Author: Vishwanews.com

  • कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको रहेका छन् ।

    त्यस्तै काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय पुरुष, कपिलवस्तुरमा ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।

    नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

  • उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिए

    उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा काठमाडौंमा ३ सय , ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिए हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ।

    काठमाडौंमा ६ हजार २ सय १७ ललितपुरका ९७७ र भक्तपुरमा ७८२ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

    नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षणमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप २२ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३२ हजार ९ सय ६४ उपचारपछि निको भएका छन्।

  • विवाद बढेपछि रेलमार्गको ठेक्का स्थगित

    विवाद बढेपछि रेलमार्गको ठेक्का स्थगित

    काठमाडौं । १०६ किलोमिटर रेलमार्गका लागि ५४ वटा प्याकेजमा ठेक्का आह्वान भएपछि मिलेमतोको आंशका बढेको थियो । त्यसपछि यो आयोजनाको तिब्र आलोचना शुरु भयो । सोहीकारण सरकारले पूर्व-पश्चिम रेलमार्गको काकडभिटा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का नै स्थगित गरिदिएको छ ।

    रेल विभागले मंगलबार सूचना प्रकाशित गरी विवादित बनेको ठेक्का स्थगित भएको स्पष्ट पारेको छ । यहाँ साइट क्लियरेन्सको काम र पूर्वतयारीको काम समेत नसकिदै सरकारले ठेक्का लगाउन हतार गरिरहेको छ । किनकी यो खण्डको जग्गाको मुआब्जा वितरण नै टुंगो लालिसकेको छैन ।

    त्यसमाथि थोरै खण्डमा समेत ५४ वटा प्याकेजमा १८ जना ठेकेदार कम्पनीलाई ठेक्का दिने तयारी गरिएपछि आयोजना विवादित बन्न पुगेको हो । रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी सेटिगं गरी टेन्डर आह्वान गरेको भन्दै विभागको आलोचना भएको थियो ।

    यो आयोजनाको कुल लागत ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँ अनुमान गरिएको थियो । नेपालमा अधिकांश आयोजना पूर्वतयारी बीना नै अगाडी बढाइएका कारण विवादित बन्ने गरेका छन् ।

  • जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

    जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

    टोकियो । जापानमा आइतबार आएको शक्तिशाली आँधीले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । संसारमा बढी प्राकृतिक विपत्तिको सामना गर्ने मुलुकमध्ये एक जापानमा पछिल्लो २५ वर्षयता कै शक्तिशाली आँधी आएको हो । यो आँधिलाई ‘हाइसेन’ नाम दिइएको छ ।

    यद्दपी पूर्वतयारी गरिएका कारण अहिलेसम्म मानवीय क्षतिको भने खबर छैन । शक्तिशाली आँधीले ११ लाख मानिस प्रत्यक्ष प्रभावित भएको र उनीहरुको स्थानान्तरणको तयारी थालिएको छ । जापानको दक्षिण पश्चिम क्षेत्रमा आँधीले प्रभाव पारेको छ ।

    १७२ किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आएको थियो । यसले ठूलो वर्षा समेत निम्त्याएको थियो । जापानमा केही दिन अगाडी पनि ‘मेसक’ नामक अर्को शक्तिशाली आँधी आएको थियो । आँधी आएपछि हवाइ उडान, उद्योगधन्दा, विद्यालय बन्द भएका छन्। खानपानी र विद्यूतको आपूर्ति समेत प्रभावित बनेको छ ।

    यो आँधीको असर अहिले उत्तर कोरियामा समेत देखिन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

  • लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ

    लद्दाखमा भारत र चीनबीच पुनः सैन्य तनाव बढ्दै, सोमबार राती दुबै तर्फबाट फायरिङ

    लद्दाख । लद्दाखमा केही महिना अगाडी २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक मुडभेडपछि यो क्षेत्र अशान्त बनेको छ । दुई छिमेकी मुलुक भारत र चीनबीच सीमा क्षेत्रमा त्यसयता पटक पटक फायरिङका घटना हुन थालेका छन् ।

    सोमबार राती समेत दुबै मुलुकका सेनाले सीमानामा चेतावनी फायरिङ गरेको चीनको सरकारी संचारमाध्यम ग्लोबल टाइम्सले पुष्टी गरेको छ । सोमबार राति भारत चीनबीचको विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेको र चीनले पनि जवाफी फायरिङ गरेको टाइम्सको भनाई छ ।

