अरिङ्गालले बालिकाहरुलाई टोकेको थियो । टोकाइबाट गम्भीर घाइते दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगेपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

  • वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल

    वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको उत्साह, शेयर बजारमा उछाल

    काठमाडौं । दशैं बिदापछि खुलेको पहिलो दिन शेयर बजारमा ४१.२० अंकको वृद्धि कायम भएको छ । यस दिन लगानीकर्ता वाणिज्य बैंकहरुको शेयरमा झुम्मिएका छन् । बुधबार नेप्से परिसूचक ४१.२० अंकले बढेर १६ सय ४७।४६ विन्दुमा पुगेर बन्द भएको छ ।

    कारोबार अवधिभर कुल सय ८८ कम्पनीको ९३ लाख २२ हजार ८५ कित्ता सेयर ४२ हजार ६१८ पटक किनबेच भएको छ । आज कुल कारोबार रकम २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

    बुधबार बैंकिङ क्षेत्रको सूचक ५५.१५, जीवन बीमा ११०.६८, विकास बैंक ६०.९७ अंकले बढ्यो । निर्जीवन बीमा ४७.०७, होटल ३२.८५, माइक्रोफाइनान्स २५.१९, उत्पादन तथा प्रशोधन २०.८८, फाइनान्स १३.३८, हाइड्रोपावर ३.८६ र म्युचअल फण्ड ०.१३ तथा अन्य १४.५७ अंकले बढेको छ । व्यापार समूहको सूचक ८.८३ अंकले घट्यो ।

    आज प्राइम कमर्सियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट ब्रेक लागेको छ । आज ग्लोबल आईएमई बैंकको सेयर सबैभन्दा धेरै २० करोड ६५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

  • कोरोना कारण देखाउँदै नेकपा केन्द्रिय कमिटि बैठक स्थगित

    कोरोना कारण देखाउँदै नेकपा केन्द्रिय कमिटि बैठक स्थगित

    काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक स्थगित भएको छ । कोरोना भाइरसको महामारीको कारण देखाउँदै नकपाको बैठक स्थगित गरिएको हो । यसअघि कात्तिक १५ देखि १७ गतेसम्म बैठक बस्ने गरी मिति निर्धारण गरिएको थियो ।

    केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालका अनुसार बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना हुने गरी मिति तोकिएको छ । कोरोना भाइरसको संक्रमण दशैंको चहलपहल पछि अझ बढ्ने अनुमान गरिएको छ ।

  • नेपालमा थप १९५४ जनामा कोरोना पुष्टी

    नेपालमा थप १९५४ जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा भित्र थप १९५४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । देशभरका प्रयोगशालाबाट कुल ८२४८ नमुना परीक्षण गरिएको थियो । यसमध्ये ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

    यसमध्ये ८८७ जनाको मृत्यु भएको छ । १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएको तथ्यांक आएको छ । पछिल्लो २४ घण्टामा २९८१ जनाले कोरोनालाई जित्न सफल भएका छन् । मन्त्रालयका अनुसार संक्रिय संक्रमितमध्ये ३१ हजार ९३४ होम र ७ हजार ७०९ संस्थागत आइसोलेसनमा बसेका छन् ।


    मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८४३ नयाँ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जना छन् ।

    मोरङका २५३ जना, सुनसरीका २०३, चितवनका १६३, कास्कीका ९९, झापाका ७८, नवलपुरका ५०, मकवानपुरका ३९, महोत्तरीका २७, पर्साका २०, स्याङ्जाका १३, सप्तरी र गोरखाका ११\११ जना, उदयपुर र तनहुँका १०\१० जना, सोलुखुम्बु र सिराहाका ९\९ जना तथा धनुषा र काभ्रेका ८\८ जनामा संक्रमण पुष्टि भएको छ ।

    रुपन्देहीका ७ जना, सर्लाही, बर्दिया, दैलेख र कैलालीका ६\६ जना, नुवाकोटका ५, संखुवासभा, बाग्लुङ र अछामका ४\४ जना, खोटाङ, तेह्रथुम, बारा, रौतहट, सिन्धुपाल्चोक, गुल्मी र दाङका ३\३ जना, इलाम, धादिङ, लमजुङ र कञ्चनपुरका २\२ तथा ओखलढुंगा, भोजपुर, पर्वत, मुस्ताङ, नवलपरासी, पाल्पा र बाँकेका १\१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

  • भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक

    भारतीय सेनाध्यक्ष १९ कात्तिकमा काठमाडौं आउने, भ्रमण तालीका सार्वजनिक

    काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका सार्वजनिक भएको छ । नेपाली सेनाले भ्रमण तालीका सार्वजनिक गरेको हो । उनी कात्तिक १९ काठमाडौं आउने छन् । २१ कात्तिकमा भारत फिर्ता हुनेछन् । नेपाली सेनाका अनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर ५ तारेखमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

    तीन दिन नेपाल भ्रमणमा रहँदा सेनाध्यक्ष नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग वार्ता गर्नेछन् ।

    उनले अमान्ड अफ स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम समेत रहेको सेनाले जनाएको छ । उनले नेपालमा रहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने छन् । भेट कात्तिक २१ का दिन तय भएको छ ।

  • परीक्षण घट्दा संक्रमितको संख्या ओरालो

    परीक्षण घट्दा संक्रमितको संख्या ओरालो

    काठमाडौं । बडादशैंको बिदाको अवसर पारी काठमाडौं उपत्यकामा चहलपहल घट्यो । यसको प्रभाव कोरोना भाइरसको परीक्षणमा समेत देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र २ हजार ७२५ नमुना परीक्षण भएको छ । यो संख्याबाट ५७० जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरका ल्याबमा यो संख्यामा परीक्षण भएको हो ।

    अब देशभर संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । यसमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    २४ घण्टामा १४ जनाको ज्यान गएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

  • साइकल र मोटरसाइकल जुधे, २ जनाको मृत्यु

    साइकल र मोटरसाइकल जुधे, २ जनाको मृत्यु

    राजविराज । सप्तरीमा साइकल र मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा स १० प ९१३१ नम्बरको मोटरसाइकल र साइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा साइकल चालक मोरङ, उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरीको सप्तकोशी नगरपालिका वडा नगरपालिका ७ का मुकेश सिंहको ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    मोटरसाइकलको पछाडि बसेका सप्तकोशी नगरपालिका वडा नगरपालिका ७ का २५ वर्षका अनिलकुमार यादवको उपचार जारी रहेको छ । तिब्र गतिका कारण मोटरसाइकलले साइकललाई ठक्कर दिएको अनुमान प्रहरीको छ ।

  • लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए

    लकडाउनयता विदेशबाट सवा १ लाख नेपाली घर फर्किए

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि सरकारले गरेको लकडाउनपछि नियमित उडान बन्द भयो । सरकारले १६ भदौबाट नियमित उडान समेत खोल्यो । ११ चैतमा शुरु भएको लकडाउनयता विदेशबाट १ लाख २२ हजार
    ५ सय जना नेपाली घर फर्किएका छन् ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबारसम्म उक्त संख्यामा नेपाली घर आएका हुन् । केन्द्रले हवाई मार्ग प्रयोग गरी आएका नेपालीको मात्र तथ्यांक राखेको छ । यसबीचमा भारतबाट आएका हजारौं नेपालीको भने यकिन तथ्यांक छैन ।

    विदेशमा रोजगारी गुमाएका, घुमफिरका लागि विदेश पुगेर अड्किएका, आफन्त भेट्न विदेश पुगेका नेपालीलाई प्राथमिकताका साथ नेपाल ल्याइएको छ । पछिल्लो समय भने स्वच्छाले नेपाल आउनेहरु समेत बढेका छन् । तथ्यांक अनुसार ३२ मुलुकबाट नेपाली घर आएका छन् । घर आएका मध्ये अधिकांश खाडी मुलुकबाट छन् ।

    यसअवधिमा सबैभन्दा धेरै यूएईबाट ३५ हजार ४ सय १७ जना घर आएका छन् । कतारबाट २२ हजार ५ सय ९४, मलेसियाबाट १७ हजार ९ सय २४ जना र साउदी अरेबियाबाट १७ हजार १ सय ६० जना आएको तथ्यांक छ । अमेरिकाबाट ४ सय ३७ जना नेपाली घर आएका छन् ।

  • संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ

    संक्रमण रोक्न लकडाउन नै अन्तिम उपाय होइन : डब्लूएचओ

    जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण रोक्ने उपाय लकडाउन नभएको बताएको छ । पछिल्ला दिनमा यूरोपमा कोरोना संक्रमणको दोस्रो चरणको लहर चलेको छ । यसले यूरोपमा लकडाउन र प्रतिवन्ध शुरु भएको छ ।

    सोही सन्दर्भमा डब्लूएचओले कोरोना भाइरस रोकथामका उपाय पूर्ण रूपमा पालना गर्ने हो भने भाइरसको संक्रमण रोक्न लकडाउन र प्रतिवन्ध आवश्यक नपर्ने उल्लेख गरेको छ । पछिल्ला दिनमा स्पेन, इटली, फ्रान्ससहित विभिन्न मुलुकमा संक्रमितको संख्यामा गुणात्मक वृद्धि देखिएको छ ।