    सेनालाई उदृत गर्दै उत्त संचारमाध्यमले जनाएअनुसार भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको थियो । त्यसपछि अवस्थालाई शान्त पार्न चिनियाँ सेनाले जवाफी फायरिङ गरेको छ । उता, भारतीय समाचार एजेन्सी एएनआइले समेत पूर्वीलद्दाख सीमामा फायरिङ भएको पुष्टी गरेको छ ।

  • एम्बाप्पेमा देखियो कोरोना

    एम्बाप्पेमा देखियो कोरोना

    पेरिस । फ्रान्सेली फर्वाड केलियन एम्बाप्पेमा कोरोना भाइरसको संक्रमण भएको छ । सोमबारको परीक्षणको नतिजा अनुसार उनलाई कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले पुष्टी गरेको छ । उनी युरोपियन नेसन्स लिग खेलिरहेका थिए । कोरोना पोजेटिभ देखिएसँगै उनी घर फर्किएको बताइएको छ ।

    उनमा कोरोनाको लक्षण नभएको र स्वास्थ्य अवस्था समेत सामान्य रहेको संघको भनाई छ । फ्रान्सका मूख्य स्ट्राइकरमा कोरोना देखिएपछि उनी बाँकि खेलमा देखिने छैनन् । जसले विश्व विजेता फ्रान्सलाई कमजोर बनाउने छ ।

    उनलाई संक्रमण देखिएपछि युरोपियन नेसन्स लिग अन्तर्गत मंगलबार राति निर्धारित फ्रान्स र क्रोएसियाबिचको खेल समेत प्रभावित हुने देखिएको छ । किनकी अब उनको सम्पर्कमा आएका सबै जनाको कोरोना परीक्षण हुनुपर्छ ।

  • बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्

    बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण घर बगेपछि हराइरहेका २१ जनाको अझै कुनै सुचना प्राप्त हुन सकेन । अघिल्लो बुधबार राती आएको बाढीले घर बगाएपछि ३८ जना हराएका थिए । त्यसमध्ये १७ जनाको भने शव फेला परिसकेको छ ।

    स्थानीय प्रशासनका अनुसार हराइरहेका २१ जनाको खोजी कार्य भने अहिले पनि जारी रहेको छ । स्थानीय बासि, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धारको काम जारी राखेका छन् ।

    सोमबार अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका ७ स्थित बढीगाड खोलामा फेला परेको छ । यहाँबाट बगेका अधिकांश शवशरु गुल्मीमा पुगेर फेला परिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङले जनाए अनुसार मृतक १७ जनामध्ये १५ जनाको भने सनाखत समेत भइसकेको छ । उनीहरुको शव आफन्तको जिम्मा लगाइसकिएको छ । पहिचान नभएका दुई शव भने बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको छ ।

  • जग्गाको कित्ताकाट फुकुवा

    जग्गाको कित्ताकाट फुकुवा

    काठमाडौं । सरकारले अब जग्गा कित्ताकाट गर्न पाउने गरी फुकुवा गरेको छ । यस्तो व्यवस्था तीन वर्षदेखि बन्द थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गत १८ भदौमा कित्ताकाट फुकुवा गरेकी हुन् ।

    यसअघि २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभर कृषियोग्य भूमि खण्डीकरण भएको भन्दै जग्गा कित्ताकाट रोकेका थिए । मन्त्रालयले भनेको छ, ‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ ।’

    मन्त्रालयका अनुसार भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभागलगायतमा यो निर्णय पठाइएको छ ।

  • थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

    थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

    काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणको गति पछिल्लो तीन साता यता उस्तै छ । हरेक दिन करीव १ हजारभन्दा माथिको औसतःमा कोरोना संक्रमित बिरामी थपिएका छन् । खासगरी काठमाडौं उपत्यकामा तीब्र गतिमा कोरोना भाइरसको फैलावट भइरहेको छ ।

    सरकारले कोरोना भाइरसको फैलावट रोक्न जारी गरेको निषेधाज्ञाको दोस्रो सातासमेत सकिने समय भइसक्दा पनि संक्रमणका नयाँ केशहरु आउने क्रम जारी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। अब नेपालमा कुल संक्रमित ४७ हजार नाघेको छ ।

    ४७ हजार २ सय ३६ जनामा यो भाइरसको आक्रमण भइसकेको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमित देखिनेसँगै यसलाई जितेर घर फर्कनेको संख्यामा भने उत्साहजनक वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ। यो संख्या कुल संक्रमितको ६५ प्रतिशत हो ।

    आइतबारसमेत नयाँ संक्रमितको तुलनामा डिस्चार्ज हुनेको संख्या माथि रहेको थियो । पछिल्लो २४ घण्टामा सरकारले ९ हजार २१८ जनाको पिसिआर परीक्षण भएको जनाएको छ । यो बीचमा पिसिआरको संख्यामा भने उल्लेख्य वृद्धि छैन । अब देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ । अझै क्वारेन्टिनमा भने ४ हजार ७ सय ३९ जना मानिस रहेका छन् ।

  • मंगलबारबाट तीन दिन बैंकका सबै शाखा खुल्ने

    मंगलबारबाट तीन दिन बैंकका सबै शाखा खुल्ने

    काठमाडौं । मंगलबारबाट बैंकका सबै शाखा खुल्ने भएका छन् । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टर खुल्ने भएका हुन् । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट बैंकहरुलाई राजश्व संकलनको प्रयोजनका लागि ३ दिन सबै शाखा तथा काउन्टर खुला राख्न निर्देशन आएको छ ।

    २५ भदौसम्म साउनमा तिर्नुपर्ने कर तिरिसक्नु पर्छ । सिमित शाखा खोल्दा बैंकमा भीड बढ्ने भएकाले सबै शाखा खोल्ने निर्देशन दिइएको हो । अहिले उपत्यकामा निषेधाज्ञा घोषणा गरिएको छ । तर, साउनमा तिर्नुपर्ने विभिन्न प्रकारका कर भने करदाताले अहिले तिर्नुपर्छ ।

    किनकी सरकारले यो बीचमा कुनै पनि नयाँ घोषणा गरेको छैन । सोहीकारण नियमित कर तिर्नुपर्ने करदाताले साउनको कर भदौमा तिरिसक्नु पर्छ । अहिले बैंकले थोरै शाखाबाट मात्र सेवा दिइरहेका छन् ।

  • उपत्यकाका थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकाका थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको को छ ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९ र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको को छ ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा ६ हजार ९ सय १७ ललितपुरका ९३९ र भक्तपुरमा ७२४ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जना सहित थप ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ३७,९०, ८३ वर्षीय महिला रहेका छन् ।

    त्यस्तै मोरडका ७६ वर्षीय पुरुष, सिराहाका ८७ र ६२ वर्षीय पुरुष, सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९, बाँकेका ६३ वर्षीय र मकानपुरका ३९ पुरुष रहेका छन् । ६३ वर्षीय महिला रहेकी छिन् योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय पुगेको छ।

  • नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज

    नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज


    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको अनुसार २४ घण्टामा गरिएको ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षणमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४७ हजार२ सय ३६ जना पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप १७ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३० हजार ६ सय ७७ उपचारपछि निको भएका छन्। देशभर संक्रमितको १६ हजार २ सय ५९ रहेको छ ।

  • कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो

    कोरोना संक्रमित संख्यामा भारत दोस्रो स्थानमा उक्लियो

    काठमाडौं । संसारमा सर्वाधिक संख्यामा कोरोना भाइरसको संक्रमण हुने मुलुकमा भारत दोस्रो स्थानमा उक्लिएको छ । यसअघि तेस्रो स्थानमा रहेको भारत सोमबारबाट दोस्रो बनेको हो । सोमबार बिहान भारतले ब्राजिललाई उछिनेको हो । यो सूचिमा सबैभन्दा अगाडी अमेरिका छ ।

    अमेरिका र भारतमा नयाँ संक्रमणको दर समेत उत्तिकै तिब्र गतिमा रहेको छ । वर्ल्डओमिटरले अध्यावधिक गर्ने तथ्यांकअनुसार अमेरिकामा संसारमै सबैभन्दा बढी ६४ लाख ६० हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

    दोस्रो स्थानमा उक्लिएको भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । तेस्रो स्थानमा झरेको ब्राजिलमा ४१ लाख ३७ हजार ६ सय ६ जनामा कोरोना देखिएको तथ्यांक रहेको छ । कोरोना संक्रमित बढेको तुलनामा भारतमा मृत्युदर भने कम छ ।