    कोभिड–१९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धभन्दा सम्बन्धित मुलुकले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई बढाउनु पर्ने सुझाव दिएकी छिन् । अघिल्लो साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली मुलुकबाट आएका छन् । यसले पुनः एक पटक यूरोप कोरोनाबाट प्रभावित हुने देखिएको छ ।

  • खोटाङमा ट्याक्सी दुर्घटनामा तीनको मृत्यु

    खोटाङमा ट्याक्सी दुर्घटनामा तीनको मृत्यु

    खोटाङ । खोटाङमा ट्याक्सी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार सोमबार साँझ भएको दुर्घटनामा तीन जनाको ज्यान गएको हो । चार जना घाइते भएका छन् । ट्याक्सी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको ट्याक्सी बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा सोमबार साँझ सडकबाट झन्डै साढे २ मिटर तल खसेको अवस्थामा भेटिएको थियो ।

    दुर्घटनामा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    २८ वर्षीय छत्रबहादुर राई, ९ महिनाका शिषु दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते रहेको प्रहरीको भनाई छ । उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

  • रोमाञ्चक बन्दै आइपीएल, पंजावले हरायो कोलकात्तालाई

    रोमाञ्चक बन्दै आइपीएल, पंजावले हरायो कोलकात्तालाई

    दुबई । आईपीएल क्रिकेट रोमाञ्चक बन्दै गएको छ । खासगरी अंक तालीकाको तल्लो क्रममा रहेका टोलीले माथिल्लो स्तरमा रहेका टोलीलाई रोक्न थालेपछि अंक तालीका रोमाञ्चक बन्दै गएको छ । आइपीएलमा गएराति किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई आठ विकेटले हराएको छ ।

    कोलकाताको तर्फबाट जितका लागि पाएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै जित निकालेको छ । पन्जाबका लागि मन्दीप सिंह र क्रिस गेलले १०० रनको साझेदारी गरेका थिए । मन्दीप सिंहले नटआउट ६६ र क्रिस गेलले ५१ रन जोडे ।

    दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा यो पन्जाबको छैठौं जित र कोलकाताको छैटौं हार हो । जितपछि पन्जाब १२ अंकसहित अंक तालिकाको चौथो नम्बरमा पुगेको छ ।

  • हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

    हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

    काठमाडौं । हास्य कलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी स्वयमले त्यसको पुष्टी गरेका हुन् । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वास्थ्य परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको उनले उल्लेख गरेका छन् । उनका अनुसार दाजुमा संक्रमण पुटी भएको थियो ।

    दाजुलाई अस्पताल लैजाने–ल्याउने क्रममा आफुलाई कोरोना सरेको हुन सक्ने गजुरेलको भनाई छ । विहीबारदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिएको उनले जनाएका छन् । आफूमा गाह्रो हुने खालका लक्षण नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा उल्लेख गरेका छन् ।

  • विभिन्न स्थानमा कोरोनाबाट ४ जनाको मृत्यु

    विभिन्न स्थानमा कोरोनाबाट ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको ज्यान गएको छ । मंगलबार रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका सिलसिलामा निधन भएको हो ।

    उता, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति निधन भएको हो ।

    यता, चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको ज्यान गएको हो ।

  • सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

    सिरियामा रुसको हमला, ५० भन्दा बढी लडाकुको मृत्यु

    काठमाडौं । सिरियामा रुसले गरेको हवाई हमलामा टर्की समर्थित लडाकुतर्फ ठूलो हताहती भएको छ । अन्तराष्ट्रिय संचारमाध्यमले लेखेअनुसार उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसले हवाई हमला गरेको छ । यस घटनामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको ज्यान गएको हो । थुप्रै मानिस घाइते भएका छन् ।

    इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम नामक स्थानमा हवाई हमला भएको हो । अहिले यो क्षेत्र अशान्त बनेको छ । रुसले फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण गरेको जनाएको बीबीसीले लेखेको छ ।

    सिरियामा अहिले गृहयुद्ध चलिरहेको छ । यस गृहयुद्धलाई रुस र टर्कीले एक अर्का पक्षलाई समर्थन गरेका छन् । सिरियामा गत मार्चमा युद्धविराम घोषणा भएको थियो । यो आक्रमण त्यसयताकै ठूलो भएको बीबीसीको भनाई छ । सिरियामा नौ वर्षदेखि गृहयुद्ध जारी छ ।