    वर्ल्डओमिटरका अनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट १ लाख २६ हजार ६ सय ८६ जनाको मृत्यु भइसकेको छ । भारतमा मात्र ७१ हजार ६ सय ८७ ले ज्यान गुमाएका छन् । यो सूचिमा पनि सबैभन्दा माथि अमेरिका छ । यहाँ १ लाख ९३ हजार २ सय ५० जनाको ज्यान गइसकेको छ ।

  • गण्डकीमा आज थपिए ६७ संक्रमित

    गण्डकीमा आज थपिए ६७ संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा एकै पटक ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ६७ जना कोरोना सङ्क्रण पुष्टी भएको हो ।

    पोखरामा सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २५ जना कामदार हुन् ।उता, पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा पनि कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    यता, नवलपुरको देउचुली नगरपालिकामा एक स्वास्थ्यकर्मीसहित १५ जनामा सङ्क्रमण देखिएको छ । गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना सङ्क्रमण भएको निर्देशनालयको प्रयोगशालामा पुष्टी भएको हो ।

    तनहुँको व्यास नगरपालिकामा ३ जनामा सङ्क्रमण देखिएको छ । यो प्रदेशमा अब कुल संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।

  • नम्बर एक टेनिस स्टार नोभाक युएस ओपन टेनिस खेल्न ‘अयोग्य’

    नम्बर एक टेनिस स्टार नोभाक युएस ओपन टेनिस खेल्न ‘अयोग्य’

    न्यूयोर्क । जारी युएस ओपन टेनिस प्रतियोगितामा नोभाक जोकोभिच प्रतिवन्धमा परेका छन् । विश्व नम्बर एक टेनिस स्टार नोभाक खेल अनुशासनको कारवाहीमा परेपछि यो सिजन बाँकि खेल गुमाउन पुगेका हुन् । चौथो चरणको खेल चलिरहँदा स्पेनिस खेलाडी पाब्लो कारेनो बुस्तासँग उनी पहिलो सेटमा ६–५ ले पछि परेका थिए ।

    त्यस क्रममा उनले खल्तीमा रहेको बल पछाडि फ्याँक्ने क्रममा लाइन अम्पायरमा बसेकी महिलालाई बलले लाग्यो । यो उनले प्रायोजित रुपमा गरेका होइनन्, तर खेल भावना विपरितको काम थियो । बलले महिलाको घाँटीमा लागेको थियो।

    सोहीकारण जारी सिजनमा उनी प्रतिवन्धमा परेको अमेरिकी टेनिस एशोसिएसनले जनाएको छ । यो उपाधी दावेदार खेलाडी थिए । किनकी जोकोभिच करियरको १८ औं ग्रान्डस्लाम जित्ने होडमा थिए । यस प्रतियागितामा राफेल नाडाल र रोजर फेडेररले भाग नलिएका कारण पनि तुलनात्मक रुपमा नोभाकको सम्भावना बढी थियो ।

    खेलका क्रममा लाइन अम्पायरलाई लागेछि उनले तत्काल माफी समेत मागेका थिए । उनी प्रतिवन्धमा परेसँगै जोकोभिचको वरीयताका लागि उपलब्ध हुने अंक समेत घट्नेछ । यो प्रतियोगिता न्यूयोर्कमा जारी छ ।

  • सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान

    सन् २०२० भित्रै अमेरिकामा कोरोनाबाट दोब्बर संख्यामा मृत्यु हुने पूर्वानुमान

    काठमाडौं । अमेरिका कोरोना भाइरसका कारण सर्वाधिक मानवीय क्षति भएको मुलुक हो । साथै यहाँ आगामी दिन समेत सहज नभएको पूर्वानुमान सार्वजनिक गरिएको छ । अमेरिकामा कोरोनाबाट हुने मानवीय क्षति सन् २०२० को अन्त्यसम्म ४ लाख १० पुग्ने पूर्वानुमान गरिएको छ । यो अहिले भइसकेको मृत्युको दोब्बर संख्या हो ।

    युनिभर्सिटी अफ वासिङ्टन मातहतको स्वास्थ्य संस्थानबाट शुक्रबार यस्तो पूर्वानुमान सार्वजनिक गरिएको छ । यो समय प्रतिदिन औसतः ३ हजार मानिसले ज्यान गुमाउने सक्ने अनुमान समेत गरिएको छ । यो अमेरिकीहरुको लाइफस्टाइलसँग जोडेर गरिएको पूर्वानुमान हो ।

    अमेरिकी संचारमाध्यमहरुका अनुसार विज्ञहरु जनतालाई मास्क अनिवार्य लगाउन भन्छन् । तर, जनता मान्दैनन् । मास्क मात्र लगाएर स्वयमः सचेत हुने हो भने यस्तो मानवीय क्षति ३० प्रतिशतसम्म कम हुने विज्ञहरुको सुझाव छ । उता, ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्स समेत आगामी दिनमा मानवीय क्षति अझै बढ्नेमा चिन्तित छ ।

    इन्स्टियूट अफ हेल्थ मेट्रिकस एण्ड इभ्यालुएसन मोडलको प्रक्षेपणबाट मानवीय क्षति अहिलेको तुलनामा तेब्बरसम्म बढ्ने अनुमान गरिएको छ । अहिले औसतः प्रतिदिन ८ सय ५० जनाले अमेरिकामा ज्यान गुमाइरेका छन्।

    पूर्वानुमान अनुसार डिसेम्बरमा मृत्यु संख्या प्रतिदिन ३ हजारको आंकडा नजिकै पुग्नेछ । यसमा बदलिदो मौसम र आममानिसले कोरोना भाइरसलाई हल्का रुपमा लिइरहको परिणामबाट यो अवस्था आउने तर्क समेत गरेको छ । यो संस्थाले अमेरिका मात्र नभई संसारभर नै आगामी केही महिनाभित्र तेब्बर संख्यामा मानिसको ज्यान जाने चेतावनी दिएको छ ।

    किनकी कोरोनालाई लिएर सबैजसो मुलुकमा उस्तै प्रकारको प्रवृत्ति दोहोरिएको छ । आगामी जनवरीसम्म विश्वभर २८ लाख मानिसको ज्यान जान सक्ने अनुमान गरिएको छ । अहिले साढे ८ लाख क्षति भइसकेको छ ।

  • प्रधानमन्त्रीसँग व्यवसायीको गुनासो, करमा मात्र ध्यान दिइयो

    प्रधानमन्त्रीसँग व्यवसायीको गुनासो, करमा मात्र ध्यान दिइयो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग उद्योगी व्यवसायीले सरकारबाट कर असुलीमा मात्र ध्यान दिइएको गुनासो गरेका छन् । अर्थ मन्त्रालय समेतको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्रीले आइतबार उद्योगी व्यवसायीलाई वालुवाटार बोलाएका थिए ।

    उक्त छलफलमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा समेत सहभागी थिए । यसको मतलव अर्थ मन्त्रालय अप्रत्यक्ष रुपमा खतिवडाबाटै संचालन हुने संकेत देखिएको छ ।

    अर्थ मन्त्रालय आफैसँग राख्ने र कामकाम भने अघोषित रुपमा खतिवडाबाटै गराउने मुडमा प्रधानमन्त्री रहेको संकेत आइतबारको बैठकले गरेको छ ।

    प्रधानमन्त्रीले भने उद्योग व्यवसायीको समस्यामा सरकार गम्भीर रहेको बताएका छन् । उनले छलफलमा नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोगका प्रमुखलाई समेत सहभागी गराएका थिए ।

    निजी क्षेत्रको प्रतिनिधित्व गर्ने संघसंस्थाका पदाधिकारीलाई प्रधानमन्त्रीले आमन्त्रण गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारको ध्यान कर असुलीमा मात्रै नभएको स्पष्ट पार्ने प्रयास गरेका थिए ।

  • अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा

    अन्ततः सहमति मै भयो ललितपुरमा मत्स्येन्द्रनाथको रथयात्रा

    ललितपुर । गत चैतमै सक्नु पर्ने मत्स्येन्द्रनाथको रथयात्रा कोरोना भाइरसको संक्रमणका बीच पर सर्दै आएको थियो । प्रशासनको अवरोध र स्थानीयको जसरी पनि रथयात्रा गर्नुपर्ने अडानका बीच बिहीबार यहाँ अप्रिय घटना पनि भयो । प्रहरी र स्थानीय युवा घाइते भए । यो सबै घटनापछि अन्ततः सहमति मै आइतबार रथयात्रा सम्पन्न भएको छ ।