    एजेन्सी

  • आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो

    आज बडादशैं, टिका जमरा र आर्शिवाद लेनदेन गरी मनाइयो

    काठमाडौं । आज बडादशैं, हिन्दु धर्मावलम्बीहरुले धुमधामसाथ मनाइरहेका छन् । आज सर्वसाधारणले मान्यजनबाट टिका ग्रहण गरी आर्शिवाद लिएर बडा दशैं मनाएका छन् । यस दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गरेका छन्।

    शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले टीका ग्रहण गरेका हुन्। राष्ट्रपति भण्डारीले भने आफ्नी आमा र गुरुको हातबाट टिका ग्रहण गरेकी छिन् । प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली भने गृहजिल्ला झापामै थिए । सोहीकारण उनले छोरालाई टिका लगाउन सकेनन् ।

    विजयादशमीको १० औं दिन आज टिका ग्रहण गरेसँगै दशैंको मूख्य दिन सकिएको छ । कुनै समुदायले पूर्णिमासम्म टिका लगाउँछन् भने कुनै समुदाय र स्थानमा भने आज मात्र टिका लगाउने गरिन्छ ।

  • एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु

    एक प्रेमिकाका विषयमा तीन जनाबीच झडप, एकको मृत्यु

    भक्तपुर । भक्तपुरमा एक प्रेमिकाको विषयमा भएको झगडाले उग्ररुप लिँदा तीन जना साथिबीच झडप भएको छ । यस क्रममा एक जनाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ इटापाकेस्थित दुवाल मेटल कारखानामा काम गर्ने तीन जना भारतीय मजदुरबीच मदिरा सेवनपछि प्रेमिकाको विषयलाई लिएर विवाद भएको प्रहरीले जनाएको छ ।

    सोही क्रममा झडप भएको र त्यसले उग्ररुप लिँदा एक जनाको हत्या भएको पाइएको छ । घटनामा भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भई सोही कारखानामा पित्तलको भाँडा बनाउने ३५ वर्षीय शाहिव हुसैनको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार शाहिवको हत्या अभियोगमा शाहिवसँगै काम गर्ने दुई जना भारतीय मजदुर भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल दुवाल मेटल कारखाना बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान पक्राउ परेका छन् ।

    उनीहरुले शनिबार राति सँगै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि राती ९ बजे कारखाना फर्कने क्रममा शाहिव, सानु र सलमानबीच एक प्रेमिकाका विषयमा विवाद भएको हो । प्रहरीका अनुसार हुसेनले अनुचित शब्द बोलेको र त्यसक्रममा विवाद उत्पन्न भएको बताइएको छ । त्यसपछि सानु र सलमानले शाहिदको अनुहार र टाउकोमा ढुंगा प्रहार गरेका थिए ।


    शाहिदको शव आइतबार बिहान इटापाकेको प्लानिङस्थित नरकटघारी खोल्सामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले तालीमप्राप्त कुकुरको सहायतामा अपराधीको खोजी गरेको थियो ।

    प्रहरीले सलमान र सानुको कोठामा खानतलासी गरी दुवै जनाको कोठाबाट रगत लागेको लुगा र जुत्ता फेला परेपछि पोल खुलेको थियो । दुबै जनाले हत्या स्वीकार गरेका छन् ।

  • कैलालीमा दुई बालिकाको नदीमा डुबेर निधन

    कैलालीमा दुई बालिकाको नदीमा डुबेर निधन

    कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको घोडाघोडी नगरपालिका ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ९ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको हो ।

    उनीहरु गोरु चराउन गएको समयमा नुहाउन नदीमा छिरेका थिए । सोही बेला उनीहरु नदीमा डुबेको प्रहरीले जनाएको छ ।

  • उपत्यकामा थपिए १५३५ संक्रमित

    उपत्यकामा थपिए १५३५ संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार १५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला हुन् ।

    काठमाडौं जिल्लामा हालसम्म ५६ हजार ३०२ जना संक्रमित भइसकेका छन् । तीमध्ये ३६ हजार २८३ जना निको भएका छन् । यो जिल्लामा १९३ जनाको मृत्यु भएको छ । यहाँ अहिले १९ हजार ८२६ सक्रिय संक्रमित छन् ।

    काठमाडौंमा होम आइसोलेसनमा १० हजार ५०१ जना रहेको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ । ललितपुर जिल्लामा हालसम्म ७८८३ जना संक्रमित भएका छन् । तीमध्ये ५३९९ जना निको भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २४३० रहेको छ । ललितपुरमा २६४३ जना होम आइसोलेसनमा छन् ।

    भक्तपुर जिल्लामा हालसम्म ५३१३ जना संक्रमित भएका छन् । तीमध्ये ३७६३ जना निको भएका छन् भने ५६ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या १४९४ रहेको छ । भक्तपुरमा १७१९ जना होम आइसोलेसनमा छन् ।