    काठमाडौं उपत्यकामा निषेधाज्ञा छ । तर, प्रशासनले आज करीव साढे ४ सय मानिसलाई रथयात्राका लागि अनुमति दिएको थियो । यद्दपी ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर रथयात्रा चलाइएको हो । जहाँ स्थानीय युवालाई मात्र सहभागी गराइएको छ ।

    रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका अनुसार गाःबहालमा रहेको मीननाथको रथलाई २० मिटर तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको हो । आज रथयात्रामा सहभागी सबैले मास्क लगाए । उनीहरुको पहिचानका लागि एकै प्रकारको टिशर्ट वितरण गरिएको थियो ।

    प्रहरीले कडा सुरक्षा बन्दोबस्त मिलाएको थियो । कोरोना भाइरसको महामारीका कारण यो वर्ष छोटो विधि अपनाएर रथयात्रा गरिदैछ । सोमबार साइत हेरेर साइत प्राप्त भएको दिन रातो मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराउने योजना छ ।

    त्यसपछि भने रातो मच्छिन्द्रनाथको जात्रा सकिनेछ । सामान्य अवस्थामा भने रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने प्रचलन रहेको थियो । यो वर्ष भने विधि छोट्याइएको हो ।

  • कृषिमन्त्री ‘मल परीक्षा’मा फेल, ठेकेदारको सम्झौता रद्द

    कृषिमन्त्री ‘मल परीक्षा’मा फेल, ठेकेदारको सम्झौता रद्द

    काठमाडौं । वर्तमान मन्त्रिपरिषद्मा जनताले अलिबढी आशालाग्दो नेताका रुपमा हेरेका मन्त्री हुन कृषिमन्त्री घनश्याम भुसाल । तर, कार्यभार सम्हालेको पहिलो सिजनकै कृषि उपजका लागि बेलैमा मल उपलब्ध गराउन नसकेपछि नेतृत्वका रुपमा उनी असफल भएका छन् । अर्थातः कृषि मलको परीक्षणमा उनी फेल हुन पुगे ।

    किनकी नेपालमा हरेक सिजन कृषि मलको यस्तै हाहाकार हुने गर्छ । कृषि मन्त्रीले बढी गाली पनि खान्छन् । तर, यो पाली घनश्याम भुसाल नै जिम्मेवारीमा रहेका कारण कृषकले समस्या नहुने अपेक्षा गरेका थिए । तर, त्यसो हुन सकेन । फलस्वरुप सरकारले बंगलादेश सरकारसँग मल पैंचो मागेको छ ।

    पैँचो मल आउने प्रक्रिया अगाडी बढदै जाँदा यता, सरकारले भने रासायनिक मलको आपूर्ति गर्न नसकेका कम्पनीको ठेक्का सम्झौता रद्द गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ठेक्का सम्झौता रद्द गरेको हो ।

    शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीले रासायनिक मल ल्याउने गरी ठेक्का पाएका थिए । उनीहरुको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय भएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार तत्कालका लागि सम्झौता रद्द गरि धरौटी जफत प्रक्रिया अघि बढाइएको हो ।

    दुवै कम्पनीले राखेको पाँच पाँच करोड कार्यसम्पादन धरौटी रकम जफत हुने भएको हो । ५० हजार मेट्रिक टन युरिया मल ल्याउन पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै लट मल ल्याइसक्नुपर्ने सम्झौता थियो ।

  • वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट

    वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पताललाई कोभिड अस्पतालकारुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो।

    वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

    मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको आइतबार बिहान बसेको बैठकले सो निर्णय भएको उनले जानकारी दिए।

  • काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

    काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन्।

    मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया र झापाको ४५ वर्षीया महिला रहेकी छिन्। त्यसैगरी काठमाडौंका तीन पुरुषको मृत्यु भएको छ।

    काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।

    मोरङका ४५ वर्षीय, धनुषाका ३५ वर्षीय र चितवनका ७० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

  • काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए


    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ पुगेको छ।

    त्यसैगरी, काठमाडौंमा ६ हजार ६ सय २४ ललितपुरका ९१९ र भक्तपुरमा ७११ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७

    नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ४२ जनाको पीसीआर परीक्षणमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४६ हजार २५७ जना पुगेको छ। पछिल्लो २४ घन्टामा थप १८१४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २८ हजार ९४१ उपचारपछि निको भएका छन्।

  • सुशान्त सिंह सुसाइड प्रकरण : प्रेमिकाका भाईसहित चार पक्राउ

    सुशान्त सिंह सुसाइड प्रकरण : प्रेमिकाका भाईसहित चार पक्राउ

    नयाँ दिल्ली । भारतीय अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या केवल आत्महत्या नभएको भन्दै परिवारले अनुसन्धान अगाडी बढाउन दवाव दिएसँगै यतिबेला भारतीय प्रहरी उनको मृत्युको कारण पछाडीका रहस्यहरु खोज्न लागि परेको छ । सोही क्रममा यस प्रकरणसँग जोडिएका चार जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती समेत छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुशान्तका प्रबन्धक श्यामुअल मिरान्डा, सुशान्तका घरेलु सहायक दीपेश सावन्त र अर्का एक जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले यो अनुसन्धान गरिरहेको छ । बीबीसीका अनुसार दीपेश लागुऔषध खरिद एवं कारोबारमा समेत संलग्न रहेको खुलेको छ । सुशान्तको १४ जुन २०२० मा वान्द्रास्थित आफ्नै घरमा मृत शरीर भेटिएको थियो ।

  • चितवनमा ३४ जनामा थपियो कोरोना संक्रमण

    चितवनमा ३४ जनामा थपियो कोरोना संक्रमण

    भरतपुर । चितवनमा आइतबार ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड ल्यावबाट शनिबार राती सार्वजनिक विवरण अनुसार चितवन जिल्लाका ३० सहित ३४ जनामा कोरोना देखिएको हो । १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्मलाई कोरोना देखिएको छ ।

    भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण देखिएको ल्यावले जनाएको छ ।

    चितवनको राप्ती २ का ३४ वर्षीय पुरूषमा पनि कोरोना देखिएको छ । यो ल्यावमा भएको परीक्षणमा नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको हो । पछिल्लो समय चितवन बढी संक्रमित देखिने जिल्लामा पर्छ ।

  • भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

    भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

    काठमाडौं । भारत कोरोना भाइरसको महामारीको चक्रब्यूहमा फसेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा यहाँ करीव १ लाख मानिसमा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टी भएको छ । शनिबार २४ घन्टामा ९० हजार ६ सय संक्रमित थप भएको तथ्यांक आएको छ । अब भारतमा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ।

    भारत अहिले अमेरिका र ब्राजिलपछि बढी संक्रमित रहेको मुलुकमा तेस्रो स्थानमा रहेको छ । पछिल्लो २४ घण्टामा यस मुलुकमा कोरोनाका कारण १ हजार भन्दा मानिसले ज्यान गुमाए । यहाँ कुल मृतकको संख्या ७० हजार ६ सय नाघेको छ। यो अवधिमा अमेरिकामा भने ४० हजार ७ सय मानिसमा नयाँ संक्रमण देखियो ।

    अमेरिकामा कुल संक्रमितको संख्या ६४ लाख २९ हजार ८ सय पुगेको छ। यहाँ एक दिनमा सात सय मानिसले ज्यान गुमाए । अमेरिका सबैभन्दा बढी मानवीय क्षति हुने देश हो । कोरोनाका कारण अमेरिकामा १ लाख ९२ हजार ८ सय मानिसको ज्यान गएको छ ।

    अमेरिकामा ३७ लाख ६ हजार ७ सय मानिसले कोरोनालाई जितेका छन् । विश्वभर कोरोना भाइरस लाग्ने मानिसको संख्या २ करोड ७० लाख ४३ हजार रहेको छ । ८ लाख ८२ हजार ९ सयले ज्यान गुमाएका छन् । नेपालमा मात्र २ सय ८० जनाको निधन भएको छ ।

  • रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति

    रसियन खोपको दोस्रो चरणको परीक्षण पनि सफल, इरान र रसियाबीच सहमति

    काठमाडौं । रुसले निर्माण गरिरहेको कोरोना भाइरसविरुद्धको खोपको दोस्रो चरणको परीक्षणको नतिजा उत्साहजनक आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसले रुसमा कोरोनाविरुद्धको लडाईमा विज्ञान एक कदम अगाडी बढेको वैज्ञानिकहरुको प्रतिक्रिया छ । उता, रुस र इरान खोप उत्पादनमा सहकार्य गर्न समेत सहमत भएका छन् ।

    तेहरानमा कोभिड १९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने विषयमा सहमति जुटेको छ । मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानी संचारमाध्यमले यो विषयको खुलासा गरेका छन् ।

    ‘फार्स न्यूज एजेन्सी’ का अनुसार सो सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का कार्यकारी प्रमुख किरील दिमित्रिभ र राजदूत जलालीबीच भिडियो बैठकबाट यस्तो सहमति जुटेको हो । इरानी राजदूतले ‘कोभिड १९ को खोप उत्पादनमा मिलेको सफलताका लागि रुसलाई बधाई ज्ञापन गरेका थिए ।

    जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रुससँग आग्रह गरिएको समेत जानकारी गराएका छन् । दिमित्रीभले दुई देशबीच कोभिड १९ विरूद्धको खोपको ठूलो मात्र उत्पादन गर्न तयार रहेकोमा रूस उत्साहित रहेको बताएका थिए ।

    रुसका अनुसार छिट्टै यो खोप बजारमा आउने गरी तिब्र गतिमा काम भइरहेको छ । रुस कोरोनाबाट बढी प्रभावित मुलुकमध्ये एक हो ।

  • युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति

    युद्धमा मारिएका आफ्नै सेनालाई ट्रम्पले भने हरुवा, विवादमा राष्ट्रपति

    काठमाडौं । युद्धमा मारिएका आफ्नै सेनालाई हरुवा र बुद्धुको संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी एक पटक आलोचित बन्न पुगेका छन् । अमेरिकामा राष्ट्रपति पदको चुनाव नजिकिएको छ । यो समय आएको उनको अभिव्यक्तिले राष्ट्रपति नराम्रोसँग फस्न पुगेका हुन् ।

    ट्रम्पले सन् २००१८ मा दिएको अभिव्यक्ति ‘द एटलान्टिस’, एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजमा समाचार बनेको छ । त्यो अभिव्यक्तिको यतिबेला समाचार बनेपछि अभिव्यक्ति विश्वव्यापी विवादको विषय बन्न पुगेको छ ।

    राष्ट्रपति र उनका सहयोगी यो दावि मान्न तयार छैनन् । उनीहरु यो समाचारलाई फेक मान्छन् । द एटलान्टिस पत्रिकाले उल्लेख गरेअनुसार सन् २०१८ मा पेरिसस्थित अमेरिकी सैनिकको स्मारक स्थलमा जाने ट्रम्पको कार्यक्रम रद्द भएको थियो । त्यसबेला राष्ट्रपतिले स्मारक स्थललाई ‘हारेका मान्छेले भरिएको ठाउँ’ भएको अभिव्यक्ति दिएको पत्रिकाको दावि छ ।

    पत्रिकाले बलियो स्रोतका साथ भनेको छ, ‘ट्रम्पले त्यहाँ जाने कार्यक्रम किन रद्द गरे भने त्यतिबेला ठूलो वर्षात भइरहेको थियो, ट्रम्पलाई बर्षाले कपाल बिग्रिने चिन्ता पनि थियो । यसका साथै युद्धमा मारिएका अमेरिकीलाई सम्मान गर्ने कुरा उनका लागि महत्वपूर्ण थिएन।’

    ट्रम्पले बेलेयुवुडमा मारिएका १८ सय अमेरिकी सैनिकलाई बुद्धु समेत भनेको पत्रिकाको दावि छ । यो पहिलो विश्वयुद्धकालिन समयको युद्ध हो । समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व अधिकारीहरुले समेत ट्रम्पको चर्को आलोचना गरिरहेका छन् ।

    बीबीसीका अनुसार प्रगतिशील समूह वोटवेट्सले एक भिडियो पोस्टमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया छापिएको छ । जहाँ बलिदान बारे राष्ट्रपतिलाई केही थाहा नभएको उल्लेख गरिएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार नियमित प्रेस ब्रिफिंगका दौरान पत्रिकाहरुले ‘फेक न्युज’ छापेको प्रतिक्रिया दिएका छन् । आफुले राष्ट्रको हिरोहरुका सम्बन्धमा त्यस्तो अभिव्यक्ति दिन नसक्ने भन्दै उनले आफ्नो बजेटलाई केलाएर हेर्न समेत आग्रह गरेका छन् । उनले आफुले सैन्य बजेट र तलव बढाएको भन्दै उनले पत्रिकाबाट घृणित काम भएको बताए ।